Category: स्वास्थ्य-जीवनशैली

  • मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

    मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

    मनाङ । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।

    कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ ।

    उनले भने,‘जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।’ मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाइने छ ।

    यही फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाशज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताए ।

    खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

    जिल्लाका सबै विद्यालय चिसोका कारण बन्द रहेकाले अन्य जिल्लाभन्दा ढिला गरी खोप अभियान सञ्चालन भएको ठगुनाले बताए । खोप कार्यक्रममा जिल्लाका सबै विद्यालयका एक सय तीन र अन्य ६ जना गरी एक सय नौ किशोरीलाई खोप लगाइने भएता पनि अन्यको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको प्रमुख ठगुनाको भनाइ छ ।

    नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

  • सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन: स्वास्थ्यमन्त्री पौडेल

    सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन: स्वास्थ्यमन्त्री पौडेल

    इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

    उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।

    बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उहाँको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे ।

    सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उहाँले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।

    अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने उनको भनाइ छ ।

    तीनै तहका सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले फरक–फरक नीति बनाएर काम हुन नसक्ने भन्दै उनले एउटै नीति अवलम्बन गरिनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पतालको क्षमता विकास गर्दै सय शय्याको बनाउनुपर्ने बताए । उनले भौतिक पूर्वाधार तथा औजार र चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव राखे । सो विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले एकसाथ पहल गर्नुपर्ने बताए ।

    इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।

     

  • मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

    मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।

    मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

    सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ ।

    मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अन्यन्त हानिकारक भएको र त्यस्ता पदार्थको सेवनले मानवजीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापसमेतमा नकारात्मक असर पर्ने भएकाले मेला महोत्सवमा प्रयोजक नराख्न उनले आग्रह गरे ।

    सुर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८ र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी भएको छ । उक्त निर्देशिका बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा प्याकेजिङको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा चित्र अङ्कित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न सम्बन्धित सवै सरोकारवाललाई अनुरोध गरेका छन्।

    सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका प्रावधानले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र दिर्घकालिन रूपमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग तथा मृत्युदर घटाउन र जनस्वास्थ्यमा सुधार गर्न योगदान पुर्याउने प्रवक्ता डा प्रकाश बुढाथोकीको भनाइ छ ।

    मन्त्रालयले सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ ।

  • दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी

    दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा.समाज गौतमले बताए ।

    ‘अहिले एक सिफ्टमा भइरहेको छ’, उनले भने,’एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’

    निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए ।

    ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’

    डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ, उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।

    त्यस्तै वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए ।

    ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’

    डा. गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।

  • ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

    ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।

    विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो ।

    मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

    विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत सो अभ्यासमा समावेश गरिएको थियो ।

    प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गर्नु थियो ।

    उनले भने, “यस्ता अभ्यासले ठूलोस्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, ‘फिल्ड’ अस्पतालको एकीकरण र रोग प्रकोपको दौरानमा निरन्तर उपचार सुनिश्चित गर्ने विषयमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरू उजागर ग¥यो । ”

    यसैबीच प्रवक्ता डा बुढाथोकीसहित नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्वस्वास्थ्य सङ्गठनका डा एलिसन गोकोटोनो प्रतिनिधिको टोलीले सुदूरपश्चिम प्रदेश, धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा गतिविधिका बारेमा जानकारी लिएको छ ।

    सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पु¥याएबापत सम्मान समेत गरिएको थियो ।

  • के तपाईंलाई हङ्कङ फ्लु त भएको छैन ?

    के तपाईंलाई हङ्कङ फ्लु त भएको छैन ?

    काठमाडौं ।  केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो ।

    त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए ।

    तर, माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोष्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था हाल समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया तीनदेखि आठ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोष्ट भाइरल कफ’ वा ‘पोष्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।

    सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बि’, ‘सी’ र ‘डि’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बि’ भाइरसले विशेषतः स्वास्थमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा पेनडेमिकको रुप दोहोरिने गरेको विगतका अनुभवहरु छन् ।

    कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले पेनडेमिक घोषणा गरेको थियो । यो भाइरसलाई शुरुमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भएता पनि पछि ‘एचवान एनवान पिडिएम ०९’ नामकरण गरिएको थियो । हाल यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ ।

    हरेक वर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’अन्तर्गत ‘एचवानएनवान’ प्रजातिको भाइरसले महामारीको रुप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगको रुपमा पनि लिने गरिन्छ । सो समयमा यो प्रजातिको भाइरसले विश्वको झण्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।

    फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणको रुपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पन्छीबाट मानिसमा सर्ने गर्दछ ।

    यद्यपि हालसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने, बर्ड फ्लु पन्छीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईबस्तु वा सोको दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसको लागि यो नयाँ चुनौतीका रुपमा खडा भएको देखिन्छ ।

    नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यबस सो सङ्क्रमित युवाको भने सोही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पन्छीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।

    के हो त ‘हङकङ फ्लु’ ?

    फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरससँगै बर्सेनि देखिने गर्दछ । यसलाई ‘हङ्कङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलोपटक हङ्कङमा प्रकोपको रुपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर हाल यो भाइरस पनि ‘मौसमी फ्लु’ का रुपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङ्कङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ ।

    ‘हङ्कङ फ्लु’ फैलन सुरु भएसँगै धेरै मानिसहरु बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था/बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोष्ट भाइरल कफ’ को समस्या समेत देखिने गरेको छ ।

    ‘पोष्ट भाइरल कफ’ को कारणमा ‘हङ्कङ फ्लु’सँगै वायु प्रदुषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । हाल वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।

    लक्षणहरु के के हुन् त ?

    यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरु देखिन सुरु हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरु हुन् ।

    अरु लक्षणहरु केही दिनमा (एक हप्तामा)कम हुँदै जाने भए तापनि खोकी भने दुई हप्ता वा सोभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरु पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरु हुन् ।

    उपचार के छ त ?

    खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोख्दा ¥यालको छिटा सतहमा रहेको र सो ठाउँलाई हातले छोई नाक मुख आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ, सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरु देखिए ‘ओसेल्टेमिभिर’ नामक एन्टीभाइरल औषधि दिन सकिन्छ ।

    यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि, कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरुले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरुमा लगाउने गर्दछ ।

    अन्तमा, मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झण्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पिडिएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङ्कङ फ्लु’ हाल तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रुप लिएकोसमेत देखिन्छ ।

    अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु बर्सेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरुले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरुले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ ।

    (लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक  छन्)

     

  • चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

    चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

    गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो ।

    निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ ।

    अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

    अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलिभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको पालिकाले सबै गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले जानकारी दिइन् ।

    “घरमै सुत्केरी हुनेको सङ्ख्या दुर्गमका तीन गाउँमा बढी पाइएको छ”, प्रमुख घर्तीमगरले भनिन्, “तथ्याङ्कमा गत वर्ष आठ जना घरमै सुत्केरी भएको पाइन्छ, चालु आर्थिक वर्षमा समेत सात जना घरमै सुत्केरी भएका छन्, घुम्ती गोठमै सुत्केरी भएका समेत छन् ।”

    गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शून्य होमडेलिभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दूर–दराजमा अझै पनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबीलगायत कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् ।

    मगरका अनुसार बालविवाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमामध्ये छ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीले जानकारी दिनुभयो । उहाँले घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् ।

    “चेतना भयो भनेत स्वास्थ्य संस्थामा सुविधा थियो, उहाँहरूले गर्भवती भएको जानकारी नै गराउन चाहनुहुन्न, परिवारको समेत सहयोग हुँदैन, त्यसमाथि बालविवाह हुन्छ”, प्रमुख घर्तीले भनिन्, “घुम्ती बसाइका कारण खर्कमा जाने महिलाहरू उतै सुत्केरी भएर आउँछन्, गाउँपालिका र स्वास्थ्य कार्यालयले जनचेतना फैलाउन थालेको छ, खासगरी गर्भवती भएपछि सम्पर्कमा आए त्यसपछिको खोजी हामीले र स्वास्थ्य संस्थाले गर्दथ्यौँ, तर कतिपयले जानकारी गराउनै मान्नुहुन्न ।”

    निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका दुई सय १३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनिका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा मुनिकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउनसमेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् ।

    नवजात शिशुलाई उपयुक्त पोषणको समेत अभाव भएको अध्ययनमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी शर्मा बताउँछिन् । घरमै सुत्केरीको चुनौती बागलुङका १० पालिकामध्ये निसीखोला प्रमुख रहेको छ ।

    बागलुङको बरेङ गाउँपालिका र तमानखोला गाउँपालिकाले शून्य होमडेलिभरी उन्मुख स्थानीय तह निर्माणमा जुटेको जनाएका छन् । चार नगरपालिकामा भने होमडेलिभरीको तथ्याङ्क कमै आउने गरेको शर्माको भनाइ छ । गर्भवती भएपछि स्वास्थ्य स्वयंसेविकालाई जानकारी गराउन नसक्दा तथ्याङ्क सङ्कलन हुन नसकेको शर्माको भनाइ छ ।

    गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले निसीखोलाजस्तो दुर्गम गाउँलाई मध्यनजर गर्दै पोषण सचेतनाको कार्यक्रमलाई तीव्रता दिइएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए।

  • आगोले पोल्ने वित्तिकै गोलभेँडा र चिसो माटो दल्ने चलन नै गलत छ

    आगोले पोल्ने वित्तिकै गोलभेँडा र चिसो माटो दल्ने चलन नै गलत छ

    काठमाडाैं । जलनका विरामीहरु पहिले पहिले नभएका होइनन् । तर उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले विरामीको संख्या बढी देखिएको हो । तर, समस्या पुरानै हो । हामीसँग एकिन तथ्यांक छैन् ।

    किनभने राष्ट्रियस्तरमा जलन सम्बन्धीअनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तिरका डाटाहरुमा निर्भर रहनु परेको छ । त्यहि डाटाका आधारमा भन्ने हो भने वर्षेनी ५१ हजार जना अस्पताल गएर नै उपचार गर्नुपर्ने खालको जलन हुने र २१ सय भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

    अर्को तथ्याङक हेर्दा नेपालमा जतिपनि अपाङगताहरु छन् त्यसको पाँच प्रतिशत चाहिँ जलनबाट नै भएको देखिन्छ । जलनको उपचार धेरै ठाउँमा उपलब्ध छैन् । समुदायस्तरमा पनि जलनको प्रारम्भिक व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सीप विकास भइसकेको छैन् । जलनका बिरामीहरु धेरैजसोे काठमाडौंमै आइपुग्नुपर्ने अवस्था छ ।

    काठमाडौंमा पनि औंलामा गणना गर्न सकिने अस्पतालहरु छन् । त्यसमै निर्भर हुनुपर्नेछ । समुदायमा कार्यरत स्वास्थ्यकर्मीमा जलन कसरी व्यवस्थापन गर्ने त्यसको पूर्णरुपले जानकारी नभएकाले प्रारम्भिक अवस्थाको उपचार अन्योलमा छ । तर,केही अस्पतालबाट उपचार भइरहेको छ । वीर अस्पताल, टिचिङ, कान्ति वाल अस्पताल, सुश्मा कोइराला मेमोरियल, कीर्तिपुर अस्पताल, काठमाडौं मेडिकल कलेज जस्ता अस्पतालहरुमा जलनका बिरामीहरुले सेवा पाइरहेका छन् ।

    काठमाडौं बाहिर जलन उपचार सेवाको स्तरोन्नती गर्न सके राम्रो हुन्थ्यो । स्वास्थ्यको व्यवस्था प्रादेशिक अस्पतालहरु बढिरहेका छन् । सबै प्रादेशिक अस्पतालहरुमा जलनको सेवा सुरु गराउन सकियो भने जिल्लास्तरमा पनि जलनको तालिम प्राप्त व्यक्तिहरु सेवा दिनसक्ने भए काठमाडौंसम्म आउनु पर्दैन थियो । सुदूरपश्चिमदेखि पूर्वसम्मका बिरामीहरु सबै काठमाडौंका अस्पताल खोजेर आउने अवस्था छ । त्यसलाई केही मात्रामा कमी ल्याउन सकिन्छ ।

    सबैभन्दा पहिला समुदायमा कार्यगत स्वास्थ्यकर्मीलाई रोकथाम तथा प्राथमिक उपचारको तालिम दिनुपर्छ । जसले गर्दा साना खाले बिरामीहरु राम्रो उपचार नपाएर अन्योलमा नपरी स्वास्थ्य सेवा बहन गर्न पाउन् । सानो जलन पनि कहिलेकाहीं समयमा अस्पताल नआउँदा र गलत तरिकाको उपचार पद्धति अपनाउँदा संक्रमण हुने, घाउ ठूलो, गहिरिने समस्याहरु आउन सक्छन् ।

    यस्ता समस्या आउन नदिनका लागि समूदायमा कार्यरत स्वास्थ्यकर्मी, त्यसपछि जिल्ला तथा प्रादेशिक स्वास्थ्यकर्मीहरुलाई उचित तालिम र ठूला अस्पतालहरुमा जलन उपचार गर्ने वार्डको मात्र विकास गर्न सके प्रभावकारी हुनसक्छ । साच्चै भन्नुपर्दा नेपालमा जलन क्षेत्रमा केही भएकै छैन भन्दा फरक पर्दैन । उदाहरणको लागि नेपालमा एचआइभी एड्स भन्ने बितिकै धेरै डोनेसन्हरु आउने, समुदाय स्तरमा कार्यक्रमहरु हुने गरेका छन् तर जलनमा त्यस्तो महसुस गर्न पाइएको छैन् ।

    यसका लागि नेपालमा सरकारी तवरबाट अलि अगाडि एसिड आक्रमणमा परेकाहरुसँग हामी पनि आवद्ध भएर काम गरेका थियौं । त्यसपछि जलन उपचार सम्बन्धि विधेयक पारित गर्ने विषयमा बृहत छलफल भएको थियो । त्यसमा एसिड पीडितहरुलाई उपचार केही अस्पतालमा नि:शुल्क गरिन्छ भन्ने काहेक अरु सरकारी संयन्त्रमा केही काम भएको छैन् ।

    उदाहरणको लागि पाल्पाको मिसन अस्पताल, जनकपुरको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल उपचार गर्ने भनिएपनि भौतिक संरचनाको काम भइरहेकाले सेवा खुम्चिएको छ । त्यसैले थोरै अस्पतालहरुमा जलनको उपचार हुने गरेको देखिन्छ ।

    हामीले समुदाय लक्षित कार्यक्रमहरु चलाइरहेका छौं । अझैपनि गाउँघरमा आफ्नै प्रकारका उपचारको पद्धति सुनाउनु हुन्छ । अनुसन्धानको क्रममा तराई, पहाड, हिमाल सबै ठाउँमा पुग्यौं । जलन भएको ठाउँमा जे चिसो छ त्यही दल्ने प्रचलन छ । आगोले पोल्ने वित्तिकै गोलभेँडा, आलु, पोखरीको माटो जे चिसो छ त्यो लगाउने चलन छ । जुन पूर्णरुपमा गलत छ । जसले पछि विकराल रुप ल्याउन सक्छ । जलन भएका व्यक्तिलाई भनेर राज्य कोषबाट उपचारको लागि सहयोग गर्ने भन्ने कुरा अहिलेसम्म भएको देखिदैन् ।

    हालैको घटनाको कुरा गरौं । अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर ज्यूमा जलनको घटना घट्यो । कहिलेकाही जलनको घटना सानो भएपनि शरीरको कुन अङग प्रभावित भएको छ भन्ने कुराले घट्ना ठूलो भइदिन्छ । उहाँहरुमाथि त्यस्तो घट्ना हुनसाथ सामाजिक सञ्जाल, टोल, चिया पसलभरि चर्चा चल्यो ।

    नेपालमा ठूला मान्छेहरुलाई भयो भने त्यो सम्बन्धित विषयहरु अगाडि बढेको देखिन्छ । नेपालको पहिलो जलन अस्पताल गिरिजा प्रसाद कोइरालाको श्रीमतीको नाममा खोलिएको अस्पताल सुस्मा कोइराला मेमोरियल अस्पताल हो । उहाँलाई जलन भएपछि जलनको उपचार नेपालमा नहुने रहेछ भनेर अस्पतालको परिकल्पना गरियो भनिन्छ ।

    जलन कस्ता व्यक्तिलाई हुन्छ भने जो गरिब छ, जसको घरमा राम्रो व्यवस्था छैन्, जसले खाना पकाउने, सुत्ने एकै ठाउँ छ त्यस्ता व्यक्तिहरु धेरै प्रभावित भइरहेका छन् । तल्लो स्तरका व्यक्ति बढि प्रभावित हुने भएर पनि होला माथिल्लो वर्गले अलि महसुस गर्न नसकेको देखिन्छ ।

    संख्यात्मक हिसावले केन्द्रमा पनि बिरामी आइपुगेका छैनन् । काठमाडौंमा जलनका अस्पताल बढ्दो छन् । जलनका कुराहरु मिडियामा पनि आउन थालेको छ । बिरामीहरु अस्पताल आइपुगे भने नीतिगत रुपमा पनि काम गर्ने अथवा त्यही क्षेत्रमा काम गर्ने मानिसहरुको ध्यान बल्ल जान थालेको छ । यसलाई सबै स्वास्थ्य संयन्त्रले महसुुस गर्न नसकेको पनि होला । विश्व स्वास्थ्य संगठनले पनि भन्छ नेपालमा मात्र होइन न्यून आय भएका देशहरुको अवस्था नाजुक छ ।

    जलन पनि धेरै प्रकारका हुन्छन् । आगोले पोल्ने, पानीले पोल्ने, केमिकलले पोल्ने, तातो भाँडाहरुले पोल्ने आदि हुन् । अस्ति पोखरामा भएको आगोले पोलेको जलन हो । हाइट्रोजन ग्यासमा छर्रावाला मैनबत्तीको फिलिङगोले बेलुन छोयो र बेलुन विस्फोट भयो । त्यसपछि जलन भयो । बिरामीहरु अहिले निगरानीमा हुनुहुन्छ । त्यसो गर्नुको कारण भनेको सानो जलनपनि प्राण घातक हुनसक्छ भनेर हो । उहाँहरुलाई ६ प्रतिशत जलन भएको मानिन्छ । उहाँहरुको टाउको र संवेदनशिल अंगमा जलन भएकाले अस्पतालमा राख्नु परेको हो ।

    जलनको प्राथमिक उपचारका विषयमा धेरै कुरा थाहा हुनुपर्छ । जलन हुनासाथ एक्लै भए जमिनका लडीबडी गर्नाले आगो निभ्छ । त्यसपछि ३० मिनेटसम्म बगिरहेको पानी हाल्नुपर्छ । पानी धेरै चिसो हुनु हुँदैन् । पानी हाल्दा घाउ गहिरिन पाउँदैन् । त्यसपछि थप उपचारका लागि अस्पताल जानुपर्छ । उपचारको ठाँउ टाढा छ भने प्रर्याप्त मात्रामा झोलिलो खाना खानु राम्रो मानिन्छ । समयमा अस्पताल पुगिएन भने जलन संवेदनशिल अगं जस्तै, जोर्नीहरु, घाँटीको भाग, औंलाको कापहरुमा संकुचन हुने समस्या देखिन्छ । समयमा उपचार गर्न पाइएन भने घरेलु उपचारमा मात्र निर्भर भयो भने र ढिला अस्पताल गइयो अङग नै गुमाउनुपर्ने हुन्छ ।

    नेपालमा जलन सम्बन्धी सचेतनाको स्तरको काम नै भएको छैन् । म आफैँपनि स्नाकोत्तर गरिसकेको मान्छे हुँ । २०१६ बाट जलन क्षेत्रमा काम सुरु गर्दा यो क्षेत्रमा काम गर्न मिल्छ र जस्तो लाग्थ्यो । तर अहिले सम्झिँदा म सही ठाउँमा आएर काम गर्दैछु जस्तो लाग्छ । किनभने नेपालमा जलनको अवस्था हेर्ने हो भने अगाडि कालो खाल्डो देख्न सकिन्छ । त्यति कामै भएको छैन् । त्यही भएर सचेतनाका कामहरु गर्नु जरुरी छ । पछिल्लो समयमा मिडियाको पहुँचले गर्दा कीर्तिपुर अस्पताल, सुष्मा कोइराला अस्पतालमा जलनको उपचार हुन्छ भनेर सुचना फैलाउन सजिलो भएको छ । तर रोकथामको विषयमा ज्ञानहरु फैलाउने कामहरु गर्नुपर्ने देखिन्छ ।

    नेपालका बर्न सेन्टरहरुमा उपकरणहरु चाइने मात्रामा छन् । तर एउटा डेडिकेटेड बर्न अस्पताल बनाएर बर्न आइसीयू, बर्नको मात्रै उपचार गर्ने उपकरणहरु कमी भने पक्कै भएको छ । किनभने बर्न समयअनुसार वा मौसम अनुसार हुन्छ । जाडो महिनामा अलि धेरै हुन्छ । जाडोमा आगो धेरै बाल्छौ अरु बेलामा कम हुन्छ ।

    सरकारले तत्कालै गर्नैपर्ने विषय भनेको समुदाय स्तरमा जनचेतनामा कामहरु हो । स्थानीय स्तरमा जलनको रोकथामका कार्यक्रमहरु अगाडि बढाउने, प्रारम्भिक अवस्थामा नै उपचार गर्ने माहोल बनाउन सक्नुपर्छ । जलन क्षेत्रमा धेरै अस्पताल चाइँदैन । नेपाल देश सानो छ । पाँचवटा जति अस्पताल बनाउन सके सेन्टरले थाम्न सक्छ । तर काठमाडौं बाहिर भौगोलिक विकटताले गर्दा मान्छे आउन नसक्ने अवस्था छ । त्यही भएर स्थानीयस्तरमा पहलकदम गरेर जनचेतना फैलाउने, समुदायमा कार्यगत स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरिनुपर्छ ।

    जलन हुँदा हाम्रो शरीरमा पानीको ठूलो भूमिका छ । जलन भएको २४ घण्टामा घाउबाट निरन्तर पानी बग्छ । यस्तो सानो कुराहरु सिकाउनु पर्छ । विश्व स्वास्थ्य संगठनले एउटा भन्छ अरु सस्थाहरुले अरु नै कुरा भन्छन्। त्यो भन्दा पहिला कस्तो अवस्थामा कुन ठाउँमा भएको छ, त्यसलाई हेर्नुपर्छ । जटिल अवस्थामा जस्तै अनुहार, जोर्नीहरु सानो भएपनि अस्पताल जानुपर्छ । यदि जलन बिजुलीले, केमिकलबाट भएको छ भने सानो भएपनि अस्पतालमा नै जानुपर्छ ।

    नेपालमा अहिले ४० प्रतिशत जलनका बिरामीहरु निको भएर घर गएका छन् । तर, यसमा पनि जलन कुन भागमा भएको छ भन्ने कुरा हो । समयमा नै उपचार गर्न अस्पताल लगियो भने उपचार खर्चमा कमी गराउन सक्छाैं । प्राथमिक उपचार गर्यो भने अस्पतालको बसाइ पनि कमी हुन्छ । नेपालमा ४० प्रतिशत सफल उपचार भएको अवस्था देखिन्छ ।

    बच्चाहरु जलन हुँदा बाल विशेषज्ञहरुलाई सहभागी गराउनुपर्छ । जलन अरु स्वास्थ्य समस्या भन्दा उपचार गर्न अप्ठ्यारो छ । जलन उपचारका लागि सर्जन, नर्स, फिजियोथेरापिस्ट, डाइटिसीएनको उत्तिकै भूमिका रहन्छ । मनोबैज्ञानिक सल्लाहकारको उत्तिकै जरुरी छ । राम्रो टिम बनाएर उपचार गर्ने हो भने जतिपनि जलनको उपचार सम्भव छ । यसका लागि समूदायमा जलनको ज्ञान फैलाउन सकिएन भने केन्द्रमा बसेर यो गर्‍यौं, त्यो गर्‍यौं भनेर मात्र अवस्था सुधार गर्न गार्हो हुन्छ ।

    (एसिया र अफ्रिकामा कार्यरत संस्था इन्टरवर्न नेपालमा पनि सक्रिय छ । जनलसम्बन्धि अनुसन्धान र तालिम प्रदान गर्दै आइरहेका अनिल धितालसँग नेपालमा जलनको उपचारका सम्बन्धमा नेपाल न्यूज बैंकका प्रमिला कार्कीले गरेको कुराकानीमा आधारित ।)

  • ९२ वर्षमा आँखाको ज्योति फर्किएपछि…

    ९२ वर्षमा आँखाको ज्योति फर्किएपछि…

    बरहथवा । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख छन् । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उनले फेरि संसार देख्न पाएका हुन् ।

    लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उनले सुनाए ।

    ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाएका छन् । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोल्नुभएका उहाँले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भने । “यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ,” विपन्न परिवारका उहाँले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गरे ।

    शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा एक सय ७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ ।

    मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ ।

    शिविरमा दुई सय ७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये एक सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।

  • बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

    बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

    काठमाडौं । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् ।

    प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ ।

    नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो । पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए ।

    डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा विसं २०८० चैत १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्भौता भएको थियो ।

    औषधी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनको काम गरिरहेको बताउनुभयो । उनले भने, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित हुन नपरोस भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ ।’

    सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछ । यस कार्यक्रममार्फत् औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रायलयले जनाएको छ ।

    नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये करिब एक–तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । विकसित मुलुकमा यो दर ८० प्रतिशत भन्दा बढी छ ।

  • आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी

    आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी

    महोत्तरी । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँचेकी छैनन् । प्रजातन्त्र दिवसको अर्थ र महत्व नबुझेरै अरुले भनेकै भरमा ‘जिन्दावाद’ भन्ने गरेकी तामाङलाई यसपालि भने अब कहिल्यै नबिर्सने गरी यो दिनको सम्झना रहने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।

    यसपालिको प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार आफ्नै बस्तीमा आँखा जाँच गर्न पाएकी उनको बुधबार मोतियाविन्दुको शल्यक्रिया भएको छ । अबका केही दिनभित्रै शल्यक्रिया गर्दा लगाएको पट्टी खोलिएपछि झलमल्ल संसार हेर्ने खुसीले उनी विभोर छिन् ।

    “आफ्नै गाउँबस्तीमा आएका डाक्डरबाबुले आँखा जाँचेर अपरेसन गर्नुपर्छ भन्नुभयो । आज उहाँहरूले नै लिएर अपरेसन गराएर घर पु¥याई दिनुभएको छ”, सेतीमायाले भनिन्, “अब त भोलिपर्सि नै पट्टी खोलेपछि सबै उज्यालो देख्नेछु ।” पछिल्लो एक दशकयता मोतियाविन्दुले समस्या भएपछि आसै घरको आँगन ननाघेकी उनको अब पूरै गाउँ घुम्ने रहर छ ।

    सेतीमाया मात्र होइन काछबस्तीकै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको पनि बुधबार नै मोतिविन्दुको शल्यक्रिया भएको छ । उनीहरूलगात मोतिविन्दु भएका १७ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।

    “फेरि आँखा उघ्रेर संसार हेर्न पाइने भो, बुढेसकालमा योभन्दा खुसी हुन अरू के चाहियो र !” ७६ वर्षीया गोपीमाया धागा भन्छिन्, “यो बन्दोबस्त मिलाइदिने सबैको जय होस् ।”

    यसपालि प्रजातन्त्र दिवसको अवसर पारेर आँखा जाच शिविर आयोजना गरिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताए ।

    शिविरमा आँखा जाँच गरिएका ३५० जनामध्ये १७ जनामा मोतिविन्दु देखिएपछि शल्यक्रिया गरेको र एक सयभन्दा बढीलाई आँखा जाँचपछि चस्मा र दुई सय जनालाई औषधि दिइएको उहाँले जानकारी दिए ।

    कतिपय पछिल्ला १० वर्षदेखि आँखा समस्या भएर पनि उपचार गर्न गएका थिएनन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित शिविर निकै लाभदायक भएको बर्दिबास–५ का वडाअध्यक्ष काहरमान स्याङ्वाले बताए ।

    “आर्थिक स्रोतको अभावमा आँखाको उपचार र शल्यक्रिया गराउन नसक्ने अवस्थाका अत्यन्त विपन्न परिवारका सदस्यले प्रजातन्त्र दिवसका अवसरमा आँखा जाँचदेखि शल्यक्रियासम्मको सुविधा पाए । यो निकै अविष्मरणीय र सराहनीय कार्य हो”, उनले भने ।

    यसका लागि अष्ट्रेलियाको तस्मानियाँस्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक स्रोत जुटाइदिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष पुरीले जानकारी दिए ।

  • स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

    स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

    तनहुं । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो ।

    जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियो । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए ।

    बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार-पसारमा प्रतिबन्ध लगाइएको उनले बताए । डा. चौधरीले भने, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।”

    यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।

    उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताए ।

  • सकियो एचपीभी खोप अभियान, केही किशोरीले किन लगाएनन् ?

    सकियो एचपीभी खोप अभियान, केही किशोरीले किन लगाएनन् ?

    चितवन । सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न १५ दिनसम्म चलाएको एचपीभी खोप अभियानमा ९० प्रतिशत किशोरी सहभागी भएका छन् । माघ २२ गतेदेखि देशव्यापी सञ्चालित अभियानमा १७ लाख किशोरीमध्ये १५ लाख बढी किशोरीले खोप लगाएका छन् ।

    अभियानको अन्तिम दिन मंगलबारसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त संख्या खोप अभियानमा सहभागी भएको विवरण आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आज अन्तिम दिन छुटेका बस्तीहरुमा खोप लगाइएको छ ।

    सरकारले विद्यालय उमेर समूहका कक्षा ६ देखि १० अध्ययनरत १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने एचपीभी खोप अभियान चलाएको थियो ।

    जसअनुसार खोप कार्यक्रममा सहभागी हुने दर हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको तथ्याङ्क रहेको छ ।

    ‘नो भ्याक्सिन समूह’का कारण समस्या

    सरकारले राष्ट्रिय खोप कार्यक्रममा नै समावेश गरेर देशभर एकै पटक सञ्चालन गरेको किशोरी लक्षित खोप कार्यक्रममा देशभर नै नो भ्याक्सिन समूह तथा सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाका कारण केही समस्या परेको खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

    कोशी स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीका अनुसार बुझेका परिवारका अभिभावक तथा केही विद्यालयका शिक्षकहरुकै बुझाइमा समस्याका कारण खोप कार्यक्रममा केही असहज भएको थियो ।

    ‘सामाजिक सञ्जालमा खोप लगाउँदा बच्चा जन्माउन नसक्ने समस्या आउँछ भन्ने खालका भ्रामक सूचनाका कारण केही ठूला विद्यालयमा नै खोप कार्यक्रम चलाउन समस्या भएको थियो’, भण्डारीले भने, ‘तर स्वास्थ्यकर्मीहरुले एचभीपी खोपको महत्व बुझाएपछि उनीहरु पनि खोप कार्यक्रममा सहभागी भए ।’

    यो समस्या ९५ प्रतिशत खोप लगाएको कोशीमा मात्रै होइन, देशभरकै केही स्थानमा आएको थियो । विशेष गरी तराई क्षेत्रका मदरसा, क्रिश्चियन धर्मका केही मानिस पनि खोप कार्यक्रममा सहभागी हुन अनिच्छुक देखिएका थिए ।

    मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार मधेशका धनुषा, कर्णालीको अछाम, सिन्धुलीलगायतका जिल्लामा मुस्लिम, क्रिश्चियन धर्मका निश्चित सम्प्रदायसँग सम्बन्धित रहेका समुदायमा एचपीभी खोपप्रति अविश्वास देखिएको थियो ।

    प्रवक्ता बुढाथोकीले भने, ‘यतिमात्रै होइन, मधेश प्रदेशका किशोरीहरु कुम्भ मेलामा गएका, विवाहलगायतका समारोह, विदेशलगायतका कार्यक्रममा सहभागी हुन गएका कारण पनि तराई र शहरी क्षेत्रमा खोप लगाउनेको संख्या अलि कम भएको हो ।’

    एचपीभी खोप अभियान विद्यालयको भर्नादरलाई हेरेर १७ लाख किशोरीहरुको संख्या निर्धारण गरिएको थियो, तर केही जिल्लामा विद्यालयमा हुने दोहोरो भर्नादरका कारण पनि राष्ट्रिय लक्ष्य निर्धारण गरिएअनुसारको संख्या खोप कार्यक्रममा सहभागी हुन छुटेको देखिएको छ ।

    सुदूरपश्चिम प्रदेशमा पनि नो भ्याक्सिन ग्रुपको असर परेको उक्त क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुको अनुभव छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमका अनुसार सुदूरपश्चिमको निर्धारित १ लाख ५२ हजार संख्या किशोरीमा ९५ प्रतिशतलाई खोप लगाइएको छ ।

    तर यो विद्यालयमा आधारित तथ्याङ्क भएकाले विद्यालय बाहिर रहेका केही संख्या भने छुटेको हुनसक्ने उनले बताए ।

    केही जिल्लामा भने नियमित खोप कार्यक्रम नै प्रभावित हुनेगरी खोप कार्यक्रममा नै सहभागी नभएको घटना पनि भएका थिए । सिन्धुलीमा नगर प्रहरी नै खटाएर सम्झाउँदा पनि खोप कार्यक्रममा सहभागी हुन नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयले किशोरीको नामैसहित धर्मका कारणले खोप लगाउन नमानेको उल्लेख गरेको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यलय सिन्धुलीका खोप अधिकृत पुष्प पन्तका अनुसार निकै कोसिस गर्दा पनि नमानेका दुधौली नगरपालिकाको केही वडाका किशोरीहरुको नामसहित धर्मका कारण खोप लगाउन नमानेका कारण उल्लेख गरिएको हो ।

    सरकारले यस वर्ष पाठेघरको मुखको क्यान्सर रोकथामको लागि सञ्चालन गरेको कार्यक्रममा केही अप्ठेरा भए पनि समग्रमा ९० प्रतिशत सहभागी भएकाले खोप कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले आगामी आर्थिक वर्षदेखि सरकारले नियमित खोप कार्यक्रममा एचपीभी समावेश गर्ने जानकारी दिए ।

    नेपालमा नसर्ने रोगहरुमध्ये क्यान्सर रोग सबैभन्दा बढी फैलँदो छ । विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा गरेको अनुमानअनुसार नेपालमा सबैभन्दा बढी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।

  • ‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’

    ‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’

    लेखनाथ । जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रद्वारा आयोजित सो कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायको स्वास्थ्य विभाग, स्वास्थ्य केन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख सहसचिव डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता औँल्याए ।

    कार्यक्रममा मनाङमा वार्षिक रूपमा ३० हजार विदेशी र दुई लाखको सङ्ख्यामा स्वदेशी पर्यटक पुग्ने गर्छन्, तर जिल्लामा एउटा पनि एम्बुलेन्स छैन, विपद्मा परेका स्थानीय र पर्यटकको उद्धार कसरी गर्ने ? मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यको प्रश्न गरे ।

    प्रतिकार्यसम्बन्धी समीक्षा कार्यक्रममा मनाङका प्रजिअ आचार्यले यस्तो दुःख पोखेका हुन् । “मनाङका निजी जिप भाडामा लिएर विपद्मा परेकाको उद्धार गरी स्वास्थ्य केन्द्रमा पुर्याउनुपर्ने र कतिपय ठाउँमा त हेलिकप्टर नै मगाउनुपर्ने बाध्यता छ”, प्रजिअ आचार्यले भने “ स्वास्थ्य मन्त्रालयले जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो ।”

    दुर्गममा मात्र होइन, सुगम जिल्लामा पनि विपद्मा समस्या आउने गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले गत वर्ष माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भयो, तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ती सबै शव अट्नसक्ने क्षेमताको शवगृह थिएन । अस्पतालमा ३० जनाको शवमात्र चिसोमा राख्न सक्ने क्षमता थियो, जाडोको मौसम भएका कारण ७२ वटै शव एकै ठाउँमा खादेर राख्नुपर्ने अवस्था भयो, त्यसैको पाठ सिक्दै अहिले ७२ जनाको शव राख्न सक्ने गरी शवगृह निर्माण भइरहेको जानकारी डा खत्रीले दिए ।

    “विपद्को अवस्थामा निजी अस्पतालको सहयोग पनि त्यत्तिकै आवश्यक छ”, डा खत्रीले भने, “विपद्मा घाइते भएका व्यक्तिलाई उपचारका लागि अन्य अस्पतालमा पठाउन सकिन्छ तर धेरै सङ्ख्यामा मृत्यु हुँदा अन्य अस्पतालमा पनि राख्न मान्दैनन् ।”

    कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विपद् निजी अस्पतालले पनि बिरामीको उपचार गर्नुपर्ने बताउँदै ती अस्पताल दर्ता हुँदा १० प्रतिशत बिरामी निःशुल्क उपचार गर्ने शर्तमा नै अस्पताल सञ्चालन गर्ने गरेको बताए । विपद्मा प्रमुख जिल्ला अधिकारी, अस्पताल, सुरक्षा निकाय र रेडक्रसलगायत यस क्षेत्रमा काम गर्नेको सहकार्यमा विपद्मा परेकालाई छिटो छरितो उद्धार गर्नुपर्नेमा उनको जोड छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता बुढाथोकीले विपद्मा परेका व्यक्तिलाई बढी क्षति हुन नदिई जतिसक्दो चाँडो उद्धार गरी स्वास्थ्य केन्द्रसम्म पुर्याउनका लागि व्यवस्थापन गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

  • अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै

    अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै

    काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो ।

    अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।

    सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ । उनमा जलनको घाउ निको हुँदै गए पनि उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ ।

    मेयर आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ । उनको उपचारमा डा. प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ ।

  • काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष सूचीमा दिल्ली

    काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष सूचीमा दिल्ली

    काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

    छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

    तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

    काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

  • १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

    १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

    काठमाडौ‌ं ।  पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

    अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप लगाइएको हो ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । मुलुकमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।

     

  • सिन्धुलीमा सच्चाइ र जोराइ धर्म मान्ने किशोरीले एचभीपी खोप लगाउन मानेनन्

    सिन्धुलीमा सच्चाइ र जोराइ धर्म मान्ने किशोरीले एचभीपी खोप लगाउन मानेनन्

    चितवन । नेपाल सरकारले अभियानको रूपमा सञ्चालन गरेको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रममा सिन्धुली जिल्लाका एउटा स्थानीय तहका किशोरीहरू सहभागी नमानेपछि लक्ष्य अनुसारको खोप कार्यक्रम सञ्चालनमा समस्या परेको छ ।

    सिन्धुलीका दुधौली नगरपालिकाको केही वडामा जोराइ र सच्चाइ नामको धर्म अपनाएका किशोरीका परिवारले आफ्ना छोरीहरूलाई खोप कार्यक्रममा सहभागी गराउन इन्कार गरेका हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप सुपरभाइजर पुष्प पन्तका अनुसार लक्ष्य अनुसारको संख्यामा ४ प्रतिशत किशोरी एचपीभी खोप लगाउन छुटेका छन् । तीमध्ये अधिकांश दुधौली नगरपालिकाका केही वडाका किशोरी छन् । नियमित विद्यालय नजाने उनीहरूको संख्या एक सय जनाभन्दा बढी रहेको पन्तले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सिन्धुली जिल्लामा १४ हजार ६ सय २२ जना १० देखि १४ वर्ष उमेर समूहका किशोरी रहेका तथ्याङ्क रहेको छ । देशव्यापी रूपमा माघ २२ गतेदेखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गरिएको भएतापनि सिन्धुली जिल्लाले २८ गतेसम्म खोप कार्यक्रम पुरा गर्ने लक्ष्य राखेको थियो ।

    तर, २८ गतेसम्म ९६ प्रतिशत मात्रै लक्ष्य पुरा भएको पन्तले जानकारी दिए । दुधौली नगरपालिकामा ९३ प्रतिशत मात्रै खोप पूरा भएको भन्दै पन्तले भने, — केही किशोरीहरू जिल्ला बाहिर रहेका केही बिरामी, गर्भवती र लामो औषधि सेवन गरिरहेकाहरू खोप कार्यक्रममा छुटेका छन् । केही भने संख्या धर्मको कारणले पनि खोप लगाउन इन्कार गरेका छन् । यो सङ्ख्या एक सय जना भन्दा बढी रहेको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादवले पनि सच्चाइ नामको नयाँ धर्म अपनाएका किशोरीहरूका परिवारले स्वीकृति नदिएका कारण खोप कार्यक्रम पुरा गराउन समस्या भएको बताए ।

    पाठेघरको क्यान्सर विरुद्धको रोकथामको लागि सञ्चालित खोप कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा स्थानीय तहले सञ्चालन गरिरहेको हो । दुधौली नगरपालिकाको केही वडामा रहेका सच्चाइ र जोराइ नामको धर्म मानेका परिवारले खोप लगाउन इन्कार गरेपछि नगरपालिकाले जिल्ला प्रहरी, नगर प्रहरी तथा जनप्रतिनिधिसहित गएर ती परिवारलाई सम्झाउँदै आफ्ना छोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अनुरोध पनि गरेको छ ।

    खोप कार्यक्रमको महत्त्व बुझाउँदै सम्झाएपछि गरेपछि खोप लगाउन नमानेका ३२ जनालाई खोप लगाइएको खोप कार्यक्रमका सुपरभाइजर पुष्प पन्तले जानकारी दिए । अझै पनि कतिपय परिवारले एपभीपी खोप लगाउन इन्कार गरेका छन् ।

    दुधौली नगरपालिकाका नगरप्रुमख दिनेश अधिकारी दुधौली नगरपालिकाका ९ र १३ वडामा सच्चाइ र जोराइ नामको धर्म मान्ने मानिसहरू बसोबास गर्ने बताउँछन् । उनका अनुसार फरक फरक नाम भए पनि दुवै क्रिश्चियन धर्म हो ।

    ‘हाम्रो पालिकाको दुई वटा वडा ९ नम्बरको सिरियानी खानीपारि र १३ नम्बर वडाको मनवा चौतारा क्षेत्रमा यो धर्म मान्ने मानिसहरूको बसोबास छ । उनीहरूको परिवारमा खोप लगाउनुहुँदैन भन्ने भ्रम रहेछ । हामीले सम्झाएका छौँ, अझै पनि सम्झाएर खोप कार्यक्रममा सहभागी हुन थप अनुरोध गर्छौँ ।’

    सिन्धुलीमा मात्रै होइन चितवनमा पनि केही स्थानमा धार्मिक कारणले एचभीपी खोप लगाउन इन्कार लगाउने समस्या भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार भरतपुर महानगरपालिका भित्रको एउटा मदरसामा पढ्ने २३ जना किशोरीलाई परिवारले खोप लगाउन दिन मानेका थिएनन् ।

    उक्त मदरसामा खोप कार्यक्रम नै अघि नबढेपछि जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत गएर बुझाएपछि १९ जना किशोरीलाई खोप लगाइएको छ । बाँकी ४ जनाको भने परिवारले नै स्वीकृति नदिएका कारण खोप कार्यक्रममा उनीहरू सहभागी नभएका रुपाखेतीले नेपाल प्रेसलाई जानकारी दिए ।

    चितवनका सात स्थानीय तहमा ३२ हजार ५ सय ४४ जना १० देखि १४ वर्ष उमेर समूहका किशोरी रहेको तथ्याङ्क रहेको छ । तर, ती किशोरीमध्ये ७ हजारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसअघि नै सञ्चालन गरेको खोप कार्यक्रममा सहभागिता जनाइसकेका रुपाखेतीले जानकारी दिए ।

    एक पटक खोप लगाइसकेका किशोरीहरूलाई खोप लगाउनु नपर्ने भएकोले अहिले भएका कुल संख्यामा ८५ प्रतिशत किशोरी खोप कार्यक्रममा सहभागी भए पनि जिल्लामा खोपको डोज सबैसम्म पुग्ने उनले बताए ।

  • नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध (भिडिओ)

    नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’अभियान सफल बनाउन सम्बद्ध सबैमा आग्रह गरेका छन् ।

    आज एक सन्देश जारी गर्दै उनले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका हुन् ।

    यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले सन्देशमा उल्लेख गरे ।

    “हामीले हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौँ”, उनले भने, “साथसाथै निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।”

    अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्यका स्क्रिनिङ गरिनेछ ।

    मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ । मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत स्वास्थ्यमन्त्रीले अनुरोध गरेका छन् ।

  • स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

    स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

    काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।

    गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।

    ‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’

    देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

    मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ । ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने ।

    गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।

    फागुन महिनामा पाठेघरको मुखको क्यान्सरबिरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।

  • डोटीमा ९८ प्रतिशत किशोरीले लाए एचपीभी खोप

    डोटीमा ९८ प्रतिशत किशोरीले लाए एचपीभी खोप

    डोटी । डोटीमा ११ हजार दुई सय ५३ किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप हुमन प्यापिलोमा भाइरस (एचपीभी) लाएका छन् । यो संख्या स्वास्थ्य कार्यालय डोटीले राखेको कुल लक्ष ११ हजार ४ सय ८७ को ९८ प्रतिशत हुन आउँछ ।

    स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले दिएको जानकारी अनुसार जिल्लामा २२ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । जस अन्तरगत जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा लक्ष भन्दा बढीले खोप लाएका छन् ।

    जोरायलमा एक हजार ९७ लक्ष राखिएकोमा एक हजार १२७ ले खोप लाएका छन् । यस्तै, बडिकेदारमा ७ सय ४९ लक्ष राखिएकोमा ७ सय ५४ र बोगटानमा ७ सय ७७ लक्ष राखिएकोमा ७ सय ८७ ले खोप लगाएका छन् ।

    यी पालिकाहरूमा खोपका लागि तथ्याङ्क संकलन भइसकेपछि केही मान्छेहरू थप भएका कारण लक्ष भन्दा बढी प्रगति देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

    जिल्लाका नौ पालिकामध्ये शिखर नगरपालिका र सायल गाउँपालिकाले लक्ष अनुसारको प्रगति गरेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार दिपायल सिलगढी नगरपालिका, आदर्श, केआई सिंह र पूर्वीचौकी गाउँपालिकामा लक्ष अनुसारको प्रगति भएको देखिँदैन ।

    आदर्शमा लक्ष्यको ९१ प्रतिशत मात्रै प्रगति भएको देखिन्छ । यस गाउँपालिकामा एक हजार ६६३ को लक्ष्य राखिएकोमा एक हजार ५१० किशोरीहरूले मात्रै खोप लाएका छन् ।

    दिपायल सिलगढी नगरपालिकामा दिपायल सिलगढीमा दुई हजार ४१ लक्ष राखिएकोमा एक हजार ९ सय ६६ ले मात्रै खोप लाएका छन् । यो संख्या लक्षको ९६ प्रतिशत मात्रै हो ।

    यस्तै, पूर्वीचौकीमा एक हजार २०४ को लक्ष रहेकोमा एक हजार १७७ ले खोप लाएका छन् । केआई सिंहमा एक हजार २७९ लक्ष राखिएकोमा एक हजार २५९ ले उक्त खोप लाएका खोप कार्यक्रम संयोजक विष्टले जानकारी दिए ।

    खोप लगाउन छुटेका किशोरीहरुको खोजी कार्य सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख मलासी बताउँछन् । उनले छुटेका व्यक्तिलाई खोजेर खोप लगाइने जानकारी दिए ।

    जिल्लामा अझै तीन सय ६४ खोप मौज्दात रहेको बताउँदै मलासीले भने ‘हामी खोजी गर्छौँ, छुटेका किशोरीहरूलाई पालिकाको कुनै स्वास्थ्य संस्थामा जम्मा गरेर खोप लगाउँछौँ ।’ जिल्लामा शत प्रतिशत खोप पुर्‍याउने उनी बताउँछन् ।

  • बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    काठमाडौं । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ ।

    यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी भएको र बृहत् स्वास्थ्य शिविर पनि सफल रहेको महाशाखाको ठम्याइ छ । मन्त्रालयले परिवार व्यवस्थापनका लागि घरदैलो सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

    जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा बन्ध्याकरण शिविर आयोजना गर्ने समझारीको ढाँचामा सेवा प्रदान गर्न थालेको हो ।

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल परिवार व्यवस्थापनको सेवामा पहुँच पुर्याउन बन्ध्याकरण शिविर कार्यक्रम सञ्चालनमा नयाँ ढाँचाबाट सेवा प्रदान गर्न थालिएको जानकारी दिए ।

    उनले भने, “यसबाट सेवाग्राहीले आफूले चाहेका सेवा पायक पर्ने स्थानमा गुणस्तरीय रूपमा पाएका छन् ।” परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ भने ।

    उनले भने, “विशेषगरी बन्ध्याकरण शिविर सञ्चालनमा सेवाप्रदायक सस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयतामा समन्वयात्मक ढाँचा अवलम्बन गरेका छौँ ।”

    नेपालमा लामो समयदेखि परिवार व्यवस्थापन एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत सञ्चालन गरेको बृहत् बन्ध्याकरण शिविरको ‘मोडालिटी’ अत्यन्त उत्कृष्ट रहेको बताउँछन् ।

    उनी भन्छन्, “हामी जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ ।”

    उनका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा बन्ध्याकरण शिविर सञ्चालन गर्ने स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र एमएसआइले साझेदारी संस्था सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिए ।

    एमएसआइले सन् २०२४ मा सम्बन्धित पालिकासँगका सहकार्यमा रौतहट, धनुषा, बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बर्दिया, नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, रोल्पा, कैलाली, दाङ, बैतडी, डडेलधुरा, बागलुङ, गोरखा, लमजुङ, प्युठान, कैलाली, धादिङ, सुनसरी र सिन्धुलीलगायत जिल्लामा परिवार व्यवस्थापनअन्तर्गत बन्ध्याकरण शिविर संयोजन गरेको थियो ।

    शिविरमा महिला बन्ध्याकरण (नौ हजार आठ सय ५५) पुरुष बन्ध्याकरण (तीन सय ८७), परिवार नियोजनका इम्पाल्ट (एक सय ५१) र कपरटी (४६) जनाले सेवा लिएका थिए । महिला बन्ध्याकरण अत्यन्त रुचाइएको छभने पुरुष बन्ध्याकरण न्यून रुचाइएको पाइन्छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुडाथोकी २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती रहेको बताउँछन् ।

    उनी भन्छन्, “परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार गर्न संयुक्त सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ । यसका लागि मन्त्रालय सबै साझेदार निकायसँग थप सहकार्य गर्न चाहन्छ ।”

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । यसैगरी विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।

    पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२)का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८, अझै प्रजनन उमेरका २३।७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।

  • मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरका थप दुई अस्पतालमा ताला

    मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरका थप दुई अस्पतालमा ताला

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा दर्ता बिना सञ्चालनमा रहेका जनकपुरधामका थप दुई अस्पताल बन्द भएको छ ।

    मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरधाम उपमहानगरपालिका ९ रामानन्द चौकस्थित अरमान हस्पिटल र जनकपुरधामकै बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर बन्द भएको हो । यी दुबै अस्पताल कुनै निकायमा दर्ता नरहेपनि लामो समयदेखि सञ्चालनमा थियो ।

    मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशन गराएकी सर्लाहीकी एक महिलाको २० दिनसम्म होस् खुलेनन् । उनको अप्रेशनमा डाक्टरले लापरबाही गरेको विषय बाहिरिएपछि मुख्यमन्त्री सिंह शुक्रवार दुई पटक निरीक्षण गरे ।

    निरीक्षणका क्रममा अस्पताल कुनै निकायमा दर्ता नरहेको र अन्य मापदण्ड पनि पालना नगरेको पाइएपछि तत्कालै बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिए । निर्देशन अनुसार अस्पताल प्रशासनले उपचाररत विरामीहरुलाई अन्यत्र सारे र अस्पताल बन्द गरी साँचो मुख्यमन्त्रीलाई बुझाए ।

    जनकपुरधाममा अधिकांश अस्पताल दर्ता बिना सञ्चालनमा रहेको र मापदण्ड समेत पालना नगरेको गुनासोपछि मुख्यमन्त्री सिंह शनिवार २० अस्पतालमा निरीक्षण गरेका थिए ।

    निरीक्षणका क्रममा विएन हस्पिटल एण्ड रिसर्च सेन्टर र अरमान हस्पिटल पनि दर्ता नरहेको खुलेपछि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिए । उनको निर्देशनपछि आजदेखि अस्पतालमा सञ्चालकले स्वयंम ताला लगाएका छन् ।

  • तिपेनी आँखा शिविरमा ३० जनाको आँखाको शल्यक्रिया

    तिपेनी आँखा शिविरमा ३० जनाको आँखाको शल्यक्रिया

    सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ स्थित तिपेनीमा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा निःशुल्क आँखाको शल्यक्रिया शिविर गरिएको छ ।

    शिविरमा ३० जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालले जानकारी दिए ।

    पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना,सेभेन समिट फाउण्डेशनको समन्वय तथा मातृका आँखा केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा ४ दिन पालिकाको विभिन्न स्थानमा मोतिविन्दु छनोट शिविर सञ्चालन गरी छनोट भएको बिरामीको आज शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

    स्थानिय सरकारको अनुभूतिको गराउनका लागी गाउँ गाउँमा पुगेर शिविर सञ्चालन गरी छनोट भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

    दुर्गम भेग मानिने पाँच पोखरीमा धेरैमा आँखाको समस्या रहेको थाहा पाएपछि विगतका वर्षहरूमा जस्तै यस वर्ष पाँच पोखरीमा शिविर सञ्चालन गरिएको सेभेन समिटका उपाध्यक्ष श्याम तामाङले जानकारी दिए ।

    पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेका ७३ वर्षीय एकेन्द्र खनालले आफ्नै घर आँगनमा सञ्चालित शिविरबाट आँखाको शल्यक्रिया गर्नपाएकोमा खुशी लागेको बताए । काठमाडौं जाँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै उहाँले गाउँमै सेवा पाएकोमा खुशी लागेको बताए ।

  • जनकपुरका मापदण्डविपरीत सञ्चालित अस्पतालहरुमा मुख्यमन्त्री सिंहको छड्के

    जनकपुरका मापदण्डविपरीत सञ्चालित अस्पतालहरुमा मुख्यमन्त्री सिंहको छड्के

    जनकपुरधाम । जनकपुरधामका अधिकांश अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको र बिरामीको उपचारमा लापरवाही गर्ने गरेको गुनासोपछि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह कारबाही गर्न तम्सिएका छन् ।

    मापदण्ड विपरितका अस्पतालहरु बन्द गराउन मुख्यमन्त्री सिंहले छड्के अनुगम थालेका हुन् । उनी विएन अस्पताल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, जीवन ज्योती हस्पिटल एण्ड रिसर्च सेन्टरसहितका अस्पताल पुगेका छन् ।

    उनले अन्य अस्पतालहरुको पनि छड्के गर्ने र सो क्रममा देखिएको अवस्थाबारे आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बुझिएको छ ।

    बिरामीको उपचारमा लापरवाही गरेको मुस्कान अस्पताल मुख्यमन्त्री सिंहकै निर्देशनपछि बन्द भइसकेको छ । बिरामीलाई अन्यन्त्र सारेर संचालकले अस्पतालको साँचो आज मुख्यमन्त्री सिंहलाई बुझाएका छन् ।

    अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेको समाचार बाहिरिएपछि मुख्यमन्त्री सिंह निरीक्षणमा पुगेका थिए ।

    अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेको उक्त अस्पतालमा मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचना नरहेको पाएपछि मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी साँचो बुझाउन निर्देशन दिएका थिए ।

  • बिरामीको उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

    बिरामीको उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

    जनकपुरधाम । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै जनकपुरधामस्थित मुस्कान अस्पताललाई तत्काल बन्द गरी साँचो बुझाउन मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

    अस्पतालमा सर्लाहीको हरिपूर्वा नगरपालिका ५ की २५ वर्षीया बविता यादवको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । तर उनको होस अहिलेसम्म खुल्न नसकेको घटना बाहिरिएपछि मुख्यमन्त्री सिंह अस्पताल पुगेका थिए ।

    उनी शुक्रबार दिउँसो अस्पताल पुग्दा सञ्चालक भेटेका थिएनन । त्यसपछि मध्यरातमा पुनः अस्पताल पुगेर मुख्यमन्त्री सिंहले शनिवार विहान ११ बजेभित्र अस्पतालमा ताला लगाएर साँचो बुझाउन निर्देशन दिए ।

    मुख्यमन्त्री सिंह पुग्दा अस्पतालमा मात्र तीन विरामी थिए । पित्तथैलीको शल्यक्रिया गराएकी महिला यादवको होस् नखुलेकाले उनलाई तत्काल बाहिर पठाउन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

    मुख्यमन्त्रीको निर्देशनपछि अस्पताल प्रशासनले ती महिला बिरामीलाई जानकी हेल्थ केयरमा पठाएको बुझिएको छ । शल्यक्रियामा लापरबाही गरेको विषयमा छानविन गर्ने र दोषी ठहर भए कानून बमोजिम कारबाही हुने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

    उक्त अस्पताल कुनै निकायमा दर्ता छैन । स्वास्थ्य सम्बन्धी सहायक सेवाहरु सञ्चालन गर्न पाउने भनेर कम्पनी रजिस्टारको कार्यालयमा मात्र दर्ता छ । अस्पतालले एमविविएस डाक्टर समेत नराखेको पाइएको छ । कार्यरत एचए र अहेबसहितका कर्मचारीलाई नियुक्ति पत्र पनि दिएका छैनन् ।

  • करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

    करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

    काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।

    स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

    जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन् । ‘खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ’, उनले भने ।

    गौतमका अनसार कोशीमा ३८ दशमलव ७, मधेशमा १९ दशमलव ९,   बागमतीमा ४१ दशमलव ६, गण्डकीमा ४५ दशमलव २, लुम्बिनीमा ४९ दशमलव ७, कर्णालीमा ३७ दशमलव ७ र सुदूरपश्चिममा ३९ दशमलव ५ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

    जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९ दशमलव ३ प्रतिशत किशोरीले खोप लगाएका छन् । यस्तै, बैतडीका ८२ दशमलव ७ र गोरखाका ७७ दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

     

  • डा. सन्तोष पौडेलको नेतृत्वमा फेरिएको वीर अस्पताल- व्यवस्थापन सबल, सेवामा बन्दै अब्बल

    डा. सन्तोष पौडेलको नेतृत्वमा फेरिएको वीर अस्पताल- व्यवस्थापन सबल, सेवामा बन्दै अब्बल

    काठमाडौं । २०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशकमा नियुक्त भएका डा. सन्तोष पौडेलले २ वर्षे कार्यकालमा निकै सुधारका काम गरेका छन् ।

    तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीरको निर्देशकमा नियुक्त गरेका अर्थोपेडिक सर्जन पौडेलले सर्जिकल भवन पूर्ण क्षमतामा सञ्चालनदेखि विशिष्टिकृत वार्डहरू सञ्चालन गरेका छन् ।

    यस्तै, ओपिडी बिहान साढे ८ बजेबाट नै सञ्चालन गरिएको छ । फार्मेसी सेवाको टेन्डरलाई नेपालमा नै नयाँ ढंगले व्यवस्थित गरेका छन् । जेनेरिक मोलिक्युलको औषधिमा ५ वटासम्म ब्रान्डहरू र एक न्यूनतम मूल्याङ्कन गरी ६ वटा औषधि खरिद गरिएको र यसबाट दैनिक कारोबारमा २० लाख रुपैयाँ नाफा अस्पतालले कमाउन सफल भएको उनले बताएका छन् ।

    यस्तै, पछिल्लो ६ महिनामा ६ करोडभन्दा बढी मुनाफा कमाएको पनि उनको भनाई छ ।

    सर्किजल भवनमा फार्मेसी थप गरिएको, मेडिकल भवनमा पनि इण्डोर फार्मेसी थपिएको, ओटी फार्मेसीसहित अहिले ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको छ ।

    यस्तै, गुणस्तरीय सेवा प्रदान गर्नका लागि इमेर्जेन्सीमा ट्रिग सिस्टम लागू गरिएको छ । साथै रेड जोन, एलो जोन र ग्रिन जोन गरी सेवा प्राथमिकिकरण गरिएको छ ।

    २४ घण्टे एमेर्जेन्सी ल्याबलाई नयाँ सर्किजल भवनमा सारेर सेवाको दायरा फराकिलो पारिएको छ ।

    निर्देशक डा. सन्तोष पौडेलको नेतृत्वमा वीर अस्पतालमा भएका केही व्यवस्थापन सुधारका कार्यहरु

    1. कार्यभार सम्हाल्दाको पहिलो निर्णय: “डा के डी जोशी बर्न सेन्टर” सञ्चालनमा ल्याइएको जसमा बर्न प्लास्टिक ओ टी,आई सी यु तथा वार्ड (१५ बेडको) रहेको। राष्ट्रिय स्तरमा नै जलनको उपचारलाई निःशुल्क गर्न पैरवी गरेको।
    2. सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आएको । सम्पूर्ण सर्जरीका वार्ड,ओटी,आई सी यु सर्जिकल भवनमा सरिएको।
    3. विशिष्टीकृत वार्डहरू सञ्चालनमा ल्याइएको ।⁠ज्येष्ठ नागरिक वार्ड, Neuro Endo, Chest Ward, Hepatology Ward, Hematology ward, जस्ता Specialized Wards सञ्चालनमा आए।
    4. विभिन्न विधाका विशिष्टीकृत सघन उपचार कक्ष (Intensive Care Unit) हरू सञ्चालनमा ल्याएको। CCU-9 Bed, Medical-8, Respiratory-5,Gastro-Hepato-9,Surgical-9, Neurosurgery-9, A-ICU-14 Burn ICU-5 bed साथै धेरै HDU सेवाहरू सञ्चालनमा ल्याएको।

    5. Blood Sample Collection Counter लाई खुल्ला र सजिलो ठाउँमा सारेर व्यवस्थित गरेको।जसले गर्दा भिडभाड व्यवस्थित भएको। बिहान ७ बजेदेखि नै Blood Sample Collection सेवा सुरु गरिएको छ ।
    6. ओ पी डी बिहान ८ :३० देखि नै सञ्चालन गरिएको छ।हाल ८:३० देखि नै सुरु हुने कार्यालय समय पालनालाई कडाइ गरिएको। सेवा समयलाई आधार मानी सेवा विस्तार भत्ता उपलब्ध गराइएको।
    7. ⁠कवाडी सामानको लिलाम गरेको । १ करोड ६१ लाखमा कवाडी टेन्डरको टुङ्गो लागि हटाउन सुरु गरिएको।अस्पताल सरसफाइले मुहार फेरेको ।
    8. ⁠प्रत्येक आइतबार रक्तदान कार्यक्रम सुरु गरेको ।
    9. फार्मेसी सेवाको टेन्डरलाई नेपालमै नयाँ ढंगले व्यवस्थित गरेको। हरेक generic moleculeको औषधिमा ५ वटा सम्म Brand हरू र एक न्यूनतम मूल्याङ्कित गरी ६ बटा सम्म औषधि खरिद गरिएको। यसरी दैनिक कारोबार नै ५ लाख कमबाट २५ लाख भन्दा माथि पुगेको। पछिल्लो ६ महिनामा अस्पतालले ८ करोडभन्दा बढी मुनाफा गर्न सकेको। ⁠⁠सर्जिकल भवनमा फार्मेसी थप गरिएको, मेडिकल भवनमा पनि नयाँ Indoor फार्मेसी थपिएको। OT Pharmacy सहित हाल ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको छ ।
    10. Emergency मा Triage System लागू गरिएको छ साथै RED ZONE YELLOW ZONE AND GREEN ZONE गरी सेवा प्राथमिकीकरण गरिएको।यसले सेवाको गुणस्तरमा फड्को मारेको छ।
    11. २४ घण्टे Emergency Lab लाई नयाँ सर्जिकल भवनमा सारिएको। सेवाको दायरा फराकिलो पारेको।

    12. ⁠ओ पी डी तथा आकस्मिक कक्षका शौचालयको मर्मत सम्भार गरिएको।बन्द शौचालयहरू मर्मत गरी पुनः प्रयोगमा ल्याइएको। सर्जिकल भवनका भुइँतल्लाको साथै अधिकांश शौचालय सर्वसाधारणको लागि खुल्ला गरिएको छ जुन पहिले बन्द थिए।
    13. महानगरपालिकाले भत्काएको पुराना फार्मेसीका सटरको भग्नावशेष सरसफाइ गरी बगैँचा बनाइएको छ। अस्पताल वरिपरि सरसफाइ र बगैँचा निर्माण ।
    14. ⁠सामाजिक सेवालाई भुईँ तल्लामा सारेर सेवाग्राही मैत्री बनाइएको छ।⁠स्वास्थ्य बीमाको काउन्टर थप गरिएको। ⁠कुन सेवा कहाँ छ भनेर सेवाग्राही ले बुझ्ने गरी भित्ते लेखन गरेको।
    15. प्रदेश सरकारहरूसँग कडा रोगको उपचार सम्बन्धी सम्झौता गरिएको ।बिरामीले थप राहत पाएको।
    16. ⁠टिकट काउन्टरहरू र बिलिङ काउन्टर तला पिच्छे थप गरेको साथै बिहान ७ बजे देखि नै टिकट खुल्ला गरेको।online ticketing सुरु गरी व्यवस्थित गरेको।
    17. ⁠साँझको समय ४ देखि ८ बजेसम्म मा Extended Health Service (EHS) ई एच यश सेवा सञ्चालन गरेको तर जनशक्ति अभावमा रोकिएको सो सेवा टोमोथेरापी र डेण्टल सेवाबाट पुनः सञ्चालनको तयारी गरिएको।
    18. ⁠ओ पी डीमा ह्वील चियर ट्रलीको व्यवस्था भिजिटरहरु बस्नको लागि आरामदायी बेन्चको व्यवस्था गरिएको।
    19. सार्वजनिक बिदामा पनि एम आर आई सेवा सुरु गरिएको थियो। अस्पतालमा लामो समय पालो कुर्नु परेमा निजि संस्थासँगको सहकार्यमा वीरकै दररेटमा सेवा सुनिश्चित गरिएको।

    20. सबै कर्मचारीको नि: शुल्क स्वास्थ्य बीमा गरिएको छ ।⁠अप्रेसन थिएटरमा सबैलाई खाजाको व्यवस्था ।⁠ सर्जिकल भवन लगायत विभिन्न ठाउँमा कर्मचारीको लागि ई हाजिरी मेसिन राखिएको।
    21. OPD Services तर्फ:
    a. आरोग्य क्लिनिक Wellness Clinic and GP Clinic सञ्चालन मा ल्याइएको।
    b. ग्यस्ट्रो सर्जिकल ओ पी डी हप्तामा २ दिनबाट ४ दिन बनाइएको।नयाँ PAIN CLINIC सञ्चालनमा ल्याएको । प्लास्टिक सर्जरी र सिटिभिएस ओपिडी नयाँ स्थानबाट सुरु गरिएको।
    c. ⁠अङ्कोलोजी Cancer ओ पी डी तेस्रो तलामा व्यवस्थित गरिएको।Tomotherapy र Mammogram जस्ता नयाँ सेवा सञ्चालनमा आएको । साईक्याट्रिक ओ पी डीलाई पहिलो तल्लाबाट सञ्चालन।
    22. भूकम्पपछि रोकिएका सम्पूर्ण सर्जरी सेवा सुचारु भएको: Orthopaedic र Plastic को सर्जरी सेवा पनि वीर अस्पतालबाट पुनः सुचारु गरेको ।Open Heart Surgery सेवा नियमित सुचारु भएको छ।
    23. मुटुरोग विभागमा Cathlab सेवा सुरु गरिएको। नियमित Angioplasty सेवा सुचारु भएको।

    24. Emergency को पुनर्निर्माण र पथ्य शाखाको निर्माण को कार्यको ठेक्का लागेर सम्झौता अगाडि बढेको। ६ महिना भित्र ७५ बेडको स्मार्ट ईमर्जेन्सी र फराकिलो अस्पताल चमेना गृह बन्ने।
    25. सेवाको गुणस्तरका लागि
    a. Antimicrobial Stewardship Program लागू गरेको।
    b. Pharmacovigilance, Drug Information Center and Rational Use of Drug का विविध कार्यक्रम सञ्चालन गरिएको।
    c. HAI Surveillance and IPC Training नियमित रूपमा सञ्चालनमा ल्याएको।
    d. Academic Grand Rounds को सुरुवात गरेको । हरेक महिनाको चौथो शुक्रवार बिहान।
    26. खरिद कार्यलाई व्यवस्थित गरिएको, लामो समय देखि रोकिएका साल-बसाली हुनै पर्ने ठेक्कालाई नियमित गरेको। १० लाख भन्दा कमका खरिदमा पनि Online विधिबाट Tender गरिएको।
    27. अस्पतालको आन्तरिक आय आ व २०७९/८०मा ५४ करोड रहेकोमा आ व २०८०/८१ मा २५ करोड बढाएर ७९ करोड पुर्‍याइएको।यस वर्ष कमसेकम १ अर्ब पुर्‍याउने लक्ष्य रहेको।

  • प्रधानमन्त्रीबाट एचपीभी खोप अभियान शुभारम्भ

    प्रधानमन्त्रीबाट एचपीभी खोप अभियान शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ ।

    विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।

    आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

  • सुदूरपश्चिममा डेढ लाख बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

    सुदूरपश्चिममा डेढ लाख बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

    डोटी । मङ्गलवारदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार दुई सय ९१ जना किशोरीहरूलाई खोप लगाइने भएको छ ।

    विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई उक्त खोप लगाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जन स्वास्थ्य निरीक्षक एवं खोप कार्यक्रम संयोजक मीनराज जोशीले जानकारी दिए ।

    उनका अनुसार विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै र विद्यालय भन्दा बाहिर रहेको १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको छ ।

    एचपिभी खोप अभियान अछाममा माघ २६ गतेसम्म चल्नेछ । सो अभियान अन्तरगत यस जिल्लामा विद्यालय जाने किशोरी १३ हजार ६ सय ७३ र नजाने दुई सय ४८ गरी १३ हजार ९ सय २१ किशोरीहरुलाई एचपिभी खोप लगाइँने भएको छ ।

    यो अभियान कैलालीमा फागुन ४ सम्म चल्ने स्वास्थ्य निर्देशनालयका खोप संयोजक जोशीले जानकारी दिए । उनका अनुसार यस जिल्लामा विद्यालय जाने ४७ हजार तीन सय २६ र नजाने तीन हजार दुई सय ८७ गरी ५० हजार ६ सय १३ जना किशोरीहरूले यो खोप पाउनेछन् ।

    यस्तै, दार्चुलामा २८ गतेसम्म चल्ने यो अभियान अन्तरगत सात हजार दुई सय ९१ जना किशोरीहरूले उक्त खोप पाउनेछन् । यस जिल्लामा विद्यालय जाने सात हजार दुई सय ६२ र नजाने २९ जना रहेको निर्देशनालयसंग अभिलेख छ ।

    बैतडी जिल्लामा यो अभियान फागुन १ सम्म चल्ने गरी योजना बनाइएको छ । यस जिल्लामा विद्यालय जाने १३ हजार दुई सय ६३ र नजाने तीन सय एक गरी १३ हजार पाँच सय ६४ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने जोशीले जानकारी दिए ।

    यो खोप अभियान डडेलधुरा जिल्लामा माघ २७ गतेसम्म सञ्चालन हुनेछ । यस जिल्लामा विद्यालय जाने ६ हजार नौ सय ६२ र नजाने २४ गरी ६ हजार नौ सय ८६ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने भएको छ ।

    डोटीमा यो अभियान माघ २८ गतेसम्म सञ्चालन हुनेछ । यस अभियान अन्तरगत डोटीमा ११ हजार चार सय ८७ जना किशोरीहरूलाई खोप लगाइनेछ । यस जिल्लामा विद्यालय जाने १० हजार नौ सय एक र नजाने पाँच सय ८६ किशोरीहरूले यो खोप पाउनेछन् ।

    यस्तै, बाजुरा जिल्लामा यो अभियान माघ २८ गतेसम्म चल्ने गरी योजना बनाइएको छ । यस जिल्लामा विद्यालय जाने सात हजार आठ सय ६० र नजाने ३४ गरी सात हजार आठ सय ९४ जना किशोरीहरूले यो खोप पाउनेछन् ।

    बझाङमा माघ २६ सम्म यो अभियान सञ्चालन हुनेछ । यस अभियान अन्तरगत बझाङमा विद्यालय जाने ११ हजार आठ सय ३५ र नजाने दुई सय गरी १२ हजार पाँच सय किशोरीहरूले यो खोप पाउने छन् ।

    अभियान अन्तरगत कञ्चनपुर जिल्लामा माघ २९ गतेसम्म खोप लगाइनेछ । यस जिल्लामा विद्यालय जाने २६ हजार आठ सय १२ र नजाने ६ सय ८८ गरी २७ हजार पाँच सय किशोरीहरूले एचपिभी खोप पाउनेछन् ।

    निर्देशनालयका जन स्वास्थ्य निरीक्षक जोशीका अनुसार खोप लगाउनका लागि प्रदेशभर दुई हजार आठ सय ५३ खोप केन्द्रहरू स्थापना गरिएको छ । खोप केन्द्रहरू विद्यालयमा दुई हजार १४ र अन्य आठ सय ३९ रहेका छन् ।

    अभियानका लागि प्रदेशभर दुई हजार आठ सय सात जना स्वास्थ्यकर्मी र पाँच हजार पाँच सय ९८ स्वयंसेवक परिचालन स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

  • विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    काठमाडौं । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए ।

    “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उनले भने, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राखे । उनले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिए ।

    “क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ”, उनले भने, “तेस्रो र चौथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”

    क्यान्सरका चार चरण

    क्यान्सरका चार चरण ९स्टेज० रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । उनले नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उल्लेख गरे ।

    डा शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङ्ग कलेजो, पेटमा गयो भने त्यसलाई चरण चार भनिने जानकारी दिए ।

    नेपालमा सस्तो उपचार

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राखे ।

    उनले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताए । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि रु एक लाख उपलब्ध गराउने गर्दछ”, उनले भने ।

    क्यान्सर हुनुका कारण

    क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले बताए ।

    “भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दर्छौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”, उनले भने । उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने धारणा राखे । उनका अनुसार शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्यु गर्र्नेसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्दछ ।

    उनले जिनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको बताए । उनका अनुसार अस्पतालमा वर्षमा एक लाख क्यान्सरका बिरामीको उपचार हुने गरेको छ ।

    दैनिक पाँच सय बिरामी उपचारका लागि आउने गरेका छन् । हरेक दिनमा ४० देखि ५० जना बिरामीको किमोथेरापी र एक सय ५० जना रेडिएसन ९सेकाइ०का लागि आउने गर्दछन् । उनले समयमा उपचार नगरे भने बिरामीको ज्यान पनि जानसक्ने जोखिम रहेको बताए ।

    ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकीरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् ।

    विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

    पछिल्लो सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार छ सय २९ जनाको मृत्यु भएको थियो । उनले नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेका जानकारी दिए । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।

    क्यान्सर रोकथामसम्बन्धी सरकारका कार्यक्रम

    मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।

    सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि रु एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप रु एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।

    नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

  • स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुल्यो

    स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुल्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो ।

    संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन । यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको  थियाे । कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भइरहेको अधिकारीहरुले बताउने गरेका छन् ।

    मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । मन्त्री पौडेलले मन्त्रालय सम्हालेलगत्तै थालेको गृहकार्य पछि हालै मन्त्रीपरिषदले मन्त्रालयलाई पूर्व स्वीकृति दिएको हो ।

    मन्त्री पौडेलले अति आवश्यक दरबन्दी पुनरावलोकनको काम लामो समयदेखि नहुँदा देखिएको बाधा हटाउने घोषणा एक सय दिनको पत्रकार सम्मेलनमा गरेका थिए ।

    गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो ।

    अब मन्त्रिपरिषदबाट पूर्व स्वीकृति प्राप्त भए पछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सर्भेक्षण प्रतिवेदनपछि मन्त्रालयमा बढ्दो मागअनुसारका जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइनेछ ।

    ‘स्वास्थ्य जनशक्ति थप गर्नुपर्छ भन्ने आवाज पहिल्यैदेखिको हो,’ उनले भने, ‘मन्त्रीज्यूको प्राथमिकता पनि यसैमा रहेकाले पूर्वस्वीकृतिपछि जनशक्ति व्यवस्थापनमा प्रगति हुने अपेक्षा छ ।’

    मन्त्रालयले ओएनएम सर्वेक्षणका लागि मन्त्रालयका सहसचिव ऋषिराज आचार्य संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी पुनरावलोकनको प्रस्ताव पुनः अर्थ हुँदै मन्त्रीपरिषदमा लैजाने गरी मन्त्रालयले काम थालेको छ ।

    हाल मन्त्रालयमा एक सय ६ दरबन्दी तथा आठ सय ३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन् । यसले बढ्दो स्वास्थ्य सेवा विस्तार तथा भावी समस्यासँग जुध्न सम्भव नभएको जानकार बताउँछन् ।

  • कर्णालीमा माघ २२ देखि एचपीभी खोप अभियान सञ्चालन

    कर्णालीमा माघ २२ देखि एचपीभी खोप अभियान सञ्चालन

    सुर्खेत । कर्णाली प्रदेशमा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

    कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले मंगलबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभियानको तयारीबारे जानकारी गराएको हो।

    कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचपीभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर मात्र नभई यौनाङ्गमा आउने मुसा तथा अन्य क्यान्सरसमेत हुन सक्ने भएकाले १० देखि १४ वर्षसम्मका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरे।

    उनले खोप सुरक्षित भएकाले कुनै भ्रममा नपर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई खोपको प्रचार–प्रसारमा सहयोग गर्न अनुरोध गरे।

    प्रदेशस्तरीय अभियानलाई सफल बनाउन स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले स्थानीय तहका विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, वडा अध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य तथा सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको बताए।

    अभियानलाई प्रभावकारी बनाउन पालिकाका आधारभूत र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूलाई समेत समन्वय गर्न आग्रह गरिएको छ।

    नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी खोपलाई प्राथमिकतामा राख्दै पहिलो चरणमा कास्की र चितवनमा अभियान सञ्चालन गरेको थियो।

    आगामी २०८१ माघदेखि देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय खोप कार्यक्रम सन् २०३४ बाट सुरु भई हाल १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत १३ प्रकारका खोप वितरण हुँदै आएको छ।

    नेपाल सरकारले खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने प्रमुख उपायका रूपमा अघि बढाएको छ। पोलियो रोग निवारणका लागि प्रभावकारी खोप अभियान सञ्चालन भइरहेको छ।

    कर्णालीमा सञ्चालन हुने एचपीभी खोप अभियानले प्रदेशमा किशोरीहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूको विश्वास छ।

  • निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

    काठमाडौ‌ं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी उक्त निर्णय सोमबार राती सार्वजनिक गरेका हुन् ।

    उनीहरुले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेका छन् ।

    जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा रु २५ हजार, दोस्रो वर्ष कम्तीमा रु ३० हजार र तेस्रो वर्ष कम्तीमा रु ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका छन्।  यो व्यवस्था शैक्षिक सत्र २०८१र८२ देखि लागू हुने उल्लेख छ ।

    प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ मङ्सिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौँ बैठकले निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्तासम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी शिक्षा र स्वास्थ्यमन्त्रीलाई दिएका  थिए।

    सोही अनुसार विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलका आधारमा निर्णय गरिएको मन्त्रीद्वयले सार्वजनिक गर्नुभएको निर्णयमा भनिएको छ ।

    निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने मन्त्रीद्वयद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

     

  • काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

    काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

    काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    आवश्यकीय खोप जिल्ललास्थित कार्यालयमा आइपुगेको छ । सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो ।

    कार्यालयको तथ्याङ्कानुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ का तीन हजार ३३, कक्षा ८ का तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ ।

    यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे व्यवस्थापन गरिसकिएको श्रेष्ठले बताए । उनका अनुसार विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

    सरकारले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकमा भने व्यवस्थापनका हिसाबले दुई चरणअन्तर्गत नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा दोस्रो चरणको अन्तिममा लगाइने भएको श्रष्ठले बताए । स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिने छभने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।