Category: कलाप्रेस

  • दोहोरो करको विरोधमा देशभरका सिनेमा हल आज ठप्प, कर्मचारी पाल्न धौधौ परेको दाबी

    दोहोरो करको विरोधमा देशभरका सिनेमा हल आज ठप्प, कर्मचारी पाल्न धौधौ परेको दाबी

    काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जनलगायतका विभिन्न शीर्षकमा सरकारले लिँदै आएको करको विरोधमा आज देशभरका फिल्म हल बन्द छन् । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको बताउँदै आज चलचित्र संघको आह्वानमा देशभरका सबै हलहरु बन्द गरिएको हो ।

    चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले सांकेतिक विरोध भन्दै आज बन्द गर्न केही दिनअघि विज्ञप्ति जारी गरेका थिए ।

    चलचित्र विकास शुल्क, स्थानीय कर र भ्याट जस्ता शीर्षकमा सरकारले हलबाट ३३ प्रतिशत कर उठाउँदै आएको छ, जुन एकदमै अव्यवहारिक रहेको चलचित्र महासचिव महर्जनको भनाइ छ ।

    ‘मूल्य अभिवृद्धि कर लागिसकेपछि अरु कर लाग्न हुँदैन । त्योबाहेक पनि १५ प्रतिशत एफडीएफ कर र ५ प्रतिशत लोकल ट्याक्स (प्रदेश ट्याक्स) भनेर लगाइएको छ । जुन विल्कुलै अव्यवहारिक भयो’, उनी भन्छन्, ‘अरु कर्पोरेट ट्याक्सहरु छन् । करैकर धेरै भएर हामीलाई नै बाँँच्न गाह्रो भइसक्यो ।’

    धेरै कर लागेकाले हलका स्टाफ नै पाल्न धौ–धौ परेको महर्जनको गुनासो छ ।

    ‘१०० रुपैयाँको टिकटमा ३३ रुपैयाँ त करमै जान्छ । ३३ रुपैयाँ फिल्मले लान्छ । बाँकी रहेको ३३ रुपैयाँले हामीले हलको सबै खर्चसहित स्टाफहरु कसरी पाल्ने ? न सरकार न त कतैबाट हामीलाई केही प्रोत्साहन छ’, उनी सुनाउँछन् ।

    यो मागको पहलको लागि प्रदेश सरकारलाई समेत चिठी लेखेर पठाइसकिएको बताउँदै उनले केन्द्रमा पनि पठाउने तरखरमा रहेको बताए ।

    अहिलेसम्म कतैबाट केही रेस्पोन्स नआएको महर्जनको दाबी छ । उनी भन्छन्, ‘यो हाम्रो सांकेतिक रुपमा गरिएको पहिलो आन्दोलन हो । यसको सुनुवाइ भएन भने हामी चरणबद्ध रुपमा अघि बढनेछौं । यसबारे कार्य समितिसँग सल्लाह हुँदैछ ।’

    क्यूएफएक्सका सञ्चालक भाष्कर ढुंगानाले पनि विभिन्न करका कारण हल चलाउनै मुस्किल भएको बताए ।

    ‘यस्ता करहरु पहिलै हटाउने भन्ने सहमति भएको थियो । भ्याट राख्ने अनि बिस्तारै यस्ता करहरु घटाउँदै हटाउने भन्ने थियो । तर, २०औं वर्षसम्म पनि यो जस्ताको तस्तै छ’, उनले भने, ‘चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल थिए । करको यस्तै मारका कारण कोभिडपछि १५० हलमात्र सञ्चालनमा छन् ।’

    सरकारलाई धेरै पटक गुहार्दा पनि सुनुवाइ नभएकाले यसपटक आन्दोलन गर्नु परेको उनको भनाइ छ । चलचित्र विकास बोर्डले चलचित्र विकास शुल्क भन्दै प्रदर्शकबाट रकम उठाउने गरेको छ, जुन रकम बोर्डको आर्थिक स्रोत पनि हो । तर यस्तो नहुनुपर्ने ढुंगाना बताउँछन् ।

    ‘चलचित्र विकास बोर्ड हलहरुको कमाइबाट बाँच्नु हुँदैन। चलचित्र समाजको हो । यदि त्यस्तो हो भने त रेस्टुरेन्ट व्यापारको प्रवर्द्धनको लागि रेस्टुरेण्टले कर तिर्नुपर्‍यो । यो कन्सेप्ट नै मिल्दैन । यस्तो कुनै देशमा छँदा पनि छैन’, उनले भने, ‘भोलि चलचित्र विकास बोर्ड चौबर ठूलो बनाउने निर्णय भयो भने हामीले चौबर कर तिर्ने ? यो सेन्सलेस कुरा हो । यसरी त व्यापार नै हुँदैन ।’

    उनले थपे, ‘चलचित्र विकासको काम सरकारले गर्ने हो, हामी व्यक्तिले गर्ने होइन । लाग्ने ट्याक्स हामी तिर्छौं । तर, अन्यायपूर्ण थप कर लाग्नु भएन । हटाउँदै जाने भनिएको कर विकास बोर्डको आर्थिक स्रोत हुनुभएन ।’

  • पोखरामा ‘दयारानी’को प्रिमियर शो, पायो राम्रो प्रतिक्रिया (तस्बिरहरु)

    पोखरामा ‘दयारानी’को प्रिमियर शो, पायो राम्रो प्रतिक्रिया (तस्बिरहरु)

    काठमाडौं । आइतबार पोखराको मिडटाउन सिनेमाज्मा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको ‘दयारानी’को प्रिमियर शोको आयोजना गरिएको छ ।

    प्रिमियर शोमा सिनेमा हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति थिए ।

    प्रिमियर शोमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । प्रिमियर शोमा ‘दयारानी’ले राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाले देखाउन खोजेको कथा उपस्थित पाहुनालाई मन परेको छ ।

    पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि भने, ‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । सिनेमामा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ ।’

    मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ सिनेमा छायांकनका लागि उत्कृष्ट रहेको भन्दै ‘दयारानी’ मार्फत याङ्जाकोटको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

    ‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने, ‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’

    अभिनेत्री दिया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । यो सिनेमाले आफ्नो कलाकर्ममा अगाडी बढ्न सहयोगी हुने विश्वास व्यक्त गरिन । सिनेमामा रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा सामाजिक परिवेशलाई सिनेमाको पर्दामा ल्याइएकाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको बताइन् ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

     

  • फागुन ४ गते प्रदर्शनमा आउने ‘जिग्री’को ट्रेलर सार्वजनिक

    फागुन ४ गते प्रदर्शनमा आउने ‘जिग्री’को ट्रेलर सार्वजनिक

    काठमाडौं । फागुन ४ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । चलचित्रको केही दिन अघिमात्र टिजर सार्वजनिक गरिएको थियो ।

    ‘जिग्री’ कमेडी, क्राइम, एक्सन-ड्रामामा आधारित चलचित्र हो। आकाश मगरले निर्देशन गरेको चलचित्रमा अभयराज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय रहेको छ।

    ‘जिग्री’ वर्तमान समयका दुई युवाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौंमा टिकेर बस्न गरेको सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु रहेको निर्माण पक्षले जनाएको छ ।

    सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भीएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले नै गर्नेछ ।

  • साम्राज्ञीको नयाँ सिनेमा ‘रुमानी’

    साम्राज्ञीको नयाँ सिनेमा ‘रुमानी’

    काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ सिनेमा साइन गरेकी छन् । उनले रोमान्टिक प्रेमकथामा आधारित ‘रुमानी’ सिनेमा साइन गरेकी हुन् ।

    यो सिनेमालाई अनिल योन्जनले निर्देशन गर्ने छन् । योन्जनले यसअघि ‘डायरी‘ सिनेमा निर्देशन गरेका थिए ।

    जानकारीमा आए अनुसार सिनेमाको छायाँकन अस्ट्रेलियामा हुनेछ । हरि मल्ल ठकुरी र जिएम ठकुरी यो सिनेमाका निर्माता हुन् ।

    ‘रुमानी‘को अर्थ भावुकतामय प्रेम हो । साम्राज्ञीको पछिल्लो पटक ‘ह्यारीकी प्यारी‘ र ‘नांङ्गो गाउँ’ रिलिज भएको थियो भने ‘लन्डन टु पेरिस‘ छिट्टै रिलिज हुने तयारीमा रहेको छ ।

  • सविरको निर्देशनमा ‘रुखान’को घोषणा, ४ भाषामा तयार हुने

    सविरको निर्देशनमा ‘रुखान’को घोषणा, ४ भाषामा तयार हुने

    काठमाडौं । निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ फिल्मको घोषणा गरिएको छ । सविरको निर्देशनमा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई ४ वटा भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।

    कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

    यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

    सार्वजनिक फिल्मको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देऊ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्बिर समेत समावेश गरिएको छ । फस्ट लुकले यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ ।

    फिल्मको विषयमा निर्देशक सविर श्रेष्ठले भने, ‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ ।’ फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरू फाइनल गर्ने क्रम जारी छ । चाडै नै, फिल्मको मुख्य कलाकारको नाम घोषणा गरिने सविरले बताए ।

  • इन्डियन आइडलकाे टप १० बाट बाहिरिइन् मेनुका पाैडेल

    इन्डियन आइडलकाे टप १० बाट बाहिरिइन् मेनुका पाैडेल

    काठमाडौं । मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।

    नेपाली चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक संजालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।

    उनले आफ्नो स्टाटसमा ईन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिनु आफ्नो समाप्ती नभई सुरुवात भएको जनाएकी छन्।

    उनी लेखेकी छन्,’आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ। तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ। म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु। ईन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो मेरो सुरुवात हो, समाप्ती होइन। अहिलेको लागी ईन्डियन आइडलबाट बिदा माग्न चाहन्छु।’

    उनले यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेकाले आउने दिनहरूमा पनि आफुलाई यस्तै माया गर्न आग्रह समेत गरेकी छन् ।

  • लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘पार्वती’को घोषणा

    लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘पार्वती’को घोषणा

    काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्मदिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो।

    सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ । ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा भने सामाजिक प्रेमकथालाई उठाउने बताएका छन। चलचित्रको टाइटल डिजाईनमा दुई युवतीको छायाँलाई देखाईएको छ।

    ‘‘पार्वती’ को छायाँकन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले लिएका छन्।

    नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा भने खुलाइएको छैन। ‘गाउँले केटी म’ स्लोगन दिईएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ। चलचित्रको गीत र निर्माण समेत सुवेदीकै रहनेछ। चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेका सुवेदीले ‘सतीदेवी’ को प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने योजना रहेको बताए।

  • अभिनेता गौरव पहारीले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

    अभिनेता गौरव पहारीले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

    काठमाडौँ । अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । आज उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । दुई परिवार, आफन्त र निकट साथीहरुको उपस्थितिमा आज उनीहरुले विवाह गरेका हुन् ।

    गौरव र श्रेणीले असोज ३ गते होटल र्‍याडिसनमा इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । गौरव र श्रेणी प्रेममा थिए । केही वर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

    चलचित्र ‘मञ्जरी’बाट अभिनयको यात्रा सुरु गरेका गौरवले ‘मिस्टर भर्जिन’, ‘कुम्भ कर्ण’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्महरुमा अभिनय गरिसकेका छन् भने उनी अभिनित चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।

  • आफ्नै मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी, अपराधअनुसारको कारवाही गर्न माग

    आफ्नै मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी, अपराधअनुसारको कारवाही गर्न माग

    काठमाडौं । आफ्नो मृत्युको भ्रम फैलाएकी अभिनेत्री पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको खबर फैलाएकी पाण्डेविरुद्ध अधिवक्ता काशिल खानले उजुरी दर्ता गराएको आजतकले जनाएको छ ।

    अधिवक्ता खानले उनकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरुद्ध आइपीसी सेक्सन ४१७, ४२०, १२० बी र ३४ अनुसार कारवाही हुनुपर्ने माग गरेका छन् ।

    पुनमको यो कार्य सर्वसाधारणलाई धोखा दिने र झुक्याउने किसमको भएकाले उनकोअपराधअनुसार कारबाही गर्न उजुरीमा माग गरिएको छ । उनलाई दर्शक तथा शुभचिन्तकको भावनामा चोट पुर्याएको र सर्भिकल क्यान्सर झुट बोलेको आरोप लगाइएको छ भने भारतीय सिनेवर्कस् एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ ।

    केही दिन अघिमात्र पुनमले आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट सर्भिकल क्यान्सरका कारणआफ्नो मृत्यु भएको जानकारी गराएकी थिइन् । उनको मृत्युको खवरले सबैलाई स्तब्ध पारेको थियो। बलिउडका अधिकतम कलाकार र शुभचिन्तकहरुले उनलाई श्रदाञ्जली प्रकट गरेका थिए ।

    तर त्यसको भोलिपल्ट शनिबार पुन उनले आफू जीवितै रहेको खबर पोस्ट गरिन् । पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउन आफूले प्र्यांक गरेको उनको दाबी थियो। त्यसपश्चात सम्पूर्ण बलिउड, दर्शक र उनका शुभचिन्तक उनीप्रति आक्रोशित छन् ।

  • गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे विवाह

    गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे विवाह

    काठमाडौं । गायक तथा अभिनेता कोसिस क्षेत्रीले विवाह गरेका छन् । उनले माघ १७ गते प्रेमिका सन्ध्या ढुङ्गानासँग लगनगाँठो कसेका हुन् ।

    लामो समयको प्रेम सम्बन्धमा यी दुईले विवाहमा परिणत गरेका हुन। यो जोडीको इन्गेजमेन्ट भने एक वर्ष अगाडी नै भइसकेको थियो।

    कोसिसको गायन हुँदै अभिनयमा पाइला टेकेका कोसिसको स्थायी घर हेटौँडा हो।

    उनले चलचित्र ‘मोक्ष’ बाट आफ्नो अभिनयको यात्रा सुरु गरेका थिए। उनी अभिनीत चलचित्रहरू ‘ऐंचोपैँचो’ र ‘परस्त्री’ पनि केही समय अगाडी रिलिज भएका थिए।

  • पुनम पाण्डे जिउँदै ! झूटो पोस्ट गरेकोमा फ्यानसित माफी मागिन्

    पुनम पाण्डे जिउँदै ! झूटो पोस्ट गरेकोमा फ्यानसित माफी मागिन्

    काठमाडौं । भारतीय मोडल पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । उनले मृत्युको समाचारलाई लिएर माफी मागेकी छन् ।

    पुनमको इन्स्टाग्राम अकाउन्टबाटै उनको मृत्यु भएको खबर सार्वजनिक गरिएको थियो । त्यसकै आधारमा भारतीय मिडियामा समाचार छ्याप्छ्याप्ति भयो ।

    तर अहिले फेरि पुनमले आफू जिवितै रहेको भनेर भिडियो पोस्ट गरेपछि सबै जिल्लिएका छन् । फ्यानहरूले यसलाई तल्लो स्तरको स्टन्टको संज्ञा दिएका छन् ।

    पुनमको मृत्यु सर्भिकल क्यान्सरबाट भएको दावी उनको इन्स्टा पोस्टमा गरिएको थियो । त्यति मात्र नभएर पुनमका म्यानेजरले पनि भारतीय मिडियासित मृत्यु भएको पुष्टि गर्दै आफूहरू गहिरो शोकमा रहेको बताएका थिए ।

    तर पुनमका परिवारका सदस्य भने मिडियाको सम्पर्कमा आएनन् । कसैको फोन अफ थियो भने कसैको फोन सम्पर्कविहीन थियो ।

    पुनम दुई दिन अघिमात्र पार्टीमा रमाइरहेकी थिइन् । उनलाई सर्भिकल क्यान्सर भएको पनि कसैलाई थाहा थिएन ।

    कतिपयले पुनमको अकाउन्ट ह्याक भएको पनि आशंका गरेका थिए । तर पुनम आफैंले चर्चाका लागि यो स्टन्ट रचेको खुलेको छ ।

    शनिबार पाेस्ट गरेकाे भिडियाेमा पुनमले भनेकी छन, ‘म जिवित छु । सर्भिकल क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, सर्भिकल क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा म यसो भन्न सक्दिनँ। पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र HPV खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’

  • ३२ वर्षमै अस्ताएकी पुनम : चर्चा र विवादले भरिएको थियो करिअर*

    ३२ वर्षमै अस्ताएकी पुनम : चर्चा र विवादले भरिएको थियो करिअर*

    भारतीय मिडियामा आधारित रहेर प्रकाशित यो समाचार असत्य साबित भएकाले हटाइएको छ । (सम्पादक)

  • अमेरिकाबाट फर्केलगत्तै दयाहाङ ‘हात्तीछाप’को प्रचारमा

    अमेरिकाबाट फर्केलगत्तै दयाहाङ ‘हात्तीछाप’को प्रचारमा

    काठमाडौं । अमेरिकाबाट फर्किएलगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक दयाहाङ राई उत्साहित देखिए । उनले पत्रकारहरुसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए ।

    किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा दयाले भने, ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

    दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।’

    दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्, ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

    फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भूकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने, ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भुकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

    मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन्, ‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नु हुँदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

    फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरुको कथालाई जोड्ने उनको भनाइ छ । दयाले, यो फिल्म लामो समयपछि पनि दर्शकले संझन सक्ने दाबी गरे ।

    किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

    कात्तिकको २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनित फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रुपमा सफलता हात पारेका छैनन् ।

    यसैले, ‘हात्तीछाप’बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ । यसपटक, ‘कबड्डी र २ नम्बरी’का सहयात्री सौगात मल्ल पनि उनको साथमा भएकाले उनलाई केही सहज हुने पक्का छ ।

     

  • ‘दयारानी’ निर्देशक गुरुङ् भन्छन्- सिक्वलको कथा तयार छ

    ‘दयारानी’ निर्देशक गुरुङ् भन्छन्- सिक्वलको कथा तयार छ

    काठमाडौं । लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर अभिनय कर्ममा होमिएका माओत्से गुरुङ निर्देशित सिनेमा ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिएर गुरुङ् उत्साहित छन् । ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो समय झन बढेको बताउँछन् ।

    दयाहाङ राई र दीया पुनको जोडी कसेर उनले समाजको कथालाई दर्शकमाझ पस्किएका छन् ।

    माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् तर त्यसलाई मन पराइने वा मन नपराइने कुरा वाचकको शैलीमा भरपर्छ । उनले ‘दयारानी’को कथा सिनेमामा भन्दा प्रस्तुतिलाई खुबै ध्यान दिएका छन् । हाँस्यरसमा उनले समाजमा पुरुष अंहकारमाथि गम्भीर छेडखानीसँगै प्रश्न खडा गरेका छन् ।

    ‘यो सिनेमाले एउटा अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । सबै पुरुष होइन हाम्रा समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमीकमजोरीहरुको दोष पनि अरुमाथि गर्ने, अन्तिमसम्म पनि म कमजोर छु भन्ने कुरालाई आत्मसात गर्न नसक्ने पुरुषको मनोवृत्ति प्रस्तुत गर्छ’, उनले भने ।

    योसँगै सिनेमाले पुरुषको यही अंहकारले एउटी महिलाले त्यसको दबाब कुन रुपमा झेल्नुपर्छ आफ्ना खुशीसमेत बाँड्नुपर्छ भनेर पनि आफ्नो सिनेमाले देखाउने उनको भनाइ छ ।

    ‘हाम्रो समाजमा पितृसत्ता महिलामाथि अझै हाबी छ भन्ने देख्नसक्नुहुन्छ’, उनले थपे ।

    ‘दयारानी’ ५ वर्ष अगाडि तयार भएको सिनेमा हो । तर पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको बुझाइ छ । सिनेमाले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् किनकी यो हाम्रो समाजको कथा हो । उनले यो कथा आफ्नै साथीभाइ, इष्टमित्रबीच घटेको देखेपछि आम दर्शकका लागि रुचिकर हुनसक्छ भनेर यसलाई सिनेमाको रुपमा ढालेका हुन् ।

    यसैगरी कुराकानीका क्रममा गुरुङले निर्माताहरु तयार भएमा सिनेमाको सिक्वल हेर्न धेरै समय कुर्नुपर्दैन । कथा तयार छ, निर्माताले हरियो संकेत गरे एकडेढ वर्षभित्र उनी यो सिनेमाको सिक्वल पस्किन तयार छन् ।

    सिनेमा देशविदेशका केही सिमित दर्शकहरुले हेरिसकेका छन् । जसबाट उनले राम्रो प्रतिक्रिया पाएका छन् ।

    उनी सिनेमाका कलाकारहरुको कामबाट सन्तुष्ट छन् । उनीहरुको अभिनयले कथालाई बोक्न कुनै कसर नराखेको उनी बताउँछन् । उनी अब दर्शकको सन्तुष्टिको पर्खाइमा छन् ।

     

  • दयाहाङ्गले एक वर्ष फिल्म साइन नगर्ने, २० भन्दा बढीको छायांकन बाँकी

    दयाहाङ्गले एक वर्ष फिल्म साइन नगर्ने, २० भन्दा बढीको छायांकन बाँकी

    काठमाडौं। कलाकार दयाहाङ्ग राईले अबको एक वर्ष कुनै पनि नया चलचित्र साइन नगर्ने बताएका छन्।

    आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रममा दया हाङ्ग राईले उक्त कुरा बताएका हुन्।

    उनले अहिले आफू डेढ वर्ष अगाडिदेखि फिक्स भएको चलचित्रहरूलाई समय दिइरहेको र त्यस कारण नयाँ कुनै पनि चलचित्रमा अनुबन्धित नहुने जानकारी दिए। आफू अनुबन्धित भएको तर घोषणा हुन बाँकी ५ वटा चलचित्र रहेको पनि उनले बताए।

    उनले भने ‘मैले ७ वर्ष अगाडिदेखि साइन गरेको चलचित्र बल्ल सुट टाइम मिलेको छ । त्यस्तै अरू धेरै छन् त्यसैले नयाँ साइन गर्‍यो भने झन् प्रेसर हुने रहेछ।’

    दयाहाङले आफू अनुबन्धित भइसकेको छायाङ्कन गर्न बाँकी २० वटा भन्दा बढी चलचित्र रहेको अनुमान छ।

  • विवाहित निसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हाे : दयाहाङ

    विवाहित निसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हाे : दयाहाङ

    काठमाडौं । आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । सिनेमाको पत्रकार भेटघाट कार्यक्रमका सिनेमाका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय बराल र बाँसुरी फिल्मस्का तर्फबाट मणिराम पोखरेल उपस्थित थिए ।

    पत्रकार भेटबाट कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाहित निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा भएको बताए । उनले विवाह भएर पनि सन्तान नभएपछि समाजले कसरी दबाब दिन्छ, त्यो सिनेमामा हेर्न सकिने जानकारी दिए ।

    दयाहाङ अगाडी भन्छन्, ‘बनेको हिसाबले ‘दयारानी’ पुरानो हो । यो सिनेमा ५ वर्ष अगाडि नै बनेको थियो । तर, यसको कथा वर्षौंसम्म पनि ताजा रहन्छ भन्ने मलाई लाग्छ । यो सिनेमाको स्वाद फरक छ । यसैले दर्शकलाई पनि फरक लाग्न सक्छ । समाजले सन्तान नहुँदा दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ । तर महिलाले दबाब झेल्नुपर्छ’, उनले भने, ‘सन्तान नहुनुलाई समाजले चासोको रूपमा हेर्छ, त्यो कथा हाम्रो सिनेमाले उठाएको छ ।’

    यस्तै, सिनेमाकी मुख्य अभिनेत्री दीया पुन दयारानीले उठान गरेको विषय धेरै जनाको व्याक्तिगत जीवनसँग मेलखाने बताइन् । ‘यो हाम्रो समाजको कथा नै हो । यो समस्या धेरैले भोगेको म आफैंले देखेकी छु’, अभिनेत्री पुनले भनिन्, ‘नेपाली महिला वास्तवमा अन्य देशकाभन्दा निकै सहनशील छन् भन्ने लाग्छ । सायद विदेशी महिलाले यस्तो समस्या फेस गरेर बस्दैनन् । अहिलेको अवस्थामा समाज विज्ञानका हिसावले पनि निकै एडभान्स भैसकेको छ । बच्चा जन्माउने अनेक प्रविधि बनिसकेका छन् । तरपनि दयारानीको कथाले दर्शकलाई भावुक बनाउँछ र सोच्न बाध्य पार्छ ।’

    सिनेमाका अर्का मुख्य कलाकार विजय बरालले समाजमा हरेक खालका व्यक्ति भएकैले समाज र प्रकृति चल्ने गरेको बताए । सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने आशा अभिनेता बरालको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको सिनेमामा माघ २६ गते रिलिज हुँदैछ ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

     

  • ‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक

    ‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी चैत ९ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

    सिनेमाको यसअघि सार्वजनिक पोस्टरमा हरिवंश आचार्यलाई खलपात्रको अवतारमा प्रस्तुत गरिएको थियो । निर्माण टीमले बिहीबार दोस्रो पोस्टर सार्वजनिक गर्दै सिनेमाप्रति कौतूलह पैदा गर्ने प्रयास गरेको छ ।

    सिनेमामा खलनायक बनेका आचार्य दोस्रो पोस्टरमा झुम्म दाह्री पालेको स्वरुपमा छन् । सार्वजनिक पोस्टरमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झालाई पनि प्रस्तुत गरिएको छ । निर्माता टीमले सुरुदेखि नै हरिवंशलाई पब्लिसिटीको केन्द्रमा राख्दै आएको छ ।

    अघिल्लो पोस्टरमा हरिवंश ह्वीलचेयरमा बसेको क्यारेक्टरमा देखिएका थिए ।

    षट्कोण आर्टस्ले निर्माण गरेको सिनेमा जात्रा सिरिजको तेस्रो श्रृंखला हो । पैसा र शक्तिको कथावस्तुमा आधारित सिनेमामा मुख्य पात्रहरु पैसा कमाउन दौडधुप गर्छन् । सिनेमामा पैसा र खुशीको मानवीय स्वभावको चित्रण गर्ने प्रयास निर्देशक प्रदीप भट्टराईले गरेका छन् ।

    वरिष्ठ हास्य अभिनेता हरिवंश ‘महापुरुष’ हिट भएपछि षट्कोण आर्ट्ससँग दोस्रो पटक टीमअप भएका हुन् । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जात्रा सिरिजको यो तेस्रो भाग अझै रोचक र कौतूहलताले भरिपूर्ण हुने बताउँछन् ।

  • उपहारको गीत ‘हारेको छैन’ सार्वजनिक (भिडिओ)

    उपहारको गीत ‘हारेको छैन’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ ।

    गीतको अडियो र भिडिओ पक्ष बलियो रहेको दाबी गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडिओमा हेर्न सकिन्छ ।

    गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।

    ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

    रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

    भिडिओ

     

  • ब्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को रिलिज डेट घोषणा, आगामी दशैंमा हलमा लाग्ने

    ब्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को रिलिज डेट घोषणा, आगामी दशैंमा हलमा लाग्ने

    काठमाडौं । अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ । दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय कलाकार ब्रह्मानन्दमको जन्म दिनको अवसर पारेर ह्रस्व-दीर्घ युनिटले रिलिज डेट घोषणा गरेको हो ।

    सिनेमामा नीता ढुङ्गाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरू ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

    चन्द्र पन्त सिनेमाका निर्देशक हुन् । चार सेड्यूलमा छायाँकन हुने सिनेमाको भारतका विभिन्न सहरहरूमा हुने छाया‌ंकन सकिएको छ भने हाल नेपालमा छायांकन भइरहेको छ । सिनेमाको काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउँदैछन् ।

    सिनेमालाई नेपाल तथा भारतका मुख्य भाषाहरूमा रिलिज गरिने बताइएको छ । भारतमा भने सिनेमा ओटीटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

  • रचनालाई प्रश्न- अचेल टिकटक कसरी चलाउनुहुन्छ ?

    रचनालाई प्रश्न- अचेल टिकटक कसरी चलाउनुहुन्छ ?

    काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि नेपालमा सरकारले प्रतिवन्ध लगाएको छ । प्रतिवन्धविरुद्धको मुद्दामा अदालतले फैसला सुनाएको छैन । तर, खाने मुखलाई जुँगाले छेक्दैन भने झैं प्रयोगकर्ताहरु विभिन्न उपाय अपनाएर टिकटक चलाइरहेका छन् ।

    अहिले पनि नेपालका टिकटक प्रयोगकर्ताहरुको कमी छैन । थुप्रै चर्चित कलाकारहरु पनि पहिले झैं टिकटकमा सक्रिय नै छन् । उनीहरुमध्येकी एक हुन् अहिलेकी सक्रिय गायिका रचना रिमाल । उनी नयाँ-नयाँ भिडियो बनाएर पोस्ट गरिरहेकी हुन्छिन् ।

    यतिबेला रचना मेला-महोत्सव र स्टेज कार्यक्रमहरुमा व्यस्त छिन् । उनका नयाँ गीतहरु पनि रेकर्डिङ भइरहेका छन् । आफ्ना नयाँ गीतहरुबारे उनी बेलामौकामा टिकटकमार्फत दर्शकहरुलाई जानकारी गराइरहेकी हुन्छिन् ।

    एपमाथि प्रतिबन्ध भइसकेपछि पनि टिकटक कसरी चलाइरहनुभएको छ भन्ने प्रश्नको उत्तर दिँदै रिमाल भन्छिन्, ‘पहिला जस्तो सक्रिय भएर त चलाएकी छैन । कसरी हो अझै पनि कतै कुनै वाइफाइहरुमा भने चलिरहेको हुन्छ । कुनै कुनै कार्यक्रमहरुमा बसिञ्जेल नै टिकटक चल्छ । त्यस्तै बेला जहाँ संयोग मिल्छ त्यहींबाट आफ्नो गीतको प्रचार टिकटकमार्फत गर्छु ।’

    भीपीएन प्रयोग गरेर भने टिकटक नचलाएको रिमालले बताइन् ।

    ‘टिकटक ब्याण्ड भएपछि केही साथीहरुले भीपीएनबाट चलाउन मिल्छ भन्नुभएको थियो । त्यो समय चलाइरहने बानी परेको थियो, त्यसैले चलाउने कोसिस गरें पनि । तर, भीपीएन गैरकानूनी हो भन्ने थाहा भएपछि चलाउन मन लागेन’, उनी भन्छिन् ।

    टिकटक ढुक्कले चलाउन नपाउँदा उनलाई कत्तिको गाह्रो परेको छ त ?

    रचना भन्छिन्, ‘मलाई त्यस्तो टिकटक चलाउनै पर्छ भन्ने छैन । ब्यान्ड भएपछि मैले लगभग चलाउनै छाडेकी थिएँ । तर, अरुले पनि चलाएको देखेपछि चाहिँ कहिलेकाहीँ चलाउँजस्तो लाग्यो । जतिखेरै टिकटक चलाइराख्ने अनि लाइभ नै बस्ने गरेको छैन । पहिला जस्तो टिकटक चल्दैन पनि ।

    म प्रायः कार्यक्रमहरुमै व्यस्त हुन्छु अहिले । विभिन्न ठाउँ हिँडिराख्नुपर्छ । आफ्नो गीतहरुको क्लिप्सहरु काटेर तयार पारेर राखिरहेकी हुन्छु । जहाँको वाइफाइमा चल्छ त्यहाँबाट आफ्नो गीतको क्लिप्स् हाल्छु । त्यति हो ।’

    टिकटक प्रतिबन्ध भएपछि चलाउन छाडेकाले पहिला जस्तो खासै वास्ता नलाग्ने रचनाको अनुभव छ ।

    ‘कुनै कुरा चलाइरहँदा मात्र त्यसमा के भयो होला भन्ने कौतुहल जाग्दो रहेछ, अनि चलाउन मनलाग्दो रहेछ’, उनी सुनाउँछिन्, ‘हाम्रो लागि दर्शक नै सबथोक हुन् । तर, अहिले सबैकोमा टिकटक चल्दैन । दर्शकले नै हेर्न नमिलेपछि हामीले मात्र चलाएर के काम ? त्यसैले अनेक उपाय लगाएर आफूले पनि खासै चलाउन मन लाग्दैन ।’

    नेपालमा टिकटक ब्याण्ड भए तापनि अरु ठाउँका दर्शकहरुलाई जानकारी गराउन बेलामौकामा क्लिप्सहरु हाल्ने गरेको रचना बताउँछिन् ।

    उनी भन्छिन्, ‘सबै ठाउँमा प्रतिबन्ध लगाइएको छैन । त्यसैले नेपाल बाहिर बसिरहनु भएका मलाई मन पराउनु हुने दर्शक र मेरा शुभचिन्तकहरुलाई मेरो नयाँ गीतबारे जानकारी होस् भनेर पायक परेको ठाउँमा वा भनौं जहाँ चल्छ त्यहाँबाट क्लिप्सहरु शेयर गर्दिन्छु ।’

    टिकटक कुनै समय कलाकार र गायक-गायिकाहरुको लागि प्रोमोसनको एउटा राम्रो प्लेटफर्म थियो । टिकटकमा भाइरल भएकै आधारमा गीतको भ्युज बढ्थ्यो । सर्जकहरु पनि युट्युबभन्दा अघि टिकटकमा क्लिप काटेर हाल्न हतारिन्थे । तर, टिकटक प्रतिबन्ध भएपछि भने गीतहरु पहिला जस्तो भाइरल र हिट हुने माहोल केही कम भएको छ । यस विषयमा रचनाले पनि केही समर्थन जनाउँछिन् ।

    उनी भन्छिन्, ‘टिकटक पहिला सबैको लागि निःशुल्क गीत प्रोमोसन गर्ने मुख्य सहारा जस्तै थियो । तर, टिकटक नहुँदा गीत नै नचल्ने भन्ने चाहिँ हैन । राम्रा गीतहरु टिकटकविनै पनि चल्छन् । अस्ति भर्खर मेरो ‘भन साइला २’ गीत राम्रो गयो । त्यो गीतलाई दर्शकले आफैं मन पराइदिनुभएको हो । टिकटक नहुँदा पनि गीतहरु चलेकै हुन् । पहिलाका कति गीतहरु अहिले पनि सदावहार छन् । टिकटक आउनु अगाडिका गीतहरु अहिले पनि मान्छेको मुखमुखमा छन् । बीचमा टिकटकले केही ट्रयाक परिवर्तन गरिदिएको मात्र हो । राम्रा गीतहरु चल्न कुनै माध्यम नै चाहिँदैन ।’

    ‘अहिले अलिकति भएको बेफाइदा के हो भने पहिला गीत एउटा लाइनकै भरमा पनि भाइरल हु्न्थे । जसका कारण सबैलाई गीतबारे थाहा हुन्थ्यो । गीत भाइरल हुनासाथ त्यसमा हजारौं भिडिओ बनाइन्थे । धेरै पटक सुन्ने भएकाले मान्छेलाई गीतको थोरै टुक्का भए पनि मुखमै याद हुन्थ्यो । टिकटक बन्द भएपछि पहिलाको जस्तो गीत हिट वा भाइरल हुने प्रकिया अलि कम भएको छ । अहिले कुन गीत बजारमा आएको छ भन्ने नै प्रायः मान्छेलाई थाहा हुन्न । पहिला फुर्सदको समयमा टिकटक एकछिन खोल्दा पनि रमाइलो हुन्थ्यो । कुनै गीत भाइरल भएको छ भने अगाडि नै देखाउँथ्यो । त्यसैले मान्छेले थाहा पाउँथे । अहिले व्यस्त समयमा मान्छेहरु युट्युब खोलेर बजारमा कुन कुन गीत आएछ भनेर खोजेर बस्दैनन् । त्यसैले बजारमा अहिले कुन गीत आयो भन्ने दर्शकले प्रायः थाहै पाउँदैनन् ।’

    टिकटक बन्द भएपछि मेला-महोत्सवमा गायक-गायिकाको डिमाण्ड बढेको महसुस रचनाले गरेकी छन् । उनी दिनमा दुई वटा कार्यक्रमसमेत भ्याउँछिन् ।

    ‘पोहोर म यतिखेर कार्यक्रमको लागि जापान र क्यानडातिर थिएँ । पहिलाको भन्दा यसपालि अलि व्यस्तै छु । विशेषतः यो मंसिरदेखि प्रायः दिनमा एउटा कार्यक्रम गरिन्छ । तर, कहिलेकाहीँ दिनमा दुइटा कार्यक्रम पनि भ्याउँछु । नजिक-नजिकै भएको बेला समयको ग्याप केही लामो भयो भने दुइटा भ्याइन्छ’, उनले सुनाइन् ।

    टिकटकमा लाइभ बसेको कत्तिको मिस गर्नुहुन्छ भन्ने प्रश्नमा हाँस्दै रचना जवाफ दिन्छिन्, ‘अलिअलि । म पहिला टिकटक ब्याण्ड नहुँदा पनि लामो समय त लाइभ बसिनँ । पैसा कमाउँछु भनेर बसेको पनि हैन । दर्शकसँग अन्तरक्रिया हुन्थ्यो । रमाइलो लाग्थ्यो । सुरुसुरुमा केही समय बसें । पछि भने खासै बस्न भ्याइनँ । काममै व्यस्त हाेइन्थ्यो । गीतको प्रोमोसन गर्नमात्रै बसियो । आफ्ना गीतहरु आउँदा दर्शकलाई जानकारी दिन बस्थें ।’