Category: कलाप्रेस

  • गायिका एलिना चौहान दरबार मार्गमा प्रस्तुती दिँदै

    गायिका एलिना चौहान दरबार मार्गमा प्रस्तुती दिँदै

    काठमाडौँ । गायिका एलिना चौहानले दरबार मार्गमा प्रस्तुतती दिने भएकी छन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिनाले माघ २८ गते दरबार मार्गको मन्नत प्यालेसमा प्रस्तुती दिने भएकी हुन् ।

    कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन्, मिनिरल वाटर, इन्स्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

    गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ ब्याण्डको पनि प्रस्तुती रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदाझैं नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्यसहित मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको जनाएको छ । कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राति साढे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

  • भ्यालेन्टाइन डेलाई लक्षित गरेर ‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ गीत सार्वजनिक (भिडिओ)

    भ्यालेन्टाइन डेलाई लक्षित गरेर ‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ गीत सार्वजनिक (भिडिओ)

    काठमाडौँ । फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’को ‘मायामा तिम्रै मायामा’बोलको गीत सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको छेको पारेर गीत सार्वजनिक गरिएको हो ।

    ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । एसडी योगीकै संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेले शब्द भरेका छन् । गीतका निर्माता भने रिकेश गुरुङ हुन् ।

    गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायतको अभिनय छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

    चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भईसकेको छ । टिजर र ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष उत्साहित छ भने चलचित्रको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ । चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्रप्रति अझै उत्सुकता पैदा गराउने निर्देशक चौधरी बताउँछन् ।

    ‘डार्क हर्स इन्टरटेनमेन्ट’ र ‘सेभेन सिज इन्टरटेनमेन्ट’को प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेका छन् । चलचित्रका कार्यकारी निर्माता भने विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रमा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत र सुप्रिम पराजुलीको कलर छ ।

    ‘अगस्त्य च्याप्टर १’ फागुनको १८ गते नेपालसँगै विश्वभर रिलिज हुनेछ । चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुनेछ ।

     

  • ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक

    ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक

    काठमाडौं । १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।

    जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।

    गीतको भिडियोमा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलासँगै बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् ।

    माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ । भिडियो राजन श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

  • ‘माछाको भर पानी’ मा पल शाह र एलिजा गौतमको रोमान्स

    ‘माछाको भर पानी’ मा पल शाह र एलिजा गौतमको रोमान्स

    काठमाडौं । अभिनेता पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । समीर खरेलले गाएको ‘माछाको भर पानी’ गीतको म्युजिक भिडिओमा उनले एलिजा गौतम (ऋषि धमलाकी पत्नी)सँग स्क्रिन शेयर गरेका छन् ।

    गीतमा शब्द र संगीत सीडी विजय अधिकारीको रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रदीप कार्कीले गरेका हुन् । गीतलाई समीर खरेलको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

    गीतमा पल र एलिजाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । यसअघि पनि पल र एलिजाका केही म्युजिक भिडियो आएका थिए ।

  • केकी अधिकारीको प्रष्टीकरण: पोयट आइडलमा म दर्शकको प्रतिनिधि बनेर जज गर्नेछु

    केकी अधिकारीको प्रष्टीकरण: पोयट आइडलमा म दर्शकको प्रतिनिधि बनेर जज गर्नेछु

    काठमाडौं । नायिका केकी अधिकारीलाई कविताको रियालिटी शो ‘पोयट आइडल’ को जज बनाइएको समाचारसँगै उनको निकै ट्रोल भयो । चलचित्रमा अभिनय गर्ने कलाकारलाई कविताको मूल्यांकन गर्ने जिम्मेवारी दिइँदा धेरैले यसलाई ठट्टा सम्झिए ।

    सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी भइरहँदा केकी भने मौन थिइन् । कुनै प्रष्टीकरण नदिई बसेकी उनले आज पोयट आइडलद्वारा आयोजित औपचारिक पत्रकार सम्मेलनमा मुख खोलेकी छन् । उनले कविताको मूल्यांकन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् ।

    केकीका अनुसार सुरुमा अफर आउँदा उनलाई पनि अलमल भएको थियो । उनले कार्यक्रम निर्माता अमन अधिकारीलाई आफूलाई रोज्नुको कारण सोधेकी थिइन् । अधिकारीको जवाफ उनलाई चित्त बुझ्दो लाग्यो ।

    केकीको भनाइ उनकै शब्दमा:

    म एकदमै खुशी र उत्साहित छु । यत्रो ठूलो जिम्मेवारी दिनुभएको छ । म पनि एउटा रियालिटी शोको निर्माण समूहमा छु । साँच्चिकै भन्नुपर्दा यो खालको रियालिटी पनि बन्न सक्छ र रु भन्ने लाग्थ्यो । कमर्सियल रियालिटी शो त धेरै छन्, साहित्य र कविताप्रति मोह जगाउन अभिप्रेरित गर्ने यो रियालिटी शोको अवधारणा आफैँमा फरक हो ।

    सिजन २ मा मलाई किन र केका लागि रोजियो भन्ने चाहिँ मभन्दा बेटर अर्गनाइजर टिमे भन्न सक्ला । तर मैले पनि यो प्रश्न सोधेको थिएँ । मैले अमन दाइलाई ह्वाई मि ? भन्दा उहाँले भन्नुभयो, यो एउटा रियालिटी शो हो । दुई वरिष्ठ कवि विप्लव दाइ र उपेन्द्र दाइ पहिल्यै हुनुहुन्छ । उहाँहरूले छन्दका कुराहरू, भावका कुराहरू हेर्नुहुन्छ, वाचन शैली मिले नमिलेको हेर्नुहुन्छ । हामीलाई यस्तो व्यक्ति चाहिएको छ जसले दर्शकको प्रतिनिधित्व गर्न सकोस् । कुनै पनि प्रतियोगीले आफ्नो रचनालाई प्रस्तुत गरेपछि त्यसलाई दर्शक श्रोताले कसरी श्रवण गर्न सक्छन् भनेर शब्दमा व्यक्त गर्न सक्ने खालको जज चाहिएको हो । तिमी मेरो दर्शकको प्रतिनिधि हुन्छौ ।

    मैले यो अवसर र चुनौती सहर्ष स्वीकार गरेँ । दिइएको भूमिकालाई इमानदारिताका साथ निर्वाह गर्ने छु । मलाई धेरै दर्शकको साथ चाहिन्छ । सबैभन्दा ठूलो निर्णायक दर्शक हो । दर्शकको प्रतिक्रिया पनि चाहिन्छ । जुन तरिकाका कुराहरू आए, त्यसलाई हामीले सकारात्मक दृष्टिकोणले नै लियौँ । यसले हाम्रो रियालिटी शोप्रति दर्शकहरू कति गम्भीर हुनुहुँदो रहेछ भन्ने पुष्टि भयो ।

  • २८ वर्षदेखि सञ्चालनमा रहेको गोपी कृष्ण मुभिज बन्द हुँदै

    २८ वर्षदेखि सञ्चालनमा रहेको गोपी कृष्ण मुभिज बन्द हुँदै

    काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ।

    व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।

    निर्देशक पौडेलले विज्ञप्ती जारी गरी सो जानकारी गराएका हुन।

    विज्ञप्तिमा लेखिएको छ- कोरोनाको संक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।

    उनले विज्ञप्तिमा आजसम्म पाएको सहयोग, सद्भाव तथा आत्मीयताका लागि पनि सबैप्रति आभार व्यक्त गरेका छन् ।

  • ‘दयारानी’ को प्रिमियरमा कलाकारदेखि नेतासम्म, कसले के भने ?

    ‘दयारानी’ को प्रिमियरमा कलाकारदेखि नेतासम्म, कसले के भने ?

    काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा ‘दयारानी’ सिनेमाले प्रशंसा बटुलेको छ ।

    माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टारर सिनेमाले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो ।

    सिनेमाको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरूसमेतको उपस्थिति रहेको थियो । सिनेमाका निर्देशक गुरुङसँग विद्यार्थीकालीन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले सिनेमा आफूलाई मन परेको बताए ।

    ‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा यो सिनेमाले बाहिर ल्याउने कोसिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो सिनेमाले नजिकबाट देखाएको छ’, प्रिमियरपछि गिरीले भने ।

    निर्देशक तथा वितरक अशोक शर्माले सिनेमा राम्रो बनेको र अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य रहेको बताए ।

    ‘उहाँलाई धेरै धेरै बधाई भन्छु दर्शकलाई एउटा राम्रो सिनेमा दिएकोमा, कलाकारहरू सबैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

    अभिनेता खगेन्द्र लामिछानेले आफूलाई सिनेमा एकदमै रमाइलो लागेको बताए ।

    उनले भने, ‘सिनेमा हेरिरहँदा समय बितेको पत्तै हुँदैन । सिनेमाले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’

    निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले सिनेमाको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको सिनेमा बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् ।

    ‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो त्यही किसिमको र त्यति नै राम्रो सिनेमा पनि बनेकाले सबै दर्शकलाई यो सिनेमा एक पटक हेर्न सम्पूर्ण दर्शकलाई हेर्न सिफारिस गर्छु । साथै, धेरै सिनेमाको टिजर र ट्रेलर एक किसिमको र सिनेमा अर्कै भन्ने भएकाले पनि यो सिनेमा त्यो भन्दा विपरीत पाए’, उनले भनिन् ।

    यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् ।

    उनले ‍कासी पात्रको ‘ए होर आफू को हो र ?’ भन्ने संवाद बोल्दै नयनको तारिफ गरिन् । अभिनेत्री केकी अधिकारले पनि आफूलाई यो सिनेमा मन परेको बताइन् ।

    सिनेमामा ‘दयारानी’को शीर्ष भूमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी थिइन् ।

  • फ्राइडे रिलिज : हात्तीछाप र दयारानी प्रदर्शनमा

    फ्राइडे रिलिज : हात्तीछाप र दयारानी प्रदर्शनमा

    काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, बुद्धि तामाङलगायत कलाकार छन् । यसलाइ सिमोस सुनुवारले निर्देशन गरेका हुन ।

    चलचित्र हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ र सिंगल थिएटरमा पनि चलचित्रले राम्रै शोज पाएको छ ।

    दयारानी’मा दयाहाङ, दीया पुन, विजय बराल, पुस्कर गुरुङलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन ।

    ‘दयारानी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो । चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ र सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।

  • ‘महाजात्रा’ जोडी – विपिन र वर्षासँगै दिव्य र गौमाया

    ‘महाजात्रा’ जोडी – विपिन र वर्षासँगै दिव्य र गौमाया

    काठमाडौं । प्रणय दिवस सप्ताह सुरू भइसकेको छ । फेब्रुअरी १४ को भ्यालेनटाइन डे अघि नै यो सप्ताहमा मायालु जोडीहरुले भ्यालेनटाइन सप्ताह मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर सिनेमा ‘महाजात्रा’ले दुई जोडी पात्रको पोस्टर सार्वजनिक गरेका छन् ।

    सिनेमामा रहेका विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । सोसल ड्रामा जनराको सिनेमामा दर्शकहरुले फणिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई ‘जात्रा’ शृङ्खलामा रुचाउदै आइरहेका छन् । अब यसमा दिव्यदेव (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडी थपिएका छन् ।

    ‘सिनेमाको विषयवस्तु पैसासँग जोडिएको भएपनि यसमा प्रेम पनि छ र यसमा हामीले देखाउने प्रेम अरू भन्दा फरक किसिमको हुने गरेको छ’, निर्देशक प्रदिप भट्टराईले भने, ‘जात्रै जात्रामा फणिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो । हामीले देखाएको प्रेममा युगल प्रेमसँगै मित्रता, परिवार र देश प्रति प्रेमको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ ।’

    निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । सिनेमा हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

    सिनेमामा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

     

  • रिलिजको तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ले पायो धेरै शो

    रिलिजको तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ले पायो धेरै शो

    काठमाडौं । भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ ।

    यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

    क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ ।

    फिल्मलाई वीग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

    देशभरका हलमा उच्च शोज पाएको यो फिल्मले विकेन्डमा नै राम्रो ओपनिङ गरेको खण्डमा निर्मातालाई लगानी सुरक्षित गर्न धेरै दिन पर्खन नपर्ने निश्चित छ ।

    सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाइरहेको छ । यस्तै, फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

    ३ महिनादेखि नेपाली फिल्मले राम्रो व्यापार नगरिरहेको समयमा यो फिल्मले बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

  • लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक

    लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक

    काठमाडौं । गायिका तथा मोडल लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको छ ।

    सुरज पण्डितको शब्द र संगीत रहेको गीत बुधबार गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको सह-मिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ।

    सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ ।

  • दीपेन्द्रको ‘मेयर’ मा वर्षा राउत शीर्ष अभिनेत्री

    दीपेन्द्रको ‘मेयर’ मा वर्षा राउत शीर्ष अभिनेत्री

    काठमाडौं । चलचित्र ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् ।

    दीपेन्द्र के खनालको आगामी चलचित्र ‘मेयर’ शीर्ष अभिनेत्रीको लागि बुधबार निर्माण कम्पनी र राउतबीच सहमति भएको हो ।

    खगेन्द्र लामिछाने, अर्पण थापा यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्मको छायाङ्कन फागुन १५ देखि सर्लाहीमा हुने बताइएको छ ।

    चलचित्र पटकथा प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

  • पारससँगको जम्काभेटबारे दीपकराज- बाटोमा सामान किन्दै हुनुहुन्थ्यो, देखेर गाडी रोकें

    पारससँगको जम्काभेटबारे दीपकराज- बाटोमा सामान किन्दै हुनुहुन्थ्यो, देखेर गाडी रोकें

    काठमाडौं । ‘छक्का पञ्जा ४’ को अपार सफलतापछि यतिबेला अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरी चलचित्र ‘छक्का पञ्जा ५’को स्क्रिप्ट लेखनमा व्यस्त छन् । उनी चलचित्रको स्क्रिप्टकै लागि यतिबेला पोखरा पुगेका छन् ।

    उनले तीन दिनअघि पोखराबाटै पूर्वयुवराज पारस शाहसँगको आफ्नो तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । तस्विरसँगै उनले सानो स्टाटस पनि लेखेका छन् । जसमा लेखिएको छ- ‘पद र पावरवाला व्यक्तिसँग राजनीति बुझ्न सकिन्छ । तर, यी दुवै नभएको मान्छेसँग जीवन बुझ्न सकिन्छ ।’

    तस्विरमा दीपकराज गिरी र पूर्वयुवराज पारस शाहसँगै निर्देशक तथा निर्माता दिनेश डीसी पनि देखिएका छन् । नयाँ चलचित्रको स्क्रिप्ट लेखनका लागि पोखरा पुगेका दीपकको पोखराको लेकसाइडमा पारससँग अचानक जम्का भेट भएको थियो । पारसलाई देखेपछि उनीसँग गफ गर्न दीपक आफ्नो गाडीबाट ओर्लिएका थिए ।

    उनी सुनाउँछन्, ‘उहाँहरु जस्तो मानिसहरुसँग भेट्दा अनि कुरा गर्दा आनन्द लाग्छ । राजपरिवारसँग म प्रायः भेटिरहेको हुन्छु । उहाँहरुसँग राजनीतिभन्दा परका अरु धेरै कुरा बझ्न पाइन्छ । त्यसैले उहाँलाई देखेपछि मैले गाडी रोकें । हामी तीनजनाले त्यही सडकमा उभिएर केही समय कुरा ग¥यौं । एकछिनमा हामीलाई देखेर मान्छेहरु भेला हुन थाल्नुभयो । त्यसपछि भीड होला भनेर हामी छुट्टियौं ।’

    यो भन्दा अगाडि पनि पारससँग धेरै पटक जम्काभेट भएको दीपकको भनाइ छ । उनी भन्छन्, ‘जम्काभेट धेरै भएको छ । तर, बसेर लामो कुराकानी भने हुन पाएको छैन । पार्टी वा समारोहतिर भेट हुँदा उहाँसँग केही गफ गर्ने मौका मिलेको छ ।’

    पारस एकदमै सामान्य जीवन बिताउने व्यक्तित्व रहेको दीपकको अनुभव छ ।

    ‘समारोहमा कोही आफूभन्दा ठूलो मान्छे भेट्नुभयो भने उहाँले दाइ नमस्कार भन्नुहुन्छ । लेकसाइडमा भेट्दा पनि उहाँ बाटोमा सामान किन्दै हुनुहुन्थ्यो । उहाँ दरबारबाट हुर्किएको मानिस हो । किस्मतले युवराज बनाइदियो र त्यही किस्मतले फेरि हामी जस्तो साधारण मान्छे बनाइदियो । जिन्दगीको ठूलो उतारचढाव देखेको मान्छे हो उहाँ’, उनी थप्छन्, ‘उहाँलाई कति जनाले घृणाको पात्रको रुपमा पनि लिन्छन् होला । त्यो मान्छेको आ–आफ्नो हेर्ने दृष्टिकोण हो । जिन्दगीमा घटेको ठूलो उतारचढावका कारण आएको परिस्थितिलाई सायद उहाँले पूर्ण रुपमा आत्मसात गर्न सक्नुभएन होला । तर, मलाई चाहिँ उहाँ परिस्थितिले यहाँसम्म लिएर आएको मान्छे जस्तो लाग्छ ।’

    स्टाट्सबारे प्रष्ट्याउँदै दीपकले सुनाए, ‘मलाई त्यस्तो मान्छेहरुसँग तस्विर खिचाउन मनपर्छ, जसलाई जीवनको परिभाषा नजिकबाट थाहा होस् । म प्रायः पावरमा भएका मान्छेहरुसँग तस्विर खिचे पनि पोष्ट्याउन हतारिदिन्न । न पावरमा भएका व्यक्तित्वहरुको नम्वर आफ्नो फोनमा त्यति राख्न रुचाउँछु । किनकि मलाई पावरदेखि डर लाग्छ ।’

    उनका अनुसार पावर गुमाएका अथवा पदबाट हटेका मान्छेसँग जीवनको ठूलो अनुभव हुन्छ । ‘पावरमा हुँदा मान्छेहरुले गर्ने व्यवहार र पावरपछिको जीवन उहाँहरुले नजिकबाट नियाल्नुभएको हुन्छ । उहाँहरुलाई भेट्न पुलिस, आर्मी, सेक्युरेटी अथवा मान्छेहरुको भीडभाड छिचोल्न पर्दैन । उहाँहरुमा कुनै चमकधमक हुँदैन । त्यसैले उहाँहरुसँग भेट्दा गफ गर्न मन लाग्छ’, दीपक सुनाउँछन् ।

    राजपरिवारसँग तस्विर खिचेर हालेको देख्दा धेरैलाई उनी राजावादी हुन भन्ने लाग्नसक्छ । तर, आफू राजावादी नभएको बताउँछन् दीपक । ‘म राजावादी होइन । म कसैलाई वा कुनै पनि चिजलाई वादको आँखाले हेर्दिनँ । हरेक चिजलाई वादको आँखाले हेर्न थाले भने म पूर्वाग्रही हुन्छु’, उनी भन्छन्, ‘मलाई मनपर्ने एउटैमात्र वाद छ, त्यो हो मानवतावाद । साम्यवाद वा समाजवादभन्दा धेरै माथि हुन्छ मानवतावाद । कसैले राष्ट्रवाद पनि भन्लान् । तर, म चाहिँ मानवतावादलाई सबैभन्दा माथि राख्छु । त्यही भएर मलाई पारस सरकार देख्दा उहाँसामु गएर, भेटेर गफ गर्न मन लागेको हो । म राजावादी वा दरबारको मान्छे भएर उहाँसँग भेटेको होइन ।’

  • सुवेदीले जिते शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक अवार्ड, ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र

    सुवेदीले जिते शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक अवार्ड, ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र

    चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधी ‘सतीदेवी’ ले प्राप्त गरेको छ। क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा ‘सतीदेवी’लाई सर्वोत्कृष्ट चलचित्र उपाधी प्रदान गरिएको हो। चलचित्रले सर्वोत्कृष्ट चलचित्रको उपाधीसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार समेत जितेको छ ।

    शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक उपाधी पनि ‘सतीदेवी’बाटै निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन् । प्रतिस्पर्धामा सहभागिता जनाए तापनि चलचित्र सार्वजनिक रुपमा प्रदर्शनमा आउन भने बाँकी नै छ ।

    यसै गरी, सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधी ‘चलचित्र‘बिच्छेद’बाट संकल्प भुजेलले, सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधी ‘चलचित्र‘बिच्छेद’बाटै सत्यराज चौलागाईले, ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले, सर्वोत्कृष्ट वृत्तचित्रको उपाधी डा।सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित चलचित्र ‘म अलप हुन चाहन्छु’ ले, सर्वोत्कृष्ट लघु चलचित्रको उपाधी नगद २५ हजार पुरस्कारसहित प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले रसर्वोत्कृष्ट सम्पादकको उपाधी ‘नांगो गाउँ’बाट बनिशा शाहले प्राप्त गरेका छन ।

    महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएका थिए। जसमध्ये २० वटा चलचित्र प्रदर्शन गरिएको थियो। महोत्सवको समापनमा बागमती प्रदेशकी सदस्य गीता गुरूङले सम्मान र नगद पुरस्कार हस्तान्तरण गरेकी थिइन्। चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए ।

    कार्यक्रमको उद्घाटनमा निर शाह, शिव श्रेष्ठ, प्रकाश सायमी, रविन्द्र खड्का, गायिका ऋतु कडेँल, गायक हिमाल सागर लगायतका चलचित्रकर्मीहरू उपस्थित थिए । भने महोत्सवमा ‘प्रकाश’, ‘सतीदेवी’, ‘विछेद’, ‘महानगर’, ‘वेलकम टु हेम्जाकोट’, ‘भाग्य’, ‘चारधाम’, ‘लिलामे माइला’, ‘म अलप हुन चाहन्छु’, ‘वाइल्ड फायर’, ‘भुसको लोग्ने’, ‘खाग’, ‘गाली मन्त्र’, ‘आइ लभ यू मम’, ‘हमर पहिचान’, ‘ग्रेट फादर’, ‘किर्यापुत्री’, ‘वनकरिया’ र हिन्दी भाषाको चलचित्र ‘घटना’ लगायत प्रदर्शन गरिएको थियो ।

  • देशभर खुल्यो ‘दयारानी’को बुकिङ, डायस्पोरामा ४ सय शो भयो निश्चित

    देशभर खुल्यो ‘दयारानी’को बुकिङ, डायस्पोरामा ४ सय शो भयो निश्चित

    काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’सिनेमाको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। सिनेमाले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ ।

    सिनेमाले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि सिनेमाको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ ।‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ ।

    यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , आइएनआइले १२ शो दिएका छन् ।
    त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।

    दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ। दुबै देशमा सिनेमाको करिब ४ सय शो निश्चित भइसकेको छ ।

    सिनेमाको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला सिनेमाका बाबजुत नेपाली सिनेमाले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ ।

    अमेरिकाका २३ थिएटरमा सिनेमाको १ सय ९७ शो पक्का भएका छन् । सिनेमा डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ।

    त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ । अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा सिनेमा रिलिज हुनेछ ।

    सेभेन सीज इन्टरटेनमेन्टका अनुसार‘दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ।

    सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल सिनेमाको बक्स अफिसमा नेपाली चलचित्रहरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो। बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

    सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

  • ‘हात्तीछाप’को प्रिमियरपछि के भने फिल्मकर्मीले ?

    ‘हात्तीछाप’को प्रिमियरपछि के भने फिल्मकर्मीले ?

    काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मङ्गलवार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मकर्मी, पत्रकार र फिल्मका कलाकारहरूको उपस्थिति थियो ।

    सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

    फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे ।

    फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, नायक तथा मोडल राज कटुवाल पनि हल पुगेका थिए ।

    फिल्म हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् । फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मन पर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

    फिल्म ‘हात्तीछाप’मा ‘बोतल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे ।

    फिल्मले विशेषगर, दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले फिल्म हेर्नुपर्ने हुन्छ ।

    किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा विजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मको अधिकांश हलमा बुकिङ समेत खुलिसकेको छ । फिल्मलाई अधिकांश हलले सुखद शोज दिएका छन् ।

  • दीपकलाई लिएर ‘हात्तीछाप’को दोस्रो शृङ्खला ‘बोतल राजा’ घोषणा

    दीपकलाई लिएर ‘हात्तीछाप’को दोस्रो शृङ्खला ‘बोतल राजा’ घोषणा

    काठमाडौं । ‘हात्तीछाप’को दोस्रो शृङ्खला ‘हात्तीछाप २ : बोतल राजा’ बन्ने भएको छ । फिल्मको इण्डिङमा अभिनेता दीपकराज गिरीको विशेष केमियो सँगै निर्माताले दोस्रो सिक्वेलको जानकारी दिएका छन् ।

    मङ्गलवार राजधानीमा आयोजित फिल्मको प्रिमियर समारोह सेलिब्रेटी र कास्ट एण्ड क्रूको उपस्थिति थियो । माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो वर्षकै प्रतीक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर पनि रिलिज हुने छ ।

    किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

  • केकी अधिकारीको ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुने

    केकी अधिकारीको ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुने

    काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

    केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो सिनेमा निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन् ।

    सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाइ समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

    सामाजिक–थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

    केकी स्वयं निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ ।

  • ‘ऊनको स्वीटर’बाट विपिन र मिरुनाको लुक्स सार्वजनिक

    ‘ऊनको स्वीटर’बाट विपिन र मिरुनाको लुक्स सार्वजनिक

    काठमाडौं । नवीन चौहानको निर्देशनमा निर्माण हुन लागेको पहिलो सिनेमा ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् ।

    पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् । ८०/९० को दशकतिरको फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । ऊनको स्वीटर लगाएका विपिन हँसमुख भावमा भलाद्मी देखिएका छन् । सर्लक्क कोरिएको कपाल र हल्का जुँगामा उनको लुक्स आकर्षक देखिएको छ ।

    पोस्टरमा मिरुना भने मगर पहिरनमा छिन् । उनको अगाडिको कपालले निधार छोपेको छ । पोस्टरले विपिन र मिरुना श्रीमान–श्रीमतीको भूमिकामा हुने संकेत मात्र गर्दैन, अन्तरजातीय प्रेमकथामा आधारित भएर सिनेमा बन्न लागेको पनि प्रस्ट्याउँछ ।

    आगामी वैशाखबाट छायांकनको तयारी गरिएको सिनेमामा विपिन र मिरुनाका अलवा माओत्से गुरुङ, एलेक्स विश्वकर्मा (पारस), परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको पनि अभिनय रहनेछ । सुजन चापागाईं र कोविद बज्रको संगीत रहने सिनेमालाई चिन्तनराज भण्डारीले खिच्नेछन् ।

    सिनेमाको कथा निर्देशक चौहानको नै लेखन छ । आर्टमान्डुले सिनेमाको निर्माण गर्नेछ । निर्देशक चौहानले आर्टमान्डुमार्फत ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘सुनाखरी’, ‘के माया लाग्छ र’, ‘बटौली’ लगायतका गीतको म्यूजिक भिडियो निर्माण गरिसकेका छन् ।

    गत साउनमा सिनेमाको घोषणा गर्दै सुजन चापागाईंको स्वरमा शीर्ष गीत रिलिज गरिएको थियो, जसलाई दर्शकले रुचाएका छन् । विपिनले नवीनको निर्देशनमा ‘बटौली’ र ‘घुमीघुमी’ गरी दुई गीतमा काम गरेका थिए ।

  • सिन्धुलीमा ‘सिटामोल’को छायांकन

    सिन्धुलीमा ‘सिटामोल’को छायांकन

    काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘सिटामोल’को छायांकन अहिले धमाधम सिन्धुलीमा भइरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो ।

    सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी व्यक्त गरेका छन् । अहिलेकै स्पिडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशक साने बताउँछन् ।

    विगत एक हप्तादेखि भइरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।

    सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्बिरबाट सिनेमामा उनीहरू श्रीमान्-श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा हुनसक्ने बुझिन्छ ।

    सिनेमामा उनीहरूका अलावा लोकेन्द्र लेखक पनि मुख्य भूमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचिरहेका छन् । सिनेमामा भूगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।