वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
“वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।”
निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसकेका थिए । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।
यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।
सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिएकी हुन् । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो।
दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।
‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन् । उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग (Regional Verification Commission) को सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरिन् ।
क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्याङ्क तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो।
नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुर्याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन् ।
‘नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण हो, जुन हाम्रो स्वास्थ्य प्रणालीको एक बलियो आधारस्तम्भको रुपमा रहँदै आएको छ । नेपालको खोप कार्यक्रम लगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) र विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । म यस अवसरमा यो उपलब्धि हासिल गर्न योगदान पुयाउनु हुने सम्पूर्ण नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी एवंसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र बधाई दिन पनि चाहन्छु । साथै, कुनै पनि बालबालिका अब खोपबाट बचाउन सकिने रोगबाट पीडित हुनु नपरोस् भन्ने उद्देश्यका लागि सबै सरोकारवालाहरुलाई सहयोग जारी राख्न समेत आह्वान गर्दछु,’ माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने ।
नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो ।
सन् २०१५ र २०२३ का भूकम्प र कोभिड-१९ जस्ता स्वास्थ्य आपतकालिन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहुँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्याएका थिए । त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५% भन्दा बढी बालबालिकामा पुर्याउन सफल भएको थियो ।
हरेक वर्ष बैशाख महिनालाई ‘खोप महिना’ को रुपमा मनाएर, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरी स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै ‘पूर्ण खोपयुक्त’ घोषणा गर्ने जस्ता नविनतम एवं सृजनात्मक प्रयासहरुले खोपबाट बचाउन सकिने रोग निवारणको लक्ष्यमा पुग्न थप गति प्रदान गरेको छ ।
रोग निगरानीलाई अझ सबल बनाउने उद्देश्यले नेपालले हालै एक सुदृढ प्रयोगशाला परीक्षण प्रणाली लागू गरेको छ, जुन दक्षिण–पूर्वी एसिया क्षेत्रमै पहिलो हो ।
‘रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई छ । यो जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम हो । यस यात्रामा योगदान गर्न पाएकोमा विश्व स्वास्थ्य संगठन गर्व गर्दछ र यो उपलब्धि दीर्घकालसम्म कायम राख्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ,’ विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले भने ।
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताए ।
“जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।”
साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।
“तीन जना सङ्क्रमितहरू उपचारपछि घर जानुभएको छ । सङ्क्रमितहरूको घरपरिवारको लक्षण भए/नभए निगरानी गरिएको छ”, उनले भने, “सङ्क्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएका छौं ।”
जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमूना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए । “मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र सङ्क्रमितको घरपरिवारका सदस्यहरू पाँच जना गरी सात जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु लगिएको छ”, उनले भने ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०र८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो भने गत आव २०८१/८२ मा दुई जनामा सङ्क्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।
जिल्लामा चालु आवको सुरुआतसँगै रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।
“जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन”, उहाँले भन्नुभयो, “विशेषगरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो, साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।”
यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख सिंहले बताउनुभयो । “यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्दन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छ,” उनले भने, “यस रोगका खतराका लक्षणहरू छारे रोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।”
विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिसस सङ्क्रमित हुने गरेको तथ्याङ्क रहेको छ । जसमध्ये १० देखि १५ हजार सङ्क्रमितको ज्यान समेत जाने गरेको छ ।
चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् ।
भरतपुर महानगरपालिकाका– सात, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमा पाँच पुरुष र नौ महिला रहेका उनले जानकारी दिए ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन।
३२ जनामा स्क्रब टाइफस
सोही अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । प्रमुख पोखरेलका अनुसार सङ्क्रमितमध्ये २३ जना चितवनका हुन भने नौ जना जिल्ला बाहिरका छन् । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ ।
यो रोग मानिसबाट मानिसमा सर्दैन । कार्यालय प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट सर्छ । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रण गर्न खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भूइँमा सुत्न वा बस्न नहुने उनले जानकारी दिए ।
रोग लागेका व्यक्तिलाई उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी) आउने, अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्ग प्रभावित हुने, तथा कीराले टोकेको ठाउँमा रातो दाग देखिने तथा पछि कालो दाग बस्छ ।रासस
नवलपरासी । नवलपरासी पश्चिममा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको हो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा अभियान सुरु भइसकेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासीमा सुरु गरिएको अभियानको उद्घाटन गरेका थिए । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्युदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बर्ताए ।
उनले जिल्लाको सामाजिक, सांस्कृतिक र भावनात्मक रहनसहन बुझेर सुचक र तथ्याङ्कका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। समस्या आईसकेपछी उपचार गर्ने मात्र नभएर समस्या आउनुपुर्व नै त्यसको अध्ययन गरेर समस्या नै आउन नदिने तर्फ लाग्नुपर्ने समेत उनले बताए ।
मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा काम गर्ने कर्मचारीहरुले नाम देखिने गरि व्यक्तिगत व्यवसायमा बोर्ड राख्ने काम हटाउने, आर्थिक पारदर्शिता र शुसासनका लागि सवारी सवारी साधनहरुमा जिपीएस जडान गरिएको, छात्रवृत्ति करारका विद्यार्थीहरुलाई ग्रामिण क्षेत्रका अस्पतालहरुमा पठाउनेलगाएतका काम प्राथमिकताका साथ मन्त्रालयले गरेको बताए ।
अभियान अन्तरगत सरोकारवालाहरुसंगको अन्तरक्रियामा सहजिकरण गर्दै स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मान बहादुर ओलीले नेपालको संविधानमा स्वच्छ रुपमा बाँच्न पाउने हक भएको भन्दै स्वास्थ्य र सुरक्षित मातृत्व, बालबालिकाको हक, महिलाको हकलगाएतका विषयमा काम गर्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थाले जनस्वास्थ्य ऐन २०७५ र नियमावली २०७७ अनुसार ९ शिर्षक र ४५ बढी सेवा दिनुपर्नेमा समेत जोड दिए ।
नवलपरासी पश्चिममा ३६ प्रतिशतको विवाह १८ देखि २० वर्षमा हुने तथ्याङ्क रहेको छ । यहाँ चार पटक नै गर्भ जाँच गराउने गर्भवती ८६ प्रतिशत रहेका छन । ।लुम्बिनी प्रदेशमा ९३ प्रतिशत आमाहरुले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेको तथ्याङ्क छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले फेमिलि हेल्थ प्रोफाईल निर्माण भएपछि नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए भने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चौधरीले प्रदेश सरकारले नागरिक स्वास्थ्यलाई डिजिटलाईजेसन गर्ने अभियान सञ्चालन गर्नु खुशीको कुरा भएको बताए।
यस्तै, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले योजना र कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन्।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रविधि मार्फत महिलाहरुको स्वास्थ्यलाई गतिशिल बनाउने लक्ष्यका साथ यो योजना अघी सारिएको बताए । उनले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरु घरघरमै पुगेर डाटा लिने भएकाले आगामी दिनमा बनाउने योजना र अभियानहरु सञ्चालन गर्न प्रभावकारी हुने बताए।
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२/८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पद बहाली गरेको एक वर्ष पुगेको अवसरमा हेटौँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री किरण थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि” अभियान, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” कार्यक्रम प्रदेशभर सुरु गर्ने पनि उनले बताए । थापाले आम जनताले महसुस गर्ने गरी सेवा दिन कुनै कसर बाँकी नराखेको बताए।
स्वास्थ्य मन्त्रालयका काम चुस्त बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । स्वास्थ्य संस्था सञ्चालन, सेवा स्तरोन्नति, नवीकरण तथा अनुमति प्रणालीलाई व्यवस्थापन गर्न नियमावली तथा मापदण्डहरू बनाइएर अनलाइन प्रणालीबाट काम सुरु भएको उनले बताए ।
बागमती प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लाहरूमा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित परिचालन गरेको पनि मन्त्री थापाले बताए । मन्त्री थापाले भने, “अब जनताले विशेषज्ञ सेवाका लागि काठमाडौं धाउनु पर्दैन, विशेषज्ञ डाक्टरसहित सेवा प्रदेश अस्पतालमा पुग्नेछ ।”
प्रदेश सरकारले २१ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन र वितरण गर्दै वैकल्पिक चिकित्सा प्रवर्द्धन थालेको छ । यस अघि ११ प्रकारका औषधि उत्पादन गर्दै आएको औषधि उत्पादन केन्द्रले केही महिना भित्र नै २१ प्रकारका औषधि उत्पादन गर्ने पनि मन्त्री थापाले जानकारी दिए । यसै गरी प्रदेश योग समिति गठन गरेर योग, ध्यान, प्राणायामलाई वैधानिकता र गुणस्तरीयता दिने काम सुरु भएको पनि मन्त्री थापाले बताए ।
विशेषज्ञ आयुर्वेद सेवा विस्तार गरी अन्तरङ्ग सेवा समेत नुवाकोट, चितवनमा सुरु भइसकेको जानकारी दिँदै अन्य स्थानमा सुरु गरिने उनको भनाइ छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएमएलटी, बिएएसी नर्सिङ, बिफर्मा, एमडी लगायतका विषय पढाइ हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शय्या, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शय्या,रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शय्या, रसुवा, टोखा, बज्रबाराहीमा २५ शय्यामा अस्पताल सञ्चालन भइरहेको मन्त्रालयका सचिव डा। सुमित्रा गौतमले जानकारी दिइन् ।
यी अस्पतालहरूमा इएमआर् इएचआर एमएसएस सेवा मापदण्ड, क्लिनिकल अडिट र डिजिटल सेवा प्रणाली लागू गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा दिने तयारी गरिएको उनले जानकारी दिइन् । “एक जिल्ला, एक स्वस्थ सहर”, “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।
अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया लगायतका अनुवांशिक रोगहरूको निःशुल्क उपचारका लागि पनि प्रदेश सरकारले काम गरिरहेको छ ।त्यस्तै, विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा र सम्मान कार्यक्रम निरन्तर जारी राखेको सचिव डा. गौतमले बताइन् ।
मन्त्रालयका सचिव डा। गौतमले स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल ४६ वटा संस्थागत संरचनाहरू रहेको बताउँदै मन्त्रालयले हालै स्वास्थ्य सेवा ऐन, नियमावली, कार्यविधि, मापदण्ड, मार्गदर्शन लगायतका विभिन्न कानुनी तथा प्राविधिक दस्ताबेजहरू निर्माण तथा संशोधन गरिरहेको जानकारी दिइन् ।
डा. गौतमले मन्त्रालयबाट चालु आर्थिक वर्षमा प्रगति भएको गतिविधि र आगामी वर्षको कार्यक्रमका विषयमा जानकारी समेत दिइन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु भएको भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार सुरु गरिने पनि कार्यक्रममा जानकारी गराइयो । नर्सिङ विषयको प्रमाणपत्र तहको अध्ययन प्रादेशिक अस्पतालहरूमा सञ्चालन हुने जानकारी दिइयो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो ।
कहिलेकाहीँ तपाईंलाई मोबाइलबाट ब्रेक लिन मन लाग्छ ? तर सधैँ त सकिँदैन जस्तो लाग्छ होइन त ? अब सधैं पर्दैन ३ दिन मात्रै मोबाइलबिना बस्न सक्नुहुन्छ ? मोबाइल बिना पनि पर्दैन, तपाईंले फोन गर्न र उठाउन पाउनुहुन्छ । यदि सक्नुहुन्छ तपाईंले कल्पना गरेभन्दा बढी फाइदा मिल्नेछ ।
हामीले चाहेर पनि मोबाइल टाढा रहने अवस्था छैन । र विभिन्न अध्ययनका अनुसार अत्यधिक मोबाइल प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ ।
त्यसैले, अनुसन्धानकर्ताहरुले अहिलको हाइली कनेक्टेड लाइफस्टाइलमा यदि मोबाइलबाट ब्रेक लिने हो भने के हुन्छ त भनेर अनुसन्धान गर्न खोजे ।
त्यही क्रममा भर्खरै कम्प्युटर इन ह्युमन साइन्स जर्नलमा प्रकाशित जर्मनीमा भएको पछिल्लो अनुसन्धानअनुसार केवल तीन दिन अर्थात ७२ घण्टा मोबाइल विशेषगरी इन्टरनेट र सामाजिक सञ्जालबाट टाढा रहँदा निकै फाइदा पुग्ने पत्ता लाग्यो । उक्त अध्ययनका अनुसार तीन दिन मोबाइल कनेक्सनबाट ब्रेक लिँदा हामीले कल्पना गरेभन्दा बढी फाइदा हुनेछ ।
त्यसको अर्थ निरन्तर घण्टौंको इन्टरनेट कनेक्सनले हाम्रो मस्तिष्क र जीवनयापनमा तपाईं हामीले सोचेभन्दा बढी हानी गर्छ । अध्ययनमा रिसर्चरहरुले मस्तिष्कका कामहरु रिवार्ड प्रोसेसिङ र एटेन्सनमा छोटो समय मोबाइल नचलाउँदा कस्तो असर गर्दोरहेछ त भनेर पत्ता लगाउन खोजेका थिए ।
भिडियो
यसअघिका एक्सपेरिमेन्टमा मोबाइलको अति धेरै प्रयोगले गम्भीर असर गर्ने पत्ता लागिसकेका छन् । यो अध्ययन मोबाइल कनेक्सनबाट ब्रेक लिने हो भने असर कम हुन्छ कि भन्नेसँग सम्बन्धित थियो । ‘मोबाइलले मानिसको मानसिक स्वास्थ्य र ब्रेन स्ट्रक्चरमा असर गर्छ’, अनुसन्धानमा संलग्न डा. रोबर्ट क्रिस्टियन वल्फले बताए । अनुसन्धानमा १८ देखि ३० वर्ष समूहका २५ जना मोबाइल नियमित चलाउने सामान्य युवाहरुलाई सहभागी गराइएको थियो ।
उनीहरुको सुरुमा एफएमआरआई गरेर ब्रेनको फंक्सन पत्ता लगाइएको थियो । एफएमआरआई भनेको रगतको फ्लो हेरेर मस्तिष्कको गतिविधि थाहा पाउने पाउने सिस्टम हो । सुरुमा गरिएको स्क्यानिङ र ७२ घण्टासम्म मोबाइलको प्रयोग गर्न नदिएपछिको स्क्यानिङको तुलना गरिएको थियो । त्यतिमात्र होइन अनुसन्धान अझै तथ्यगत होस् भनेर दुवै पटक प्रश्नहरु पनि सोधिएको थियो ।
प्रश्नको आधारमा भनेर मोबाइल चलाइरहँदा र तीन दिन नचलाउँदा खासै फरक नतिजा देखिएन किनकी त्यो प्रश्नहरुको उत्तर व्यक्ति स्वयमंले दिएका थिए । उसो त आफ्नो गतिविधि मोबाइलकै रेकर्डमा हेर्न लगाइएको थियो । यद्यपि उनीहरुलाई मोबाइलमा जरुरी काम गर्न, आफ्नाहरुसँग फोन गर्ने सुविधा थियो । ब्रेन स्क्यानिङमा मोबाइल नचलाउँदा र चलाउँदामा निकै फरक अवस्था भेटिएको थियो ।
नतिजामा ७२ घण्टा मोबाइल नचलाउँदा मस्तिष्कको एन्टेरिअर सिंगुलेट र न्युक्लियस एकुम्ेबन्सको गतिविधि तीव्र भएको थियो । यी दुवै क्षेत्रहरु हाम्रो तृष्णा र रिवार्डसँग सम्बन्धित छन् । त्यसकारण प्रश्नहरुको आधारमा उनीहरुले मूल्याकंन गर्दा ७२ घण्टा मोबाइल चलाउन नपाएपनि उनीहरुमा मोबाइलप्रतिको क्रेभिङ नभएको देखिएको थियो । तर ब्रेन स्क्यानले त्यसको उल्टो नतिजा दियो । जसरी क्याफिन र निकोटिनले मानिसको मस्तिष्कमा डोपामिन र सेरोटिनन जस्ता ब्रेन केमिकल्सलाई एक्टिभ गराउँछन् । मोबाइल चलाउँदा पनि त्यस्तै हुने अध्ययनले देखायो । यसको अर्थ निरन्तर मोबाइल चलाइरहँदा तपाईंलाई जे जे कुराले तान्छ त्यो मस्तिष्कमा निस्किएको तिनै डोपामिन र सेरोटिनन जस्ता मस्तिष्कका रसायनले गर्दा हो । जुन गतिविधि निरन्तर रहेमा उक्त कार्यप्रति झन तृष्णा जागृत गराउने अनुसन्धानले खुलाएको थियो ।
अझ रोचक त के छ भने यसको असर कम गर्न ३ दिन मात्रै इन्टरनेट र सामाजिक सञ्जाल नचलाए मात्रै पनि निकै फाइदा हुने उक्त अध्ययनमा भनिएको छ । समग्रमा यदि केही समयको अन्तरालमा केवल तीन दिन मात्रै पनि मोबाइल कनेक्टिभिटीबाट टाढा रहने हो भने हाम्रो मस्तिष्क र सर्वत्र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने अनुसन्धानको निष्कर्ष थियो । यदि तपाईं मोबाइलसँग सम्बन्धित कुनै पनि डिसअर्डर भोगिरहनुभएको छैन भने बेलाबेलामा ३ दिन मोबाइलबाट आंशिक ब्रेक लिनु निकै देखिएको छ ।
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले उदयपुरका एक बालकको पेटबाट कैँची निकालेको छ ।
खेल्ने क्रममा कैँची निलेका १५ वर्षीय बालकको अप्रेसन गरी अस्पतालले कैची निकालेको हो । चार दिन अघि बालकलाई अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।
उपचारका लागि आकस्मिक कक्षमा ल्याइएका बालकको एक्स-रे र सिटी स्क्यानको गर्दा ठूलो आन्द्रामा कैँची देखिएको थियो । नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको टीमले अप्रेसन गरेको थियो ।
ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालिएको हो । दुई दिनको अस्पताल बसाइपश्चात् बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन् ।
जेनेभा । विगत २५ वर्षमा हैजा, इबोला र दादुरा जस्ता रोगको प्रकोपको समयमा दिइने आपतकालीन खोपले यस्ता रोगबाट हुने मृत्युमा करिब ६० प्रतिशतले कमी आएको एक नयाँ अध्ययनले देखाएको छ ।
खोपका कारण त्यति नै सङ्ख्यामा सङ्क्रमणलाई पनि रोकथाम गरिएको विश्वास गरिएको छ । यसका लागि अर्बौं अनुमानित आर्थिक लागत खर्च भएको जनाइएको छ ।
अध्ययनलाई सहयोग गर्ने गाभी भ्याक्सिन एलायन्सले अस्ट्रेलियाको बर्नेट इन्स्टिच्युटका अनुसन्धाताहरूसँग सहकार्य गरेर सार्वजनिक स्वास्थ्य र विश्वव्यापी स्वास्थ्य सुरक्षामा आपतकालीन खोप प्रयासको ऐतिहासिक प्रभावबारे विश्वको ध्यान तानेको बताएको छ ।
गाभीकी प्रमुख सानिया निस्तारले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘पहिलो पटक हामी मानवीय र आर्थिक हिसाबले केही घातक सङ्क्रामक रोगको प्रकोपविरुद्ध खोपको प्रयोगबाट हुने फाइदाको विस्तृत मापन गर्न सक्षम भएका छौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यो अध्ययनले विश्वले प्रकोपबाट सामना गरिरहेको बढ्दो जोखिमको लागत प्रभावी प्रतिकारको रूपमा खोपको शक्ति स्पष्ट रूपमा देखाउँछ ।’
बेलायती मेडिकल जर्नल (बीएमजे) ग्लोबल हेल्थमा यसै साता प्रकाशित अध्ययनमा सन् २००० देखि २०२३ को बीचमा निम्न आय भएका ४९ देशमा हैजा, इबोला, दादुरा, मेनिन्जाइटिस र एलो फिभर जस्ता पाँच वटा सङ्क्रामक रोगका २१० वटा प्रकोपको परीक्षण गरिएको थियो ।
यी अवस्थामा खोपको प्रयोगले नाटकीय प्रभाव पारेको र उनीहरूले यी पाँच रोगहरूमा सङ्क्रमण र मृत्युको सङ्ख्या लगभग ६० प्रतिशत कम गरेको जनाइएको हो । केही रोगहरूको लागि खोपको प्रभाव धेरै नाटकीय थियो ।
खोपले एलोफिभरको प्रकोपको समयमा हुने मृत्युमा पूर्ण ९९ प्रतिशत र इबोलाका लागि ७६ प्रतिशतले कमी ल्याएको अध्धयनले देखाएको छ । यस्तै आपतकालीन खोपले प्रकोपको विस्तारको खतरालाई उल्लेखनीय रूपमा कम गरेको पाइएको पनि बताइएको छ ।
यसले २१० प्रकोपको समयमा गरिएको खोप प्रयासले अशक्तताका कारण हुने मृत्यु र जीवनबाट बच्न वर्षौंको लागत लगभग ३२ अर्ब अमेरिकी डलर लागेको अनुमान पनि गरेको छ ।
यद्यपि यो रकम समग्र बचतको महत्वपूर्ण अवमूल्यन हुनसक्छ, यसले प्रकोप प्रतिक्रिया लागत वा ठूला प्रकोपले सिर्जना गरेको व्यवधानको सामाजिक र समष्टिगत आर्थिक प्रभावलाई ध्यानमा राख्दैन ।
उदाहरणका लागि सन् २०१४ मा अनुमोदित खोपहरू अस्तित्वमा आउनुभन्दा पहिले पश्चिम अफ्रिकामा इबोलाको व्यापक प्रकोप र विश्वव्यापी रूपमा सङ्क्रमण देखापरेको थियो र यसका लागि पश्चिम अफ्रिकी देशहरूलाई मात्र ५३ अर्ब डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गत अप्रिलमा दादुरा, मेनिन्जाइटिस र एलोफिभर जस्ता खोपबाट बच्न सकिने रोगको प्रकोप विश्वव्यापी रूपमा बढिरहेको चेतावनी दिएपछि यो अध्ययन गरिएको हो ।
विश्वका आधाभन्दा बढी बालबालिकालाई सङ्क्रामक रोगविरुद्ध खोप लगाउन सहयोग गर्ने गाभीले विश्वव्यापी सहायता कटौतीको सामना गर्दै र गत महिना वासिङ्टनले समूहलाई सहयोग नगर्ने घोषणा गरेपछि नयाँ चरणको कोष सुरक्षित गर्ने प्रयास गरिरहेको छ । -रासस/एएफपी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड शुरु गरेका छन् । मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।
सेवा शुरु गर्दै मन्त्री पौडेलले अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।
‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ’, उनले भने ।
अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।
बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नुपरेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्याएको हो ।
यसअघि आठ शय्यामात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।
एक जना बालक सोफामा बसेको छ । उसको अगाडि केही किताबहरु छन् । तर उसको हातमा भने मोबाइल छ । उ ध्यानमग्न भएर एकोहोरो मोबाइल हेरिरहेको छ । मानौं उसले खजना प्राप्त गरेको होस् । एकैछिनमा किचनबाट उसकी आमाले उसलाई बोलाउँछिन् । तर बालकले सुन्दैन । फेरि बोलाउँछिन् । तर पनि सुन्दैन । पटकपटक बोलाउँदा पनि उसले सुन्दैन … यो कुनै कथा होइन आजको विश्वमा देखिएको यथार्थ हो । तपाईंको वा कोही छिमेकीको घरमा यस्तो त हुँदैन ? हुन्छ भने तपाईंको बच्चालाई भर्चुअल अटिज्म भएको हुनसक्छ । के हो त भर्चअल अटिज्म ? यो कसरी हुन्छ ? र यसका निवारण के–के हुन सक्छन् ?
बालबालिकामा हुनसक्ने भर्चुअल अटिज्म बुझ्नुभन्दा पहिलो पहिल्यैदेखि सुुन्दै आएको अटिज्मबारे सामान्य जानकारी लियौं । मस्तिष्क विकासको चरणमा केही खराबी आएर सामान्य जसरी हुने विकासहरु बालबालिकामा नहुने अवस्थालाई अटिज्म भनिन्छ । जसलाई क्लिनिकल भाषामा न्यूरोडेभलपमेन्टल डिसअर्डर भनिन्छ । जसमा बालबालिकामा हुनुपर्ने सामाजिक, भाषिक र व्यवहारिक विकास सामान्यरुपमा हुँदैन ।
जुन समयमा जति बोल्न सक्नुपर्ने हो त्यसमा कमी हुन्छ, आँखा जुधाएर बोल्न गाह्रो हुन्छ । बोलाउँदा नसुन्ने, एकोहोरो बन्ने, साथीहरु बनाउन गाह्रो हुने, कुराकानी नगर्ने, एउटै कुराहरु दोहोर्याउने, नयाँ कुरा सिक्न चुनौती हुने जस्ता लक्षणहरु देखापर्छन् । बाल मनोविदहरुका अनुसार यो रोग होइन ।
दिमागको विकासमा देखिएको कमीबाट सिर्जना हुने अवस्था हो । यसको पूर्णत निदान छैन । बेलैमा पहिचान हुँदा अटिज्म भएका बालबालिकाहरुलाई सामान्य जीवन बाँच्नका लागि विभिन्न लाइफ स्कीलहरु सिकाउन सकिन्छ । जसले उनीहरुको जीवनयापनलाई सहज बनाउँछ । डेढ वर्षदेखि ३ वर्षभित्रमा यसको पहिचान भइसक्छ र जीवनभरी रहन्छ । यो किन हुन्छ भन्ने स्पष्ट कारण पत्ता लागेको छैन । यद्यपि वंशाणुगत गुण, आमाको उमेर ३५ वर्षपछि बच्चा जन्मिँदा, २६ हप्ताभन्दा अगाडि नै जन्मिँदा, जन्मान्तर कम भएमा, संक्रामक रोग वा बच्चा आमाको गर्भमा रहँदा खानपान वा जीवनशैलीमा देखिएका समस्याले अटिज्म हुनसक्ने जोखिम निम्त्याउने अनुसन्धानमा देखिएका छन् ।
कतै आफ्ना बालबालिकामा यस्ता लक्षण त देखिएको छैन ? यदि छ भने बाल मनोविदसमक्ष लैजानुस् । यहाँ अटिज्मबारे किन चर्चा गरियो भने भर्चुुअल अटिज्ममा पनि माथि उल्लेखित अटिज्मकै जस्तो लक्षण देखिन्छ । यी दुईबीच मुख्य फरक भनेको कसरी हुन्छ भन्ने हो । न्यूरोडेभलपमेन्टल अटिज्म जन्मिँदै विकासको चरणमा आएको समस्याले हुन्छ भने भर्चुअल अटिज्म धेरै समयसम्म स्क्रीनमा समय बिताउनाले हुन गर्छ ।
यसरी हेर्दा बालबालिकाले जति धेरै मोबाइल, ल्यापटप, ट्याबलेट जस्ता डिभाइस चलायो उति नै भर्चुअल अटिज्मको जोखिम रहन्छ । यसको अर्थ भर्चुअल अटिज्मको कारण स्पष्ट छ । सोच्नुस् त तपाईंका बालबालिकाले कति समयसम्म मोबाइल चलाउँछन् ?
भर्चुअल अटिज्मबारे विश्वमा पहिलोपटक सन् २०१८ मा अध्ययन भएको थियो । रोमानियाका साइकोलोजिस्ट जाम्फिर मेरियस थियोडरले ३–४ वर्षका बालबालिकामा अत्यधिक मोबाइल, टीभी, टबलेटजस्ता डिभाइसको प्रयोगले देखिने अटिज्मको लक्षणलाई पहिलोपटक ‘भर्चुअल अटिज्म’ भनेर नाम दिए ।
उनका अनुसार क्लासिकल अटिज्म भएको खण्डमा २/३ वर्षमै डाइग्नोज्ड भए दिनको ६ देखि ८ घण्टाको थेरापी सेसन गर्दा २–४ वर्षसम्ममा आफ्नो जीवनलाई सहज बनाउने सम्म हुन सक्छन् । यसको अर्थ केही सुधार हुन सक्छ ।
तर स्क्रीन टाइममा धेरै बसेर अटिज्मको लक्षण देखिएको अवस्थामा थेरापी गरेमा ६ देखि १८ महिना भित्रमा पूर्णरुपमा निको हुन्छ । यसबाट के बुझियो त ? भर्चुअल अटिज्म बालबालिकाहरु तुलनात्मकरुपमा सजिलै सामान्य अवस्थामा फर्किन सक्छन् ।
वास्तवमा प्राकृतिक अटिज्म भनेको खानापान, जीवनशैली, गर्भवती हुँदा आएका समस्या, चोटपटक जस्ता कारणले मस्तिष्क विकासमा आएको खराबीले विकसित हुने अवस्था हो । जहाँ मस्तिष्कको विकासमा नै डिफेक्ट हुन्छ ।
तर भर्चुअल अटिज्ममा भने मस्तिष्कमा कुनै समस्या हुँदैन तर यसको विकासमा बाधा पुग्छ र अटिज्मको लक्षण देखा पर्छन् । यसर्थ यदि २ देखि ३ वर्षकै अन्तरालमा थाहा पाइएको खण्डमा २–३ वर्षको थेरापी र विभिन्न बिह्याभिअर मोडिफिकेसनको पद्धतिले भर्चुअल अटिज्म सजिलै ठीक बनाउन सकिन्छ । यद्यपि बेवास्ता गरेको खण्डमा वा स्क्रीन टाइम झन बढी भएको अवस्थामा यसले विकराल अवस्था सिर्जना गर्न सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ ।
उसो त मोबाइल धेरै चलाउँदा बालबालिकासहित वयस्कमा हुने नोमोफोबिया र यी सबै निम्त्याउन भूमिका खेल्ने स्मार्टफोन एडिक्सनबारे यी भिडिओमा हेर्नुहोला ।
भर्चुअल अटिज्म निम्त्याउने कारणहरु
हामीले यति बुझिपछि यो त स्पष्टै भयो कि मोबाइलमा अत्यधिक समय बिताउने बालबालिकामा यस किसिमका अवस्था आउन सक्छ । जापानमा सन् २०२२ मा भएको एक अध्ययनका अनुसार १ वर्षदेखि अत्यधिक समय स्क्रीनमा रहने बालबालिकाहरुमा ३ वर्षको पुग्दा अटिज्मका लक्षणहरु देखिएको उल्लेख छ ।
सन् २०२० को अर्को अध्ययनमा सहभागी ३ देखि ५ वर्षका बालबालिकामा अत्यधिक सोसल मिडिया प्रयोगले मस्तिष्कको ह्वाइट म्याटरमा प्रभाव पारेको देखियो भने २०२२ को अनुसन्धानले ग्रे म्याटरमा पनि नकारात्मक असर देखायो ।
न्यूरोनको सेल बडी र डेन्ड्राइटबाट बनेको ह्वाइट म्याटर अर्थात सेतो पदार्थ इन्फर्ममेशन प्रोसेसिङ, सेन्सेसन, पर्सेप्सन, भोलन्टरी मुभमेन्ट, सिकाइ, बोलीलगायतका कग्निटिभ फंक्सनमा भूमिका खेल्ने भाग हो ।
त्यस्तै, मस्तिष्कको ग्रे अर्थात खैरो पदार्थले भने कम्युनिकेशन नेटवर्कको रुपमा काम गर्छ । जसले नर्भस सिस्टमको अन्य भागमा सन्देश प्रवाह गर्छ । उसो त मोइबाल चलाएकै कारणले अटिज्म हुन्छ भन्ने छैन तर त्यस्ता लक्षणहरु देखिन्छन् जसले बालबालिकाको मस्तिष्कले गर्न सक्ने कामहरुमा कमी आएपछि अटिज्मको अवस्था देखा पर्छ ।
कुन देशमा भर्चुअल अटिज्मको अवस्था कस्तो छ ?
विश्वभर विभिन्न देशमा भएका अध्ययनहरुका अनुसार १० देखि ३० प्रतिशत मोबाइल बढी चलाउने ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा क्लासिकल अटिज्मको जस्तै लक्षण देखिने गरेको छ । कतै तपाईंका बालबालिका यो सूचीमा त पर्दैनन् ? कतिपय अध्ययनमा दिनको ४ घण्टाभन्दा बढी स्क्रीन टाइममा रहने ५० प्रतिशत बालबालिकाहरुमा यस्तो अवस्था आउने गरेको छ । सन् २०२३ मा भएको अध्ययनका अनुसार दिनमा ५ घण्टाभन्दा बढी स्क्रीन टाइम हुनु भनेको मानसिक समस्याको संकेत हुन सक्छ । यसकै प्रभावस्वरुप भर्चुअल अटिज्म पर्न सक्छ ।
सम्बन्धित देशमा भएका अनुसन्धानलाई हेर्दा भियतनाममा यस्तो अवस्था ३५ प्रतिशत बालबालिकाले भोग्ने गरेका छन् । इन्डियामा २०२३ मा भएको एक अध्ययनका अनुसार ३० प्रतिशत मोबाइल धेरै युज गर्ने बालबालिकामा भर्चअल अटिज्मको सिम्पटम देखिने गरेको छ ।
त्यस्तै, २०१७ देखि २०२२ सम्म फ्रान्समा भएको अध्ययनमा २५ देखि ३० प्रतिशत बालबालिकामा उक्त समस्या देखिएको छ । त्यसैगरी, रोमानियामा २८ प्रतिशत यसबाट प्रभावित भएका छन् भने चीनमा स्क्रीनमा समय बिताउनेमध्ये १८ प्रतिशत बालबालिकामा भर्चुअल अटिज्मको समस्या देखिएको विभिन्न तथ्यांकहरुले उल्लेख गरेका छन् ।
कसलाई बढी जोखिम छ त ?
उसो त बालबालिकाहरु सबै नै धेरै स्क्रीन टाइममा हुँदा यसको जोखिम हुने गरेकोबारे त कुरा गरियो । यद्यपि सन् २०२२ मा जापानमा ८४ हजार जना बालबालिकामा भएको अध्ययनमा बालिकाभन्दा बालकहरु ३ गुणा बढी भर्चुअल अटिज्मको जोखिममा हुन्छन् ।
त्यस्तै, आमाले अत्यधिक स्क्रीनको प्रयोग गर्दा पनि बालबालिकामा असर पर्ने गरेको अध्ययनले देखाएका छन् । जसले बालबालिकासँगको इन्टरेक्सन कम गराएर अन्ततः भाषाको विकासमा प्रभाव पार्ने देखिएको हो ।
अब के गर्ने त ?
हामीले मोबाइल, सोसल मिडिया प्रयोग नगर्नेबारेको विषय होइन । बरु यसको कसरी स्वस्थ प्रयोग गर्ने भन्ने विषय मुख्य हो । तसर्थ आफ्ना बालबालिकालाई मोबाइल दिँदै नदिने भन्दा पनि व्यवस्थित तवरले प्रयोग गर्न सघाउने मूल पक्ष हो ।
तर यदि आफ्ना बालबालिकाहरु यसअघि नै भर्चुअल अटिज्मको शिकार भएका छन् भने विभिन्न किमिसका थेरापीहरु गराउने । जस्तै, बोली र भाषाको विकासका लागि स्पीच थेरापी, आफ्ना दैनिक कामहरु गर्न सिकाउन अकुपेसनल थेरापी, बानीमा परिवर्तन ल्याउन एप्लाइड बिह्याभिएर थेरापी र कग्निटिभ बिह्याभिअर थेरापी गराउने ।
हुनै नदिन के गर्ने त ?
विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार मोबाइलको प्रयोग गर्ने जसमा दुई वर्षभन्दा कम उमेरकालाई भिडियो कलबाहेक मोबाइलको प्रयोग गर्न नदिइ वैकल्पिक शारीरिक गतिविधिहरुमा सामेल गराउने । अर्को २ वर्षभन्दा माथिका बालबालिकालाई अभिभावकको निगरानीमा बढीमा २ घण्टासम्म शैक्षिक वा सिर्जनशील कन्टेन्टहरु हेर्न दिने ।
अभिभावक वा बुबा आमाले पनि बालबालिकाको अगाडि अत्यधिक स्क्रीनमा नबस्ने । परिवारले फेमिली डिजिटल प्लान बनाउने जसमा कुन बेला कति समय स्क्रीन चलाउने भन्ने तय गर्ने, डिभाइस फ्री जोनको अवधारणा लागू गरी खाँदा, सुत्दा मोबाइल प्रयोग नगर्ने जस्ता विधिहरु पर्छन् ।
बालबालिकालाई शारीरिक व्यायाम, र्सिजनशील गतिविधि जस्तै, गाउने, नाच्ने, हिँड्ने कुद्ने, खेल्ने कार्यमा सक्रिय रुपमा सामेल गराउने वा आफैं संलग्न हुने । यी र यस्ता तरिकाहरु अपनायौं भने पक्कै पनि स्क्रीनका कारण हुने भर्चुअल अटिज्म हुनै पाउँदैन । यसबारे ख्याल राख्नुहोला ।
स्पानइल कर्डको इन्जुरीलाई निको बनाउन सक्ने एउटा नयाँ ऐतिहासिक अध्ययन सार्वजनिक भएको छ । मानिसको ढाडमा मस्तिष्कदेखि कम्मरसम्म एउटा नसा हुन्छ जसलाई स्पानइल कर्ड भनिन्छ जसमा विभिन्न कारण जस्तैः एक्सिडेन्ट, वा अन्य कारणले उक्त नसामा आएको समस्यालाई स्पानइल इन्जुरी भनिन्छ ।
जसमा चोट भएको ठाउँभन्दा तलपट्टिको भाग नचल्ने गरी प्यारालाइसिसलगायतका लक्षण हुन्छन् । निको नहुने कडा रोगको रुपमा रहेको स्पानइल कर्ड इन्जुरीबारे नयाँ अनुसन्धानको नतिजा रोचक छ ।
न्यूजील्याण्डको अकल्याण्ड युनिभर्सिटी र स्वीडेनको कालमर्स युनिभर्सिटीले गरेको अध्ययनमा मुसामा गरिएको प्रयोगले स्पानइल कर्डको इन्जुरीमा सकारात्मक काम गरेको पत्ता लागेको थियो । नेचर कम्युनिकेशनमा प्रकाशित उक्त अध्ययन एक ऐतिहासिक उपलब्धि भएको बताइएको छ । उक्त अनुसन्धानमा त्यस्तै प्यारालाइसिस भएको मुसामा स्क्रीनमा देखाएको जस्तै अल्ट्रा थिन इलेक्ट्रिक डिभाइस अनुसन्धानकर्ताहरुले विकसित गरे र मुसामा प्रयोग गरे ।
भिडियाे
जसले मुसाको प्यारालाइसिस भएको भाग चलाउन भूमिका खेलेको अनुसन्धान पत्रमा उल्लेख छ । उक्त अत्यन्तै सानो इलेक्ट्रिक चिप्सलाई मुसाको शरीरमा राखिएको थियो । जसले मुसामा नेचुरल इलेक्ट्रिकल सिग्नलको नक्कल गराउन मद्दत गर्यो । जसको अर्थ सामान्य तवरले काम गराउन मद्दत गर्याे ।
फलस्वरुप मुसामा केही हप्ताको उपचारपछि स्पाइनल कर्डमा थप कुनै ड्यामेजबिना गति र चाल उत्पन्न भएको थियो । अब अनुसन्धानको अर्को पाटोमा भने उपचारको प्रणाली, जस्तै स्ट्रेन्थ, फ्रिक्वेन्सी र समयबारे ध्यान दिइने अनुसन्धानमा संलग्न प्रोफेसर डा. ड्यारेन स्भर्किस र डा. ब्रुस हल्र्याण्डले बताए ।
अनुसन्धानअनुसार उक्त इलेक्ट्रिक डिभाइस भविष्यमा स्पानइल इन्जुरी भएका मानिसहरुमा समेत प्रयोग गर्न सकिनेतर्फ अध्ययन भइरहेको उल्लेख छ । त्यसो भएको खण्डमा उपचार नहुने समस्याको रुपमा रहेको स्पाइनल कर्ड इन्जुरीका समस्या भोग्ने मानिसहरुका यो रुपान्तरणकारी प्रविधि वरदान सावित हुने छ ।
काठमाडौं । नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् ।
सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो । सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद्धता जनाएका छन् ।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेको जनाएको छ । सङ्घकाअनुसार हालसम्म सरकारबाट कुनै सार्थक पहल नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घले विरोध जनाउँदै आएको हो । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।
चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा स्वास्थ्य तथा चिकित्सकीय सेवालाई अन्य सेवासँग एउटै परिप्रेक्ष्यमा राखिएको छ । चिकित्सा अभ्यासलाई नियमन गर्ने सम्पूर्ण अधिकार नेपाल मेडिकल काउन्सिलसँग रहेको र त्यहीँबाट नियमनको प्रक्रिया चल्नुपर्ने हो ।’
सङ्घका अनुसार उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकीय सेवामा क्षतिपूर्ति भराउने हो भने चिकित्सकले आफ्नो अभ्यासका क्रममा स्वयंलाई सुरक्षित राख्ने प्रयोजनले अनावश्यक जाँचहरु गर्नुपर्ने, उपचार प्रक्रियामा मनावैज्ञानिक ह्रास आउने एवं उपचार प्रक्रियामा उत्पन्न भएका कारण ‘रिफरल’का ‘केस’ बढ्न सक्ने र अन्ततः बिरामीको उपचार शुल्क कैयौं गुणाले बढ्न सक्नेछ ।
यसैगरी, सङ्घले आज काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई माइतीघर मण्डलामा र उपत्यकाबाहिरका सहभागीहरूलाई सम्बन्धित प्रदर्शनस्थलमा धर्नामा सहभागी हुन आग्रह गरेको छ ।
मोबाइल चलाउँदा थाकेको, धेरै समय स्मार्टफोन, सामाजिक सञ्जालमा बिताउँदा महत्वपूर्ण कामै छुटेको र त्यसपछि पश्चाप भएको अनुभव हुन्छ ? लौ किन यत्रो समयसम्म चलाएछु जस्तो लाग्छ ? यदि त्यस्तो हुन्छ भने तपाईं मात्रै एक्लै हुनुहुन्न ।
अत्यधिक मोबाइल प्रयोगले मानिसहरुमा हुने स्मार्टफोन एडिक्सन, यसका कारण, विश्वमा कुन–कुन देशका नागरिकहरु यसको धेरै शिकार छन् लगायत सम्पूर्ण जानकारीहरु यसमा समावेश छ । त्यतिमात्र होइन यसबाट बच्नेबारे डिजिटल डिटक्सबारे पनि तपाईंलाई विस्तृतमा जानकारी मिल्नेछ ।
आज मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल मानिसको दैनिकीको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । हामी सबैको व्यक्तिगत वा पेशागत कामको शिलशिलामा यसको प्रयोग अपरिहार्य भएको छ । साथसाथै यसको अत्यधिक प्रयोगले लत बनाउँछ अनि लत लामो समयसम्म रहँदा जीवनका सबै पक्षमा नकारात्मक असर गर्छ ।
विश्वमा ८ अर्ब मानिसहरुमध्ये विभिन्न स्रोतलाई हेर्दा औसतमा कम्तिमा पनि साढे ६ अर्बभन्दा बढी मानिसहरुले मोबाइल चलाउँछन् । उसो त जनसंख्याभन्दा धेरै मोबाइल मानिसहरुसँग रहेको पनि विभिन्न डेटाले देखाएका छन् । त्यस्तै, प्राअरी डेटाका अनुसार ४ अर्ब ८८ करोड मानिसहरुले स्मार्टफोन प्रयोग गर्छन् ।
जुन विश्वकौ कूल जनसंख्याको ६० प्रतिशत हो । मोबाइल चलाउने उनीहरुमध्ये ३ अर्ब मानिसहरुलाई केही न केही प्रब्लमेटिक संकेतहरु देखा पर्छन् । नेपालको तथ्यांक हेर्दा करिब १ करोड ६५ लाख मानिसहरु मोबाइल र इन्टरनेट प्रयोग गर्छन् । जसमध्ये १ करोड ४० लाख मानिसहरु सामाजिक सञ्जालमा सक्रिय छन् ।
भिडियो
विश्वव्यापी चासोको विषय बनेको छ स्मार्टफोन एडिक्सन । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वका ५४ देशहरुमा स्मार्टफोन एडिक्सनलाई जनस्वास्थ्य समस्याको रुपमा पहिचान गरेको छ । त्यस्तै, दक्षिण कोरियमा २९ प्रतिशत विद्यार्थीहरु फोनमा डिपेन्डेन्ट बनेको देखिएको छ ।
डिमाण्ड सेजका अनुसार २०२५ मा आइपुग्दा मोबाइल प्रयोग लतको महामारीको रुपमा फैलिएको छ । मोबाइलको लत नै लागेको अवस्था अर्थात मौबाइल चलाउनै पर्ने वा चलाउन नपाउँदा गाह्रो महसुस हुने अवस्था हो ।
डिमाण्ड सेजको तथ्यांकलाई हेर्दा माथि उल्लेखित मानिसहरुमध्ये एक अर्ब ५८ करोड मानिसहरु मोबाइलको लतमा परेका छन् । स्लिक टेक्स्टका अनुसार अमेरिकामा करिब ५७ प्रतिशत वयस्कहरुले आफूलाई मोबाइल लत भएको बताएका छन् । जहाँ जेनजी पुस्ता ६९ प्रतिशत र मिलनियल्स पुस्तामध्ये ४८ प्रतिशतमा मोबाइल लत देखिएको उल्लेख छ ।
विश्वव्यापी रुपमा मोबाइल लत हुने क्लिनिकल मापदण्ड विश्वका २१ प्रतिशत मोबाइल प्रयोगकर्तामा देखिन्छ । यसको अर्थ २१ प्रतिशत मोबाइल युजरमा यसको लत बसिसेको छ जुन मेडिकली डाइग्नोज्ड हुन्छ । जसमा भारतका ३२ प्रतिशत प्रयोगकर्तामा एडिक्सन छ जुन स्मार्टफोन एडिक्सन धेरै हुने मध्येको देश हो । त्यस्तै, दोस्रोमा ब्राजिल जहाँ २८ प्रतिशतमा र तेस्रोमा अमेरिका जहाँ २५ प्रतिशतमा मोबाइल एडिक्सन छ ।
अब अघिको प्रश्नमा आऊँ कि तपाईं दिनमा कतिपटक मोबाइल चेक गर्नुहुन्छ ? डिमाण्ड सेजको २०२५ को डेटालाई आधार मान्ने हो भने अमेरिकनहरुले दिनमा सरदर कम्तिमा पनि ३५२ पटक मोबाइल चेक गर्छन् । यसको अर्थ सुतेको समयलाई नजोड्ने हो भने करिब २ मिनेटमा एकपटक मोबाइल चेक गर्दारहेछन् । अब भन्नुस् तपाईं कतिपटक चेक गर्नुहुन्छ ?
त्यस्तै, स्क्रीन टाइमको कुरा गर्दा स्लिक टैक्स्टका अनुसार २०२५ मा मानिसहरुले दिनको औसत ५ घण्टा १६ मिनेट समय मोबाइलको स्क्रीनमा बिताउँछन् । जुन २०२४ को तुलनामा १४ प्रतिशत बढी हो । त्यस्तै, ७१ प्रतिशत प्रयोगकर्ताले आफ्नो मोबाइल सिरानी वा नजिकै राखेर सुत्छन् भने ६९ प्रतिशतले उठ्नेबित्तिकै मोबाइल चलाउँछन् ।
जेनजी पुस्ताले स्क्रीनमा बिताउने समय भने अझै बढी छ । जेनजी पुस्ताले दिनको सरदर ६ घण्टा ३७ मिनेट समय फोनको स्क्रीनमा बिताउने गरेको डिमाण्ड सेजले जनाएको छ ।
स्मार्टफोन एडिक्सनले कसलाई के के प्रभाव पार्छ त ?
सन् २०१८ मा भएको एउटा अध्ययनले ३० मिनेट मोबाइल चलाउँदा नकारात्मक नभएर सकारात्मक प्रभाव पार्ने बताएको थियो भने सन् २०२३ मा भएको अर्को अध्ययनले दिनको ५ घण्टाभन्दा बढी उद्देश्यविहीन स्क्रोलिङले कुनै न कुनै मानसिक समस्याको संकेत गर्ने बताएको थियो । यसरी हेर्दा ५ घण्टाभन्दा बढीको अर्थहीन स्क्रीन टाइमले निकै असर गरिरहेको भनेर बुझ्न सकिन्छ ।
कतै तपाईं ५ घण्टाभन्दा बढी अनावश्यक स्क्रोलिङ त गर्नुहुन्न ? स्मार्टफोनको लतलाई २१ औं शाताब्दीको नन ड्रग एडिक्सनको रुपमा लिइएको छ । यसको खराब लतले मानिसमा चिन्ता, डिप्रेशन र अन्य मानिसक समस्या निम्त्याउन भूमिका खेल्छ । त्यतिमात्र होइन, बालबालिकामा डिजीटल एटिज्मको जोखिमसमेत हुनसक्छ । डिजीटल एटिज्मबारे विस्तृत जानकारी आगामी भिडियोमा चर्चा गर्नेछौं ।
सन् २०२२ र २०२३ मा जोर्डनमा गरिएको एक अध्ययनका अनुसार ८८.७ प्रतिशत विद्यार्थीहरुमा मोबाइलको लतले मानसिक अस्वस्थता आएको पाइएको थियो । त्यस्तै, ५६.७ प्रतिशतमा एडिक्सनका लक्षणहरु देखिएको थियो । डिमाण्ड सेजका अनुसार अमेरिकामा ३० मिनेटसम्म आफ्नो फोन साथमा नहुँदा ७१ प्रतिशत किशोरकिशोरीले अशान्ति महसुस गर्छन् । फाइनान्स अनलाइन र एडिक्सन हैल्पको तथ्यांक हेर्ने हो भने ७० देखि ९९ प्रतिशत मोबाइल प्रयोगकर्तालाई नोमोफोयिबा अर्थात मोबाइल नहुँदा लाग्ने डरको शिकार बन्छन् । यो निकै डरलाग्दो परिस्थिति हो ।
अत्यधिक फोन चलाउँदा कम्तिमा ६२ करोडभन्दा बढी मानिसलाई निद्रासम्बन्धी समस्याले सताउने गरेको पाइएको छ । स्मार्टफोनबाट निस्कने ब्लूलाइटले २३ देखि ३४ मिनेटसम्म निद्रा ढिलो हुने डिमाण्ड सेजले उल्लेख गरेको छ । अमेरिकन साइकोलोजिकल असोसिएसन एपीएले २० देखि ४५ वर्षका मानिसहरुमा र्भखरै गरेको अध्ययनअनुसार धेरै स्क्रीनमा टाइम दिँदा निद्रामा डिस्टर्ब भएको पाइएको थियो ।
त्यस्तै, ७२ प्रतिशत प्रयोगकर्तामा टाउको र गर्धन दुख्ने समस्या भएको पाइयो । जसलाई टेक नेक भनिन्छ र ५७ प्रतिशतमा आँखाको समस्या देखा परेका एडिक्सन हेल्पले जनाएको छ ।
किशोरकिशोरीमा प्रभाव
८५ प्रतिशत किशोरकिशोरीहरु एकपटक मोबाइल चलाउन थालेपछि छोडन् गाह्रो हुने बताउँछन् भने ६७ प्रतिशतले निद्रा गुमाउँछन् र ४७ प्रतिशतले अभिभावकहरुले आफ्ना सन्तान मोबाइलको लतमा परेको विश्वास गर्छन् भनेर स्लिक टेक्स्टले उल्लेख गरेको छ ।
विद्यार्थीहरुमा
कक्षामा विद्यार्थीहरुले मोबाइल लैजाँदा ६७ प्रतिशत शिक्षकहरुले ध्यान विचलित गर्ने बताउँछन् भने ३३ प्रतिशत टिनेजरहरु अनलाइनमा बढी सामाजिक हुन्छन् ।
२०२५ कै तथ्यांकलाई मान्ने हो भने विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थीहरुले आफू मोबाइल लतमा परेको अनुभव गरेको बताउँछन् । उनीहरुले कक्षामा पटकपटक मोबाइल चलाउने जसले अध्ययनलाई डिस्टर्ब गर्ने गरेको पाइएको छ ।
मलेसियामा भएको एउटा अध्ययनका अनुसार त्यहाँ ७०.४ प्रतिशत विद्यार्थीले फोन समयभन्दा धेरे चलाएको बताए भने ७४.३ प्रतिशतले आफू मोबाइलमै डिपेन्ड गरेको अनुभूति गरेको बताए । जोर्डन र मलेसियाको अध्ययनबाट महिला पुरुषबीच मोबाइल लतको खासै फरक देखिएन । यद्यपि यसमा महिलाहरु बढी सचेत र सजग पाइयो । तर अमेरिकामा २६ प्रतिशत महिला प्रयोगकर्ताहरु प्रभावित हुँदा २१ प्रतिशत पुरुषमा लत देखियो । तर गेमिङको कुरामा भने पुरुषहरु बढी प्रभावित भएका देखिएका छन् ।
अब कुरा गरौं कुन देशका नागरिक मोबाइल एडिक्सनबाट बढी प्रभावित छन् ?
डिमाण्ड सेज र एसक्यू म्यागाजिनका अनुसार २०२५ मा सबैभन्दा धेरै स्मार्टफोन एडिक्सन हुने देश चीन हो जहाँ कम्तिमा ३६ प्रतिशत मोबाइल प्रयोगकर्ताहरु एडिक्सनमा छन् ।
दोस्रोमा ३५.७३ प्रतिशतसहित साउदी अरेबिया छ भने ३५.४२ प्रतिशतसहित मलेसिया तेस्रो स्थानमा हुँदा स्मार्टफोन डिपेन्डेन्सीमा ३२ प्रतिशतसहित ब्राजिल चौथो स्थानमा छ । त्यस्तै, पाँचौंमा दक्षिण कोरिया छ जहाँ ३१.६२ प्रतिशत प्रयोगकर्ता एडिक्सनसँग जुधिरहेका छन् भने ३१.५२ प्रतिशतसहित इरान छैठौंमा पर्छ भनै ३१.११ सहित क्यानडा सातौंमा छ ।
आठौंमा टर्कीए, नवौंमा इजिप्ट छ भने १० औं नम्बरमा नेपाल पर्छ जहाँ २९.४१ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताहरु यसको लतमा फसेका छन् । रोचक कुरा के छ यस सूचीमा युरोपका कुनैपनि विकसित देश परेका छैनन् भने अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देश पनि प्रब्लमेटिक मोबाइल युजको सूचीमा छैनन् । वर्ल्डमिटरका अनुसार नेपाल जनसंख्याको आधारमा ५२ औं मुलुक हो भने प्रब्लमेटिक मोबाइल युजरको आधारमा १० औं नम्बरमा परेको छ । यो सोचनीय विषय हो ।
यसबाट बच्न र आफूलाई व्यवस्थित गर्न अब के गर्ने ?
डिजीटल वेलबिङका तरिकाहरु अपनाउने
विश्व स्वास्थ्य संगठनको गाइडलाइनलाई फलो गर्ने जहाँ कुन उमैर समूहका लागि कति घण्टासम्म मोबाइल चलाउन मिल्छ भनेर उल्लेख छ । पहिलो हो दुई वर्षभन्दा कम उमैरका बालबालिकालाई भिडियो कलबाहेक मोबाइल नदिने, त्यसभन्दा माथिकालाई अभिभावकको निगरानीमा दुई घण्टा चलाउन दिन सकिन्छ । भनै वयस्कको हकमा २ घण्टाको स्मार्टफोन प्रयोग सामान्य हो भने ५ घण्टाभन्दा बढी चलाउनु मानसिक स्वास्थ्य तीव्ररुपमा जोखिम हुने अवस्था हो । अन्य उपायहरुमा एप टाइमर लगाउन सकिन्छ ।
आँखामा प्रभाव कम परोस् भन्नका लागि आइ कम्फर्ट वा कम वा ठिक्ककौ स्क्रीन ब्राइटनेस बनाउनु उत्तम हुन्छ ।
डिभाइस फ्री जोन बनाउने, जस्तै, सुत्न जाँदा, खाना खाँदा, वा कोही मान्छेसँग हुँदा सकेसम्म डिभाइस नचलाउने भनेर आफैंलाई अनुशासनमा राख्न सकिन्छ । अभिभावकले आफूले उदाहरण प्रस्तुत गरेर आफ्ना बालबालिकालाई डिभाइसको लतबाट टाढा राख्न मद्दत गर्ने ।
विज्ञानका आधुनिक प्रविधिहरु मानवको उन्नति प्रगति र सुस्वास्थ्यको लागि हुनुपर्छ । त्यसैले स्मार्टफोनको प्रयोगलाई हाम्रो खुशी र स्वास्थ्य बढाउने उपायको रुपमा प्रयोग गर्न जरुरी छ न कि घटाउने साधन ।
काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् ।
आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् ।
चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
चिकित्सकको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द भएको वीर अस्पतालका उपसचिव सिताराम खड्काले जानकारी दिए ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मङ्गलवार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा नै बुझाउने संघले जनाएको छ ।
आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगाएत समेत ऐक्यबद्धता जनाएका छन् ।
रुपन्देही । देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाईमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आन्दोलन कार्यक्रम अन्तरगत कालोपट्टि बाँधेर धर्ना तथा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय नगरे थप चरणबन्द आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष डा. कृष्ण खरेलले ऐन चिकित्सकको मनोबल तोड्ने खालको भएको भन्दै यसको विरोधमा उत्रिनुपरेको बताउँदै चिकित्सकलाई दण्ड दिलाएर काम गर्न बाध्य पार्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकालले चिकित्सकहरूलाई मानसिक तनावमा पार्ने गरी कार्यस्थलमा असहज वातावरण सिर्जना गरिएको आरोप लगाएका थिए ।
मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोबिन्द खनालले यो ऐन नागरिक र स्वस्थ्यमैत्री नभएको दाबी गर्दै नेपालमा अहिले बाहिर गएर सेवा लिने अवस्था सृजना भएको भनाई राखेका थिए । उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले कानुनी त्रुटिले स्वास्थ्य सेवा क्षेत्र जोखिममा परेको उल्लेख गरेका थिए ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्ग बस्नेतले चिकित्सक र औषधी ब्यवसायी संघवीच नङमासुको सम्बन्ध रहने भन्दै चिकित्सकलाई पर्दा आफूुहरु सधै साथमा रहेको प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, निजी अस्पताल समिति (अफिम) का अध्यक्ष रामप्रसाद खरेल, संघका उपाध्यक्ष डा.वर्षा थापा, संघका सचिव डा.प्रकाश बस्नेतलगायतले ऐक्यवद्धता जनाएका थिए ।
के मोबाइलबिनाको जिन्दगी कल्पना गर्न सक्नुहुन्छ ? यदि लामो समयसम्म मोबाइल चलाउन पाउनु भएन भने के हुन्छ ? केही गाह्रो अनुभव त हुँदैन ? यदि हुन्छ भने तपाईंलाई मोबाइल नहुँदा डर लाग्ने समस्या भएको हुन सक्छ । जसलाई नामोफोबिया भनिन्छ ।
के हो त नोमाफोबिया, यसका कारणहरु के के हुन् ? कसरी यसबाट बच्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।
आजको आधुनिक संसारमा हाम्रो जीवनका सबै अवस्थाहरु मोबाइल फोनबाट प्रभावित बनेका छन् । चाहे त्यो आफ्नाहरुसँग जोडिने माध्यम होस्, प्रोफेसेनल गतिविधि वा बैंकिङ कारोबार नै किन नहोस् । फलस्वरुप जसले धेरै क्षेत्रहरुमा असर गर्छ । स्मार्टफोन, आइफोन जस्ता इलेक्ट्रोनिक डिभाइसहरुले मानिसको विभिन्न मनोवैज्ञानिक स्वास्थ्य र खुशी हुने प्राकृतिक प्रणालीलाई चुनौती खडा गरेका छन् । पछिल्लो विश्वमा विकसित भएको एउटा अवस्था हो ‘नोमोफोबिया’ अर्थात नो मोबाइल फोन फोबिया । जसको अर्थ हुन्छ मोबाइल नहुँदा लाग्ने डर ।
व्यक्तिले आफूले मोबाइल चलाउन नपाउँदा एक किसिमको गहिरो डर महसुस गर्ने परिस्थितिलाई नोमोफोबिया भनिन्छ ।
यो एउटा अवस्था हो जहाँ मानिसले मोबाइल फोनको दुनियाँ र विशेषगरी इन्टरनेटबाट टाढा रहँदा तीव्र डर महसुस गर्छ । डिजिटल निर्भरता र प्राकृतिसँगको दूरीका कारण मानिसहरु नोमोफोबियाको शिकार बनिरहेको अनुसन्धानमा देखिएको छ । दैनिक जीवनका हरेक कर्ममा मोबाइल अनिवार्य जस्तै बनेकाले पनि यस्तो अवस्थाको सिर्जना भएको विज्ञहरुको तर्क छ ।
जस्तै, आज बैंकिङ कारोबारदेखि डकुमेन्टेसन, अलनाइल एजुकेशन जस्ता महत्वपूर्ण पक्षहरु पनि मोबाइलमै सहज भएपछि मानिसहरु स्मार्टफोनमा अभ्यस्त बने जसले गर्दा प्राकृतिक परम्परागत शैलीहरु कम हुन गयो । जसले गर्दा नोमोफोबिया हुने चान्स बढाउँछ । त्यस्तै, मानिसहरुले आफ्नो पीडालाई भुलाउन पनि घण्टौंसम्म मोबाइलमा झुम्मिेन प्रवृत्तिले पनि नकारात्मक परिणाम निम्त्याउने गरेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । अझ चिन्ताजनक पक्ष त के भने यसले बालबालिकाहरु झनै धेरै शिकार भएका छन् ।
भिडियो
कसरी सुरु भयो नोमोफोबिया ?
सर्वप्रथम यो ‘नोमोफोबिया’ भन्ने शब्द सन् २००८ मा युकेको पोस्ट अफिसले मोबाइल धेरै चलाउँदा हुन सक्ने एन्जाइटी डिसअर्डरको मूल्यांकनका लागि गरेको अध्ययनमा प्रयोग गरिएको थियो ।
अब जानौं नोमाफोबियाका लक्षणहरु
नामोफोबिया व्यवहारगत अवस्था हो जहाँ मानिसहरुले अत्यधिक डर, चिन्ता, त्रास महसुस गर्छन्, त्यस्तै, निद्रामा गडबडी हुने, धेरै रिसाउने, मानसिक चिन्ता हुने, असहज लाग्ने तथा आफ्नो व्यक्तिगत र पेशागत जीवनमा नकारात्मक असर पर्छ । यी लक्षणहरु एन्जाइटीसँग मिल्ने खालका छन् । जसले गर्दा नोमोफोबिया यसरी नै मानिसहरुमा देखिँदै गएमा यसलाई एन्जाइटीकै नयाँ प्रकारको रुपमा विभाजन गरिने अवस्था आउन सक्छ भने यदि यसलाई व्यवस्थापन गरिएन भने अन्य खालका एन्जाइटी डिसअर्डरहरु जोडिन सक्छन् ।
नोमोफोबिया अहिलेको डिजिटल युगमा एउटा तीव्ररुपमा उजागार भइरहेको चासोका विषय हो । यसमा मानिसलाई एन्जाइटीमै हुने लक्षणहरु देखा पर्छन् । त्यसैले कतिपय विज्ञलाई यसलाई मानसिक समस्याको नयाँ प्रकार हो भनेर दाबी गरेका छन् । यद्यपि हालसम्म विश्व स्वास्थ्य संगठन र अमेरिकी साइकोलिजकल असोसिएसन एपीएले यसलाई मानसिक समस्या हो भनेर किटान भने गरेका छैनन् ।
अनुसन्धानले के भन्छन् ?
२०१५ मा भएको एउटा अनुसन्धान अनुसार यो भनेको आधुनिक फोयिबा हो जुन स्मार्ट फोन, व्यक्ति, सामाजिक सञ्जाल र सञ्चार प्रविधिहरुबाट उत्पन्न हुने अवस्था हो ।
२००५ र २०१३ मा भएका अध्ययनहरुले नोमोफोबिक लक्षणहरुबारे उल्लेख गरेका छन् । जसमा मानिसहरुले मोबाइल चलाउन नपाउँदा आफ्नो लो सेल्फ स्टीम हुने, कन्सन्ट्रेसन गर्ने क्षमतामा ह्रास आउने, समाजसँग घुलमिल हुन डर महसुस हुने, चिन्ता निम्त्याउने, चिढचिढापन, रिसाउने तथा अत्यन्तै चिन्ता गर्ने हुन्छ । कसैकसैलाई प्यानिक अट्याकसमेत हुन्छ ।
यद्यपि २०१४ मा भएको अर्को अध्ययनले ति लक्षणहरु केवल मोबाइल चलाउन नपाएर हुने नोमोफोबियाले गर्दा भएको हो वा पहिल्यै भइरहेको एन्जाइटीले भएको भन्नेबारे यकिन गर्न नसकिने दाबी गरेको छ । तर एन्जाइटी भएकै जस्तो लक्षण देखिने भएकाले नोमोबिक अवस्था पनि एन्जाइटीसँगै जोडिएरै पनि आउन सक्छ ।
यसको जोखि कसलाई जोखिम छ त ?
अब कुरा गरौं यसको जोखिम कहाँ ककसलाई छ त ? सन् २००८ मा युकेको पोस्ट अफिसले गरेको अध्ययनका अनुसार ५३ प्रतिशत बेलायतीहरु आफ्नो मोबाइल हराउँदा, मोबाइलको चार्ज सकिँदा र इन्टरनेट एक्सेस नहुँदा आतंकित वा निकै नै चिन्तित हुने गरेको पाइयो । त्यस्तै, ५८ प्रतिशत पुरुष र ४७ प्रतिशत महिलाहरु मोबाइल फोन एन्जाइटीबाट पीडित भएको पाइयो भने ९ प्रतिशतलाई मोबाइलबाट टाढा रहँदा अत्यन्तै तनाव भएको देखियो । २०१५ को अर्को अनुसन्धानका अनुसार ५५ प्रतिशत मानिसहरुले मोबाइलको कनेक्सन नहुँदा आफ्ना प्रीयहरुसँग सम्पर्क गर्न नपाएको र त्यसैले चिन्ता निम्त्याएको देखाएको छ ।
२०१३ को अध्ययनले ५४७ जना सहभागीमध्ये २३ प्रतिशत विद्यार्थीहरुमा नोमोफोबिक लक्षणहरु पाइएको थियो भने ६४ प्रतिशत चाहिँ नोमाफोबिया हुने जोखिममा थिए । अध्ययनका अनुसार ७७ प्रतिशत सहभागीहरुले दिनमा कम्तिमा पनि ३५ पटक मोबाइल चेक गर्ने गरेको पाइएको थियो । अब भन्नुस् तपाईं दिनमा कतिपटक मोबाइल चेक गर्नुहुन्छ ?
किशोरकिशोरीहरु नोमोफोबियाको बढी जोखिममा रहेको देखिएको छ । अर्को अध्ययनका अनुसार ७७ प्रतिशत योङ एडल्टहरुले मोबाइल नहुँदा चिन्ता भएको उल्लेख गरेका थिए । त्यस्तै, सन् २०१० मै भएको अध्ययनले ६१ प्रतिशत मानिसहरु बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने गरेको पाइएको थियो । अहिले यो प्रतिशत बढेको हुनसक्छ । तपाईं उठ्ने बित्तिकै मोबाइल चलाउनु हुन्छ कि हुन्न ?
अर्को तथ्य के छ भने जो एन्जाइटी र प्यानिक अट्याकको शिकार भएका छन् उनीहरुलाई नोमोफोबिया हुने चान्स बढी छ । ब्राजिलमा भएको एउटा अनुसन्धानले प्यानिक अट्याक भएका ४४ प्रतिशत सहभागीहरुले आफूसँग मोबाइल हुँदा सुरक्षित महसुस हुने बताएका थिए । जबकी ४६ प्रतिशत सामान्य मानिसहरुले भने त्यस्तो नहुने उल्लेख गरेका थिए । उक्त स्टडीले सबै सहभागीमध्ये ६८ प्रतिशतले मोबाइल डिपेन्डेन्सी भएको तथ्य उजागार गरेका थिए ।
२०२० र २०२३ मा भएका अध्ययनले विश्वव्यापीरुपमा ३ अर्बभन्दा बढी मानिसहरुले स्मार्टफोन प्रयोग गर्दा प्रब्लमेटिक साइनहरु देखाउने गरेको जनाएका छन् । युनिभर्सिटीका करिब ६० प्रतिशत विद्यार्थीहरुमा मोबाइल एडिक्सनको लक्षण देखिन्छ । लगभग ३ जनामध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा डिजीटल डिपेन्डेन्सीको बानीहरु देखिन्छ । करिब ४७ देखि ५० प्रतिशत वयस्करुलाई उनीहरुको सेल फोन वा इलेक्ट्रोनिक डिभाइसबाट टाढा रहँदा असहज र गाह्रो महसुस गर्छन् ।
के कारणले हुन्छ त नोमोफोबिया ?
यति थाहा पाएपछि हामीलाई थाहा भइसक्यो होला कि के कारणले नोमोफोबिया हुन्छ । सन् २०१२ मा साम्बारेलगायतले गरेको अध्ययनले सेल फोनलाई २१ औं शताब्दीको सम्भवतः नन ड्रग एडिक्सनको रुपमा रहेको उल्लेख गरेको छ । उक्त अध्ययनअनुसार कलेज स्टुडेन्टहरुले दिनको ९ घण्टासम्म मोबाइल चलाएको पाइयो जसले एडिक्सन निम्त्याउँछ ।
यस अवस्थालाई १९९८ मै मिक र फोर्निअरले ‘अ पाराडक्स अफ टेक्नोलोजी’ भनेका छन् । जसको अर्थ फ्रिङ फ्रम रिअल वर्ल्ड र एन्स्लेभिङ टु भर्चअल वर्ल्ड अर्थात वास्तविक दुनियाँबाट स्वतन्त्र तर भर्चअल दुनियाँको दासी भइरहेको अवस्था हो । यो साँच्चै सोचनीय विषय छैन त ?
नोमोफोबिया हुनुको स्पष्ट कारणको रुपमा मोबाइलको अत्यधिक प्रयोग हो । २०२३ मा देवी र सिंहले गरेको अध्ययनका अनुसार दिनमा ५ घण्टाभन्दा बढी स्क्रीन टाइम हुनु भनेको मानसिक समस्याको संकेत हुन सक्छ । २०१६ को स्टडीले यसो हुनुमा भने मोबाइलबाट प्राप्त हुने इन्स्ट्यान्ट कम्युनिकेशन र इन्स्ट्यान्ट ग्राटिफिकेसनले गर्दा हो । जसले गर्दा एडिक्टिभ र कम्पल्सिभ बिह्याभिएरहरु विकास हुनसक्छन् ।
अर्को कारणमा न्यूरोटिसिज्म पर्सानालिटी क्यारेक्टर हो । अर्थात यस्ता व्यक्तिहरु जीवनका हरेक अवस्थामा नकारत्मक रहन्छन् । जुन कुराले नोमोफोबियातर्फ उन्मुख गराउन सक्छ ।
अर्को कारणमा सामाजिकरुपमा मानिसहरु आफूसँग कोही नहुनु वा वातावरणीय कारणहरुले गर्दा पनि हुन्छन् । जस्तै, मोबाइल चलाउने समूह वा त्यस्तै किसिमको काम ।
नोमोफोबिया भए नभएकोबारे विभिन्न साइकोमेट्रिक स्केलहरुको प्रयोग तथा शरीर र मनमा देखिने लक्षणहरुबाट थाहा हुन्छ ।
अब के गर्ने त ?
आजको डिजिटल दुनियाँ अब हामी कसैको पनि जीवन मोबाइलबिना चलाउन गाह्रो हुने अवस्था आएको छ । यदि त्यसो हो भने अब कसरी नोमोफोबियाको अवस्थाबाट बच्ने त ? डब्लूएचओको गाइडलाइन्सलाई फलो गर्ने । जसअनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई भिडिओ कलबाहेक मोबाइल चलाउन नदिने, त्यसभन्दा माथिकालाई अभिभावकको निगरानीमा सिर्जनशील किसिमका कन्टेन्ट अधिकतम २ घण्टासम्म दिन सकिन्छ भने वयस्कको हकमा दिनको दुई घण्टा मोबाइल चलाउनु सामान्य हो । तर कुनै पेशागत कामबाहेक दिनका ५ घण्टाभन्दा बढी मोबाइल चलाएको खण्डमा कुनै न कुनै मानसिक समस्याको कारण बन्ने सक्ने डीएचओलगायत विभिन्न अध्ययनको निष्कर्ष छ । तसर्थ यो गाइडलाइनलाई फलो गर्न जरुरी छ ।
मोबाइल चलाउने आफ्नाहरुलाई नोमोफोबियाका विषयमा जानकारी दिएर सचेत हुन लगाउने ।
विभिन्न प्राकृतिक पद्धतिहरु जहाँ आफूलाई रमाइलो लाग्छ त्यस्ता गतिविधिमा सामेल हुने । स्वास्थ्यका लागि कुनै साथी वा समूह बनाएर परम्परागत खेलहरु जस्तै, चेस, वा फुटबल, क्रिकेट जस्ता आउटडुअर गेम खेल्ने ।
अर्को हो डिजीटल डिटक्सिफिकेशनः आफ्नै लागि एउटा नियम बनाउने जहाँ निश्चित समय र स्थान तोक्ने जहाँ हामी मोबाइल फोनको प्रयोग नगरी बिताउने ।
तर यसअघि नै यस्तो समस्या महसुस भएको छ भने डिजिटल डिटक्सीफिकेसनको माध्यमबाट सहज हुने । यो भनेको डिजिट दुनियाँबाट क्रमसँगै सिस्टमेटिक तरिकाले आफूलाई टाढा राख्नु । अर्थात डिजिटल वेलबिङको अभ्यास गर्नु ।
अर्को विधि हो कग्निटिभ बिह्यावियरल टेक्निकस् । साइकोलोजीमा मानिसहरुको विचार, भावना र बानीको कम्बिनेसनले सकारात्मक मोडिफिकेसन ल्याउने यो विधि निकै प्रभावकारी विधि हो । नोमोफोबियाको लक्षण भोगेकाहरुलाई यसरी सीबीटीको प्रयोगले सहज बनाउन सकिन्छ ।
मोबाइल फोन आधुनिक जीवनमा विज्ञानको आशीर्वाद सावित गराउने तपाईं हाम्रो हात छ ।
भक्तपुर । भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा देखिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को सन् २०२४ को तथ्यांकले भक्तपुर एचआईभी संक्रमण तथा लागुपदार्थ दुर्व्यसनको उच्च जोखिममा रहेको देखाएको हो ।
केन्द्रका अनुसार भक्तपुरका कलेज जाने उमेरका १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका छन् । उनीहरू गाँजादेखि सुईमार्फत लागुपदार्थ प्रयोगकर्ताहरू हुन् । भक्तपुरमा एक हजार ३१२ देखि १ हजार ५३७ जनाको हाराहारीमा सुईमार्फत लागुपदार्थ प्रयोगकर्ता रहेको अनुमानित तथ्यांक केन्द्रको छ । जसमा पुरुष एक हजार १६५ देखि एक हजार ३८२ र महिला १४७ देखि १५५ जनाको हाराहारीमा छन् । सुईमार्फत लागुपदार्थ प्रयोगकर्ताहरूमा एचआईभी संक्रमण हुने सम्भावना उच्च हुन्छ ।
त्यस्तै भक्तपुरका महिला, पुरुष तथा तेस्रो लिङ्गी यौनकर्मीहरू पनि एचआईभी संक्रमणको जोखिममा छन् । केन्द्रका अनुसार भक्तपुरमा ४ हजार ८१८ देखि ५ हजार ४३४ जनाको हाराहारीमा महिला यौनकर्मी छन् । त्यस्तै ४२६ देखि ५०० को हाराहारीमा पुरुष यौनकर्मी छन् । भक्तपुरका तेस्रो लिङ्गीको संख्या ५७५ देखि ६६३ र तेस्रो लिङ्गी यौनकर्मीहरू २६१ देखि ३२५ को संख्यामा रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
केन्द्रका अनुसार भक्तपुरमा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषको संख्या ६३८ देखि ७०४ जनाको हाराहारीमा छन् । महिला तथा पुरुष यौनकर्मी र उनीहरूका ग्राहक तथा सुईबाट लागुपदार्थ प्रयोगकर्ताहरू एचआईभी संक्रमणका दृष्टिले जोखिमयुक्त रहेको भक्तपुरका एचआईभी एड्स तथा लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा कार्यरत संस्था सुरुवातका कार्यकारी निर्देशक राजेश दिदिया बताउँछन् ।
उनीहरूले सुरक्षित व्यवहार अपनाउन सकेनन् भने एचआईभी संक्रमण हुने सम्भावना शत प्रतिशत रहेको उनको भनाइ छ ।
उनले भक्तपुरमा एउटै सुईबाट धेरैले लागुपदार्थ प्रयोग गर्ने प्रवृत्तिले एचआईभी संक्रमित हुनेहरू युवाहरूको संख्या बढिरहेको पाइएको जानकारी दिए ।
कार्यकारी निर्देशक दिदियाले प्रहरीले दिनहुँजसो नियन्त्रणमा लिने लागुपदार्थको परिमाणले पनि भक्तपुरमा दुर्व्यसनी युवाहरूको संख्या बढेको स्पष्ट हुने बताए ।
‘प्रहरीमात्रै लागेर लागुपदार्थ दुर्व्यवसन नियन्त्रणमा आउँदैन’, उनले भने, ‘स्थानीय तहले विद्यालय तथा कलेज लक्षित जनचेतना कार्यक्रम गर्नुपर्छ । समुदायमा आधारित कार्यक्रमलाई त झन् छुटाउनै हुँदैन ।’
भक्तपुर एचआईभी एड्स संक्रमणको जोखिममा रहे पनि यहाँ कति जना संक्रमित छन् भन्ने यथार्थ तथ्यांक कुनै पनि सरकारी तथा गैरसरकारी निकाय र संघसंस्थासँग छैन । भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरका अनुसार अहिले जिल्लामा एचआईभी संक्रमितहरूमध्ये १५३ जनामात्रै रिपोर्टेड छन् । जसमध्ये पुरुष १००, महिला ४५, तेस्रो लिङ्गी ४ र बालबालिका ४ जना छन् ।
बाँकी संक्रमितहरू काठमाडौं, ललितपुर र काभ्रेका एआरटी सेन्टर पुग्ने गरेको बताइन्छ । संक्रमितलाई समाजमा भेदभाव र लाञ्छना हुने भएकाले अहिले पनि धेरैजसो एचआईभी संक्रमितहरू खुल्न नसकेको भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरकी काउन्सिलर सृष्टि अर्याल बताउँछिन् ।
आफ्नो पहिचान खुल्ने डरले स्थानीय एचआईभी संक्रमितहरू स्थानीय एआरटीमा कममात्रै आउने गरेको उनको भनाइ छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले पनि जिल्लामा एचआईभी एड्सको अवस्था भयावह रहेको बताइन् । उनले जिल्लास्थित सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य नगरिए भक्तपुर एचआईभी एड्सको उच्च जोखिमबाट उम्किन नसकिने औंल्याइन् ।
स्वास्थ्यको जिम्मा स्थानीय तहमा गएपछि एचआईभी एड्स र लागुपदार्थ दुर्व्यवसनको क्षेत्रमा कार्यक्रमहरू टुटेको र यसले एचआईभी संक्रमण तथा लागुपदार्थ दुर्व्यवसनको जोखिम थप बढाएको उनको भनाइ छ ।
भक्तपुरमा एचआईभी संक्रमण र लागुपदार्थ दुर्व्यसनको जोखि बढेपछि हालै सुरुवातले जिल्लास्तरीय समन्वय बैठक आह्वान गरेको थियो । उक्त बैठकमा सहभागी भक्तपुरका नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख, एचआईभी एड्स र लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरूले मुलुक संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा भद्रगोल भएको र पहिले भएको स्वास्थ्य सेवा तथा कार्यक्रम टुटेको सुनाए ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको अध्यक्षतामा भएको बैठकले स्थानीय तहले विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने निष्कर्ष निकालेको सुरुवातका कार्यकारी निर्देशक दिदियाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरूको यथार्थ तथ्यांक संकलन गर्न सरोकारवाला सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
बैठकमा भक्तपुरमा यौनकर्मी महिलाहरूको क्षेत्रमा कार्य गर्दै आएको साट्क्टस् संस्थाका प्रतिनिधि रोशन सुवालले आफूहरूसँग २ हजार ९८३ यौनकर्मी महिला र ५ हजार ३३९ जना तिनीहरूका ग्राहकहरू सम्पर्कमा रहेको जानकारी दिए । उनले यौनकर्मी महिला र तिनका पुरुष ग्राहकहरूमा एचआईभी संक्रमण हुन नदिन विविध कार्यक्रम गर्दै आएको बताए ।
‘भक्तपुर काठमाडौं छिर्ने र बाहिरिने ट्रान्जिट प्वाइन्ट भएकाले सम्पर्कमा रहेका भन्दा बढी महिला यौनकर्मी र तिनका ग्राहकहरू रहेको हाम्रो अनुमान छ’, सुवालल भने, ‘यस क्षेत्रमा गम्भीरतापूर्वक नलागे हो भने एचआईभी संक्रमणको अवस्था भयावह हुने निश्चित छ ।’
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख थापाले विकास निर्माणमा जस्तै स्वास्थ्य क्षेत्रमा नगरपालिकाहरूले विनाभेदभाव बजेट र कार्यक्रम दिएर युवाहरूलाई लागुपदार्थ प्रयोग गर्ने जस्तो कुलतमा लाग्न र एचआईभी संक्रमण हुनबाट बचाउनुपर्ने बताए ।
उनले एचआईभी एड्स र लागुपदार्थ दुर्व्यसन रोकथाम गर्न जिल्ला चार वटा नगरपालिकाका मेयरहरूसँग समन्वय गर्ने वचन दिए ।
भक्तपुरका जिल्ला समन्वय अधिकारी राधाकृष्ण खतिवडाले संघीयता अघि जिल्ला तहमै एचआईभी एड्ससम्बन्धी समन्वय समिति रहेको स्मरण गर्दै अहिले पनि यस्ता समितिहरू आवश्यक भएको र यसको लागि स्थानीय तहहरूले योगदान गर्नुपर्ने बताए ।
त्यस्तै जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख खड्काले स्वास्थ्यको बजेट स्थानीय तहमा गएपछि घटेका एचआईभी एड्ससम्बन्धी कार्यक्रम तथा गतिविधि बढाउन आफूले पनि पहल गर्ने बताइन् ।
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै रहने व्यवस्था गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी बोर्डले स्वास्थ्य बीमामा नयाँ नियम ल्याएको हो ।
बोर्डले आज सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सार्वजनिक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ)ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने प्रावधानलाई आउँदो साउन १ देखि कार्यान्वयन गर्ने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमामा नयाँ नियम लागू भएसँगै अबदेखि पहिलेजस्तै सीधै निजि वा सामुदायिक अस्पतालमा गएर सेवा लिन सकिँदैन ।
पहिले प्रथम सेवा विन्दु मानिएका निजि र सामुदायिक अस्पतालहरूबाट त्यो मान्यता हटाइएको छ। अब साउन १ गतेदेखि सरकारी अस्पतालमा गएर सेवा लिनुपर्नेछ, र त्यहाँ उपलब्ध नहुने सेवाका लागि मात्रै रेफर लिएर निजि वा सामुदायिक अस्पताल जान पाइनेछ।
सूचनामा भनिएकाे छ,’स्वास्थ्य वीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।’
पेरिस । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूमपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पौडी पोखरी (स्विमिङ पुल) तथा विद्यालय बाहिरको क्षेत्रमा पनि लागू हुनेछ ।
स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूमपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताइन् । उनले भनिन्, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’
यो नियम इलेक्ट्रोनिक चुरोट (ई-सिगरेट)मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूमपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिले १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ ।
फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन् । -रासस/एएफपी
अत्याधुनिक र अति नै व्यस्त जीवनैशलीमा हाम्रो स्वास्थ्य र खुशी चुनौती बनेका छन् । के तपाईंलाई पनि आफ्नो ख्याल राख्न गाह्रो भइरहेको छ ? यदि त्यसो हो भने यस लेखमा हामीले सामान्तया कसरी स्वस्थ राख्न सक्छौं भन्नेबारे पाँचवटा महत्वपूर्ण जानकारी पस्कँदैछाैं ।
जति धेरै स्वास्थ्य चुनौती छ त्यति नै धेरै हामी सचेत हुनुपर्ने हुन्छ । विश्वभर भएका विभिन्न अध्ययन, योगीहरु र चिकित्सकहरुका अनुसार हामीले आफूलाई स्वस्थ राख्न निम्न ५ वटा बानी अपनाउन सक्छौं । जसमध्ये कतिपय व्यवहार त हामीले लागू गरिरहेका पनि होलाऊँ ।
१. सन्तुलित भोजनः
मानिसको शरीरलाई जीवित राख्न मात्र नभएर हृष्टपुष्ट र मजबुत रहन सन्तुलित भोजन आवश्यक हुन्छ । यस किसिमको खानाले मात्रै हाम्रो शरीरका सबै अंगलाई चाहिने तत्वहरु प्रदान गर्न सक्छन् । जसले गर्दा हामीलाई स्वस्थ बन्न सघाउँछ । अब कुरा आउँछ सन्तुलित भोजनमा के के पर्छ त ? सन्तुलित भोजन भन्नाले विशेषत पाँच किसिमका खानालाई सन्तुलित तरिकाले मिलाएर सेवन गर्ने खाना भन्ने बुझिन्छ ।
जसमा प्रमुख भनेको शक्तिवर्द्धक खाना कार्बोहाइड्रेट हो । चामल, गहुँ जस्ता अन्न र आलु समावेश हुनुपर्छ । अर्को हो, शरीर वृद्धि गर्ने खानेकुरा प्रोटिन र क्यालसियमयुक्त खाना जस्तै माछामासु, दाल, गेडागुडी, दूध र दूधजन्य पदार्थ । त्यस्तै, चिल्लो पदार्थमा घिउ, तेल, बोसो । चौथो समूहमा पर्ने खाना भनेको शरीरलाई सुरक्षा दिने भिटामिन युक्त खाना जसमा सागसब्जी तथा फलफूल पर्छन् भने पाँचौं समूहमा विभिन्न खनिज पदार्थहरु पर्छन् ।
यस प्रकारका खानाले मानिसको सर्वांगीण विकासमा सहयोग पुग्ने तथा स्वस्थ रहन मद्दत गर्दछन् । सन्तुलित आहारमा छुटाउनै नहुने कुरा पानी हो । नियमित सफा पानी पर्याप्त पिउन जरुरी हुन्छ । जसले समग्र पाचन प्रणालीलाई बलियो बनाउँछ भने मस्तिष्कमा रगतको सञ्चार गराइ शक्ति प्रदान गर्छ ।
२. नियमित शारीरिक अभ्यास
हाम्रो शरीरलाई चलायमान बनाउन आवश्यक छ । जसले शरीरका अंगहरुमा रक्त प्रवाह राम्रो भइ प्रत्येक कोषहरु सक्रिय रहन्छन् र हामीलाई स्वस्थ राख्न भूमिका खेल्छन् । शारीरिक अभ्यासमा आफूलाई जुन सहज हुन्छ त्यही गर्न सकिन्छ । जस्तै, योग, ध्यान, जिम जाने, हिँड्ने कुद्ने आफूलाई जे सजिलो र आनन्द आउँछ त्यही गर्ने । स्वास्थ्य अनुसन्धानअनुसार दिनमा कम्तिमा पनि ३० मिनेट र हप्तामा कम्तिमा ३ दिन शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ ।
३. पर्याप्त सुताइ
आज मोबाइल, ग्याजेट र सामाजिक सञ्जालले हाम्रो निद्राको ढाँचालाई बिगार्न भूमिका खेलिरहेको छ । तर स्वस्थ रहन पर्याप्त निद्रा यति महत्वपूर्ण हो कि एक दिन यसको गडबडी भएमा हामीलाई केही दिनसम्म आलश्य र नैराश्य उत्पन्न गराउँछ । साथै निद्राको विकल्प पनि केही छैन । त्यसैले विभिन्न अनुसन्धानले के बताउँछन् भने वयस्क मानिसले २४ घण्टामा कम्तिमा पनि ७ देखि ९ घण्टा गुणस्तरीय निद्रा पुर्याउनुपर्छ ।
४. भावनात्मक ख्याल गर्ने
हामीले शारीरिक स्वास्थ्यबारे जुन चासो दिन्छौ भावनात्मक अवस्थालाई उतिकै नजरअन्दाज गर्छौं । तर स्वस्थ रहनु छ भने आफ्नो मन, भावना र विचारको स्थितिलाई पनि ख्याल गर्नुपर्छ । किनकी हामी जे सोच्छौं । त्यसले हाम्रो भावनात्मक अवस्थालाई प्रभाव पार्छ भने हाम्रो विचार र भावनाको कम्बिनेसने बानी वा स्वभावको निर्माण गर्छ । तसर्थ पूर्णरुपले स्वस्थ रहन हाम्रो बानी नै स्वस्थ किसिमको हुनुपर्छ ।
५. सकारात्मक सोच राख्ने
सकारात्मक सोच भएका मानिसहरु आफ्नो जीवनप्रति सन्तुष्ट हुन्छन् । यस्ता मानिसहरु आफ्नो स्वास्थ्यबारे ध्यान दिन्छन् । त्यस्तै, विभिन्न अध्ययनका अनुसार नकारात्मक सोच राख्ने मानिसहरुमा मानसिक समस्याको जोखिम बढी हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि सकारात्मक सोच अनिवार्य हो । जसका लागि आफ्नो जीवनमा भएका राम्रा कामलाई सम्झिने, अध्ययन गर्ने, मन लागेको कार्य गर्नाले सकारात्मक बन्न सहयोग गर्छ ।
काठमाडौं । तपाईं कतिको च्याटजीपीटी चलाउनुहुन्छ ? आफ्ना सबै शैक्षिक वा बौद्धिक कार्यहरु सीधै च्याट जीपीटीकै प्रयोगबाट गर्ने बानी त छैन ? यदि छ भने सचेत रहनुुस् । सूचना प्रविधि र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स- एआई)को विकासमा आएको यो चरम अवस्थाले मानिसको जीवनलाई प्राविधिक रुपमा धेरै नै सहज बनाएको छ । तर मानवीय, भावनात्मक र मस्तिष्क विकासमा भने चुनौती थपेको छ ।
अमेरिकाको मेसेचुसेट्सस्थित अनुसन्धान विश्वविद्यालय एमआईटीका अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनबाट एउटा डरलाग्दो तथ्य बाहिर आएको छ । यसअघि पनि च्याटजीपीटी जस्ता एपले मानिसको सिर्जनशील क्षमता नष्ट गर्ने भन्ने दाबीहरु आएका थिए ।
अहिलेको अनुसन्धानले भने च्याटजीपीटी चलाएर कुनै एकेडेमिक काम गर्दा मस्तिष्कको सिर्जना गर्ने क्षमता कम गर्ने देखाएको छ । ५८ जना सहभागी भएको उक्त अध्ययनले च्याटजीपीटीको अत्यधिक प्रयोगले दिमागको सक्रिय सहभागीता कम भएको र अन्ततः निरन्तररुपमा मस्तिष्कको विकास, भाषिक ज्ञान र बानीगत तवरमै नकारात्मक असर परेको पत्ता लाग्यो ।
अनुसन्धानमा बोस्टन क्षेत्रका १८ देखि ३९ वर्षका ५८ जना सहभागीहरुलाई तीन वटा समूहमा बाँडेर एउटा समूहलाई ओपनएआईको च्याटजीपीटी, अर्कोलाई गुगलको सर्च इन्जिन र तेस्रो समूहलाई भने केही प्रयोग नगरी अमेरिकी कलेज, विश्वविद्यालयमा भर्नाको लागि लिइने विशेष परीषा– स्याटका लागि चाहिने निबन्ध लेख्न लगाइयो ।
भिडिओ
अनुसन्धानकर्ताहरुले उनीहरुको मस्तिष्कको ३२ वटा क्षेत्रहरुमा ईईजीको स्क्यान रेकर्ड गरे । जसमा जुन समूहले च्याटजीपीटीको प्रयोग गरेको थियो उनीहरुको मस्तिष्क सबभन्दा कम सक्रिय सहभागीता भएको पाए र स्नायु, भाषिक तथा व्यवहारगत तहमै निरन्तर कमजोर प्रदर्शन पाएका थिए । केही महिनाको दौरानमा च्याटजीपीटी प्रयोगकर्ताहरु एकपछि अर्को निबन्ध लेख्दा अल्छी भएको र कपी र पेस्टमा अभस्त बनेको पाइयो ।
उक्त अध्ययन के देखाउँछ भने लार्ज ल्याग्वेज मोडलहरुको प्रयोगले वास्तवमा किशोरकिशोरीको सिकाइलाई हानी गर्छ । त्यसैले यसको प्रयोगमा सजगता अपनाउन आग्रह गरिएको छ ।
एमआईटीकै यसअघिको अध्ययनले पनि च्याटजीपीटीको प्रयोगले मानिसहरुलाई एक्लोपनको शिकार बनाउने पत्ता लागेको थियो । जति बढी चलाइन्छ उति मानिसले आफूलाई एक्लो महुसस गरेको उक्त अध्ययनले देखाएको थियो ।
यसबाट हामीले के बुझ्ने त ? मस्तिष्कको विकासमा सहयोग पुग्ने किसिमले र स्वस्थ तवरले च्याटजीपीटीको प्रयोग गर्नुपर्ने देखिएको छ । अन्यथा हामी सजिलै यो प्रविधिको दास बन्नेछौं ।
विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार इलामकी ४१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।
नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दीपेश राईले जानकारी दिए ।
कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती संक्रमितमध्ये झापाका ४, मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको भ्रूणमा मानव कोशिकायुक्त मुटुको विकास गर्न सफल भएका छन् । यस सफलतालाई चिकित्सा विज्ञानको क्षेत्रमा यो प्रगतिलाई ऐतिहासिक फड्को मानिएको छ । यदि यसरी मुटुको पूर्ण विकास गर्न सकियो भने अंगहरु ट्रान्सप्लान्ट गर्दा आइपर्ने मानव अंगको अभावहरूको परिपूर्ति गर्ने जनाइएको छ ।
चीनको ग्वान्झाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका अनुसन्धानकर्ताहरुले सुँगुरको भ्रूणमा मानव स्टम सेल प्रत्यारोपण गरी मानव–सुँगुर भ्रूण मिश्रित भ्रूणको विकास गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
द टाइम्स युके र प्रतिष्ठित विज्ञान जर्नल नेचरमा प्रकाशित समाचार अनुसार ती भ्रूणहरूलाई २५ देखि ३० दिनसम्म प्रयोगशालामा हुर्काइएको थियो ।
अनुसन्धानमा संलग्न वैज्ञानिक डा. लाय लियाङ्सुए लाइका अनुसार ती भ्रूणमा विकसित भएको मुटुमा ६० प्रतिशतसम्म मानव कोशिका रहेको पुष्टि भएको हो ।
उनी ग्वानझाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका तथा चाइना एकेडेमी अफ साइन्सेस का प्रमुख अनुसन्धानकर्ता हुन्। उनकै टोलीले मानव अंग प्रत्यारोपणको सन्दर्भमा ऐतिहासिक सफलता हासिल गरेको हो ।
अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार मानव–सुँगुरको मुटुको प्रारम्भिक संरचनाले धड्कनको गति समेत देखाएको थियो । यद्यपि ती संरचना पूर्ण विकसित अंग भने होइनन् । तर अनुसन्धानकर्ताले यसलाई मानव अंग उत्पादनको दिशामा ठूलो फड्को भएको बताएका छन् ।
यसै पनि अंग प्रत्यारोपणको सन्दर्भमा बिरामीले अंग नपाउनु विश्वव्यापी संकट हो । हरेक वर्ष लाखौं बिरामीहरू उपयुक्त अंग नपाएर मृत्युको मुखमा पुग्छन् ।
नेपालमै पनि अवैध रूपमा मिर्गौला बेचबिखन गर्ने गिरोहहरू पक्राउ परेका समाचार आइरहन्छन् । यस्तो विकराल अवस्थामा जनावरको शरीरमा मानव अंग हुर्काउने अवधारणाले भविष्यमा उपयुक्त मानव अंग उत्पादन गर्ने सम्भावना देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार यस्तो प्रगतिले भविष्यमा जीन–सम्पादन र अंग–इन्जिनियरिङ प्रविधिहरूको सहायता लिँदै जनावरभित्र मानव–उपयुक्त अंग हुर्काउने सपना सम्भव हुने विश्वास गरिएको छ।
यद्यपि चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खुले पनि यसले अनेकौँ नैतिक बहस समेत जन्माएको छ । मानव अंगहरु जनावरमा विकसित गर्दा जनावरले अनुभूत गर्ने पीडा र पशु अधिकारको जटिल मुद्दा पनि सँगसँगै उठेको छ ।
मोरङ । यहाँको बुढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्धतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । उनले चालू शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताए ।
उपकुलपति पोखरेलका अनुसार १० वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ ।
उनले तह १ देखि ५ सम्मको ‘स्किल टेस्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेको धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरअन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए ।
कोशी प्रदेश सरकारले वि.सं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे ।
विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि रु ३७ करोड बजेट माग गरेकामा १४ करोडमात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे । उनले कुल बजेटको ०.५ प्रतिशतमात्रै विनियोजन हुनु दुःखद भएको बताए ।
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कर्मचारी र सरोकारवालाहरूले मिलेमतोमा अस्पतालको राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगले आज दायर गरेको आरोपपत्रअनुसार अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतकी तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
अनुसन्धानका क्रममा करारमा कार्यरत तृप्ती शाही स्वास्थ्य बीमा शाखाको नाम दर्ता काउन्टरमा खटिए पनि अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी सेवा लिन आएका बिमितहरूको विवरण प्रविष्ट गर्नुका साथै उठेको राजस्व रकममध्ये ठूलो हिस्सा अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेको पाइएको हो ।
२०८० साउन १ देखि मसान्तसम्मको अवधिमा संकलन भएको कुल राजस्व रकम ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसामध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँमात्र बैंकमा दाखिला गरिएको र बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको अख्तियारले जनाएको छ ।
शाहीले सम्पत्ति दुरुपयोग गर्ने बदनियतले यस्तो कार्य गर्दा लेखा अधिकृत सुवेदी र बैंक काउन्टर प्रमुख सिजाली मगरको समेत मिलेमतो रहेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
उनीहरू सबैले आआफ्नो जिम्मेवारीको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
रुपन्देही । बुटवल उपमहानगरपालिकामा दाताले लगानी गरेर बनाइदिएका दुई अस्पताल सञ्चालन हुनेका छैनन् । एडीबीको लगानीमा बनेका यी दुई अस्पताल उपमहानगरले समयमै सञ्चालनको कार्यविधि बनाउन नसक्दा अलपत्रजस्तै बनेका हुन् । यी दुई स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएर दाताले उपमहानगरलाई हस्तान्तरण गरे पनि स्थानीयले यसबारे कुनै जानकारी नपाएको गुनासो गरेका छन् ।
निर्माणको काम सकेर अहिले यी स्वास्थ्य केन्द्रहरूका भवनको प्रयोग नभएको गुनासो स्थानीयले गरेका हुन् । अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्र सञ्चालनपछि स्थानीयले आफ्नै घरछेउमा डक्टरसहितको सेवा पाउने अपेक्षा गरे पनि त्यो पाउन नसकेका हुन् ।
उपमहानगरपालिकाको वडा नम्बर १३ र १७ मा १६–१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र सञ्चालनार्थ भवन निर्माण भएका हुन् तर निर्माण भएका भवन यसरी ताला लागेको अवस्थामा रहेका छन् । बुटवल १७ को भवनमा रहेका पङ्खाहरू चोरी भएका छन् भने बाउन्ड्रीमा लगाएका फलामका रड भाँचिएका छन् ।
बुटवल १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले एडीबीले बनाएर हस्तान्तरण गरेको सुने पनि आफूलाई जानकारी नभएको र अराजक समूहले भवनमा रहेका पङ्खा चोरेर लगेको र बाहिरका रडहरू भाँचिदिएको जनाए ।
‘शहरी स्वास्थ्य क्लिनिक भनेर एडीबीको सहयोगमा भवन बनेको हो, भवन निर्माणका लागि रकम आए पनि जग्गा दाताले दिएको हो, तर जग्गाको ठाउँ नै फरक परेर समस्या आयो, अर्कोतिर निर्माण सम्पन्न भए पनि यसलाई जुन उद्देश्यले बनाइयो त्यो अनुसार काममा लगाउन सकिएन, यो अस्तव्यस्त भएपछि अहिले भाडामा बाहिर रहेको स्वास्थ्य चौकी लगेका छौँ, डक्टरसहितको सेवा दिने कुरा हो खै अब उपमहानगरले केही सोचेको होला’ उनले भने ।
दाताले दिएको रकम उपमहानगरका जनप्रतिनिधिले आफूले बनाएको प्रचार गरेको र हस्तान्तरणपछि पनि कुनै योजना नबनाएकाले यस्तो अवस्थामा पुगेको स्थानीय खिमानन्द पाण्डेले बताए ।
‘भवन निर्माणको सम्पूर्ण काम सकिएर पनि सञ्चालनमा नआउँदा चिन्ता लागेको छ, दाताले दिएको रकम आफैले गरेको जस्तो प्रचार भएको छ, आफ्नै दैला अगाडि स्वास्थ्य केन्द्र बन्न लागेपछि खुसी थियौँ । तर अहिले सञ्चालनमा नआउँदा निराशा बढाएको छ’ उनले भने । स्थानीय रूक्मागत न्यौपानेले आफ्नो ठाउँमा यति ठूलो स्वास्थ्य संस्था बने पनि यसबाट सेवा पाउन नसकेको बताए । ‘डक्टरसहितको सेवा दिइने भनिएको थियो, तर कुनै सेवा थपिएन, भवनको प्रयोग नै भएन’ उनले भने ।
मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा १७, १८ र १९ वडाका बासिन्दालाई लाभ हुने अपेक्षा गरिएको छ । तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण गरिएको उपमहानगरले जनाएको छ ।
एसियाली विकास बैंक मार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत लाग्ने गरी यी भवनहरूको निर्माण सम्झौता भएको थियो । ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न हुने गरी भवन निर्माणको ठेक्का दिएको थियो । अहिले ठेक्का सम्झौताअनुसार भवन निर्माण सम्पन्न भएका छन् । तर यी भवनहरू निर्माण सम्पन्न भएर पनि स्वास्थ्य केन्द्रमा परिणत हुन सकेका छैनन् ।
वडा नम्बर १७ को स्वास्थ्य केन्द्रको आडैमा तथा वडा कार्यालय नजिकै रहेको यो भवन सञ्चालनको लागि वडालाई कुनै जानकारी नभएको र उपमहानगरले नै सञ्चालन गर्ने भएकाले यस बारेमा केही थाहा नभएको बताउँछन् वडा नम्बर १७ का वडाअध्यक्ष ज्ञानबहादुर रेश्मी ।
सामुदायिक बहुउद्देश्यीय भवन मोतीपुर नाम दिएको यो भवनले बुटवलका स्वास्थ्य क्षेत्रमा थप इँटा थप्ने काम गर्ने पालिकाको भनाइ थियो । कोभिडजस्तै महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी यस हस्पिटललाई निर्माण गर्ने अक्सिजन सिलिन्डरसहितका भवन बनाइएको छ ।
सञ्चालन भए यी स्वास्थ्य केन्द्रहरूमा नर्स प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरू रहने र सामान्यदेखि अक्सिजन लिएर उपचार गर्नेसम्मका बिरामीहरूको उपचार हुने जनाइएको थियो । यता उपमहानगरपालिकाले भने भर्खरै निर्माण काम सम्पन्न भएकाले सञ्चालनको प्रक्रियामा रहेको बताएको छ । तर उपचारका लागि बुटवलवासीले अन्यत्र जानुपर्ने अवस्था नदिन भनेर निर्माण गरिएका यस्ता भौतिक पूर्वाधारहरू यत्तिकै छोड्नु उपमहानगरको कमजोर हो ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । उनले दाताले निर्माण गरेर हस्तान्तरण भए पनि स्थानीयलाई जानकारी दिन नसकेको स्वीकार गर्दै अहिले स्वास्थ्य चौकीलाई सारेर सेवा थालिएको र केही समयमा जनशक्ति कार्यविधि बनाएर मेडिकल अफिसरसहितको सेवा दिइने दाबी गरे ।
‘बुटवल १७ मा मेडिकल अफिसरसहितको सेवा दिने योजनाअनुसार भवन बनेको हो तर यसलाई समयमै भनेजस्तो सेवा दिन सकिएको छैन, १३ मा फिजियोथेरापी अस्पताल चलाउने योजनाअनुसार भवन बनेको हो यसलाई पनि अब प्रक्रियामा लगेर अघि बढाउने हो, अहिले २ जनाले स्वास्थ्य इकाईका रूपमा सेवा दिनुभएको छ’ उनले भने ।
पाण्डेले बुटवल १४ मा रहेको बर्थिङ सेन्टरमा भने ठूलो लगानी गरे पनि सेवाग्राही कम भएकाले अब के गर्ने भन्ने अन्योलमा परेको बताए । उनले उपमहानगरले सबै वडाबाट स्वास्थ्य सेवा दिने हिसाबले लगानी गरिरहेको बताए । तर स्वास्थ्य क्षेत्रका जानकारहरू बुटवलमा ठूला विशेषज्ञ सरकारी अस्पताल भएकाले बाहिर खोलिने अस्पतालमा सेवाग्राहीको चासो कम हुने भएकाले लगानी खेर जाने चिन्ता गरेका छन् ।
हालै एक डाक्टर जसले फेसबुकमा पीडा पोखेर आत्महत्या प्रयाससमेत गर्नुभयो । यस्तो संवेदनशील घटना हुँदा पनि मिडियाले जिम्मेवार दृष्टिकोण नअपनाई sensational reporting गर्ने प्रवृत्ति देखाएको छ, जसले परिवार र समाजमा थप पीडा बढाएको छ ।
यसका साथै, सुरक्षाकर्मीहरू- जसले मानसिक स्वास्थ्य समस्यामा परेका मानिसहरूसँग पहिलो सम्पर्कमा हुन्छन्- उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण नदिइएपछि सहीरूपमा समस्या बुझ्न र व्यवस्थापन गर्न असमर्थ छन् । मानसिक स्वास्थ्य विषयलाई अझै पनि हाम्रो समाजमा हल्का र बेवास्ता गरिन्छ, जसले गर्दा धेरै जटिल समस्या समाधान हुन सक्दैनन् । अब समय आएको छ-खुला रुपमा कुरा गरौं, कलंक हटाऔं र जीवन बचाऔं । आत्महत्या रोकथाम सम्भव छ, र प्रत्येक व्यक्तिको सुरक्षा र समर्थन हाम्रो साझा जिम्मेवारी हो ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार, सन् २०२३-२४ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्, जसको अर्थ दैनिक औसत २० आत्महत्या हुन्छ !
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, आत्महत्या भनेको व्यक्तिले आफ्नो जीवनलाई स्वेच्छाले, जानकारीपूर्वक र आफ्नो क्रियाकलापमार्फत जानबुझेर अन्त्य गर्ने कार्य हो जुन अस्थायी वा स्थायी रुपमा जीवनको समाप्ति निम्त्याउँछ।
आत्महत्या हुनुका कारणहरू धेरै जटिल र बहुआयामिक हुन्छन् । मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगहरू आत्महत्याको प्रमुख कारण हुन् । त्यस्तै, परिवारिक कलह, घरेलु हिंसा र सम्बन्ध विग्रहले पनि मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गर्न सक्छ । आर्थिक समस्या, जस्तै बेरोजगारी, ऋण र गरिबीले मानसिक तनाव बढाएर आत्महत्या गर्ने जोखिम बढाउँछ ।
शिक्षा र रोजगारसम्बन्धी दबाब, परीक्षा तनाव र करिअर असफलताले पनि मानिसलाई यस्तो कदम चाल्न बाध्य पार्न सक्छ । सामाजिक अलगाव, एकान्तता र समर्थनको अभावले मानिसमा निराशा बढाउँछ भने मादक पदार्थको सेवनले निर्णय क्षमतामा असर पुर्याएर आत्महत्या गर्ने सम्भावना बढाउँछ ।
साथै, दीर्घकालीन शारीरिक रोग, अपमान, सामाजिक कलंक र अघोषित मानसिक पीडाले पनि आत्महत्या गराउने महत्वपूर्ण कारण बन्न सक्छन् । यी सबै कारणहरू आपसमा जोडिएका र प्रभाव पार्ने भएकाले आत्महत्या रोकथामका लागि व्यापक समझ र उपचार आवश्यक हुन्छ ।
आत्महत्या रोकथामका लागि सबैभन्दा पहिला मनको पीडा र भावनालाई स्वीकार्नुपर्छ । समस्यालाई एक्लै झेल्ने होइन, परिवार, साथी वा विशेषज्ञसँग साझा गर्नुपर्छ । मानसिक स्वास्थ्यको उपचार र सकारात्मक सोचले जीवन पुनः उज्यालो बनाउन सक्छ । सानातिना कदमले पनि ठूलो परिवर्तन आउँछ- सहायता खोज्न डर नमान्नुहोस्, किनकि जीवन सधैँ नयाँ अवसर र आशा लिएर आउँछ ।
जब आत्महत्या गर्ने मन लाग्छ, मर्न मन लाग्छ वा आफूमाथि कुनै काम गर्न नसक्ने जस्तो लाग्छ भने आफूभित्रै यो भावना राख्नुभन्दा कसैसँग कुरा गरेर, आफ्नो मनको पीडा र अनुभवलाई खुलाएर बाँड्न आवश्यक छ । यसो गर्दा मन हलुका हुन्छ र समाधान खोज्न सजिलो हुन्छ । एक्लै सबै कुरा सहनु हुँदैन, सहयोग लिन कहिल्यै ढिलाइ नगर्नुहोस् ।
राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन (११६६) यो हेल्पलाइन २४ घण्टा, ७ दिन उपलब्ध छ र जसलाई आत्महत्याको सोच वा मानसिक तनाव छ, उनीहरूलाई सहयोग प्रदान गर्छ ।
“अँध्यारोबाट डर नमान, आफूलाई पीडा दिने मौका नदेऊ । साहस राख र आवाज उठाऊ, आफ्नो जीवन बचाऊ र अरूलाई प्रेरित गर ।”
(पराजुली वीर अस्पताल नर्सिङ क्याम्पसकी मास्टर्स इन साइकिएट्री नर्सिङ हुन् ।)
तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन् ।
विसं २०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन रु तीन करोडमा खरिद भएको थियो ।
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही जेठ १२ गतेबाट एक सय शय्यामा स्तरोन्नति भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नति भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ । अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताए । अस्पतालले सुरुवाती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा आचार्यले सुरुवाती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताए ।
अस्पतालमा अहिले फिजिसियन, नाक, कान, घाँटी, आँखालगायतका विभागमा चिकित्सकको दरबन्दी रहेको भन्दै केही दिनमा छालाका चिकित्सकको दरबन्दी कायम गराउने उनले बताए । अस्पतालमा आइसियु तथा एनेस्थेसिया विभाग नभएको भन्दै यी सुविधा थप गरिएको अवस्थामा बिरामी भएर भरतपुर जानुपर्ने अवस्थाको अन्त्य हुने डा आचार्यले बताए । अस्पतालले तीन वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटर निर्माण गरेको भए पनि विद्युत् आपूर्तिमा समस्या भएका कारण सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
पत्रकार सम्मेलन अस्पतालका व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण घिमिरेले अस्पतालमा ट्रमा युनिट थप गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको भन्दै यही असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सबै सेवा सुविधा प्रवाह गर्ने तयारी भइरहेको घिमिरेले बताए । अस्पतालले दुई सिफ्टमा डायलिसिस सेवा प्रदान गरिरहेको भन्दै एक सिफ्ट थप गरेर बिरामीलाई सहज रूपमा डायलिसिस सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको अध्यक्ष घिमिरेको भनाइ छ ।
अस्पताल सञ्चालनमा रहेको ठाउँको जमिन वनको नाममा रहेको भन्दै उनले त्यस जग्गालाई अस्पतालको नाममा ल्याउने गरी काम भइरहेको बताए । वन मन्त्रालयमा गएर फाइल रोकिएको भन्दै अस्पताल फैलिएको १० दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये सुरुमा दुई दशमलव दुई हेक्टर क्षेत्रफल अस्पतालका नाममा ल्याउने गरी काम भइरहेको अध्यक्ष घिमिरेले बताए । अस्पतालको दीर्घकालीन योजना सुनाउँदै घिमिरेले आफ्नै रक्तसञ्चार केन्द्र, पालिकामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौं, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो ।
सात प्रदेश समेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
यस्तै वीरगञ्जमा र पोखरामा सातसात तथा धरानमा चार वटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत-नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानून कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।
यस्तै हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ ।
महानगरको स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
महानगर–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिए ।
पाटन अस्पतालका मनोचिकित्सक डा अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताए ।
मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उनको भनाइ छ । ‘सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, अस्वाभाविक र असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुलगायत व्यवहारमा परिवर्तन देखिएमा मानसिक समस्या हुनसक्छ’, डा पराजुलीले भने।
यस्ता समस्या सकेसम्म अरुलाई नसुनाउने भएकाले रोग बढ्दै जाने भन्दै पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताए । वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालमा बिरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने उनको भनाइ छ ।
विश्वास लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्नेलगायत अभ्यास गर्नुपर्ने भण्डारीले उल्लेख गरे।
‘सन्तुलित खानपान गर्नुपर्छ । दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ । मोबाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणको प्रयोग घटाउनुपर्छ । करिब ८ घण्टा सुत्नुपर्छ । हानीकारक पदार्थको प्रयोग गर्नुहुँदैन । कुनै समस्या आएमा मनोविद् र मनोचिकित्सकको सुझाव लिनुपर्छ । आफूले आफैँलाई नियन्त्रणमा राख्ने अभ्यास पहिलो उपचार हो’, उनले भने ।
मानसिक स्वास्थ्यको लक्षण, असर र समाधानका उपायसम्बन्धी सन्देश प्रवाह गरेर मानसिक समस्यालाई घटाउन, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गराउने उद्देश्यले कामपाले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
दोधारा चाँदनी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।
त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताए । “हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइन”, उनले भने, “अहिले नाकामा लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।” उनका अनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । “आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भने, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।”
विगतका वर्षहरुमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन् । “गड्डाचौकी नाकाबाट आउनेहरुको कोभिड परीक्षण हुन सकेको छैन”, स्थानीय पदम थापाले भने, “नाकाबाट फर्किनेहरु स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन ।”
उनले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताए । कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ ।
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ ।
अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए ।
सोहीअनुसार सचिव स्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
साथै बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ ।
मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरूलाई सचेत बनाएको छ ।
सोलुखुम्बु । यहाँस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ ।
क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, “हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।”
जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ ।
डा पङ्गेनी भन्छिन्, “एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ ।” हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ ।
“हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ”, अस्पतालमा कार्यरत्त स्टाफ नर्स दिप्ती चौधरीले भनिन्।
करारका कर्मचारीको भरमा अस्पताल
अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, “छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।”
करारका चिकित्सकहरुले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, “हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।” उहाँले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए।
प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, “हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेशभर जनशक्ति अभाव छ ।”