Category: युरो २०२०

  • युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

    युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

    काठमाडौं । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेसँगै मिनी विश्वकप- युरो २०२० को समापन भयो । २०१८ यता अपराजित यात्रा तय गरेको इटालीले ३४ खेलमा अपराजित रहँदै दोस्रो पटक युरोपियन च्याम्पियनसिप जित्यो ।

    प्रतियोगिताको समापनसँगै युइएफएले टिम अफ दी टुर्नामेन्ट सार्वजनिक गरेको छ । इटालीका खेलाडीको प्रभत्व रहेको ११ सदस्यीय टिम यस्तो छ ।

    गोलकिपर- यानलुइजी डोनरुम्मा (इटाली)

    आगामी सिजनका लागि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित इटालियन गोलकिपर डोनरुम्मा प्लेयर अफ दी टुर्नामेन्टसमेत घोषित भए ।

    फाइनलमा दुई पेनाल्टी रोकेका डोनरुम्माका लागि यो प्रतियोगिता आफ्नो खेल करियरकै सम्झिनलायक मध्ये एक रह्यो ।

    राइट ब्याक- योहाकिम मेहेले (डेनमार्क)

    एट्लान्टाले ६ महिनाअघि १० मिलियन खर्चेर क्लबमा अनुबन्धित गरेका डेनिस भर्सटाइल राइट ब्याक मेहेले युरो २०२० चर्चित खेलाडी रहे । डेनिस टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका २४ वर्षीय मेहेलेले दुई गोल गरेर एक असिस्ट पनि दिएका थिए ।

    अचम्मकको कुरा त, राइट फुटेड भएर पनि लेफ्ट ब्याकबाट उनले अझ रिमार्केबल प्रदर्शन गरे ।

    उनले क्वार्टरफाइनलमा चेक रिपब्लिकविरुद्धको खेलमा कास्पर डोलबर्गलाई दिएको असिस्ट प्रतियोगिताकै हेर्नलायक क्रस थियो ।

    सेन्टर ब्याक- लियोनार्दो बोनुची (इटाली)

    इटालियन डिफेन्डर बोनुचीको सम्बन्धमा सबैभन्दा रिमार्केबल प्रदर्शन फाइनलमा इटालीविरुद्ध रह्यो । जुन खेलमा उनले म्यान अफ दी म्याच अवार्डसमेत जितेका थिए ।

    इटालीको डिफेन्सलाइनमा रक सोलिड बनेका बोनुचीले गोलस्कोरिङमा पनि उपस्थिति जनाइ रहे । फाइनलमा मार्को भेराटीको प्रहार गोलपोस्टमा लागेर फर्किएपछि पुन: प्रहार गर्दै इटालीका लागि बराबरी गोलसमेत बोनुची आफैँले फर्काएका थिए ।

    लामो समयदेखि डिफेन्डरभन्दा पनि मिडफिल्डर हुन् भन्ने बहसविपरीत युरो २०२० मा कम्प्लिट सेन्टर ब्याकको प्रमाण प्रस्तुत गरे ।

    सेन्टर ब्याक- जर्जियो केलिनी (इटाली)

    बोनुचीसँग सेन्टर ब्याकमा सोलिड बनेका केलिनी टिम अफ दी टुर्नामेन्टमा नपर्ने कुरै भएन । सम्भवत: इटालीबाट अन्तिम प्रतियोगिता खेलिरहेका ३६ वर्षीय केलिनीले अन्तर्राष्ट्रिय फुटबल करियरको क्षण बिताए । फाइनलमा इङ्लिस कप्तान ह्यारी केनले निरन्तर अट्याकिङ हाफमा प्रेसर गरे पनि केलिनीले उनलाई धिम्किन दिएनन् ।

    अज्जुरीका प्रेरणादायी कप्तान केलिनी सर्वकालिन फुटबलरमध्ये एक डिफेन्डरको उपमा अब सार्थक भएको छ ।

    लेफ्ट ब्याक- लियोनार्दो स्पिनाजोला (इटाली)

    इटालीका लागि सबैभन्दा महत्त्वपूर्णमध्ये एक सदस्य स्पिनाजोला रहे । तर, प्रतियोगिताकै दौरान क्वार्टरफाइनलमा घाइते भएका स्पिनाजोलाले सेमिफाइनल र फाइनल गुमाए ।

    प्रतियोगिताको पहिलो खेलमा टर्कीविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका २८ स्पिनाजोलाले अन्तिम-१६ मा अस्ट्रियाविरुद्ध पनि सोही प्रदर्शन दोहोर्‍याएका थिए । क्वार्टरफाइनलमा स्ट्रेचरमा मैदानबाट बाहिरिएका स्पिनाजोला फाइनलका लागि लन्डन उडेका थिए । र, फाइनलमा उनले जे कुराका लागि त्यो चोटको पीडा बेहोरेका थिए, त्यो मेडल र ट्रफी उनले हासिल गरे ।

    सेन्टर मिडफिल्डर- इमिल होइबर्ग (डेनमार्क)

    डेनमार्कको सेन्सेसनल सेमिफाइनल यात्राको आधारस्तम्ध रहे, होइबर्ग । टोटेनह्यामका मिडफिल्डरले आफ्नो देशलाई प्रतियोगितामा अगाडि बढाउन हरसम्भव कोसिस गरे । फिनल्यान्डविरुद्धको खेलमा क्रिस्टियन एरिकसनलाई कार्डिक एरेस्ट भएपछि विथोलिएको डेनिस मिडफिल्ड होइबर्गले सम्हालेका थिए ।

    होइबर्गले प्रतियोगितामा तीन असिस्ट र ११ मौका सिर्जना गरेका थिए  । १० ड्रिबल पासल गरेका होइबर्गले ५१ पटक बल जितेका थिए । त्यो प्रतियोगितामा अरू खेलाडीभन्दा धेरै हो ।

    सेन्टर मिडफिल्डर- जर्जिन्हो (इटाली)

    चेल्सीबाट युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेका जर्जिन्होले ६ सातापछि फेरि युरोपियन च्याम्पियनसिपको उपाधि उचाले । पछिल्लो समय आफ्नो क्षमतालाई लिएर आफ्नै क्लबका समर्थकबाट प्रश्न उठिरहेका बेला जर्जिन्होले सबैको मुखमा ताल्चा लगाउने प्रदर्शन गरे ।

    नेपोलीका पूर्व मिडफिल्डर जर्जिन्होले इटालियन टोलीको मिडफिल्डका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहे । प्रेसिङ र पासिङमा सोलिड प्रदर्शन गरेका जर्जिन्होले प्रतियोगितामा दोस्रो सर्वाधिक सफल पास खेले ।

    उनले प्रतियोगिताभर ४८५ सफल पास खेलेर ४८ पटक बल पोसेसन जिते । उनले युरोपियन च्याम्पियनसिपको इतिहासमै सर्वाधिक २५ इन्टरसेप्सन गरे । हालसम्म १४ भन्दा धेरै कसैले गर्न सकेको थिएन  ।

    सेन्टर मिडफिल्डर- पेड्री (स्पेन)

    युरो २०२० को प्रदर्शनसँगै नयाँ एन्द्रेस इनिएस्टा कहलिन थालेका पेड्रीको त्यो उपमाले थप सार्थकता पाएको छ । स्पेनले अन्तिम ४ सम्मको यात्रा तय गरेर बाहिरिँदा तत्कालका लागि केही हासिल नगरे पनि लामो समयका लागि एक महत्त्वपूर्ण खेलाडी पाएको छ, ती हुन् पेड्री ।

    प्रतियोगिता सुरु हुनुअघि बार्सिलोनाका वन्डरकिड पेड्रीले सुरुआती-११ मा मौका पाउनेमै आशंका थिए । तर, प्रतियोगिताको समाप्तिसम्म ११ मौका सृजना गरेका पेड्रीले विपक्षी टोलीको हाफमा सर्वाधिक ३१६ पास सफलतापूर्वक खेलेका थिए ।

    १८ वर्षीय टिनेजर पेड्रीको इटालीविरुद्धको प्रदर्शनसँगै प्रशिक्षक लुइस इनरिकेले मुक्त कन्ठले प्रशंसा गरेका थिए ।

    राइट विङ्गर- फेडेरिको किएसा (इटाली)

    रोबर्टो मान्चिनीको इटालीले २००६ पछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दाका नायक हुन्, किएसा । प्रतियोगिताको सुरुआतअघि डोमेनिको बेरार्डीले राइट फ्लान्क सम्हाल्ने अनुमान गरिएको थियो । तर, प्रतियोगिताको किक-अफसँगै युभेन्टसका युवा विङ्गरले आफूलाई स्थापित गरे ।

    अज्जुरीका लागि सुरुआती दुई खेल सब्स्टिच्युट खेलाडीको रूपमा सुरुआत गरेका किएसाले वेल्विरुद्धको खेलमा सुरुआती-११ बाट म्यान अफ दी म्याच प्रदर्शन गरे ।

    अस्ट्रियाविरुद्धको खेलमा सुरुआती-११ मा नपरेका किएसाले पुन: एकपटक बेन्चबाट आएर डेडलक तोडेका थिए ।

    क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका किएसाले सेमिफाइनलको दोस्रो हाफमा स्पेनविरुद्ध शानदार गोल गरेका थिए ।

    फाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा चोटका कारण बाध्य भएर परिवर्तन हुनुअघिसम्म रिमार्केबल प्रदर्शन गरेका किएसाले युरो २०२० मा आफूलाई स्तरीय खेलाडीको रूपमा स्थापित गरे ।

    सेन्टर फरवार्ड – प्याट्रिक शिक (चेक रिपब्लिक)

    मार्को भान बास्टेनदेखि ज्लाटान इब्राहिमोभिचसँग सम्म शिकको तुलना भइरहेको छ । र, विश्व फुटबलका ती महान् स्ट्राइकरसँगको तुलनाको कारण हो, शिकले युरो २०२० मा गरेको प्रदर्शन ।

    बायर लेभरकुसेनका फरवार्ड शिकको नाम युरो २०२० अगाडि धेरैले सुनेका थिएनन् । तर, एक महिनाको प्रतियोगिता र युरो २०२० प्रदर्शनले सबै फुटबलप्रेमीले सम्झिने नाम बन्यो, प्याट्रिक शिक ।

    स्कटल्यान्डविरुद्ध प्रतियोगिताको उत्कृष्टमध्ये एक गोल गरेका शिकले मैदानको बीच भागबाट सोझै बललाई जाली चुमाएका थिए ।

    त्यो गोलमा मात्रै नरोकिएका शिकले क्रोएसिया र नेदरल्यान्ड्सविरुद्ध पनि गोल गरेका थिए । क्वार्टरफाइनलमा २५ वर्षीय शिकले गरेको गोलले डेनमार्कलाई सेमिफाइनलसम्म पुग्नबाट नरोके पनि उनलाई सर्वाधिक गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डसँग ५ गोलको बराबरीमा गर्न मद्दत गर्‍यो ।

    पोर्चुगिज सुपर स्टारले एक असिस्ट धेरै भएको आधारमा गोल्डेन बुट जित्दा शिक दुर्भाग्यशाली सावित भए । तर, युरो २०२० मा उनको एकनासको प्रदर्शनले उनलाई समकालीन फुटबलरमध्ये उत्कृष्ट एकमा स्थापित गरेको छ ।

    लेफ्ट विङ्गर- राहिम स्टर्लिङ (इङ्ल्यान्ड)

    फाइनलअघि सम्म प्लेयर अफ दी टुर्नामेन्टका प्रत्यासी स्टर्लिङ बिना इङ्ल्यान्डको यात्रा अपुरै देखिन्थ्यो । म्यानचेस्टर सिटीका मिडफिल्डर स्टर्लिङले प्रतियोगितामा शानदार सुरुआत प्रदर्शन मात्रै गरेनन्, क्रोएसिया र चेक रिपब्लिकविरुद्ध निर्णायक गोलसमेत गरेका थिए ।

    जर्मनीविरुद्धको जितमा पनि उत्कृष्ट प्रदर्शन गरेका स्टर्लिङ सेमिफाइनलमा डेनमार्कविरुद्ध इङ्ल्यान्डले गरेका दुवै गोलमा प्रत्यक्ष रूपमा सहभागी थिए ।

    प्रतियोगिता सुरु हुनुअघि आलोचित भइरहेका २६ वर्षीय विङ्गरले सबै आलोचकलाई चुप लगाउने प्रदर्शन गरे ।

  • हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    काठमाडौं । प्रशिक्षक रोबर्टो मान्चिनीले इटाली इङ्ल्यान्डमाथि हाबी भएको संकेत गर्दै आफ्ना ‘एक्सट्राअर्डिनरी’ खेलाडीको प्रसंशा गरेका छन् ।

    इटालीले वेम्ब्ली स्टेडियममा आइतबार राति भएको फाइनलमा पेनाल्टीमा ३-२ गोलको नतिजामा जित निकाल्दै ५३ वर्षपछि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । इङ्ल्यान्डका तीन खेलाडी पेनाल्टीमा गोल गर्न नसक्दा उपाधि इटालीको पक्षमा परेको थियो ।

    इटालियन प्रशिक्षक मान्चिनीले १२० मिनेट इङ्ल्यान्डविरुद्ध खेलिसकेपछि ‘इटाली जितको हकदार भएको’ प्रतिक्रिया दिएका छन् ।

    ‘यो सोच्दा अपत्यारिलो लाग्थ्यो, तर हाम्रा खेलाडीहरू ‘एक्स्ट्राअर्डिनरी’ रहे,’ उनले भने, ‘उनीहरूलाई भन्न मसँग कुने शब्द छैन, यो एक अद्भूत समूह छ, यो सहज खेल थिएन, उनीहरू एकदमै कठिन प्रतिद्वन्दी थिए । तर, हामीले डोमिनेट गर्‍यौं ।’

  • २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    काठमाडौं । आइतबार राति वेम्ब्ली स्टेडियममा भएको युरो २०२० को फाइनलमा इटालीले बाजी मार्‍यो । सन् २००६ विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता जितेको इटालीले युरो १९६८ पछि पहिलोपटक जितेको हो ।

    घरेलु टोलीविरुद्ध प्रतिस्पर्धात्मक खेलमा पुनरागमनसहित जित निकालेको इटालीले ३४ खेलमा अपराजित यात्रासमेत तय गरिसकेको छ । खेलको दोस्रो मिनेटमै १-० गोलको नतिजामा पराजित भएको इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

    बराबरी गोलसँगै अतिरिक्त समयमा धकेलिएको खेल पुन: बराबरीमा सीमित भएपछि नतिजाका लागि पेनाल्टी सुटआउटको विकल्प रहेन । सोही पेनाल्टी सुटआउटका लागि ११८औं मिनेटमा मैदान प्रवेश गरेका इङ्लिस दुई खेलाडी- जाडोन साञ्चो र मार्कस रासफोर्ड चुक्दा इटालीले बाजी मार्‍यो । पेनाल्टीमा ३-२ गोलको नतिजा निकालेको इटालीले दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि चुम्यो ।

    यी सबै त सामान्य वास्तविकता थिए । तर, इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई पराजित गरेसँगै एक समर्थकले २०१३ मा गरेको भविष्यवाणी मिलेको छ ।

    @lawseyitfc ले २०१३ को फेब्रुअरी २२ मा इङ्ल्यान्ड युरो २०२० को पेनाल्टी सुटआउटमा इटालीसँग पराजित हुने भविष्यवाणी गरेका थिए ।

    अझ रोमाञ्चक कुरा त केछ भने उनले आफ्नो ट्वीटमा युरो २०२० भनेरै मेन्सन गरेका छन् । र, कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको युरोपियन च्याम्पियनसिपको नाम भने ‘युरो २०२०’ नै राखिएको थियो ।

    यसले उनको भविष्यवाणी अझै मिलेको दर्शाएको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद सञ्चारमाध्यमहरूमा उनको ट्वीट भाइरल बनेपछि उनले फेरि ट्वीट गरेका छन् ।

    उनले आफ्नै पुरानो भविष्यवाणीको ट्वीटमा रिप्लाई गर्दै ‘लोल…. कसैले यो किन भेट्टायो फेरि.. ‘ भनेर प्रतिक्रिया दिएका छन् ।

  • इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    काठमाडौं । पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

    इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।

    बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय- मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए ।

    सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

    पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

  • युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    काठमाडौं । पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इङ्ल्यान्ड आइतबार राति वेम्ब्लीमा इटालीलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ । सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि उचालेको इङ्ल्यान्ड युरो २०२० मा पनि त्यही सफलता दोहोर्‍याउन चाहन्छ ।

    यस्तै, २००० र २०१२ को फाइनलमा पुगेर पनि उपविजेतामा मात्रै सीमित भएको इटाली लगातार तेस्रो पटक फाइनलमा पराजित हुन चाहँदैन ।

    समूह चरणमा सतप्रतिशत नतिजा निकालेको इटालीले अन्तिम-१६ मा अस्ट्रियालाई पराजित गरेको थियो । त्यस्तै, क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई पन्छाएको इटालीले सेमिफाइनलमा २०१२ मा ४-० ले पराजित हुँदाको प्रतिद्वन्दी स्पेनलाई हरायो ।

    लगातार ३३ खेलमा अपराजित रहेको इटाली प्रतियोगिताको ‘डोमिनेन्ट’ टोली हो । अनुभवी र युवा खेलाडीको उत्कृष्ट तालमेल देखिएको इटाली टीम गेम खेल्दै फाइनलसम्म आइपुगेको हो । त्यस्तै, समूह चरणमा दुई जित र एक बराबरीसहित अन्तिम १६ मा आइपुगेको इङ्ल्यान्डले अन्तिम-१६ मा जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा युक्रेनलाई हराएको इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध पुनरागमन जित निकालेको थियो ।

    जारी प्रतियोगिताका ६ खेलमा १ गोल मात्रै खाएको इङ्लिस टोली फाइनलमा पनि क्लिनसिट राख्न चाहन्छ । अर्कातिर, समान ६ खेलमा १२ गोल ठोकिसकेको इटाली पनि घरेलु मैदानमा इङ्ल्यान्डलाई पराजित गर्दै १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिप जित्ने दाउमा छ ।

    विश्व फुटबलमा प्रसिद्ध वेम्ब्ली स्टेडियममा यी टोली नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे आमनेसामने हुनेछन् ।

    केही रोचक तथ्यहरू:

    – यो इटालीको १०औं ठूलो प्रतियोगिता हो । युरोपेली मुलुकमा जर्मनीले मात्र इटालीभन्दा धेरै (१४) पटक ठूला प्रतियोगिता खेलेको छ । १९६८ मा च्याम्पियन बनेको इटालीले त्यसयता खेलेका दुई फाइनल २००० र २०१२ मा पराजय भोगेको छ ।

    – १९६६ विश्वकपको च्याम्पियन इङ्ल्यान्डको त्यस यताकै पहिलो फाइनल यात्रा हो । अझै युरोपियन च्याम्पियनसिपमा भने इङ्ल्यान्डका लागि यो पहिलो अनुभव हुनेछ । यो कुनै पनि देशका लागि विश्वकप र युरोको फाइनलबीचको सबैभन्दा ठूलो (५५ वर्षको) ग्याप हो ।

    – इङ्ल्यान्ड युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने १३औं टोली हो । यसअघिका १२ मध्ये तीन टोलीले मात्रै पहिलो फाइनल हारेका छन् । सन् १९६० मा युगोस्लाभिया, १९८० मा बेल्जियम र २००४ मा पोर्चुगल पहिलो पटक फाइनल पुगेर हारेका थिए ।

    – इटाली युरोपियन च्याम्पियनसिमा दुई पटक उपविजेतामा सीमित भएको छ । २००० युरोको फाइनलमा फ्रान्स र २०१२ फाइनलमा स्पनेसँग इटाली पराजित भएको थियो । जर्मनी र युएसएसआर मात्रै ३ पटक फाइनल हारेका छन् ।

    – इङ्ल्यान्डले १९६६ मा विश्कप जित्दा वेम्ब्लीमै फाइनल खेलेको थियो । र जर्मनीलाई ४-२ गोलको नतिजामा पराजित गरेको थियो ।

    – पछिल्ला दुई आयोजक देशले आफ्नै देशमा भएका फाइनल हारेका छन् । सन् २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनलमा पुगेर पराजित भएका थिए ।

  • रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

    रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

    काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० गरेका पाँच गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईसँगको कीर्तिमान बराबरी गरे ।

    युरो २०१६ जितेपछि व्यावसायिक फुटबलका सफल खेलाडी रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन पनि सन्तोषजनक नै छ । साविक विजेता पोर्चुगल जारी युरोको अन्तिम-१६ मा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यो सिजन पोर्चुगल खाली हात प्रतियोगिताबाट बाहिरिए पनि कप्तान रोनाल्डोले भने व्यक्तिगत उपाधि हासिल गर्ने सम्भावना प्रवल छ ।

    के रोनाल्डोले गोल्डेन बुट जित्छन् ?

    रोनाल्डो गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । र, इटाली तथा इङ्ल्यान्डको फाइनल मात्र बाँकी रहँदा दुवै टोलीका खेलाडीले रोनाल्डोलाई उछिन्ने सम्भावना कम छ । चार खेल खेलेर बाहिरिएको पोर्चुगलका लागि रोनाल्डोले पाँच गोल ठोकिसकेका थिए ।

    रोनाल्डोको पाँच गोलको आँकडा चेक रिपब्लिकका प्याट्रिक शिकले पनि बराबरी गरेका छन् । तर, रोनाल्डोको नाममा एक असिस्ट पनि जसले गर्दा गोल्डेन बुटको दौडमा रोनाल्डो नै अगाडि छन् ।

    रोनाल्डोलाई पछ्याइरहेका अर्का फरवार्ड हुन्, इङ्लिस कप्तान ह्यारी केन । उनले पनि चार गोल गरिसकेका छन् र फाइनलमा त्यो संख्या अझै बढाउने सम्भावना छ ।

    केनले रोनाल्डोलाई उछिन्नका लागि दुई गोल वा एक गोल र एक असिस्ट गर्नुपर्नेछ ।

    यस्तै, तीन गोल गरेका अर्का इङ्लिस फरवार्ड राहिम स्टर्लिङ पनि यो सूचीमा धेरै पछाडी छैनन् । तर, अब बाँकी एउटा मात्र खेलमा उनलाई कम्तिमा पनि ह्याट्रिक तथा दुई गोल र एक असिस्ट आवश्यक छ ।

    सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेसँगै इटालीका भने धेरै खेलाडीले दुई/दुई गोल गरेका छन् । इटालियन खेलाडीहरूलाई एकै खेलमा ह्याट्रिकले पनि नपुग्ने भएकाले फाइनलमा उनीहरूले रोनाल्डोलाई पछाडि पार्ने सम्भावना एकदमै कम छ ।

    बराबरी हुँदा नियम के छ ?

    युरोपियन च्याम्पियनसिपको सामान्य नियम भनेको सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छ । यदि दुई वा त्यो भन्दा धेरै खेलाडीले बराबरी संख्यामा गोल गरे भने सर्वाधिक असिस्टको गणना हुन्छ ।

    गोल र असिस्ट पनि बराबरी भयो भने कुन खेलाडीले थोरै समय खेलेको कुरा महत्त्वपूर्ण हुन्छ ।

    जारी युरोमा रोनाल्डोले ३६० मिनेट मात्रै खेलेका छन् । त्यसैले केन र स्टर्लिङको तुलनामा थोरै समय खेलेकाले उनको सम्भावना प्रवल छ ।

  • युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

    युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

    काठमाडौं । युरो २०१२ पछि इटाली युरोपियन च्याम्पियनमा पहिलो पटक बलियो बनेर फर्किएको छ । २०१२ युरोको फाइनलसम्म पुगेर त्यसयताका ठूला प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्न नसकेको इटाली २०१८ विश्वकपमा त छनोट नै हुन सकेन ।

    रोबर्टो मान्सिनी इटाली उर्फ ‘अज्जुरी’को प्रशिक्षकमा नियुक्त भएसँगै विजयी यात्रा सुरु गरेको इटाली ३३ खेलमा अपराजित छ । उत्कृष्ट लयको इटाली जारी युरो २०२० को सबैभन्दा ‘डोमिनेन्ट’ टोली हो र सशक्त प्रदर्शनको प्रतिफल फाइनल यात्राले इटालीलाई दिइसकेको छ । तर, यति फाइनलमा मात्रै पुग्नु इटालीले चाहेको प्रतिफल पक्कै होइन ।

    विश्वकप २००६ जितेयता ठूला उपाधिविहीन इटाली आइतबार राति वेम्ब्ली स्टेडियममा इङ्ल्यान्डलाई पराजित गर्दै युरो जित्ने लक्ष्यमा छ ।

    इटाली जारी युरोको सर्वाधिक गोलकर्ता टोली हो । त्यस्तै, प्रतियोगितामा इटालीको रक्षापंक्ति पनि ‘रक सोलिड’ देखिएको छ ।

    फाइनल यात्रा

    इटालीले जारी प्रतियोगिताका ६ खेलमा १२ गोल गरिसकेको छ भने तीन गोल मात्रै खाएको छ । टर्कीविरुद्ध ३–० को जितसँगै प्रतियोगिताको सुरुआत गरेको इटालीले युरो २०२० मा फाइनल यात्रा तय गरिसकेको छ । टकीविरुद्धको खेलमा सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले एक÷एक गोल गर्दा एक आत्मघाति गोल भएको थियो ।

    प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुगेको स्वीट्जरल्यान्डसँग समूह चरणमा भिडेको इटालीले सोही ३–० को नजिता दोहोर्‍याएको थियो । इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० को नजितामा पराजित गरेसँगै समूह एबाट सतप्रतिशत नतिजा र क्लिनसिटसहित अन्तिम १६ मा स्थान बनाएको थियो ।

    समूह चरणमा इटालीले गरेको सात गोल पनि युरो २०२० मा कुने एक टोलीले नकआउटअघि गरेको सर्वाधिक गोल संख्या हो । यद्यपि, इटालीको वास्तविक उत्साह त नकआउटपछि सुरु भएको थियो । अन्तिम–१६ अन्तर्गत अस्ट्रियाविरुद्धको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएको थियो । तर, अतिरिक्त समयमा थप एक निर्णायक गोल गर्दै इटालीले क्वार्टरफाइनल यात्रा तय गर्‍यो । मान्सिनीले निर्धारित ९० मिनेटको अन्त्यमा गरेका सब्स्टिच्युसनले अस्ट्रियाविरुद्धको खेलमा राम्रो ‘पे–अफ’ गरे ।

    फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयमा माटेओ पेसिनाले अग्रता दोब्बर पारेँसँगै इटालीको जित सुनिश्चित भएको थियो । अस्ट्रियाले अज्जुरीविरुद्ध प्रतियोगिताको पहिलो गोलसमेत गरेको थियो ।

    सुरुआती चार खेलमा एक गोल मात्र खाएको इटालीले क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमविरुद्ध पहिलो हाफमा दुई गोल ठोकेको थियो । दोस्रो हाफको सुरुआती क्षणमै बेल्जियमले एक गोल फर्काएपछि इटाली समय कटाउनका लागि पछाडि बसेर खेल्न बाध्य बनेको थियो । बेल्जियमविरुद्धको जितसँगै सेमिफाइनलमा पुगेको इटालीसामु २०१२ युरोको फाइनल खेलेको स्पेनको चुनौती थियो ।

    लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भेट भएको स्पेन इटालीविरुद्ध बल पोसेसन र अट्याकमा हाबी देखिए पनि सुरुआती अग्रता इटालीले काउन्टर अट्याकमा गोल गर्दै लिएको थियो । तर, निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी रहँदा स्पेनले गरेको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

    गोलकिपर यानलुइजी डोनुरुम्माले गरेको दुई महत्त्वपूर्ण बचाउसँगै पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजामा जित निकाल्दै इटाली ९ वर्षपछि युरोको फाइनलमा पुग्यो ।

    कसरी राम्रो टोली बन्यो ?

    इटालीको प्रदर्शनको आधार बलियो रक्षापंक्ति देखिन्छ । र, त्यसैमा आधारित भएर आवश्यक पर्दा रक्षात्मक शैलीलाई अट्याकिङमा ढाल्न सक्नु इटालीको सशक्त पक्ष देखिन्छ । इटालीको रक्षापंक्तिमा अनुभवी डिफेन्डरहरू– लियोनार्दो बोनुची र जर्जियो केलेनी रक्षापंक्तिमा ‘रक सोलिड’ देखिएका छन् ।

    अज्जुरीको मिडफिल्ड स्पेनविरुद्ध निरिह देखिएको थियो । तर, अझै सुधार्ने स्थान भने पर्याप्त देखिन्थ्यो । अगाडि सिरो इम्मोबिलेले बनाएका मुभसँगै इटालीले सशक्त आक्रामक मुभ बनाइरहेको छ ।

    यद्यपि, इटालियन टोली कुनै एक खेलाडीमा मात्र निर्भर रहेर खेल्दैन । चाहे रक्षात्मक होस् वा आक्रामक: दुवै पक्षमाा सबै खेलाडी एकजुट भएर लागेको देखिन्छ । टोलीमा कोही पनि ठूला स्टार खेलाडी नहुनुले इटालीलाई थप संगठित टोली बन्न मद्दत गरेको छ ।

    यद्यपि, जारी प्रतियोगितामै केही खेलाडीले आफूलाई युरोपेली फुटबलमा प्रभावशाली सावित गरेका छन् । किएसा, बरेला, स्पिनाजोला र लोकाटेली कुनै स्टार खेलाडीभन्दा कम छैनन् । उनीहरूको तुलनामा स्थापित नामहरू– भेराटी, जर्जिन्हो र इन्सिग्ने बराबरको प्रदर्शन दिइरहेका छन् ।

    प्रतियोगिताको सुरु हुनुअघि अलेसान्ड्रो फ्लोरेन्जीलाई गुमाएको इटालीका सेमिफाइनलअघि स्पिनाजोला पनि चोटका कारण बाहिरिए । त्यसो त इटालियन टोली एक खेलाडीमा निर्भर नरहेकाले एक खेलाडीको अनुपस्थिति त्यति घातक हुन सकेको छैन । त्यसको कारण मान्सिनीले टोलीमा विकास गरेको एक सांगठिक टोलीको अवधारणा र विजयी भावना हो ।

    थप एक पटक

    इटालीका लागि फाइनल पुग्नु एकदमै सहज र एकदमै कठिन दुवै मान्न सकिन्छ । तर, अज्जुरीले युरो २०२० मा खेलेका ६ खेलबाट यो टोली जुनसुकै परिस्थितिबाट गुज्रिए पनि जित निकाल्न अब्बल रहेको पुष्टि गरिसकेको छ । प्रतियोगिताका ६ खेलमध्ये कुनैमा पनि पेनाल्टीसम्म नपुगेको इङ्ल्यान्डको चुनौती इटालीका लागि सहज पक्कै नहुने निश्चित छ । त्यसमाथि हालसम्म डिफेन्समा रक सोलिड इङ्ल्यान्डले प्रतियोगितामा एक गोल मात्रै आएको छ ।

    अब इटालीसामु विश्व फुटबलमा अज्जुरीको पुनरागमन भयो भन्ने सन्देश दिन एक खेल बाँकी छ । पछिल्ला समयहरूमा खराब समयबाट गुजिएको इटाली २०१४ विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । युरो २०१६ को क्वार्टरफाइनलमा जर्मनीसँगग पराजित भएको इटाली २०१८ विश्वकपमा छनोट नै हुन सकेन ।

    तर, २०१२ पछि इटाली फेरि युरोपेली फुटबललाई माध्यम बनाएर विश्व फुटबलको एक पावरहाउस बनेर फर्किएको छ । र, युरो फाइनलमा आइतबार राति १२: ४५ बजे हुने खेलमा इटालीले बाजी मारे कसैले पनि उनीहरू हकदार थिएनन् भन्न सक्दैनन् ।

  • युरो २०२०: डेनमार्कविरुद्ध इङ्ल्यान्डले पाएको पेनाल्टी विवादित, मैदानमा दुई बल !

    युरो २०२०: डेनमार्कविरुद्ध इङ्ल्यान्डले पाएको पेनाल्टी विवादित, मैदानमा दुई बल !

    काठमाडौं । कप्तान ह्यारी केनले गरेको गोलसँगै इङ्ल्यान्ड युरो-२०२० को सेमिफाइनलमा पुग्दा इङ्लिस फुटबलको इतिहासमा नयाँ कीर्तिमान बन्यो । खेलको अतिरिक्त समयमा पेनाल्टी पाएपछि इङ्ल्याण्डको भाग्य खुलेको थियो । युरोपियन च्याम्पियनसीपमा पहिलोपटक इङ्ल्याण्डले फाइनल यात्रा तय गरेको छ ।

    ह्यारी केनले हानेको पेनाल्टी रिबाउन्ड हुँदा पुन प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यो गोलसँगै केनले ग्यारी लिनकेकरको युरोपियन च्याम्पियनसिप र विश्वकप समग्रमा सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । तर, उनको त्यो गोल विवादरहित भने बन्न सकेन ।

    उत्कृष्ट लयमा रहेका फरवार्ड स्टर्लिङले त्यो पेनाल्टी जितेका थिए । तर, त्यो वास्तवमा पेनाल्टी थिएन भन्ने चर्चाले अहिले विश्व फुटबल गर्माएको छ ।

    स्टर्लिङले कसरी जिते पेनाल्टी ?

    अतिरिक्त समयको पहिलो हाफमा स्टर्लिङ दुई डेनिस डिफेन्डरलाई बिट् गर्दै पेनाल्टी एरियामा प्रवेश गरेका थिए । डेनिस मिडफिल्डर योहाकिम मेहेलेले गरेको च्यालेन्जपछि मैदानमा स्टर्लिङ लडेसँगै रेफ्रीले इङ्ल्यान्डलाई पेनाल्टी दिएका थिए ।

    त्यो इभेन्टलाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पुनः हेरेका थिए । फिल्ड रेफ्रीको निर्णयसँग भीएआर पनि सहमत देखिए । त्यो पेनाल्टी इङ्लिस कप्तान केनले प्रहार गरे । उनका सिधा प्रहारलाई डेनिस गोलकिपर कास्पर स्माइकलले रोकिदिए । तर, रिबाउन्डमा आएको बल पुनः प्रहार गर्दै केनले इङ्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

    यसकारण भयो विवाद

    मेहेलेको च्यालेन्जले आफू ढलेको स्टर्लिङले दाबी गरेका थिए । तर, क्लोजअपबाट हेर्दा त्यो ट्याकल एकदमै सामान्य देखिन्थ्यो । त्यो घटनाको रिप्लेमा म्यानचेस्टर सिटीका फरवार्ड स्टर्लिङ मेहेलेले ट्याकल गर्नुभन्दा अगाडि नै लड्न सुरु गरिसकेको स्पष्ट हुन्छ ।

    आश्चर्यजनक रूपमा भीएआरले रेफ्रीलाई साइड स्क्रिनमा गएर हेर्न भनेनन् । त्यसैले त्यो पेनाल्टी समर्थक र विश्लेषकसामु एकदमै विवादास्पद बन्यो ।

    धेरै फुटबल विश्लेषकसँगै आर्सनलका पूर्व प्रशिषक आर्सेन विङ्गर तथा एस रोमाका प्रशिक्षक जोसे माउरिन्हाले त्यो कुनै पनि हालतमा पेनाल्टी नभएको बताएका छन् ।

    मैदानमा दुई बल थिए ?

    पेनाल्टी थियो कि थिएन भन्नेबाहेक अर्को पनि विषय विवादास्पद छ । स्टर्लिङले पेनाल्टी जितेको समयमा मैदानमा दुईटा बल थिए र त्यो समयमा खेल रोकिनु पर्थ्यो भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ ।

    स्टर्लिङले मैदानको दायाँतर्फबाट बल ड्रिबल गरेर पेनाल्टी एरियामा प्रवेश गरिरहँदा दायाँतर्फको कर्नर फ्ल्याग नजिक मैदानभित्रै अर्को बल देखिन्छ । त्यसले पनि डेनिस समर्थक र फुटबल विश्लेषकको आक्रोश बढाएको छ ।

    फिफाको नियम हेर्ने हो भने खेलिइरहेको बललाई कुनै बाधा पुर्‍याएको छैन भने खेल रोक्नुपर्ने बाध्यता रेफ्रीलाई हुँदैन । तर, सामाजिक सञ्जालमा समर्थकहरूले भने त्यो बलले खेलमा बाधा पुर्‍याएको र खेल रोकिइनुपर्ने तर्क गरिरहेका छन् ।

  • इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।

    घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

    मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

    निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो ।

    ह्यारी केनको प्रहार डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकेका थिए । तर रिवाउण्ड बलमा केनले नै गोल गर्न सफल रहे । यही गोलले इंग्ल्याण्डलाई युरो इतिहासमै पहिलोपल्ट फाइनलमा पुर्‍यायो ।

    पहिलो खेलमै मुख्य खेलाडी क्रिष्टियन इरिक्सन हृदयघातबाट मैदानमै ढलेपछि धर्मराएको डेनमार्क सुरुआती दुई खेलमा पराजित रहे पनि समूह चरण पार गर्ने भाग्यमानी टोली बनेको थियो ।

    सन् १९९२ को च्याम्पियन टोलीबमे यस संस्करणमा अप्रत्यासित प्रदर्शनको यात्रा सेमिफाइनलमा आएर टुंगिएको छ । सेमिफाइनलमा पराजित रहे पनि उनीहरु शीर ठाडो पार्न सक्नेछन् । डेनिस टोलीको आक्रामक क्षमता र गोलरक्षक स्माइकल्सको प्रदर्शनलाई विश्वभरका फुटबल समर्थकले प्रसंसा गरेका छन् ।

  • युरो २०२० सेमिफाइनल: डेनमार्कको ‘दन्त्यकथा’ जारी रहला ?

    युरो २०२० सेमिफाइनल: डेनमार्कको ‘दन्त्यकथा’ जारी रहला ?

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध उत्रिँदा डेनमार्क जारी प्रतियोगितामा बुन्दै गरेको ‘दन्तेकथा’ जारी राख्न तल्लीन हुनेछ । बुधबार राति इङ्ल्यान्डको लन्डस्थित वेम्ब्ली स्टेडियममा हुने खेलमा नतिजा आफ्नो पक्षमा पारेर दन्तेकथामा नयाँ अध्याय थप्नु भने उसका लागि कठिन चुनौती हुने निश्चित छ ।

    डेनिस ‘डाइनामाइट’ले जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलसम्म एकनासको प्रदर्शन गर्न सकिरहेको थिएन । पहिलो खेलमै टोलीका महत्त्वपूर्ण सदस्य क्रिस्टियन एरिकसनलाई प्रतियोगिताबाट गुमाउनु पनि यसको कारण रह्यो ।

    तर, अन्तिम खेलमा बलियो प्रतिद्वन्दी रुसविरुद्ध ४-१ को शानदार जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको डेनिस टोलीले अन्तिम-१६ मा वेल्समाथि ४-० को जित निकाल्यो । त्यो खेलमा सुरुआती-११ मा पुनरागमन गरेका कास्पर डोलबर्गले दुई गोल गरेका थिए ।

    सन् १९९२ मा उपाधि जित्दा तय गरेको सेमिफाइनल यात्रामा फेरि पुनरागमन गर्न डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकमाथि २-१ गोलको नतिजामा जित हासिल ग¥यो । तर, त्यो खेलको पहिलो हाफमै दुई गोल ठोकिसकेको डेनमार्कका लागि चाहेकोभन्दा कठिन सावित भएको थियो ।

    यद्यपि, खेल शैलीलाई लिएर भइरहेका यावत आलोचनका बाबजुद पनि ग्यारेथ साउथगेटको इङ्लिस टोली सेमिफाइनलसम्म आइपुगेको छ । साउथगेटको टोलीले लगातार दोस्रो पटक ठूला प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि २०१८ मा रुसमा भएको फिफा विश्वकपमा पनि सेमिफाइनलसम्मको इङ्लिस टोली क्रोएसियासँग पराजित भएको थियो ।

    समूह चरणका खेलमा अपराजित रहे पनि दुई गोल मात्रै गर्न सफल इङ्ल्यान्डले अन्तिम १६ मा जर्मनीको सामना गरेको थियो । जर्मनीविरुद्ध जारी प्रतियोगितामा पहिलो पटक दुई गोल गर्न सफल इङ्लिस टोलीले क्वार्टरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गरेको थियो ।

    टिम न्युज:

    इन्जुरीको समस्या नभएकाले इङ्लिस टोलीको मुहारमा एउटा आनन्दको माहोल छ । युवा खेलाडी बुकायो साकाले ट्रेनिङका दौरान लागेको चोटका कारण युक्रेनविरुद्धको क्वार्टरफाइनल गुमाएका थिए । र, उनी सेमिफाइनलमा डेनमार्कविरुद्धको खेलका लागि पूर्ण रूपमा फिट भइसकेका छन् ।

    तर, प्रशिक्षक साउथगेटले इङ्ल्यान्ड फाइनलसम्म पुग्न सके साकालाई विश्राम पनि दिन सक्नेछन् । युक्रेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका जाडोन सान्चोलाई उनको स्थानमा साउथगेटले प्रयोग गर्न सक्ने छन् । कसलाई खेलाउने भन्ने निर्णय लिनु साउथगेटका लागि कठिन हुने निश्चित छ ।

    इङ्ल्यान्डको सम्भावित लाइन-अप:

    जोर्डन पिकफोर्ड, काइल वाल्कर, जोन स्टोन्स, ह्यारी म्यागुएर, ल्युक शह, डेक्लान राइस, ह्यारी फिलिप्स, सान्चो, म्यासन माउन्ट, राहिम स्टर्लिङ, ह्यारी केन

    एरिकसनमाथि भएको दुर्भाग्यशाली दुर्घटनाले उनलाई प्रतियोगिताबाटै बाहिर धकेलेपछि सुरुआती खेलमा तहसनहस भएर फेरि सम्हालिएको छ, डेनिस टोली । प्रशिक्षक कास्पर ह्युमल्यान्ड टोलीमा थप कुनै पनि इन्जुरी समस्या नभएकाले खुशी छन् ।

    चेक रिपब्लिकविरुद्धको खेल बेन्चबाट हेरेका स्ट्राइकर युसुफ पौलसेन र विङ्ग ब्याक ड्यानिएल वासले सुरुआती-११ मा फर्किएर डोलबर्ग र स्ट्रिगरलाई प्रतिस्थापन गर्ने सम्भावना उच्च छ ।

    डेनमार्कका सम्भावित सुरुआती-११

    कास्पर स्माइकल, एन्द्रेस क्रिस्टियनसेन, सिमन साहर, यान्निक भेस्टरगार्ड, स्ट्रिगर, पेरी इमिल होइबर्ग, थोमस डेलानी, योहाकिम मेहेले, मार्टिन ब्रेथवेट, मिक्केल ड्याम्सगार्ड, डोलबर्ग

    गेम चेन्जर्स

    फेरि अर्का एट्लान्टाका विङ्ग ब्याक मेहेले डेनमार्कको जारी यात्रामा गेमचेन्जर बनेका छन् । चेकविरुद्धको खेलमा दोस्रो गोलका लागि असिस्ट दिएका मेहेलेको त्यो क्रस एक क्षमतावान् फुटलबरको ‘डिस्प्ले’ थियो ।

    लगातार दुई गोल गरेका डोलबर्ग, मिडफिल्डमा प्रभावकारी देखिएका ड्याम्सगार्ड र मेहेलेले इङ्ल्यान्डविरुद्धको खेलमा पनि आफ्नो जारी फर्मलाई निरन्तरता दिने अपेक्षा गर्नेछन् । फाइलन पुग्नका लागि ती खेलाडीबाट प्रभावकारी प्रदर्शनको एकदमै खाँचो पनि डेनिस टोलीलाई छ । यद्यपि, इङ्लिस टोलीमा भने लगभग सबै नेतृत्व गर्न अब्बल छन् । कप्तान ह्यारी केन किन कप्तान हुन् भन्ने कुरा उनले सही समयमा पकडेको लयले पनि सावित गरिसकेको छ ।

    समूह चरणमा गोल गर्न नसकेका केनले अन्ततः नकआउट चरणमा आफ्नो फर्म पाइसकेका छन् । जर्मनीविरुद्धको खेलमा खाता खोलेका केनले युक्रेनविरुद्ध दुई गोल थपे ।

    साउथगेटले बुधबार पनि केनले त्यो लय कायमै राख्नेमा ग्यारेथ साउथगेट आशावादी छन् । यस्तै स्टर्लिङ तथा अन्य अट्याकर पनि डेनमार्कविरुद्धको खेलमा गेम चेन्जर बन्न निश्चय नै चाहन्छन् । डेनमार्कलाई हराउँदै इङ्लिस टोली ५५ वर्षको उपाधि खडेरीमा पूर्णविराम लगाउन चाहन्छ ।

  • युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

    युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

    काठमाडौं । स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

    खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै अज्जुरीलाई अग्रता दिलाएका थिए ।

    खेलमा प्रभुत्व जमाएर पनि १-० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

    इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र  २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन ।

    तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ ।

  • नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके

    नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके

    काठमाडौं । त्यो बेला लुइस इनिरकेको सेतो स्पेनिस जर्सीमा जताततै रगतै रगत थियो । सन् १९९४ विश्वकपको क्‍वार्टरफाइनलमा इटालीविरुद्ध स्पेनको खेल चलिरहँदा त्यो द‍ृश्य देखिएको थियो । उक्त खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै इटालीले सेमिफाइनल यात्रा तय गरेको थियो ।

    त्यो खेलमा देखिएको द‍ृश्य कुनै पनि स्पेनिस समर्थकले कहिले पनि बिर्सिँदैनन् ।

    मंगलबार राति स्पेनले युरो २०२० को सेमिफाइनलमा इटालीसँग खेल्दै छ । र, आज राति फेरि यी दुई टोली वेम्ब्ली स्टेडियममा भेट हुँदा स्पेनिस प्रशिक्षक लुइस इनरिकेले २७ वर्षपछि आफ्नो नाक भाँचिएको नराम्रो अनुभव पुनर्ताजगी गर्नेछन् । बल जित्ने क्रममा इटालीका डिफेन्डर माउरो टासोट्टीको कुहिनाले लागेर इनरिकेको नाक रक्ताम्मे भएको थियो ।

    त्यो चर्चित घटना १९९४ जुलाई ९ मा फक्सबोरो स्टेडियममा भएको थियो । त्यसपछि इनरिकेले आफ्नो करियरमा खेलाडी वा प्रशिक्षकको रूपमा कहिल्यै पनि इटालीको सामना गरेका छैनन् ।

    इनरिके र टासोट्टी शान्त भए

    त्यो घटना भएको क्षण एकदमै तनावग्रस्त थियो । इनरिकले त्यो फाउलबापत् पेनाल्टीका लागि अपील गरेका थिए । तर, रेफ्रीले पेनाल्टी दिएनन् । प्रशिक्षक क्लेमेन्टेका अनुसार रेफ्री धेरै संख्यामा भएका इटालियन समर्थकका अगाडि पेनाल्टी दिन डराएका थिए ।

    ‘इनरिके रेफ्री र टासोट्टीलाई मार्न चाहन्थे,’ स्पेनिस फिजियोथेरापिस्ट सेनेन कोर्टेगोसोले केही समयपछि इनरिकेको रिसको व्याख्या गर्दै भनेका थिए ।

    केही वर्षपछि इनरिके रोमाको प्रशिक्षक हुँदा टासोट्टी एसी मिलानका सहायक प्रशिक्षक थिए । र, उनीहरूको भेट सम्भव भएको थियो । त्यो भेटमा दुवैले हात मिलाएका थिए र टासोट्टीले माफीसमेत मागेका थिए ।

    स्पेनविरुद्ध इटाली: क्लासिक राइभरी

    यद्यपि, १९९४ विश्वकपपछि इनरिकेले इटालीको सामना गरेका छैनन् । पछिल्लो २७ वर्षमा यी दुई टोली भने १४ पटक मैदानमा लडेका छन् । तीमध्ये पाँच खेल स्पेनले जितेको छ भने दुई इटालीले जितेको छ । बाँकी सात खेल बराबरीमा टुङ्गिएका छन् । तर, आज रातिको खेल बराबरीमा टुङ्गिन असम्भव छ । त्यसैले आजको खेलपछि स्पेनको ६ वा इटालीको तीन हुने निश्चित छ ।

    यी दुईबीचको अन्तिम भेट २०१८ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा स्पेनले सान्टियागो बेर्नाबेउमा इटालीलाई ३-० को नतिजामा पराजित गर्दा इस्कोले दुई र अहिले टोलीमा रहेका फरवार्ड अल्भारो मोराटाले एक गोल गरेका थिए ।

    तर, ठूला प्रतियोगितामा भने यी दुई टोलीको भेट युरो २०१६ मा भएको थियो । त्यो खेलमा भिसेन्टे डेल बोस्क नेतृत्वको स्पेन २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    इटालीविरुद्धको त्यो खेल खेलेका सर्जियो बुस्केट, जोर्डी अल्बा र अल्भारो मोराटाले त्यो दिन असफल भएका थिए । त्यो असफलतालाई सफलतामा परिणत गर्ने मौका आज उनीहरूसँग हुनेछ ।

  • युरोपियन च्याम्पियनसिपमा फेरि भिड्दै स्पेन र इटाली

    युरोपियन च्याम्पियनसिपमा फेरि भिड्दै स्पेन र इटाली

    काठमाडौं । स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित भएको छ । जारी युरो २०२० को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् ।

    शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डमाथि पेनाल्टी सुट आउटमा ३-१ गोलको नतिजामा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सोही रात भएको अर्को क्वार्टरफाइनलमा बेल्जियममाथि २-१ गोलको जित निकाल्दै इटालीले पनि फाइनल प्रवेशका लागि स्पेनसँगको भेट निश्चित गरेको हो ।

    यी दुई टोली फाइनल प्रवेशका लागि मंगलबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भिड्ने छन् ।

    लय

    शुक्रबारका खेलसँगै युरो २०२० को पहिलो सेमिफाइनल तय भएको छ । शुक्रबार राति म्युनिखमा इटालीले विश्व नम्बर एक बरियताको बेल्जियम र स्पेनले स्वीट्जरल्यान्डलाई हराएसँगै मंगलबार रातिको भिडन्त निश्चित भएको हो ।

    पछिल्लो समय युरोपको सबैभन्दा उत्कृष्ट फर्ममा भएको इटालीले कीर्तिमानी ३२ खेलमा अपराजित यात्रा तय गरिसकेको छ । त्यस्तै, पछिल्ला १३ खेलमा इटालीले सत प्रतिशत नतिजा निकालेको छ । अर्कातिर पछिल्ला १२ खेलमा अपराजित स्पेनले समूह चरणको दुई खेल बराबरी खेलेको थियो ।

    गोलको खतरा

    अवस्था यस्तै रह्यो भने यी दुई टोलीको खेल प्रतियोगिताका सर्वाधिक गोलकर्ताबीचको भिडन्त हुनेछ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछिका खेलमा १२ गोल गरिसकेको छ भने इटालीले ११ गोल गरेको छ ।

    दुवै टोलीका कुनै पनि खेलाडीले दुई भन्दा धेरै गोलगरेका छैनन् । इटालीका सिरो इम्मोबिले, माटेओ पेस्सिना, म्यानुएल लोकाटेली र लोरेन्जो इन्सिग्नेले दुई/दुई गोल गरेका छन् । यस्तै, स्पेनिस पाब्लो साराबिया, फेरान टोरेस र अल्भारो मोराटाले समान दुई गोल गरेका छन् ।

    इतिहास

    यी दुईबीचको अन्तिम भेट विश्वकप २०१८ को छनोटमा भएको थियो । स्पेनसँग एक खेलमा पराजय र अर्कोमा बराबरी नतिजा निकालेको इटाली विश्वकपमा छनोट हुन असफल भएको थियो ।

    दुवै टोली अन्तिम पटक ठूला प्रतियोगिताको फाइनल पुगेको भनेको युरो २०१२ मा हो । त्यो फाइनलमा इटालीमाथि ४-० को फराकिलो जित निकाल्दै स्पेन लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बनेको थियो ।

    त्यस बेला टोलीमा रहेका तीन खेलाडी युरो २०२० को पनि स्क्वाडमा छन् । स्पेनका कप्तान सर्जियो बुस्केट तथा इटालीका डिफेन्डर्स जर्जियो केलिनी र लियोनार्डो बोनुसी अहिले पनि टोलीमा छन् ।

    इटालीले लगातार तेस्रो पटक युरो जित्ने अभियानमा रहेको स्पेनलाई युरो २०१६ को अन्तिम १६ मा २-० गोलको नतिजामा पराजित गर्दै यात्रामा पूर्णविराम लगाइदिएको थियो । स्पेनले २००८ युरोको क्वार्टरफाइनलमा पेनाल्टीमा पुगेर इटालीलाई पराजित गरेको थियो । सोही प्रतियोगितामा स्पेनले ४४ वर्ष लामो उपाधि खडेरी टारेको थियो । र, त्यसपछिको ६ वर्ष स्पेनले विश्व फुटबलमा राज गरेको थियो ।

    प्रशिक्षकहरू

    स्पेनका मुख्य प्रशिक्षक लुइस इनरिकेको १९९४ विश्वकपमा इटालीविरुद्धको खेलमा नाक भाँचिएको थियो । क्वार्टरफाइनलमा भएको त्यो भिडन्तमा इटालियन डिफेन्डर माउरो टासोट्टीले इनरिकेको नाक भाँचिदिएका थिए ।

    त्यो विश्वकपमा इटाली फाइनलसम्म पुगेर ब्राजिलसँग पेनाल्टीमा हारेको थियो ।

    इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी पनि १९९४ विश्वकपको टोलीमा थिएनन् । खेल्ने समय नपाएका टोलीमा चासो नदिएका मान्सिनी २०१८ मा मुख्य प्रशिक्षक बनेर इटालियन राष्ट्रिय फुटबल टोलीमा फर्किएका थिए ।

  • चेक रिपब्लिकका कप्तान डेरिडाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    चेक रिपब्लिकका कप्तान डेरिडाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनलबाट बाहिरिएसँगै चेक रिपब्लिकका कप्तान भ्लादिमिर डेरिडाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । हेर्था बर्लिनका ३० वर्षीय प्लेमेकर डेरिडाले अन्तिम १६ मा नेदरल्यान्ड्सविरुद्धको खेल चोटका कारण गुमाएका थिए ।

    त्यस्तै, क्‍वार्टरफाइनलमा डेनमार्कसँग २-१ गोलको नतिजामा चेक टोली पराजित हुँदा सब्स्टिच्युट खेलाडीको रूपमा डेरिडा मैदान प्रवेश गरेका थिए । सन् २०१२ मा इज्रायलविरुद्धको वार्मअप खेलमा डेब्यू गरेका डेरिडाले चेक टोलीबाट ७६ खेलमा ८ गोल गरेका छन् ।

    ‘राष्ट्रिय टोलीबाट मैले करियरमा विशेष क्षणहरू बिताएको छु,’ डेरिडाले भने, ‘म अब मेरो धेरै समय परिवार र सानो छोरासँग बिताउन चाहन्छु ।’

  • मैदानमा ढलेका एरिकसन पहिलो पटक सार्वजनिक स्थलमा देखिए

    मैदानमा ढलेका एरिकसन पहिलो पटक सार्वजनिक स्थलमा देखिए

    काठमाडौं । युरो २०२० को समूह बी अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा मैदानमा ढलेका डेनिस प्लेमेकर क्रिस्टियन एरिकसन पहिलो पटक सार्वजनिक स्थलमा देखिएका छन् । कार्डिक एरेस्टको शिकार भएर खेलको ४२औं मिनेटमा मैदानमै ढलेका एरिकसनको तुरुन्तै उपचार गरेर जीवन जोगाइएको थियो ।

    त्यसपछि कोपनहेगनको अस्पतालमा करिब एक हप्ताको नितन्तर उपचारपछि १८ जुनमा डिस्चार्ज भएका एरिकसन परिवारसँग घरमा आराम गरिरहेका छन् । तर, त्यसपछि पहिलो पटक उनको सार्वजनिक स्थलको तस्बिर सार्वजनिक भएको गोलले बताएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Bjørn Bindzus (@bjornbindzus)

    एरिकसनले एक फ्यानसँग खिचाएको तस्बिर सार्वजनिक भएसँगै उनको अवस्था सामान्य बन्दै गएको पनि प्रस्ट भएको छ ।

    उनी कोपनहेगनबाट ६० किलोमिटर टाढा टिभिडेलेजेमा भेटिएको र उनीसँग तस्बिर खिचाएको समर्थक बोर्न बिन्दजुसलेले बताएका छन् ।

  • बेल्जियन फुटबलको उपाधिविहीन ‘गोल्डेन जेनेरेसन’

    बेल्जियन फुटबलको उपाधिविहीन ‘गोल्डेन जेनेरेसन’

    काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनलमा इटालीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएसँगै बेल्जियन समर्थक फेरि एक पटक निराश बने । प्रतियोगितामा बलिया देशहरूसँग परेको बेल्जियमले साविक विजेतालाई पराजित गर्दै क्‍वार्टरफाइनल यात्रा तय गरेको थियो ।

    तर, उत्कृष्ट फर्ममा रहेको इटालीसँग पराजित भएसँगै विश्व बरियताको शीर्ष स्थानको बेल्जियम सेमिफाइनलसम्म पनि पुग्न सकेन । बेल्जियन फुटबलको गोल्डेन जेनेरेसनका लागि अब विश्वकप २०२२ मा पहिलो उपाधि जित्ने ठूलो मौका हुन सक्छ ।

    प्रमुख खेलाडीहरू बिदा हुँदैछन्

    बेल्जियन गोल्डेन जेनेरेसनका लगभग सबै खेलाडी बिदा हुने अवस्थामा छन् । फुटबलमा प्राय ३० वर्ष कटेपछि खेलाडीहरूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने गरेका छन् । र, केही बेल्जियम फुटलबरले विश्वकप २०१८ पछि सन्यास पनि लिइसकेका छन् । म्यारोन फेलानी, मोसा डेम्बेले भिन्सेन्ट कम्पनीलगायतका खेलाडीले विश्वकप २०१८ को सेमिफाइनबाट बेल्जियम बाहिरिएपछि सन्यास लिएका थिए । आफ्नो समयका उत्कृष्ट यी खेलाडीले पनि राष्ट्रिय टोलीबाट केही हासिल गर्न सकेनन् ।

    क्‍वार्टरफाइनलबाट बाहिरिनु जति दु:खद् देखिएको छ, त्यो भन्दा दु:खद् खेलाडीले घर फर्किँदै गर्दा महसुस गर्नेछन् । किनभने, बेल्जियन टोलीबाट यो प्रतियोगिता खेलेका थोमस भर्मालेन ३५ वर्ष पुगिसकेका छन् । र, सम्भवत बेल्जियमबाट यो उनको अन्तिम प्रतियोगिता हो ।

    त्यस्तै यान भेट्रोङ्घन ३४ वर्ष पुगिसकेका छन् र टोलीमा आफ्नो स्थान बनाउन सक्छन् भन्नेमा विश्वस्त हुन सकिँदैन । टोबी अल्डरविरल्ड पनि ३२ वर्ष पुगिसके र केही वर्षमा सन्यास लिन सक्छन् ।

    फरवार्ड द्रृइस मर्टेन्स ३४, मिडफिल्डर अलेक्स विट्सेल ३२ र कप्तान इडेन हाजार्ड ३० वर्ष पुगिसके । हाजार्ड पछिल्लो समयमा चोटले गाँजिएका छन् र उच्च स्तरमा आफ्नो सतप्रतिशत प्रदर्शन दिन सकिरहेका छैनन् । शानदार प्रदर्शन गरिरहेका विट्सेलको भने २०२२ विश्वकप अन्तिम खेल हुनसक्छ ।

    टोलीका स्टार खेलाडीहरू केभिन डी ब्रुयना, रोमेलु लुकाकु र टिबाउट क्वर्टुवाको हकमा पनि धेरै समय बाँकी देखिँदैन । डी ब्रुयना र क्वर्टुवा करिब ३० वर्ष पुगिसके र उनीहरूका लागि २०२२ विश्वकप अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अन्तिम मौका हुन सक्छ ।

    ४-५ वर्षसम्म बेल्जियमको यो गोल्डेन जेनेरेसनमा लुकाकुले मात्रै सधैँ एकनास प्रदर्शन दिइरहेका हुन सक्छन् । तर, लुकाकुले एक्लैले चार वर्षपछि युरो जिताउने कुरामा विश्वस्त हुन सकिँदैन । त्यसैले यो टोलीसँग २०२२ विश्वकप अन्तिम मौका हो ।

    बेल्जियमको पछिल्लो इतिहास

    बेल्जियम मात्रै त्यस्तो देश हो, जसले विश्व बरियताको शीर्ष स्थानमा रहेकै बेला चार ठूला प्रतियोगिता (विश्वकप र युरो) खेलेर पनि उपाधि जित्न सकेको छैन । २०१८ विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियमले अन्तत: केही जित्ने अनुमान गरिएको थियो । तर, सेमिफाइनलमा फ्रान्ससँग पराजित भएसँगै कास्य पदक झुन्ड्याएर तेस्रो हुँदै घर फर्किनु परेको थियो ।

    २०१६ को युरोमा अहिलेको गोल्डेन जेनेरेसन साँच्चै उत्कृष्ट फर्ममा थियो । र, युरो २०१६ को उपाधि दाबेदार मानिएको थियो । तर, क्वार्टरफाइनलमा औसत वेल्ससँग पराजित भएसँगै गोल्डेन जेनेरेसन ‘जिरो’ उपलब्धिमा सीमित भएको थियो ।

    २०१२ युरो र २०१४ विश्कपमा क्वार्टरफाइनलसम्म पनि पुग्न नसेको बेल्जियम २०१८ मा विश्वकप जित्न अघि बढेको थियो । तर, सेमिफाइनलको पराजयसँगै फेरि गोल्डेन जेनेरेसन खाली हात भयो ।

    अन्तत: विगतलाई अगाडि बढ्न अब बेल्जियन टोलीमा पुनर्संगठन आवश्यक छ । बेल्जियमले केही खेलाडीलाई कहिले राष्ट्रिय टोली भित्र त कहिले बाहिर गरिरहेको छ । अब त्यसरी नचल्ने देखिन्छ । बेल्जियमको लिग खेलिरहेका केही उत्कृष्ट युवा खेलाडी छन्, तर उनीहरूले अहिलेसम्म राष्ट्रिय टोलीमा मौका पाएका छैनन् ।

    यदि बेल्जियमले साँच्चै आगामी दिनमा अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य राख्ने हो भने ती खेलाडीलाई अब टोलीमा ल्याएर स्टार खेलाडीसँग खेलाउनु आवश्यक छ । हामीले युरो २०२० मा पनि बेल्जियन टोलीमा उदीयमान युवा खेलाडीको कमी एकदमै महसुस भयो । विश्वकप २०२२ मा पनि बेल्जियमले केही हासिल गर्न सकेन भने गोल्डेन जेनेरेसनले अन्तर्राष्ट्रिय फुटबलबाट निराशाबाहेक केही पनि हासिल गर्न सक्ने छैनन् ।

    एजेन्सीबाट
  • डेब्यूको दशकपछि हेन्डर्सनले गरे पहिलो अन्तर्राष्ट्रिय गोल

    डेब्यूको दशकपछि हेन्डर्सनले गरे पहिलो अन्तर्राष्ट्रिय गोल

    काठमाडौं । एक दशकमा ६० भन्दा धेरै खेल खेलिसकेका इङ्लिस मिडफिल्डर जोर्डन हेन्डर्सनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका छन् । युरो २०२० को क्‍वार्टरफाइनलमा शनिबार राति भएको युक्रेनविरुद्धको खेलमा चौथो गोल गरेका हेन्डर्सनले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।

    लिभरपुलका ३१ वर्षीय कप्तान हेन्डर्सनले म्यासन माउन्टले प्रहार गरेको कर्नरलाई हेडरमार्फत् गोलमा परिणत गरेका थिए ।

    ‘यो मेरालागि एकदमै विशेष क्षण हो । मैले यसका लागि धेरै प्रतीक्षा गरेको छु,’ हेन्डर्सनले भने, ‘युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा पहिलो गोल गर्नु नराम्रो कुरा होइन ।’

    हेन्डर्सनले सन् २०१० मा इङ्लिस टोलीमा डेब्यू गरेका थिए । हेन्डरसनको युक्रेनविरुद्धको खेल इङ्ल्यान्डका लागि ६२औं खेल थियो । सुरुआती ११ मा नपरे पनि ५७औं मिनेटमा डेक्लान राइसको स्थानमा मैदान प्रवेश गरेका हेन्डर्सन ६ मिनेट नबित्दै गोल गरेका थिए ।

  • युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    एजेन्सी । युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो । फाइनल प्रवेशका लागि उसले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने तय भएको छ ।

    इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको थियो ।

    ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।

    समूह चरणमा गोल गर्न नसकेका ह्यारी खेल आफ्नो लयमा फर्किएका छन् । जर्मनीविरुद्ध पहिलो गोल गरेका उनले खेल सुरु भएको चार मिनेटमै रहिम स्टर्लिङसँगको सुन्दर तालमेलमा गोलको खाता खोलेका हुन् ।

    त्यसपछि युक्रेनले खेलमा आफ्नो पकड फिर्ता ल्याउनै सकेन । सन् २०१८ को विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्याण्ड लगातार ठूला प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ । इंग्ल्याण्डको जित निश्चित गर्न केनले अर्को गोल थपे भने ह्यारी मगायरले सानदार हेडर गोल गर्दा लुक श ले फ्रिकिकमार्फत गोल गरेका हुन् ।

    इंग्ल्याण्ड र डेनमार्कबीचको सेमिफाइनल खेल बुधबार वेम्बलीमा हुनेछ ।

  • डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो

    डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो

    काठमाडौं । क्‍वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

    शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।

    डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो । जेन्स स्ट्रिगर लार्सेनले बायाँतर्फबाट प्रहार गरेको कर्नरलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै डेलानेले डेनिस साइडलाई अग्रता दिलाएका थिए ।

    चेक टोलीमाथि हाबी बनेको डेनमार्कले पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा कास्पर डोलबर्गको गोलसँगै अग्रता दोब्बर पारेको थियो ।

    जोहाकिम मेहेलेले बायाँतर्फबाट गरेको क्रसलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इन गर्दै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारेका थिए ।

    पहिलो हाफमा २-० ले पछि परेको चेक टोलीले दोस्रो हाफको सुरुआतदेखि नै निरन्तर आक्रामक शैली अपनाएको थियो । जसको फलस्वरुप खेल पुन: सुरुआत भएको ४ मिनेट नबित्दै चेक टोलीले एक गोल फर्कायो ।

    जारी सिजन उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । तर, थप गोल गर्न नसक्दा डेनमार्कले २-१ को अग्रता जोगाउँदै २९ वर्षपछि अन्तिम ४ मा स्थान सुरक्षित गर्‍यो ।

    यसअघि अन्तिम पटक डेनमार्क १९९२ मा सेमिफाइनलमा मात्रै पुगेको थिएन, उपाधि पनि जितेको थियो । तर, समग्रमा भने डेनिस टोलीको यो तेस्रो सेमिफाइनल हो ।

    डेनमार्क १९८४ मा पनि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो । डेनमार्कले आजै हुने इङ्ल्यान्ड र युक्रेनबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ ।

  • बेल्जियमलाई हराउँदै इटाली युरो २०२० को सेमिफाइनलमा

    बेल्जियमलाई हराउँदै इटाली युरो २०२० को सेमिफाइनलमा

    काठमाडौं । विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

    निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

    पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए ।

    जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

  • युरो २०२०: स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेन सेमिफाइनलमा

    युरो २०२०: स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेन सेमिफाइनलमा

    काठमाडौं । स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

    सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।

    स्पेनले पाएको कर्नरमार्फत् आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार जकारियाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक शैली अपनाएको थियो ।

    बल पोसेसनमा हाबी बनेको स्पेनमाथि काउन्टर अट्याकको फाइदा उठाउँदै स्वीट्जरल्यान्डले ६८औं मिनेटमा आजका कप्तान शेर्डेन शकिरीको गोलसँगै बराबरी गरेको थियो ।

    दुई स्पेनिस डिफेन्डर अलमलमा परेको फाइदा उठाउँदै रेमो फ्रेउलरले कप्तान शकिरीलाई सुन्दर पास दिएका थिए । शकिरीले सोही पासको सदुपयोग गर्दै स्पेनिस गोलकिपर उनइ सिमोनलाई बिट् गर्दै स्वीट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

    त्यसको ९ मिनेट नबित्दै स्पेनिस फरवार्ड जेरार्ड मोरेनोमाथि खराब फाउल गरेका फ्रेउलरले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । फ्रेउलरले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको स्वीट्जरल्यान्डले ९० मिनेटसम्म स्पेनलाई रोकेर अतिरिक्त समयमा लगेको थियो ।

    अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    समूह एको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको स्वीट्जरल्यान्डले क्‍वार्टरफाइनल प्रवेशका लागि फ्रान्सलाई पराजित गरेको थियो । निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    पेनाल्टीमा सुरुआती पाँच प्रहारलाई गोलमा परिणत गरेको स्वीट्जरल्यान्डले फ्रेन्च फरवार्ड एम्बाप्पे असफल हुँदा जित निकाल्न सफल भएको थियो ।

    त्यस्तै, समूह ईको उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको थियो । प्रि-क्‍वार्टरफाइनलमा क्रोएसियामाथि अतिरिक्त समयमा  ५-३ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

    आजको जितसँगै सेमिफाइनलमा पुगेको स्पेनले आज राति नै हुने इटाली र बेल्जियमको विजेतासँग बुधबार खेल्ने छ ।

  • युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य

    युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य

    काठमाडौं । युरो २०२० को फाइनल पुग्नका लागि इङ्यान्ड सहज बाटोमा देखिन्छ । यद्यपि, जारी संस्करणका कुनै पनि टोलीविरुद्ध खेल्न सहज हुन्छ भन्नु मुर्खता सावित हुने स्पष्ट छ ।

    ग्यारेथ साउथगेटको इङ्लिस टोलीसामु अब युक्रेन खडा छ । इटालीको रोममा शनिबार हुने क्वार्टरफाइनल एन्ड्री सेभ्चेन्कोको युक्रेनलाई हराउन सके इङ्ल्यान्डले फाइनल प्रवेशका लागि डेनमार्क र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

    देशका सर्वकालिन महान् खेलाडीमध्ये एक खेलाडी तथा युक्रेनबाट एक मात्र बालोन डी’अर विजेता खेलाडी सेभ्चेन्कोको टोलीले अहिलेसम्ममा नै इतिहास रचिसकेको छ । युरोपियन च्याम्पियनसिपको इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको युक्रेन के सेमिफाइनल पुग्ला त ?

    युक्रेनको लय कस्तो ?

    सन् २००६ पछि पहिलो पटक ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको युक्रेन युरोमा भने पहिलो पटक अन्तिम ८ मा पुगेको हो । समूह चरणबाट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको युक्रेनले नर्थ मेसिडोनियाविरुद्ध २-१ को जित तथा नेदरल्यान्ड्स र अस्ट्रियाविरुद्ध क्रमश: ३-२ र १-० को पराजय बेहोरेको थियो ।

    विश्व बरियताको २४औं स्थानमा रहेको युक्रेनले अहिलेसम्म इङ्ल्यान्डलाई एक पटक मात्रै पराजित गरेको छ । सन् २००९ मा भएको विश्वकप छनोटमा युक्रेनले इङ्लिस टोलीविरुद्ध १-० को जित हासिल गरेको थियो ।

    कूल सात पटकको प्रयासमध्ये एक पटकमा मात्र युक्रेनले नतिजा आफ्नो पक्षमा पारेको छ । तीमध्ये एक जित २०१२ युरोको समूह चरणमा थियो । इङ्ल्यान्ड १-० ले विजयी भएको त्यो खेलमा वाइन रूनीले एक मात्र निर्णायक गोल गरेका थिए । यी दुई टोलीबीचको अन्तिम भिडन्त भने २०१४ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा फ्रान्क लाम्पार्डले गरेको गोलमा इङ्ल्यान्ड हारबाट जोगिएको थियो भने नतिजा १-१ को बराबरीमा टुङ्गिएको थियो ।

    सेभ्चेन्कोको युक्रेनी टोली विश्वकप छनोट चरणमा समूहमा तेस्रो स्थानमा छ । युक्रेनले सुरुआती तीन खेलबाट ३ अंक जोडिसकेको छ ।

    यसै वर्ष भएका खेलहरूमा युक्रेनले फ्रान्स, कजाकस्तान र फिनल्यान्डसँग बराबरी खेलेको थियो ।

    यार्मोलेन्को- एक खतरा खेलाडी

    युक्रेनसँग भएको सबैभन्दा ठूलो अस्त्र हुन्, वेस्ट ह्याम युनाइटेडका एन्ड्री यार्मोलेन्को । शनिबारको खेलका लागि यार्मोलेन्को तयार हुन्छन् कि हुँदैनन् भन्ने सेभ्चेन्कोका लागि चिन्ताको विषय हुनसक्छ । यार्मोलेन्कोलाई कुनै पनि हालमा बेन्चमा सीमित गर्न चाहँदैनन् । उनी स्वीडेनविरुद्धको प्रि-क्वार्टरफाइनलको खेलमा अतिरिक्त समयको पहिलो हाफमा चोटका कारण बाध्य भएर सब्स्टिच्युट भएका थिए ।

    गत सिजन डेभिड मोयेसको वेस्ट ह्यामबाट १५ खेल मात्र खेलेका ३१ वर्षीय यार्मोलेन्कोले युक्रेनका लागि सुरुआती तीन खेलमा दुई गोल तथा एक असिस्ट गरिसकेका छन् ।

    बोरुसिया डर्टमन्डका पूर्व फरवार्ड यार्मोलेन्कोले ह्याम्पडेनमा स्वीडेनविरुद्ध तीन उत्कृष्ट पास निकालेका तथा ओलेक्सान्डर जिन्चेन्कोको गोलका लागि उत्कृष्ट असिस्ट प्रदान गरेका थिए । योसँगै ठूला प्रतियोगितामा कुनै पनि ठूला प्रतियोगितामा पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट भएका यार्मोलेन्को दोस्रो खेलाडी बनेका छन् । यसअघि प्रशिक्षक सेभ्चेन्कोको पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट थियो ।

    उत्कृष्ट फर्ममा भएका यार्मोलेन्को र कप्तान जिन्चेन्कोको उच्च मनोबलप्रेरित युक्रेन इङ्ल्यान्डविरुद्ध जित निकाल्दै पहिलो पटक युरोपियन सेमिफाइनलमा पुग्न चाहन्छ ।

    यद्यपि, १९६६ पछि पहिलो पटक ठूला प्रतियोगिताको नकआउटमा जर्मनीलाई पराजित गरेको इङ्ल्यान्डविरुद्धको खेल युक्रेनका लागि फलामको चिउरा चपाउनु समान हुनेछ ।

  • युरो २०२० का १० सर्वाधिक गोलकर्ता

    युरो २०२० का १० सर्वाधिक गोलकर्ता

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको युरो २०२० को समूह चरण र अन्तिम १६ का खेलहरू सकिइसकेका छन् । पहिलो चरणबाट १६ टोली र नकआउटबाट ८ गरी क्वार्टरफाइनल समिकरण पनि पूरा भइसकेको छ ।

    केही रोमाञ्चक नकआउट खेलहरूबाट २०१२ पछिका युरो र विश्वकप विजेता सबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको साविक विजेता पोर्चुगल बेल्जियमसँग १–० गोलको नतिजामा पराजित हुँदै बाहिरियो भने २०१४ विश्वकपको च्याम्पियन जर्मनीलाई इङ्ल्यान्डले २-० को नतिजामा पराजित गर्दै घर फर्काइदियो ।

    यस्तै, २०१८ विश्वकपको च्याम्पियन फ्रान्स स्वीट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ को पराजय बेहोर्दै बाहिरिएसँगै अब पछिल्लो दशकमा ठूला प्रतियोगिता जितेको स्पेन मात्र बाँकी छ ।

    क्वार्टरफाइनलका खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् । तर, सुरुआती चरणमै केही खेलाडीले पर्याप्त गोल गरिसकेका छन् ।

    अन्तिम १६ पछि युरो २०२० मा सर्वाधिक १० गोलकर्ताको सूची यस्तो छ ।

    • क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) ५ गोल
    • प्याट्रिक शिक (चेक रिपब्लिक) ४ गोल
    • करिम बेन्जिमा (फ्रान्स) ४ गोल
    • एमिल फोर्सबर्ग (स्विडेन) ४ गोल
    • रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) ३ गोल
    • ह्यारिस सेफेरोभिच (स्वीट्जरल्यान्ड) ३ गोल
    • राहिम स्टर्लिङ (इङ्ल्यान्ड) ३ गोल
    • रोमेलु लुकाकु (बेल्जियम) ३ गोल
    • जर्जिनियो विज्नाल्डम (नेदरल्यान्ड्स) ३ गोल
  • फ्रान्स बलियो भएर फर्किने छ: पोग्बा

    फ्रान्स बलियो भएर फर्किने छ: पोग्बा

    काठमाडौं । पौल पोग्बाले फ्रान्स अन्तर्राष्ट्रिय फुटबलमा बलियो बनेर फर्कने वाचा गरेका छन् । युरो २०२० को अन्तिम-१६ बाटै फ्रान्स बाहिरिएपछि पोग्वाले बलियो भएर फर्कने र फुटबल कहिले निर्दयी र कहिले एकदमै आनन्ददायी हुने बताए ।

    प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदार मानिएको फ्रान्स अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग रोमाञ्चक लडाईंको पेनाल्टी सुट आउटमा ५-४ गोलको नतिजामा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ । युरो २०१६ को फाइनलमा पुगेको र विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३-१ को नतिजा बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीसम्म पुगेको खेलको पेनाल्टी सुट आउटमा फ्रान्स पराजित भएको थियो ।

    ‘त्यो खेलले हामीलाई दु:ख लाग्यो तर हाम्रा प्रतिस्पर्धीलाई खुसी,’ पोग्बाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो नै फुटबलको सुन्दर पक्ष हो । हामीले पनि सकारात्मक नतिजाको अपेक्षा पक्कै गरेका थियौं ।’

    ‘हामी हाम्रो शीर उच्च राखेर अझै बलियो भएर फर्कने छौं,’ पोग्बाले भने, ‘अन्त्यमा म स्वीट्जरल्यान्डलाई बधाई दिन चाहन्छु ।’

  • स्वीडेनलाई हराउँदै युक्रेन क्‍वार्टरफाइनलमा

    स्वीडेनलाई हराउँदै युक्रेन क्‍वार्टरफाइनलमा

    काठमाडौं । अन्तिम-१६ अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनमाथि २-१ गोलको नतिजामा जित निकाल्दै युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    मंगलबार राति स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई जित दिलाउन ओलेकसान्डर जिन्चेन्को र आर्टेम डोब्याकले एक/एक गोल गरे ।

    यस्तै, स्वीडेनका लागि एमिल फोर्सबर्गले एक गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमार्फत् नतिजा लिइएको थियो ।

    अतिरिक्त समयको पनि निर्धारित ३० मिनेटमा गोल हुन नसकेको खेलको इन्जुरी समय १२१औं मिनेटमा स्वीडेनका ढोब्याकले गरेको गोलसँगै युक्रेनले पहिलो पटक युरोपियन च्याम्पियनसिपमा क्‍वार्टरफाइनल यात्रा तय गरेको थियो । यद्यपि, सोभियत युनियनको एक देश हुँदा भने एक पटक च्याम्पियनसमेत बनेको थियो ।

    जितसँगै अन्तिम ८ मा पुगेको युक्रेनले सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ । इङ्ल्यान्ड जर्मनीलाई २-० को नतिजामा पराजित गर्दै क्‍वार्टरफाइनलमा पुगेको हो ।

  • युरो २०२०: जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्‍वार्टरफाइनलमा

    युरो २०२०: जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्‍वार्टरफाइनलमा

    काठमाडौं । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङ र कप्तान ह्यारी केनले १/१ गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इङ्ल्यान्डले अन्तिम ८ स्थान सुरक्षित गर्‍यो ।

    इङ्ल्यान्डले जर्मनीलाई ठूला प्रतियोगितामा १९६६ पछि पराजित गरेको पहिलो पटक हो । जितसँगै क्‍वार्टरफाइनलमा पुगेको इङ्ल्यान्डले स्वीडेन र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।

    २०१४ को विश्वकप विजेता जर्मनी युरो २०१६ को सेमिफाइनलबाट बाहिरिएको थियो भने २०१८ विश्वकपमा समूह चरण पार गर्न असफल भएको थियो ।

  • जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो

    जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो

    काठमाडौं । विश्व फुटबलमा सबैभन्दा ठूलो दुश्मनी जर्मनी र इङ्ल्यान्डभन्दा अरू छैन । यी दुई देशबीच दशकौंदेखि भएका भिडन्तका कयौं इतिहास सम्झनालायक छन् । इङ्ल्यान्ड समर्थकहरूले त पेनाल्टीमा झन् धेरै वर्षदेखि पीडादायी क्षण भोग्नुपरेको परेको छ ।

    फेरि एक पटक मंगलबार युरो २०२० को नकआउटमा जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदा दुवै देश इतिहासमा नयाँ अध्याय थप्न तयार छन् । क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नु दुवै टोलीको एउटै उद्देश्य हुनेछ ।

    सन् २०१४ को विश्वकप जितेको जर्मनीको हात पछिल्लो समयमाथि देखिन्छ । तर, इङ्ल्यान्डसँगको प्रतिस्पर्धा कठिन हुनेमा शंका छैन । जर्मन समर्थकहरू यो प्रतिस्पर्धालाई लिएर आत्मविश्वास पनि कमजोर छैनन् ।

    सन् १९८७ मा इङ्ल्यान्डबाट जर्मनी सरेका स्टुआर्ट दाइक्स दोहोरो नागरिक हुन् । बुन्डेसलिगा क्लबको कार्यालयमा काम गरेको एक फुटबल समर्थक भएकोले उनले दुवैको आँखाबाट प्रतिस्पर्धा देखेका छन् ।

    ‘मलाइ लाग्छ, जर्मनीको लागि पनि यो सबैभन्दा ठूलो खेल हो’, उनी सिएनएनसँग भन्छन् । ‘इङ्ल्यान्डविरुद्ध जर्मनीको चार्म बाँकी सबै भन्दामाथि छ । फुटबल परिदृष्यमा जर्मनीका लागि अरू ठूल्ठूला खेलहरू होलान् । तर, पृष्ठभूमि, इतिहास र अर्थको आधारमा ती सबै खेल भन्दा इङ्ल्यान्डविरुद्धको भिडन्त नै ठूलो हुन्छ । इङ्ल्यान्ड फुटबलको घर हो । वेम्ब्ली फुटबलको घर हो । त्यसैले यो जर्मनीका लागि विशेष छ । यति भनिरहँदा पनि उनीहरू(जर्मन)मध्ये धेरैलाई सधैंझैँ जितिन्छ भन्ने लागेको हुनसक्छ ।’

    विश्व फुटबललाई नै परिवर्तन गर्ने त्यो खेल

    सन् २०१० मा जर्मनीसँग भएको प्रतिस्पर्धा इङ्ल्यान्ड समर्थकहरू सम्झन चाहँदैनन् । दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा भएको प्रतिस्पर्धामा जर्मनीले इङ्ल्यान्डलाई ४-१ गोलको नतिजामा हराएको थियो । त्यसको नजिताको बाबजुद त्यो दिनको खेलका गतिविधिहरूले फुटबललाई सधैंका लागि परिवर्नत गर्‍यो ।


    फ्रांक लाम्पार्डको ‘घोस्ट गोल’को त्यो खेल सधैं सम्झना भइरहेनेछ । जुन गोल विश्व फुटबलमा गोललाइन प्रविधि भित्र्याउनु पर्ने कारण बन्यो ।

    २-१ गोलको नतिजा जारी खेलको मध्यपंक्तिका इङ्लिस खेलाडी लाम्पार्डले जर्मन गोलकिपर मानुएल नोएरको गोलपोस्टमा छिराएर बराबर गरेको सोचे । क्रसबार र गोल लाइनबाट पार भएर बल फर्किए पनि त्यो दिनका म्याच अफिसियलहरूले देखेनन् । र, गोलले मान्यता पाएन ।

    यसले इङ्ल्यान्डमा व्यापक आक्रोश पैदा गर्‍यो । फुटबलको नियामक निकायलाई माफी मगाउन र फुटबलमा नयाँ प्रविधि भित्राउन माग भयो ।

    र, अर्को संस्करणको फिफा विश्वकप २०१४ बाट गोललाइन प्रविधिको प्रयोग भयो । त्यसपछिको २०१८ को संस्करणमा त भिडियो असिस्टेन्ट रेफ्रि (भार)को पूरा प्रचलन आयो । ‘यसले खेलमा राम्रो परिवर्तन ल्यायो’, लाम्पार्डले भनेका थिए, ‘यस बारेमा म खुशी छु । गोललाइन प्रविधि समग्र खेलका लागि सकरात्मक कदम भएको छ ।’

    पेनाल्टी पीडा

    जर्मनीसँगको प्रतिस्पर्धामा इङ्ल्यान्डलाई सधैं ध्वंश र अन्धकार मात्रै छैन । डेभिड बेक्याम, स्टेभेन जेरार्ड र माइकल ओवेनले नेतृत्व गरेको इङ्ल्यान्डले सन् २००१ को विश्वकप छनौट खेलमा जर्मनीलाई ५-१ अन्तरले हराएको थियो । सन् १९६६ मा इङ्ल्यान्डले जितको पहिलो र एक्लो विश्वकप फाइनलमा पनि जर्मनीलाई नै हराएको थियो ।

    त्यो खेलमा पनि एक गोल विवादास्पद बन्यो । एलन बलले दिएको क्रसमा जेफ हर्ट्सले बल नियन्त्रण गरे । गोलकिपरलाई बिट गर्दै बल माथि हाने । बल क्रमबारमा ठोक्किएर हुत्तिँदै भुइँमा बजारियो । यसले लाइन पार गरेको भनेर भन्न असम्भव बनायो ।

    दुवैतर्फबाट हात उठे । केही मिनेटको समय तनावग्रस्त बन्यो । अजरबैजानका लाइन्सम्यान तोफिक बाक्रामोभले सुरुमा गोलको मान्यता दिएनन् । पछि रेफ्रीसँग सल्लाह गरेर गोलको मान्यता दिए । त्यपछि ३-२ को गोल नतिजा भयो । पछि इङ्ल्यान्डले ४-२ अन्तरले उपाधि जित्यो । त्यो नै अहिलेसम्मको इङ्ल्यान्डले जितको एक्लो विश्वकप उपाधि हो ।

    त्यसपछिका इङ्ल्यान्डका सफलता थोरै र धेरै अन्तरालका बीचमा मात्रै भएका छन् । इङ्ल्यान्डले अधिकांश हृदयघात हुने खालका प्रतिस्पर्धाहरू पेनाल्टीमै भोगेको छ ।

    सन् १९९० को विश्वकप र १९९६ को युरो दुवैको. सेमिफाइनलबाट पेनाल्टीमै जर्मनीसँग हारेर इङ्ल्यान्ड बाहिरिएको थियो ।

    सन् १९९० मा इङ्ल्यान्ड पाउल ग्यासकोइ आँशु खसालेर बाहिरिएका थिए । पहेलो कार्ड पाएर बाहिरिएका उनी फाइनमा पुगेको खण्डमा खेल्न वञ्चित हुने सम्झिएर रोएका थिए ।

    एउटा उक्ति छ: २२ जनाले एउटा बलको पछि ९० मिनेटसम्म कुद्छन् । अन्तिम सधैं जर्मनीले जित्छ ।

    अहिलेका इङ्ल्यान्ड टोलीका मुख्य प्रशिक्षक गेराथ साउथगेटले वेम्ब्लीमा भएको १९९६ को निर्णायक पेनाल्टी मिस गरेका थिए । इङ्ल्यान्ड समर्थकहरू मंगरबारको खेलमा त्यो अवस्था नआओस् भनेर प्रार्थाना गरिरहेका हुनेछन् ।

    ‘जर्मनीका सथर्मकहरूको एउटा कुख्यात चुट्किला छ । पेनाल्टी हान्नमा इङ्ल्यान्डका खेलाडीहरू धेरै खराब छन्,’ दाइक्स भन्छन् ।

    ‘मेलै एक समाचार शीर्षक हेरेको थिए जहाँ लेखिएको थियो इङ्ल्यान्डले जर्मनीलाई जित्नसक्छ तर, पेनाल्टीमा होइन । यो अहिलेको क्षणमा आएको कुरा यहि हो । साँचो भएर भन्दा दुवै टोलीले राम्रोसँग खेलिरहेका छैनन् । र, त्यो उनीहरूको मानसिकता भएको हुनसक्छ । जहाँ जर्मनीलाई केही फाइदा हुन सक्छ ।’

    वेम्ब्लीको जादु

    कोभिड-१९ को प्रतिबन्धका बीच ४० हजार समर्थकहरूले प्रत्यक्ष खेल हेर्नेछन् । र, दाइक्स वेम्ब्ली जर्मनी र इङ्ल्यान्ड दुवैका समर्थकहरूका लागि जादुमयी स्थान भएको बताउँछन् ।

    ‘मैत्रीपूर्ण खेलमासमेत वेम्ब्लीमा जित निकाल्नु धेरै ठूलो कुरा हो । कोभिड निषेधका कारण त्यहाँ धेरै जर्मनी सथर्मकहरू नहुनु दु:खद् कुरा हो । जर्मनी फुटबल समर्थकहरूका लागि वेम्ब्ली उत्कृष्ट ठाँउ हो’, उनी भन्छन् ।

    अझै पनि राजनीतिक विगत र दुई वटा विश्वयुद्धको कुरा कोट्याएर अस्वस्थ्य तुलना गर्नेहरू छन् । खासगरी अंग्रेजी ट्याब्लोइड अखबारबाट यस्तो हुन्छ ।

    तर, अधिकांशले यो जस्तो वास्तविकता हो, त्यसरी नै हेर्छन् । अरू कुनै फुटबलसँग तुलना नहुने इतिहास भएका प्रतिभाशाली खेलाडीहरूले भरिएका दुई फुटबल शक्तिको रूपमा हेर्छन् ।

    ‘हामी खेलाडीको रूपमा धेरै इतिहासको बारेमा सोच्दैनौं । यो यहाँको र अहिलेको सवाल हो । जमर्नी कुन पक्षमा बलियो छ कुन पक्षमा हामीले फाइदा लिएर उनीहरूलाई तनाव दिन सक्छौँ हामी त्यो सोच्छौं’, इङ्ल्यान्डका खेलाडी जोर्डन ह्यान्डरसनले पत्रकारहरुलाई बताएका छन् ।

    इङ्ल्यान्डले युरो २०२० को प्रि-क्‍वार्टरफाइनलमा मंगलबार राति ९:४५ बजे वेम्ब्लीमा जर्मनीको सामना गर्दैछ ।

    सिएनएन स्पोर्ट्सबाट
  • युरो २०२०: फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्यान्ड पहिलो पटक क्‍वार्टरफाइनलमा

    युरो २०२०: फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्यान्ड पहिलो पटक क्‍वार्टरफाइनलमा

    काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा रोकिएको थिइ भने ३० मिनेटको अतिरिक्त समयमा बाँकी गोल हुन नसक्दा नतिजा पेनाल्टी सुटआउट मार्फत् गरिएको थियो ।

    फ्रान्सका लागि करिम बेन्जिमाले दुई तथा पौल पोग्बाले एक गोल गरेका थिए भने स्वीटजरल्यान्डका लागि ह्यारीस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरेका थिए ।

    फ्रान्सका स्टार फरवार्ड किलियान एम्बाप्पेले हानेको पेनाल्टी स्वीस गोलकिपर यान सोम्मरले बचाएसँगै स्वीट्जरल्यान्डले युरोपियन च्याम्पियनसिपमा पहिलो पटक क्‍वार्टरफाइनलको यात्रा तय गरेको हो ।

    स्वीट्जरल्यान्डका पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्न सकेका थिए भने फ्रान्सले ४ वटा प्रहारलाई मात्रै जाली चुमाउन सकेको थियो । स्वीट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्पेनको सामना गर्नेछ ।

  • क्रोएसियाविरुद्ध नाटकीय जित निकाल्दै स्पेन क्‍वार्टरफाइनलमा

    क्रोएसियाविरुद्ध नाटकीय जित निकाल्दै स्पेन क्‍वार्टरफाइनलमा

    काठमाडौं । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियालाई ५-३ गोलको नतिजामा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    डेनमार्कमा भएको खेलको निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा २ गोल गर्दै स्पेनले ५-३ को जित सुनिश्चित गर्‍यो ।

    स्पेनको जितमा पाब्लो साराबिया, सिजर एज्पिलिक्युएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयर्जाबालले एक/एक गोल गरे ।

    त्यस्तै क्रोएसियाका लागि स्पेनका पेड्रीले आत्मघाती तथा क्रोएसियन मिस्लभ ओर्सिक र म्यारियो पासालिकले एक/एक गोल गरे ।

    पराजयसँगै विश्वकप २०१८ को उपविजेता क्रोएसिया अन्तिम १६ बाटै बाहिरिएको छ भने स्पेन पछिल्ला तीन ठूला प्रतियोगितापछि पहिलो पटक क्‍वार्टरफाइनलमा पुगेको हो ।

  • साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा

    साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा

    काठमाडौं । साविक विजेता पोर्चुगलविरुद्ध १-० गोलको कठिन जित निकाल्दै विश्व नम्बर एक बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    अन्तिम १६ अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा थोमस मिनुएरको पासमा हाजार्डले गरेको गोलसँगै बेल्जियमले अग्रता लिएको थियो ।

    दोस्रो हाफमा बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले पुनरागमन गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।

    जितसँगै क्‍वार्टरफाइनलमा पुगेको बेल्जियमले ३ जुलाईमा इटालीसँग खेल्ने छ ।

  • युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

    युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

    काठमाडौं । नेदरल्यान्ड्सलाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो ।

    पहिलो हाफदेखि नै नेदरल्यान्ड्समाथि निरन्तर दबाब बनाएको चेक टोलीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

    नेदरल्यान्ड्सका भरपर्दा डिफेन्डर म्याथिस डी लाइटले चेक टोलीको गोल गर्ने मौकामा जानेरै हातले बल तानेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रातो कार्डका लागि पहल गरेका थिए ।

    भिडियो असिस्टेन्ट रेफ्रीको सुझावसँगै साइड स्क्रिनमा रिप्ले हेरेका रुसी रेफ्री सर्जेइ कारासेभले डी लाइटलाई रातो कार्ड देखाएका थिए ।

    डी लाइटले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि डच टोली १० जनामा सीमित भएको थियो ।

    दश जनामा सीमित भएको नेदरल्यान्ड्समाथि प्रभुत्व जमाएको चेक गणतन्त्रले मिडफिल्डर थोमस होलेसले ६८औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो ।

    एक जना खेलाडीको घाटा बेहोरेको डच रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको चेक टोलीका लागि उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले दोस्रो गोल गरे । शिकले ८०औं मिनेटमा गरेको गोलसँगै २-० ले पछि परेको नेदरल्यान्ड्सले खेलमा पुनरागमन गर्न नसक्दा घर फर्कनु परेको हो ।

    सन् २०१४ को विश्वकपपछि पहिलो पटक ठूला प्रतियोगितामा स्थान बनाएको डच टोलीले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो ।

    चेक टोलीले क्‍वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि-क्‍वार्टरफाइनलमा वेल्सलाई ४-० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ ।

  • पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो

    पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो

    काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि विश्व नम्बर एक बेल्जियम र युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगल भिड्दै छन् । नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे स्पेनको सेभियामा हुने खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुमाथि सबैको नजर हुनेछ ।

    यी दुई खेलाडीले मात्रै जारी युरोमा ८ गोल गरिसकेका छन् । जारी युरोका सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले तीन खेलमा पाँच गोल गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ताको कीर्तिमान एकलौटी बनाउन अब एक गोल मात्रै बाँकी छ ।

    टिम न्यूज

    आजको खेलमा लेस्टर सिटीका मिडफिल्डर योरी टिलेमन्स बेल्जियन टोलीमा फर्किन सक्नेछन् । टिलेमन्सले बेल्जियमबाट सुरुआती दुई खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए भने फिनल्यान्डविरुद्धको खेलमा अनुपस्थित थिए ।

    वुल्भ्सका डिफेन्डर नेलसन सेमेडो फ्रान्सविरुद्धको खेलमा सामान्य घाइते भएका थिए । तर, उनले आजको खेलमा भने पुनरागमन गर्ने सम्भावना प्रवल देखिन्छ ।

    अन्तिम खेलमा फ्रान्सविरुद्ध सुरुआती-११ मा नपरेका ब्रुनो फर्नान्डेज बेल्जियमविरुद्ध टोलीमा पुनरागमन गर्ने आशामा छन् ।

    यहाँसम्मको यात्रा

    फिफा बरियताको शीर्ष स्थानमा रहे पनि बेल्जियमले अहिलेसम्म विश्व फुटबलका ठूला प्रतियोगिता जितेको छैन ।

    नेदरल्यान्ड्स र इटालीसँगै रोबर्टो मार्टिनेजको बेल्जियम समूह चरणबाट सर्वाधिक तीन अंक हासिल गर्ने तेस्रो टोली हो ।

    इटाली र डच टोलीले तीनै खेल घरेलु मैदानमा खेलेका थिए । तर, बेल्जियमले भने दुई खेल रुसमा र एक खेल कोपनहेगन डेनमार्कमा खेलेको थियो ।

    युरो २०१६ को च्याम्पियन पोर्चुगलले तेस्रो स्थानमा समूह चरण टुङ्ग्याएर पनि नकआउटमा स्थान बनाएको थियो ।

    जर्मनीसँग ४-२ ले पराजित भएको पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गरेको थियो भने फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

    फरवार्डको लडाईँ कसले जित्ला ?

    विश्वकप २०१८ पछि लुकाकुले बेल्जियमका लागि २१ खेलमा २३ गोल र ४ असिस्ट ठोकिसकेका छन् ।

    इन्टर मिलानका फरवार्ड लुकाकुले समूह चरणका तीन खेलमा पनि तीन गोल गरिसकेका छन् । ती मध्ये दुई गोल उनले रुसविरुद्धको खेलमा गरेका थिए ।

    पोर्चुगिज स्टार रोनाल्डो युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता हुन् । त्यती मात्रै नभएर उनी ठूला प्रतियोगिता (युरो र विश्वकप)मै सर्वाधिक २१ गोल गर्ने खेलाडी हुन् । उनले गत हप्ता मात्रै जर्मनीका पूर्व खेलाडी मिरोस्लभ क्लोससँगको कीर्तिमान एकलौटी बनाएका थिए ।

    यसअघिका दुई तीनमध्ये दुई खेलमा दुई/दुई गोल गरेका रोनाल्डो उत्कृष्ट फर्ममा छन् । अहिलेसम्म युरोपियन च्याम्पियसिपको इतिहासमा कसैले पनि एकै संस्करणका तीन खेलमा दुई गोल गरेको छैन ।

    ‘उनको उमेरमा अझै पनि उनी चम्किरहेका छन्, म उनी जस्तै उपलब्धि हासिल गर्न चाहन्छु,’ ३६ वर्षीय रोनाल्डोबारे २८ वर्षीय बेल्जियन फरवार्ड लुकाकुले भनेका छन् ।

    म्याच फ्याक्ट्स

    • यी दुई टोलीको ठूला प्रतियोगितामा यो पहिलो भेट हो ।
    • सबैखाले प्रतियोगितामा गरी बेल्जियमविरुद्धका पाँच खेलमा पोर्चुगल अपराजित छ । तीमध्ये तीन खेलमा जित तथा दुई बराबरी खेलेको छ ।
    • बेल्जियमले अन्तिम पटक पोर्चुगललाई १९८९ को सेप्टेम्बरमा विश्वकप छनोटमा ३-० गोलको नतिजामा पराजित गरेको थियो ।
    • रोबर्टो मार्टिनेजको नेतृत्वमा खेलेका बेल्जियमले पछिल्ला ५८ खेलमध्ये दुई खेलमा मात्रै गोल गर्न सकेको छैन ।
    • जारी युरो २०२० मा बेल्जियमबाट १३४ मिनेट मात्रै खेलेका केभिन डी ब्रुयनाले एक गोल र दुई असिस्ट गरिसकेका छन् ।
    • युरो २०२० तीन खेलमा पोर्चुगलले ६ गोल खाइसकेको छ । यो २०१६ मा उपाधि जित्दा फर्नान्डो सान्तोषको टोलीले प्रतियोगिताभर खाएको भन्दा एक गोल धेरै हो ।
    • लगातार दोस्रो पटक पोर्चुगल समूह चरणबाट तेस्रो टोलीको रूपमा नकआउटमा पुगेको हो । यसअघि २०१६ मा पनि यसरी नै नकआउटमा पुगेर उपाधि उचाल्न सफल भएको थियो ।
    • समूह चरणका तीन खेलमा ४ अंक मात्र हासिल गर्नु युरोको साविक विजेता टोलीको २००८ मा ग्रीसपछि सबैभन्दा कमजोर पुनरागमन हो ।
  • लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

    लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

    काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको इटालीले दोस्रो हाफमा दबाब सहनु परेको थियो ।

    तर, सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शन प्रेरित इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो ।

    इटालीका लागि ८४औं मिनेटमा डोमेनिको बेरार्डको स्थानमा मैदान प्रवेश गरेका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं अर्थात् ९५औं मिनेटमा अज्जुरीको डेडलक तोडेका थिए ।

    उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

    नियमित समयको ६७औं मिनेटमा निकोलो बेरेलाको स्थानमा मैदान प्रवेश गरेका पेस्सिनाले फ्रान्सेस्को अक्रेबीको पासको सदुपयोग गर्दै अतरिक्त समयको इन्जुरी समयमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारेका थिए ।

    अतिरिक्त समयको पहिलो हाफमा २-० ले पछि परेको अस्ट्रियाका लागि पनि सब्स्टिच्युट खेलाडी सासा कलाड्जिकले ११४औं मिनेटमा एक गोल फर्काए ।  खेलको ९७औं मिनेटमा मार्को अर्नाउटोभिचको स्थानमा मैदान प्रवेश गरेका कलाड्जिकले लुइस साकबले प्रहार गरेको कर्नरलाई हेडरमार्फत् जाली चुमाएका थिए ।

    तर, ६१औं मिनेटमा अर्नाउटोभिचले गरेको गोल अफसाइडका कारण भिडिओ असिस्टेन्ट रेफ्रीले रद्द गरिदिँदा अस्ट्रिया दुर्भाग्यशाली सावित भयो ।

    जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले पोर्चुगल र बेल्जियमसँग खेल्ने छ ।

  • १७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो

    १७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो

    काठमाडौं । अन्तिम-१६ अन्तर्गत शनिबार भएको नक आउटको पहिलो खेलमा वेल्सलाई ४-० गोलको फराकिलो नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।

    नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्समाथि हाबी बनेको डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे ।

    वेल्समाथि हाबी बनेको डेनमार्कले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका डोलबर्गले २७औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

    दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आक्रामक शैलीमा प्रस्तुत भएको डेनमार्कका लागि ८८औं मिनेटमा मेहेले गोल गरे ।

    निर्धारित ९० मिनेटसम्म हाबी बनेको डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्‍यो ।

    शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

    सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । सेमिफाइनल प्रवेशका लागि डेनमार्कले अब नेदरल्यान्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

  • युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ?

    युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ?

    काठमाडौं । करिब ३० वर्षअघि डेनमार्कले असम्भवलाई सम्भव पार्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । र, अहिले त्यो समयका खेलाडीहरू गन्य-मान्य सेलेब्रिटीको रूपमा प्रतिष्ठित छन् । त्यो टोलीलाई देशको सपना बुझेका लिजेन्डहरूको समूह पनि भनिन्छ ।

    र, अहिले त्यो सफलता दोहोर्‍याउनका लागि डेनमार्कसँग नयाँ हिरोहरू छन् । युरो २०२० को पहिलो खेलका दौरान प्लेमेकर क्रिस्टयन एरिकसन मैदानमै ढलेपछि भावविह्वल बनेको डेनिस टोली उनको स्वास्थ्यमा भइरहेको सुधारसँगै उनीप्रति समर्पित र पुनर्जिवितझैँ भएको छ ।

    शनिबार युरो २०२० को पहिलो नकआउटमा डेनमार्कले वेल्सको सामना गर्दैछ । तर, के डेनिस टोलीले १९९२ को त्यो प्रसिद्ध सफलता दोहोर्‍याउलान् ?

    किनाराबाट फर्किएर युरोपियन च्याम्पियन बन्दा

    डेनमार्कको वर्तमानमा होइन, इतिहास हेर्ने हो भने पनि अविश्वसनीय सफलता भेट्टाइन्छ । करिब २९ वर्ष अगाडि स्वीडेनमा भएको युरो १९९२ मा डेनिस टोली च्याम्पियन बनेको थियो । त्यो पनि छनोट नभई ।

    डेनमार्क छनोट चरणमा युगोस्लाभियाभन्दा पछाडि परेको थियो । र, युरो १९९२ मा छनोट भएको थिएन । युरोमा छनोट हुन नसकेपछि डेनिस खेलाडी छुट्टी मनाउन निस्किने तयारीमा थियो । तर, मुलुक युद्धमा होमिएकाले युगोस्लाभिया आठ टोलीको प्रतियोगिताबाट निष्कासित भयो र अन्तिम समयमा डेनमार्कले प्रतियोगिता खेल्ने निम्तो पायो ।

    तयारी कम हुनका बाबजुद पनि आयोजक स्वीडेन, इङ्ल्यान्ड, फ्रान्ससमेत रहेको टोलीबाट डेनमार्कले सेमिफाइनलमा स्थान बनायो । अन्तिम खेलमा जर्मनीलाई पराजित गर्दै डेनिस टोली त्यहाँसम्म पुगेको थियो ।

    त्यो समयमा डेनमार्कको टोली बलियो थियो । गोलकिपर पिटर स्माइकल, मिडफिल्डर जोन जेन्सेन र ब्रियान लौड्रुप टोलीमा थिए । त्यो वर्ष सेमिफाइनलमा स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सलाई डेनमार्कले हराउँदा गोलकिपर स्माइकल देशका हिरो बनेका थिए । उनले मार्को भान बास्टेनको पेनाल्टी बचाएसँगै २-२ को बराबरीपछि डेनमार्क सुटआउटमा विजयी हुँदै फाइनल पुगेको थियो ।

    विश्वकप विजेता जर्मनीविरुद्धको फाइनलमा पुन: एक पटक स्माइकल नायक सावित भएका थिए । उनले जर्मनीका कार्ल-हेन्ज रिड्ले, स्टेफन रोएट र गुइदो बुच्वाल्डको प्रहार असफल बनाएका थिए । खेलमा कमै मात्र मौका सिर्जना गर्ने अवसर पाएको डेनमार्कले जेन्सेन र किम भिल्फोर्टको गोलमा सनसनीपूर्ण २-० को जित निकालेको थियो ।

    अहिले पनि डेनमार्कको गोलपोस्टमा एक स्काइकल नै छन् । कास्पर स्माइकल, डेनिस गोलकिपरले आफ्ना बुबाको करिअर फलो गर्दै लेस्टर सिटीबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन् । उनका बुबा पिटरले म्यानचेस्टर युनाइटेडबाट ती उपाधि जितेका थिए ।

    अब उनले युरोपियन च्याम्पियनसिप जित्न बाँकी छ ।

    ‘म डेनमार्कबाट सफल हुन चाहन्छु, म युरोपियन च्याम्पियनसिप जित्न चाहन्छु,’ स्माइकलले भनेका थिए, ‘म डेनमार्कबाट केही ‘वाइल्ड’ गर्न प्रयास गर्छु ।’

    युवा जोस, अनुभव र एरिकसनको प्रेरणा

    केही हदसम्म १९९२ को युरो जित्ने टोली र अहिलेको डेनिस टोलीमा मिल्दाजुल्दा कुरा छन् ।

    डेनिस टोलीमा अहिले पनि गोलपोस्टमा लेस्टरका अनुभवी गोलकिपर स्माइकल छन् । चेल्सीका बलिया डिफेन्डर एन्द्रेस क्रिस्टियनसेन र फरवार्डलाइनमा बार्सिलोनाका मार्टिन ब्रेथवेट छन् ।

    डेनमार्कको टोलीमा एरिकसनको पनि मुख्य भूमिका छ । पिचमा उनको प्रभाव देखिँदैन । तर, खेलाडीको मनोबलमा भने एरिकसनको प्रभाव स्पष्ट देखिन्छ ।

    त्यस्तै, डेनमार्कसँग टोलीमा एक उदीयमान युवा खेलाडी मिक्केल ड्याम्सगार्ड छन् । इटालियन क्लब साम्पडोरियाबाट व्यावसायिक फुटबल खेल्ने २० वर्षीय ड्याम्सगार्डले रुसविरुद्ध प्रतियोगिताकै सम्भावित उत्कृष्ट गोल गरेका थिए ।

    डेनिस टोली त्यो खेलमा जितका लागि उत्रिएको थियो र शानदार जितसँगै समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

    ब्राजिलियन जोसमा फुटबल खेल्ने भएकाले ‘ड्यासिन्हो’ उपनाम पाएका ड्याम्सगार्डले ठूला प्रतियोगितामा डेनमार्कका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाइसकेका छन् । रुसविरुद्धको खेलमा गोल गर्दा उनी २० वर्ष ३३५ दिनका थिए ।

    रोलिगन्सको गर्जन

    इङ्ल्यान्डसँग बार्मी आर्मी छन्, स्कटल्यान्डसँग टार्टन आर्मी छन् भने डेनमार्कसँग पनि रोलिगन्स छन् । सन् १९८० को दशकमा डेनमार्क राष्ट्रिय टोलीलाई ‘डेनिस डायनामाइट’ भनिन्थ्यो । जसको कारण थियो- अल्ट्रा अट्याकिङ शैलीको फुटबल । त्यसै समयदेखि डेनिस फुटबल टोलीले विश्वभरबाट सर्मथक कमाउन थालेको थियो ।

    डेनमार्क समर्थकले युरो २०२० मा पनि एक सम्झिनलायक भूमिका खेलिरहेका छन् । एरिकसनलाई अस्पताल लगिएपछि डेनिस समर्थकहरूले फिनल्यान्डका समर्थकहरूसँग मिलेर च्यान्ट गाएका थिए ।

    त्यसपछि पनि डेनमार्क अन्तिम १६ सम्म पुग्नमा डेनिस समर्थकले महत्त्वपूर्ण भूमिका खेलका छन् । उनीहरूको समर्थनले डेनिस खेलाडीलाई एकदमै कठिन परिस्थितिमा पनि सहयोग गरेको थियो ।

    तर, आम्सटरड्याममा शनिबार हुने वेल्सविरुद्धको प्रि-क्वार्टरफाइनलमा डेनिस समर्थक हुनेछन् । तर, वेल्सका समर्थकलाई भने कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएको छ ।

    ‘समर्थकले के गरे भनेर ठ्याक्कै भन्न सकिँदैन, तर उनीहरूले खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्,’  एक डेनिस फुटबल समर्थकले भने, ‘खेलाडीले उनीहरूप्रतिको माया महसुस गर्नका लागि समर्थकहरूको उपस्थिति र साथ जरुरी हुन्छ । देशले नै एकअर्काको साथ पाउँछ ।’

    बिबिसीबाट