Category: स्वास्थ्य-जीवनशैली

  • अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

    अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

    काठमाडौं । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड-१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो ।

    आमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । गएको तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुका हकमा समेत उक्त निर्णय लागू हुने जनाइएको छ ।

    विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ । पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

    विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।

    यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ ।

    उक्त व्यवस्थाबाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने जनाइएको छ । ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ । रासस

  • ‘आइसोलेसन’ मा नेताका दिनचर्या : कोही बच्चाहरुसँग रमाउँदै, कोही पुस्तक पढ्दै

    ‘आइसोलेसन’ मा नेताका दिनचर्या : कोही बच्चाहरुसँग रमाउँदै, कोही पुस्तक पढ्दै

    काठमाडौं । समुदायस्तरमा पुगिसकेकाे कोरोना भाइरस (कोभिड-१९) को संक्रमण माओवादी केन्द्रको महाधिवेशनबाट बिस्फोट जस्तै भयो ।

    राजधानीको प्रज्ञा भवनमा एक सातासम्म देशभरका प्रतिनिधि भेला गरेर माओवादीले महाधिवेशन गरेको थियो । महाधिवेशन सकिएलगत्तै माओवादीका नेताहरु धमाधम विरामी पर्न थाले ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित करिव दुई दर्जन बढी माओवादी नेताहरुमा कोरोना पुष्टि भएको छ ।

    सर्वदलीय बैठमा प्रचण्डसँगै बसेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणको जोखिमलाई ख्याल गरेर ‘आइसोलशन’मा बसेका छन् ।

    माओवादीको स्थायी समितिका निवर्तमान ६ जना सदस्यलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै धेरै केन्द्रीय सदस्यहरु र केन्द्रीय कार्यालयका कर्मचारी समेत संक्रमित भएका छन् ।

    प्रचण्ड, नारायणकाजीका बाहेक हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत र उनकी श्रीमती सत्या पहाडी, गणेश साह, चन्द्रप्रकाश खनाल, मात्रिका यादवलाई पनि कोरोना पुष्टि भएको छ ।

    शिक्षा मन्त्री देवेन्द्र पौडेललाई संक्रमण भए पनि उनकी श्रीमती बलावती पौडेललाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक देव गुरूङलाई नभए पनि उनकी श्रीमती यशोदा सुवेदी गुरूङ कोरोना संक्रमित भएकी छन् ।

    त्यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतलाई कोराना संक्रमण भएको छ ।

    आइसोलेसनका दिनचर्या

    कोरोना संक्रमित भएका र हुने जोखिमा रहेका अधिकांश नेताहरु ‘होम आइसोलेसन’मा बसेका छन् ।

    आइसोलेसनमा रहेका प्रचण्डको अवस्था सामान्य रहेको उनको स्वकीय सचिव रमेश मल्लले बताएका छन् । प्रचण्ड होम आइसोलेसनमा अध्ययनमा रहेका छन् ।

    नेपाल प्रेससँग उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था नर्मलै छ । भोलि, पर्सि एक चोटी जाँच गर्ने कुरा भइरहेको छ ।’

    प्रचण्डले महाधिवेशनमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमाथि आएका सुझावहरु अध्ययन गरेर परिमार्जन गरिरहेको मल्लले जानकारी दिए । उनले भने, ‘अध्यक्षको प्रतिवेदनमाथि महाधिवेशनमा सल्लाह सुझावहरु आएका थिए । उहाँ (प्रचण्ड) त्यसलाई हेरेर परिमार्जन गर्दै हुनुहुन्छ ।’

    मल्ल स्वयं पनि कोरोना संक्रमित छन् । ६ दिनदेखि स्वास्थ्य मापदण्ड पालना गरेर उनी होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्य अवस्थामा खासै समस्या नदेखिएका उनी आफू बच्चाहरुसँग रमाइरहेको बताउँछन् ।

    ‘रुघा र खोकी बाहेक खासै समस्या देखिएन,’ उनी भन्छन्, ‘केटाकेटीसँग नाचेर बसेको छु । उनीहरुको अनलाइन कक्षा सुरु भएकाले बिहानभरी शिक्षक हुनुपर्छ, दिउँसो उनीहरुसँग खेल्दै दिन बित्छ । यो त मेरो लागि परिवारसँगै बिताउने ठूलो अवसर भएको छ ।’

    नेता हरिबोल गजुरेलले सुरुका दुई दिन गाह्रो भए पनि मंगलबारबाट अलि सहज भएको बताए ।

    ‘एक दुई दिन ज्वरो आउने, खोकी लाग्ने र जीउ दुख्ने भयो,’ नेपाल प्रेससँग उनले भने, ‘अहिले ठीक भएको छ । एक दुई दिन गाह्रो भयो अहिले सुधार आएको छ।’

    स्वास्थ्यलाई समेत ध्यान दिँदै अहिले अध्ययन पनि गरिरहेको उनले बताए । ‘सात÷आठ दिन महाधिवेशनको धपेडी भयो,’ उनले भने, ‘समाचार हेर्ने, अलि अलि पुस्तक पढ्ने गरिरहेको छु । विरामी भएको बेलामा धेरै पढ्नु पनि हुँदैन ।’

    अर्का नेता शक्ति बस्नेत दम्पत्ति नै कोरोना संक्रमित भएका छन् । बस्नेतले सुरुमा केही दिन गाह्रो भए पनि अहिले सहज हुँदै गइरहेको बताए । होम आइसोलेसनमा रहेका नेता बस्नेतले नेपाल प्रेससँग भने, ‘चिकित्सकहरुको सल्लाह सुझाव लिइरहेका छौं । अस्तिसम्म त अलि गाह्रै भएको थियो । हिजो आज अलि स्ुधार भएको छ । खाली समयमा अलिललि लेखपढ गरिरहेका छौं ।’

    वाइसीएल इन्चार्ज दीपशिखा पनि कोरोना संक्रमित छन् । उनको परिवारै संक्रमित भएको छ । आफ्नो स्वाथ्यलाई ख्याल राख्दै थोरै लेखपढ गरिरहेको उनले बताए । ‘घरभरी कोरोना छ सबैलाई,’ नेपाल प्रेससँग उनले भने, ‘अलि–अलि पढ्ने गरेको छु तर बिरामी भएका बेला धेरै जाँगर नलाग्दो रहेछ ।’

    मन्त्रिपरिषद बैठक प्रभावित, देउवा फेरि परीक्षण गराउँदै

    कोरोना संक्रमित माओवादी नेताहरुसँग लसपस गरेका प्रधानमन्त्री देउवा होम आइसोलेसनमा छन् । पहिलो पटक गरिएको उनको परीक्षण रिपोर्ट नेगेटिभ भएको छ ।

    संक्रमणको त्रास र मन्त्रिपरिषदका केही सदस्य संक्रमित हुँदा बैठक बस्न सकिरहेको छैन् । यस अवधिमा तय भइसकेको मन्त्रिपरिषद्को बैठक दुई पटक स्थगित भएको छ ।

    आफूलाई कोरोना नभएपनि कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा फेरि कोरोना परीक्षण गराउँदै छन् ।

    बालुवाटार स्रोतका अनुसार देउवासहित उनको सचिवालयका कर्मचारी, सुरक्षा अधिकारी लगायतको कोरोना परीक्षण हुने छ ।

  • संक्रमणदर २७ प्रतिशत पुग्यो : १० दिनमै १३०० प्रतिशतले कोरोना संक्रमण

    संक्रमणदर २७ प्रतिशत पुग्यो : १० दिनमै १३०० प्रतिशतले कोरोना संक्रमण

    काठमाडौं । ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि मुलुकमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । पहिल्लो १० दिनमा नेपालमा भाइरस संक्रमण १३०० प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १८ गते नेपालमा २१६ जना संक्रमित पुष्टि भएका थिए । त्यसपछि १९ गते ३२६ जनामा संक्रमण पुष्टि भएको थियो।

    यसअघि लामो समय दैनिक संक्रमित संख्या २०० देखि ३०० वरपर थियो । २० गतेदेखि संक्रमितको संख्यामा तीव्ररुपमा वृद्धि भएको छ । २० गते ३९३ जना संक्रमित थपिएका थिए । २१ गते ४३५, २२ गते ५४०, २३ गते ९६८ जना थपिए।

    आज २८ गते मुलुकभर ३०७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १० दिनअघिको भन्दा २८५९ बढेको छ । यो हेर्दा १० दिनमा नेपालमा कोरोना संक्रमण करिब १३०० प्रतिशतले बढेको छ।

    स्वास्थ्य मन्त्रालयको विवरण अनुसार १० दिनअघि पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट देखिनेदर ३.६ प्रतिशत मात्रै थियो।

    पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आउने दर २७ प्रतिशत रहेको प्रवक्ता संगीता कौशल मिश्राले बताएकी छिन् । बढेका संक्रमितमा पनि ५० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् । पछिल्लो २४ घण्टामा ३०७५ संक्रमित थपिएकोमा १५३८ संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन्।

     

  • नवनियुक्त निर्देशकलाई छिर्न नदिने भन्दै वीर अस्पतालका कर्मचारी प्रदर्शनमा

    नवनियुक्त निर्देशकलाई छिर्न नदिने भन्दै वीर अस्पतालका कर्मचारी प्रदर्शनमा

    काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरिएपछि कर्मचारी विरोधमा उत्रिएका छन् । उनीहरुले प्लेकार्डसहित लोहनीलाई अस्पतालमा छिर्न नदिने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

    आन्दोलनमा उत्रिएको कर्मचारीले डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको उनीहरुको आरोप छ।

    उनीहरुले कर्मचारी र अस्पतालका समस्या बुझेका व्यक्तिलाई अस्पताल प्रमुखमा ल्याउन र त्यस्ता व्यक्ति अस्पताल भित्रैबाट नियुक्त गर्न पनि माग गरेका छन्। मन्त्रीस्तरीय निर्णयबाट मंगलबार डा. भुपेन्द्रकुमार बस्नेतलाई जिम्मेवारीबाट हटाएर लोहनीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो।

    आन्दोलनरत कर्मचारीले ‘पटकपटक पदाधिकारी परिवर्तन मात्र समस्याको समाधान होइन, वीर अस्पतालको विकास देख्न नचाहनेहरुलाई नै प्रमुख पदको मोह किन, कर्मचारीको समस्या जस्ताको तस्तो पदाधिकारी परिवर्तन किन यति सस्तो, अस्पतालमा दरबन्दीरत पदाधिकारीले बुझ्न नसकेको समस्या बाहिरबाट आउनेले कति बुझ्लान्’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

     

  • बुधबार ३०७५ कोभिड संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५३८ संक्रमण पुष्टि

    बुधबार ३०७५ कोभिड संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५३८ संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण (९०५१ पीसीआर) र ३९८५ एन्टीजेन) परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १५३८ जना संक्रमित थपिएका छन् । देशभरको संक्रमण दर २७ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २७८ जना निको भएका छन् भने दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

    सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ ।

  • सुदूरपश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, समुदायमा फैलने खतरा

    सुदूरपश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, समुदायमा फैलने खतरा

    कैलाली । पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । सेती प्रादेशिक अस्पतालमा बुधवार गरिएको परीक्षणमा सबै भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

    अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार बुधवार मात्रै १०५ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको थियो । जुन मंगलबार भन्दा धेरै हो । मंगलबार ७६ जनाको परीक्षण्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    ‘हिजोबाट एक्कसी कोरोना संक्रमितहरूको सङ्ख्या एक्कासि बढेको छ’ सूचना अधिकारी श्रेष्ठले भने ‘आज चार महिनामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।’

    अहिले कैलालीमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या मात्रै बढेको छैन । अस्पतालमा भर्ना हुने हरुको सङ्ख्या पनि बढेको छ । आज मात्रै ८ जना कोरोना सङ्क्रमित सेती अस्पताल भर्ना भएका छन् ।

    उनले भने, ‘हिजो सम्म ७ जना भर्ना थिए । एकै दिन आज ८ जना भर्ना भएका छन् ।’

    उनले दुई जना डिस्चार्ज भएको बताए । अस्पतालमा उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका छन् । १० जनालाई अक्सिजन सपोर्टमा राखिएको छ ।

    तेस्रो लहरको कोरोना फैलन सक्ने भन्दै तयारी समेत भइरहेको उनले बताए ।

    सीमा सयौं भेटिन थाले सङ्क्रमित

    भारतबाट आउनेहरूमा दैनिक कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । गौरिफन्टा नामा र गड्डा चौकी नाकामा दैनिक करिब एक सयको हाराहारीमा सङ्क्रमितहरू भेटिन थालेका छन् ।

    ‘दैनिक चार सय सम्मको एन्टिजेन परीक्षण भइरहेको छ। त्यसमा करिब ८० जना सम्ममा कोरोना देखिएको छ’ सीमा सञ्चालन भइरहेको हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

    पुस महिनाबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको उनले बताए । उनका अनुसार बेंलोर, ,दिल्ली महाराष्ट्र लगायत ठाउँबाट आउनेहरूमा बढी संक्रमण देखिएको छ ।

    समुदायमा फैलने खतरा

    दैनिक कोरोना सङ्क्रमितहरू भेटिए पनि उनीहरूलाई आइसोलेसनमा राख्न सकिएको छैन । जसले गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने देखिएको छ ।

    उनले भने, ‘बालबालिकासहित आएकाहरू यहाँ परीक्षण गराएर घर जाने गरेका छन् । सङ्क्रमितहरू घर जाने गरेको हुँदा गाउँ सम्मै संक्रमण फैलिन सक्छ ।’

    जनप्रतिनिधहरुको समन्वयमा उनीहरू घर जाने गरेको बताए ।

    कोरोना सङ्क्रमितहरूको उचित व्यवस्थापन हुन नसक्दा धनगढीमै पनि सङ्क्रमितहरू बढिरहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

    ‘समुदाय भित्रका नागरिकहरूमा संक्रमण देखिएको छ’स्वास्थ्य शाखाका लक्ष्मीराज उपाध्यायले भने, ‘उनीहरू मध्ये काठमाडौँबाट आएकाहरू छन् । ’

    ट्राभल हिस्ट्री समेत नभएका केही व्यक्तिमा संक्रमण देखिएको उनले बताए । उनले अहिले सम्म कोरोना समुदायमा फैलिनसकेको भए पनि यस्तै लापरबाही भए अवस्था जटिल हुन सक्ने बताए ।

    के ओमिक्रोन आएको हो ?

    दैनिक रूपमा यहाँ कोरोना संक्रमण फैलिएको पुष्टि भए पनि अहिले सम्म यहाँ ओमिक्रोन नभएको दाबी गरिएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाकाले तीन पटक सम्म भेरियन्ट पुष्टि गर्न स्वाब काठमाडौँ पठाएको भए पनि अझै नयाँ भेरियन्टको विषयमा पुष्टि भएको छैन ।

    पहिलो चरणमा १३ जनाको स्वाब पठाउँदा उनीहरूमा ओमिक्रोन नभएको पुष्टि भए पनि दोस्रो र तेस्रो चरणमा पठाइएको स्वाबको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राम प्रसाद ओझाले जानकारी दिए ।

    ‘पहिलो चरणमा पठाएको १३ वटामा ओमिक्रोन नभएको पुष्टि भयो’ उनले भने, ‘त्यसपछि ५ वटा र १४६ जनाको कुन भेरियन्ट हो भन्ने बारे छैन तथ्य आइको छैन ।’

    पठाएका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचको क्रममा रहेको उनले बताए ।

  • भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

    भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

    दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन ।

    मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।

    दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ ।

    महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमितहरु रहेको जनाइएको छ ।

    अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए ।

  • मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड-१९ व्यवस्थापन समिति गठन

    मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड-१९ व्यवस्थापन समिति गठन

    हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।

    अघिल्लो वर्ष कोभिड-१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो । उनीहरुको करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

    बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकामा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ । माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ ।

    यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ । सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री खनालले बताए । रासस

  • चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

    चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

    काठमाडौँ । कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज चीनबाट काठमाडौं आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।

    सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

    कूलजनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।

  • मंगलबार २४ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा एकैदिन १२८६ संक्रमण पुष्टि

    मंगलबार २४ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा एकैदिन १२८६ संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४४४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ नमुना (१० हजार ६४८ पीसीआर र ४६३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    आजै कोभिड संक्रमणले थप १ जनाको मृत्यु भएको छ भने ३१३ जना डिस्चार्ज भएका छन् ।

    मंगलबार काठमाडौं उपत्यकामा १२८६ जना संक्रमित थपिएका छन् । जसमध्ये ९८० जना काठमाडौंमा, ललितपुरमा २११ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका छन् ।

    मुलुकभर सक्रिय संक्रमित संख्या ९५२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८० हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    पछिल्लो अवधीमा बढी संक्रमित हुने उमेर समूहमा २१ देखि ३० वर्षका ६३६ जना, ३१ देखि ४० वर्षका ४९९ जना छन् । १० वर्षसम्मका बालबालिका ४० जना र ११ देखि २० वर्ष उमेरका बालबालिका १७५ जना छन् ।

    मुस्ताङ र मुुगुबाहेक ७५ जिल्लामै संक्रमण फैलिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दामाथि छ ।

  • वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी

    वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी

    काठमाडौं । वीर अस्पताल सुधारतर्फ अघि बढिरहेका बेला कोभिडको तेस्रो लहरविरुद्ध लड्ने तयारीमा जुटेको छ । डा. भुपेन्द्र बस्नेत अस्पतालको प्रमुख भएर फर्केपछि पूर्णरूपमा संचालन भएर दैनिक २५ सय बिरामीलाई सेवा दिइरहेका बेला कोभिडको नयाँ लहर थेग्नुपर्ने भएको छ ।

    डा. जागेश्वर गौतम र डा.केदार सेञ्चुरीको बहिर्गमनपछि अस्पतालले लय लिँदै गरेका बेला लामो समयदेखि वीरमा अनियमितताको अखडा बनाइरहेका विभाग हेर्ने कर्मचारीहरू मेडिकल माफियासँग सेटिङबाट काम गर्न थालेपछि निर्देशक बस्नेतमाथि दबाब बढेको छ ।

    पछिल्लो समय वीरमा २४ सै घन्टा पीसीआर हुँदै आएको छ भने टिकट काट्ने डिजिटल प्रणाली व्यवस्थाले सेवाग्राहीलाई सहज भइरहेको छ । अहिले वीरको कोभिड अस्पतालमा एक सयभन्दा बढी बिरामी उपचाररत रहेकोमा नयाँ लहरपछि संख्या बढिरहेको छ ।

    वीर अस्पतालले कोभिडको नयाँ लहरलाई लक्षित गरेर आवश्यक तयारी गरेको बस्नेतले बताएका छन् । ५ सय बेडको कोभिड अस्पताल संचालन तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छन् । अस्पतालले कोभिड सोधपुछका लागि ११३३ संचालन गरेको भने आधुनिक बेडसहितको ५०० शैया भएको सर्जिकल भवन सन्चालनको तयारीमा छ ।

    बस्नेत निर्देशक बनेर आएपछि दुवाकोटको परियोजना समेत अघि बढाएका छन् भने सीटी स्याक्यान ,एमआरआई, प्याथोलिजि, इमर्जेन्सी सेवा चुस्त बताइएको अस्पतालले जनाएको छ । कर्मचारीले लामो समयदेखि नपाएको कोभिड भत्तासमेत पाएका छन् ।

    अस्पताल सुधारको काम अघि बढिरहेका बेला भ्रष्टाचारको अड्डा भनेर चिनिने खरिद एकाई ,जनरल स्टोर ,मेडिकल स्टोर र सामाजिक एकाईका कर्मचारीले मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा सेटिङ मिलाउन थालेको भन्दै बस्नेतमाथि उनीहरूलाई त्यस्ता ठाउँबाट अन्यत्र सार्न दबाब बढेको छ ।

    वीर अस्पतालको मेडिकल सामग्री खरिद , ठेक्का ,कोटेसन , कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर सेटिङमा काम हुने गरेको छ । उपकरण खरिदमा मेडिकल स्टोर र जनरल स्टोरमा लामो समय बसेका रैथाने कर्मचारी बैकुण्ठ लुइँटेल, बायोमेडिकल भावना बराल , स्टाफ नर्स भगवती थपलिया, श्याम वि.क, अहेव विण्णु फुयाल , टीकाराम पनेरू, अग्निधर वस्याललगायतको टिमले निर्देशक बस्नेतकै नाममा ‘भेन्डरसँग’ मिलेमतो गर्ने गरेको आरोप लागेको छ ।

    यसका साथै लेखा शाखाका केही कर्मचारी, मेडिकल बोर्डका अरूण महतोलगायतको नाम समेत मुछिएपछि निर्देशक बस्नेतमाथि एक्सन लिन अन्य कर्मचारीले दबाब बढाएका हुन् ।

    उनीहरूमाथि टेण्डर नगरी कोटेसनमा सामान खरिद गर्न लागेको र सेटिङवाला फर्मसँग कोटेसन लिएर भित्रभित्रै महँगा स्वास्थ्य सामग्री खरिदको घोटाला भइरहेको भन्दै सतर्कता केन्द्र तथा स्वास्थ्यमन्त्रालयसम्म उजुरी पुगेको छ । उजुरीमा लेखा शाखाका केही कर्मचारी, मेडिकल स्टोर प्रमुख टीकाराम पनेरु र जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेलले टेण्डरका गोप्य कागज पहिले नै बाहिर लिक गरेको आरोप समेत लगाइएको छ । टेन्टर तयारी गर्दा नै आफूनिकटलाई दिन मिल्ने गरी यो समूहले बायो मेडिकल विभागकी करार कर्मचारी भावना बरालमार्फत व्यवसायीसँग मिलेर खरिद गर्ने गरेको आरोप लगाइएको छ ।

    निर्देशक बस्नेतको नामबाट बाहिर-बाहिरै भइरहेका डीलप्रति उनी बेखबर देखिएका छन् । नेकपा एसका नेता विरोध खतिवडा स्वास्थ्यमन्त्री भएकाले भावना बराल, विष्णु फुयाल, अग्निधर बस्याललगायतले आफूहरू नेकपा एसनिकट भएको भन्दै समानान्तर प्रशासनको अभ्यास गरेको आरोप अन्य कर्मचारीहरूले लगाएका छन् ।

    अस्पताल निर्देशक डा. बस्नेत उनीहरूको सामू निरीह भएको आरोप कर्मचारी संघ संगठनका नेताहरूको छ । विगतमा पनि बैकुण्ठ लुइँटेल, भावना बराल र डा. जागेश्वरको मिलेमतोमा २४ करोडको अनियमित टेन्डर आफूनिकट कम्पनीलाई दिएको आरोप लागेको थियो ।

    लेखा शाखा र कर्मचारीको यही समूहले सर्जिकल भवन को रकम निकासा दिदा गर्दा ठेकेदार कम्पनीसँग प्रतिशतमै कमिसन लिएरमात्र चेक काट्ने गरेको आरोप छ । गत महिना ११ करोडको चेक काटेर भुक्तानी दिँदा ४० लाख कमिसन रकम वितरण भएको थियो ।

    गता साता ८ वटा भिडिओ ऐक्सरे मेसिनको टेन्डर आह्वान गर्दा समेत बायोमेडिकल भावना बराल र बैकुण्ठ लुइँटेलले सेटिङमा दिन मिल्नेगरी स्पेक बनाएको भन्दै अरु भेण्डरले लिखित उजुरी हालेका छन् ।

    केही कर्मचारी र सामाजिक एकाइको समेत मिलेमतोमा स्वास्थ्य बीमाको ५० लाख हिनामिना भएको बेरुजु शाखाले निर्देशकलाई जानकारी गराएको स्रोतले जनाएको छ । अहिले देशकै एउटा मात्र जेनेटिक ल्याब प्याथोलोजी विभागका केही कर्मचारीका कारण महिनौदेखि बन्द छ । कमिसन नआउने सामान महिनौंसम्म खरिद प्रक्रिया नै अघि नबढ्दा सेवाग्राही मारमा परेका छन् ।

    किनकी यो ल्याब बन्द हुँदा बिरामीले जाँचका लागि विदेश जानुपर्छ । जबकी जेनेटिक ल्याबको टेण्डर फाइल ६ महिनादेखि लुकाइएको छ ।

    अस्पताल कर्मचारीहरूले लेखा, मेडिकल स्टोर, जनरल स्टोर र बायोमेडिकलका कर्मचारी र तीनका परिवारको सम्पत्ति छानबिन गरियोस् भन्दै अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागदेखि राज्यका सबै निकायमा उजुरी दिएका छन् ।

    (दर्ता भएको उजुरी नेपाल प्रेससँग सुरक्षित छ)

    उजुरीमा टिचिङबाट विवादकै कारण निकालिएकी बायोमेडिकल भावना बराललाई वीरमा दिइएको नियुक्ति खारेजीको माग गरिएको छ । बराललाई करारमा राखिएको हो ।

    उता विभिन्न निकायमा उजुरी गर्ने कर्मचारीलाई थर्काउन अस्पताल गेटमै गुण्डा राखिएको आरोपसमेत लागेको छ । यसबारेमा निर्देशक बस्नेतले भने छानबिन हुने आश्वासन दिएर पन्छिने गरेको कर्मचारीहरू बताउँछन् ।

  • माधव नेपाललाई कोरोना पुष्टि

    माधव नेपाललाई कोरोना पुष्टि

    काठमाडौ. । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना पुष्टि भएको छ ।

    मंगलवार नेता नेपाललाई कोरोना पुष्टि भएको नेकपा एसका उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    कोरोना पुष्टि भएपछि नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

    सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

    न्यूयोर्क । अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

    प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।

    प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन् ।

    ‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे । ’

    शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो ।

    प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ ।

  • काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

    काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

    काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।

    सरकारले आजबाटै लागू हुने गरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।

    जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।

    बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिइ तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

  • बेलहिया नाकामा उच्च सतर्कता, नेपाल भित्रिनेलाई एन्टिजेन परीक्षण अनिवार्य

    बेलहिया नाकामा उच्च सतर्कता, नेपाल भित्रिनेलाई एन्टिजेन परीक्षण अनिवार्य

    बुटवल । कोभिड–१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।

    केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने ।

    अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुलाई नेपाल भ्रमणको अनुमति दिइँदैन ।

    इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको जानकारी दिए । ‘स्वदेश फर्किएका नेपालीमा संक्रमण देखिए सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याइन्छ भने भारतबाट आउने पर्यटकहरुमा संक्रमण देखिए नाकाबाट नै फर्काउने गरिएको छ,’ उनले भने ।

    भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको हो । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका कर्मचारी खटिएका छन् ।

    मुख्य नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकावट छैन । जसबाट पनि संक्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाकाका प्रमुख हिरा केवटले बताए ।

    बेलहिया नाकामा एन्टिजेन परीक्षणको दायरा बढाइएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजेन परिक्षणको दायरा बढाउँदा नाकामै संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

    उनका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिनेमध्ये २८० जनाको एन्टिजन परीक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो ।

    २२ गते ५१८ जनामा परीक्षण गर्दा १०५ जनामा, २३ गते १८० जनामा परीक्षण गर्दा १८ जनामा, २४ गते ४०७ जनामा परीक्षण गर्दा ३९ जनामा, २५ गते २३० जनामा परीक्षण गर्दा २६ जनामा र हिजाे २६ गते ३२५ जनामा परीक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।

  • काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

    काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ ।

    आइतबारदेखि अस्वस्थ महसुस गरेका सीडीओ रिजालको सोमबार भाइरस परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको सहायक सीडीओ उमाकान्त अधिकारीले नेपाल प्रेसलाई बताए ।

    सीडीओ रिजाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । उनी अहिले होम आइसोलेसनमा छन् ।

    काठमाडौं उपत्यकामा बढिरहेको कोरोना संक्रमण रोकथामबारे छलफल गर्न तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्नुअघि रिजाललाई कोरोना पुष्टि भएको हो ।

    सीडीओ पराजुलीलाई कोभिड पुष्टि भएपछि तीन जिल्ला प्रशासनको बैठकले भर्चुअल माध्यमबाट बस्ने भएको छ ।

     

     

  • काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहलाई भोलिदेखि फाइजर खोप लगाइने

    काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहलाई भोलिदेखि फाइजर खोप लगाइने

    काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसंग समन्वयमा भोलि देखि फाइजर खोप दिने निर्णय गरेका हुन् । खोप अभियान एक सातासम्म चल्ने बताइएको छ ।

    बालबालिकाहरुलाई खोप दिनका लागि पालिकाहरुले स्कुलमा खोप केन्द्र तोक्ने र नजिकको केन्द्रमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले बताए । परिचयपत्रको आधारमा विद्यार्थीले खोप लगाउन पाउनेछन् ।

    उनले खोप केन्द्र र खोप लगाउने तालिका स्थानीय पालिकाले तोक्ने समेत जानकारी दिए ।

    उपत्यकाको अर्को जिल्ला भक्तपुरमा भने सोही उमेर समूहका बालबालिकाहरुलाई गत शुक्रबार देखि नै मोडर्ना खोप दिइएको छ ।

  • सोमबार झन्डै १५ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा ८७६ संक्रमण पुष्टि

    सोमबार झन्डै १५ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा ८७६ संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ (८९६५ पीसीआर र २४६४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

    सोही अवधीमा २५५ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ७८५५ पुगेको छ ।

    २ लाख १० हजार ५९४ जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

    आज काठमाडौं उपत्यकामा मात्र ८७६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन् ।

  • अस्पतालमा कोभिडका बिरामी भर्ना हुने दर एकसातामै दोब्बरले बढ्यो

    अस्पतालमा कोभिडका बिरामी भर्ना हुने दर एकसातामै दोब्बरले बढ्यो

    काठमाडौं । पछिल्लो एकसातामै केन्द्रीय तथा प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका बिरामी दोब्बरले बढेका छन् । कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले केन्द्र तथा प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए ।

    स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बस्नेतले साताअघिको तुलनामा अहिले बिरामीको चाप दोब्बरले बढेको बताए । संक्रमित बढेसँगै अस्पतालमा सामान्य वार्ड, एचडीयू, आइसीयू तथा भेन्टिलेटरलाई तयारी अवस्थामा राखिएको जानकारी उनले दिए ।

    चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालका साथै उपत्यकाका १३ र प्रदेशका सात अस्पतालमा बिरामीको संख्या बढेको हो । ‘सबै अस्पतालमा एक हप्ता अगाडिभन्दा दोब्बरको संख्यामा बिरामी भर्ना भएका छन्’, उहाँले भन्नुभयो ।

    कोभिड युनिफाइड केन्द्रीय अस्पताल भएकाले वीर अस्पतालमा रहेको कन्ट्रोल रुमले केन्द्रका १३ र सातै प्रदेशका कोभिड अस्पतालसँग समन्वय गरेर संक्रमितको उपचार व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।

    नेपालमा अहिलेसम्म २७ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । आइतबार मात्र देशभर २४ घण्टा पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार बढी संक्रमित थपिएका छन् ।

    बस्नेतले के भने :

    अहिले कोभिडको संक्रमण बढेको छ। हाम्रो वीर अस्पताल तथा अन्य कोभिड अस्पतालहरुमा पनि केही समय अघि अर्थात एकसाता अघि भन्दा अहिले भर्ना दर बढेको छ।

    एकसाता भन्दा अहिले दोब्बर बिरामी भर्ना भएका छन्।

    कोभिड-१९ केन्द्रिय अस्पताल वीर र वीरले समन्वय गरेर सरकारले तोकेका काठमाडौं उपत्यकाका १३ वटा कोभिड अस्पताल र प्रदेशका ७ वटा कोभिड अस्पतालहरुमा अहिले हामीले समन्वयमा छौं।

    यी अस्पतालहरुमा अहिले कोभिडका बिरामी बढेको पाइएको छ।

    वीर अस्पतालको सन्दर्भमा भन्नुपर्दा अहिले कोभिडका बिरामीका लागि २४ सै घण्टा पिसिआर परीक्षणको व्यवस्था गरेका छौं। कोभिडको छुट्टै आकस्मिक सेवाको व्यवस्था गरेका छौं। कोभिडका बिरामीहरु डाइरेक्ट आकस्मिक सेवामा जानु भएमा त्यहाँ खटिएका चिकित्सकहरुले बिरामीको अवस्था परीक्षण गरी आवश्यकता अनुसार सामान्य वार्ड, एचडीयु तथा आइसीयुमा भर्ना गर्नुपर्ने हेरेर भर्ना गरीन्छ। होम आइसोलेसनम बस्नुपर्नेलाई होम आइसोलेसनमा बस्न सल्लाह दिइन्छ। अहिले वीर अस्पतालमा टेलिकन्सलटेन्ट सेवा पनि सञ्चालन भइरहेको छ। ११३३ नम्बरमा २४ सै घण्टा चिकित्सकीय परामर्श लिन सकिन्छ। जसमा कोभिडबारे जानकारीसँग अस्पतालमा भएका वेड, एचडीयु, आइसीयु तथा भेन्टिलेटरको अवस्थाबारे पनि जानकारी दिइने व्यवस्था गरेका छौं।

    अहिले कोभिडको संक्रमण बढेको अवस्था छ। हामी अत्यन्तै सजक रहन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आवश्यक छ।
    कोभिड युनिफाइड केन्द्रीय अस्पतालले अहिले सरकारले तोकेका केन्द्र तथा प्रदेश अस्पतालहरुसँग समन्वय गरेर काम गरीरहेको छ। सबै अस्पतालहरुको रिसोर्स म्यापिङ गरेका छौं। कुन अस्पतालमा कस्ता कुरा छन्रु कुन अस्पतालमा के कस्ता कुरा आवश्यक छरु त्यो पहिचान गरी त्यसलाई पूर्ति गर्नका लागि केही कदमहरु अगाडि बढाइसकेका छौं। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कुनै पनि कोभिडका बिरामीलाई अस्पतालमा शय्या, अक्सिजन र उपचारको कमी हुन नदिने गरी व्यवस्था गरेका छौं।

    हामीसँग केन्द्रीय कोभिड अस्पतलको सेन्ट्रल कन्ट्रोल रुम छ। कन्ट्रोल रुमले कोभिड अस्पतालहरुसँग समन्वय गरेर सबै कोभिड अस्पतालहरुको डेटा अपडेट लिन्छौं। त्यो अपडेट स्वास्थ्य मन्त्रालय र एचईओसीसँग समन्वय गरीरहेका छौं। अहिलेको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न तथा यसको जोखिमबाट आम नागरिकलाई बचाउन अस्पतालले कसरी चुस्त सेवा दिन सकिन्छ भन्ने सोचेर काम गरिरहेका छौं।

  • भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु

    भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७२३ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

    सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ । भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ ।

    ४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् ।

    आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।

  • स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका तीनै सीडीओको बैठक भोलि बस्दै

    स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका तीनै सीडीओको बैठक भोलि बस्दै

    काठमाडौं । स्मार्ट लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि बस्ने भएको छ ।

    आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ब्युँताउँदै यसलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

    सीसीएमसीले गरेको सिफारिसको आधारमा काठमाडौं उपत्यकाका तीनै सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरु बन्द गर्ने निर्णय गर्ने तयारी गरेका छन् ।

    भक्तपुरकी प्रम्ख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भोलि बस्ने तीनै सीडीओको संयुक्त बैठकले स्मार्ट लकडाउनबारे निर्णय गर्ने बताइन् । ‘कतिपय निर्णय सीधै सीसीएमसीले गरेको छ । अब हामीले जोखिम पहिचानको आधारमा गर्नुपर्ने निर्णय गर्छौ’ उनले भनिन् ।

    आज उपत्यकाका तीनै डीसीसीएमसीको बैठक बसेको थियो । आजको बैठकमा परीक्षणको दायरा बढाउने, खोपलाई तीव्रता दिने, अस्पतालमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने र भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय भएको थियो ।

    कुन–कुन क्षेत्रलाई व्यवस्थित वा बन्द गर्ने भन्नेबारे निर्णय गर्न तीनै सीडीओ जुट्न लागेका हुन् । काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले पनि आफूहरुको बैठकले स्मार्ट लकडाउनबारे थप निर्णयहरु गर्ने बताए ।

    सीसीएमसीले आइतबार पुरानै स्मार्ट लकडाउनको कार्यविधि ब्युँताइएपछि त्यसलाई कार्यान्वयन गर्न सीडीओहरुलाई बाटो खुलेको छ ।

  • आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

    आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेसँगै सीसीएमसीले अनिवार्य गरेको हो ।

    यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाउनुपर्ने पनि सीसीएमसीले जनाएको छ ।

     

  • २५ जनाभन्दा बढी भेला हुन नपाइने, दलहरुलाई सभा-सम्मेलन रोक्न आग्रह

    २५ जनाभन्दा बढी भेला हुन नपाइने, दलहरुलाई सभा-सम्मेलन रोक्न आग्रह

    काठमाडौं । राजनीतिक भेला र कार्यक्रम तत्काल बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले आग्रह गरेको छ ।

    आज बसेको सीसीएमसी बैठकले दलहरुलाई कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई लेखि पठाइने भएको छ ।

    राजनीतिक कार्यक्रम र मेला महोत्सवमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । पछिल्लो समय विज्ञहरुले यस्ता कार्यक्रम र भेलाहरु सुपर–स्प्रेडर इभेन्ट बनिरहेको भन्दै आलोचना गरिरहेका छन् ।

    ‘अर्को सूचना नआएसम्म २५ जना भन्दा बढीको उपस्थित भएर भेला महोत्सव नगराउने स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत आग्रह गर्ने निर्णय भएको छ’ नेपालले भनिन् ।

    प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।

     

  • माघ ३ गतेदेखि रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

    माघ ३ गतेदेखि रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

    काठमाडौं । आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

    आज बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउनेछैनन् ।

    खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ता नेपालले बताइन् । यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

    पछिल्लो दिनमा कोभिड–१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो ।

  • युरोपमा कोभिड-१९ को नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ संक्रमण पुष्टि

    युरोपमा कोभिड-१९ को नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ संक्रमण पुष्टि

    काठमाडौं । युरोपेली मुलुक साइप्रसमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ संक्रमण पुष्टि भएको छ । डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको नयाँ भेरिएन्ट फेला परेको जानकारी वैज्ञानिकले दिएका छन् ।

    युनिभर्सिटी अफ साइप्रस वैज्ञानिक लियोनडिओस कोस्ट्रिकिसले डेल्टोक्रोन भेरिएन्ट भेटिएको जनाएका हुन । कोस्ट्रिकिसको टिमले अहिलेसम्म २५ जनामा यो हाइब्रिड भेरिएन्ट फेला पारेको सीएनबीसी न्युजमा प्रकाशित खबरमा उल्लेख छ ।

    शुक्रबार सिग्मा टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा जीव विज्ञानका प्रोफेसर कोस्ट्रिकिस यस्तो लहर कस्तो हुन्छ भन्ने कुरा भविष्यले देखाउने बताएका छन् ।

    अहिले संक्रमण उच्च देखिएका मुलकमा डेल्टा र ओमीक्रोन दुवै उत्तिकै देखिएको छ । यी दुवै भेरिएन्ट एकै व्यक्तिमा संक्रमण हुँदा नयाँ भेरिएन्टको जन्म हुनसक्ने कुरा विज्ञहरुले यसअघि नै आँकलन गरेका थिए ।

  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपाल प्रेसलाई यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।

    अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् ।

    माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

    सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।

    २०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।

  • ११६७ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ६१५ जना

    ११६७ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ६१५ जना

    काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ११६७ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार ८८४८ पीसीआर परीक्षण भएकोमा ८४१ र ३७८४ एन्टीजेन परीक्षण भएकोमा ३२६ जनामा कोरोना पुष्टि भएको हो ।

    आज २२४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    मन्त्रालयले थप २ जनाको मृत्यु भएको जनाएको छ ।

    देशभरी आज कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ ।

    आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।

  • सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ, शुक्रबारसम्म आइसोलेसनमै रहने

    सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ, शुक्रबारसम्म आइसोलेसनमै रहने

    काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् ।

    पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिएपनि आफू अझै केहीदिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म सार्वजनिक भेटघाट नगर्ने जनाएका छन् ।

    गठबन्धनको बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड पोजेटिभ देखिएपछि सत्तारुढ दलका अधिकांश नेताहरु आइसोलेसनमा बसेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा रहेका छन् । लक्षण नदेखिएको कारण देउवाको पीसीआर परीक्षण भने गरिएको छैन ।

  • प्रधानमन्त्री देउवा आइसोलेसनमा : एकसाता भेटघाट नगर्ने, भोलि पीसीआर परीक्षण हुँदै

    प्रधानमन्त्री देउवा आइसोलेसनमा : एकसाता भेटघाट नगर्ने, भोलि पीसीआर परीक्षण हुँदै

    काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बसेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टलाई उदृत गर्दै सरकारी मुखपत्र गोरखापत्रले देउवा आइसोलेसनमा बसेकाे जनाएकाे छ । 

    प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी थिए ।

    आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गरेका थिए ।

    प्रचण्डसँग उक्त बैठकमा सहभागी सत्तारुढ दलका १० भन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखेको छ । प्रचण्ड र नारायणकाजीसहित माओवादीका १० जनाभन्दा बढी नेता संक्रमित भएका छन् ।

  • ९४४ कोरोना संक्रमित थपिए : काठमाडौं उपत्यकामा एकैदिन ४८१ संक्रमण पुष्टि

    ९४४ कोरोना संक्रमित थपिए : काठमाडौं उपत्यकामा एकैदिन ४८१ संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो चौबिस घण्टामा मुलुकभर ९४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही अवधिमा थप २९७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २४८ जनाको जनाको पोजेटिभ संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरी उपत्यकामा ४८१ जना थपिएका छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

  • माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ दिने सरकारको निर्णय : कस-कसले पाउनेछन् तेस्रो मात्रा खोप ?

    माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ दिने सरकारको निर्णय : कस-कसले पाउनेछन् तेस्रो मात्रा खोप ?

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।

    मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए ।

    सम्भावित कोरोनाभाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने बताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड-१९ सङ्क्रमण ८।४९ प्रतिशतमा देखिएको छ । हिजो मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो ।

    कोभिड-१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो ।

    मन्त्रालयले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।

    यस्तै, मन्त्रालयले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ ।

    यस्तै, कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।

    स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको समेत बताए ।

  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै : भीडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी

    उपत्यकाका सीडीओहरुको बैठक बस्दै : भीडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

    संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन् ।

    आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ ।

    त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् । सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले नेपाल प्रेसलाई बताए ।

    एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए । ‘पहिले हामी जिल्लाभित्रको परिस्थितीबारे समीक्षा गर्छौं र तीनै सीडीओबीच भीडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्नेबारे टुंगो लाग्छ’ उनले भने ।

    भक्तपुरकी सीडीओ रुद्रादेवी शर्माले संक्रमण ह्वात्तै बढेपछि भीडभाडजन्य गतिविधिमा रोक लगाउने तयारी भैरहेको बताइन् । ‘भोलिको डीसीसीएमसी बैठकमा हामीले खोपलाई तीव्रता दिने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्नेदेखि नाकामा कडाइ गर्नेसम्मको छलफल गर्नेछौं’ उनले भनिन्, ‘साथै, भीडभाड हुने क्षेत्रलाई रोक्नेबारे निर्णय हुन्छ ।’

    शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए । उनले भीडभाड हुने क्षेत्रहरु समेत बन्द गर्न सकिने बताएका थिए ।

    शुक्रबार देशभर ९६८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा ३६९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।

  • सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा

    काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

    स्वास्थ्य मन्त्रालय स्रोतले शीर्ष नेताहरुलाई कन्ट्याक्ट ट्रेसिङमा राखिएको जनाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु कोरोनाको ट्रेसिङमा परेका हुन् ।

    उक्त बैठकमा प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जनमोर्चाकी दुर्गा पौडेल, जसपा नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई, संचारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा एसका नेता वेदुराम भुषाल सहभागी थिए ।

    प्रचण्डलाई कोरोना पुष्टि भएपछि बैठकमा सहभागी सबै नेताहरुको सम्पर्क पहिचान गरिएको हो ।

    शुक्रबार नेपालमा २४ जनामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । हिजोमात्रै झन्डै हजार कोरोना संक्रमित थपिएका छन् ।

  • माओवादीले सबै १७ सय महाधिवेशन प्रतिनिधिको कोरोनाभाइरस परीक्षण गर्ने

    माओवादीले सबै १७ सय महाधिवेशन प्रतिनिधिको कोरोनाभाइरस परीक्षण गर्ने

    काठमाडौं । अध्यक्ष प्रचण्डसहित आधादर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएपछि नेकपा माओवादी केन्द्रले हालै सम्पन्न पार्टी महाधिवेशनका १७ सय सहभागी सबैलाई भाइरस परीक्षण गर्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइपूर्वक निर्देशन दिएको बताए ।

    प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए। कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ।

    पुस ११ गतेदेखि १८ सम्म काठमाण्डूमा चलेको माओवादीको आठौँ महाधिवेशनमा १,७०० बढी प्रतिनिधि सहभागी थिए। महाधिवेशनपछि एकसाथ धेरैजनालाई सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत तर्कता अपनाउन र परीक्षण गर्न भनिएको ढकालले बताए ।

    माओवादी महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख दलका शीर्ष नेताहरूसमेत सहभागी भएका थिए।

  • प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित

    प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ । महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।

    माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ ।

    माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा संक्रमण भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित भएका छन् ।

    प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित भएका छन् ।

    त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ । नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । यो संख्या अझ बढिरहेको छ ।

    महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।