Category: कलाप्रेस

  • रुम्जाटारको रनवेमा रोमान्टिक दयाहाङ-आँचल

    रुम्जाटारको रनवेमा रोमान्टिक दयाहाङ-आँचल

    काठमाडौं । भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइलाः एमए थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ । पोस्टरसँगै सिनेमाको टिजर सार्वजनिक मितिसमेत सार्वजनिक गरिएको छ ।

    सिनेमाको पहिलो टिजर यही फागुन ७ गते रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रुम्जाटार विमानस्थलको रनवेमा रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।

    सेतो कुर्तामा रातो सलमा सजिएकी आँचलले दयालाई प्रेमिल नजरले हेरिरहेकी छिन् भने दयाको पनि उस्तै भावमा देखिएका छन् । सिनेमा नयाँ वर्षमा रिलिज हुनेछ ।

    बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

    सिनेमाले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ । अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

    सिनेमामा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

    सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

  • ‘पीताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

    ‘पीताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

    काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहने ‘पीताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । प्रदीप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् ।

    सरस्वती पूजाको दिन पारेर आज सिनेमाको शुभ साइत गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा जानेछ ।

    पहिलो चरणमा १५ दिनको सुटिङ तालिका रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले अभिनय रहनेछ ।

    केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाईँ छन् । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐँचो पैँचो’ पश्चात् दोस्रो निर्देशकीय सिनेमा हो ।

    सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईँले लार्ज स्केल बनाउँदैछिन् । ५ करोड बजेट अनुमान गरिएको सिनेमाको तराईका विभिन्न ठाउँहरूमा छायांकन हुनेछ ।

  • ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

    ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । बैशाख १४ गते रिलिज हुने सिनेमाको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो ।

    सार्वजनिक पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ ।

    नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ छ । पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त महिलाको अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

    पोस्टर आकर्षक देखिन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमालाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । सिनेमाको निर्मातामा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

    सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना निर्माण टीमको रहेको छ ।

    सिनेमामा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो सिनेमा टिफल्क फिल्मसले वितरण गर्नेछ ।

  • नेपाली कथानक चलचित्र मेयरको शुभमूहुर्त

    नेपाली कथानक चलचित्र मेयरको शुभमूहुर्त

    काठमाडौं । चलचित्र मेयरको शुभमूहुर्त गरिएको छ । बुधबार बिहान नारायणहिटी दरबाको मन्दिरमा चलचित्र मेयरको शुभमूहुर्त गरिएको हो ।

    चलचित्र मेयरको कथा सर्लाही जिल्ला, बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको निर्माण पक्षले जनाएको छ ।

    केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा केन्द्रित छ चलचित्र मेयरको कथा रहेको जनाइएको छ ।

    चलचित्र मेयर पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो । चलचित्रको निर्देशक र कार्यकारी निर्माता हुन् दीपेन्द्र के. खनाल । त्यस्तै, निर्माता हुन् शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल । चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् भने चलिचित्र मेयर कृष्ण बहादुर थापाले खिच्नेछन् । त्यस्तै चलचित्र मेयरमा जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ ।

    चलचित्र मेयरमा शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्नेछन् भने उनको अपोजिटमा वर्षा राउतले अभिनय गर्नेछिन् ।

    त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारले चलचित्र मेयरमा अभिनय गर्नेछन् ।

    यो चलचित्रबाट निर्माताको रुपमा श्रृष्टिमाँ खनाल र कलाकारको रुपमा अर्विशा थापाले डेब्यू गर्दैछन् ।

  • गायक नरेश खातीको ‘फुर्के रिबन’ सार्वजनिक (भिडिओ)

    गायक नरेश खातीको ‘फुर्के रिबन’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । नेपाली लोक दोहोरी सर्जक तथा गायक नरेश खातीले नयाँ गीत ‘फुर्के रिबन’ बजारमा ल्याएका छन् । गायिका मेलिना राई र गायक नरेश खाती क्षेत्रीले आवाज दिएको गीत ‘मेक्सम नरेश’युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

    खातीकै लय तथा शब्द सृजना रहेको गीतमा मेक्सम खातीको अभिनय देख्न सकिन्छ । मेक्सम लामो समयदेखि श्रीमतीसँग अस्ट्रेलिया बस्दै आएका छन् । नेपाल आएको बेलामा उनले गीतहरुमा अभिनय गर्ने गरेका छन् ।

    भिडिओमा मेक्सम खातीलाई दिपा शाहीले साथ् दिएकी छन् भने भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् ।

    भिडिओ

  • भ्यालेन्टाइनमा इन्दिरा जोशीको ‘क्यारी भेटुम’

    भ्यालेन्टाइनमा इन्दिरा जोशीको ‘क्यारी भेटुम’

    काठमाडौं । प्रेमिल मनहरुको सेलिब्रेसनको समय भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। प्रेम साट्ने यो समयमा प्रेमिल गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहन्छ।

    यहिबीचमा गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ। ‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन्।

    विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ। भिडियोलाई राम केसीले खिचेका छन्।

  • रागश्रीको आयोजनामा बुटवलमा ‘एक चिहान’ नाटक मञ्चन हुने

    रागश्रीको आयोजनामा बुटवलमा ‘एक चिहान’ नाटक मञ्चन हुने

    रुपन्देही । संगीत र कलाको प्रवर्द्धन गर्दै आइरहेका कलाकार सुरेश सेन्चुरीको संयोजनमा बुटवलमा नाटक ‘एक चिहान’ मञ्चन हुने भएको छ । लेखक हृदय चन्द्रसिंह प्रधान तथा निर्देशक नकुल पौडेलको नाटक ‘एक चिहान’ फागुन पहिलो साता बुटवलमा मञ्चन हुने भएको हो ।

    सोमबार पत्रकार सम्मेलन गरी संगीतालयका अध्यक्ष सुरेश सेन्चुरीले विद्यार्थीहरूलाई लक्षित गरी नाटक मञ्चन गर्न लागेको बताए ।

    बुटवल पाथ वे को प्रायोजन तथा रागश्री संगीतालयको आयोजनामा फागुनको ३ देखि ५ गतेसम्म नाटक मञ्चन हुने भएको हो । यसअघि बौलाहाकाजीको सपना समेत नाटक देखाउँदा धेरैको माग अनुसार तयारी गरी कक्षा १२ को नेपाली पाठ्यक्रममा रहेको एक चिहानलाई मञ्चनको तयार गरेको उनले बताए ।

    काठमाडौंमा १५१ पटक मञ्चन भएको तथा नारायणगढ लगायत देशका धेरै स्थानमा देखाइएको यो बुटवलमा मञ्चन गर्न लागेको उनले बताए ।

    कार्यक्रममा संगीतालयका सदस्य माधव भण्डारीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ३ दिनसम्म चल्ने बताए । कलाकारहरू १६ जनामध्ये ११ जना काठमाडौँबाट आउने उनले बताए । एक पटकमा ८ सय क्षमता रहेको हलमा डेढ घण्टाको नाटक दैनिक ३ शो देखाइने उनले बताए ।

    दैनिक बिहान साढे ८, दिउँसो १ र ४ बजे गरी ३ शो गरिने छ । कक्षा १२ का विद्यार्थीलाई लक्षित गरेर तय गरिएको यो प्रस्तुतिमा यो क्षेत्रमा रहेका सबै शैक्षिक संस्थाबाट सहभागिता हुने अपेक्षा आयोजकको छ ।

    बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन गरिने यो कार्यक्रमका लागि करिब ९ लाख खर्च हुने र त्यो सहभागीको टिकटबाट व्यवस्थापन हुने अपेक्षा गरिएको संयोजक सेन्चुरीले बताए । मोफसलमा रहेका कलाको संरक्षण र प्रवर्द्धन जरुरी रहेको कलाकार बाबुराम घिमिरेले बताए ।

    ४ दशकदेखि मोफसलमा रहेर नाट्य विधा सिकाइरहेका उनले तीनै तहका सरकारले कलाको संरक्षण गर्नुपर्ने बताए ।

    ‘मोफसलमा नाटक मञ्चनको संयोजन गर्नु आफैमा चुनौती हो, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ’उनले भने ।

  • दुर्गेशको आरोप- पल मसित डराएर भागिरहेका छन्, गल्ती उसले गर्ने गाली मैले खाने ?

    दुर्गेशको आरोप- पल मसित डराएर भागिरहेका छन्, गल्ती उसले गर्ने गाली मैले खाने ?

    काठमाडौं । कुनै समय बलियो मित्रताको उदाहरण बनेका दुई नाम हुन्- नायक पल शाह र गायक तथा मोडल दुर्गेश थापा । पल र दुर्गेश साथीभन्दा पनि आफूहरुलाई दाजुभाइ भन्न रुचाउँथे । पलकी बहिनी रोशनी शाहले दुर्गेशलाई तिहारमा भाइटीका लगाइदिन्थिन् ।

    अधिकतम ठाउँमा सँगै भेटिने यी दुईको मित्रताको बयान गरी नसक्नु थियो । कसैले यी दुई छुट्छन् भन्ने सायदै कल्पना गरेका थिए होला । तर, पल-समीक्षाको घटनापछि भने माहोल बदलियो । अहिले यी दुई एक अर्काको नजिक नै पर्दैनन् ।

    दुर्गेशले समीक्षासँग मिलेर आफूलाई फसाउन खाजेको पलले आरोप लगाएका थिए । बलात्कार मुद्दामा एक वर्ष जेल सजाय कटाएपछि उनले जिल्ला अदालतबाट सफाइ पाए । पल जेलभित्र हुँदा दुर्गेश उनलाई भेट्न गएका पनि थिए । उनीहरुको सो समय राम्रै कुराकानी भएको दुर्गेश बताउँछन् । तर, पल जेलबाट निस्किएपछि आफूलाई ‘इग्नोर’ गर्न खोजेको दुर्गेशको गुनासो छ ।

    यसैबीच दुर्गेशले हालै एउटा नमीठो घटना भोगे । स्याङ्जामा चलिरहेको महोत्सवमा प्रस्तुति दिने क्रममा उनीमाथि जुत्ता प्रहार भयो । शनिबार राति २७ वर्षीय युवकले उनलाई जुत्ता प्रहार गरेका थिए । कार्यक्रम सकिएपछि दुईबीच मिलापत्र पनि भयो । मिलापत्र गर्दा ती युवकले दुर्गेशमाथि जानीजानी जुत्ता प्रहार नगरेको दाबी गरेका थिए ।

    पल-समीक्षा मुद्दामा गलत बुझाइका कारणले अझै पनि आफूप्रति केही दर्शकहरु सकारात्मक नरहेको दुर्गेशको बुझाइ छ । जुत्ता प्रहारको घटनालाई पनि उनले यसैको परिणाम मानेका छन् ।

    उनी भन्छन्, ‘मैले पललाई फसाएको भन्ने बुझाइले गर्दा मसँग यस्ता व्यवहारहरु भएको भन्ने धेरैलाई लाग्छ । यो केश आउनुभन्दा अगाडि म कति कार्यक्रमहरुमा हिँडें, कहिल्यै यस्तो भएको थिएन ।’

    आफ्नो गल्ती भएको भए सामुन्ने आएर कुरा गर्न सक्नुपर्ने दुर्गेशको भनाइ छ ।

    उनी थप भन्छन्, ‘मैले फसाउन खोजेको भए मलाई मुद्दा हाल्ने हो । केश हालेको खोई ? मसँग डराएर भागेर हिँड्ने किन ? म कार्यक्रममा छु कि छैन भनेर सोध्ने अनि मेरोभन्दा तीन घन्टा अघि-पछि आफ्नो कार्यक्रम पार्दिनु भनेर भन्ने किन ? कतै एयरपोर्टमै पो भेट हुन्छ कि भनेर एयरपोर्टमा हुँदा उसको म्यानेजरले मलाई फोन गरेर म कहाँ छु भनेर सोध्छ । त्यस्तो गर्ने किन ? धान खाने मुसो चोट पाउने म जस्तो भइरहेको छ । गल्ती गर्ने पल शाह अनि गाली खाने म !’

    केही समयअघि सामाजिक सञ्जालमा पल र दुर्गेशको मेलमिलाप भएको भनेर केही भिडिओहरु भाइरल भएका थिए । भिडिओमा पल र दुर्गेश स्टेजमा सँगै देखिएका थिए । तर, पलसँग आफ्नो अहिले भेट नभएको र उक्त भिडिओ पुरानो भएको दुर्गेशले बताए ।

    ‘ती सबै पहिलाका भिडिओहरु हुन् । ऊ जेलबाट बाहिरिएपछि हाम्रो भेट नै भएको छैन । ऊ अहिले मसँग डराएर हिँडिरहेको छ । पल जेलमा हुँदा मेरो दुईतीन चोटि भेट भएको हो । त्यतिखेर राम्रै बेलचाल भएको थियो । जेलबाट बाहिरिएपछि चाहिँ खै किन भेटेन ? उसको मन सफा हुन्थ्यो भने आएर साथी यस्तो भयो भन्थ्यो होला नि ! भोलिको दिनमा मलाई झन् गाह्रो हुन्छ भन्ने सोच्यो कि ? कि जेलभित्र हुँदा राम्ररी बोलेर मलाई चाटेको हो कि ?’

    पलले अगाडि आएर स्पष्टीकरण नदिएसम्म यो माहोल नघट्ने दुर्गेश बताउँछन् । उनी थप्छन्, ‘अगाडि आएर स्पष्टीकरण दिनुपर्‍यो । मैले फसाएको हो भने आएर भन्नुपर्‍यो । कानूनअनुसारको सजाय दिनुपर्‍यो । मेरो पनि एउटा परिवार छ । बालबच्चा छन् । सधैंभरि यस्तो यातना म सहन सक्दिनँ ।’

    ३-४ जना पत्रकारसँग मात्र नभई सबै मिडियासामु आएर पलले बोल्नुपर्ने दुर्गेशको भनाइ छ ।

    ‘सबैसामु बोल्नुपर्‍यो, जुन उसले सक्दैन । उसैको गल्ती छ, त्यसैले सक्दैन । आफ्ना ३-४ जना खल्तीका पत्रकार र युट्युबरमात्र राखेर आफ्नो सकारात्मक पक्ष मात्र देखाउँदै हिँडेर हुँदैन । नेपालका सबै मिडियालाई अगाडि राखेर फेस गर्नुपर्‍यो । त्यसो गर्‍यो भने सबैलाई सहज हुन्छ ।’

    जुत्ता प्रहारका बारेमा यसो भन्छन् दुर्गेशः

    त्यो भाइ गाउँमा बस्ने सामान्य युवक रहेछ । परिवारको एक्लो छोरो अनि दिनभरि काम गरेर बेलुका घर आउने सामान्य परिवारको सदस्य । त्यो दिन ऊ रक्सी खाएर साथीहरुसँग कार्यक्रम हेर्न आएको रहेछ । त्यहाँ कोहीकोही लाएको लुगा, टोपी फुकालेर नाच्दै हुनुहुन्थ्यो । त्यो भाइ पनि नाच्दानाच्दै आफ्नो ग्रुपदेखि केही पर पुगेछ । नाच्दानाच्दै बीचमा भुईंमा जुत्ता भेटेछ । यो जुत्ता कसको भनेर सोधेर आफ्नो ग्रुपतिर फाल्दा स्टेजतर्फ आएर मलाई लागेको भन्ने उसको भनाइ छ । कलाकार, नेता वा अलि ठूलो व्यक्ति भएपछि र स्टेज चढेपछि कतिखेर के हुन्छ थाहा हुँदैन । हरेक कुराको सामना गर्नुपर्ने हुन्छ । जुत्ता, चप्पल जे पनि लाग्नसक्छ । त्यही भएर मैले त्यो भाइलाई केही भनिनँ ।

    सर्वप्रथम त समाचार नै गलत छ । जुत्ता खायो भनेर लेखिरहेका छन् । त्यो भाइले जानेर होइन, झुक्किएर हान्दा लागेको हो भनेर समाचार आएको भए हुन्थ्यो । दुर्गेशलाई नै हानेको हो भन्ने बनाएपछि दर्शकले मैले जुत्ता खाएँ भन्ने बुझ्छन् । यदि खाएको हो भने त्यो पलकै कारणले हो ।

  • ‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

    ‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

    काठमाडौं । प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत रहेको छ ।

    सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ भने भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सन्दिप भुजेलको रहेको छ ।

    सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

  • एलिनाका पूर्वप्रेमीसँग नाम जोडिएपछि मिस पबीले दिइन् प्रष्टीकरण

    एलिनाका पूर्वप्रेमीसँग नाम जोडिएपछि मिस पबीले दिइन् प्रष्टीकरण

    काठमाडौं । गायिका एलिनाका पूर्वप्रेमी विष्णु सापकोटासँग नाम जोडिएपछि टिकटकर तथा मोडल मिस पबी (पवित्रा साँकी) ले आफ्नो सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी छन् । उनले विष्णुसँग आफ्नो केही नभएको बताएकी छन् ।

    उनले आफ्नो स्पष्टीकरणमा आफू बुवा भेट्न र एक चलचित्र छायांकनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टीमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडिओ बनाउन त्यहाँ बोलाएको र भिडिओ खिचिएको बताएकी छन् ।

    टिकटकबाट चर्चामा आएकी मिस पबि र विष्णुको यतिबेला एक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा विष्णु र पबि एउटा गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो । उनीहरूको जोडी भिडिओ देखेपछि धेरैले यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । भिडिओ भाइरल भएसँगै आलोचनाको वर्षा पनि भइरहेको छ। विष्णुको केही महिना अघिमात्र गायिका एलिना चौहानसँग ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबित्तिकै अर्को अफेयर सुरू गरेको भन्दै धेरैले उनीहरूलाई नकारात्मक टिप्पणी गरिरहेका छन् ।

    पबि यतिबेला अष्ट्रेलिया घुमघाममा छिन् । उनले चलचित्र ‘राजमहल’ बाट चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । सोही चलचित्रको छायांकनका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् । विष्णु पनि अष्ट्रेलिया नै बस्दै आएका छन् ।

  • ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिको सम्मान

    ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिको सम्मान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

    राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।

    उनले मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

  • तेल भिसाको अडिसन आह्वान

    तेल भिसाको अडिसन आह्वान

    काठमाडौं । बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ्ग लगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको चलचित्र तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ ।

    शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायांकनमा जाने यस चलचित्रमा मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो । यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन सहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक फरक वर्ण देखिने नेपाली सहित विदेशी मूलका महिला पुरुष दुबैले अडिसनमा सहभागिता जनाउन सक्ने छन् ।

    अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्ने छ जसले कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्ने छ । अडिसनमा सहभागिता जनाउन इच्छुक व्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन कृएशनको आधिकारिक इमेल ठेगाना welldonecrations7@gmail.com मा आफ्नो केही प्रती फोटो सहित बायोडाटा पठाउनु पर्ने हुन्छ नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा लोकप्रियता कमाएको सेभेन सिज ईन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन कृएशनले साँझेदारी गर्दै निर्माण गर्न लागेको तेल भिसाको ७० प्रतिशत छायाँकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसी सहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुनेछ ।

    यो चलचित्र निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटी सहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन भने विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड स्टेटका डेलिगेट ह्यारी भण्डारी लगायतको टिमले अमेरिकी सराकारको तर्फबाट तेल भिसाको छायाँकनमा सहयोग गर्दैछन् ।

  • ‘हात्तीछाप’ हेर्न स्वस्तिमा र निश्चल पुगे बीग मुभिज

    ‘हात्तीछाप’ हेर्न स्वस्तिमा र निश्चल पुगे बीग मुभिज

    काठमाडौं । प्रिमियरमा निम्तो पुगेर पनि उपस्थित हुन नसकेका नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत शनिबार राति काठमाडौंको बीग मुभिजमा ‘हात्तीछाप’ हेर्न पुगे ।

    फिल्म हेरेपछि नायिका स्वस्तिमा खड्काले मिडियासँग भनिन्, ‘फिल्म हेर्नु अगाडि भन्दा अहिले हेरेपछि झनै बढेको छ । फिल्म हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने बुझ्ने मौका पाएँ । यही कुरा नै फिल्ममा रमाइलो रहेछ ।’

    यस्तै, निर्देशक निश्चल बस्नेतले ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक फिल्म भनेका छन् । उनले भने, ‘मलाई फिल्म ठीकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हसाँइरहेको थियो ।’

    निश्चलले फिल्मको शिर्षक अनुसार कथावस्तु सार्थक भएको पनि बताए । स्वस्तिमाले दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक फरक रहेको बताइन् । भनिन्–‘सौगात दाईले जहिले पनि केही फरक गर्ने कोशिश गर्नुहुन्छ । दया दाईको अभिनय अर्गानिक छ । हामी भने सौगात दाईको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौं । तर, फिल्मको कथावस्तु दया दाईले अगाडि बढाउनु भएको छ ।’

    स्वस्तिमाले नायिका उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् । फिल्म भित्रको राजनीतिक बिषयको बारेमा निश्चलले भने–‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक फिल्ममा यसको मुद्दा उठ्नु स्वभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । फिल्म मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’

    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारदेखि नेपाल र विदेशका रिलिज भइरहेको छ ।

  • ‘दयारानी’को सप्ताहान्त कमाई सुखद, यस्तो भन्छन् वितरक

    ‘दयारानी’को सप्ताहान्त कमाई सुखद, यस्तो भन्छन् वितरक

    काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आएको ‘दयारानी’ले नेपाली वक्स अफिसमा सुखद सुरुआत गरेको छ ।

    शुक्रवार र शनिवार कारोबार उत्साहजनक भएको वितरकले बताएका छन् ।

    वितरक प्रचण्डमान श्रेष्ठका अनुसार शुक्रवार सिनेमाले शुक्रवार मध्यान्हबाट मोफसलमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको थियो भने राजधानीमा ५० ५ माथिको अकुपेन्सी गरेको छ।

    उनले सिनेमाको सुखद कारोबारले ‘दयारानी’ले केही स्टेसनहरूमा शोहरू थप भएको जानकारी दिए ।

    माओत्से गुरुङको निर्देशकीय डेब्यू सिनेमाले सिनेमाको प्रमुख पुरुष पात्रले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको सामाजिक र पारिवारिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिमा आफ्नो कथा पेस गरेको छ ।

    सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमुख भूमिका रहेको छ । उनीहरूका अलावा सिनेमामा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ।

  • भारतीय अभिनेता मिथुनलाई मस्तिष्काघात

    भारतीय अभिनेता मिथुनलाई मस्तिष्काघात

    काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । कोलकाताको एपोलो अस्पतालले उनलाई मस्तिष्काघात भएको पुष्टि गरेको छ ।

    ७३ वर्षीय चक्रवर्तीलाई छातीको दुखाइका कारण हिजो बिहान ९ः४० बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल लैजाँदा उनी राम्रोसित बोल्न सकेका थिएनन् भने दायाँ हात पनि राम्ररी चलिरहेको थिएन ।

    अस्पतालले उनलाई आईसीयूमा राखेर मस्तिष्कको एमआरआईलगायत परीक्षण गरेको छ ।

    आज एपोलो अस्पतालले आधिकारिक विज्ञप्ति जारी गर्दै चक्रवर्तीको बारेमा जानकारी दिएको हो । विज्ञप्तिअनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ ।

    ‘उहाँ अहिले होसमा हुनुहुन्छ र नरम खानेकुरा खानुभएको छ’, विज्ञप्तिमा भनिएको छ । चक्रवर्तीलाई विशेषज्ञ डाक्टरहरुको टीमले थप निगरानी गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

  • एआई प्रविधिमा मनोजको ‘तिमी जे बन उदाहरण बन’

    एआई प्रविधिमा मनोजको ‘तिमी जे बन उदाहरण बन’

    काठमाडौं। बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ ।

    नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायक प्रमोद खरेल र गायिका डा।त्रिशाला गुरुङको स्वर रहेको छ। मनोज खड्काको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत भरेका छन् ।

    ‘गीतको भिडिओको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको हो।

    नेपाली सांगीतिक क्षेत्रमा सम्भवतः पहिलो पटक निर्देशक नव ढुंगेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो ।

    गीतले विद्यार्थीलाई राम्रा बानी–व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न गीतले प्रेरित गरेको छ ।

    गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायक गायिका रोजिएको बताए । ‘गीतमा प्रमोद र डा। त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूति गराउन खोजिएको छ’, उनले भने ।

    अमेरिकन गायक तथा संगीतकार जोन माएर र भारतीय कम्पोजर एआर रेहमानको संगीतबाट प्रभावित संगीतकार सिंहले गीतमा फरक किसिमको संगीत दिएका छन् । प्रेम गीत २, भिसा गर्ल, मुखौटा, हसिया, आदि उनले संगीत चलचित्रहरू हुन् । गीतमा दीक्षित पौडेलको एरेन्ज र दिनेश श्रेष्ठ (डी स्टुडियो) को रेकर्ड छ ।

    गीतको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका छन् । उनलाई इमेज जेनेरेटमा सदिच्छा कट्टेलले साथ दिएकी छन् । गीतको कभरपेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका छन्।

    गीतको भिडिओ गीतकार खड्काको आफ्नै युट्युब च्यानल ‘सङ्ग राइटर मनोज’बाट सार्वजनिक भएको छ। खड्का हाल अमेरिकाको राजधानी वासिङटन डीसीमा बस्दै आएका छन् । खड्का अमेरिकाको भर्जिर्नियामा नेपाली मूलका बालबालिकाहरूका लागि स्वयंसेवी तरिकाले सञ्चालन गरिएको नवदुर्गा नेपाली स्कुलका सञ्चालकसमेत हुन् ।

  • ३० दिनमा सकियो ‘मनसरा’ छायांकन

    ३० दिनमा सकियो ‘मनसरा’ छायांकन

    काठमाडौं । पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा मनसराको छायांकन सकिएको छ । सिनेमाको छायांकन ३० दिनमा सकिएको हो । सिनेमाको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।

    पाँचथरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

    सिनेमामा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

    कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

    यो सिनेमाको यसअघि सार्वजनिक पोस्टरबाट नै चर्चामा छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

    सिनेमाकर्मीको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने अनुमान गर्न सकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।

  • अभिनेत्री सुष्मा कार्कीले गरिन् अष्ट्रेलियाबाट फिल्म ‘उपहार’को डबिङ

    अभिनेत्री सुष्मा कार्कीले गरिन् अष्ट्रेलियाबाट फिल्म ‘उपहार’को डबिङ

    काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।

    अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन् । उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

    ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

    रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

    फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक गरिएका तीन गीत ‘वाह १ वाह ११ वाह १११’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ ले राम्रै चर्चा पाइरहेको छ ।

  • ‘हात्तीछाप’बारे दर्शक प्रतिक्रिया–‘राम्रो छ, अब सिक्वेल चाँडै आओस्’

    ‘हात्तीछाप’बारे दर्शक प्रतिक्रिया–‘राम्रो छ, अब सिक्वेल चाँडै आओस्’

    काठमाडाैं ।  हिजो शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । फिल्म आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास व्यक्त गरे ।

    शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकले फिल्म ‘गज्जब’ रहेको बताए । फिल्मले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

    फिल्म हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । फिल्मको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाडै नै तयार हुने आशा उनीहरुको थियो ।

    फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।

    हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’

    यस्तै, उनले फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।

    सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

  • शुक्रबार ‘दयारानी’को ८० प्रतिशतमाथि अकुपेन्सी, थपियो शो

    शुक्रबार ‘दयारानी’को ८० प्रतिशतमाथि अकुपेन्सी, थपियो शो

    काठमाडौं । आजदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘दयारानी’ सिनेमाले दिउँसोबाट रफ्तार समातेको छ ।

    सिनेमाले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ ।

    सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए ।

    ‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ भने इटहरीमा सिनेमाले राम्रो गरिरहेको छ भने दमौलीको अवस्था पनि राम्रो छ’, उनले भने ।

    उनले राजधानीका हलहरुमा पनि मध्यान्हदेखि ५० प्रतिशतमाथि अकुपेन्सी रहेको र सन्ध्याकालिन शोहरु हाउसफूल हुनेक्रममा रहेको बताए ।

    अभिनेता माओत्से गुरुङको निर्देशिय डेब्यू सिनेमामा दयाहाङ राई र दीया पुनको प्रमुख भूमिका रहेको छ ।

    सिनेमाले आफूमा बाबु बन्ने क्षमता नभएको तथ्य लुकाउँदा श्रीमती र परिवारको दबाबामा दोश्रो विवाह गर्नुपर्ने बाध्यतामा पुगेको पात्रको कथा पेस गर्छ ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

    सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

    सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।