Category: कलाप्रेस

  • चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ सार्वजनिक (भिडिओ)

    चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को ‘फूल ओइलिएर’ बोलको गीत रिलिज भएको छ । युट्युबमा सार्वजनिक गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ भने चलचित्रका निर्देशक अर्जुन सुवेदीले गीतको शब्द लेखेका छन् ।

    शुक्रबारदेखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले उल्लेखनीय रूपमै शो र दर्शकहरु पाइरहेको छ । बुधवार दिउँसोका शोहरू सन्तोसजनक र साँझका शोहरू हाउसफुल थिए । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो ।

    अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा भने उनलाई केही फरक भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रको क्लाइमेक्समा अभिनेता आर्यन सिग्देलको ईन्ट्री पनि रोचक नै छ ।

    नेपाल रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भइसकेको छ । त्यस्तै, अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा पनि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि कुरा अन्तिम चरणमा पुगेको बताइएको छ ।

    ‘रंगेली’मा मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

    चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् रहेको चलचित्रको छायाकार भने सुशन प्रजापति हुन् ।

     

  • सुरू भयो निफ महोत्सव- सञ्चारमन्त्रीबाट उद्घाटन

    सुरू भयो निफ महोत्सव- सञ्चारमन्त्रीबाट उद्घाटन

    काठमाडौं । सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा सुरू भएको छ ।

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको निफको सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । चैत ५ गतेसम्म चल्ने महोत्सवमा ६० देशका ५ सय बढी फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ ।

    महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । निफको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले नेपाली चलचित्रहरुको विश्वव्यापी बजारीकरणले यस क्षेत्रको आर्थिक अवस्था मजबुद हुने र पूर्वीय संस्कृतिको प्रवर्द्धन साथै विस्तारमा पनि सहयोग पुग्ने विश्वास जनाइन् ।

    सूचना प्रविधिका कारण सिर्जित विश्वव्यापीकरणले नेपाल जस्ता प्राचीन मुलुकहरूको संस्कृति लोप हुने खतरा रहेको भन्दै उनले त्यसो हुन नदिन मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरै भन्दा धेरै चलचित्र बन्नुपर्नेमा जोड दिइन् ।

    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने छ ।

  • ‘लन्डन टु पेरिस’मा डेब्यू हिरोसँग साम्राज्ञीको लिपलक

    ‘लन्डन टु पेरिस’मा डेब्यू हिरोसँग साम्राज्ञीको लिपलक

    काठ्माडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू नायक निश्चल खड्काले जोडी बाँधेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो ।

    सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक मुडमा देखिएका छन् । पोस्टरमा यी दुईको लिपलक देख्न सकिन्छ । चलचित्रमा साम्राज्ञी तथा निश्चलबाहेक कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चलसँगसँगै ‘लन्डन टु पेरिस’बाटै टिकटकर तथा मोडल गरिमा शर्माले पनि नेपाली सिनेमामा डेब्यू गर्दैछिन् ।

    एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

    ‘लन्डन टु पेरिस’ ले ट्राभल लभस्टोरीको कथा पेश गर्छ । घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रका सह–निर्माता सनिश खकुरेल हुन् भने अंकित गौतम चलचित्रका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई अल नेपाल वितरण गर्नेछन् ।

    चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

     

  • हर्क साम्पाङको आग्रह- नेपाली फिल्म मोबाइलमा होइन, हलमा गएर हेरौँ

    हर्क साम्पाङको आग्रह- नेपाली फिल्म मोबाइलमा होइन, हलमा गएर हेरौँ

    काठमाडौं । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई अपिल गरेका छन् । आफ्नो नगरपालिकाले आगामी बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्ने उनले बताए ।

    धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको उल्लेख गरे ।

    ‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हेर्‍यो र सोच्यो भन्ने आभास पक्कै हुनेछ,’ उनले भने ।

    साम्पाङले फिल्म, कला र साहित्यसँग जोडिएको र आफू यसबारे गम्भीर रूपमा सोच्ने व्यक्ति भएको बताए । धरानमा फिल्म छायाङ्कनका लागि सहज हुने गरी चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी निकाल्ने उनले जानकारी दिए ।

    अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रूपमा बुझेको साम्पाङले सुनाए ।

    ‘कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ,’ उनले भने, ‘यो महाजात्रा पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’, उनले भने ।

    संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रूपमा व्याख्या गरेका थिए ।

    ‘यो फिल्मको लागि राम्रो स्थान हो । मेयर साबले भन्नुभए झैँ फिल्मकर्मी यहाँ गतिविधि बढाउने छन् । हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ’, उनले भने ।

    कार्यक्रममा महाजात्राका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया तथा कथाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा लगायतले बोलेका थिए ।

  • जिन्स आउटफिटमा सलोन र करिश्माको प्रेग्नेन्सी फोटोसुट

    जिन्स आउटफिटमा सलोन र करिश्माको प्रेग्नेन्सी फोटोसुट

    काठमाडौं । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी पहिलो सन्तानको पर्खाइमा छन् । यो क्युट जोडीले आज फेसबुकमा प्रेग्नेन्सी फोटोहरू सार्वजनिक गरे ।

    सलोन र करिश्माले जिन्स आउटफिटमा फोटोसुट गरेका हुन् । उनीहरू दुवैले जिन्स ज्याकेट र जिन्स पाइन्ट लगाएका छन् । करिश्माले पाइन्टको जिपर खुला राखेकी छन् । दुवैलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ ।

    सलोन र करिश्माको गत वर्ष मंसिर १२ गते विवाह भएको थियो । तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए ।

  • ‘अगस्त्य’ हेरेका बालेन भन्छन्- निर्देशकको सोच र कलाकारको मेहनत प्रशंसायोग्य छ

    ‘अगस्त्य’ हेरेका बालेन भन्छन्- निर्देशकको सोच र कलाकारको मेहनत प्रशंसायोग्य छ

    काठमाडौं । एक्सन–थ्रिलर चलचित्र ‘अगस्त्य च्याप्टर १’ हेर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह पत्नी सविना काफ्लेसहित हल पुगेका छन्।

    रिलिजको दोस्रो सातामा प्रवेश गरेको चलचित्र ‘अगस्त्य’ हेर्न बालेन पत्नीसहित दरबार मार्गको क्यूएफएक्स हल पुगेका थिए। चलचित्र हेरिसकेपछि उनले चलचित्रका लागी कलाकारले गरेको मेहनतको प्रशंसा गरेका छन्।

    उनले चलचित्रका निर्देशक सौरभ चौधरीको सोच, कलाकारहरूले गरेको मेहनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिए। साहले भने,‘नाजिरको ज्यान गज्जबको बनेको रहेछ । उहाँले ज्यान बनाएर आफूलाई पात्रमा ढाल्न मिहिनेत गर्नुभएको छ।’

    दोस्रो सातामा चलिरहेको सौरभ चौधरी निर्देशित चलचित्रले दोस्रो सातामा केही कम शोहरु पाए पनि दर्शकको चाप भने घटेको छैन। दर्शकको अकुपेन्सी अझै पनि सुखद नै छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । निर्माण पक्ष यतिबेला ’च्याप्टर २’का लागि उत्साहित छ जसलाई सन् २०२६ भित्र प्रदर्शन गर्ने जनाइएको छ ।

  • गायिका बबिना किरातीको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’ सार्वजनिक

    गायिका बबिना किरातीको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’ सार्वजनिक

    काठमाडौं । महेश थुलुङद्धारा गाइएको एक दशकअघिको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’ गायिका बबिना किरातीको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको छ ।

    भुवन थुलुङको शब्द तथा संगीत रहेको यस पुर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीको रहेको छ ।

    पूर्वका रमणीय ठाउँहरुमा छयांकन गरिएको यस गीत भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने गायिका किराती, सम्राट अधिकारी, अनिस मगर, सृष्टि सुब्बा, रश्मी आले मगर लगायत कलाकारलाई फिचरिङ गरिएको छ ।

    इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । यसअघि किरातीको ‘चरी भए’, ओई भन्यो मायाले’, ‘चाइनाको रेल’ ‘बेचिदिन्थे यो जवानी’ लगायत गीत हिट छन् ।

  • जात्रा सिक्वेलमा छोटो भूमिकाबाटै छाप छोडेकी वर्षा, ‘महाजात्रा’ बारे के भन्छिन् ?

    जात्रा सिक्वेलमा छोटो भूमिकाबाटै छाप छोडेकी वर्षा, ‘महाजात्रा’ बारे के भन्छिन् ?

    अहिलेको व्यस्त र चर्चित अभिनेत्रीमा पर्छिन् वर्षा राउत । करिअरको सुरुवातमै सफल चलचित्रको ह्याट्रिक गरेकी उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन ।

    सन् २०१६ मा ‘नाई नभन्नु ल’ ४ बाट डेब्यू गरेकी वर्षाले सोही वर्ष ‘छक्का पञ्जा’ र ‘जात्रा’ मा काम गरिन् र तीनवटै चलचित्र हिट भए ।

    तीनवटै चलचित्रमा वर्षाको भूमिका लामो थिएन तर उनले बेग्लै छाप छोड्न सफल भएकी छन् । हट र चञ्चल युवतीदेखि जिम्मेवार गृहणीसम्मको भूमिकामा फिट हुन सक्ने खुबी देखाइन् ।

    वर्षाको नयाँ चलचित्र ‘महाजात्रा’ दर्शकमाझ आउँदैछ, जुन ‘जात्रा’ को तेस्रो सिक्वेल हो । यो सिक्वेलमा वर्षाले सम्पदा/सम्पूको भूमिकामा अभिनय गर्दै आएकी छन् ।

    ‘महाजात्रा’ रिलिजको पर्खाइमा छिन् अहिले वर्षा । हरिवंश आचार्यको समेत महत्वपूर्ण भूमिका रहेकाले महाजात्राले दर्शकमा पनि बलियो हाइप बनाइसकेको छ ।

    जात्रामा काम गर्दा वर्षाका लागि कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई र अभिनेता विपिन कार्कीको टीम नयाँ थियो । उनले रवीन्द्रलाई ‘टल्क जङ्ग भर्सेस टुल्के’ मा नोटिस गरेकी थिइन् ।

    विपिनको ‘भष्मे डन’ बारे परिचित भएपनि धेरै चिनजान थिएन । प्रदीपको उनले न नाम सुनेकी थिइन् न काम देखेकी । तर, अहिले यो टीम उनलाई परिवारजस्तो लाग्न थालिसकेको छ ।

    वर्षासँग ‘जात्रा’ सिक्वेलको सेरोफेरोमा गरिएको संवादः

    विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाईं म्युजिक भिडियोबाट ‘जात्रा’ मा जोडिनुभयो । त्यसबेला काम गर्न कतिको सहजता भएको थियो ?

    सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन भनेर त्यही अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।

    तपाईंको नजरमा वर्षाको सम्पदा (सम्पु) कस्तो क्यारेक्टर हो ?

    सम्पु एउटा असल र इमान्दार महिला हो । त्यही भएर नै उसले फणिन्द्रसँग साधारण पुरुषसँग जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फणिन्द्रको इमान्दारिताले आकर्षित गरेको थियो । ‘महाजात्रा’मा अझै संघर्षशील गृहणी बनेकी छ ।

    परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।

    फिल्ममा तपाईंको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि ?

    हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरि मूल कथा नै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

    पहिलो फिल्ममा हिरोइन भन्नुभएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो । कसरी मिल्यो यस्तो संयोग ?

    त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोचसहित नै आएकी थिएँ । म हिरोइनमै सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न की भन्ने नै लागेन ।

    तपाईंको बुझाईमा ‘महाजात्रा’ के हो ?

    ‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

    डेब्यु वर्षमै तीन सफल फिल्म दिनुभएपछि भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ?

    कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ ।

    त्यसैले आफूलाई पर्दामा ल्याइराख्नु पर्ने दबाबसँगै फरक गर्नु पर्ने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

    कस्तो फिल्ममा देखिन मन छ ?

    मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ । ‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ ।

    मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथलाई पर्दामार्फत दर्शकसम्म पुर्याउन मन छ । ती पात्रप्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ ।

     

  • केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

    केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओलीले अभिनेता राजेश हमालसँग सिनेमा संवाद गर्ने भएका छन् ।

    नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र हमाल संवाद गर्ने भएका हुन् ।

    सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा हुनेछ भने अवलोकन निःशुल्क गर्न पाइनेछ ।

    चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् ।

    महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् ।

    बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् ।

    छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति भने शनिबार नै फिल्म समिक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।

    शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् ।

    सबै सेसनहरु पर्यटन बोर्डमा सन्चालन हुने छन भने सुत्र टिभ, निफ लगायत विभिन्न समाजिक सन्जालहरुबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

    विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा–नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ ।

    महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यो सालको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।

     

  • दर्शक लोभ्याउने शोभित-जयकिशनको ट्रिकः धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नुहोला !

    दर्शक लोभ्याउने शोभित-जयकिशनको ट्रिकः धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नुहोला !

    काठमाडौं । आफ्नो चलचित्रमा दर्शक लोभ्याउन निर्माता-निर्देशक शोभित बस्नेतले नयाँ ट्रिक लगाएका छन् । उनको होम प्रोडक्सन फिल्म ‘बद्रीबहादुर’ को पोस्टरमै लेखिएको छ- धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नुहोला ।

    विगतमा अत्यधिक संख्यामा चलचित्र बनाउने तर गतिला नबनाउने निर्देशकका रुपमा चिनिन्थे शोभित । पछिल्लो समय भने उनले धेरै चलचित्र निर्देशन गरेका छैनन् । उनले बनाएको चलचित्र ‘डाँडाको वरपिपल’ ले हलमा पानी पनि भन्न पाएको थिएन । अहिले उनले आफ्नै भाइ जयकिशन बस्नेतलाई प्रमुख भूमिकामा खेलाएर ‘बद्रीबहादुर’ निर्माण गरेका हुन् ।

    यस चलचित्रमा शोभितका छोरा सलोन बस्नेत र नायिका पुजा शर्मा अतिथि भूमिकामा छन् । छुल्ठिम गुरुङ, राजीव बस्नेत धिरेन शाक्य, वर्षा चौंलागाईं लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निर्देशक शोभित आफैं पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

    आउँदो चैत्र २३ गतेबाट रिलिज हुने यस चलचित्रको एउटा गीत ‘पुलिस दाई’ आज एक कार्यक्रममा प्रिमियर गरिएको छ । गीतमा सलोन र पूजा फिचर्ड छन् । उनीहरुलाई यही गीतमा मात्रै देख्न सकिने छ । गीतमा शिवम् अधिकारीको शब्द रचना, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ ।

    No description available.

  • जुन ९ देखि लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन’ आयोजना हुने

    जुन ९ देखि लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन’ आयोजना हुने

    काठमाडौं । ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लन्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो ।

    आयोजकले थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिनेछ ।

    बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवर्द्धन हुने जानकारी दिँदै भने, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुराउनेछ । साथमा, नेपाली कला, संस्कृतिलाई पनि प्रवर्द्धन गर्नेछ ।’

    यो महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजार समेत विस्तार हुने बताइएको छ ।

    थर्ड आइले करिब ४० जना हाराहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरू महोत्सवमा सहभागी हुने बताएको छ । महोत्सव जुन ९ तारिखबाट सुरु हुने महोत्सव जुन १५ तारिखसम्म चल्नेछ ।

    आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट दश वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ ।

    आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।

  • एलिनाको कार्यक्रममा साउण्ड सिस्टम नदिने व्यवसायीको चेतावनीमा लोक दोहोरी प्रतिष्ठानको घोर आपत्ति

    एलिनाको कार्यक्रममा साउण्ड सिस्टम नदिने व्यवसायीको चेतावनीमा लोक दोहोरी प्रतिष्ठानको घोर आपत्ति

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहानको कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनीको विरोध गरेको छ ।

    प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले विज्ञप्ति जारी गर्दै साउण्ड सिस्टम व्यवसायीहरुले जारी गरेको विज्ञप्ति र त्यहाँ उल्लेखित शब्दावलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    व्यवसायीको विज्ञप्तिले कलाकार र साउण्ड इन्जिनियर, टेक्निसियनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने प्रतिष्ठानले जनाउँदै साउण्ड सिस्टम उपलब्ध नगराउने अभिव्यक्तिप्रति घोर आपत्ति जनाएको हो ।

    साउण्ड सिस्टम व्यवसायीले गायिका एलिनाले माफी नमागे उनको कार्यक्रममा साउण्ड सिस्टम नै उपलब्ध नगराउने चेतावनी दिएको थियो ।

    एलिनाले माफी मागिसकेकी छन् । पर्वतको तेस्रो महोत्सवममा फागुन २ गते राति प्रस्तुतीका क्रममा एलिना र साउण्ड सिस्टम टेक्निसियनबीच भनाभन भएको थियो ।

  • ‘रुमानी रङ्ग’ मा पाँच विदेशी कलाकार खेलाइने, अष्ट्रेलियन नायिका खोजिँदै

    ‘रुमानी रङ्ग’ मा पाँच विदेशी कलाकार खेलाइने, अष्ट्रेलियन नायिका खोजिँदै

    काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘रुमानी रङ्ग’ मा ५ जना विदेशी कलाकारहरूलाई अभिनय गराइने भएको छ ।

    चलचित्रको दोस्रो नायिकामा अष्ट्रेलियन नागरिकलाई छनोट गरिने चलचित्र स्रोतले बतायो ।

    हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएको दाबी समेत गरिएको छ । छिट्टै नै २१६ जनाबाट टप १० छानिने र उनीहरूमध्ये एक जनालाई दोस्रो मुख्य अभिनेत्री छनौट गरिने भएको हो । चलचित्रको अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले हेर्दै छन् ।

    निर्माता तथा प्रस्तुतकर्ता जिएम ठकुरीले अष्ट्रेलियाबाट चाँडै नै सम्पूर्ण कलाकारको छनौट गरिने बताए । यो चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा र संवाद पनि उनी आफैँले लेखेका हुन् ।

    ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो चलचित्र हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा यो चलचित्र निर्माण हुँदैछ । यो सिनेमालाई नेपालमा काफिया फिल्मस् र कुबेर सिने फिल्म्सले प्रदर्शन गर्नेछन् ।

  • ‘पुजार सार्की’ का मैतबहादुर परियार : जन्मदिनमा सार्वजनिक गरियो प्रदीपको लुक्स

    ‘पुजार सार्की’ का मैतबहादुर परियार : जन्मदिनमा सार्वजनिक गरियो प्रदीपको लुक्स

    काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘पूजार सार्की’ को धमाधम छायांकन भइरहेको छ ।

    तीन चर्चित नायकहरूलाई एक साथ अभिनय गराइएको हुँदा यो एउटा बहुप्रतिक्षित चलचित्र हो ।

    यस चलचित्रका एक नायक आइतबार आफ्नो जन्मदिन मनाउँदै छन् । उनको जन्मदिनको अवसर पारेर चलचत्रिको छायांकन स्थलबाट एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा प्रदीप विल्कुलै फरक अवतारमा देखिन्छन् ।

    उनी विवाहमा दमाहा बजाउने ‘दमाई’ को रुपमा खुलेका छन् । लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्सले दर्शकमा थप उत्सुकता पैदा गर्न सक्छ ।

    यो चलचित्रमा प्रदीप ‘मैत बहादुर परियार’को भूमिकामा छन् भने आर्यन सिग्देल भने पुजारीको भूमिकामा छन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने कुनै जानकारी गराइएको छैन । चलचित्रलाई आगामी जेठको पहिलो साता प्रदर्शन गर्ने तयारी छ ।

    करिब ४० दिनदेखि कास्की जिल्लाको कास्कीकोटमा छायांकन भइरहेको चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेललगायत कलाकारले अभिनय गरेका छन् ।

  • विनय र सौरभले ल्याए नयाँ र्याप– भेटेर कुरा गरौँन, म रुम मिलाउँछु…

    विनय र सौरभले ल्याए नयाँ र्याप– भेटेर कुरा गरौँन, म रुम मिलाउँछु…

    काठमाडौं । अहिले सामाजिक सञ्जालमा चर्कोरुपले भाइरल भइरहेको संवाद ‘म रुम मिलाउँछु।।’ माथि गीतसमेत बनेको छ । र्यापरद्वय विनय कार्की क्षेत्री र सौरभ ढकालले यो र्याप गाएका हुन् ।

    गीतको लिरिक्स ‘हामी भेटेर कुरा गरौं न है म रुम मिलाउँछु’ बाट सुरु भएको छ । त्यसपछिका शब्दहरु भने अरु नै छन् । दुई दिनअघि रिलिज गरिएको र्यापलाई अहिलेसम्म ७२ हजारपटक हेरिसकिएको छ भने झण्डै दुई सयले प्रतिक्रिया जनाएका छन् । प्रतिक्रियाहरु मिश्रित छन् ।

    भिडिओको लिरिक्स ‘भाइरल वर्ड’ भनिएको छ । र्यापको लिरिक्स भने सौरभले लेखेका हुन् । भिडिओको निर्देशन शिशिर अर्यालले गरेका छन् ।कार्कीले कसैको भावनालाई ठेस पुर्याउन नखोजेको प्रष्टीकरणसमेत दिएका छन् ।

    उनले युट्यूवमै लेखेका छन्, ‘कसैको भावनालाई लक्ष्यित गर्ने सोचले यो गीत बनाएका होइनौं । संगीतको ‘जामिङ प्राक्टिस’ गर्ने क्रममा प्रतिभाशाली भाइ सौरभ ढकाल र मेरो सहकार्यमा अचानक बन्न गएको हो । त्यो शब्दबाहेक हरेका शब्दहरुको अर्थ फरक छ । धेरै जनाको सल्लाहमा यो गीतलाई सामान्यरुपमा रिलिज गरेका छौं र असर पर्न गएमा माफी चाहन्छौं ।’

    इन्द्रेणीबाट निकालिएकी कलाकार शर्मिला श्रेष्ठले धरधरी रुँदै एउटा पत्रकार सम्मेलनमा प्रस्तुत भएकी थिइन् । आफूलाई इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको भन्दै उनले कँडेलले पठाएका केही म्यासेज रुँदै पढेर सुनाएकी थिइन् । उनले सुनाएको म्यासेजको एउटा अंश थियो ‘हामी एक दिन भेटेर कुरा गरौंन है म रुम मिलाउँछु ।’

    तर, शर्मिलाले यसरी पिडा ओकल्दा मानिसहरुले मजाक बनाए । उनको यो संवादमाथि हजारौं रिल र टिकटक भिडिओ बनेका छन् । यतिसम्म कि विदेशी नागरिकले समेत भिडियो बनाएको पाइएको छ । आफूमाथि चर्को ट्रोल भएपछि शर्मिलाले कँडेलमाथि हालेको यौन दुव्र्यवहारको मुद्दा समेत फिर्ता लिन वाध्य भइन् ।

  • एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु

    एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु

    लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ ।  १८ वर्षकै उमेरबाटै एडल्ट फिल्म सुरु गरेकी लियोनीको २६ वर्षको उमेरमा मृत्यु भएको हो।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन।

    लियोनीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको बताइएको छ ।

    मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको बताइएको छ भने निधनको पुष्टि सोफियाका सौतेनी पिता माइक रोमेरोले गरेको छन्।

    स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे खोजबिन गरिरहेको बताइएको छ । यस अघि ३६ वर्षीया अभिनेत्री काग्नी लिले पनि आत्महत्या गरेकी थिइन् । जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।

  • प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

    प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

    काठमाडौं । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्।

    गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तिम संस्कार’ निर्देशन गरेका निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन। ‘शाइ प्रोडक्सन नेपाल’को ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।

    अभिनेता खड्काको जन्मदिनको अवसर पारेर शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो। चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।

    थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए। चलचित्रमा मिथिकल एलिमेन्ट्सहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिएका छन।

  • किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी

    किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी

    काठमाडौँ । अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् ।

    प्रविधिले सहज बनाएता पनि पुराना चलचित्रकर्मीको उपस्थिति भने कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, मदन घिमिरे, प्रदीप श्रेष्ठ, ज्ञानेन्द्र देउजालगायतका प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन असहजता भइरहेको छ । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उहाँहरूको काम सङ्ख्यात्मक हिसाबमा निकै कम छ ।

    गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताए । उनले भने, “मैले चलचित्रमा काम गरेँ, तर ती काम दर्शकले थाहा पाउनुभएन, अहिले चलचित्र भवनले गर्दा पनि प्रदर्शनमा सहज छैन ।”

    उनले देशभरका आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स)मा प्रकाशित हुने शो सङ्ख्याले चलचित्र राम्रो कि नराम्रो भन्ने धारणा बन्ने गरेको बताए । उनले चलचित्र प्रदर्शन अगाडि शो सङ्ख्याले नेपाली चलचित्रलाई असर गरिरहेका बर्ताए ।

    निर्देशक देउजाले निर्देशन गर्को ‘उपहार’ चलचित्र भवनमा प्रदर्शनरत छ । उनले एकदशकपछि ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उहाँले निरन्तरता दिने सोच बनाए । उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । निर्देशक देउजाले आफू पनि डिजिटल प्रविधिमा ‘अपग्रेड’ भएर आएको बताए ।

    “अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ, हामीले दशक आगाडिको शैलीमै काम गर्यौँ भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ, म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रुपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु”, निर्देशक देउजाले भने ।

    ‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’ लगायतका चलचित्र निर्देशन गर्नुभएका निर्देशक प्रदीप श्रेष्ठले भने अहिले निर्माण लागत बढेका कारण पनि असहजता थपिएको बताए । “अहिले चलचित्रको लागत बढेको छ, बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन, सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो”, निर्देशक श्रेष्ठले भने, “अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको पचास प्रतिशतभन्दा बढी हुन्छ, मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर निर्णय लिन विविध कारणले ढिलाइ भइरहेको छ ।”

    उनले महँगो लागतमा चलचित्र निर्माणले घाटाको सम्भावना बढी हुनेमा जोड दिए। डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायतका समस्याले अहिले लगानी असुरक्षित हुने गरेको उहाँहरूको निष्कर्ष छ ।

     

  • ‘गाजले’को भिडियो सार्वजनिक

    ‘गाजले’को भिडियो सार्वजनिक

    काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिवार सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ ।

    राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । गीत म्युजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो ।

    डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् ।

    मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मन पर्ने कुरा उल्लेख गरेकी छन् ।

    भिडियोमा हरि हुमागाईँको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    एल्बम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदित नारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिइन् ।

    यसपछि उनले ‘यति धेरै मान्छेहरूको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा ल्याइन् ।

  • माधव बरालको ‘भूमि–चिन्तन’ विमर्श

    माधव बरालको ‘भूमि–चिन्तन’ विमर्श

    काठमाडौं । कर्मचारीतन्त्रमा दुई दशक काम गरेका माधव प्रसाद बरालले ल्याएको पुस्तक ‘भूमि–चिन्तन: स्वामित्व र उपयोगमा पुनर्विचारनको बहस’ को विमर्श भएको छ ।

    आज नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा पुस्तकको औपचारिक विमर्श भएको हो । विमर्श समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व सचिव किशोर थापा लगायतका वक्ताहरूले आफ्नो विचार राखेका थिए ।

    भट्टराईले पुस्तक चुस्त, सहजै पढ्न सकिने भएको भन्दै चिया गफमा वा मदिरा लिएको अवस्थामा मात्रै भनिने सत्यहरू लेखक बरालले हाकाहाकी किताबमै भन्ने आँट गरेको बताए ।

    उनले नेपालको राज्य फैलावटमै पनि भूमिको मुद्दा एक प्रमुख मुद्दा भएको भन्दै भूमि चिन्तन किताबमा लेखकले बहस राम्रो ल्याएको बताए । पूर्व सचिव किशोर थापाले नेपालमा भूमिको समस्या अन्त्य भएमा ठूला परियोजना आधि सकिएको आफूले मान्ने बताएका छन् ।

    भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकमा लेखकले नेपालमा राज्यको स्वामित्वले भूमि आएमा नेपालको ‘विद्यमान ८० प्रसिशत भ्रष्टाचार समाप्त भएर जानेछ’ भनेका छन् ।

    यस्तै समृद्धिको सवालमा पनि राज्यको स्वामित्वको भूमि उपयोग अनिवार्य भएको भन्दै किताबको निष्कर्षमा बरालले भनेका छन्, ‘राज्यको स्वामित्वमा रहेको ७२ प्रतिशत भूमिको विविध र बहु आयामिक उपयोग बिना नेपाल र नेपाली जनताको समृद्धि सम्भव छँदै छैन ।’

    बजारमा उपलब्ध १८० पेजको यो पुस्तकको मूल्य ४०० छ ।