Category: युरो २०२०

  • युक्रेनसँग नर्थ मेसिडोनिया २-१ ले पराजित

    युक्रेनसँग नर्थ मेसिडोनिया २-१ ले पराजित

    काठमाडौं । युरो २०२० को समूह ‘सी’ अन्तर्गत बिहीबार भएको खेलमा युक्रेनले नर्थ मेसिडोनियामाथि २-१ गोलको नतिजामा जित हासिल गरेको छ । रोमानियामा भएको खेलमा युक्रेनलाई प्रतियोगिताको पहिलो जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल गरे ।

    पहिलो पटक युरो खेलिरहेको नर्थ मेसिडोनियामाथि हाबी बनेको युक्रेनले २९औं मिनेटमा यार्मोलेन्कोले गरेको गोलसँगै अग्रता लिएको थियो । पाँच मिनेटको फरकमा युक्रेनको अग्रता दोब्बर पार्न यारेमचुकले ३४औं मिनेटमा पुन: गोल गरेका थिए ।

    नर्थ मेसिडोनियाका लागि एग्जान एलिवस्कीले ५७औं मिनेटमा एक गोल फर्काएका थिए ।

    निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा युक्रेनका रुस्लान मालिनोभ्स्की गोल गर्न असफल भएका थिए ।

    पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको युक्रेनको यो पहिलो जित हो । यस्तै पहिलो खेलमा अस्ट्रियासँग २-० ले पराजित भएको नर्थ मेसिडोनियाले समूह चरण पार गर्न सम्भावना न्युन भएको छ ।

  • एरिकसनको समर्थनमा खेल रोकेर ताली बजाइने

    एरिकसनको समर्थनमा खेल रोकेर ताली बजाइने

    काठमाडौं । फिनल्यान्डविरुद्धको खेलका दौरान कार्डिक एरेस्ट भएर मैदानमै ढलेका डेनिस प्लेमेकर क्रिस्टियन एरिकसनलाई ताली बजाएर समर्थन गर्न खेल रोक्ने भएको छ । शनिबार भएको खेलको ४२औं मिनेटमा एक्कासी मैदानमा ढलेर अचेत बनेका एरिकसन कोपनहेगनकै अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

    डेनिस समर्थकहरूले एरिकसनको समर्थनमा खेलको १०औं मिनेटमा ताली बजाउने योजना बनाइरहेका छन् ।

    ‘हामी बल टच लाइन बाहिर फालेर ताली बजाउने छौं,’ बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले भने, ‘हाम्रो टीमका धेरै खेलाडीले उनीसँग खेलेका छौं । तर, भोलिको खेल जितका लागि हुनेछ र त्यो कठिन हुने निश्चित छ ।’

    खेलको दशौं मिनेट चयन गर्नुको कारण एरिकसनको जर्सी नम्बर हो । उनी १० नम्बर जर्सी लगाएर डेनमार्कका लागि खेल्ने गर्छन् ।

  • युरो २०२०मा ‘स्लो स्टार्ट’ गरेको स्पेन कठिन मोडमा पुगेको हो ?

    युरो २०२०मा ‘स्लो स्टार्ट’ गरेको स्पेन कठिन मोडमा पुगेको हो ?

    काठमाडौं । युरो २०२० का लागि खेलाडी छनोटमा ‘बोल्ड’ देखिएका स्पेनिस मुख्य प्रशिक्षक लुइस इनरिकेले मिडियाको आलोचना सहनु परेको थियो । युरो किक अफ हुनु अगाडिदेखि नै सामान्य दबाबमा रहेका इनरिकेको टोलीले युरो २०२० को आफ्नो पहिलो खेलमा सोमबार राति स्वीडेनसँग गोलरहित बराबरी खेल्यो । समूह ‘ई’मा रहेको तीन पटकको च्याम्पियन स्पेनले प्रतियोगितामा धमाकेदार सुरुआत गर्न सकेन ।

    सेभियामा भएको स्वीडेनविरुद्धको खेलको अन्त्यमा केही घरेलु समर्थकले आक्राेशपूर्ण सिठ्ठी बजाउँदा खेलाडीहरू चुपचाप लागेर मैदान छाडेका थिए । तर, पहिलो खेलमा बराबरीमा रोकिएसँगै के स्पेन चिन्ताजनक अवस्थामा आइपुगेको हो त ? कि स्पेनले राम्रो कम ब्याक गर्छ ?

    फिनिसिङमा देखिएको समस्याले स्पेनलाई कमजोर पार्छ ?

    स्वीडेनविरुद्धको खेलमा ८५प्रतिशत बल पोसेसनमा प्रभुत्व जमाएको स्पेनले १९८० यताकै युरोपियन च्याम्पियनसिपमा सर्वाधिक ९१७ पास खेलेको थियो । तर, स्पेनको उत्कृष्ट अप्रोच र शानदार प्रदर्शन फिनिसिङमा ‘कन्भर्ट’ हुन नसक्दा खल्ल सावित भयो ।

    पहिलो हाफमा मात्रै ड्यानी ओल्मोको हेडर, कोकेको प्रयास र अल्भारो मोराटाको प्रहार सबै टार्गेटमा परेनन् । यी सबै मौकामा गोलको प्रवल सम्भावना थियो । तर, फिनिसिङमा चुक्दा स्वीडिस डिफेन्समाथि स्पेनिस आक्रमण हाबी हुन सकेन ।

    सुरुआती-११ मा भिलारियालका लागि गत सिजन ३० गोल गरेका जेरार्ड मोरेनोको स्थानमा मोराटाको छनोट प्रशिक्षक इनरिकेका लागि द्वुविधाजनक सावित भयो । उत्कृष्ट फर्ममा रहेका मोरोनोमाथि मोराटाले मौका पाए पनि प्रशिक्षकको विश्वासलाई न्याय गर्न सकेनन् ।

    ‘यदि १० पास बराबर एक गोल हुन्थ्यो भने, स्पेन कति अगाडि हुन्थ्यो ?,’ पूर्व इङ्लिस खेलाडी करेन कार्ने भन्छन्, ‘म बेल्जियम र लुकाकुबारे सोचिरहेको छु । उनी जस्तै उत्कृष्ट फर्ममा रहेका एक क्लिनिकल फिनिसर स्पेनले ‘मिस’ गरिरहेको छ । उनीहरूसँग चाहिएको सेन्टर फरवार्डबाहेक सबैछन् ।’

    ‘स्पेनले आरोप लगाउने आफैँलाई मात्रै हो,’ इङ्ल्यान्डका पूर्व कप्तान एलेन सेरर भन्छन्, ‘उनीहरूले पर्याप्त मौका सिर्जना गरे तर फिनिसिङमा असफल हुँदा गोल गर्न सकेनन् ।’

    स्पेनबाट पहिलो पटक प्रतियोगिता खेलिरहेका म्यानचेस्टर सिटीका डिफेन्डर आमेरिक लापोर्टले मोराटाको बचाउ गर्छन् ।

    ‘मोराटाले के गर्न सक्छन् हामीलाई थाहा छ,’ उनले भने, ‘आज उनको पक्षमा देखिएन यो सत्य हो, तर अर्को खेलमा उनले गोल गरेर सबैको मुखमा बुजो लगाइदिने छन् । हामीले अर्को खेल जित्नै पर्नेछ ।’

    ‘सिठ्ठी नबजाएको भए हुन्थ्यो’

    स्पेनले प्रतियोगितामा ‘स्लो स्टार्ट’ गरेको छ । यो सत्यबाट टोली भाग्न सक्दैन । तर, २०१० मा स्पेनले पहिलो खेलमा स्वीटजरल्यान्डलाई १-० को झिनो अन्तरले पराजित गर्दै यात्रा सुरु गरेर विश्वकप नै जितेको थियो ।

    यसपालीको युरोमा स्पेनले समूह चरणका सबै खेल सेभियामै खेल्ने छ र पक्कै पनि आगामी स्लोभाकिया र पोल्यान्डविरुद्धका खेलमा घरेलु समर्थकको समर्थनको अपेक्षा गर्नेछ ।

    ‘यदि समर्थकले सिठ्ठी बजाए पनि उनीहरू निरुत्साहित हुनु हुँदैन । र, म आशा गर्छु उनीहरूले बजाउँदैनन् पनि,’ स्पेनका डिफेन्डर मार्कोस लोरेन्टले भने, ‘हामीसँग अझै समूह चरणका दुई खेल अझै बाँकी छन्, र समर्थकको साथ महत्त्वपूर्ण हुनेछ ।’

    यस्तै लापोर्टले भने, ‘हामीले सिर्जना गरेका मौका र हामीले गरेको प्रयासलाई लिएर टोलीले निराश हुँदै मैदान छाडेको थियो । तर, हामीसँग अझै दुई खेल बाँकी छन् र हामी ती खेलमा अझै राम्रो गर्ने प्रयास गर्नेछौं । यदि हामीले त्यस्तै १० खेलमा खेल्ने हो भने ९ खेल पक्कै थियौँ ।’

    ‘हामी चिन्तित छैनौ । आज हाम्रो दिन थिएन । तर, छिट्टै हाम्रो समय आउने छ,’ लापोर्टले भने ।

    ‘हो, निश्चय पनि हामी समर्थकबाट त्यस्तो समर्थनको अपेक्षा गर्छौं,’ प्रशिक्षक लुइस इनरिकेले भने, ‘यो नै फुटबल हो । हामीले जित निकाल्न सकेको भए फ्यानलाई समर्पित गर्दा अझ राम्रो हुने थियो । किनभने उनीहरू सबै खेलका लागि एकदमै महत्त्वपूर्ण छन् ।’

    ‘संसार सकिएको होइन’

    २०१० मा स्पेनले विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका सेस फ्याब्रिगास आफ्नो देशले समूह चरण सहजै पार गर्नेमा विश्वस्त छन् ।

    ‘प्रतियोगिता सुरुआत कस्तो रह्यो भन्दा पनि अन्त्य कसरी भयो भन्ने टोलीका लागि महत्त्वपूर्ण हुन्छ,’ फ्याब्रिगासले भने, ‘स्पेनसँग समूह चरण पार गर्नका लागि आवश्यक सबै क्षमता छ ।’

    ‘पहिलो हाफ हेर्ने हो भने उनीहरूले उत्कृष्ट मौका सिर्जना गरेका थिए । तर, मौकाको फाइदा उठाउन सकेनन्,’ फ्याब्रिगासले भने, ‘स्पेनले हारेको होइन । अनि यो संसार सकिएको होइन । उनीहरूले सुधार गर्नेछन् म विश्वस्त छु ।’

    BBC बाट
  • लगातार जितपछि युरो २०२० को नकआउट चरणमा पुग्यो इटली

    लगातार जितपछि युरो २०२० को नकआउट चरणमा पुग्यो इटली

    एजेन्सी । समूहकाे आफ्नाे दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । रोवर्टो मान्चिनी नेतृत्वको उसको पछिल्लो लयलाई हेर्दा यो नतिजा अप्रत्यासित पनि होइन ।

    अघिल्लो खेलमा टर्कीलाई ३–० ले नै हराएको इटलीले गएराति स्वीस् टोलीमाथि घरेलु मैदान रोमामा सहज जित निकाल्यो ।

    २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरे ।

    स्वीटजरल्याण्डसँगको विजय उसको लगातार दशौं जित हो । पछिल्लोपल्ट हारेपछि उसले ३१ गेल गरेको छ । उसले पछिल्लो १९ खेलमा ५९ गोल गरेको छ भने ३ गोलमात्र खाएको छ ।

    इटली २९ खेलको अविजित यात्रामा छ र त्यसक्रममा ८० गोल गरेको छ । तथ्यांक हेर्दा ऊ ठूलो सफलताको भोको छ ।

  • टर्कीमाथि वेल्सको शानदार जित

    टर्कीमाथि वेल्सको शानदार जित

    काठमाडौं । आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ ।

    अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो ।

    सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको छैठौं मिनेटमा रामसेले गरेको प्रहारमा टर्कीका गोलकिपर युगुरकान साकिरले असफल बनाएका थिए ।

    यस्तै १७औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन । टर्कीका फरवार्ड बुरक यिलिमाजले ३७औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

    प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रोबर्ट्सले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै टर्कीको जित सुनिश्चित गरे । खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका कप्तान बेलले नै दुवै गोलका लागि मौका सिर्जना गरेका थिए ।

  • रामसेको गोलमा वेल्सलाई अग्रता

    रामसेको गोलमा वेल्सलाई अग्रता

    काठमाडौं। आरोन रामसेको एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलको पहिलो हाफमा टर्कीविरुद्ध १-० को अग्रता लिएको छ । अजरबैजानको बाकुमा जारी खेलको ४३‍औं मिनेटमा रामसेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका हुन् ।

    उनले कप्तान ग्यारेथ बेलको पासमा सुन्दर गोल गरेका थिए ।

    पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको वेल्स पहिलो जितको खोजीमा छ । त्यस्तै पहिलो खेलमा इटालीसँग ३-० ले पराजित भएको टर्की पनि पहिलो जितको खोजीमा छ ।

  • युरो २०२० मा रुसको पहिलो जित: फिनल्यान्ड १-० ले पराजित

    युरो २०२० मा रुसको पहिलो जित: फिनल्यान्ड १-० ले पराजित

    काठमाडौं । अलेक्सी मिरानचुकको निर्णायक गोलप्रेरित रुसले युरो २०२० को समूह ‘बी’ अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा फिनल्यान्डलाई १-० को नतिजामा पराजित गरेको छ ।

    पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको फिनल्यान्डविरुद्धको सेन्ट-पिटर्सबर्गस्थित घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा मिरानचुकको गोलसँगै रुसले अग्रता लिएको थियो ।

    सुरुआतदेखि भ्रमणकारी टोलीमाथि निरन्तर आक्रमण गरेको रुसले पहिलो हाफको इन्जुरी समयमा कप्तान आर्टेम जुवाको पासमा मिरानचुकले गरेको गोलसँगै १-० को अग्रता लिएको थियो ।

    खेलको चौथो मिनेटमै फिनल्यान्डका लागि जोइल पोजान्पालोले गरेको गोल भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए ।

    दोस्रो हाफमा दुवै तर्फबाट लगातार गोलका लागि निरन्तर प्रयास भए पनि सफल हुन नसक्दा नतिजा रुसको पक्षमा पर्‍यो । जितसँगै रुसको नक आउट चरण प्रवेशको सम्भावना जिवितै रहेको छ ।

    पहिलो खेलमा रुस बेल्जियमसँग ३-० ले पराजित भएको थियो भने फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको थियो ।

    रुसले समूह चरणको अन्तिम खेलमा मंगलबार डेनमार्कको सामना गर्नेछ भने फिनल्यान्डले पनि सोहि दिन बेल्जियमसँग खेल्ने छ।

  • युरो २०२०: फिनल्यान्डविरुद्ध पहिलो हाफमा रुसलाई अग्रता

    युरो २०२०: फिनल्यान्डविरुद्ध पहिलो हाफमा रुसलाई अग्रता

    काठमाडौं । पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको फिनल्यान्ड समूह ‘बी’ अन्तर्गत सेन्ट-पिटर्सबर्गमा जारी रुसविरुद्धको पहिलो हाफमा १-० ले पछाडि परेको छ ।

    सुरुआतदेखि भ्रमणकारी टोलीमाथि निरन्तर आक्रमण गरेको रुसले पहिलो हाफको इन्जुरी समयमा अलेक्सी मिरानचुकले गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको हो।

    खेलको चौथो मिनेटमै फिनल्यान्डका लागि जोइल पोजान्पालोले गरेको गोल भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए ।

    सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको ३१औं मिनेटमा अलेक्जेन्डर गोलोभिनको कर्नरमा इगोर डिभिभले हेडरमार्फत् गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो ।

  • रोनाल्डोले पानीको बोतल समाउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य !

    रोनाल्डोले पानीको बोतल समाउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य !

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोले एक पत्रकार सम्मेलनका दौरान कोकाकोलाका दुई बोतल  पन्छाइदिएपछि  कम्पनीको सेयर मूल्यमा ४ बिलियन डलरले गिरावट आएको छ । सधैँ फिट रहने पोर्चुगलका कप्तान रोनाल्डो कार्बोनेटेड सफ्ट ड्रिन्क- कोकाकोलाबारे के सोच्छन् भन्ने उनकाे त्याे एक्सनबाट स्पष्ट भएको थियो ।

    हंगेरीविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा विश्व फुटबलका आइकन रोनाल्डोले कोकाकोलाका बोतल हटाएर पानीका बोतल राेजेका थिए ।

    पानीको बोतल समाउँदै उनले ‘अग्वा’ भनेका थिए । उनले मानिसलाई कोकाकोलाको ठाउँमा पानी पिउन आम मानिसलाई प्रेरित गरेको प्रस्ट हुन्थ्यो ।

    विश्वभर धेरै समर्थक र फलोअर भएका रोनाल्डले कोकाकोलाका बोतल हटाएर पानीको बोतल राखेसँगै यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।

    युरो २०२० को प्रायोजकसमेत रहेको कोकाकोलाको सेयर मूल्य ५६.१० बिलियनबाट घटेर ५५.२२ बिलियनमा आएको छ । रोनाल्डाेको त्यो संकेतलगत्तै १.६ प्रतिशतले घटेको सेयर मूल्य अहिले पनि निरन्तर ओरालो लागिरहेको छ ।

  • प्रिमियर लिग २०२१/२२ को तालिका सार्वजनिक, सिटीले पहिलो खेलमा टोटेनह्यामको सामना गर्ने

    प्रिमियर लिग २०२१/२२ को तालिका सार्वजनिक, सिटीले पहिलो खेलमा टोटेनह्यामको सामना गर्ने

    काठमाडौं । अगस्ट १४ देखि सुरु हुने इङ्लिस प्रिमियर लिगको खेल तालिका बुधबार सार्वजनिक भएको छ । प्रिमियर लिगले सार्वजनिक गरेको खेल तालिका अनुसार च्याम्पियन म्यानचेस्टर सिटीले पहिलो टोटेनह्यामसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

    यस्तै म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा लिड्स युनाइटेडसँग ओल्ड ट्राफोर्डमा खेल्ने छ भने लिभरपुलले रेलिगेसनबाट आएको नर्विचको मैदानमा खेल्ने छ ।

    आर्सनलले पहिलो पटक प्रिमियर लिग खेल्न लागेको ब्रेन्टफोर्डको मैदानमा खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ भने चेल्सीले क्रिस्टल प्यालेससँग स्टामफोर्ड ब्रिजमा खेल्ने छ ।

    बर्न्लीले ब्राइटनको सामना गर्दा एभर्टनले साउथह्याम्टन, लेस्टर सिटीले वुल्भ्स र न्युक्यासलले वेस्टह्याम तथा वाटफोर्डले एस्टोन भिल्लासँग खेल्ने छन् ।

    पहिलो साताका सबै खेल अगस्ट १४ मा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछन् ।

  • स्वीटजरल्यान्डविरुद्ध उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने इटालीको लक्ष्य

    स्वीटजरल्यान्डविरुद्ध उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने इटालीको लक्ष्य

    काठमाडौं । युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार राति हुने खेलमा इटालीले स्वीटजरल्यान्डको सामना गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलको नतिजाले पराजित गरेको इटाली उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन चाहन्छ ।

    पहिलो खेलमा सर्वाधिक तीन अंक बटुल्न असफल रहेको स्वीटजरल्यान्ड वेल्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । वेल्सविरुद्ध १-० को अग्रता बनाए पनि किफर मुरीको गोलसँगै स्वीटजरल्यान्ड अंक बाँड्न बाध्य बनेको थियो ।

    इटालीको रोमस्थित स्टाडियो ओलिम्पिकोमा यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

    आजको खेलमा जित हासिल गरे इटाली एक खेल अगावै अन्तिम १६ मा पुग्ने निश्चित हुन्छ भने स्वीटरल्यान्डको पनि तीन अंक हासिल गर्न सके सम्भावना बलियो बन्ने छ ।

    यद्यपि, इटालीलाई उसकै मैदानमा पराजित गर्नु स्वीटजरल्यान्डका लागि सहज पक्कै हुने छैन ।

  • ४० वर्षपछि टर्कीविरुद्ध जितको खोजीमा वेल्स

    ४० वर्षपछि टर्कीविरुद्ध जितको खोजीमा वेल्स

    काठमाडौं । युरो २०२० को समूह ‘ए’अन्तर्गत बुधबार राति ठूला प्रतियोगितामा पहिलो पटक वेल्स र टर्की आमनेसामने हुँदैछन् । अजरबैजानको बाकुमा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुने खेलमा २०१६ को सेमिफाइनलिस्ट वेल्स पहिलो जितको खोजीमा हुनेछ ।

    शुक्रबार राति रोममा भएको युरो २०२० को पहिलो खेलमा इटालीसँग ३-० को पराजय बेहोरेको टर्की पनि समूह चरण पारगर्न आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यस्तै, पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको वेल्स पनि समूह चरणको अन्तिम खेलमा इटालीको सामना गर्नुपर्ने भएकाले आजको खेलमा तीन अंक बटुल्न चाहन्छ ।

    अन्तिम पटक यी दुई टोलीको १९९७ मा विश्वकप छनोटका दौरान इस्तानबुलमा भेट भएको थियो । उक्त खेलमा घरेलु टोली टर्कीले वेल्समाथि ६-४ को रोमाञ्चक जित हासिल गरेको थियो । वेल्सले ४० वर्षयता टर्कीलाई हराउन सकेको छैन ।

    १९८१ मा मा भएकव विश्वकप छनोटमा वेल्सले अन्तिम पटक टर्कीलाई १-० ले पराजित गरेको थियो ।

  • युरो २०२०: बुधबारको पहिलो खेलमा रुस र फिनल्यान्ड भिड्दै

    युरो २०२०: बुधबारको पहिलो खेलमा रुस र फिनल्यान्ड भिड्दै

    काठमाडौं । युरो २०२० को दोस्रो चरण बुधबारदेखि सुरु हुँदैछ । नेपाली समयअनुसार समूह ‘बी’ अन्तर्गत साँझ ६:४५ बजे सुरु हुने खेलमा पहिलो पटक युरोपियन च्याम्पियनसिपमा छनोट भएको फिनल्यान्डले रुसको सामना गर्दैछ ।

    रुसको सेन्ट-पिटर्सबर्ग रंगशालामा हुने खेलमा घरेलु टोलीलाई पराजित गर्दै फिनल्यान्ड अन्तिम १६ स्थान सुरक्षित गर्न चाहन्छ । पहिलो खेलमा डेनमार्कविरुद्ध १-० को कठिन जित निकालेको फिनल्यान्डको तीन अंक छ । त्यस्तै, पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजय भोगेको रुस अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ ।

    यद्यपि, रुसविरुद्धका पछिल्ला चार खेलमा १ गोल मात्र गर्न सफल भएको फिनल्यान्डलाई आजको खेलमा घरेलु टोलीको दबाब सहनुपर्ने सहजै अनुमान गर्न सकिन्छ । यसअघि, रुसविरुद्ध फिनल्यान्डले अन्तिम पटक १९९५ को नोभेम्बरमा अन्तिम पटक गोल गर्न सफल भएको थियो ।

    रुसले युरोपेली मुलुकविरुद्ध खेलेका पछिल्ला ६ खेलमा जित दुई बराबरी र चार खेलमा पराजय भोग्दा जितविहीन बनेको छ ।

  • मोरोसिनीदेखि एरिक्सनसम्मः  मैदानमै ‘कोल्याप्स’ भएका पाँच फुटबलर

    मोरोसिनीदेखि एरिक्सनसम्मः मैदानमै ‘कोल्याप्स’ भएका पाँच फुटबलर

    काठमाडौं । विश्व फुटबलमा कहिले कहीँ दुर्भाग्यवस खेलाडीहरू मैदानमा ढल्न गरेका छन् । जसको पछिल्लाे उदाहरण युरो २०२० अन्तर्गत शनिबार राति भएको डेनमार्क र फिनल्यान्डबीचको खेलमा क्रिस्टियन एरिक्सन हुन् ।

    फिजिकल फिटनेस एकदमै आवश्यक पर्ने खेल हो, फुटबल । फुटबलरले यसलाई सधैँ ध्यान दिएकै हुन्छन् । तर पनि कहिले कहीँ बिर्सनलायक दुर्घटनाबाट बच्न सम्भव हुँदैन । फुटबलको इतिहासमा धेरै पटक फुटबल खेलाडी मैदानमै ढलेका छन् । यस्तै विश्व फुटबलका पाँच दुर्घटनालाई यसरी सूचीकृत गर्न सकिन्छ ।

    ५. पियरमारियो मोरोसिनी

    पियरमारियो मोरोसिनी इटालियन सिरी ‘बी’मा लिभोर्नोका लागि खेल्दै गर्दा पेस्काराविरुद्धको खेलका दौरान मैदानमा ढलेका थिए । पटक पटक उठ्ने कोसिस गर्दा पनि असफल भएका २५ वर्षीया मोरोसिनी खेलको ३१औं मिनेटमा ढलेका थिए । मेडिकल स्टाफले तुरुन्तै उनको उपचारका लागि मैदानमा पुगेका थिए र उनलाई अस्पताल पुर्‍याएको थियो । तर, उनको जीवन बचाउन मेडिकल स्टाफहरू असफल भएका थिए । उनलाई कार्डिक एरेस्ट भएको र अस्पताल पुर्‍याउँदा उनको मुटुको चाल बन्द भइसकेको चिकित्सकले बताएका थिए ।

    ४. फ्याब्रिक मुआम्बा

    पियरमारियो मोरोसिनीको दुर्घटनाको एक महिना अगाडि २०१२ मार्चमा फ्याब्रिक मुआम्बा पनि त्यस्तै दुर्घटनाको शिकार भएका थिए । बोल्टन वान्डर्सका खेलाडी फ्याब्रिक एफए कपमा टोटेनह्यामविरुद्धको खेलको पहिलो हाफको अन्तिममा ढलेका थिए । २३ वर्षीया फ्याब्रिक तुरुन्तै अस्पला पुर्‍याइएको थियो र उनको मुटुको चाल ७८ मिनेटसम्म रोकिएको चिकित्सकले बताएका थिए । तर, उनको जीवन बचाउन चिक्सक सफल भएका थिए र दुई दिनपछि होस खुलेको थियो ।

    ३. च्येक टियोटे

    टियोटे पनि विश्व फुटबलका एक दुर्भाग्यशाली खेलाडी साबित भए, जब उनले कार्डिक एरेस्टलाई पराजित गर्न सकेनन् । २०१७ को जुनमा चाइनिज सुपर लिगमा बेइजिङ इन्टरप्राइजेजका लागि खेलिरहेका टियोटे ३१ वर्ष पुग्न केही दिन अगाडि मैदानमा ढलेका थिए । उपचारका लागि तुरुन्तै अस्पला पुर्‍याएका टियोटेको केही बेरपछि मृत्यु भएको थियो । न्युक्यासल युनाइटेडका पूर्व खेलाडी टियोटेले इङ्लिस क्लबका लागि १ मात्र गोल गरेका थिए । जुन गोल आर्सनलविरुद्धको ४-४ बराबरीमा क्रममा भएको थियो ।

    २. अब्देलहक नोरी

    आयाक्सका खेलाडी नोरी वेर्डर ब्रिम्यानविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदानमा ढलेका थिए । विश्व फुटबलमा उदाउँदा खेलाडीको रूपमा हेरिएका नोरी पनि कार्डिक एरेस्ट शिकार भएका थिए । तत्कालै उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पलाल पुर्‍याइएको थियो । जहाँ उनी २ वर्ष र ९ महिनासम्म कोमामा रहे । उनले दीर्षकालिन मस्तिष्क घातको शिकार हुनुपर्‍यो । २०२० मार्चमा उनी होसमा फर्किए र ह्विलचियरमा बस्न सक्ने भएका छन् । उनी अहिले परिवारसँगै छन् ।

    १. क्रिस्टियन एरिक्सन

    डेनिस प्लेमेकर एरिक्सन युरो २०२० को समूह बी अन्तर्गत फिनल्यान्डविरुद्धको खेलको ४२औं मिनेटमा ढलेका थिए । रिपोर्टका अनुसार उनलाई पनि हृदयघात भएको हो । मैदानमा ढल्ने बित्तिकै आफ्नो टोलीका खेलाडीले घेरिएका उनलाई मेडिकल टोलीले सीपीआर दिइएको थियो ।

    चिकित्सकले केहीबेरमै एरिकसनलाई होसमा ल्याउन सफल भएका थिए । र, उनलाई तत्कालै नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियाे । अहिले पनि उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको डेनमार्क फुटबल संघले बताएको छ ।

  • युरो २०२० मा फ्रान्सको विजयी सुरुआत: जर्मनी १-० ले पराजित

    युरो २०२० मा फ्रान्सको विजयी सुरुआत: जर्मनी १-० ले पराजित

    काठमाडौं । युरो २०२० को समूह ‘एफ’मा मंगलबार राति जर्मनीलाई १-० गोलको नतिजामा पराजित गरेसँगै विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ ।

    जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास गोलमा परिणत भएको थियो ।

    गोलका लागि दुवैतर्फबाट प्रयास गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेनन् । यद्यपि, फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए ।

    प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।

    खेलका दौरान जर्मनीका लागि गोलका सुन्दर मौका पाए पनि सर्ज गिनाब्रीले सदुपयोग गर्न पाएका थिएनन् । फ्रान्सले दोस्रो खेलमा शनिबार हंगेरीसँग खेल्ने छ भने पनि शनिबार नै पोर्चुगलको सामना गर्नेछ ।

  • युरो २०२०: पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्स १-० ले अगाडि

    युरो २०२०: पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्स १-० ले अगाडि

    काठमाडौं । जर्मनीका डिफेन्डर म्याट्स हुमल्सले २०औं मिनेटमा गरेको गोलसँगै युरो २०२० को समूह ‘एफ’ अन्तर्गत जारी खेलको पहिलो हाफमा फ्रान्सले १-० को अग्रता लिएको छ ।

    जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा जारी प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास गोलमा परिणत भएको थियो ।

    २०१४ र २०१८ का दुई विश्वकप विजेताबीच जारी खेलमा दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि फिनिसिङ अपेक्षित भइरहेको छैन ।

    जर्मनीले अहिलेसम्म युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेल हारेको छैन । तर अहिले जारी खेलमा भने ३ पटकको युरो च्याम्पियन जर्मनी पहिलो हाफमा १-० ले पछि परेको छ ।

    सुरुआतदेखि नै आक्रामक खेलको १७औं मिनेटमा फ्रान्सका युवा फरवार्ड किलियान एम्बाप्पेले गरेको प्रहार जर्मन कप्तान म्यानुएल नोएरले बचाएका थिए ।

    जर्मनीका लागि गोल खाएको एक मिनेट नबित्दै थोमस मुलरले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन ।

  • एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान

    एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको थियो ।

    पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप (युरो)को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् ।

    खेल सुरु हुँदै आफ्नो नाममा एक कीर्तिमान बनाइसकेका रोनाल्डोले आजको खेलमा पोर्चुगललाई जित दिलाउन नसकेको भए पक्कै त्यसको खुशी उनमा हुने थिएन ।

    तर, ८४औं मिनेटसम्म ६७ हजार समर्थक अगाडि भएको खेलमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले अन्तिमको ६ मिनेट र इन्जुरी समममा तीन गोल गरेको थियो ।

    जसमध्ये दुई गोल रोनाल्डोको नाममा रह्यो । हंगेरियन डिफेन्डर विली ओर्बानले ८७औं मिनेटमा पोर्चुगिज खेलाडी राफा सिल्भामाथि पेनाल्टी एरियामा फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो ।

    सोही पेनाल्टीलाई गोलमा परिणत गरेका रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो । सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए ।

    तर, आजको खेलमा दुई गोल थपेसँगै त्यो कीर्तिमान रोनाल्डोले ११ गोलमा पुर्‍याएर आफ्नै नाममा एकलौटी बनाएका छन् ।

    रोनाल्डोको दुई गोल र राफाएल गुरेरोको एक गोलप्रेरित पोर्चुगलले १३ वर्षपछि ठूला प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । यसअघि २००८ को युरोको पहिलो खेलमा पोर्चुगलले टर्कीमाथि २-० को जित हासिल गरेको थियो ।

    त्यसयताका तीन विश्व कप र दुई युरोको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको थिएन । साविक विजेता पोर्चुगलले २०१६ मा घरेलु टोली फ्रान्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

    हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

  • साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

    साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

    काठमाडौं । युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको समूह ‘एफ’को पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

    हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।

    पहिलो हाफमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो ।

    राफा सिल्भाको पासमा राफेल गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार हंगेरीका डिफेन्डर विली ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

    त्यसको तीन मिनेट नबित्दै राफा सिल्भामाथि हंगेरीका डिफेन्डरले पेनाल्टी एरियामा फाउल गरेपछि पोर्चुगलले स्पटबाट अग्रता दोब्बर पार्ने मौका पाएको थियो ।

    सोही मौकाको सदुपयोग गर्दै स्टार फरवार्ड रोनालेडोले युरोपियन फुटबल च्याम्पियनसिपको इतिहासकै महत्त्वपूर्ण गोल गरे । ८५ मिनेटसम्म सम्हालिएको हंगेरीले अन्तिमको १० मिनेट सम्हालिन नसक्दा तीन गोल खायो ।

    इन्जुरी समयमा गोलमेसिन रोनाल्डोले पुन: गोल गर्दै साविक विजेताका लागि ३-० को जित सुनिश्चित गरे ।

  • क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

    क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

    काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरो)का सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् ।

    समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीमाथि ३-० गोलको जित हासिल गर्दा रोनाल्डोले दुई गोल गरे । राफा सिल्भामाथि विली ओर्बानले १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

    सोही पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले कीर्तिमानी गोल गरे । यसअघि यो कीर्तिमान फ्रेन्च लिजेन्ड माइकल प्लाटिनी र रोनाल्डको कै नाममा थियो । तर, अब यो कीर्तिमान ११ गोलमा पुगेको छ र रोनाल्डोको एकलौटी कीर्तिमान बनेको छ ।

    प्लानटिनीले १९८४ मा भएको युरोपियन च्याम्पियनसिपमा एकै संस्करणमा ९ गोल गरेका थिए ।

  • पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

    पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

    काठमाडौं । युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकको अगाडि भएको खेलमा पोर्चुगलले घरेलु टोलीमाथि निरन्तर दबाब दिए पनि गोल गर्न सकेन ।

    हंगेरीको रक्षापंक्तिमाथि सुरुआत देखि आक्रमण गरेको पोर्चुगलले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा बराबरीमै रोकिनु पर्‍यो ।

    पोर्चुगलका लागि खेलको पाँचौं मिनेटमा डिएगो जोटाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा हंगेरीयन गोलकिपर गुलाक्सी बाधक बनेका थिए ।

    कप्तान क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पेपेको लामो पासमा ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार पनि सोझै गोलकिपरको हातमा गएको थियो । यद्यपि, उक्त मौकामा रोनाल्डो अफसाइड भएका थिए ।

    बर्नार्डो सिल्भाको क्रसमा रोनाल्डोले ३०औं मिनेटमा हेडरमार्फत गरेको प्रहार टार्गेटमा परेन ।

    खेलमा विरलै मात्र पोर्चुगलमाथि आक्रमणको अवसर सिर्जना गरेको हंगेरीका लागि आडम सजलाइले हेडरमार्फत ३७औं मिनेटमा गरेको प्रहार पोर्चुगिज गोलकिपर रुइ पेट्रिसियोले बचाएका थिए ।

    जर्मनी र फ्रान्ससमेत यसै समूहमा रहेकाले पोर्चुगललाई आजको खेलमा जित आवश्यक छ । यस्तै रोनाल्डोले बाँकी ४५ मिनेटमा गोल गर्न सफल भए उनी प्रतियोगिताकै सर्वकालिन सर्वाधिक गोलकर्ता बन्नेछन् । अहिले यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ ।

    दुवै खेलाडी समान ९ गोल गरेका छन् । आजको खेलमा पोर्चुगलको नेतृत्व गरिररहेका रोनाल्डो युरोको पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनिसकेका छन् ।

  • पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो

    पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो

    काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपका पाँच संस्करण खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।

    सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट डेब्यू गरेका रोनाल्डो आज हुने युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा हंगेरीविरुद्धको सुरुआती ११ मा समेटिएसँगै उनले कीर्तिमान बनाउने निश्चित भएको हो ।

    साविक विजेता पोर्चुगलले नेपाली समयअनुसार ९:४५ बजे हंगेरीको बुडापेस्टमा घरेलु टोलीको सामना गर्दैछ । विश्व फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका रोनाल्डोले यो संस्करणमा थप एक गोल गरे सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाउने छन् ।

    अहिले पनि यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ । दुवै खेलाडीले ९/९ गोल गरिसकेका छन् । युरो २०१६ मा पोर्चुगलले हंगेरीको सामना गर्दा रोनाल्डोले दुई गोल गरेका थिए ।

  • चोटका कारण हेन्डरसनले छाडे इङ्लिस टोली

    चोटका कारण हेन्डरसनले छाडे इङ्लिस टोली

    काठमाडौं । म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले चोटका कारण युरो २०२० का लागि इङ्लिस टोलीबाट नाम फिर्ता लिएका छन् ।

    ‘हिप’मा देखिएको समस्याका कारण हेन्डरसनले नाम फिर्ता लिएसँगै उनको स्थान शेफिल्ड युनाइटेडका गोलकिपर एरोन राम्सडेलले लिने भएका छन् ।

    प्रतियोगिता सुरु हुनु अगावै टोलीको घोषणा गरिसक्नु पर्ने भए पनि चोटका कारण गोलकिपरले खेल्न नसक्ने भए परिवर्तन गर्न सकिने युइएफएको नियम छ ।

    उनको स्थान लिएका राम्सडेल इङ्ल्यान्डको ३३ सदस्यीय प्रारम्भिक टोलीमा परेका थिए । तर, अन्तिम टोली अटाएका थिएनन् । राम्सडेलले यसअघि पनि इङ्ल्यान्डको प्रतिनिधित्व गरेर खेलिसकेका छन् । उनले मार्चमा भएको यु २१ युरोमा इङ्लिस टोलीमा स्थान बनाएका थिए ।

    नाम फिर्ता लिएका हेन्डरसन म्यानचेस्टर युनाइटेड फर्किने छन् । त्यहाँ युनाइटेडकै मेडिकल स्टाफले उनको उपचारमा सहयोग गर्नेछन् ।

  • फ्रान्स भर्सेज जर्मनी: समूह ‘एफ’मा युरोपका दुई उत्कृष्ट टोलीको भिडन्त

    फ्रान्स भर्सेज जर्मनी: समूह ‘एफ’मा युरोपका दुई उत्कृष्ट टोलीको भिडन्त

    काठमाडौं । पछिल्ला दुई विश्वकप विजेता- फ्रान्स र जर्मनी मंगलबार राति हुने समूह ‘एफ’को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । जर्मनीको म्युनिखमा हुने यो खेल युरोपकै दुई उत्कृष्ट टोलीको लडाईं हुने फ्रान्समा मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले बताएका छन् ।

    २०१८ मा विश्वकप विजेता बनेको फ्रेन्च टोली यो युरो २०२० जित्दै इतिहास दोहोर्‍याउन चाहन्छ । यसअघि १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रेन्च टोलीले २००० मा युरो पनि जितेको थियो । एक खेलाडीको रूपमा विश्वकपपछि लगातार युरो जितेका देसच्याम्प यसपटक प्रशिक्षकको रूपमा इतिहास दोहोर्‍याउन चाहन्छन् ।

    इतिहास दोहोर्‍याउने सोचमा रहेको फ्रेन्च टोली समूह ‘एफ’मा दुई ठूला टोलीसँग परेको छ । समूह एफमै रहेको पोर्चुगलले गत संस्करणको फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । यस्तै अर्को टोली जर्मनी आयोजक फ्रान्ससँग सोही प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको थियो ।

    जर्मनीमा खेलेका पछिल्ला पाँच खेलमा फ्रान्स अपराजित छ । तर, जोचिम लोको जर्मनीले भने अहिलेसम्म युरोको पहिलो खेलमा पराजय बेहोरेको छैन । अन्तिम पटक २००४ मा पोर्चुगलमा भएको युरोको पहिलो खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    जर्मनी अहिले फिफा बरियताको १२औं स्थानमा छ । यद्यपि, देसच्याम्पले जर्मनीभन्दा बलियो प्रतिस्पर्धी प्रतियोगितामा नभएको बताएका छन् ।

    ‘भोलिको खेलमा हाम्रो प्रतिद्वन्दीको कारण यो खेललाई उत्कृष्ट बनाउने छ,’ फ्रान्सका मुख्य प्रशिक्षक देसच्याम्पले भने, ‘यो युरोपका दुई उत्कृष्ट टोलीबीच एक रोमाञ्चक खेल हुनेछ, त्यसैले हामी रक्षापंक्तिमा विशेष ध्यान दिएर ‘क्लिनिकल’ अट्याकमा जोड दिनेछौं ।’

    जर्मनी र फ्रान्सबीचको यो भेट ठूला प्रतियोगितामा छैठौं पटक हुन लागेको हो । तर, समूह चरणमा भने पहिलो पटक भिड्न लागेका हुन् । हेड टू हेड रेकर्ड हेर्ने हो भने दुवै टोलीले २-२ पटक जितेर १ खेलमा बराबरी खेलेका छन् ।

    २०१४ विश्वकप यता फ्रान्सले ठूला प्रतियोगिताका १९ खेलमध्ये १४ खेलमा जित हासिल गरेको छ, जुन अन्य टोलीको तुलनामा सबैभन्दा धेरै हो ।

  • हंगेरीविरुद्ध खराब इतिहास बदल्ने सोचमा साविक विजेता पोर्चुगल

    हंगेरीविरुद्ध खराब इतिहास बदल्ने सोचमा साविक विजेता पोर्चुगल

    काठमाडौं । युरो २०२० मा मंगलबार राति समूह ‘एफ’ अन्तर्गत हुने पहिलो खेलमा साविक विजेता पोर्चुगलले हंगेरीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ । हंगेरीको बुडापेस्टस्थित पुस्कस एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तल्लीन छन् ।

    फ्रान्समा २०१६ भएको पछिल्लो संस्करणमा पनि समूह चरणमा भेटका यी टोलीले रोमाञ्चक ३-३ गोलको बराबरी खेलेका थिए । युरोको इतिहासमै लगातार दोस्रो टोली बन्ने होडमा छ । हालसम्म स्पेनले (२००८ र २०१२मा) मात्रै लगातार दुई पटक युरो जितेको छ ।

    २०१६ को युरोमा समूह चरणका कुनै पनि खेल नहारेको हंगेरीविरुद्ध उसकै मैदानमा तीन अंक खोस्नु पोर्चुगलका लागि पक्कै सहज हुनेछैन । तर, यसअघिका ६ संस्करणमा लगातार नकआउटमा पुग्न सफल एक मात्र टोली पोर्चुगल आजको खेलमा जित हासिल गर्दै सम्भावना बलियो बनाउन चाहन्छ ।

    तर, विगत हेर्ने हो भने पछिल्ला पाँच ठूला प्रतियोगिताको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको छैन । पोर्चुगलले ठूला प्रतियोगिताको पहिलो खेल अन्तिम पटक २००८ को युरोमा जितेको थियो । उक्त खेलमा पोर्चुगलले टर्कीलाई २-० को नतिजामा पराजित गरेको थियो ।

  • स्वीडेनमाथि स्पेनको निराशाजनक बराबरी

    स्वीडेनमाथि स्पेनको निराशाजनक बराबरी

    एजेन्सी । स्पेनले युरो २०२० को सुरुआती खेलमा एक एकीकृत स्वीडिस टिमसँग बल नियन्त्रणमा प्रभुत्व जमाए पनि निराशाजनक बराबरी खेलेको छ ।

    लुइस एनरिके प्रशिक्षित स्पेनले खेलमा अधिकांश समय (८५ प्रतिशत) बलमा कब्जा जमाएको थियो । कहिलेकाहीँ विपक्षीको रक्षाक्षेत्र तोड्ने प्रयास पनि गर्थ्यो र राम्रो अवसरको लाभ उठाउन असमर्थ रह्यो ।

    स्पेनका अल्भाराे माेराटाले गाेलकाे एउटा उत्कृष्ट अवसर खेर फालेका थिए । स्वीडेनले एउटामात्र अवसर पाएकाे थियाे । ला लिगाका उत्कृष्ट युवा खेलाडी अलेक्जान्डर इसाकले गरेकाे प्रहार डिफ्लेक्ट भएकाे थियाे ।

    यो बराबरीले समूह इ मा रहेको स्लोभाकियालाई फाइदा पुगेको छ । उसले पोल्याण्डमाथि अप्रत्यासित २–१ गेलको जित हासिल गरेको थियो ।

  • पोल्यान्डका क्रिचोवाइकलाई युरो २०२० को पहिलो रातो कार्ड

    पोल्यान्डका क्रिचोवाइकलाई युरो २०२० को पहिलो रातो कार्ड

    काठमाडौं । पोल्यान्डका ग्रिजगोर्ज क्रिचोवाइकले युरो २०२० को पहिलो रातो कार्ड पाएका छन् । सोमबार भएको समूह ‘ई’ अन्तर्गतको खेलमा विपक्षी खेलाडीमाथि खराब फाउल गरेका क्रिचोवाइकले ६२औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

    उनले रातो कार्डको सामना गरेर मैदान छाड्नु पर्दा १-१ गोलको बराबरीमा रहेको खेलमा स्लोभाकियाले ६९औं मिनेटमा अर्को गोल थप्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

    यसअघि युरो २०१२ मा पोल्यान्डका गोलकिपर वेइचेक सेचेन्स्नीले उद्घाटन खेलमै रातो कार्डको सामना गर्दै दोस्रो खेल गुमाएका थिए । क्रिचोवाइकले पनि एक खेल गुमाउने छन् ।

  • स्लोभाकियासँग पोल्यान्ड २-१ ले पराजित

    स्लोभाकियासँग पोल्यान्ड २-१ ले पराजित

    काठमाडौं । युरो २०२० को समूह ‘ई’ अन्तर्गत सोमबार भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्लोभाकियालाई जित दिलाउन पोल्यान्डका गोलकिपर वेइचेक सेचेन्स्नीले आत्मघाती र मिलान स्क्रिनियरले एक गोल गरे ।

    खेलको १८औं मिनेटमा सेचेन्स्नीको आत्मघाती गोलसँगै अग्रता लिएको स्लोभाकियाले उत्कृष्ट डिफेन्सिभ प्रदर्शन गर्दै काउन्टर अट्याकमा गोल गर्न सफल भएको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको पोल्यान्डले दोस्रो हाफको पहिलो मिनेटमै बराबरी गोल फर्काएको थियो । ४६औं मिनेटमा कारोल लिनेटीले गरेको गोलसँगै खेलमा फर्किएको पोल्यान्डका मिडफिल्डर ग्रिजगोर्ज क्रिचोवाइकले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

    अन्तिमको करिब ३० मिनेट १० जनामा सीमित भएको पोल्यान्डले पराजय बेहोर्नु पर्‍यो ।

    स्लोभाकियाले अर्को खेलमा शुक्रबार स्वीडेनसँग खेल्नेछ भने पोल्यान्डले आइतबार स्पेनको सामना गर्नेछ ।

  • युरो २०२०: चेक गणतन्त्रको जितमा प्याट्रिक शिकको २ गोल

    युरो २०२०: चेक गणतन्त्रको जितमा प्याट्रिक शिकको २ गोल

    काठमाडौं । प्याट्रिक शिकको दुई गोलप्रेरित चेक गणतन्त्रले युरो २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० को नतिजामा पराजित गरेको छ ।

    स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले क्लियर गरेको बलमा शिकले मैदानको बीचभागबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

    सोही गोलमार्फत खेलमा अग्रता लिएको चेक टोलीले सहज बचाउ गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्‍यो ।

    जितसँगै प्रतियोगिताको सुरुआत गरेको चेक टीमले आफ्नो अर्को खेलमा शुक्रबार क्रोएसियासँग खेल्ने छ । त्यस्तै स्कटल्यान्डले आइतबार इङ्ल्यान्डसँग खेल्ने छ ।

  • युरो २०२० मा आज तीन खेल: ६:४५ मा स्कटल्यान्ड र चेक गणतन्त्र भिड्दै

    युरो २०२० मा आज तीन खेल: ६:४५ मा स्कटल्यान्ड र चेक गणतन्त्र भिड्दै

    काठमाडौं । युरो २०२० अन्तर्गत सोमबारको पहिलो खेलमा समूह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र भिड्दैछन् । स्कटलेयान्डको ग्लासगोस्थित ह्याप्डेन रंगशालमा नेपाली समयअनुसार ६:४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना प्रवल बनाउन चाहन्छन् ।

    समूह ‘डी’ अन्तर्गत आइतबार राति भएको पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गर्दै इङ्ल्यान्डले विजयी सुरुआत गरिसकेको छ । र, आजको खेलमा जित हासिल गर्ने दुवै टोलीले अर्को खेलमा पनि अंक बटुल्नसके अन्तिम १६ प्रवेशको सम्भावना बढ्ने भएकाले जितका लागि खेल्नेछन् ।

    यस्तै आजै हुने दोस्रो खेलमा पोल्यान्डले स्लोभाकियाको सामना गर्नेछ । नेपाली समयअनुसार ९:४५ बजे रुसको सेन्ट पिटर्सबर्गमा सुरु हुने खेलमा दुवै टोली जितका लागि खेल्नेछन् ।

    आज राति हुने अन्तिम खेलमा भने ३ पटकको च्याम्पियन स्पेनले स्वीडेनको सामना गर्दैछ । नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने खेल स्पेनको सेभियामा हुँदैछ ।

  • युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

    युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

    काठमाडौं । डेन्जेल डम्फ्रिजको निर्णायक गोलप्रेरित नेदरल्यान्ड्सले युरो २०२० को समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको छ ।

    नेदरल्यान्ड्सकै आम्सटरड्याममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर, दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सफल भए ।

    कप्तान जर्जिनियो विनाल्डमले ५२औं मिनेटमा गरेको गोलसँगै डच टोलीले अग्रता लिएको थियो । त्यसको ८ मिनेट नबित्दै वाउट वेघोर्स्टले गोल गरेर नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए ।

    खेलमा फर्किन निरन्तर प्रयासरत युक्रेनका लागि एन्ड्री यार्मोलेन्कोले ७५औं मिनेटमा पहिलो गोल फर्काएका थिए । त्यसको ४ मिनेट नबित्दै रोमन यारेमचुको युक्रेनका लागि बराबरी गोल फर्काएका थिए ।

    तर, अन्तिम समयमा सम्हालिन नसक्दा युक्रेनले पुन: गोल खाँदै पराजित हुनुपर्‍यो ।  निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा डम्फ्रिजले हेडरमार्फत गरेको गोल नेदरल्यान्ड्सलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

    जितसँगै प्रतियोगिताको सुरुआत गरेको डच टोलीले शुक्रबार अस्ट्रियासँग खेल्ने छ यस्तै युक्रेनले बिहीबार नर्थ मेसिडोनियासँग खेल्ने छ ।

  • युरो २०२०: अस्ट्रियासँग नर्थ मेसिडोनिया ३-१ ले पराजित

    युरो २०२०: अस्ट्रियासँग नर्थ मेसिडोनिया ३-१ ले पराजित

    काठमाडौं । युरो २०२० अन्तर्गत समूह ‘सी’को पहिलो खेलमा अस्ट्रियाले नर्थ मेसिडोनियालाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।

    रोमानियाको बुकरेस्टमा भएको खेलको १८औं मिनेटमा स्टेफन लाइनरले गोल गर्दै असेट्रियालाई अग्रता दिलाएका थिए । पहिलो पटक युरोमा छनोट भएको नर्थ मेसिडोनियाका लागि गोरान पान्डेभले ऐतिहासिक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    तर, प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका मिकेल ग्रेगोरिट्स्चले ७८औं मिनेटमा गोल गर्दै पुन: अस्ट्रियालाई अग्रता दिलाएका थिए ।

    निर्धारित समयको अन्तिम मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियाका लागि ३-१ को जित सुनिश्चित गरे ।

    जितसँगै प्रतियोगिताको सुखद् सुरुआत गरेको अस्ट्रियाले शुक्रबार नेदरल्यान्ड्ससँग खेल्नेछ भने नर्थ मेसिडोनियाले बिहीबार युक्रेनको सामना गर्नेछ ।

  • युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    काठमाडौं । क्रोएसियालाई १-० गोलको नतिजामा पराजित गर्दै युइएफए युरो २०२० मा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘डी’ अन्तर्गत इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा घरेलु टोलीले विश्वकप २०१८ को उपविजेताविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो ।

    इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङले एक मात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५९औं मिनेटमा स्टर्लिङले गरेको एक मात्र गोल इङ्ल्यान्डलाई महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो ।

    उनले काल्भिन फिलिप्सको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै सोझै गोलमा परिणत गरेका थिए ।

    जितसहित प्रतियोगिताको सुरुआत गरेको इङ्ल्यान्डले दोस्रो खेलमा शनिबार स्कटल्यान्डको सामना गर्नेछ । यस्तै पराजित क्रोएसिया शुक्रबार हुने आफ्नो दोस्रो खेलमा चेक गणतन्त्रविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

  • डेनमार्कका टीम डाक्टरले यसरी बचाए एरिकसनको जीवन…

    डेनमार्कका टीम डाक्टरले यसरी बचाए एरिकसनको जीवन…

    काठमाडौं । युरो २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा अचेत भएर ढलेका थिए, क्रिस्टियन एरिकसन । र, डेनमार्कका टिम डाक्टर मोर्टेन बोसेन उनीसामु पुग्दा एरिकसनको ‘पल्स बिट’ घटिरहेको थियो, र एक सेकेन्ड पनि खेर फाल्ने समय थिएन ।

    ‘उनी सास फेर्दै थिए, र मैले उनको ‘पल्स’ महसुस गर्नसकिरहेको थिएँ,’ बोसेनले भने, ‘तर, बिस्तारै त्यो परिवर्तन हुँदै गयो । र, सबैले देखेअनुसार हामीले कार्डियोपोल्मोनरी रिससिटेसन (सीपीआर) दियौं ।’

    त्यसपछिको १० मिनेट युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा डर लाग्दो क्षण रह्यो । केही मेडिकल स्टाफहरू एकदमै चिन्तित थिए । त्यतिबेला डेनमार्कका अन्य खेलाडीहरूले घेरा लगाएर एरिकसनमाथि भइरहेको उपचार छेकेका थिए ।

    ‘रंगशालाको उत्साहित माहोल सन्नाटामा परिणत भएको थियो तर हामी निरन्तर उपचार गरिरहेका थियौं,’ बोसेनले भने, ‘मेडिकल टोलीले एकदमै छिटो मद्दत गर्‍यो‍, हाम्रो सहकार्य पनि एकदमै राम्रो रह्यो । हामीले जे गर्नुपर्थ्यो त्यो गर्‍यौं र क्रिस्टियनलाई फिर्ता पायौं ।’

    एरिकसनको अहिले पनि अस्पतालमा उपचार जारी छ र डेनमार्क फुटबल संघले दिएको जानकारी अनुसार उनी खतरा मुक्त छन् ।

  • को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ?

    को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ?

    काठमाडौं । युरो २०२० को समूह ‘बी’ अन्तर्गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलमा डेनमार्क १-० गोलको नतिजामा पराजित भयो । पहिलो पटक विश्व फुटबलका आधिकारिक ठूला प्रतियोगिताको रूपमा युरो २०२० खेलिरहेको फिनल्यान्डले जितको खुशी खुलेर मनाउन पाएन । न त फिनल्यान्डका लागि ठूलो प्रतियोगितामा पहिलो ऐतिहासिक गोल गरेका जोइल पोजान्पालोले त्यो खुशी मनाउन पाए ।

    जसको कारण रह्यो- डेनिस प्लेमेकर क्रिस्टियन एरिकसन एकाएक मैदानमा ढल्नु । शुक्रबार रातिदेखि सुरु भएको ‘मिनि विश्वकप’ अर्थात युरो २०२० को समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा डेनमार्क र फिनल्यान्डको भेट निश्चित थियो ।

    नव प्रवेशी फिनल्यान्ड डेनमार्कले गरेको निरन्तर आक्रमण खेपिरहेको थियो । पहिलो हाफको खेलसकिन ३ मिनेट बाँकी रहँदासम्म पनि डेनमार्कले गोलका लागि निरन्तर प्रयास गरिसकेको थियो । सोही क्रममा २९ वर्षीय डेनिस प्लेमेकर एरिकसन जोकिम मेहेलको ‘थ्रो-इन’ पर्खिरहेका थिए ।

    मेहेलले बल थ्रो इन त गरे तर एरिकसनले रिसिभ गर्न सकेनन् । उनी बल रिसिभ गर्न खोज्दा-खोज्दै २-३ पाइला अगाडि बढेर भुइँमा घोप्टो परेर ढले । बल इन प्लेमै रहँदा मेहेलले बल अगाडि बढाउने लागेका थिए । तर, फिनल्यान्डका खेलाडी जुक्का राइतालाले एरिकसनतर्फ देखाउँदै उपचारका लागि गुहारेको देखिन्छ । राइतालापछि खेलका रेफ्री एन्थोनी टेलरले तुरुन्तै मेडिकल टोलीलाई बोलाए मैदानमा बोलाएका थिए ।

    त्यसपछि मेडिकल टीमले करिब २० मिनेटसम्म एरिकसनको मैदानमै उपचार गर्‍यो । उनलाई डेनमार्कका खेलाडीहरूले घेरेर उभिएका थिए भने बीचमा उनलाई कार्डियोपोल्मोनरी रिससिटेसन (सीपीआर) गरिँदै थियो । एरिकसनको मैदानमै त्यो अवस्था देखेर त्यहाँ उपस्थित दुवै टोलीका खेलाडी तथा दर्शक रोएका थिए । मैदानमा सन्नाटा छाएको थियो ।

    के भएको होला, अब के हुने होला भन्ने बेचैनीले विश्व फुटबललाई नै पिरोलिरहेको थियो । केही समय मैदानै उपचार गरेर पिचबाट बाहिर निकाल्दै गर्दा केही बेरअघि अचेत भएर ढलेका एरिकसनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनले आँखा खोलेर होसमा आए झैँ देखिने तस्वीर सार्वजनिक भयो ।

    केही बेरमा युइएफएले खेल स्थगित गरिएको र एरिकसनलाई अस्पताल पठाइएको घोषणा गर्‍यो । त्यसबेलासम्म सामाजिक सञ्जालमा सामान्य फुटबल फ्यानदेखि विश्व फुटबलका स्टारसम्मले उनको स्वास्थ्य लाभको कामना गरिरहेका थिए ।

    उनलाई थप उपचारका लागि कोपनहेगनकै रिग्सहस्पिटलमा पठाइएको डेनमार्क फुटबल संघले जानकारी दियो । त्यसको १५ मिनेट नबित्दै उनी होसमा आएको र खेल ३० मिनेटपछि सुरु हुने पनि युइएफएले पुष्टि गर्‍यो ।

    अहिले पनि एरिकसनको उपचार जारी छ । उनको अवस्था अहिले खतरामुक्त रहेको समाचार अन्तर्राष्ट्रिय माध्यममा आइरहेका छन् । एरिकसन आफैँले अस्पतालबाट भिडियोकल गरेपछि डेनमार्कका खेलाडी ४२ मिनेटसम्म पुगेको खेल टुङ्ग्याउन तयार भए ।

    नेपाली समयअनुसार राति १२:१५ बजे खेल पुन: सुरु भयो । एरिकसनको स्थानमा डेनमार्कले म्याथियास जेन्सेनलाई मैदानमा उतार्‍यो । जोइल पोजान्पालोले ५९औं मिनेटमा गरेको गोलसँगै पहिलो ठूलो प्रतियोगिता खेलिरहेको फिनल्यान्डले अग्रता लिएको थियो । बराबरी गोलका लागि आत्तुर देखिए पनि ७४औं मिनेटमा पिएर एमिल होइबर्ग पेनाल्टीमा गोल गर्न चुकेसँगै डेनमार्कले मौका गुमायो ।

    भलै हिजो खेलमा डेनमार्क पराजित भयो तर एरिकसनको स्वास्थ्य अवस्था त्यो भन्दा चिन्ताको विषय थियो । तर, अहिले उनी खतरामुक्त भन्ने सूचना बाहिर आएसँगै विश्वभरका फुटबलप्रेमी खुशी भएका छन् ।

    को हुन् एरिकसन ?

    डेनमार्कको मिडिलफार्टमा १९९२ मा जन्मिएका एरिकसनले डच क्लब आयाक्सबाट व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । आयाक्सबाट उनले २०१०/११, २०११/१२ र २०१२/१३ मा एर्डिभिजीको उपाधि जिते र आफूलाई एक सशक्त प्लेमेकरको रूपमा स्थापित गरे ।

    एर्डिभिजीमा तीन वर्ष बिताएका एरिकसनले आयाक्सका लागि १६२ खेलमा ३२ गोल गरेका थिए । त्यसपछि टोटेनह्याममार्फत् इङ्लिस फुटबलमा उदाएका एरिकसनले ७ वर्षमा ३२० खेल खेल्दै ७२ गोल गरेका थिए । सात वर्षको इङ्ल्यान्ड बसाइ टुङ्ग्याएर २०२० मा इटाली लागेका इरिकसनले इन्टर मिलानविरुद्ध ६२ खेलमा १० गोल गरिसकेका छन् ।

    युभेन्टसको ९ वर्षे प्रभुत्व टुङ्ग्याउँदै इन्टरले यसै सिजन इटालियन सिरी ‘ए’को उपाधि जित्दा एरिकसन महत्त्वपूर्ण सदस्य रहे । र, अहिले युरो २०२० का लागि डेनमार्कको टोलीका पनि स्टार र सबैभन्दा भरपर्दा खेलाडी उनै हुन्, क्रिस्टियन एरिकसन ।

  • युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    काठमाडौं । युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने खेलमा इङ्ल्यान्डले विश्वकप २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

    त्यस्तै, राति ९:४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत अस्ट्रिया र नर्थ मेसिडोनिया भिड्दैछन् । नर्थ मेसिडोनिया पहिलो पटक युरोमा छनोट भएको हो । यसअघि १९६० देखि १९९२ सम्म मेसिडोनिया युगोस्लाभियामै गाभिएको थियो । तर, स्वतन्त्र भइसकेपछि भने पहिलो पटक ठूलो प्रतियोगितामा छनोट भएको हो ।

    राति १२:४५ बजे हुने समूह ‘सी’ कै दोस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन् । १९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्सले त्यसपछि सेमिफाइनल पार गर्न सकेको छैन । २०१६ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन ।

    गत संस्करणको समूह चरणबाटै बाहिरिएको युक्रेन आजको यसपटक नेदरल्यान्ड्सविरुद्ध सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिँदैछ ।