Category: कलाप्रेस

  • नेपाली फिल्म वितरकको ‘हनुमानगिरी’- कमाइको ५ प्रतिशत भारतमै पठाउने

    नेपाली फिल्म वितरकको ‘हनुमानगिरी’- कमाइको ५ प्रतिशत भारतमै पठाउने

    काठमाडौं । नेपालका फिल्म वितरकहरुले एउटा भारतीय चलचित्र नेपालमा प्रदर्शन गर्दा दर्शकले काटेको प्रत्येक टिकटबाट ५ रुपैयाँ अयोध्यामा पठाउने निर्णय गरेका छन् । उनीहरुको यो निर्णयले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छैन ।

    तेलुगु भाषामा निर्मित भारतीय फिल्म ‘हनुमान’ पाँच दिनअघि भारतमा रिलिज भएको थियो । खासै ‘हाइप’ नभएको हुँदा नेपालका वितरकहरुले यसमा रुचि देखाएनन् । तर, नेपालकै केही सञ्चारमाध्यमहरुले ‘हनुमान’ ले विश्वव्यापी तहल्का पिटिरहेको भन्दै झ्याली पिटेपछि वितरकहरु आकर्षित भए ।

    नेपाली वितरण कम्पनी बैंकटेस इन्टरटेनमेन्टले यो चलचित्रको नेपालमा प्रदर्शन अधिकार लिएको छ । चलचित्र आउँदो शुक्रबारबाट रिलिज गरिँदैछ । त्यसअघि वितरण कम्पनीले चलचित्रको टिकट बिक्रीबाट उठेको रकमबाट ५ प्रतिशत अयोध्या पठाउने निर्णय लिएको हो ।

    ‘अयोध्या’ भारतमा लामो समयदेखि जारी ‘हिन्दू-मुस्लिम’ अन्तरसंघर्षको एउटा पर्याय बन्दै आएको छ । त्यहाँ सुरुमा एउटा मस्जिद थियो, जुन सन् १९९२ मा हिन्दूहरुले ध्वस्त पारे । त्यसपछि उत्पन्न भएको हिंसामा हजारौंको ज्यान गएको थियो ।

    सन् २०१९ मा भारतीय सर्वोच्च अदालतले उक्त निर्माणस्थल ‘हिन्दूहरुको’ भएको फैसला सुनायो । भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले यसलाई आफ्नो अभूतपूर्व जीतका रुपमा लियो, जसले लामो समयदेखि त्यहाँ राम मन्दिर बनाउने प्रतिबद्धता गर्दै आएको थियो ।
    अन्ततः विजेपी नेतृत्वको सरकारले अयोध्यामा विशाल राम मन्दिर निर्माण गरिरहेको छ । निर्माण पूरा भइसकेको छैन । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले आउँदो २२ जनवरीमा निर्माणधीन अवस्थामै राम मन्दिर उद्घाटन गर्दैछन्, नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे झैं ।

    भारतमा चुनाव नजिकिएकाले गर्दा मोदी राम मन्दिर उद्घाटन गर्न हतारिएका हुन् । आउँदो अप्रिलमा मोदी तेस्रो कार्यकालका लागि निर्वाचनमा होमिँदैछन् । मन्दिर उद्घाटनलाई नै उनको चुनावी अभियानको उद्घाटनका रुपमा पनि हेरिएको छ । ८० प्रतिशत हिन्दू जनसंख्या रहेको भारतमा अयोध्याको राम मन्दिरले मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने ढोका नखोल्ला भन्न सकिन्न ।

    भारतीय सत्ता राजनीतिको एउटा एजेन्डा बनेको अयोध्या मन्दिरको निर्माण नेपाल र नेपालीको चासो बाहिरको कुरा हो । त्यहाँ हुने हिन्दू-मुस्लिम संघर्ष उनीहरुको आन्तरिक विषय हो । अहिले नेपाली फिल्म वितरकले आफ्नो व्यवसायिक स्वार्थपूर्तिका निम्ति भारतको धर्म राजनीतिभित्र मुछिनु स्वाभाविक हो वा होइन भन्ने प्रश्न उठेको छ । नेपाली दर्शकबाट उठाउने पैसा अयोध्या मन्दिरको निर्माणमा खर्च गर्न पठाउने अख्तियारी उनीहरुले कसरी प्राप्त गरे ?

    यो प्रश्न हामीले वितरक मनोज राठीलाई सोध्दा उनले हल्का जवाफ दिए । उनले भने, ‘हामीले मात्र होइन, जहाँ जहाँ हनुमान फिल्म प्रदर्शन भएको छ, सबैले ५ प्रतिशत रकम अयोध्या मन्दिरका लागि योगदान गरिरहेका रहेछन् । हामीलाई पनि निर्माताले यस्तो शर्त राख्नुभयो र हामीले स्वीकार गर्‍यौं ।’

    राठीका अनुसार हनुमान चलेका हलहरुले हरेक दिन गर्ने कलेक्सनको ५ प्रतिशत हिस्सा अयोध्या मन्दिर निर्माणका लागि पठाइनेछ । जबकि यो फिल्मले गर्ने आम्दानीको ठूलो हिस्सा कमिसनका रुपमा फिल्म निर्मातालाई पठाउनेपर्ने शर्त फाल्टै छ ।

    भारतीय फिल्म चलाउन प्रदर्शकले देखाएको यस्तो ‘हनुमानगिरी’ लाई लिएर दर्शकले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । थुप्रैले यो फिल्म नहेर्ने घोषणा पनि गरेका छन् ।

  • फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित

    फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित

    काठमाडौं । अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भुमिका रहने इन्डो नेपाली फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् ।

    केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।

    प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमाको निर्माता आरबी थाङदेन हुन् ।

    फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । फिल्मका सह(निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।

    सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

  • घोडाघोडीमा प्रमोद खरेलका केही पल : आगो ताप्नेदेखि बोटिङ गर्नेसम्म (तस्बिरहरु )

    घोडाघोडीमा प्रमोद खरेलका केही पल : आगो ताप्नेदेखि बोटिङ गर्नेसम्म (तस्बिरहरु )

    कैलाली । नेपाली सुगम सङ्गितका बदशाहका रुपमा चिनिने गायक प्रमोद खरेलले मंगलबारको बिहानी घोडाघोडीमा बिताएका छन् ।

    विश्व रामसार क्षेत्रमा समेटिएको कैलालीको घोडाघोडी धार्मिक जैविक र पर्यापर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । मंगलबार घोडाघोडी पुगेका प्रमोदले यहाँको ओजुवा तालमा बोटिङ गरे ।

    आफै चालायर बोटिङ गरेका प्रमोदलाई देखेका स्थानीयलाई फोटो खिच्न भ्यान नभ्याई थियो । त्यस अघि गायक खरेल आगो ताप्दै भेटिएका थिए ।

    सुरुमा मास्क लगाएको हुँदा धेरैले ठम्याउन सकेनन् तर केही बेरमै त्यहाँ घुइँचो भइसकेको थियो ।

     

  • जागिर र व्यवसायमा असफलपछि बाध्यतामा अभिनेता बनेका विजय सेतुपतिको जीवनका रोचक तथ्य

    जागिर र व्यवसायमा असफलपछि बाध्यतामा अभिनेता बनेका विजय सेतुपतिको जीवनका रोचक तथ्य

    नयाँ दिल्ली । विजय सेतुपति ४६ वर्षका भएका छन् । पक्कै पनि उनलाई शाहरुख खान स्टारर फिल्म ‘जवान’ मा खलनायक काली गायकवाडको भूमिकामा देख्नु भएकै होला ।

    उनको अर्को फिल्म ‘मेरी क्रिसमस’ जनवरी १२, २०२४ मा रिलिज भयो । यसमा उनी कट्रिना कैफको अपोजिट देखिएका छन् । यी दुई हिन्दी फिल्महरू बाहेक, विजयले धेरै ठूला साउथ फिल्महरूमा काम गरिसकेका छन् । जस्तै विक्रम वेधा, सुपर डिलक्स आदि । उनी तमिल सिनेमाका चर्चित सुपरस्टारमध्ये एक हुन् ।

    आफ्नो १० वर्ष लामो करियरमा उनले करिब ५० फिल्ममा काम गरिसकेका छन् तर विजयका लागि यो स्थानमा पुग्न भने सजिलो थिएन ।

    सुरुका दिनहरूमा उनले क्यासियर, सेल्सम्यान, फोन बुथ अपरेटर जस्ता कामहरू गरे । धेरै तलबको लोभमा उनी भारत छोडेर दुबई गए, तर काम भएन ।

    अभिनयसँग उनको कुनै सरोकार थिएन, तर एक पटक साउथका चर्चित निर्देशकले उनलाई देखे । उनले विजयको अनुहार एकदमै फोटोजेनिक पाए । निर्देशकले उनलाई फिल्ममा काम गर्न सल्लाह दिए । यही सल्लाह पछ्याउँदै विजयले फिल्ममा आफ्नो करियर सुरुवात गरे । हालसम्म उनले आफ्नो फिल्मी करियरमा राष्ट्रिय अवार्डसहित धेरै अवार्ड पनि जितिसकेका छन् ।

    विजयको जीवनका रोचक तथ्यहरू

    १६ जनवरी १९७८ मा तमिलनाडुको राजापालयममा उनको जन्म भयो । उनको वास्तविक नाम विजय गरुनाथ सेतुपति हो।

    यहाँ उनले छैटौँ कक्षासम्म पढे र त्यसपछि उनको परिवार चेन्नई सर्‍यो।

    यहाँ उनले एमजीआर उच्च माध्यमिक विद्यालय र लिटिल एन्जल उच्च माध्यमिक विद्यालयमा आफ्नो स्कुलिङ गरे।

    विजयका अनुसार उनी पढाइमा खासै अब्बल थिएनन् । खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि थिएन । स्कूलका साथीहरूले उनको कम उचाइको मजाक उडाउने गर्थे।

    विजयकी आमाले उनलाई बाल्यकालमा फिल्म हेर्न थिएटरमा कहिले पनि लगिनन् किनकि विजयले पर्दामा कसैलाई रोएको देख्दा उनी आफै रुन थाल्थे ।

    स्नातक गरेपछि पनि विजय कहिले काहीँ सिनेमा हेर्न थिएटर जान्थे। घरमा टिभीमा फिल्म हेर्न थालेपछि विजयको सिनेमामा रुचि बढ्न थाल्यो ।

    पैसा कमाउन सेल्सम्यान, क्यासियर बने ,व्यवसाय गरे, मार्केटिङ कम्पनीमा पनि काम गरे

    जब उनी १६ वर्ष पुगे, उनले अनौपचारिक रूपमा फिल्म नम्मावर (१९९४) को लागि अडिसन दिए, तर उनको कम उचाइका कारण रेजेक्ट गरियो। उनले बीडी जैन कलेजबाट बीकम पूरा गरे। यसपछि, विजयले पकेट मनीका लागि रिटेल स्टोरमा सेल्सम्यान, फास्ट फूड जोइन्टमा क्यासियर र कहिले फोन बुथ अपरेटरको रूपमा काम गरे।

    यसपछि उनले सिमेन्ट व्यवसायमा पनि हात हालेका थिए तर खासै सफल भएन । पैसाको खोजीमा विजय भारत छोडेर दुबई गए ।

    भारतमा भन्दा चार गुणा बढी पैसा लिएर यहाँ उनले अकाउन्टेन्टमा काम पाइरहेका थिए । विजयले केही समय यहाँ बिताए, तर आफ्नो जागिरप्रति असन्तुष्टि देखिएपछि सन् २००३ मा भारत फर्किए।

    यसपछि उनले साथीहरूसँग मिलेर इन्टेरियर डेकोरेशनको व्यवसाय सुरु गरे । केही समय यही काम गरेपछि उनी रेडिमेड किचनका सामान बनाउने मार्केटिङ कम्पनीमा आबद्ध भए ।

    विजयले धेरै प्रकारका व्यवसायमा हात हालेका थिए तर कुनै पनि व्यवसायमा उनलाई खासै सफलता मिलेन ।

    विजयले एक अन्तर्वार्तामा भनेका थिए कि यदि मेरो कुनै पनि व्यवसायले काम गरेको भए म कहिल्यै अभिनेता बन्ने थिएन तर भाग्यले मेरो लागि अर्कै योजना बनाएको थियो।

    एक दिन उनले चेन्नईको थिएटर ग्रुप कुथुपत्तराईको पोस्टर देखेँ। यो देखेर उनलाई साउथका चर्चित निर्देशक बालु महेन्द्रको कुरा याद आयो ।

    विजयले एक पटक उनलाई भेटेका थिए र उनको प्रशंसा गर्दै भनेका थिए ।तिम्रो अनुहार धेरै फोटोजेनिक छ। कुनै बाटो नभेटेपछि विजयले अभिनयमा काम गर्न थाले ।

    १७० करोड सम्पत्तिका मालिक

    मनोरञ्जन क्षेत्रमा एक दशक बिताएका विजयको कुल सम्पत्ति करिब १७० करोड रुपैयाँ छ। मिडिया रिपोर्टका अनुसार उनले फिल्म ‘जवान’का लागि २१ करोड पारिश्रमिक लिएका थिए ।

    सामान्यतया उनी एउटा फिल्मको लागि १५ करोड भारु लिन्छन् । र एक ब्रान्ड एन्डोर्समेन्टका लागि उनले करिब ५० लाख रुपैयाँ चार्ज गर्छन् ।

    विजयले घरजग्गामा धेरै लगानी गरेका छन् । उनको चेन्नईमा ५० करोडको बंगला छ । चेन्नईसँगै किल्पौक, एन्नोर जस्ता ठाउँमा पनि उनको करिब १०० करोडको सम्पत्ति छ।

    विजयलाई लग्जरी कारको पनि मन छ । उनीसँग १।७८ करोड भारुको बीएमडब्ल्यू ७ सिरिजको कार छ । यसबाहेक ३९ लाखको मिनी कुपर, टोयोटा फर्च्युनर र इनोभा पनि छन् ।

  • ‘महाजात्रा’ को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक (भिडिओ)

    ‘महाजात्रा’ को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । सिनेमा ‘महाजात्रा’ को पहिलो भिडिओ सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत सिनेमामा प्रमोशनका लागि तयार गरिएको हो ।

    केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।

    गीतमा सिनेमका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

    अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । सिनेमामा ‘सुहाउँदो गीत भएकाले राखिएको हो । यसलाई हामीले प्रचारप्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने । एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

    ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । निर्देशक भट्टराईले सिनेमामा मार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ ।

    अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली सिनेमाले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ ।

    नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् सिनेमामा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।

    भिडिओ

    म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

    यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

     

  • ‘खुस्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

    ‘खुस्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

    काठमाडौं । ‘खुस्मा’ सिनेमा निर्माणको घोषणा भएको छ । माघे संक्रान्तिको अवसर पारेर सिनेमाको घोषणा गरिएको हो ।

    सिनेमामा धिरज मगर र उपासनासिंह ठकुरी प्रमुख भूमिकामा रहनेछन् । यो उनीहरुको पहिलो सहकार्य हो ।

    सिनेमालाई अशोक थापामगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेका छन् । दुई वटा सुटिङ तालिकामा खिचिने सिनेमाका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् ।

    ‘खुस्मा’मा एसडी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् । दीपक बज्राचार्य छायाँकार रहनेछन् ।

    सिनेमामा धिरज र उपसनासँगै अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

  • उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक

    उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

    निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे सङ्क्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

    एक फस्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको फस्टलुक पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ ।

    फस्टलुक पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वीलचेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । फस्टलुक पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरु पनि छन् । अभिनेत्री पूजा खुशी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

    अर्को फस्टलुक पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पूजा शर्मालाई पनि अँटाइएको छ । यो फस्टलुक पोस्टर रोमान्टिक भाव लक्षित छ ।

    त्यस्तै अर्को फस्टलुक पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ । फस्टलुक पोस्टरमा रिबन बाँधिएको छ । जहाँ मुकुन भुषाल, रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ ।

    चौथो फस्टलुक पोस्टरमा अभिनेता मुकुनलाई ह्वील चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिएकी छन् । यो फस्टलुक पोस्टरमा फिल्मको गीत ‘मुटुको चार आना’मा अभिनय गरेका पुरुष कलाकारहरु निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी फिचर्ड छन् । त्यस्तै अभिनेत्री पुजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ ।

    ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

    निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ ।

    फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

  • ‘गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ’ (भिडिओ)

    ‘गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ’ (भिडिओ)

    काठमाडौं । गायक, नायक तथा रचनाकार यशकुमारले पछिल्लो समय ‘तिमी छौ र त मेरो अर्थ छ’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरे । गीतमा स्वर, शब्द र संगीत यशकुमारको आफ्नै छ । भिडिओको कथा, पटकथा, संवाद र कन्सेप्ट पनि यशकुमार स्वयंकै छ ।

    भिडिओमार्फत् उनले जात व्यवस्थाले प्रेममा पुर्याएको अप्ठ्यारालाई प्रस्तुत गरेका छन् । २०५८ सालमा ‘मैले छोएको पानी चल्दैन’ बोलको गीतबाट जातीय विभेदविरुद्ध आफ्नो आवाज मुखरित गरेका उनले जातीय विभेदका कारण परिवार, प्रेम र समाजमा निम्तिने समस्याहरुलाई पर्दामार्फत उतार्दै आएका छन् ।

    यसपटक भने जात व्यवस्थाले सृजना तल्लो र माथिल्लो जातबीचको विभेद भन्दा पनि अथित् उच्चजीय वर्गमा पनि जातीय अहंकार छ भनेर देखाउन खोजेका छन् । ४ मिनेटको गीतलाई १८ मिनेट लामो भिडियो बनाएर उनले चलचित्र झैं कथालाई प्रस्तुत गरेका छन् ।  यसै गीतमा केन्द्रित भए उनै गायक एवं सर्जक यशकुमारसँग नेपाल प्रेसले गरेको कुराकानी-

    – अहिले गीत र भिडिओ किन लामो हुन थालेको हो ? के गीतबाटै सन्देश भन्न मिल्दैन ?

    खासमा यति लामो बनाउँछु भन्ने नै थिएन । तर, कथा प्रष्ट्याउन त्यति समयले पुगेन । त्यसैले तन्काउनु पर्‍यो । त्यही भएर पनि हामीले यसलाई गीति चलचित्र भनेका छौं । मतलब यो दुई घण्टाको चलचित्र होइन । तर, चलचित्र जस्तै हो । जसको लागि दुई घण्टा समय खेर फाल्न परेन । १८ मिनेटमै तपाईंले चलचित्रको मज्जा लिन सक्नुहुन्छ । अहिले मान्छेसँग समय पनि छैन । दुई घण्टा खर्च गर्नुभन्दा १८ मिनेटमै एउटा सन्देशमूलक कथा प्रस्तुत गरौं भन्ने मेरो मनसाय हो ।

    – गीतका शब्दभन्दा लामा लामा डाइलग भएका भिडिओ छ । ती सबैलाई अभिनयमार्फतै देखाउन सकिँदैन थियो र ?

    गीतमात्र ४ मिनेटको छ । त्यो चार मिनेटमा सबै कुरा देखाउन सम्भव नै भएन । चलचित्रजस्तै गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ । त्यसरी मिसाउँदै गर्दा भिडिओ लामो बन्यो ।

    – अनु थापालाई फेरि दोहोर्‍याउनुको कारण ?

    उहाँको काम, अभिनय र अनुहारका कारण । मेरो कथाको मागले उहाँँ दोहोरिनु भएको हो । भिडिओले मंगोलियन फेस माग्छ, जुन उहाँको छ । हाम्रो जोडी पहिला पनि बाधिँएकाले गर्दा फेरि उहाँ नै दोहारिनु भएको हो भन्ने धेरैलाई लाग्ला । तर, होइन । खासमा हाम्रो मार्केट पनि त्यस्तै छ । यहाँ कुन अनुहार वा जोडी चलेको छ भनेर खोज्ने चलन छ ।

    तर, यस विषयमा मेरो धारणा केही भिन्न छ । दर्शकले जोडी मन पराएर त्यही जोडी पुनः दोहोरिनु स्वाभाविक हो । तर, मलाई के लाग्छ भने जोडीले कथावस्तु खोज्ने होइन, कथावस्तुले जोडी खोज्ने हो । कथामा को म्याच गर्छ, को पोख्त छ, कसले गीत र भिडिओलाई न्याय दिन्छ, उसलाई राख्नुपर्छ ।

    – आगामी आउने गीतहरुमा फेरि अनुजी नै दोहोरिने सम्भावना कति छ ?

    एकदमै कम छ । तर, कुनै कथावस्तुले फेरि पनि अनुजी नै माग्छ भने उहाँ दोहोरिन सक्नुहुन्छ । एउटा कुरा के प्रष्ट्याउन चाहन्छु भने यशकुमारले अब सबै भिडिओमा अनु नै राख्छ भन्ने धारणा चाहिँ विल्कुलै गलत हो ।

    – १० लाख भ्युजमै खुशी साटासाट कार्यक्रम राख्नुभएको थियो । खासमा सफलताको मापन कसरी गर्ने ?

    भ्युजमा भर पर्छ । भ्युज कतिको अर्गानिक हो, आएका लाइक्स र कमेन्ट्सबाट थाहा हुन्छ । दर्शकको मायालाई जोख्ने तराजु छैन । तर, मासले जुन कुरालाई बढी स्वीकार्छ, त्यसैलाई हामीले पनि स्वीकार्ने हो । त्यसरी नै मापन गर्ने हो ।  पहिला क्यासेटको जमाना थियो । क्यासेटको अर्डर हेरेर यति सफल भयो भनेर मापन गरिन्थ्यो ।

    अहिले भ्युज नै हो । भन्नेले अब यति छिटो खुशी किन सोटेको वा १ करोडसम्म पर्खेको भए हुन्थ्यो भन्नुहोला । तर, यो गीत करोडमा छिरिसक्यो भन्दा हुन्छ । १०० ले हजार पुर्‍याउँछ, हजारले एक लाख, लाखले १० लाख र १० लाखले करोड । गीतमा जुन १० लाख भ्युज आएको छ, त्यो मेरो लागि करोडभन्दा माथि छ । भ्युजमा करोड पुग्नैपर्छ भन्ने छैन । यो भनेको मेरो सिर्जनाले माया पायो है भन्ने खुशी हो ।

    – भिडिओमा देखाइए जस्तो निःस्वार्थ प्रेम अहिलेको समय र व्यक्तिमा सम्भव छ कि छैन ?

    सम्भव होस् भनेर देखाएको हो । सम्भव हुन्छ जस्तो लाग्छ पनि । जसले मायालाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ, उहाँहरुमा निःस्वार्थ प्रेम सम्भव छ । माया भनेको दौडिन सक्दा वा पूर्ण रूपमा सबै कुरामा सक्षम हुँदा मात्रै गरिने कुरा होइन । एक-अर्काको दुःखमा सँगै उभिन सक्नु माया हो । अप्ठेरो पर्दा वा बेसहारा हुँदा सहारा बन्न सक्नु माया हो ।

    – एउटा कथा दिमागमा बन्न तपाईंलाई कति समय लाग्छ ? कस्तो बेला दिमागमा गीत र कन्सेप्टको सिर्जना हुन्छ ?

    यो कथा पहिल्यै फिक्स थियो । ‘सुस्तरी’को बेलामै मैले अनुजीसँग यो प्रोजेक्टबारे सल्लाह गरिसकेको थिएँ । तर, अडियो तयार थिएन । जब मलाई कुनै विषयले छुन्छ, तब मेरो दिमागमा कन्सेप्टको सिर्जना हुन्छ । संस्कृतिमा लिम्बूहरुको संस्कृति एकदमै धनी छ । उहाँहरुको संस्कृतिलाई पर्दामार्फत देखाउने प्रयास धेरैले गर्नुभएको छ ।

    तर, दुई वटा बहुमूल्य संस्कृतिहरु एकअर्कामा जुध्दाखेरि बीचको माया कसरी सकिन्छ भन्ने कुरालाई मैले देखाउन खोजेको हो । यसको लागि म अरु जातिको कथा पनि उठाउन सक्थें । तर, गीतमा पाथीभरा जोडिएको छ । पाथीभरासँग हामी सबैको आस्था छ । तर, लिम्बू समुदायको अझ ठूलो आस्था छ । त्यही भएर यो कन्सेप्ट मेरो दिमागमा आएको हो ।

    – लिम्बू संस्कृतिबारे बुझ्न तपाईंले के के गर्नुभयो ?

    गाह्रै थियो । लिम्बू संस्कृतिबारे बुझ्न म उहाँहरुसँग बसें । उहाँहरुको विज्ञहरुसँग बसें । मुन्धुमबारे ज्ञान भएको व्यक्तित्वहरुसँग बसेर सल्लाह गरें । तबमात्र यो भिडिओ बनेको हो । यो म एक जनाले मात्र गर्नसक्ने कुरै होइन । धर्म अनि संस्कृतिको विषयमा बुझ्दै नबुझी म एक जनामात्रै बसेर केही गर्न पनि मिल्दैन । त्यही भएर समय लाग्यो कन्सेप्ट र भिडिओ बन्न ।

    – भिडिओ बन्न कति दिन र लगानी लाग्यो ?

    ठ्याक्कै ९ दिन । (हाँस्दै) राम्रै खर्च लाग्यो । ७ लाख भेट्यो ।

    – अधिकतमले आफ्नो कुनै न कुनै प्रोजेक्टमा जातीय विभेद झल्कने कन्सेप्ट प्रस्तुत गर्नुको कारण के हो ?

    अरुको मलाई थाहा भएन । तर, मैले भने यो पहिलेदेखि नै गर्दै आएको कुरा हो । विभेद कहाँबाट सुरु भएको छ, कहाँसम्म छ र कताकता छ भन्ने कुरा महत्वपूर्ण छ । पहिला पहिला एउटै समुदायको मात्र विभेद देखाइन्थ्यो । अहिले देशभरि छरिएर रहनुभएकाहरुको समस्या देखाइन्छ । जुनसुकै जात र धर्मको भए पनि त्यो कुराले समस्या निम्त्याउँछ भने देखाउने हो ।

    – भिडिओमा एउटा जातले अर्को जातलाई प्रयोग गरको शब्द अपाच्य छ जस्तो लाग्दैन ?

    विवादित संवाद राखेको वा भिडिओलाई विवादित बनाउन खोजेको हैन । न अपाच्य बनाउन नै खोजेको हो । ती संवादहरु नै त्यहाँको मौलिकता हो । अहिले हलिउड, बलिउडदेखि लिएर सबै तहका दर्शकले मौलिक कुराहरु खोजिरहेका छन् । भिडिओमा प्रयोग भएका भाषाहरु राखिएन भने हाम्रो लिम्बू संस्कार नै झल्कँदैन । भिडिओबाट सुंगुर, तोङ्बा र डाइलगहरु सबै हटाइयो भने उहाँरुको मौलिकता र संस्कारसँग कसरी नजिक हुने ? मंगोलियनदेखि बाहिरको संस्कारबाट हेर्दा त्यो अपाच्य लाग्छ । तर, राई, लिम्बूहरुको संस्कृतिमा यो सामान्य कुरा हो । चिया, कफी खाए जस्तै हो ।

    – यस्ता खालका गीतले जातजातिबीच झन् फाटो ल्याउने हो कि ?

    जसले बुझ्नुभएको छ, उहाँहरुले यो विवाद बनाउने कुरा होइन भन्ने बुझिहाल्नु हुन्छ । जसले बुझ्नुहुन्न, उहाँहरुलाई भने यो अनौठो र अपाच्य लाग्नसक्छ । म तराईमा जन्मे हुर्केको मान्छे । मेरो राई, लिम्बू साथीभाइहरुसँग संगत छ । उहाँहरुले कसरी बोल्नुहुन्छ भन्ने मलाई थाहा छ । त्यसैले मलाई यो कुराहरु खासै अनौठो लाग्दैन । भिडिओमा आएका कमेन्ट्सहरु नै हेर्नुहोस् न ! जजसले भोग्नुभएको छ र थाहा छ उहाँहरुले खुलेर तारिफ गर्नुभएको छ । विरोध कसैले गर्नुभएको छैन ।

    – भिडिओ र गीतको भाव मिले जस्तो लाग्छ त ?

    देखाउन लिम्बू भाषीकै पालमहरु राख्न मैले सक्दिनँ । उहाँहरुकै सबै संस्कृति भिडिओमा ढाल्न अझै धेरै अध्ययन गर्नुपर्छ । त्यही भएर आधुनिक गीतबाटै कथा पस्किएँ ।

    – ब्याक टु ब्याक प्रकाश सपूत र तपाईंका गीतहरु आइरहेका छन् । के तपाईंहरुबीच प्रतिस्पर्धा चलिरहेको हो ?

    त्यस्तो केही हैन । प्रकाश सपूतजीको आफ्नै तरिकाको सिर्जना छ । उहाँले लोक संगीतलाई अगाडि बढाउने काम गरिरहनु भएको छ भने मैले आधुनिकलाई अगाडि बढाउने काम गरिरहेको छु । हामी एउटै क्षेत्रमा रहेर दुई भिन्न प्याटर्नलाई ढकेल्ने काम गरिरहेका छौं । एकअर्कामा हाम्रो कुनै प्रतिस्पर्धा छैन ।

  • ‘१२ गाउँ’बाट डेब्यु गर्दै विराज भट्टका छोरा समीर भट्ट

    ‘१२ गाउँ’बाट डेब्यु गर्दै विराज भट्टका छोरा समीर भट्ट

    काठमाडौं। अभिनेता विराज भट्टका छोरा समीर भट्टले चलचित्रमा डेब्यु गर्ने भएका छन् । ‘विराज भट्ट प्रोडक्सन’ बाट निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’बाट समीरले डेब्यु गर्न लागेका हुन। चलचित्रलाई विराज स्वयंमले निर्देशक गर्दैछन।

    भट्टले आफ्नो सामाजिक सञ्जालमा छोरा समीरको तस्विर शेयर गर्दै ‘१२ गाउँ’बाट डेब्यु गर्न लागेको जानकारी दिएका हुन। अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका समीरको तस्विरमा एब्स देख्न सकिन्छ। डेब्यु चलचित्रको लागी उनको मेहेनत तस्विरमै झल्किन्छ।

  • चलचित्र ‘ईश्वर’ को पोखराको बिन्दबासिनी मन्दिरमा शुभमुहुर्त

    चलचित्र ‘ईश्वर’ को पोखराको बिन्दबासिनी मन्दिरमा शुभमुहुर्त

    काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् ।

    फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । फिल्ममा यसअघि नै मुख्य कलाकारको रुपमा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले पनि केही कलाकारको छनोट भइरहेको छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

  • बुढेसकालमा छोरा-बुहारीले गर्ने अपहेलनाको कथा बोकेको ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

    बुढेसकालमा छोरा-बुहारीले गर्ने अपहेलनाको कथा बोकेको ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

    काठमाडौं । वृद्धाश्रम पठाउन कस्सिएका छोरा बुहारीको कथा बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ ।
    राजनराज शिवाकोटीको शब्द र सङ्गीत रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ ।

    नेपाली समाजमा छोरालाई बुढेसकालको साहाराको रूपमा हेरिने गर्दछ। तर त्यहीँ छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथालाई गीतिकथा ‘निक्लेर जा भन्छ छोराले ले देखाउन खोजेको छ।

    भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ।

    विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।

     

  • प्रतीक साहित्यको अष्ट्रेलियन संस्करण काठमाडौंमा लोकार्पण

    प्रतीक साहित्यको अष्ट्रेलियन संस्करण काठमाडौंमा लोकार्पण

    काठमाडौं । चर्चित साहित्यिक म्यागेजिन ‘प्रतीक’को अष्ट्रेलियाली संस्करण नेपालमा लोकार्पण भएको छ । लोकार्पण बिहीबार भएको हो ।

    काठमाडौँस्थित अष्ट्रेलियाली राजदूतावासमा भएको कार्यक्रममा ‘फायर एन्ड रेन’ विशेषाङ्क राजदूत फेलोसिटी भोक र हिमाली कविको विश्व पहिचान बनाएका युयुत्सु आरडी शर्माले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

    प्रतीकका सम्पादकसमेत रहेका शर्माले साहित्यकार तथा लेखकसमेत रहेकी भोकसँग अन्तरवार्ता लिएका छन् । अन्तरवार्ता प्रतीकको विशेषाङ्कमा समावेश गरिएको छ ।

    नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् ।

    विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

    राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने बताइन भने युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने तर्क गरिन ।

    विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि राजदूत भएको विचार राख्दै उहाँकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताए ।

    भोकको एक उपन्यास लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको जनाइएको छ ।

  • गायक इन्द्र कार्की र समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक (भिडियो)

    गायक इन्द्र कार्की र समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक इन्द्र कार्की र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक भएको छ ।

    स्वयम् इन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गीतमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् ।

    भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गीत भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

    त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको सङ्गीत तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका हुन् । पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन् ।

    २०५३ सालमा उदयपुरको बराहा गाविस हाल लिम्चुङ्गबुङ गाउँपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा साधनारत छन् । यस अघि उनले आफू त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानालेलगायत आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् ।

  • प्रतीक क्रिएसनको नयाँ प्रस्तुति ‘मनको गाँठो’ सार्वजनिक

    प्रतीक क्रिएसनको नयाँ प्रस्तुति ‘मनको गाँठो’ सार्वजनिक

    काठमाडौं । प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द, कीर्ति न्यौपानेको संगीत र श्रेय अगस्तिको स्वरमा रहेको मार्मिक गीत ‘मनको गाँठो’ सार्वजनिक भएको छ ।

    साइराम पिक्चर्सबाट सार्वजनिक यस गीतमा जीबी चिरन (चिरञ्जीवी सापकोटा), स्मारिका ढकाल र महेन्द्र बमको अभिनय रहेको छ ।

    पुरुषोत्तम सुवेदीको संगीत संयोजन र शम्भु ताण्डुकारको मिक्स मास्टरिङ्गमा बनेको गीतमा श्रेय-साक्षीको कथा, दिनेश पराजुलीको छायांकन, पदम सुवेदीको सम्पादन, पुनम चौधरीको शृङ्गार, निशान एसके को क्रिएटिभ निर्देशन र स्क्रिन्प्ले साथै संकेत अगस्तिको निर्देशन रहेको छ ।

    प्रमोद ‘प्रतीकको’ निर्माणमा बनेको यो म्युजिक भिडियोमा अहंकारले मानिसको सम्बन्धमा असर गर्छ र दुवैले एक अर्कालाई बुझ्न नसकेर अन्तिममा बिछोडको पीडा सहनु परेको कथावस्तु छ ।

    प्रमोद प्रतिकले यस अघि ‘चुप चाप मन पराएँ’ गीति एल्बम पनि सार्वजनिक गरेका छन् जसमा रचना रिमाल, प्रवीण बेडवाल, प्रमोद खरेल, शिव परियार साथै वरिष्ठ अभिनेता तथा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेका सदाबहार गीतहरू छन् ।

    साथै गायक श्रेय अगस्तिको यसै अघि हालै ‘परिणाम गीत पनि केही दिन अघि सार्वजनिक भएको थियो ।

  • अभिनेत्रीहरुको वैवाहिक जीवन: क-कसका टुटे, क-कसका फेरि गाँसिए ?

    अभिनेत्रीहरुको वैवाहिक जीवन: क-कसका टुटे, क-कसका फेरि गाँसिए ?

    काठमाडौं । सिनेमा क्षेत्र ग्ल्यामरको क्षेत्र हो । ग्ल्यामरको क्षेत्र भएकाले यो आफैंमा रंगीन छ । यस क्षेत्रमा आफ्नो भविष्य चम्काउने सपना लाखौं युवायुवतीले देख्ने गर्छन् । कोही सफल हुन्छन्, कोही असफल । तर, ग्ल्यामरको क्षेत्र भएकाले कलाकारका गसिप, लफडा, विवाद, मनमुटावका विषय पनि मिडियाका खुराब बन्ने गर्छन् ।

    कलाकारका प्रेम सम्बन्ध, ब्रेकअप मिडियामा छिप्दैन । उनीहरुको विवाह, डिभोर्सका समाचारले त मिडिया तात्ने नै भए । केही समयअघि मात्रै पूर्वमिस नेपाल श्रृंखला खतिवडाको विवाहले राष्ट्रिय चर्चा पाएको थियो । मिडिया टाइकुन सम्भव सिरोहियासँगको उनको विवाहलाई अनेक कोणबाट हेरियो, बहस भयो ।

    खतिवडाले जसरी विवाह गर्नेहरुको चर्चा त हुने नै भयो । सिने क्षेत्रमा गुपचुप विवाह गर्ने कलाकारको लर्को पनि कम छैन । उनीहरु केही क्लोज सर्कललाई मात्रै बोलाएर सुटुक्क विवाह गर्छन् । यसैगरी सुटुक्क डिभोर्स पनि गर्ने गर्छन् । कतिपय कलाकारको भने दोस्रो विवाहपछि डिभोर्सको खबर बाहिरिन्छ ।

    अहिले डिभोर्स आम रुपमा पनि सामान्य भइसक्यो । पार्टनर चित्त नबुझेपछि आफ्नो खुशी, सपना र रहरका लागि डिभोर्स गर्नु नौलो कुरै रहेन । झनै विवाहअघि गरिने ब्याचलर्स पार्टी जस्तै अहिले त डिभोर्स पार्टीको प्रचलन सुरु भइसक्यो ।

    कलाकारको विवाह, प्रेम, ब्रेकअप, सम्बन्ध विच्छेद आममानिसको चासोमा रहन्छ । तर, कलाकारितामार्फत् सबैको नजरमा पर्न सफल कलाकारको डिभोर्स चाहिँ किन हुन्छ ? फिल्ममा आदर्श चरित्र निभाउनेहरुको वास्तविक जीवनमा किन डिभोर्स हुन्छ ? हामीले यिनै विषयमा रहेर ६ नायिकाको डिभोर्सको चर्चा गर्ने कोसिस गरेका छौं । जसले सम्बन्ध डिभोर्सपछि दोस्रो विवाह गरिसकेका छैनन् ।

    रीमा विश्वकर्मा

    अभिनेत्री तथा मिडिया पर्सनालिटी रीमा विश्वकर्मा विवाह गरेको दुई वर्षमै श्रीमान्सँग अलग्गिइन् । रीमाले सन् २०१५ मा धरान स्थायी घर भई यूकेका एनआरएनए रोबर्ट बिकसँग लगनगाँठो कसेकी थिइन् । प्रेमबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत भएको थियो । तर, वैवाहिक सम्बन्धमा बाँधिएको दुई वर्षमै रीमा र रोबर्टको सम्बन्धमा खटपट सुरु भयो ।

    बाहिरबाट सुमधुर देखिएको यो जोडीको सम्बन्ध विच्छेदको खबर तब बाहिरियो जब रोबर्टले मोडल वर्षा रसाइलीसँग इन्गेजमेन्ट गरे ।

    रीमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’ मा सह-होस्टको रुपमा देखिएकी थिइन् भने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की होस्ट हुन् । उनले थुप्रै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेकी छन् । उनी हाल आफ्नो परिवारसँगै बस्छिन् ।

    शिल्पा पोखरेल

    नायिका शिल्पा पोखरेलको डिभोर्स एक चर्चित डिभोर्समा गनिन्छ । उनको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाल तातेको थियो । शिल्पा अन्तर्वार्तामै डाको छाडेर रोएपछि माहोल झन गर्माएको थियो ।

    नायिका पोखरेलले सिने क्षेत्रका चर्चित निर्माता, निर्देशक तथा वितरक छविराज ओझासँग लगनगाँठो कसेकी थिइन् । यो शिल्पाको पहिलो तर, छविको चौथो विवाह थियो । शिल्पासँग विवाह गर्नुअघि छविले नायिका रेखा थापासँग सम्बन्ध विच्छेद गरेका थिए ।

    शिल्पालाई चलचित्र क्षेत्रमा ‘लज्जा’ बाट छविले नै ब्रेक दिएका थिए । त्यहीबाट यी दुई निकट भएका थिए । छविका अघिल्ला तीन विवाह झैं शिल्पासँगको दाम्पत्य जीवन पनि लामो समय टिक्न सकेन ।

    सीमित परिवारमात्र राखेर यी दुईले २०७३ साल असार २९ गते विवाह सम्पन्न गरेका थिए । २०७३ सालमा विवाह गरे तापनि यो जोडीले विवाह दर्ता भने २०७५ साल पुस १२ गते गरेको थियो । विवाह दर्ता गरेको ६ महिनामै शिल्पाले छविविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् ।

    छविले आफ्नो कानको जाली फुट्ने गरी पिटेको बताउँदै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा उजुरी दर्ता गराएकी थिइन् । यसरी प्रेमबाट सुरु भएको यी दुईको सम्बन्ध अन्ततः अदालत पुगेर सकियो । सम्बन्ध विच्छेदपश्चात शिल्पा अहिले सिंगल छिन् । छविले पनि विवाह गरेका छैनन् ।

    सुष्मिता केसी

    अभिनेत्री सुष्मिता केसी अभिनेता भुवन केसीकी पूर्वपत्नी अर्थात् नायक अनमोल केसीकी आमा हुन् । चलचित्र ‘विजय पराजय’ को सेटमा यी दुईको भेट भएको थियो । भुवन शो चलचित्रका मुख्य नायक थिए । सोही भेटपछि यी दुईको निकटता बढ्यो । निकटता बढेको केही समयपछि यी दुई लिभ-इन रिलेसनमा बस्न थाले । लिभ-इनमै हुँदाहुँदै सुष्मिता गर्भवती भइन्, अनमोल जन्मिए ।

    अनमोलको जन्मपश्चात यी दुईले विवाह गरे । विवाहपछि भने यी दुईको सम्बन्धमा खटपट सुरु भयो । आपसी मनमुटाव बढ्न थालेपछि यी दुईले सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । भुवन र सुष्मिताको सन् २००१ मा डिभोर्स भयो । यसपछि सुष्मिताले सेप्टेम्बर ९, २०१८ मा फिजीमा जन्मिएका अस्ट्रेलियाका व्यापारी किलन स्वामीसँग सिंगापुरमा इन्गेजमेन्ट गरिन् भने यता भुवन पनि हाल नायिका जिया केसीसँग लिभ-इनमा छन् ।

    मनिषा कोइराला

    अभिनेत्री मनिषा कोइराला नेपालमा जति चर्चित छिन्, भारतमा पनि त्यति नै चर्चित छिन् । उनले थुप्रै हिट हिन्दी चलचित्रमा काम गरेकी छन् । हिन्दीबाहेक तमिल, तेलुगु, बंगाली, मलयालम, कन्नड र अंग्रेजी चलचित्रहरूमा पनि उनले काम गरेकी छन् । राजनीतिक घराना कोइराला परिवारमा जन्मिएकी उनी राजनीतिज्ञ तथा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी र पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् ।

    करियरमा सफल कोइरालाको वैवाहिक सम्बन्ध भने असफल रह्यो । नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेको दुई वर्षमै यो जोडी अलग्गियो । क्यान्सर सर्भाइभर कोइरालाले सम्राटसँगको सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेकी छैनन् । उनी अहिले अभिनयको अलावा महिला अधिकार, महिला हिंसाको रोकथाम र मानव बेचबिखन रोक्न विभिन्न संगठनहरूसँग मिलेर काम गरिरहेकी छन् ।

    अरुणिमा लम्साल

    कुनै समयकी चर्चित नायिका अरुणिमा लम्सालले विराटनगर निवासी अमित अर्यालसँग विवाह गरेकी थिइन् । अर्यालसँग लम्सालको प्रेमविवाह भएको थियो । विवाह गरेको ६ वर्षपछि अरुणिमाले २०६८ मा छोरी जन्माइन् । गर्भवती भएपछि उनको फिल्मी करियरमा केही समय ब्रेक लागेको थियो ।

    छोरी जन्मिएपछि अरुणिमा र अमित अमेरिका घुम्न गए । त्यही बेला उनीहरुले ग्रिनकार्ड आवेदन सुरु गरे । अमेरिकाबाट फर्किएपछि लम्सालले अभिनयको यात्रामा पुनरागमनको प्रयास गरिन् । तर, सफलता पाइनन् ।

    ग्रीनकार्ड आउँदानआउँदै अर्याल र लम्सालको सम्बन्धमा दरार आइसकेको थियो । अमेरिका जानुअघि नै यी दुईले नेपालमा भएको सम्पत्ति बाँडफाँट गरे । पछि यी दुईको पनि सम्बन्ध विच्छेद भयो । लम्साल हाल परिवार र छोरीसँग अमेरिकाका बस्छिन् ।

    वर्षा सिवाकोटी

    विवाह गरेको एक वर्ष नपुग्दै सम्बन्ध विच्छेद गरेकी नायिका हुन् वर्षा सिवाकोटी । सिवाकोटीले २०७९ वैशाख ९ गते अमेरिका बस्दै आएका इन्जिजियर आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् ।

    अमेरिका घुम्न जाँदा नजिकिएका यी दुईबीच नेपाल फिरेपछि गुपचुप विवाह भयो । विवाहलगत्तै आशिष अमेरिका गए । केही समयपछि वर्षा पनि अमेरिका गइन् र पुनः नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले सामाजिक सञ्जालबाट श्रीमान्का सबै फोटो हटाइन् । यसैवेला उनीहरुको सम्बन्धमा खटपट आइसकेको हल्ला चलेको थियो । पछि आशिषले दोस्रो विवाह गरेपछि मात्रै उनीहरुको डिभोर्स भएको पक्का भएको थियो ।

    ०००

    यी त भए ती नायिकाहरु, जसको पहिलो वैवाहिक जीवन सोचेअनुरुप अगाडि बढ्न सकेन । छोटो समयमै वैवाहिक सम्बन्ध टुट्यो । तर, सिने क्षेत्रमा त्यस्ता नायिकाहरु पनि छन्, जसको पहिलो सम्बन्ध टुटे पनि दोस्रो विवाह सुखमय नै चलिरहेको छ । दोस्रो विवाहमा उनीहरु खुशी देखिइएका छन् । यिनै अभिनेत्रीहरुको यहाँ चर्चा गरिएको छ ।

    प्रियंका कार्की

    विवाहपछि करियर बनाउन गाह्रो हुने भनिएको सिने क्षेत्रमा बच्चा भइसकेपछि पनि आफ्नो करियरलाई सानदार तरिकाले अगाडि बढाइरहेकी छन् अभिनेत्री प्रियंका कार्कीले । अभिनेता आयुषमान देशराज जोशीसँग दोस्रो विवाह गरेकी उनले सन् २०२१ मा छोरी आयंका पाएकी थिइन् ।

    उनीहरुले लामो समयको प्रेमलाई सन् २०२० मा विवाहमा परिणत गरेका थिए । आयुषमानअघि कार्कीले अमेरिका बस्ने रोचक मैनालीसँग विवाह गरेकी थिइन् । २२ वर्षकै उमेरमा लगनगाँठो कसेकी कार्कीले रोचकसँग लामो यात्रा तय गर्न सकिनन् । विवाह गरेको दोस्रो वर्षमै यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।

    सञ्चिता लुइँटेल

    पहिलो वैवाहिक जीवन सफल नहुने सूचीमा नायिका सञ्चिता लुइँटेलको नाम पनि अग्रपंक्तिमा आउँछ । अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी उनका पहिलो श्रीमान आकाश शाह थिए ।

    चलचित्र ‘भन्नै सकिनँ’ फिल्मको सेटबाट आकाशसँग नजिकिएकी लुइँटेलले परिवारको चाहनाविपरीत विवाह गरेकी थिइन् । आफ्नै रोजाइमा आकाशसँग विवाह गरे पनि उनहरुको वैवाहिक जीवन लामो समय टिकेन । आकाशसँग सम्बन्ध विच्छेद गरिन् र निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन् ।

    निखिलको पनि यो दोस्रो विवाह हो । अहिले उनीहरुको घरजम राम्रैसँग चलिरहेको छ । उनीहरुको एक छोरा र एक छोरी छन् ।

    रेखा थापा

    चलचित्र ‘हिरो’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री रेखा थापाले २०५७ सालमा निर्माता छविराज ओझासँग पहिलो विवाह गरेकी थिइन् । पहिलो विवाह गर्दा रेखा मात्र १६ वर्षकी थिइन् भने छवि ३७ वर्षका थिए ।

    आफैंले सुरु गरेको ‘नमस्ते नेपाल’ नामक कम्पनीबाट छविले ‘हिरो’ चलचित्र बनाएका थिए । सो चलचित्रबाट उनले रेखालाई फिल्मी दुनियाँमा इन्ट्री गराएका थिए । चलचित्रको छायांकन सकिनासाथ छवि र रेखाले लगनगाँठो कसेका थिए ।

    १६ वर्ष सँगै बिताएका यी दुईको सम्बन्ध सुमधुर बन्न सकेन । सम्बन्ध विच्छेडको मोड लियो । २०७३ सालमा यी दुई अलग्गिए । छविसँग अलग्गिएकी थापाले सन् २०२२ मा जाजरकोट निवासी बलराम शाही ठकुरीसँग दोस्रो विवाह गरिन् ।

    ठकुरी र थापाले कानूनी रुपमा सुटुक्क विवाह गरेका थिए । इजरायल बसोबास गर्दै आएका बलराम पेशाले पर्यटन व्यवसायी हुन् । हाल यी दुई आमाबुवा बन्ने तयारीमा छन् । आमा बन्न लागेकी रेखा र बलराम अहिले अमेरिका पुगेका छन् ।

    पेशा र क्षेत्रका कारण सेलिब्रेटीको सम्बन्ध छिटो चिसिने गर्छ: राधिका खतिवडा, अधिवक्ता

    पछिल्लो समयको अदालतको माहोल हेर्ने हो भने जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये फौजदारीपछि देवानीमा ७० प्रतिशत डिभोर्ससँग सम्बन्धित छ । त्यसपछि ३० प्रतिशत पनि छैन पारिवारिक मुद्दा । अधिकांश मुद्दामा वैदेशिक रोजगारमा श्रीमान गएको, श्रीमती नेपालमा रहेको, श्रीमती विदेश गएको, श्रीमान् नेपाल रहेको र त्यही दूरीले सृजना गरेको मनमुटावका कारण उनीहरु डिभोर्सको संघारमा पुगेको देखिन्छ ।

    दोस्रो, प्रेम विवाह । आवेगमा गरिएका प्रेम विवाह पछि परिवारमा सँगै अगाडि बढाउन नसकेपछि डिभोर्स गर्ने गरेको देखिन्छ ।

    हाम्रो कानूनअनुसार मानसिक यातना दिएमा, खान लाउन नदिएमा, घर निकाला गरेमा डिभोर्सको मुद्दा हाल्न सकिन्छ । अहिलेका महिलाले हिंसा सहेर बस्दैनन् । त्यसैले सेलिब्रेटीमात्रै होइन, पछिल्लो समय अदालतमा आममान्छेको पनि धेरै मुद्दा देखिएका छन् । सेलिब्रेटीलाई सबैले चिन्ने भएकाले समाचार बन्छ ।

    सेलिब्रेटीले सबै चिज हेरेर, आफूसँग मिल्नेसँग विवाह गर्छन् भन्ने लाग्नसक्छ । त्यसो भए किन उनीहरु छुट्छन् ? विवाहपूर्व उनीहरु पनि स्वतन्त्र रुपले काम गरिरहेका हुन्छन् । तर, विवाहपछि भने हिँड्दा, बस्दा, खाँदा, कोहीसँग कुरा गर्दा सोचेर गर्नुपर्ने हुन्छ । पेशा नै स्वतन्त्र भएकाले स्वतन्त्रतामा तालमेल नहुँदा मनमुटाव सुरु हुने हो । यही कारणले सेलिब्रेटीको सम्बन्ध छिटो चिसिने हो ।

  • विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ काे उपाधि, पाए २० लाख

    विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ काे उपाधि, पाए २० लाख

    काठमाडौं । भ्वाइस अफ नेपालको सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा राई विजेता बनेका हुन् ।

    उनी कोच मिलन नेवारको समूहमा थिए । प्रतिस्पर्धामा मकरबहुदर योन्ज फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप भएका छन् । विनोदले नगद २० लाख पुरस्कार प्राप्त गरेका छन् ।

    आज भएको फिनालेमा कोच मिलन नेवारको टीमबाट विनोद राई, कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयासबिच प्रतिस्पर्धा भएको थियोे ।

  • आँचल शर्माको मुख्य भूमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

    आँचल शर्माको मुख्य भूमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

    काठमाडौं । सहारा शर्माले सिनेमा ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । सिनेमामा अभिनेत्री आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भुमिका रहनेछ । बिहीबार सिनेमाको निर्माण घोषणा एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो ।

    फेमिली ड्रामा जनरामा बन्ने सिनेमाले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ । सिनेमालाई लिएर अभिनेत्री आँचल शर्मा उत्साहीत देखिएकी छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिल्यै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् रु एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुति मधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौं ।’

    सिनेमामा अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने सिनेमाको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ । निर्माता तिमल्सेनाले फागुनदेखि पोखरामा सिनेमाको छायांकन गरिने बताए । नारी प्रधान कथावस्तुमा सिनेमा बन्न लागेको उनले जाकारी दिए ।

    यो सिनेमाले यसअघि विश्वप्रसिद्ध सिनेमा महोत्सवको सिनेमा बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम सिनेमा मार्केटमा सिनेमा पिचिङ भइसकेको छ । ढाका सिनेमा महोत्सवको मार्केट र ल्याबमा यो सिनेमाको कथा समावेश हुँदैछ ।

    गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य गर्नेछन् । सिनेमा फेस्टिभल र हललाई लक्ष्य राखेर सिनेमा निर्माण गर्न लागिएको निर्माता तिमल्सेनाले जानकारी दिए ।

  • नरेश र सागरको ‘अब अर्को जुनीमा’ सार्वजनिक (भिडिओ)

    नरेश र सागरको ‘अब अर्को जुनीमा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।

    गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडिओमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेस थापाको उपस्थिति रहेको थियो ।

    भिडिओ

    गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका बताए । ‘यो गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ’, उनले भने ।

    गायक बुढाथोकीले गीतलाई अडियो झैँ भिडियोमा पनि राम्रो बनाइएकोमा निर्देशक र कलाकारसहितको टिमलाई धन्यवाद दिए ।

    ‘अडिओमा झैँ भिडिओमा समेत मेहनत गरिएको छ । यसमा यो जुनीमा बाँकी रहेका ईच्छालाई अर्को जुनीमा पुरा गर्ने भाव व्यक्त गरिएको छ’, गायक बुढाथोकीले भने, ‘विदेशमा छायांकन भएता पनि भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन । यो सँगै गरिएका केही सहकार्यहरू अब विस्तारै सार्वजनिक हुनेछन् ।’

    भिडियोमा देखिएका कलाकार मध्येका एक कलाकार सागरले पहिलो पटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरे । ‘छ दिनका लागि अमेरिका पुगेर गीतमा अभिनय गरेर फर्किए । संवत यसरी अभिनय गर्ने कलाकार म नै पहिलो होला’, सागरले भने, ‘मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मेहनत गरेको छु ।’

    गीतमा उनले गम्भीर भावलाई प्रस्तुत गरेको बताए । सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।

     

  • र्‍याप गीतको महायुद्ध​ ‘र्‍याप व्याटल नेपाल’ प्रसारणमा आउँदै

    र्‍याप गीतको महायुद्ध​ ‘र्‍याप व्याटल नेपाल’ प्रसारणमा आउँदै

    काठमाडौं । र्‍याप गीतको महायुद्ध ‘र्‍याप व्याटल नेपाल’ टेलिभिजन रियालीटी शो प्रसारणमा आउने भएको छ ।

    बुधबार आयोजक युजिसा इन्टरनेशल र सह आयोजक राज्य मिडिया नेटवर्कले पत्रकार सम्मेलन आयोजना गर्दै टेलिभिजन रियालीटी शो प्रसारणमा आउने बताएको हो ।

    एपी वान टेलिभिजनबाट प्रसारणमा आउन लागेको ‘र्‍याप व्याटल नेपाल’ आयोजक कम्पनी युजिसा इन्टरनेशलका एक्जिक्युटिभ डाईरेक्टर सानु खानले बताए ।

    उनले भने, ‘एपीवान टेलिभिजनबाट आगामी अप्रिलदेखी र्‍याप व्याटल नेपाल प्रसारण हुनेछ, हामी हाल अडिसनको तयारीमा जुटेका छौँ, फेव्रवरीबाट अडिसन सुरु गर्नेछौं ।’

    शो का ईभेण्ट निर्देशकसमेत रहेका खानले नेपाली सांगितिक फाँटसहित बलिउड फिल्म नगरीबाटसमेत अतिथि जर्ज निर्णयककारुपमा रहने उनले बताए ।

    ‘र्‍याप व्याटल नेपाल’ को अडिसन नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, झापा, ईटहरी, चितवनसहित सिमापारी दार्जिलिङ, सिलिगुढि र सिक्किममा पनि गर्ने कार्यक्रम रहेको ईभेण्ट डाईरेक्टर डेभिल सिंह राजपुतले बताए ।

    शो को अडिसन दार्जिलिङ्गमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फाल्गुण ०२, ईटहरीमा फाल्गुण ०५, चितवन फाल्गुण ०९, पोखरा फाल्गुण १२ र काठमाण्डौंमा १८ एवं १९ गते गर्ने तय गरिएको छ ।

    त्यस्तै, सह आयोजक कंपनी राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं ईभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए ।

    ‘युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण यस शोले दिनेमा हामी विश्वस्त छौँ, त्यसबाहेक पनि युवाहरुलाई स्वदेशभित्रै रहेर केही गर्न सन्देश दिने उदेश्य यस शो ले बोकेको छ’, ओझाले भने ।

    विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले बताए ।

  • चलचित्र ‘एक्टर’मा नायिका आना शर्मा अनुबन्धित, प्रदीप खड्कासँग जोडी बाधिँने

    चलचित्र ‘एक्टर’मा नायिका आना शर्मा अनुबन्धित, प्रदीप खड्कासँग जोडी बाधिँने

    काठ्माडौं। नायक प्रदीप खड्का मुख्य भूमिकामा रहने फिल्म ‘एक्टर’मा नायिका आना शर्मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

    आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुर्इको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

    राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह–निर्मातामा भने एनिस भुसाल रहेका छन् ।

    फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

    फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।