Category: युरो २०२०

  • युरो २०२०: नकआउट चरण आजदेखि

    युरो २०२०: नकआउट चरण आजदेखि

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

    सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

    पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

    समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

    क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

    आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।

    मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।

  • स्कटल्यान्डले युरो २०२० बाट के सिक्यो ?

    स्कटल्यान्डले युरो २०२० बाट के सिक्यो ?

    काठमाडौं । २३ वर्षपछि स्कटल्यान्डले ठूलो प्रतियोगिता- युरो २०२० मा स्मरणीय ९ दिन बितायो ।

    तर, क्रोएसियाविरुद्ध अन्तिम खेलमा पराजित भएसँगै स्कटल्यान्डको युरो २०२० यात्रामो समापन रमाइलो रहेन । ह्याम्पडेनमा पराजित भएसँगै स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले उच्च मनोबलसहित रोमाञ्चक प्रदर्शन गरे पनि समूह चरणभन्दा अगाडिको यात्रा तय गर्न सकेन।

    तर, प्रतियोगिताका दौरान पिचमा र स्कटल्यान्ड देशभर देखिएको उत्साहले भने स्टिभ क्लार्कको टोलीलाई अझै ठूला उपलब्धि हासिल गर्नका लागि भोक जगाएको छ ।

    युरोको निराशालाई एकातिर राखेर स्कटल्यान्ड विश्वकपमा छनोट हुने बहस अर्कोतिर सुरु भएको छ ।

    २३ वर्षपछि ठूला प्रतियोगितामा फर्किएको स्कटल्यान्डले के सिक्न सक्छ ?

    गिल्मोर खेल्नुपर्छ

    ओके, स्कटल्यान्डले नकआउटमा पुगेर इतिहास बनाउन सकेन तर उनीहरूसँग वेम्ब्ली सधैं रहने छ । इङ्ल्यान्डविरुद्ध एकदमै आवश्यक रहेको गोलरहित बराबरीमा खेल्दा स्कटल्यान्डका लागि पहिलो पटक सुरुआती-११ मा परेका बिली गिल्मोर ‘स्टार अफ दी म्याच’ चुनिए । उनको प्रदर्शन स्कटल्यान्डले हासिल गरेको एक अंकको आधार स्तम्भ थियो । त्यो स्टेज कठिन थियो, न त धेरै अपेक्षा नै थिए । तर, २० वर्षीय गिल्मोरले स्कटल्यान्डलाई त्यो दिए… र त्यसपछि …!

    मैदानमा रहेका सबैभन्दा कान्छा खेलाडी गिल्मोर खेलमा बल मागिरहेका थिए, खेल आफ्नो नियन्त्रणमा लिइरहेका थिए, ट्याकल गरिरहेका थिए । उनको त्यो खेलमा स्कटल्यान्डको भविष्य देखिन्थ्यो ।

    गिल्मोरले चेक रिपब्लिकविरुद्ध २-० गोलको पराजित भएको खलमा पनि स्कटल्यान्डको सुरुआती-११ मा सायद मौका पाउनुपर्थ्यो । जसको नजिता स्कटल्यान्डका लागि अन्त्यमा घातक सावित भयो ।

    इङ्ल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि गिल्मोरले क्रोएसियाविरुद्धको खेल सुरुआत गर्ने निश्चित थियो । तर, कोरोना भाइरस संक्रमित भएसँगै त्यो सम्भावनामा पूर्णविराम लाग्यो । त्यो गिल्मोर र स्कटल्यान्डका लागि परीक्षणको एकदमै निर्दयी पोजिटिभ नतिजा थियो । स्कटल्यान्डले नचाहेएको एक मात्र पोजिटिभ नतिजा त्यही थियो ।

    त्यसलाई बिर्सौं, जब सेप्टेम्बरमा विश्वकप छनोट पुनः सुरु हुन्छ, बिली गिल्मोर स्कटल्यान्डको पहिलो रोजाइमा हुनुपर्छ । उनले इङ्ल्यान्डविरुद्ध खेलेको ९० मिनेट उनी विशेष सदस्य हुन् भन्ने प्रमाणित गर्न पर्याप्त थियो । र, स्कटल्यान्ड गिल्मोरसहित राम्रो टिम हो भन्नेमा शंका छैन ।

    सशक्त आक्रामक क्षमता आवश्यक

    स्कटल्यान्डका लागि गोलका अवसर सिर्जना गर्नु समस्या होइन, तर त्यसलाई सदुपयोग गर्नु चाहीँ ठूलो समस्या हो । क्लार्कको स्कटिस टोलीले युरो २०२० का तीन खेलमा ४१ पटक विपक्षी टोलीमाथि आक्रामण गरेको छ । तीमध्ये १२ प्रहार गोलपोस्टमा परेका थिए भने एक मात्र प्रहार गोलमा परिणत भएको थियो ।

    चेक रिपब्लिकविरुद्धको खेलमा स्कटल्यान्डका खेलाडीले गरेको प्रहार पोस्टमा लागेर फर्र्किको थियो भने इङ्ल्यान्डविरुद्धको खेलमा गोल लाइनबाट बल क्लियर भएको थियो । क्रोएसियाविरुद्धको खेलमा भने जोन म्यागिनले नजिकैबाट गरेको प्रहार बल आकाशिएको थियो ।

    मौका पाए पनि स्कटल्यान्ड त्यसको सदुपयोग गर्न तत्पर र सफल देखिएन । यो स्तरका प्रतियोगितामा त्यस्ता कुराले एकदमै फकर पार्छ । स्कटल्यान्ड दुई स्ट्राइकर खेलाउँदा अझै बढी प्रभावकारी देखिन्थ्यो । पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध खेलमा चे आडम्सलाई सुरुआती ११ मा नराखेका क्लार्कले आफ्नो निर्णय पहिलो हाफको समाप्तिसँगै परिवर्तन गरेका थिए । त्यसपछि दुई खेलमा पनि क्लार्कले दुवै फरवार्डलाई सुरुआती-११ मा खेलाए ।

    स्कटल्यान्डबाट पहिलो पटक ठूला प्रतियोगिता खेलेका आडम्सले पछिल्लो तीन महिनामा ७ अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन् । लियोनका फरवार्ड लिन्डोन डाइक्स र आडम्सले आफ्नो सतप्रतिशत नदिएको आशंका छैन । तर, उनीहरूको फिनिसिङमा भने अझै निखार आउनु आवश्यक देखिन्छ ।

    डाइक्सले चेक रिपब्लिकविरुद्धको खेलमा ८ यार्डबाट सोझै चेक गोलकिपर थोमस भाच्लिकलाई प्रहार गर्दा स्कटिस समर्थकको निराशा चरम उत्कर्षमा देखिन्थ्यो ।

    त्यस्तै अवस्थामा आत्मविश्वास नभएर देखिने फिनिसिङमा त्यो समस्या यो स्तरका प्रतियोगितामा मान्य हुँदैनन् । त्यस्तै, पहिलो खेलमा कप्तान एन्डी रोबर्टसनले एउटा सजिलो मौका खेर फालेका थिए । जे भए पनि स्कटल्यान्ड गोल गर्न सक्ने टोलीको रूपमा आफूलाई ढाल्नुपर्ने खाँचो देखिन्छ ।

    डाइरेक्ट अप्रोचको नतिजा अपेक्षाकृत भएन

    स्कटल्यान्डका दुई हारमा एउटै कुरा- फरवार्डका लागि सप्लाई भएका लामा पास देखिन्थ्यो ।

    चेक रिपब्लिक र क्रोएसियाविरुद्धको खेलमा प्रयोग गरिएको रणनीति वेम्ब्लीमा इङ्ल्यान्डविरुद्धको ‘टाइट पासिङ’ ट्याकटिसभन्दा विल्कुल फरक थियो । स्कटल्यान्डको मिडफिल्ड बलियो पक्ष हो । तर, दुई खेलमा डाइरेक्ट लामो पासको एप्रोचले त्यसलाई किल गर्‍यो । गिल्मोर, म्याकगिन, कालुम म्याकग्रेगोर बल पोसेसनमा लिएर पास खेल्नमा कम्फर्टेबल छन् ।

    पास खेलेर आक्रामणका अवसर सिर्जना गर्नमा पनि स्कटिस मिडफिल्ड सक्षम देखिन्छ ।

    स्कटल्यान्डले अपेक्षा गरेअनुसार नतिजा हासिल गर्न टोलीमा क्षमतावान् खेलाडीको प्रयोग गरेर आफ्नो स्ट्रेन्थको फुटबल खेल्नु उचित हुन्छ ।

    खेलको अवस्था रिड गर्न नसकेको स्पष्ट देखियो

    दोस्रो हाफमा क्रोएसियाले स्कटल्यान्डलाई परास्त गर्दै आफ्नो भाग्य चम्कायो । लुका मोड्रिकको उत्कृष्ट प्रदर्शन प्रेरित क्रोएसियाले सन् २०१८ विश्वकपको फाइनलसम्म पुगेको टोलीको क्लास पनि देखायो ।

    त्यो खेल दुवै टोलीका लागि जित्नै पर्ने थियो । जब स्कटल्यान्डले पहिलो हाफ सकिन लाग्दा खेलमा बराबरी गर्‍यो, क्रोएसिया अत्तालिएन । बरु, क्रोएसिया पुनः खेलमा हाबी भयो र खेलमा प्रभुत्व जमायो ।

    पाँच जना डिफेन्डर खेलाए पनि रक्षापंक्तिमा भएका गल्तीले स्कटल्यान्डको हार टार्न सकेन । चेक रिपब्लिकविरुद्धको खेलमा पनि स्कटल्यान्डले त्यहि भोगेको थियो । प्याट्रिक शिकले मैदानको बीचभागबाट गरेको गोलमा स्कटिस गोलकिपर डेविड मार्सलले आफ्नो स्थान नछाडेको भए अवस्था फरक हुन्थ्यो ।

    प्रतियोगिताअघि स्कटल्यान्डका लागि सबैभन्दा महत्त्वपूर्ण खेल चेक रिपब्लिकविरुद्धको र त्यो खेलमा नतिजाको पनि अपेक्षा गर्न सक्ने आंकलन गरिएको थियो । र, अन्त्यमा त्यो खेल महत्त्वपूर्ण थियो भन्ने पनि सावित भयो ।

    यी सबै पीडादायी क्षणहरू स्कटल्यान्डका लागि नयाँ पाठ सिक्ने अभ्यास भयो । त्यसका अतिरित्त स्कटल्यान्डले २३ वर्षपछि ठूला प्रतियोगिताको अनुभव लिने मौका पनि पायो ।

    अनुभव बटुलेको स्कटल्यान्डले यस्ता प्रतियोगितामा कहिले काहीँ घुम्न आउने टोली मात्रै हाइन भन्ने प्रमाणित गर्न युरो २०२० बाट धेरै कुरा सिकेको छ ।

    नयाँ सुरुआतको आधार

    स्कटल्यान्डको युरो २०२० को समूह चरणसम्मको मात्रै यात्रा- कम नआँकिएको टोली र सम्हालिन नसकेको टोलीको रूपमा मिश्रित रह्यो ।

    तीन मध्ये दुई खेल घरेलु मैदानमा खेलेको र तेस्रो स्थानमा रहेर पनि नकआउटमा पुग्ने सम्भावना भएको स्कटल्यान्डले समूह चरण पार गरेर इतिहास रच्ने सुन्दर मौका गुमायो । क्लार्कको ट्याक्टिस र खेलाडी छनोट पनि नजिकबाट एक्सपोज भयो ।

    यी सबै निराशाका बाबजुद स्कटल्यान्डले  सन् १९९८ पछि पहिलो पटक ठूला प्रतियोगिताको अनुभव लियो । र, यो अनुभव एउटा नयाँ उचाईसम्म पुग्नका लागि नयाँ सुरुआत हुन सक्छ ।

    क्लार्कको नेतृत्वमा स्कटल्यान्डले २ वर्षमा २४ खेल खेलिसकेको छ । क्लार्कको टोलीका लागि यो अन्तिम अवसर होइन । बरू स्कटिस टोली अझै सुधार गरेर आफूलाई सशक्त बनाउन सक्ने परिस्थितिमा छ ।

    गिल्मोर, नाथान प्याटरसन र डेभिड टर्नबल स्कटिस टोलीका उज्ज्वल भविष्यका रूपमा उदाएका छन् । र, रेगुलर टोलीमा स्थान बनाएर आफूलाई अझै उत्कृष्ट सावित गर्न पनि सक्नेछन् ।

    युरो २०२० मा क्लार्कले छनोटका गरेका २६ मध्ये तीन गोलकिपर र सेन्टर ब्याक डेक्लान गल्लाघर मात्रै ३० वर्ष नाघिसकेका खेलाडी थिए ।

    यो युरोले स्कटल्यान्डलाई नयाँ पाठ पढाएको छ । र, स्कटल्यान्डको यो टोलीबाट उत्कृष्टताको प्रदर्शन अझै बाँकी छ ।

    बिबिसीबाट
  • वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

    वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

    काठमाडौं । वेल्सका डिफेन्डर कोनर रोबर्ट्सले ‘९९प्रतिशत विश्व’ले युरो २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई समर्थन गर्ने बताएका छन् । क्रिस्टियन एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमा ढलेपछि उनैप्रति समर्पित डेनिस टोलीले जितका लागि कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

    रुसविरुद्धको खेलमा ४-१ को धमाकेदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा पुग्दा सबै खेलाडीले त्यो जित एरिकसनका लागि डेडिकेट गरेका थिए । तर, अर्कातिर वेल्स प्रतियोगितामा ‘मार्जिनल अन्डरडग्स’ टोली हो र डिफेन्डर रोबर्ट्स सबै न्युट्रल समर्थकले डेनमार्कलाई साथ दिन बताए ।

    ‘यो एकदमै कठिन हुनेछ, आशा गरौं हामी जित्न सक्छौं,’ रोबर्ट्सले भने, ‘मलाई लाग्छ, ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ ।’

    ‘यो खेल एकदमै कठिन हुनेछ । तर, हाम्रो टोली राम्रो छ, हामीसँग राम्रा खेलाडी छन्, हामीले केही हदसम्म मोमेन्टम पनि पाएका छौं,’ उनले भने, ‘उनीहरू पनि एकदमै राम्रो टिम हुन् । उनीहरूले धेरै समर्थन पाउनेछन् । तर, जब हामी त्यो सेतो धर्का पार गर्नेछौं, हामील‍े आफ्नो सबैथोक त्यो खेलमा लगाउनेछौं ।’

    एरिकसन मैदानमा ढलेपछि केही बेर रोकिएको पहिलो खेलमा फिनल्यान्डसँग पराजित भएको डेनमार्कले अन्तिम खेलमा रुसविरुद्ध इमोसनल जित हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । त्यस्तै वेल्सले भने समूह एको उपविजेताको रूपमा प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    ‘हामीले समूह चरणबाटै बाहिरिने सोचेका थिएनौं र त्यो भरोसालाई कायम राख्न सफल भएका छौं,’ रोबर्ट्सले भने, ‘हामी सधैं कम आँकिएका छौं । हाम्रो टोलीमा हेर्नुस्, हामीसँग फिल्डमा राम्रा खेलाडी छन् ।’

    समूह एमा इटालीबाहेक सबैको सम्भावना ५०-५० रहेको र तीन राम्रा टोलीमध्ये उत्कृष्ट नतिजा निकाले पनि आफूहरूलाई ‘अन्डरस्टिमेटे’ गरिएको रोबर्ट्स बताउँछन् ।

    ‘तर, हामीले यो प्रतियोगितामा राम्रो खेलिरहेका छौं,’ उनले भने ।

    वेल्सले क्वार्टफाइनल प्रवेशका लागि डेनमार्कसँग कोपनहेगनमा भोलि शनिबार राति ९:४५ बजे खेल्ने छ ।

    यी दुई टोलीका पछिल्ला १० खेलमा बराबरी भएको छैन । तीमध्ये डेनमार्कले ६ तथा वेल्सले ४ खेल जितेको छ । सन् २०१८ को नोभेम्बरमा नेसन्स लिगमा डेनमार्कले २-१ गोलको नतिजामा वेल्सलाई पराजित गरेको थियो । त्यो नै यी दुई टोलीको अन्तिम भेट हो ।

    यद्यपि, डेनमार्कले वेल्सविरुद्ध १९९९ यताका सबै (३) प्रतिस्पर्धात्मक खेलमा जित निकालेको छ ।

  • ‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’

    ‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’

    काठमाडौं । चेक रिपल्बिकमाथि १-० को जितसँगै समूह डीको विजेता बन्दै अन्तिम १६ मा पुगेको इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टोली नकआउटका लागि तयार हुने बताएका छन् । राहिम स्टर्लिङको गोलसँगै चेक टोलीमाथि जित हासिल गरेको साउथगेटको इङ्लिस साइडले समूह एफको उपविजेतासँग मंगलबार वेम्ब्लीमा खेल्ने निश्चित भइसकेको छ ।

    प्रतियोगिता अगाडि बढ्दै जाँदा कठिन हुने र साउथगेट आफ्नो टोली त्यसका लागि तयार हुनेमा विश्वस्त छन् । त्यो जितले इङ्लिस टोलीको भेट जर्मनी, फ्रान्स वा पोर्चुगलसँग हुने निश्चित भइसकेको छ । र, इङ्ल्यान्ड युरोपका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रशिक्षक साउथगेटको विश्वास छ ।

    ‘हामीले दुई विपक्षी टोलीहरू– क्रोएसिया र चेक रिपब्लिकसँग खेल्यौं । यी दुई टोली राम्रो लेभलको फुटबल खेलिरहेका छन् र स्कटल्यान्डविरुद्धको खेल पनि हाम्रा खेलाडीका लागि राम्रो अनुभव भयो,’ साउथगेटले भने, ‘तर, अबका खेलहरू फरक हुनेछन् । हामीलाई थाहा छ, त्यहाँ विश्वकप विजेता, युरो च्याम्पियन र जर्मनी छन् । जर्मनी एकदमै बलियो टोली देखिएको छ ।’

    ‘तर, हामीले त्यो कुरा १८ महिनादेखि थाहा पाइरहेका छौं । राम्रो पक्ष भनेको हामी अझै पनि सुधार गरिरहेका छौं । हामी विपक्षीका लागि पनि खेल्न कठिन देखिइरहेका छौं,’ उनी भन्छन्, ‘हाम्रो टोलीका खेलाडीले खेल्ने पर्याप्त समय पाएका छन्, त्यो स्क्वाड डेप्थका लागि महत्त्वपूर्ण थियो । हाम्रो टोली केही कम जोसिलो देखिएको छ, त्यसमा परिवर्तन गर्नु जरुरी छ ।

    प्रतियोगितामा पहिलो पटक बुकायो साका र ज्याक ग्रेलिसलाई चेक रिपब्लिकविरुद्ध मैदानमा उतारेका साउथगेट अन्तिम-१६ को खेल वेम्ब्लीमै खेल्न पाउँदा मख्ख देखिन्थे । इङ्ल्यान्ड समूह विजेता नभएर दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको भए सजिलो विपक्षी टोली पाउने थियो ।

    ‘हामीले खेलाडीलाई चेक रिपब्लिकविरुद्धको खेल अन्तिम १६ मा पुगिसकेकाले कम महत्त्वपूर्ण रहेको तर केही पाउन अझै बाँकी रहेको बताएका थियौं,’ साउथगेटले भने, ‘पहिलो वा दोस्रो हामीले जसरी पनि अगाडि बढ्नुपर्छ । त्यसैले वेम्ब्लीमा खेल्नका लागि हाम्रो हातमा भएको नियन्त्रण गुमाउनु हुँदैन ।’

    स्कटल्यान्डका बिली गिल्मोर कोरोना संक्रमित भएपछि उनीसँग १२० सेकेन्डसँगै बिताएका दुई इङ्लिस खेलाडी बेन चिल्वेल र म्यासन माउन्ट आइसोलेसनमा बस्न बाध्य पारिएकोमा साउथगेट सन्तुष्ट छैनन् । ‘दुवै खेलाडी चेक रिपब्लिकविरुद्धको खेल गुमाउनु पर्दा एकदमै निराश भएका छन्,’ उनले भने, ‘सबै टोली प्लेनमा, बसमा हिँडिरहेका छन् । तर, हाम्रा दुई खेलाडीले १२० सेकेन्ड टनेलमा गिल्मोरसँग बिताए पनि परीक्षणमा नेगेटिभ देखिएपछि किन आइसोलेनसमा बस्नु पर्ने हो ? मैले बुझिनँ ।’

    साउथगेटले ज्याक ग्रेलिस र बुकायो साकाको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘साकाको बारेमा धेरै बोल्न सक्दिनँ । तर उनले मौका पाए । ट्रेनिङमा उनको प्रदर्शन उत्कृष्ट हुन्थ्यो । हामीले उनलाई अगाडि खेलाउनेबारे पनि सोचेका थियौं र उनले चेक टोलीविरुद्धको खेलमा मौका पाए । उनको प्रदर्शन अविश्वसनीय थियो ।’

  • युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

    युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

    एजेन्सी । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सम्पन्न भएका छन् । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन ।

    क्वाटरफाइनल प्रवेशका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

    अन्तिम १६ का केहि खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ ।

    जस्तै इंग्ल्याण्ड र जर्मनीले अन्तिम १६ मै भिड्दैछन् । गएराति भएको खेलमा हंगेरीसँग बराबरी गरेपछि समूह एफको दोस्रो स्थानमा पुगेको जर्मनीले समूह डी को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्न लागेको हो ।

    समूह ई को उपविजेता बनेको स्पेनले समूह डी को उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशकै लागि खेल्नेछ । दुवै टोलीले समूहमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । तर दुवैले समूहको अन्तिम खेलमा प्रभावशाली जित निकालेपछि उनीहरु लयमा फर्किएको अनुमान गर्न सकिन्छ ।

    समूह बी को विजेता बेल्जियमले समूह एफमा तेस्रो भए पनि छनोट भएको पोर्चुगलसँग खेल्नेछ । युरोको साविक विजेता पोर्चुगलले गएराति भएको खेलमा विश्वविजेता फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

    समूह ए मा शतप्रतिशत जितसहित विजेता बनेको इटलीले समूह सी को उपविजेता अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ । समूह सी बाट विजेता बनेर नकआउट चरणमा पुगेको नेदरल्याण्ड्सले समूह डीमा तेस्रो स्थानमा रहेर पनि नकआउटमा छनोट हुन पाएको चेक रिपब्लिकसँग खेल्नेछ ।

    समूह एफबाट विजेता बनेको फ्रान्सले समूह ए मा तेस्रो स्थानमा रहेर पनि छनोट भएको स्वीटजरल्याण्डसँग खेल्नेछ । समूह ई को विजेता स्वीडेनले समूह सी मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्नेछ ।

  • अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

    अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

    फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

    युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

    त्यस्तै अहिले जारी खेलमा फ्रान्सविरुद्ध उनले दुई गोल गरिसकेका छन् ।

     

  • समूह विजेता बन्दै स्वीडेन अन्तम १६ मा, पोल्यान्ड बाहिरियो

    समूह विजेता बन्दै स्वीडेन अन्तम १६ मा, पोल्यान्ड बाहिरियो

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्यान्डमाथि ३-२ को जित निकालेको स्वीडेन समूह ईको विजेता बन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।

    बुधबार सेन्ट-पिटर्सबर्गमा भएको खेलको दोस्रो मिनेटमा एमिल फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको स्वीडेनका लागि फोर्सबर्गले पुन: ५९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    दुई गोलले पछिपरेको पोल्यान्ड स्टार कप्तान रोबर्ट लेवान्डोस्कीले गरेको दुई गोल मद्दतमा बराबरीमा पुगेको थियो । लेवान्डोस्कीले ६१ र ८४औं मिनेटमा गोल गरेका थिए ।

    तर, इन्जुरी समयमा भिक्टोर क्लाइस्सनले गोल गर्दै स्वीडेनको जित सुनिश्चित गरे । स्वीडेनले ए,बी,सी,डीमध्ये एक समूहबाट उत्कृष्ट नतिजासहित तेस्रो हुने टोलीसँग अन्तिम १६ मा खेल्नेछ । समूह ईबाट स्पेन समूह उपविजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुगिसकेको छ ।

  • शानदार जितसँगै स्पेन अन्तिम १६ मा

    शानदार जितसँगै स्पेन अन्तिम १६ मा

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलको फराकिलो नतिजामा पराजित गर्दै स्पेन युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।

    बुधबार राति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाब्लो साराबिया, फेरान टोरेस र आयमेरिक ल्यापोर्टले एक-एक गोल गरे ।

    बाँकी दुई स्लोभाकियाका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको १२औं मिनेटमा पेनाल्टी पाएको स्पेनका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने मौका गुमाएका थिए ।

    तर, ३०औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले गरेको आत्मघाती गोलसँगै स्पेनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए ।

    दोस्रो हाफमा थप आक्रामक बनेको स्पेनका लागि ५६औं मिनेटमा साराबियाले तेस्रो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टोरेसले पहिलो टचमै ६७औं मिनेटमा स्पेनका लागि चौथो गोल गरेका थिए ।

    त्यसको चार मिनेट नबित्दै पाउ टोरेसको प्रहारमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेका थिए ।

    जितसँगै समूह ईको उपविजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुगेको स्पेनले सोमबार कोपनहेगन- डेनमार्कमा क्रोएसियाको सामना गर्नेछ ।

  • युरो २०१६ को ‘टाइटल विनिङ’ गोल गरेका एडर कहाँ छन् ?

    युरो २०१६ को ‘टाइटल विनिङ’ गोल गरेका एडर कहाँ छन् ?

    काठमाडौं । युरो २०१६ को फाइनल अगाडिसम्म एडर पोर्चुगिज टोलीकै सबैभन्दा कम प्रसिद्ध खेलाडी थिए । यद्यपि, फाइनलमा घरेलु टोली फ्रान्सलाई १–० ले पराजित गरेर पोर्चुगलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा एक मात्र निर्णायक गोल गरेका एडर पोर्चुगिज टोलीका ‘हिरो’ सावित भए ।

    आज पाँच वर्षपछि युरो २०२० को समूह एफको अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स भिड्दैछन् । आजको खेल प्रतियोगितामा अगाडि बढ्नका लागि पोर्चुगलका लागि फाइनल जत्तिकै महत्त्वपूर्ण छ । र, धेरैका लागि त्यो फाइनलको अरिरिक्त समयमा विजयी गोल गरेका पोर्चुगिज फरवार्ड कहाँ छन् भन्ने कौतुहलता जागेको छ ।

    कहाँ छन् एडर ? युरो २०१६ का हिरो कहाँ व्यावसायिक फुटबल खेल्छन् ?

    त्यो विजयी गोलसँगै एडरले पोर्चुगिज फुटलबको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखे । यद्यपि, करिब पाँच वर्षपछि एडर युरो २०२० का लागि घोषणा भएको पोर्चुगिज टोलीमा परेनन् ।

     

    View this post on Instagram

     

    A post shared by Eder Lopes (@ederlopesoficial)

    एडर रुसी क्लब लोकोमोटिभ मस्कोबाट व्यावसायि फुटबल खेल्छन् । ३३ वर्षीय एडरले गत सिजन २८ खेलमा २ गोल र एक असिस्ट मात्रै गर्न सकेका थिए । सन् २०१८ मा रुस पुगेका एडरले त्यसअघिका दुई सिजन फ्रेन्च क्लब लिलेमा बिताएका थिए ।

  • दबाबमा रहेको पोर्चुगलको फ्रान्सविरुद्ध कठिन परीक्षा

    दबाबमा रहेको पोर्चुगलको फ्रान्सविरुद्ध कठिन परीक्षा

    काठमाडौं । फ्रान्स युरो २०२० को समूह चरणबाट अन्तिम १६ मा पुग्नका लागि सुरक्षित अवस्थामा छ । र, बुधबार राति हुने पोर्चुगलविरुद्धको खेलेका नजिताले त्यसमा धेरै फरक नपर्ने फ्रान्सका मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले शान्तिपूर्वक भनेका छन् । तर, प्रशिक्षक देसच्याम्पको त्यो अभिव्यक्ति विपरित हंगेरीको पुस्कस एरिनामा फ्रेन्च टोली युरोपियन च्याम्पियनलाई पराजित गर्न आफ्ना सबै अस्त्र प्रयोग गर्ने तयारीमा छ ।

    फ्रान्सलाई युरो २०१६ को फाइनलमा घरेलु मैदानमा उपाधि जित्नबाट रोकेको पोर्चुगल फ्रेन्च साइडको सम्भावित सबैभन्दा ठूलो प्रतिद्वन्दी हो । तर, फ्रेन्च प्रशिक्षक देसच्याम्पले आफ्ना खेलाडीको ध्यान पोर्चुगल प्रतिद्वन्दी हो, र, त्यसलाई समूह चरणबाटै बाहिर निकाल्नुपर्छ भन्ने नरहेको बताएका थिए ।

    विजय, आत्मविश्वास र ‘मोमेन्टम’ सिर्जना गर्नु विश्वकप विजेता टोलीका लागि पर्याप्त हुने देसच्याम्पले बताएका थिए । तर, पछिल्लो समयमा प्रशिक्षक देसच्याम्पले भने भन्दा फ्रेन्च टोलीको मनोबल फरक प्रतित हुन्छ । पछिल्लो पत्रकार सम्मेलनमा फ्रेन्च कप्तान हुगो लोरिसले ‘पोर्चुगिज टोलीले यो खेलमा गुमाउन सक्ने कुरा धेरै भएको’ चार पटक भनेका थिए ।

    फरनान्डो सान्तोषको टोलीलाई भने प्रतियोगितामा अगाडि बढ्नका लागि सकारात्मक नतिजाको खाँचो छ । समूह चरणका दुई खेलमा लगातार पराजित हुनु पोर्चुगललाई तेस्रो स्थानमा थन्क्याउन सक्नेछ । र, अन्य समूहको नतिजामा भर परेर समूहबाटै बाहिरिनु पर्ने पनि हुनसक्छ ।

    ‘हामी हंगेरीलाई बिर्सिन सक्दैनौं,’ पोर्चुगिज प्रशिक्षक सान्तोषले भने । यदि मार्को रोसीको हंगेरीले म्युनिखमा जर्मनलीलाई पराजित गर्‍यो र फ्रान्ससँग पोर्चुगल हार्‍यो भने साविक विजेता पोर्चुगिज साइड चौथो स्थानमा रहेर घर फर्किने निश्चित छ ।

    ‘हाम्रो लक्ष्य भनेको सम्भावित सबैभन्दा उत्कृष्ट नतिजा हासिल गर्नु हो,’ देसच्याम्पले भने, ‘त्यसले पोर्चुगललाई के फरकपर्छ मलाई थाहा छैन । हामी आफ्नै पक्षमा ध्यान दिइरहेका छौं ।’

    ‘यदि हामीसँग अहिले ६ अंक थियो भने पनि यो खेलका लागि मेरो सोचाइ यही हुन्थ्यो । किनभने, नकारात्मक नतिजाको प्रभाव टोलीमा पर्छ,’ देसच्याम्पले भने, ‘हामी समूह चरण पार गर्नका लागि बीमा गरेको अवस्थामा छौं । यसले हामीलाई केही शान्ति त दिएको छ । तर, हामी कसरी खेल्छौं भन्ने कुरामा यसले फरक पार्दैन ।’

    ‘अन्तिम खेल सकिएदेखि नै हामी यो खेलबारे सोचिरहेका छौं,’ उनले भने, ‘यो खेलमा फ्रेन्चलाई खुशी दिनु हाम्रो जिम्मेवारी हो । र, हामी सम्भव भएसम्म उत्कृष्ट नतिजाका लागि जानेछौं । अन्तिम १६ मा नयाँ प्रतिस्पर्धा हुनेछ । र, हामीमा प्रतियोगिताको सुरुआतदेखि नै आत्मविश्वास बढेको छ । त्यसलाई कायम राख्ने प्रयत्न गर्नेछौं ।’

  • ‘यो जित तिम्रा लागि क्रिस्टियन’

    ‘यो जित तिम्रा लागि क्रिस्टियन’

    काठमाडौं । डेनिस खेलाडीले रुसविरुद्धको ४-१ को शानदार जित समूह चरणको ‍पहिलो खेलमा कार्डिक एरेस्टको शिकार भएका प्लेमेकर क्रिस्टियन एरिकसनप्रति समर्पित गरेका छन् ।

    फिनल्यान्डविरुद्धको खेलको ४२औं मिनेटमा अचेत भएर मैदानमा ढलेका एरिकसन केही दिनअघि डिस्चार्ज भएर अहिले घरमा परिवारसँग छन् । युरो २०२० को समूह चरण पार गर्नका लागि महत्त्वपूर्ण रहेको डेनमार्क र रुसबीचको खेल टेलिभिजनमा हेरिरहेका एरिकसनलाई ४-१ को प्रभावशाली जितसँगै खेलाडीले त्यो खुशी उनीप्रति समर्पित गरे ।

    घरेलु समर्थकसामु रुसविरुद्ध ४-१ को शानदार जित निकालेको डेनमार्कले २००४ पछि पहिलो पटक समूह चरण पार गरेको हो ।

    जितपछि डेनिस मिडफिल्डर क्रिस्टियन नोर्गार्डले भने- ‘यो जित क्रिस्टियनका लागि हो, त्यसमा कुनै शंका छैन । हामीले साथमा धेरै समय बिताएका छौं । र, आजको खेल हाम्रालागि अन्तिम अध्याय होस् भन्ने हामी चाहँदैन थियौं । र, अन्त्यमा यो पहिल्यै लेखिए जसरी टुङ्गियो । अब अर्को खेलमा हामी जित्न सक्छौं भन्ने उच्च मनोबलसहित मैदानमा उत्रिनेछौं ।’

    त्यस्तै बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथवेटले ट्वीट गरेका छन्- ‘क्या रात रह्यो । यो तिम्रालागि हो, क्रिस्टियन । अझै धेरै बाँकी छ ।’

    डेनमार्कले आम्स्टरड्याममा हुने अन्तिम १६ मा वेल्सको सामना गर्नेछ । रुसविरुद्धको खेलमा मिक्केल ड्याम्सगार्डले पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । डेनिस टोलीका लागि युसुफ पौलसेन, एन्ड्रेस क्रिस्टियनसेन र योहाकिम मेहेलेले दोस्रो हाफमा गोल गरेका थिए ।

    खेलपछि आफ्नो मुस्कान रोक्न नसकेका डेनिस प्रशिक्षक कास्पर जुल्मान्डले खेलाडीहरूले हप्ताभरी एरिकसनको बारेमा सोचिरहेको बताए । उनले डेनिस फ्यानबाट पाएको समर्थको पनि प्रशंसा गरेका थिए ।

    ‘डेनिस समर्थकले हामीलाई यो उचाइमा पुग्नका लागि पखेटा दिए । उनीहरू हाम्रो पक्षमा रहे,’ उनले भने, ‘तपाईंहरू बिना यो सब सम्भव थिएन । म साँचै आजको रात हाम्रालागि जादुमयी हुने कल्पना गरिरहेको थिएँ । आज हामीले केही हासिल गर्न नसकेको भए त्यो स्वीकार्य हुँदैन थियो । र, आज मेरा खेलाडीहरूले डेनिस समर्थकलाई मुटुमा राखेर खेलेका थिए ।’

    लामो दूरीबाट प्रहार गर्दै उत्कृष्ट गोल गरेका चेल्सीका डिफेन्डर क्रिस्टियनसेनले भने- ‘हामी अन्तिम १६ मा पुग्नु ठूलो उपलब्धी हो । एउटा मात्रै नकरात्मक पक्ष हामीले यो खेल डेनमार्कमा खेल्न पाएनौं । र, हामीले यो हप्ताभरी पाएको समर्थनप्रति एकदमै कृतज्ञ छौं ।’

  • दाबेदारी कायम राख्न फ्रान्स अझै ‘क्लिनिकल’ हुनु आवश्यक

    दाबेदारी कायम राख्न फ्रान्स अझै ‘क्लिनिकल’ हुनु आवश्यक

    काठमाडौं । युरो २०२० को पहिलो खेलमा जर्मनीलाई पराजित गरेसँगै विश्वकप च्याम्पियन फ्रान्सको मनोबल उच्च भयो । प्रतियोगिता सुरु हुन अगाडि नै उपाधि दाबेदारका रूपमा फ्रान्सलाई किन हेरिएको थियो ? र, डिडियर देसच्याम्पका खेलाडीहरू ११ जुलाईमा उपाधि उचाल्न भोकाएका छन् भन्ने पनि उक्त खेलले दर्शाएको थियो ।

    विश्वकप विजेताको आत्मविश्वास र स्टार खेलाडीको उपस्थितिले सशक्त फ्रेन्च टोलीले २०१४ को विश्वकप विजेता जर्मनीलाई १-० को नतिजामा पराजित गरेको थियो । पौल पोग्बा र लुकास हर्नान्डेजको दबाबमा जर्मन डिफेन्डर म्याट्स हुमल्सले घरेको आत्मघाति गोल सँगै म्युनिखमा अग्रता लिएको फ्रान्सले बचाऊ गर्दै तीन अंक हासिल गरेको थियो ।

    पोसेसनमा प्रभुत्व जमाउने र गोलका अवसर सिर्जना गर्ने जर्मनीको ‘गेम-प्लान’ देखिन्थ्यो । त्यसको विपक्षमा पछाडी बसेर पाएका मौकाको सदुपयोग गर्ने देसच्याम नेतृत्वको फ्रेन्च टोलीको रणनीतिले काम गर्‍यो । यद्यपि, यो प्रतियोगिताको दौरान फ्रान्सका प्राय खेलमा बल पोसेसनमा प्रभुत्व राख्नु फ्रेन्च टोलीका लागि बोझ हुन सक्छ । जुन हंगेरीविरुद्धको खेलमा पनि प्रतित हुन्थ्यो ।

    मार्को रोसी नेतृत्वको हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिँदा फ्रान्स त्यसै शैलीमा खेलिरहेको देखिन्थ्यो । पहिलो हाफमा अट्याकिङ हाफमा तीन खेलाडी ‘फ्लेक्जिबल’ र क्रिएटिभ देखिन्थ्यो । मिडफिल्डबाट पोग्बा अगाडिका खेलाडीलाई बल सप्लाई गर्न तल्लीन देखिन्थे ।

    घरेलु टोलीमाथि हावी बने पनि फ्रान्सले गोलका अवसरको सदुपयोग गर्न सकेन । रियाल मड्रिडका फरवार्ड करिम बेन्जिमले गरेको प्रहारको फर्किएर आएको बलमा एन्टोइन ग्रिजम्यानले एक गोल गर्न सफल भएका थिए । तर, त्यसको केही मिनेटमै बेन्जिमाले उत्कृष्ट मौका गुमाएका थिए ।

    खेलमा जमाएको प्रभुत्व र सिर्जना गरेका अवसरको बाबजुद पनि हंगेरियन खेलाडी अटिला फिओलाले गरेको उत्कृष्ट गोलसँगै पहिलो हाफमा फ्रान्स १-० को नतिजामा पछाडी पर्‍यो । त्यो गोलसँगै हंगेरीले निरन्तर खेपिरहेको दबाब कम भएको थियो ।

    उक्त खेलमा फ्रान्सका लागि अर्को सकात्मक पक्ष- गोलका लागि भइरहेको निरन्तर प्रयास थियो । तर, तीमध्ये एक मौकाको मात्र सदुपयोग गर्न सफल भएको फ्रान्सले ६० मिनेटपछि ग्रिजम्यानले गरेको गोलमा बराबरी गर्‍यो । बाँकी समयमा थप गोल हुननसक्दा सोही गोल फ्रान्सलाई १ अंक दिलाउने अहम क्षण बन्यो । जबकी, फ्रान्सले तीन अंक लिने सम्भावना प्रवल थियो ।

    फ्रान्सका लागि किलियान एम्बाप्पेको स्थानमा मैदान प्रवेश गरेका ओस्माने डेम्बेलेले पोस्टमा प्रहार गरेका थिए । यस्तै राफेल भरानेको प्रहार पनि असफल भएको थियो । विभिन्न मौका लागि गोलमा परिणत गर्न असफल फ्रान्सका लागि १-१ गोलको बराबरी देसच्यामको टोलीका लागि एकदमै निराशाजनक भयो ।

    तर, शानदार सुरुआत गरेको फ्रान्सका लागि निराशाजनक बराबरी भए पनि चिन्ताजनक नतिजा भने रहेन । सुरुआती दुई खेलबाट फ्रान्सले समूह एफमा सर्वाधिक चार अंक बटुलिसकेको छ ।

    र, फ्रान्सको नकआउट चरण प्रवेशको प्रबल सम्भावना छ । ‘ग्रुप अफ डेथ’का दुई खेलबाट ४ अंक हासिल गर्नु फ्रान्सका लागि सकारात्मक पक्ष हो । तर, पछिल्लो समय विश्व फुटबलमा चर्चित खेलाडीले भरिएको फ्रेन्च टोलीको फिनिसिङ भने सन्तोषजनक देखिँदैन ।

    प्रतियोगिता जित्न र प्रमुख दाबेदारको ताज कायम राख्न फ्रान्सले फिनिसिङमा अझै पर्फेक्सन ल्याउनु पर्ने देखिन्छ ।

    फ्रान्सले समूह चरणको अन्तिम खेलमा आगामी बिहीबार साविक विजेता पोर्चुगलसँग खेल्नेछ ।

    90min.com बाट
  • इतिहास बनाउन चुक्यो स्कटल्याण्ड, क्रोएसियाको पुनरागमन

    इतिहास बनाउन चुक्यो स्कटल्याण्ड, क्रोएसियाको पुनरागमन

    एजेन्सी । युरो २०२० मा नकआउट चरणमा पुगेर इतिहास कायम गर्ने स्कटल्याण्डको सपना ग्लास्गोको राष्ट्रिय रंगशालामा घरेलु समर्थककै अगाडि क्रोएसियासँगको हारबाट समाप्त भएको छ ।

    दुवै टोली जितको एकमात्र विकल्पमा मैदान उत्रिएका थिए । विश्वकप फाइनलिष्ट क्रोएसियाले यसअघिका दुई प्रदर्शनलाई छायामा पार्दै सुरुमै अग्रता लिएपछि स्कटल्याण्डले पराजय स्वीकार्न बाध्य रह्यो ।

    १२ हजार समर्थकमाझ पहिलो हाफको अन्त्यतिर क्यालम म्याकग्रेगरले बराबरी गाले फर्काएपछि घरेलु समर्थकमा आशा र खुसीको सन्चार भएको थियो ।

    तर, लुका मोड्रिचले खेलमै पहिलो प्रहार गोल हुँदा ६२ औं मिनेटमा क्रोएसियाले अग्रता बनायो । ७७ औं मिनेटमा इभान पेरिसिचले गोल गरेपछि क्रोएसियाले स्कटल्याण्डमाथि इतिहासमै पहिलो जित दर्ता ग¥यो ।

    कम्तिमा १ गोलअन्तरको जित नै क्रोएसियालाई समूह उपविजेता बन्न पर्याप्त थियो । इंग्ल्याण्डसँग पराजित भएपछि समूहको तेस्रो स्थानमा झरे पनि चेक रिपप्लिक उच्कृष्ट चार तेस्रो टिम बन्ने निश्चित भइसकेको छ ।

  • चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    एजेन्सी । रहिम स्टर्लिङले निर्णायक गोल गर्दा चेक रिपब्लिकलाई पराजित गरी इंग्ल्याण्ड समूह विजेताका रुपमा युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा पुगेको छ ।

    समूह ‘डी’को विजेता बनेको उसले क्वाटरफाइनल प्रवेशका लागि समूह एफको उपविजेतासँग खेल्नेछ । यो समूहमा फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी छन् ।

    समूहको पहिलो खेलमा क्रोएसियाविरुद्ध गोल गरेका स्टर्लिङको यो प्रतियोगिता दोस्रो गोल हो । १२ औं मिनेटमा ज्याक ग्रेलिसको क्रसलाई बुकायो साकाले सजिलो बनाइदिएपछि स्टर्लिङले गोल गरेका हुन् । ग्रेलिस र साकाले गएराति इंग्लयाण्ड टिमबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    इंग्लिस कप्तान ह्यारी केन भने युरो २०२० मा आफ्नो पहिलो गोलको खोजीमै छन् । सुरुआती तीन खेलमा २ गोल गरेको इंग्ल्याण्डले एउटा गोल पनि खाएको छैन । त्यो उसको सकारात्मक पक्ष हो ।

    तर अन्तिम १६ मै कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने अवस्थामा उनीहरु गम्भीर बन्ने अवस्था आइसकेको छ ।

  • ‘डार्क हर्स’देखि बज्रपातसम्म- टर्कीको निराशाजनक युरो २०२०

    ‘डार्क हर्स’देखि बज्रपातसम्म- टर्कीको निराशाजनक युरो २०२०

    ‘मेरालागि प्रतियोगिताको हट केक टर्की हो । धेरै मान्छेले टर्कीले राम्रो खेल्छ भन्ने अपेक्षा गरेका छैनन्। तर, उनीहरूको टोली राम्रो छ,’ बिबिसीका फुटबल पन्डित एस्ली विलियम्सले युरो २०२० सुरु हुनुअघि यस्तो अनुमान गरेका थिए ।

    वेल्सका पूर्व डिफेन्डर विलियम्सले मात्रै सेनोल गुनेसको नेतृत्वको टर्की प्रतियोगितामा ‘डार्क हर्स’ बन्ने अनुमान गरेका थिएनन् । अन्य धेरैले ठूला टोलीका लागि टाउको दुखाईको कारण टर्की बन्ने अनुमान गरेका थिए ।

    तर, प्रतियोगिताको पहिलो चरणबाटै अंकविहीन रहँदै बाहिरिएपछि टर्की ती सबै अनुमानका बाबजुद टर्किस साइड पुग्ने भनेको घर मात्रै भएको छ ।

    युरोपियन च्याम्पियनसिपमा पाँचौ खराब प्रदर्शन

    आइतबार समूह एको अन्तिम चरणअन्तर्गत अजरबैजानको बाकुमा स्वीट्जरल्यान्डसँग ३-१ को पराजय भोगेसँगै टर्कीको भाग्य निर्धारण गर्‍यो । त्यो पछिल्ला तीन खेलमा बेहोरेको तेस्रो हार थियो । प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग ३-० गोलको नतिजामा हारेको टर्कीमाथि दोस्रो खेलमा वेल्सले २-० को जित निकालेको थियो ।

    त्यो टर्किस टोलीका लागि श्रृंखलाबद्ध हार मात्रै होइन ‘ह्युमिलेसन’ थियो ।

    प्रतियोगितामा टर्किस टोलीका लागि सम्झनलायक एक मात्र क्षण- इफ्रान क्यान खभेचीकोले गरेको गोल रह्यो । उनले लामो दूरीबाट उत्कृष्ट गोल गरेका थिए ।

    युरोपियन च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म पाँच टोली अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । र, टर्कीको यो पटकको युरो यात्रा इतिहासकै पाँचौं खराब यात्रा रह्यो ।

    ‘यो प्रतियोगितामा स्वीकार्य नहुने प्रदर्शन’

    टर्कीले प्रतियोगितामा गरेको प्रदर्शनको सम्पूर्ण जिम्मेवारी प्रशिक्षक गुनेसले लिएका छन् । र, उनले अन्य कुराहरूले पनि त्यसमा रोल खेलेको प्रतिक्रिया दिए ।

    ‘म यसका लागि जिम्मेवार छु,’ उनले भने, ‘खेलाडी र व्यक्तिगत रूपमा भएका गल्ती पनि यसका कारण बने । प्रतियोगिता अगाडि हामी फाइनल पुग्ने आंकलन भएको थियो । तर, अहिले कठोर आलोचना हुँदैछ ।’

    ‘म अहिले राजीनामा दिने सोचमा छैन । असफलताको बिल त तिरिनुपर्छ । तर, मिडिया, मेनेजमेन्ट र प्रशिक्षण टोली पनि यो असफलताका लागि जिम्मेवार हुनुपर्छ ।’

    ‘यो युवा टोली टर्किस फुटबलमा १० वर्ष जम्ने छ, तर यो लेभलको प्रतियोगितामा यस्तो प्रदर्शन स्वीकार्य हुँदैन ।’

    यस्तो हुने अनुमान थिएन

    प्रभावशाली छनोट चरणपछि टर्कीले प्रतियोगितामा सम्भावित ‘डार्क हर्स’को उपमा कमाएको थियो । यसअघिको भन्दा क्षमतावान् र युवा टोली भएकाले प्रतियोगितामा टर्कीले लामो यात्रा तय गर्ने अनुमान धेरै भएका थिए । र, अजरबैजानमा भएका दुई खेलमा समर्थकको उपस्थिति पनि अन्य टोलीका लागि भारी पर्न सक्थ्यो ।

    यद्यपि, कोरोना भाइरसका कारण एक वर्ष ढिलो भएको युरो २०२० टर्कीका लागि एकदमै बिर्सनलायक रह्यो ।

    प्रतियोगिताको छनोटमा टर्कीले मात्रै तीन गोल खाएको थियो । ती कुनै पनि गोल ओपेन प्लेबाट खाएको थिएन । तर, त्यो फर्ममा रहेर युरो २०२० मा छनोट भएको टर्किस टोली एक वर्ष ढिलो भएको प्रतियोगिताका प्राय सबै खेलमा त्यति गोल खायो ।

    पछिल्लो समय टर्कीले युरो खेल्दा प्राय खेलाडी राष्ट्रिय स्तरमै खेलिरहेका थिए । तर, यो वर्ष युरोपेली फुटबलका प्रतिष्ठित लिगमा खेलिरहेका खेलाडीको बाहुल्यता थियो । त्यसमा पनि टर्किस टोलीका तीन खेलाडी यसै वर्ष लिलेबाट फ्रेन्च लिगवान् च्याम्पियन बनेका थिए । लिलेले यसै वर्ष लिग जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका स्ट्राइकर बुराक यिलमाज, विङ्गर युसुफ याजिसी र राइट-ब्याक जेकी सिलिक टर्किस टोली थिए ।

    तर, युरो २०२० को सुरुआती-११ मा परेका चार खेलाडीले गत मे महिनामा मात्र राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । छनोट चरणका सर्वाधिक गोलकर्ता सेन्क टोसुन चोटका कारण टोलीमा अनुपस्थित रहनु टर्कीका लागि ठूलो घाटा सावित भयो ।

    ‘यो टर्कीस टोलीका लागि ठूलो परीक्षा थियो । तर, कहिले कहीँ असफलताले त्यस्तो पाठ पढाउँछ, जुन पाठ सफलताले पढाउन सक्दैन,’ प्रशिक्षक गुनेस भन्छन् ।

    ‘जब अपेक्षा धेरै हुन्छ, तब निराशा पनि धेरै हुन्छ,’ युभेन्टस तथा टर्कीस डिफेन्डरले मेरिये डेमिरलले भने, ‘हामी भविष्यमा अन्य प्रतियोगितामा उपस्थित भएर हामी के गर्न सक्छौं भन्ने देखाउने छौं ।’

    ‘हामी युवा टोली छौं, हामीसँग प्रगति गर्न मौका छ । म मेरो देशसँग माफी माग्छु । म मेरा साथीहरूलाई विश्वास गर्छु, हामीले यो अनुभवबाट धेरै सिकेका छौं ।’

  • प्रशिक्षक अब्लुल्लाहले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

    प्रशिक्षक अब्लुल्लाहले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट- अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

    जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने ट्रेनिङका लागि अब्दुल्लाहले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन् ।

    बन्द प्रशिक्षणमा परेका खेलाडीहरू:

    अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

    एन्फा कम्प्लेक्समा १ जुलाईदेखि सुरु हुने ट्रेनिङ खेलाडीहरूलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले बताएको छ ।

  • रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

    रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

    एजेन्सी । गएराति समूह बी अन्तर्गत डेनमार्कले समूहको अन्तिम र रुस समूहको दोस्रो स्थानमा रहेर अन्तिम खेलको सुरुआत गरेका थिए ।

    खेलको अन्तिम सिठ्ठी बजेपछि समूहमा उनीहरुको स्थान उल्टियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो ।

    कोपनहेगनमा घरेलु समर्थकमाझ डेनमार्कले ४-१ कोे जित हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरियो । सायद यो दुवै टोलीका लागि अप्रत्यासित नतिजा थियो ।

    पहिलो खेलमा आफ्ना सुपरस्टार क्रिष्टियन इरिक्सनलाई मैदानमै हृदयघात भएयता डेनमार्कका लागि यो प्रतियोगिता भावनात्मक बन्न पुगेको छ । अस्पतालबाट डिस्चार्ज भइ घरमा आराम गरिरहेका आफ्ना साथी खेलाडी इरिक्सनलाई उनीहरुले नकआउट चरणमा प्रवेश गरी राम्रो उपहार दिए । खेलपछि उनीहरुको खुसीयालीमा पनि यही झल्किन्थ्यो ।
    ३८ औैं मिनेटमा मिकेल ड्याम्सगार्डले गोल गरी पहिलो हाफमा डेनमार्कलाई अग्रता दिलाएका थिए । बाँकी सबै गोलहरु द्योस्रो हाफमा सम्भव भएका हुन् । ५९ औं मिनेटमा युसुफ पोल्सेनले गोल गरी अग्रता बढाए । ७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत गोल गरी अग्रता छोट्याउने प्रयास गरे ।

    तर तीन मिनेटको अन्तरमा २ गोल गर्दै डेनमार्कले फराकिलो अग्रता बनायो । ७९ औं मिनेटमा आन्द्रेस क्रिष्टियन र ८२ औं मिनेटमा जोकिम मेहलेले गोल गरेका हुन् ।

    प्रिक्वाटरफाइनलमा डेनमार्कले समूह ए को उपविजेता वेल्ससँग खेल्नेछ ।

    यही समूहको अर्को खेलमा फिनल्याण्डलाई २–० ले हराएर बेल्जियमले शतप्रतिशत जित निकालेको छ ।

    रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा पहिलोपल्ट युरो खेलिरहेको फिनल्याण्डले बेल्जियमलाई ७४ मिनेटसम्म रोकेको थियो । फिनिस डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बेल्जियमका लागि रोमेलु लुकाकुले त्यसको १० मिनेटपछि गोल गरे र टिमलाई २–० को जित निश्चित गराए ।

     

  • युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलो पटक युरोपियन च्याम्पियनसिपको नकआउटमा

    युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलो पटक युरोपियन च्याम्पियनसिपको नकआउटमा

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा युक्रेनमाथि १-० को जित निकालेको अस्ट्रिया युरो २०२० को नकआउटम पुगेको छ ।

    सोमबार रोमानियामा भएको खेलमा अस्ट्रियालाई जित दिलाउन अस्ट्रियाका लागि क्रिस्टोफ बौमगार्टनेरले एक मात्र गोल गरे । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा कप्तान डेभिड अलाबाले कर्नरमार्फत गरेको क्रसलाई गोलमा परिणत गर्दै बौमगार्टनेरले अस्ट्रियालाई अग्रता दिलाएका थिए ।

    सोही अग्रताको सफल बचाऊ गर्दै अस्ट्रियाले समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । समूह सीको उपविजेता बनेको अस्ट्रियाले क्‍वार्टरफाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ ।

    इटाली समूह एको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । इतिहासमा पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले क्वार्टरफाइनलसम्म पुग्नका लागि २९ खेलमा अपराजित रहेको इटालीलाई पराजित गर्नुपर्नेछ ।

    यी दुई बीचको प्रि-क्वार्टरफाइनल आगामी आइतबार लन्डनस्थित वेम्ब्ली स्टेडियममा हुनेछ ।

  • नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    काठमाडौं । एक खेल अगावै नक आउटमा स्थान बनाएको नेदरल्यान्ड्सले सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ मेसिडोनियालाई ३-० ले पराजित गर्दै युरो २०२० को पहिलो चरणमा सतप्रतिशत नतिजा निकालेको छ ।

    आम्सटरड्याममा भएको खेलको २४औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले अगाडि रहेको डच टोलीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । नेदरल्यान्ड्सका लागि ५१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका विनाल्डमले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

    उनको दोस्रो गोलसँगै बनाएको ३-० को अग्रताको बचाऊ गर्दै नेदरल्यान्ड्सले सहज जित दर्ता गर्‍यो । जितसँगै पहिलो चरणबाट नेदरल्यान्ड्स समूह विजेता बन्दै नक आउटमा पुगेको छ ।

  • नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    काठमाडौं । नर्थ मेसिडोनियाका भेटेरान कप्तान गोरान पान्डेभले युरो २०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पहिलो पटक युरो २०२० मा छनोट भएको नर्थ मेसिडोनियाले युरो २०२० को अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

    ‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल हुनेछ । मलाई लाग्छ- गुडबाइ भन्नका लागि यो उचित समय हो,’ ३७ वर्षीय पान्डेभले नेदरल्यान्ड्सविरुद्धको खेलको अघिल्लो रात भनेका छन् ।

    ‘यो पुस्ता विश्वकपका लागि छनोट हुनेमा म विश्वस्त छु,’ उनले भने, ‘उनीहरूले नर्थ मेसिडोनियाली नागरिकका मुहारमा धेरै खुशी ल्याएका छन् । र, उनीहरू राम्रा क्लबहरूमा खेलिरहेका सक्षम खेलाडी छन् । र, मलाई लाग्छ उनीहरू विश्वकप फुटलब खेल्न हकदार छन् ।’

    इटालियन फुटबलमा आफ्नो करियरको सबैभन्दा धेरै समय बिताएका पान्डेभले २००१ मा नर्थ मेसिडोनियाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । दुई दशक अन्तर्राष्ट्रिय फुटबलमा नर्थ मेसिडोनियाको प्रतिनिधित्व गरेका उनले आफ्नै नेतृत्वमा पहिलो पटक देशलाई ठूला प्रतियोगितामा छनोट गराएका हुन् ।

    गत नोभेम्बरमा जर्जियाविरुद्ध पान्डेभले गरेको गोलले नै नर्थ मेसिडोनियालाई युरो २०२० मा छनोट गराएको थियो । र, यो नै नर्थ मेसिडोनियाले खेलेको पहिलो प्रतियोगिता हो ।

    इटालियन साइड गेनोआका फरवार्ड पान्डेभले विश्वकप छनोटअन्तर्गत जर्मनीविरुद्धको अप्रत्याशित २-१ को जितमा पनि गोल गरेका थिए ।

    पान्डेभले युरो २०२० को पहिलो खेलमा अस्ट्रियाविरुद्ध ३-१ को पराजय बेहोर्दा नर्थ मेसिडोनियाका लागि ठूला प्रतियोगितामा पहिलो गोल गर्ने खेलाडी पनि बनेका थिए । उनी युरोपियन च्याम्पियनसिपको इतिहासमै गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बने ।

    युरो २०२० को दोस्रो खेलमा युक्रेनसँग २-१ गोलको नतिजामा पराजित भएसँगै नर्थ मेसिडोनियाले समूह सी पार गरेर नकआउटमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । सोमबार राति नेपाली समयअनुसार ९:४५ बजे सुरु हुने नेदरल्यान्ड्सविरुद्धको खेल पान्डेभका लागि अन्तिम खेल हुनेछ ।

  • नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    काठमाडौं । युरो २०२० को समूह सीअन्तर्गत सोमबार हुने नर्थ मेसिडोनियाविरुद्धको खेलमा रायन ग्राभेनबर्चले नेदरल्यान्ड्सको सुरुआती-११ मा स्थान बनाउने सम्भावना देखिएको छ । गत सिजन आयाक्सबाट एर्डिभिजीमा २३ खेल खेलेका सेन्ट्रल मिडफिल्डर रायनले तीन गोल र पाँच असिस्ट गरेका थिए ।

    उदीयमान खेलाडीको रूपमा हेरिएका रायनले युरो २०२० मा नेदरल्यान्ड्सले खेलेका सुरआती दुई खेलमा मौका पाएका छैनन । डच सिनियर टोलीमा पहिलो पटक गत मार्चमा बोलाइएका १९ वर्षीय रायनले युरो २०२० को टोलीमा पनि स्थान सुरक्षित गरेका थिए ।

    यद्यपि, युरो २०२० समूह चरणको पहिलो खेलमा युक्रेनविरुद्ध बेन्चमै सीमित भएका रायनले अस्ट्रियाविरुद्धको दोस्रो खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा १६ मिनेट मौका पाए ।

    सुरुआती दुई खेलमा जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गरिसकेको डच टोलीबाट आजको खेलमा उनले मौका पाउने लगभग निश्चित छ । एनओएसको रिपोर्टअनुसार रायनले आजको खेलमा मौका पाउने छन् ।

    आजको खेलमा मौका पाएर प्रशिक्षकको अपेक्षाअनुसार प्रदर्शन गर्नसके उनले प्रि-क्वार्टरफाइनलमा पनि स्थान बनाउन सक्नेछन् । नेदरल्यान्ड्सले अन्तिम-१६ मा समूह डी, ई वा एफमध्ये एक समूहको तेस्रो हुने टोलीसँग खेल्नेछ ।

    नेदरल्यान्ड्सले मेसिडोनियासँग सोमबार राति ९:४५ बजे खेल्दै छ ।

  • स्वीट्जरल्यान्डको जितमा शकिरीको दुई गोल

    स्वीट्जरल्यान्डको जितमा शकिरीको दुई गोल

    काठमाडौं । शेर्डन शकिरीको दुई गोलप्रेरित स्वीट्जरल्यान्डले युरो २०२० अन्तर्गत समूह एको अन्तिम खेलमा टर्कीलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।

    अजरबैजानको बाकुमा भएको खेलको छैठौं मिनेटमा ह्यारिस सेफेरोभिचले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । टर्कीको रक्षापक्तिमाथि लगाता आक्रमण गरेको स्वीटजरल्यान्डका लागि २६औं मिनेटमा शकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    पहिलो हाफमा २-० ले पछिपरेको टर्कीका लागि इर्फान खभेचीले ६२औं मिनेटमा एक गोल फर्काएका थिए ।

    तर, ६८औं मिनेटमा शकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीट्जरल्यान्डका लागि ३-१ को जित सुनिश्चित गरे । जितसँगै स्वीट्जरल्यान्डको नकआउट प्रवेश सम्भावना बढेको छ ।

    यद्यपि, स्वीट्जरल्यान्डले अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ । हारसँगै टर्की अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

  • ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    काठमाडौं । लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह एको अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

    आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको वेल्स ५६औं मिनेटमा १० जना खेलाडीमा सीमित भएको थियो ।

    इटालीका फेडेरिको बर्नार्देस्चीमाथि खराब फाउल गरेका वेल्स डिफेन्डर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा सीमित भएको थियो ।

    बाँकी समयमा १० जना खेलेर पनि गोल खानबाट बचेको वेल्सले बराबरी गोल फर्काउन सकेन । जितसँगै ३० खेलमा अपराजित रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

    यस्तै एक जित, एक हार र एक बराबरी खेलेको वेल्स ४ अंकसहित उपविजेता बन्दै नकआउटमा पुगेको छ । ४ अंकसहित चौथो स्थानमा रहेको स्वीटजरल्यान्डको पनि नकआउटमा पुग्ने सम्भावना बाँकी छ ।

  • स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

    स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

    एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन । युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ । तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ ।

    लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

    तीनपल्टको युरो च्याम्पियन स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउन सके मात्र नकआउट चरणमा पुग्ने स्थितिमा आएको छ । यो खेल बुधबार हुनेछ ।

    ‘हामीलाई भाग्यले पनि साथ दिएको छैन,’ स्पेनिस डिफेण्डर जोर्डी अल्बाले भने, ‘हामीले राम्रो गरिरहेका छौं र त्यसको नतिजा सकारात्मक आएको छैन । मैले यसरी बुझेको छु ।’

    अल्भारो मोराटाले २५ औं मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए । गोलको गतिरोध अन्त्य गरे पनि रक्षापंक्ति कमजोर देखियो । दोस्रो हाफको सुरुमै बार्यन म्युनिखका सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले बराबरी गोल फर्काए । ५८ औं मिनेटमा जेरार्ड मोरेनो पेनाल्टीमा चुक्दा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो ।

  • जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

    जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

    काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ ।

    शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलको सुरुआतमा ०-१ को नतिजामा पछिपरेको जर्मनीले लगातार चार गोल फर्काएको थियो ।

    पोर्चुगलका कप्तान तथा प्रतियोगिताका सर्वकालिन सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमा गरेको गोलसँगै पोर्चुगलले अग्रता लिएको थियो ।

    यद्यपि, चार मिनेटको फरकमा दुई आत्मघाती गोलको शिकार भएको पोर्चुगल पहिलो हाफ सकिँदा २-१ ले पछाडि परेको थियो । रुबेन डियासले ३५औं मिनेटमा गरेको आत्मघाती गोलसँगै बराबरीमा फर्किएको जर्मनीले ३९औं मिनेटमा राफाएल गुरेरोको अर्को आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो ।

    पहिलो हाफमा २-१ को अग्रता लिएको जर्मनीका लागि ५१औं मिनेटमा काइ हाभेट्जले तेस्रो गोल गरेका थिए । त्यसको ९ मिनेट नबित्दै रोबिन गोसेन्सले जर्मनीको अग्रता ४-१ मा लम्ब्याएका थिए ।

    डिएगो जोटाले ६७औं मिनेटमा गरेको गोलसँगै पोर्चुलले स्कोर लाइन ४-२ मा छोट्याए पनि हार टार्न सकेन ।

    पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा फ्रान्सको सामना गर्नेछ । यस्तै जर्मनीले हंगेरीसँग खेल्ने छ ।

  • ग्रिजम्यानको गोलमा हारबाट जोगियो फ्रान्स

    ग्रिजम्यानको गोलमा हारबाट जोगियो फ्रान्स

    काठमाडौं । युरो २०२० को पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको विश्वकप च्याम्पियन फ्रान्स समूह ‘एफ’मा आफ्नो दोस्रो खेलमा हंगेरीविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको छ ।

    शनिबार भएको खेलमा हंगेरीविरुद्धको पहिलो हाफमा १-० ले पछि परेको फ्रान्सले दोस्रो खेलमा गोल फर्काउँदै बराबरी गरेको हो ।

    पहिलो हाफको इन्जुरी समयमा अटिला फिओलाले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो । उनले रोलान्ड सल्लाईको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए ।

    दोस्रो हाफमा आक्रामक बनेको फ्रान्सका लागि एन्टोइन ग्रिजम्यानले ६६औं मिनेटमा काउन्टर अट्याकमा बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको थियो ।

    बराबरीसँगै फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ भने पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीको यो पहिलो अंक हो ।

    हंगेरीले समूह चरणको अन्तिम खेलमा जर्मनी तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।

  • फ्रान्सविरुद्ध हंगेरीलाई खराब लयको चिन्ता

    फ्रान्सविरुद्ध हंगेरीलाई खराब लयको चिन्ता

    काठमाडौं । युरो २०२० मा शनिबारको पहिलो खेलमा समूह ‘एफ’ अन्तर्गत फ्रान्स र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार साँझ ६:४५ बजे हंगेरीको बुडापेस्टमा हुने मैदानमा हुने खेलमा फ्रान्स उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने लक्ष्यमा छ ।

    पहिलो खेलमा जर्मनीलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको फ्रान्सले पुस्कस एरिनामा ६० हजारभन्दा धेरै समर्थकसामु घरेलु टोलीसँग खेल्ने छ ।

    अर्कातिर पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलसँग ०-३ को नतिजामा पराजित भएको हंगेरी समूह चरण पार गर्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ । यद्यपि, पछिल्ला तीन खेलमा १ गोल मात्र गर्न सकेको हंगेरीलाई खराब लय परिवर्तन गर्नु आवश्यक छ ।

    तर, पछिल्ला तीन खेलमा ७ गोल गरेको फ्रान्सको आक्रामक फ्रन्टलाइनलाई असफल बनाउन पनि हंगेरीले संघर्ष गर्नुपर्ने निश्चित छ । फ्रान्सले पछिल्ला पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको छ । त्यसमाथि अवेमा खेलेका पछिल्ला चार खेलमा लगातार गोल गरेको छ ।

  • स्पेनको ‘डरलाग्दो आत्मविश्वास’ले कसरी विश्व फुटबलमा राज गर्‍यो ?

    स्पेनको ‘डरलाग्दो आत्मविश्वास’ले कसरी विश्व फुटबलमा राज गर्‍यो ?

    काठमाडौं । युरो २००८ को छनोट अन्तर्गत २००६ को सेप्टेम्बर ६ मा विन्सडोर पार्कमा १४ हजार ५ सय समर्थक अगाडि उत्तरी आयरल्यान्डसँग स्पेन ३-२ गोलको नतिजामा पराजित भयो । र, फेरि एक पटक असफलताको श्रृंखला लम्बियो । कोही पनि समर्थक ‘सरप्राइज्ड’ नभई घर फर्किए । किनभने, त्यो हार १९६४ मा जितेको एउटा मात्रै उपाधि- युरोपियन च्याम्पियनसिप पछिको विश्व फुटबलमा आफूलाई स्थापित गर्न नसकेको स्पेनको एउटा अंश मात्र थियो ।  सन् १९६४ मा युरोपियन च्याम्पियन बनेको स्पेनले त्यस यता ठूला प्रतियोगिता (युरो वा विश्वकप)मा एक पटकमात्र क्वार्टरफाइनल पार गरेको थियो ।

    २००७ सेप्टेम्बर ६ मा स्पेनविरुद्ध गोल गरेपछि उत्तरी आयरल्यान्डका डेभिड हेली ।

    लालिगा भेटेरान लुइस एरागोनेस २००४ मा स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । र, उनले आफ्नो कार्यकाल २५ खेलको अपराजित यात्रा तय गर्दै सुरु गरेका थिए । तर, फेरि एक पटक स्पेनिस टोलीमा देखिएको ‘ओप्टिजम’ हरायो, जब २००६ को विश्वकपमा फ्रान्सको ‘बुढो’ टोलीसँग अन्तिम १६ मा पराजित भयो । पराजित पनि यस्तो टोलीसँग भयो, जुन फ्रेन्च साइडलाई स्पेनले सहजै परास्त गर्ने आंकलन थियो । त्यसमाथि २८औं मिनेटमा लिएको अग्रता बचाउन नसकेर १-३ गोलको नतिजामा ।

    लुइस एरागोनेस ।

    तीन महिनापछि एरागोनेसले अठोट गरे- केही त गर्नुपर्छ । उत्तरी आयरल्यान्डमा बितेको त्यो रातले उनलाई बुझायो- ‘परिवर्तन आवश्यक छ।’ त्यो एक असाधारण क्षणको सुरुआत थियो । त्यसको ६ वर्षपछि स्पेन विश्व फुटबलको सबैभन्दा सफल टोली कहलियो । र, विश्व फुटबलमा राज गर्न निस्किएको स्पेनको तयारी आयरल्यान्डमा बितेको रात सुरु भएको थियो ।

    ०००

    त्यसबेला स्पेनिस टोलीमा विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्ने र फरक स्थानबाट आएका खेलाडीहरूबीच विवाद र खटपट भएको हल्ला चलेको थियो । जब स्पेनले १९८४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा भरपर्दा गोलकिपर लुइस एर्कोनाडाले गरेको असाधारण गल्तीका कारण फ्रान्ससँग पराजित भयो । त्यसबेला झनै यस्ता हल्लाले चर्चा पाएका थिए । यतिसम्म ‘रुमर’ चले कि एर्कोनाडाले आफू बस्क (स्पेनको एक अटोनोमस समुदाय/राज्य)बाट भएका कारणले स्पेनले नजितोस् भनेर जानेर नै गोल खाएकोसम्म भनिएको थियो ।

    ‘त्यो समयममा स्पेनिस टोलीमा धेरै खेलाडी रियाल मड्रिड र बार्सिलोनाबाट व्यावसायिक खेल्ने गरेका थिए । र, जब हामीसँगै मैदानमा जान्थ्यौं तपाईंले दुई खेलाडीबीच केही हदसम्म दूरी महसुस गर्नुभएको थियो ?,’ एरागोनेसको नेतृत्वमा स्पेनिस टिमबाट खेलेका स्ट्राइकर फर्नान्डो मोरिएन्तेसले भन्छन्, ‘तर, त्यस्तो केही थिएन । अहिले हामी स्पेनिस टोलीमा जुन साथ र आत्मीयता देखिन्छ, त्यो बेला पनि उस्तै थियो ।’

    स्पेनिस टोलीको सफलताको बाधक राजनीति थिएन । सबैभन्दा पहिलो रणनीति थियो, ‘ट्याकटिस’ थियो ।

    आयरल्यान्डविरुद्धको खेल विश्वकप २००६ पछिको दोस्रो प्रतिस्पर्धात्मक खेल थियो । र, त्यो खेलपछि एरागोनेसले बुझेका थिए कि उनका पूववर्ती प्रशिक्षकहरूले अपनाएको ‘डाइरेक्ट फुटबल’ र लामो पासको रणनीतिले काम गरिरहेको छैन ।

    ०००

    उनले चाहेको परिवर्तनका लागि खेलाडी छनोटमा एक कठोर निर्णय लिनु आवश्यक थियो । र, उनले त्यो निर्णय पनि गरे । उनको त्यो कठोर निर्णयको मूल्य झण्डै प्रशिक्षकबाट बर्खास्त भएर चुकाउनु परेको थियो ।

    त्यो समयमा रियाल मड्रिडका सुपरस्टार राउल एक सामान्य खेलाडी मात्र थिएनन् । उनी स्पेनिस फुटबलका आइकनसमेत थिए । धेरै स्पेनिसले सोच्ने आइडियल फुटबलको मानक उनै राउल थिए । उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टमा भोगेको त्यो ३-२ गोलको पराजयपछि एरागोनेसले राउल उनी त्यो स्टाइलमा फिट नभएको बुझिसकेका थिए ।

    परिणाम स्वरुप उनले स्टार स्ट्राइकर राउललाई ‘ड्रप’ गरे । त्यो समयमा मड्रिडका मिडियाहरूले एक लिजेन्डको अपमान भएको बताउँदै एरागोनेसको चर्को आलोचना गरेका थिए । राउल टोलीमा पर्नका लागि योग्य नभए पनि उनलाई व्यक्तिगत रूपमा खबर गरेर मात्रै टोलीको घोषणा गरिनुपर्ने माग थियो ।

    राउल त्यो बेला २९ वर्षका थिए । र, आयरल्यान्डविरुद्धको हारमा उनले स्पेनका लागि खेलेको १०२औं खेल थियो । त्यो नै उनको अन्तिम हुने थियो । तर, एरागोनेसले कुनै पनि पश्चाताप गरेनन् ।

    ‘मैले राउललाई भनिनँ र आफू छनोट नभएको आफैंलाई थाहा पाउन छाडिदिएँ,’ एरागोनेसले भनेका थिए, ‘उनी मात्रै अपवाद होइनन् । सामान्य सत्य के हो भने मैले टोलीमा आवश्यकता अनुसार खेलाडीलाई बोलाएको छु ।’

    जुन समयमा प्रशिक्षक एरागोनेस स्पेनका लागि उपयुक्त खेल शैलीको विकास गर्ने मार्गतर्फ अग्रसर थिए, त्यो समयमा स्पेनिस मिडियाले उनको खोइरो उतारेका थिए ।

    स्वीडेनसँग पराजित भएसँगै युरो २००८ गुमाउने सम्भावना बढेको थियो । र, सन् २००७ को अक्टोबर १३ तारिखमा युरोपियन च्याम्पियनसपिको छनोटका लागि जित्नै पर्ने बाध्यतासहित स्पेनिस टोली डेनमार्क उडेको थियो । त्यो खेलको एक नतिाजामा स्पेनिस फुटबलको मुहार फेर्ने मार्गमा रहेका प्रशिक्षक एरागोनेसको भाग्य निहित थियो ।

    तर, डेनमार्कविरुद्ध ३-१ को जितसहित स्पेनिस फुटबलको पुनर्जन्म भयो ।

    ०००

    बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिया त्यो खेल सम्झिँदै भन्छन, ‘हाम्रा लागि त्यो खेल सबैथोक थियो । सबै थोकका लागि हामीले त्यो खेल जित्नु थियो । यदि हामीले हारेका भए प्लेअफको भर पर्नु पर्थ्यो । र, प्लेअफमा नपुग्न पनि सक्थ्यौं ।’

    एरागोनेसका लागि ‘युरेका’ मोमेन्ट डेनमार्कविरुद्धको ३९औं मिनेटमा आयो । जब स्पेनका फुलब्याक सर्जियो रामोसले स्पेनका लागि दोस्रो गोल गरे । र, स्पेन समूह विजेताको रूपमा युरो २००८ का लागि छनोट भयो ।

    त्यति मात्रै होइन, स्पेनको त्यो यात्राले नयाँ स्पेनिस फुटबलको उदय भएको संकेत दियो । जुन स्पेनिस टोलीमा पास र ‘कलेक्टिभ वर्क’नै मुख्य शुत्र बन्यो ।

    त्यसबेला स्पेनिस फुटबलका स्पोटिङ डाइरेक्टर रहेका फर्नान्डो हिएरो सम्झिन्छन्, ‘त्यो खेलअघि एकदमै धेरै तनाव थियो । र, तनावको कारण त्यो खेलको महत्त्व थियो ।’

    ‘डेनमार्क त्यो बेला एकदमै बलियो टोली थियो । तर, हामी एकदमै शान्त थियौं र लुइस एरागोनेसमाथिको विश्वास त्यो शान्तिको कारक थियो,’ फिएरो भन्छन्, ‘लुइसले- चिन्ता नगर… हामी भोलिको खेल ३-१ ले जित्छौं…’ भनेका थिए । र, अविश्वसनीय तरिकाले हामीले त्यसै स्कोरलाइनमा खेल पनि जित्यौं ।’

    खेल शैली परिवर्तन भएकोबारे मिडफिल्डर मार्कोस सेन्नाले भने, ‘पहिलो पटक एरागोनेसले बीचमा छोटो पास खेल्ने खेलाडीलाई छनोट गरेका थिए ।’

    प्रशिक्षक एरागोनेसले आफ्नो विदाइमा प्रशस्त मिडफिल्डर दिए । बल पासल गर्ने खेलाडी दिए । यो प्रशंगमा उनले कयौं पटक मसला पनि थपिदिएका थिए । उनले धेरै स्थान र समयमा जाभी, एन्द्रेस इनिएस्टा र सान्टी कार्जोलासँग सोधेका थिए- तिमी कसरी खेल जित्छौ ? गोल गरेर ? होइन ? किन तिमी धेरै गोल गर्दैनौ ?

    एरागानेसले स्पेनमा रोपेको हेर्न सुन्दर लाग्ने त्यो सर्ट पास फुटबलको बीउ स्पेनिस फुटबलमा प्रभावकारी पनि सावित भयो ।

    ०००

    ‘अभिसापको अन्त्य– युरो २००८’

    युरो २००८ को फाइनल प्रतियोगितामा स्थान सुरक्षित गरेसँगै अस्ट्रिया र स्वीटजरल्यान्डमा स्पेनलाई ४४ वर्ष लामो उपाधिहीन यात्रामा पूर्णविराम लगाउने मौका थियो ।

    ‘म त्यो अस्ट्रिया पुगेको दिन सम्झिन्छु,’ त्यो टोलीका लेफ्ट-ब्याक जोन क्यापडेभिला भन्छन्, ‘हामी त्यहाँ मध्य दिउँसो पुगेका थियौं । सोझै ट्रेनिङमा जानु सामान्य कुरा थियो । तर, प्रशिक्षक लुइले हामीलाई भोलिसम्मका लागि छुट्टी दिए । कल्पना गर्नुहोस् ! हामी त तीन छक्क पर्यौंः हामी त्यहाँ पुगेका मात्र के थियौं उनले हामीलाई छुट्टी दिए ।’

    ‘मलाई लाग्छ हामीले त्यसै समयबाट जित्न सुरु गरेका थियौं । किनभने, लुइसलाई थाहा थियो त्यसले हामीलाई अझ नजिक बनाउने छ । जसको प्रत्यक्ष नतिजा खेलमा पनि देखिन्छ,’ उनले भने ।

    समूह चरण पार गरेसँगै स्पेनले क्वार्टरफाइनलमा इटालीको सामना गर्नुपर्‍यो । इटालीलाई त्यस बेलासम्म कहिले पनि ठूला प्रतियोगितामा स्पेनले पराजित गर्न सकेको थिएन ।

    ‘यसले स्पेनिस फुटबलमा नयाँ आयाम थप्यो,’ क्यापडेभिलाले भने, ‘उनीहरू प्रतिष्ठित टोली थिए र हामीमाझ ठूला टोलीहरूसँग सँधै हार्ने ‘हुडो’ थियो । हामीले राम्रो खेले पनि हारिरहेका थियौं ।’

    त्यो खेलमा पनि स्पेनले बल पोसेसन र आक्रमणमा प्रभुत्व जमाएको थियो । तर, गोल हुन सकेन गोलरहित बराबरीमै निर्धारित टुङ्गिएको थियो । र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    एरागोनेसले आफ्ना असिस्टेन्ट जोसे उफार्टेलाई पेनाल्टी सुटआउटको तयारी गर्न अह्राए । त्यो बेला स्पेनको फिटनेस कोच जेसुस पेरेडेस त्यो समय सम्झिँदै भन्छन्, ‘उफार्टेले पेनाल्टीको तयारी गर्न थाले । र, पेनाल्टी लिने खेलाडीको सूची बनाउन थाले । उनी एक/दुई खेलाडीलाई लिएर उनी अन्योलमा थिए र उनले एरागोनेससँग सल्लाह मागे । त्यतिकैमा एरागोनेसले भने ‘देखाऊ मलाई…’ र उनले च्याते र फ्याब्रिगासलाई अन्तिम पेनाल्टी टेकर बनाए ।’

    क्यापडेभिला फ्याब्रिगासले सहजै पेनाल्टी लिएको सम्झिन्छन् ।

    ‘म बीचको लाइनमा थिएँ र त्यो गोल हेर्न सकिरहेको थिइँन,’ उनी भन्छन्, ‘जियानलुइजी बुफोन एकदमै ठूला थिए । उनी दानब जस्ता देखिन्थे । मलाई थाहा छैन कसरी सेसले त्यो पेनाल्टीमा गोल गर्न सफल भए । यदि म अन्तिम पेनाल्टी टेकर भएको भए मलाई एकदमै टाउको दुखाइको विषय हुन्थ्यो । म सिनियरमध्ये एक खेलाडी थिएँ ।’

    तर, फ्याब्रिगासको गोलसँगै स्पेनले जित्यो र सेमिफाइनलमा पुग्यो ।

    फ्याब्रिगासले उफ्रिएर एकदम संयमतासहित बुफानेको बायाँतर्फ प्रहार गरेका थिए । र, सोही पेनाल्टीमार्फत् इटालीलाई पहिलो पटक ठूला प्रतियोगितामा स्पेनले पराजित गर्‍यो । इटाली चारमध्ये दुई पेनाल्टीमा चुकेको थियो भने स्पेनले एउटा मात्र खेर फालेको थियो ।

    पछि ड्रेसिङ रूममा पेरेडेसले फ्याब्रिगासको तारिफ गर्दै भने, ‘ग्रेट पेनाल्टी सेस- तिमी आत्मविश्वासी देखियौ ।’

    ‘जिजस’ प्रतिउत्तरमा फ्याब्रिगासले भने, ‘यो मैले १४ वर्षको उमेर यता लिएको पहिलो पेनाल्टी थियो ।’

    स्पेनको सबैभन्दा प्रभावकारी फुटबल अखबार एएसका पूर्व प्रधानसम्पादक अल्फ्रेडो रेलानो भन्छन्, ‘त्यो समयमा मेरा लागि सबै कुरा परिवर्तन भयो ।’

    ‘त्यसपछि, कहिल्यै पनि स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई लिएर मेरो मनमा आशंका रहेन । न युरो २००८ का लागि न त्यसपछि कहिल्यै,’ अल्फ्रेडो भन्छन्, ‘हामीले एउटा अभिसापलाई टारेको जस्तो लाग्यो । हामी एकदमै राम्रो खेलिरहेका थियौं । र, त्यो माहोलले पूरा स्पेन गर्मिएको थियो । हामीले त्यो समयदेखि निराशा छाड्यौं ।’

    हिएरो थप्छन्, ‘त्यही समय थियो, जब स्पेन ‘डोमिनेन्ट’ फोर्स बन्यो । त्यो पल थियो- जब हामीले इतिहास बदल्यौं ।’

    स्पेनको पुस्ताका लागि नै त्यो एक अविस्मरणीय क्षण रह्यो । तत्कालीन प्रधानमन्त्री जोसे लुइस जापाटेरोका लागि पनि त्यो एक सफलताको क्षण रह्यो ।

    २००८ मा युरो जितेपछि प्रशिक्षकसँग खुसी मनाउँदै स्पेनिस टोली ।

    ‘मेरो उमेर समूहका मानिसको तर्फबाट पनि सेसले सधैं सम्मान पाउनेछन्,’ हिएरो भन्छन्, ‘किनभने त्यो बेलासम्म हामीले स्पेनले क्वार्टरफाइनल पार गर्न सक्छ भन्ने सोचेकै थिएनौं ।’

    ठूलो आशंका र द्विविधाबाट मुक्त स्पेनले सेमिफाइनलमा रुसको सामना गर्‍यो । बदलिएको र उच्च मनोबलसहित मैदानमा उत्रिएको स्पेनिस टोलीले रुसविरुद्ध प्रतियोगिताकै उत्कृष्ट नतिजा ३-० गोलको नतिजामा जित हासिल गर्दै २४ वर्षपछि पहिलो पटक ठूला प्रतियोगिताको फाइनल यात्रा तय गर्‍यो ।

    ‘प्रतिक्षाको घढी टुङ्गियो,’ क्यापडेभिला भन्छन्, ‘सेमिफाइनलमा स्पेनिस टोलीको उत्कृष्टताको प्रदर्शन भयो । त्यो समय हामीसँग डरलाग्दो आत्मविश्वास थियो । र, हामीलाई पनि चाहे जे सुकै होस्, हामी फाइनल जित्न सक्छौं भन्ने भान भयो ।’

    ०००

    अन्तिम परीक्षा जर्मनीसँग

    जर्मनीविरुद्ध फाइनलको अघिल्लो दिन एरागोनेसले टीमसँग कुरा गरे । र, एरागोनेसले त्यो समय भनेका कुरा त्यो टोलीमा भएका खेलाडीले अहिलेसम्म पनि सम्झिन्छन् ।

    ‘ट्रेनिङका दौरान एरागोनेसले हामी सबैलाई पिचको बीचमा बोलाए,’ क्पाडेभिला सम्झिन्छन्, ‘एरागोनेसलके भने– वालेसले भोलि खेल्दैनन्…’ यति सुनेर हामी सबै सोचिरहेका थियौं… वालेस ? को वालेस ? यत्तिकैमा जाभीले सोधे– बोस… को वालेस ? तपाईंको मतलब बालाक ?’

    ‘जेसुकै भए पनि म उनलाई वालेस भन्छु,’ एरागोनेसले त्यसबेला भने, ‘त्यसले फाइनलका लागि भएको चिन्ता हरायो र हामी सबै हाँस्यौं ।’

    जुन २९, २००८ को भिएनामा एरागोनेसको प्रभाव फेरि एकपटक महत्त्वपूर्ण सावित भयो ।

    युरो २००८ को फाइनलमा टोरेसले जर्मनीविरुद्ध गरेको एक मात्र गोल ।

    फाइनल अगाडि ड्रेसिङ रूममा उनले स्ट्राइकर फर्नान्डो टोरेसलाई भने- निनो! दुई सेन्टर ब्याकको बीचमा बस । त्यसो गर्दा उनीहरू पछाडि बस्न बाध्य हुन्छन् । र जब हामीसँग बल हुन्छ, तिमी उक साइड हेरेर दौडेऊ ।’

    तत्कालिन लिभरपुलका फरवार्ड टोरेसले उक्त खेलमा जर्मनीवरुद्ध एक मात्र निर्णायक गोल गरेका थिए ।

    पछि हेर्दा एरागोनेसको त्यो व्याख्या/निर्देशन जर्मनीको डिफेन्स ब्रेक गर्ने ‘निन्जा टेक्निक’ थियो । र, टोरेसले त्यसरी नै रन बनाएर जाभकिो ‘थ्रु–बल’मा स्पेनका लागि विजयी गोल गरेका थिए ।

    डेभिड भिया भन्छन्, ‘कयौं काला रातहरूपछि, जुनसुकै कारणले जहिले युरो र विश्वकपबाट आफ्नो टोली ‘नक्ड आउट’ भइरहेका थियो …. तर त्यो दिन अन्ततः देशले राहतको सास फेर्यो ।

    स्पेनका लागि त्यो एउटा सुरुआत मात्र थियो । त्यसपछि पनि स्पेनले त्यो ‘डरलाग्दो आत्मविश्वास’ र विजयी यात्रालाई कायम राख्यो, तर एरागोनेस बिना । तर, उनले नै देखाइदिएको मार्गबाट ।

    ०००

    एरागोनेसले २००७ को सेप्टेम्बरमा नै जिते पनि हारे पनि उनले छाड्ने घोषणा गरेका थिए ।

    स्पेनिस फुटबल संघले उनको स्थानमा रियाल मड्रिडका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्कलाई नियुक्त गर्‍यो । युरो च्याम्पियन बनेर स्पेनिस टोलीको स्वदेश फर्किँदा उनीहरू चढेको विमान एक घण्टा एयर ट्राफिक जामका कारण ढिलो अवतरण भएको थियो । विमानस्थलबाट बाहिर निस्किँदा स्पेनिस टोली ‘लुइस–क्युदते’ अर्थात् ‘लुइस– बस’को ‘नन-स्टप’ च्यान्टमा रुमलियो ।

    स्पष्ट रूपमा त्यो समर्थन र माग देखेर एरागोनेसले आफ्नो मनस्थिति परिवर्तन गर्ने सम्भावना थियो । र, स्पेनिस टोलीका धेरै खेलाडी उनको समर्थनमा थिए । तर, यो निर्णय स्पेनका स्पोर्टिङ निर्देशक हिएरोको हातमा रह्यो । हिएरोले अगाडि नै निर्णय भइसकेकाले डेल बोस्कलाई नै प्रशिक्षक बनाउने निर्णय लिए ।

    ‘मेरो दिमागमा केही पनि आशंका र द्वुविधा थिएनन्, र मलाई मेरो निर्णय सहि छ भन्ने विश्वास थियो,’ उनले भने, ‘मेरो निर्णय क्लियर थियो ।’

    विश्व फुटबलमा एक विवादास्पद नाम- लुइस एरागोनेस । जसले फुटबलप्रति पागल देशमा सफलताको बहार ल्याएका थिए । तीनै एरागोनेसको सन् २०१५ को फेब्रुअरी १ तारिखमा ७५ वर्षको उमेरमा मृत्यु भयो ।

    क्यापडेभिला भन्छन्, ‘हामी उनले पुर्‍याएको योगदानप्रति सधैँ कृतज्ञ छौं । पहिलो कुरा क्षमतावान् खेलाडीले भरिएको एउटा मजबुत टोलीको निर्माण र दोस्रो आफ्नो फुटबलको बारेमा भएको ज्ञान प्रमाणित जसरी गरे त्यो सराहनीय छ । हामी सबैसँग उनसँग बिताएका मिठा अनुभवहरू छन् । उनको कमी हामीलाई महसुस हुन्छ ।’

    विश्व फुटबलमा राज

    सुरुआतदेखि नै डेल बोस्कले आफूसँग सफलताको स्पष्ट- ब्लुप्रिन्ट रहेको बताएका थिए । उनले स्पेनिस टोलीमा २०१० को विश्वकप अगाडि एक चौथाइ र युरो २०१२ अगाडि एक चौथाइ परिवर्तन गरेका थिए ।

    केही अनुहार फेरिए पनि स्पेनिस टोलीको ‘स्प्रिन्ट’मा केही तलमाथि भएन । युरोपियन च्याम्पियन स्पेन छनोटमा अपराजित रहँदो २०१० मा विश्वकप खेल्न अफ्रिका पुग्यो । उत्कृष्ट फर्ममा रहँदो अफ्रिका पुगे पनि विश्वकप यात्राको सुरुआत सुखद् रहेन । समूह चरणको पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-० ले पराजित हुँदै स्पेनले विश्वकप यात्रा सुरु गरेको थियो ।

    ‘त्यो हाम्रा लागि धेरै पछाडि धकेल्ने कुरा थियो । हामीले त्यस्तो होला भन्ने न सोचेका थियौं, न त्यसका लागि तयारी नै गरेका थियौं,’ प्रशिक्षक डेल बोस्कले भने, ‘हामीले कसैलाई आरोप लगाएनौं । हामी सबैले त्यसको जिम्मेवारी लियौं ।’

    त्यसपछि स्पेनिस टोलीको आत्मविश्वासमा कति पनि कमी आउन दिइएन । तर, होन्डुरसविरुद्धको खेलअघिको चिन्ता स्पष्ट थियो । केही समयपछि भियाले भनेका थिए- त्यो स्पेनका लागि विश्वकपकै सबैभन्दा कठिन क्षण थियो ।’

    बाँकी दुई खेलमा जित निकाल्दै समूह चरणबाट नकआउटमा पुग्ने मौका बाँकी थियो । तर, होन्डुरसविरुद्धको खेलमा पराजित भए करिब-करिब प्रतियोगितामा अगाडि बढ्ने ढोका बन्द हुने थियो ।

    होन्डुरसविरुद्ध स्पेनले २-० को महत्त्वपूर्ण जित हासिल गर्‍यो । तर, अन्तिम खेलमा चिलीसँग बराबरीमा रोकिए पुन: स्पेन प्रतियोगिताबाट बाहिरिने निश्चित थियो । त्यो खेलअघि दुवै प्रशिक्षकको मौनताले सबैकुरा बयान गरिरहेको थियो ।

    डेल बोस्क त्यो वातावरण यसरी सम्झिनछन्- केही वर्ष अगाडि एक प्रशिक्षक थिए, जसलाई खेलको आधा घण्टा अगाडि ड्रेसिङ रुम एकदमै शान्त चाहिन्थ्यो । सबैले एकदमै ध्यान दिनुपर्थ्यो । तर, त्यो टोलीलाई राम्रो मुड बनाउनका लागि ‘इनर्जेटिक’ गीत त्यो पनि ठूलो स्वरमा बजाउनु पर्थ्यो ।’

    ‘होन्डुरस र चिलीविरुद्धको खेलमा भने हामी प्लेनको आवाज सुन्न सक्थ्यौं’ डेल बोस्क भन्छन्, ‘त्यसबाट पनि टोलीमा कति दबाब छ भन्ने स्पष्ट हुन्थ्यो ।’

    ०००

    समूह चरणको अन्तिम खेलमा चिलीलाई २-१ को नजितामा पराजित गर्दै स्पेनले समूह चरण पार गर्‍यो । त्यो बेला डेल बोस्कले खेलाडीलाई उनीहरूका अगाडि चार फाइनल रहेको बताएका थिए । अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल सबै फाइनल नै थिए ।

    अन्तिम १६ मा पोर्चुगललाई हराएको स्पेनले ऐतिहासिक क्वार्टरफाइनलमा पाराग्वेलाई पराजित गर्‍यो । त्यो बेलासम्म कहिले क्वाटर्रफाइनल पार नगरेको स्पेन फेरि एकपटक सफलताको नजिक पुगेको थियो ।

    ‘सबैले पाराग्वेलाई स्पेनले सहजै हराउने सोचका थिए । तर, त्यति सहज थिएन,’ क्पाडेभिला भन्छन् ।

    पाराग्वेले आफ्नो जीवन त्यसै खेलमा अड्किएझैँ ज्यान दिएर खेलेको थियो । डेभिड भियाले खेलपछि भनेका थिए- यस्तो लाग्थ्यो कि उनीहरू ११ होइन २० जना खेलाडी मैदानमा थिए ।

    स्पेनका लागि यो खेल यसकारण पनि एकदमै महत्त्वपूर्ण र कठिन भयो कि पाराग्वेविरुद्ध जाभी एलोन्सोले दुई पटक लिइएको पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसमाथि इकर कासियासले पाराग्वेका खेलाडीले प्रहार गरेको पेनाल्टी रोकेका थिए ।

    ‘यो एक ‘पागल’ खेल थियो, तपाईँलाई थाहा छ, त्यो खेलमा पहिलो गोल जसले गर्‍यो त्यसले जित्ने थियो,’ भियाले भने ।

    पाराग्वेविरुद्धको खेलमा गोलपछि खुसी मनाउँदै स्पेनिस टोली ।

    डेल बोस्क पनि त्यो खेल राम्ररी सम्झिन्छन्- ‘त्यो समयमा मेरा खुट्टा काँपिरहेका थिए । त्यो अवस्थामा कसैले केही कुरा पनि नियन्त्रणमा राख्न सक्दैन ।’

    त्यो खेलमा भियाले हेडरमार्फत प्रहार गरेको बल दुवै पोस्टमा ठोकिएर अनौठो तरिकाले गोलमा परिणत भएको थियो । त्यो गोल हेर्दा लाग्थ्यो कि बलले पोस्ट भित्र नपस्नका लागि हरसम्भव प्रयास गरिरहेको थियो । ‘त्यो एक गोल्डेन गोल थियो । मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण खेल थियो ।’

    ०००

    सेमिफाइनलमा स्पेनको भेट जर्मनीसँग निश्चित भयो । २००८ युरोको फाइनल जस्तै । स्पेनले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट प्रदर्शन सेमिफाइनलका लागि साँचेर राखे झैँ खेल्यो । र, बार्सिलोनाका डिफेन्डर कार्लोस पुयोलले एक मात्र निर्णायक गोल गरे ।

    जर्मनीविरुद्धको सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । मध्यान्तरमा स्पेनिस टीम ड्रेसिङ रुमतर्फ जाँदै गर्दा जाभीले पुयोललाई भन्दै थिए- ‘यदि हामीले कर्नर पायौं भने पुयोल तिमी पेनाल्टी स्पटमा बस ।’

    जाभीले पुयोललाई पेनाल्टी स्पटमा बस्न र पछिल्लो खेलमा बार्सिलोनाबाट रियाल मड्रिडविरुद्ध गरेको जस्तै गोल गर्ने प्रयास गर्न सल्लाह दिएका थिए ।

    र, सोचेजस्तै भयो । पुयोलले दोस्रो हाफमा गरेको गोलसँगै तीन नकआउट स्टेजमा जित निकाल्दै स्पेन पहलिो पटक फाइनलमा पुग्यो । जोहान्नेसबर्गमा हुने फाइनलमा स्पेनको भेट नेदरल्यान्ड्ससँग तय भयो ।

    तत्कालीन प्रधानमन्त्री जापाटेरो फाइनल अगाडिको क्षण यसरी सम्झिन्छन्- ‘म मेरी श्रीमती र छोरीसँग थियौं । र, हामीले एक अर्कालाई त्यति चिन्तित कहिले पनि देखेका थिएनौं । एउटा फुटबल म्याचलाई लिएर मेरी श्रीमतीको त्यो चिन्ता मैले कहिल्यै देखेका थिइनँ ।’

    डेल बोस्क भन्छन्- ‘हामी हाम्रो देश बचाइरहेका थियौं । त्यति मात्रै होइन हाम्रो स्टाइलको फुटबल पनि हामी बचाइरहेका थियौं ।’

    क्यापडेभिला त्यो भन्दा धेरै फिजिकल फुटबल कहिले नभउको बताउँछन् । ‘हामी बल पोसेसनमा उनीहरूभन्दा उत्कृष्ट देखिएका थियौं । र, उनीहरूले हामीलाई रोक्ने एक मात्र तरिका ‘एग्रेसन’ थियो,’ उनी भन्छन्, ‘तर, त्यो अत्यधिक थियो । म चकित भएको थिएँ ।’

    सबैले त्यो खेल पेनाल्टी सुटआउटमा जान्छ भन्ने अनुमान गरिरहेका थिए । त्यसअघि दोस्रो हाफमा डच टोलीका लागि आर्जेन रोबिनले एक सुन्दर मौका खेर फालेका थिए । तर, अतिरिक्त समयमा धकेलिएको खेलको ११६औं मिनेटमा एन्द्रेस इनिएस्टाले गरेको गोलले फेरि स्पेनिस फुटबलको इतिहास लेख्यो ।

    ‘बल मेरो खुट्टामा आउँदा मसँग दुई विकल्प थिए,’ फ्याब्रिगास भन्छन्, ‘एउटा प्रहार गर्ने अर्को पास दिने । म अहिलेसम्म पनि सोच्छु, मैले त्यो प्रहार गरेको भए के हुन्थ्यो ? तर, मैले इनिएस्टालाई उत्कृष्ट पोजिसनमा देखेँ र मेरा लागि त्यो करियरको उत्कृष्ट क्षण थियो । र, मैले इनिएस्टालाई पास दिएँ ।’

    ‘कर्नर फ्ल्यागसम्मको त्यो ७० मिटरको दौड मेरो जीवनकै सबैभन्दा छिटो थियो,’ क्यापडेभिला भन्छन्, ‘मैले त्यो बेलामा ग्यारेथ बेललाई पनि पछाडि छाड्थेँ होला । तर, त्यो मेरो जीवनको सबैभन्दा सशक्त, सबैभन्दा अविस्मरणीय क्षण थियो । त्यो एकदमै नयाँ क्षण थियो । सम्झिनका लागि त्यो क्षण एकदमै इमोसनल र युनिक थियो ।’

    डेभिड भिया भन्छन्- ‘हामीले यो प्रतियोगिता ब्राजिल, इटाल र जर्मनीका लागि रहेछ । हामीले रातो जर्सी लगाएर त्यो ट्रफी उचाल्छौं भन्ने कहिले कल्पना गरेका थिएनौ । र, त्यो उपाधि जित्नु एकदमै गाह्रो र असम्भव लाग्थ्यो ।’

    क्यापडेभिला थप्छन्, ‘फुटबल पिचमा मेरो जीवनको सबैभन्दा इमोसनल क्षण विश्वकपको उपाधि उचालेर सम्मानकालागि ल्याप बनाउँदै गर्दाको थियो । म लामो समयदेखि संघर्ष गरिरहेका आमाबुबालाई स्टेडियममा रोएको देखिरहेको थिएँ । मेरी आमाले त्यो खेल हेर्नका लागि एक हजार २ सय युरो तिरेकी थिइन् ।’

    ‘तपाईंले त्यो बेलामा धेरै कुरा सम्झिनुहुन्छ । जस्तैः धेरै सानो हुँदा उहाँहरूले मलाई हरेक दिन ट्रेनिङमा लैजाने र ल्याउने गर्नुहुन्थ्यो । त्यो बेलामा उहाँहरूले गरेको बलिदानको फल ८० हजार मानिसका अगाडि पाउनु मेरालागि सन्तोषजनक थियो,’ क्यापडेभिला भन्छन्, ‘यो सोचभन्दा बाहिरको कुरा थियो, मेरा बुबाआमाको रुवाइ एकदमै भावनात्मक थियो ।’

    लगातार तीन पटक- इतिहास लेखिएको थियो

    स्पेन २०१२ युरोको प्रमुख दाबेदारको रूपमा पोल्यान्ड र युक्रेन पुग्यो । तर, स्पेनिस फुटबलका सबै समर्थक थिएनन् ।

    ‘उनीहरू धेरै प्रहार किन गर्दैनन् ?’ जर्मनीका विश्वकप विजेता पूर्व कप्तान फ्रान्ज बेक्कनबाउरले स्पेनबारे सोध्दा प्रश्न उठाए ।

    तर, विभिन्न आलोचनाका बाबजुद स्पेन त्यस अघिभन्दा पनि प्रभावशाली देखियो । पूर्व प्रधानमन्त्री जापाटेरोको शब्दमा ‘युरो २०१२ को फाइनल एरागोनेस र डेल बोस्कले निर्माण गरेको टोलीको सबैभन्दा उत्कृष्ट क्षण थियो । त्यो टोली घडीको ‘क्लबवर्क मेकानिजस’ जस्तो थियो ।’

    कसैले पनि त्यो बेलासम्म ४-० को नतिजा निकाल्दै त्यति सहज तरिकाले फाइनल जितेको थिएन । र, त्यो अपत्यारिलो फाइनल विजयसँगै स्पेन लगाता तीन ठूला प्रतियोगिता जित्ने पहिलो टोली बनेको थियो ।

    तत्कालीन प्रशिक्षक त्यो फाइनललाई आफ्नो टोलीले खेलेको ‘सबैभन्दा उत्कृष्ट फुटबल म्याच’ भएको दाबी गर्छन् ।

    हिएरो भन्छन्, ‘उनीहरूले आफूलाई स्पतेको जर्सीमा विजेता देखेका थिए । र, जब उनीहरूसँगै अन्तर्राष्ट्रिय स्तरमा सँगै उत्रिन्थे आफूलाई विजेता देख्थे । जो जित्न बानी परिसकेका थिए ।’

    ‘खेलाडीहरू एक-अर्काबीच एकदमै ‘कम्फोर्टेबल’ थिए । र, जितिरहेका बेला यो अझ सहज बन्छ,’ हिएरो भन्छन्, ‘तर, यथार्थमा उनीहरू जुन ‘फिलोसोपी’को फुटबल खेलिरहेका थिए, त्यसमा कम्फोर्टेबल थिए । त्यो फिलोसोपीले स्पेनिस फुटबललाई एकदमै सशक्त बनाएको थियो ।’

    २००८ मा स्पेनलाई युरो जिताउन निर्णायक गोल गरेका टोरेस २०१२ मा छोरीहरूसँग खुसी साट्दै ।

    ‘मैले कस्तो सौभाग्य प्राप्त गरेँ, के-के कुराको अनुभव बटुलेँ ? त्यो मेरा छोराछोरी र नातिनातिनीलाई आगामी वर्षहरूमा कथा सुनाउने छु,’ क्यापडेभिला भन्छन्, ‘म त्यो सुनाउन अहिलेदेखि नै हतारिएको छु । म एकदमै भाग्यशाली रहेँ । मैले विश्वका केही उत्कृष्ट खेलाडीहरूसँग ड्रेसिङ रूम सेयर गर्ने मौका पाएँ ।’

    तर, ऐतिहासिक तीन लगातार उपाधि जितेर ब्राजिल पुगेको स्पेसिन टोलीको क्याबिनेटमा अर्को ट्रफी थप्ने सपना त्यति नै छिटो टुट्यो । २०१४ विश्वकपमा त्यो विश्व विजेता स्पेनको प्रभुत्व समाप्त हुँदै गएको संकेत स्पष्ट रूपमा देखियो ।

    त्यो खेलाडीहरूको आत्मसन्तुष्टिको नतिजा थियो ? पुराना खेलाडीमाथि देखाइएको बफादारी घातक भयो ? कि, ६ वर्षसम्म विश्व फुटबलमा राज गरेको स्पेनिस फुटबल ‘एरा’को सामान्य समाप्ति थियो ?

    २०१४ विश्वकपमा सुरुआती दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिनु सायद यी सबै कुराको मिश्रण थियो ।

    प्रशिक्षक डेल बोस्क यो पुस्तालाई एक गिफ्ट दिन चाहन्थे । तर, त्यो एराको समाप्ति सुरुआत पनि त्यसरी नै भयो, जसरी विश्व फुटबलमा राज गर्न निस्केको स्पेनले सुरुआत गरेका थियो । त्यो नेदरल्यान्डविरद्धको खेलमा रोबिन भान पर्सीले गरेको गोल त्यसको ज्वलन्त उदाहरण थियो ।

    विश्वकप २०१४ मा समूह चरणको पहिलो खेलमा जाभी एलोन्सोले पेनाल्टीमार्फत गोल गरेसँगै स्पेनले १-० को अग्रता लिएको थियो । तर, भान पर्सीको अविश्वसनीय हेडरमार्फत् बराबरी गरेको नेदरल्यान्ड्सले १-५ को जित निकालेको थियो ।

    तर, बिलय जसरी भए पनि स्पेनिस फुटबलको त्यो स्वर्णीम पुस्तालाई विश्व फुटबलको सबैभन्दा सफल टोलीको रूपमा सम्झिइने छ । त्यो टोलीको रूपमा चिनिने छ, जसले फुटबल खेल्ने नयाँ शैलीको प्रतिपादन गर्‍यो । जितको पार्टी त सकियो । तर, कस्तो पार्टी ६ वर्षसम्म चलेको थियो, त्यो सधैं अविस्मरणीय रहने छ।

    बिबिसीबाट उमेश दाहालले गरेको अनुवाद
  • स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    काठमाडौं । स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै इङ्ल्यान्ड एक खेल अगावै युरो २०२० को नकआउटमा स्थान सुरक्षित गर्नबाट चुकेको छ ।

    शुक्रबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड पुरानो प्रतिद्वन्दी स्कटल्यान्डलाई पराजित गर्न असफल रह्यो ।

    खेलको सुरुआतदेखि नै बल पोसेसनमा प्रभुत्व जमाएको इङ्ल्यान्डले गोलका लागि अवसरको सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ नहुँदा बराबरीमा चित्त बुझाउनु पर्‍यो । पहिलो खेलमा चेक गणतन्त्रसँग २-० ले पराजित भएको स्कटल्यान्डको बराबरीसँगै समूह चरण पार गर्ने सम्भावना बढेको छ ।

    यस्तै पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गरेको इङ्ल्यान्डको पनि नक आउट प्रवेश सम्भावना प्रवल छ ।

  • पेरिसिचको गोलमा हारबाट जोगियो क्रोएसिया

    पेरिसिचको गोलमा हारबाट जोगियो क्रोएसिया

    काठमाडौं । युरो २०२० को समूह ‘डी’ अन्तर्गत शुक्रबा राति भएको खेलमा चेक गणतन्त्र र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन् ।

    स्कटल्यान्डमा भएको खेलको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा चेक टीमले अग्रता लिएको थियो । क्रोएसियाका डेजान लोभरेनलले पेनाल्टी एरियामा चेक खेलाडी प्याट्रिक शिकमाथि फाउल गरेका थिए ।

    भिडियो असिस्टेन्ट रेफ्रीले लोभरेनको फाउलमाथि पेनाल्टी दिएपछि शिकले अवसरको सदुपयोग गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले ४७औं मिनेटमा बराबरी गोल निकाले पनि जितको भोक अपुरै रह्यो । इभान पेरिसिचले अन्द्रेज क्रमारिचको पासलमा सुन्दर गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए ।

    त्यसपछि पनि निरन्तर गोलका लागि प्रयास गरेको क्रोएसियाले गोल गर्न सकेन ।

    बराबरीसँगै क्रोएसिया सुरुआती दुई खेलमा जितविहीन बनेको छ । पहिलो खेलमा इङ्ल्यान्डसँग १-० ले पराजित भएको क्रोएसियाको नकआउट प्रवेश सम्भावनामा पनि शंका उत्पन्न भएको छ ।

    यस्तै पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको चेक टीमको बराबरीसँगै सुरुआती दुई खेलबाट ४ अंक जम्मा भएसँगै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनेको छ ।

  • युरो २०२०: स्वीडेनको पहिलो जित

    युरो २०२०: स्वीडेनको पहिलो जित

    काठमाडौं । युरो २०२० को पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले शुक्रबार स्लोभाकियालाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

    समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो । यद्यपि, ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

    सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले स्वीडेनलाई अग्रता दिलाएका थिए । स्लोभाकियामाथि हाबी बनेको स्वीडेनले सोही अग्रताको बचाउ गर्दै प्रतियोगिता पहिलो जित सुनिश्चित गर्‍यो ।

    पहिलो खेलमा पोल्यान्ड २-१ को नतिजामा पराजित गरेको स्लोभाकियाको यो दोस्रो खेल हो । जितसँगै दुई खेलमा ४ अंक जोडेको स्वीडेनको नकआउट प्रवेशको सम्भावना प्रवल बनेको छ ।

  • २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को समूह चरण अन्तर्गत शुक्रबार राति तय भएको इङ्ल्यान्ड र स्कटल्यान्डबीचको भेट ठूला प्रतियोगितामा २५ वर्षपछि हुन लागेको हो । गारेथ साउथगेटको नेतृत्वमा रहेको इङ्ल्यान्ड स्कटल्यान्डलाई पराजित गर्दै एक खेल अगावै नकआउटमा स्थान सुरक्षित गर्न चाहन्छ ।

    अर्कातिर स्कटल्यान्ड इङ्ल्यान्डलाई हराउँदै प्रतियोगितामा समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न चाहन्छ । इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० को नतिजामा पराजित गरेको थियो । स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले भने पहिलो खेलमा चेक रिपब्लिकसँग २–० को पराजय भोगेको थियो ।

    नेपाली सयमअनुसार शुक्रबार राति १२ः ४५ बजे वेम्ब्लीमा हुने ११५औं भेटमा २२ हजार ५ सय समर्थकको उपस्थिति रहने छ । यद्यपि, प्रतिस्पर्धात्मक खेलमा भने यो १००औं भेट हुनेछ ।

    ठूला प्रतियोगितामा यी दुई टोलीको अन्तिम भेट १९९६ को समूह चरणमा भएको थियो । उक्त खेलमा इङ्ल्यान्डलाई २–० गोलको नतिजामा जित दिलाउन एलेन सेरर र पौल ग्यासकोइग्नेले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अहिले इङ्लिस टोलीका मुख्य प्रशिक्षक साउथगेट पनि खेलेका थिए ।

    आजको खेल स्कटल्यान्डले लागि जित्नै पर्ने दबाब भने छैन । वेम्ब्लीमा पराजित भए पनि स्कटिस टोलीको समूह चरण पार गर्ने सम्भावना बाँकी रहने छ । पहिलो चरणबा समूह विजेता र उपविजेतासँगै राम्रो नतिजा भएका तेस्रो स्थानमा रहेर समूह चरण कटाएका ६ टोलीले पनि नकआउटमा स्थान बनाउने छन् ।

    यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्न सकेन तर क्रोएसियासँग तीन अंक बटुल्न सक्यो भने तेस्रो स्थानमा रहँदा अर्को चरणमा जान सक्ने सम्भावना बाँकी नै रहन्छ ।

    इङ्ल्यान्डले थप तीन अंक हासिल गर्‍यो भने एक खेल अगावै अन्तिम–१६ मा स्थान सुरक्षित गर्नेछ । यदि इङ्ल्यान्डले जित निकाल्यो र क्रोएसियाले चेक गणतन्त्रलाई हराउन सकेन भने उनीहरू समूह विजेता बन्ने पनि निश्चित हुनेछ ।

    दुवै प्रशिक्षकलाई खेलाडी छनोटमा द्वुविधा छ ?

    चोटका कारण क्रोएसियाविरुद्धको पहिलो खेल गुमाएका म्यानचेस्ट युनाइटेडका डिफेन्डर ह्यारी म्यागुएर स्कटल्यान्डविरुद्धको खेलका लागि तयार रहेको बताइसकेका छन् । पहिलो खेलमा एस्टन भिल्लाका टायरोन मिङ्गस र जोन स्टोन्सले इङ्ल्यान्डको रक्षापंक्ति सम्हालेका थिए ।

    यस्तै, लेफ्ट ब्याकमा केइरोन ट्रिपियरले स्थान बनाएका थिए । ‘योर्कशायरका पिर्लो’ अर्थात् लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सले क्रोएसियाविरुद्धको खेलमा सम्झनलायक प्रदर्शन गरेका थिए । उनले मिडफिल्डमा म्यासन माउन्ट र डेक्लान राइससँगै सुरुआती ११ मा स्थान बनाएका थिए ।

    तर, एस्टन भिल्लाका प्लेमेकर ज्याक ग्रेलिस र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले स्कटल्यान्डविरुद्धको खेलमा स्थान बनाउने सम्भावना देखिन्छ । यस्तै, स्कटल्यान्डविरुद्ध फाइनल थर्डमा मार्कोस रासफोर्ड र जाडोन सान्चोले पनि स्थान बनाउन सक्नेछन् ।

    अर्कातिर आर्सनलका केइरन टिर्ने टोलीमा फर्किएसँगै स्कटल्यान्डको टोलीमा ऊर्जा थपिएको छ । यद्यपि, स्कटिस गोलकिपर डेभिड मार्सलले चेक फरवार्ड प्याट्रिक शिकलृ गरेको दोस्रो गोलपछि सर्वव्यापी आलोचना बेहोरिरहेका छन् ।

    शिकले गोलकिपर अगाडि बढेको अवस्थामा मैदानको बीचभागबाट प्रहार गरेका बलले सोझै जाली चुमेको थियो । उनलाई प्रशिक्षक क्लार्कले खेलाउनेमा धेरै शंका नभए पनि उनको स्थान क्र्याग गोर्डनले स्थान बनाउँदा आश्चर्य हुनेछैन ।

    चेक टोलीविरुद्ध स्कटल्यान्डले १९ पटक गोलपोस्टमा प्रहार गरे पनि गोल गर्न असफल भएको थियो । चेक गणतन्त्रविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर प्रभावशाली प्रदर्शन गरेका चे आडम्सले सुरुआती ११ मा स्थान बनाउने प्रवल सम्भावना छ ।

  • युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    एजेन्सी । एक वर्ष ढिलो सुरु भएको युरो २०२० को पहिलो चरणमा प्राय देशले टिम छनोटमा रिस्क लिन चाहेनन् । तर, केही टोलीले सुरुआती-११ मा नयाँ प्रयोग गर्न खोज्दा चाहेजस्तो नतिजा निकाल्नबाट चुके ।

    हुनत खेलाडी छनोट र टोली निर्माणको सम्पूर्ण निर्णय र स्वामित्व पनि फुटबल संघले मुख्य प्रशिक्षकलाई सुम्पिएको हुन्छ । र, प्रशिक्षकहरूले आफ्नो टोली हरतरहले बलियो बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

    यद्यपि, युरोका सुरुआती खेल हेर्ने हो भने सुरुआती-११ छनोटमा प्रशिक्षकहरू चुकेको स्पष्ट हुन्थ्यो । जसको ज्वलन्त उदाहरण स्पेनका प्रशिक्षक लुइस इनरिके हुन् । २४ जनाको टोली घोषणा गर्दा केही अपेक्षित नाम समावेश नगरेपछि चौतर्फी आलोचनाको शिकार भएका इनरिकेले पुन: एक पटक स्वीडेनविरुद्धको सुरुआती-११ लाई लिएर आलोचित हुनुपर्‍यो ।

    युरो २०२० मा सहभागी सबै टोलीले कम्तिमा एक खेल खेलिसकेका छन् । र, समूह चरणको पहिलो खेल खेलिसकेपछि केही प्रशिक्षकले यदि आफ्नो टोलीलाई नक आउटमा पुर्‍याउन सुरुआती-११ को छनोटमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । पहिलो चरणको समाप्तिसँगै यसरी बेन्चमा राख्न नहुने पाँच खेलाडी यसरी सूचीकृत गर्न सकिन्छ ।

    गेरार्ड मोरोनो, स्पेन

    बार्सिलोनाका कप्तान लियोनेल मेसीले (३०) मात्रै स्पेनिस लालिगामा गत सिजन स्पेनिस फरवार्ड जेरार्ड मोरोनो (२३) भन्दा धेरै गोल गरेका थिए । आफनो करियरकै उत्कृष्ट फर्ममा रहेका मोरोनोले अप्रत्यासित रूपमा युरो २०२० को पहिलो खेलमा स्वीडेनविरुद्ध सुरुआती-११ मा मौका पाएनन् । मुख्य प्रशिक्षक लुइस इनरिकेले उनको स्थानमा युभेन्टसका फरवार्ड अल्भारो मोराटालाई स्ट्राइकरको जिम्मेवारी दिएका थिए । मोरेनोभन्दा मोराटालाई सुरुआती-११ मा नराख्नु उनका लागि घाटा भयो । घरेलु मैदानमा भएको खेलमा पनि फिनिसिङमा चुक्दा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिँदा ६६ मिनेट मौका पाएका मोराटाले तीन पटक मात्रै पोस्टमा आक्रमण गर्न सफल भएका थिए । तीमध्ये कुनै पनि प्रहारले विपक्षी गोलकिपरलाई अप्ठेरोमा पार्न सकेनन् ।

    यद्यपि, एक पटक गोल गर्नसके अल्भारो मोराटा आत्मविश्वासी खेलाडी हुन् । एक पटक उनले गोल गर्नसके गोलले नै उनलाई पछ्याउने छ । स्विडेनविरुद्धको बराबरीसँगै इनरिकेले पक्कै मोरोनोलाई छनोट गर्नेछन् ।

    ज्याक ग्रेलिस, इङ्ल्यान्ड

    आइतबार क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डले विश्वकप २०१८ को बदलामात्रै लिएन, युरोपियन च्याम्पियनसिपमै पहिलो पटक उद्घाटन खेलमा पूरा तीन अंक लिन सफल भयो । वेम्ब्लीमा इङ्ल्यान्डले ऐतिहासि जित निकालेसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि गर्‍यो । निरन्तर गोलका अवसरको खोजीमा रहे पनि इङ्लिस खेलाडीले गोल गर्नका लागि उचित मौकाका लागि धेरै समय पर्खनु परेको थियो ।

    इङ्लिस टोलीको उक्त प्रतिक्षाको फल स्वरूप राहिम स्टर्लिङ गरेको गोलसँगै पाएको थियो । गेराथ साउथगेटको आलोचना गर्न त कठिन छ । तर, पहिलो खेलको प्रदर्शन हेर्ने हो भने विपक्षी टोलीविरुद्ध फाउल जित्न र फ्रि-किकको मौका सिर्जना गर्न इङ्लिस खेलाडी त्यति सफल रहेनन् ।

    र, इङ्ल्यान्डको यो कमी पूरा गर्न ग्रेलिस एकदम उचित विकल्प हुने अनुमान सहजै गर्न सकिन्छ । किनभने, चोटका कारण १२ खेल गुमाएका ग्रेलिसले गत सिजन प्रिमियर लिगमा सर्वाधिक ११० पटक फाउल जितेका थिए । त्यस्तै, प्रभावशाली पासमा भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाले मात्रै उनलाई उछिनेका थिए ।

    फिल फोडेन इङ्लिस टोलीका युरो २०२० मा ‘गोल्डेन ब्वाइ’ हुनसक्छन् । तर, क्रोएसियाविरुद्धको खेलमा भने उनको प्रभाव देखिएन । साउथगेटले शुक्रबार हुने स्कटल्यान्डविरुद्धो खेलमा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना त देखिँदैन, यद्यपि, उनले ग्रेलिसलाई एक मौका दिनु उपयुक्त हुन्छ ।

    निकोला भ्लासिच, क्रोएसिया

    वेम्ब्लीमा आइतबार इङ्ल्यान्डसँग पराजित भएसँगै क्रोएसियाको खराब लयले निरन्तरता पाएको छ । विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पछिल्ला १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । र, ती दुई जित पनि युरोपेली फुटबलमा स्थापित भइनसकेका साइप्रस र माल्टाविरुद्ध निस्किएको थियो ।

    विश्वकपको उपविजेता पहिलो खेलमै पराजित भएसँगै क्रोएसियालाई शुक्रबार हुने खेलमा चेक गणतन्त्रसँग जित्नै पर्ने दबाब बढेको छ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचलाई ह्याम्पडेनमा सशक्त प्रदर्शन गर्न निकोला भ्लासिचको उपस्थितिले पक्कै सहयोग पुग्नेछ ।

    मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच र लुका मोड्रिकले मिडफिल्डबाट फाइनल थर्डसम्म प्रभावकारी बल सप्लाई गर्न समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक देखिएको मिडफिल्ड र अट्याकबीचको पुल भ्लासिच बन्न सक्छन् ।

    इङ्ल्यान्डविरुद्धको खेलमा २० मिनेट मौका पाएका भ्लासिचले क्षमताअनुसारको प्रदर्शन गर्न पर्याप्त समय थिएन । गत सिजन रसियन प्रिमियर लिगमा ११ गोल र पाँच असिस्ट गरेका भ्लासिचले २३ वटा ठूला मौका सिर्जना गरेका थिए । पहिलो खेलमा जित हासिल गरेको चेक गणतन्त्रले स्कटल्यान्डविरुद्ध १९ प्रहार सहनु परेको थियो ।

    यस्तै मौका सिर्जना भए क्रोएसियाका लागि भ्लासिचले गोल गर्ने सम्भावना पनि देखिन्छ । त्यसैले चेक गणतन्त्रविरुद्धको खेलमा उनलाई मौका दिनु उचित देखिन्छ ।

    चे आडम्स, स्कटल्यान्ड

    चेक गणतन्त्रविरुद्धको पराजयमा एन्डी रोबर्टसनले मात्रै चे आडम्सको भन्दा धेरै पास खेलेका थिए । जबकी आडम्स पहिलो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले प्रहार गरेका १९ मध्ये १३ प्रहार आडम्सको उपस्थितिपछि मात्रै सम्भव भएका थिए ।

    गत वर्ष आडम्सले स्कटल्यान्डबाट खेल्ने घोषणा गरेपछि उनले स्कटिस टोलीको अट्याकिङ थर्डमा ल्यान्डन डाइक्ससँग सहकार्य गर्ने सम्भावना थियो । तर, प्रशिक्षक स्टिभ क्लार्कको निर्णय यसको विपरीत रह्यो ।

    यसअघिका सात खेलमा एक गोल मात्रै खाएको इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डलाई कम चुनौती हुनेछैन । र, प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने आडम्स इङ्लिस डिफेन्डरसँग परिचित छन् । त्यसैले आडम्सको उपस्थिति स्कटल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

    एन्ड्रे सिल्भा, पोर्चुगल

    साविक विजेता पोर्चुगलले मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरीलाई ६७ हजार दर्शकसामु उसकै मैदानमा ३-० ले पराजित गर्‍यो । उक्त खेलमा पोर्चुगलका लागि राफाएल गुरेरो र कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका तीनै गोल सिल्भाको आगमनपछि सम्भव भएका थिए ।

    सिल्भा मैदानमा प्रवेश गरेसँगै रोनाल्डो सेन्ट्रल स्ट्राइकरबाट लेफ्ट फ्लान्कमा स्वीच भएका थिए । जसको कारण पोर्चुगिज टोली हंगेरियन डिफेन्स ब्रेक गर्न सफल भएको थियो ।

    आइनट्राच्ट फ्रान्कफर्टमा उत्कृष्ट सिजन बिताएका सिल्भाले गत सिजन बुन्डेसलिगामा २८ गोल गरेका थिए । उत्कृष्ट फर्ममा रहेका सिल्भालाई मैदानमा उतार्नु पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका लागि फाइदाजनक रह्यो । उनको अट्याकिङ हाफमा उपस्थितिसँगै हंगेरियन डिफेन्डर व्यस्त हुँदा रोनाल्डोले गोल गर्ने मौका पाएका थिए ।

    त्यसैले, शनिबार हुने खेलमा जर्मनीविरुद्ध सिल्भाको उपस्थितिले रोनाल्डोका लागि जर्मनीको डिफेन्सिभ हाफमा धेरै ठाउँ उपलब्ध हुन सक्छ । यसका कारण गोल स्कोरिङ र विपक्षी डिफेन्डरलाई व्यस्त राख्न पनि सिल्भा प्रभावकारी हुने भएकाले उनी सुरुआती-११ मा स्थान बनाउन डिजर्भ गर्छन् ।

    दी गार्जियनबाट
  • नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    एजेन्सी । लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को समूह सी बाट नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा डच टोलीले अस्ट्रियालाई २–० गोलले हरायो ।

    फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो ।

    खेलको सुरुआती समयमै पेनाल्टी गोलमार्फत नेदरल्याण्ड्सले अग्रता बनाएको थियो । अस्ट्रियाका डेभिड अलावाले डच विङगर डेन्जल डम्पफ्राइजलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा मेम्फिस डिपेले सहजै गोल गरे ।

    दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै डम्पफ्राइजले नै नेदरल्याण्ड्सका लागि दोस्रो गोल गर्न सफल रहे ।

    पछिल्लो दुई संस्करणमा नकआउट चरण पुग्न नसकेको नेदरल्याण्ड्स सन् २००८ सिन पहिलोपल्ट अन्तिम १६ मा छनोट भएको छ ।

    यता अस्ट्रियाले नर्थ मासेडोनियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । नकआउट चरणमा प्रदेश निश्चितताका लागि उसले अन्तिम खेलमा युक्रेनलाई हराउने लक्ष्य राख्नेछ ।

  • डेनमार्कलाई हराउँदै बेल्जियम युरो २०२० को अन्तिम १६ मा

    डेनमार्कलाई हराउँदै बेल्जियम युरो २०२० को अन्तिम १६ मा

    काठमाडौं । समूह चरणको दोस्रो खेलमा डेनमार्कविरुद्ध १-२ को पुनरागमन जित निकाल्दै बेल्जियम युरो २०२० को अन्तिम-१६ मा पुगेको छ ।

    बिहीबार राति भएको खेलको दोस्रो मिनेटमै १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित सुनिश्चित गर्‍यो ।

    पहिलो खेलमा रुसमाथि ३-० को जित निकालेको बेल्जियमलाई जित दिलाउन थ्रोगन हाजार्ड र केभिन डी ब्रयुनाले १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै होइबर्गको पासमा युसुफ पौल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

    सुरुआतमा भ्रमणकारी बेल्जियममाथि निरन्तर आक्रमण गरेको डेनमार्कले अन्तिमसम्म प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । यद्यपि, वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कप्तान इडेन हाजार्ड र डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले जित हासिल गर्‍यो ।

    हाजार्डले ५५ औं मिनेटमा गरेको गोलसँगै बराबरी गरेको बेल्जियमका लागि ७१औं मिनेटमा डी ब्रयुनाले विजयी गोल गरे ।

    जितसँगै बेल्जियम प्रि-क्वार्टरफाइनलमा पुगेको छ । इटालीपछि बेल्जियम अन्तिम १६ मा पुग्ने दोस्रो देश बनेको छ ।