Category: फुटबल महासंग्राम

  • मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल

    मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल

    दोहा। विश्वकप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ।

    ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।

  • मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो

    मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो

    दोहा। विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको अर्जेन्टिना र क्रोएसियाबीचको खेल ब्राजिलका रोनाल्डो र रोनाल्डिन्होले पनि हेरिरहेका छन्।

    ब्राजिललाई विश्वकप जिताएका दुवै खेलाडी मेस्सीको खेल हेर्न रंगशालामा रहेका छन्।

  • एमबाप्पेसँग मेस्सीले गरे बराबरी, बने सर्वाधिक विश्वकप गोल गर्ने अर्जेन्टिनी खेलाडी

    एमबाप्पेसँग मेस्सीले गरे बराबरी, बने सर्वाधिक विश्वकप गोल गर्ने अर्जेन्टिनी खेलाडी

    दोहा। जारी कतार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा अर्जेन्टिनाका लियोनल मेस्सीले फ्रान्सका केलियन एमबाप्पेसँग बराबरी गरेका छन्। क्रोएसियाविरुद्ध जारी सेमिफाइनलमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले आफ्नो गोल संख्या ५ पुर्याएका हुन्।

    मेस्सी र एमबाप्पे दुवैले समान ५ गोल गरेका छन्। पहिलो हाफको समाप्तीमा अर्जेन्टिना २–० गोलले अगाडि रहेको छ। मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन्।

    उनको गोल संख्या ११ पुगेको छ। यसअघि अघिल्लो खेलमा गोल गर्दै उनले गाब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका थिए।

  • जुलियान अल्भारेजको जादुमयी गोलमा अर्जेन्टिनाको अग्रता दोब्बर, आफ्नै क्षेत्रबाट ड्रिबलिङ गर्दै गरे गोल

    जुलियान अल्भारेजको जादुमयी गोलमा अर्जेन्टिनाको अग्रता दोब्बर, आफ्नै क्षेत्रबाट ड्रिबलिङ गर्दै गरे गोल

    काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गल अर्जेन्टिनाले क्रोएसिया विरुद्द २-० को अग्रता लिएको छ ।

    अर्जेन्टिनाका लागि लागि जुलियान अल्भारेजले दोस्रो गोल गरेका हुन्।

    उनले ३९औँ मिनेटमा आफ्नै क्षेत्रबाट लग्दै सिक्स यार्डबाट  गोल गरेका थिए । त्यसअघि लियोनल मेस्सीले ३४ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

  • मेस्सीले दिलाए अर्जेन्टिनालाई अग्रता

    मेस्सीले दिलाए अर्जेन्टिनालाई अग्रता

    दोहा। विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध अग्रता लिएको छ।

    ३४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दिलाएका हुन्। उनले पेनाल्टीमा गोल गरेका हुन्। जारी प्रतियोगितामा मेस्सीको यो पाचौँ गोल हो।

  • विश्वकपमा प्रयोग भएको बल- यस्तो छ विशेषता र इतिहास

    विश्वकपमा प्रयोग भएको बल- यस्तो छ विशेषता र इतिहास

    काठमाडौं । हरेक चार वर्षमा जब विश्वकपले एक पछि अर्को राष्ट्रमा फड्को मार्दै नयाँ संस्करण लिएर आउँछ । त्यसरी नै एडिडासले त्यहाँको परिवेशसँग मेल खाने विषेश प्रकारको ‘म्याच बल’ सार्वजानिक गर्ने गर्छ ।

    कतारमा जारी फिफा विश्वकपका लागि पनि एडिडासले त्यस्तै दुई फरक बल सार्वजानिक गर्‍यो । यहाँ विश्वकपमा प्रयोग भएका बलको चर्चा गरिएको छ ।

    जारी विश्वकपमा समूह चरणदेखि क्वार्टरफाइनल सम्म खेलाइएको बलको नाम थियो ‘अल रिला’ जसको अरबीमा अर्थ हुन्छ ‘द जर्नी ’ अर्थात यात्रा । यो बल विभिन्न कतारी संस्कृतिक तत्व मिलेर बनेको थियो । भाषा, वास्तुकला, प्रतिष्ठित डुङ्गा र राष्ट्रिय झण्डासहितको आकृतिलाइ मिलाएर यो बललाई विशेष बनाइएको थियो ।

    क्वार्टरफाइनल खेल सकिएपछि सेमिफाइनल र फाइनलका लागि एडिडासले ‘अल हिल्म’ नामको बल सार्वजानिक गरेको छ । ‘अल हिल्म’ को अर्थ हुन्छ ‘द ड्रिम’ अर्थात सपना । दुवै बलको नामले नै विशेष स्वभाव बोकेको छ ।

    विश्वकपको फाइनल नजिकसम्म पुग्नका लागि समूह चरण अन्तिम १६ र क्वार्टरफाइनल भनेको एक यात्रा नै हो ‘अल रिला’ बलको अर्थ पनि यात्रा नै हो ।

    सेमिफाइनल पुगेपछि फाइनल सम्म पुगेर विश्वकपको ट्रफी चुम्ने हरेक टीमको सपना हुन्छ अनि सेमिफाइनल पछि खेलाइने बल ‘अल हिल्म’ को पनि त्यही नाम हो ‘सपना’ ।

    विश्वकपमा यी दुवै बलको विशेषता के छन् त ?

    फिफाका अनुसार ‘अल रिला’ र ‘अल हिल्म’ विश्वकप इतिहासमा अहिले सम्मको उडान गति तीब्र भएको बल हो । यो बल अन्तिम उत्पादन हुनुअघि खेलाडीहरूले मैदानमा राम्रोसँग परीक्षण गरिसकेका थिए । यस्तै, यो विश्वकपको पहिलो म्याचबल हो जसलाई विशेष ‘वाटर-वेस्ड’ मसि र ग्लुको प्रयोगमा बनाइएको छ ।

    फिफा विश्वकप २०२२ मा बल भित्रै अत्याधुनिक प्रविधिको जडान गरिएको छ । भीएआर प्रणाडीलाई स्तरउन्नती गराउन र छिटो भन्दा छिटो डाटा उपलब्ध गराउन प्रयोग भएको नयाँ प्रविधिले यो बललाई विशेष र उन्नत बनाएको छ ।

    यो बलभित्र जडान गरिएको प्रविधिले म्याच अफिसियलहरूलाई चाँडोभन्दा चाँडो सही निर्णय लिन मद्दत गरेको छ ।

    एडिडासले कहिलेदेखि विश्वकपको अफिसियल म्याचबल उत्पादन गरिरहेको छ ?

    अल रिला र अल फिल्म एडिडासले विश्वकपका लागि सफलतापूर्वक उत्पादन गरेको १४औं र १५औं बल हो ।

    खेलकुदसम्बन्धी विशाल कम्पनीले सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा ‘टेलस्टार’ नामको बल सार्वजानिक गरेको थिया । त्यहि एडिडासले उत्पादन गरेको पहिलो विश्वकप बल हो । त्यसयता विश्वकपमा एडिडासले एकछत्र राज गरेको छ ।

    त्यसपछि एडिडासले सबै विश्वकपमा अफिसियल म्याच बल उत्पादन गर्ने गरेको छ । महिला विश्वकपमा पनि सन् २०११ देखि एडिडासले नै बल उत्पादन गर्ने गरेको छ ।

    हालसम्मका विश्वकपमा प्रयोग भएका म्याच बलहरू:

    विश्वकपको कुन बल सबैभन्दा धेरै चर्चित भए?

    टेलस्टार(१९७०)/टेलस्टार१८(२०१८)

    टेलस्टार एडिडासले उत्पादन गरेको पहिलो म्याच बल हो । जुन सन् १०७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा प्रयोग भएको थियो । प्रतिष्ठित ३२ प्यानल रहेको यो बलले ‘ब्ल्याक एन्ड ह्वाइट’ फिचर गदर्छ । जुन त्यसपछिका वर्षहरुमा बलहरु उत्पादन गर्दा प्रयोग गर्न थालिएको थियो ।

    समूह चरण र नकआउट चरणका लागि छुट्टा छुट्टै विशेष्ताका साथ फिफाले रूसमा आयोजना भएको विश्वकप २०१८ मा टेलस्टारलाई पुनः भित्र्याएको थियो ।

    जाबुलानी (२०१०)

    जाबुलानी दक्षिण अफ्रिकामा सन् २०१० मा आयोजना भएको विश्वकपमा प्रयोग गरिएको थियो । जुन निकै विवादित भएको थियो । केही खेलाडी र समर्थकका अनुसार बलको वायुगतिमा समस्या थियो । जसको अर्थात बल अप्रत्यासित मार्गतिर उड्ने गथ्यो ।

    ब्राजुका (२०१४)

    ब्राजुका ब्राजिलमा आयोजना भएको विश्वकपमा प्रयोग भएको बल हो । जुन विश्वकप इतिहासमा पहिलो पटक समर्थकहरूले राखेको बल हो । सन् २०१० मा विवादित बनेको जाबुलानी बल पछि सबैभन्दा धेरै परिक्षण गरेर बनाएको बल ब्राजुका रखेको एडिडासले दाबी गरेको छ ।

  • फ्रान्सका डिफेन्डर भराने भन्छन् : मोरोक्को ‘चान्स’ले सेमिफाइनल पुगेको होइन

    फ्रान्सका डिफेन्डर भराने भन्छन् : मोरोक्को ‘चान्स’ले सेमिफाइनल पुगेको होइन

    काठमाडौं । फ्रान्सका डिफेन्डर राफायल भरानेले बुधबार हुने सेमिफाइनलको प्रतिद्वन्द्वी मोरोक्कोलाई हलुका रुपमा नलिएको बताएका छन् ।

    उनले आफ्नो टोली ‘ओभर कन्फिडेन्स’ नरहेको र कुनै पनि ‘ट्रयाप’मा नपर्ने पनि दाबी गरेका छन् । कुनै पनि किसिमको ट्रयापमा नफस्ने अनुभव टोलीमा पर्याप्त रहेको भरानेको दाबी छ ।

    ‘हामी ओभर कन्फिडेन्ट भएर ट्रयापमा फस्ने छैनौं’, सन् २०१८ मा फ्रान्स विश्व च्याम्पियन हुँदा टोलीका महत्वपूर्ण सदस्य रहेका भराने भन्छन्, ‘हामीलाई थाहा छ मोरोक्को चान्सले सेमिफाइनल पुगेको होइन । अर्को भिडन्तका लागि सबै जना तयार छन् ।’

    फ्रान्सले मोरोक्कोलाई पराजित गर्दै उपाधि रक्षा कायम राख्ने प्रयासमा हुनेछ । यसअघि क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरी मोरोक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।

  • क्रोएसियाविरुद्ध खेल्दा मेस्सीले राख्नेछन् कीर्तिमानमाथि कीर्तिमान

    क्रोएसियाविरुद्ध खेल्दा मेस्सीले राख्नेछन् कीर्तिमानमाथि कीर्तिमान

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत मंगलबार हुने सेमिफाइनलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले क्रोएसियाविरुद्ध खेलेमात्र पनि केही विश्वकप कीर्तिमान बन्नेछन् ।

    नेपाली समयअनुसार राति पौने १ बजे हुने खेलमा उत्रिएलगत्तै मेस्सी विश्वकपका सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बन्नेछन् । हाल मेस्सी र राफा मार्क्वेजको नाममा सर्वाधिक १८ विश्वकप खेलमा कप्तानी गर्ने कीर्तिमान संयुक्त रुपमा रहेको छ ।

    क्रोएसियाविरुद्ध उत्रिएपछि मेस्सीले उक्त कीर्तिमान आफ्नो नाममा मात्र लेखाउनेछन् । यस्तै विश्वकपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बराबरी गर्दैछन् मेस्सीले । लोथर मेथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान मेस्सीले क्रोएसियाविरुद्ध खेलेपछि बराबरी गर्नेछन् ।

    यस्तै विश्वकपमा सर्वाधिक समय खेल्ने कीर्तिमान पनि मेस्सीले मंगलबार बनाउन सक्नेछन् । मेस्सीले हालसम्म २ हजार १०४ मिनेट खेलेका छन् । पाउलो माल्दिनीका नाममा २ हजार २१७ मिनेट खेल्ने विश्वकप कीर्तिमान रहेको छ ।

    क्रोएसियाविरुद्धको खेल अतिरिक्त समयमा पुगेमा र मेस्सी सब्स्टिच्युट नभएमा विश्वकप कीर्तिमान उनको नाममा लेखिनेछ ।

    गोल असिस्टको विश्व कीर्तिमान नजिक मेस्सी

    मेस्सीले क्रोएसियाविरुद्ध एक गोल असिस्ट गरेमा आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको विश्वकप कीर्तिमानसँग बराबरी हुनेछ।

    जारी विश्वकपमा मेस्सीले ४ गोल र २ असिस्ट गरिसकेका छन् । उनले विश्वकपमा हालसम्म ७ गोल असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।

    यस्तै उनले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान पनि बनाउनेछन् ।

    अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याए । त्यही गोलमार्फत विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमानसँग मेस्सीले बराबरी गरेका छन् ।

    मेस्सी किशोर अवस्था, २० र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । त्यस्तै विश्वकपमा सर्वाधिक समयको अन्तरमा गोल गर्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। मेस्सीको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १७६ दिन रहेको छ।

    क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १६० दिन रहेको छ । मेस्सी विश्वकपमा सर्वाधिक ९ पटक प्लेयर अफ दी म्याच अवार्ड पाउने खेलाडी हुन् । सन् २०१४ मा आयोजित ब्राजिल विश्वकपमा मात्र उनले चारपटक यो अवार्ड जितेका थिए । जारी विश्वकपमा पनि मेस्सीले तीनपटक यो अवार्ड पाइसकेका छन् ।

  • ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ

    ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ

    दोहा। स्वीडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कतारमा जारी विश्वकप अर्जेन्टिनाले जित्ने पक्का भइसकेको बताएका छन्।

    यस पटकको विश्वकप उपाधि अर्जेन्टिनाको नाममा लेखिएको इब्राहिमोभिच बताउँछन्। क्वाटर फाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नुअघि नै इब्राहिमोभिचले विश्वकप विजेताको अनुमान लगाएका हुन्।

    ‘मलाई लाग्छ, कसले जित्ने भनेर पहिल्यै लेखिएको छ। तपाईँलाई थाहा छ मेरो मतलब कसले जित्छ। मलाई लाग्छ मेस्सीले यस पटक विश्वकप उपाधि उचाल्नेछन् जुन पहिल्यै लेखिएको छ’, बार्सिलोनामा एक सिजन मेस्सीसँगै खेलेका इब्राहिमोभिचले भनेका छन्।

  • राजु शाक्य भन्छन् : क्रोएसियाले मेस्सीलाई रोक्नुपर्छ, अर्जेन्टिना काउन्टर अट्याकबाट जोगिनुपर्छ

    राजु शाक्य भन्छन् : क्रोएसियाले मेस्सीलाई रोक्नुपर्छ, अर्जेन्टिना काउन्टर अट्याकबाट जोगिनुपर्छ

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक राजुकाजी शाक्यले मंगलबार हुने विश्वकप सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच कसले जित्छ भनेर अनुमान गर्न गाह्रो रहेको बताएका छन् । जारी प्रतियोगितामा सरप्राइज नतिजाहरु आइरहेकाले ‘प्रेडिक्सन’ गर्न गाह्रो रहेको बताए ।

    ‘मेस्सीलाई हेर्‍यो भने अर्जेन्टिनाले जितोस् भन्ने लाग्छ । तर, नयाँ टोलीहरु पनि त आउनुपर्‍यो । सधैं ब्राजिल, अर्जेन्टिना, फ्रान्स जस्ता शक्ति राष्ट्रहरु भनेर पनि हुँदैन’, राष्ट्रिय फुटबल टोलीका पूर्वडिफेन्डर शाक्य भन्छन् । उनी क्रोएसियाको रक्षापंक्ति बलियो रहेको बताउँछन् ।

    ‘उनीहरुको गोलकिपर र रक्षापंक्ति निकै बलिया देखिन्छन् । ब्राजिलसँगको खेल हेर्दा पनि त्यो देखिएको थियो । उनीहरुको मोरल हाई छ । लुका मोड्रिच पनि डिफेन्ससम्म आएर खेलिरहेका छन्’, शाक्यले भने, ‘अर्जेन्टिनाको खेल मेस्सी वरिपरि घुमिरहेकाले क्रोएसियाले उनलाई रोक्न सक्नुपर्छ । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले मेस्सीलाई रोक्ने प्रयास गरेको थियो । डिफेन्सलाई बलियो बनाएर क्रोएसियाले काउन्टर एट्याकमा खेल्यो भने अर्जेन्टिनालाई गाह्रो हुनसक्छ ।’

    शाक्य क्रोएसियालाई फिजिकल एडभान्टेज रहेको बताउँछन् । ‘क्रोएसियासँग अग्ला र तेज गतिमा दौडने खेलाडी छन् । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाविरुद्ध अन्तिम समयमा फिजिकल खेलाडीमा ध्यान दिएर खेल बराबरीमा ल्याएको थियो’, उनले भने ।

    शाक्यले अर्जेन्टिना दबाबमा रहेको बताए । मेस्सीलाई विश्वकप उपाधि जिताउने दबाबबीच अर्जेन्टिनी टोलीले खेलिरहेको उनी बताउँछन् । ‘अर्जेन्टिनाको टीम पनि निकै बलियो छ । गोलकिपरदेखि अग्रपंक्तिसम्म सशक्त देखिन्छ । उनीहरुले विपक्षीलाई बल खेल्न दिइरहेका छैनन्’, उनले भने ।

    शाक्य विश्वकपका प्रायः खेलहरु हेरिरहेका छन् । मध्यरातसम्म बसेर हेर्नुपर्ने हुँदा निकै समस्या भएको उनले सुनाए। शाक्यले भने, ‘अब झन सेमिफाइनलका खेलहरु छन् । अब नहेर्ने कुरै भएन ।’

  • रोनाल्डोप्रति एमबाप्पेको सम्मान: तिमी सर्वकालीन महान फुटबलर हौ

    रोनाल्डोप्रति एमबाप्पेको सम्मान: तिमी सर्वकालीन महान फुटबलर हौ

    दोहा । फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो सर्वकालीन महान खेलाडी भएको औंल्याएका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले राखेको स्टाटसमा कमेन्ट गर्दै एमबाप्पेले तीनवटा इमोजी प्रयोग गरेका छन् । जसमा एउटामा बाख्राको इमोजी राखिएको छ ।

    ग्रेटेस्ट अफ अल टाइमको छोटकरी गट हुने भएकाले त्यसलाई बुझाउन बाख्राको इमोजी राख्ने गरिन्छ । विश्व फुटबलमा सर्वकालीन महान खेलाडी को भन्ने विवाद चलिरहेका वेला एमबाप्पेले रोनाल्डोप्रति संकेत गरेका हुन् ।

    विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको भोलिपल्ट रोनाल्डोले आफ्नो पोर्चुगलप्रतिको समर्पण निरन्तर रहने उल्लेख गरेका थिए । एमबाप्पेले रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गरेका छन् । तर, सर्वकालीन महान खेलाडीको प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीसँग एमबाप्पेले दुई वर्षयता खेलिरहेका छन् ।

    विभिन्न सन्दर्भमा एमबाप्पेले मेस्सीलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्बोधन गर्ने गरेका थिए । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका एमबाप्पे र मेस्सीको ‘कम्बिनेसन’ पछिल्लो समय थप प्रभावशाली बन्दै गएको छ ।

  • म्याराडोनाको विश्वकप कीर्तिमान नजिक मेस्सी

    म्याराडोनाको विश्वकप कीर्तिमान नजिक मेस्सी

    दोहा । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको कीर्तिमान नजिक पुगेका छन् । मेस्सीले अब एक गोल असिस्ट गरे म्याराडोनाको विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमानसँग बराबरी गर्नेछन् ।

    जारी विश्वकपमा मेस्सीले ४ गोल र २ असिस्ट गरिसकेका छन् । उनले विश्वकपमा हालसम्म ७ गोल असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।

    यस्तै उनले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान पनि बनाउनेछन् ।

    अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याए । त्यही गोलमार्फत विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमानसँग मेस्सीले बराबरी गरेका छन् ।

  • रोनाल्डो र मेस्सीको दबदबा तोडेका मोड्रिच- युद्धमा हजुरबा मारिए, घरमा आगो लगाइयो तर सपना मरेन

    रोनाल्डो र मेस्सीको दबदबा तोडेका मोड्रिच- युद्धमा हजुरबा मारिए, घरमा आगो लगाइयो तर सपना मरेन

    काठमाडौं । कतारमा जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नुअघि क्रोएसियाका भेट्रान मिडफिल्डर लुका मोड्रिचले आफ्नो टोलीसँग रियल म्याड्रिडको डीएनए रहेको बताएका छन् । उनको मतलब थियो- रियल म्याड्रिडजस्तै क्रोएसिया पनि अन्तिम घडीसम्म हार स्वीकार्दैन ।

    तर, मतलब यत्तिमै सीमित होइन । मोड्रिच सन् २०१२ देखि स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेलिरहेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रियल म्याड्रिडको प्रमुख प्रतिद्वन्द्वी बार्सिलोनामा १७ वर्ष बिताएका थिए। सन् २०२१ मा बार्सिलोना छाड्नुअघि मेस्सीको प्रतिस्पर्धा खासगरी रियल म्याड्रिडसँग नै हुने गर्थ्यो । आफ्नो प्रतिष्ठाका लडाईका रूपमा आपसको भिडन्तमा उत्रन्थे । बार्सिलोनालाई कसैले छेक्थ्यो भने त्यो प्रायः रियल म्याड्रिड नै हुने गर्थ्यो ।

    मेस्सीलाई विश्वकप उपाधि सपना पूरा गर्ने सम्भावना कायम राख्न मोड्रिचसहितको क्रोएसिया बाटोमै तेर्सिएको छ। क्रोएसिया नै हो जसले चार वर्षअघि रुसमा आयोजित विश्वकपको समूह चरणमा अर्जेन्टिनालाई ३-० गोलले हराएको थियो । त्यसमा मोड्रिचले पनि गोल गरेका थिए ।

    त्यतिबेला क्रोएसिया फाइनलसम्म पुगेको थियो । मोड्रिचले गोल्डेन बलमात्र जितेनन्, त्यस वर्षको फिफा वर्ष खेलाडी अवार्ड पनि हात पारे । १० वर्षयता मेस्सी र रोनाल्डोबाहिर यो अवार्ड जान सकेको थिएन। सन् २००७ पछि पहिलोपटक मेस्सी र रोनाल्डोबाहेकले यो अवार्ड जित्ने खेलाडी बनेका थिए मोड्रिच ।

    ३७ वर्षको उमेरमा पनि मोड्रिच उत्तिकै दमदार प्रदर्शन गरिरहेका छन् । लामो समय क्रिस्टियानो रोनाल्डोसँगै खेलेका उनी पोर्चुगिज स्टार रियल म्याड्रिडबाट बाहिरिएपछि स्पेनिस क्लबको प्रमुख भरोसाजस्तै बनेका छन् ।

    मोड्रिच तत्कालीन सोसलिस्ट फेडरल रिपब्लिक अफ युगोस्लाभियाअन्तर्गत रहेको सोसलिस्ट रिपब्लिक अफ क्रोएसियामा सन् १९८५ मा जन्मिएका हुन् । हजुरबासँग बसेर भेडा चराउँदै हुर्कँदा उनको बाल्यकालमा क्रोएसिया स्वतन्त्रता युद्धको नराम्रोसँग असर पर्‍यो ।

    विद्रोहीद्वारा हजुरबुबा मारिए भने उनी बस्दै आएको घर पनि जलाइयो । त्यसपछि करिब ७ वर्ष उनी शरणार्थी शिविरमा बसेका थिए ।

    शरणार्थीका रूपमा परिवार बस्दै आएको होटलको पार्किङमा फुटबल खेल्न थालेरै उनी यस खेलप्रति लोभिए । शारीरिक रूपमा पातलो रहेपनि आफूभित्र रहेको फुटबल क्षमतामाथि उनले विश्वास गरिरहे । सानै उमेरमा एकेडेमी भर्ना भएका मोड्रिचलाई प्रशिक्षक तोमिस्लाभ बासिचले सन् २००१ मा घरेलु क्लब डाइनामो जाग्रेब पुर्‍याएपछि उनी व्यावसायिक फुटबलमा प्रवेश गर्ने बाटो फराकिलो बनेको थियो ।

    डाइनामो जाग्रेबले सन् २००५ मा मोड्रिचसँग १० वर्षको सम्झौता गरे पनि त्यसको तीन वर्षपछि मोड्रिच इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम भित्रिएका थिए। त्यसअघि नै उनीमाथि बार्सिलोना, रियल म्याड्रिडजस्ता क्लबको नजर परिसकेको थियो । शारीरिकरूपमा मोड्रिच र मेस्सी उस्तै उस्तै देखिन्छ । उनीहरूको उचाइमा केबल एक इन्चको मात्र फरक छ ।

  • पेनाल्टी सुटआउट जिताएर सेमिफाइनल पुर्‍याएका दुई गोलरक्षकको भिडन्त

    पेनाल्टी सुटआउट जिताएर सेमिफाइनल पुर्‍याएका दुई गोलरक्षकको भिडन्त

    काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहँदा लियोनल मेस्सी र लुका मोड्रिचले मात्र होइन दुवै टोलीका गोलरक्षकले पनि ध्यान तान्नेछन् ।

    क्रोएसिया प्रिक्वाटरफाइनलमा जापान र क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा हराएर अन्तिम चारमा पुगेको हो। यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको हो।

    क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले ब्राजिलविरुद्ध लगातार शानदार बचाउ गरेका थिए। उनले टाइब्रेकरमा पनि ब्राजिलको पहिलो प्रहार नै रोकेका थिए। प्रिक्वाटरफाइनलमा २७ वर्षीय लिभाकोभिचले टाइब्रेकरमा जापानका सुरुका चारमध्ये तीन प्रहार रोकेका थिए। क्रोएसियाले विश्वकपमा हालसम्म खेलेका सबै चार वटा पेनाल्टी सुटआउट जितेको छ।

    सन् २०१७ मा क्रोएसियाको सिनियर राष्ट्रिय टोलिमा डेब्यु गरेका लिभाकोभिच त्यहाँको डाइनामो जाग्रेबबाट व्यावशायीक फुटबल खेल्दै आएका छन्। उनले पछिल्लो चार सिजन लगातार सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड हात पारिरहेका छन्।

    सन् २०२१ देखि उनले पहिलो रोजाईको गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा ठाउँ बनाइरहेका छन्। उनले जारी विश्वकपमा ३ गोल ब्यहोरेका छन्। कुनैपनि खेलमा एक गोलभन्दा बढी सामना गरेका छैनन्।

    यता अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले क्वाटरफाइनलमा भएको टाइब्रेकरमा नेदरल्यान्ड्सका सुरुका दुई प्रहार रोकेर अर्जेन्टिनालाई सेमिफाइनल नजिक पुर्‍याएका थिए। इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका पहिलो रोजाईका गोलरक्षक मार्टिनेजले गत वर्ष भएको कोपा अमेरिका अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए।

    उनले सेमिफाइनलमा भएको टाइब्रेकरमा कोलम्बियाका पाँचमध्ये तीन प्रहार रोकेका थिए। ३० वर्षीय मार्टिनेजले जारी विश्वकपमा ४ गोल ब्यहोरेका छन्।।

  • विश्वकपमा हिसाब बराबर भएका अर्जेन्टिना र क्रोएसिया, यस्तो छ विगतको भिडन्त

    विश्वकपमा हिसाब बराबर भएका अर्जेन्टिना र क्रोएसिया, यस्तो छ विगतको भिडन्त

    काठमाडौं। कतार विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलमा दुई भेट्रान खेलाडी लुका मोड्रिच र लियोनल मेस्सीको भाग्य निर्क्योल हुने छ।

    उनीहरु दुवैले विगतमा यो प्रतियोगिता जित्न सकेका छैनन्। विश्वकपमा अर्जेन्टिना र क्रोएसिया तेस्रोपटक भिड्न लागेकाे हाे। सन् १९९८ को विश्वकपमा यी दुई टोली पहिलोपटक भिडेका थिए।

    समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोलको जित हात पारेको थियो। चार वर्षअघि रुसमा आयोजित विश्वकपमा पनि यी दुई टोली समूहगत चरणमा भिडेका थिए। समूहको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग भिडेको अर्जेन्टिना ३-० गोलले पराजित भएको थियो।

    सिनियर अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोली छेटौँपटक भिड्न लागेका हुन्। विगतमा भएका प्रतिस्पर्धामा दुवै टोलीले दुई दुई जित र एक बराबरीको नतिजा निकालेका थिए। सन् १९९४ मा भएको पहिलो प्रतिस्पर्धामा यी दुई टोलीबीच गोलरहित बराबरी भएको थियो।

  • मेसी र मोड्रिकलाई अन्तिम अवसर

    मेसी र मोड्रिकलाई अन्तिम अवसर

    काठमाडौं । दुई आइकोनिक बालोन डि ओर नम्बर १० र दुई विश्वकप फाइनल खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर रहेको छ । अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक बुधबार बिहान हुने पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

    पेरिस सेन्ट जर्मेन पिएसजीका ३५ वर्षीय मेसी र रियल मड्रिडका ३५ वर्षीय करियरको अन्तिममा फाइलन खेल्ने या तेस्रो स्थानको लागि भिड्ने पक्का छ । सन्ताहन्तपछि दुबै खेलाडीको अन्तर्राष्ट्रिय खेल करियर अन्त्य हुने छ। यस खेलको विजेताले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

    दुबै टोलीले क्वार्टरफाइनलमा जितका लागि पेनाल्टी सुटआउटको साहारालिए । अर्जेन्टिनाले नेदरल्यान्ड्स तथा क्रोएसियाले सर्वाधिक सफल ब्राजिललाई हराएको थियो ।

  • समूह चरणबाटै बाहिरिने भय पार गरेर ब्राजिलको सफलता दोहोर्‍याउने मुखैमा पुगेको फ्रान्स

    समूह चरणबाटै बाहिरिने भय पार गरेर ब्राजिलको सफलता दोहोर्‍याउने मुखैमा पुगेको फ्रान्स

    दोहा। तीन साता अघि, विश्वकप फुटबलका पछिल्ला संस्करणहरू साबिक विजेता टोलीका लागि विर्षनलायक बनिरहेको अवस्थामा फ्रान्सले कतार विश्वकपमा उपाधि रक्षा अभियान सुरु गर्दै थियो।

    सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र २०१८ मा जर्मनी साबिक विजेताका रूपमा सहभागी भए पनि पहिलो चरणबाटै घर फर्किएका थिए। फ्रान्सको इतिहास पनि त्यस्तै थियो। सन् १९९८ मा विश्व च्याम्पियन बनेको फ्रान्स चार वर्षपछि पहिलो चरणबाटै घर फर्किएको थियो।

    यस पटक फ्रान्स डराउनुपर्ने अन्य कारणहरू पनि थिए। खास गरी लयमा रहेका करिम बेन्जेमा, पल पोग्बा, एङ्गोलो कान्टेजस्ता खेलाडीहरू चोटका कारण विश्वकप खेल्न नसक्ने अवस्थामा पुगेका थिए।

    तर विश्वकपमा फुटबलमा १२ वर्षदेखि चल्दै आएको एक नियतिलाई फ्रान्सले दोहोरिन दिएन। सुरुका दुई खेल जित्दै फ्रान्सले समूहगत चरण पार गर्ने निश्चित गर्‍यो। प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३-१ गोलले हराएको फ्रान्स क्वाटर फाइनलमा इङ्गल्यान्डमाथि २-१ गोलले हराएर उपाधि रक्षा अभियान कायम राख्न सफल भएको छ।

    विश्वकपमा ६० वर्षयता कुनै पनि साबिक विजेता टोलीले उपाधि रक्षा गर्न सकेका छैनन्। सन् १९६२ मा ब्राजिलले अन्तिम पटक यस्तो सफलता हात पारेको थियो। विश्वकप फुटबलमा ब्राजिलबाहेक इटाली मात्र हो जसले विश्वकप उपाधि रक्षा गरेको छ।

    ब्राजिल सन् १९९४ देखि लगातार तीन पटक फाइनल पुगे पनि उपाधि रक्षा गर्न भने सफल भएको थिएन। सन् १९९४ को विश्वकपको फाइनलमा इटालीलाई टाइब्रेकरमा हराएर उपाधि जितेको फ्रान्स सन् १९९८ को फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो। सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई पराजित गरेर ब्राजिल पाचौँपटक विश्व विजेता बनेको थियो।

    ब्राजिलयता कुनै पनि टोली लगातार फाइनल पुग्न सकेका छैनन्। यस पटक फ्रान्सको उपाधि रक्षा अभियानमा केलियन एमबाप्पे र ओलिभर जिरोड मुख्य दुई हतियारका रूपमा देखिएका छन्। जारी प्रतियोगितामा एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन्।

    यस्तै जिरोडको नाममा ४ गोल रहेको छ। फ्रान्सले अब उपाधि रक्षा अभियान कायम राख्न सेमिफाइनलमा मोरक्कोलाई हराउनुपर्ने छ।

    प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई हराएको मोरक्को क्वाटर फाइनलमा पोर्चुगललाई हराएर विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।

  • रोनाल्डोको प्रशंसामा विराट कोहलीः तिमी मेरो लागि सर्वकालीन सर्वोत्कृष्ट

    रोनाल्डोको प्रशंसामा विराट कोहलीः तिमी मेरो लागि सर्वकालीन सर्वोत्कृष्ट

    काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले विश्वकपबाट बाहिरिएका पोर्चुगिज सुपरस्टार रोनाल्डोप्रति सदासहायता दर्शाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रोनाल्डोलाई सर्वकालीन सर्वोत्कृष्ट फुटबलरको संज्ञा दिए ।

    कोहलीले भनेका छन्, ‘यो खेल तथा संसारभरका खेलप्रेमीहरूका लागि तिमीले जे गरेका छौ, त्यसलाई कुनै पनि उपाधि र ट्रफीले खोस्न सक्दैन । म र संसारभरका धेरैले तिमीलाई खेलिरहेका हेर्दा जे अनुभूति गर्छौं, मानिसहरूमा तिम्रो जस्तो प्रभाव छ, त्यसलाई कुनै पनि उपाधिले वर्णन गर्न सक्दैन । यो भगवान्‌को उपहार हो ।’

    रोनाल्डोले हरेक खेलमा पूर्णलगाव र दिलोज्यान दिएर खेल्ने गरेको भन्दै कोहलीले यसलाई वास्तविक आशिर्वादको संज्ञा दिएका छन् ।

    ‘मेरो लागि तिमी सर्वकालीन महानतम् खेलाडी हौ,’ उनले लेखेका छन् ।

    क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको छ । उनले विश्वको सबैभन्दा ठूलो उपाधि जित्ने सपना अधुरो बनेको भन्दै सामाजिक सञ्जालमा दु:ख व्यक्त गरेका थिए ।

  • विश्वकप पेनाल्टी सुटआउटका भाग्यमानी- सर्वाधिक जित्ने अर्जेन्टिना, सबै जित्ने क्रोएसिया

    विश्वकप पेनाल्टी सुटआउटका भाग्यमानी- सर्वाधिक जित्ने अर्जेन्टिना, सबै जित्ने क्रोएसिया

    काठमाडौं । कतार विश्वकपको सेमिफाइनलमा भिड्न लागेका क्रोएसिया र अर्जेन्टिनाबीच केही समानता छन् ।

    उनीहरूले जारी विश्वकपमा क्वाटरफाइनल पेनाल्टी सुटआउटमा जितेका हुन् । क्वाटरफाइनलमा क्रोएसियाले विश्वकपको सर्वाधिक विजेता जापानलाई र अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेका हुन् । त्यसअघि क्रोएसियाले प्रिक्वाटरफाइनलमा पनि जापानलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

    विश्वकपमा भएका टाइब्रेकरमा क्रोएसियाले हालसम्म हार ब्यहोरेको छैन । क्रोएसियाले हालसम्म चारवटा टाइब्रेकर खेलेको छ भने ती सबैमा जित पनि हात पारेको छ । ब्राजिलसँग प्राप्त सफलतापछि क्रोएसियाले विश्वकपमा सबै टाइब्रेकर जित्ने जर्मनीको कीर्तिमान बराबरी गरेको थियो । जर्मनीले पनि हालसम्म चारवटा टाइब्रेकर खेलेकामा सबै जितेको छ ।

    क्रोएसियाले सन् २०१८ को विश्वकपमा पनि दुईवटा टाइब्रेकर जितेको थियो । रुसमा सम्पन्न उक्त विश्वकपको प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्क र क्वाटरफाइनलमा घरेलु टोलीलाई टाइब्रेकरमा हराएको थियो । क्रोएसियाले त्यतिबेला सेमिफाइनलमा इङ्ल्यान्डलाई अतिरिक्त समयमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

    विश्वकपमा टाइब्रेकर सर्वाधिक जित्ने टोली भने अर्जेन्टिना हो । अर्जेन्टनाले हालसम्म ६ वटा टाइब्रेकर खेलेकामा पाँचवटा जितेको छ । यसअघि सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले २४ वर्षपछि फाइनल यात्रा तय गरेको थियो । विश्वकपमा अर्जेन्टिनाले टाइब्रेकरमा हारेको १६ वर्षअघि हो । सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा अर्जेन्टिना घरेलु टोलीसँग क्वाटरफाइनलमा टाइब्रेकरमा पराजित भएको थियो ।

    सन् १९९० को विश्वकपमा अर्जेन्टिनाले युगोस्लाभियालाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । विश्वकपमा अर्जेन्टिनाले खेलेको त्यो पहिलो पेनाल्टी सुटआउट थियो । उक्त विश्वकपको सेमिफाइनलमा इटालीलाई टाइब्रेकरमै हराएर अर्जेन्टिना फाइनल पुगेको थियो । सन् १९९८ को विश्वकपमा इङ्ल्यान्डलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले क्वाटरफाइनलमा ठाउँ बनाएको थियो ।

  • विश्वकप इतिहासमा अर्जेन्टिना- सेमिफाइनल पुगेपछि फाइनल यात्रा सुरक्षित

    विश्वकप इतिहासमा अर्जेन्टिना- सेमिफाइनल पुगेपछि फाइनल यात्रा सुरक्षित

    काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनलम दुईपटकको विजेता अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

    अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर विश्वकपमा छैटौँपटक अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाले विश्वकपमा सेमिफाइनल पुगेर फाइनल नपुगेको इतिहास छैन ।

    अर्जेन्टिना सन् १९३० मा आयोजना भएको पहिलो विश्वकपमै फाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा अमेरिकालाई ६-१ गोलले हराएको अर्जेन्टिना उपाधि भिडन्तमा उरुग्वेसँग ४-२ गोलले पराजित भयो । त्यसयता अर्जेन्टिना सन् १९७८ को विश्वकपमा विजेता बन्यो ।

    त्यतिबेला दोस्रो चरणमा रहेका दुईवटा समूहका विजेताबीच उपाधि भिडन्त गराइएको थियो । सन् १९८६ को विश्वकप उपाधि जित्नेक्रममा अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई २-० गोलले हराएर फाइनल यात्रा तय गरेको थियो । सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना इटालीलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।

    त्यसयता अर्जेन्टिनालाई सेमिफाइनल पुग्न २४ वर्ष लाग्यो । सन् २०१४ मा आयोजना भएको विश्वकपमा सेमिफाइनल पुगेको अर्जेन्टिना यसपटक पनि फाइनल पुग्नबाट चुकेन । त्यतिबेला नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त तय गरेको थियो ।

    यसरी हेर्दा ६ पटक सेमिफाइनल पुग्नेक्रममा अर्जेन्टिना ती सबैमा फाइनल पनि पुग्यो तर चारपटक उपविजेतामै सीमित बनेको थियो । अर्जेन्टिना ३५ वर्षयता विश्वकप उपाधिविहिन छ ।

  • विश्वकप सेमिफाइनल र फाइनलका लागि ‘अल हिल्म’ बल सार्वजानिक

    विश्वकप सेमिफाइनल र फाइनलका लागि ‘अल हिल्म’ बल सार्वजानिक

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजानिक गरिएको छ ।

    एडिडासले आइतबार सार्वजानिक गरेको अल हिल्म बलको अरबिमा अर्थ हुन्छ ‘द ड्रिम’ अर्थात ‘सपना’ । यसअघि समहू चरणदेखि क्वार्टरफाइनल सम्म प्रयोग गरिएको बलको नाम ‘अल रिला’ रहेको थियो जसको अर्थ हुन्थ्यो ‘द जर्नी’ अर्थात ‘यात्रा’ ।

    अतयाधुनिक प्रविधिको जडान गरेर बनाइएको यो बलमा अल रिलाको जस्तै विशेषताहरु रहेका छन् । जसले म्याच अफसियल हरुलाई चाँडो भन्दा चाँडो सही निर्णय लिन मद्दत गरेको छ ।

    सेमिफाइनल खेलहरु आगमी मंगलबार र बुधबार हुनेछन् । मंगलबार राती १२ः४५ बजे हुने पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । यस्तै, दोस्रो सेमिफाइनलमा सविक विजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

  • विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले भने- पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन

    विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले भने- पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन

    काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् । कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

    विश्व कप जित्नु आफ्नो करिअरको महत्वाकांक्षा रहेको जसमा आफूले थुप्रै अन्तर्राष्ट्रिय आयामहरुमा कीर्तिमान कायम गरेको भए पनि पोर्चुगललाई विश्वकप विजेता बनाउनु आफ्नो सपना रहेको उल्लेख गरेका छन् । वितेका १६ वर्षमा पाँच पटक विश्वकप खेल खेलेका उनले आफूले देशको निम्ति देखेको सपनालाई कहिल्यै नत्यागेको बताए ।

    उनले आफ्नो त्यो सपनाको हिजो दुःखद अन्त्य भएको तर आक्रोशित प्रतिक्रिया दिनु उचित नहुने बताए । ‘यसबारेमा धेरै भनिएको छ, लेखिएको छ, अनुमान गरिएको छ, तर पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन’, रोनाल्डोले लेखेका छन्, ‘अहिलेलाई धेरै भन्नु केही छैन, धन्यवाद पोर्चुगल, धन्यवाद कतार । लामो समयसम्मको सपना राम्रो थियो । आशा गरौं कि परिस्थिति सबैको असल मार्गदर्शक हुनेछ र हरेकलाई आफ्नो सपना पूरा गर्ने अनुमति दिनेछ ।’

    पोर्चुगलले शनिबार भएको क्वाटफाइनलमा मोरक्कोसँग पराजय भोगेको थियो । उक्त खेलमा पोर्चुगलका कोचले रोनाल्डोलाई हाफ टाइमपछि मात्रै खेलाएको थिए । जसको अहिले विश्वव्यापी आलोचना भइरहेको छ ।

     

  • निर्णायक गोल गरेपछि सबै मार्टिनेजतिर झुम्मिए तर मेस्सी घोप्टिएर लडेका गोलरक्षकतर्फ लागे

    निर्णायक गोल गरेपछि सबै मार्टिनेजतिर झुम्मिए तर मेस्सी घोप्टिएर लडेका गोलरक्षकतर्फ लागे

    दोहा । कतारमा जारी विश्वकप फुटबलको सुरुका दुई क्वाटर फाइनल टाई ब्रेकरबाट टुंगिए जसमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल भने अत्यधिक रोचक रह्यो । २-० गोलले पछाडि रहेको स्थितिबाट अन्तिम समयमा पुनरागमन गर्दै नेदरल्यान्ड्सले खेललाई अतिरिक्त समयमा धकेलेको थियो।

    त्यसमा गोल हुन नसकेपछि टाई ब्रेकरमा पुग्यो। सुरुका दुई प्रहारमा गोल गर्न नसकेको नेदरल्यान्ड्स अर्जेन्टिनाको चौथो प्रहार रोकेर खेलमा आशा कायम राख्दै थियो। अर्जेन्टिनाको पाँचौँ प्रहार गर्ने जिम्मा लौतारो मार्टिनेजलाई थियो।

    गोलपोष्टको बायाँतर्फ, डीबक्सबाहिर बसेर अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज गोलको कामना गर्दै थिए। गोल पोस्टको अगाडि, करिब मध्य मागमा अर्जेन्टिनी खेलाडीहरू काँधमा काँध मिलाएर प्रतीक्षा गरिरहेका थिए। लौतारो मार्टिनेज गोल गरेर सेलिब्रेसन गर्दै गोल पोस्टको दायाँ क्षेत्रमा पुगे। अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज बसिरहेकै ठाउँमा घोप्टो परेर लडे।

    मध्य क्षेत्रमा रहेका अर्जेन्टिनी खेलाडी सबै लौतारो मार्टिनेजतिर जाँदा मेस्सी भने एक्लै लडिरहेका गोलरक्षक एमिलियानो मार्टिनेजसँग खुसी साट्न पुगेका थिए। एमिलियानो मार्टिनेजको छेउमा पुगेर मेस्सीले उनलाई उठाउँदै बेस्सरी अंकमाल गर्दै लौतारो मार्टिनेज रहेको क्षेत्रतर्फ बिस्तारै हिँड्दै पुगेका थिए।

    पोस्ट म्याच कन्फेरेन्समा मेस्सीले गोलरक्षक एमिलियानो मार्टिनेजको खुलेर प्रशंसा गरे। टाई ब्रेकरमा मार्टिनेजले सुरुका दुई वटा विपक्षी प्रहार रोक्दै अर्जेन्टिनालाई जितनजिक पुर्‍याएका थिए।

    तपाईँले प्लेयर अफ दी म्याचको अवार्ड कसलाई दिनु हुन्थ्यो भन्ने प्रश्नमा मेस्सीले भने, ‘एमिलियानो मार्टिनेजले टाई ब्रेकरमा आज हामीलाई बचाएका छन्। हामी शान्त थियौँ किनभने हामीलाई उनीप्रति विश्वास थियो। उसले जहिल्यै पनि हाम्रो लागि यो पार गरेको छ।’

    गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिकाको उपाधि जित्नेक्रममा गोलरक्षक मार्टिनेजले सेमिफाइनलमा कोलम्बियाविरुद्ध भएको टाई ब्रेकरमाम विपक्षीका सुरुका तीन प्रहार विफल बनाएका थिए।

     

  • केनले पेनाल्टी मिस गरेपछि हेर्नुस् एमबाप्पेको हाँसो

    केनले पेनाल्टी मिस गरेपछि हेर्नुस् एमबाप्पेको हाँसो

    दोहा। कतारमा जारी विश्वकप फुटबलमा शनिवार राती फ्रान्स र इङ्ल्यान्डबीचको खेल प्रतिस्पर्धात्मक बनिरहेका बेला हेरि केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्।

    राष्ट्रिय टोलीका कप्तानसमेत रहेका केनले ८४ औँ मिनेटमा प्राप्त उक्त अवसर गुमाउँदा इङ्गल्यान्डले २-२ गोलको बराबरीमा पुग्ने अवसर गुमाएको थियो। केनको प्रहार फ्रेममा पर्न सकेन।

    त्यसअघि केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए। तर ७८ औँ मिनेटमा ओलिभर जिरोडले फ्रान्सलाई फेरी अग्रता दिलाए।

    केन पेनाल्टीमा चुक्दा फ्रान्सका प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले खित्का छाडेर हाँसेको देखिएको थियो। एमबाप्पे जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन्। उनले इङ्ल्यान्डविरुद्ध पुरा समय खेले पनि गोल गर्न सकेनन्।

    गत वर्ष आयोजित युरो कपमा एमबाप्पे स्वीट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटको निर्णायक प्रहारमा चुकेपछि फ्रान्स बाहिरिएको थियो।

  • रोनाल्डोलाई गर्लफ्रेन्ड जर्जिनाको सान्त्वना- आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरे

    रोनाल्डोलाई गर्लफ्रेन्ड जर्जिनाको सान्त्वना- आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरे

    दोहा। पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन्।

    रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छिन् ।

    खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’

    प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए। मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो। यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती- ११ मा समावेश गरेका थिएनन्। सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन्।

    रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको जर्जिनाको भनाई छ। जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन्। तर आफूलाई सुरुवाती-११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे।

    ‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराइएपछि आएको परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्, ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन्। जीवनलाई हामीले पाठ दिन्छ। आज हामीले हारेनौँ, सिक्यौँ। हामी तिम्रो प्रशंसा गर्छौँ ।

  • कमजोर महादेशलाई फापेको एसियाली मैदान- २० वर्षअघि दक्षिण कोरिया, अहिले मोरक्को

    कमजोर महादेशलाई फापेको एसियाली मैदान- २० वर्षअघि दक्षिण कोरिया, अहिले मोरक्को

    काठमाडौं । सन् २००२ मा एसियाली मुलुकले पहिलोपटक विश्वकप आयोजना गर्‍यो। जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा एसियाली टोलीले ऐतिहासिक सफलता प्राप्त गरे।

    दक्षिण कोरिया सेमिफाइनल पुग्यो। त्यसअघि कुनैपनि एसियाली टोली विश्वकपको सेमिफाइनलसम्म पुगेका थिएनन्।त्यसयता पनि दक्षिण कोरियाको सफलता अन्य एसियाली टोलीले बराबरीसम्म पनि गरेका छैनन्।

    २० वर्षपछि एसियाली मुलुकले फेरि विश्वकप आयोजना गरिरहेको छ। कतारमा भइरहेको २२ औँ विश्वकपमा अफ्रिकाले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

    मोरक्को सेमिफाइनल पुगेको छ। यसअघि कुनैपनि अफ्रिकी टोली विश्वकपमा सेमिफाइनलसम्म पुग्न सकेका थिएनन्। तीन अफ्रिकी टोली क्वाटरफाइनलसम्म पुगेर रोकिएका थिए। सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वाटरफाइनलसम्म पुगेको थियो।

    सेमिफाइनल पुग्नेक्रममा मोरक्को समूहगत चरणमा उपविजेता बनेको थियो भने प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो। क्वाटरफाइनलमा शनिबार राति पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोसम्मिलित पोर्चुगललाई हराएर मोरक्कोले महादेशीय कीर्तिमान बनाएको हो।

    मोरक्कोेले यसअघि पाँचपटक विश्वकप खेलेकामा एकपटक मात्र पहिलो चरण पार गर्न सकेको थियो। सन् १९८६ को विश्वकपमा मोरक्को दोस्रो चरणसम्म पुगेको थियो।

  • पीएसजीका तीन साथी विश्वकप सेमिफाइनलमा

    पीएसजीका तीन साथी विश्वकप सेमिफाइनलमा

    काठमाडौं । फ्रान्सको घरेलु लिग च्याम्पियन पेरिस सेन्ट जर्मन–पीएसजीका तीन महत्वपूर्ण खेलाडीका राष्ट्रिय टोली जारी कतार विश्वकपको सेमिफाइनल पुगेका छन्।

    केलियन एमबाप्पेको फ्रान्स, लियोनल मेस्सीको अर्जेन्टिना र असरफ हाकिमीको मोरक्को सेमिफाइनल पुगेका छन्। एमबाप्पे र मेस्सी जारी विश्वकपका शीर्ष दुई सर्वाधिक गोलकर्ता पनि रहेका छन्।

    हाकिमी र मेस्सी सन् २०२१ म पीएसजीमा आबद्ध भएका हुन्। एमबाप्पे सन् २०१८ देखि पीएसजीमा रहेका छन्। यो सिजन घरेलु लिगमा एमबाप्पे १२ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्।

    मेस्सीले ७ गोल र १० असिस्ट गरेका छन्। एमबाप्पेले गरेका धेरै गोलमा मेस्सीकै असिस्ट रहेको छ। हाकिमीले ३ गोल र एक असिस्ट गरेका छन्। पीएसजीका अर्का महत्वपुर्ण खेलाडी नेमारको टोली ब्राजिल भने विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन। नेमारले यो सिजन घरेलु लिगमा ११ गोल र ९ असिस्ट गरेका छन्।

  • रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन : पोर्चुगल प्रशिक्षक सान्तोष

    रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन : पोर्चुगल प्रशिक्षक सान्तोष

    काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिवार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

    यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एक पटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया दिएका छन् ।

    ‘मलाई लाग्दैन कि पश्चात्ताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे ।

    रोनाल्डो खेलको ५१औँ मिनेटमा वैकल्पिक खेलाडी रूपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँदा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

    यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सीमित बने । जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।

    खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताए ।

  • विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

    विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्।

    सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ।
    फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको नाममा ४ गोल र २ असिस्ट छ।

    यस्तै फ्रान्सकै ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। सेमिफाइनल पुगेको अर्को टोली मोरक्कोका सर्वाधिक गोल गर्ने खेलाडी रहेका युसेफ एन नेस्रीको नाममा २ गोल रहेको छ। शनिबार भएको खेलमा एमबाप्पेले गोल गर्न नसकेपछि तीन खेलाडीबीच बलियो प्रतिस्पर्धा देखिएको हो।

    जिरोडले गोल थप्दै एमबाप्पेसँगको अन्तर घटाए। यसअघि मेस्सीले पनि क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए।

  • यस्तो छ कतार विश्वकपको सम्भावित ४ उपाधि भिडन्त समिकरण

    यस्तो छ कतार विश्वकपको सम्भावित ४ उपाधि भिडन्त समिकरण

    काठमाडौं । कतारमा जारी विश्वकपमा सेमिफाइनल समिकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियाको सामना गर्ने छ।

    मोरक्को पहिलोपटक सेमिफाइनल पुगेको हो भने क्रोएसिया साविक उपविजेता भएपनि हालसम्म उपाधि जित्न सकेको छैन। फ्रान्स र अर्जेन्टिना दुवै दुईपटकका विजेता हुन्।

    अन्तिम चार पुग्ने टोलीको टुंगो लागेसँगै फाइनल भिडन्तका चार समिकरण पनि तय भएका छन्। क्रोएसियाले अर्जेन्टिनालाई पराजित गरेकामा फाइनलमा की त फ्रान्स या मोरक्कोसँग खेल्ने छ। यस्तै अर्जेन्टिनाले क्रोएसियालाई हराएमा फाइनलमा की त फ्रान्स या मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ।

    अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल आगामी मंगलबार हुने छ। यस्तै बुधबार फ्रान्स र मोरक्को भिड्नेछन्।

  • रोनाल्डोको विश्व कीर्तिमानी करियरमा लेखिएन विश्वकप उपाधि

    रोनाल्डोको विश्व कीर्तिमानी करियरमा लेखिएन विश्वकप उपाधि

    काठमाडौं। कतारमा जारी विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएसँगै पाँच पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो खेलाडी जीवनमा विश्वकप उपाधिविहिन हुने पक्का भएको छ।

    ३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरिनसकेपनि आगामी विश्वकप उनले खेल्ने सम्भावना शुन्यजस्तै छ। शनिबार राति अफ्रिकी टोली मोरक्कोसँग १–० गोलले पराजित भएपछि रोनाल्डो भक्कानिएका थिए। उनी कसैसँग कुरा नगरी ड्रेसिङ रुमतर्फ लागेका थिए।

    उनलाई प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफमा मात्र मैदान छिराएका थिए। मैदान छिरेलगत्तै पेपेले उनलाई कप्तानको आर्मब्यान्ड सुम्पिए पनि पोर्चुगलले पहिलो हाफमा १–० ले पछाडि परेको स्थिति उल्टाउन सकेन।

    लगातार कप्तानलाई बेन्चमा राख्ने सान्तोशको निर्णयले उनीहरुबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको आँकलन गरिएको छ। बेन्चमा सिमित हुन थालेपछि रोनाल्डोले म्यानचेस्टर युनाइटेडबारे आक्रामक अन्र्तवार्ता दिएका थिए।

    सोही कारण विश्वकपको पूर्व सन्ध्यामा म्यान युनाइटेड रोनाल्डोसँग सम्झौता तोड्न राजी भएको थियो। विश्वकपको समूहगत चरणका सुरुवाती तीन खेलमा दास्रो हाफमा प्रतिस्थापन भएका रोनाल्डो प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डबिरुद्ध सुरुवाती–११ मा सिमित भएका थिए। सान्तोषले करियरको अन्त्यतिर आइपुगेका रोनाल्डोको सम्मान गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ।

    कहिल्यै विश्वकप जित्न नसकेको पोर्चुगल रोनाल्डोको करियरमा सेमिफाइनलसम्म मात्र पुग्यो। सन् २००६ को विश्वकपमा पोर्चुगल अन्तिम चारसम्म पुगेको थियो। सन् २०१० र २०१८ मा प्रिक्वाटरफाइनलसम्म पुगेको थियो भने सन् २०१४ मा समूहगत चरणबाटै बाहिरिएको थियो।
    रोनाल्डोले विश्वकप उपाधि जित्न नसकेपनि विश्वकपमा विश्वकीर्तिमान भने बनाउन सफल भए।

    उनी लगातार पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी रहेका छन्। जारी विश्वकपमा एक गोल गरेका रोनाल्डोको विश्वकप गोल संख्या ८ रहेको छ। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् जुन कीर्तिमान तोडिन सक्ने सम्भावना अबका केही वर्षमा देखिँदैन। यस्तै युरोपियन च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।

    क्लब करियरमा सात सयभन्दा बढी गोल गरेका रोनाल्डाले पोर्चुगलका लागि एक सय १८ गोल गरेका छन्। उनी क्लब र राष्ट्रका लागि समेत जोडेर करियरमा सबैभन्दा बढी गोल गर्ने विश्व कीर्तिमानी खेलाडी हुन्। यीबाहेक उनका नाममा अन्य केही लोभलाग्दा विश्व कीर्तिमानहरु प्नि रहेका छन्।

    सर्वकालिन महान् खेलाडीको बहसमा रहने गरेका रोनाल्डो र उनका समकालिन लियोनल मेस्सीबीच को बढी उत्कृष्ट भन्ने विवाद वषौँदेखि चल्दै आएको छ। रोनाल्डोका कतिपय कीर्तिमानलाई उनीभन्दा दुई वर्ष कान्छा मेस्सीले पछ्याइरहेका छन्।

    विश्वकप उपाधि जित्न नसकेका मेस्सीको टोली अर्जेन्टिना भने यसपटक सेमिफाइनल पुगिसकेको छ र पहिलोपटक उनी विश्वकप जित्ने सपना पुरा गर्न खोज्दैछन्। यता क्लबसमेत आफुसँग नरहेको अवस्थामा रोनाल्डो निकै संकटमा देखिन्छन्।

  • विश्वकपः इङल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

    विश्वकपः इङल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

    काठमाडौं । इङल्यान्डलाई २–१ गोलकाे नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।

    अल बायट रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन अउरेलिन चोआमेनी र आलिभर जिरुडले गोल गरे ।

    खेलको १७औं मिनेटमा चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता बचाउन नसक्दा ह्यारि केनले ५४औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

    चोआमेनीले वेलिङघामलाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै केनले बराबरी गोल फर्काएका थिए ।

    जिरुडले ७८औं मिनेटमा एनटोनी ग्रिजमेनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    कप्तान केन ८४औं मिनेटमा पेनाल्टिमा चुक्दा इङल्यान्ले खेलमा फर्किने मौका खेर फालेको थियो ।

    फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । यसअघि मोरक्को पोर्चुगललाई १–० गोलको नतिजमा पराजित गर्दै अन्तिम ४ मा पुगेको थियो ।

    यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा अर्जेज्टिना र साविक उपविजेता क्रोएसिया प्रतिस्पर्धा गर्नेछन् ।

    रुसमा भएको विश्वकप २०१८मा तेस्रो स्थानको प्लेअफमा बेल्जियमसँग २–० गोलको नतिजामा पराजित भएको थियो । भने, २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्स लगातार दोस्रो पटक अन्तिम ४ मा पुगेको हो ।

  • विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि

    विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि

    काठमाडौं । अउरेलिन चोआमेनीको गोलमा साविक विजेता फ्रान्सले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत इङल्यान्डविरुद्धको खेलमा पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।
    अल बायट रंगशालामा जारी खेलको १७औं मिनेटमा टुआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    इङल्यान्डले केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा बराबरी गोल फर्काउन सकेन ।

    यो खेलको विजेताले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

     

  • माेरक्काेले रच्याे इतिहास, पाेर्चुगललाई हराउँदै सेमिफाइनलमा

    माेरक्काेले रच्याे इतिहास, पाेर्चुगललाई हराउँदै सेमिफाइनलमा


    काठमाडौं । योसुफ–एन नेसेरिको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ

    अल थुमामा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको ४२औं मिनेटमा योसुफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

    सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार जित निकालेकाे मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।

    सन् २००६ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्ने अवसर खेर फाल्यो ।

    समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

    अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।

  • पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्को १–० ले अघि

    पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्को १–० ले अघि

    काठमाडौं । योसुफ– एन नेसेरीको गोलमा मोरक्कोले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत पोर्चुगलविरुद्धको खेलको पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ ।

    अल थुमामा रंगशालमा जारि खेलको ४२औं मिनेटमा योउसेफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

    समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

    अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।

    जारि खेलको विजेताले सेमिफाइनलमा आज राती हुने इङल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।