Category: कलाप्रेस

  • राजु गिरीको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

    राजु गिरीको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

    काठमाडौं । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्म ‘ईश्वर’को मुख्य भुमिकामा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । राजु गिरीको निर्देशनमा फिल्म निर्माण घोषणा केही समय पहिले गरिएको थियो। फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।

    फिल्ममा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

  • ‘गाउँ आएको बाटो’यूरोपको प्रतिष्ठित गोटेबर्ग चलचित्र महोत्सवमा

    ‘गाउँ आएको बाटो’यूरोपको प्रतिष्ठित गोटेबर्ग चलचित्र महोत्सवमा

    काठमाडौं । नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’ स्वीडेनमा छनौट भएको छ।

    यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ। गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव , २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ।

    ‘गाउँ आएको बाटो’मा दयाहाङ राई , पशुपति राई , प्रसन राई ,केशव राई , सुमित्रा राई , राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ।

    यो सिनेमाको टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एशियन प्रिमियर , मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ। निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित चलचित्र महोत्सवमा छनौट हुनुलाई नेपाली चलचित्रलाई विश्वले स्वीर्कान थालेको र नेपाली चलचित्रको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ।

    राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाँउमा सडक आए पछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो चलचित्र निर्माण भएको हो । ‘गाउँ आएको बाटो’ देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।

    यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। नेपालमा यो सिनेमा बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।

  • प्रिमियरमा ‘चित्रा’ले पायो सबैबाट तारिफ

    प्रिमियरमा ‘चित्रा’ले पायो सबैबाट तारिफ

    काठमाडौं । यही शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’ को प्रिमियर गरिएको छ । सोमबार काठमाडौंमा गरिएको प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

    डेब्यु अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ को प्रिमियरमा कलाकारहरु गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, नरेन खड्का, रोहित रुम्बा, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डेलगायतको उपस्थिति थियो ।

    प्रिमियरपछि अधिकांशले चलचित्र राम्रो बनेको र कथा मनपरेको प्रतिक्रिया दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यु अभिनेता सन्तोषको काम डेब्युको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको बताए ।

    ‘काम हेर्दाखेरि नवनायकको जस्तो देखिँदैन । सन्तोषले पहिलादेखि अभिनय गरिरहेको जस्तो देखिन्छ । बधाई छ मेरो भाइलाई’, भुवनले भने ।

    उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे । केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए ।

    आफूलाई चलचित्रको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले चलचित्रमा छोरीको भूमिका निभाएका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताइन् ।

    निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यु अभिनेता सन्तोषले राम्रो काम गरेकोमा बधाई दिइन् । उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन् ।

    निर्देशक नरेश पौड्यालले चलचित्रले इमोशनमा विविधता दिएको भन्दै तारिफ गरे । उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय बहुतै राम्रो लागेको बताए ।

    पारिवारिक कथा पेस गर्ने ‘चित्रा’मा डेब्यु अभिनेता सन्तोषसँगै प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।

    महेश पौडेलको छायांकन रहेको चलचित्रमा राजनराज सिवाकोटीको संगीत छ । मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । निर्देशक घनश्याम लामिछाने छन् ।

    चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता हुन् । चलचित्रको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । चलचित्रमा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ ।

    चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको ‘श्री कृष्ण फिल्म्स’ले लिएको छ । चलचित्रको अष्ट्रेलियाको अधिकार भने अविनाश रोका मगरले लिएका छन् ।

  • इन्डियन आइडल टप ११ मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ सार्वजनिक

    इन्डियन आइडल टप ११ मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ सार्वजनिक

    काठमाडौं । भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

    रेबेल क्रिएशनले बजारमा ल्याएको गीतमा पौडेललाई चर्चित गायक राजनराज शिवाकोटीले साथ दिएका छन् । गीतमा शिवाकोटीकै शब्द तथा सङ्गीत रहेको छ ।

    गीतको भिडियो सम्पादन नकुल खड्काले गरेका छन् । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ । नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरेको गीतका निर्माता गगनलाल प्रधानले बताएका छन् ।

    गायक शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै स्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताए ।

    ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छन्, त्यो सफलतामा यो गीतले अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’, शिवाकोटीले भने ।

    इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप भनेर परिचय बनाएकी पौडेलको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उनले बताए ।

  • १३ कुने महोत्सवमा पछारिएकी ज्योति सकुशल, आज गोलधापमा गाउने

    १३ कुने महोत्सवमा पछारिएकी ज्योति सकुशल, आज गोलधापमा गाउने

    काठमाडौंं । इलामको बिहीबारेमा आयोजित १३ कुने सीमसार महोत्सवमा पछारिएर हिजो समाचारमा छाइन् ज्योति मगर । धेरैले उनलाई ट्रोल गरिहेका छन् भने केहीले आयोजकमाथि प्रश्न उठाएका छन् ।

    ज्योतिका फ्यानहरुको लागि खुशीको खबर के छ भने स्टेजमा नराम्ररी लडेर पनि उनी सकुशल नै छिन् । ज्योति आज साँझ झापाको गोलधाप महोत्सवमा सहभागी हुने भएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू गोलधाप आउने बताउँदै सम्पूर्ण झापावासीलाई चुल्है निम्तो दिएकी छन् ।

    ‘प्लीज प्लीज प्लीज। सबैजना आउनुहोला । भेटौंला हामी गोलधाप महोत्सवमा । थ्यांक यु सो मच आई लभ यू’, भिडिओ सन्देशमा ज्योतिले भनेकी छन् । १३ कुनेमा भोगेको घटनाबारे भने उनले केही पनि बताएकी छैनन् ।

    गत पुस १९ गते महोत्सवमा गीत गाउन राति करिब ११ बजे स्टेज उक्लिएकी ज्योति गाउँदै उफ्रिने क्रममा स्टेजमा भ्वाङ परेको थियो । एउटा खुट्टा स्टेजमा जाकिएर पछारिएकी ज्योतिलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । उनको सो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । आशा गरौं, आजको महोत्सवमा त्यस्तो अप्रिय घटना नहोस् ।

  • सुरक्षा पन्तको डेब्यू नाटक भारत रंग महोत्सवमा देखाइने

    सुरक्षा पन्तको डेब्यू नाटक भारत रंग महोत्सवमा देखाइने

    काठमाडौं । विजया कार्कीको निर्देशन रहेको नाटक ‘क्लेशाः’ २३ औं भारत रंग महोत्सवका लागि छनोट भएको छ । भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) ले आयोजना गर्ने महोत्सवमा यो नाटक मञ्चन हुने भएको हो ।

    यसका लागि ‘क्लेशा’ को टीम आगामी फागुन २ मा दिल्ली जाने भएको छ । त्यसअघि नेपाली दर्शकबीच पुनः यो नाटक मञ्चन गराउने तयारी गरिएको छ । निर्माण टीमले नाटकको रिहर्सल पनि सुरु गरिसकेको निर्देशक विजया कार्कीले जानकारी दिए ।

    नेपालमा सन् २०१९ मा मञ्चनमा आएको यो नाटकले २०२२ कै महोत्सवमा सहभागी हुन आवेदन दिएको थियो । छनौट पनि भएको थियो । तर कोरानाका कारण महोत्सव नै सर्यो ।

    ‘पहिलो लकडाउनपछि हामीले आवेदन पठाएका थियौं । तर छनोट भएर पनि जान पाएनौं । अब भने हामी दिल्ली जाने निश्चित भएको छ’, उनले भने । प्रतीक्षा कट्टेलको लेखन रहेको यो नाटकमा रामायणको कथालाई फरक तवराबाट वाचन गरिएको छ । क्लेशा अभिनेत्री सुरक्षा पन्तको डेब्यू नाटक हो ।

    नाटकमा पन्तसँगै सरिता गिरी, रोश्नी कार्की, सबिना थापा, स्वप्निल घिमिरे, रुजा राउत, सुदीप खतिवडा, रिजोन परियार, उमेश तामाङ, अनुप न्यौपाने, केदार श्रेष्ठ, रुपक खरेल, कुशल पाण्डे, सन्दीप श्रेष्ठ, सुजन खतिवडा, विजय बराल,संयोग गुरागाईं, विकाश जोशी र मिलन कार्की छन् ।

     

  • बलिउड अभिनेता ऋतिक रोशनसँग भेटेका अनुप लेख्छन्- ‘लेट्स डिउ इट्’

    बलिउड अभिनेता ऋतिक रोशनसँग भेटेका अनुप लेख्छन्- ‘लेट्स डिउ इट्’

    काठमाडौँ । अभिनेता अनुपविक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ऋतिक रोशनसँगको फोटो सेयर गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

    अनुप हाल मुम्बईमा छन्। तस्बिरमा दुई जना गफगाफ गरिरहेको देख्न सकिन्छ। अनुपले तस्बिरसँगै ‘लेट्स डिउ इट्’ लेखेका छन् । क्याप्सनले यी दुईको भेट व्यावसायिक प्रवर्द्धनका लागी हुन सक्ने जनाउँछ। किनकि अनुप र ऋतिक दुवै माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।

  • ज्योति मगर लडेको घटनामा भद्दा मजाक नगर्न एलिना चौहानको आग्रह

    ज्योति मगर लडेको घटनामा भद्दा मजाक नगर्न एलिना चौहानको आग्रह

    काठमाडौं । गायिका ज्योति मगरको नाच्दानाच्दै स्टेजमा पछारिएको भिडिओ भाइरल भएको देखेपछि अर्की गायिका एलिना चौहानले दुःख व्यक्त गरेकी छिन। उनले आफ्नो सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै व्यस्तताका कारण भिडिओबारे ढिलो थाहा पाएको बताएकी छन्।

    उनले लेखेकी छन्, ‘सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केहि कमजोरी देखिएछ जसका कारण दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’

    कलाकार भएपछि दर्शकलाई रुझाउन गाह्रो हुने भएकाले लडेको कुरालाई लिएर मजाक नबनाइदिन उनले सबैलाई अनुरोध गरेकी छिन।

    ‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा दर्शक रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मज्जाले महसुस गर्न सक्छु,’ उनी थप्छिन्, ‘उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला।’

    ‘सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मन पराउनु हुन्न,’ उनले जोडेकी छिन।

    यस्ता दुर्घटना फेरि नहोस् भन्दै उनले सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई ध्यान पुराउन र सजक रहन अनुरोध समेत गरेकी छिन।

    पुष १७ देखि २० गतेसम्म इलामको माइ नगरपालिका(१, बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेपछि पछारिएकी थिइन् ।

  • १३ कुने महोत्सव : मध्यरातमा ज्योति मगर नाच्दानाच्दै स्टेजमा भ्वाङ, नराम्ररी पछारिइन्

    १३ कुने महोत्सव : मध्यरातमा ज्योति मगर नाच्दानाच्दै स्टेजमा भ्वाङ, नराम्ररी पछारिइन्

    काठमाडौं । गायिका ज्योति मगर नाच्दानाच्दै स्टेजमा पछारिएको भिडिओ सार्वजनिक भएको छ । इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा घटना भएको हो ।

    ज्योति गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेर उनी जाकिएको भिडिओमा देखिन्छ । यो महोत्सव पुष १७ देखि २० गतेसम्म आयोजना भएको थियो । महोत्सव समापन हुने पुस १९ गते राति करिब ११ बजे स्टेज उक्लिएकी थिइन् ज्योति । उनले सयौं दर्शकबीच आफ्नो प्रस्तुति सुरु गरिन् ।

    ज्योति गीत गाउने क्रममा आफ्नै शैलीमा बुरुक बुरुक उफ्रिएकी थिइन् । उनी उफ्रिँदा एक्कासी स्टेजमा भ्वाङ पर्यो । भ्वाङमा ज्योतिको देब्रे खुट्टो घुँडासम्म छिर्यो उनी पछारिइन् । लडेपछि बेस्सरी धुलो उडेको र त्यहाँ रहेका सुरक्षाकर्मीले ज्योतिको उद्दार गरेको भिडिओमा देखिन्छ ।

    ‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागेको कार्यक्रमको सुरक्षाका लागि गएका एक प्रहरीले बताए । प्रस्तुति दिँदादिँदै खुट्टामा चोटसमेत लाग्नेगरी घटना भएपछि ज्योति आयोजकसँग केही असन्तुष्ट भइन् । तर, प्रस्तुति छाडिनन् । चोटका कारण खुट्टाले साथ नदिए पनि करिब राति १२ बजे उनले आफ्नो प्रस्तुति बिट मारिन् ।

    यो भिडियो शेयर गर्दै धेरैले कमसल स्टेज बनाएको भनेर आयोजकको आलोचना गरेका छन् । यस विषयमा ज्योतिसँग बुझ्ना खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

     

     

     

  • सञ्जय दत्तको दाबी- मलाई चौथो स्टेजको क्यान्सर थियो, किमोथेरापी सकेर जिम जान्थेँ

    सञ्जय दत्तको दाबी- मलाई चौथो स्टेजको क्यान्सर थियो, किमोथेरापी सकेर जिम जान्थेँ

    काठमाडौं । इण्डियन आइडलको आइतबार रातिको एपिसोडबाट नेपालकी मेनुका पौडेल अन्तिम ११ मा प्रवेश गरिन् । बटम ४ मा परेका मेनुका, आद्या, सुखदीप र महिमामध्येबाट महिमा आउट भएपछि मेनुकाले अन्तिम ११ को यात्रा तय गरेकी हुन् । गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी मेनुकाको आइतबार रातिको एपिसोड केही भिन्न रह्यो ।

    उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाएकी थिइन् । एक गीत गाउँदा भने उनले लिरिक्सै नै बिर्सिइन् । गाउँदै गर्दा उनको ‘हार्ट बिट’ बढेपछि म्युजिक बीचमै रोक्न पर्यो । उनलाई एकछिन पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । चिकित्सकले आएर रक्तचाप जाँचेर सबै ठीक रहेको बताएपछि प्रस्तुतिलाई निरन्तर दिइयो ।

    कार्यक्रममा बलिउड अभिनेता सञ्जय दत्त विशेष अतिथि बनेर आएका थिए । मेनुकालाई बीचमै गाह्रो भएको देखेपछि उनी पनि स्टेजमा पुगेका थिए । मेनुका ठीक भएर स्टेज फक्रिएपछि सञ्जयले उनलाई कहिल्यै पनि हार नमान्न सुझाव दिए ।

    सुझावसँगै उनले आफ्नो स्वास्थयबारे पनि एक ठूलो खुलासा गरे । उनले आफूलाई स्टेज फोरको क्यान्सर भएको बताए । उनले भने, ‘जिन्दगीमा जस्तोसुकै कठोर समय आओुस् । तिमी अघि बढ्नु । कहिल्यै नछोड्नु । तिमीले आएका हरेक पर्खाल भत्काउनैपर्छ । म क्यान्सर बिरामी हुँ । मलाई स्टेज फोर क्यान्सर छ ।’

    उनले शो खुलासा गरेपछि स्टेजमा सबै चकित परेका थिए । उनले आफ्नो कुरालाई निरन्तरता दिँदै भने, ‘हो, मलाई क्यान्सर छ । जब मलाई डाक्टरले स्टेजको फोरको फोक्सो क्यान्सर छ भनेर सुनायो तब म मात्र एक मिनेटको लागि रोएँ किनकी मलाई बच्चाको याद आयो । त्यसपछि मैले भनेँ म जित्छु, यो क्यान्सर हार्छ ।’

    उनको शो अभिव्यक्ति सुनेपछि प्रतिस्पर्धीहरुले उनको लागि उठेर ताली बजाएका थिए ।

    ‘जब मेरो पहिलो किमोथेरापी भयो, तब मलाई डाक्टरले तपाईलाई उल्टी हुन सक्छ, तपाईको कपाल झर्छ यताउता भनेर भन्यो । मैले त्यस्तो केही हुन्न भनेर पहिलो किमोथेरापी सकेर जिम गएँ । गएर दुई घण्टा जिम गरेँ’, उनले थपे, ‘अर्को दिन म फेरि अस्पताल गएँ र डाक्टरलाई म सुट गर्न जानुछ भनेर सुनाएँ । मेरो कुरा सुनेर डाक्टरले चकित परे । मैले ‘सम्सेरा’ सके र किमोथेरापीको दौरान नै मैले ‘केजीएफ’ गरेँ । र आज म जितेँ र क्यान्सर हार्यो ।’

     

     

  • इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका, गाउँदा लिरिक्स भुलेपछि के-के भयो ?

    इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका, गाउँदा लिरिक्स भुलेपछि के-के भयो ?

    काठमाडौं । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल आउट हुनबाट जोगिएकी छन् । हिजो प्रसारित एपिसोडमा बटम ४ मा परे पनि उनी आउट भइनन् ।

    बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

    हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाको हिजो प्रस्तुति भने खल्लो भयो । खल्लो हुनुको कारण थियो लिरिक्स भुल्नु । ‘तेरा साया साथ होगा’ बोलको गीतको अन्तरा गाउँदै गर्दा उनले बीचमा लिरिक्स बिर्सिइन् । त्यसपछि उनको तनाव बढ्यो ।

    आफूले गाउन नसकेको उनले बताइन् । विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन् । अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन् । तर, मेनुका गाउन सक्ने अवस्थामा थिइनन् ।

    ‘म्याम हार्ट बिट हो रहा है’ उनले श्रद्धालाई भनिन् । त्यसपछि म्युजिक बन्द गर्न भनियो । मेनुकाले पानी मगाएर पिइन् । स्टेजमै आएर जजहरू र अतिथि सञ्जय दत्तले उनलाई हौसला दिन खोजे । तर, केही लागेन । अन्ततः मेनुका स्टेजबाटै बाहिरिइन् । स्टेजबाहिर उनलाई चिकित्सकसँग भेटाइयो । चिकित्सकले केही थेरापी गराए । त्यसपछि मेनुका केहीबेरमा स्टेज फर्किइन् । अनि, अधुरो गीतलाई गीतलाई पूरा गरिन् । यद्यपि, आफ्नो नियमित स्पिरिटमा उनले गाउन सकिनन् ।

    यो संस्करणमा अहिलेसम्म तीनजना मात्रै आउट भएका छन् । सबैभन्दा पहिले गायत्री, त्यसपछि मैथली र सुरेन्द्र आउट भएका हुन् । इन्डियन आइडलको पछिल्लो तीन एपिसोडमा कोही पनि एलिमिनेट भएका छैनन् । अघिल्लो एपिसोडमा आद्या सबैभन्दा बटममा परेकी थिइन् । तर, जजहरुले ‘पावर कार्ड’ प्रयोग गरेर उनलाई जोगाए । हिजोको एपिसोडमा पनि उनी जोगिइन् ।

  • तिलक बस्नेतको ‘छाती चरर’मा विराजको मार्मिक अभिनय (भिडिओ)

    तिलक बस्नेतको ‘छाती चरर’मा विराजको मार्मिक अभिनय (भिडिओ)

    काठमाडौं । तिलक बस्नेतको ‘छाती चरर’ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

    आइतबार रिलिज भएको गीतमा तिलक बस्नेत र शान्ति श्री परियारको स्वर रहेको छ भने शब्द र संगीत पनि बस्नेतकै रहेको छ । भिडिओको कथा तथा निर्देशन विशाल घिमिरेले गरेका छन् । गीतको एरेन्ज रमेश सेन्चुरीको रहेको छ ।

    भिडिओ

    त्यस्तै, नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको छ भने भिडिओमा कलाकारहरु विराज बाँस्कोटा, रोश्नी कार्की र कृष्ण बस्नेतको मार्मिक अभिनय देख्न सकिन्छ ।

    भिडिओमा प्रेमी प्रेमीकाबीचको बाध्यात्मक पीडालाई देखाइएको छ । माया गर्नेकै खुशीका र थप पीडा नहोस् भन्नका खातिर गरिएको कर्मले निम्त्याएको नतिजा भिडिओमा प्रस्तुत गरिएको छ । वियाेगान्त कहानीमा आधारित कथाले भावुक बनाउन सक्छ ।

    कलाकारहरुको जीवन्त अभिनयले जोकोहीलाई पनि भावुक बनाउँछ ।

    भिडिओ विराज बाँस्कोटाको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो ।

     

  • मिडियाकर्मी तथा महिला उद्यमी रिता कट्टेल सम्मानित

    मिडियाकर्मी तथा महिला उद्यमी रिता कट्टेल सम्मानित

    काठमाडौं । जमल राष्ट्रिय नाचघरमा अग्लेश्वरी हिल्स डेभलपमेन्ट ट्रस्टले दोस्रो पटक आयोजना गरेको जीवन्त नेपाल म्युजिक अवार्डमा संगीतकर्मीसँगै अरु विधाबाट पनि समाजमा उदाहरणीय काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने क्रममा रिता कट्टेल  सम्मानित भएकी छन् ।

    कट्टेलले झन्डै एक दशकदेखि मिडिया क्षेत्रमा आवद्ध रही मौफसलबाट काठमाडौँसम्म रेडियो, टिभी हुँदै विभिन्न ब्राण्डका फेस अफ द ब्रान्ड बनिसकेकी छन् । उनले म्युजिक भिडियोजमा अभिनय गर्नुका साथै सयभन्दा बढी स्टेज शो होस्ट गरिसकेकी छन् ।

    आफूलाई मिडिया ट्रेनरको रुपमा समेत चिनाएकी कट्टेल पछिल्लो समय भने उद्यमशीलतातिर पनि उत्तिकै सक्रिय भूमिकामा छिन् । उनले रिट स्किन बुटिक नामको कस्मेटिक सोरुम बानेश्वरको आइपलेक्स मलबाट सुरु गरेर वर्ष दिनमै अर्को शाखा पनि विस्तार गर्न सफल रहेकी छन् ।

    उनको संचार क्षेत्रप्रतिको योगदान र उद्यमशीलता प्रतिको लगनले दिएको प्रेरणालाई अनुसरण गर्दै अग्लेश्वरी हिल्स डेभलपमेन्ट ट्रस्टले कट्टेललाई राष्ट्रिय सञ्चारकर्मी तथा महिला उद्यमीको वर्गमा सम्मान गरेको हो ।

  • ‘गाउँ नै रमाइलो’मा मिरुना र बुद्धि अनुबन्धित

    ‘गाउँ नै रमाइलो’मा मिरुना र बुद्धि अनुबन्धित

    काठमाडाैं । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी सम्झौता भएको जानकारी दिएका छन् ।

    यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रूपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन ।

    यस्तै, फिल्ममा बुद्धि तामाङको पनि प्रवेश भएको छ । फिल्ममा अब अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् ।

    यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । दिनेशले फिल्म ‘पुजार सार्की’पछि यो फिल्मको निर्देशन थाल्नेछन् ।

    फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । क्लक वार्क क्रिएशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ ।

    निर्माता कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो वर्षको हिट फिल्म हो । उनले फिल्म ‘नाङ्गो गाउँ २ र दुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन् ।

    फिल्म ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

  • स्वस्तिमाको ‘चिसो मान्छे’ ओटिटिमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

    स्वस्तिमाको ‘चिसो मान्छे’ ओटिटिमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

    काठ्माडौं । नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियो पसल’मा रिलिज भएको छ । ‘चिसो मान्छे’ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

    चलचित्र ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियोपसलका सह–संस्थापक नेहा कार्की बत्ताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपालीलाई लक्षित गरी चलचित्र रिलिज गरिएको हो ।

    सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलरदेखि ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई २के गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

    दीपेन्द्र के खनाल निर्देशित ’चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।

    २०१७ देखि सञ्चालनमा रहेको ’भिडियोपसल’मा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

  • आर्यन र केकीको ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक (भिडिओ)

    आर्यन र केकीको ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक (भिडिओ)

    काठ्माडौं । नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी अभिनित नयाँ गीत ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा मञ्जिल राई र अनु चौधरीले स्वर दिएका छन् ।

    मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देख्न सकिन्छ ।

    ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमी-प्रेमिकाको प्रेमलाई देखाइएको छ’, गायक मञ्जिल राई सुनाउँछन् ।

    गायक राईकै कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ र अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेको गीतको भिडियोको निर्देशन बादल लिम्बूले गरेका हुन् ।

  • सामाजिक कथामा ‘लुसु’ निर्माण हुँदै, शेखर लामाले निर्माण गर्ने

    सामाजिक कथामा ‘लुसु’ निर्माण हुँदै, शेखर लामाले निर्माण गर्ने

    काठमाडौँ। ‘द पाल्म ग्रुप’ प्रालिको ब्यानरमा निर्माण हुन लागेको चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजिक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्।

    सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । यो उनको निर्देशकीय पहिलो चलचित्र हुनेछ। चलचिको कथा पदम विश्वकर्माले लेख्ने भएका छन।

    ‘दि पाल्म ग्रुप’ले निर्माण गरेको चलचित्र ‘टुल्की’ ले यसै वर्ष चलचित्र विकास बोर्डले प्रदान गरेको ‘विशेष चलचित्र पुरस्कार’ जित्न सफल भएको थियो। सामाजिक कथामा नै चलचित्र बनाउन रुचि राख्ने निर्माता लामाले ‘लुसु’ पनि विशेष रहने बताए। नवराज श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा अजय स्यांङतान मुख्य सहायक निर्देशक रहनेछन्।

    नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन्। चलचित्रमा काम गर्ने अन्य कलाकार तथा प्राबिधिक छनोट कार्य भई रहेको निर्माता लामाले बताए। चलचित्रको बारेमा अन्य जानकारी छिट्टै प्रेस रिलिज मार्फत दिइने निर्माण टिमले जानकारी दिएका छन।

  • रङ्गेली’ पोस्टरमा दयाहाङ: मिरुनासँग प्रेम, अपर्णसँग क्रोधित

    रङ्गेली’ पोस्टरमा दयाहाङ: मिरुनासँग प्रेम, अपर्णसँग क्रोधित

    काठमाडौं । आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक भएका छन् । एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई क्रोधित मुद्रामा आमने-सामने देखाइएको छ ।

    उनीहरु ग्याङस्टार लुक्समा प्रस्तुत छन् । अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । दुवै निराश मुद्रामा चित्रित छन् ।

    अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा प्रवीण खतिवडा, रमेश बुढाथोकी, रबीन बोगटी लगायतको पनि अभिनय रहेको छ । ग्याङस्टार कथामा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् ।

    युवक कार्की र शिव शंकर चौलागाई सह-निर्माता रहेको ‘रङ्गेली’का एशोसियट निर्माता विवेक खड्का (योलो) हुन् । सुशन प्रजापतिको छायांकन रहेको सिनेमाका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।
    अमेरिकामा कलाकारसहित सिनेमाको प्रिमियर आयोजना गरिँदैछ ।

    जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाई र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले सिनेमा रिलिज गर्दैछन् ।

  • ‘बेहुली फ्रम मेघौली’मा निश्चल-स्वस्तिमा

    ‘बेहुली फ्रम मेघौली’मा निश्चल-स्वस्तिमा

    काठमाडौं । ‘दिमाग खराब’ लेखक आकाश बरालले सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । यसका लागि उनले ‘दिमाग खराब’ निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्कासँग सहकार्य गर्दैछन् ।

    चैतबाट छायाँकनमा जाने बताइएको सिनेमाका लागि हाल चितवनमा लोकेसन हेर्ने काम भइरहेको छ । सिनेमामा बराल स्वयंको लेखन रहनेछ । यो सिनेमाको लेखन/निर्देशनका लागि बरालले सजन काफ्लेसँग सहकार्य गर्नेछन् ।

    सिनेमाको कथा रोमान्टिक ड्रामा हुनेछ । बरालले ‘दिमाग खराब’का अलावा, ‘चपली हाइट-३’, ‘बीए पास’, ‘हल्कारा’लगायत ८ सिनेमा लेखिसकेका छन् ।

    यो सिनेमा ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । सिनेमामा निश्चल र स्वस्तिमाको प्रमुख भूमिका हुनेछ । हाल यी दुई कलाकारमात्र तय भएका छन् भने बाँकी कलाकार तथा प्राविधिक छनोटको चरणमा रहेको निर्माण टीमले जनाएको छ ।

    सिनेमाको वर्किङ टाइटल ‘बेहुली फ्रम मेघौली’ राखिएको छ ।

  • चलचित्र ‘चित्रा’ ट्रेलरमा यस्तो देखियो

    चलचित्र ‘चित्रा’ ट्रेलरमा यस्तो देखियो

    काठमाडौं । चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ ।

    खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ । फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ ।

    यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उनले पनि सम्भावना देखाएका छन् ।

    फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए, त्यसैले ‘चित्रा’लाई आशालाग्दो सिनेमा मान्न सकिन्छ ।

    बाबुछोरीको कथा बोकेको ’चित्रा’ यस अर्थमा एउटा सम्भावना बोकेको फिल्म हो भन्न सकिन्छ ।

    ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

    चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।

    महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

    फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।