Category: कलाप्रेस

  • ‘भाइरल भइदियो’ का गायक मानसराजको ‘माया माया हो’ को भिडिओ सार्वजनिक

    ‘भाइरल भइदियो’ का गायक मानसराजको ‘माया माया हो’ को भिडिओ सार्वजनिक

    काठमाडौं । ‘भाइरल भइदियो’ बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडिओ सार्वजनिक गरिएको छ ।

    शुक्रबार रिलिज गीतको शब्द र संगीत मानसराजकै छ । एरेन्ज उदयराज पौडेल र मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन् । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडिओमा प्रेम र रोमान्सका रमाइला किस्सा प्रस्तुत गरिएको छ ।

    मोडल गीता ढुंगानासँग गायक स्वयम्‌ले अभिनय गरेको यो भिडिओमा आफूले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले वर्णन गरेका छन् । आफ्नो रूपसमेत परिवर्तन गरेर प्रेमिकासामु जाने दृष्यमा दुवै गज्जबले खुलेका छन् ।

    नयाँ गीतको भिडिओमा निकै मिहिनेत गरेको बताउँदै मानसराजले सकारात्मक प्रतिक्रिया आइरहेको बताएका छन् । भिडिओको छायांकन पवन शिस्लुङ्ग र सम्पादन प्रवीण भट्टले गरेका हुन् । सुरेन्द्र बसेलको सहनिर्देशनमा बनेको म्युजिक भिडिओ मानसराजकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

    मानसराज गायनका अलावा थिएटर अभिनयमा पनि सक्रिय छन् । उनका गीतहरू फिल्म ‘रेशम फिलिलि’ को पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो, ‘डायरी’ को माया मायामा, हिरो, लैलै राजकुमारीलगायत चर्चामा छन् ।

  • साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाले मागिन् माफी

    साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाले मागिन् माफी

    काठमाडौं । साउन्ड सिस्टम कम्पनीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन् । उनले सामान्य कमजोरीलाई माईकबाटै राखिदिने स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गरेकी छन् ।

    ‘मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु’, उनले लेखेकी छन् ।

    गत फागुन २० गते कुश्मामा आयोजित एक महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईंको आवाज सफा गर्नुस’ भन्दै अपमानित तुल्याएका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । एलिना आफ्नो प्रस्तुति नसकिकन बाहिरिएकी थिइन् ।

    त्यसपछि ६ साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए ।

    एलिनाले साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियोर भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो भएको बताएकी छन् ।’साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियोर भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन्। जो हामीलाई दर्शक श्रोताबीच पुर्याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु’ उनले लेखेकी छन् ।

  • एलिनाको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने पाँच व्यवसायीको चेतावनी, माफी माग्नुपर्ने माग

    एलिनाको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने पाँच व्यवसायीको चेतावनी, माफी माग्नुपर्ने माग

    पोखरा । गायिका एलिना चौहानको एक साउन्ड टेक्निसियनसँग भनाभन भएको घटना थप गहिरिएको छ । ५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका छन्।

    गत फागुन २० गते कुस्मामा आयोजित एक महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भन्दै अपमानित तुल्याएका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । एलिना आफ्नो प्रस्तुति नसकीकन बाहिरिएकी थिइन् ।

    यो घटनाको पाँच दिनपछि पाँच साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनामाथि नै दोषारोपण गरेका हुन् । एलिनाले टेक्निसियनलाई अमर्यादित व्यवहार गरेको उनीहरूको आरोप छ ।

    ‘…हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्नेजस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    एलिनाले कुस्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यसअघि पनि मञ्चमा थुप्रैपटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

    एलिना जुन कार्यक्रममा गए पनि ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको र आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि सचेत रहेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो प्रस्तुति र स्वर फितलो भएपछि आयोजकले तय गरेको साउन्ड सिस्टममा खोट लगाइएको दाबी समेत गरिएको छ ।

    ‘चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    यो प्रकरणमा ऐक्यबद्धताका लागि देशभरका साउन्ड सिस्टम कम्पनीलाई आग्रहसमेत गरिएको छ ।

    विज्ञप्ति जारी गर्नेमा जिके साउण्ड सिस्टम, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स, साउण्ड गार्डेन, मञ्जित साउण्ड सिस्टम, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस र एविज साउण्ड सिस्टम रहेका छन् ।

  • केकी अधिकारीका प्रिय पुस्तक: बीपीको ‘मोदी आइन्’देखि मनिषा कोइरालाको ‘हिल्ड’सम्म

    केकी अधिकारीका प्रिय पुस्तक: बीपीको ‘मोदी आइन्’देखि मनिषा कोइरालाको ‘हिल्ड’सम्म

    काठमाडौं । अभिनेत्री केकी अधिकारी अभिनयको अलावा पढ्न रुचि राख्छिन् । विशेष गरेर आख्यान पढ्न रुचाउने उनी आफूलाई चाहिने किताबहरुको सूची बनाउँछिन् र पसलमा पुगेर लामो समयसम्म पुग्ने पुस्तकहरुको जुगाड गर्छिन् ।

    आफूलाई पुस्तक अध्ययन गर्ने ‘प्यासनेट’ भन्दा पनि ‘पार्ट टाइमर’ पाठक भन्न रुचाउँछिन् केकी । कसैले सिफारिस गरेको पुस्तक समय मिलेसम्म पढ्ने गर्छिन् । पढ्दाखेरि लतरपतर एक दुई पन्ना पल्टाउँदै अर्कोपटक पढ्न पन्ना भाँचेर राख्ने गर्दिनन् । पढ्न नै भनेर विशेष समय छुट्याउँछिन् र आनन्दले पढ्छिन् ।

    हामीले उनै अधिकारीका प्रिय पाँच किताबबारे कुराकानी गरेका छौं ।

    बीपी कोइरालाका कृतिहरु : विशेष गरेर ‘मोदी आइन्’

    यो पुस्तक मेरो प्रिय पुस्तकमध्ये पर्छ । हुन त बीपी कोइरालाका हरेक पुस्तकहरु पढेकी छु । उहाँका सबै किताबहरु मनपर्छ । तर, ‘मोदी आइन्’ चाहिँ मनपर्नेहरुबीचको विशेष पुस्तक हो ।

    हामीले लडाइँका कथाहरु धेरै पढ्यौं । लडाइँ लड्न प्रेरित गर्नेहरु र लडाइँ सृजना गर्ने पक्षहरुबीचको कथा धेरै लेखिएका छन् । तर, यस पुस्तकमा भने तेस्रो कोण छ । यहाँ सेनाकी श्रीमतीका अनुभवहरु छन् । त्यो वेलाको पृष्ठभूमिलाई श्रीमतीको आँखाबाट देखाउन कोसिस गरिएको छ । यसले छुट्टै खालका भावहरु सृजना गरिदिन्छ ।

    कहिलेकाहीँ साहित्यको कस्तो प्रभाव हुने रहेछ भने त्यसले आफ्नो दृष्टिकोण नै बदल्न सक्दोरहेछ । हामीले कुरुक्षेत्रको लडाइँबारे पढ्यौं । हार र जीतको कथामात्रै पढिरह्यौं । तर, ‘मोदी आइन्’मा हारैहार व्यहोरेकी महिलाको फरक कोण छ । उनको फरक कोणले भन्छ- जसले जिते पनि, जो हारे पनि उनको चाहिँ हारमात्रै हुन्छ ।

    अमर न्यौपानेको ‘गुलाबी उमेर’ र ‘सेतो धरती’

    ‘गुलाबी उमेर’ टिनएजलाई केन्द्रित गरिएको पुस्तक हो । म त रमेश विकलका कथाहरु पढ्दै, हेर्दै हुर्किएकी ! मेरो बुवाले टेलिसिरियलमा ‘विक्रम र नौलो ग्रह’ पनि गर्नुभएको थियो । त्यस्तो माहोलबाट हुर्किंदै आइयो ।

    ‘गुलाबी उमेर’ चाहिँ त्यो टिनएज काटेपछि पढियो । तर, पुस्तकले त्यो वेलाको समयमा लिएर जान्छ । अनि सोच्न बाध्य बनाउँछ, ‘यो त मभित्र पनि आएको बटरफ्लाइ हो । मेरो पनि सोच यस्तै थियो ।’ त्यो उमेरमा प्रेम अनि घृणाका कुराहरु एक्सट्रिममा गएर महसुस गर्ने गरिन्छ । हार्मोनल परिवर्तनहरु, त्यस वेलाको वातावरण अर्कै हुन्छ । यो पुस्तकले त्यहाँ लिएर जान्छ ।

    अमर न्यौपानेको ‘सेतो धरती’ धेरै पटक पढेको पुस्तक हो । यो पुस्तक जति अरु पुस्तक सायदै पढेकी हुँला । मैले आफैं ‘बोक्सीको घर’ फिल्म बनाएकी छु । यो फिल्मका लागि पनि मैले यो पुस्तक पढेकी थिएँ ।

    ‘सेतो धरती’को कथामा भएको मर्म नै मुख्य कुरा हो । एउटा बाल विधवाको कथा, उसको जीवनमा सेतो रङले पारेको प्रभाव अनि उसको सुरुवातदेखि अन्त्यसम्मको यात्रालाई पुस्तकमा मजाले प्रस्तुत गरिएको छ । कहीँकतै ‘बोक्सीको घर’को पात्रलाई अंगाल्न सजिलो हुन्छ भनेर पनि मैले यो पुस्तक निकै पटक पढें । यो पुस्तकले धेरै हदसम्म सहयोग पनि गरेको छ ।

    बुद्धिसागरको ‘कर्णाली ब्लुज’

    मलाई बुद्धिसागरको मनपर्ने पक्ष भनेकै उहाँको लेख्ने शैली हो । एउटै कुरालाई वर्णन गर्ने फरक फरक तरिका छन् उहाँको लेखनीमा । उहाँको लेखनी पढेपछि लाग्छ, ‘ओहो, यसरी पनि भन्न सकिन्छ ?’

    कपडा सुकाइएको सामान्य कुरालाई दश तरिकाले भन्न सक्छन् बुद्धिसागर । अरुले कति तरिकाले भन्न सक्लान् ! हामी कति पटक भन्न सक्छौं ? बुद्धिसागरमा त्यो कला छ ।

    अनि यो पुस्तक दृश्य भाषा जतिकै बलियो छ । दृश्य भाषा त अझै बलियो हुनुपर्ने हो नि ? त्यो छैन । दृश्य भाषाले दर्शकले चाहे पनि नचाहे पनि दर्शकलाई लिएर जान्छ । त्यसमा संगीत, दृश्यहरुले म्यानुपुलेट पनि गर्छ । तर, पुस्तकले पाठकलाई घटनास्थलमै लिएर जानु चुनौतीपूर्ण हुन्छ ।

    ‘कर्णाली ब्लुज’ले भने लिएर जान्छ । म कर्णाली पुगें भने मलाई अनौठो र नौलो लाग्दैन होला । धेरै पटक आएको जस्तो लाग्छ होला ।

    मिसेल ओबामाको ‘बिकमिङ’ र मनिषा कोइरालाको ‘हिल्ड’

    आत्मकथा मान्छेहरुले आफ्नै कारणले पढ्छन् होला । म केही कारणले आत्मकथा पढ्छु । एउटा त जीवनमा एकदमै पीडा हुँदा अर्को व्यक्तिको पीडा र संघर्षले प्रभाभित बनाउने कुरा भयो । यो पीडा मलाई मात्रै होइन रहेछ, अरुलाई पनि रहेछ भन्ने महसुस गराउने कुरा भयो । अर्को चाहिँ मनको शान्ति पनि चाहिने रहेछ मान्छेलाई ।

    कोभिडको वेलाको सुरुमा एकदमै पीडा भए पनि मैले यो मलाई मात्रै होइन भनेर महसुस गरेकी थिएँ । आफूलाई मात्रै पीडा भएको भए त्यहाँबाट उम्कन मान्छेलाई कति गाह्रो हुन्थ्यो होला ! त्यसले दिने धेरै किसिमका मानसिक रोग कति डरलाग्दा हुन्थे होला ! तर, मलाई थाहा भयो- यो अवस्थामा सारा संसार नै मारमा परेको छ । अनि मैले महसुस गरिरहेको पीडा सारा संसारका मान्छेले पनि महसुस गरिरहेका छन् भन्ने भएपछि पीडा आफैंमा कम हुने रहेछ । यही कारण पनि म आत्मकथाहरु पढ्न रुचाउँछु ।

    मलाई मिसेल ओबामाको ‘बिकमिङ’ पछिल्लो समय पढेकामध्ये गजब लागेको आत्मकथा हो । यहाँ फस्ट लेडी हुँदाका उहाँको व्यक्तिगत अनुभव धेरै छन् । आमा हुँदाको अनुभव छ । ह्वाइट हाउसमा सामान्य मान्छे पुग्दाको संघर्ष आफ्नै हुन्छ । अनि त्यहाँ गएर ह्वाइट हाउसको परिवेशमा फिट हुन संघर्ष गर्नु अर्को । अनि सबैभन्दा ठूलो भूमिकाको रुपमा चाहिँ आमा बन्नुपर्ने भूमिकालाई लिनु । उहाँको व्यक्तिगत अनुभवको माध्यमबाट जाँदाखेरि मीठो यात्रामा लिएर जान्छ ।

    अनि मलाई मन परेको अर्को चाहिँ मनिषा कोइरालाको ‘हिल्ड’ हो । यो पुस्तकको मुख्य चिज भनेकै पीडाहरुको सामना हो । हामीलाई मृत्युदेखि एकदमै डर लाग्छ वा कुनै पनि पीडाबाट गुज्रनुपर्छ भन्ने कुराले हामीलाई डर दिन्छ । तर, त्यो पीडालाई कसरी सामना गर्ने भनेर डर नराखी सामना गर्ने हो भने जीवन सहज हुन्छ । र, जीवनमा जे आइपर्छ, त्यही परिस्थितिमा आफू भिज्दै जान सकिन्छ भन्ने कुरा मन पर्‍यो यो पुस्तकको ।

    अर्कातिर मनिषा दिदीसँगको सिनेमाको ब्याकग्राउण्ड पनि जोडियो । उहाँका संघर्षकालीन दिनहरुमा मैले आफूलाई पनि पाएँ । यसपछि पुस्तकमा क्यान्सरलाई जितिसकेपछिको अनुभव छ, जीवनलाई हेर्ने दृष्टिकोणमा आएको बदलाव छ । यो पुस्तकले पनि मलाई एकदमै प्रभावित पारेको हो ।

  • उस्तै कथा र उस्तै कमेडी फिल्महरुको ह्याङ मेटाउने ‘अगस्त्य’

    उस्तै कथा र उस्तै कमेडी फिल्महरुको ह्याङ मेटाउने ‘अगस्त्य’

    काठमाडौं । मुख्य कुरा त यो फिल्म समीक्षाभन्दा ज्यादा दर्शकीय टिप्पणी हो । उस्तैखाले कमेडी फिल्महरुले बोर बनाइरहेको वेला ‘अगस्त्य : द अनब्रेकेबल’ले रिफ्रेस गराएपछि केही लेख्ने कोसिस गरिएको हो । गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : द अनब्रेकेबल’ले दोस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । यसको एकै कारण हो, यस फिल्मले दर्शकलाई पस्किएको नयाँ र भिन्न स्वाद । कमेडी फिल्महरुको बाढी लागिरहेको वेला भरपुर एक्सन र ट्वीस्टका साथ अगस्त्यले दर्शकलाई नयाँ अनुभूति दिलाइरहेको छ भन्दा गलत नहोला ।

    सीमा क्षेत्रमा हुने मानव तस्करको अपराध अनुसन्धानको वास्तविक घटनामा आधारित ‘अगस्त्य’ले दर्शकलाई पहिलो मध्यान्तरसम्म झुम्मझुम्म पार्छ । फिल्म धिमी गतिमा अगाडि बढेको छ । तर, जब मध्यान्तरपछि फिल्म सुरु हुन्छ, यसपछि भने दर्शकको दिमागलाई फनफनी घुमाउँछ । लगातारको ट्वीस्टले दर्शकलाई बाँधेर राखिरहन्छ ।

    अपराध अनुसन्धानको परिधिमा घुमेको ‘अगस्त्य’को सुरुवातमा निशान (नाजिर हुसेन)को एक्सन दृश्यबाट हुन्छ । उक्त दृश्यको निचोड हुन्छ, सौर्य (सौगात मल्ल)को खोजी । फिल्म सुरु भएको केही मिनेटमै भारतको गोरखपुर सडकमा मानसिक सन्तुलन गुमाएका सौर्यलाई केही मान्छेले लखेटिरहेको हुन्छ । तर, किन लखेट्छन् त तिनीहरुले ? ठूलो क्यानभासको फिल्ममा यो सामान्य दृश्यको साइनो के छ त ? यसका लागि दर्शकले अन्त्यसम्म फिल्म हेर्नुपर्ने हुन्छ ।

    सीमा क्षेत्रमा हुने तस्करीका साथै चेलिबेटी बेचबिखनको कथा ‘अगस्त्य’को प्रमुख कथा हो । चेलिबेटी जोगाउन लागिपरेका प्रहरी अफिसर र दलाल, तस्करबीचको द्वन्द्व नै फिल्मको केन्द्रीय द्वन्द्व हो । प्रहरीको भूमिकामा सौगात र नाजिर छन् भने मुख्य तस्कारको भूमिकामा त्रिपाठी (प्रमोद अग्रहरी) छन् ।

    तर, सिंगो कथा सौर्यको वरिपरि घुमेको छ । सौर्य को हो, कहाँ छ, के गरिरहेको छ, जीवित छ या मरिसकेको छ ? सौर्यको खोजीमा व्यग्र भएर लागेका छन् निशान । सौर्यको यही खोजीकै क्रममा अन्य पात्रहरु पनि जोडिँदै जान्छन्, केही थपिन्छन् र केही छुट्छन् ।

    निर्देशक सौरभ चौधरीको लखेन तथा निर्देशन रहेको ‘अगस्त्य’ले कथा भन्दै जाँदा छुटाउँदै पनि जान्छ । कथा दौडाउँदै जाँदा कहीँकतै रोक्दै पनि जान्छ । केही कथा किन छुटे ? केही कथा किन रोकिए ? यसको जवाफ फिल्मले अन्त्यमा दिएको छ । दोस्रो हाफपछि कथा जोडिँदै जान्छ । त्यसैले फिल्मले दर्शकलाई दोस्रो हाफपछि मनोरञ्जन दिन सक्षम छ ।

    ‘अगस्त्य’ले कथाहरु भन्दै जाँदा कथाहरु छुटाउँदै पनि जान्छ । कथाहरु दौडाउँदै जाँदा कथाहरु रोक्दै पनि जान्छ । केही कथा किन छुटे ? केही कथा किन रोकिए ? यसको जवाफ फिल्मले अन्त्यमा दिएको छ ।

    कथा मधेसको हो । तर, पात्रहरुले प्रायः नेपाली नै बोल्छन् । त्यो पनि स्पष्ट नेपाली । पात्रहरुले नेपाली बोल्नुमा समस्या भएन । तर, मधेसको परिवेशमा पात्रहरुलाई मैथिली भाषा नै बोलाइदिएको भए फिल्म थप बलियो हुने थियो । रवीन्द्र झाले निभाएको पात्र र उसकी श्रीमतीले शुद्ध नेपाली उच्चारण गर्छन् । कोर मधेशमा रहेका कतिपय नेपालीहरु राम्रोसँग नेपाली भाषा नै बुझ्दैनन् । उनीहरु मैथिलीबाहेक अरु भाषा नै बोल्दैनन् । मधेशको कथा टिपिएपछि यसमा निर्देशक सचेत हुनुपर्थ्यो ।

    मुख्य खलपात्र त्रिपाठीको घरका दृश्यहरु जम्मा दुई भाइको वरिपरिमात्रै छन् । घरको परिवेश कति भयानक थियो, घरमा महिलाहरु किन छैनन् ? के कारणले त्रिपाठी र उनका भाइहरुमात्रै छन् ? यस्ता सवालको जवाफ खोज्न सकिन्थ्यो । तर, ठूलो क्यानभासमा फिल्म बनाउन खोज्दा निर्देशकले यस्ता कुराहरु नजरअन्दाज गरेका छन् ।

    फिल्ममा ट्वीस्टको मात्रा भरपुर छ । तर, कथावाचनमा थर्ड पर्सन न्यारेटिभ्सको प्रयोग गरिएको छ । कतिपय ठाउँमा थर्ड पर्सन न्यारेटिभ्स आवश्यक थिएन । तैपनि प्रयोग गरिएको छ । त्यसो नगरिएको भए फिल्म अझै गजब हुन सक्थ्यो ।

    समग्रमा व्यवसायिक उद्देश्यका साथ बनाइएको ‘अगस्त्य’ ‘आइ प्लिजिङ’ छ । मुख्य रुपमा यसको सिनेम्याटोग्राफी र कलरिङले दृश्यहरुलाई सुन्दर बनाएको छ । कलाकारहरुले मेहनत गरेका छन् । विशेष गरेर सौगात मल्लले मल्टी लेयरमा अभिनय गरेका छन् । उनको अभिनयले दर्शकलाई खिचिरहन्छ । नाजिर, प्रमोद अग्रहरी, रवीन्द्र झालगायतको अभिनयले पनि दर्शकलाई रमाइलो प्रदान गरिरहन्छ । मलिका महतको अभिनय ठीकठाकमात्रै छ । सौगात, नाजिर, रवीन्द्र, प्रमोदहरुको सामुन्ने उनी फिका लाग्छिन् ।

    ‘अगस्त्य’ ट्विस्टहरुको खानी हो । दर्शकलाई त्यही ट्विस्टले नै बाँधेर राख्छ । उही विषय, उही कथा, उही सपाट कमेडी फिल्महरुको बाढीले हलहरु ढाकेको वेला ‘अगस्त्य’ नयाँ स्वाद लिएर आएको छ । यदि सपाट कमेडीले तपाईंहरु बोर हुनुभएको छ र थ्रिलिङ फिल्म हेर्न चाहनुहुन्छ भने ‘अगस्त्य’ बलियो विकल्प हुनसक्छ ।

  • भारतीय अभिनेता गोविन्दाले रौतहटमा मनाए नारी दिवस

    भारतीय अभिनेता गोविन्दाले रौतहटमा मनाए नारी दिवस

    जनकपुरधाम । भारतीय चर्चित अभिनेता गोविन्दाले रौतहटमा नारी दिवस मनाएका छन् ।

    रौतहटको मौलापुरमा आज सुरु भएको मधानी महोत्सवमा सहभागी हुन आएका अभिनेता गोविन्दाले नेपालमै नारी दिवस मनाएका हुन् ।

    अभिनेता गोविन्दा, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह, मौलापुरकी मेयर रीना साहले ‘अन्तर्राष्ट्रिय नारी दिवसको तुल’ (बैलुन) आकाशमा उडाए ।

    नेपालमा नारी दिवस मनाउन पाएकोमा खुशी व्यक्त गर्दै अभिनेता गोविन्दाले नारीलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

    उनले मेयर रीनाले गरेको विकास देखेर खुशी लागेको पनि सुनाए ।

    आजपा अध्यक्ष साहले राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत अधिकार सुनिश्चित होस् भन्ने उद्घोषका साथ आम महिला मोर्चाले मधानी महोत्सवमै ‘अन्तर्राष्ट्रिय नारी दिवसको तुल’ आकाशमा उडाएको बताए ।

  • दमौलीमा ‘सतीदेवी’ को विशेष प्रदर्शन

    दमौलीमा ‘सतीदेवी’ को विशेष प्रदर्शन

    काठमाडौं । लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘सतीदेवी’ को तनहुँमा विशेष प्रदर्शनी गरिएको छ । चलचित्रको विशेष प्रदर्शनी समारोह दमौलीको क्यूएफएक्स हलमा गरिएको थियो । कार्यक्रममा लमजुङको मध्य नेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले चलचित्रलाई प्रदर्शनमा सघाउने प्रतिबद्धता जनाए ।

    उनले मौलिक कथामा बनेको चलचित्रलाई सबैले सघाउनुपर्ने धारणा राखे । ‘हाम्रो नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रलाई हामी सबैले साथ, सहयोग र प्रेरणा दिनुपर्छ,’ उनले भने, ‘देशको कला, संस्कृति र कथालाई चलचित्रको माध्यमबाट विश्वसामु पु¥याउनु निकै सराहनीय कार्य हो । यसले माटोको सुगन्ध बोकेको छ ।’

    चलचित्रले उठान गरेको नारीको मुद्दा गहन र मननीय रहेको उनको भनाइ छ ।

    कार्यक्रममा चलचित्रका निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नम्बर ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय सिर्जनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठलगायतलाई आभार–पत्र प्रदान गरे ।

    चलचित्र लमजुङको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको थियो । चलचित्रले गत महिना सौराहामा आयोजित दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्रको अर्वाड हात पारेको थियो । निर्देशन विधामा पनि चलचित्र उत्कृष्ट भएको थियो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि यसलाई सरकारले सक्दो सहयोग गर्ने वचन दिएकी थिइन् ।

    दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया अमेरिकासँगको सहकार्यमा निर्माण गरिएको चलचित्र प्रदर्शनको तयारीमा छ । दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतको अभिनय छ ।

  • ‘नेपाल आइडल सिजन ५’ आजबाट प्रसारण हुँदै, पहिलो अडिसन बिर्तामोडको

    ‘नेपाल आइडल सिजन ५’ आजबाट प्रसारण हुँदै, पहिलो अडिसन बिर्तामोडको

    काठ्माडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करण आजबाट प्रसारण हुने भएको छ ।

    आज साँझ साढे ८ बजेबाट प्रसारण हुने कार्यक्रमको अडिसन सातै प्रदेशका आठ शहरहरुमा भएको थियो । कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने छ ।

    नेपाल आइडलका निर्देशक सुरेश पौडेल भन्छन, ‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिनुका साथै नेपाली संगीत क्षेत्रका लागि प्रतिभावान गायक–गायिका खोजि गर्नेछ ।’

    त्यस्तै, जज मंध्येका एक न्य्हू बज्राचार्य विगतका सिजनमा भन्दा यो सिजनमा अझ बढी सक्षम गायक–गायिकाहरु अडिसनमा आएको बताए ।

    सांगीतिक क्षेत्रमा सक्रिय अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दास लगायतका गायक–गायिकाहरु नेपाल आइडलबाटै आएका हुन। आजबाट प्रसारण हुन लागेको यस कार्यक्रममा ‘सिजन २’ कै प्रस्तोता र जजहरु छन् ।

    जजका रुपमा न्य्हू बज्राचार्यसंगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले होस्ट गर्दैछन। कार्यक्रम हरेक शुक्रबार र शनिबार साढे ८ देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । आइडलको यो सिजनलाई भिभोले टाइटल स्पोन्सर गरेको छ ।

  • ‘अगस्त्य’को ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक (भिडिओ)

    ‘अगस्त्य’को ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । ‘अगस्त्य च्याप्टर १’ मा समावेश ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । रिलिजको दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।

    एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । गीतको भिडिओमा सौगात मल्ल र मलिका महतलाई देख्न सकिन्छ ।

    सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र गत शुक्रबारबाट रिलिजमा आएको हो । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपाल रिलिजको पाँच दिनपछि विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले चलचित्रलाई युएई, कतार र बहराइनमा पनि रिलिज गरेको छ ।

    मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शन सुरु भएको छ । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो चलचित्र नेपालसँगै प्रदर्शनमा आएको हो ।

    चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    निर्माण पक्षले ‘अगस्त्य च्याप्टर २’ लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

  • बहिनी गुमाएको केही घण्टामै भारतीय टिभी अभिनेत्री डोलीको पनि निधन

    बहिनी गुमाएको केही घण्टामै भारतीय टिभी अभिनेत्री डोलीको पनि निधन

    काठमाडौं । अमनदीप सोहीको निधन भएको २४ घण्टा नबित्दै अभिनेत्री डोली सोहीको निधन भएको छ । डोली र अमनदीप दिदी-बहिनी हुन् ।

    बहिनीको निधन भएको केही घण्टामै भारतीय टेलिश्रृंखलाकी अभिनेत्री डोली सोहीको पनि निधन भएको हो । डोलीकी बहिनी अमनदीप सोहीको गएराति जण्डिसका कारण निधन भएको थियो ।

    बहिनीको निधन केही घण्टामै डोलीको आज निधन भएको हो । ४८ वर्षीया डोली पाठेघरको मुखको क्यान्सर(सर्भिकल क्यान्सर)बाट ग्रसित थिइन् । उनी यस रोगको उपचार समेत गराइरहेकी थिइन् ।

    डोलीका भाइ मनप्रित सोहीले दिदीहरुको मृत्युको पुष्टि गरेका हुन् ।

    ‘डोली दिदीको आज अपोलो अस्पतालमा बिहान करिब ४ बजे निधन भएको हो। उहाँलाई पाठेघरको क्यान्सर थियो जुन उहाँको फोक्सोसम्म फैलिएको थियो । स्वास्थ्य एक्कासी बिग्रिएपछि हामीले उहाँलाई हिजो राति अस्पताल भर्ना गराएका थियौं’, डोलीको निधनबारे मनप्रितले भारतीय सञ्चारमाध्महरुमा भनेका छन् ।

    डोलीले ‘भाभी, कलश, मेरी आशिकी तुम से ही, खुब लडी मर्दानी, झाँसी की रानी’ जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन् । पेशाले डोलीकी बहिनी अमनदीप पनि कलाकार नै हुन् ।

    गत महिना एक ईन्स्टाग्राम भिडिओमा अमनदीप सोहीले पाठेघरको क्यान्सरको कारण आफ्नो मृत्युको झुटो हल्ला फैलाएकीमा मोडल पुनम पाण्डेलाई आलोचना गरेकी थिइन् ।

    आफ्नी दिदी डोली सोही सर्भिकल क्यान्सरसँगै लड्दै गरेकाले रोगलाई लिएर मजाक गरेकोमा आफू र आफ्नो परिवारलाई गहिरो चोट लागेको उनको भनाइ थियो ।

  • नाटक ‘बोक्सीको घर’ माथि केकीले बनाइन् फिल्म, मूख्य भूमिका आफ्नै (भिडिओ)

    नाटक ‘बोक्सीको घर’ माथि केकीले बनाइन् फिल्म, मूख्य भूमिका आफ्नै (भिडिओ)

    काठमाडौं । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर नयाँ चलचित्रको निर्माण गरिएको छ । बद्री अधिकारी निर्माता रहेको फिल्ममा उनकी छोरी केकी अधिकारी प्रमुख भूमिकामा छिन् ।

    नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको छ । सामाजिक(थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।

    केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना अभिनेत्री तथा निर्मात्री अधिकारीको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

    चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

    भिडिओ

  • फुटबलर एन्जिलाबारे बनेको चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

    फुटबलर एन्जिलाबारे बनेको चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक गरिएको छ ।

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र निर्माण टिमले आज पोस्टर सार्वजनिक गरेको हो।

    चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । ‘मुनलभ इन्टरटेनमेन्ट’ को निर्माणमा बनेको चलचित्रको फस्टलुक पोस्टरमा अञ्जिलासँगै अभिनेता दयाहाङ राई फिचर्ड छन् ।

    तुम्बापोको यो डेब्यु चलचित्र हो । पोस्टरमा उनलाई डोको र फुटबल बोकेर हिंडिरहेको देखाईएको छ। चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन। चलचित्रको निर्माता प्रेम कुमार श्रेष्ठ हुन भने सह–निर्माता विनोद अग्रवाल र राजेस बगडिया हुन।

  • हरिवंश भन्छन्- प्रदीपको काममा ढुक्क छु, स्क्रिप्ट नपढि महाजात्राको अफर स्वीकारेँ

    हरिवंश भन्छन्- प्रदीपको काममा ढुक्क छु, स्क्रिप्ट नपढि महाजात्राको अफर स्वीकारेँ

    काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा उदाए प्रदीप भट्टराई । उनी अहिलेका जल्दाबल्दा निर्देशकमा गनिन्छन् ।

    पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनी हिट निर्देशकका रुपमा दरिएका छन् । जात्रापछि निर्देशक भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरे । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए ।

    निर्देशक भट्टराईले आफ्नो गुरु वा पथप्रदर्शक मान्छन् वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई । ‘जात्रा’ मा हरिवंशले एउटा गीत गाएका थिए । प्रदीपको दोस्रो फिल्म ‘शत्रु गते’ मह सञ्चारबाटै निर्माण भएको थियो । ‘महापुरुष’ मा अभिनेता आचार्यलाई प्रदीपले मुख्य भूमिकामा लिए । यस चलत्रिबाट हरिवंश राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता बन्न सफल भए । यसपटक ‘जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ मा उनी एक राजनीतिज्ञको भूमिकामा देखिदैछन् ।

    स्वच्छ र सरल छवीका हरिवंशले यसपटक भ्रष्ट राजनीतिज्ञको चरित्रलाई फिल्ममा प्रस्तुत गर्दैछन् । यसै सन्दर्भमा उनीसँग गरिएको संवादः

    तपाईँलाई खराब राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न के कुराले आकर्षित गर्यो ?

    म आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौँ भन्ने सोच राखेर काम गर्छु । सोही कारण पनि नयाँ र फरक भूमिकामा मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक सन्देश पनि प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

    प्रदीप भट्टराईले निर्देशन गर्नु भएकै कारण विश्वास बढेको हो ?

    एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई फिल्ममा पनि काम गरिसकेको हुँदा म उनको काम प्रति ढुक्क छु ।

    मलाई उनले पात्रको बारेमा सुनाएपछि मैले सहमति दिएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहाँ छ । मैले फिल्म गर्छु भन्दा पूर्णरुपमा स्क्रीप्ट पनि पढेको थिइनँ । किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै सन्देश दिईरहेका हुन्छन् । साथै, प्रदीपले फिल्म प्रस्ताव गर्दा नाई भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

    ‘महापुरुष’ पछि दर्शकको अपेक्षा बढेको छ, त्यसलाई यसले पुरा गर्छ ?

    अवश्य गर्छ । किनकि फिल्मको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । फिल्ममा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउन तपाइँ चाहिन्छ भन्नु भएको थियो । भूमिका त्यही अनुरुप छ ।

    तपाइँले बुझ्नु भएको ‘महाजात्रा’ कस्तो चलचित्र हो ?

    जात्राकै शृङ्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् ।

    उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतीमार्फत पर्दामा ल्याईएको छ । बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति पनि छ । यो गम्भीर विषयको रमाइलो प्रस्तुती हो ।

    तपाइँलाई कुनै भूमिका प्रस्ताव हुँदा के कुरामा बढी ध्यान दिनुहुन्छ ?

    मैले फिल्मको विषयवस्तु हेर्छु । त्यसपछि मेरो भूमिकाको कथामा आवश्यकतालाई हेर्छु । अनि फिल्म निर्माण गर्ने टिमले पछिल्ला काम कस्तो गर्नुभएको छ र मलाई कुन किसिमको प्रस्तुतीकरणमार्फत प्रस्तुत गर्दै हुनुहुन्छ, ती सब हेरेर मैले फिल्म गर्ने वा नगर्न निर्णय लिन्छु । यो प्रदीप भट्टराईमा भने लागु हुँदैन, किनकि उनीसँग दुई दर्शक बढी काम गरेकाले म हरेक पाटोमा विश्वस्त हुन्छु ।

    फिल्ममा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ ?

    अहिले फिल्म निर्माण भन्दा पनि अभिनयमै केन्द्रित छु । म राम्रो निर्माण समूहसँग काम गर्ने योजना अनुसार अभिनयमै केन्द्रित छु । त्यसैले अहिले निर्माणमा केही समय लाग्छ । अहिले मलाई अभिनेताकै रुपमा पाउनु हुनेछ ।

     

  • दयाहाङ-मिरूनाको `रंगेली´ मा आर्यनको सरप्राइज, अहिल्यै दोस्रो सिक्वेल तय

    दयाहाङ-मिरूनाको `रंगेली´ मा आर्यनको सरप्राइज, अहिल्यै दोस्रो सिक्वेल तय

    काठमाडौं । नेपाली सिने क्षेत्रमा अभिनेता दयाहाङ राईको क्रेज जति छ, त्यति क्रेज सायदै सामाजिक सञ्जालमा लाखौं-करोडौं फलोअर्स बोकेर बसेका नेपाली कलाकारको होला । कति कलाकारहरूको चलचित्र कहिले आयो, कहिले गयो भन्नेमा नै दर्शक अनविज्ञ रहन्छन । तर दयाहाङको चलचित्रप्रति भने सबैको चासो हुन्छ ।

    यीनै अभिनेताको प्रतिक्षित मानिएको चलचित्र ‘रंगेली’ आजबाट नेपालभरीका हलहरुमा एकसाथ रिलिज हुँदैछ । केही दिनअगाडि चलचित्रको सेन्सरलाई लिएर खुवै विवाद भएको थियो । सेन्सरको काण्डले गर्दा चलचित्र कस्तो होला भनेर हेर्न दर्शक झनै आतुर छन् ।

    दयाहाङ र अभिनेत्री मिरुना मगरले जोडी बाँधेको यो चलचित्रको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो आयोजना गरिएको थियो जहाँ चलचित्रकै प्रमुख दुई कलाकारहरु दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे ।

    दयाहाङ र मिरुना यही प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कनमा रहेका कलाकारद्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए । उता रातारात दयाहाङ र मिरुना कुद्नुपर्यो भने यता हलमा मध्यरातसम्म पत्रकारलाई पर्खनको दास्ती भयो । कार्यक्रम सुरू नै तोकिएको समयभन्दा धेरै ढिला भयो । सिने जगतमा कुनै पनि कार्यक्रम ढिला हुनु नौलो कुरा होइन ।

    १०० मा ९० वटा कार्यक्रम तोकिएको समयभन्दा ढिला नै हुने गर्दछन् यहाँ, जुन बानी सुधार्न जरुरी छ। एउटै कार्यक्रममा आमन्त्रित पाहुना र पत्रकारले लगभग ७,८ घण्टा बिताउनु भनेको सामान्य कुरा होइन, त्यही पनि रातको समयमा । साढे ४ बजे बोलाइएको कार्यक्रममा पत्रकार र आमन्त्रित पाहुनालाई हलभित्र ईन्ट्री नै झण्डै ७ बजेतिर गराइयो । हलभित्र आधा घण्टाको बोल्ने कार्यक्रम सकिएपछि बल्ल चलचित्र सुरु हुने भयो। हल खुल्न घण्टौ बाहिर पर्खिएका पत्रकार र पाहुना त्यतिखेर हैरान भए जब हलमा चलचित्र सुरु भयो तर साउन्ड आएन ।

    १० मिनेटसम्म पनि साउन्ड म्यानेजमेन्ट नमिलेपछि चलचित्र हेर्न थप आधा घण्टा कुर्न पर्ने भयो । ३ घण्टा चलचित्र हेर्न बाहिरै पर्खिएका पत्रकार र अतिथि थप समय लाग्ने भएपछि घर फर्कने कि बस्ने भन्नेमा दोधार भए । कोही त चलचित्रै नहेरी हलबाट बाहिरिए । साउन्ड बनेर केही समयमा आयो । लगभग सवा ८ मा चलचित्र पुन: सुरू भयो । चलचित्रको रनटाइम लगभग ३ घण्टाको थियो । चलचित्र सकेर आमन्त्रित सबै घर पुग्दा मध्यरात हुनु स्वाभाविक नै थियो । तर, पनि चलचित्र हेर्न दुईवटा हल भरिएका थिए ।

    चलचित्र सुरु हुँदा उत्साहित भएका दर्शक सुरु भएपछि भने केही सेलाए । चलचित्रमा दयाहाङलाई केही भिन्न तवरमा प्रस्तुत गरिएको थियो । ग्याङस्टार चलचित्र भएकाले पनि दयाहाङ र मिरुनालाई यस चलचित्रमा केही फरक तरिकाले प्रस्तुत गरिएको छ । अवैध नक्कली नोट तथा हातहतियार सप्लाई र रंगेलीमा राज गर्ने होडबाजीलाई चलचित्रमा देखाईएको छ । त्यही होडबाजीमा एकले अर्काको ज्यान लिँदै कहानी सकिएको छ ।

    रोचकको कुरा त के छ भने, यो चलचित्रको पहिलो सिक्वेल हो । चलचित्रको दोस्रो भाग पनि दर्शकले हेर्न पाउने छन् । चलचित्रको अन्तिममा नायक आर्यन सिग्देलको ईन्ट्रीलाई रोचक हिसाबले देखाइएको छ । हलभित्र पस्दै गर्दा चलचित्रमा नायक आर्यन सिग्देल होलान् भन्ने सायदै कसैले सोचेका पनि थिए होला । चलचित्रमा निर्माण टीमले सबै कुरा पर्फेक्ट देखाउन खोजेका छन् तर धेरै कुरामा चुकेका छन्।

    धमाकेदार बलिउड र हलिउड शैलीको फाइट र ग्याङस्टार चलचित्र हेर्ने दर्शकको लागी यो चलचित्र केही खल्लो हुन सक्छ। चलचित्र एकदमै सादा छ। कहानी प्रष्टै छ ।

    प्रिमियर पछि चलचित्रको प्रतिक्रिया लिने पालो आयो । २५ प्रतिशत मान्छे पर्खनको हैरानले कोही सुरु त कोही बिचमै निस्किदै थिए । बाँकी भएकाले भने दयाहाङको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा गरे । दयाहाङ र मिरुनाले समेत यो चलचित्र आफ्नो करियरको लागि कोशे ढुङ्गा साबित हुने बताए ।

    कार्यक्रममा बोल्दै दयाले भने, ‘हामी मङ्गलवार राति ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौं । यो चलचित्रबाट निकै आशा छ ।’

    एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए ।

    ‘यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ’, उनले सुनाए ।

    बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । चलचित्र हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्। उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।

    चलचित्रका निर्देशक अर्जुन सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको जनाए। प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले सुनाए।

    बुधवारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

  • पल शाह हेलिकोप्टर चार्टर गरेर रुकुम महोत्सवमा, आयोजकले खर्चिए मोटो रकम

    पल शाह हेलिकोप्टर चार्टर गरेर रुकुम महोत्सवमा, आयोजकले खर्चिए मोटो रकम

    सुर्खेत । नायक पल शाहले रुकुम पश्चिममा आयोजित महोत्सवमा प्रस्तुति दिएका छन् । उनी आज हेलिकोप्टर चार्टर गएर कार्यक्रमस्थल गएका हुन् ।

    रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह-आयोजनामा सञ्चालन भएको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सवमा आज पलले प्रस्तुति दिएका हुन् । मुसिकोट नगरपालिका– १ खलङ्गाको बराहटाकुरामा फागुन १८ गतेदेखि महोत्सव आयोजना भइरहेको छ ।

    पल शाहलाई ल्याउन हेलिकोप्टर चार्टरको व्यवस्था आयोजकले मिलाएको थियो । पलले एक लाखभन्दा बढी पारिश्रमिक पनि लिएको बताइएको छ ।

    हेलिकोप्टर चार्टरका लागि ५ लाख खर्च गरिएको उद्योग वाणिज्य संघका महासचिव अनिल बुढाले नेपाल प्रेसलाई जानकारी दिए ।

    बुढाले भने, ‘रुकुममा पल शाहको माग धेरै भएर हामीले ल्याएका हौं । नत्र यत्रो लगानी किन गरिन्थ्यो । लगानी उठाउन त गाह्रो छ, हामी घाटामा नै हुने हो ।’

    महोत्सवमा टिकट शुल्क १ सय रुपैयाँ तोकिएको छ । आयोजकका अनुसार आज पल शाहलाई हेर्न ५ हजारभन्दा बढी दर्शककले टिकट काटेका थिए । पलले आफू अभिनित फिल्मका गीतमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन गराए ।

    पल शाह दोस्रो पटक रुकुम पश्चिम पुगेका हुन् । गत वर्ष रुकुम पश्चिमको मुसिकोटमा आयोजित र्ओ महोत्सवमा पनि उनी सहभागी भएका थिए । महोत्सव हेर्नका लागि छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोटबाट दर्शकहरु आउने गरेको महासचिव बुढाको भनाइ छ ।

    यस महोत्सवमा पल शाहसहित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), गायकहरु प्रमोद खरेल, प्रकाश सपुत, रामजी खाड, राजु परियार, पशुपति शर्मा, ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान लगायतका कलाकारहरुको प्रस्तुति रहने सह-आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिए ।
    महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

     

  • ‘फिल्म समीक्षकबाट आजित भएँ, दुःख कसलाई पोख्नु ?’

    ‘फिल्म समीक्षकबाट आजित भएँ, दुःख कसलाई पोख्नु ?’

    काठमाडौं । सौगात मल्ल स्टाटर सस्पेन्स थ्रिलर फिल्म ‘अगस्त्य’ एक हप्तादेखि देशभरका हलहरुमा लागिरहेको छ । स्लो स्टार्ट गरेको फिल्मले माउथ पब्लिसिटीसँगै पिकअप लिँदै गएको निर्माण पक्ष बताउँछ ।

    आज सामाजिक सञ्जालमा केही सञ्चारकर्मीहरुले अगस्त्यमाथि हलहरुले शो बाँडफाँडमा विभेद गरेको भन्दै सहानुभूतिपूर्ण स्टाटस लेखे । क्यूएफएक्स चेनले चलचित्रलाई अन्याय गरेको उनीहरुको दाबी थियो ।

    यस विषयमा चलचित्रका निर्देशक साैरभ चौधरी भन्छन, ‘यो विषयमा मेरो चलचित्रको निर्माता टिमहरुले हेरिरहनुभएको छ।’

    हलरुहरुले दिएको उचित संख्यामा अगस्त्यलाई शो दिइरहेको चौधरी बताउँछन् ।

    उनले भने, ‘चलचित्रले सुरुवाती दिनमा भन्दा चौथो दिन पश्चात हलमा दर्शक तान्न सफल भएको छ । अहिले पनि कतिपय हलहरु हाउसफुल छन् । वर्ड अफ माउथले दर्शक तानिरहेको छ ।’

    त्यसो त नेपालका फिल्म पत्रकारहरुसँग गुनासोको ठूलै पोको बोकेर बसेका छन् निर्देशक चौधरी । अगस्त्यलाई सुरुका दिनदेखि फिल्म पत्रकारले डुबाउन खोजेको उनको आरोप छ ।

    मिडियाको प्रहारबाट आफू आजित बनेको उनी बताउँछन् । चलचित्र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिए पनि कथित समिक्षकले रूपमा कलम चलाएको चौधरीले टिप्पणी गरे ।

    ‘मैले त अब समिक्षकका लागि चलचित्र बनाउनु पर्यो कि दर्शकको लागि । समिक्षकले कलम चलाउँदै गर्दा एउटा मान्छेको जिन्दगीमा कतिसम्म असर पर्न सक्छ, त्यो उहाँहरुले सोच्नुपर्छ,’ उनी भन्छन् ।

    निर्देशक चौधरीको भनाइ उनकै शब्दमा

    मलाई पेल्न साथीहरुले नयाँ–नयाँ युटउब च्यानलसमेत खोले । यसलाई ठोक्नैपर्छ भन्ने हेतुले नयाँ च्यानलबाट समेत मलाई पेलिरहनु भएको छ । त्यतिसम्म त ठिकै थियो, अचम्मको कुरा त के छ भने उहाँहरुले मेरो चलचित्रको बारेमा गर्नुभएको नकारात्मक समिक्षामा, दर्शकले सकारात्मक टिप्पणी दिनुभयो भने, त्यो पनि हटाउनुहुन्छ ।

    राम्रो कमेन्ट गर्नेलाई समेत दबाब दिएर कमेन्ट हटाउन लगाउनुभएको प्रमाण मसँग छ । यसलाई ठोक्नैपर्छ भनेर लेख्न बाँकी भएका अन्य साथीहरुलाई पनि चलचित्रको नकारात्मक टिप्पणी गर्न लगाइएको छ । हाम्रो क्षेत्र सानो छ । कुराहरु घुमिफिरी अन्तिममा त्यही मान्छेको कानमा आइपुग्छ । मलाई डर दर्शकसँग हैन, मिडियाका मान्छेहरुसँग हो । मलाई केही नसोधी आफ्नै हिसावले मनमा जे आयो त्यही लेखिदिनुहुन्छ ।

    अहिलेसम्म मलाई कुनै पनि मिडियाका कसैले पनि एकचोटी कल वा मेसेज गरेर मेरो कुरा सुुनिदिनु भएको छैन । आज पहिलोचोटी मिडियाको तर्फबाट तपाईको कल आएको हो । केही लेख्नुअघि एकचोटी मेरो कुरा पनि सुनिदिनुभएको भए हुन्थ्यो । मेरो पनि गुनासा होलान् नि । मेरो कुरा कसले सुन्दिने?

    म त साँच्चै भन्नुपर्दा वाक्क–दिक्क भइसकेँ । यहाँको प्रवृत्ति देखेर यो क्षेत्रै छाडेर पलायन होउँ भन्ने धारणा आईसक्यो । त्यही भएर अचेल मिडियामा आएका केही कुराप्रति म चासै राख्दिन । आफ्नो हिसावले समाचार बनाउँदा रहेछन्, मेरो के काम ?

    मलाई हलवालाहरुसँग केही गुनासै छैन । उहाँहरुले राम्रै शो दिइराख्नु भएको छ । बिग मुभिजले बरु सुरुवाती चरणमा शो दिनुभएको थिएन । पछि उहाँहरुले पनि दिनुभयो । मलाई केही गुनासो छैन । तर आज बजारमा भने छ्याप्ती–छयाप्ती मेरो चलचित्रलाई हाइलाइटमा राखेर क्युएफएक्सले शो दिएन भनेर स्टाटस हालिरहनुभएको छ । यस्ता कुरा त मलाई सोध्नु पर्ने होइन र ? तर, अहँ, आफंै सबैको तर्फबाट लेखिदिनुुहुन्छ । सत्य–तथ्य कसैलाई जान्नै छैन । पत्रकारिता गर्ने भन्नुहुन्छ तर एकजनाले पनि एकचोटी मलाई सोधेर आफ्नो धर्म निभाउनु भयो त?

    दर्शकले चलचित्र राम्रो लाग्यो भनेर हलबाट निस्किनुहुन्छ । बाहिर आएर कलाकारदेखि मलाईसम्म हग गर्नुहुन्छ । दोस्रो भाग छिट्टै ल्याउनु भनिराख्नु भएको छ । तर त्यस्ता सकारात्मक पक्ष मिडियामा कहिल्यै आउँदैनन् । सुरुदेखि सबैले सुरुको भाग स्लो भयो भनेर एउटै कुरामा पेलिरहनुभएको छ । त्यो मैले बुझें । म सच्याउँछुु पनि होला तर त्यतिन्जेलसम्म मलाई पनि सास फेर्न त दिनु । लगातार पेलेको पेल्यै गर्नुहुन्छ ।

    प्रिमियरको दिन पनि म चलचित्रको आधीमै निस्केको थिएँ । हलमा पछाडिको स्पिकरबाट साउन्ड नै आएको थिएन । चलचित्र जुन कलरको थियो, त्यो भन्दा कालो देखाईएको थियो । त्यही भएर टेक्निकल इरर होला भनेर म बिचमै निस्केर करेक्सनतर्फ लागेँ । पत्रकार साथीहरुले जस्तो गुणस्तरमा हेर्नु भए पनि दर्शकलाई राम्रो गुणस्तरको देखाउँछु भनेर म काम तर्फ लागिहालेँ । रातभरी नसुती काम गरे । भोलिपल्ट हलमा चलचित्र केही फरक तरिकाले आयो ।

    प्रिमियर गरिएको नकारात्मक टिप्पणी बटुल्न होइन । केही गल्ती छ भने के सच्याउनु पर्ने हो, त्यो बताउनु पनि हो । त्यही भएर त एकदिन अगाडी हामीले पनि सबैको समिक्षा लिन प्रिमियर गर्ने हो । तर माहोल अर्कै भइदियो । मुख्य कुरा भनेको, मैले समिक्षकको लागी हैन दर्शकको लागि चलचित्र बनाएको हो । समीक्षकलाई कस्तो चलचित्र मनपर्छ मलाई के थाहा ? समिक्षकलाई त हरर मन पर्ला रे । कसैलाई कमेडी मन पर्ला । मैले अब त्यस्तै मात्र चलचित्र बनाउनु ?

    मैले त अब कि समिक्षकका लागि चलचित्र बनाउनु पर्यो कि दर्शकको लागि । समिक्षकले कलम चलाउँदै गर्दा एउटा मान्छेको जिन्दगीमा कतिसम्म असर पर्न सक्छ, त्यो चाहीँ उहाँहरुले सोच्नुपर्छ । सबै मान्छे सबै कुरामा पर्फेक्ट त कहाँ हुन्छ र ?मैले त यहाँसम्म पनि सुनेको छु कि, चलचित्र प्रिमियर गर्नुअघि नै चलचित्रबारे केही पत्रकारहरुले अरुको दिमागमा नकारात्मक कुरा भर्दिसक्नुभएको थियो रे । सब मलाई ठोक भन्ने मात्र छन् । मलाई त मिडियासँगै फोबिया भइसक्यो । मेरो दुखेसो कसलाई सुनाउने ? मैले कसलाई गुहार्ने ? मेरो कुरा राख्दिने को छ ?

    दर्शकको त मलाई अपार माया छ । दर्शकसँग म असीमित खुसी छु । चलचित्रमा गरेको लगानी मैले उठाइसकेको छु । मलाई दर्शकको साथ छ र दर्शकको मायाले मेरो टीम खुसी छ, त्यही सबैभन्दा ठूलो कुरा हो । अरुलाई त जे गरे पनि नसकिने रहेछ । म ढाँट्दिनँ, सुरुवाती दिनमा दर्शकको अकुपेन्सी ५०,६० प्रतिशत मात्र थियो । तर मंगलबारदेखि लगभग हाउसफुल नै छ ।

    आफ्नो कुनै गु्रप छ भने त्यसलाई मात्र उठाउन खोज्ने, अनि अरुलाई पेल्ने प्रवृत्ति छ । हुन त यो उहिलेदेखि चलिआएको चलन हो यहाँ । १९ वर्ष हुँदादेखि यो क्षेत्रमा छु । मैले जहिल्यै देखेकै यहीँ हो । म के भन्नु चाहन्छु भने कसैको बहकाउ वा दबाबमा लागेर र आफ्नो नजिकको मान्छे मात्र भनेर पत्रकारिता नगर्नुहोस् । आफ्नो धर्म छाड्नु भनेको पाप हो । र पाप भनेको घुमीफिरी आउँछ । जब उपरवालाको लौरो लाग्छ नि, तब साह्रै गाह्रो हुन्छ ।

    हामी सबै यही क्षेत्रमा छौ । यहीँ काम गरेर खानु छ । किन हेपाहा व्यवहार गर्ने ? कुनै चिजको नराम्रो पक्ष हुन्छ भने राम्रो पक्ष पनि त हुन्छ नि । कलाकारले त्यत्रो मेहेनत गरेका छन् । पत्रकार साथीहरु आफैं पहिलो भाग स्लो लागेपनि दास्रो भाग ठिक छ भन्दै निस्किनु भएको थियो । राम्रो पक्षलाई पुरै ओभर स्याडो गरेर नराम्रो मात्र देखाइदिनु भयो । उहाँहरुलाई मात्र एउटै प्रश्न, मेरो चलचित्रमा केही पनि राम्रो छँदै थिएन त ?

     

  • ‘अगस्त्य’मा कैंची : भोलिबाट २ घन्टा ३० मिनेटको फिल्म हलमा लाग्दै

    ‘अगस्त्य’मा कैंची : भोलिबाट २ घन्टा ३० मिनेटको फिल्म हलमा लाग्दै

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्य–च्याप्टर १’लाई भोलिबाट दर्शकले केही फरक अन्दाजमा हेर्न पाउने भएका छन् ।

    २ घण्टा ५० मिनेट लामो चलचित्रलाई निर्माण टिमले घटाएर २ घण्टा ३० मिनेटको बनाएका छन। चलचित्र अझ रोचक बनाउन र केही बढी भएको सिनलाई मर्ज गर्न निर्माण टिमले चलचित्रको लम्बाइ घटाएको हो ।

    २० मिनेट लम्बाइ घटाईएको चलचित्रमा केही दृष्यहरु काटेर मिक्स गरिएको छ। चलचित्रको रिलिज डेटबाटै चलचित्र स्लो भएको समीक्षाहरु आएपनि फास्ट स्लोमा भने खासै काम नगरिएको चलचित्रका लेखक तथा निर्देशक सौरभ चौधरी बताउँछन् ।

    उनी भन्छन्, ‘चलचित्र स्लो भयो भनेर दर्शकले भन्नु भएको छैन। मिडियाको मान्छे मात्र उफ्रिरहनु भएको छ । जब की रिलिजपूर्व हामी सबैैले चलचित्र हेरेका थियौ। निश्चल बस्नेतले पनि ठिक छ भन्ने कुरा गर्नुभएको थियो । त्यसैले केही दृष्यहरु हेरबदल गरेर २० मिनेट घटाएको हो ।’

    ‘मैले स्लो–फास्टमा काम गरेर २० मिनेट चलचित्र घटाएको हैन । सिनहरु अगाडी–पछाडी मात्र गरेको छु । बीचमा दुईवटा सिनहरु चलचित्रलाई चाहिन्छ भनेर राखेको थिए । त्यसलाई काटेर मिक्स गरेको छु । लभको केही पोर्सनहरुलाई अगाडी तानेको छु’, उनले थपे ।

    ‘मैले भोलिबाट हलमा चलचित्रको नयाँ भर्जन हाल्दैछु। चलचित्रलाई घटाएर २ घण्टा ३० मिनेटको बनाएर भोलिबाट दर्शकलाई देखाउँदैछु’,उनले जोडे ।

    गत शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य’ मा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, बिजय बराल, आदि लगायतका कलाकारको अभिनय रहेको छ ।

     

     

  • ट्रोलको शिकार भएपछि शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको दुर्व्यवहारसम्बन्धी मुद्दा

    ट्रोलको शिकार भएपछि शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको दुर्व्यवहारसम्बन्धी मुद्दा

    काठमाडौं । दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन् ।

    कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

    शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी हिजो एकतर्फीरुपमा मुद्दा फिर्ता लिएकी हुन् । निकट स्रोतका अनुसार सामाजिक सञ्जालमा भएको चर्को ट्रोलले उनी निकै हतोत्साही बनेकी थिइन् । ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ ।

    कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन् ।

    एउटा पत्रकार सम्मेलनमा उनी धरधरी रुँदै कँडेलले गरेका म्यासेजहरू पढेर सुनाएकी थिइन् । त्यस क्रममा ‘कुरा गरौँ न म रुम मिलाउँछु नि’ भनेर कँडेलले पठाएको म्यासेज वाचन गर्दै उनले प्रश्न गरेकी थिइन्, ‘कुरा गर्न पनि रुम मिलाउनु पर्छ त ?’ उनको यो संवादलाई मनोरञ्जनका रूपमा लिँदै हजारौँले टिकटक र रिलमा भिडियोहरू बनाएका छन् । यो क्रम अहिले पनि जारी छ ।

    यता कँडेलले पनि इन्द्रेणीबाट निकालिएका शर्मिलासहित पाँच कलाकारहरूले आफ्नो चरित्रहत्या गरेको भन्दै अदालतमा मानहानिको मुद्दा हालेका थिए । शर्मिला बाहेकका चार कलाकारहरूसँग यसअघि नै उनले समझदारी गरिसकेका छन् ।

    शर्मिला भने एक्लिएकी थिइन् । शर्मिलाले मुद्दा फिर्ता लिएको थाहा पाएपछि कँडेलले पनि मानहानिको मुद्दा फिर्ता लिएका छन् ।

  • ‘बहुरुपी औरत’ भन्दै पूजालाई समीक्षा अधिकारीको कटाक्ष

    ‘बहुरुपी औरत’ भन्दै पूजालाई समीक्षा अधिकारीको कटाक्ष

    काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जलबाट नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिइन् ।

    समीक्षाले लेखेकी छन्

    ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।

    हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।

    आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।

    बहुरूपी औरत ।’

    पल शाह जेल पर्दा पूजा शर्माले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यसबेला हल–हलमा पुगेर पुजाले रुवावासी गरेकी थिइन् । उनले पलको पक्षमा निकै बयानवाजीहरु पनि गरिन् ।

    पल जेलबाट निस्केपछि भने पूजा उनीसँग चिढिइन् । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् । उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् ।

    अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले बोल्ड स्टेटमेन्ट दिएकी हुन् ।

  • नेगेटिभ क्यारेक्टरमा पूजा, भन्छिन्ः कलाकार भएपछि जस्तो भूमिका पनि गर्नुपर्छ

    नेगेटिभ क्यारेक्टरमा पूजा, भन्छिन्ः कलाकार भएपछि जस्तो भूमिका पनि गर्नुपर्छ

    काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्नेछन् ।

    ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ । अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु’, पूजा भन्छिन् ।

    पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो ।

    ‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ’, पूजाले भनिन् ।

    पूजाका अनुभवमा मान्छेहरु फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।