Category: फुटबल महासंग्राम

  • अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

    अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

    दोहा। युरोपले १६ वर्षयता अन्य महादेशलाई विश्वकपको उपाधि जित्न दिएको छैन। आइतबार राती कतारमा २२ औँ विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना उत्रँदा युरोपियन टोली विश्व फुटबलमा लगातारको दबदबा कायम राख्ने प्रयासमा रहने छ।

    सन् २०१० सम्म युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा नेदरल्यान्ड्स र स्पेन फाइनल पुगेपछि दक्षिण अमेरिकी टोलीको दबदबा तोडिएको थियो।

    नेदरल्यान्ड्सलाई फाइनलमा हराएर स्पेन युरोपबाहिर आयोजित विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो। सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा दक्षिण अमेरिकी टोली फाइनलसम्म पुगेपनि जर्मनीले अर्जेन्टिनालाई १(० गोलले हराएको थियो। चार वर्षअघि युरोपमै आयोजित संस्करणमा फाइनल पुगेका दुवै टोली युरोपेली थिए।

    विश्वकपका अघिल्ला २१ संस्करणमध्ये ब्राजिलले पाँच पटक, इटाली र जर्मनीले ४र४ पटक, अर्जेन्टिना र उरुग्वे र फ्रान्सले दुई दुई पटक तथा स्पेन र इङ्गल्यान्डले एकएकपटक जितेका छन्।

    युरोपले १२ पटक र दक्षिण अमेरिकाले ९ पटक यो प्रतियोगिता जितेको छ। दक्षिण अमेरिकी टोलीले अन्तिम पटक सन् २००२ मा विश्वकप जितेको थियो। त्यति बेला एसियामा आयोजित संस्करणको फाइनलमा ब्राजिलले जर्मनीलाई हराएको थियो।

  • मेस्सीसँगै खेलेका स्कोलोनी जो उनकै प्रशिक्षक बनेर विश्व च्याम्पियन बन्न खोज्दैछन्

    मेस्सीसँगै खेलेका स्कोलोनी जो उनकै प्रशिक्षक बनेर विश्व च्याम्पियन बन्न खोज्दैछन्

    दोहा। अन्य प्रशिक्षकको तुलनामा उनी बढी शान्त देखिन्छन्। खेल भइरहँदा निकै गमेर खेल हेरिरहेका देखिने ४४ वर्षीय प्रशिक्षक लियोनल स्कालोनीले आइतबार हुने फाइनलमा जित हात पार्ने सके गौरवशाली इतिहास कोर्ने छन्। साबिक विजेता फ्रान्सविरुद्धको भिडन्तमा स्कालोनी अर्जेन्टिनी टोलीका प्रशिक्षक रहेका छन्।

    स्कालोनीले कुनै समय हाल अर्जेन्टिनी टोलीका कप्तान रहेका लियोनल मेस्सीसँगै खेलेका थिए। सन् २००६ को विश्वकपअन्तर्गत मेक्सिकोविरुद्ध भएको प्रिक्वाटरफाइनलमा मेस्सी र स्कालोनी एकसाथ मैदानमा थिए। राष्ट्रिय टोलीमा उनी जम्न सकेनन्।

    सन् २००३ मा सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका स्कालोनीका लागि सन् २००६ को विश्वकपमा मेक्सिकोविरुद्ध खेलेको खेल नै अर्जेन्टिनाका लागि खेलेको अन्तिम खेल बनेको थियो।

    विङ ब्याक पोजिसनबाट खेल्ने गरेका स्कालोनी व्यावसायिक फुटबलमा भने सन् २०१५ सम्म खेलाडी बनेर उत्रिएका थिए। त्यसबीचमा उनले इटालीका डिपोर्टिभो लाकोरुना, एटालान्टा, लाजियो, मालोर्काजस्ता क्लबका लागि धेरै खेले।

    सन् २०१६ को अन्त्यतिर उनलाई अर्जेन्टिनी टोलीको सहायक प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसअघि उनी एक वर्ष स्पेनिस क्लब सेभिल्लाको सहायक प्रशिक्षक रहेका थिए। सन् २०१८ को विश्वकपमा अर्जेन्टिना प्रिक्वाटरफाइनलबाटै बाहिरिएर जर्जी साम्पोलीले राजीनामा दिएपछि स्कालोनीले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए।

    उनकै प्रशिक्षणमा अर्जेन्टिना सन् २०१९ को कोपा अमेरिकामा सेमिफाइनलसम्म पुग्यो। सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले ३६ खेलसम्म हार बेहोरेन।

    त्यसबीचमा कोपा अमेरिका जितेर करिब तीन दशकयता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको उपाधि खडेरी टारेको थियो। जारी विश्वकपको आफ्नो पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा टुंगिएको हो।

    त्यसयताका सबै खेल जितेर अर्जेन्टिना फाइनल पुगेको छ। गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका स्कालोनी यसपटक विश्वकप उपाधिनजिक रहेका छन्।

  • ६ वर्षअघि नै राष्ट्रिय टोलीबाट सन्‍न्‍यास लिएर फर्किएका मेस्सी : विश्वकप चुम्ने अन्तिम अवसर

    ६ वर्षअघि नै राष्ट्रिय टोलीबाट सन्‍न्‍यास लिएर फर्किएका मेस्सी : विश्वकप चुम्ने अन्तिम अवसर

    इटहरी । सन् २०१४, २०१५ र २०१६ मेस्सीका खेल जीवनका सकसपूर्ण वर्षहरू थिए । सन २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेर पनि मेस्सीको समूह जर्मनीसँग १-० ले पराजित भयो । लगत्तै २०१५ मा चिलीमा भएको कोपा अमेरिकामा आयोजकसँग पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-१ ले पराजित भयो ।

    त्यसको ठीक अर्को वर्षपछि सन २०१६ मा अमेरिकामा भएको कोपा फाइनलमा पुनः चिलीसँगै अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४-२ ले हार्न पुग्यो । यो पराजयमा मेस्सीले एक पेनाल्टीसमेत मिस गरेका थिए ।

    तीन वर्षमा लगालग हार ब्यहोरेको अर्जेन्टिनाका कप्तान मेसीले अन्तर्राष्ट्रिय खेलकुदबाट सन्‍न्‍यासको घोषणा गरे । उनको सन्‍न्‍यासको खबर धेरै विश्व मिडियामा छायो । बीबीसी अनलाइनले सन् २०१६ जुन २७ मा हेडलाइन बनायोः ‘लियोनल मेस्सीः अर्जेन्टिनका फरवार्डले अन्तरास्ट्रिय खेलकुदबाट सन्‍न्‍यास लिए’ । यस्तै बेलायती समाचार संस्था रोयटर्सले सोहि दिन हेडलाइन बनायोः ‘मेस्सी भन्छन्- अन्तर्राष्ट्रिय खेलकुदबाट सन्‍न्‍यास लिएँ’ ।

    सन्‍न्‍यास लिँदा मेस्सीले भनेका थिए, ‘ड्रेसिङ रुममा मैले सोचेँ कि यो मेरो राष्ट्रिय टोलीको अन्तिम खेल हो । यो मेरो लागि हैन । म अहिले यही सोचिरहेको छु । यो फेरि पनि एक विशाल दुःख हो ।’

    सन्‍न्‍यास घोषणासम्म मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दा चार च्याम्पियन्स लिग र आठ ला लिगा जितेका मेस्सीले उत्कृष्ट खेलाडीलाई दिइने ‘बालोन डिओर’ पाँचपटक हत्याएका थिए । सन् २०१६ को कोपा फाइनलसम्म ओलम्पिकबाहेक अरु जिताउन नसकेकोमा व्यापक निराशा भएर सन्‍न्‍यास लिएका थिए ।

    उनको सन्‍न्‍यास पनि भारत भ्रमणमा आएका ब्राजिलका महान खेलाडी रोनाल्डिन्होले बेलायती समाचार संस्था रोयटर्ससँग मेस्सीले राष्ट्रिय उपाधि नजिताएपनि उनी महान खेलाडी भएको प्रतिक्रिया दिएका थिए । बार्सिलोनाको ‘नु काम्प’ मा आफूले मेस्सीलाई सिकाएको र मेस्सीले पनि आफ्ना देशका खेलाडी नेयमारलाइ त्यही सिकाएको प्रसंग ल्याउँदै उनले मेस्सी, आफू र आफ्नो देशको फुटबल सम्बन्ध जोड्न खोजेका थिए ।

    उनले भनेका थिए, ‘उनले साँच्चिकै अन्तर्राष्ट्रिय खेलबाट सन्‍न्‍यास लिएका हुन् भने खेलले उनलाई धेरै मिस गर्नेछ । अझैपनि उनी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन् । उनीप्रतिको मेरो सम्मान कुनै हालतमा परिवर्तन हुँदैन ।’

    बार्सिनोलाबाट क्लबबाट खेल्दा ज्यादै उपाधि पाएका मेस्सीले रास्ट्रिय टोलीबाट सन् २००८ को बेइजिङ ओलम्पिकको स्वर्ण पदकबाहेक केही हात नलागेपछि उनले हैरान भएर सन्‍न्‍यास घोषणा गरेका थिए । दुई महिना बित्दा नबित्दै उनको सन्‍न्‍यास टिकेन । मेसी राष्ट्रिय टोलीमा फर्किए र पुनः अन्तर्राष्ट्रिय हेडलाइन बने ।

    सन् २०१६ अगष्ट १३ मा बेलायती अखबार गार्जियनले अर्जेन्टिनी अखबार ला नासिओनलाई साभार गर्दै लेख्योः ‘सन्‍न्‍यास निर्णय रद्द गर्दै लियोनल मेस्सी पुनः अर्जेन्टिना टोलीमा’ । अर्जेन्टिनामा पुनः आएको बारेमा बोल्दै मेस्सीले एक वक्तव्यमार्फत भनेका थिए, ‘पछिल्लो (कोपा) फाइनलको दिन मेरो दिमागमा धेरै कुरा खेले र मैले गम्भिररूपमा सन्‍न्‍यास बारेमा सोचेको थिए । तर, म यो देश (अर्जेन्टिना) लाई माया गर्छु । यो सर्टलाई माया गर्छु ।’

    म्यारोडोनाको दुःखान्तपछिको मेस्सी करिअरको सुखान्त

    सन् २०२० नोभेम्बर २५ मा अर्जेन्टिनाका महान् खेलाडी म्यारोडोनाको मृत्यु भएको । उनको मृत्युको दु:खद क्षणको आठ महिना नलाग्दै अर्जेन्टिनाको फुटबलमा सुखद खबर आयो । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिलाई हराउँदै सन २०२१ जुलाई १० मा कोपा अमेरिका जित्यो । ब्राजिलको गृहमैदान माराकाना रंगशालामा १-० ले हराएर अर्जेन्टिनाले उपाधि जित्यो ।

    कोपा जितेको रापताप डेढ वर्ष पनि नपुग्दै अहिले अर्जेन्टिना विश्वकपको फाइनलमा मेस्सीको कप्तानीमा २०१४ पछि पहिलोपटक पुगेको छ । कतारको लुसेल रंगलाशामा आइतबार हुने फाइलन खेलमा अर्जेन्टिनाले जारी विजेता फ्रान्सलाई हराएमा मेस्सीको सन्‍न्‍यासबाट पुनः खेलमा आएको अर्थ धेरै कोणमा व्याख्या हुनेछ । म्यारोडोनाले हेर्न नपाएको मेस्सीको उपाधि भनेर चर्चा हुनेछ । फ्रान्ससँग हारेमा दुईपटक फाइलन पुर्‍याएर पनि नजित्ने अभागी कप्तानको ‘दाग’ समेत उनले बोक्ने छन् ।

  • अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीका नाममा ग्रह शान्ति पूजा

    अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीका नाममा ग्रह शान्ति पूजा

    हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् ।

    शनिवार मकवानपुरको हेटौँडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् ।

    उनले समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा–अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले ग्रह पूजा गरेको बताए ।

    मेस्सीलाई विश्वकप जित्न ग्रहहरूले वाधा–अड्चन नपुर्‍याओस् भन्ने उद्देश्यले ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए ।

    आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकपको फाइनल खेल हुँदै छ । उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । अर्जेन्टिना र फ्रान्स दुवैले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

    यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि पनि फ्रान्सले जितेको थियो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने योजनामा छ भने अर्जेन्टिना फ्रान्सलाई रोक्दै ३६ वर्षपछि विश्वकपको उपाधि हात पार्ने दाउमा छ ।

    अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।

  • विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, मेस्सीलाई अन्तिम अवसर

    विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, मेस्सीलाई अन्तिम अवसर

    दोहा। कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्। नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुने खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

    अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो । सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

    यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्नेक्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भयो। फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको हो। अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्ने छ। अन्तिम पटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो ।

    आइतबारको खेलमा धेरैको नजर लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ। ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो। उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।

    मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल भने प्राप्त गरेका थिए। उनले गत वर्ष मात्र अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्ने सपना पुरा गरेका थिए। ब्राजिलमा भएको कोपा अमेरिकामा फाइनलमा घरेलु टोलीलाई हराएर उपाधि जितेका थिए। त्यसयता कोपा अमेरिका च्याम्पियन र युरो कप च्याम्पियनबीच भएको भिडन्तको उपाधि पनि अर्जेन्टिनाले जितेको छ। मेस्सीले जारी प्रतियोगितामा ५ गोल र तीन असिस्ट गरेका छन्।

    उनले नकआउटका हरेक खेलमा गोल गरेका छन्। प्रतियोगितामा पहिलो खेल हारेको अर्जेन्टिनाले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन। प्रिक्वाटरफाइनलमा अस्ट्रेलियालाई २-१, क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएको अर्जेन्टिनाले सेमिफाइनलमा साबिक उपविजेता क्रोएसियालाई ३-० गोलले हराएको थियो। यता नयाँ पुस्ताका होनाहार एमबाप्पे लगातार दोस्रो पटक विश्व विजेता बन्ने प्रयासमा छन्। उनले पनि जारी प्रतियोगितामा ५ गोल र दुई असिस्ट गरेका छन्।

    सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको पनि दौडमा छन्। संयोग के छ भने मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन्।

    समूहगत चरणमा सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग पराजित भए पनि समूह विजेताका रूपमा अगाडि बढेको थियो। उसले प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३-१, क्वाटर फाइनलमा इङ्गल्यान्डलाई २-१ र सेमिफाइनलमा मोरक्कोलाई २-० गोलले हराएको थियो।

    अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४-३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।

    सन् १९३० र १९७८ मा आयोजित विश्वकपमा पनि यी दुई टोली भिडेका थिए। ती दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो।

  • मेस्सीले अर्जेन्टिनालाई १५ वर्ष अगाडि जर्सी नम्बर १५ बाट दिलाएको त्यो ओलम्पिक उपाधि

    मेस्सीले अर्जेन्टिनालाई १५ वर्ष अगाडि जर्सी नम्बर १५ बाट दिलाएको त्यो ओलम्पिक उपाधि

    इटहरी । सन २००८ मा बेइजिङ ओलम्पिक हुँदा ओलम्पिक भिलेजमा बस्नेहरूले सर्वाधिक तस्बिर लिइएकामध्ये एक खेलाडी थिए रोनाल्डिन्हो । सन २००२ को विश्वकप विजेता भएको रापतापका कारण रोनाल्डिन्हो विश्वभरमा झैँ नेपालमा पनि लोकप्रिय थिए ।

    ओलम्पिक भिलेजमा मौका पाउने नेपाली खेलाडीहरूले रोनाल्डिन्होसँग तस्बिर लिए । त्यही ओलम्पिक भिलेजमा रोनाल्डिन्हो आसपास अर्जेन्टिनाको टोलीका मेस्सीसँग भने धेरैले तस्बिर लिएनन् किनभने मेस्सीको त्यो समयमा अहिलेको जस्तो चमकधमक थिएन । स्पेनको क्लब बार्सिनोलाबाट इटालीको क्लब एसी मिलानमा गएका तत्कालका सबैभन्दा महँगा स्थापित खेलाडी रोनाल्डिन्होका अगाडि मेस्सी उदयमान खेलाडी त थिए । तर, अहिलेको स्तरमा चर्चित थिएनन् ।

    थुप्रै अन्तरवार्ताहरूमा मेस्सीलाई पत्रकारहरूले अहिलेसम्मको ‘अर्जेन्टिनाको जर्सी लाएर खेलेको सबैभन्दा सम्झिने खेल कुन हो’ भन्दा मेस्सीले धेरै पटक ‘बेइजिङ ओलम्पिक हो’ भनेका छन् ।

    स्पेनिस मिडिया ‘स्पेनिस इस्केरे’सँग मेस्सीले सन २०१७ मा भनेका थिए, ‘सन २००८ को ओलम्पिक स्वर्णलाई नै म सबैभन्दा धेरै महत्त्व दिन्छु किनभने यो जीवनमा एक पटक मात्रै खेलिने र धेरै खेल क्षेत्रका खेलाडीहरू सहभागी हुने प्रतियोगिता हो ।’ मेस्सीको ओलम्पिक साइनो जोड्न स्वयं ओलम्पिक कमिटी पनि खुशी छ । सन २०२१ अगस्ट २२ मा मेस्सीको ओलम्पिक खेलबारेमा उतथ्या नाग नामको बाइलाइन ओलम्पिक्स डकटममा प्रकाशन भएको छ ।

    मेस्सीले राष्ट्रिय जर्सी लगाएर खेलेको ओलम्पिक खेल नै धेरै महत्त्वपूर्ण भएको भन्नुमा प्रमुख कारण दुई वटा हुन सक्छन् । एक, सन २०२१ मा भएको कोपा अमेरिका जिताउनु बाहेक मेस्सीले राष्ट्रिय टोलीलाई कुनै विशाल प्रतियोगिता जिताउन सकेका छैनन् । सन २०१४ मा फाइनलमा पुगेर पनि विश्वकप नजितेका मेस्सीले राष्ट्रिय जर्सी लाएर जितेको विश्वस्तरीय उपाधि सन २००८ को बेइजिङ ओलम्पिक मात्रै भएकोले यसो भनेका हुन सक्छन् । दोस्रो कारण चै उनले देशलाई उपाधि दिलाउने प्रथम विश्वस्तरीय खेल त्यही भएकोले पनि उनले त्यसो भनेका हुन सक्छन् ।


    सन २००८ को अगस्टमा भएको बेइजिङ ओलम्पिक चीनले आयोजना गरेको पहिलो ओलम्पिक थियो । सँगै यो मेस्सीले खेलेको पहिलो र अन्तिम ओलम्पिक थियो । ब्राजिलको फुटबल टोलीले बेइजिङको साङ्घाइ रङ्गशालामा आयोजना भएको समूह चरणको खेलमा अर्जेन्टिनाको तर्फबाट पहिलो गोल मेस्सीकै थियो । ४३ औँ मिनेटमा मेस्सीले आइभोरी कोस्टका विरुद्ध गोल गरेर जित निकालेका थिए । उक्त खेल अगस्ट ७ मा भएको थियो । खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो । समूह चरणको अगस्ट १० को दोस्रो खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० तथा अगस्ट १३ को खेलमा सर्भियालाई २–० ले हराएको थियो ।

    समूह चरणको प्रथम खेलमा प्रथम गोल गरेर चुपचाप बसेका मेस्सीले क्याटरफाइनल खेलमा पनि पहिलो गोल गरेका थिए । अगस्ट १६ मा साङ्घाइ रङ्गशालामा भएको नेरल्याण्डसँगको खेलमा उनले १४ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

    अगस्ट १९ को ब्राजिलसँगको सेमिफाइनल खेलमा अर्जेन्टिनाले ३–० को जित निकालेको थियो भने फाइनलमा अगस्ट २३ मा नाइजेरियालाई १–० ले हराउँदै अर्जेन्टिना विजयी भएको थियो । सन २००४ को एथेन्स ओलम्पिकको उपाधिको अर्जेन्टिनाले रक्षा गरेर लगातार दोस्रो पटक विजेता बनेको थियो ।

    कोपा अमेरिकाको सन २००७ को उपाधिमा ब्राजिलसँग हारेको पीडामा सन २००८ को ओलम्पिक फुटबल स्वर्ण अर्जेन्टिना र मेस्सी दुवैलाई ठूलो राहत थियो । अझ रोचक कुरा सन २००७ को कोपा फाइनलमा ब्राजिलसँग ३–० ले पराजित अर्जेन्टिनाले बेइजिङ ओलम्पिकको सेमिफाइनलमा ब्राजिललाई ३–० ले नै हराएको थियो ।

    मेस्सीले अर्जेन्टिनाको जर्सी नम्बर १५ बाट ओलम्पिक खेल खेलेर उपाधि जिताएको पनि १४ वर्ष पुरा भएर गत अगस्टबाट १५ वर्ष लागेको छ । यो १५ वर्षमा मेस्सीले विश्व विजेताको टाइटलमा ओलम्पिक मात्रै राख्छन् कि विश्वकप पनि थप्छन् त्यो भने आइतबारको विश्वकप फाइनलको नतिजाले देखाउनेछ । १५ वर्ष अगाडिको चीनमा भएको जित जस्तै आइतबार कतारमा भएको फाइनमा पनि जित भए मेस्सीलाई एसिया लक्की भेन्यु मान्न सकिन्छ ।

  • विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

    विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

    काठमाडौं । मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ ।

    खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप २०२२ का कास्य पदक जितेको हो ।

    क्रोएसियालाई जित दिलाउन जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरक्कोका असरर्फ दारीले एक गोल गरे ।

    खेलको सातौं मिनेटमा भार्डियोलले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका दारीले बराबरी गोल फर्काए ।

    पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ओर्सिचले गोल गर्दै क्रोएसियाको अग्रता २–१ बनाएका थिए । सोहि अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले सानदार जित निकाल्यो ।

    क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० गोलको नतिजमा पराजित भएको थियो । मोरक्को भने, साविक विजेता फ्रान्ससँग २–० गोलको नतिजमा पराजित हुँदै तेस्रो स्थानका लागि क्रोएसियासँगको भेट पक्का गरेको थियो ।

    सन् १९८६ मा अन्तिम १६ सम्म पुगेको मोरक्कोले जारि विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेर इतिहास रचेको थियो । सन् २०१८ मा दास्रो भएको क्रोएसियाले त्यसअघि समूह चरण पार गर्न सकेको थिएन ।

  • मेस्सीको अभूतपूर्व सफलता र सन्निकट दिग्विजय

    मेस्सीको अभूतपूर्व सफलता र सन्निकट दिग्विजय

    अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो खेल जीवनको उत्तरार्धमा छन् । अन्तर्राष्ट्रिय फुटबल करियरबाट विश्राम लिनु पूर्व कतार विश्वकपमा मेस्सीको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट विश्वकप प्रदर्शन हो भन्दा अन्यथा हुनेछैन, त्यो पनि ३५ वर्षको बढ्दो उमेरमा ! आफ्नो करिअरको अन्तिम विश्वकप खेलिरहेका मेस्सी जति दबाबमा छन्, त्यति नै दुनियाँभरका फुटबल प्रेमीहरूको समर्थन र प्रशंसा पाइरहेका छन् । एकजना खेलाडीका लागि सफलता र सद्भावको धेरै ठूलो अर्थ र मूल्य हुन्छ, जुन मेस्सीले प्राप्त गरिसकेका छन्, गरिरहनेछन् !

    विश्व विजेता बनेर संसारलाई हाँक दिने मृगतृष्णा बोकेर मेस्सी-अर्जेन्टिनी समर्थक बाँचेको पनि आज ३८ वर्ष भएको छ । आफ्नै नायकत्वमा करिअरको अन्तिम विश्वकपको अन्तिम खेल खेल्न मैदा प्रवेश गर्न लागेका मेस्सीसँग विश्वस्तरको डिफेन्ससहित युवा खेलाडी, अनुभवी सहकर्मी, पेनाल्टी विज्ञ गोलकिपरको साथ छ । र, त्यसलाई साथ दिइरहेका मुख्य तीनवटा पक्ष छन्, उत्कृष्ट प्रशिक्षक, एकताबद्ध टोली र आत्मविश्वास सहितको जितको भोक । मेस्सीको अर्जेन्टिनालाई रोकेर विश्वकप जित्न फ्रान्सेली टोलीलाई कठिन मात्रै होइन नै असम्भव जस्तै छ ।

    यो स्मरण छ कि मेस्सी अर्जेन्टिनालाई विश्व विजेता बनाउने यात्राको धेरै नजिक पुगेका थिए, तर, त्यसमा युरोपेली टिम जर्मन भिलेन बन्यो र सन् २०१४ मा अर्जेन्टिना विश्व विजेता बन्नबाट धेरै नजिक पुगेरपनि वञ्चित हुनुपर्‍यो । विश्व विजेता, त्यो पनि आधुनिक फुटबलको, यो सजिलो कुरा भने पक्कै होइन ! कठोर लडाइँ पछिको दिग्विजयी हासिल गर्न अहिलेको अर्जेन्टिना सबल छ, योग्य छ ! उसका पछिल्ला ४२ मध्ये १ खेल मात्रै हारेको छ । ब्राजिल, इटाली, नेदरल्यान्डस्, क्रोएसिया, पोल्यान्ड र मेक्सीको जस्ता बलिया टोलीमाथि अर्जेन्टिना हावी हुँदै आएको छ । यो तथ्यले अर्जेन्टिना फ्रान्स भन्दा पनि राम्रो र विश्व विजेता बन्न लायक टिम हो भन्नेमा दुबिधा हुनेछैन ।

    सातौँ पटकका बालोन डि’ओर विजेता, सातै पटकका फिफा वर्ष खेलाडी, ६ पटकका युरोपियन गोल्डेन बुट बिजेता, ४ पटकको च्याम्पियनसिप लिग विजेता र अन्तर्राष्ट्रिय उपाधि तर्फ कोपा अमेरिका र कमनबेल यूईएफए कप च्याम्पियनसीप विजेता मेसीले सब थोक जितेका छन् !

    बार्सिलोनाबाट मात्रै ३५ बढी उपाधी विजेता मेस्सीले फुटबलमा जित्न बाँकी नै केही छैन, बाहेक फिफा विश्वकप ! आफ्नै कप्तानी र मुख्य प्रदर्शनमा उत्कृष्ट व्यक्तिगत तथ्यांक सहित कतार विश्वकपको फाइनलमा पुगेका मेस्सी २२ औं संस्करणको अरब विश्वकप जितेर आफूलाई Greatest Of All Time, अर्थात् GOAT प्रमाणित गर्न चाहन्छन् । शताब्दी फुटबलरको उत्कृष्ट पहिचान सहित आजीवन आफूमाथिको दबाब र आलोचनालाई साम्य पार्दै आफ्नो विशिष्ट खेल यात्राको ग्रेटफुल एक्जिट गर्न उद्धत मेस्सी आठौं पटकको बालोन डिओर अवार्डका समेत एक्ला हकदार बन्नेछन् ।

    ४ वर्षे उमेरदेखि फुटबल खेल्न सुरु गरेका मेस्सी १३ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए । झन्डै १७ वर्ष बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका मेस्सीले ३५ वटा उपाधि हात पारे । अघिल्लो सिजन, अर्थात् सन् २०२१ मा फ्रान्सेली क्लब पिएसजी पुगेका मेस्सीले पहिलो सिजन नै लिग वानका विजेता बन्न सफल भए ।

    तथ्याङ्कमा हेर्दा मेस्सी साँच्चिकै असाधारण छन्, अविश्वसनीय छन् ! जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियासँगको खेलसँगै मेस्सीले आफ्नो १००२ औँ खेलको आँकडा पुरा गरेका छन् । त्यस क्रममा उनले ७९१ गोल सहित ३४० गोलका लागि अवसर सिर्जना गर्न सफल छन् । ३५ वर्षीय स्टार स्ट्राइकर मेस्सीले यी सबै सफलता र कीर्तिमान आफ्नो उत्कृष्ट खेल शैली र असाधारण क्षमताले सम्भव भएको हो ।त्यसैले त उनी संसारभर जादुयी, अर्थात् म्याजिक मेस्सीको उपनामले विख्यात छन् ।

    १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेव्यू गरेका सुपरस्टारको नाममा ९६ गोलको रेकर्ड कायम छ । जारी विश्वकपमा साउदी विरुद्ध पेनाल्टीमा पहिलो गोल गरेका मेस्सीले फाइनल खेलसम्म आउँदा ६ खेलबाट ५ गोल र तीन असिस्ट पुरा गरिसकेका छन् । सन् २००६ को विश्वकपदेखि सुरु भएको उनको यो ५ औँ संस्करण विश्वकप हो । अन्तिम विश्वकपका लागि अर्जेन्टिनाबाट खेलिरहेका मेस्सीले सर्वाधिक ११ गोलको कीर्तिमान कायम गरेका छन् । उनी यसपटकको विश्वकप फुटबलमा गोल्डेन बुटका प्रमुख दाबेदार पनि हुन् !

    फुटबलमा हरेक सफलताको स्वाद चाखेका मेस्सीलाई विश्वकपको भोकले कहिल्यै छाडेन । मैले अगाडि पनि उल्लेख गरेँ कि मेस्सी ब्राजिलमा जारी विश्वकपको धेरै नजिक पुगेर पराजित हुनुपर्‍यो । त्यसबाट मेस्सीले यतिधेरै आलोचना र अपमान हुनुपर्‍यो कि मेस्सीले आफ्नै देशका समर्थकबाट आफ्नो जर्सीमा आगो लगाइएको हेर्नुपर्‍यो । उनको पुत्ला जलाइयो । त्यसबाट विक्षिप्त हुँदै फुटबलबाट संन्यासको घोषणा नै गरे । तर, अर्जेन्टिनाका तत्कालीन राष्ट्रप्रमुखदेखि संसारभरका फुटबल प्रेमीको सद्भाव र दबाबले उनलाई पुनः राष्ट्रिय टिममा फर्किन बाध्य पार्‍यो । हुनसक्छ, उनले आफ्नो अन्तिम विश्वकप अरब विश्वकप जित्नकै लागि उनी फुटबलमा फर्किएका त थिएनन् ? एउटा सिंगो रातको प्रतीक्षापछि यो कुरा थप पुष्टि हुनेछ !

    अतः अनेकौँ सफलता र कीर्तिमानले सुसज्जित मेस्सीको फुटबल करिअर साँच्चिकै असाधारण छ । तर, अन्तर्राष्ट्रिय करिअर भने अपेक्षित राम्रो हुन नसकेको साँचो हो । अघिल्लो वर्ष ब्राजिललाई उसकै भूमिमा हराएर दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका जित्यो । मेस्सीको मुख्य प्रदर्शन र कप्तानीमा अर्जेन्टिनालाई २८ वर्षदेखिको उपाधि विहीन यात्रामा पूर्णविराम लगाउँदै मेस्सीलाई समेत अन्तर्राष्ट्रिय उपाधि दिलायो । त्यही खेल, त्यही उपाधिको ऊर्जामा टेकेर अर्जेन्टिना विश्व विजेता बन्ने सपनालाई पुनर्जीवित गर्‍यो । र, आज त्यही ऊर्जा र प्रेरणाले अर्जेन्टिनालाई विश्वविजेताको सफलता नजिक पुर्‍याएको छ ।

    र, अरबमा मात्रै होइन, आज दुनियाँ नै मेस्सीमय बनेको छ । अर्जेन्टिनालाई ३६ वर्षपछि पुनः विश्व विजेता बनाएर फुटबल जगतमा पेले र म्याराडोनाको भन्दा फराकिलो पहिचान बनाउने ऐतिहासिक अवसर मेस्सीले जुनसुकै मूल्यमा पनि खेर फाल्न चाहँदैनन् । यसका अघि फ्रान्सेली टिम निष्प्रभावी हुने निश्चित जस्तै छ । अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्यको एक कदम मात्रै बाँकी रहँदा आधा धर्ती मेस्सीको ग्रेटफुल एक्जिटका लागि प्रार्थना गरिरहेको छ !

  • विश्वकप तेस्रो स्थानका लागि भिडन्त : दर्शकका लागि निरस, प्रतिस्पर्धिका लागि भने किन अर्थपूर्ण ?

    विश्वकप तेस्रो स्थानका लागि भिडन्त : दर्शकका लागि निरस, प्रतिस्पर्धिका लागि भने किन अर्थपूर्ण ?

    काठमाडौं । विश्वकपले तेस्रो स्थानको निर्णय गर्नका लागि सेमिफाइनलमा पराजित हुने दुई टिम बीचको खेल राख्ने गरेको छ । तर, यो खेल समग्र विश्वकपमा निरस हुने गरेको छ । तेस्रो स्थानको खेलका लागि समर्थकहरू पनि त्यत्ति उत्साहित हुँदैनन् ।

    कतारमा जारी फिफा विश्वकप २०२२ मा पनि तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । एक दिन पछि हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि सम्पूर्ण विश्व नै उत्साहित भइरहँदा तेस्रो स्थानको खेलले त्यति चर्चा पाएको छैन ।

    तर, क्रोएसिया र मोरक्कोका लागि शनिवार राती नेपाली समय अनुसार ८ः४५ बजे किक–अफ हुने यस खेलले ठूलो महत्त्व राख्दछ । यी दुवै टिमले अरूले के सोच्छन् भन्ने कुराको कुनै प्रवाह गरेका पनि छैनन् ।

    जारी विश्वकपको ‘अन्डर डग’ मोरक्कोको फाइनल यात्रामा साबिक विजेता फ्रान्स बाधक बनेको थियो । सेमिफाइनलमा फ्रान्ससँग २–० गोलको नतिजामा पराजित मोरक्कोले क्रोएसिया सँग पराजित भएपनि यसअघि नै इतिहास रचिसकेको छ ।

    समूह चरणदेखि विपक्षी टिमको एक गोल पनि नखाई अन्तिम चारमा पुगेको मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै नयाँ इतिहास रच्यो । यदि आजको खेलमा क्रोएसियालाई हराउन सके विश्वकपको कांस्य पदक जित्ने पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को स्थापित हुनेछ ।

    यस्तै, लगातार दोस्रो पटक फाइनल पुग्ने क्रोएसियाको विश्वकप यात्रामा अर्जेन्टिना बाधक बन्यो । सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाले मोरक्कोलाई आजको खेलमा पराजित गर्न सके तेस्रो स्थानमा चित्त बुझाउने छ ।

    यसअघि समूह चरणको खेलमा आमनेसामने हुँदा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए ।

  • तथ्यांकमा विश्वकपका २१ फाइनल, दुई देशबाट खेल्नेदेखि दुई संस्करणमा गोल गर्नेसम्म

    तथ्यांकमा विश्वकपका २१ फाइनल, दुई देशबाट खेल्नेदेखि दुई संस्करणमा गोल गर्नेसम्म

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको २२ औँ संस्करणको उपाधि विजेता आइतबार राति टुंगो लाग्दै छ । नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र अर्जेन्टिनामध्ये जो विजेता बनेपनि तेस्रोपटक यो प्रतियोगिता जित्नेछन् ।

    विश्वकपका अघिल्ला २१ वटा फाइनलमा विभिन्न कीर्तिमानहरु बनेका थिए  । ब्राजिलका भाभा र पेले, जर्मनीका पल ब्रेइटनर र फ्रान्सका जिनेदिन जिदान दुई वटा फाइनलमा गोल गर्ने खेलाडी हुन् ।

    जिदानले सन् १९९८ र २००६, भाभाले सन् १९५८ र १९६२, पेलेले १९५८ र १९७० विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्रेइटनरले सन् १९७४ र १९८२ को विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्राजिलका काफु विश्वकपका तीन फाइनल खेल्ने एक मात्र खेलाडी हुन् ।

    उनले १९९४, १९९८ र २००२ का फाइनल खेलेका थिए । लुइस मोन्टी दुई फरक देशबाट विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् । उनले सन् १९३० मा अर्जेन्टिनाबाट उरुग्वेविरुद्ध र सन् १९३४ मा इटालीबाट चेकोस्लोभाकियाविरुद्ध फाइनल खेलेका थिए ।

    सन् १९५८ को विश्वकपमा ब्राजिल र स्वीडेनबीच भएको फाइनलमा ब्राजिल ५-२ गोलले विजयी भएको थियो । फाइनलमा विजेता टोलीले यति धेरै गोल त्यसअघि र त्यसपछि कसैले गर्न सकेका छैनन् । उक्त विश्वकपमा ब्राजिलको पहिलो खेलमा सुरुवाती-११ मा नरहेका पेले, गारिन्चा, जाल्मा सान्तोस्, जितो र भाभाले फाइनलमा स्वीडेनविरुद्ध सुरुवाती-११ मा ठाउँ बनाएका थिए । त्यतिबेला १७ वर्ष मात्र रहेका पेले विश्वकपको फाइनल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

    स्वीडेनका ३५ वर्षीय निल्स लायधोल्म विश्वकपको फाइनल खेल्ने सबैभन्दा ज्येष्ठ खेलाडी बनेका थिए । सन् १९७४ को विश्वकपको फाइनलमा नेदरल्यान्ड्सका जोहान निस्केन्सले खेल सुरु भएको ८८ औँ सेकेन्डमै गोल गरेका थिए । विश्वकपको फाइनलमा यति छिटो गोल त्यसअघि र त्यसपछि भएको छैन ।

    निस्केन्सले प्राप्त पेनाल्टी अवसर सदुपयोग गरेका थिए । विश्वकपको फाइनलमा दिइएको त्यो पहिलो पेनाल्टी पनि थियो । विश्वकपको फाइनलमा विजेता टोलीलाई गोल नव्यहोरी फाइनल जित्न ६० वर्ष लागेको थियो । सन् १९९० को विश्वकपमा तत्कालीन पश्चिम जर्मनीले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो । त्यतिबेला जर्मनीको गोलकिपर रहेका बोडो इल्नर विश्वकप फाइनलमा गोल नव्यहोर्ने सबैभन्दा कान्छा गोलकिपर रहेका छन् ।

    सन् १९५४ को विश्वकप फाइनलमा जर्मनीले हंगेरीलाई ३-२ गोलले हराएर उपाधि जितेको थियो । खेलमा २-० गोलले पछाडि परेको अवस्थाबाट जर्मनी विजेता बनेको थियो । विश्वकप फाइनलमा २ गोलले पछाडि परेर पनि उपाधि जितेको त्यसअघि र त्यसपछि कसैले पनि छैन ।

    जर्मनीसँगको हारसँगै हंगेरीको ३० खेलको विश्व कीर्तिमानी अपराजित यात्रा टुंगिएको थियो । विश्वकपको टाइब्रेकरमार्फत विजेता टुंगो लगाएको पहिलो संस्करण सन् १९९४ को थियो । त्यतिबेला ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराएको थियो । त्यसयता एकपटक मात्र सन् २००६ को विश्वकप फाइनलमा इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । इङ्ल्यान्डका जियोफ हर्स्ट विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एक मात्र खेलाडी हुन् ।

    उनले सन् १९६६ को विश्वकपमा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । निर्धारित समयमा एक गोल गरेका हर्स्टले अतिरिक्त समयमा दुई गोल गरेका थिए । उक्त खेलमा दुई असिस्ट गरेका इङ्ल्यान्डका बबी मुर्रे विश्वकप फाइनलमा दुईवटा असिस्ट गर्ने पेलेबाहेकका एक मात्र खेलाडी हुन् । यस्तै एकै खेलाडीलाई दुई असिस्ट गर्ने उनी मात्र हुन् ।

     

  • कतार विश्वकप : सेमिफाइनलसम्म ६२ खेलमा १६३ गोल, पेनाल्टीमा ११

    कतार विश्वकप : सेमिफाइनलसम्म ६२ खेलमा १६३ गोल, पेनाल्टीमा ११

    दोहा । कतारमा जारी २२औं विश्वकप फुटबलको सेमिफाइनलसम्म भएका ६२ खेलमा १६३ गोल भएका छन् । यीमध्ये ११ गोल पेनाल्टीमार्फत भएका हुन् ।

    प्रतियोगितामा अब तेस्रो स्थान र फाइनल खेल बाँकी छ । सेमिफाइनलसम्म १६ वटा पेनाल्टी भएकामा ११ वटा गोलमा परिणत भएको छ । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सीले मात्र ३ गोल गरेका छन् ।

    अर्जेन्टिनाका लियोनल मेस्सी, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, इङ्ल्यान्डका ह्यारी केन, क्यानडाका अल्फेन्सो डेभियस र साउदी अरबका सलिम अल दासरी एकएक वटा पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

    विश्वकप इतिहासमा एकै संस्करणमा १७१ सम्म गोल भएको छ । सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकप र २०१४ मा ब्राजिलमा आयोजित संस्करणमा समान १७१ गोल भएको थियो ।

    जारी प्रतियोगितामा फ्रान्स र इङ्ल्यान्डले सर्वाधिक १३ गोल गरेका छन् । पोर्चुगल र साउदी अरबको १२-१२ गोल रहेको छ । वेल्स, ट्युनिसिया, कतार, डेनमार्क र बेल्जियमले एक-एक गोलमात्र गर्न सके । ७ टोलीले ५-५ र ४ टोलीले ४-४ गोल गरेका छन् । ३-३ गोल गर्ने टोलीको संख्या पनि ४ रहेको छ ।

    जारी प्रतियोगितामा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने टोलीमा स्पेन परेको छ। स्पेनले कोस्टारिकालाई ७-० गोलले हराएको थियो ।

    जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एमबाप्पे र मेस्सीको ५-५ गोल छ । फ्रान्सका ‌‌‌ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले ४-४ गोल गरेका छन् ।

  • फाइनलअघि टीमको प्रशिक्षणमा देखिएनन् मेस्सी

    फाइनलअघि टीमको प्रशिक्षणमा देखिएनन् मेस्सी

    दोहा । आइतबार हुने विश्वकप फाइनलको लागि अर्जेन्टिनाले गरिरहेको नियमित प्रशिक्षणमा बिहीबार कप्तान लियोनल मेस्सी देखिएनन् । सेमिफाइनलमा उनी क्रोएसियाविरुद्ध अन्तिम समयमा असहज देखिएका थिए । उनले पिडुँला समाइरहेको देखिएकाले ह्यामस्ट्रिङको समस्या आएको हुन सक्ने अनुमान गरिएको छ ।

    अर्जेन्टिनी समाचार संस्था क्लारियनले भने मेस्सीमा कुनै समस्या नरहेको भन्दै फ्रान्सविरुद्ध हुने फाइनल खेल्ने उल्लेख गरेको छ ।

    ३५ वर्षीय मेस्सी अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाउने महत्वपूर्ण जिम्मेवारीमा छन् । उनी जारी विश्वकपमा ५ गोल र ३ असिस्टसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

    फ्रान्सका केलियन एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन् ।

  • रोनाल्डोलाई बेन्चमा राखेर विवादित बनेका प्रशिक्षक सान्तोष बर्खास्त

    रोनाल्डोलाई बेन्चमा राखेर विवादित बनेका प्रशिक्षक सान्तोष बर्खास्त

    लिस्वन। पोर्चुगिज फुटबल संघले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषलाई बर्खास्त गरेको छ।

    मिरर डट को डट युकेका अनुसार विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिएसँगै सान्तोष बर्खास्त भएका हुन्।

    सन् २०१४ मा उनी पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए।

    उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो। तर जारी विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि उनी विवादित बनेका थिए।

    सान्तोषले प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा रोनाल्डोलाई सुरुवाती-११ मा समावेश गरेका थिएनन्।

  • पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

    पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

    दोहा । कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् ।

    उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् ।

    भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल खेलाएका थिए ।

    ती दुई खेलमा विजयी भएका फ्रान्स र अर्जेन्टिनाले विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

  • जो १० वर्षअघि मेस्सीसँग तस्बिर खिचाउन आतुर थिए आज उनैसँग खेलिरहेका छन्

    जो १० वर्षअघि मेस्सीसँग तस्बिर खिचाउन आतुर थिए आज उनैसँग खेलिरहेका छन्

    दोहा। कतारमा जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३(० गोलले हराएर फाइनल यात्रा तय गरेपछि एउटा तस्बिर भाइरल भयो । उक्त खेलमा २ गोल गरेका जुलियान अल्भारेजले १० वर्षअघि फ्यानका रूपमा लियोनल मेस्सीसँग खिचाएको उक्त तस्बिर निकै मर्मस्पर्शी थियो।

    कुनै समय अर्जेन्टिनाका लागि खेल्ने सपना बुन्दै गर्दा अल्भारेजले १२ वर्षको उमेरमा मेस्सीले विश्व क्लब फुटबलमा राज गरिरहेका बेला उक्त तस्बिर खिचाएका थिए। सायद त्यतिबेला मेस्सीका लागि ती बालक एक सामान्य समर्थकजस्तै थिए। तर समय क्रममा उनै बालक अर्थात् जुलियान अल्भारेज मेस्सीसँग ड्रेसिङ रुम सेयर गर्न सफल भए, मेस्सीको विश्वकप सपना कायम राख्न एक सहयात्री बने। मेस्सीले २२ वर्षीय अल्भारेज अद्वितिय रुपमा देखिएको बताएका छन्।

    ‘कसैले पनि कल्पना गरेका थिएनन् की अल्भारेजको सहभागिता रहन्छ र यस किसिमको महत्त्व उनले देखाउने छन्’, मेस्सीलाई उद्धृत गर्दै बिबिसी लेख्छ, ‘ उनले जुन सहयोग हामीलाई गरेका छन् त्यो विशेष छ।’

    सेमिफाइनलमा अल्भारेजले गरेका दुई वटै गोल स्तरीय रहे। पहिलो गोल उनले आफ्नै क्षेत्रबाट अगाडि बढाउँदै, विपक्षी केही खेलाडीलाई छक्याएर सिक्स यार्डबाट गोल गरेका थिए। दोस्रो गोल उनले मेस्सीको शानदार असिस्टमा गरेका थिए। त्यसअघि मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। अल्भारेजलाई डिबक्सभित्र लडाइएपछि मेस्सीले प्राप्त पेनाल्टी अवसर सदुपयोग गरेका हुन्।

    यतिबेला आइतबार हुने साबिक विजेता फ्रान्सविरुद्धको उपाधि भिडन्तमा अर्जेन्टिनाका प्रमुख दुई हतियारका रूपमा मेस्सी र अल्भारेज देखिएका छन्। जारी प्रतियोगितामा अर्जेन्टिनाले गरेका १२ गोलमा ९ गोल यी दुई खेलाडीबाट भएको छ। मेस्सीले ५ गोल र तीन असिस्ट तथा अल्भारेजले ४ गोल गरेका छन्।

    ‘यो प्रतियोगिताभर अल्भारेज अद्वितिय देखिएका छन्। उ सबै कुराका लागि लडिरहेका छन्- ‘अवसर सृजना गरिरहेका छन्, जुधिरहेका छन्। उ हामीले फेला पारेको आश्चर्य हो’, मेस्सीले भनेका छन्।

    सन् २०२१ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका अल्भारेजले अर्जेन्टिनाका लागि हालसम्म १८ खेल खेल्दै ७ गोल गरेका छन्। उनी यू-२० र यू-२३ राष्ट्रिय टोली हुँदै मेस्सीसँग खेल्न आइपुगेका हुन्। उनी यसै वर्ष इङ्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन्।

    जारी प्रतियोगितामा अल्भारेजलाई प्रशिक्षक लियोनल स्कोलोनीले पहिलो रोजाइका रूपमा सोचेका थिएनन्। तर लौतारो मार्टिनेज लयबाहिर देखिएपछि अल्भारेजले अवसर पाएका थिए।

  • म्याराडोना, सन् १९८६ को विश्वकप फुटबल फाइनल र म

    म्याराडोना, सन् १९८६ को विश्वकप फुटबल फाइनल र म

    २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा सरकार अपदस्त गरेर शासन हातमा लिँदा ब्राजिलमा थिएँ । ब्राजिलको पोर्ते एलिग्रे शहरमा । दक्षिण अमेरिका पुग्दा जताततै फुटबलमात्र होला जस्तो लाग्थ्यो । त्यसवेलाका चर्चित खेलाडी ब्राजिलका रोनाल्डोको ठूला होर्डिङहरु जताततै होलान् जस्तो लागेको थियो । तर, रोनाल्डोका होर्डिङ खासै देखिएनन् । बरु पेलेकै केही देखिए । रोनाल्डोका ठूल्ठूला कटआउट होर्डिङ नदेख्दा ब्राजिलमा के नपुगेको के नपुगेको जस्तो लागि रहने । साओ पाउलो हुँदै पोर्ते एलिग्रे पुग्दा मन खल्लो भएको जस्तो भइरहेको थियो ।

    पोर्ते एलिग्रे पुगेपछि कसैले भन्यो- यहाँबाट त अर्जेन्टिना नजिकै पर्छ । बजारमा पोर्ते एलिग्रे टु ब्युनस आयर्स बस सर्भिस लेखेको पनि देखियो । एक रातको बस यात्रामा अर्जेन्टिना पुगिने । कसैले भन्यो अर्जेन्टिना जान त बोर्डरमै भिसा पाइन्छ । यसअघि भारतबाहेक पाकिस्तानको मात्र भ्रमण गरेको मलाई ब्राजिल पछि एउटा नयाँ देश घुम्ने चाहनाले लालायित पार्‍यो । त्यसमाथि फुटबलको क्रेज भएको युवावस्थामा म्याराडोनाको देश । एकजना भारतीय साथी र मैले राति बस चढेर व्युनस आयर्स पुगेर दिउँसो एकछिन घुमेर फेरि फर्कने विचार गर्‍यौं । पहिले नै लिइसकिएको फर्कने टिकट पोर्ते एलिग्रेबाटै थियो ।

    तर, त्यसैवेला एक जना नेपाली साथीले भने- अर्जेन्टिनामा त नेपालीलाई देखी सहँदैनन्, नजानुस् है ! किन र भन्दा उनले भने फोकल्याण्ड वार थाहा छैन ? मन झसंग भयो । केही वर्ष पहिले बेलायत र अर्जेन्टिनाबीच फोकल्याण्ड टापु नियन्त्रणका लागि भएको युद्धमा बेलायतको तर्फबाट नेपाली गोरखा सैनिक लडेका थिए । अनि उनीहरुले नै वीरतापूर्वक युद्ध गरेर बेलायतलाई जिताए भनेर नेपालमा निकै सुनिने गरेको थियो ।

    सन् १९८६ मा नै हो धेरै नेपालीले पहिलो पटक प्रत्यक्ष विश्वकप फुटबल हेरेको । अनि त्यहीवेला निकै चर्चाको शिखरमा थिए म्याराडोना । मैले पनि पहिलो पटक १९८६ मा नै विश्वकपका केही खेल हेरेको थिएँ प्रत्यक्ष ।

    अनि सन् १९८६ को विश्वकपमा प्रख्यात ह्याण्डस् अफ गड गोलसहितको मद्दतले इंग्ल्याण्डविरुद्ध अर्जेन्टिना विजयी भएपछि म्याराडोनाले भनेका थिए रे, ‘धन्न इंग्ल्याण्डबाट खेल्ने गोरखा थिएनन् ।’ नेपालमा त त्यस्तै हल्ला थियो । मान्छे आफैंले सुनेको जस्तो ‘हो पक्कै हो’ भन्थे । कोही भन्थे अर्जेन्टिनाको रेडियोलाई अन्तर्वार्ता दिँदा म्याराडोनाले भनेका थिए । म्याराडोनाले साँच्चै त्यो वेला त्यस्तो भने या भनेनन् अहिलेसम्म पुष्टि भएन । तर, इंग्ल्याण्डसँगको खेल युद्ध लडेजस्तै खेलको चाहिं उनले ठाउँ-ठाउँमा भनेका छन् । जे होस्, त्यही डरले मलाई अर्जेन्टिना जान आँट चाहिँ आएन । म्याराडोनाको धर्ती टेक्ने इच्छा अझै पूरा भएको छैन ।

    सन् १९८६ मा नै हो धेरै नेपालीले पहिलो पटक प्रत्यक्ष विश्वकप फुटबल हेरेको । अनि त्यहीवेला निकै चर्चाको शिखरमा थिए म्याराडोना । मैले पनि पहिलो पटक १९८६ मा नै विश्वकपका केही खेल हेरेको थिएँ प्रत्यक्ष । नजिकैको घरमा एक जना अंकलकहाँ टीभी थियो त्यसवेला । सोनीको कलर टीभी । त्यसैमा हेरियो केही खेल राति भारतीय दूर दर्शनबाट प्रत्यक्ष । एन्टेना मिलाएर हेर्दा कुनै वेला झ्यार झ्यार आउँथ्यो, कुनै वेला राम्रो ।

    अर्काको घरमा राति सबै खेल हेर्न जान अप्ठेरो । उनीहरु हेर्छन् कि हेर्दैनन् कुरेर बस्नुपर्ने । मेरो अगाडि घरमा एक जना दाइ हुनुहुन्थ्यो । उहाँकै पछि लागेर राति जान्थें म । दाइ हेर्न जान लाग्यो भने बोलाउनु हुन्थ्यो । म दाइले कतिवेला बोलाउनु होला भनेर पर्खिएर बस्थें । कतिपय वेला दाइ बोलाउनु हुन्थ्यो, कहिले बोलाउनु हुँदैनथ्यो । आफू त अर्काको घरमा जाने, त्यसमा मलाई पनि सँगै लान अप्ठेरो लाग्थ्यो होला । धेरै खेल त मैले भोलिपल्ट बिहान हेरे नेपाल टेलिभिजनमा आउने रिप्ले । सफा कलर देखिन्थ्यो । तर, लाइभ हेर्नुको मजै अर्कै ।

    सबै भन्थे- क्या गज्जब गोल ! ६ जनालाई एक्लै छलाएर गोल गरे म्याराडोनाले । भोलिपल्ट बिहान स्कुल जाँदा त्यही चर्चा । जताततै म्याराडोना, म्याराडोना । काठमाडौंमा फुटबलको त्यस्तो क्रेज त्यसअघि देखिएको थिएन ।

    इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पनि हेर्न पाइएन । त्यो खेल भोलिपल्ट रिप्लेमा पनि हेर्न पाइएन । तर, भोलिपल्ट जताततै म्याराडोनाकै चर्चा हातले हानेको गोलको । अनि त्योभन्दा बढी उनले ६ जनालाई छलाएर एक्लै लगेर हानेको गोलको । सबै भन्थे- क्या गज्जब गोल ! ६ जनालाई एक्लै छलाएर गोल गरे म्याराडोनाले । भोलिपल्ट बिहान स्कुल जाँदा त्यही चर्चा । जताततै म्याराडोना, म्याराडोना । काठमाडौंमा फुटबलको त्यस्तो क्रेज त्यसअघि देखिएको थिएन ।

    हुन त मैले फुटबल विश्वकपबारे थाहा पाउन थालेको त्यसअघिको सन् १९८२ को स्पेनमा भएको विश्वकपदेखि हो । त्यसवेला चर्चा थियो पाउलो रोसीको । पेलेपछि कुनै फुटबल खेलाडीको धेरै चर्चा सुनेको र भनेको पाउलो रोसीकै थियो ।

    एक जना हजुरबुवा हुनुहन्थ्यो, सोभियत संघबाट इकोनोमिक्समा पीएचडी गर्नु भएको । सन् १९८२ को विश्वकपको हरेक म्याचको विवरण उहाँले सुनाउनु हुन्थ्यो- जिकोले फ्रीकिकमा कसरी आकर्षक गोल गरे ? फुटबलका सम्राट भनिने फ्रान्सका मिसैल प्लेटिनीले कसरी पेनाल्टी मिस गरे ? विश्वकप जीतको प्रवल दावेदार मानिएको ब्राजिलको टोली स्वदेश फर्कंदा उनीहरुले एयरपोर्टमै कसरी विरोधको सामना गर्नुपर्‍यो ? सबै कुरा उहाँको मुखबाट सुनिन्थ्यो । अनि फोटोहरु घरमा वेला वेलामा ल्याइने टाइम्स अफ इण्डियामा हेर्न पाइन्थ्यो ।

    सोभियत संघको टोलीको बढी कुरा सुनाउनु हुन्थ्यो उहाँ । सोभियत संघका त्यसवेलाका स्ट्राइकर ओलेग ब्लोखिम निकै चर्चामा थिए । म पनि त्यसवेला सोभियत संघकै समर्थक थिए । मैले पहिला सुनेका क्लबहरुको नाम पनि दिनामो किभ र दिनामो तिब्लिसी थियो । उनीहरुको खेलको निकै चर्चा सुनेको थिएँ मैले ती नै हजुरबुवाबाट ।

    सोभियत संघका त्यसवेलाका स्ट्राइकर ओलेग ब्लोखिम निकै चर्चामा थिए । म पनि त्यसवेला सोभियत संघकै समर्थक थिए । मैले पहिला सुनेका क्लबहरुको नाम पनि दिनामो किभ र दिनामो तिब्लिसी थियो ।

    खेल हेर्न पाएको चाहिँ विश्वकप सकिएको केही समयपछि हो । त्यस वेलाको विश्वकपको फाइनल देखाएको थियो म पढ्ने अमर आदर्श स्कुलमा प्रोजेक्टरबाट । पाउलो रोसीलाई देख्दा मेरो प्रतिक्रिया थियो- यो त कत्ति लडेको लडेकै हुँदो रहेछ । बल लाँदालाँदै लडेको जस्तो लाग्थ्यो मलाई । स्क्रिनमा फुटबल खेल हेरेको पहिलो अनुभव थियो त्यो ।

    सन् १९८६ मा केही खेल हेरियो प्रत्यक्ष पनि । अरु खेल नै रात रात जागेर अर्काको घरमा गएर हेरेको फाइनल नहेर्ने त कुरै थिएन । फाइनल हेर्ने तय भयो । अगाडिको घरको दाइले जानुभन्दा पहिले मलाई बोलाउनु हुने भयो । विश्वकपको फाइनल खेल त्यसमा पनि म्याराडोना चर्चाको शिखरमा हुँदाको रोमाञ्चक कम थिएन ।

    त्यसमाथि फुटबलको दादा जर्मनीसँगको खेल । त्यतिकै चर्चामा थिए जर्मनीका रुमेनिगे, रुडी भोलार, लोथार म्याथ्यु अनि गोलकिपर सुमाकर । जर्मनीका त कोच नै तगडा फ्रान्क बेकनबाउर । त्यस्तो टोलीलाई म्याराडोनाको अर्जेन्टिनाले कसरी टक्कर देला ? अनि कसरी हराउला तीब्र अभिलाषा थियो प्रत्यक्ष हेर्न ।

    राति पौने १२ बजे खेल हुने समयसम्म निद्रा लाग्ने कुरै भएन । ममी पनि मसँगै जागा हुनुभयो । म गएपछि सुतौला भनेर । दाइले बोलाउनु होला भनेर हामी पर्खिरहेका थियौं । समय घर्किंदै थियो । तर, दाइको बोलावट आएन । मरो छटपटी बढेको बढेयै । दाइको आवाज आउँदैन । खेलको समय भइसक्यो । म ममीसँग झगडा गर्न थालें । भनिदिनु न, दाइलाई बोलाइदिनु न भन्दै । ममी गएको छैन होला, गएको भए त बोलाई हाल्थ्यो नि भन्नु हुन्थ्यो ।

    ममीले हिँड्न त म फुटबल हेर्न जाने घरको ढोकासम्म पुर्‍याइदिन्छु तँ जानु भन्नुभयो । मलाई अर्काको घरमा एक्लै जाने आँट आएन । ममीले पनि भित्रसम्मै पुर्‍याइदिन्छु भन्न सक्नुभएन ।

    म छटपटिन्छु । कहिले ढोका खोलेर बाहिर हेर्छु, कहिले झ्यालबाट बाहिर हेर्छु । दाइको कुनै नामोनिसान छैन । दाइको घरमा बत्ती बलेको पनि देखिँदैन । खेल सुरु भइसक्यो । मलाई उकुसमुकुस भएको भय्यै । म छटपटाएको देखेर ममी पनि बेचैन त हुनु भयो । तर, राति अर्काको घरमा गएर सोध्न सक्नु भएन । खेल आधा हुन लागिसक्यो, म बेचैन भएर बसेको छु । ममीले हिँड्न त म फुटबल हेर्न जाने घरको ढोकासम्म पु¥याइदिन्छु तँ जानु भन्नुभयो । मलाई अर्काको घरमा एक्लै जाने आँट आएन । ममीले पनि भित्रसम्मै पु¥याइदिन्छु भन्न सक्नुभएन । मेरो इच्छामा पानी फेरिँदै थियो । म के नै गर्न सक्थें र ! ममीसँग झगडा गरिरहें अनेक कुरा बनाएर ।

    बुवा त्यस दिन घरमा हुनुहुन्नथ्यो । कता जानुभएको हो याद छैन । मलाई खेल हेर्न नपाएको निकै औडाहा भइरहेको थियो । त्यति पीडा मैले कहिल्यै महसुस गरेको थिइनँ । पूरै खेल अवधिभर म जागै रहें घडी हेर्दै । अब त दाइले बोलाउनु होला कि, उहाँले नै बिर्सिएर वा निदाएर ढिलो भएको हो कि ! उहाँ उठ्नु भएपछि आवाज आउँछ कि म आफैं पो त्यो घरसम्म जाने आँट जुटाउनसक्छु कि ! ममीले मेरो छटपटाहट देखेर ल हिँड म त्यो घरभित्रै पुर्‍याएर आउँछु पो भन्नुहुन्छ कि ! यस्तै हुँदाहुँदै खेलको अवधि सकियो । म बाहिर-भित्र गरी नै रहें । आँखाभरि आँसु थियो । पीडाले छटपटाएको थिएँ ।

    एकैछिनमा पल्लो घरमा दाइको घरको ढोका विस्तार खुलेको सुनियो । यसो चियाएर हेरें । दाइ त फुटबल हेरेर फर्किसक्नु भएको रहेछ । को जित्यो को हार्‍यो, त्यस रात मलाई केही थाहा भएन ।

  • सेमिफाइनलमा मोरक्कोलाई हराएपछि हाकिमीलाई एमबाप्पेले भने- दुखी नहुनु ब्रो, इतिहास बनाएका छौँ

    सेमिफाइनलमा मोरक्कोलाई हराएपछि हाकिमीलाई एमबाप्पेले भने- दुखी नहुनु ब्रो, इतिहास बनाएका छौँ

    काठमाडौं। कतारमा जारी विश्वकपको सेमिफाइनलमा बुधबार मोरक्कोलाई २-० गोलले हराएर फाइनल पुगेपछि फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले विपक्षी खेलाडी असरफ हाकिमीलाई दुखी नहुनु भन्दै सान्त्वना दिएका छन्।

    ट्वीटरमा खेलपछि हाकिमीसँगको तस्विर पोस्ट गर्दै एमबाप्पेले लेखेका छन्, ‘दुखी नहुनु ब्रो। तिमीहरुले जे गरेका छौ त्यसमा सबै जना गर्व गरिरहेका छन्। तिमीले इतिहास बनाएका छौ।’

    एमबाप्पे र हाकिमी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)बाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। मोरक्को क्वाटरफाइनलमा पोर्चुगललाई हराएपछि विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। उसले प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई पाखा लगाएको थियो।

  • २४ वर्षअघि जिदानले ब्राजिललाई निराश बनाएका थिए, फ्रान्सविरुद्ध मेस्सी सफल होलान् ?

    २४ वर्षअघि जिदानले ब्राजिललाई निराश बनाएका थिए, फ्रान्सविरुद्ध मेस्सी सफल होलान् ?

    काठमाडौं । सन् १९९८ को विश्वकप फ्रान्सका लागि खास थियो । एकातर्फ घरेलु मैदान अनि फाइनल यात्रा । अर्कोतर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने टोली साविक विजेता- ब्राजिल । चार वर्षअघि इटालीलाई टाइब्रेकरमा पराजित गरेर उपाधि जितेको ब्राजिल ३६ वर्षअघिको आफ्नै सफलता दोहोर्‍याउने प्रयासमा थियो- उपाधि रक्षा ।

    ८ वर्षअघि यस्तो सफलता नजिक पुगेको अर्जेन्टिना तत्कालीन पश्चिम जर्मनीसँग पराजित भयो । सन् १९९० विश्वकपको फाइनलमा अर्जेन्टिना उपाधि रक्षा गर्ने अभियानमा फाइनलसम्म पुगेपनि जर्मनी बदला लिन सफल भयो । तर, त्यो त्यति सहज भएन । ८५ औँ मिनेटमा आन्द्रेस ब्रेह्मले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई उपाधि जिताएका थिए । ६५ औँ मिनेटमा अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

    सन् १९८६ को विश्वकपमा पश्चिम जर्मनीलाई नै हराएर उपाधि जितेको अर्जेन्टिना लगातार विश्वकप जित्ने दुर्लभ अवसरमा चुक्यो । तर, ब्राजिलका लागि उपाधि रक्षा त्यति गाह्रो देखिएको थिएन सन् १९९८ मा, फाइनलसम्मको यात्रा हेर्दा । टोलीमा रोनाल्डो, रोबर्टो कार्लोस, डुंगा, रिभाल्डो, बेबेटोजस्ता होनाहार खेलाडी थिए । फाइनलमा भिड्नुअघिसम्म रोनाल्डोले ४ र अन्य तीन ब्राजिलियन खेलाडीले ३/३ गोल गरेका थिए रिभाल्डो र बेबेटोसहित ।

    समूहगत चरणमा दुई जित र एक हार व्यहोरेको ब्राजिलले प्रिक्वाटरफाइनलमा चिलीलाई ४-१ र क्वाटरफाइनलमा डेनमार्कलाई ३-२ ले गोलले हराएको ब्राजिलले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको थियो । यता समूहगत चरणमा तीनवटै खेल जितेको फ्रान्सले क्वाटरफाइनलमा पाराग्वेलाई १-० गोलले हराएको थियो । क्वाटरफाइनलमा साविक उपविजेता इटालीलाई टाइब्रेकरमा हराएको फ्रान्स सेमिफाइनलमा क्रोएसियामाथी २-१ गोलको जित निकाल्दै फाइनल पुगेको थियो ।

    फ्रान्सको त्यो पहिलो विश्वकप फाइनल यात्रा थियो । फाइनलसम्म पुग्दा थिएरी हेनरीले सर्वाधिक ३ गोल गरेका थिए । लिलियाम थुरामको नाममा २ गोल रहेको थियो । तर, एट्याकिङ मिडफिल्डर जिनेदिन जिदानले भने गोल गर्न सकेका थिएनन् । स्टेड डे फ्रान्समा भएको फाइनलमा ७५ हजार दर्शकसामु घरेलु टोलीले ब्राजिलसँग उपाधि भिडन्त गर्दै थियो ।

    फ्रान्स खरो उत्रियो, जिदान फाइनलमा आएर चम्किए । पहिलो हाफमै जिदानले दुई गोल गरे, फ्रान्सले खेल ३-० गोलले जित्यो र ब्राजिलको उपाधि रक्षा गर्ने प्रयास पूरा हुन सकेन । फ्रान्स विश्वकप जित्ने चौथो घरेलु टोली बन्यो । त्यसअघि सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्ल्यान्ड र सन् १९७८ मा अर्जेन्टिनाले मात्र त्यस्तो सफलता हात पारेका थिए । फ्रान्सले प्राप्त गरेको उक्त सफलता त्यसयता कुनैपनि टोलीले दोहोर्‍याउन सकेका छैनन् ।

    कतारमा जारी विश्वकपमा फ्रान्स उपाधि रक्षा गर्ने अभियान कायम राख्दै फाइनल पुगेको छ । अर्जेन्टिनालाई आईतबार हुने फाइनलमा पराजित गर्न सके फ्रान्स ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्ने छ ।

    फाइनलमा भिड्ने यी दुई टोलीबीच केही विशेषता छन् । दुवै टोलीले समूहगत चरणमा दुई जित र एक हार व्यहोरेका थिए । पहिलो खेलमा पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले अन्तिम खेल जितेरमात्र नकआउट चरणमा स्थान पक्का गरेको थियो । फ्रान्सले भने सुरुका दुवै खेल जितेर अगाडि बढ्ने निश्चित गरेको थियो ।

    फ्रान्स र अर्जेन्टिना दुवैले सेमिफाइनलमा गोल व्यहोरेनन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने शीर्ष चार खेलाडीमा फ्रान्स र अर्जेन्टिनाका दुई-दुई खेलाडी छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनल मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् भने फ्रान्सका केलियन एमबाप्पेको ५ गोल र २ असिस्ट रहेको छ । यस्तै फ्रान्सका ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले ४/४ गोल गरेका छन् ।

    ७ पटकका फिफा वर्ष खेलाडी मेस्सी पहिलो विश्वकप उपाधि जित्ने प्रयासमा रहेका छन् । यसअघि सन् २०१४ मा पनि उनी सम्मिलित अर्जेन्टिना फाइनल पुगेको थियो तर उपाधि भिडन्तमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो ।

  • फ्रान्सका ‘लक्की चार्म’ प्रशिक्षक डेस्च्याम्प्स

    फ्रान्सका ‘लक्की चार्म’ प्रशिक्षक डेस्च्याम्प्स

    काठमाडौं । फ्रान्स विश्वकपमा लगातार फाइनल पुग्दा प्रशिक्षक डिडियर डेस्च्याम्प्सले गौरवशाली इतिहास बनाएका छन् । उनी लगातार विश्वकपमा फाइनल पुर्‍याउने इतिहासकै चौथो प्रशिक्षक हुन् ।

    यसअघि सन् १९३४ र १९३८ मा इटालीलाई प्रशिक्षक भिट्टोरियो पोज्जोले फाइनल पुर्‍याएका थिए । त्यतिबेला दुवैपटक इटाली विजेता बनेको थियो । कार्लोस बिलार्डोले अर्जेन्टिनाले सन् १९८६ र १९९० मा फाइनलसम्म पुर्‍याएका थिए । सन् १९८६ मा पश्चिम जर्मनीलाई हराएर विजेता बनेको अर्जेन्टिना चार वर्षपछि सोही टोलीसँग पराजित भएर उपविजेतामा सिमित भएको थियो । ती दुवै विश्वकपमा जर्मनीलाई प्रशिक्षण गरेका थिए फ्रान्ज बेकनबेउरले ।

    विश्वकपमा हालसम्म दुईपटक मात्र साविक विजेता टोलीले उपाधि रक्षा गरेका छन् । सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलले त्यस्तो सफलता हात पारेका थिए । तर, लगातार दुईपटक उपाधि जित्ने प्रशिक्षक भने पोज्जो मात्र हुन् ।

    यसपटक अर्जेन्टिनालाई फ्रान्सले हराउन सके ६० वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने टोलीमात्र बन्ने छैन, प्रशिक्षक डेसच्याम्प्स ८४ वर्षपछि लगातार उपाधि जित्ने प्रशिक्षक बन्नेछन् । ११ वर्ष फ्रान्सका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका ५४ वर्षीय डेस्च्याम्प्स सन् २०१२ देखि फ्रान्सको प्रशिक्षक रहेका छन् । सन् २०१६ मा आयोजित युरोकपमा फ्रान्सलाई फाइनलसम्म पुर्‍याएका डेस्च्याम्प्सले गत सिजन यूईएफए नेसन्स लिगको उपाधि पनि जिताएका थिए ।

    डेस्च्याम्प्सकै कप्तानीमा फ्रान्सले सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्वकप जितेको थियो । त्यो फ्रान्सको पहिलो विश्वकप उपाधि थियो ।

  • सेमिफाइनलपछि देखिएको एम्बाप्पे र हाकिमीको ‘ब्रोमान्स’

    सेमिफाइनलपछि देखिएको एम्बाप्पे र हाकिमीको ‘ब्रोमान्स’

    काठमाडौं । विश्वकपको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गर्‍यो । सेमिफाइनल भिडन्तमा आमनेसामने भएका दुई टिमका सुपरस्टार खेलाडीहरू किलियन एम्बाप्पे र अश्रफ हाकिमीको ‘ब्रोमान्स’ अहिले सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेको छ ।

    एम्बाप्पे र हाकिमी क्लब फुटबलमा एउटै टिमबाट खेल्ने गर्छन् । उनीहरू दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लियोनज मेस्सीका सहयोगी खेलाडीहरू हुन् । यस विश्वकपमा यी तीनै सुपरस्टारहरूले अत्यधिक हाइलाइट बटुलिरहेका छन् । मेस्सीको चर्चा स्वाभाविक नै भयो, एम्बाप्पले पनि फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्योभन्दा बढी हाकिमीले पहिलोपटक आफ्नो देशलाई सेमिफाइनलमा पुर्‍याउन सफल भए ।

    सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले इतिहास रचेको छ र त्यसको सबैभन्दा ठूलो श्रेय हाकिमीले पाएका छन् । हिजोको म्याचपछि एम्बाप्पे र हाकिमीबीचको सौहार्दता मैदानमा छचल्किएको थियो । खेल सकिएपछि सेलिब्रेसनमा जानुअघि एम्बाप्पले हाकिमीलाई भेटे । उनीहरू दुवैले एक-अर्काको जर्सी साटासाट गरे । हाकिमीको जर्सी एम्बाप्पले र एम्बाप्पेको जर्सी हाकिमीले लगाएका थिए । यो दृष्यले विश्वभरका फुटबल फ्यानहरुलाई द्रविभूत बनाएको छ ।

    एम्बाप्पले सामाजिक सञ्जालमार्फत पनि हाकिमीप्रति सहानुभूति प्रकट गरेका छन् । उनले एकअर्कालाई अंगालेको तस्वीर पोस्ट गर्दै ट्वीटरमा लेखेका छन्, ‘दुखी नबन ब्रो । तिमीले जे गर्‍यो, त्यसका लागि सबै गौरवान्वित छन् । तिमीले इतिहास रच्यो ।’

    एम्बापेको यो सहृदयतापूर्ण ट्वीटलाई पनि धेरैले सराहना गरेका छन् । यद्यपि, उनले पोस्ट गरेको तस्वीरलाई लिएर कतिपयले ट्रोल पनि गरेका छन् ।

    एम्बाप्पे र हाकिमी सेमिफाइनलमा भिड्नु आफैंमा रोचक संयोग थियो । गत जनवरीमा पीएसजीले कतारको भ्रमण गरेको थियो । त्यहाँ खेलाडीहरुलाई केही रंगशालामा लगियो । एजुकेसन सीटीमा भ्रमणपश्चात एम्बाप्पेले यही ठाउँमा प्रतियोगिताका दौरान फ्रान्स र मोरक्कोको भेट हुने ठठ्यौलो भविष्यवाणी गरेका थिए, जुन तत्कालीन समयमा असम्भव प्रतित हुन्थ्यो ।

    ‘मेरो साथी, मैले तिमीलाई ध्वंस पार्नुपर्ने हुन्छ,’ एम्बाप्पेले हाकिमीलाई लक्ष्यित गर्दै जोक गरेका थिए, ‘त्यसले अलिकति मेरो मुटु दुख्नेछ, तर यो फुटबल हो । यो यस्तै हुन्छ ।’

  • टिटेदेखि एनरिकसम्मः यी हुन् विश्वकपको हारसँगै वहिर्गमित ७ प्रशिक्षक

    टिटेदेखि एनरिकसम्मः यी हुन् विश्वकपको हारसँगै वहिर्गमित ७ प्रशिक्षक

    काठमाडौं । विश्वकपमा एउटा सिङ्गो राष्ट्रको जिम्मेवारी आफ्नो काँधमा राखेर अगाडि बढ्नु कुनै प्रशिक्षकका लागि सामान्य काम पक्कै हैन । त्यसैले त भन्ने गरिन्छ, प्रशिक्षकहरुका लागि विश्वकप घाँटीमा झुण्डिएको तरवार हो ।

    आफूले सम्हालेको लिएको टिमलाई अपेक्षित सफलता दिलाउन नसकेपछि त्यसको सबैभन्दा चर्को दवाव प्रशिक्षकहरुलाई नै पर्छ । फलतः हरेकपटकको विश्वकप फुटबलमा थुप्रै प्रशिक्षकहरुले आफ्नो जागीर गुमाउने गरेका छन् । कसैले स्वैच्छिक राजीनामा दिन्छन् त कोही बर्खास्तीमा पर्छन् ।

    विश्वकप २०२२ पनि यसमा अपवाद हुन सकेन । यसपाली समूह चरणदेखि नै राम्रो नतिजा दिन नसकेका केही प्रशिक्षकहरुले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिएसँगै जिम्मेवारी पनि त्यागे । भने, कसैलाई सम्बन्धित संघहरुले वर्खास्त गरेका छन् ।

    प्रशिक्षकहरु जसले जिम्मेवारी त्यागेः

    ब्राजिलः टिटे

    ब्राजिलका प्रशिक्षक एडनर लियोनार्दो बाकी ‘टिटे’ नामले परिचित छन् । उनले विश्वकपसँगै आफ्नो सम्झौता सकिएपछि राजिनामा दिने पूर्वघोषणा गरेका थिए ।

    तर, त्यो क्षण उनले अपेक्षा गरेभन्दा छिटो आयो । जारी विश्वकपमा क्वार्टरफाइनल अन्तर्गत क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजमा पराजित भएसँगै ब्राजिल सेमिफाइनल पुग्न असफल भयो । ब्राजिल बाहिरिएसँगै टिटेले जिम्मेवारी त्यागेको घोषणा गरे ।

    टिटेले सन् २०१६ मा ब्राजिलको प्रशिक्षण सम्हालेका थिए । उनकै नेतृत्वमा ब्राजिल लगातार दुई पटक क्वार्टरफाइनलबाटै बाहिरियो । सन् २०१८ को विश्वकपमा पनि ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । त्यसबेला भने उनले राजीनामा दिएका थिएनन् ।

    टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा १२ औं कोपाअमेरिका उपाधि जितेको थियो ।

    ‘कहिलेकाहीँ हामी उत्कृष्ट प्रदर्शन गर्छौं । कहिले सोचेअनुरुप प्रदर्शन गर्न सक्दैनौं । यो सबै सामान्य हो । म नतिजाको सम्मान गर्छु,’ उनले क्रोएसियासँगको खेलपछि भने, ‘हारले पिडा दिन्छ, तर म आफंैमा शान्त हुन खोजिरहेको छु । एउटा चक्र समाप्त भयो र म मेरो बचनमा अडिग छु ।’

    नेदरल्यान्डस्ः लुइस भान गाल

    नेदरल्यान्ड्सका मुख्य पशिक्षक लुइस भान गालले अर्जेन्टिनासँगको हारपछि भने, ‘राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा यो मेरो अन्तिम कार्यकाल हो ।’

    नेदरल्यान्ड्सको प्रशिक्षकका रुपमा तेस्रो कार्यकाल बिताएका भान गालले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा नाटकियरुपमा पराजित भए लगतै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

    उनले अन्तिमपटक युरो २०२० मा टिमले राम्रो पदर्शन गर्न नसकेपछि राजीनामा दिने बताएका थिए । उनले नेदरल्यान्ड्ससँगको पहिलो कार्यकाल सन् २००० दखि २००२ सम्म विताएका थिए, जहाँ नेदरल्यान्ड्स विश्वकपमा छनोटसमेत हुन सकेन ।

    त्यसपछि १०१२ देखि २०१४ उनको दोस्रो कार्यकालमा नेदरल्यान्ड्स विश्वकप २०१४ को सेमिफाइनल पुगेको थियो ।

    ‘मलाई लाग्दैन हामी आज हामी हार्यौँ । यो एक पेनाल्टी सुटआउट मात्रै थियो । यो हाम्रो उपलब्धि हो । मैले केही कुरा छोडँे भने त्यो एउटा उत्कृष्ट टिम हो,’ उनले अर्जेन्टिनासँगको खेलपछि भने ।

    मेक्सिकोः जेरार्डो मार्टिनो

    मेक्सिको समूह चरणबाटै बाहिरिएपछि टिमका अर्जेन्टिनी प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले राजिनामा दिएका थिए । समूह चरणको पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलको मेक्सिकोले दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार बेहोर्यो । अन्तिम खेलमा साउदीअरबलाई २–१ गोलको नतिजामा पराजित गरेपनि मेक्सिकोले शीर्ष दुईमा रहेर अन्तिम १६ मा स्थान बनाउन सकेन ।

    ‘यो हारले एक जिम्मेवार व्यक्तिको रुपमा मलाई धेरै पिडा दिन्छ । यो असफलताको म पूर्णरुपमा जिम्मेवार छु,’ उनले अन्तिम खेलपछि भने ।

    ‘रेफ्रीले खेल सकिएको संकेत गरेसँगै मेरो सम्झौता पनि त्यहीँ सकिएको थियो । यहाँ त्योभन्दा धेरै गर्न सकिने केही छैन,’ मार्टिनोले भने ।

    मार्टिनोले सन् २०१९ जनवरीदेखि मेक्सिकोको जिम्मेवारी सम्हालेका थिए ।

    बेल्जियमः रोबेर्टो मार्टिनेज

    एभर्टनका पूर्व प्रशिक्षक मार्टिनेजले समूह चरणबाट बेल्जियम बाहिरिएसँग मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका थिए ।

    विश्व वरियताको दोस्रो नम्बरमा रहेको बेल्जियम पराजित भएसँगै मार्टिनेजले भने, ‘विश्वकप सुरु हुनुभन्दा अगाडी नै मैले यो निर्णय गरेको थिएँ । म सँधै दीर्घकालीन परियोजनाहरुमा काम गर्छु र तिनीहरुलाई अग्रिम रुपमा व्यवस्थापन गर्न आवश्यक छ ।’

    मार्टिनेजले सन् २०१६ मा बेल्जियमको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनकै नेतृत्वमा बेल्जियम २०१८ को विश्वकपमा तेस्रो भयो र युरो २०२० को क्वार्टरफाइनलसम्म पुग्यो ।

    घानाः ओट्टो एडो

    घानाका पूर्व खेलाडी एडोले केही सन्तोषजनक नतिजा आए पनि समूहको पुछारमा रहेर विश्वकप यात्रा टुङ्ग्याएपछि जिम्मेवारी त्याग गरे । घानाको अन्तिम खेल सकिएपछि उनले प्रशिक्षकको जिम्मेवारीबाट टाढिने निर्णय गरेका थिए ।

    घानाले दक्षिण कोरियालाई हराए पनि पोर्चुगल र उरुग्वेसँग पराजय बेहोर्यो । एडोले आफुले विश्वकप अगाडी नै यो निर्णय लिएको प्रष्ट्याए ।‘मैले जिम्मेवारी लिनेबित्तिकै भनेको थिएँ, यदि हामी विश्वकपमा छनोट भयौं अनि उपाधिनै जित्यौं भनेपनि यो मेरो अन्तिम प्रतियोगिता हो ।’

    एटो यसपछि फुटबल करियरमा आफुले केही समय बिताएको जर्मन क्लब बुरोसिया डर्टमन्डमा प्रशिक्षकको भुमिकामा फर्कनेछन् ।

    दक्षिण कोरियाः पाउलो बेन्टो

    पूर्व पोर्चुगिच खेलाडीसमेत रहेका बेन्टोकोले चार वर्षको कार्यकालपछि कतारमा जारी विश्वकपअन्तर्गत अन्तिम १६ मा ब्राजिलसँग पराजित भएसँगै जिम्मेवारी त्यागे । दक्षिण कोरियाले समूह चरण अन्तर्गतका खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । घानासँग पराजित भए पनि पोर्चुगललाई हराउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

    अन्तिम १६ मा ब्राजिलसँग पराजित भएपछि कोरियाको विश्वकप यात्रामा पुर्णविराम लाग्यो ।

    स्पेन: लुइस एनरिक

    स्पेनिस फुटबल संघले मोरक्कोसँग पराजित हुँदै स्पेन १६ बाट बाहिरिएपछि लुईस एनरिकलाई वर्खास्त गरेको छ । उनको ठाउँमा यू–२१ का प्रशिक्षक लुईस डेला फ्युन्तेले राष्ट्रिय टिमको जिम्मेवारी पाएका छन् ।

    एनरिकको नेतृत्वमा स्पेन २०२० को युरोमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । यस्तै, २०२१ को नेसन्स लिगमा फाइनल पुगेको थियो ।

    एनरिकले संघको निर्णयलाई स्विकार गर्दै सामाजिक सञ्जालमार्फत खेलाडी र समर्थकहरुलाई धन्यवाद दिँदै उनको स्थानमा आएका फ्युन्तेलाई आगामी यात्राका लागि शुभकामना दिएका थिए ।

  • पीएसजीमा तालमेल मिलाइरहेका मेस्सी र एमबाप्पे, विश्वकप उपाधि भिडन्तमा बन्यो ‘मिठो’ संयोग

    पीएसजीमा तालमेल मिलाइरहेका मेस्सी र एमबाप्पे, विश्वकप उपाधि भिडन्तमा बन्यो ‘मिठो’ संयोग

    काठमाडौं। समकालिन फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका उत्तराधिकारी बन्न सक्ने बलियो प्रत्यासी हुन् केलियन एमबाप्पे। उनै एमबाप्पेको टोली फ्रान्ससँग उपाधि भिडन्त गर्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी विश्वकपबाट बिदा हुँदैछन्।

    ७ पटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन्। एमबाप्पेले चार वर्षअघि किशोर अवस्थामै यो प्रतियोगिता जित्दै विश्वकपमा पेलेको कीर्तिमान चुमेका थिए।

    त्यतिबेला विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडी अवार्ड पाएका एमबाप्पे फेरी उपाधि जित्ने दौडमा छन्। विश्वकपमा अन्तिमपटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो। त्यतिबेला टोलीका प्रमुख सदस्य थिए पेले। संयोग नै मान्नुपर्छ, मेस्सी र एमबाप्पे फ्रान्सको पेरिस सेन्ट जर्मन(पीएसजीबाट व्यावशायीक फुटबल खेलिरहेका छन्।

    मेस्सीमाथि डोमिनेट गरिरहेका एमबाप्पे

    सन् २०२१ मा पीएसजी जाँदा मेस्सी ला लिगाको पछिल्लो सिजनको सर्वाधिक गोलकर्ता रहेका थिए। उनले २०२०र२१ सिजनमा ला लिगामा मात्र ३० गोल गरेका थिए। उता लिग वानमा एमबाप्पेको बर्चस्व थियो।

    उनी पनि लिग वानका पछिल्ला तीन सिजन सर्वाधिक गोलकर्ता रहेका थिए। ला लिगामा ८ सिजन सर्वाधिक गोलकर्ता रहेका मेस्सीका लागि पीएसजी गएको पहिलो सिजन खास रहन सकेन।

    उनले पीएसजीका लागि खेलेका ३४ खेलमा केवल ११ गोल गर्न सके। त्यसमा उनले लिग वानमा ६ गोल गरेका थिए। त्यो सिजन एमबाप्पे लिग वानका सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने खेलाडी बने।

    २०२१र२२ को त्यो सिजन एमबाप्पेले पीएसजीका लागि लिग वानमा २८ सहित ४६ खेलमा ३९ गोल गरेका थिए। उनले लिग वानमा १७ असिस्ट उपलब्ध गराएका थिए। मेस्सीले पीएसजीका लागि गरेको पहिलो गोल एमबाप्पेकै असिस्टमा थियो।

    मेस्सीले पनि सबै प्रतियोगितामा गरेर पीएसजीका लागि १४ गोल असिस्ट गरेका थिए। तीमध्ये धेरै एमबाप्पे र नेमारका लागि रहेका छन्।
    यो सिजन पीएसजीका लागि एमबाप्पेले लिग वानमा १२ गोलसहित २० खेलमा १९ गोल गरेका छन् भने मेस्सीले लिग वानमा ७ सहित १९ खेलमा १२ गोल गरेका छन्।

    पीएसजीमा मेस्सी र एमबाप्पको तालमेल जम्नेक्रम बढ्दो छ। मेस्सी १० असिस्टसहित यो सिजन लिग वानमा सर्वाधिक असिस्ट दिने खेलाडी हुन्। उनका आधाभन्दा बढी असिस्ट एमबाप्पेका लागि रहेका छन्।

    एमबाप्पेले पनि मेस्सीका केही गोलमा असिस्ट गरेका छन्। पीएसजीमा मेस्सी-एमबाप्पे तालमेल बढिरहँदा यी दुई खेलाडी विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्। यो भिडन्तलाई पुराना पुस्ताका अब्बल खेलाडी र नयाँ पुस्ताका अब्बल खेलाडीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

    संयोग नै मान्नुपर्छ, एमबाप्पे र मेस्सी जारी विश्वकपको गोल्डेट बुट प्रतिस्पर्धाका दुई बलिया प्रत्यासी हुन्। मेस्सीले ५ गोल र तीन असिस्ट तथा एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन्। मेस्सीले गरेका गोलमा तीनवटा पेनाल्टीमार्फत रहेका छन्। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका हुन्।

    एमबाप्पेले क्वाटरफाइनल र सेमिफाइनलमा भने गोल गर्न सकेनन्। एमबाप्पेले पछिल्लोपटक विश्वकप जित्दा उनी क्लब फुटबलमा माथी आउनेक्रममा थिए। तर यसपटक उनी मेस्सी, नेमारजस्ता खेलाडी रहेको टिममा राज गरिरहेका छन्। फिफा वर्ष खेलाडी, बेलोन डीअरजस्ता अवार्डको प्रतिक्षा यो विश्वकपमा प्राप्त उपलब्धीले उनको पुरा हुन सक्छ।

    र मेस्सीको टोलीमाथी प्राप्त जितले थप अर्थ राख्ने छ। एमबाप्पेले मेस्सीका समकालिन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गरेका छन्। पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डो करियरमा विश्वकप उपाधिविहिन भएर विदा हुनेक्रममा छन्।

    यता मेस्सी अन्तिमपटक विश्वकप खेलिरहेकाले यो अवसर गुमाउन चाहँदैनन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी फाइनल पुगेका थिए तर जर्मनी तगारो बनेपछि विश्व च्याम्पियन बन्ने उनको सपना अधुरै रहेको थियो।

  • अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप?

    अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप?

    काठमाडौं । कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

    बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो । माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।

    समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् । यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

    यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

    यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

    समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

    अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

    यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।

    समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

    यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।
    अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।

    अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

  • विश्वकपः फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, मोरक्को बाहिरियो

    विश्वकपः फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, मोरक्को बाहिरियो

    काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।

    अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।

    खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा लिएको १–० गोलको अग्रता मुआनीले ७९औं मिनेटमा दोब्बर पारे ।
    मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै फ्रान्सका लागि विजयी गोल गरे ।

    ओसुमाने डेम्बेलेको स्थानमा मैैदान प्रवेश गरेका मुआनीले ‘फस्ट चट’ मै गाल गरेका थिए ।
    मुआनीको गाल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल हो । यसअघि सन् १९६२ मा ब्राजिलका सेलेकोले गरेका थिए ।

    पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले निर्धारित समयसम्म गोल गर्ने कहि अवसर पाएपनि फिनिसिङमा चुकेको थियो ।

    फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बन्यो ।

    यससँगै फ्रान्स सन् १९९८ पछि चौथो पटक विश्वकप फाइनल पुगेको हो । त्यसयता २००६, २०१८ मा फाइनल पुगेको थियो ।

    विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि सनिबार क्रोएसियासँग खेल्नेछ।

    समूह चरणमा अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

    यसअघिका पाँच भेटमा फ्रान्स मोरक्कोसँग कहिले पनि पराजित भएको थएिन ।

    लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएकाे फ्रान्स समूह चरणकाे अन्तिम खेलमा ट्यूनिसियासँग पराजित भएपनि समूह विजेताकाे हैसियतले नकआउट चरण पुगेकाे थियाे । अन्तिम १६ मा पाेल्यान्ड र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

  • विश्वकप सेमिफाइनल: पहिलो हाफमा मोरक्कोविरुद्ध फ्रान्सलाई १–० को अग्रता

    विश्वकप सेमिफाइनल: पहिलो हाफमा मोरक्कोविरुद्ध फ्रान्सलाई १–० को अग्रता

    काठमाडौं । थियो हर्नान्डेजको गोलमा कतारमा जारी फिफा विश्वकप २०२२ सेमिफाइनल अन्तर्गत मोरक्कोविरुद्धको खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सले १–० गोलको अग्रता लिएको छ ।

    पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले केहि अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

    समूह चरणमा अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

    लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएकाे फ्रान्स समूह चरणकाे अन्तिम खेलमा ट्यूनिसियासँग पराजित भएपनि समूह विजेताकाे हैसियतले नकआउट चरण पुगेकाे थियाे । अन्तिम १६ मा पाेल्यान्ड र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

    यसअघिका पाँच भेटमा फ्रान्स मोरक्कोसँग कहिले पनि पराजित भएको छैन । पहिलोे पटक फ्रान्सलाई हराउँदै विश्वकपको फाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्ने लक्ष्यमा मोरक्को रहेको छ ।

    याे खेलकाे विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

  • आमालाई रङ्गशाला ल्याएर मनोबल बढाइरहेका मोरक्कोका खेलाडी

    आमालाई रङ्गशाला ल्याएर मनोबल बढाइरहेका मोरक्कोका खेलाडी

    दोहा । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक सफलता हात पारिरहँदा उसले फरक दृश्यहरू पनि देखाइरहेको छ। मोरक्कोका खेलाडीहरू आमालाई रङ्गशालामा दर्शक बनाएर खेल खेलिरहेका छन्।

    सफलतापछि उनीहरूले आमासँग खुसी साटिरहेको देखिन्छ। खेलाडीहरूले श्रीमती, गर्लफ्रेन्ड, छोराछोरी लैजाने पुरानै परम्परा भए पनि आमाहरूलाई दर्शक दीर्घामा राखेर खेल्ने गरेको चाहिँ नयाँ हो।

    क्वाटर फाइनलमा मोरक्कोले पोर्चुगललाई हराएर विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीका रूपमा कीर्तिमान बनाएपछि मिडफिल्डर सोफाइन बौफल आमालाई मैदानमै ल्याएर नाचेको देखिएको थियो।

    प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनविरुद्ध भएको टाइब्रेकरमा निर्णायक पेनाल्टीमा गोल गरेपछि डिफेन्डर अस्रफ हाकिमी दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

    आमासँग चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै ‘आई लभ यू मम’ लेखेका थिए। प्रशिक्षक वालिद रेग्रागुईले पनि आमालाई कतारमा ल्याएर खेल हेराइरहेका छन्। स्पेनसँगको खेलपछि उनले पनि दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

    परिवारसँगै लिएर आउनु विश्वकपमा माथिल्लो स्तरमा प्रदर्शन गर्ने टोलीको रणनीतिका लागि भएको रेग्रागुईले बताएका छन्। ‘हामीले स्टाफहरूसँग कुरा गरेपछि टिम स्प्रिरिट राम्रो हुने निष्कर्ष निकालेर परिवार लिएर आएका हौँ। यसले प्रतियोगितामा अगाडि बढ्न सहयोग गर्ने हाम्रो विश्वास थियो’, रेग्रागुईले भनेका छन्।

    त्यसबाहेक विश्वलाई मोरक्कोको संस्कृति देखाउन पनि त्यसो गरिएको उनको भनाई छ। भन्छन्, ‘हाम्रा खेलाडीहरू उनीहरूका परिवारसँग कति नजिक छन् भनेर देखाउने अवसर पनि हो यो। यो हाम्रो संस्कृतिको हिस्सा पनि हो जहाँबाट हामी आएका छौँ।’

    मिडफिल्डर इलियास चेयरले परिवारको सहयोग आफ्ना लागि सबथोक भएको बताउँछन्।

    ‘मेरा अभिभावक र श्रीमती यहाँ आएका छन्। मलाई लाग्छ सबै खेलाडीका अभिभावक र पारिवारिक सदस्यहरू यहाँ आएका छन्। यसले हामीलाई ठुलो शक्ति दिएको छ’, उनी भन्छन्।

    मोरक्कोले सेमिफाइनलमा बुधवार साबिक विजेता फ्रान्ससँग खेल्दै छ। मोरक्को सन् १९८६ यता पहिलो पटक नकआउट चरण पुगेर, त्यहाँबाट अगाडि बढ्दै सेमिफाइनलसम्म आइपुगेको छ।

    विभिन्न देशमा जन्मिएका एक दर्जनभन्दा बढी खेलाडीलाई राष्ट्रिय टोलिमा ल्याएर मोरक्कोले अहिले विश्वकप खेलिरहेको छ।

  • कतारबाट फर्किएपछि रिचार्लिसनले ढाडमा खोपे आफू, नेमार र रोनाल्डोको ट्याटु

    कतारबाट फर्किएपछि रिचार्लिसनले ढाडमा खोपे आफू, नेमार र रोनाल्डोको ट्याटु

    दोहा। ब्राजिलका युवा स्ट्राइकर रिचार्लिसनले ढाडमा आफू, नेमार र रोनाल्डोको ट्याटु खोपेका छन्।

    विश्वकपको क्वाटर फाइनलमा क्रोएसियासँग पराजित भएर बाहिरिएको चार दिनपछि रिचार्लिसनले ढाडमा खोपेको तीन जनाको अनुहार देखिने ट्याटु सार्वजनिक गरेका छन्।

    नेमार र रोनाल्डोप्रति सम्मान व्यक्त गर्दै उनले ट्याटु खोपेका हुन्। रोनाल्डोले ब्राजिलका लागि सन् २००२ मा विश्वकप उपाधि जितेका थिए। त्यसयता ब्राजिलले उपाधि जित्न सकेको छैन। नेमारले उपाधि जिताउन सक्ने अपेक्षा गरिए पनि सफल भएका छैनन्।

    यद्यपि उनले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको ७७ गोलको कीर्तिमान यसै विश्वकपमार्फत बराबरी गरेका छन्। उनले अर्को विश्वकप खेल्ने निश्चित छैन।

    रिचार्लिसन ब्राजिल फुटबलले आस गरेका खेलाडी हुन्। उनले कतार विश्वकपमा ३ गोल गरे।

    समूह चरणमा उनले गरेको एउटा गोलको निकै चर्चा भएको थियो।

  • गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

    गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

    काठमाडौं। कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्।

    अर्जेन्टिनाले फाइनल पुग्नेक्रममा खेलेका ६ खेलमा मेस्सी चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपनि गोल्डेन बल लियोनल मेस्सीलाई प्रदान गरिएको थियो।

    त्यतिबेला पनि मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए। विश्वकप इतिहासमा एकै खेलाडीले दुईपटक गोल्डेन बल जितेको इतिहास छैन।

    जारी विश्वकपमा मेस्सीले सर्वाधिक ५ गोल र ३ असिस्ट गरेका छन्। दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पेको नाममा ५ गोल र दुई असिस्ट रहेको छ।

    फ्रान्सकै ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले समान ४र४ गोल गरेका छन्। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले नकआउट चरणका तिन खेलमा एक एक गोल गरेका छन्।

    विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता फ्रान्सले माेरस्काेसँग खेल्दै छ। एमबाप्पेले क्वाटरफाइनलमा गोल गर्न नसकेपछि मेस्सी र जिरोड गोल्डेन बुटको दौडमा उनीसँगै देखिएका थिए।

  • मेस्सीले फाइनल खेलेर सन्यास लिने ?

    मेस्सीले फाइनल खेलेर सन्यास लिने ?

    काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल खेल आफ्नो विश्वकप यात्राको अन्तिम हुने बताएका छन् । अर्काे विश्वकप खेल्न आफू सक्षम नहुने उनको स्पष्टोक्ति छ ।

    मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको थियो। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

    ‘मैले यो हासिल गर्न सफल भएकोमा, मेरो विश्वकप यात्रालाई फाइनलमा अन्तिम खेल खेलेर समाप्त गर्न लागेकोमा धेरै खुशी छु,’ अजेन्टिनी मिडिया आउटलेट डियारियो डिपोर्टिभो ओलेमा मेस्सीले भनेका छन् ।

    उनी थप्छन्, ‘अब अर्को (विश्वकप) आउन धेरै वर्ष बाँकी छ र मलाई लाग्दैन कि म त्याे गर्न सक्नेछु । र, यसरी समाप्त गर्नु सर्वोत्कृष्ट हो ।’

    उनको बयानलाई केही अन्तर्राष्ट्रिय मिडियाले विश्वकपपछि सन्न्यास लिने संकेतको रुपमा समेत व्याख्या गरेका छन् ।

    अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।

    मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो।

  • सबै सेलिब्रेसनतिर लागे, तर डी मारियाले पहिला विपक्षी कप्तान मोड्रिचलाई भेटे

    सबै सेलिब्रेसनतिर लागे, तर डी मारियाले पहिला विपक्षी कप्तान मोड्रिचलाई भेटे

    काठमाडौं । कतारमा जारी विश्वकपको सेमिफाइनलमा मंगलबार राति क्रोएसियासँगको खेल सकिएको रेफ्रीले सिटी फुकेलगत्तै सबै अर्जेन्टिनी खेलाडी खुसियाली मनाउन लागे । मैदानभित्र पसेर एकले अर्कालाई बधाई दिइरहेका बेला एन्जेल डी मारियाले भने पहिला विपक्षी कप्तान लुका मोड्रिचलाई भेटे ।

    निराश देखिएका ३७ वर्षीय मोड्रिचलाई डी मारियाले सान्त्वना दिए । यी दुई पुराना साथी हुन् । डी मारिया र मोड्रिचले दुई वर्ष सँगै खेलेका थिए, रियल म्याड्रिडमा । त्यसैले मोड्रिचलाई सान्त्वना नदिई डी मारियाले टीम सेलिब्रेसनमा जाने मन गरेनन् । मोड्रिचको सम्भवत: यो अन्तिम विश्वकप हो ।

    उनकै कप्तानीमा चार वर्षअघि क्रोएसिया ऐतिहासिक यात्रा तय गर्दै फाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाविरुद्ध ३-० गोलले पछाडि रहेपछि मोड्रिच मंगलबार राति ८१ औँ मिनेटमा सब्स्टिच्युट भएका थिए । डी मारिया भने क्रोएसियाविरुद्ध मैदान उत्रिएनन् । चोटसँग जुधिरहेका डी मारियाले क्वाटरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध अन्तिम केही मिनेटमात्र खेलेका थिए ।

  • एउटा काँचो फुटबल फ्यानको साँचो बकपत्र

    एउटा काँचो फुटबल फ्यानको साँचो बकपत्र

    प्रसंग एक

    विद्यालय पढ्दाताका गाउँमा मोजाको भकुण्डो बनाएर खेलिन्थ्यो । बारीका कान्ला रंगशाला हुन्थे । हिउँदयाममा धुलो उडाउँदै वल्लो छेउबाट पल्लो छेउको पोस्टमा बल पुर्‍याइन्थ्यो । बाँसका टुप्पो गाडिएका पोस्टमा किपरको टाउकाभन्दा माथिबाट गएको भकुण्डो आउट हुन्थ्यो । बाँकी गोल हुन्थ्यो ।

    धुलाम्मे भूइँमा गुच्चा खेल्दाखेल्दा पट्पटी फुट्थे हातहरू । ठिहिर्‍याउने जाडो र धुलोले कक्रक्क परेका हुन्थे खुट्टाहरू । सिँगानको टाटो टाँसिएर चरचर भएका हुन्थे गालाहरू । र, पातला, होचा हाम्रा ज्यान बारीको कान्लामा वल्लो छेउ र पल्लो छेउ दगुर्थे । त्यो चिसोमा दगुर्न मेरो ‘इनर्जी ड्रिंक’ थियो, पेले ।

    पेले ‘इनर्जी ड्रिंक’ बन्नुको एकै कारण थियो, पेलेबारेको छोटो जीवनी । स्कुल लेभलको पुस्तकमा कति नै जानकारी हुन्थ्यो र ! तैपनि ऊ काफी थियो, हामी सबैलाई पेले बनाउन । खेल्दै गरेको गुच्चालाई थाती राख्दै हामीलाई पेले बनाउने पेलेको जीवनीमा एकैथोक थियो, ‘उनले स्कुलबाट सहरको गल्ली हुँदै भुइँमा नछुवाइकन भकुण्डोलाई घरसम्म पुर्‍याउँथे । घरबाट भिड छिचोल्दै स्कुलसम्म पुग्दा पनि भकुण्डोले भुइँ छुने मौका पाउँदैनथ्यो ।’

    जम्मा यत्ति कथा काफी थियो, गाउँमा दर्जनौं पेलेहरू जन्मनका खातिर ।

    पेलेलाई पुस्तकमा अलिकति पढेका हामीलाई अलि हुर्किएका ठूला दाइ, काकाहरूले थप मसला थप्थे, ‘पेलेले आफ्नै भाइलाई मारेको हो । भाइलाई विपक्षी टीममा नखेल्न अनुरोध गर्दा पनि नमानेपछि पेलेले बल हान्दा उसको भाइ भुँडी फुटेर मर्‍यो ।’

    हाम्रा लागि महान् फुटबलर भइदिन यत्ति नै पर्याप्त थिए पेले । पछि अलिअलि बुझ्ने हुँदामात्रै थाहा भयो, पेले वास्तवमा महान् खेलाडी हुन् । उनले भाइ मारेको कथा चाहिँ वाइह्यात हुन् ।

    प्रसंग दुई

    ६-७ कक्षा पढ्दाताका हो । पढेको कुरा अलिअलि बुझ्ने भइसकिएको थियो । सामान्य ज्ञानहरू छिचोल्न थालिएको थियो । प्रकाश कोविदहरूका उपन्यास पढ्न थालिएको थियो । उपन्यासमा वर्णित प्रेमकथाले कताकता काउकुती लाउन थालेको थियो । आफैंभित्र पनि अव्यक्त एकोहोरो प्रेमले चिल्न थालेको थियो । अचेल त यसलाई ‘वन साइडेड लभ’ भन्दा रहेछन् ।

    सामान्य ज्ञान, इतिहास, भूगोल, साहित्यमा अलि बढी रुचि पलाउन थालेपछि साथीहरूको समूह पनि छुटिँदै गए । गफ मिल्ने, चासो मिल्ने साथीभाइको सर्कलमा रमाउन थालिएको थियो । रेडियोको उत्कट रहर थियो, तर किन्ने ल्याकत थिएन । परिवारसित किनिमाग्ने अवस्था पनि थिएन । रेडियो नै किनिदिने हैसियतमा आमा थिइनन् । दशैंमा फेर्ने आकाशे रङको सर्ट र नीलो पाइन्ट किनिदिनै धौधौ हुन्थ्यो ।

    त्यही बेला एक पुस्तक हात पर्‍यो । प्रथम र दोस्रो विश्वयुद्धमाथि लेखिएको त्यही पुस्तकमार्फत् विश्वयुद्धलाई छिचोलियो । मुख्यतया हिटलरलाई चिनियो । जर्मनी थाहा भयो । सोभियत युनियन थाहा भयो । बर्लिन पर्खालबारे पनि सानो प्रसंग थियो त्यहाँ ।

    अर्को एक सामान्य ज्ञान पनि हात पर्‍यो । सम्भवतः भीम राना जिज्ञासुको हुनुपर्छ । त्यहाँ विश्वकपबारे पनि जानकारी थियो । विश्वकपमा धेरै गोल्डेन बुट जित्ने खेलाडी, सर्वोत्कृष्ट खेलाडी, विश्वकप जित्ने देशहरूबारे धेरथोर जानकारी थियो ।

    स्कुलमा हुने हाजिरीजवाफ प्रतियोगितामा हिरो पल्टिनका लागि सामान्य ज्ञान काइदाको चिज थियो । साथीहरू बीचमा आकर्षण छर्न पनि सामान्य ज्ञान गम्भीर भएर पढिन्थ्यो । सानो कदको, लिखुरे मजस्ताका लागि अरुलाई आकर्षित गर्न हाजिरी जवाफ र स्कुलको वार्षिक परीक्षाको नतिजाबाहेक अर्थोक थिएन । नाचगान गर्न नसकिने, गाउन नसकिने, सर्टको टाँक खोलेर छाती देखाएर, निधारमा रातो रुमाल बाँधेर हिँड्नलाई ज्यान नभएको । त्यसैले पनि आकर्षणको बीचमा रहन उत्तम उपाय सामान्य ज्ञान जो थियो ।

    त्यही सामान्य ज्ञान पढेर ब्राजिलका रोनाल्डोको फ्यान भइयो । सामान्य ज्ञानमा रोनाल्डोले फाइनलमा जर्मनीको पर्खाल भत्काएको उल्लेख थियो । अनि सोचियो, अहो ! त्यस्तो पर्खाल भत्काउने गरी बल हान्ने रोनाल्डो कति अजंगको होला ! विश्वयुद्धको पुस्तकमा पढेको बर्लिन पर्खाल नै त होला रोनाल्डोले भत्काएको पर्खाल !

    अलि पछि मात्रै थाहा पाइयो, सन् २००२ को विश्वकपको फाइनलमा जर्मनी र ब्राजिल नै भिडेका थिए । तर, फाइनल कोरियामा भएको थियो, जर्मनीमा होइन । र, सामान्य ज्ञानमा सम्भवतः लेखिएको थियो, ‘जर्मनीको बलियो डिफेन्सको पर्खाललाई भत्काउँदै रोनाल्डोले गोल गरेका थिए ।’ तर, बुझ्दाखेरि पर्खालमात्रै बुझियो । सामान्य ज्ञान पढ्दा मिति र गोलहरू मात्रै पढियो । फुटबलमा डिफेन्स, मिडफिल्ड, अट्याकिङ, अफसाइड हुन्छ भनेर त कति पछि थाहा पाइयो, पाइयो !

    सहर पसेपछि २००२ विश्वकपको फाइनलको हाइलाइट हेर्दा थाहा भयो, रोनाल्डो उस्तो अजंगको खेलाडी होइनन् । आफ्नो समयको उत्कृष्ट खेलाडी हुन् । तर, रोनाल्डोले बर्लिनको पर्खाल भत्काएको प्रसंग मबाट छ्याङ्ग हट्न चाहिँ लामै समय लाग्यो । रोनाल्डोको अजंगको विम्ब ढिसमिस नभइन्जेल रोनाल्डो एक अकल्पनीय देवदूत जस्तो बनेर रहिरहे ।

    प्रसंग ३

    पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रशंसक चाहीँ पेले र रोनाल्डोभन्दा अलि फरक तवरले भइयो । पहिलोपटक सन् २०१० को विश्वकप सोलु एफएममार्फत् नौ बजेको समाचारमा सुनियो । हजुरबुबाको रेडियोमा समाचार सुनेर मात्रै आठ कक्षाको पहिलो कक्षा लिन स्कुल गइन्थ्यो । त्यसवेला सुनेका अधिकांश खेलाडीहरूको खेल कौशल सहर पसेपछि दृश्यपान गर्न पनि पाइयो ।

    त्यतिबेलै सुनेको रोनाल्डोबारे उस्तो चासो थिएन । पढ्नलाई सहर पसेपछि छिटपुट क्लब फुटबल हेर्न थालियो । लियोनेल मेस्सीबारे सुन्न थालियो । प्रिमियर लिग, लालिगा, सिरिए, बुन्डेसलिगा जस्तो युरोपका शीर्ष फुटबल लिगमा ठूल्ठूला क्लबहरूको खेल हेर्न थालियो ।

    ती खेलहरूमा दुई खेलाडीका मात्रै खेल कहिल्यै छुटेनन्, रोनाल्डो र मेस्सी । यी दुईमा पनि रोनाल्डोको सुगठित शरीर, एट्टिट्युड, गोल सेलिब्रेसन गर्ने तरीका, गोल गर्न नसक्दाका नोकझोँक अनि उसको उम्दा व्यक्तित्वले अलि बढी तान्यो । खेल कौशलकै रूपमा मेस्सी प्रिय बने । तर, समग्रमा रोनाल्डो अति प्रिय बने ।

    ०००

    कोही किन कसैको साँचो प्रशंसक बन्छ ? यसको ठ्याक्कै चित्तबुझ्दो जवाफ कसैसित हुँदैन । जो मान्छे कसैको खास प्रशंसक हुन्छ, ऊसित जवाफ त हुन्छ तर, उक्त जवाफ उसैका लागि हो । अरुका लागि उक्त जवाफले काम नगर्न सक्छ ।

    कोही कसैको विशुद्ध प्रशंसक बन्नुमा केही मनोविज्ञानहरूले काम गर्दोरहेछ । प्रशंसकलाई आफ्नो सेलिब्रेटीको पृष्ठभूमि, उसको उदय र सफलताले सबैभन्दा बढी खिच्दो रहेछ । पेले गरीब थिए, मोचाको बल खेलाउने हैसियतका थिए । र, हामीले आफूमा पेले देख्न सक्ने अवस्था बन्यो । भनिन्छ नि, बच्चाले कल्पना मात्रै गर्नका लागि पनि धरातल चाहिन्छ । हुम्लामा हुर्किएको बच्चाले रोबोटको सपना देख्न सक्दैन । हाम्रो बाल्यकालमा हामीसित पेलेको जस्तै धरातल थियो । हैसियत उस्तै थियो । अवचेनमै सही, त्यही कारण हामीले आफूलाई पेले सोच्न सक्यौं । अथवा, पेलेको ठाउँमा आफूलाई राख्न सक्यौं ।

    हुर्किँदै गरेको किशोरकालमा कागजमै सही, ब्राजिलका रोनाल्डोलाई पढियो । उसको खेल कौशल एकातिर थियो, उसको शक्तिले खिच्यो । बाल्यकालको उत्तरार्द्ध र युवाकालको सुरूवातिकालमा उभिँदै गर्दा रोनाल्डो एक अचुक शक्तिले भरिपूर्ण लाग्यो ।

    म फुटबलको समीक्षक होइन । फुटबल पण्डित पनि होइन । तर, फुटबलको विशुद्ध प्रशंसक हुँदै गर्दा युवाकालमा रोनाल्डोले खिच्यो । पोर्चुगलको पहाडी क्षेत्र सान्टो आन्टानियोको एक गरीब बस्तीमा हुर्किएका, पिता मालीको जागिरे, आमा कुक । र त्यो बस्तीबाट उठेका रोनाल्डो ।

    सपना पूरा गर्ने उत्कट इच्छा बोकेर सहरमा दौडदै गर्दा रोनाल्डो स्वभाविक प्रिय बन्ने नै भए । झनै रोनाल्डोले बेलायती पत्रिका द मिररमा सन् २०११ म ‘फुटबल खेलाडी नभएको भए के बन्थ्यौ ?’ प्रश्नमा दिएको उत्तर सम्झिँदा सपनाको भारीले थिचिएको मजस्ता युवा स्वाभाविक रोमाञ्चित हुने नै भए । उनले उत्तर दिएका थिए, ‘सम्भवतः वेटर ।’

    रोनाल्डोको मुटुको शल्यक्रियाको प्रसंग, उसको धरातल र गोल गर्ने कौशलले सधैँ एक खालको तरंग दिइरह्यो । तर, एउटा सत्य यही हो, खेल करिअरको आफ्नो अन्तिम विश्वकप पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि सुखद् रहेन । हरेक खेलाडीले देख्ने करियरकै ठूलो सपना अधुरै रह्यो । सम्भवतः खेलाडीको रूपमा उसले प्राप्त गर्नुपर्ने बाँकी उपलब्धि पनि विश्वकप विजेता टोलीको नाममा आफ्नो नाम दस्तखत गराउनु नै रह्यो ।

    रोनाल्डोबारे धेरैथोक सामग्री गुगलमा छ्यापछ्याप्ती पाइन्छन् नै । तर, यो लेखोट एक सामान्य प्रशंसकको आँखाबाट मात्रै लेखिएको हो । तर, यसो गम खाएर सोच्दा कोही कसैको प्रशंसक बन्नुमा चेतनाको तह र उमेरको परिधिले पनि काम गर्दोरहेछ । युवाकाल सकिएर जीवनको अर्को अध्याय सुरू गर्दै गर्दा अर्को कोही कसैको प्रशंसक बन्नुमा आफूले पूरा गर्न नसकेका सपनाहरू कारक हुन सक्लान् । अधुरा सौखहरूले काम गर्लान् । आफूले अधुरै छाडेका सपनाहरू कसैले पूरा गरिरहेको देख्दा आँखाहरू रसाउलान् । उमेर अनुसार जीवनलाई हेर्ने दृष्टिकोण बदलिँदै जाने नै छ । उक्त बदलावसँगै प्रशंसकको रूपमा पनि बदलिँदै गइने नै छ ।

    तर, कतारबाट मोरोक्कोसित पराजित भएपछि आँसुले लतपतिएका रोनाल्डो ड्रेसिङ रुम छिर्दै गर्दाको दृश्य चाहिँ सम्झन मनै लाग्दैन । त्यो दृश्यसँगै एउटा उत्प्रेरणा ओझेल पर्‍यो । त्यो त झनै सम्झन मनै लाग्दैन । आफैँलाई थुमथुमाउँछु, आखिरी एउटा मान्छेको जीवनमा सम्झन मन नलाग्ने कुरा एउटामात्रै पक्कै हुँदैन !

  • विश्व फुटबललाई सरप्राइज दिन आतुर मोरक्को, साविक विजेता फ्रान्ससँग कति सहज ?

    विश्व फुटबललाई सरप्राइज दिन आतुर मोरक्को, साविक विजेता फ्रान्ससँग कति सहज ?

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता फ्रान्सले महादेशीय कीर्तिमान बनाएको अफ्रिकी टोली मोरक्कोसँग खेल्दैछ ।

    नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुने खेलमा दुवै टोली ऐतिहासिक सफलता प्राप्त गर्ने प्रयासमा रहनेछन् । क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर अगाडि बढेको मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो । यस्तै फ्रान्सलाई उपाधि रक्षाको अभियान कायम राख्न यो खेल जित्नुपर्नेछ ।

    विश्वकपमा अन्तिमपटक ब्राजिलले सन् १९६२ मा उपाधि रक्षा गरेको थियो । त्यसयता ब्राजिल लगातार तीन संस्करणमा फाइनल पुगेपनि उपाधि रक्षा गर्न सकेको थिएन । ब्राजिल सन् १९९४ देखि २००२ सम्म लगातार फाइनल पुगेको थियो । त्यसयता कुनैपनि साविक विजेता टोली फाइनल पुग्न सकेका छैनन् ।

    जारी विश्वकपमा फ्रान्सको अग्रपंक्ति सशक्त देखिएको छ । केलियन एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन् । ओलिभर जिरोडको नाममा ४ गोल रहेको छ । तर, जारी विश्वकपमा फ्रान्सले समूहगत चरणको अन्तिम खेलमा अफ्रिकी टोली ट्युनिसियासँग १-० गोलको हार व्यहोरेको थियो ।

    फ्रान्सले प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३-१ र क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २-१ गोलले हराएको थियो । यता अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा हराएको थियो भने क्वाटरफाइनलमा पोर्चुगलमाथि जित हात पारेको थियो । मोरक्कोले जारी विश्वकपमा केवल एक गोल व्यहोरेको छ भने ६ गोल गरेको छ । मोरक्कोले व्यहोरेको एकमात्र गोल पनि आत्मघाती रहेको थियो ।

  • मेस्सीको नाममा विश्वकप फुटबलका एक दर्जन कीर्तिमान

    मेस्सीको नाममा विश्वकप फुटबलका एक दर्जन कीर्तिमान

    काठमाडौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्वकप फुटबलका करिब एक दर्जन कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । कतारमा जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा मेस्सीले कीर्तिमानको चाङ लगाएका हुन् ।

    उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी हुन् । सन् २००६ को विश्वकपमा कम उमेरको सफलता प्राप्त गरेका मेस्सीले जारी विश्वकपमा बढी उमेरमा पनि कीर्तिमान बनाएका हुन् ।

    यस्तै उनी पाँच विश्वकपमा असिस्ट गर्ने एकमात्र खेलाडी हुन् । जारी विश्वकपको समूहगत चरणमा मेक्सिकोविरुद्ध असिस्ट गर्दै उक्त सफलता प्राप्त गरेका थिए । उनी विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन् । मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियाविरुद्ध जुलियान अल्भारेजका लागि असिस्ट गर्दै डीएगो म्याराडोनाको ८ असिस्टको विश्वकप कीर्तिमान बराबरी गरेका हुन् । मेस्सीले जारी विश्वकपमा मात्र तीन असिस्ट गरेका छन् । मेस्सी विश्वकप फुटबलमा सर्वाधिक प्लेयर अफ दी म्याच अवार्ड जित्ने फुटबलर पनि हुन् ।

    उनी १० पटक प्लेयर अफ दी म्याच भएका छन् । जारी विश्वकपमा मात्र मेस्सी अर्जेन्टिनाले खेलेका ६ मध्ये ४ खेलमा प्लेयर अफ दी म्याच बनेका छन् । यसअघि सन् २०१४ मा आयोजित विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुग्दा मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।

    मेस्सी बुधबार क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक खेल कप्तानी गर्ने कीर्तिमान बनाएका छन् भने सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।

    उनले १९ खेलमा कप्तानी गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी राफा मार्क्वेजभन्दा अगाडि बढेका हुन् । यस्तै विश्वकपमा २५ खेल खेल्दै लोथर मेथाउसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

    मेस्सी विश्वकप इतिहासमा किशोर, २० को दशक र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । मेस्सी विश्वकपमा आफ्नो पहिलो र अन्तिम गोलको अन्तर सबैभन्दा फराकिलो भएका खेलाडी पनि हुन् । मेस्सीले पहिलो खेल सन् २००६ को विश्वकपमा गरेका थिए । जारी विश्वकपमा मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् । फाइनलमा मेस्सीले पहिलो हाफ खेल्दा विश्वकप इतिहासमा सबैभन्दा लामो समय खेल्ने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनी पाउलो माल्दिनीको नाममा रहेको २ हजार २ सय १७ मिनेटको कीर्तिमान तोड्नबाट २२ मिनेटले मात्र पछाडि छन् ।

  • अर्जेन्टिना विश्वकपको फाइनलमा, मेस्सीको विश्व च्याम्पियन सपना कायमै

    अर्जेन्टिना विश्वकपको फाइनलमा, मेस्सीको विश्व च्याम्पियन सपना कायमै

    काठमाडौं । दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो।

    अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए। ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

    अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

    अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

  • मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान

    मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान

    दोहा। लियोनल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन्।

    उनले डीएगो म्याराडोनाको नाममा रहेको ८ गोल असिस्टको कीर्तिमान बराबरी गरेका हुन्।

    मेस्सीले जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध ६९ औं मिनेटमा जुलियान अल्भारेजका लागि असिस्ट गरेका हुन्।