काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट डेल्टा र ओमिक्रोन भेरिअन्टले डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन्। अमेरिका र युरोपेली मुलुकमा उच्च संख्यामा कोभिड संक्रमणका केसहरु देखा परिरहेका बेला डब्लुएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससको भनाइ आएको हो।
डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले चाप बढाएको समेत बताए । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’
रोयटर्सका अनुसार विश्वभरि अहिले दैनिक झन्डै नौ लाख सङ्क्रमित पुष्टि भैरहेका छन् । शीर्ष अमेरिकी सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरी अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताए । फ्रान्सका स्वास्थ्यमन्त्रीले त्यहाँ बढेको सङ्क्रमणलाई चकित पार्ने किसिमको बताएका छन्।
कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा बेलायत समेत छ जहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।
डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ुमहामारी लम्ब्याउने देखिएको बताएका छन्। गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ।
काठमाडौं । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घरोग भएका देखि चिसोबाट हुने झाडापखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ ।
आज हामीले बाथरोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्ने बारे चिकित्सक डा. अभिलाषा शाहसँग हामीले संवाद गरेका छौँ ।
संवादको क्रममा डा. शाहले मानिसहरुमा देखिएका अन्य रोगहरुको र बाथरोगको लक्षण उस्तै लाग्ने भएकोले मानिसहरु गलत धारणा र अनुमानले उपचार गरिरहेको बताए ।
डा. शाहले बाथरोग सम्बन्धि समाजमा केहि गलत धारणा रहेको बताइन् । यस्तो अवस्थामा बाथरोगको उपचार गर्नु पर्नेमा अन्य रोगको उपचार गर्न खोज्ने अन्य रोगको उपचार गर्नुपर्नेमा बाथरोगको उपचार धेरै हुने पाइएको छ । डा. शाहले बाथरोगको पहिचान परिक्षण गरेरमात्र स्पष्ट हुने बताइन् । प्रस्तुत छ डा. अभिलाषा शाहसँग बाथरोग सम्बन्धि गरिएको कुराकानी ।
डा. अभिलाषा तपाईले दिनहुँ बाथरोगका बिरामी चेकजाँच गर्नुहुन्छ, हामो समाजमा कस्तो रुपमा पाउनुहुन्छ, बाथरोगको अवस्था ?
नेपालमा बाथरोग धेरै नै देखिएको छ । धेरै मात्रामा छ तर त्यसको डाइगोनोसिस मात्रै नभएको हो । पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेको छैन । सचेतना, जानकारी नभएर पनि होला । बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खालि बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ धारणा छ ।
डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वमा १० प्रतिशतभन्दा लाई बाथरोग छ । नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन । कति जनालाई बाथ छ, के छ ? तर अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो । त्यसपछि बाथको बिरामीहरु दिनदिनै बढेको देखिन्छ ।
बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ ?
बाथरोग एकप्रकारको अटो इम्युनडिजिज पनि हो । अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ । बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ । अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पुर्याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । कुनै बाथरोग वंशानुगत पनि आएको देखिन्छ । स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो । कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ ।
कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ ?
बाथरोग भनेपछि धेरैजसो, सामान्यतया देखिने लक्षण्हरु बाथको, जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, जोर्नीहरु कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको शुरुवाती लक्षण हो ।
बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ । जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ भने, बाथ सयौँ प्रकारको हुन्छ, जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ ।
सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो । कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई र्यास भनिन्छ । गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन् ।
अहिले चिसो दिनदिनै बढीरहेको छ, चिसोमा बाथरोगका बिरामीहरुलाई बढी समस्या हुन्छ गाह्रो पर्छ भनिन्छ, किन होला ?
अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुख दिने हुन्छ । त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो ।
यस्तो बेला कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने ?
बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।
कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ कस्तो बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ ?
लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने, समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ । बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ ।
त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ । त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ । त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ ।
त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ । साथै औषधि पनि । अहिले दोस्रो चरणको शिविर चलिरहेको छ । बाथरोगसम्बन्धी समस्या छन् भने परीक्षण गराउन आउनुहोला ।
बालबालिका र वृद्धवृद्धाहरुलाई कसरी हेरचाह गर्ने ?
बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ । लक्षण देखियो भने समयमै जाने उपचार गर्ने । बच्नको लागि तातो, न्यानो गर्नुपर्छ ।
अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने ।
बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाई छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ ।
काठमाडौं । नेपालमा आज २२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ पीसीआर परीक्षण गर्दा २०९ र १ हजार १७५ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्तालयले आज थप २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।
यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।
आज देशभरी नै ४ हजार ८६४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ ।
काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।
काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन नयाँ बसपार्क, वीरअस्पताल, बयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगार्इंदै छ ।
यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंह तथा ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्यचौकी, बज्रवराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी, लेले स्वास्थ्य प्राथमिक केन्द्र, लुभू प्राथमिक स्वास्थ्य केन्द्र, इमोडोल स्वास्थ्यचौकी, भट्टेडाँडा स्वास्थ्यचौकी, चौघरे स्वास्थ्यचौकी र गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ । सरकारले नियमितरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको छ ।
काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेरिअन्टको त्रासबीच भारतले कोभिडविरुद्धका थप दुईवटा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छट । सिरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेका कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई प्रयोगको अनुमति दिइएको हो ।
भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन्। अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ।
भारतले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ । तर, लक्ष्य प्राप्ती चुनौतिपूर्ण बन्न देखिएको छ । अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिएकाहरू एवं ६० वर्षभन्दा माथिका जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका व्यक्तिहरूलाई जनवरीदेखि १० देखि बुस्टर मात्रा खोप दिइने बताएका छन्। मोदीले जनवरीदेखि ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने बताएका छन्।
अहिले भारतमा दैनिक पुष्टि भइरहेका सङ्क्रमण सङ्ख्या ६,००० को हाराहारीमा छन्, तर ओमिक्रोन सङ्क्रमण केही राज्यहरूमा बढिरहेका छन्। अहिले त्यहाँ नयाँ भेरिअन्टका ६५३ सङ्क्रमण पुष्टि भएका छन्।
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।
बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन ।
कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।
महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २।६ र घोराहीमा ०।६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।
काठमाडौं । नेपालमा सबैभन्दा बढी जाडो महसुस गरिने महिना हो पुस । यसपाली पनि पुसको मध्यमा आइपुग्दा जाडोले आफ्नो ‘शक्ति प्रदर्शन’ सुरु गरेको छ ।
पछिल्लो दुई–तीन दिनयता काठमाडौंमा जाडो ह्वात्तै बढेको राजधानीवासीले महसुस गरेका छन् । दिउसो मधुरो घाम लागे पनि त्यसले जाडोलाई जित्न सकेको छैन ।
आज काठमाडौंको न्युनतम तापक्रम ३।६ डिग्री सेल्सीयस र अधिकतम तापक्रम १७ डिग्री सेलिसयस रह्यो ।
चिसो छल्नका लागि मानिसहरु विभिन्न उपाय लगाइरहेका छन् । पसलहरुमा ज्याकेट, स्वेटरलगायत बाक्ला लुगाहरुको विक्री बढेको छ । विभिन्न स्थानमा मानिसहरु जम्मा भएर आगो तापिरहेको देख्न सकिन्छ ।
आगामी केही दिन जाडो अझै बढ्न सक्ने अनुमान गरिएको छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले पनि पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सुले ढाकेको छ ।
तस्बिरमा हेर्नुस, जाडो बढेपछि काठमाडौंका विभिन्न स्थानमा आगो तापिरहेका दृष्यहरु
काठमाडौं । स्वास्थ्य क्षेत्रमा विशिष्ठ योगदान पुर्याएबापत फ्रान्सस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले नेपालका रामशरण भण्डारीलाई उत्कृष्ट अस्पताल व्यवस्थापन अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीलाई विश्वविद्यालयले पठाएको पत्रमा अस्पताल व्यवस्थापनमा व्यवसायिक चिकित्सकीय प्रमाणपत्र अवार्ड प्रदान गर्न लागिएको उल्लेख छ ।
साथै, उनले नेपालको सामाजिक, वाणिज्य र आर्थिक क्षेत्रमा दिएको योगदानको पनि उच्च मूल्यांकन गरिएको उल्लेख छ ।
‘केही वर्षदेखि सम्बन्धित क्षेत्रमा भण्डारीको सक्रियता र योगदानले मानिसहरुलाई लाभ मिलिरहेको छ’ युनिभर्सिटीको पत्रमा उल्लेख छ, ‘क्षमतावान र सिपयुक्त तपाईंजस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउँदा हामीले गौरव र खुशिको महसुस गरेका छौं ।’ अवार्ड ग्रहण गर्न आगामी जनवरीमा थाइल्यान्डको बैंककमा हुने कार्यक्रममा भाग लिन समेत निम्तो दिइएको छ ।
न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडिओ सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताए ।
कोभिड-१९ संक्रामक रोगले संसारभरि कत्तिको चाँडो संक्रमण फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताएका छन् । हालसालै देखिएका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको हाम्रो असफलता पनि प्रकट गरेको महासचिवले उल्लेख गरे ।
संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड-१९ मानवताका लागि अन्तिम महामारी नहुने बताएका छन् । विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि, अर्कोको लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
काठमाडौं । नेपालमा आज कोरोना भाइरसका २६४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थप २६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।
मन्त्रालयले दुईजनाको मृत्यु भएको जनाएको छ ।
आज देशभरी ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल नेपालमा सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो ।
टाइफाइड किटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो। दक्षिण कोरियाली कम्पनी इन्टरनेननल भ्याक्सिन इन्स्टिच्युटले यो खोप बनाएको हो । क्लिनिकल ट्रायलबाट उक्त खोप एक मात्रा दिएपछि सुरक्षित रहेको पाइएको विज्ञहरुले जनाइएको छ ।
बालरोग विशेषज्ञ गणेश राई प्रमुख अनुसन्धानकर्ता रहेको सो ट्रायलमा धुलिखेल अस्पतालका दिपेश ताम्राकार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल रोग विशेषज्ञ शिप्रा चौधरी, कान्ति बाल अस्पतालका विष्णुरथ गिरी, नेपालगञ्ज मेडिकल कलेजका पियुष कनोडिया, धुलिखेल अस्पतालका राजिव श्रेष्ठ टोलीमा सहभागी थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप ट्रायलका लागि अनुमति दिएपछि सन् २०१९ नोभेम्बर २० देखि २०२० मार्च १० को बिचमा १८ सय जनामा खोपको क्लिनिकल ट्रायल गरिएको हो।
उक्त ट्रायलपछि विज्ञहरुले सो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरसम्बन्धी पूर्व योग्यता स्थापित भएपछि प्रयोगमा आउन सक्ने बताएका छन् । भीआइडीटी कञ्जुगेट खोप लगाएपछि विकास हुने प्रतिरक्षात्मक प्रक्रिया डब्लुएचओबाट यसअघि नै स्वीकृत पाइसकेको टाइफाइडको अर्को खोप भारत बायोटेक इन्डिया भारतले बनाएको भीआईटिटी खोपको तुलनामा कम नहुने जनाइएको छ ।
अहिले फिलिपिन्समा पनि यही भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ। खोपको क्लिनिकल ट्रायलका टोली सदस्य विष्णुरथ गिरीका अनुसार नेपालमा वर्षेनी १५ सय देखि २ हजार व्यक्तिको मृत्यु टाइफाइडका कारण हुने गरेको छ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ।
कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो ।
खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
खोप उपलब्धताका आधारमा विहान ९ देखि बेलुकी ५ बजेसम्म १८ वर्षमाथिका नागरिकलाई सरकारको नियमानुसार अभियान सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
काठमाडौं । सिरिन्जको अभावमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरिएको फाइजरको खोप अभियान नेपालमा स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयले सिरिन्ज अभावमा खोप अभियान अनिश्चित समयको लागि रोकिएको जनाएको छ । शुक्रबार सिरिन्ज आएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप लगाउने तयारीमा मन्त्रालय थियो ।
खोप राष्ट्रिय कार्यक्रमका संयोजक सागर दाहालका अनुसार भेरोसेल, अस्ट्राजेनेका, मोर्डना र जोन्सन खोप अभियान चाहिँ निरन्तर हुनेछन् । फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज आवश्यक पर्छ ।
कोभ्याक्स संयन्त्रमार्फत शुक्रबार नेपालले ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । खोपसँगै सिरिन्ज नआउने भएकाले समस्या भएको हो ।
दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप प्रदान गरिने घोषणा गरेका छन् । शनिबार राती १० बजे राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले जनवरी ३ सोमबारदेखि खोप दिइने घोषणा गरे ।
बालबालिकालाई खोप दिँदा अभिभावकको चिन्ता पनि कम हुने बताउँदै प्रधानमन्त्री मोदीले बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउने बताए । पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा वृद्धि भैरहेको बेला भारतको केन्द्रिय सरकारले यस्तो घोषणा गरेको हो ।
खोप अभियानलाई गति दिने र विस्तार गर्ने सरकारको तयारी समेत रहेको मोदीले बताए । ‘कोरोनाविरुद्धको लडाइमा हामी थप बलियो बनेर अघि बढ्छौं’ मोदीले सम्बोधनमा भने । पछिल्लो साता ओमिक्रोन संक्रमणमा वृद्धि भएपछि भारतका कतिपय राज्यले प्रतिबन्धहरु लगाउन थालेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९८ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा थप १ जना कोभिड संक्रमितको मृत्यु भएको छ भने ३४९ जना निको भएका छन् ।
अहिले मुलुकभर सक्रिय संक्रमित संख्या ५०४८ छ । पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार डोज खोप दिइएको छ ।
कूल संक्रमित संख्या ८ लाख २६ हजार ९०१ (पीसीआर परीक्षण गर्दा) र ९६ हजार ११५ (एन्टीजेन परीक्षण गर्दा) संक्रमित पुष्टि भएका छन् । कूल मृत्यु ११ हजार ५८२ पुगेको छ ।
काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज विहान ल्याइएको फाइजर खोप टेकुमा भण्डारण गरिएको छ ।
पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ । नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो। उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो ।
काठमाडौं । कोरोनाभाइरस संक्रमण भएर निको भएपछि पनि केही सातासम्म यसले प्रजनन क्षमता घटाउने एक सोधले जनाएको छ । लन्डन विश्वविद्यालयमा हालै गरिएको एक सोधले यस्तो तथ्य बाहिर ल्याएको हो ।
२० डिसेम्बरमा फर्टिलिटी एण्ड स्टेरिलिटी जर्नलमा प्रकाशित शोधअनुसार कोरोना संक्रमणले पुरुषको वीर्यमा शुक्राणुको गतिमा कमी आएको देखिन्छ ।
सो अध्ययनका लागि बेल्जियमका १२० पुरुषको वीर्य संकलन गरिएको थियो । जसको औषत उमेर ३५ वर्ष थियो । संक्रमणको लगतैदेखि १/२ महिनासम्म भएका पुरुषको नमुना लिइएको थियो । संक्रमण भएको १ महिना भन्दा कम भएका पुरुषको वीर्यमा रहेको शुक्रकीटको गतिमा ६० प्रतिशत र संख्यामा ३७ प्रतिशत गिरावट देखिएको अध्ययनको रिपोर्टमा भनिएको छ ।
संक्रमण निको भएको अवधि वढ्दै जाँदा शुक्रकीटमा गति पनि बढ्दै गएको अध्ययनले देखाएको छ । प्रकाशित रिपोर्टअनुसार १ महिना भन्दा कम भएका पुरुषको वीर्यमा शुक्रीटको गतिमा ६० प्रतिशत कमी थियो । १ महिनादेखि २ महिनासम्मका व्यक्तिमा ३७ प्रतिशत र २ महिना भन्दा बढी भएकाको शुक्रकीटको गतिमा २८ प्रतिशतले कमी देखिएको छ ।
वीर्यमा शुक्रकीटको संख्याका आधारमा हेर्दा कोरोना संक्रमण भएको १ महिना भन्दा कम समय भएकाका वीर्यमा ३७ प्रतिशतसम्म कमी रहेको अध्ययनले देखाएको छ । १ महिना भन्दाबढी र २ महिनासम्म भएका पुरुषको वीर्यमा शुक्रकीट २९ प्रतिशतले कमी देखियो । २ महिना भन्दा बढी भइसकेकाको वीर्यमा जम्मा ६ प्रतिशत मात्रै कमी देखिएको अध्ययनको रिपोर्टमा भनिएको छ ।
कोभिड–१९ संक्रमण हुँदा देखिने गम्भीरताले भने यसमा असर नपर्ने अध्ययनको निष्कर्षले उल्लेख गरिएको छ । शुक्रकीटको असामान्यता र स्पाइक १ विरुद्ध कोरोना भाइरसविरुद्ध बन्न आइजीजी एन्टिबडी र स्पाइक १ को रिसेप्टर बाइन्डिङ डोमेनबीच गहिरो सम्बन्ध रहेको यस अध्ययनमा देखिएको छ ।
कोराना संक्रमणबाट मुक्त भइसकेको व्यक्तिसँग यौन सम्पर्क गर्दा वीर्य सर्ने सम्भावना नरहेको बलियो प्रमाण पनि यस अध्ययनमा मिलेको सोधकर्ताले बताएका छन् ।
ब्रसेल्स । खोप लगाएको प्रमाणपत्र पाउन बेल्जियमका एक व्यक्तिले आठपटकसम्म कोरोनाभाइरसविरुद्धको खोप लगाएको पाइएको छ । खोपविरुद्ध धोकाधडी गरेको आरोपमा बेल्जियम प्रहरीले उनलाई पक्राउ परेको छ ।
उनी ९ औं पटक खोप लगाउन खोप केन्द्र पुगेका थिए । सोही बेला प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठौपटक सम्म खोप लगाएपनि उनको शरीरमा भने खोपको कुनै साइड इफेक्ट देखिएको छैन ।
यो घटना वालुन प्रान्तको २ लाख जनसंख्या भएको चारलेरोई सहरमा भएको हो । स्थानीय एक युवक पैसा लिएर अरुको सट्टामा खोप लगाइदिने क्रममा पक्राउ परेका हुन् । स्थानीय मिडिया लेभेनियरको रिपोर्टका अनुसार अभियुक्त यस्तो मानिसहरुको सम्पर्क गर्थे जो खोप नलगाई खोपको प्रमाणपत्र हासिल गर्न चाहन्छ । यस्ता व्यक्तिहरुबाट मोटो रकम लिएर अभियुक्त आफैं उनको ठाउँमा खोप लगाउन जाने गर्थे ।
लगातारको खोपका कारण ९औं पटक आएपछि स्वास्थ्यकर्मीले चिनेपछि प्रहरीलाई खबर गरेका थिए । अभियुक्त बाहेक, बेल्जियम प्रहरीले खोप लिन अभियुक्तहरूलाई पैसा तिर्नेहरूको नाम भने खुलाएको छैन।
बेल्जियममा २६ डिसेम्बरदेखि कडाइ
ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएपछि बेल्जियममा संक्रमण रोक्न धेरै प्रयास भइरहेको छ । डिसेम्बर २६ देखि इनडोर बजार, सिनेमा हल, थिएटर र कन्सर्ट हलहरू बन्द हुनेछन्। दर्शकहरूको उपस्थिति बिना खेलकुदका इभेन्टहरु भने हुनेछ ।
बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रुले कोरोना नियन्त्रण भयो भने जनवरी १०, २०२२ देखि विद्यालयहरू पुनः खोलिने विश्वास व्यक्त गरेका छन्।
हालसम्म बेल्जियमा २० लाख १७ हजार कोरोना संक्रमित छन् । जसमध्ये १५ लाख ५३ हजार संक्रमणमुक्त भएका छन् । ४ लाख ३५ हजार सक्रिय संक्रमित छन् । करिब २७ बिरामीको मृत्यु भइसकेको छ भने ७४३ जनाको अवस्था गम्भीर छ ।
काठमाडौं । नेपालमा आज २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२६ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यो बुधबारको भन्दा बढी संख्या हो । बुधबार २३६ जनामा कोरोना पुष्टि भएको थियो ।
९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज थप २६३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार थप २ जनाको मृत्यु भएको छ । आज देशभरी ५ हजार १६१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । चीनमा पहिलोपटक कोरोना भाइरस भेटिएको करिब तीन वर्षको अवधिमा तीनवटा नयाँ भेरियन्ट पत्ता लागिसकेको छ । अल्टा, डेल्टाहुँदै पछिल्लो समय अफ्रिकामा ओमिक्रोन नामक कोरोनाको नयाँ भेरियन्ट भेटियो । जसकारण विश्व नै आतंकीत भइरहेको छ । नैपालमै दुईजना विदेशीलाई ओमिक्रोन संक्रमण भएको पत्ता लागेपछि यसको त्रास झन् बढिरहेको छ । तर नेपालमै कोरोनाको कुनै नयाँ भेरियन्टको जोखिम कतिको छ ? भन्नेबारे गहिरो खोज भएको छैन ।
अहिले नेपालका सरोकारवाला जिम्मेवार निकाय पनि भेटिएका भेरियन्टबाट जोखिनेबारे मात्रै धेरै कुरा गरिरहेका छन् । र, त्यसकै लागि अनेक प्रयास भइरहेको बताइरहेका छन् । बिडम्बनापूर्ण तथ्य यो छ कि, कोरोनाको एउटा भेरियन्टका लागि बनेको खोपले अर्को भेरियन्टमा काम नगरेको बताइन्छ । यस्तैमा कुनै नयाँ भेरियन्ट भेटिए के गर्ने ? भन्ने चिन्ता जनस्वास्थ्यविद्को छ । तर, नेपालमा नयाँ भेरियन्ट भए पनि पत्ता लगाउने स्थिति छैन ।
नेपालम डेल्टा, आमिक्रोन, अल्टा जस्तै खतरनाक र वा त्योभन्दा पनि घातक म्युटेसन भेटिनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वन्स गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिरहेका छन् ।
जनस्वास्थ्यविज्ञहरुले अझै पनि कोरोना भाइरसकै नयाँ म्युटेसन आइरहने बताउँछन् । नयाँ म्युटेसनहरु केही स्थिर भएर जाने, केही हराएर जाने र केही झनै घातक भएर फैलन सक्ने उनीहरुको अनुमान छ ।
कस्तो किसिमको भेरियन्टह तथा भाइरस छन् भनेर अध्ययन गर्नुलाई जिन सिक्वेसिङ भनिन्छ ।
नेपालमा पनि कोरोनाको जिन अध्ययन गर्नुपर्ने बताउँछन्, जनस्वास्थ्यविद् तथा ट्रपिकल प्रोफोसर डा सुजनबाबु महठ्ठा बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनले कुल कोरोना संक्रमितमध्ये पाँच प्रतिशतको जिन सिकोइन्स गर्न भनेको छ, नेपालमा चार प्रतिशतको मात्रै जिन चेक गरियो भने नयाँ भेटिन सक्छ’, उनी भन्छन्, ‘नेपालमा जिन सिक्वेन्स गर्न एकदमै आवश्यक छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि मरहठ्ठाको कुरामा सहमत छन् । उनी भन्छन्– जिन सिक्वेइन्स गर्दा हामीले पनि सर्तकता अपनाउँदै र क्षमता विकास गर्दै लैजानुपर्छ । त्योसँगसँगै डिनेटिक सर्भिलेन्ट पनि गर्नुपर्छ । कोरोनाको नयाँ भेरियन्ट जुनसुकै देशमा बन्नसक्ने भएकाले नेपाल पनि यसबारे सचेत हुनपर्ने उनको बुझाइ छ ।
डा. पुन यसअघि हैजा र डेंगुका नयाँ भाइरस पत्ता लगाउने चिकित्सक हुन् । उनी सरुवा रोग विशेषज्ञ हुन् ।
छिट्टै अध्ययन गर्छौः स्वास्थ्य मन्त्रालय
कोरोना भाइरसको दोस्रो लहरले मुलु आक्रान्त भएका बेला पनि सरकारले जिन सिक्वेइन्स गर्ने प्रविधि भित्र्याएको थिएन । नयाँ भेरियन्टको शंका लागे नमूना हङकङ पठाउने गथ्र्यो । तर केही समयअघि मात्रै सरकारले जिन सिक्वेइन्स प्रविधि भित्र्याएको छ ।
उक्त प्रविधिमार्फत नै नेपालमा ओमिक्रोनको पुष्टि भएको थियो । तर नेपालमा नयाँ म्युटेसन भेटिएको हुनसक्ने आशंकामा कुनै पनि जिन सिक्वेइन्स नगरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।
उनले भने, ‘पहिला नेपालमा यो प्रविधि थिएन । शंका लागेको नमूनाहरु हङकङ नै पठाउनुपथ्र्यो । पछिल्लो समय नेपालमा त्यो प्रविधि आइसकेको छ । सञ्चालनमा आएको भर्खरै हो । अस्ति दुई विदेशीलाई ओमिक्रो संक्रमण भएको यहीं पत्ता लागेको हो ।’ उक्त प्रविधिबाट अब छिट्टै नयाँ म्युटेसनको बारेमा पनि अध्ययन हुने उनले बताए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २१७ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् ।
प्रवक्ता डा. मिश्राका अनुसार २४ घण्टामा ७ हजार २३३ पीसीआर र ४ हजार ४३ एन्टिजेन परीक्षण भएको छ । २७२ जना कोरोनामुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ । २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ३ प्रतिशत छ ।
हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षण ८ लाख २६ हजार ४२३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् । एन्टीजेन बिधिबाट ९६ हजार ०४० जनामा कोरोना पुष्टि भएको छ । ८ लाख ९ हजार ६५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।
दिल्ली । सरकारले कोरोनाको सम्भावित तेस्रो लहरको चुनौतिसँग जुध्नेबारे तयारी अवस्थामा रहन मुलुकभरका अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् ।
छिमेकी मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको सन्दर्भमा नेपालले अपनाउनुपर्ने मापदण्ड र सतर्कता तथा पछिल्लो परिस्थितीबारे जानकारी दिन मन्त्री खतिवडाले ब्रिफिङमा बोेलेका थिए ।
उनले अस्पतालहरुलाई अक्सिजनसहितका उपचारलाई तयारी अवस्थामा रहन पत्राचारसहित निर्देशन दिइएको बताए । सीमा नाका हुँदै भारतबाट आउनेहरुलाई कडाइपूर्वक परीक्षण तथा क्वारेन्टिनमा राख्न सरकारले काम गरिरहेको बताउँदै हवाइमार्गबाट आउनेलाई पनि कडाइ गरिएको बताए ।
जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिकको साथ सरकारले चाहेको बताउँदै मन्त्री खतिवडाले खोप लगाएर सुरक्षित हुन पनि आग्रह गरे । गुणस्तरीय र प्रभावकारी खोप उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको उनले बताए ।
काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले सो जानकारी दिइन् ।
नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी उनले दिइन् । प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
न्यूयोर्क । संसारका सर्वाधिक धनीमध्येका एकजना अर्बपति बिल गेट्सले ओमिक्रोन भेरिएन्टलाई लिएर संसारले निकट भविष्यमै खराब दिनको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
गेट्सले बुधबार लगातार सातवटा ट्वीट गर्दैै ओमिक्रोन भेरिएन्टले अहिलेसम्मकै खराब स्थितीको सामना गर्नुपर्ने हुनसक्ने बताए । आफू निकटका साथीहरु पनि नयाँ भेरिएन्टको चपेटाले ग्रस्त भएको बताउँदै उनले मानिसलाई सावधान रहन अपिल गरे ।
नयाँ भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिएसँगै आफूले सबै बिदाका कार्यक्रम स्थगित गरेको पनि गेट्सले जनाएका छन् । उनले मास्क लगाउन, भीडभाड नगर्न र खोप लगाउन पनि सुझाएका छन् ।
उनले ओमिक्रोनलाई लिएर मानिसले सतर्कता अपनाउनु जरुरी भएको बताए । बिल गेट्सको चेतावनी यस्तो बेला आएको छ जतिबेला अमेरिकामा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको छ ।
पछिल्लो सप्ताहन्तमा अमेरिकामा पुष्टि भएका कूल संक्रमणमध्ये ७३ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको छ । सुरुमा यो दर ३ प्रतिशत थियो ।
काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन डेल्टाभन्दा तीव्ररुपमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोप लगाइसकेका र पहिल्यै संक्रमित भैसकेकालाई पनि संक्रमित तुल्याएको जनाइएको छ ।
डब्लुएचओका प्रमुख बैज्ञानिक सौम्य स्वामीनाथनले ओमिक्रोनको सुरुआती लक्षण मध्यखालको भनेर बेवास्ता गर्नु हतारो र घातक हुनसक्ने बताए । ‘संक्रमण बढ्दै जाँदा सबै स्वास्थ्य प्रणालीमा दबाब परिरहेको छ’ स्वामीनाथनले जेनेभका एक पत्रकारसँग भने ।
ओमिक्रोनले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याएको बताउँदै उनले बुस्टर डोजको खोप अभियान प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई लगाउनुपर्नेमा उनले जोड दिइन् ।
‘डेल्टाभन्दा ओमिक्रोन भाइरस तीव्ररुपमा फैलिएको प्रमाण हामीसँग छ’ डब्लुएचओ निर्देशक डा. टेड्रोस आधानोम गेब्रेससले प्रेस ब्रिफिङमा भने, ‘खोप लगाइसकेका र संक्रमणमुक्त भैसकेका पनि पुनः संक्रमित हुनसक्ने प्रमाणहरु भेटिएका छन् ।’
ओमिक्रोनबाट संक्रमित हुने सम्भावना पाँच गुणा बढी रहेको र डेल्टाभन्दा कम लक्षण देखिने सम्भावना नरहेको समेत उनले बताए ।
काठमाडौं । कोरोना भाइरसको नयाँ-नयाँ भेरियन्ट आइरहेको छ । पछिल्लो समय अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व नै आतंकित भइरहेको छ । तर, यसअघि कोरोनाविरुद्धको पूर्णडोज खोप लगाइसकेकालाई पनि ओमिक्रोन संक्रमण र संक्रमणका कारण स्वास्थ्यमा असर गर्नसक्ने स्वास्थ्यविद्हरुले बताइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनले नै यसअघिका खोपले ओमिक्रोन भइरस संक्रमण र जोखिम रोक्न नसक्ने बताइसकेको छ । यसर्थ ओमिक्रोन संक्रमण र जोखिमबाट बँच्न चिकित्सकहरुले बुस्टर डोज लगाउनुपर्नेमा दिएका छन् । यसअघि कोरोनाविरुद्धका दुवै डोज लगाइसकेकाले पनि बुस्टर डोज लगाउनुपर्ने उनीहरुको बताइरहेका छन् । ओमिक्रोन भइरस यसअघिका अरु भेरियन्टभन्दा एकैपटक धेरैजनामा सर्नसक्ने पनि चिकित्सकहरुले बताइरहेका छन् ।
हुनत अहिले कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनहरु आपतकालीन प्रयोगको लागि हो । यसअघिका खोपहरुले ६ महिना एन्टिबडीको काम गर्ने र त्यसपछि क्रमशः प्रभावकारिता कम हुने बताइएपछि बुस्टर डोज लगाउन थालिएको थियो ।
नेपालमा एक वर्ष अघिदेखिनै कोरोना भाइरसविरुद्ध पहिलो र दोस्रो चरणमा भारत, चीन, अमेरिका र बेलायतमा उत्पादन भएको कोभिसिल्ड, भेरोसिल, अक्ट्राजेनेका, जोनसन एन जोनसनको खोप लगाउन थालिएको थियो । कोरोना संक्रमणदर कम भएसँगै बुस्टर डोजको चर्चा पनि कम भएको थियो । तर पछिल्लो समय ओमिक्रोन आतंक बढेसँगै यसको चर्चा बढेको छ । ओमिक्रोन फेला नपरेको भए नेपालमा बुस्टर डोजको चर्चा पनि सेलाएर जाने थियो ।
जनस्वास्थ्यविद् प्रा.डा सुजन बाबु मरहठ्ठा भन्छन्, ‘ओमिक्रोनको त्रास बढेसँगै नेपालमा बुस्टर डोजको माग पनि बढेको छ ।’
बुस्टर डोजको अहिले बढी आवाज आयो किनभने बुस्टर डोज चाहिन्छ भनेर अहिले थाहा भएको हो । पहिले बुस्टर डोजको आवाज कम थियाे । कोभिडको संक्रमण कम देखियो अहिले ओमिक्रोन सँगै कोभिडको संक्रमण पनि बढेकाले बुस्टर डोजको माग बढेको हो ।’
के हो बुस्टर डोज, कति प्रभावकारी ?
अहिले जताजतै कोरोना भाइरसविरुद्धको बुस्टर डोजको चर्चा छ । तर यसको प्रभावकारिताबारे गहिरो अध्ययन भने भएको छन । यसबारे जनस्वाथ्यविद् प्रा.डा सुजन बाबु मरहठ्ठाको भनाइ यस्तो छ–
भ्याक्सिनले न्युटेसनहुँदै गएपछि टार्गेट एन्टीबडी बनाउन ब्रीज गर्न सक्छ । यो भ्याक्सिन लामो समयको लागि होइन । एक वर्ष ट्रायल गरेर भ्याक्सिन फास्ट आएकाले यसले कति समयसम्म काम गर्छ भन्ने कुरा अझै पनि स्पष्ट भइसकेको छैन । तर लामो समय गर्न सक्दैन, त्यहीं भएर हामीले दुई डोज भ्याक्सिन लगायौं । सामान्यतया यसले लामो समयसम्म एन्टीबडी दिन सक्दैन भन्ने नै बुझाइ छ ।
अन्य देशमा बुस्टर डोज लगाउन थालिसक्यो । अनि सुरक्षाको लागि हामीले पनि दिन थाल्यौं । तर नेपालमा अझै पनि सबै नेपालीले पहिलो चरणकै खोप पाएका छैनन् । सबै नागरिकलाई खोप पुयाउनु नै अहिले सरकारको पहिलो प्राथमिकता हो ।
पहिलो चरणमा सबैलाई खोप लगाए ओमिक्रोन फैलिएपनि गम्भीर भएर अस्पताल भर्ना हुनपर्ने अवस्था नआउने थियो । सरकारको पहिलो प्राथमिकता सबैलाई खोप दिनु नै हो । एक डोज खोप लगाएपनि तुलनात्मकरुपमा सुरक्षित हुन सक्छ ।
ओमिक्रोन भेरियन्टले त्यति धेरै भाइरोलेन्ट सिनोटिक नहुने देखिएको छ । अहिले दक्षिण अफ्रिकामा देखिएको लगभग ७० प्रतिशत केशहरु यस्तो छ कि, आइसीयुमा भएकोहरुले भ्याक्सिन नलगाएको देखिएको छ ।
भ्याक्सिन लगाएकोमा टुयोरिक कम भएको देखिन्छ । अहिलेसम्म अध्ययन नभएकाले खाली अब्जरभेसन मात्रै भएको छ ।
अमेरिकामा सबेले खोप लगायो भन्दैमा हुँदैन, ट्राभल रोक्नुपर्ने हुन्छ । त्यसैले खोपको उपलब्धता सहज हुन जरुरी छ, सबैतिर ।
दुई डोज कोरोनाविरुद्धको खोप लगाइसकेकाले सकेसम्म ६ महिना कटेकाले बुस्टर डोज लगाउनु राम्रो हो । हामीलाई पनि खोपले कति प्रोटेक्सन गर्छ, गर्दैन भन्ने थाहा छैन । तर भ्याक्सिन थप गर्दा हामीलाई असर नगर्ने भएकाले बुस्टर डोज लगाउँदा फरक पर्दैन ।
बुस्टर डोज पनि सुरुमा दीर्घरोगी, उमेर बढी भएका र विभिन्न किसिमको रोग लागेकालाई प्राथमिकतामा लगाउनुपर्छ । साथै जनस्वास्थ्यको मापदण्ड पनि पालना गर्न छाड्नु हुँदैन । अहिले राजनीतिक पार्टीहरुले लाखौं मान्छे भेला गराइरहेका छन्, यो गलत हो ।
भोग्दाखेरि अलि बढी हुने सचेत हुने, चनाखो हुने अनि अलिकति ठीक भएपछि बिर्सिहाल्ने पद्धतिको अन्त्य गर्नुपर्छ । निरन्तर रुपमा मापदण्ड पालना गर्नु अहिलेको आवश्यकता हो ।
एक डोज पनि नपाएकालाई प्राथमिकता दिनुपर्छः पुन
केही समयअगाडि अमेरिकालगायत युरोपको देशमा बुस्टर डोज लगाउन सुरु गरियो । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको पहिलो खोप नै नेपालले भन्दा धेरै अगाडिदेखि लगाएको थियो । खोपको एन्टीबडीको क्षमता खस्कँदै जाँदा ती मुलुकमा जेष्ठ नागरिक तथा दीर्घरोग भएका मानिसहरुमा थप समस्या आएपछि बुस्टर डोज लगाउन थालिएको हो ।
त्यसपछि क्रमशः सबैले बुस्टर डोज लगाउन थाले । अहिले ६ महिनादेखि एक वर्षपछि बुस्टर डोज थपिँदै लैजानपर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ । र अब कस्तो स्वास्थ्य समस्या भएकोलाई यो डोज लगाउने भन्ने बुझ्न जरुरी भएको बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन ।
पुनले अहिलेसम्म एक डोज पनि खोप नलगाएकालाई प्रथमिकता दिनुपर्नेमा जोड दिए । एकपटक खोप लगाइसकेका, दुवै डोज लगाएका र उनीहरुमा खोपले पारेको प्रभाव बुझेर मात्रै खोप लगाउनुपर्ने उनको भनाइ छ ।
भण्डारणमा खोप थन्किएर बसेको तर अझै सबैले खोप लगाउन नपाउने स्थिति राम्रो नभएको उनको भनाइ छ । ‘विगतमा खोपका लागि तड्पिनुपरेको पनि हामीले भोगकै हौं’, पुन भन्छन् ।
स्वास्थ्यमन्त्री र कर्मचारीबीच नै कुरा मिलेन
स्वास्थ्यमन्त्री र कर्मचारीहरुबीच नै मतभेद देखिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले अब सबैलाई बुस्टर डोज दिने तयारी भइरहेको बताइरहँदा मन्त्रालयकै कर्मचारीहरुले असन्तुष्टि जनाइरहेका छन् ।
अझै ६० प्रतिशतले एक डोज पनि खोप नपाएको अवस्थामा दुवै डोज लगाएकालाई बुस्टर खोप लगाउन नहुने कर्मचारीहरुको मत छ । हालसम्म कुल जनसंख्याको ३०. ६ प्रतिशतले मात्रै पूर्ण मात्राको खोप लगाएका छन् । भने ३७.७ प्रतिशतले एक डोज मात्रै खोप पाएका छन् । हालसम्म २ करोड ७ लाख ५९ हजार ५४ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म ३ करोड १४ लाख १९ हजार ३३० मात्रा खोप आइपुगेको छ । खोप झण्डै ६० लाख हाराहारीमा मौजाद छ । २ करोड ७५ लाख खोप आउने क्रममा छ ।
३७ प्रतिशतले बल्ल एक डोज लगाएका छन् । ५० प्रतिशतले खोप लगाइसकेपछि मात्रै बुस्टर डोजलाई प्राथमिकतामा राख्ने मन्त्रालयका पुर्व प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
एजेन्सी । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् ।
अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिए ।
पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म संक्रमित भेटिएका छन् । यो संख्या कोभिड महामारी सुरु भएयता कै सबैभन्दा धेरै हाे ।
विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् । कोभिड-१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए ।
उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए
प्रधानमन्त्री देउवाले भने “अहिले नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको बताइएको छ, खोप अभियानलाई तीव्रताका साथ अघि बढाउन जरुरी छ, खोपबाट जनताको जीवन बचाउनु हामी सबैको कर्तव्य हो, त्यसैले चैतसम्म सबै नेपालीलाई खोप दिने हाम्रो (सरकारको) लक्ष्य हो पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्न अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री देउवाले कोभिड विरुद्धको बुष्टर डोज लगाएमा तेस्रो लहर पनि आउनसक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरे ।
कोभिडको नयाँ भेरियन्टले बालबालिकालाई पनि जोखिममा पार्ने भनिएकाले १२ वर्षमाथिका बालबालिकालाई पनि बचाउन आवश्यक रहेकाले बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए । प्रधानमन्त्री देउवाले खोप लगाएर सुरक्षित होइन्छ भनेर खोप अभियानबारे जनतमा सचेतना फैलाएर उनीहरुलाई उत्साहित बनाउन पनि अनुरोध गरे ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन्। ४१४१ जनाको नमुना परीक्षण (२७२५ पीसीआर र १४१६ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५२२५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ पुगेको छ ।
२४ घण्टामा ८६ हजार ५९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए ।
उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो । यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुगेको प्रमुख चौरसियाले बताए । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ । रासस