Category: कलाप्रेस

  • गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक (भिडिओ)

    गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भिडिओ सार्वजनिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

    सार्वजनिक गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ ।

    कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् । भिडिओमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ ।

    भिडिओमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन् । विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडिओको सम्पादन निर्देशक कमल स्वयंमको रहेको छ । भिडिओ कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन् ।

    भिडिओ सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक कविता शर्मा र कृष्ण थापा मगरले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिराले बाल्यकालको सम्झना गरिन् ।

    गायिका उमा र इन्दिरा बाल्यकालका साथी हुन् । उमाले यो उमेरमा आएर गायिका बनेकोमा आफुलाई निकै खुशी लागको उपसभामुख मगरले बताइन् । भिडिओ गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

  • मिन भामको ‘साम्बला’ बर्लिन फिल्म फेस्टिभलको शीर्ष विधा ‘गोल्डेन बेयर’मा छनोट

    मिन भामको ‘साम्बला’ बर्लिन फिल्म फेस्टिभलको शीर्ष विधा ‘गोल्डेन बेयर’मा छनोट

    काठमाडौं । निर्देशक मीन भामको चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलमा यस फिल्मले अन्य १९ फिल्मसँग सर्वोच्च पुरस्कार ‘गोल्डेन बेयर’क लागि प्रतिस्पर्धा गर्नेछ ।

    यस फिल्म निर्माणका लागि मात्रै पनि भामले लाखौं रुपैयाँको विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितेका थिए । यस फिल्मलाई उपल्लो डोल्पोमा छयंकन गरिएको हो । फिल्मको पटकथा पनि भाम स्वयंको रहेको छ । यसअघि यो फिल्मको नाम ‘चिसो वर्ष’ राखिएको थियो ।

    ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको ‘गोल्डेन बेयर’ विधा अन्तर्गत प्रतिस्पर्धा गर्ने पहिलो नेपाली फिल्म बनेको छ । यसअघि भामको ’कालो पोथी’ले पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू जितेको थियो । भामको यो दोस्रो फिचर फिल्म हो ।

     

  • ‘अगस्त्य’को नयाँ पोष्टरमा मलिका महतसँगै देखिए सौगात

    ‘अगस्त्य’को नयाँ पोष्टरमा मलिका महतसँगै देखिए सौगात

    काठमाडौं । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । टिजर रिलिजको ३ दिन अगाडि निर्माण पक्षले नायिका मलिका महतको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् ।

    चलचित्रमा उनको भूमिका के हो भन्ने बारे भने खुलाइएको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

    चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने निर्माण टिमको अपेक्षा छ ।

    चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

    डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलले लगानी गरेका छन । चलचित्रका कार्यकारी निर्माता भने विश्व गौचन र अभिषेक चौधरी हुन् ।

  • धोकामा परिन् ‘धोकेबाज गायिका’ ! विष्णुसँग एलिना चौहानको ब्रेकअप (भिडिओ)

    धोकामा परिन् ‘धोकेबाज गायिका’ ! विष्णुसँग एलिना चौहानको ब्रेकअप (भिडिओ)

    काठमाडौं । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ ।

    अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् ।

    त्यसपछि उनीहरू प्रेममा परेका थिए । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडियामा आयो । एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन् । एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।

    एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो ।

    विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतको दाबी छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा गालीगलौज गर्न थालेपछि एलिना आजित बनेकी थिइन् । अन्ततः उनले अलग्गिने निर्णय लिइन् । भित्रैबाट टुटेकी एलिना अहिले सांगीतिक कार्यक्रमहरुमा आफूलाई व्यस्त राखिरहेकी छन् ।

    स्रोतका अनुसार विष्णु एलिनाभन्दा अघि एक चर्चित म्युजिक भिडियो मोडलसँग उनको निकटता थियो । चर्चाको लागि मात्रै विष्णुले एलिनालाई प्रयोग गरेको कतिपयकाे अनुमान थियाे ।

    एलिनाले पनि विष्णुको प्रेममा डुबेपछि उनको ब्याकग्राउण्डलाई महत्त्व दिइनन् । यद्यपि, विष्णुलाई नजिकबाट चिन्नेहरूले उनीहरूको प्रेम धेरै नटिक्ने आँकलन पहिल्यै गरेका थिए ।

    जादुमयी स्वरकी धनी एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ ।

    विष्णु भने लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । उनी गीत पनि गाउँछन् । प्रेममा परेपछि विष्णुले नेपाल आएर एलिनासँग एउटा युगल गीत रेकर्ड गराएका थिए तर खासै चलेन ।

  • अमेरिकाको फिलाडेल्फियामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत

    अमेरिकाको फिलाडेल्फियामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत

    काठमाडौं । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् ।

    सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् ।

    ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो । त्यस अवसरमा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायका नागरिकको उपस्थिति रहेको आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

    सो संयुक्त सांस्कृतिक कार्यक्रममा इन्ट्रा डान्स स्कुल, हृयारिसवर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नेपाली कलाकार रोमा राई र उनको समूहद्वारा प्रस्तुत राई जातिको परम्परागत साकेला नृत्य सबैको आकर्षणको केन्द्र बनेको थियो ।

    कार्यक्रममा कम्बोडिन मूलका केभिन चिन र बेर्मेली मूलकी थाङ सोङले आ-आफ्ना देशका संस्कृतिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानलगायतले आ-आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    त्यसैगरी सो कार्यक्रममा नेपाली, बर्मेली, कम्बोडियन कलाकारले आफ्ना देशका संस्कृति र कला झल्किने गरी नृत्य प्रस्तुत गरेका थिए । अमेरिकास्थित सामाजिक संस्था इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाकाद्वारा आयोजित सो कार्यक्रममा सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले संसारभरका नेपालीबीच सांस्कृतिक एकता गर्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको जानकारी दिए ।

    त्यस अवसरमा कम्बोडियन आइडलसमेत रहेकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान गौतमबुद्धको जन्मभूमि पुग्ने रहर भएको बताएका थिए ।

    आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर पितृभूमि नेपालमा शरणार्थी जीवन बिताएको पीडादायी क्षणमा पनि आफूहरुले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाएको भन्दै फाउण्डेसनका निर्देशक ओमराज गुरुङले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

    फिलाडेल्फिया नगर परिषद्की सदस्य डा निना अहमदले एसियाका विविध संस्कृतिलाई अमेरिकामा ल्याइ संयुक्तरुपमा प्रस्तुत गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

    उक्त कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता, नगरपालिकाका प्रतिनिधि, अमेरिकी सङ्घीय सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यको सहभागी भएका सो विज्ञप्तिमा जनाइएको छ ।

  • ‘द नेशनल डिजाइनर रनवे २०२४’ को प्रथम चरणको अडिसन सम्पन्न, फेब्रुअरी २८ मा फिनाले

    ‘द नेशनल डिजाइनर रनवे २०२४’ को प्रथम चरणको अडिसन सम्पन्न, फेब्रुअरी २८ मा फिनाले

    काठमाडौं । फेसन डिजाइनर र मोडलहरुको प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणको प्रथम चरणको अडिसन सम्पन्न भएको छ ।

    ‘मोडल सङ्स नेपाल’को आयोजनामा हुन लागेको प्रतियोगिताका लागि शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा अडिसन गरिएको हो । अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडलहरु सहभागी थिए ।

    अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रन वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । सहभागी डिजाइनरहरुले डिजाइन शो र मोडलहरुले र्‍याम्प वाकसहित अडिसन दिएका थिए ।

    मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे’को फिनाले आगामी फेब्रुअरी २८ गते सुकुटे बिचमा गरिने बताइन् । उनले प्रतियोगितामा फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिने जानकारी दिइन् । ‘डिजाइन र र्‍याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् ।

  • चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गते रिलिज हुने

    चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गते रिलिज हुने

    काठमाडाैं। सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसंगै चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण टिमले एउटा आलु जस्तो र अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् ।

    कमेडी–क्राइम–एक्सन- ड्रामाको मिश्रण रहेको उक्त चलचित्र `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

    `जिग्री´ काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो । यहीँ दुई युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय बस्तु रहेको छ । वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।

    चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायांकन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको केही दिनमा नै टिजर सार्वजनिक गरिने छ भने चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्ने छ ।

  • गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ को भिडियो सार्वजनिक

    गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ को भिडियो सार्वजनिक

    काठमाडौं‌ । काठमाडौं चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ ।

    बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको सङ्गीत रहेको छ ।

    उक्त गीतमा विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको छ । मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

    मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।

    रामेछाप जिल्ला स्थायी घर भएकी चर्चित काठे गीत हे मेरो सानु की गायिका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायिका हुन ।

    चर्चित गीत बस बस पियारीका सङ्कलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरी गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन ।

  • ‘बलिदान’को संगीतको संयोजनमा गायक सुजन चापागाईं

    ‘बलिदान’को संगीतको संयोजनमा गायक सुजन चापागाईं

    काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘बलिदान’को संगीतको संयोजनको जिम्मेवारी पछिल्लो समयका चर्चित गायक सुजन चापागाईंले पाएका छन् । सुजनका अलवा सांगीतिक संस्था आर्टमान्डु टिमका अन्य दुई सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसँग निर्देशक सन्तोष सेनले कागजी सम्झौता गरेका हुन् ।

    गायक चापागाईंका ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ जस्ता गीतबाट लोकप्रिय छन् । उनले सिनेमामा पनि हिट गीत दिइसकेका छन् । उनको स्वर तथा संगीत रहेको सिनेमा ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत हिट भएको थियो ।

    अब उनी सन्तोष सेनको निर्देशन तथा निर्माणमा बन्न लागेको सिनेमा ‘बलिदान’को गीतमा स्वर तथा संगीत भर्ने भएका छन् । सिनेमाको गीत तथा ब्याकग्राउन्ड म्यूजिकमा सुजनसहितको टिमले काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन् भने सुजनको स्वर, संगीत र ब्याकग्राउन्ड म्यूजिक रहनेछ । नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

    सुजनसहितको टिम संलग्न भएसँगै यतिबेला गीत संगीतको विषयमा कार्यशाला भैरहेको छ । निर्देशक सेनले सिनेमाको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफल गरिने बताए । दशैंको फूलपातीमा टिजर रिलिज गरिएसँगै चर्चामा रहेको सिनेमामा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम लागि रहेको छ ।

    आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमा निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी छन् । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथावस्तुमा सिनेमा बन्ने निर्देशक सेनले बताए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहेको सिनेमाको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् ।

  • एकलासको चितामा बत्ती निभाई जाऊ…

    एकलासको चितामा बत्ती निभाई जाऊ…

    सपना भुलाई सारा आँसु पिएर जाऊ

    मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

    आज संगीतकर्मीहरूले यस कालजयी गीतलाई संयुक्तरूपमा गाएर स्वर्गीय गायक योगेश वैद्यलाई अन्तिम श्रद्धाञ्जली दिए । संगीत नाट्यप्रतिष्ठानको प्रांगणमा दर्जनौं संगीतकर्मीले लाइभ बाजासहित गीत गाउँदा माहौल भावपूर्ण मात्रै बनेको थिएन, एक कुशल र असल सर्जकप्रतिको सांगीतिक सम्मान पनि प्रकट भइरहेको थियो ।

    वैद्य एकदमै अन्तरमुखी स्वभावको भएको संगीतकर्मीहरू बताउँछन् । उनका गीतकै संख्या जोडजाड पार्ने हो भने पनि सय कटाउन मुस्किल हुन्छ । तर, थोरै गीत गाए, धेरै नेपालीको मनमनमा बसे । अहिले भाइरल हुनकै लागि गाइने सर्जकहरूको भिडमा वैद्य नेपाली संगीतको संजीवनी बुटी भएको संगीतकार वसन्त सापकोटाको भनाइ छ ।

    संगीतकार तथा गीतकार टीका भण्डारीका अनुसार गायक वैद्य संगीतमा यति गम्भीर थिए कि एउटै गीत बनाउन उनलाई पाँच-छ महिना लाग्थ्यो । वैद्यको विश्वास थियो- एउटा गीत पूर्णतया बन्नका लागि समय, साधना र धैर्यताको आवश्यकता पर्छ । गीतको हरेक शब्दहरूलाई छिचोलेर त्यसको भावलाई संगीतमा सजाएपछि मात्रै पूर्ण गीत बन्न सक्छ ।

    तर, अहिले करोडौं नेपालीको प्रियमध्येको एक गीत ‘सपना भुलाइ सारा’ भने जम्मा ५ घण्टामा बनेको थियो । प्रसंग २०४२ सालको हो । जतिवेला भण्डारी भर्खरै जागीरे बनेर रेडियो नेपाल छिरेका थिए । र त्यही समयमा वैद्यको कालजयी गीत तयार हुँदै थियो ।

    भण्डारीका अनुसार एक दिन वैद्य संगीतकार नातीकाजीको कोठामा गएका थिए । नातीकाजी हार्मोनियममा गीत बनाइरहेका थिए । त्यसवेला नातीकाजीको कोठामा गीतहरूको चाङ नै हुन्थ्यो । कागजमा लेखिएका गीतहरूको थुप्रोबाट मनपरेको गीत छानेर संगीत भर्थे नातीकाजी ।

    यही सिलसिलामा वैद्यले भूइँमा लडिरहेको एउटा कागजको चिर्कटो देखे । त्यहाँ लेखिएको गीत थियो, ‘सपना भुलाई सारा’ ।

    गीतका शब्द पढ्नसाथ वैद्यलाई अत्यधिक मनपर्‍यो । उनले नातीकाजीलाई भने, ‘नातीकाजी दाइ, यो गीत म गाउँछु ।’

    नातीकाजीले भने, ‘हो त ? गाउने हो त तपाईंले ?’

    भण्डारीका अनुसार पाँच-छ महिना एकै गीतका लागि लगाउने वैद्यलाई यो गीतको शब्द यतिधेरै मनपर्यो कि उनले भोलिपल्ट पनि फलोअप गरे । वैद्यको आतुरता देखेर नातीकाजीले पनि संगीत तयार गरिहाले । अनि जम्मा ५ घण्टामा रेकर्ड भयो यस गीत ।

    यस गीतको गीतकार शिव अधिकारी थिए । तर, भण्डारी स्वयंलाई नै थाहा छैन, गीतकार अधिकारी कहाँ छन् ? लाइमलाइटमा कतै छैनन् । अधिकारीको अर्को दोस्रो गीत पनि छैन जस्तो लाग्छ भण्डारीलाई ।

    भण्डारी भन्छन्, ‘त्यसवेलादेखि वैद्य दाइले मलाई चिन्नुभएको थियो । अनि मलाई माया पनि औधि गर्नुहुन्थ्यो । किनभने म पढेर संगीत क्षेत्रमा आएको थिएँ । उहाँको कुरा पनि जहिल्यै दार्शनिक र गम्भीर हुन्थ्यो ।’

    भण्डारीका अनुसार वैद्य शालीन र भद्र थिए । गफ पनि दार्शनिक गर्थे । सामान्य कुरामा जाँदै जाँदैन थिए । वैद्य भन्थे, ‘जब स्रष्टाले आफ्नो जीवन महसुस गरेर अन्तरहृदयबाट गीत र संगीतलाई लिँदैन, तबसम्म प्रस्तुतिमा वास्तविकता आउँदैन ।’

    भण्डारीले वैद्यको एक दर्जन बढी गीतमा वाद्यवादन गरे ।

    भण्डारीले नै वाद्यवादन गरेको एक गीत छ, ‘माटो भन्नु मुटु रैछ’ । भूपेन्द्र रायमाझीद्धारा संगीतबद्ध, भीम खरेलको शब्दमा वैद्यले गाएको यो राष्ट्रिय गीतमा भण्डारीले मेण्डलिन बजाएका थिए ।

    रायमाझी पनि रेडियो नेपालमा जागिरे थिए । वैद्यको धेरै गीतहरूमा वाद्यवादन पनि गरेका छन् । तर, गीत, संगीतसँगै रायमाझीको वैद्यसँगको सम्बन्ध भने तत्कालीन राजदरबारसँग जोडिन्छ ।

    त्यसवेला विशेष उत्सवहरूमा दरबारमा सांगीतिक कार्यक्रमहरू हुन्थे । जहाँ प्रेमध्वज प्रधान, नातिकाजी, रायमाझी, वैद्यहरू प्रस्तुति दिन जान्थे । रायमाझी भन्छन्, ‘त्यतिवेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई एकदमै मनपर्ने गायक हुनुहुन्थ्यो उहाँ । प्रेमध्वज दाइ पनि वैद्यलाई ज्ञानेन्द्रको फेभरेट गायक भन्नुहुन्थ्यो ।’

    तत्कालीन पूर्वराजा वीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्रकहाँ गएर गीत गाउने क्रममा वैद्यलाई ज्ञानेन्द्रले निकै रुचाएपछि बेग्लै पनि बोलाउँथे । रायमाझी, वैद्यहरू ज्ञानेन्द्रलाई गीत सुनाउन पनि जान्थे । अर्कातिर ज्ञानेन्द्र आफैं पनि संगीतकार थिए । रायमाझीका अनुसार गीतमा नाम राख्थे, तर संगीतकारमा राख्न चाहँदैन थिए । तर, आफूले लेखेको लय भने आफैं गाएर सुनाउँथे ।

    रायमाझी भन्छन्, ‘राजाको भाइलाई गीत सुनाउन पाउँदा खुसी हुन्थ्यौं । रेडियो नेपालमा दरबारको सचिवले क-कसले गाउने भनेर सूचि पठाउँथ्यो । त्यसअनुसार नै गइन्थ्यो । वैद्य पनि दरबारमा गएर गाउने भनेपछि काम गर्ने ठाउँको माहौल अर्कै हुन्थ्यो । मलाई चाहिँ ज्ञानेन्द्र शाहले ‘गुड गिटारिङ’ भनेर भन्नुहुन्थ्यो ।’

    वैद्यबारे रायमाझी थप्छन्, ‘उहाँ संगीतलाई अथाह प्रेम गर्ने स्रष्टा हो । संगीतको अलवा शब्ददेखि हरेक कुरामा दख्खल राख्ने गर्नुहुन्थ्यो । शब्द अनुसारको संगीत भएको छ कि छैन हेर्नुहुन्थ्यो ।’

    उहाँ गोल्डेन भ्वाइस भएको गायक हो- वसन्त सापकोटा, संगीतकार

    उहाँ एकदमै अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो । उहाँका धेरै सृजना छैनन् । तर, जति छन्, अब्बल छन् । उहाँ छ, सात महिना लगाएर गीत तयार गर्नुहुन्थ्यो रे । यति धेरै मिहेनत गर्ने स्रष्टा हो उहाँ ।

    उहाँ नेपाली संगीत क्षेत्रको कालजयी गीतको गायक हो । उहाँको स्वरको मीठा अर्कै तहको । गोल्डेन भ्वइस हो उहाँको । उहाँको स्वर यति सुमधूर छ कि अहिले पनि लाग्छ, स्वर त यस्तो हुनुपर्छ । स्वर मीठो भएकाले पनि उहाँका गीतहरू कालजयी भएका हुन् ।

    अहिलको पुस्ताले उहाँबाट सिक्नलाई धेरै कुरा छन् । पहिलो त भाइरल हुन छाडेर धैर्यता बोकेर हिँड्न सिकौं । साधना गरौं, अनि निखारता आउँछ । आफ्नो व्यवहार पनि राम्रो बनाऔं, जसको कारण समाजले पनि त्यही अनुसारले कलाकारलाई हेर्ने दृष्टिकोण बनाउँछ ।

  • सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक, उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

    सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक, उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

    काठमाडौं। गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण र एसडीकै मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।

    सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन, विजय अधिकारीको सह–निर्देशन, पेम्बा मगरको सह–कोरियोग्राफी तथा सरोज अधिकारीको कन्सेप्ट र निर्देशन छ । भिडियोका प्रोडक्सन कन्ट्रोलर भने मिलन कटवाल हुन् ।

    गीतको भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट २ प्रतिक्रिया छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुईवटा स्मार्ट फोन उपहार दिइने निर्माणपक्षले बताएको छ। भिडियोमा युवा-युवतीबीचको प्रेम र पारिवारिक अवरोध देखाइएको छ । दर्शकले यो भिडियोलाई गहन तरिकाले हेरेर प्रतिक्रिया दिनुपर्नेछ ।

  • ‘एक्टर’बाट राजवल्लभको कमब्याक पक्का

    ‘एक्टर’बाट राजवल्लभको कमब्याक पक्का

    काठमाडौं । फिल्म ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा नायक राजवल्लभ कोइरालालाई दर्शकले निकै सम्झिए । फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो ।

    तर, फिल्म ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे । यसपछि, भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब, उनै नायक फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।

    नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।

    राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।
    यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् ।

    फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् । आना र प्रदीपकोे जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

  • रामकृष्ण र रानीको स्वरमा सरोज–शिल्पाको ‘म को हुँ’ सार्वजनिक

    रामकृष्ण र रानीको स्वरमा सरोज–शिल्पाको ‘म को हुँ’ सार्वजनिक

    काठमाडौं । आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ ।

    गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ ।
    यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

    भिडियोमा बरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ ।

    कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

    सार्वजनिक भिडियोमा के आफ्नो र को पराई हो भन्ने प्रश्न गरिएको छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै जीवन्त बनाएको छ ।

  • राजेशपायलले स्टेजमा ‘लात्ति हानेको’ प्रचार भएपछि पत्नी साङबुङको डिफेन्स

    राजेशपायलले स्टेजमा ‘लात्ति हानेको’ प्रचार भएपछि पत्नी साङबुङको डिफेन्स

    काठमाडौं । गायक पायल राईले स्टेजमा एक व्यक्तिलाई पछाडिबाट लात्ति हानेजस्तो देखिने एउटा भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    यही भिडिओ क्लीप हेरेको भरमा केही मिडियाले हावादारी समाचार बनाएको भन्दै राजेशपायलकी पत्नी साङबुङ भड्किएकी छन् ।

    साङबुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले समाचार लेख्दा सत्यतथ्य बुझ्ने बानीको विकास गर्न सुझाव दिएकी छन् ।

    ‘पत्रकारले पपुलारिटीको नाममा सत्यतथ्यलाई बिर्सिने बानी नगरौं, सत्यतथ्य लुकाउन पाइन्छ ? ठूलो मिडिया हो भन्दैमा जे पनि खेल्न मिल्छ ? पूरा भिडिओ हेर्न पर्दैन ? छोटो भिडिओको क्लीप काटेर बदनाम गर्ने काम नगर्नुस,’ उनले लेखेकी छन् ।

    साङबुङ थप लेख्छिन्, ‘स्टेजमा गीत गाउँदा उठेर गाउने हो बसेर होइन । हातखुट्टा नचलाइ गीत गाइन्छ र पत्रकार ज्यू ? अनि दर्शकलाई गीत गाएर मनोरञ्जन दिँदा खुट्टा कता चल्छ, हात कता चल्छ भनेर बस्ने कुरा पनि हुँदैन होला नि ।’

    साङबुङले सम्भवतः पहिलोपटक आफ्नो श्रीमानसँग जोडिएको कुनै पनि विषयमा सामाजिक सञ्जालबाट यसरी डिफेन्स गरेकी हुन् । स्मरणीय छ कि राजेशपायलले अहिलेसम्म पनि साङबुङलाई आफ्नो श्रीमतीका रुपमा सार्वजनिक गरेका छैनन् । यो जोडीको वैवाहिक सम्वन्ध धरापमा रहेको चर्चा पनि चल्दै आएको थियो ।

     

  • ‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज, निश्चल बस्नेतको ईन्ट्री

    ‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज, निश्चल बस्नेतको ईन्ट्री

    काठमाडौं। चलचित्र ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो चलचित्रमा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, चलचित्रमा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको बताउँदै उनको लुक्स सार्वजनिक गरिएको छ । निश्चलको जन्मदिनको अवसर पारेर आज उनको पोष्टर सार्वजनिक गरिएको हो।

    चलचित्र ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।

    सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले निश्चलको गेटअप सार्वजनिक गरेपछि दर्शकको उत्साह अझै बढ्ने निश्चित छ ।

    चलचित्रमा निश्चललाई ‘अजित’ पात्रको भूमिकामा देख्न सकिन्छ भने चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ ।

    डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

  • आमिर खानले छोरीको विवाहमा जब दोस्रो पूर्वपत्नीलाई किस गरे…

    आमिर खानले छोरीको विवाहमा जब दोस्रो पूर्वपत्नीलाई किस गरे…

    काठमाडौं । बलिउड अभिनेता आमिर खानले हालै आफ्नी छोरी इरा खानको कन्यादान गरे । इराले आफ्नो लामो समयदेखिका प्रेमी नुपुर सिखरेसँग लगनगाँठो कसेकी हुन् । वैवाहिक समारोह तीन दिनसम्म चलेको थियो ।

    यो विवाहलाई लिएर भारतीय मिडियामा थुप्रै समाचार र गसिप बने । अझै पनि बनिरहेका छन् । विवाहमा केही रोचक दृष्य देखिएका थिए । जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । भिडियोमा आमिर खानले आफ्नै दोस्रो पूर्वपत्नी किरण रावलाई गालामा किस गरिरहेको देखिन्छन् ।

    आमिरले दुई विवाह गरेका थिए र दुवै असफल भए । उनको पहिलो विवाह रिना दत्तसँग सन् १९८६ मा भएको थियो । रिनाले आमिर अभिनित सुपरहिट फिल्म ‘कयामत से कयामत तक’ मा सानो भूमिका निभाएकी थिइन् । पछि उनले आमिरको फिल्म ‘लगान’ को निर्माताका रुपमा काम गरिन् । तर, सन् २००२ मा यो जोडी अलग भयो ।

    आमिर र रिनाबाट सन् १९९३ मा छोरा जुनैद र १९९७ मा छोरी इराको जन्म भएको थियो । विवाहपछि दुवै सन्तानको जिम्मेवारी रिनाले लिइन् । आमिर फुक्का भए । रिनासँग डिभोर्स गरेको तीन वर्षपछि आमिरले दोस्रो विवाह किरण रावसँग गरे । किरणले फिल्म ‘लगान’ मा सहायक निर्देशकको भूमिका निभाएकी थिइन् । उनी हिन्दू हुन् । किरणसँग विवाहपछि आमिरले माछामासु खान छोडेको घोषणा गरेका थिए ।

    आमिर र किरणबाट एक छोराका रुपमा आजाद राव खान छन् । उनीहरुले सरोगेसी प्रक्रियाबाट सन् २०११ मा आजादलाई जन्म दिएका हुन् । आमिर र किरणले संयुक्तरूपमा आजादलाई ‘को–प्यारेन्टिङ’ गरिरहेका छन् ।

    आमिरका जेठी श्रीमतीतर्फका दुवै छोराछोरी तन्नेरी भइसकेका छन् । छोरीभन्दा छोरा ५ वर्ष जेठा हुन् । छोरा र छोरी दुवैले खासै बलियो प्रोफाइल बनाउन सकेका छैनन् । छोरा जुनैद ३१ वर्षको उमेरमा बल्ल फिल्म डेब्यू गर्दैछन् । उनीसँग एउटा प्राइभेट कार पनि नभएको खुलासा केही समयअघि बुवा आमिरले गरेका थिए । अहिले पनि जुनैद बस र ट्रेनमा यात्रा गर्ने गर्छन् । यो उनको सोख हो ।

    छोरी इरा भने मानसिक स्वास्थ्य सम्वन्धी एउटा संस्था सञ्चालन गर्छिन् । उनका पति निखिल फिटनेस ट्रेनर हुन् । इरानले निखिलसँगै ट्रेनिङ गर्ने क्रममा उनीहरु प्रेममा परेका थिए ।

    इरा र निखिलको विवाह उदयपूरको फाइभ स्टार होटलमा भएको थियो । सुरुमा विवाह दर्ता भएर त्यसपछि औपचारिक समारोह गरिएको हो । विवाह दर्ताका बेला निखिल आफ्नो जिम ड्रेसमै होटल आएका थिए । उनको गेटअपलाई लिएर निकै ट्रोलसमेत भएको थियो ।

    इराको विवाहमा आमिरका दुई पूर्वपत्नी आमनेसामने भए । आमिर र रिना ‘कपल’ कै रुपमा प्रस्तुत भएर इराको कन्यादान गरेका थिए । दोस्रो पूर्वपत्नी किरण पनि आफ्नो छोरा लिएर विवाहमा आएकी थिइन् । विवाहको फोटोसुटमा दुवै पूर्वपत्नी र छोराछोरीलाई आमिरले सँगै राखे ।

    दुलाहा र दुलाहीसँग फोटो खिचाउने क्रममा आमिरले रिनालाई समातेर एउटा साइडमा थिए । अर्को साइडमा किरणले छोरालाई समातेर बसेकी थिइन् । किरणको अनुहारमा केही उदासी देखिन्थ्यो । त्यही बुझेर होला, आमिर उनको नजिक गए । केही भने, अनि गालामा चुम्बन गरे । पूर्वपतिको चुम्बनपछि किरणको अनुहारमा मुस्कान फर्कियो ।

    यो दृष्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । धेरैले सम्वन्धविच्छदपश्चात पनि पूर्वपत्नीप्रति देखाएको प्रेम र आत्मियताका लागि आमिरको साह्राहना गरेका छन् । केहीले चाहीँ यसलाई नाटकको संज्ञा दिएका छन् ।

  • ‘दयारानी’को टिजर सार्वजनिक, इमोसन-हास्यरस को समिश्रण

    ‘दयारानी’को टिजर सार्वजनिक, इमोसन-हास्यरस को समिश्रण

    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिज सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्– श्रीमतीका रुपमा रहेका छन् ।

    सार्वजनिक टिजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।

    ‘मिस्टर झोले’मा पहिलो पटक एकसाथ काम गरेका दया र दीयाको जोडी यो सिनेमाबाट पुनस् पर्दामा एकसाथ आउँदैछन् । टिजरमा उनीहरुको केमिस्ट्री गज्जबको देखिएको छ । यस्तै, सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ‘ए हो र १’ भन्ने संवादले उनलाई राम्रैगरी नोटिस गराएको छ ।

    सिनेमा माघ २६ गते रिलिज हुँदैछ । सिनेबजारमा चलेको चर्चा अनुसार सिनेमाले वक्सअफिसमा ‘जारी’ले जस्तैगरी अनपेक्षित व्यापार गर्ने अनुमान गरिएको छ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

  • ‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

    ‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

    काठ्माडौं । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले राम्रै चर्चा बटुिलएको छ ।

    नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले राम्रै चर्चा पाएपछि चलचित्रको निर्माण पक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ ।

    सार्वजनिक पोष्टरमा नाजिरलाई ५ फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

    नाजिरले चलचित्रमा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको चलचित्रका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

    नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माण पक्षले दिएको जानकारी अनुसार, नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा फिल्मको सुरुवातदेखि अन्तिमसम्मको नाजिरको भूमिकालाई प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

    चलचित्रमा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

    चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

    चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्नेमा निर्माण टिम बिश्वस्त छन् भने कतिपय फिल्मीकर्मीले ‘अगस्त्य’ नेपाली फिल्मका लागि ट्रेन्ड सेटर बन्ने विश्लेषण समेत गरिरहेका छन् ।

     

  • चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

    चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

    काठमाडौं । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो ।

    कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण गर्न लागिएको निर्देशक सुनुवारले बताए ।

    चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताईन्। चलचित्रको छायाँकन राम्रो भईरहेको पनि नीतिले सुनाइन् ।

    कार्यक्रममा बोल्दै रेयर राईले ‘खजुरे ब्रो’ शिर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए । कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले सुनाए ।

    नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन सुरु भइसकेको छ । केही दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ ।

    दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायांकन हुनेछ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।

  • तक्मे बुढाको ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

    तक्मे बुढाको ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

    काठमाडौं । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को डेव्यु निर्देशकीय फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।

    निर्माण टीमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो ।

    विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भूमिकामा देखिनेछन् । उनी लाहुरेको भूमिका रहने वा दाउरेको भन्ने केही खुलाइएको छैन ।

    फिल्मको मुख्य भूमिकामा यसअधि नै अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गएको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री र अन्य कलाकार केही समयमा टुङ्गो लाग्ने निर्माण टीमले जनाएको छ ।

    विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयंले गर्नेछन् ।

    यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् । फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।