Category: फुटबल महासंग्राम

  • मेस्सीको फोटोले इन्स्टाग्राममा तोड्यो अण्डाको रेकर्ड

    मेस्सीको फोटोले इन्स्टाग्राममा तोड्यो अण्डाको रेकर्ड

    काठमाडौं । अर्जेन्टिनाको राष्टिय टोलीका कप्तान तथा स्टार फुटबल खेलाडी लियोनल मेस्सीको विश्वकप उपाधि उचालेको फोटो इन्स्टाग्राममा सर्वाधिक मन पराइएको (लाइक गरिएको) फोटो बनेको छ ।

    यसअघि यस प्ल्याटफर्ममा एक नफुटेको अण्डाको फोटो सर्वाधिक मन पराइएको फोटो थियो । सन् २०१९ को जनावरीमा सो समय भन्दा अघि सर्वाधिक मन पराइएको मोडल काइली जेनरको रेकर्डलाई तोड्नका लागि अभियान चालिइएपछि सो अण्डाको फोटो हालसम्म सर्वाधिक मन पराइएको फोटो थियो ।

    यो रिपोर्ट तयार पारिने बेलासम्म अण्डाको फोटोमा ५ करोड ५९ लाख ६ हजार २९९ लाइक आएको छ भने मेस्सीको फोटोमा ५ करोड ६० लाख ३३ हजार ९१९ लाइक आएको छ ।

  • विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा आज बिदा, समर्थकमाझ विजेता टिम रहने

    विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा आज बिदा, समर्थकमाझ विजेता टिम रहने

    काठमाडौं। विश्वकप जितेको खुसीयालीमा मंगलबार अर्जेन्टिनामा सार्वजनिक बिदाको घोषणा गरिएको छ। यसअघि आइतबार अर्जेन्टिनाले फ्रान्सलाई हराएर ३६ वर्षपछि विश्वकप जितेपछि लाखौँ अर्जेन्टिनी राजधानी ब्युनोस आयर्स जम्मा भएका थिए।

    विश्वकप जितेपछि कप्तान लियोनल मेस्सीले यो सफलताको खुसियाली अर्जेन्टिना पुगेर हेर्न चाहेको बताएका थिए। खुसियाली मनाउने केन्द्रका रुपमा परिचित ओबेलिस्कमा अर्जेन्टिनी टोलीसँग लाखौँ मानिसले खुसियाली आदान प्रदान गर्नेछन्।

    ‘यो जितको खुसियाली कस्तो हुनेछ म अर्जेन्टिना पुगेर हेर्न आँतुर छु। म सम्पूर्ण अर्जेन्टिनी समर्थकलाई धैर्य गर्न आग्रह गर्छु। म पनि त्यहाँ आउन र खुसियाली साट्न ब्यग्र छुु, मेस्सीले भनेका छन्। अर्जेन्टिनाले गत वर्षमात्र २८ वर्षपछि पहिलो सीनियर अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको थियो।

  • मेस्सी बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित

    मेस्सी बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित

    काठमाडौं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सी २०२२ को लागि बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित भएका छन्।

    बेलायती मिडिया बीबीसीले स्पोर्टस पर्सनालिटिज अवार्डअन्तर्गत वर्ल्ड स्पोर्टस स्टार अफ दी इयर अवार्ड प्रदान गर्ने निर्णय भएको हो। ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि कतारमा पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए ।

    पेरिस सेन्ट-जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको गोल्डेन बल – उत्कृष्ट खेलाडीलाई प्रदान गरिएको थियो।

    पूर्व बार्सिलोना स्टार सबै समयको महान फुटबलर मध्ये एक को रूपमा व्यापक रूपमा मान्यता प्राप्त छ।

  • एमबाप्पेलाई अब कसले रोक्ला ?

    एमबाप्पेलाई अब कसले रोक्ला ?

    काठमाडौं । पछिल्लो दशक विश्व फुटबलमा दुई खेलाडीको जगजगी रह्यो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीबीच मात्रै एक दशकभन्दा बढी समय हरेक वर्ष को सर्वोत्कृष्ट रहने भन्ने लडाइँ चल्यो ।

    रोनाल्डोले पटकपटक भन्दै आएका छन्- विश्व फुटबलमा यस्तो प्रतिस्पर्धा फेरि नरहन सक्छ । कतारमा हालसालै सम्पन्न विश्वकपले रोनाल्डो र मेस्सी दुवैको विश्वकप करियर समाप्त भएको स्वयं उनीहरुले बताइसकेका छन् ।

    पछिल्ला चार वर्षमा दुईपटक फिफा वर्ष खेलाडी भएका रोबर्ट लेवान्डोस्कीले पनि सायदै अब अर्को विश्वकप खेल्नेछन् । लुका मोड्रिचले विश्वकपलाई ‘बाई बाई’ भनिसकेका छन् । सायद अबका एक दुई वर्षमा यी चारै जना खेलाडीले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट बिदा लिइसकेका हुनेछन् । त्यसपछि मेस्सी र रोनाल्डोको विरासत कसले थाम्ला त ?

    पछिल्ला प्रदर्शनहरुले एक खेलाडी केलियन एमबाप्पे हुने संकेत गरिसकेको छ । उनकै महत्वपूर्ण प्रदर्शनमा फ्रान्सले चार वर्षअघि विश्वकप जितेको थियो । उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो किशोर खेलाडी बनेका थिए । प्रतियोगितामा उनले सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जिते ।

    कतारमा सम्पन्न विश्वकपमा २३ वर्षीय एमबाप्पेकै प्रेरणामा फ्रान्स फाइनल पुग्यो । उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएपछि फ्रान्स उपाधि रक्षा गर्न असफल बन्यो । तर, यो खेलमा ह्याट्रिक गर्दै एमबाप्पे विश्वकप इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने केवल दोस्रो र सन् १९६६ पछि पहिलो खेलाडी बने ।

    प्रतियोगितामा ८ गोल गर्दै उनले सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पनि जितेका छन् । फ्रान्सको असफलतामा सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले आफ्नो विश्वकप सपना पूरा गरे । अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

    मेस्सीले आफूलाई सर्वकालीन महान खेलाडीको रुपमा प्रस्तुत गरिरहेका वेला विश्व फुटबलले नयाँ पुस्ताका होनहार खेलाडीलाई एउटै मञ्चमा देख्ने अवसर पायो, तुलना गर्ने मौका मिल्यो । मेस्सीले पाँचवटा विश्वकपमा गरेका १३ गोल भेट्न एमबाप्पे अब एक गोलले मात्र पछाडि छन् ।

    उनले दुईवटा विश्वकपमा १२ गोल गरिसकेका छन् । यही रफ्तारमा फ्रान्स अगाडि बढे सम्भवतः एमबाप्पेले चार वर्षपछि हुने अर्को विश्वकपमा मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वकालीन सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमान बराबरी वा तोड्न सक्नेछन् । क्लोसको नाममा १६ गोलको कीर्तिमान छ ।

    एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपछि पेलेले भनेका छन्, ‘मेरो साथी एमबाप्पे, फाइनलमा चार गोल गरेका छौ । फुटबलको भविष्यलाई हेर्न पाउनु हाम्रा लागि पुरस्कार हो ।’

    एमबाप्पेले लगातार विश्वकपमा फ्रान्सलाई फाइनल पुर्‍याए पनि बेलोन डीआर वा फिफा वर्ष खेलाडीजस्ता व्यक्तिगत सर्वोत्कृष्ट वर्ष फुटबलर अवार्ड जित्न सकेका छैनन् । यसमा क्लब फुटबलमा उनी आबद्ध पीएसजीले च्याम्पियन्स लिग जस्ता प्रतियोगितामा उपाधि जित्न नसक्नु कारण हो ।

    नेमार र मेस्सीजस्ता खेलाडी रहेको पीएसजीमा रहेका एमबाप्पे फ्रान्सको घरेलु लिग फुटबल लिग वानका पछिल्लो चार सिजनका सर्वाधिक गोलकर्ता हुन् । यो सिजन पनि उनी लिड गरिरहेका छन् । उनले युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि जित्न सकेका छैनन् ।

    व्यक्तिगत अवार्डमा खेलाडी आबद्ध रहने क्लब र राष्ट्रिय टोली दुवैले प्राप्त गर्ने नतिजाले ठूलो अर्थ राख्छ । नयाँ पुस्ताका खेलाडीका रुपमा एमबाप्पेलाई सबैभन्दा बढी चुनौती दिन सक्ने कोही खेलाडी देखिएका छन् भने तत्कालका लागि ती एर्लिङ हालान्ड हुन् । नर्वेका यी खेलाडी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

    बुन्डेस लिगमा रोबर्ट लेवान्डोस्कीलाई कडा टक्कर दिएका हालान्डलाई भित्र्याउनुको पछाडि मुख्य कारण म्यान सिटीको युरोपियन च्याम्पियन्स लिग जित्ने सपना हो । २२ वर्षका हालान्डसँग बलियो राष्ट्रिय टोली नरहे पनि उनीसँग च्याम्पियन्स लिग जिताउन सक्ने क्लब रहेको छ । यो सिजन हालान्ड युरोपियन गोल्डेन बुटको दौडमा निकै अगाडि छन् ।

    उल्लेखनीय के छ भने मेस्सीले विश्व च्याम्पियन सपना पूरा गर्नुअघि ११ पटक घरेलु लिग, ४ पटक युरोपियन च्याम्पियन्स लिग र तीनपटक क्लब विश्वकप जितेका थिए । उनी ६ पटकका युरोपियन गोल्डेन बुट विजेता हुन् । स्पेनिस ला लिगाको ८ सिजनका सर्वाधिक गोलकर्ता र ६ सिजनका सर्वोत्कृष्ट खेलाडी हुन् मेस्सी ।

    यस्तै रोनाल्डोले ७ पटक घरेलु लिग, ५ पटक युरोपियन च्याम्पियन्स लिग र तीनपटक क्लब विश्वकप जितेका छन् । चारपटकका युरोपियन गोल्डेन बुट विजेता उनी तीन सिजन ला लिगाका सर्वाधिक गोलकर्ता रहेका छन् ।

    रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले ११८ गोल गरेका छन् । मेस्सीले ९८ गोल गरेका छन् । च्याम्पियन्स लिगका पनि रोनाल्डो सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले १४० गोल गरेका छन् । मेस्सीको गोल संख्या १२९ रहेको छ ।

    विश्व क्लब फुटबलमा सन् २००८ देखि २०१८ सम्म मेस्सी र रोनाल्डोको मात्र दबदबा रहेको थियो । फिफा वर्ष खेलाडी अवार्ड जितेर मोड्रिचले सन् २०१८ मा उनीहरुको एकछत्र राज तोडेका थिए ।

    एमबाप्पे र हालान्ड दुवैले हालसम्म वार्षिक रुपमा दिइने अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सकेका छैनन् । मेस्सी र रोनाल्डोको विरासत थाम्न उनीहरुलाई पक्कै पनि सजिलो हुनेछैन । त्यसबाहेक समयक्रममा जन्मिने र तिखारिने अरु खेलाडीहरु पनि उनीहरुको यात्रामा चुनौती बन्नेछन् ।

  • कतारी राजा शेखले मेस्सीलाई किन लगाइदिए कालो पोशाक ?

    कतारी राजा शेखले मेस्सीलाई किन लगाइदिए कालो पोशाक ?

    काठमाडौं । आइतबार राति अघिल्लो विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचाल्यो । लुसेल रंगशालामा अर्जेन्टिनाले उपाधि उचालेको क्षण लियोनल मेस्सीका समर्थकहरुका लागि विशेष बन्यो ।

    दशकौंदेखिको विश्वकप सपना पूरा गर्दै मेस्सीले विश्वभरिका समर्थकलाई खुशी दिएको रात थियो त्यो ।

    विश्वकप इतिहासमै यादगार बनेको फाइनल खेलमा ट्रफी लिन स्टेजमा पुगेका कप्तान मेस्सीलाई कतारी राजा शेख तमिम बिन हमद अल थानीले कालो र सुनौलो रंगको जालीदार पोशाक लगाइदिएका थिए ।

    उक्त पोशाकलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सबैलाई यो पोशाकबारे जिज्ञासा रहेको छ ।

    कतारका प्रतियोगिता आयोजक समितिका महासचिव हसन अल थवाडीले बीबीसीलाई उक्त पोशाकको बारेमा प्रस्ट पारेका छन् । उनले भने,‘ यो एक आधिकारिक अवसरका लागि बनाइएको पोशाक हो । र, यो विशेष समारोहमा लगाइदिइने गर्छ । यसलाई मेस्सीको जीतमा सम्मानस्वरुप लगाइदिएको हो ।’

    ‘विश्वकप हाम्रा लागि अरब र मुस्लिम संस्कृतिलाई दुनियासामु प्रस्तुत गर्ने अवसर रहेको थियो’, उनले थपे ।

  • मेस्सीको सफलतामा रोनाल्डो मौन, एक सातायता सामाजिक सञ्जालमा छैन कुनै पोस्ट

    मेस्सीको सफलतामा रोनाल्डो मौन, एक सातायता सामाजिक सञ्जालमा छैन कुनै पोस्ट

    काठमाडौं । लियोनल मेस्सीको विश्व च्याम्पियन सफलतामा उनका समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डो मौन देखिएका छन् । उनले सार्वजनिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

    अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई हराएर ३६ वर्षपछि विश्व च्याम्पियन बनेको झन्डै १५ घण्टा बित्दासम्म रोनाल्डोले बधाई दिएका छैनन् । पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोको टोली पोर्चुगल यसपटक क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

    उनी पछिल्ला खेलहरुमा सुरुवाती ११ मा समेत अँटाएका थिएनन् । मेस्सीले विश्वकप जितेसँगै रोनाल्डोसँग हुने गरेको तुलना पनि अन्त्य भएको फुटबल विज्ञहरुले उल्लेख गरेका छन् । रोनाल्डोले पोर्चुगलका लागि युरोकपसम्म जितेका छन् ।

    डेलीमेलका अनुसार रोनाल्डोले एक साताअघि इन्स्टाग्राममा अन्तिम पोस्ट गरेका थिए । १० दिनअघि उनी ट्वीटरमा देखिएका थिए । उनले ८ दिनअघि फेसबुकमा अन्तिमपटक पोस्ट गरेका थिए ।

  • ‘गोल्डेन ग्लोभ’ पाएपछि मार्टिनेजको अनौठो पोज

    ‘गोल्डेन ग्लोभ’ पाएपछि मार्टिनेजको अनौठो पोज

    दोहा। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि जिताउँदै लियोनल मेस्सीको विश्व च्याम्पियन सपना पुरा गर्न महत्वपूर्ण भूमिका खेलेका एमिलियानो मार्टिनेज सर्वोत्कृष्ट गोलर गोलकिपर बने।

    सर्वोत्कृष्ट गोलकिपरका रुपमा उनले गोल्डेन ग्लोब्स पाएपछि देखाएको एउटा ‘जेस्च’ भने भाइरल बनेको छ।

    गोल्डेन ग्लोभ पाएपछि टिमतर्फ आउनेक्रममा विश्वकप ट्रफी नजिक पुगेर उनले गोल्डेन ग्लोब्सलाई दुई हातले कम्मरभन्दा मुनी, अगाडि राख्दै दर्शकलाई देखाएका थिए। धेरैले यसलाई अश्लिल पोजका रुपमा टिप्पणी गरेका छन्।

    त्यसअघि अतिरिक्त समयको खेल सकिन एक मिनेट बाँकी छँदा गोलकिपर मार्टिनेजले वन भर्सेस वन बचाएर खेललाई टाइब्रेकरमा पुर्‍याएका थिए।

    टाइब्रेकरमा उनले एउटा प्रहार रोके भने फ्रान्सको एउटा प्रहार फ्रेममा पर्न सकेन। अर्जेन्टिना सुरुका चारवटा प्रहारमा गोल गर्दै विश्व विजेता बनेको थियो।

    त्यसअघि मार्टिनेजले क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा दुईवटा प्रहार विफल बनाएका थिए। गत वर्ष कोपा अमेरिकाका रुपमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्दा मार्टिनेज महत्वपूर्ण सदस्य थिए।

    उनले सेमिफाइनलमा भएको टाइब्रेकरमा कोलम्बियाका तीनवटा प्रहार रोकेका थिए।

  • विश्वकप उपाधिको उल्लास : अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर (तस्बिरहरू)

    विश्वकप उपाधिको उल्लास : अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर (तस्बिरहरू)

    काठमाडौं । विश्वकप जितेको खुसीयालीमा अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्समा जनसागर सडकमा उर्लिएको छ।

    अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि विश्व च्याम्पियन बने लगत्तै ब्युनोस आयर्समा हजारौँ मानिस सडकमा उत्रिएर खुसीयाली मनाएका छन्।

    उनीहरू अर्जेन्टिनाको जर्सी खास गरी लियोनल मेस्सीले लगाउने १० नम्बरको जर्सीमा सजिएका थिए । ब्युनोस आयर्सस्थित ओबेलिस्कमा उनीहरू जम्मा भएका थिए।

    यस ठाउँलाई अर्जेन्टिनी समर्थकहरूले खुसी व्यक्त गर्ने ठाउँका रूपमा प्रयोग गर्दै आएका छन्।

  • एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

    एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

    काठमाडाै‌ं ।फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

    फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

    एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो ।

  • विश्व विजेता भएपछि मेस्सीले भने- सपना साकार भयो, विश्वास गर्न सकिरहेको छैन

    विश्व विजेता भएपछि मेस्सीले भने- सपना साकार भयो, विश्वास गर्न सकिरहेको छैन

    काठमाडौं । पहिलो पटक विश्वकप फुटबलको उपाधि उचालेको अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले आफ्नो लामो समयदेखिको सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जितको श्रेय सम्पूर्ण टिमलाई जाने बताए ।

    मेस्सीले फेसबुकमा स्टाटस लेख्दै जितपछिको आफ्नो भावना पोखेको हुन् । यो विजय आफूलाई विश्वास गर्न समेत कठिन भइरहेको उनको भनाइ छ ।

    मेस्सीको स्टाटसको भावानुवादः

    कयौंपटक मैले यसको सपना देखेको थिएँ । मैले यति धेरै चाहेको थिएँ कि म विश्वास गर्न सकिरहेको छैन । मेरो परिवारलाई, मलाई समर्थक गर्ने सबैलाई र हामीलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ । हामीले फेरि प्रमाणित गर्‍यौँ, जब हामी अजेन्टिनाइनहरु मिलेर लड्छौँ र एकताबद्ध हुन्छ, हामी आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुन्छौं । हामी एउटै सपनाका लागि लडिरहेका थियौँ र हामी सफल भयौँ । यहाँबाट अर्जेन्टिना अघि बढ्छ । हामी तपाईँसँग चाँडै भेट्नेछौँ ।

  • छोराछोरीसँग विश्वकप ट्रफीको खुसीयाली

    छोराछोरीसँग विश्वकप ट्रफीको खुसीयाली

    काठमाडौं । ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो परिवारसँग खुसी साटेका छन् ।

    आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले आफ्ना छोराछोरीहरूसँग रङ्गशालामा नै खुसी साटेका हुन् ।

    हेर्नुहोस् केही तस्बिर

  • अर्जेन्टिना र मेस्सीलाई बधाई दिँदै पेलेले भने- म्याराडोना हाँसिरहेका होलान्

    अर्जेन्टिना र मेस्सीलाई बधाई दिँदै पेलेले भने- म्याराडोना हाँसिरहेका होलान्

    दोहा। महान् फुटबलर पेलेले विश्व च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोना हाँसिरहेको हुन सक्ने बताएका छन्।

    अर्जेन्टिनालाई अन्तिम पटक सन् १९८६ मा विजेता विजेता बनाउन म्याराडोनाकै भूमिका प्रमुख थियो। विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि छ। म्याराडोनाको केही वर्षअघि मृत्यु भएको थियो।

    सन् २०१० को विश्वकपमा म्याराडोनाले नै अर्जेन्टिनालाई प्रशिक्षण गरेका थिए।

    ‘आज फुटबलले सधैँ झैँ, कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, हाल बिरामी रहेका पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन् जसका लागि उनी योग्य थिए। बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन् ।’

    दक्षिण अमेरिकी महादेशले १८ वर्षपछि विश्वकप उपाधि जितेको हो । युरोपको लगातार वर्चस्व तोड्दै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।
    सन् २००२ मा ब्राजिलले उपाधि जितेयता कुनै पनि दक्षिण अमेरिकी टोली विश्व विजेता बन्न सकेका थिएनन्।
    सन् २०१० अघिसम्म युरोपबाहिर विश्व विजेता बन्न नसकेका युरोपेली टोलीले त्यसयता अफ्रिका र दक्षिण अमेरिका पुगेर उपाधि जितेका थिए।

     

    View this post on Instagram

     

    A post shared by Pelé (@pele)

  • मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर

    मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर

    दोहा। लियोनल मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन्। विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो।

    मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ।

    मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन्। मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्। सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए। ओलम्पिक फुटबलमा यू-२३ राष्ट्रिय टोली सहभागी हुने भएकाले त्यसले मेस्सी महानताको बहसमा खासै अर्थ राखेको थिएन।

    सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो। लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए। आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए।

    गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए। अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो। तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो।

    यो विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै साउदी अरबसँग पराजित भएपछि दबाबमा आएको थियो। तर दोस्रो खेलबाट अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेन। नेदरल्यान्ड्सलाई क्वाटर फाइनलमा टाई ब्रेकरमा हराएको अर्जेन्टिनाले फाइनल जित्न पनि साबिक विजेता फ्रान्सविरुद्ध टाई ब्रेकरसम्मै पुग्नु पर्‍यो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो। अन्तिम पटक अर्जेन्टिनालाई यस्तो सफलता डिएगो म्याराडोनाले दिलाएका थिए।

    अर्जेन्टिना विजेता बनेसँगै मेस्सीले यो विश्वकपमार्फत थुप्रै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकप इतिहासमा दुईपटक सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले सन् २०१४ मा पनि गोल्डेन बल प्राप्त गरेका थिए। यस्तै एउटै विश्वकपका हरेक चरणमा गोल गर्ने कीर्तिमान पनि मेस्सीको नाममा बनेको छ। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका थिए। फाइनलमा आइतबार राती उनले दुई गोल गरे। उनी एकै विश्वकप र समग्र विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने खेलाडी पनि बनेका छन्। उनी कतार विश्वकपमा ५ पटकसहित समग्रमा ११ औँ पटक प्लेयर अफ दी म्याच भए। उनीपछि विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने कीर्तिमान ७ पटकसहित क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्।

    मेस्सीले लगातार पाँच वटा विश्वकपमा गोल असिस्ट, सर्वाधिक गोलअसिस्टसहित एक दर्जनभन्दा बढी विश्वकपका कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन्। उनको नाममा १३ गोल रह्यो।

    यसअघि राष्ट्रिय टोलीबाट उपाधि नजित्दासम्म मेस्सी र रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद रहँदै आएको थियो। रोनाल्डोले पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् भने सन् २०१६ मा युरो कप पनि जितेका छन्। रोनाल्डो पनि सिनियर अन्तर्राष्ट्रिय फुटबल र युरोपियन च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्।

    ३५ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए। सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते। उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन्। ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेस्सी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन्।

  • एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

    एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

    काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।

    उनले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रि गरेसँगै गोल्डने बुट जित्ने पक्का भएको थियो । उपाधि चुम्न असफल भएपनि एम्बाप्पे सन् १९६६ पछि फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

    समूह चरण अन्तर्गत अस्ट्रेलियाविरुद्ध पहिलो गोल गरेका एम्बाप्पेले प्रतियोगिताभरि कुल आठ गोल गरे ।

    यससँगै दुई विश्वकपमा एम्बाप्पेले १२ गोल गरेका छन् ।

  • गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

    गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

    दोहा। कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।

     

  • विश्वकपको ‘गोल्डेन गल्भ’ मार्टिनेजलाई

    विश्वकपको ‘गोल्डेन गल्भ’ मार्टिनेजलाई

    काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाको गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकप २०२२ कोे ‘गोल्डेन ग्लभ’ जितेका छन् ।
    मार्टिनेजको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फाइनल सम्मको यात्रा तय गर्दै उपाधि उचालेको थियो । पेनाल्टि सुटआउटमा पुगेको फाइनलमा अर्जेन्टिनालाई जित दिलाउन मार्टिनेजकै प्रदर्शन निर्णायक बन्यो ।
    सर्वोत्कृष्ट गोलकिपर बनेका मार्टिनेजले जारि विश्वकपमा तीन क्लिन सिट राखे ।

    यसअघि २०१८ विश्वकपको गोल्डेन ग्लभ बेल्जियमका गोलकिपर कोर्टुवाले पाएका थिए ।

  • विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो

    विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो

    काठमाडौं । साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको छ ।

    विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो लागेको हो। सन् १९९४ को संस्करणमा ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो ।

    सन् २००६ को विश्वकप विजेता पनि टाइब्रेकरबाट टुंगो लागेको थियो । त्यतिबेला इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।

  • मेस्सीको विश्व च्याम्पियन सपना पूरा

    मेस्सीको विश्व च्याम्पियन सपना पूरा

    काठमाडौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्व च्याम्पियन सपना पूरा गरेका छन् । विश्वकप फुटबलको आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै मेस्सीले विश्वकप उपाधिको सपना पुरा गरेका हुन् ।

    सन् २००५ मा सिनियर अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका मेस्सीले जित्न बाँकी यहि मात्र एक प्रतियोगिता थियो । क्लब फुटबलका सबै उपाधि जितेपनि राष्टिय टोलीका लागि उपाधि जित्न नसकेको भनेर उनको आलोचना हुँदै आएको थियो । गत वर्ष मात्र उनले सिनियर राष्टिय टोलीका लागि पहिलो उपाधि जितेका थिए कोपा अमेरिकाका रुपमा। ब्रािजलले उसकै मैदानमा हराएर अर्जेन्टिनाले २८ वर्षपछि पहिलो सिनियर अन्तर्राष्टिय उपाधि जितेको थियो ।

    मेस्सी अब पेले र म्याराडोनाजस्तै विश्वकप जित्ने खेलाडी बनेका छन् । सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले आफ्नो भागमा सिनियर अन्तर्राष्टिय उपाधि लेखेको रहेनछ भन्दै सन्याश लिएका थिए ।

    तर चौतर्फी दबाबपछि उनी सन्यास फिर्ता लिएर राष्टिय टोलीमा र्फिर्कएका हुन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेपनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो ।

    आइतबार सम्पन्न फाइनल खेलको निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जित्यो ।

    निर्धारित समयमा खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।

    डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । ९० सेकेन्डमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे । खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याएका थिए ।

    ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर फिनिस गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका हुन् ।
    निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

    खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै एम्बाप्पेले खेललाई ३-३ को स्थितिमा ल्याएका थिए ।

    अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए । अर्जेन्टिनाका मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।

  • मेस्सी महायुग, ३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वविजेता

    मेस्सी महायुग, ३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वविजेता

    काठमाडौँ । विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।

    निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जित्यो ।

    निर्धारित समयमा खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।

    डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । ९० सेकेन्डमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे ।खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।

    ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर फिनिस गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका हुन् ।
    निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

    खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८औं मिनेटमा ह्याट्रिक पुरा गर्दै एम्बाप्पेले खेललाई ३-३ को स्थितिमा ल्याएका थिए ।

    अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए । अर्जेन्टिनाका मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।

    यससँगै अर्जेन्टिनाले १९७८ र १९८६ पछि तेस्रो विश्वकप उपाधि जितेको छ । समूह चरण अन्तर्गत पहिलो खेलमा साउदिअरबसँग पराजित हुँदै विश्वकप यात्रा थालेको अर्जेज्टिनलाले दोस्रो खेलमा मेक्सिकोलाई र तेस्रो खेलमा पोल्यान्डलाई समान २–१ गोलको नतिजमा पराजित गर्दै अन्तिम १६ यात्रा तय गरेको थियो ।

    अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनल पुगको थियो । रोमाञ्चक सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टि सुटआउटमा ४–३ को नतिजमा हराउँदै अर्जेन्टिना सेमिफाइल पुगेको थियो । साविक उपविजेता क्रोएसियालाई सेमिफाइनलमा ३–० गोलको नतिजामा पाखा लगाउँदै अर्जेन्टिनालो फाइनल यात्रा तय गरेको थियो ।

  • एम्बाप्पेको ह्याट्रिक,अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी

    एम्बाप्पेको ह्याट्रिक,अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् ।
    लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
    मेसीले १०८औँ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एम्बाप्पेले ११८औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएका थिए । एम्बाप्पे १९६६ को विश्वकप पछि फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
  • विश्वकप फाइनल नाटकीय बराबरीसँगै खेल अतिरिक्त समयमा 

    विश्वकप फाइनल नाटकीय बराबरीसँगै खेल अतिरिक्त समयमा 

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको निर्धारित समय २ – २ गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ ।

    लुसेल रंगशालमा जारी खेलमा पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको २३औँ मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

    खेलको २०औँ मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।

    डी मारियाले खेलको ३६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन् । ९० सेकेन्डमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे । खेलको ८०औँ मिनेटमा एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।

    ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर फिनिस गरेका थिए । त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका हुन् ।  निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

  • एमबाप्पेको लगातार दुई गाेलपछि फ्रान्स बराबरीमा

    एमबाप्पेको लगातार दुई गाेलपछि फ्रान्स बराबरीमा

    काठमाडाैं । केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रान्स जारी विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध बराबरीमा पुगेको छ। फ्रान्सले खेललाई २२ गोलको बराबरीमा ल्याएको छ।

    लुसेल रंगशालामा जारी खेलमा ९० सेकेन्डमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे ।

    एमबाप्पले एक मिनेटको अन्तरमा गोल गरेका हुन्। ८० औं मिनेटमा उनले पेनाल्टीमा गोल गरेका थिए भने ८१ औं मिनेटमा अर्को गोल थपेका थिए ।

    खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याएका थिए । ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर फिनिस गरेका थिए । त्यसको एक मिनेट नबित्दै एम्बाप्पेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका हुन् ।
  • गोल गरेपछि सेलिब्रेसन गर्दा रोए डी मारिया

    गोल गरेपछि सेलिब्रेसन गर्दा रोए डी मारिया

    दोहा। विश्वकप फुटबलको अहिले भइरहेको फाइनलमा गोल गरेपछि अर्जेन्टिनाका एन्जेल डी मारिया गोल गरेपछि सेलिब्रेसन गर्नेक्रममा रोएका छन्।

    ३६ औं मिनेटमा डी मारिया गोल गरेपछि रोएका थिए। उनी चोटबाट मुक्त हुँदै फाइनलमा सुरुवाती ११ मा समावेश भएका थिए।

    त्यसअघि डी मारियालाई नै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। २३ औं मिनेटमा पाएको त्यही पेनाल्टी सदुपयोग गर्दै लियोनल मेस्सीले अग्रता दिलाएका थिए। पहिलो हाफको समाप्तीमा अर्जेन्टिना २-० गोलले अगाडि रहेको छ।

  • विश्वकप फाइनल : फ्रान्सविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २-० ले अघि

    विश्वकप फाइनल : फ्रान्सविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २-० ले अघि

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ । लुसेल रंगशालमा जारी खेलमा अर्जेन्टिनालाई अग्रता दिलाउन कप्तान लियोनल मेस्सी र एन्जिल डी मारियाले गोल गरे ।

    खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।

    डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन् । म्याकलिस्टरले दिएको पासलाई लेफ्ट फ्ल्याङ्कमा अनमार्क रहेका डिमारियाले सुन्दर फिनिस गरेका थिए ।

    आजको खेलमा फ्रान्सलाई पराजित गरे अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्नेछ ।

    अर्जेन्टिना यसअघि अन्तिम पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो ।

    सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० को नतिजामा पराजित गरेको थियो। भने फ्रान्सले मोरक्कोलाई २-० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो ।

  • डि मारियाको गोलमा अर्जेन्टिनालाई २-० गोलको अग्रता

    डि मारियाको गोलमा अर्जेन्टिनालाई २-० गोलको अग्रता

    काठमाडौं । एन्जील डिमारियाको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।

    लुसेल रंगशालामा जारी खेलको ३६औं मिनेटमा गोल गर्दै डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन् । म्याकलिस्टरले दिएको पासलाई लेफ्ट फ्ल्याङ्कमा अनमार्क रहेका डिमारियाले सुन्दर फिनिस गरेका थिए ।

    यसअघि २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

  • विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता

    विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता

    कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

    लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

    खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।

  • मेस्सीको प्रशंसा गर्दै पारस खड्काले भने- आज राति विश्वकपको ट्रफी उचाल्नेछन्

    मेस्सीको प्रशंसा गर्दै पारस खड्काले भने- आज राति विश्वकपको ट्रफी उचाल्नेछन्

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अर्जेन्टिनाले विश्वकपको उपाधि चुम्ने बताएका छन् । उनले अर्जेन्टिनाका कप्तानसमेत रहेको लियोनल मेस्सीको तस्बिर शेयर गर्दै यस्तो बताएका हुन् ।

    उनले मेस्सीलाई निकै खुलेर प्रशंसा गरेका छन् । पारसले मेस्सीलाई करिस्मेटिक, जादुमयी, रहस्यमी, लिजेन्ड, सुपरस्टार एकमात्र खेलाडीको रुपमा रहेको भन्दै आज राति विश्वकपको ट्रफी उचाल्ने विश्वास व्यक्त गरेका छन् ।

     

  • मेस्सीबारे दीपकको टिप्पणी- अर्जेन्टिनामा अर्का जादुगर आए

    मेस्सीबारे दीपकको टिप्पणी- अर्जेन्टिनामा अर्का जादुगर आए

    काठमाडौं । कतारमा जारी विश्वकपबाट आज विश्वले एक विजेता पाउँदैछ । नेपाली समयानुसार आज राति ८ः४५ बजे हुने खेलमा फ्रान्स र अर्जेन्टिना अन्तिम प्रतिस्पर्धा छन् ।

    विश्वकपको आज अन्तिम दिन भएकाले सर्वसाधारणदेखि कलाकारसम्म आफ्नो टीमलाई समर्थन गर्न व्यस्त देखिन्छन् । यसैबीच अभिनेता तथा निर्देशक दीपकराज गिरीले पनि अर्जेन्टिनालाई समर्थन जनाउँदै आफ्नो सामाजिक सञ्जालमा स्टाट्स शेयर गरेका छन् ।

    उनले सन् १९९० बाट आफूले फुटबल हेर्न सुरु गरेको लेखेका छन् । म्याराडोनाको खेल हेर्न थालेपछि अर्जेन्टिना मन पर्न थालेको उनको भनाइ छ ।

    उनी लेख्छन, ‘म्याराडोना र उनको जादुको बारेमा सुनेकोमात्र थिएँ । टेलिभिजनमा हेरेपछि उनी र अर्जेन्टिना मन पर्न थाल्यो । त्यसपछि पिरती गाँसिए झैं भयो । बाटिस्टुटा, ओर्टेगा, कार्लोस टेभेज जस्ता प्रिय खेलाडीहरूका कारण मन अर्जेन्टिनामै रहिरह्यो । लगातार सपोर्ट गर्न छाडिएन ।’

    उनले स्टाट्समा मेस्सीलाई जादुगर बताएका छन् । मेस्सीको फुटबल खेल्ने शैलीमात्र नभई उनको व्यक्तित्वले समेत आफूलाई आकर्षित गरेको दीपक बताउँछन् । फ्रान्स बलियो टीम भए पनि फुटबलप्रेमी र मेस्सीको जीत हेर्ने रहर भएकाले यसपालिको विश्वकप मेस्सीको नाममा हुनुपर्ने कुरा उनले स्टाट्समा उल्लेख गरेका छन् ।

  • कतार विश्वकप : ‘गोल्डेन ग्लोभ’ का चार दाबेदार

    कतार विश्वकप : ‘गोल्डेन ग्लोभ’ का चार दाबेदार

    काठमाडौं । डिसेम्बर १८ अर्थात आज राति सुलेल रंगशालामा फाइनल विजेतालाई विश्वकप ट्रफीसँगै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कृत गरिन्छ ।

    व्यक्तिगत खेलाडीहरुाई दिइने पुरस्कारमध्ये एउटा हो, गोल्डेन ग्लोभ । जुन विश्वकप प्रतियोगिताभरिको एक उत्कृष्ट गोलकिपरलाई प्रदान गरिन्छ ।

    गोल्डेन ग्लोभ सन् १९९४ मा पहिलोपटक सोभियत संघका लिजेन्डरी किपर लेभ यासहिनलाई प्रदान गरिएको थियो । फिफा टेक्निकल अध्ययन टीमले प्रतियोगिताभर गोलकिपरको प्रदर्शनलाई मूल्याङ्कन गरेर गोल्डेन ग्लोभको विजेता छनोट गर्छ ।

    कतारमा जारी विश्वकपमा चार गोलकिपर छन्, जो गोल्डेन ग्लोभका दाबेदार मानिएका छन् । को हुन् त ती चार गोलकिपर ?

    डोमिनिक लिभाकोभिच

    सन् २०१८ मा क्रोएसियाको सानदार फाइनल यात्राका नायक थिए गोलकिपर डानिजेल सुबासिच । जसले पेनाल्टी सुटआउटमा चार पेनाल्टी रोकेका थिए ।

    अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध सानदार प्रदर्शन गरेका डोमिनिक लिभाकोभिचले सुबासिचले जत्तिकै चार पेनाल्टी रोके । लिभाकोभिचकै उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गर्‍यो ।

    सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि क्रोयसिया लगातार दोस्रोपटक फाइनल पुग्न सकेन । तर, उसका गोलरक्षक लिभाकोभिच गोल्डेन ग्लोभका बलियो दाबेदार हुन् ।

    उनले प्रतियोगिताभरि ६ खेल खेल्दै तीन क्लिन सिट राखेका छन् । तीन गोल खाएका उनले २३ सेभ गरेका छन् ।

    इमिलियानो मार्टिनेज

    पछिल्ला वर्षहरुमा अर्जेन्टिनाको सफलताका पछाडि रहेका एक पात्र हुन इमिलानो मार्टिनेज । इङलिस क्लब एस्टन भिल्लाको गोलपोस्ट सम्हालिरहेका मार्टिनेजले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनकै उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनालाई फाइनलसम्म पुग्न मद्दत गर्‍यो । मार्टिनेजको उपस्थितिले अर्जेन्टिनालाई शान्त र स्थिरताको भावना प्रदान गरेको छ ।

    क्वार्टरफाइनलमा नेदल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा मोर्टिनेजको महत्व विशेष गरी जोडिएको थियो ।

    जारी विश्वकपमा मार्टिनेजले ६ खेल खेल्दा तीन क्लिन सिट राखेका छन् । पाँच गोल खाएका उनले ५ गोल बचाउँदै गोल्डेन ग्लोभ दौडमा बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।

    यास्नी बुनोउ

    कतार २०२२ मा मोरोक्कोको सानदार सेमिफाइनल यात्रामा बुनोउको उत्कृष्ट प्रदर्शनको ठूूलो भूमिका छ । विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकी राष्ट्र बनेर इतिहास बनाएको मोरोक्कोले सेमिफाइनलअघि विपक्षीको एक गोल पनि खाएको थिएन ।

    बुनोउले सेमिफाइनअघि समूह चरणमा क्यानाडाविरुद्ध आत्मघाती गोल भने व्यहोरेका थिए । सेमिफाइनलमा सविक विजेता फ्रान्ससँग २-० गोलको नतिजामा पराजित हुँदै बाहिरिएको मोरोक्कोेका लागि बुनोउ गोल्डेन ग्लोभको लागि बलिया दाबेदारका रुपमा प्रस्तुत भएका छन् ।

    उनले जारी विश्वकपमा पाँच खेल खेल्दै तीन क्लिन सिट राखेका छन् र तीन सेभ गरेका छन् ।

    हुगो लोरिस

    फ्रान्सका कप्तान तथा गोलकिपर हुगो लोरिस एक उत्कृष्ट गोलकिपर हुन् । जसले सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । जारी विश्वकपमा पनि उनकै कप्तानीमा फ्रान्स फाइनल पुगेको छ । लोरिसको हातमा उपाधि रक्षा गर्ने ठूलो दबाबका साथै अवसर पनि रहेको छ ।

    लोरिसले कतारमा जारी फिफा विश्वकपमा ४ गोल खाँदै ८ सेभ गरेका छन् । जुन गोल्डेन ग्लोभका लागि बलियो दाबेदारी हो ।

  • नेपाली फुटबल प्रशिक्षक कटुवाल भन्छन्- अर्जेन्टिनामा टीम भावना, फ्रान्सको थोरै बढी सम्भावना

    नेपाली फुटबल प्रशिक्षक कटुवाल भन्छन्- अर्जेन्टिनामा टीम भावना, फ्रान्सको थोरै बढी सम्भावना

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका निमित्त प्रमुख प्रशिक्षक प्रवेश कटवालले विश्वकप फुटबलको आइतबार राति हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराउन सक्ने अनुमान गरेका छन् ।

    झापाको बिर्तामोडनजिकै रहेको सैनिक बजारस्थित बास्केटबल कोर्टमा प्रोजेक्टर राखेर ४/५ सय दर्शकमाझ फाइनल हेर्ने तयारी गरिरहेका कटवाल भन्छन्, ‘फाइनलमा अनुमान लगाउन गाह्रो छ । फ्रान्सको ५५ प्रतिशत र अर्जेन्टिनाको ४५ प्रतिशत सम्भावना देखिरहेको छु ।’

    उनले फ्रान्सले पछिल्लोपटक अर्जेन्टिनालाई हराएकाले मनोबल उच्च भएको हुनसक्ने बताए ।

    ‘पछिल्लोपटक जितेको मानसिकताले धेरै काम गर्छ । फ्रान्सको टीम सन्तुलित देखिन्छ । अघिल्लोपटक विश्वकप खेलेका धेरै खेलाडी टोलीमा छन् । मिडफिल्ड धेरै बलियो देखिन्छ । ग्रिजम्यान परिपक्व बनेका छन् । एमबाप्पे फर्ममा देखिन्छन्’, उनी भन्छन्, ‘तर, पोग्बा र कान्टेजस्ता खेलाडी चोटका कारण नभएकाले मिडफिल्डमा अनुभवको कमी देख्न सकिन्छ ।’

    उनले अर्जेन्टिनामा टीम भावना बलियो रहेको बताए ।

    ‘अर्जेन्टिना यो प्रतियोगितामा पहिलो खेल हारेर पनि फर्किएको टोली हो । सेमिफाइनलमा ब्राजिल, जर्मनीजस्ता टिमहरु भिड्ने समीकरण देखिए पनि उनीहरु चाँडै आउट हुँदा त्यसको फाइदा अर्जेन्टिनालाई देखियो’, कटवाल भन्छन्, ‘अर्जेन्टिनाको सबैभन्दा बलियो पक्ष भनेकै टीम भावना हो । सबै जनाले मेस्सीका लागि खेलिरहेका छन् जस्तो देखिन्छ । त्यसले गर्दा टीम निकै बलियो बनेको छ । डिफेन्समा केही बुढा खेलाडी भएकाले फ्रान्सविरुद्ध अर्जेन्टिनालाई समस्या पर्न सक्छ ।’

  • कोपा अमेरिकामा निर्णायक गोल गरेका प्ले मेकर डी मारिया फ्रान्सविरुद्ध बेन्चमा कि मैदानमा ?

    कोपा अमेरिकामा निर्णायक गोल गरेका प्ले मेकर डी मारिया फ्रान्सविरुद्ध बेन्चमा कि मैदानमा ?

    काठमाडौं । सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपको फाइनलमा अर्जेन्टिनाले भर गरेका प्ले मेकर एन्जेल डी मारिया खेल्न सकेका थिएनन् । चोटका कारण उनले जर्मनीविरुद्धको उपाधि भिडन्त गुमाएका थिए ।

    उनै डी मारियाको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनाले गत वर्ष ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । फाइनल अर्जेन्टिनाले १-० गोलले जित्दा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब तीन दशकयताको उपाधि खडेरी टारेको थियो ।

    अर्जेन्टिना फेरि विश्वकपको फाइनल पुगेको छ । आइतबार राति हुने फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सको सामना गर्दा डी मारिया मैदान उत्रन्छन् कि उत्रँदैनन् भन्ने अनुमान लगाउन गाह्रो छ ।

    डी मारियाले प्रि-क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनलमा क्रोएसियाविरुद्ध बेन्चमा बिताएका थिए । क्वाटरफाइनलमा पनि उनले ९ मिनेटमात्र खेले । समूहगत चरणका तीनवटै खेलमा उनी सुरुवाती ११ मा रहे पनि दोस्रो हाफमा सब्स्टिच्युट भएका थिए ।

    डी मारिया अर्जेन्टिनी टोलीका दोस्रो सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले हालसम्म अर्जेन्टिनाका लागि १२८ खेल खेल्दै २७ गोल गरेका छन् । उनले सन् २००८ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

    सन् २००८ मा आयोजित बेइजिङ ओलम्पिकमा अर्जेन्टिनाले स्वर्ण पदक जित्दा डी मारिया मेस्सीसँगै टोलीका महत्वपूर्ण सदस्य थिए ।
    उनी सन् २००७ मा अर्जेन्टिनी यू-२० विश्व च्याम्पियन हुँदा पनि टोलीका महत्वपूर्ण सदस्य थिए ।

    जारी प्रतियोगितामा डी मारिया समूहगत चरणको तेस्रो खेलमा पोल्यान्डविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । तर, डी मारिया पूर्णतः फिट रहेको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ।

    उनी सेमिफाइनलमा उत्रन सक्ने भए पनि प्रशिक्षक लियोनल स्कालोनीले रणनीतिक रुपमा बाहिर राखेको र जोखिम नमोलेको पनि उसले उल्लेख गरेको छ । चार वर्षअघि आयोजित विश्वकपमा अर्जेन्टिनाले फ्रान्ससँग ४-३ गोलको हार ब्यहोरे पनि डी मारियाले एक गोल गरेका थिए ।

    कोपा अमेरिका विजेता र युरोकप विजेता इटालीबीच यसै वर्ष भएको प्रतिस्पर्धामा अर्जेन्टिना ३-० गोलले विजयी हुँदा पनि डी मारियाले एक गोल गरेका थिए ।

  • छोराछोरीसँग क्राेयसियाली खेलाडीले मैदानमै यसरी साटे खुशी (तस्बिरहरू)

    छोराछोरीसँग क्राेयसियाली खेलाडीले मैदानमै यसरी साटे खुशी (तस्बिरहरू)

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति सम्पन्न तेस्रो स्थानको खेलमा मोरक्कोलाई पराजित गरेसँगै क्रोएसियाले कास्य पदक जितेको थियो ।

    खलिफा रंगशालामा मोरोक्कोलाई २-१ गोलको नतिजामा पराजित गर्न क्रोएसियाका जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे ।

    सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै लगातार दोस्रो पटक फाइनल पुग्न बञ्चित भए पनि क्रोएसियाले तेस्रो स्थान प्रप्तिमै खुशीयाली मनाएको थियो ।

    क्रोएसियाका खेलाडीहरु कप्तान लुका मोड्रिक, मार्सेलो ब्रोजोभिच, डेजान लोभ्रेन र एन्ड्रेज क्रामारिचले परिवारसँग खुशी साटेका थिए ।

  • क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसकेका एमबाप्पेका लागि अर्जेन्टिनाविरुद्ध मुख्य दुई चुनौती

    क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसकेका एमबाप्पेका लागि अर्जेन्टिनाविरुद्ध मुख्य दुई चुनौती

    काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आइतबार राति हुने अर्जेन्टिनाविरुद्धको फाइनलमा फ्रान्सका सबैभन्दा बढी आशा गरिएका खेलाडी हुन्, केलियन एमबाप्पे ।

    चार वर्षअघि रुसमा आयोजित विश्वकप जित्दा एमबाप्पेले पेलेको कीर्तिमान चुम्दै विश्वकप जितेका थिए । उनी विश्वकपको फाइनलमा गोल गर्ने र उपाधि जित्ने पेलेयताका पहिलो किशोर खेलाडी बनेका थिए ।

    जारी विश्वकपमा एमबाप्पे गोल्डेन बुटको दौडमा छन् । उनले प्रतियोगितामा ५ गोल र दुई असिस्ट गरेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनल मेस्सीको नाममा ५ गोल र तीन असिस्ट रहेको छ ।

    एमबाप्पेले जारी प्रतियोगिताका क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न सकेका छैनन् । फाइनलमा गोल गरे मात्र उनले गोल्डेन बुट जित्ने सम्भावना रहन्छ ।

    फ्रान्स विश्वकपमा ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्ने प्रयासमा रहेको छ । यस्तो सफलता अन्तिमपटक पेलेसम्मिलित ब्राजिलले सन् १९६२ मा हात पारेको थियो ।

    विश्वकप फुटबल इतिहासमा ब्राजिल र इटालीले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको थियो । विश्वकप इतिहासमा यसअघि केवल चार खेलाडीले मात्र दुईवटा संस्करणको फाइनलमा गोल गरेका छन् ।

    ब्राजिलका भाभा र पेले, जर्मनीका पल ब्रेइटनर र फ्रान्सका जिनेदिन जिदान दुई वटा फाइनलमा गोल गर्ने खेलाडी हुन् ।
    जिदानले सन् १९९८ र २००६, भाभाले सन् १९५८ र १९६२, पेलेले १९५८ र १९७० विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्रेइटनरले सन् १९७४ र १९८२ को विश्वकपको फाइनलमा गोल गरेका थिए । यो हिसाबले अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेको अवस्थामा एमबाप्पे लगातार विश्वकपको फाइनलमा गोल गर्ने केवल दोस्रो खेलाडी पनि बन्नेछन् ।

    क्लब फुटबलमा एमबाप्पेले नेमार र मेस्सीसँगै फ्रान्सको पेरिस सेन्ट जर्मनबाट ब्यावशायीक फुटबल खेलिरहेका छन् ।
    उनी लिग वानका पछिल्लो लगातार चार सिजनका सर्वाधिक गोलकर्ता हुन् । यो सिजन पनि उनी मेस्सी र नेमारजस्ता खेलाडीलाई पछाडि पार्दै घरेलु लिग र क्लबका लागि अगाडि रहेका छन् ।

    फ्रान्सले सन् २०१८ को विश्वकपमा अर्जेन्टिनालाई पाखा लगाउँदा एमबाप्पेले दुई गोल गरेका थिए । त्यतिबेला फ्रान्सले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई हराएको थियो । विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई हराएको त्यो पहिलो र अन्तिम अवसर थियो। त्यसयता यी दुई टोली पहिलोपटक भिड्दैछन् ।

     

  • घोडाघोडी नगर फुटबल समिति गठन, अध्यक्षमा शाही

    घोडाघोडी नगर फुटबल समिति गठन, अध्यक्षमा शाही

    कैलाली । कैलालीको घोडाघोडीमा नगर फुटबल तदर्थ समिति गठन गरिएको छ । आज एक कार्यक्रमका बीच गणेश शाहीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

    समितिको उपाध्यक्षमा छत्र बुढा र रोहित बहादुर साउँद रहेका छन् । त्यस्तै, सचिवमा अमित बोगटी, कोषाध्यक्षमा कल्पना विष्ट, सहसचिवमा प्रेम कैनी र लोकेन्द्र बहादुर शाही रहेका छन् ।

    समितिको सदस्यमा नारायण श्रेष्ठ, आयुष जोशी, दीपक बोहरा, बलराम खत्री, विवेक शाही, लाल बहादुर चौधरी, धिरज भन्डारा, वीर बहादुर रावल, योगेश चौधरी, गोपी शाही, खेमराज बम, दीपेन्द्र गौतक, किरण विष्ट, नरेन्द्र कठायत र चक्र थापा रहेका छन् ।

    कैलाली जिल्ला फुटबल संघका जिल्ला सदस्य होम तामाङको संयोजकत्वमा नगर स्तरीय तदर्थ समिति गठन गरिएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत, उपप्रमुख गुलिया देवी चौधरी र शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहको उपस्थितिमा समिति गठन गरिएको थियो ।

    समितिका सदस्य तथा पदाधिकारीहरूलाई शुभकामना र बधाई दिँदै नगर प्रमुख रावतले आगामी दिनमा खेलाडीहरूका लागि विभिन्न कार्यक्रमहरू ल्याउने आश्वासन दिए । जिल्ला फुटबल संघका जिल्ला सदस्य तामाङकाले नव निर्वाचित अध्यक्ष शाहीलाई माइनेट हस्तान्तरण समेत गरेका थिए ।

  • ३५ वर्षको उमेरमा मेस्सीको उच्च लय- १८ वर्षयताकै सर्वाधिक अन्तर्राष्ट्रिय गोल

    ३५ वर्षको उमेरमा मेस्सीको उच्च लय- १८ वर्षयताकै सर्वाधिक अन्तर्राष्ट्रिय गोल

    दोहा। सन् २०२२ लियोनल मेस्सीका लागि अन्तर्राष्ट्रिय गोलका हिसाबले १८ वर्षयताकै सबैभन्दा उर्वर वर्ष बनेको छ। मेस्सीले यो वर्ष १६ गोल गरिसकेका छन्।

    उनले १३ खेलमा यी गोल गरेका हुन्। उनले यसमध्ये विश्वकपमा मात्र ६ खेलमा ५ गोल गरेका छन्। उनले यो वर्ष मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा ४ खेलमा १० गोल गरेका छन्।

    मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्। उनले पहिलो वर्ष ५ खेल खेले पनि गोल गर्न सकेका थिएनन्। सन् २००६ मा ७ खेल खेल्दै २ गोल गरेका थिए।

    उनले यसबीचमा सबैभन्दा बढी गोल गरेको वर्ष सन् २०१२ रहेको थियो। त्यस वर्ष उनले ९ खेलमा १२ गोल गरेका थिए। उनले दोहोरो अंकमा गोल गरेको वर्ष त्यही एक मात्र रहेको थियो। त्यसपछि उनले सबैभन्दा बढी गोल गरेको वर्ष सन् २०२१ रहेको थियो। उनले गत वर्ष १६ खेलमा ९ गोल गरेका थिए।

    मेस्सीले हालसम्म अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीका लागि एक सय ७१ खेलमा ९६ गोल गरेका छन्। उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा ४४, कोपा अमेरिकामा १३, विश्वकपमा ११ र विश्वकप छनोटमा २८ गोल गरेका छन्।

    जारी विश्वकपको समूहगत चरणमा दुई गोल गरेका उनले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका छन्।