Category: स्वास्थ्य-जीवनशैली

  • जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

    जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले जरुरी कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो ।

    विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन नेपालमा फेला नपरिसकेको जनाउँदै मन्त्रालयले सतर्कता अपनाउन समेत भनेको छ ।

    उक्त भेरिएन्टको रोकथामका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत मन्त्रालयले जनाएको छ ।

    समयमै सावधानी अपनाएर भेरिएन्टलाई नेपाल प्रवेश गर्न नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले आग्रह गरेको हो ।

    यो भेरिएन्ट बढी संक्रामक देखिएको र सबै उमेर समूहलाई असर पर्ने देखिएको समेत मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयले पायक पर्ने ठाउँमा गएर खोप लगाउन समेत आग्रह गरेको छ ।

     

  • लुम्बिनीमा अझै करिब चार हजार एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

    लुम्बिनीमा अझै करिब चार हजार एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

    रुपन्देही । लुम्बिनी प्रदेशमा एचआईभी एड्सको जोखिम कायमै रहेको तथ्यांकले देखाएको छ । अहिले पनि १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार ९ सय १२ रहेको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।

    सरकारी तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा १ हजार ४ सय ८७, बाँकेमा ५ सय १०, कपिलवस्तुमा ४ सय ७८ दाडमा ३ सय २५ पाल्पामा २ सय ९४ नबलपरासी पश्चिममा २ सय ६६ गुल्मीमा १ सय ७५ वर्दियामा १ सय ३२ अर्घाखाँचीमा १ सय ९ प्युठानमा ९२ रोल्पामा ४४ जना एचआईभी संक्रमित रहेका छन् । तर बालबालिकामा भने संक्रमण घटेको छ ।

    सन् २०१० मा २ सय १५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेका अनुसार संक्रमित बिरामीको मृत्युदर भने घटेको छ ।

    सरकारले एचआईभी एड्स नियन्त्रणका लागि चालेका उपायले सङ्क्रमण दर घटेको उनले बताए । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र छन् । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआईभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको सरकारी दाबी छ ।

    सरकारले एचआईभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आएको र प्रदेशका १२ जिल्लामा नै यो सेवा भएको अधिकृत पाण्डेले वताए । उनका अनुसार ३ हजार ९ सय १२ जनाले नियमित एआरभी सेवा औषधि सेवन गरिरहेका छन् ।

    सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको र सङ्क्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशतभन्दा बढी र सामान्य जनसंख्या एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको पाण्डेले बताए ।

    त्यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २–२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।

    सरकारले सन् २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ । लुम्बिनी प्रदेशमा ८७ हजार ६ सय ७२ जना महिलाहरुको पिएमटीसिटी परिक्षण गर्दा १४ जना नयाँ भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

    लुम्बिनी प्रदेशका स्वाथ्य निर्देशक डा. विनोदकुमार गिरीले सचेतना वृद्धि नै संक्रमणदर रोक्ने प्रमुख उपाय भएको बताए । ‘असमानता हटाऔं, एड्सको अन्त्य गरौं’ भन्ने मूल नारासहित यस बर्षको ३४ औं विश्व एड्स दिवस विभागीय मन्त्रालय तथा यस क्षेत्रमा काम गर्ने संघसंस्थाले मनाएका छन् ।

  • आगामी तीन दिनमा हिमपातको सम्भावना : काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

    आगामी तीन दिनमा हिमपातको सम्भावना : काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

    काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली)को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।

    जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–ूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

    यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आगामी आइतबार साँझदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

  • यात्रा प्रतिबन्ध मात्र समाधान होइन : विश्व स्वास्थ्य संगठन

    यात्रा प्रतिबन्ध मात्र समाधान होइन : विश्व स्वास्थ्य संगठन

    काठमाडौं । हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी यसअघि पनि विश्व स्वास्थ्य संगठनले दिँदै आएको छ ।

    तर, यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरुले अफ्रिकी देशहरुसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्डहरु अपनाउन बताउँदै आएको छ ।

    विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशहरुलाई स्वास्थ्यका मापदण्डहरु अपनाउन आग्रह गर्नुभएको हो । उनले गरिब देशहरूमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गरे । यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणहरूले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए ।

    उक्त भेरियन्ट पत्ता लागेको बारेमा तत्कालै सार्वजनिक गरिएको भनेर विश्व स्वास्थ्य संगठनका निर्देशक गेब्रिएससले दक्षिण अफ्रिकाको प्रशंसा पनि गरेका थिए । उनको भनाई थियो कि नयाँ भेरियन्ट पत्ता लागेको कुरा समयमै दक्षिण अफ्रिकाले खबर गर्यो, समयमै भन्यो, तर उसलाई सहयोग गर्ने, धन्यवाद दिने काम गर्नुको सट्टा उसैलाई दण्डित गरेर यात्रा प्रतिबन्ध लगाइएको छ, यो राम्रो भएन ।

  • २० मुलुकमा फैलियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन

    २० मुलुकमा फैलियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन

    काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बुधबार बिहानसम्म संसारका २० मुलुकमा फैलिएको पुष्टि भएको छ ।

    विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ भेरिएन्टको असरबारे विस्तृत बुझ्न अझै एकसाता लाग्ने जनाएको छ ।

    थप मुलुकहरुमा भाइरस फैलिन थालेलगत्तै नेपाल र दक्षिण छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय सीमा र उडानमा कडाइ गर्न थालेका छन् भने अफ्रिकी मुुलुकहरुको उडानलाई रोक लगाएका छन् ।

    अहिलेसम्म दक्षिण अफ्रिकामा ७७, बोत्स्वानामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४, पोर्चुगलमा १३ जनामा संक्रमण फैलिएको छ ।

    जर्मनी, इटाली, अष्ट्रेलिया, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अष्ट्रिया, स्वीडेन, स्पेन र दक्षिण कोरियामा एक-एक संक्रमण पुष्टि भएको छ ।

  • ओमिक्राेनको जोखिमपछि अष्ट्रेलिया र जापानले विद्यार्थीमा भिसा पुनः बन्द गरे

    ओमिक्राेनको जोखिमपछि अष्ट्रेलिया र जापानले विद्यार्थीमा भिसा पुनः बन्द गरे

    एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् ।

    सो निर्णयबाट नेपालसहित धेरै देशका विद्यार्थी प्रभावित हुने छन् ।

    अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध तत्कालका लागि दुई सातासम्म लागू हुनेछ ।

    जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

  • कोरोनाको भेरिएन्ट रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने मन्त्रिपरिषद्को निर्णय

    कोरोनाको भेरिएन्ट रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण भएका मुलुकबाट हुनसक्ने सम्भावित संक्रमण्लाई रोक्न सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । आजसम्म १८ वटा मुलुकमा भेरिएन्ट फैलिइसकेको छ ।

    सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । साथै, दक्षिण अफ्रिकी मुलुकका यात्रुलाई रोक्ने र अनअराइभल भिसालाई नदिने निर्णय पनि सरकारले गरिसकेको छ ।

  • मेडिसिटी अस्पतालमा फोक्सोका क्यान्सर इमेजिङबारे सम्मेलन सम्पन्न

    मेडिसिटी अस्पतालमा फोक्सोका क्यान्सर इमेजिङबारे सम्मेलन सम्पन्न

    काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा फोक्सोकोे क्यान्सर इमेजीङ विषयको सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिष्ट संघद्वारा संयुक्तरुपमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल रेडियोलोजीष्ट संघका अध्यक्ष हेन्सन खड्काले गरेका हुन् ।

    कार्यक्रममा देशका विभिन्न अस्पतालबाट रेडियालोजिष्ट तथा रेडियोलोजी आवासिय चिकित्सकहरु गरी कुल ५५ जना सहभागी थिए । रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. रामकुमार घिमिरे वरिष्ठ रेडियोलोजिष्टहरु, फोक्सो विशेषज्ञ, क्यान्सर विशेषज्ञका साथै अन्य विशेषज्ञहरुले आफ्नो प्रस्तुति दिए ।

    फोक्सो क्यान्सरको पहिचान, जाँच, र उपचार पछिका मूल्याङ्कन/मापन लगायतका विषय बारेमा छलफल गर्न प्यानल छलफल आयोजना गरिएको थियो । विज्ञहरुले हाल नेपालमा सबैको पहुँचमा पेट (पीइटी) स्क्यान नरहेको अवस्थामा विकल्पका रुपमा पुर्ण शरिरको एमआरआइ गर्न सकिने र यसले रोग पहिचान समयमा नै गर्न सहयोग पु¥याउन सक्ने बताएका छन् ।

  • थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्यो, थप दुई खेप यसैसाता

    थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्यो, थप दुई खेप यसैसाता

    काठमाडौँ । नेपालले कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगेको हो ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको बताए । थप दुई खेप खोप यसै साता आइपुग्ने उनले जनाए ।

  • प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

    प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

    काठमाडौँ । कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

    आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो। कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो।

    अस्पतालका डाक्टर प्रविण नेपालले जबरालाई कोभिड निमोनिया देखिएको पुष्टि गरे । ‘उहाँको अवस्था स्थिर छ । उहाँलाई हिजो भर्ना गरेका हौं’ उनले भने । स्वास्थ्यमा असहजता देखा परेपछि प्रधानन्यायधीश जबरा केही दिन देखि बालुवाटारमा रहेको निवासमा बसिरहेका थिए।

    उनका परिवार स्रोतले पनि जबरालाई निमोनिया देखिएको र अहिले अवस्था स्थिर रहेको नेपाल प्रेसलाई बताए ।

  • बुस्टर डोजबारे डब्लुएचओको जवाफ पर्खिइने, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषद्को निर्णय

    बुस्टर डोजबारे डब्लुएचओको जवाफ पर्खिइने, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले विदेशबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । साथै, विमानस्थलसहित नाकामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी स्वास्थ्यमन्त्री विरोध खतिवडाले दिए । नेपाल प्रेससँग कुरा गर्दै उनले बैठक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोनको समिक्षा समेत भएको बताए ।

    नयाँ भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनले अध्ययन जारी राखेको र एकसातामा यसबारे विस्तृत जानकारी आउने प्रतिक्षामा सरकार रहेको समेत मन्त्री खतिवडाले बताए ।

    ‘अहिले वैज्ञानिकहरु नयाँ भेरिएन्ट कस्तो प्रकारको हो भन्नेबारेमा अध्ययनमा जुटेका छन् । एकसातासम्म यसबारे जानकारी आउनेछ भन्ने सरकारको आशा छ’ उनले भने, ‘त्यसपछि अहिलेकै खोप अभियानलाई निरन्तरता दिने वा बुस्टर डोज लगाउने निर्णय हुनेछ ।’

    ओमाइक्रोमक भेरिएन्ट भेटिएका मुलुकबाट हुने हवाइ उडानबारे आगामी साता निर्णय गर्ने जानकारी पनि उनले दिए । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म विश्वका १४ मुलुकमा नयाँ भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।

     

  • ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लुएचओ

    ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लुएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

    दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ । यहाँ गएको दुई साता यताका परीक्षणहरुमा यो भेरिएन्टको विकास भएको बताइएको छ । त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ ।ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

    विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ ।

    यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो । सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको बताइएको छ । बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो । त्यस्तै आइतबार यो भेरिएन्ट क्यानाडामा पनि देखिएको बताइएको छ ।

  • धुलिखेल नगरपालिका : बेलायतमा चर्चापछि ‘आरोग्य सहर’ अभियान

    धुलिखेल नगरपालिका : बेलायतमा चर्चापछि ‘आरोग्य सहर’ अभियान

    काभ्रे । धुलिखेल नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्कटल्याण्डको ग्लास्गो सहरमा नोभेम्बर पहिलो साता आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा सुनाइन् ।

    नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा पोलिटले खबर सुनाएको भोलिपल्टै विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरे । नगरपालिकाको यस्तो अभियानले विश्वलाई नै ‘एउटा उदाहणीय पाठ’ सिकाएकामा चर्चा कमाइरहेको धुलिखेल हाल ‘आरोग्य सहर’ अभियानमा छ ।

    खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा सबैका घरमा प्रयोग हुने फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार नगरक्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध छ । ‘धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ’, ब्याञ्जूले भने ।

    धुलिखेल नगर सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा जुटिरहेको छ । नागरिकको अवस्था के छ, के-कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना बनाइएको ब्याञ्जूले बताए । उनले भने, ‘नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइनेछ, सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उनीहरुको अवस्था बुझ्न सर्वेक्षण गर्दैछौँ ।’ उनका अनुसार नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाइनेछ ।

    सो नगरपालिका गत असोज अन्तिम साता विश्व स्मार्ट दीगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा निर्वाचितसमेत भएको छ । विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दीगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको थियो । ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु अर्को गौरवको विषय भएको बताए ।

    धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौं नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसारसन्धी’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको थियो ।

    यसअघि नगरपालिकाले जलवायु परिवर्तनको असरलाई कम गर्न शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथअघि बढाएको थियो । नगरपालिकाले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौं नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरपालिकाद्वारा जिवाश्म इन्धन अप्रसारसन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

    यसैबीच धुलिखेलले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने जनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

    वैज्ञानिक माध्यमबाट नगरलाई दीगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको ब्याञ्जूले बताउनुभयो । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।

    यस कार्यक्रममा सो नगरपालिकाले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दीगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफुलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने जनाइएकोे छ ।

  • यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु, सल्यान र जाजरकोट छन् ।

    आज सात वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, सुनसरी, पूर्वी नवलपरासी, धनुसा, कास्की, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १६५६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सोमबार २ सय जनामा कोरोना संक्रमण पुष्टी

    सोमबार २ सय जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर गरिएको ९ हजार ८८८ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा २६४ जना डिस्चार्ज भएर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा १ लाख ४४ हजार ५३४ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।

    अहिलेसम्म देशभर निको हुनेको संख्या ८ लाख भन्दा बढी छ भने संक्रमित हुनेको संख्या ९ लाख भन्दा बढी छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।

  • नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिस

    नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिस

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले कोरोनाको नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको हवाइ उडानलाई रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकलाई आफूहरुले उक्त सिफारिस गरेको जानकारी सीसीएमसीसी संयोजक महेश्वर न्यौपानेले जानकारी दिए । आइतबार बसेको समिति बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

    साथै, भारतसँगको सीमानाकामा समेत कडाइ गर्ने र परीक्षणको दायरा बढाउने सिफारिस पनि बैठकले गरेको छ । दक्षिण अफ्रिकी मुलुकबाट आउनु यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन र अनअराइभल भिसा नदिन समितिले सिफारिस गरेको छ ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोभिड–१९ को नयाँ भेरिएन्टको सन्दर्भमा समेत छलफल हुने जानकारी सीसीएमसीसी संयोजकले नेपाल प्रेसलाई दिए । 

    आज बिहानसम्म १४ वटा मुलुकमा कोभिडको नयाँ भेरिएन्ट पुष्टि भएको डब्लुएचओले जनाएको छ । जसमा दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा छन् ।

  • जापानद्वारा सबै विदेशीलाई मुलुक प्रवेश नदिने घोषणा

    जापानद्वारा सबै विदेशीलाई मुलुक प्रवेश नदिने घोषणा

    टोकियो । कोभिड-१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले भने, ‘खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।’

    एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।

    प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।

  • डब्लुएचओद्वारा नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

    डब्लुएचओद्वारा नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट भेटिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता अपनाउन आग्रह गरेको छ । डब्लुएचओले आज विज्ञप्ति जारी गर्दै नेपालसहितका दक्षिण एसियाली मुलुक नयाँ भेरिएन्टको उच्च जोखिममा रहेको बताएको छ ।

    दक्षिण अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमाइक्रोन’ देखिएसँगै डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो। नयाँ भेरियन्ट देखिएसँगै विश्वव्यापी रुपम नयाँ भेरिएन्ट संक्रमित केस बढ्दै गएको र यसले चिन्ता बढाएको उसले जनाएको छ।

    डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरूलाई सुदृढ गर्न र खोपको कभरेज बढाउन अनुरोध गरेकी छिन्।

    ‘हाम्रो क्षेत्रका धेरैजसो देशहरूमा कोभिड–१९ का केसहरू घट्दै गएको भए तापनि विश्वका अन्यत्रका केसहरूमा भएको वृद्धि भइरहेको छ। अझ चिन्ताको विषय नयाँ भरिएन्टको पुष्टि हुनु हो। भाइरसविरुद्ध जोगाउन र यसको फैलावट रोक्न हाम्रा मापदण्ड अपनाउन छोड्नु हुँदैन,’ क्षेत्रीय निर्देशक डा क्षेत्रपाल सिंहले भनिन्।

    दक्षिणपूवी एसियामा हालसम्म कूल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरुले पूर्ण खोप र २१ प्रतिशतले एक मात्रा खोप लगाएको उल्लेख गर्दै निर्देशक क्षेत्रपालले अझै ४८ प्रतिशत व्यक्तिहरुले कम्तिमा एक मात्रा खोप पाउन बाँकी रहेको जनाएकी छिन् ।

    उनले खोपले भाइरसका कारण गम्भीर रोग र थप फैलन सक्ने जोखिम कम हुने भएकाले खोप कार्यक्रमलाई निरन्तरता र सावधानी बढाउनुपर्ने बताएकी छन्। डब्लूएचओको टेक्निकल टीमले नयाँ भेरिएन्टको संक्रामक क्षमता, निदान र उपचारबारे थप अनुसन्धान गरिरहेको समेत जनाएको छ।

    संक्रमितको संख्या कम हुँदैमा महामारी समाप्त भइनसकेको भन्दै क्षेत्रीय निर्देशक क्षेत्रपालले चाडपर्व र उत्सवहरुमा सबै स्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र जमघट कम गर्न आग्रह गरेकी छन्।

  • टेकु अस्पतालको निर्देशकमा मनीषा रावल नियुक्त, डाक्टर बाँस्तोलालाई हटाइयो

    टेकु अस्पतालको निर्देशकमा मनीषा रावल नियुक्त, डाक्टर बाँस्तोलालाई हटाइयो

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। केही दिन अगाडीको मन्त्रीस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको जनाइएको छ ।

    सरुवा गरिएका कर्मचारीलाई सोमबार नियुक्तीपत्र दिने तयारी छ । मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलालाई सरुवा गरेका छन्। उनलाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ । टेकु अस्पतालको निर्देशकमा डा. मनिषा रावलले जिम्मेवारी पाएकी छिन्।

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रालाई स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ।

    प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। नीति, योजना तथा अनुगमन महाशाखामा डा तारा पोखरेललाई लागिएको छ। पोखरेल अहिले सार्क क्षयरोग केन्द्रमा छन्।

    कोरोना नियन्त्रणमा भूमिका खेलेका टेकु अस्पतालका डाक्टर बाँस्तोलालाई हटाउने निर्णयको कारण मन्त्री विरोध खतिवडाको विरोध भइरहेको छ। डा. बाँस्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्। साथै उनी टेकु अस्पतालकै सुधारमा लागेका छन्।

    बाँस्तोलाले जिम्मेवारी समालेपछि ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्याँस, स्टोर, आइसियु वेड, क्वाटर, ३०० शय्याको सरुवारोग अस्पताल निमार्ण लगायतका क्षेत्रमा काम गरेका छन्।

  • अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

    अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

    काठमाडौँ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोनको पहिलो संक्रमण पुष्टि भएपछि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपालले अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

    गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो । गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।

    मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरेको छ । अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत पीसीआर रिपोर्ट र उद्देश्यको आधारमा मात्र आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए ।

    कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप तथा एसियाली मुलुकमा समेत भेटिन थालेसँगै विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाउन थालेका छन् ।

  • १५८ जनामा कोरोना पुष्टि

    १५८ जनामा कोरोना पुष्टि

    काठमाडाैं । नेपालमा आज १५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रलायका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण ४ जनामा पुष्टि भएको छ ।

    आज थप दुईजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसा ३४२ संक्रमित डिस्चार्ज भएका छन् । अहिले देशभरी ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

  • कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी

    कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी

    काठमाडौं । इजरायलले शनिबारदेखि विदेशी यात्रुहरूका लागि सिमाना बन्द गर्ने भएको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ प्रजाती ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

    यदि यो प्रतिबन्धको प्रस्तावले सरकारको पूर्ण स्वीकृति पायो भने आइतबार रातिदेखि सुरु भएर १४ दिनसम्म चल्ने छ । मन्त्रिपरिषदको शनिबार रातिको ४ घण्टा लामो छलफलपछि प्रतिबन्ध लगाउने कुरा आएको थियो ।

    दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फ्रिकी इजरायलका सात जनामा सोही भेरियन्टको संक्रमण देखिएको छ ।

    सरकारले स्वदेश फर्किएका इजरायलीहरूलाई सीधै होटलमा क्वारेन्टाइनमा पठाइने निर्णय गरेको छ । उनीहरूलाई कोभिड–१९ परीक्षण गर्दा नेगेटीभ नआएसम्म क्वारेन्टाइनमा राखिने छ ।

  • यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

    यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडको नयाँ भेरियन्ट विभिन्न  ५ देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

    अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।

    अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ ।

    दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन् ।

    ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ ।

    डब्लूएचओले शुक्रवार B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो ।

    वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।

  • दक्षिण अफ्रिका तथा ट्रान्जिट मुलुकबाट आउने यात्रुले सातदिन क्वारेन्टिनमा बस्नुपर्ने

    दक्षिण अफ्रिका तथा ट्रान्जिट मुलुकबाट आउने यात्रुले सातदिन क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि विभिन्न देशले दक्षिण अफ्रिकी मुलुकसँग हुने हवाइ उडानमा प्रतिबन्ध लगाएका छन् भने कतिपयले परीक्षणमा कडाइ गरेका छन् ।

    नेपालले पनि सम्भावित संक्रमण रोकथामका लागि दक्षिण अफ्रिकाबाट आउने यात्रुमा परीक्षण गर्दै निगरानी बढाउने भएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाइ यात्रुलाई अनिवार्य एकसाताको लागि क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको बताए ।

    ‘दक्षिण अफ्रिकासँग नेपालको सीधा हवाइ सम्पर्क त छैन तर, त्यस क्षेत्रबाट आउने यात्रुहरुलाई विमानस्थलमा अनिवार्य निगरानी परीक्षण र क्वारेन्टिमा पठाउँछौं । पजेटिभ आयो भने नमुनाहरुको सिक्वेन्सिङ पनि पठाउँछौं’ पौडेलले भने ।

    खोप नलगाइ आउने यात्रुलाई नेपालले एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याएको छ भने खोप लगाइसकेकालाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छैन । विदेशबाट आउने यात्रुले विमानस्थलमा अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने नियम चाहिँ छ ।

    दक्षिण अफ्रिकामा यसैसाता संक्रमण पुष्टि भएको कोरोनाको नयाँ प्रजाति ओमाइक्रोन अहिले नेपालसँग सीधा हवाइ सम्पर्क भएको हङकङमा समेत पुष्टि भएको छ । दक्षिण अफ्रिकी मुलुकहरुसहित बेल्जियम, जर्मनी, इजरायलमा संक्रमण पुष्टि भैसकेको छ ।

    हङकङसँग सीधा उडान भएकाले पनि नेपाललाई जोखिम रहेको प्रवक्ता पौडेलले बताए । उनका अनुसार हङकङसँगको हवाइ उडानलाई के गर्ने भन्नेबारे निर्णय गर्न आइतबार बिहान बस्ने कोभिड संकट व्यवस्थापन समन्वय समितिको बैठकले निर्णय गर्ने भएको छ ।

    प्रधानमन्त्री कार्यालय मातहत रहेको उक्त समितिकी प्रवक्ता सुनिता नेपालले आइतवारको बैठक नियमित भएपनि दक्षिण अफ्रिकामा देखिएको भरिएन्टबारे छलफल हुने बताइन् ।

    संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालको आकाश खुला भएकाले नयाँ भेरिएन्टको जोखिम पनि रहेको बताए । संक्रमण रोकथामका लागि विदेशबाट आउने यात्रुलाई कडाइका साथ स्क्रिनिङ गर्नुपर्ने सुझाउँदै उनले खोप लगाउने कार्यलाई तीव्रता दिनुपर्ने बताए ।

    नयाँ भेरिएन्टको चरित्र र प्रवृत्ति बुझ्न अझै समय चाहिने भएकाले नेपालीहरुले थप सतर्क हुनुपर्ने बेला भएको उनले बताए । परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै उनले भारतमा नयाँ भेरिएन्ट संक्रमण पुष्टि भए नेपाललाई थप चुनौति भएको उनले बताए ।

    अहिले राजनीतिक दलहरुको भेला र सम्मेलनमा सकेसम्म कोभिड प्रोटोकल पालना गर्न र खोप लगाएकोलाई मात्र सहभागी गराउनुपर्ने उनको सुझाव छ । जनसंख्याको लक्षित वर्गले खोप नलगाइसकेको बताउँदै उनले नयाँ भेरिएन्टसँग सतर्क हुनुपर्ने बेला आएको बताए ।

     

  • चामलको पिठोले कपालको समस्या समाधान यसरी गर्नुहोस्

    चामलको पिठोले कपालको समस्या समाधान यसरी गर्नुहोस्

    महिलाहरुलाई आफ्नो कपालको सम्बन्धमा बढिनै चिन्ता हुन्छ । टाउकोमा कालो, लामो र बाक्लो कपालले कुनैपनि महिलाको व्यक्तित्वमा अझ सुन्दरता ल्याइदिन्छ । जाडो सुरु भएसँगै कपाल झर्नु सामान्य प्रक्रिया हो । तर जब कपाल कोर्दा अस्वाभाविकरुपले कपाल झर्ने गर्छ, तब समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ ।

    यदी तपाईको कपालको समस्या छ भने यसको समाधान गर्न सबैभन्दा प्रभावकारी उपाय हो चामलको पीठो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ र यसले कपाल झर्ने, कपाल सुख्खा हुने र चायाँको समस्यालाई हटाउँछ ।

    १. मेथीको दाना र चामलको पीठो

    मेथीको दाना र चामलको पिठोको पेस्टले कपालसँग सम्बन्धित समस्याहरू हटाउँछ । चामलको पिठोले रक्तसञ्चार सुधार गर्छ । साथै यसमा पाइने एमिनो एसिड र मिनरल्सले स्क्याल्पलाई पोषण दिन्छ ।
    यो पेस्ट बनाउनको लागि २ चम्चा मेथीको दाना भिजाएर मिक्सरमा पिस्नुहोस् । अब यसमा ३ चम्चा चामलको पिठो हाल्नुहोस् । मेथीको दाना र चामलको पिठोबाट बनेको यो पेस्टलाई २० मिनेटसम्म कपालमा लगाउनुहोस् र त्यसपछि कपाल धुनुहोस् ।

    २. केरा र चामलको पिठो प्याक

    कपाल सुख्खा हुने समस्या प्राय जाडोमा हुने गर्छ । यसका लागि एउटा भाँडोमा चामलको पीठो लिनुहोस् र त्यसमा केरा मिसाएर बाक्लो पेस्ट तयार गर्नुहोस्। यसलाई ३० मिनेटसम्म कपालमा राख्नुहोस् र त्यसपछि कपाल धुनुहोस् ।

    ३. बेसनसँग चामलको पीठो

    चामलको पिठो टाउकोको छालालाई एक्सफोलिएट गर्न प्रयोग गर्न सकिन्छ । यसो गर्दा चायाँको समस्या हट्छ । चामलको पिठोमा बेसनको पीठो मिसाएर त्यसमा मनतातो पानी हाल्ने । यो पेस्टले टाउकोको मसाज गर्नुहोस् । १० देखि १५ मिनेटसम्म मसाज गरेपछि कपालमा छोड्नुहोस् । २० मिनेट पछि स्याम्पुले कपाल धुनुहोस् ।

     

  • शनिबार यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    शनिबार यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । शनिबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु र जाजरकोट छन् ।

    आठ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा चितवन, भक्तपुर, सुनसरी, झापा, धनुसा, कास्की, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १७११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • शनिबार २ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    शनिबार २ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिवार मुलुकमा २१३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा नमुना (पीसीआर ४९०७ र एन्टीजेन १७२५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३२५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
    गत २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५२१ पुगेको छ भने अहिलेसम्म ७ हजार १५६ सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४६८ जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

  • एमाले सचिव भीम आचार्य आइसोलेसनमा

    एमाले सचिव भीम आचार्य आइसोलेसनमा

    काठमाडौं । महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    महाधिवेशन थलो सौराहास्थित सेभेन स्टार होटलमै उनी आइसोलेसनमा बसेका हुन् । ज्वरो आएपछि उनको कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

    आचार्यको अवस्था सामान्य रहेको र उनी चिकित्सककै निगरानीमा रहेको जनाइएको छ ।

  • डब्लुएचओद्वारा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ अहिलेसम्मकै संक्रामक रहेको निष्कर्ष

    डब्लुएचओद्वारा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ अहिलेसम्मकै संक्रामक रहेको निष्कर्ष

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको नयाँ कोरोनाभाइरसको प्रजातिलाई ओमाइक्रोन नाम दिएको छ । यसलाई डब्लुएचओले संक्रामक (भेरिएन्ट अफ कन्सर्न)को सूचीमा राखेको छ ।

    गएराति आयोजित आपतकालिन पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा. टेड्रोसले नयाँ भेरिएन्ट तीव्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुनेभन्दै सतर्क हुन आह्वान गरेका छन् ।

    सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लुएचओले जनाएको छ । नेपालका लागि यो किन पनि जोखिमपूर्ण छ भने नेपालसँगको सीधा हवाइ उडान रहेको हङकङमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको छ ।

    बोत्स्वाना, हङकङ, बेल्जियम र इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भैसकेको छ । भारत, अमेरिका, बेलायतसहित केही युरोपेली मुलुकहरुले दक्षिण अफ्रिका र संक्रमण पुष्टि भएका मुलुकका उडानहरुमा रोक तथा कडाइ गरेका छन् ।

    शुक्रबार दिउँसो अफ्रिकामा १.१.१.५२९ वैज्ञानिक नामको भेरिएन्ट पुष्टि भएको खबर बाहिरिएको थियो । दक्षिण अफ्रिकाका सबै ठाउँमा यो भाइरस फैलिएको बताइएको छ । तत्कालै डब्लुएचओले विज्ञप्ति जारी गर्दै भन्यो, ‘यो भेरिएन्टले ठूलो संख्यामा संक्रमण फैलाउन सक्छ । त्यसमध्ये केही अति संक्रामक मानिएको छ ।’

    बेलायती स्वास्थ्य एजेन्सीले नयाँ भेरिएन्ट अहिले प्रयोगमा आएको कोभिड–१९ विरुद्ध कम प्रभावकारी हुने समेत बताएको छ । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेम्स नैसमिथले भने, ‘यो खराब समाचार हो तर, अत्यन्तै खराब चाहिँ होइन ।’ उनले तीव्ररुपमा फैलिने क्षमता यो भेरिएन्टमा रहेको बताए । अहिलेसम्म दक्षिण अफ्रिकाका २४ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाइएको छ ।

    उडानमा प्रतिबन्ध लगाउँदै विभिन्न मुलुकहरु

    जापानले शनिबारदेखि लागू हुने गरी अफ्रिकी मुलुकबाट त्यहाँ जाने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम ल्याएको छ । सो अवधिसम्म चारपटक कोरोना परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।

    भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुलाई कडाइपूर्वक परीक्षण गर्न भनेको छ । इरानले पनि दक्षिण अफ्रिकाका ६ मुलुकबाट हुने उडानमा रोक लगाएको छ ।

    ब्राजिलले पनि अफ्रिकाका ६ मुलुकबाट हुने उडानमा रोक लगाएको छ । अष्ट्रेलियाले नौ वटा अफ्रिकी मुलुकबाट हुने उडानलाई १४ दिनसम्म प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    भेरिएन्ट अफ कन्सर्नलाई डब्लुएचओले अत्यन्त खतरनाक र संक्रामक सूचीमा राखेको छ ।

  • शुक्रबार २ सय संक्रमित थपिदाँ २ जनाको मृत्यु

    शुक्रबार २ सय संक्रमित थपिदाँ २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २७० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सोही अवधिमा ३०२ जना संक्रमित निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार २८७ जना सक्रिय संक्रमित छन्।

    अहिलेसम्म देशभर निको हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : भारत, बेलायत र जर्मनीद्वारा यात्रा प्रतिबन्ध र कडाइ

    दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : भारत, बेलायत र जर्मनीद्वारा यात्रा प्रतिबन्ध र कडाइ

    काठमाडौं । दक्षिण अफ्रिकी बैज्ञानिकहरुले कोभिड-१९ को नयाँ भेरिएन्ट पत्ता लागेको जनाउँदै यसको सम्भावित प्रभावबारे अध्ययन भैरहेको जनाएका छन् ।

    बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । उक्त भेरिएन्ट धेरै संक्रामक हुनसक्ने र यसको शरिरको प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याउने वैज्ञानिकहरुको भनाई छ ।

    उक्त भेरिएन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरहरुमा फैलिएको जनाइएको छ । इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको जनाइएको छ ।

    दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले नयाँ भेटिएको भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनसँग आपतकालिन छलफल गर्ने भएको छ । स्वास्थ्य मन्त्री जोय फालाले तत्कालै नयाँ प्रतिबन्ध लगाउनेबारे डब्लुएचओसँग छलफलपछि अघि बढ्ने बताए ।

    गतवर्ष पनि दक्षिण अफ्रिकामा बेटा भेरिएन्ट पहिलोपटक संक्रमण पुष्टि भएको थियो ।

    भारतले पनि कडाइ थाल्यो

    नेपालको छिमेकी मुलुक भारतले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई कडाइ गर्दै परीक्षण व्यापक गराउने जनाएको छ । नयाँ भेरिएन्ट भेटिएपछि भारतले यो अर्को स्वास्थ्य संकट भएको बताएको छ ।

    भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा पुष्टि भएको भेरिएन्ट उच्च संक्रामक रहेको पाइएको बताएका छन् । यो भेरिएन्टले भारतको स्वास्थ्य प्रणालीमाथि अर्को जटिलता थप्ने समेत उनले बताए ।

    शुक्रबार बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले पनि नयाँ भेटिएको भेरिएन्ट स्पाइक प्रोटिनबाट बनेको र यसले अहिले प्रयोगमा आएका खोपहरुलाई कम प्रभावकारी बनाउने जनाएको छ ।

    बेलायतले आजै ६ वटा अफ्रिकी देशसँगको आवागमनमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अफ्रिकामा भेटिएको यो भेरिएन्ट हङकङमा समेत पुष्टि भएको बेलायतले जनाएको छ ।

     

  • १०० बेडको अस्पताल स्थापनाका लागि बैंकले सहजरुपमा ऋण दिनुपर्ने

    १०० बेडको अस्पताल स्थापनाका लागि बैंकले सहजरुपमा ऋण दिनुपर्ने

    काठमाडौं । अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यमा पहुँच पुर्‍याउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । स्वास्थ्य सेवा पाउने नागरिकको संबैधानिक अधिकारका लागि स्थानीय तहमा अस्पताल विस्तार गर्न केन्द्रीय बैंकको पछिल्लो नीतिले सहज बनाउनेछ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गर्दै अस्पताल नभएका स्थानीय तहमा १०० शैय्यासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाले सहजरुपमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।

    बैंकको नीतिअनुसार त्यस्तो कर्जा दिँदा आधारदरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म मात्रै प्रिमियम थप गर्न पाइनेछ । त्यस्तो कर्जा रु २० करोडसम्म प्रवाह गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ । रासस

  • बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । बिहीबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु र जाजरकोट छन् ।

    नौ वटा जिल्लामा २०० भन्दा बढी काेराेना संक्रमित रहेका छन् । जसमा चितवन, भक्तपुर, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १७२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • स्वास्थ्यमन्त्रीद्वारा ७७ वटै जिल्लाका सिडिओसँग खोप सहजीकरणबारे छलफल (भिडिओ)

    स्वास्थ्यमन्त्रीद्वारा ७७ वटै जिल्लाका सिडिओसँग खोप सहजीकरणबारे छलफल (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरणबारे छलफल गरेका छन् । बिहीवार स्वास्थ्यमन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाभाइरसविरुद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरुको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरी चाँडै वडाअध्यक्ष र गाउँ पालिकाका प्रमुखहरुलाई बोलाएर छलफल गर्न आग्रह गरे । उनले गाउँहरुबाट कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए । मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले खोप लक्षित समुदायमा पुर्‍याउन स्थानीय रुपमा योजना बनाएर लागू गर्नुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गरे ।

    स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘मेरो सिडिओसाबहरुलाई अनुरोध र उहाँहरुमार्फत्, म के भन्न चाहन्छु भन्दा त्यहाँको स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरेर एक/दुई दिन भित्रैमा एउटा मिटिङ राखेर आवश्यक पर्दा त्यो ठाउँमा गाउँपालिकाका प्रमुख, सकिन्छ वडा अध्यक्ष, नभए कम्तिमा पनि स्वास्थ्य क्षेत्रका मान्छे र गाउँपालिकाका प्रमुखहरुलाई बोलाएर काम गर्नुपर्‍यो । एउटा डाटा संकलनमा स्थानीय तहबाट भएका खोपहरुको डाटा नआएको हुनाले ५/१० प्रतिशत लगाएका खोपको पनि सार्वजनिक गर्न पाएका छैनौँ । काम भएको छ, डाटा बिस्तारै आउँदै गर्ला । दोस्रो कुरा अब तपाईहरुले कसरी बढी भन्दा बढी लक्षित समूहमा पुर्‍याउने भन्नको लागि एकपटक १५/२० दिन मेहेनत गर्नुपर्‍यो । त्यसको लागि तपाईहरुलाई कति खोप चाहिन्छ भण्डारणमा हेरेर खोप कति चाहिन्छ केन्द्रमा माग गर्नुहोस् । हामी २४ घण्टा पनि फरक नपारीकन खोप उपलब्ध गराउनेछौँ । गाउँ तहसम्म खोप जानको लागि तपाईहरुले नयाँ ढंगबाट डेस्कहरु सिर्जना गनुपर्‍यो । अहिले हामीसँग भएका स्वास्थ्यकेन्द्र जे जति छन् त्यहाँबाट कुनै बार नभनिकन नियमित खोप उपलब्ध गराउनु पर्‍यो ।’

    मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप गाउँ तहसम्म पु¥याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिए । उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्‍याउन आग्रह गरे । मन्त्री खतिवडाले गाउँ/गाउँका जनताहरुलाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए ।

    स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘सभा सम्मेलन, अलिकति भीडभाड हुने ठाउँ, बस स्टपहरु, मेलापात सप्ताह, पुराण यस्ता अनेकौँ ठाउँहरु छन्, त्यो ठाउँ थाहा पाएपछि हामी त्यहाँ गएर डेस्क राखिदिन सक्छौँ, जस्तो अहिले चितवनमा सम्मेलन हुँदैछ पार्टीको चितवनमा आजै बेलुकाबाट सक्नुहुन्छ भने १०/१५ ठाउँमा डेस्क राखिदिनुस्, मलाई लाग्छ त्यहाँ केही नभए पनि २०/५० हजारले थप खोप सुविधा लिनेछन् । त्यस्तै अर्को पार्टीको प्रतिनिधि छान्ने अभियान चलिरहेको छ, त्यो अभियान गर्ने क्रममा हजार, दुई हजार, चार हजार मानिसहरु जम्मा भएको देखिरहेको छु मैले मतदान गर्नलाई त्यस्तो ठाउँ अझै कुनै जिल्ला बाँकी छन् भने हाम्रा स्वास्थ्यकर्मीलाई पठाउनुस् । काठमाडौंको असनतिर धेरै भीड हुन्छ त्यहाँ डेस्क राखिदिनुस्, जिल्लाको मालपोत, सिडिओ कार्यालय त्यहाँ धेरै भीड हुन्छ, त्यहाँ डेस्क राखेर खोप सञ्चालन गर्नुहोस् ।’

    सरकारले अब १८ वर्षभन्दा माथिका कोरोनाभाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ । अहिलेसम्म कूल जनसंख्याको ३० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । 

  • बिहीबार ३ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    बिहीबार ३ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार मुलुकमा ३०८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ९०९ जनामा नमुना(पीसीआर ७१०४ र एन्टीजेन १८०५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने २९८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५१६ पुगेको छ भने अहिलेसम्म ७ हजार ३४९ सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार २८५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४२४ जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।