Category: कलाप्रेस

  • चलचित्रबाट रङ्गेलीलाई चिनाउने काम गरेको भन्दै मेयर खुशी, भिडियोमार्फत दिए शुभकामना

    चलचित्रबाट रङ्गेलीलाई चिनाउने काम गरेको भन्दै मेयर खुशी, भिडियोमार्फत दिए शुभकामना

    काठमाडौं । शुक्रकार रिलिज हुने चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् ।

    आफ्नो सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुशी व्यक्त गरेका छन् ।

    भिडिओमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् । साथै चलचित्रमार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

    केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र नदिएको खबर बाहिरिएपछिसामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई पिजी प्रमाणपत्र प्रदान गरेको छ ।

    प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरीकनै बोर्डले प्रमाणपत्र दिएको बताएका छन ।

    अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झाँ र सुन्दर धितालको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

    चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ चलचित्रका सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको चलचित्रको छाँयाकार भने सुशन प्रजापति हुन् ।

  • निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

    निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

    काठमाडौं। लेखक तथा निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक भएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ।

    किरण राईको छाँयाकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक छ। उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो। यो शर्ट फिल्म विशेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईको भनाइ छ।

    लामो समय देखि युके बस्दै आएका पुरु राई अहिले नेपाल फर्केर चलचित्र क्षेत्रमा काम गरिरहेका छन्। यसअघि एउटा शर्ट मुभी र केहि म्युजिक भिडियोको निर्देशन गरिसकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन्।

  • मोडल श्रीषाको ‘त्यत्तिकै छोड’ को म्युजिक भिडिओ सार्वजनिक

    मोडल श्रीषाको ‘त्यत्तिकै छोड’ को म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको ‘त्यत्तिकै छोड’ बोलको गीतको भिडिओ बजारमा आएको छ । श्रीषा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘दयारानी’ की अभिनेत्रीसमेत हुन् । उनले २ दर्जन बढी म्युजिक भिडिओमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडिओमा म्यानमारकी मोडल ‘नान पो’ को अभिनय देख्न सकिन्छ ।

    गायक तथा संगीतकार तुलाले नै छायांकन तथा सम्पादन गरेको गीतको भिडिओको निर्देशन पनि तुलाले नै गरेका हुन् । यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्युजिक भिडिओ छायांकन गरेर तुलाले नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम गरेको भन्दै प्रशंसा बटुलेकी थिइन् ।

    भिडिओ वाइडस्किन मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

  • जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

    जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

    काठमाडौं । हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द हुने भएको छ । नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द भएको जानकारी दिएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि कार्यक्रम बन्द भएको जानकारी दिएका हुन् । एक्कासी कार्यक्रम बन्द गर्नुको खास कारण  भने खुलाएका छैनन् ।

    उनले आज अन्तिम भाग प्रशारण गरेर कार्यक्रम कहिलेसम्मको लागि बन्द हुने उल्लेख गरेका छैनन्। उनले लेखेका छन्,अन्तत ःअअबाट बिदा मागीयो आज अन्तीम भाग। ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछि भनौला ।’

    उक्त कार्यक्रम ३ सिजन गरेर १८४ भाग प्रशारण गरिसकेको जनाएको छ । यसअघि २०७८ कात्तिकमा पनि कार्यक्रम बन्द गरेका थिए ।

  • मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा प्रियंकारानी जोशी

    मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा प्रियंकारानी जोशी

    काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी मिस वर्ल्डको विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा जोशी उत्कृष्ट १० मा छनोट भएकी हुन् ।

    जोशी यसअघि ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा छनोट भएकी थिइन् । उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् ।

    प्रियंकाले ‘ब्युटी विथ पर्पस’ मा चितवनको इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारण लाइन पुर्‍याउन पहल गरेकी थिइन् । यसबाहेक स्थानीय विद्यालयको मर्मत सम्भारदेखि स्थानीय उद्यमशीलताको विकास गर्ने कार्य पनि उनले गरेकी थिइन् ।

    भारतको मुम्बईमा भइरहेको मिस वर्ल्डको फिनाले यही शनिबार हुँदैछ । सोही बेला सबै विधाका विजेताहरुको नाम घोषणा हुनेछ ।

  • महोत्सवमा गाउने क्रममा साउन्ड टेक्निसियनसँग एलिना चौहानको भनाभन (भिडिओ)

    महोत्सवमा गाउने क्रममा साउन्ड टेक्निसियनसँग एलिना चौहानको भनाभन (भिडिओ)

    काठमाडौं । गायिका एलिना चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद भएको छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुत दिन एलिना हिजो साँझ पुगेकी थिइन् ।

    सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो थिएन । पानी परिरहेको भन्दै टेक्निसियनले मोनिटर नराखेपछि एलिनालाई गाउन सकस परेको थियो । दर्शकहरूले हुटिङ पनि गरेका थिए । एलिनाले दर्शकलाई फकाउँदै केही गीत गाइन् । तर, अन्तिम गीत गाउनु भन्दा अगाडि उनी रोकिइन् ।

    ‘धोकेबाज गायिका भएर होला साउन्डले पनि धोका दिएको,’ उनले माइकमा नै ठट्टा गर्दै भनिन् । दर्शक हो… हो… भन्दै कराए ।

    एलिनाले आफ्नो प्रस्तुति अन्त्य गर्न खोजिन् । तर, दर्शकले थप डिमान्ड गर्न थाले ।

    ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

    तर, साउन्ड टेक्निसियनले भने एलिनालाई नै दोष देखाए ।

    उनले भने, ‘पहिले तपाईँ आफ्नो भोकललाई क्लीयर गर्नु अनि हामीसँग लेबल माग्नु ।’

    टेक्निसियनको जवाफले एलिना थप असन्तुष्ट बनिन् ।

    उनले भनिन्, ‘तपाईँको बोल्ने ढंग सुधार्नु बुझ्नु भो ? आफ्नो गल्ती देख्नुहुन्न ? यहाँ उभिएर एकचोटि हेर्नु त ।’

    टेक्निसियनले फेरि उही जवाफ दोहोर्‍याए ।

    ‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ उनले भने ।

    भनिन्, ‘तपाईँ मलाई सिकाउनु पर्दैन बुझ्नुभयो ? नाच्न नजान्ने आँगन टेढो भनेको यही हो । साउन्ड मिलाउन आउँदैन ?’

    त्यसपछि एलिनाले आयोजकका व्यक्तिहरूसँग कुरा गरिन् । साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए । एलिनालाई सेक्युरिटी दिएर त्यहाँबाट बाहिर निकालियो ।

    एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीमाथि हातपात पनि भएको थियो ।

    यस घटनालाई लिएर एलिनाले दुखी बनेकी छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै आफूले कम्प्रोमाइज गरेर गाउँदा पनि अनावश्यक विवाद भएको बताइन् ।

    एलिनाको भनाइ यस्तो छ :

    ‘मेरो स्वर अलि सुख्खा छ । त्यसैले साउन्ड राम्रो भएन भने दर्शकलाई मजा आउँदैन । सुरुबाटै गाउन समस्या भइरहेको थियो । स्टेजमा मोनिटर पनि राखिएको थिएन । जबरजस्ती गाइरहेको थिएँ । पानी परेर बिग्रिएको भनेर आफैँले दर्शकसँग एक्स्क्यूज गरिरहेको थिएँ । तर, साउन्डको भाइले उल्टो मलाई ‘भोकल क्लीयर गर्नुस्’ भनेपछि रिस उठ्यो । मैले जवाफ पनि फर्काएँ । थप गाउने अवस्था भएन । त्यसपछि हिँडेँ ।’

    के भन्छन् आयोजक ?

    नेपाल मगर संघका केन्द्रीय सदस्य एवं महोत्सवका सुरक्षा समिति संयोजक सोमबहादुर पुनमगरले प्राविधिक कारण विवाद भएको बताए ।

    ‘पानी परेका कारण साउन्ड सिस्टमा बिग्रेको थियो । कलाकारलाई गाउन गाह्रो भएको थियो । दर्शक नाच्दा तारहरू हल्लियो । कलाकारले सोध्दा टेक्निकलका साथीले त्यस्तो नभन्नु पर्ने हो । यो कारण बिग्रियो भन्नुको सट्टा उल्टै जवाफ फर्काए । उनीहरूकै कारण विवाद भएको हो’, उनले भने ।

    उनले थपे, ‘उहाँसँग दुस्मनी थियो कि के थियो । पछि हामीले प्राविधिक साथीसँग सोध्दा उहाँ रिसाउनु हुन्न भनेर जवाफ दिए ।’

  • ‘केटी हराएको सूचना’मा सृष्टिसँग जोडी बाँध्दै नाजिर

    ‘केटी हराएको सूचना’मा सृष्टिसँग जोडी बाँध्दै नाजिर

    काठमाडौं । अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सोमबार स्कृप्ट लिएर पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

    यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

    ट्राइसीटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

    ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ ।

    अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

    अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ ।

  • एकै परिवारका तीन सदस्यको चार पुस्तक एकैपटक विमोचन

    एकै परिवारका तीन सदस्यको चार पुस्तक एकैपटक विमोचन

    काठमाडौं । एकै परिवारका तीन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको छ ।

    एक १२ वर्षीय बालक जो नेपाललाई अरु देशले उदाहरणका रूपमा लिनेसक्ने बनाउनका निम्ति कसरी के गरेर अगाडि बढ्नु पर्दछ भन्ने सपना बोकेर पुस्तक लेख्छन् ।

    नेपालका विशिष्ट व्यक्तिहरुले नेपाललाई स्वीजरल्याड, जापान, सिङ्गापुर जस्तो बनाउँछौँ भन्दै दिएको मन्तव्यहरुबाट कलिलो मानसिकतामा आफ्नै पहिचानसँग जोडेर विश्वको नमूना देश बनाउने चाहना बोकेर नेपाललाई नेपाल नै बनाउने चाहना आफ्ना कृतिहरुमार्फत प्रस्तुत गरेका छन् ।

    ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययनरत १२ वर्षीय बालकले राष्ट्र र राष्ट्रियताप्रतिको भाव प्रकट गरेका छन् । अर्को पुस्तक कोभिड महामारीका बेलामा उनले रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरुका सङ्ग्रह मेरा बाल सिर्जनाहरुमार्फत प्रस्तुत गरेका छन् ।

    यसैगरी विगत १८ वर्ष अगाडि नेपालमा चलेको संशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय र बालबालिका तथा किशोरकिशोरीका विभिन्न पीडादायक यथार्थ घटनासँग सम्बन्धित रहेर डा.देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरु सङ्ग्रहीत गरी ‘निलीमा र क्यामेरा’ कथासङ्ग्रह प्रकाशन गरिएको छ भने नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमीमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ नामक पुस्तकसहित चारवटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ ।

    कार्यक्रममा प्रमुख आतिथि पूर्व परराष्ट्र मन्त्रि तथा वरिष्ठ साहित्यकार प्रदिप ज्ञवालीले बालकले लेखेका किताब नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेर लेखेको पुस्तकले नेतृत्व गर्दै गरेका व्यक्तित्वहरुलाई समेत मार्ग दर्शन गरेको र हामीले हामी भित्र नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्नु कुरालाई बालकको पुस्तकले प्रेरित गरेको कुरा बताए ।

    कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका सबै कथाहरु किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभावहरु गहन रुपमा प्रस्तुत रहेको कुरा बताए ।

    यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादव प्रकाश लामिछानेले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै मजबुद र खारिदै जाउन भनेर शुभकामना व्यक्त गरे ।

    राष्ट्रिय महिला आयोगकी अध्यक्ष तथा साहित्यकार कमला परजुलीले एक घरका तीन सदस्यका चारवटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधाहरुमार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाहगर्नसक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्दै लेखकहरुलाई शुभकामना व्यक्त गरेका थिइन् ।

    समारोहमा बाल अधिकार अभियान्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बाल अधिकार आन्दोलन भित्र पनि बाल सहभागिताको विषय उठान गरेर नेपालमा बालक्लबले कानूनी मान्यता प्राप्त गर्नका निम्ति जिल्लादेखि सर्वोच्चसम्मको ढोका घचघचाएर नेपालमा बालक्लबलले कानूनी मान्यता प्राप्त गर्न सफल भएको कुरा लेखकले आफ्ना पुस्तकमार्फत प्रस्तुत गरेको कुरा उल्लेख गरेका थिइन् ।

    समग्र नेपाली बालबालिकाको तर्फबाट बालबालिका तथा किशोरी प्रतिनिधि, ग्लोबल गल्स लिडर एडभाइजरी गु्रपकी सदस्य सबनम सुनारले तीनै जनाको पुस्तकका विषयमा उल्लेख गर्दै बाल बालिकाका निम्ति यी पुस्तकहरु उपयोगी र हामी बालबालिकाका लागि पनि प्रेरणाको स्रोतको रुपमा रहेको कुरा बताएकी थिइन् ।

    लेखकहरूका बुबा होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखक तिलोत्तम पौडेलले गरेका थिए भने स्वागत डा. देवकी आचार्यले गरेकी थिइन् ।

    कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरु कोभिड महामारीका बेलामा लकडाउन चलिरहेको समयमा साहित्य रचना गरी पुस्तकाकार रूप प्रदान गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताएका छन् ।

    कार्यक्रममा बाल अधिकार, मानव अधिकारलगायत साहित्यका क्षेत्रका अग्रजहरु सहित करिब २ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

     

  • ‘सतीदेवी’ निर्देशकलाई मन्त्री शर्माले भनिन्- तपाईंको फिल्म हेर्ने मन छ

    ‘सतीदेवी’ निर्देशकलाई मन्त्री शर्माले भनिन्- तपाईंको फिल्म हेर्ने मन छ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’तर्फ लक्षित गर्दै नेपालमा यस प्रकारका मौलिक र यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।

    मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबीच गत बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भेट भएको थियो । भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र वृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माले बताइन् ।

    शर्माले ‘सतीदेवी’ नारी प्रधान मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई हेर्न रुचि लागेको बताइन् । भेटघाटमा निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयवस्तुको बारेमा विस्तृतमा व्याख्या गरेका थिए । ‘सतीदेवी’ बारे सुनिसकेपछि शर्माले यस प्रकारका मौलिकता बोकेका, नेपालीपन झल्कने चलचित्रलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।

    शर्माले आफू सधैं नेपाली चलचित्रको गुणस्तर र व्यवसायिक विकासको पक्षमा रहेको र चलचित्र अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रवर्द्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने भएकाले छिट्टै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताएको सुवेदीको भनाइ छ ।

    सञ्चारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदी बताउँछन् । उनले शर्मामा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतिका लागि केही गरौं भन्ने भावना पाएको उल्लेख गरे ।

    ‘दिलासा क्रियसन’ले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले बताए ।

    गत माघ तेसो साता सौराहामा सम्पन्न ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ मा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, केसर अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।

  • ‘रंगेली’को किचलो सकियो, केही शब्द म्युट गरेर सेन्सर पास

    ‘रंगेली’को किचलो सकियो, केही शब्द म्युट गरेर सेन्सर पास

    काठमाडौं । सेन्सर बोर्डले चलचित्र ‘रंगेली’को सेन्सर पास गरेको छ । नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले ‘रंगेली’लाई गत शुक्रबार प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । तर, केही शब्द म्युट गर्ने र केही परे आफैं जिम्मेवार हुने सर्तमा बोर्डले आज चलचित्रको सेन्सर पास गरेको छ ।

    चलचित्रमा भएका केही ‘अपशब्द’हरु म्युट गर्न बोर्डले निर्देशन दिएको थियो । निर्देशनपछि निर्माण टीमले चलचित्रमा भएका ती शब्दहरु म्युट गरेर सेन्सर बोर्डमा पठाएको थियो ।

    बोर्डले चलचित्रको सेन्सर रोकेपछि सिने क्षेत्रमा एक तरिकाको भूइचालो गएको थियो । फिल्मकर्मीहरु विरोधमा उत्रिएका थिए । आआफ्नो सामाजिक सञ्जालबाट बोर्डको आलोचना गर्नेको घुइँचै लागेको थियो ।

    आलोचना र विरोध भएपछि आज निर्माता जीतेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले सेन्सर पासको प्रमाणपत्र दिएका छन् ।

    सेन्सर पासबारे निर्माता खतिवडा भन्छन्, ‘आज उहाँहरु हामीसँग एकदमै नम्र तवरले प्रस्तुत हुनुभयो । चलचित्र रोक्ने उद्देश्य नभएको उहाँहरुको भनाइ थियो । केही कारणले चलचित्रको सेन्सर रोकेको हो । नत्र नयाँ मेकरहरुलाई प्रेत्साहन गर्ने लक्ष्य रहेको बताउँदै सेन्सर पास गर्दिनुभयो ।’

    उनले चलचित्र छायाँकन गर्दा नै रंगेली नगरपालिकाको अनुमति लिएको बताए । ‘त्यहाँका बासिन्दासँग समेत चलचित्रमा सहकार्य गरेका छौं’, खतिवडाले भने, ‘तर, नाममा आपत्ति जनाउँदै रंगेली नगरपालिकाको मेयरसँग ‘लेटर अफ कन्सेन्ट’ लिएर आउनुहोस् भनेर उहाँहरुले सेन्सर रोकिदिनुभयो ।’

    आज बोर्डले ‘लेटर अफ कन्सेन्ट’ को कुरा ननिकालेको खतिवडाको भनाइ छ । खतिवडा निर्मित चलचित्र ‘रंगेली’ यही फागुन २५ गते रिलिज हुँदैछ ।

  • ‘महाजात्रा’ को ट्रेलर रिलिज

    ‘महाजात्रा’ को ट्रेलर रिलिज

    काठमाडौं । यही चैत्र ९ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा महाजात्राको ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो ।

    सिनेमामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

    सिनेमा हाँसो र रोदनको मिश्रणलाई मौलिकतासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

    सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयुक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

    जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • ‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

    ‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

    काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग’को वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्म प्रा।लिले लिएका छन्।

    शनिबार सिनेमाले यी कम्पनीसँग सम्झौता गरेको हो। सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछ भने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ।

    अनिल योञ्जनको निर्देशन रहने सिनेमालाई ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।

    शनिबार कम्पनीका तर्फबाट हरि मल्ल ठकुरीले वितरण सम्झौता गरेका हुन्।

    अष्ट्रेलियामा ९० प्रतिशत तथा नेपालमा १० प्रतिशत छायाँकन रहने सिनेमा रोम(कोम जनरामा बन्नेछ।

    सिनेमामा आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढी नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ।

    सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

    सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुस्खसमेत देखाउनेछ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।

    महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।

  • चलचित्र ‘उपहार’काे सेन्सर पास

    चलचित्र ‘उपहार’काे सेन्सर पास

    काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् ।

    फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

    फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

  • विराजको ‘१२ गाउँ’ मा ‘साहो’ भिलेन कनिजको इन्ट्री

    विराजको ‘१२ गाउँ’ मा ‘साहो’ भिलेन कनिजको इन्ट्री

    काठमाडौं । अभिनेता विराज भट्टले होम प्रोडक्सन बनाउन लागेको चलचित्र ‘१२ गाउँ’ को मा कनिज कोइरालाई खलनायकका रुपमा अनुबन्धित गरेका छन् । कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन् ।

    नेपाली सिनेमाका लागि नयाँ भएपनि उनले ‘बाहुबली’फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ सिनेमामा खलनायकको भूमिकामा काम गरिसकेका छन् । यसका अलावा उनले अभिनेता विराजसँग भोजपुरी सिनेमामा ुवधुमा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् ।

    कनिजको ‘१२ गाउँ’ भने दोस्रो नेपाली सिनेमा हुनेछ । यसै साता यो सिनेमाको नायिकामा मिस नेपाल इन्टरनेशनल-२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिएको थियो । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमामा विराज भट्टले मूख्य अभिनेतासँगै निर्देशकको भूमिका समेत खेल्नेछन् ।

  • ‘पोयट आइडलमा जाँदा विपश्यना झैं लाग्छ, म त्यहाँ पहिल्यै हुनुपर्ने थियो’

    ‘पोयट आइडलमा जाँदा विपश्यना झैं लाग्छ, म त्यहाँ पहिल्यै हुनुपर्ने थियो’

    काठमाडौं । विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बासँगै अभिनेत्री केकी अधिकारी अहिले रियालिटी शो ‘द पोएट आइडल’मा जज छिन् । अधिकारीलाई जजको रुपमा आयोजकले सार्वजनिक गर्दा साहित्यिक वृत्तले उनको काव्यिक क्षमतामाथि नै प्रश्न उठायो । कविताको मूल्यांकन गर्न सक्छिन् या सक्दिनन् भनेर संशयसमेत प्रकट गरियो ।

    आफूमाथि तमाम प्रश्न उठ्दा पनि मौन बसेकी अधिकारीले अहिले पोएट आइडलको सेटबाटै जवाफ फर्काइरहेकी छन् । उनै केकी अधिकारीसँग जजको भूमिकाका चुनौती, कविता मूल्यांकन गर्दाका अनुभवलगायत विषयमा नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:

    – तपाईंका लागि कविता के हो ?

    मैले सबैभन्दा सजिलो गरी आफूलाई अभिव्यक्त गर्ने कम्फर्ट जोन हो कविता । त्यहाँ आफूलाई एकदमै जीवित पाउँछु । सँगै मलाई मनमा लागेका कति धेरै कुरा हुन्छन्, जुन कुरा सिनेमामा पात्रको माध्यमबाट भन्न सकिँदैन । केकी अधिकारी एउटा व्यक्तिले भन्न चाहेको सबै कुरा पात्रमार्फत् भन्न मिल्दैन । पात्रको दायरा सीमित हुन्छ । त्यही भन्न चाहेको कुरा अभिव्यक्त गर्ने थलो हो कविता ।

    – जजको भूमिकामा रहँदाको अनुभूति कस्तो छ ?

    पहिलो कुरा त एकदमै रोमाञ्चक छ । मान्छेको जीवनमा कति धेरै चिजहरु छुट्दै जान्छन् नि ! त्यही छुटेकामध्ये महत्वपूर्ण चिज कविता रैछ जस्तो महसुस हुन्छ अहिले । पोएट आइडलको सेट जब सुरु हुन्छ, अनि लाग्छ, अहो ! म त यहाँ पहिले नै हुनुपर्ने थियो । नयाँ चिज, नयाँ वातावरण र विचारसँगको सामिप्यता अनि त्यो पनि कविताको शब्दमा ! कस्तो मजा आउँछ । मैले यति इन्जोय गरिरहेकी छु कि विपश्यना गएको जस्तो महसुस हुन्छ ।

    – कविताहरु सुन्दै गर्दा गजबको अनुभूति हुने कुरा चाहिँ के हो ?

    कविता जति सरल भयो, जति धेरैले बुझ्छ, त्यति बलियो महसुस हुन्छ । कविता सुन्दै गर्दा मभित्र भावना पैदा हुन्छन् । ती भावना कुनै वेला आन्दोलित बनाउन सक्ने खालका हुन्छन् । कुनै वेला आनन्दित बनाउन सक्ने खालका हुन्छन् । यस्तो वेला चाहिँ कविता कस्तो बलियो माध्यम रहेछ, छोटोमा पनि धेरै कुरा भन्न सक्ने कस्तो फराकिलो आकाश रहेछ भन्ने लाग्छ ।

    – प्रायः कविहरुले कविता वाचनमा भन्दा टेक्स्टमै पढ्न मजा आउँछन् भन्छन् । तपाईंको अनुभव कस्तो छ ?

    कविता त पढ्ने नै हो । कविता पढ्दा जति मजा आउँछ, त्यसले कविताको शक्ति महसुस गराउँछ । कसैले वाचन गरेर सुनाउँदा अलिकति सीमित घेरामा बाँधिइहालिन्छ । त्यसमाथि कार्यक्रमको संरचनामा आएपछि त कलात्मक सेटले पनि अर्को आधा कुरा भनिसकेको हुन्छ । त्यहाँ तपाईंले अरु धेरै कुरा कल्पना गर्न पाउनुहुन्न । यो त कार्यक्रमको संरचना हो । कार्यक्रमको डिजाइन नै यसरी गरिएको छ । तर, मैले इन्जोय गरिरहेकी छु ।

    कविता सुन्दै गर्दा मभित्र भावना पैदा हुन्छन् । ती भावना कुनै वेला आन्दोलित बनाउन सक्ने खालका हुन्छन् । कुनै वेला आनन्दित बनाउन सक्ने खालका हुन्छन् । यस्तो वेला चाहिँ कविता कस्तो बलियो माध्यम रहेछ, छोटोमा पनि धेरै कुरा भन्न सक्ने कस्तो फराकिलो आकाश रहेछ भन्ने लाग्छ ।

    – पोएट आइडलमा टेक्सन चाहिँ कतिको पढ्न पाइरहनु भएको छ ?

    जतिवेला प्रतिस्पर्धी कविहरुको वाचन गर्ने समय हुन्छ, त्यतिवेला नै कविताको टेक्स्ट ल्याइदिएका हुन्छन् । त्यतिवेलै पढ्न पाइन्छ । किनभने अलि अगाडि पढियो भने मान्छे स्वभाव हो, जजमेन्टल हुने खतरा रहन्छ । अलि धेरै जान्न खोज्यौं भने जति पढ्यो, त्यति थाहा हुने त हो ! तर, कार्यक्रमको संरचनाअनुसार कविहरुले वाचन गरिरहेकै समयमा कस्तो भाव उत्पन्न हुन्छ, त्यही भावलाई व्यक्त गर्नुपर्ने हुन्छ । यदि अगाडि नै कविता पढ्ने हो भने प्रतिक्रिया बेग्लै भएर पनि आइदिन सक्छ । एउटा कुरा तपाईंले जे चिज गरिरहनुभएको छ र इन्जोय पनि गरिरहनुभएको छ भने त्यहाँ गलत केही पनि गरिरहनु भएको छैन । मैले इन्जोय गरिरहेकी छु ।

    – पोएट आइडलको दोस्रो सिजनको जजको रुपमा घोषणा हुँदा तपाईं र पोएट आइडलमाथि नै धेरै प्रश्न तेर्स्याइयो । केसम्म भनियो भने केकी अधिकारी नायिका हो, पोइट आइडललाई त कवि चाहिने हो । यसलाई कसरी लिनुभयो ?

    मैले चाहिँ यी प्रश्नहरुलाई स्वाभाविक रुपमा लिएकी थिएँ । यी प्रश्नहरु एकदमै खुला र प्राकृतिक थिए । उहाँहरुको प्रश्नले मलाई के सम्झायो भने पोएट आइडलप्रति उहाँहरु गम्भीर हुनुहुँदो रहेछ । यो मेरा लागि महत्वपूर्ण भयो ।

    म जे क्षेत्रमा जोडिन गइरहेकी छु, त्यस क्षेत्रलाई अगाडिदेखि नै महत्वका साथ हेरिएको रहेछ । फरक तरिकाले सोच्ने हो भने कविताको प्रतियोगिता भएको कार्यक्रममा कविहरु नै भइदिएको भए हुन्थ्यो अथवा कविताको बारेमा ज्ञान भएका, अलंकारहरु थाहा पाएका, धेरै वर्षदेखि योगदान दिनुभएका व्यक्ति हुनुपर्ने हो । मैले यो कुरा आयोजकलाई पनि भनेकी थिएँ ।

    सायद अभिनयसम्बन्धी रियालिटी शो थियो भने त्यहाँ हामी नै प्रश्न गर्नेहरु हुन्थ्यौं होला । त्यहाँ किन अभिनयसम्बन्धी जानेका, बुझेका, जीवन नै समर्पण गरेका व्यक्तित्व छैनन् भनेर हामी नै प्रश्न गर्थ्यौं होला ।

    त्यसैले यसरी आउने प्रश्नहरुलाई स्वाभाविक रुपमा लिनुपर्छ । आयोजकले अलि फरक कोणबाट हेर्नसक्ने खालको फरक क्षेत्रको मान्छे भए शोको लागि राम्रो हुन्थ्यो, रियालिटी शो जस्तो बनाउन सकिन्थ्यो भनेपछि मैले जज बन्न स्वीकार गरेकी हुँ । दर्शकहरुले प्रश्न गर्न सुरु गर्नुभन्दा पहिला आयोजकलाई प्रश्न गर्ने म नै पहिलो व्यक्ति थिएँ, ‘किन मकहाँ आउनुभयो यो कार्यक्रम लिएर ?’ त्यसैले उठेका प्रश्नहरु एकदमै सही थिए ।

    – अनि आयोजकले राखेको जजको प्रस्ताव के आत्मविश्वासले स्वीकार गर्नुभयो ?

    जुन आत्मविश्वासका साथ आयोजक आउनुभएको थियो, त्यसैले आँट आयो । अर्को कुरा, मसँग धेरै ज्ञान छैन होला । तर, आयोजकले मलाई जजमा राखेर जुन डाइमेन्सन दिन खोज्नुभएको छ, त्यो मैले दिन सक्छु जस्तो लाग्यो । जे कुरामा पनि सुन्नसक्ने क्षमता पनि हुनुपर्छ । त्यो क्षमतालाई विकास गर्ने कोसिस गरिरहेकी छु । तर, हामी त रियाक्सनका लागि धेरै नै हतार गर्छौं ।

    आयोजकलाई कविता श्रवण गरिसकेपछि मीठा शब्दमा प्रतिक्रिया दिनसक्ने खालको जज पनि चाहिएको रहेछ । किनभने यो शो स्टेज पर्फमेन्स जस्तो पनि हो नि ! पर्फमिङ आर्ट जस्तो पनि छ । त्यहाँ कविहरुले कवितामात्रै सुनाउने गर्नुहुन्न, आफूलाई व्यक्त गर्न पर्फम पनि गर्नुहुन्छ । यस हिसाबमा आयोजकले ‘तपाईंले एउटा डाइमेन्सन ल्याउन सक्नुहुन्छ’ भनेपछि म तयार भएकी हुँ ।

    यो मेरा लागि नयाँ बाटो पनि थियो । कहिल्यै नहिँडेको बाटो पनि थियो । म अलिअलि भए पनि साहित्यमा रुचि राख्छु । पढ्न मन पर्छ । कहिलेकाहीँ कोर्छु पनि । रुचिको विषय पनि भएकाले यो जिम्मेवारीलाई मैले अँगालें । सिकाइको वातावरण पनि हुन्छ भन्नेमा विश्वस्त थिएँ । मजाको माहोल बन्छ भन्नेमा ढुक्क पनि थिएँ ।

    – तपाईंको विशेषज्ञता अभिनयमा हो । कविता त सौख र रुचिको विषय थियो । तर, त्यति धेरै प्रश्न उठेका थिए । त्यहाँ गएर मूल्यांकन पनि गर्नुछ । अंक नै दिनुपर्‍यो । यी कुराहरुलाई लिएर डर थियो कि थिएन ?

    यो ठूलो जिम्मेवारी हो भन्ने पहिला नै महसुस गरिसकेकी थिएँ । सजिलो काम होइन भन्ने थाहा थियो । त्यसमा यो यस्तो खालको क्षेत्र थियो, जहाँ मेरो एक्सपर्टिज पनि छैन । त्यो भएकाले अध्ययन गर्नुपर्‍यो ।

    फरक तरिकाले सोच्ने हो भने कविताको प्रतियोगिता भएको कार्यक्रममा कविहरु नै भइदिएको भए हुन्थ्यो अथवा कविताको बारेमा ज्ञान भएका, अलंकारहरु थाहा पाएका, धेरै वर्षदेखि योगदान दिनुभएका व्यक्ति हुनुपर्ने हो । मैले यो कुरा आयोजकलाई पनि भनेकी थिएँ ।

    यदि प्रश्नहरु नउठेका भए सायद रियालिटी शोको रुपमै मबाट अपेक्षा राखेर प्रस्ताव गरिएको छ भनेरमात्र ध्यान दिन्थें होला । तर, उहाँहरुको प्रश्नले मलाई सचेत गरायो । अनि लाग्यो, यतिले मात्रै पुग्दैन । अध्ययन अझैं चाहिन्छ । कम्तीमा आधारभूत कुराको ज्ञान त चाहिन्छ । त्यसपछि आफूलाई स्वअध्ययनमा पनि समय दिएँ । यो मेरा लागि फाइदाकै विषय भयो ।

    तर, मैले डर चाहिँ महसुस गरिनँ । किनभने मभन्दा अगाडि सुरक्षाजी हुनुहुन्थ्यो । उहाँले राम्रो माया पाउनुभएको हो । राम्रो डेलिभरी दिनुभएको हो । अहिले उहाँको व्यस्तताले नभ्याउने भएकाले पनि तपाईंलाई सोचिएको भनेर आयोजकले भनेपछि मैले त्यस्तो ठूलो बोझको रुपमा लिइनँ । एउटा कलाकारको ठाउँमा म पुगेकी थिएँ । सायद त्यो ठाउँमा अर्को कवि नै हुनुहुन्थ्यो भने चाहिँ मैले साँच्चिकै नसकुँला कि भन्थें होला ।

    – कतिपय अवस्थामा पोएट आइडलमा धेरै प्रश्न तेर्सिएका छन् । कवितालाई बजारीकरण गरियो, कवितालाई बाजारु बनाइयो, कवितालाई बिक्रीमा राखियो भनेर । यसमा तपाईंको राय के छ ?

    मलाई त जसिक्दो हामीले खुम्चाएर राखेको चिजलाई मूलधार जति लिएर आउन सक्यो, त्यति नै राम्रो कुरा हो भन्ने लाग्छ । किनभने साहित्यतर्फ कमै रुचि भएकाहरु थुप्रो हुनुहुन्छ । सबैमा अभिरुचि जम्न सकेको छैन । त्यो हिसाबमा कार्यक्रमले उहाँहरुलाई पनि छुनसक्छ । कार्यक्रमको माध्यमबाट मूलधारमा लान सकियो भने केही हदसम्म रुचि नभएकाहरुमा पनि साहित्यको अभिरुचि जगाउन सकियो । साहित्यप्रति प्रेम जन्माउन सकियो भने यो त सधैंको उपलब्धि हो नि !

    मैले कलाकारको रुपमा साहित्य र सिनेमा क्षेत्रबीच जुन ग्याप छ, त्यहाँ सेतुको भूमिका निर्वाह गर्न सकें भने यसलाई मेरो ठूलो उपलब्धिको रुपमा हेर्छु ।

    – कविहरुमाथि एक खालको भाष्य छ, उनीहरु पियक्कड हुन्छन्, घरव्यवहार सम्हाल्न नसक्ने, लथालिंग हुन्छन् । तपाईंको चाहिँ कविहरुमाथिको बुझाइ कस्तो छ ?

    म कहिल्यै पनि जजमेन्टल हुने खालको व्यक्ति नै होइन । एकदुई उदाहरणको भरमा कुनै कुरालाई सामान्यीकरण गर्नुहुन्न भन्ने मान्छे हो म । कुनै पनि क्षेत्रलाई व्यक्तिवादी भएर सोच्नु नै हुँदैन । भन्नलाई त कति कलाकारलाई पनि एडिक्सन हुन्छ भनिन्छ । संसारभर सेलिब्रेटी भएर त्यहाँबाट निस्कन गाह्रो भएर कोही न कोही कुलतमा लाग्छन् भन्ने खालका कुरा आउँछन् । तर, हामीले त्योभन्दा माथि उठेर हेर्न सक्नुपर्छ ।

    पोएट आइडलमा युवा कविहरु ऊर्जाशील हुनुहुन्छ । उहाँहरु नयाँ विचार र भाव लिएर आउनुभएको छ । मजाले कविता प्रस्तुत गर्नसक्ने, एकदमै ठूलो आत्मविश्वास लिएर आउनुभएका कविहरुको अगाडि यस्ता भाष्यलाई केन्द्रमा राख्दा राम्रो प्रभाव पर्दैन । हामीले त उदाहरण सेट गर्दै जानुपर्छ । राम्रो व्यक्ति बन्न खोज्नुपर्छ । जुन पेशामा हुनुहुन्छ, त्यहाँ दक्ष बन्न सक्नुपर्‍यो । हाम्रो एउटामात्रै उद्देश्य यही हो ।

    – तपाईं स्वयं भीमनिधि तिवारीको एक कथामा आधारित ‘झिंगे दाउ’को कलाकार । सार्वजनिक बहसहरुमा साहित्य र सिनेमा एक अर्काको परिपूरक भनिए पनि ठूलो दूरी देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

    हामीले सिनेमाको माध्यमबाट साहित्यलाई कति नजिकबाट छुन सक्थ्यौं, छोएका छैनौं । सायद अझै पनि हाम्रो रिसर्च नै पुगेको छैन । सँगै स्रोतको पनि ठूलो भूमिका हुन्छ । कृतिमा कुनै कुरालाई जसरी वर्णन गरिएको हुन्छ, त्योअनुसार हामीले सिनेमामा न्याय गर्न सकेका छैनौं ।

    कृति पढिसकेपछि पाठकहरु एउटा संसारमा गइसक्नु भएको हुन्छ । त्यो संसारको केही हदसम्म नजिक पुग्नु नै सिनेमाको मुख्य उद्देश्य हुनुपर्थ्यो । नत्र सिनेमा असफल हुन्छ । यसमा अध्ययनको कमी हो । स्रोतको पनि कमी हो । केही कालसम्म अनुसन्धान गर्न मान्छे बाँच्नुपर्‍यो पहिला त !

    हामीले सिनेमाको माध्यमबाट साहित्यलाई कति नजिकबाट छुन सक्थ्यौं, छोएका छैनौं । सायद अझै पनि हाम्रो रिसर्च नै पुगेको छैन । सँगै स्रोतको पनि ठूलो भूमिका हुन्छ । कृतिमा कुनै कुरालाई जसरी वर्णन गरिएको हुन्छ, त्योअनुसार हामीले सिनेमामा न्याय गर्न सकेका छैनौं ।

    साथै सिनेमा क्षेत्रमा केही हदसम्म प्राविधिक कमजोरी छ, भिजनमा पनि कमजोरी छ । कलाकारको रुपमा हाम्रो पनि कमजोरी होला । हामी समय नै दिन सक्दैनौं । एक वर्ष लगाएर एउटा फिल्म गर्न पायो भने त्यो पात्रमा कति धेरै मेहनत गर्न सकिन्थ्यो होला ! त्यो खालको अवस्था नै छैन हाम्रो ।

    – ‘झोला’, ‘सेतो बाघ’, ‘वसन्ती’, ‘मसान’, ‘समर लभ’ जस्ता कृतिहरुमाथि बनेका सिनेमा छन् । यी सिनेमामा कृतिलाई कतिको न्याय गरिएका छन् ?

    सकारात्मक रुपमा कोसिस हुनु ठूलो कुरा हो । कठोर भएर भन्नुपर्दा कृतिको एक छेउ पनि पुग्न सकिएको छैन । हाम्रो आफ्नै धेरै प्राविधिक कमजोरी पनि छन् । कृति पढेको वेलाको जस्तो अनुभव चाहिँ सिनेमाले दिन सकेका छैनन् ।

    – पोएट आइडलको जज पनि हुनुहुन्छ । कविता पनि लेख्नुहुन्छ । तपाईं पाठक कि कवि ?

    म त पाठक हो । श्रवण गर्ने स्रोता हो । पोएट आइडल व्युटीफुल शो हो, त्यस शोको एक सदस्य हुन पाएकोमा एकदमै कृतज्ञ छु ।

    – अनुप बराल, विप्लव प्रतीक र उपेन्द्र सुब्बाको बीचमा उभिएर कविताको नम्बरिङ गर्न त गाह्रो महसुस भएको छैन ?

    मलाई उहाँहरुले पनि धेरै हदसम्म कविताको बहुआयामिक पक्ष पनि हेर्नु है भनेर सल्लाह, सुझाव दिनुहुन्छ । त्यहाँ मलाई विशेष गरेर इमानदार भएर भाव प्रस्तुत भएको छ कि छैन भन्ने जिम्मेवारी पनि छ । त्यसैले विशेष ध्यान दिनुपर्ने पाटोलाई केन्द्रमा राखेर मार्किङ गर्ने गरेकी छु ।

  • लफडाकी पर्याय शर्मिला वाइबा : जालिन् तीन वर्ष जेल ?

    लफडाकी पर्याय शर्मिला वाइबा : जालिन् तीन वर्ष जेल ?

    काठमाडौं । आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने शर्मिला वाइबालाई चार दिनअघि प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गर्‍यो । उनको हिरासत यात्रालाई लिएर सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रिया दिएको पाइएको छ ।

    शर्मिलाले केही दिनअघि आफूमाथि ब्ल्याकमेलिङ र कुटपिट गरेको भन्दै हाँस्यकलाकार पवन खतिवडा म्याकुरीले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउपछि अदालतबाट ४ दिन म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।

    वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दाबी भएमा अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९१ मा कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा कुटपिट मानिने उल्लेख छ ।

    पवन आफ्नो एक साथीको घरमा बसिरहेका बेलामा शर्मिलाले पवनकी पत्नी सुम्निमा र सुम्निमाकी बहिनी गंगालाई लिएर त्यहाँ पुगेकी थिइन् । उनीहरुले प्रहरी पनि त्यहाँ बोलाएका थिए । प्रहरीकै अगाडि आफूलाई कुटपिट भएको पवनको भनाइ छ । सुरुमा शर्मिलाले नै हात हालेको उनले बताएका छन् ।

    आफूमाथि तीन महिलाहरू मिलेर कुट्दा प्रहरी मूकदर्शक बनेको पवनले दाबी गरेका छन् ।

    ‘म त्यस दिन मेरो साथी नवीन थापाको घरमा थिएँ । नवीन थापाको परिवार र रितु बस्नेत पनि थिइन् । राति अबेर हामी वीयर खाँदै सुटिङको बारेमा छलफल गरिरहेका थियौँ । एक्कासि उनीहरू आएर ढोका ढकढक्याए ।

    उनीहरू पछिपछि पुरुष प्रहरी आएका थिए । मलाई रंगेहात समात्ने र थुनाउने योजना रहेछ । मसित मेरो साथी नवीन थापाको परिवार थिए । रितु बस्नेत पनि आइपुगेकी थिइन् । मैले कुटाइ खाइरहँदा प्रहरीले हस्तक्षेप गरेनन् । रिसको झोकमा मैले पनि प्रहरीलाई मुख छोडेरै गाली गरेँ । त्यसपछि उल्टै मलाई र रितुलाई नियन्त्रणमा लिएर लगे,’ खतिवडा भन्छन् ।

    पवनलाई प्रहरीले नयाँ बसपार्कको चौकीमा पुर्‍यायो । त्यहाँ भने राम्रो व्यवहार भएको उनले बताए ।

    ‘भोलिपल्ट बिहान उनीहरू पनि आए । दुवैको कुरा सुनेपछि प्रहरीले यो अदालतले हेर्ने विषय भएकाले अदालतमै गएर सल्टाउन सुझाव दिए । तर, उनीहरूलाई चित्त बुझेन । शर्मिला वाइबा फेरि महिला सेलमा जाने भनेर उफ्रिन थालिन् । त्यहाँबाट महाराजगन्ज पठाइयो । महाराजगन्ज प्रहरीले पनि अदालत नै जानुस् भनेर फर्काइदियो,’ खतिवडाले भने ।

    सो घटनाकै भोलिपल्ट शर्मिलाको सक्रियतामा सुम्निमाले युट्युबर सम्मेलन गरेकी थिइन् । उनले सबै विवाद छताछुल्ल बनाएपछि त्यसको भोलिपल्ट पवनले पनि युट्युबर बोलाए । अनुहारभरि चोट बोकेर आएका उनले आफूमाथि शर्मिला वाइबा र सुम्निमाले आक्रमण गरेको सुनाएका थिए । त्यसपछि पवनले महाराजगन्ज प्रहरीमा शर्मिलाविरुद्ध जाहेरी दिएका हुन् ।

    आफूमाथि तीन जनाले हातपात गरेको बताउँदै आए पनि पवनले शर्मिलाविरुद्ध मात्रै जाहेरी दिएका छन् । पत्नी सुम्निमा र गंगालाई उनले जाहेरीमा मुछेनन् ।

    यसको कारण सोध्दा पवनले भने, ‘मुख्य दोषी भनेको शर्मिला वाइबा हुन् । शर्मिला नभएको भए यो घटना नै हुँदैनथ्यो । सबैभन्दा पहिले हात हालेको पनि उनैले हो । मेरी पत्नी शर्मिलाको उक्साहटमा मात्रै परेकी भएर उनीविरुद्ध जाहेरी दिएको छैन ।’

    पवनको जाहेरीका आधारमा प्रहरीले मङ्गलवार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइबालाई पक्राउ गरेको थियो । वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दाबी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ । वाइबा हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा छिन् ।

    सधैँ लफडा निम्त्याउने वाइबा

    शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको यो पहिलो चोटि होइनन् । उनी सामाजिक सञ्जालमा भाइरल हुन अनेक लफडाहरू गरिरहन्छिन् र हिरासत पुगिरहन्छिन् । ‘जहाँ लफडा त्यहाँ शर्मिला वाइबा’ भन्ने भाष्य नै बनिसकेको छ ।

    पल शाह प्रकरणमा नाबालिग गायिकालाई गालीगलौज गरेर शर्मिला भाइरल बनेकी थिइन् । गायिकाको समर्थनमा उभिएकी अभिनेत्री रेखा थापालाई पनि गालिगलौज गरेपछि रेखाको उजुरीमा उनी पक्राउ परेकी थिइन् ।

    शर्मिला पत्रकार ऋषि धमलासँग आफ्नो नाम जोडेर पनि भाइरल भइन् । धमलासँगको अन्तरङ्ग सम्बन्धका प्रमाणहरू सार्वजनिक गर्ने उनले चेतावनी दिएकी थिइन् । धमलाले बल्लतल्ल उनलाई थुमथुम्याए । यद्यपि, अहिले पनि शर्मिलासँग धमला थर्कमान छन् ।

    धमलासँग विवादकै बीच शर्मिलाले विष पिएको समाचार आयो । उनी वीर अस्पताल भर्नासमेत भएकी थिइन् । यद्यपि, उनले विष पिएको स्वास्थ्य परीक्षणमा देखिएन ।

    शर्मिलाको निजी जीवनका धेरै कुराहरू रहस्यको पर्दाभित्र छन् । उनी आफूलाई धनाढ्य व्यक्तिका रूपमा प्रचार गर्ने गर्छिन् । बानियाटारमा भव्य घर रहेको बताउँछिन् । उनीसँग एक बच्ची पनि छिन् । ती बच्ची कहिले आफ्नी छोरी हुन् भन्छिन् कहिले पालेको भन्छिन् । कहिले आफ्नो श्रीमान् बाहिर छन् भन्छिन्, त कहिले अविवाहित भन्छिन् । वाइवाले थुप्रै चर्चित व्यक्तिहरूलाई हनी ट्र्यापमा पारेर ब्ल्याकमेलिङ गर्दै आएको आरोप पनि लाग्ने गरेको छ ।

    बुम बोकेर मान्छे पिट्दै

    शर्मिला वाइबाका लागि मान्छे कुट्नु पनि नौलो कुरा होइन । पछिल्लो समय त उनी युट्युबरको भेषमा एउटा हातले बुम समातेर अर्को हातले मान्छे पिट्ने गरेकी छन् ।

    बाल गायक सचिन परियारका बाबु तेजेन्द्र परियार ‘कलौटे’ लाई शर्मिलाले ‘अन्तरवार्ता’ लिँदै भकुरेकी थिइन् । हालै मात्र उनले म्याकुरीसँग नाम जोडिएकी रितु बस्नेतलाई पनि अन्तरवार्ता लिँदै थप्पड हानिन् । तर, थप्पड खानेहरूले कतै उजुरबाजुर गरेका छैनन् ।

    नेपाल प्रेस काउन्सीलले युट्युब च्यानलहरूलाई पनि पत्रकार आचारसंहिताभित्र बाँध्ने प्रयास गरिरहेको छ । तिनीहरूलाई पनि मिडिया नै मानेर उजुरी लिने र कारबाही प्रक्रिया अघि बढाउने गरिएको काउन्सिलका अधिकारी रामशरण बोहरा बताउँछन् ।

    शर्मिलाका हर्कतका विषयमा प्रश्न गर्दा उनले भने, ‘त्यो मिडिया अन्तरगत हो होइन भन्ने सुरुमा खुट्याउनुपर्यो । आचारसंहिता उल्लंघन गरिरहेकालाई ओरियन्टेसनमा बोलाउने र एकदमै आपत्तिजनक छ भने नेपाल प्रहरीलाई लेखेर पनि पठाउने गरेका छौं । तर, मिडिया अन्तरगत होइन भने अलिकति अनुसन्धान र अनुगमन गरेर कारबाहीका लागि प्रहरीलाई लेख्न सकिन्छ ।’

  • अवस्थीले ल्याए ‘लागू औषध छोडौँ’ (भिडिओ)

    अवस्थीले ल्याए ‘लागू औषध छोडौँ’ (भिडिओ)

    कैलाली । ग्यास डिजेल पेट्रोलको भाउ महँगो भयो
    सर्वहारा जनताको चुलो निम्ने भयो
    सरकारलाई त छ रङ्गी चङ्गी
    जनतालाई ढाँड सेक्ने महँगी

    भ्रष्टाचार तथा महँगी विरुद्ध बुलन्द साङ्गीतिक कोसेली बजारमा ल्याएर चर्चा कमाएका सर्जक रामप्रसाद अवस्थीले युवा पुस्तालाई लागू औषधबाट जोगाउनु पर्ने सन्देश मूलक नयाँ गीत बजारमा ल्याएका छन् ।

    स्कुल क्याम्पस पढ्दा पढ्दै कुलतमा फसे
    बा आमाले सम्झाएनन् माया गर्दै बसे,
    दाजु भाइ दिदी बैनी गाउँले सबै सुन हो
    मान्छे मार्ने लागु औषध आजै छोडौँ भो

    पछिल्लो समय युवाहरू बढ्दो लागू पदार्थ दुर्व्यसनीमा लाग्दाका अवस्था र त्यसले परिवार तथा समाजमा परेको असर गीत मार्फत अवस्थीले सविस्तार वर्णन गरेका छन् ।

    जनचेतना मूलक गीति वृत्तचित्र ’लागू औषध छोडौँ’ बजारमा ल्याएका अवस्थीले यसले युवाहरूलाई ठूलो सन्देश दिने बताउँछन् ।

    गायक अवस्थीको परिकल्पना सहित र शब्द सङ्गीत रहेको गीतमा शान्ति श्री परियारको स्वर दिएकी छन् । वृत्तचित्र बजारमा आएको २ दिनमै धेरै दर्शक श्रोताले रुचाएको प्रतिक्रिया दिएको पाइएको छ ।

    लागू औषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रणमा खटिएको नेपाल प्रहरीसँगको सहकार्यमा निर्माण गरिएको गीति वृत्तचित्रलाई नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त बहादुर कुँवरले विमोचन गरेका हुन् । गीतमा प्रहरीको भूमिकालाई नै बलियो रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

    गीत मार्फत दिन खोजेको सन्देशले प्रहरीको कार्यलाई थप सहयोग पुग्ने र लागु औषधबाट बच्न युवापुस्तालाई समेत सहयोग पुग्ने प्रहरी महानिरीक्षक कुँवरले विश्वास व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्साल परिसरमै गीतको दृश्य निर्माण गरिएको हो ।

    अञ्जली अधिकारी, बाल गायिका आयुसा गौतम लगायतका कलाकारहरूले अभिनय गरेका छन् । वृत्तचित्रको कथा तथा निर्देशन स्मृति तिमिलसिना (गुरु आमा)ले गरेकी हुन् ।

    जन्मघर बैतडी भएर पनि देशको राजधानीलाई कर्म घर बनाएका अवस्थीले गीतसङ्गीतबाटै आफ्नै परिचय स्थापित गरेका छन् । दर्जनौँ गीतमा स्वर र सङ्गीत दिएका अवस्थीले परमादेशी गठबन्धन फालौँ, देखि भ्रष्टाचार विरोधी गीतहरू पनि बजारमा ल्याएका छन् ।

  • समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि बलात्कारी छन्, फाँसी दिनुपर्छ

    समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि बलात्कारी छन्, फाँसी दिनुपर्छ

    काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।

    आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले दुई प्रकारका बलात्कारीको टिप्पणी गरेकी छन्।

    ‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् , २. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ’गायिका अधिकारी भन्छिन्, ‘यी दुवै फाँसीका लायक छन्।’

    उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेकी छन् ।

  • फिल्म ‘ईश्वर’ को छायाङ्कन २७ दिनमा सकियो

    फिल्म ‘ईश्वर’ को छायाङ्कन २७ दिनमा सकियो

    काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को सम्पूर्ण छायाङ्कन २७ दिनमा सकिएको छ ।

    लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा अनु शाह, पृथ्वी राज प्रसाईँ, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

    हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाईँ र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

    फिल्मको सम्पूर्ण छायाङ्कन ,पोखरा,हेम्जाकोट गरिए छ।

  • प्रेमी अरविन्द्रसँग आज लगनगाँठो कस्दै नन्दिता

    प्रेमी अरविन्द्रसँग आज लगनगाँठो कस्दै नन्दिता

    काठमाडौँ । अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमी अरविन्द्र कटवालसँग लगनगाँठो कस्दै छिन्। आज एक समारोहकाबीच नन्दिता कटवालसँग वैवाहिक जिवनमा प्रवेश गर्दैछिन्।

    काठमाडोँको एक होलटमा आयोजना गरिएको विवाह समारोहमा दुवैतर्फका आफन्त र साथीभाइलगायतलाई निम्त्याइएको छ।

    बिहीबार रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा नन्दिताको मेहन्दी समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा सेलिब्रेटी, उनका नजिकका आफन्त र केही रङ्ग पत्रकारको उपस्थिति थियो ।

    लामो समयदेखि अमेरिकामा बस्दै आएकी नन्दिताले केही अगाडिमात्र प्रेमी अरविन्द्रसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाहको जानकारी गराएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् ।

    मागी विवाह गर्न लागेका यी दुवै केही दिन मात्र काठमाडौँ आएका हुन्। चलचित्र ‘इन्द्रेणी’ बाट डेब्यु गरेकी नन्दिताको पछिल्लो चलचित्र ‘जङ्गबहादुरको कोट’ हो जुन ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।