Category: कलाप्रेस

  • निफको जुरीमा प्रदीप खड्का, दीया मास्के र किशोर आचार्य

    निफको जुरीमा प्रदीप खड्का, दीया मास्के र किशोर आचार्य

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् ।

    निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्म तर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्री तर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए ।

    खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् ।

    साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।

    आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरूप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन् ।

    निफका अध्यक्ष केपी पाठकले अघिल्लो सालका विजेताहरू महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उनीहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए ।

    यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।

    महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

  • ‘पुजार सार्की’ को पोस्टरमा यस्तो देखिए आर्यन, प्रदीप र पल

    ‘पुजार सार्की’ को पोस्टरमा यस्तो देखिए आर्यन, प्रदीप र पल

    काठमाडौं । दिनेश राउतले निर्देशन गरेको चलचित्र पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

    निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

    फस्टलुक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेताहरूलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ ।

    चलचित्र विकास सुवेदीको लेखन रहेको छ भने चलचित्रलाई सुभाष भुसालले निर्माण गरेका हुन् ।

  • एसिड पीडितहरूको कथा अब चलचित्रमा, ओलीले शुभमुहूर्त गर्ने

    एसिड पीडितहरूको कथा अब चलचित्रमा, ओलीले शुभमुहूर्त गर्ने

    काठमाडौं । तेजाब आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई अब चलचित्रको पर्दामा देखाइने भएको छ ।

    कलाकार रमित ढुंगाना लगायतको टीमले एसिड पीडितहरूको कथामा आधारित चलचित्र निर्माण गर्ने भएको हो ।

    चलचित्रको शुभमुहूर्त एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भएका छन् ।

    ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

    केही समय अघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम समेत गरेका थिए ।

     

  • ‘मायाका रंगहरु’को २ गीत रेकर्डिङ, मेचु र उर्गेनको संगीत

    ‘मायाका रंगहरु’को २ गीत रेकर्डिङ, मेचु र उर्गेनको संगीत

    काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘मायाका रंगहरु’को २ गीत शुक्रबार रेकडिङ्ग गरिएका छन् । दुई मध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन लिम्बु हारुसारुम्बाले साथ दिएका छन् । भने, अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ । यो गीतको गायनमा उनलाई द भ्वाइस अफ नेपाल सिजन ५ की मोनिका राईले साथ दिएकी हुन् ।

    फिल्ममा अभिनेता पल शाह र कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङ मुख्य भुमिका अनुबन्धित भैसकेका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । अहिलेसम्म फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री टुङ्गो भने लागि सकेको छैन् ।

    प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

    फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

  • कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ गीतको भिडिओ बजारमा

    कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ गीतको भिडिओ बजारमा

    काठमाडौं । गायक कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ गीतको भिडिओ सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको भिडिओमा पाण्डे स्वयंले अभिनय गरेका छन् । हस्त गौतमको शब्द सृजना, मनोज चौलागाईँको संगीत तथा एरेन्जमा तयार गीतमा प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ ।

    धोका दिएर बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको सार्वजनिक गीतको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । काठमाडौंका रमणीय स्थलमा छायांकन गरिएको भिडिओको सम्पादन, कलरिङ गायक पाण्डेकै छ ।

    क्लासिकल संगीतका विद्यार्थीसमेत रहेका पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेँसी, जुनकिरी, जे जे पर्छ पर्छ, बाह्र मासेको ढिक्के फुलीलगायतका गीत गाएका थिए । म्यूजिक बिट नामक च्यानलबाट उक्त भिडिओ सार्वजनिक भएको हो ।

  • चलचित्र ‘जिग्री’ को टिजर सार्वजनिक, लुट स्टार पाण्डेदेखि पशुपति राईसम्म

    चलचित्र ‘जिग्री’ को टिजर सार्वजनिक, लुट स्टार पाण्डेदेखि पशुपति राईसम्म

    काठमाडौं । अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ।

    टिजरमा मुख्य पात्रका अलावा ‘लुट’ चलचित्रमा पाण्डे नामले परिचित सुशीलराज पाण्डेदेखि थिएटरका पशुपति राईसम्मलाई देखाइएको छ । यसअघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

    चलचित्र ‘जिग्री’ कमेडी, क्राइम र एक्सन ड्रामामा आधारित छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय रहेको छ ।

    ‘जिग्री’ वर्तमान समयको आम दुई नेपाली युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौंमा टिकेर बस्न गरेको सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु रहेको छ ।

    सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर हुन् । चलचित्रको निर्माण भने कुमार श्रेष्ठले गरेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

  • घरदेखि शहरसम्म अभिनयकाे भोकले तानिएका विराज

    घरदेखि शहरसम्म अभिनयकाे भोकले तानिएका विराज

    काठमाडौं । चावहिल चलचित्र विकास बोर्डको उत्तरतर्फ एउटा क्याफेमा संगीतबारे बहस गर्दै गरेका भेटिन्छन् विराज बाँस्कोटा । उनको साधना गर्ने ठाउँ पनि त्यही नजिकै छ । आफ्नो दिदी भिनाजुको क्याफेमा परेको काम सघाउनु उनको जिम्मेवारी हो । तर उनलाई आफ्नै प्यासनको कामले कम भ्याइनभ्याइ छैन । बहुमुखी प्रतिभाका धनी उनी अहिले कलाकारितामा निकै जमेका छन् ।

    उनको संगीतको साधना केही पातलिएको छ । तर अभिनयको जागृती दिनदिनै झांगिदै गइरहेको छ । चिया पिउँदैदेखि उनको दैनिकी सुरु हुन्छ । हप्ताका रुटिनहरु तयार हुन्छन् । उनका हप्तैभरीका दिनहरु व्यस्त भएर बित्ने गर्छन् अहिले । करिब आधा दशक बढी समय अभिनय र कलाकारितामा लागेका बाँस्कोटाले विभिन्न अवार्डहरु पनि हात पारेका छन् ।

    उनको जीवन्त अभिनय कलाको सम्मान गर्दै विभिन्नि कम्पनीहरुले उनलाई सम्मान गरेका छन् । त्यसको एउटा उदाहरण हो यसैपालिको दशैं तिहारमा उनको आफ्नै स्वर र अभिनय रहेको ‘तिहारै हाम्रै’ भन्ने गीतको अभिनयले अब्बल दर्जाको स्थान पायो ।

    यसै मेहनतलाई कदर गर्दै एक्टिभ म्युजिक प्रालिले बेस्ट मेल मोडलको अवार्ड प्रदान गरेको छ । उक्त कम्पनीले बाँस्कोटालाई पछिल्लो समयमा जीवन्त अभिनय गर्न सक्ने भर्सेटाइल मोडलको रुपमा छानेर अवार्ड दिइएको बताएको छ ।

    हुन पनि बाँस्कोटाले आफ्नो अभिनयमा दुःखान्त, वियोगान्त, दीनदुःखी चरित्रदेखि हिरोइक तवरको फरक फरक स्वाद प्रस्तुत गर्छन् । उनको भर्खरै सार्वजनिक म्यूजिक भिडिओ ‘छाती चरर’निकै चर्चित भयो । गायिका शान्तिश्री परियार र तिलक बस्नेतको स्वर रहेको यस गीतले प्रेमको दुःखान्त देखाएको छ । यस गरिएको बाँस्कोटाको अभिनयको चौतर्फी प्रशंसा भएको छ भने कमेन्ट गर्नेले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

    उनी आफूले अवार्ड पाउनकै लागि काम भने नगरेको बताउँछन् । आफ्नो मनको प्यासन भनेकै अभिनय भएको र यसमा आफूले आफूलाई चुर्लुम्मै डुबाउन सक्ने उनको अठोट छ । यद्यपि आफूले गरेको कर्मको प्रतिफल कसैबाट पाउँदा आफूलाई झन ऊर्जा मिल्ने र काम गर्न थप प्रेरणा मिल्ने उनी बताउँछन् ।

    ‘केही पाउँछु भनेर अभिनय गर्दिनँ’, उनले नेपाल प्रेससँग भने, ‘म आफूले पाएको काममा आफूलाई शत प्रतिशत समर्पण गर्छु । अभिनय गर्दा पात्रलाई हदैसम्म न्याय गर्न खोज्छु सायदै त्यसैले होला मेरो कर्मको कदर दर्शक तथा व्यवस्थापनले गरेको जस्तो लाग्छ ।’

    उसो त उनको कार्य म्यूजिक भिडिओमा मात्रै सीमित छैन । उनले केही गीतहरुमा स्वर दिएका छन् । त्यस्तै, उनले केही दर्जन नाटकमा पनि अभिनय गरेका छन् । नाटकबाटै उदाएका उनले आफ्नो धरातल नबिर्सने बताउँछन् । ‘म जहाँ पुगे पनि आफू कहाँबाट आएको थिएँ भन्ने कुरा नबिर्सिऊँ भन्ने लाग्छ’, उनले भने, ‘नाटकले मेरो हरेक क्षमतामा निखार ल्याएको हो । यो गर्दा अहिले पनि निकै मस्त अनुभव गर्छु ।’

    तेह्रथुमको चुहान डाँडामा जन्मिएका उनलाई झापाको माटो सिञ्चित गरेको छ । उनको परिवार हाल झापाको बिर्तामोडमा बस्छ भने बाँस्कोटाले राजधानी आएर संघर्ष गरेको करिब ३ वर्ष मात्रै भयो । तर उनको कलाकारिता भने झापाबाटै सुरु भएको हो । यो छोटो समयमा पनि काठमाडौंमा उनले आफूलाई बलियो प्रमाणित गरेका छन् ।

    उनले ‘सक्किगो नि’ सिरिजमा काम गरेका छन् । त्यहाँ नियमितरुपमै केही एपिसोडमा उनले अभिनय गरे । त्यस्तै, धुर्मुस सुन्तली फाउण्डेसनका विभिन्न कार्यक्रममा पनि उनको अभिनय स्थान पाएको छ ।

    आफ्नो स्वाभिमानमा बस्न रुचाउने उनले कसैलाई चाकडी गर्न जानेनन् । आफ्नो क्षमताबाटै मानिसको परिचय हुनुपर्छ भन्ने उनको सिद्धान्त छ । चकलेटी लुक्सका बाँस्कोटाको रोमान्टिक अभिनयले मानिसलाई यथेष्ट मनोरञ्जन मिल्छ भने दुःखका पात्रमा भावुक समेत बनाउँछ ।

    उनको कलाकारिताको यात्रा निकै सुखद हुने उनका नजिकैका साथीहरु बताउँछन् । मेहनत गर्ने बानीले उनलाई एकपछि अर्को सफलता दिँदै आएको साथीहरुको भनाइ छ । हालसम्म उनले तीन दर्जन बढी म्यूजिक भिडिओमा काम गरिसकेका छन् भने केही महिनाअघि रिलिज भएको चलचित्र ‘लुंगा’मा र केही छोटो चलचित्रमा पनि अभिनय गरेका छन् । त्यस्तै दर्जन बढी नाटकमा बाँस्कोटाले अभिनय गरेका छन् ।

    हेर्नुस् बाँस्कोटाको पछिल्लो म्यूजिक भिडिओः

  • स्पोटिफाइमा कुशलको बढ्दो क्रेज, सञ्जनलाई पछि पार्दै नेपालबाट अग्रस्थानमा

    स्पोटिफाइमा कुशलको बढ्दो क्रेज, सञ्जनलाई पछि पार्दै नेपालबाट अग्रस्थानमा

    काठमाडौं । गायक तथा कन्टेन्ट क्रिएटर कुशल पोख्रेल विश्वकै सबैभन्दा ठूलो म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइमा नेपालबाट अग्रस्थानमा परेका छन् । उनी वर्ष २०२४ को आरम्भसँगै सर्वाधिक सुनिने नेपाली कलाकारका रुपमा दरिएका हुन् ।

    सन् २०२४ लागे देखि आजका दिनसम्म स्पोटिफाइमा कुशलले ७ लाख ६६ हजार श्रोता बटुलेका छन् । यसअघि, वर्ष २०२३ को तथ्यांक हेर्ने हो भने ११ लाख श्रोता बनाएर सज्जनराज वैद्य स्पोटिफाईमा सबैभन्दा धेरै स्ट्रिम गर्ने नेपाली कलाकार बनेका थिए । वर्ष २०२४ मा वैद्यलाई कुशलले पछि पारेका हुन् ।

    हाल वैद्यलाई सुन्ने श्रोताको संख्या ४ लाख २ हजार ६ सय छ । जसको मतलव, सज्जनराजको भन्दा कुशलको दर्शक संख्या ३ लाख ६३ हजार ४०० सयले बढी छ । यही रफ्तार कायम रहिरह्यो भने उनी स्पोटिफाइमा वर्षकै धेरै सुनिने कलाकारमा पनि गनिने छन् ।

    यहाँ रोचकको कुरा के छ भने स्पोटिफाइमा कुशलको नेपालीभन्दा भारतीय श्रोताहरुको संख्या बढी देखिएको छ । भारतबाट मात्र उनलाई सुन्ने श्रोताको संख्या ७ लाख ३५ हजार २ सय ७० रहेका छन् । स्पोटिफाइमा उनको ‘पैसा’ बोलको गीतलाई सर्वाधिक सुनिएको छ । हुन त यो गीतले स्पोटिफाइ मात्र नभएर अरु थुप्रै सामाजिक सञ्जाल तताएको थियो ।

    कुशलको ‘पैसा’ बोलको गीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पायो । सार्वजनिक भएको केही समयमै गीतले युट्यूवमा करोड भ्युज पार गरेको थियो । चार महिनामा ‘पैसा’ गीतलाई दर्शकले १ करोड १६ लाख पटक सुनेका छन् ।

    ‘पैसा’ गीतको सफलतापछि उनले त्यसको दुई महिनामै सोही गीतको दोस्रो भाग ‘पैसा २.०’ निकालेका थिए । सो गीतलाई पनि दर्शकले हालसम्म ६५ लाख पटक सुनिसकेका छन् । ईन्स्टाग्राममा उनको यो गीतमा रिल बनाउनेको संख्या आजै १ मिलियन अर्थात १० लाख पुगेको छ ।

    ‘स्पोटिफाइ’ नेपालमा भने फेब्रुअरी २०२१ बाट सुरु भएको थियो । छोटो अवधीमै नेपालमा यसले राम्रो लोकप्रियता बटुल्यो । आफ्नो इच्छाअनुसारका जस्तो पनि गीत सुन्न मिल्ने भएकाले छोटो समयमै स्पोटिफाइमा दर्शकको क्रेज बढ्यो ।

    दर्शकको क्रेज बढेसँगै प्राय नेपाली गायक तथा गीतकारहरूले आफ्ना सङ्गीतिक सिर्जनाहरु स्पोटिफाइमा अपलोड गर्न थाले । सोही अपलोड भएको गीत सुन्ने श्रोताका आधारमा विभिन्न देशबाट वार्षिक धेरै सुनिने कलाकारको मापन गरिने गर्दछ ।

  • रवि मिश्रको कार्टुन प्रदर्शनीमा रवि लामिछानेदेखि रवीन्द्र मिश्रसम्मको लर्को

    रवि मिश्रको कार्टुन प्रदर्शनीमा रवि लामिछानेदेखि रवीन्द्र मिश्रसम्मको लर्को

    काठमाडौं । युवा पुस्ताका उम्दा कार्टुनिष्ट रवि मिश्रले पत्रपत्रिकामा प्रकाशित आफ्ना कार्टुनहरुलाई प्रदर्शनीमा राखेका छन् । नयाँ बानेश्वरको ‘एनबी सेन्टर’ को पहिलो तलामा उक्लेर उनका कार्टुनहरु नियाल्न सकिन्छ ।

    ‘डिपिक्शन’ नाम दिएर मिश्रले तीन दर्जन हाराहारीका कार्टुन प्रदर्शनीमा सजाएका हुन् । उनका कार्टुनहरुमा खासगरी राजनीतिकर्मीहरुमाथि खरो कटाक्ष भेटिन्छन् । उनका कार्टुनहरु हेर्नलाई थुप्रै राजनीतिकर्मीको लर्को लागेको छ । रास्वपा सभापति रवि लामिछाने पहिलो दिन नै पुगेका थिए । आफैंलाई व्यङ्ग्य गरेर बनाएको कार्टुन हेरेर फिस्स हाँस्दै लामिछानेले भने, ‘यो कार्टुन मलाई याद छ, वाह ! गजब लाग्यो ।’

    कार्टुनिस्टलाई फुर्क्याएर ‘गजब’ प्रतिक्रिया दिए पनि उनले बाहिर हामीसँग खुसुक्क कुरा गर्दा आफूलाई अझै चोट नपुगेको स्वीकारे ।

    ‘मेरो एक्सपेक्टेन्स एकदमै हाइ छ । अझै योभन्दा कडा भइदिएको भए राम्रो हन्थ्यो’, लामिछानेले भने, ‘यहाँ मेरा कमजोरीहरु जति देखिनुपर्थ्यो, त्यति देखिएको छैन । मेरोे अपेक्षा भनेको अझै पेचिलो कार्टुनहरु बनोस् भन्ने होे ।’

    लामिछानेसँगै कार्टुनिस्ट मिश्रले सबैभन्दा बढी आलोचना गर्ने नेता रवीन्द्र मिश्र पनि प्रदर्शनीमा पुगे । यस्तै नेकपा एसका महासचिव घनश्याम भुसाललगायत केही युवा राजनीतिकर्मीहरु पनि देखिएका थिए ।

    ‘एनबी सेन्टर’ को पहिलो तलामा रहेको ‘उमोजा क्याफे’ मा ‘ब्ल्याक अमेरिकानो’ पिउँदै मिश्रका कार्टुनका विषयमा गफ मार्न सकिन्छ । मिश्र आफैं अवलोकनकर्ताहरुलाई आफ्नो कार्टुनको पृष्ठभूमि, प्रसंग र कार्टुन सृजनाका आयामहरु बुझाइरहेका भेटिन्छन् ।

    मिश्रका प्रायः कार्टुनहरु राजनीतिक हुन्छन् । त्यसमा पनि उनी बढीजसो एमाले अध्यक्ष केपी ओलीलाई पेल्छन् भन्ने आरोप छ । सायद मिश्रले कार्टुनबाट सबैभन्दा बढी व्यंग्य हानेका पात्र ओली नै हुन् ।

    ओलीको विषयमा मिश्र भन्छन्, ‘म आफैं केपी ओलीको फ्यान हो । ओली सबैभन्दा सान्दर्भिक पात्र लाग्छ मलाई । उनी आफैंमा एक मजाकी पात्र पनि हुन् । उनको मजाक गर्ने शैलीप्रति म पहिलेदेखि आकर्षित हुने गरेको थिएँ ।’

    कार्टुनहरु नेताप्रति मात्रै किन केन्द्रित हुन्छन् भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कार्टुन समय सान्दर्भिक हुने हुँदा नेताहरु बढी देखिन्छन् । राजनीतिक विषयवस्तुले पाठकलाई बढी तान्नसक्ने भएकाले पनि नेताहरुलाई निशाना बनाउनुपर्ने हुन्छ ।’

    यस कार्टुन प्रदर्शनीमा मिश्रले पछिल्ला ५ वर्षमा बनाएका कार्टुनहरु प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी शुक्रबार सकिँदैछ ।

  • ‘डिग्री माइला’को छायांकन सकियो

    ‘डिग्री माइला’को छायांकन सकियो

    काठमाडौं । राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइलः एमए थर्ड क्लास’को छायांकन सकिएको छ । सिनेमाको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

    असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो ।

    सिनेमाको सार्वजनिक पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेन्चमा गम्भीर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ ।

    दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । सिनेमाले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।

    सिनेमामा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

    सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । ‘डिग्री माइला’ वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा हो ।

     

     

  • माइकल चन्दको फिल्म निर्देशनमा डेब्यु, ‘राम नाम सत्य’को घोषणा

    माइकल चन्दको फिल्म निर्देशनमा डेब्यु, ‘राम नाम सत्य’को घोषणा

    काठमाडौं । म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् ।

    माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन् ।
    माइकलले निर्देशन गर्न लागेको डेब्यु फिल्मको नाम ‘राम नाम सत्य’ राखिएको छ । फिल्मको कथा पनि चन्द स्वयंले लेखेका हुन् ।

    फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने पक्का भएको छ । यो फिल्मको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथै आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ । फिल्मको नामअनुसार यसले बदलाको कथा भन्न खोजेको देखिन्छ ।

    यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए ।

    उनले भने, ‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । अहिलेको समसामयिक विषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ ।’

    दर्जनौं म्युजिक भिडियो बनाएका चन्दले यो फिल्मलाई आउँदो वर्ष छायांकनमा लैजाने बताएका छन् । फिल्मका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।

  • फिल्म ‘आम नागरिक’ बन्ने

    फिल्म ‘आम नागरिक’ बन्ने

    काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।

    पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ ।

    सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।

    विनयराज पौडेलको डेव्यु निर्देशन रहने फिल्मको कलाकारहरूको हाल धमाधम छनोटका काम भइरहेको छ ।

    उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम निर्देशक कै रहेको छ।

    दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

  • माघ २६ बाट रिलिज हुने चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक (भिडिओ)

    माघ २६ बाट रिलिज हुने चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।

    यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

    प्रदीप भारद्धाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

    फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो फिल्म निर्माण भएको हो ।

    फिल्मको ट्रेलरले दर्शकहरुप्रति झनै उत्साह थप्ने निश्चित छ । फिल्मको ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । यस्तै, नायक सौगात मल्लको ‘बोत्तल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ । निरन्तर रुपमा सुस्ताएको नेपाली फिल्मको बजारलाई यो फिल्मले गर्माउने विश्वास गरिएको छ ।

    यो फिल्मका प्रस्तुतकर्ता किरणले दया, सौगात र उपासनालाई नै लिएर फिल्म ‘२ नम्बरी’ बनाएका थिए । जुन, बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्म ‘हात्तीछाप’ले पनि बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मी र दर्शकको छ ।

    भिडिओ

  • कमेडी च्याम्पियन सिजन-३ फागुन ३ गतेबाट प्रशारण हुने

    कमेडी च्याम्पियन सिजन-३ फागुन ३ गतेबाट प्रशारण हुने

    काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ ।

    बुधबार काठमाण्डौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजनबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम प्रशारणको घोषणा भएको हो । मार्केटिङ एजेन्सि एडि रिलिज र विज्ञापनदाताहरुसंग सोही कार्यक्रमा सम्झौता पत्रमा औपचारीक हस्ताक्षर भएको थियो ।

    यस पटक कमेडी च्याम्पियनले आफ्नो कार्यक्रममा थोरै परिवर्तन ल्याएको कार्यक्रम निर्देशक विशाल भण्डारीले जानकारी दिए । अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन् ।

    अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाइएको छ भने यसपछि उत्कृष्ट १५को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ । अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी गराए ।

    प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हाँस्यव्यङ्ग्य कार्यक्रममा गरिने सेन्सरसीपमा आफू केही हदसम्म गम्भीर र कार्यक्रमको प्रकृती दुवैलाई सन्तुलन गरेर अगाडि बढ्नेमा विश्वास दिलाए ।

    डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाइएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी गराएका छन्।

    पहिलो सीजनमा हिमेश पन्त, सुमन कार्की लगायत दलेदाइको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको यो कार्यक्रमले दोस्रो सिजनमा भरतमणिको ‘पारस’ र ‘घरबेटि’ तथा सन्तोष थापाको ‘नेपाली टीचर’ र बिक्की अग्रवालको पान्टोमाईमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो ।

    तेस्रो सीजनमा उमेरको हिसाबले ११ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु नपर्ने निर्देशक भण्डारीको भनाई रहेको छ ।

    कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटिमा फागुन ३ गतेबाट प्रसारणमा आउन लागेको हाे ।कार्यक्रम हप्तामा २ दिन विहीबार र शुक्रबार बेलुका ९ बजे बाट प्रसारणमा आउनेछ ।

    उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आईएमई लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के एल दुगडद्वारा प्रवर्द्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् रहेका छन् भने थप प्रायोजकहरु जेडिने क्रममा छन् ।

    त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स सालोन रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज रहेका छन् ।

    चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

    निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ ।

  • नेपाली प्रतियोगी लोयाङ शेर्पाले जिते जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार २०२४’को उपाधि

    नेपाली प्रतियोगी लोयाङ शेर्पाले जिते जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार २०२४’को उपाधि

    काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् ।

    प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि आफ्नो नाममा पारेका छन् ।

    त्यसैगरी प्रतियोगितामा सहभागी एन्जलबाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जितेका छन् ।

    उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए ।

    ‘मैले धेरै ठाउँहरुको स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिँदा डर लागेन । शीर्ष उपाधि जित्छु भन्नेमा म ढुक्क थिएँ’, उनले भने ।

    शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक ‘बख्खु’ लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथीहरु बनाएको र उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए ।

    लोयाङका पिता जाङ्बु शेर्पाले प्रतियोगिताको शीर्ष उपाधि छोराले नै जित्छ भन्नेबारे नसोचेको बताए ।

    ‘सानोदेखि नै नृत्य र गायनमा चासो राख्थ्यो । धेरै स्टेज कार्यक्रममा नाचेर र गीत गाएर पुरस्कार पनि जितेको थियो । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा नै शीर्ष उपाधि जित्दा मेरो खुशीको सीमा छैन’, उनले भने ।

    प्रतियोगितामा ‘वर्ल्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुनजंग पोखरेल विशेष अतिथिका रुपमा गएका थिए । उनले यस पटक पनि नेपालले शीर्ष उपाधि ल्याउँदा खुशी लागेको बताए ।

    प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेकी ‘परिवर्तन इभेन्ट हाउस’की प्रमुख सोनिया जीआरले पनि लोयाङ शेर्पाले प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जितेकोमा आफूलाई गौरव लागेको जनाइन् ।

  • ट्रेन्डिङमा एलिनाको नयाँ गीत- धोका दियौ भने कट्टा हान्दिन्छु

    ट्रेन्डिङमा एलिनाको नयाँ गीत- धोका दियौ भने कट्टा हान्दिन्छु

    काठमाडौं । गायिका एलिना चौहान आवाजमा सजिएको नयाँ गीत ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको छ । ओबी रायमाझीको युट्यूव च्यानलबाट दुई दिनअघि रिलिज गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

    डान्सिङ नम्बरका रूपमा रहेको गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गायनमा एलिनालाई सेञ्चुरीले साथ दिएका छन् ।

    गीतको भिडिओमा आश्मा विश्वकर्माको गज्जबको डान्स हेर्न सकिन्छ । आश्माको जोडीका रूपमा मोडल ओबी रायमाझीले अभिनय गरेका छन् । भिडिओको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
    सार्वजनिक भएको तेस्रो दिनमा भिडिओले करिब २ लाख ३० हजार भ्यूज कमाएको छ । अहिले यो गीत युट्यूवको म्युजिक ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ ।

     

  • गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक (भिडिओ)

    गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गीतकार डम्बर यक्सोको ‘मुस्कान छैन’ गीत सार्वजनिक भएको छ । गीतमा भ्वइस अफ नेपाल सिजन ५ को नकआउट चरणमा पुगेकी गायिका स्मिता प्रधानको स्वर रहेको छ भने संगीत दिनेश वान्तवाको रहेको छ ।

    देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । सेवा इन्टरटेनमेन्ट च्यानलमा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडिओमा जयन्द्र कुवरको छायांकन, सोनु बिस्वकर्माको सृङ्गार र जीवन मुकारुङको सम्पादन रहेको छ ।

    भिडिओ

  • एलिनाको तीतो अनुभूति- महोत्सवका आयोजकले कलाकारमाथि रवाफ जमाउन खोज्छन्

    एलिनाको तीतो अनुभूति- महोत्सवका आयोजकले कलाकारमाथि रवाफ जमाउन खोज्छन्

    काठमाडौं । अहिले स्टेज शोहरुमा सर्वाधिक व्यस्त कलाकारहरुको नाम लिनुपर्यो भने अग्रपंतिमा आउँछिन् गायिका एलिना चौहान । ‘धोकेवाज…’ गीत भाइरल भएदेखि त उनलाई देश तथा विदेशका कार्यक्रमहरुमा भ्याइनभ्याइ नै छ ।

    एलिनाको जादुमयी आवाजका पारखी लाखौं छन् । स्टेज कार्यक्रममा जाँदा उनलाई छुन, तस्बिर खिच्न तँछाडमछाड नै हुन्छ । सरल र शालिन स्वभावकी एलिना फ्यानका रुपमा नजिकिन खोज्नेहरुको सकेसम्म मन राखिदिने प्रयास गर्छिन् । तर, यदाकदा गलत नियतका मानिसहरु पनि भेटिन्छन् । जस्तो कि पछिल्ला तीन दिनमा उनले दुईवटा नमिठो अनुभुति संगालिन् ।

    दुई दिनअघि उनी पोखरामा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुति दिन गएकी थिइन् । आफ्नो गाउने पालो पर्खिरहेका बेला आयोजकमध्येका एकजना उनीसामु आए । उनले उक्त महोत्सवस्थलभन्दा केही पर आयोजना भइरहेको एउटा खेलकुदसम्बन्धी कार्यक्रममा पनि गीत गाउन एलिनालाई अह्राए ।

    ‘त्यहाँको कार्यक्रममा एउटा–दुईटा गीत गाएर आउ, अनि यहाँ गाउने बेला ठिक्क हुन्छ’, ती व्यक्तिको कुरा सुन्दा एलिनालाई उदेक लाग्यो । उनी यो महोत्सवमा मात्र गीत गाउनलाई आएकी थिइन् । आयोजकसँगको समझदारी त्यति मात्रै थियो । तर, सजिलैसित ‘एउटा–दुईटा’ गीत गाएर आउनु भन्दा उनले स्वीकार गरिनन् । आफू थकित अवस्थामा रहेकाले अर्को कार्यक्रममा जान नसक्ने बताइन् ।

    ‘म हिजो पनि रातभरि गाएर थाकेको छु । जुन कार्यक्रमका लागि आएको हुँ, त्यसमा मात्रै गाउँछु’, उनले सहजरुपमा जवाफ दिइन् ।

    तर आयोजकका अरु मान्छेहरु पनि आएर उनलाई दबाब दिन थाले । एलिनाले अस्वीकार गरिन् । यत्तिकैमा एकजना चिरपरिचित दोहोरी गायक आए । उनी लोकदोहोरी प्रतिष्ठानका पदाधिकारी हुनुको साथै महोत्सवहरुमा कलाकार र आयोजकबीच मध्यस्थकर्ताको कामसमेत गर्छन् । कलाकारसँग थोरै रकममा सम्झौता गर्ने, आयोजकसँग धेरै माग्ने र बीचमा कमिसन खाने उनको धन्दा हो ।

    उनले आदेश दिए, ‘त्यो प्रोग्राममा नगाउने हो भने हाम्रो प्रोग्राममा मैले रोक नभनुञ्जेल दुई घण्टासम्म गाइरहनु ।’

    त्यसपछि भने एलिनालाई पनि झोंक चल्यो । हम्मेसी नरिसाउने उनी आयोजकहरुसामू बम्किइन् । जबरजस्ति नै गर्ने हो भने गीतै नगाइकन काठमाडौं फर्किने अडान लिइन् । स्टेज नै चढ्न मानिनन् । त्यसपछि आयोजकहरु हच्किए । सबैले ‘सरी’ भनेपछि मात्रै उनी स्टेज उक्लिइन् र आफ्नो प्रस्तुति दिइन् । सँधैजस्तो करिब ४५ मिनेटसम्म आफ्ना चर्चित गीतहरुमार्फत दर्शकहरुको मनोरञ्जन गराएर फर्किइन् ।

    यो घटनाका सन्दर्भमा एलिनाले नेपाल प्रेससँग भनिन्, ‘हामीजस्तो नाम चलेका कलाकारमाथि त मेला÷महोत्सवका आयोजकहरुले यसरी रवाफ जमाउन खोज्छन् भने नयाँ कलाकारहरुलाई कति हेप्दा हुन् ?’
    उनले भोगेको अर्को घटना बर्दियाको हो ।

    स्टेजमा उनीसँग भेट्न र तस्बिर खिच्न खोज्नेहरुको घूईंचो थियो । यत्तिकैमा गलामा माला लगाएका एकजना व्यक्तिले उनलाई फोटो खिच्ने बहानामा झ्याप्पै अंगालो हाले । उनको नियत सही थिएन भन्ने एलिनाले बुझिहालिन् । ठाउँको ठाउँ उनलाई मारसँग थर्काइन् ।

    ती व्यक्ति आमदर्शक नभएर उक्त कार्यक्रमका स्वयमसेवक थिए । एलिनाले तत्काल प्रतिकार गरेपछि उनी लज्जित बने । आयोजकहरुले उनलाई तानेर लगे ।

    एलिना भन्छिन्, ‘यस्ता घटनाहरु मैले धेरै भोगेकी छु । भिडभाड भएको बेलामा विभिन्न बहानामा कम्मरमा हात लैजाने, अंगालो मार्ने गर्न खोज्छन् । तर, म यस्तो सहन्नँ । नयाँ कलाकारहरुसँग भने उनीहरुको प्रतिवाद गर्ने आत्मविश्वास हुँदैन । कतिपय आयोजककै मान्छेहरु यस्तो खाले हर्कतमा उत्रिन्छन् ।’

     

  • सकियो सगरहवा मूर्ति कार्यशाला

    सकियो सगरहवा मूर्ति कार्यशाला

    रुपन्देही । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गते सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरुको आयोजनामा भएको १५ दिने कार्यशाला सोमबार समापन गरिएको हो ।

    राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारहरुले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । समापनमा राष्ट्रियसभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताइन् ।

    उनले कपिलवस्तु खुला संग्रहालयका रुपमा रहेको तर यहाँको बुद्धकालीन स्थलहरुको प्रचारप्रसार र विकास हुन नसकेको बताइन् ।

    प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशालामार्फत पर्यटनको निभ शुरु भएको बताए । उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा कासेढुंगा सावित हुने बताए ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक, प्राविधिक र ऐतिहासिक काम भएको बताए ।

    उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए ।

    कार्यशाला निर्देशक समितिका संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न जनतासँग मिलेर पहिलो पटक नयाँ मोडेलमा काम गरेको बताए ।

    उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुको दिगो संरक्षण र व्यवस्थापन गर्न स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

    कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मूर्ति बन्नेबितिकै पर्यटकहरुको ओइरो लाग्ने नभई कामको शुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहिक नरंसहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला गरिएको थियो ।

    कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमि र तिलौराकोटबाट ६ किमि उत्तरमा रहेको छ भने पूर्व-पश्चिम राजमार्गको बनगाईबाट ७ किमि तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तूपको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङको सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

    सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तूप र धेरै संख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री भेटिएको थियो । जगदीशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ ।

  • माघ २६ गते रिलिज हुँदै ‘हात्तीछाप’, के भन्छन् कलाकारहरु ?

    माघ २६ गते रिलिज हुँदै ‘हात्तीछाप’, के भन्छन् कलाकारहरु ?

    काठमाडौं । यही माघ २६ गते रिलिज हुने चलचित्र हो- ‘हात्तीछाप’। यतिबेला चलचित्रको टीम प्रोमोसनमा व्यस्त छ । रिलिज मिति नजिकिएकाले गर्दा चलचित्रका कलाकारहरु मिडिया अन्तरक्रिया कार्यक्रममा दौडधुप गरिरहेका छन् ।

    चलचित्रका मुख्य पात्र नाायक सौगात मल्ल र नायिका उपासनासिंह ठकुरी चलचित्रलाई लिएर उत्साहित छन् । मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले चलचित्रले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए ।

    चलचित्रमा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा देखिएका छन् । यो चलचित्रकै लागि सौगातले कपाल लामो पालेका थिए ।

    ‘हामीले राम्रो चलचित्र बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौं । यसका लागि चलचित्रका सबै टीमको धेरै मेहनत छ । आशा छ, दर्शकले यो चलचित्रलाई मन पराउनुहुनेछ’, सौगातले भने ।

    चलचित्र ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायिका उपासनाले नायकद्वय दयाहाङ राई र सौगातको साथमा ‘हात्तीछाप’मा काम गरेकी छन् ।

    उपासना पनि चलचित्रलाई लिएर निकै नै उत्साहित छिन् । चलचित्रले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाइ छ ।

    उपासना भन्छिन्, ‘म प्रायः चलचित्रको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यस पटक पनि कथा पढ्दा मज्जा लाग्यो । त्यसमाथि दया र सौगात दाइ भएपछि चलचित्रमा यसै रमाइलो भइहाल्छ ।’

    चलचित्र ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने दया र उपासनाको प्रेम देखाइएको छ ।

    यस विषयमा उपासना भन्छिन्, ‘यो चलचित्रमा दया दाइ र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले दया दाइ र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

    चलचित्रका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले नयाँ कुराहरु चलचित्रमा आफैले जोड्न पाएको सौगातले बताए ।

    उनले ठट्टा गर्दै भने, ‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो छ । उहाँलाई यसो गरौं भन्नेबित्तिकै गर्न पाइन्छ । त्यसैले केही संवादहरु मैले आफैं थपेको छु । निकै रमाइलोसँग काम गर्‍यौं ।’

    चलचित्रमा भूकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छन् । उनले भनिन्, ‘हाम्रो चलचित्रले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि बेवास्ता गरिरहेका हुन्छौं । ती विषय चलचित्रमा छन् । चलचित्रले भूकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक विषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

    किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा कलाकारहरुको लाइनअप पनि लामो छ । चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । निर्माण पक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

    मंसिरदेखि चिसिएको चलचित्रको व्यापारलाई ‘हात्तीछाप’ले तताउने अपेक्षा निर्माण टीमको छ ।