Category: कलाप्रेस

  • ‘महाजात्रा’ निर्माण टिमले बिर्तामोडदेखि धनगढीसम्म ‘महाकमेडी यात्रा’

    ‘महाजात्रा’ निर्माण टिमले बिर्तामोडदेखि धनगढीसम्म ‘महाकमेडी यात्रा’

    काठमाडौं । आगामी चैत्र ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘महाजात्रा’ निर्माण टिमले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण टिमले फागुन २१ बाट दुई चरणमा हुने जानकारी दिएको छ ।

    सिनेमाका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत महाकमेडी यात्रामा हुनेछन । ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई चैत्र १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ ।

    अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

    हामीले सिनेमाको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौं । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो सिनेमाका कलाकारहरू हुनुहुनेछ’, निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

    निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि तेस्रो शृङ्खला ‘महाजात्रा’ तयार भएको हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

    पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै सिनेमाको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने सिनेमामा हासो र रोदनको मिश्रण छ ।

    सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

    सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् । ‘महाजात्रा’को भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् ।

  • नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै ‘पिताम्बर’को छायांकन सुरु

    नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै ‘पिताम्बर’को छायांकन सुरु

    काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।

    गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको सिनेमाको फागुन ११ गतेबाट पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो । सिनेमाको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् ।

    सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।

    निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । सिनेमामा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेशल बन्ने देखिन्छ ।

    केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । सिनेमाको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाकी छायांकन बैशाख र असार(साउनमा हुनेछ ।

    सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।

  • इन्द्रेणीबाट निकालिएका ५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति, शर्मिला छुटिन्

    इन्द्रेणीबाट निकालिएका ५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति, शर्मिला छुटिन्

    काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

    हिजो राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरुले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरुले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरुको भनाइ थियो ।

    इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरुले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । उनीहरुमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दावी समेत गरेकी छन् ।

    यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानीको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरु कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।

    अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् । कँडेलले स्कुटरमा चढ्दा पनि आफूमाथि दुर्व्यवहार गरेको उनको नयाँ दावी छ ।

  • नेपालगन्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट

    नेपालगन्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट

    रूपन्देही । ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चामा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते बाँकेको नेपालगंजमा हुने भएको छ ।

    अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगंज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो ।

    दृष्टिविहीन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिइन् । भारतीय गायन रियालिटी शो ‘ सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिवेला चुलियो, जब उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।

    इन्डियल आइडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे ।

    उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रशंसा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् । इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रिमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।

    यो विशेष कार्यक्रमलाई ‘लेट्स सिङ विथ मेनुका झ (मेनुका सँगै गाऔं !) नाम दिइएको छ– फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने– ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ ।

    वाद्यवादन टिमसहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।

  • देवी पराजुलीको रचनामा मेलिना र मनोजको आवाज रहेको ‘बुट्टे चोलीमा’ सार्वजनिक (भिडिओ)

    देवी पराजुलीको रचनामा मेलिना र मनोजको आवाज रहेको ‘बुट्टे चोलीमा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । देवी पराजुलीको रचना, मेलिना राई र मनोज साङसोन राईको स्वर, मनोज साङसोनको संगीत रहेको ‘बुट्टे चोलीमा’ बोलको गीत कमर्सियल भर्सनमा सार्वजनिक भएको छ ।

    अर्जुन खडकाको निर्देशन रहेको उक्त गीत ‘देवी पराजुली’ युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो । लोक संस्कृतिको जगेर्ना गर्दै लोक लयमा देखाउन खोजिएको उक्त गीतलाई दर्शक श्रोताले मन पराउने विश्वास व्यक्त गरिएको छ ।

    उक्त गीतमा अष्टेलियाको ताज्मेनियामा बसोबास गर्दै आएका प्रकाश उप्रेती र अमृता पराजुलीको मूख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । समाजमा लोप हुँदै गएका शब्दहरुलाई गीत संगीतमार्फत उजागर गर्न खोजिएको भाव सो गीतमा पाइन्छ ।

    नाच्ने भाकामा रहेको उक्त गीत पूर्वेली लयमा सुन्न सकिन्छ । देवी पराजुलीका हामी नारी, ए हजुर, नभन है परदेशी मलाई, कहिले म जीतमा रोएँ, दशै र वर्षमा पराईघर दिदा, जन्म भूमि भन्दा ठूलो केही छैन अरु जस्ता दर्जनौ गीतहरु बजारमा आएका छ्न । उनी निजामती कर्मचारी पनि हुन् । उनका लेख रचनाहरु समय समयमा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा पनि देख्न सकिन्छ ।

    भिडिओ

  • ‘रुमानी रङ्ग’मा साम्राज्ञी-धीरज पक्का

    ‘रुमानी रङ्ग’मा साम्राज्ञी-धीरज पक्का

    काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ ।

    अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’पछि दोस्राे पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।

    राजधानीमा आज एक कार्यक्रमबीच घोषणा भएको यो सिनेमामा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण रहने सिनेमामा जीएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् ।

    यसअघि यो टीमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो। सिनेमामा आविस्कार बहुसञ्चार प्रालिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोड्युसरमा डिव्वाइज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’लगायतका १० बढी नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ ।

    सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने १० प्रतिशत नेपालमा हुनेछ । सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले यसलाई रंगीन प्रेमकथा भनेको छ । सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ ।

    महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।

  • पूजाले मध्यरातमा लेखिन् पललाई जन्मदिनको शुभकामना, एक वर्षपछि सम्बन्धमा फर्कियो बहार

    पूजाले मध्यरातमा लेखिन् पललाई जन्मदिनको शुभकामना, एक वर्षपछि सम्बन्धमा फर्कियो बहार

    काठमाडौं । नायिका पूजा शर्मा र अभिनेता पल शाहको सम्बन्धमा पुरानै रौनक फर्किएको छ । पल शाह जेलबाट निस्किएदेखि झन्डै एक वर्ष उनीहरुबीच पानी बाराबारको अवस्था थियो ।

    पूजा शर्माले आज मध्यरात ठिक १२ः०० बजे स्टटास पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी छन् । उनको शुभकामना सन्देशले आपसी तुष मेटिएको सन्देश दिन्छ । कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन् ।

    पूजाको शुभकामना यस्तो छ:

    प्रिय पल

    जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौँ बाधा आए । कति पटक हामी एकसाथ रोयौँ र कहिले एकसाथ हाँस्यौँ पनि । कुनै पल तिमीसँग म रिसाएँ, कहिले तिमी मसँग रिसायौ । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौँ । आज हाम्रो मित्रता अझै मजबुत भएको छ । तिमी बलियो भएका छौँ ।

    तिमीले दर्शकबाट पाएको अथाह प्रेम देख्दा म आफू नै हर्षित भएकी छु । ‘म यस्तो गीत गाउँछु’ बाट सुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दैछ । आज तिम्रो विशेष दिनमा म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । तिमीले चालेका हरेक कदमले सफलता चुमोस् । जन्मदिनको धेरै धेरै शुभकामना ।

    पलविरुद्ध बलात्कार मुद्दा परेपछि पूजा उनको पक्षमा खुलेर उत्रिएकी थिइन् । त्यही बेला पल र पूजा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हलहरूमा रिलिज भएको थियो । पूजाले पलको तस्बिर अङ्कित टिसर्ट लगाएर हल–हलमा पुगिन् र पललाई सम्झिँदै आँसु झारिन् । तर, उनलाई फिल्म चलाउन रोनाधोना गरेको आरोप लाग्यो ।

    पल जेल गएपछि पनि पूजाले हरदिन उनको प्रतिरक्षा गरिरहिन् । गत वर्षको जन्मदिनमा पल जेलभित्रै थिए । पूजा केक बोकेर काठमाडौंबाट जेलभित्रै पुगिन् र वर्थ डे सेलिब्रेसन गरिन् ।

    पल जेलबाट निस्किएपछि भने पूजा उनलाई भेट्न गइनन् । न पल नै पूजालाई भेट्न गए । उनीहरूको सम्बन्धमा एकाएक दरार आयो । के कारण पूजा पलसित चिढिएकी हुन् कसैले मेसो पाएनन् । यद्यपि, निकटस्थहरूका अनुसार ठूलो कारण केही थिएन ।

    पलले जेलबाट निस्किएपछि आफूलाई भेट्न आउँछन् र आभार व्यक्त गर्छन् भन्ने पूजाको अपेक्षा थियो । तर, पलले पूजालाई वास्तै गरेनन् । एक कल फोनसम्म नगरेपछि पूजा हर्ट भएको बताइन्छ । एउटा अवार्ड समारोहमा दुवैले एकसाथ अवार्ड थापेका थिए । तर, पूजा पलसित नबोली हिँडेकी थिइन् ।

    खैर, अब उनीहरू फेरि नजिकिएका छन् । सम्भवतः चाँडै एकसाथ फिल्म पनि खेल्न सक्छन् । पूजाको झम्सिकेलस्थित रेस्टुरेन्टमा उनीहरुबीच भेटघाट भइसकेको बताइन्छ ।

    पूजाले केही दिनअघि चलचित्र ‘पुजार सार्की’ को पोस्टर सेयर गर्दै आफ्ना तीन प्रिय नायक भनेर लेखेकी थिइन् । सो चलचित्रका एक नायक पल शाह पनि हुन् । यसले पल र पूजा नजिकिएको आभास मिलेको थियो । आजको शुभकामना स्टाटसले यसलाई पुष्टि गरेको छ ।

    पूजाको स्टाटसमा पलले पनि जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘धेरै धन्यवाद प्रिय पूजा (छाया) तिम्रो न्यानो शुभकामनाका लागि ।’

  • हेटौंडा भेलाको सन्देश- चलचित्र पत्रकारितामा बोल्नुपर्छ देश

    हेटौंडा भेलाको सन्देश- चलचित्र पत्रकारितामा बोल्नुपर्छ देश

    हेटौंडा । चलचित्र पत्रकार संघको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा चार दिने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार सम्पन्न भयो । २५ वर्ष पुरानो इतिहास बोकेको संघले पहिलोपटक यस्तो बृहद भेला आयोजना गरेको थियो ।

    हेटौंडा उपमहानगरकी मेयर मीना लामाले उद्घाटन गरेको भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्माता संघका अध्यक्ष आकाश अधिकारीदेखि गिनेचुनेका केही चलचित्रकर्मी तथा देशभरका चलचित्र पत्रकारहरू सहभागी थिए । नेपाली चलचित्र उद्योगमाथि नै संकट छाएको बेलामा यस क्षेत्रलाई माथि उकास्न चलचित्र पत्रकारहरूले केकस्तो योगदान दिन सक्छन् भन्नेमा सबैल आ-आफ्ना राय सुझावहरू प्रस्तुत गरे । र, निष्कर्ष सबैको एउटै थियो, जसरी नेपाली चलचित्रमा नेपाली माटो बोल्नुपर्छ, त्यसैगरी चलचित्र पत्रकारितामा पनि देशको माटो बोल्नुपर्छ । अर्थात्, स्वदेशी चलचित्रको प्रवर्द्धन र सेवा नै चलचित्र पत्रकारिताको ध्येय हुनुपर्छ भन्नेमा एकमत देखियो ।

    देशभरका झण्डै दुई सय पत्रकारहरू उपस्थित कार्यक्रमलाई चार सेसनको अन्तरक्रियामा विभाजन गरिएको थियो । भेलाको अन्तिममा फिचर लेखनसम्बन्धी कार्यशाला राखिएको थियो जहाँ दुई वरिष्ठ तथा अग्रज पत्राकारहरू अरुण बराल (खबर हबका प्रधान सम्पादक) र चिरञ्जीवी पौडेल (नेपाल प्रेसका सम्पादक) ले प्रशिक्षण दिएका थिए ।

    अन्तरक्रियाहरू कुनै कर्मकाण्डीमात्रै थिए त कुनै निकै प्रभावकारी एवं जीवन्त पनि । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले प्रस्तुत गरेको कार्यपत्र र त्यसमा पत्रकारहरूले गरेको प्रतिवाद भेलाको ‘हाइलाइट्स’ का रूपमा रह्यो । पूर्व रंगपत्रकारसमेत रहेका बलले अहिलेको चलचित्र पत्रकारिताको रुझानलाई लिएर थुप्रै प्रश्न उठाएका थिए । रंग पत्रकारहरूले आफूलाई पत्रकारिताको आचार संहिताभित्र बाँध्न नसकेको टिप्पणी उनले गरे ।

    ‘फलानो चलचित्रको रिलिज डेट सर्‍यो, फलानो चलचित्रको ट्रेलर रिलिज गर्‍यो, फलानो चलचित्रले यति कमायो, फलानो हिरोले यति पारिश्रमिक लियो.. यस्ता समाचारहरू पत्रकारिताको आचार संहिताविपरीत हुन् । पत्रकारिताको आचार संहिताले समाचारहरू विज्ञापनजस्ता हुनु नहुनेमा भनेर स्पष्ट उल्लेख गरेको छ,’ उनले कार्यपत्रमा भनेका थिए ।

    तर, बलको कार्यपत्रमाथि रंग पत्रकार अनुप भट्टराईले कडा प्रतिवाद गरे । उनले अन्य विधाको पत्रकारिताभन्दा चलचित्र पत्रकारिता पृथक रहेकोले यसलाई छुट्टै आचारसंहिता चाहिनेमा जोड दिए ।

    ‘अरु विधाका पत्रकारिताको सिद्दान्त चलचित्र पत्रकारितामा लागू हुन सक्दैन । विश्वव्यापीरुपमा नै चलचित्र पत्रकारिताको बेग्लै मान्यता र शैली हुन्छ । यसलाई त्यही रुपमा बुझेर खुकुलो आचारसंहिता लागू गरिनुपर्छ,’ उनले भने ।

    अर्को एउटा अन्तरक्रियामा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र समीक्षाको ‘प्रवृत्ति’ लाई लिएर असन्तुष्टि पोखे । समिक्षकहरू सन्तुलित हुन नसकेको भन्दै उनले दर्शकको पनि भावना बुझेर समिक्षा लेख्न सुझाव दिए ।

    अधिकारीले भने, ‘शुक्रबार नयाँ चलचित्र रिलिज हुन्छ, रिलिज भएको केहीबेरमा चलचित्र झूर बनेको भनेर समीक्षा लेखिन्छ । तर, समीक्षकले झूर भनेका चलचित्रमा दर्शक ओइरिएको र हिट भएको थुप्रै उदाहरण छन् । त्यसैले पहिले दर्शकको पनि भावना बुझेरमात्रै समीक्षा लेख्दा त्यो वस्तुपरक हुन सक्छ ।’

    तर, अधिकारीको कुरालाई अर्का निर्माता तथा निर्देशक निश्चल बस्नेतले नै चित्त बुझाएनन् । दर्शकको भावना बुझेर मात्रै समिक्षा लेख्नु भन्ने सल्लाह उचित नभएको बस्नेतले टिप्पणी गरे ।

    ‘समिक्षकले आफ्नै मूल्यांकन र विश्लेषणमा समिक्षा लेख्ने हुन् । दर्शक र समीक्षकको सोच्ने र विश्लेषण गर्ने तरिका फरक हुन सक्छ,’ उनले भने ।

    नेपाल निर्माता संघका महासचिव नरेन्द्र महर्जनले चलचित्र हलहरूको दुरावस्ता रहेको र धेरै हलहरू टिक्न नसकेको बन्द भएको सुनाए । महर्जनका अनुसार देशभर रहेका ४५० हलहरूमध्ये अहिले १५० जटा मात्रै सञ्चालनमा छन् ।

    उनले भने, ‘पहाडमा चलचित्र हलहरू नै छैनन् । तराईमा हलहरू छन्, तर नेपाली चलचित्रका दर्शक छैनन् । हल सञ्चालकहरूलाई सञ्चालन खर्च समेत धान्न मुस्किल परेको अवस्था छ ।’

    भेलामा चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष शान्तिप्रियले ‘नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्था’ लाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । त्यसमा चलचित्र पत्रकार संघको इतिहास, वर्तमान अवस्था र कार्यदिशालाई समेटिएको थिो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रूपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बताए । शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरेजस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको उनले टिप्पणी गरे ।

    ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने । बलले चलचित्र पत्रकारितामा व्यवसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए ।

    बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सापकोटाका अनुसार बाग्मती प्रदेशले बेग्लै चलचित्र ऐन बनाउने तयारी गरिरहेको छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले केन्द्रीय सरकारले नै चलचित्र ऐनको मस्यौदा बनाएर अन्तिम चरणमा रहेको बेला प्रदेशले आफ्नै ऐन बनाएकोप्रति परोक्ष असन्तुष्टि जनाए । उनले केन्द्र र प्रदेशको ऐन बाझिनसक्ने प्रति पनि चिन्ता व्यक्त गरे ।

    सापकोटाको कार्यपत्रमा छलफल गर्दै निर्माता संघका आकाश अधिकारीले रोल्पा, डोल्पामा छायांकन हुने चलचित्रहरू बागमती प्रदेशमा सुटिङ गर्न आए भने सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे । नेपाल चलचित्र संघका महासचिव महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।

    राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था र हिजो आज र भोलि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने जनाए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन समेत आग्रह गरे ।

    ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण, चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यान दिऔं’, उनले भने ।

    कार्यक्रममा उपस्थित अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रूपमा आएपछि बजारको विषयलाई नजिकबाट बुझेको खुलाइन् ।

    ‘पहिला अभिनेत्रीको रूपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यहीअनुसार अभिनय गर्थें । अब निर्मात्रीका रूपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एकजना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्, ‘चलचित्र दिमाग खराबको प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ । चलचित्रको बजारको कुरा गर्ने हो भने मैले पनि पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन ।’

    दिमाग खराबले १० करोड हाराहारीको व्यापार गरे पनि आफ्नो निर्माता श्रीमानको गोजीमा न्यून रकम परेको गुनासो गरिन् ।

    विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण हुन नसक्ने बताए । उनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको सम्झँदै लण्डन र कतार भ्रमणका क्रममा त्यहाँका राजदूतसँग चलचित्र पर्यटन प्रवर्द्धनका लागि पहल गरेको पनि सुनाए ।

  • ‘गोर्खा वारियर’काे प्रिमियरमा केपी ओली, सुदन किराँतीदेखि हरिवंश, युवराज सफलसम्म कसले के भने ?

    ‘गोर्खा वारियर’काे प्रिमियरमा केपी ओली, सुदन किराँतीदेखि हरिवंश, युवराज सफलसम्म कसले के भने ?

    काठमाडौं  ।  बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन (प्रिमियर ) सम्पन्न भएको छ ।

    प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीले चलचित्र हेरे।

    अध्यक्ष ओलीले चलचित्र हेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए। “यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए । उनलृ भने, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि यो चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताए । “हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो । यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भने ।

    प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियङ्का कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गरे ।

    वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको निर्देशक तथा लेखक मिलन चाम्सले बताए ।

    “मैले यस चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एक दशकअगाडि देखिकै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनाका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

    फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको  छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक  छन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए ।

    “मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भने ।

    चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

     

  • फिल्म ‘गोर्खा वारियर’ हेर्न पुगे एमाले अध्यक्ष ओली

    फिल्म ‘गोर्खा वारियर’ हेर्न पुगे एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हेर्न पुगेका छन् । अध्यक्ष ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रिमियरमा पुगेका थिए ।

    चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ।

    फागुन ११ गतेदेखि प्रदर्शन हुने यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।

    चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ।

    लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

    रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

  • दोस्रो सन्तानको आमाबुवा बने विराट र अनुष्का, छोराको नाम ‘अकाय’

    दोस्रो सन्तानको आमाबुवा बने विराट र अनुष्का, छोराको नाम ‘अकाय’

    भारत। ‘विरूस्का’ उपनामले चर्चित जोडी बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली दोस्रो पटक आमाबुबा बनेका छन्।

    मङ्गलवार राति अनुष्का र विराटले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत् आफ्नो दोस्रो सन्तानबारे जानकारी गराएका हुन्।

    इन्स्टाग्राममा अनुष्काले आफूले १५ फेब्रुअरीमै छोरालाई जन्म दिएको बताएकी छन् भने पोष्टमार्फतै उनीहरूले आफ्नो छोराको नामसमेत सार्वजनिक गरेका छन्।

    उनीहरूले छोराको नाम अकाय राखेका छन्। उनीहरूले लेखेका छन्,‘अपार खुसी र प्रेमका साथ यही १५ फेब्रुअरीमा हाम्रो दोस्रो सन्तान छोरा र वामिकाको भाइ अकायको जन्म भएको जानकारी गराउन चाहन्छौँ । तपाईँहरू सबैको आशीर्वाद र शुभकामनाका साथै हाम्रो निजी जीवनको सम्मान गरिदिन हुन पनि हार्दिक अनुरोध गर्दछौँ। ’

    मिडियाबाट केही समय टाढा रहेकी अनुष्का आगामी चलचित्र ‘चकदे एक्सप्रेस’ को छायांकन सकेर बसेकी हुन्। सन् २०१७ डिसेम्बर ११ मा अनुष्का र विराटले इटालीमा विवाह गरेका थिए।

    विवाह गरेको ३ वर्षपछि वर्ष २०२१ जनवरीमा अनुष्का र विराटले पहिलो सन्तान वामिकालाई जन्म दिएका थिए। तर उनीहरूले हालसम्म आफ्नी छोरीको तस्बिर भने सार्वजनिक गरेका छैनन्।

  • शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति घोषणा

    शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो ।

    पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।

    फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।

    यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ ।

    फिल्ममा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ । फिल्मको छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

  • ‘उपहार’ अमूल्य विषय हो : रेखा

    ‘उपहार’ अमूल्य विषय हो : रेखा

    काठमाडौं । अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीबाट विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिइरहेकी छन् ।

    रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

    रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’

    रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन् । ‘हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् ।

    रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।

    ‘५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

    रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन्। ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।

    ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

  • फागुन १८ गतेबाट रिलिज हुँदैँ ‘अगस्त्य च्याप्टर १’

    फागुन १८ गतेबाट रिलिज हुँदैँ ‘अगस्त्य च्याप्टर १’

    काठमाडौं। फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘अगस्त्य च्याप्टर १’। डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

    केही दिन अघिमात्र चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको चौतर्फी भईरहेको छ। तर चलचित्रले कति दर्शक हलमा तान्छ, त्यो भने रिलिज डेटले बताउँनेछ।

    चलचित्रको ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित छ । यसै चलचित्रका लागि नायक सौगात मल्लले आफ्नो तौल २० केजी घटाएका थिए । सौगातको चरित्रमा देखिएको विविधताले पनि दर्शकको मनमा कौतुहल जगाएको छ। ट्रेलर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ ।

    त्यसै गरी, अर्का नायक नाजिर हुसेनले भने चलचित्रको लागि २० किलो तौल बढाएका छन। चलचित्रमा सौगात र नाजिरको एक्सनलुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र निश्चल बस्नेतको लुक्सले चलचित्रप्रति दर्शकको कौतुहल बढाईदिएको छ।

    लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले चलचित्रका लागी आफुहरुले निकै मेहेनत गरेको बताएका छन। चलचित्र क्षेत्रका मेकरहरुको सकारात्मक प्रतिक्रिया र दर्शकहरूको ट्रेलर प्रतिको उत्सुकताले आफूलाई थप जिम्मेवार बनाएको निर्देशक चौधरीको तर्क छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुनेछ ।

  • १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला

    १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला

    हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

    चलचित्र पत्रकारिता क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल यो भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, रबिन्द्र सिंह बानियाँ, दयाराम दाहाल, दिनेश डिसी आदि लगायतका चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे ।

    मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालिन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ। अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ । चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको समेत मुख्यमन्त्रीले बताए। आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेश गरिएको र पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन् ।

    कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम संचालन गरी सहयोग गरिने बताए । विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हाते पुस्तकसहित एप्रिसेशन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत रजिष्ट्रार सापकोटाले बताए। भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया र कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए ।

    भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यसकारण, सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्नेमा उनको जोड थियो । चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको थियो। चलचित्र पत्रकार संघको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्वपूर्ण कदम चालेको छ ।

    यसैबीच, अध्यक्ष बलामीले चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौंडा उपमहानगरपालिका–२, हेटौंडा, मकवानपुर घोषणा पत्र २०८० जारी गरेको जनाएका छन् ।

    यस्तो छ घोषणापत्र–२०८०

    १) भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गर्दछ ।

    २) केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।

    ३) हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।

    ४) सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।

    ५) विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।

    ६) अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।

    ७) स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।

    ८)नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।

    ९) कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।

    १०) श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

    ११) सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।

    १२) हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।

    १३) संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

  • ‘रुखान’को लागि  नायिकामा नीति शाह फाइनल

    ‘रुखान’को लागि नायिकामा नीति शाह फाइनल

    काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नायिका नीति शाहले काम गर्ने पक्का भएको हो ।

    निर्माणपक्ष र नीतिबीच कागजी संझौता भएको छ । ४ वटा भाषामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिदैछिन् ।

    नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । फिल्मको केन्द्रिय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ ।

    यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

    यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

    फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुवन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो फिल्म हुनेछ ।

  • सोमबारसम्म ‘दयारानी’को कमाइ : २ करोड ५० लाख ग्रस कलेक्सन

    सोमबारसम्म ‘दयारानी’को कमाइ : २ करोड ५० लाख ग्रस कलेक्सन

    काठमाडौं । गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

    पहिलो हप्ता १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाको दोस्रो सप्ताहान्तमा १ करोड ग्रस कलेक्सन थप्दै २ करोड ५० लाख व्यापार गरेका हो ।

    ‘दिमाग खराब’ रिलिज पश्चात ‘दयारानी’ले दर्शक हलसम्म फर्काउन सफल भएको छ । वितरक प्रचण्डमान श्रेष्ठले समीक्षक र दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले दर्शक हलसम्म पुगेको बताए । विशेषगरी सिनेमाको व्यापार राजधानी भन्दा मोफलसमा राम्रो छ ।

    मोफसलमा पनि निर्देशक माओत्से गुरुङको गृह जिल्ला कास्कीको पोखरामा उच्च व्यापार गरेको छ । पहिलो हप्ताको व्यापारले नै पोखरामा दोस्रो हप्तामा पनि निरन्तरता पाएको हो । मोफसलमा पोखरा बाहेकका स्टेशनमा पनि सिनेमाको व्यापार राम्रो रहेको वितरक श्रेष्ठ बताउँछन् ।

    मङ्गलवार निर्माण टिमले एक पोस्टरसहित हिजो सोमबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । यो सँगै सिनेमा बक्स अफिसमा हिट साबित भएको छ । ‘दयारानी’ले दोस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको हल सञ्चालक बताउँछन् ।

    सिनेमाको व्यापारबाट निर्देशक गुरुङ खुशी देखिएका छन् । उनले सिनेमाको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् । प्रदर्शनको दोस्रो सातामा सिनेमाले उल्लेख्य मात्रमा शो संख्या पाएको थियो ।

    मङ्गलवार अभिनेता दयाहाङ राईले पनि बक्सअफिस कलेकसन रिपोर्ट सार्वजनिक गर्दै सिनेमा सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं ।’

    सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने सामाजिक तथा पारिवारिक घटनाक्रमलाई पेस गरेको छ । सिनेमा हेर्ने दर्शकहरूले ‘दयारानी’को विषयवस्तु मन पराएका छन् । सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमुख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

    सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

  • पैसा, शक्ति र महत्त्वाकाङ्क्षाको वरपर घुमेको ‘महाजात्रा’ टिजर रिलिज

    पैसा, शक्ति र महत्त्वाकाङ्क्षाको वरपर घुमेको ‘महाजात्रा’ टिजर रिलिज

    काठमाडौं । पोस्टर र गीतपछि अब ‘महाजात्रा’ निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । सिनेमाको सार्वजनिक १ मिनेट १० सेकेन्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । सिनेमाको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ ।

    सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो शृङ्खलाको कथावस्तुबारे अवगत गराउँछ ।

    अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन र त्यसबापत तीन मुख्य पात्रलाई ३०(३० लाख रुपैयाँ दिने वचन दिन्छन् । उनको आग्रह अनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग गर्ने संघर्ष टिजरमा देख्न सकिन्छ ।

    सिनेमाको सार्वजनिक टिजरमा घटनाक्रमअनुसार नयाँ(नयाँ पात्र कथावस्तुसँग जोडिन्छन् । सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ ।

    सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।

    सफल सिनेमा ‘जात्रा’को तेस्रो शृङ्खला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए ।

    सिनेमा हाँसो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

    सिनेमामा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयुक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

    जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • ‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

    ‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को टिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

    टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको छ ।

    बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । ३ मिनेट जतिको टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रूपमा दाबी गरेका छन् ।

    सिनेमा केही वर्ष अगाडि देखाइएको ‘डिग्री माइला’ नाटकमा आधारित छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय यस फिल्ममा छ ।

  • महानायक राजेश हमालले गरे बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन

    महानायक राजेश हमालले गरे बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन

    रुपन्देही । नेपाली चलचित्रका महानायक राजेश हमालले बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गरेका छन् । बुटवल उपमहानगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा सहभागिता जनाउन पुगेका हमालले जितगढी किल्लाको अवलोकन गरेका हुन् ।

    युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग विस १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले दुई पटक विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको ऐतिहासिकस्थल जितगढी किल्लामा महानायक हमाल अवलोकनको लागि पुगेका हुन् ।

    तत्कालीन अवस्थाको झल्को दिने गरी बनाइएका स्टाचु, ग्रेटर नेपालको नक्सा र वृत्तचित्रको हमालले अवलोकन गरेका थिए । हमालले ऐतिहासिक स्थलको संरक्षण र प्रबद्धन गर्दै भावी पुस्तालाई जानकारी गराउन आवश्यकता रहेको बताए । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जितगढी किल्लाको बारेमा चलचित्र बनाउन सकिने प्रतिक्रिया दिए । तत्कालीन अवस्थाको झल्को दिने गरी जितगढीको चलचित्र बनाउन सकिने भए पनि ठूलो लगानीको आवश्यकता रहेको उनले बताए ।

    जितगढीको ऐतिहासिक महत्व रहेको बताउँदै उनले ऐतिहासिक कुराहरको तथ्यमा आधारित भएर चलचित्र निर्माण गरिनुपर्ने बताए । महानायक हमाललाई बुटवल उपमहानगरपालिका वडा नं एकका अध्यक्ष नरेन्द्र बस्नेत, वडा नं पाँचका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जितगढी किल्लाको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।

    बुटवल उपमहानगपालिका वडा नं एकमा रहेको किल्लामा चलचित्र छायाँकन गरी प्रचारप्रसारमा सहयोग पुराउन हमालसँग अनुरोध गरिएको वडाध्यक्ष बस्नेतले बताए ।