Category: स्वास्थ्य-जीवनशैली

  • आजदेखि काठमाडौंमा बुस्टर डोज लगाउन सुरु : यी हुन् १७ खोप केन्द्र (भिडिओ)

    आजदेखि काठमाडौंमा बुस्टर डोज लगाउन सुरु : यी हुन् १७ खोप केन्द्र (भिडिओ)

    काठमाडौं । आजदेखि राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्ध बुस्टर डोज लगाउन सुरु भएको छ । आइतबारदेखि दिने भनिएपनि तयारी नपुगेको भन्दै खोप वितरण स्थगित भएको थियो । तर, आजदेखि १७ स्थानबाट खोप दिन सुरु गरिएको हो ।

    तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

    दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएकालाई मात्र बुस्टर डोज दिइने भएको छ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।

    यी केन्द्रमा लगाइन्छ बुस्टर डोज :

    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
    सहिद मेमोरियल अस्पताल कलंकी
    विरेन्द्र सैनिक अस्पताल छाउनी
    लोट्से भवन नयाँ बसपार्क
    नेपाल प्रहरी अस्पताल महाराजगन्ज
    वीर अस्पताल
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक
    बयोधा अस्पताल बल्खु
    प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली
    निजामती अस्पताल नयाँबानेश्वर
    एपेक्स पोलिक्लिनक जडिबुटी
    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
    पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
    जनमैत्री अस्पताल बालाजु
    नर्भिक अस्पताल थापाथली
    शुभेच्छा अस्पताल सीतापाइला
    नोबेल अस्पताल सिनामंगल

  • जनजीवनमा बन्देज थप्दै सरकार, यस्तो छ ३६ बुँदे नयाँ मापदण्ड (पूर्णपाठ)

    जनजीवनमा बन्देज थप्दै सरकार, यस्तो छ ३६ बुँदे नयाँ मापदण्ड (पूर्णपाठ)

    काठमाडौं । सरकारले ओमिक्रोनसहितको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्विकृत गरेको ३६ बुँदे नयाँ आदेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक गरेको हो ।

    ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिएको र त्यसको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्न मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

    यस्ताे छ ३६ बुदेँ आदेश

  • प्रचण्ड कोरोना संक्रमणमुक्त

    प्रचण्ड कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

    प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।

    प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    माओवादीका अन्य नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणकै कारण पार्टी पदाधिकारी चयन गर्न पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।

  • माघ १५ सम्म भौतिक उपस्थितिका सबै भेला र कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय

    माघ १५ सम्म भौतिक उपस्थितिका सबै भेला र कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय

    काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने कार्यक्रम स्थगित गरेको छ ।

    आज बसेको पदाधिकारी बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेकाले सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशनलाई ध्यान दिँदै केन्द्रीय कमिटी र मातहतका सबै कमिटीहरूको २५ जनाभन्दा बढीको भौतिक उपस्थितिमा हुने भेला तथा कार्यक्रम माघ १५ सम्मलाई स्थगित गरिएको अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छन् ।

    यो अवधिमा प्रविधिको उच्चतम प्रयोग गरी भर्चुअल माध्यमबाट सञ्चालन गर्ने/गराउने पनि अनेरास्ववियुको निर्णय छ ।अनेरास्ववियुको पदाधिकारी बैठक इन्चार्ज माधव ढुंगेलको उपस्थितिमा आइतवारै बसेको थियो । सो बैठकले शैक्षिक आन्दोलनका एजेण्डालाई निरन्तर अघि बढाउने निर्णय समेत गरेको छ ।

  • सक्रिय संक्रमितको संख्या साढे २५ हजार : आज ४९६१ जनामा संक्रमण

    सक्रिय संक्रमितको संख्या साढे २५ हजार : आज ४९६१ जनामा संक्रमण

    काठमाडौं । नेपालमा आज ४९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १५ हजार १३१ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    १२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । ४३५ जना डिस्चार्ज भएका छन् ।

    आज देशभरी २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।
    जसमा होम आइसोलेनमा २४ हजवार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेका छन् ।

    १२२ जना आइसियु, भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

  • कोरोना संक्रमण : कहाँ के गर्न पाइने, के नपाइने ? (भिडिओ)

    कोरोना संक्रमण : कहाँ के गर्न पाइने, के नपाइने ? (भिडिओ)

    काठमाडौं । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

    आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ ।

    पूर्वनिर्धारित परीक्षा यथावत राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको छ ।

    १: सबै प्रकारका आमसभा, जुलुस, धेरै मान्छे भेला हुने कार्यक्रम माघ मसान्तसम्म नपाइने

    २: गोष्ठी, सेमिनारमा भौतिक उपस्थित हुनुपर्ने भएमा बढीमा २५ जनामात्र

    ३: माघ ७ गतेपछि पूरै डोज खोप लाएका व्यक्तिमात्र गोष्ठी, बैठकमा भाग लिन पाउने

    ४: फिल्म हल, जिमखाना, रात्रिकालीन सबै व्यवसाय, स्वीमिङ पुलहरू माघ १५ सम्म बन्द

    ५: विद्यालय, विश्वविद्यालय, कलेज र ट्यूसन सेन्टरहरू माघ १५ गतेसम्म बन्द

    ६: पूर्वनिर्धारित परीक्षा, भाषा परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा नरोकिने

    ६: मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने

    ७: सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश नदिइने

    ८: पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्नेगरी बढीमा ५० जनामात्र रहने

    ९: प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध, पास्नी, न्वारानजस्ता कार्यक्रम गर्न पाइने

    १०: माघ ७ पछि खेलकुद कार्यक्रममा खोपकार्डका आधारमा मात्र रंगशालामा प्रवेश गर्न दिने

  • रविन्द्र मिश्रलाई कोरोना संक्रमण

    रविन्द्र मिश्रलाई कोरोना संक्रमण

    काठमाडौं । विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।

    सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गरेका छन् ।

    अहिले आफ्नो स्वाथ्यअवस्था ठीकै रहेको उनको भनाइ छ ।

    आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उनले सुझाव दिएका छन् ।

  • रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    रुपन्देही । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा केन्द्र बनेको रुपन्देहीमा अहिले खोप लगाउने संख्या बढेको छ ।

    रुपन्देहीमा लक्ष्यभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । दक्षिणी तराईका पालिकाभन्दा उत्तरी क्षेत्रका पालिकामा लक्ष्यभन्दा बढी खोप लगाइएको हो ।

    जिल्लामा १८ वर्ष माथिका कुल जनसंख्या ७ लाख १४ हजार मध्ये ६ लाख ३२ हजारले पहिलो मात्रा र ४ लाख ९१ हजारले दोश्रोमात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    हालसम्म रुपन्देहीमा ८८ प्रतिशतले कोरोनाको पहिलो खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पुस मसान्तसम्म रुपन्देही जिल्लामा ८८ प्रतिशतले पहिलो चरणको खोप लगाएका छन् । यो लक्ष्यभन्दा धेरै हो ।

    सरकारले पुस मसान्तसम्म ६० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको थियो हामी ८८ प्रतिशतभन्दा माथि पुगेका छौं, उनले भने ।

    अधिकृत शर्माले अब बाँकी १४ प्रतिशतलाई प्रत्येक पालिकामा हप्तामा २ दिन खोप अभियान सञ्चालन गर्ने वैदेशिक रोजगारीमा जानेलाई पनि खोप लगाउने व्यवस्था मिलाएको बताए ।

    माघ १५ सम्म रुपन्देहीमा १८ बर्षमाथिका सबैले पुर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य अनुसार तीब्र रुपमा खोप अभियान सञ्चालन भैरहेको बताउँदै उनले रुपन्देहीमा बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको अधिकृत शर्माले जानकारी दिए ।

    रुपन्देहीमा १२ बर्षदेखि १७ बर्षसम्मका बालबालिका १ लाख २२ हजार रहेको र अहिलेसम्म २१ सय ४४ बालबालिकालाई फाइजर र २१ हजार बालबालिकालाई मोर्डना खोप लगाइसकेको छ ।

    अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदायस्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी संक्रामक भएकोले खोप लगाएका भन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकोले खोपलाई विशेष महत्वका साथ खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।

    माघ २ गतेदेखि बुस्टर डोजको खोप लगाउने कार्यक्रम भएपनि रुपन्देहीमा केही दिनपछि मात्र प्राथमिकताका आधारमा अगाडि उनले जानकारी दिए ।

    रुपन्देहीमा पहिलो चरणमा ३० हजारलाई बुस्टर डोजको खोप लगाइने छ ।

  • सक्रिय संक्रमित संख्या साढे २१ हजार : शनिवार ४६ सय संक्रमित थपिए

    सक्रिय संक्रमित संख्या साढे २१ हजार : शनिवार ४६ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी सक्रिय संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी २१ हजार ५८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयले आज थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।

    उपत्यकामा २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।

    चितवनमा एकैदिन २०५ जनामा संक्रमण देखिएको छ ।

  • नेपाली नर्स लैजान बेलायतसँग श्रम सम्झौता हुँदै

    नेपाली नर्स लैजान बेलायतसँग श्रम सम्झौता हुँदै

    काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् ।

    दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

    नेपाली नर्सलाई रोजगारी दिनका लागि बेलायत तयार भएको छ । यसअघि बेलायतले नर्सलाई रोजगारी दिने भनिएको भएपनि औपचारिक निर्णय भने भएको थिएन । नर्स लैजाने विषयमा बेलायतले नेपालसँग आगामी मार्चसम्म श्रम सम्झौता गर्ने तय भएको छ ।

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट यस्तो सैद्धान्तिक सहमति जुटेको उनले जनाए ।

    बेलायती श्रमिकले पाउने जत्तिकै न्यूनतम तलब र सुविधा नेपाली श्रमिकले पनि पाउने उनले जनाए । 

    नेपालले जति संख्यामा नर्स उपलव्ध गराउनसक्छ त्यतिनै नर्सलाई बेलायतले रोजगारीको अवसर दिने बताएको घिमिरेले जानकारी दिए । ‘हामीले जति नर्स दिनसक्छौ‌ त्यतिनै लिने भन्ने कुरा भएको छ, बेलायत सरकार आफैंले सम्पूर्ण खर्च व्यहोरेर नर्स लैजाने सहमति भएको छ,’ घिमिरेले भने ।

    नेपाली नर्स लैजाने मोडालिटीको बारेमा भने टुङ्गो नलागेको उनले बताए । नर्स लैजाने भन्ने विषयमा दुईदेश बीच पहिलो वार्ता भएकाले मोडालिटीबारे थप छलफल गरि टुंग्याइने प्रवक्ता घिमिरेले बताए । अहिले नेपालमा ६७ हजारबढी नर्स नेपाल नर्सिङ परिषद्मा दर्ता छन् ।

  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना पुष्टि भएको छ ।

    उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

    उनले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको पनि बताएका छन् ।

    नेपालमा पछिल्लो समय कोरोना संक्रमणको निकै तीव्र बनेको छ । नेकपा एमाले लगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।

  • कोभिड-१९ मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्रीको आह्वान

    कोभिड-१९ मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी (माघे संक्रान्ति पर्व) हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

    थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनको भनाइ छ ।

    यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।

    आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

  • ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

    ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

    सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।

    अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले बुस्टर डोज लगाउने तयारी गरिरहेको छ । पछिल्लो साता नेपादमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । न्यूज कारखाना

  • फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय

    फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय

    काठमाडौं । आगामी माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन भनेको छ ।

    मन्त्रालयको निर्णयअनुसार पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि सोही खोप दिइने मन्त्रालयले जनाएको छ । पूर्ण डोज खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने जनाइएको छ ।

     

     

  • कैलालीमा भयावह बन्दै कोरोना: सीमामा सयौँ भेटिन्छन् संक्रमित तर, सोझै पुग्छन् घर

    कैलालीमा भयावह बन्दै कोरोना: सीमामा सयौँ भेटिन्छन् संक्रमित तर, सोझै पुग्छन् घर

    कैलाली । पछिल्लो केही दिन यता कैलालीमा कोरोना संक्रमितहरुको संख्या अत्याधिक गतिमा बढिरहेको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १२१ जनामा परिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण हुँदा ५५ जनामा नभएको पुष्टि भएको हो । उनले पछिल्लो केही दिन यता संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको बताए ।

    ‘प्रत्येक दिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ’ उनले भने ‘अहिले परीक्षण भएकामा सङ्क्रमित नहुनेहरू भन्दा हुनेहरू बढिरहेका छन् ।’

    पछिल्लो चार महिनामा सबै भन्दा धेरै संक्रमित शुक्रबार फेला परेका हुन् । कैलालीमा बुधवारबाट कोरोना संक्रमितहरुको संख्या एक्कासी बढेको हो । पुसको २० गते गरिएको ३५ जनाको परीक्षणमा २ जना, २१ गते ४४ जनामा २ जना, २२ गते २४ जनामा २ जना, २३ गते ५६ जनाको परीक्षणमा ६ जना, २४ गते ३६ जनाको परीक्षणमा ८ जना, २६ गते ८७ जनाको परीक्षणमा १२ जना, २७ गते ७६ जनाको परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुस्टी भएको छ।

    यस्तै २८ गते १०५ जनाको परीक्षणमा ४५ जना, २९ गते १६१ जनाको परीक्षणमा ४ जना र शुक्रवार १२१ जनाको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

    पछिल्लो केही दिन यता समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशङ्का गरिएको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ट्राभल हिस्ट्री समेत नभएकाहरू संक्रमित हुन थालेपछि समुदायमा संक्रमण फैलिन थालेको आशङ्का गरिएको छ ।
    भारतबाट आएका संक्रमितहरू सोझै घर जानेगरेकाले पनि समुदायमा संक्रमण फैलन थालेको बताइएको छ ।

    भारतको नयाँ दिल्ली, पुना, बेंलोर लगायतका ठाउँबाट आएका सयौँमा प्रत्येक दिन कोरोना पुष्टि भइरहेको छ । तर, उनीहरू सार्वननिक सवारी मार्फत नै घर सम्म गइरहेका छन् ।

    कोरोना सङ्क्रमित भएकाहरूलाई आइसोलेसनमा राख्नु पर्ने हो तर,वडाध्यक्षकै दबाबमा उनीहरूलाई यहाँबाट झिकाइने गरेको गुनासो बढिरहेको छ स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्ययाले भने, संक्रतिमहरु होल्डिङ सेन्टरबाट समय भन्दा अघि नै घर जाने गरेको हुँदा समस्या थप हुने सङ्केत देखिएको छ ।

    शुक्रबार मात्रै ७५० परीक्षण गर्दा १५० जनामा संक्रमित फेला परेका छन्। भारतबाट आउनेहरू मध्ये बढी भन्दा बढिमा कोरोना संक्रमित देखिने गरेको छ ।

    पछिल्लो १० दिनमा सुदूरपश्चिम भरी १४ सय ९३ कोरोना संक्रमितथपिएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दैनिक जसो संक्रमितहरू थपिन थालेका हुन्।

    १० दिनको तथ्याङ्क हेर्ने हो भने २० गते ४० जना संक्रमित भएको प्रदेशमा २९ गते त्यसको झन्डै ९ सय प्रतिशत अथवा ३१८ जनामा कोरोना देखिएको छ। सीमा क्षेत्रबाट होल्डिङ सेन्टर सम्म पुराइएकाहरू सबै त्यहाँ नबस्दा समस्या विकराल बन्ने आशङ्का गरिएको छ ।

  • ७७ जिल्लामै फैलियो कोरोनाभाइरस : उपत्यकासहित ६ जिल्ला रेड जोनमा

    ७७ जिल्लामै फैलियो कोरोनाभाइरस : उपत्यकासहित ६ जिल्ला रेड जोनमा

    काठमाडौं । पाँच जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय संक्रमित त्यति पुगेको हो ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमित संख्या १० हजार ८११ पुगेको छ ।

    झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    मन्त्रालयका अनुसार शुक्रबार ७६ वटै जिल्लामा संक्रमण फैलिएको छ । शुक्रबार मुलुकभर भाइरसका ५०८७ जना संक्रमित पुष्टि भएका छन् ।

  • नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित

    नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आउदो माघ १४ र १५ गते लिने भनेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित भएको छ ।

    कोरोना संक्रमण बढेको, काउन्सिल कर्मचारी र पदाधिकारीलाई संक्रमण भएकाले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

  • एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

    एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो। आज पाँच महिनापछि एकैदिन ५ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो ।

    देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोभिड १९को संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।

    यसैगरी ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

  • कोरोनाका बिरामीले अस्पताल भरिँदै : अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

    कोरोनाका बिरामीले अस्पताल भरिँदै : अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

    काठमाडौं । अहिले देखिएको कोरोनाभाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।

    सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् ।

    अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन् ।

    “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उनले भनिन्, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।” सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ ।

    उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु)मा उपचार भइरहेको छ । उनका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् ।

    यस्तै अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा हिजो पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो ।

    अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ । अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताइन् । “ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ”, उनले भनिन् ।

    यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेका छन् । अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको बताए । “दोस्रो लहरको जस्ता अहिले देखिएका सङ्क्रमितलाई अक्सिजन चाहिएको छैन”, उनले भने, “भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।”

    अहिलेका सङ्क्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको उनको भनाइ छ । यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा विगत २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालका प्रमुख डा भूपेन्द्र वस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बताए । उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आइसियुमा उपचार भइरहेको छ ।

    सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न भनेर गत वर्ष युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको हो । उनले अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपरेको बताए । अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ । अस्पतालमा ५०० शय्यासहित १०० शय्याको आइसियु रहेको छ ।

    ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मकरुपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका÷नलगाएका दुवैलाई सङ्क्रामक बनाउन सक्दछ । यो भेरियन्टको सम्भावित जोखिमलाई रोक्नका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट ९एचडियु०, भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मीको पनि तयारी अवस्थामा राखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ, एचडियु तीन हजार ८४६ रहेका छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् । हालसम्म नेपालमा २७ वटा ओमिक्रोन भेरियन्टका सङ्क्रमित पत्ता लागेको छ । रासस

  • भारतमा शुक्रबार २ लाख ६४ हजार संक्रमित थपिए, ३१५ जनाको मृत्यु

    भारतमा शुक्रबार २ लाख ६४ हजार संक्रमित थपिए, ३१५ जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप ३१५ जना संक्रमणले मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका छन् ।

    आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । त्यहाँ सक्रिय संक्रमण संख्या १२ लाख ७२ हजार पुगेको छ ।

    भारतको दैनिक संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको संख्या ५७५३ पुगेको छ ।

  • राष्ट्रसंघको प्रतिवेदन- डेल्टा भेरियन्टका कारण भारतमा दुई लाख ४० हजारको मृत्यु

    राष्ट्रसंघको प्रतिवेदन- डेल्टा भेरियन्टका कारण भारतमा दुई लाख ४० हजारको मृत्यु

    काठमाडौं । कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

    राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

    ‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’

    कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दीगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।

  • सरकारका लागि मास्क लगाइदिने कि आफ्नै लागि लगाउने ? (फोटो/भिडिओ)

    सरकारका लागि मास्क लगाइदिने कि आफ्नै लागि लगाउने ? (फोटो/भिडिओ)

    काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमणदर बढिरहेको छ । सरकारले संक्रमण कम गर्न विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानहरु क्रमशः बन्द गर्न थालेको छ । र सरकारले संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ ।

    सरकारले अतिमहत्वपूर्ण कामबाहेक घर बाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न भनिरहेको छ । तर, आमनागरिक भने सरकारी आग्रहको बेवास्ता गर्दै बिनामास्क खुलेयाम हिँडिरहेका छन् ।

    सार्वजनिक यातायातमा यात्रा गर्नेदेखि सडकमा हिँड्नेहरुले पनि मास्क लगाउन आनाकानी गरिररहेका छन् । यसले कोरोना संक्रमणदर झन् बढाउने त्रास पैदा भएको छ ।

    हेर्नुहोस्, सरकारी आग्रहलाई बेवास्ता गर्दै बिनामास्क काठमाडौंका सार्वजनिक स्थानमा हिँडिरहेका सर्वसाधारणहरु

     

     

  • स्वास्थ्यकर्मीको करार अवधि थप गर्न अस्पतालहरुलाई निर्देशन

    स्वास्थ्यकर्मीको करार अवधि थप गर्न अस्पतालहरुलाई निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न निर्देशन दिएको हाे।

    साथै करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने सचिवस्तरीय निर्णय भएकाे छ।

  • आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि

    आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ नमुना (२९२२ पीसीआर र ६३१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधीमा २७१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १४ हजार ३४० पुगेको छ ।

    काठमाडौं उपत्यकामा आज १९१६ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० संक्रमित थपिएका छन् ।

    आजको दैनिक संक्रमणदर २३.५५ छ ।

    काठमाडौं उपत्यकासहित आज कास्की र मोरङ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी पुष्टि भएको छ । आज हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोना पुष्टि भएको छ । मुगुमा मात्र संक्रमणशून्य छ ।

    देशभरको औषत संक्रमणदर १६.९ प्रतिशत छ । ३ लाख ५६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

     

  • टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    अस्पतालका निर्देशक दिनेश काफ्लेले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।उनले भने, अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन् । केहीलाई मात्रै लक्षणहरु छन् ।’

    स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

    स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए । चिकित्सकहरु संक्रमित हुँदा ननकोभिड विरामीहरुले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ ।

    त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् । डा. काफ्लेले गत साता भन्दा विरामीको चाप पनि अस्पतालमा बढेको बताए ।

     

  • अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्यमन्त्री (भिडिओ)

    अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्यमन्त्री (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

    बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

    उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

    उनले भने, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं । जति जानेको थियो त्यति गर्‍यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौं । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’

    मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

    मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। उहाँले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

    मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

  • खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्युएचओ प्रमुख

    खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्युएचओ प्रमुख

    काठमाडौं । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ूखतरनाक भाइरसू भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।

    ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’ टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन् ।

    डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भन्नुभयो -‘अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ। हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं।’

    ‘हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्स अन्तरेगत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बर भन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं,’ उनले भने।

    उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन् । ९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्, उनले थपे।

    ‘डब्लुएचओ र हाम्रा साझेदारहरूले यी देशहरूलाई नेतृत्व र समन्वयमा, आपूर्ति दृश्यताको कमी, प्रदान गरिएका खोपहरूको छोटो शेल्फ-लाइफ, सीमित कोल्ड चेन क्षमता, खोप आत्मविश्वास, स्वास्थ्यकर्मीको अभाव, र प्रतिस्पर्धी प्राथमिकताहरूमा सामना गर्ने अवरोधहरू हटाउन सक्रिय रूपमा समर्थन गरिरहेका छन्’ डब्ल्युएचओ प्रमुखले बताएका छन् ।

  • एमाले नेता रानालाई कोरोना

    एमाले नेता रानालाई कोरोना

    कैलाली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ ।

    कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

    उनी अहिले होम आइसुलेसनमा बसेका छन् ।

  • राष्ट्रियसभाका उपाध्यक्ष दाहाललाई कोरोना पुष्टि

    राष्ट्रियसभाका उपाध्यक्ष दाहाललाई कोरोना पुष्टि

    काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई बुधबार निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

    उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

    पछिल्लो समय माओवादी केन्द्रका अधिकांश नेतालाई कोरोना संक्रमण भइरहेको छ । पार्टीको आठौं महाधिवेशनलगत्तै नेतालाई कोरोना संक्रमण भएको हो ।

    २०७४ साल चैतमा राष्ट्रियसभा उपाध्यक्ष बनेकी दाहालको कार्याकाल फागुन २० गते सकिँदैछ । दाहाल नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रियसभा सदस्य बनेकी हुन् ।

    राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाललाई पनि कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ ।

  • ४५ वर्षपछि सरकारले तोक्यो ‘लागुऔषध नियन्त्रण अधिकारी’

    ४५ वर्षपछि सरकारले तोक्यो ‘लागुऔषध नियन्त्रण अधिकारी’

    काठमाडौं । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

    सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक-एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ । यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुखलाई तोकिएको थियो ।

    ऐनमा आवश्यकतानुसार एउटा वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथा अन्य अधिकारी तोक्न सक्ने व्यवस्था छ । मुलुकमा लागुऔषध प्रयोग, ओसारपसार, बिक्री वितरणका घटना तथा समस्या बढ्दै गएसँगै सर्वसाधारणको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उक्त व्यवस्था गरिएको उपाध्यायले बताए ।

    यसअघि मन्त्रालयमा रहेको लागुऔषध नियन्त्रण शाखा र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट भइरहेका प्रयास र क्रियाकलाप अपर्याप्त देखिएकाले मन्त्रालयअन्तर्गतका ७७वटै जिल्ला प्रशासन कार्यालयलाई थप सक्रिय बनाउँदै लागुऔषधको कारोबार र प्रयोग नियन्त्रण गर्न ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको मन्त्रालयले जनाएको छ ।

    ‘औषध नियन्त्रण अधिकारी’लाई लागुऔषधको नियन्त्रण र रोकथामका लागि सचेतना फैलाउने, लागुऔषध भित्रिने नाकामा अनुगमन गर्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, सोसम्बन्धी गतिविधिको मन्त्रालयमा रिर्पोटिङ गर्नेलगायत जिम्मेवारी तोकिएको छ ।

  • भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ ।

    सोही अवधिमा थप ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

    कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

  • स्वास्थ्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप, वीरमा डा.लोहनीको सरुवा रोकियो

    स्वास्थ्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप, वीरमा डा.लोहनीको सरुवा रोकियो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेपपछि वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पठाएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ ।

    ५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भनेर आन्दोलन गरेका थिए ।

    यो पनि पढ्नुहोस् : नवनियुक्त निर्देशकलाई छिर्न नदिने भन्दै वीर अस्पतालका कर्मचारी प्रदर्शनमा

    १२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरुले समेत देउवाको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको हो ।

    अब डा.भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख कायम भएका छन् ।

    लोहनीलाई वीर अस्पतालको प्रमुखमा सरुवा गरिएपछि कर्मचारीले प्रवेश निषेध गर्ने भन्दै आन्दोलन थालेका थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवासँग आपत्ति जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समेत यस विषयमा कुरा भएको स्रोतले जनाएको छ ।

    यो पनि पढ्नुहोस् : डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारी प्रदर्शनमा उत्रिए

    यो पनि पढ्नुहोस् : डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिने कर्मचारी संघको चेतावनी

     

  • कर्णालीमा कोरोना संक्रमित बढ्दै, सबैजना होम आइसोलेसनमा

    कर्णालीमा कोरोना संक्रमित बढ्दै, सबैजना होम आइसोलेसनमा

    सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण दर बढेको छ । १० दिनअघि तीन-तीन दिनमा पीसीआर परीक्षण गरिँदै आइएकोमा अहिले नयाँ संक्रमित १०० जनामध्ये ९० जना सुर्खेतकै छन् ।

    प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काका अनुसार यस प्रदेशमा चार वटा पीसीआर ल्याव रहेकोमा प्रदेश जनस्वास्थ्यबाहेकका बन्द छन् ।

    हिजोमात्रै २१ जनाको पीसीआर जाँच गरिएकोमा १६ जनामा संक्रमण देखिएको छ भने ११२ जनाको एन्टिजेन जाँच गर्दा २० जनालाई पोजेटिभ देखिएको हो ।

    अहिले संक्रमित भएका सबै होम आइसोलेसनमा बसेका खड्काले बताए ।

  • संक्रमण रोकथाम गर्ने समयमा लुम्बिनीका सबै अस्पताल नेतृत्वविहीन

    संक्रमण रोकथाम गर्ने समयमा लुम्बिनीका सबै अस्पताल नेतृत्वविहीन

    रुपन्देही । तेस्रो लहरको सुरुआतसँगै लुम्बिनीका सबैजसो अस्पताल कोरोना संक्रमितले भरिभराउ भइसकेका छन् । यस्तो अवस्थामा थप आउने बिरामीलाई कसरी उपचार गर्ने, स्वास्थ्यकर्मीलाई कसरी व्यवस्थापन गर्नेलगायतको महत्वपूर्ण काम सम्पादन गर्नुपर्ने समयमा ती अस्पतालहरु नेतृत्वविहीन छन् । लुम्बिनी प्रदेश सरकारले १४ वटा सरकारी अस्पतालमा नयाँ नेतृत्व दिन सकेको छैन ।

    सरकार गठन भएको ६ महिनासम्म आँखा चिम्लेर बसेको लुम्बिनी सरकारले महामारी सुरु भएपछि हतारहतार आफ्ना नेता कार्यकर्ता भर्ती गर्ने समय कुरेर बसेको आरोप लाग्न थालेको छ ।

    यसअघिको सरकारले नियुक्त गरेका १४ सरकारी अस्पतालका अध्यक्ष तथा सदस्यहरुलाई हटाउन पहिले नै मौखिक जानकारी दिए पनि कसैले बाटो खुल्ला नगरेपछि मन्त्रीपरिषदको निर्णयबाट बर्खास्त गरिएको थियो । अघिल्लो सरकारले नियुक्त गरेकालाई सरकारले हटाउन त सक्छ तर सरकार गठन भएको ६ महिनासम्म केही नगरी यो समयमा नेतृत्वबिहीन बनाउनु उपयुक्त नभएको सरकारमै सहभागी दलका नेताकार्यकर्ताले बोल्न थालेका छन् ।

    यसअघिको संक्रमण रोकथाममा निकै मेहनत गरेका रुपन्देहीका दुई कोरोना विशेष अस्पतालमा एकाएक नेतृत्वविहीन बनाउँदा संक्रमण रोक्ने योजना अलपत्र रहने र थप अस्तव्यस्त हुने चिन्ता स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा सूर्य भट्टराई तथा भीम अस्पताल भैरहवामा नारायणप्रसाद भण्डारीले कोरोना कालमा अस्पताल व्यवस्थापनको राम्रो पहिचान बनाएका थिए ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमण रोकथाम गर्ने समयमा सबै अस्पताललाई नेतृत्वविहीन बनाउनु आमनागरिकमाथिको खेलवाड भएको आरोप लगाएको छ । एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारले गठबन्धनका नेताकार्यकर्ता भर्ती गर्नका लागि यतिसम्म निर्लज्ज भएर अस्पताललाई नेतृत्वविहीन बनाएकोमा आश्चर्य प्रकट गरेका छन् ।

    त्यसो त सरकारले यसअघिका नियुक्तहरु अदालती प्रक्रियाबाट आउन नदिने गरी सम्बन्धित कार्यादेश नै खारेज गरेको छ । अब नयाँ आउने पदाधिकारीलाई गठन आदेशबाट ल्याउने गरी सरकारले तयारी गरेको छ ।

    यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणमा नियुक्त भएका अनन्तराज घिमिरेको पद गुमेपछि सो सम्बन्धी बनेको गठन तथा कार्य सञ्चालन आदेश–२०७६ नै खारेज गरेको हो । यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले गठन आदेशका आधारमा ध्रुव मजगैयाँलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । अहिलेको सरकारले ऐन बनाएर मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेपछि मजगैयाँ अदालत गएका थिए । सर्वोच्चले प्रदेश सरकारको नाममा घिमिरेलाई काममा नलगाउन अन्तरिम आदेश दिएको थियो ।

    प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले अस्पतालमा अध्यक्ष तथा अन्य पदाधिकारी नभएर कुनै काम नरोकिने बताउँदै सरकारले छिटै नयाँ व्यक्तिलाई ल्याउने तयारी गरेको जानकारी दिए । ‘नियमित काम कहाँ रोकिएको छ र ? गठन आदेश पास भएको छ तत्काल सरकारले ती ठाउँमा नियुक्त गरेर अगाडि बढ्छ,’ मन्त्री शर्माले नेपाल प्रेससँग भने ।

    सरकारले लुम्बिनीको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई हटाएर डाक्टर राजेन्द्र खनाललाई सिफारिस गर] पनि अहिलेसम्म हाजिर भएका छैनन् । डाक्टर खनालले आफ्नो नाममा स्वास्थ्य सचिव सिफारिसको आधिकारिक पत्र नआएको बताए ।

    ‘मन्त्रालयका सचिव, विकास समितिको नेतृत्व, विभिन्न अस्पतालका मेसुको पद नै रिक्त बनाएर महामारीको तयारी कसरी गर्न सकिन्छ ? यो विषयमा सरकारको छिट्टै ध्यान जाओस्,’ नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डाक्टर सागर न्यौपानेले भने, ‘संक्रमणको भयावह अवस्था रोक्ने सरकारका तयारी कमजोर देखिन्छन्, पछि अस्तव्यस्त बनेपछि छटपटाएर केही हुँदैन, स्वास्थ्यकर्मीलाई दोष लगाएर हुँदैन, स्थानीय सरकारको समन्वयमा प्रदेश सरकारलाई विशेष ध्यान दिन हाम्रो आग्रह छ ।’

  • धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने

    धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने

    काठमाडौं । कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।

    “हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ । उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ ।

    ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

    यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

    अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । रासस