Category: छुटाउनुभयो कि?

  • सरकार-विप्लव सहमतिको प्रचण्ड-माधव पक्षद्वारा स्वागत

    सरकार-विप्लव सहमतिको प्रचण्ड-माधव पक्षद्वारा स्वागत

    काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द ‘विप्लव’को कदमलाई स्वागत गरेको छ।

    शुक्रबार सिंहदरबारमा बसेको प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठकले उनको कदमलाई स्वागत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्।

    ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ’, उनले भने ।

    विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदा नै आफूहरुले त्यसको विरोध गरेको भन्दै अहिलेको सहमतिमार्फत त्यो सच्चिएको श्रेष्ठले बताए । ‘वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको हामी सधैँ स्वागत गर्छौं,’ उनको भनाइ छ, ‘उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेर नै सार्वजनिकरूपमै विरोध गरेका थियौं ।अहिलेको सहमतिमार्फत कम्तीमा त्यति कुरा भने सच्चिएको देखिन्छ।’

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पत्रमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका थिए ।

  • बेलायती युनिभर्सिटीमा सयवर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ बन्द

    बेलायती युनिभर्सिटीमा सयवर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ बन्द

    बेलायतस्थित एक विश्वविद्यालयमा एकसय वर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ स्थगित भएको छ । स्कुल अफ ओरिएन्टल स्टडिजमा नेपाली भाषा पढाउँदै आएका प्राध्यापक माइकल हटले अवकास लिएपछि पढाइ रोकिएको हो ।

    उक्त विश्वविद्यालयमा लामो समयदेखि नेपाली भाषाको प्रवद्र्धनमा प्राध्यापक हट सक्रिय थिए । दुई महिनाअघि उनले अवकास लिएका हुन् । सोही युनिभर्सिटीमा नेपाली भाषाको विद्यार्थी र प्राध्यापकको रुपमा उनले चार दशक बिताएका थिए ।

    जनशक्तिको अभावमा नेपाली भाषाको पढाइ रोक्नुपरेको सोआस् युनिभर्सिटीले जनाएको छ । युनिभर्सिटीको वेबसाइटमा जनशक्ति नहुँदा पढाइ रोक्नुपरेको उल्लेख छ । स्रोतका अनुसार झन्डै सयवर्षदेखि उक्त विश्वविद्यालयमा नेपाली भाषाको पढाइ हुँदै आएको थियो ।