Category: कलाप्रेस

  • विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

    विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

    काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।

    रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो ।

    यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन् ।

    सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

    चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित भए । रङ्गमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त भएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ । उनले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकारे ।

    “नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन”, अभिनेता मल्लले भने, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो । नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ ।”

    अभिनेता मल्लझैँ नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्छन् । षट्कोण आर्टस्मार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्र्किका छैनन् ।

    “षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो । तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन । अरुको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो । म नाटकमा देखिने तयारीमै छु”, अभिनेता बानियाँले भने ।

    व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए ।

    “रङ्गकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरुआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, सापकोटाले भने, “मैले पनि पाँच वर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ । हामीले रङ्गमञ्चमा फर्किँदा नै अभिनय बाँच्न पाउँछौ ।”

    आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ । रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पण्मी गरे ।

    “रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँमात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछन्, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला”, अभिनेता नेपालले भने, “नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।”

    अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गरे । ‘जात्रा’मार्फत चलचित्रमा स्थापित भएपछि उहाँ पनि रङ्गमञ्च फर्किन सक्नुभएको छैन तर उहाँले नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने बताए।

    “हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ । मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौँ । चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न”, अभिनेता झाले भने । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ ।

    रासस

  • बलिउड अभिनेत्री तापसी पन्नुले कसिन् लगनगाँठो

    बलिउड अभिनेत्री तापसी पन्नुले कसिन् लगनगाँठो

    काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छन् । उनले पूर्वओलम्पिक पदक विजेता तथा डेनमार्कका ब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी हुन।

    अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्लेयर समेत रहेका म्याथियास र तापसी एक दशकदेखि प्रेम सम्बन्धमा थिए।

    भारतीय सञ्चारमाध्यमका अनुसार मार्च २३ मा यी दुईले भारतको उदयपुरमा लगनगाँठो कसेका हुन् । विवाह समारोहमा परिवारका सदस्य, निकट साथी र केही बलिउड सहकर्मीको उपस्थिति थियो।

    इण्डियन एक्सप्रेसको अनुसार यी दुईले शिख र इसाई परम्पराको मिश्रणअनुसार आफ्नो विवाह सम्पन्न गरेका हुन। विवाह उत्सव मार्च २० देखि सुरु भएको थियो।

    गत मार्चमा विवाहबारे सोधिएको प्रश्नमा तापसीले आफूले सही समयमा सही निर्णय गर्ने अभिव्यक्ति दिएकी थिइन् ।

  • ४० नेताको दलबल लिएर महाजात्रा हेर्न पुगे ओली, दिए १० मा ९.५ नम्बर

    ४० नेताको दलबल लिएर महाजात्रा हेर्न पुगे ओली, दिए १० मा ९.५ नम्बर

    काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेका छन् ।

    सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । उनले चलचित्रलाई १० मा ९.५ नम्बर पनि दिए ।

    ‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाए । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

    अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिएँ । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् ।

    ‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे, फिल्म त्यतिमै सिमित छैन । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ । मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, ओलीले भनिन् ।

    अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

  • सुशान्त बस्यालको स्वास्थ्यमा झिनो सुधार, शरीर चल्मलाउन थाल्यो

    सुशान्त बस्यालको स्वास्थ्यमा झिनो सुधार, शरीर चल्मलाउन थाल्यो

    काठमाडौं । सवारी दुर्घटनामा परेका स्ट्यान्ड अप कमेडियन सुशान्त बस्यालको स्वास्थ सुधारोन्मुख बनेको छ । पूरा होसमा नआए पनि उनले केही प्रतिक्रिया जनाउन थालेका छन् ।

    दुर्घटनास्थलबाट ल्याएर सुशान्तसहित ४ जनालाई मध्यपुर ठीमी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये क्रिटिकल अवस्थामा रहेका सुशान्तलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । आफैं श्वासप्रश्वासका लागि सक्षम भएपछि हिजो उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ ।

    अस्पताल स्रोतका अनुसार सुशान्तले हातगोडा अलिअलि चलाउन थालेका छन् । कसैले बोलाउँदा हल्का आँखा खोल्छन् । आज मुखबाट आवाज पनि निस्किएको थियो । यद्यपि, उनी खतरामुक्त भइनसकेको अस्पतालका चिकित्सकको भनाइ छ ।

    अस्पतालमा रहेका पवन भट्टराई र रजनिश अर्याल डिस्चार्ज भएका छन् । पवनको च्यापुमा र रजनिशको नाकमा चोट लागेको थियो । प्रकृती गिरी भने अस्पतालमै छिन् ।

  • विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे

    विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे

    काठमाडौं । ‘धोकेबाज गायिका’ एलिना चौहान बिहेको तयारीमा जुटेकी छिन् । अचम्ममा नपर्नुहोला, एलिनाका भावी श्रीमान् अरू कोही नभएर अष्ट्रेलियानिवासी विष्णु सापकोटा नै हुन् ।

    दुई महिना अगाडि मात्रै एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । नेपाल प्रेसले उनीहरूको ‘ब्रेक अप’ को खबर ब्रेक गरेपछि एलिनाले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले ब्रेकअपको स्वीकारोक्ति गरे पनि आफ्नो इच्छाबिना र सही समयको पर्खाइबिना समाचार लेखिएको गुनासो गरेकी थिइन् ।

    ‘म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु, तर पनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ । थाहा छ– धेरैले मेरो धेरैभन्दा धेरै कुराहरू थाहा पाउन चाहनुहुन्छ। तर यो भन्दैमा सञ्चारकर्मीहरूले मेरो इच्छाबिना अथवा सही समयको पर्खाइबिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रूपमा पीडा दिनु भएन,’ उनले लेखेकी थिइन् ।

    तर, यो जोडीको सम्बन्धमा फेरि अर्को ट्विस्ट आएको छ । उनीहरू अहिले फेरि प्रेममा छन् । कसरी त ?

    निकटस्थ स्रोतका अनुसार समाचार बाहिरिएको केही समयपछि विष्णु नेपाल आएका थिए । पोखरा/स्याङ्जातिर एकजना साझा साथीको विवाहमा एलिना र विष्णुको भेट भयो । उक्त भेटमा कुराकानीपछि प्याचअप भएको स्रोतको दाबी छ । कपाल, दारी खौरेर नयाँ लुक्समा आएका विष्णुले आफूबाट विगतमा गल्ती भएको स्वीकारेका थिए । एलिना पनि उनीसँग कन्भिन्स्ड भइन् । त्यसपछि उनीहरू फेरि अफेयरमा छन् ।

    एलिना र विष्णुले आफूहरूको प्याचअपको समाचार भने गोप्य राखेका थिए । विवाहकाे मिति तय भएपछि उनीहरुले खबर बाहिर ल्याएका हुन् । वैशाख ५ मा विवाह गर्ने तय भएकाे छ । एलिनाले लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ । बिष्णुको बुवाआमा एलिनाको घरमा गएर कुराकानी गरेको पनि स्रोतले बताएको छ ।

    एलिना–विष्णुको प्रेम सम्बन्धको पटकथामा यो अन्तिम ट्विस्ट होस भन्ने कामना गरौं ।

    (समाचार प्रकाशनपछि बिष्णु सापकोटाले नेपाल प्रेसमा फोन सम्पर्क गर्दै असन्तुष्टि जनाएका छन् । आफूहरुबीच ब्रेकअप नै नभएको उनको दाबी छ । दुवैकाे निजी जीवनमा असर पर्नसक्ने गुनासो उनले गरेका कारण  हेडलाइन र समाचारमा केही संशोधन गरिएको छ- स‌म्पादक)

  • चलचित्र समीक्षा: ‘जात्रा’ को उचाइ छुन नसकेको ‘महाजात्रा’

    चलचित्र समीक्षा: ‘जात्रा’ को उचाइ छुन नसकेको ‘महाजात्रा’

    काठमाडौं । सुरुमै भनाैं, ‘जात्रा’ र ‘जात्रैजात्रा’ हेरेका दर्शकलाई ‘महाजात्रा’ ले उस्तो रोचकता थप्दैन । ‘जात्रा’ अगाडि ‘महा’ जोडिए पनि तेस्रो सिक्वेलमा आइपुग्दा फिल्म निर्बल बनेको छ । अघिल्ला सिक्वेलकै मर्मलाई समातेर कथा तानतुन गरिएको छ । केही नयाँ चरित्र थपिएका छन् । केही नयाँ प्लटहरुमा खनजोत गरिएका छन् । अघिल्ला सिक्वेलको तुलनामा सबैभन्दा नयाँ चाहिँ ५० करोड थपिएको छ । अर्थात् पात्रहरु ९० लाखको लोभमा एक गाडी कालोधन लुकाइदिन संघर्ष गर्छन् ।

    निर्देशक प्रदीप भट्टराईले पुरानै हतियारलाई पुनः आरनमा हालेर पाइन लगाएका छन् । तर, धारिलो बनाउन सकेका छैनन् । आरनमा हाल्नुअघिकै हतियार अलि धारिलो थियो बरु । ‘महाजात्रा’ हेरिरहँदा लाग्छ, ‘जात्रा’ नै काफी थियो । केही नयाँ दृश्य, विषय र पात्रले भरिएको ‘महाजात्रा’को अगाडि ६ वर्षअघिको ‘जात्रा’ निकै नै गह्रुंगो छ ।

    यस पटक निर्देशक भट्टराई राजनीतिमा घुसेका छन् । तर, निर्देशकका लागि राजनीति भँडासमात्रै हो कि अन्य थोक पनि केही हो ? यहाँ स्पष्ट हुन सकेको छैन । राजनीतिज्ञ बनाएर निर्देशकले पुण्यप्रसाद (हरिवंश आचार्य)लाई फिल्ममा छिराएका छन् । तर, नेता पुण्यप्रसाद राजनीतिज्ञ कम, युट्युबतिर गफ छाँट्ने कथित् विश्लेषक/अभियन्ता ज्यादा देखिन्छन् ।

    फिल्ममा भाइरल इन्स्पेक्टरको रुपमा खत्री (दिव्य देव)ले भूमिका निभाएका छन् । भाइरल इन्स्पेक्टरले आफ्नो धन्धामा टाँग अड्याउन आएपछि पुण्यप्रसाद सीधै प्रहरी कार्यालय पुगेर सिनियर प्रहरीको अगाडि इन्स्पेक्टरलाई युट्युबे शैलीमा सम्झाउँछन्/थर्काउँछन् ।

    राजनीति भ्रष्ट छ, नेताहरु भ्रष्ट छन् । तर, उनीहरुले पुण्यप्रसादले गर्ने जस्तो हर्कत गर्दैनन् । गर्नैपर्ने भए प्रहरीको माथिल्लो निकायसँग सीधै सरुवा-बढुवाको काम गराउनसक्ने क्षमता भएका भावी गृहमन्त्रीले इन्स्पेक्टरलाई थर्काउनुको तुक देखिँदैन । पुण्यप्रसाद नेता हुन् भन्ने आभास उसको ड्रेसअपले मात्रै दिन्छ, चरित्रमा नेता महसुस गर्न गाह्रो छ ।

    भाइरल इन्स्पेक्टर फिल्मको सुरुमै केही अपराधीलाई लखेटिरहेका छन् । उनलाई पछ्याइरहेका छन्, केही मिडियाकर्मी । इन्स्पेक्टरलाई पछ्याउँदै मिडियामा लाइभसमेत गरिएको छ । यस्तो दृश्यको सम्भावना त फिल्ममा मात्रै होला । ‘महाजात्रा’ पनि फिल्म हो, यहाँ जे पनि सम्भव हुने नै भयो । युट्युबतिर कसैको घरझगडाको लाइभ खिच्नु र गुण्डासँग लडिरहेको प्रहरीको दृश्य खिच्नु चाहिँ विल्कुल फरक काम हुन् ।

    तर, फणिन्द्र (विपीन कार्की), जोयस (रवीन्द्रमासिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले बोकेर हिँडेको कथाको मर्ममा पुण्यप्रसाद, भाइरल इन्स्पेक्टरले हिर्काइदिएका छन्, अतिरञ्जना थपिदिएका छन् । त्यसैले त ‘जात्रा’भन्दा निर्बल बनेको छ ‘महाजात्रा’ !

    ‘महाजात्रा’को कथा उही हो, जो ‘जात्रा’ र ‘जात्रैजात्रा’मा छ । फणिन्द्र, जोयस र मुन्नाले आकस्मिक रुपमा प्राप्त हुने धनलाई व्यवस्थापन गर्न संघर्ष गर्छन् । यी तीन पात्रले ‘महाजात्रा’मा कालो धनलाई १० दिन लुकाइदिनुपर्ने जिम्मेवारी आइलाग्छ । विदेश जान मेडिकल गर्न आएका मुन्ना, फिल्ममा करियर खोजिरहेका जोयस र हातमा सीप भएर पनि बेरोजगार बनेका फणिन्द्र कामको सिलसिलामा पुनः एक ठाउँमा आइपुग्छन् । यसपछि उनीहरुले गर्ने उतारचढावपूर्ण संघर्षमै फिल्म अगाडि बढेको छ ।

    अघिल्ला सिक्वेलमा जस्तै यस पटक पनि तीन पात्रले नै फिल्मलाई धानेका छन् । उनीहरुले भोग्ने दुःख, संघर्ष र अप्ठेराले दर्शकलाई कतै आनन्द दिन्छन् त कतै भावुक बनाउँछन् । जोयसकी आमा होऊन् या फणिन्द्रकी श्रीमती (वर्षा राउत), यी पात्रहरुले फिल्मको मूल पात्रलाई बलियो बनाएर लैजान दरिलो साथ दिएका छन् ।

    फिल्मले धेरै विषयलाई छोएको छ । तर, छिपछिप छुनु र डुबुल्की नै मार्नु फरक विषय हुन् । यहाँ जति पनि विषय छन्, ती सबै छोइएकामात्रै छन् । बाँकी विषयलाई छोए पनि फिल्मले उठाएको मूल विषय राजनीतिलाई गहिरो गरी छोइदिएको भए कति जाति हुन्थ्यो । किनभने पछिल्लो समय राजनीति फगत धन्धामात्रै हो कि भन्ने भाष्य बलियो बनेको छ । चाहे सुन प्रकरण होस् या भुटानी शरणार्थी प्रकरण ! चाहे कर छलीको विषय होस् या ललिता निवास प्रकरण या अन्य सरकारी जग्गा हड्पिएका घटना ! निर्देशक भटट्राईले यी विषयलाई गम्भीरताका साथ उठाउन सक्थे पुण्यप्रसादको माध्यमबाट ।

    ‘महाजात्रा’ मात्रै होइन, पछिल्लो समय समकालीन राजनीतिलाई छोएर बनाइएका ‘दिमाग खराब’, ‘नांगो गाउँ’ जस्ता फिल्महरु पनि आए । अझै केही समयसम्म पपुलिस्ट राजनीतिलाई छोइएका फिल्महरु आउने नै देखिन्छ । तर, कुरुप राजनीतिक खेलोफड्कोलाई ल्याउँदा मेकरहरुले भाइरल मनोवृत्तिलाई केन्द्रमा राखेरभन्दा पनि त्यसका विविध आयामहरु खोतल्ने गरी ल्याउनुपर्छ ।

    वहालवाला मन्त्रीको नाम नै थाहा नपाउने, उसले गरेका भ्रष्टाचारमा नीतिगत लुपहोलबारे थाहा नपाउने, तर संजालमा ‘काण्ड’ भनेर हल्ला गरिएका विषयमा चासो राखेरमात्रै मेकरहरुले राजनीतिलाई छुनुहुन्न । यसरी छोइँदा राजनीति र राजनीतिज्ञको सबैभन्दा कुरुप पाटोलाई गम्भीर हिसाबले ल्याएर जनतामाझ पस्कने जिम्मेवारीबाट फिल्म पर भाग्छ ।

    ‘भ्रष्टाचार’ फगत ‘काण्ड’ भनेर आमदर्शकले बुझिदिने खतरा भइदिन्छ । एउटा अमूक नेता वा कोही व्यक्तिले भ्रष्टाचार गर्दै गर्दा जनताको जीवनमा कति ठूलो असर गर्छ भनेर बुझ्ने अवसरबाट दर्शक च्युत भइदिन सक्छन् । मनोरञ्जन सँगसँगै सन्देश पनि दिन कोसिस गर्ने मेकरहरुले विषयवस्तुलाई अलि क्रिटिकल भएर हेरिदिए गजब हुन्छ फिल्म ।

    किनभने यी विषय, पात्र र प्रवृत्तिको शिकार जहिल्यै भूईं मान्छे हुने गरेका छन् । यिनीहरुको केन्द्रमा जहिल्यै गरिबीले थिलथिलो बनाएका निहत्था नागरिकहरु हुने गरेका छन् । ‘महाजात्रा’मा पनि त्यही छ । गरिबीले उठ्नै नसक्ने गरी थला परेका पात्रहरुलाई पुण्यप्रसादले आफ्नो शिकार बनाएका छन् ।

    त्यस्ता पात्रहरु समाजमा लाखौं छन् । जसको इमानदारीको कुनै कदर छैन समाजमा । सिर्फ पैसा हुनुपर्‍यो । पैसा कमाउनेहरुको समाजमा हैसियत अचानक बढेर जान्छ । तर, रातारात त्यो पैसा उसले कसरी कमायो ? यो प्रश्न गर्न समाज तयार छैन । अनि समाजको यही मानसिकताको शिकार फणिन्द्र, मुन्ना, जोयसहरु हुनुपर्छ । निर्देशक भट्टराईले सुषुप्त रुपमा दिएको यो सन्देशले चाहिँ सिंगो ‘महाजात्रा’लाई सुन्दर बनाएको छ ।

    फिल्ममा धेरै कमजोरी छन् । मसिनो गरी केलाउँदै जाँदा समस्याहरु नभेटिने होइनन् । सिनेम्याटोग्राफी व्यवसायिक फिल्ममा जसरी नै चलाइएको छ । ब्याकग्राउण्ड स्कोर ठीकठाक नै छ । फिलरको रुपमा प्रयोग गरिएका दुई गीत फिल्ममा नराखे पनि हुन्थ्यो । तर, निर्देशक भट्टराईले ‘महाजात्रा’लाई मनोरञ्जनात्मक बनाएका छन् । व्यवसायिक फिल्मको फ्रेमभित्र निर्देशक भट्टराईले आफ्नो कला देखाएका छन् । पहिलो हाफसम्म दर्शकलाई हसाउन फिल्म सक्षम छ । दोस्रो हाफमा दर्शकलाई रुवाउन पनि फिल्म सक्षम छ । समग्रमा चाहिँ औसतभन्दा माथि उठ्न सकेको छैन ।

  • भरतपुरमा समीक्षाको होली हंगामा : पल शाहको नाम लिँदै चिढ्याउने दर्शकलाई स्टेजबाटै दिइन् चेतावनी

    भरतपुरमा समीक्षाको होली हंगामा : पल शाहको नाम लिँदै चिढ्याउने दर्शकलाई स्टेजबाटै दिइन् चेतावनी

    काठमाडौं । अहिलेकी हटकेक गायिका समीक्षा अधिकारी हिजो फागु पूर्णिमाका दिन चितवनवासीमाझ प्रस्तुत भइन् । भरतपुरमा आयोजित ‘टुबर्ग होली हंगामा’ कार्यक्रममा उपस्थित भएकी उनले आफ्ना हिट गीतहरू गाउँदै दर्शकलाई झुमाएकी थिइन् ।

    एक दिनअघि दाङमा दर्शक अभावले कार्यक्रम रद्द गर्नुपरेको तितो अनुभव बोकेर चितवन आएकी थिइन् समीक्षा । यहाँ भने उनलाई दर्शकको बलियो साथ मिल्यो । उनले पनि खुलेर आफ्नो प्रस्तुति दिइन् ।

    त्यसो त यो कार्यक्रममा पनि एकाध दर्शकले उनलाई अपमानित गर्ने प्रयास नगरेका होइनन् । समीक्षाले गीत गाउनुअघि दर्शक दीर्घाको अघिल्लो लहरमा बसेका एक जनाले लगातार ‘पल शाहको नाम लिएर चिच्याउँदै उनलाई इरिटेड पार्ने कोसिस गरे । सुरुमा नजरअन्दाज गरेकी समीक्षा केही नलागेपछि मुख खोल्न बाध्य भइन् ।

    आफूलाई होच्याउन खोज्ने दर्शकलाई उनले औँलाले इशारा गर्दै माइकबाटै भनिन्, ‘मेरो गीत मन पर्दैन भने नहेर्नुस्, तर धेरै बढी पनि नहुनुस् है हजुर ।’

    समीक्षाको यस्तो चेतावनीपछि भने ती दर्शकको बोली बन्द भयो । त्यसपछि समीक्षाले आफ्नो हिट नम्बर ‘कुरा बुझ्न पर्च’ गाएर दर्शकलाई मनोरञ्जन गराएकी थिइन् ।

  • ‘महाजात्रा’ हेरेर रवि लामिछानेले भने- चलचित्रले मलाई ऊर्जा दियो

    ‘महाजात्रा’ हेरेर रवि लामिछानेले भने- चलचित्रले मलाई ऊर्जा दियो

    काठमाडौ‌ं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र ‘महाजात्रा’ हेरे । आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको उनको भनाइ थियो ।

    आम दर्शकसँगै बसेर चलचित्र हेरिसकेर लामिछानेले भने, ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । त्यसैले आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’

    उनले नेपाली फिल्म हलमै आएर हेर्ने बानी बसाल्न दर्शकलाई सुझावसमेत दिएका थिए ।

    फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको उनले बताए । राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएकोसमेत उनको भनाइ थियो ।

    ‘फिल्ममा मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै भ्रष्टाचार कम गर्न भएको हो,’ उपप्रधानमन्त्री लामिछानेले भने ।

    चैत ९ गतेदेखि नेपालसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन भइरहेको महाजात्रामा पहिलो दिनदेखि नै दर्शकको चाप देखिएको छ । हिजो निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायतले होली कार्यक्रमसँगै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

  • कमेडी च्याम्पियनको मंगलबारको सुटिङ रद्द

    कमेडी च्याम्पियनको मंगलबारको सुटिङ रद्द

    काठमाडौं । निर्देशक विशाल भण्डारीसहित ६ जना सवारी दुर्घटनामा परेपछि टीभी रियालिटी शो कमेडी च्याम्पियनको प्रशारण प्रभावित हुने भएको छ । पर्सि मंगलबारको नियमित सुटङ रद्द गरिएको निर्माण स्रोतले बतायो ।

    भण्डारीसहित कमेडी च्याम्पियनका ६ चढेको कार भक्तपुरमा शनिबार बिहानै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि भण्डारी र पुजन अधिकारीलाई पक्राउ गरेर हिरासतमा राखिएकोमा हिजो साँझ छुटेका छन्। अन्य ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    स्रोतका अनुसार मंगलबारको सुटिङ नहुने भएपछि एक एपिसोड टेलिभिजनमा रिपिट गरिने छ ।

  • पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

    पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

    दाङ । नेपालमा अहिले सर्वाधिक चलेका गायिकामध्ये पर्छिन् समीक्षा अधिकारी । उनलाई हेर्न र सुन्न लालायित दर्शक/स्रोता देशभरि छन् । देश तथा विदेशका स्टेज शोमा उनको उच्च डिमान्ड छ । तर, उनै समीक्षा हालै दाङमा आयोजित एक कार्यक्रममा दर्शकबाटै उपेक्षित भएकी छन् । पर्याप्त दर्शक नआउँदा उनको निर्धारित कार्यक्रम नै रद्द गर्नुपर्‍यो ।

    फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । हिजो (१० चैत) मा मुख्य आकर्षण थिइन् समीक्षा । आयोजकले राम्रै प्रचारप्रसार गरेका थिए । समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा होटलमै प्रतीक्षारत् थिइन् । कुर्दाकुर्दै बेलुकीको ५ बज्यो । तर, उनलाई आयोजकबाट स्टेज उक्लन फोन आएन ।

    आयोजकले समीक्षालाई स्टेज उकाल्न नसक्नुको कारण थियो, दर्शक अभाव । जोडतोडका साथ समीक्षाको प्रचार गरिए पनि उनको प्रस्तुति हेर्न र सुन्न दंगाली दर्शक इच्छुक देखिएनन् । आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलका अनुसार समीक्षा आएको दिन जम्मा २३ वटामात्रै टिकट बिक्री भए ।

    ‘बेलुकी ५ बजेसम्म २३ वटामात्रै टिकट बिक्री भए,’ पौडेलले नेपाल प्रेससँग भने, ‘यति थोरै दर्शकमा कसरी गीत गाउन लगाउने भनेर स्टेजमा बोलाइएन ।’

    आखिर किन समीक्षालाई हेर्न र सुन्न दाङका दर्शक अनिच्छुक बने त ? यसको कारण हो पलविरुद्धको मुद्दा । दाङ अभिनेता पल शाहको गृहजिल्ला हो । आफ्नो गृहजिल्लामा उनी निकै लोकप्रिय पनि छन् । समिक्षाले पललाई गलत मुद्दामा फसाएको भन्ने छाप दंगालीमा परेको छ ।

    चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले भने, ‘समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट हो ।’

    दर्शकमात्र होइन, उक्त कन्सर्टमा दाङका चलचित्र पत्रकारसमेत गएका थिएनन् ।

    समीक्षाले २०७८ सल फागुन ११ गते पलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले पललाई जेल समेत पठाएको थियो । तर,  उच्च अदालतबाट पलले सफाइ पाए । १ वर्ष जेल बसेर उनी निस्किएका थिए ।

    जेलबाट निस्किएपश्चात पल दाङ आउँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नहुनुनुमा पलसँगको लफडा नै मुख्य कारण भएको स्वयम् आयोजक संस्थाका अध्यक्ष पौडेल बताउँछन् ।

    ‘पलसँगको लफडाकै कारण दंगाली दर्शकले उनलाई हेर्न नचाहेका हुन्,’ उनले भने ।

    प्रस्तुति दिन नपाएपछि समीक्षाले सम्झौताबमोजिमको पारिश्रमिक लिएर हिँडेकी छन् । यस विषयमा फोनमा नेपाल प्रेसले जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन मानिनन् ।

  • ‘महाजात्रा’ को व्यापारमा दोस्रो दिन उछाल : दुई दिनमै ३ करोड नाघ्यो ग्रस कलेक्सन

    ‘महाजात्रा’ को व्यापारमा दोस्रो दिन उछाल : दुई दिनमै ३ करोड नाघ्यो ग्रस कलेक्सन

    काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ ।

    शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थियो ।

    शुक्रबार र शनिबार चलचित्रका सबै टिकटहरू हाउसफूल थिए । आज पनि सार्वजनिक बिदा भएकाले चलचित्रलाई दर्शकको थप साथ मिलेको छ । आजको अनलाइन बुकिङ पनि हासफूल देखिन्छन् । शोज थपिने क्रम पनि सुरू भएको छ । चलचित्रले रिलिजको पहिलो दिन शुक्रबारमात्र ३४२ भन्दा धेरै शो पाएको थियो ।

    विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिकरूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

    चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रबिन्द्र झा, दिब्य देबलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह हुन्।

    चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन् ।

    ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

  • चलचित्र ‘महाजात्रा’काे बम्पर ओपनिङ, एकैदिन १ करोडमाथिको ग्रस कलेक्सन

    चलचित्र ‘महाजात्रा’काे बम्पर ओपनिङ, एकैदिन १ करोडमाथिको ग्रस कलेक्सन

    काठ्माडौं। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ ।

    चलचित्र ‘महाजात्रा’ले पहिलो दिन नै १ करोड माथिको ग्रस कलेक्सन गरेको छ। रिलिज भएको पहिलो दिन नै चलचित्रले देशव्यापी रूपमा १ करोड २३ लाखको व्यापार गरेको हो।

    पहिलो दिन नै चलचित्रका सबै टिकटहरु हाउसफुल भएका थिए।

    आज र भोलिसम्मका अनलाइन बूकिङहरु हेर्ने हो भने पनि लगभग हाउसफुल नै छन्। आज शनिबार र भोलि पनि सार्वजनिक बिदा भएकाले चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने लगभग निश्चितै छ। हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ ।

    निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो ।

    ‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

    चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की , वर्षा राउत, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, दिब्य देब, आदि लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

    चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन्।

    ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

  • जगातिमा सवारी दुर्घटनापछि विशाल भण्डारीसहित दुईजना प्रहरी हिरासतमा

    जगातिमा सवारी दुर्घटनापछि विशाल भण्डारीसहित दुईजना प्रहरी हिरासतमा

    काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन् । उनीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

    आज बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा जगातिमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ ।

    दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

    हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

  • ‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन

    ‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन

    काठमाडौं । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडीले दिने जुनसुकै ‘प्रडक्ट’ मा दर्शकको उच्च अपेक्षा हुन्छ ।

    कबड्डी सिरिजबाट स्थापित यो ‘कम्बो’ को पछिल्लो निर्माणाधीन फिल्म हो- डीग्री माइला- एम ए थर्ड क्लास ।

    प्रतीक्षित फिल्मको सूचीमा परिसकेको ‘डिग्री माइला’ को ट्रेलर आज रिलिज गरिएको छ । चार मिनेटभन्दा लामो ट्रेलर हेर्दा कबड्डी सिरिजमा जस्तै ग्रामीण परिवेशमा कथा बुनिएको र पात्रहरू उनै भए पनि विषयवस्तु पृथक देखिन्छ ।

    फिल्ममा दयाहाङको भूमिकामा नयाँपन छ । उनले मास्टर डिग्री पास गरेको तर घमन्डी र अड्बाङ्गे चरित्रको युवकको भूमिका निभाएका छन् ।

    ओखलढुंगाको रुम्जाटारस्थित एउटा क्याम्पसलाई अंग्रेजी पढाउने शिक्षकको सख्त आवश्यकता परेको छ । शिक्षकको खोजीका क्रममा सोही गाउँका दयाहाङको नाम प्रस्तावित हुन्छ । तर, उनले आफ्नो योग्यताको चर्को डिमान्ड गर्छन् । सोही गाउँकी युवती आँचल शर्मासँग दयाहाङको प्रेम देखाइएको छ, जो प्रेमीले गाउँमै बसेर कलेज पढाएको हेर्न चाहन्छिन् । दयाहाङ र आँचलको नोकझोक पनि ट्रेलरमा समेटिएको छ ।

    बाँसुरी फिल्मसले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर यो चलचित्रको निर्माण गरेको हो । फिल्ममा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । ट्रेलरमा ऋचा शर्मा पनि देखिएकी छन् । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

    यही नाममाथि अभिनेता दयाहाङकै निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो । सोही नामको नाटकमा आधारित रहेर यो चलचित्र बनेको हो । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

  • बिराज भट्टका छोराले ‘बलिदान’ बाट डेब्यू गर्दै

    बिराज भट्टका छोराले ‘बलिदान’ बाट डेब्यू गर्दै

    काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।

    समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

    ‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’

    ‘एउटा भनाई छ, ‘दैवले तिमीले चिताउनु, म पुर्‍याउँछु भन्छ।’ काम प्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट,’ सेन भन्छन्, ‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वका धेरै कक्षा र कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ।’

    त्यसो त आसुसेन फिल्मस् ले हरेक चलचित्रमा नयाँ प्रतिभा खोजेर नेपाली चलचित्रमा देखिने अभाव पूर्ति गर्ने गरेको छ । आसुसेनका अध्यक्ष समेत रहेका निर्देशक सेन भन्छन्, ‘एकलव्यजस्ता समीर बलिदानका युग पुरुष त बन्ने नै भए, अब नेपाली चलचित्र जगतमा स्थापित हुनेछन् भन्ने कुरामा दुई मत छैन।’

    सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ुबलिदानुको टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री(प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो।

    देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

    आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

  • ‘महाजात्रा’ आजदेखि नेपालसहित एकै पटक ४० देशका २५० सहरमा प्रर्दशनमा

    ‘महाजात्रा’ आजदेखि नेपालसहित एकै पटक ४० देशका २५० सहरमा प्रर्दशनमा

    काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।

    विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई नेपालसँगै प्रवासमा रहेका नेपालीको लागि ४० देशको २ सय ५० बढी सहरहरूमा प्रदर्शनमा आएको हो । रिलिजको आधारमा हेर्ने हो भने यो अहिले सम्मकै ठूलो रिलिज हो ।

    निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘महाजात्रा’ षट्कोण आर्टसले निर्माण गरेको ‘ ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो ।

    यो भागमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

    आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

    मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ ।  देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

    उनले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए ।

    ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । यसपटक हामीले मनोरञ्जनसँगै दर्शकलाई नेशनल इस्युलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने । प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

     

  • हरिहर-नीताले लगाए सप्ताह महापुराण, कथावाचक शितलकृष्णको विवादबारे के भन्छन् ?

    हरिहर-नीताले लगाए सप्ताह महापुराण, कथावाचक शितलकृष्णको विवादबारे के भन्छन् ?

    काठमाडौं । यतिबेला सामाजिक सञ्जाल टिकटकमा नायिका नीता ढुंगाना र उनका श्रीमान हरिहर अधिकारी राधा र कृष्ण भएर नाचेका भिडिओहरु निकै भाइरल छन् । हालै हरिहरको पुर्ख्याैली घर दाङमा सप्ताह लगाउँदा उनीहरु राधा–कृष्ण भएर नाचेका थिए ।

    फागुन २८ गतेबाट सुरु भएको श्रीमदभागवत महापुराण यज्ञ ५ गते सकिएको थियो । उक्त यज्ञमा पण्डित कमल कट्टल थिए भने कथावाचकमा शितलकृष्णजी महाराज । नीता र हरिहर कुष्ण र रुक्मणी भएर नाच्दै गरेको भिडिओमा पनि कथावाचक शितलकृष्ण देखिएका छन् ।

    यो महापुराण नसकिँदै एउटा सामाजिक सञ्जालमा भने नयाँ कन्ट्रोभर्सी फैलिसकेको थियो । कथावाचक शितलकृष्णकी पत्नी सुकिर्ती पौडेलले पत्रकार सम्मेलन गर्दै श्रीमानमाथि केही गम्भीर आरोप लगाइन् । श्रीमानले परस्त्रीगमन गरेकोदेखि आफूमाथि कुटपिट समेत गरेको उनको दाबी छ ।

    यसरी पत्नीको बयान आउँदा हरिहर स्तब्ध बनेका छन् । यद्यपि, दुवै पक्षको कुरा नसुनिकन निस्कर्षमा पुग्न नहुने उनको भनाइ छ । सतिशकृष्णको कथावाचनबाट भने आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

    हरिहरसँग यसै सन्दर्भमा गरिएको कुराकानीः

    सप्ताहमा स्वामी शितल कृष्णजीलाई नै किन रोज्नुभएको थियो ?

    कतिजनाले स्वामी शितल कृष्णजी हाम्रो पण्डित भन्ने बुझिरहनुभएको रहेछ । म पहिला यसबारे स्पष्ट पार्न चाहन्छु । श्रीमद्भागवत महापुराण यज्ञमा दुईवटा पार्ट हुन्छन् । एउटा कर्मकाण्ड गर्ने र अर्को कथा भन्ने । श्रीमद्भागवत महापुराणको मुख्य भाग भनेको पुजा हो । यो भनेको भगवान विष्णु र लक्ष्मीनारायणको पुजा हो । यो कर्मकाण्डको कुरा हो । यसमा घरका सबै सदस्यहरु बसेर संकल्प गर्ने, पूजापाठ गर्ने, पितृहरुको लागि श्राद्धहरु गर्ने, सबैको नव–ग्रहको शान्ति गर्ने, सबै देवी–देउताको पूजा गर्ने, घरको वास्तुको पूजा गर्ने, सत्यनारायणको पूजा गर्ने, आदि पर्दछन् । सात दिन र सात रातसम्म चल्ने यो काम पण्डित कमल कट्टेलजीले गर्नुभएको थियो । उहाँ काठमाडौँबाटै जानुभएको हो । पूजा सकिएपछि कथा सुन्ने हो ।

    कथावाचकमा भने शितलकृष्णजी हुनुहुन्थ्यो । त्यो भनेको गीतामा भएको राम्रो कर्म के हो ? नराम्रो कर्म के हो ? सत्कर्म के हो ? दुष्कर्म के हो ? आदि जस्ता ज्ञानमूलक र प्रेरणादायी कुराहरु बताउने काम हो । यो दिउँसो १ बजेदेखि ४ बजेसम्म हुन्थ्यो । र बेलुका पुनः प्रेरणामुलक र धर्मको प्रवचनहरु, युधिष्ठिर र कृष्णका कथाहरु सुनाउने कार्य र आरती हुन्थ्यो । कथा सुनाउने पार्ट फेरि जसले गर्दा पनि हुन्थ्यो । त्यो कथा मैले, तपाईंले वा कुनै एउटा राम्रो ज्ञान भएको मान्छेले भन्दा पनि हुन्छ । हामीलाई यस विषयमा राम्रो ज्ञान भएको र समाजलाई प्रेरणा दिने मान्छे चाहिएकाले उहाँलाई बोलाएका हौं ।

    तपाईंकहाँ कथावाचन भइरहँदा शितलकृष्णजी महाराजका निजी जीवनका विवादित कुराहरु बाहिर आए । उहाँले आफ्नै श्रीमतीलाई हिंसा गर्नुभएको आरोप लागेको छ । यसलाई कसरी लिनुहुन्छ ?

    हामीले बोलाउँदाखेरि यी कुराहरु बाहिर आएका थिएनन् । हामीलाई मात्र होइन, कसैलाई नै थाहा थिएन । हाम्रो घरमा सप्ताह हुने भइसकेपछि हामीले यी कुराहरु थाहा पाएका हौं । त्यसपछि सबैले थाहा पाउनुभयो । यस्ता कुराहरु अगाडि नै थाहा पाएको भए केही सल्लाह हुन्थ्यो होला । तर यस्ता कुराहरु आउनुअघि नै हामीले उहाँलाई बोलाइसकेका थियौं । त्यसैले उहाँ आउनुभयो र आफ्नो कार्य सम्पन्न गरेर जानुभयो ।

    उहाँले आफ्नो निजी विषयलाई कसरी मिलाउनुहुन्छ, त्यो उहाँलाई नै थाहा होला । हामीले उहाँलाई व्यवसायिक हिसाबले कथा भन्न बोलाएका हौं । उहाँ पूजामा सहभागी हुनुभएको पनि होइन । न त उहाँ कर्मकाण्ड गर्ने पण्डित नै हो । धार्मिक रुपमा भन्नुपर्दा उहाँ एक कथावाचक मात्र हो ।

    हाम्रो घरमा हुनभएको हाम्रो हजुरबुवा–हजुरआमाले पनि उहाँको प्रवचन सुन्नु हुन्थ्यो । दाङमा हुनुभएकोहरुले पनि उहाँलाई ल्याउँदा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभएको थियो । उहाँलाई ल्याउँदा सबै खुशी हुने भएपछि हामीले बोलाएका हौं ।

    बोलाउनुअघि हामीले उहाँसँग तपाईंको पारिवारिक स्थिति के चलिरहेको छ भनेर सोध्ने कुरा पनि आएन । ल्याइसकेपछि त्यस्तो कुरा आयो । अब कथा भन्दाभन्दै तपाईंको त यस्तो समाचार आएछ भनेर घरबाट भगाउने कुरा पनि भएन । त्यत्रो ठूलो सप्ताह लगाएपछि पूर्ण त गर्नुपर्यो ।

    त्यहाँ बसिन्जेल यस विषयमा तपाईंको उहाँसँग कुरा भयो कि भएन ?

    भएन । विवाद आइसकेपछि चाहिँ मैले बरु एकचोटी उहाँको स्वयंसेवकहरुसँग कुरा गर्न खोजेको थिएँ । (हाँस्दै) शितलकृष्णजी र उहाँको श्रीमतीको कुण्डली मिलेको रहेछ कि रहेनछ भनेर हेर्न खोजेको थिएँ ।

    जति कथा, प्रवचन र ज्ञानगुनका कुरा भने वा सुनाए पनि, मान्छेले एकछिनको लागि मान्लान्, तर कुण्डलीमा जे छ त्यो हुन्छ भन्ने ज्योतिष शास्त्रमा छ । त्यसैले बुझ्न खोजेको थिएँ तर मौका मिलेन । एक त पहिला जन्मेका मान्छेहरुको समय ठ्याक्कै सही पनि हुन्नँ ।

    मैले बीचमा एकचोटी उहाँलाई सोधेको चाहिँ थिए । उहाँले मुस्कुराएर मेरो यसमा त्यस्तो केही छैन, बरु मेरो कारणले हजुरहरुलाई दुःख परेको छ भने माफी माग्न चाहन्छु र मेरो कुराहरु म केही समयपछि राख्छु भन्नुभयो । त्यति भनेपछि हामीले धेरै खोतल्ने कुरा पनि भएन । त्यो उहाँको व्यक्तिगत कुरा हो । एक त सबै पुजामा व्यस्त थियौं ।

    उहाँको विवादलाई लिएर सप्ताहमा कसैले केही भन्नुभयो या भएन ?

    कसैले केही भन्नुभएन । यो पारिवारिक पूजा थियो । दाङको मान्छेहरुले पनि नराम्रो प्रतिक्रिया दिनुभएको वा हाम्रो अगाडि आएर कसैले केही भन्नु भएको हामीले सुनेनौं ।

    तपाईहरु चाहिँ उहाँको कथावाचनबाट सन्तुष्ट नै हुनुहुन्छ?

    यस्तो हो, यो सात दिनको कर्म हो । हामीलाई उहाँ सात दिनको लागि चाहिएको हो । सात दिन अघि र सात दिनपछिको उहाँका व्यक्तिगत कुराहरु हाम्रो सरोकारको कुरा पनि भएन । उहाँ सात दिन–सात रात हाम्रो आँखा अगाडि हाम्रैमा बस्नुभयो । त्यो समय अवधिभर उहाँ घरबाट एकचोटी पनि बाहिर निस्कनु भएन । घरभित्रै बसेर एक हप्ता शुद्ध खानुभयो । शुद्ध र स्वच्छ भएर बस्नुभयो । सही तरिकाले हाम्रो घरमा हामीले भने अनुसारको कर्म गर्दिनुभयो । सबैलाई कथा मज्जाले भनेर बुझाइदिनुभयो । त्यसैले हामी त खुशी छौं ।

    अरुलाई सदाचार सिकाउँदै हिँड्ने व्यक्ति आफू चाहिँ सदाचारमा बस्नु पर्छ कि पर्दैन त ? यस्तो विवाद आउँदा उहाँको प्रतिष्ठामा कस्तो असर पर्छ ?

    त्यो जरुरी छ । यस्तो कुराहरु हुनुहुँदैन समाजमा । यस्ता घटनाहरुले मान्छेहरुले गर्ने विश्वासमै प्रश्न चिन्ह खडा गर्दिन्छ । यस्तो हुनुहुँदैन थियो । यो मिलाउन र मिल्न जरुरी छ । ज्योतिष शास्त्रले के भन्छ भने यदि तपाईंको छोराको कुण्डलीमा पढ्ने योग नै छैन भने तपाईं २४ घण्टा उसलाई पढाउन पछि लाग्नुस् वा जति प्रवचन दिनुस्, त्यो बच्चा पढ्नमा कमजोर नै हुन्छ । त्यसको लागि छुट्टै उपाय अपनाउनु पर्छ । त्यसैले, यो सबै पनि ग्रहको असर हुनसक्छ ।

    म चाहिँ के भन्छु भने दुई पक्षको कुरा सुन्नुपर्छ । यो श्रीमान–श्रीमतीको कुरा हो । हामीले एकपक्षको कुरा सुन्यौं । अब अर्को पक्षको पनि सुनौँ । दुई पक्षकै कुरा नसुनी म कहिल्यै पनि कसैलाई गलत भन्दिनँ । सत्य जति लुकाए पनि लुक्दैन । जति जे गरेपनि सत्य आखिर एक न एक दिन बाहिर निस्किहाल्छ । त्यसैले सत्य ननिस्किएसम्म हामीले कसैलाई नराम्रो भन्न हुँदैन कि जस्तो लाग्छ ।

    कहिलेकाहीँ माहोल पनि त्यस्तै भइदिन्छ । म एउटा मेरै उदाहरण दिन्छु । मेरो बुबा बित्ने बेलामा मलाई नै मान्छेहरुले कैयौँ प्रश्न गरे । आफैँ ज्योतिष भएर पनि आफ्नो बुबा बित्न लागेको कसरी थाहा पाएन भन्ने कुराहरु गर्नुभयो । मेरो बुबाको कुण्डली हेरेर उहाँको बारेमा थाहा पाएँ भने पनि मैले के गर्ने ? मेरो बुबाको आयु अब धेरै छैन भनेर प्रेसमिट गर्ने ?

    पत्रकार सम्मेलन गरेर कुण्डली देखाउने ? मलाई थाहा थियो उहाँको बारेमा । मैले उहाँको कुण्डली हेरेर उहाँलाई बाहिर ननिस्किनुस् अथवा यस्तो नगर्नुस् पनि भनेको थिएँ । तर भनेजस्तो भएन । मैले भनेका कति कुराहरु पालना भएनन् । बचाउन सकिएन । कुण्डलीमा पनि त्यस्तै थियो । त्यसैले कतिपय कुराहरु निजी हुन्छन् । कति कुराहरु आफू सही हुँदाहुँदै पनि बाहिर ल्याउन नसकिने खालका हुन्छन् ।

    भनाइको मतलब तपाईं मान्छेको मरणको समय पनि निकाल्नुहुन्छ ?

    (हाँस्दै) कुनै पनि मान्छेको पृथ्वीमा आएको साल, महिना, गते र समय थाहा भयो भने उसको खराब समय र उसको जाने समय पनि थाहा पाउन सकिन्छ भन्ने ज्योतिष शास्त्रमा नियम छ । तर यो कुरा हामीले भन्न मिल्दैन । किनकी यो कुराले सो व्यक्तिको इनर्जी डाउन हुनसक्छ । त्यसैले ज्योतिष शास्त्रले भन्न दिँदैन । मान्छेमा मात्र होइन, यो वस्तु, घर र कम्पनीहरुमा पनि लागू हुन्छ ।

    म एउटा उदाहरण दिन्छु तपाईंलाई । पहिला एउटा किस्ट बैंक भन्ने थियो । मैले त्यो किस्ट बैंकको दर्ता भएको दिन हेरेर, यो बैंकको नामनिसान हट्ने समय यतिबेला हो, त्यसैले यो बंैकको नाम परिवर्तन गराउनु भनेको थिएँ । तर त्यतिबेला उहाँहरुमा यो कुरा लागू भएन । नभन्दै आज किस्ट बैंक भन्ने नामनिसान छैन । मैले धेरै कुराहरुमा यो अभ्यास गरेको छु । त्यसैले मान्छेको मात्र होइन, कुनै पनि चिजको जन्ममितिबाट त्यसको मृत्युको मिति थाहा पाउन सकिन्छ ।

    यदि यो विवाद पहिल्यै आएको भए कथावाचक परिवर्तन गर्नुहुन्थ्यो ?

    त्यो त्यति बेलै थाहा हुन्थ्यो । अरु गुरुहरु पनि हुनुहुन्छ । मलाई कथावाचक न चाहिएको हो । शितल कृष्णजीसँग मेरो कुनै आन्तरिक सम्बन्ध छैन । न त उहाँलाई मेरो परिवारले नै चिन्नुभएको हो । मैले त उहाँको पर्सनल एसिसटेन्टलाई कल गरेर उहाँको लाग्ने पारिश्रमिक दिएर बोलाएको हो ।

    मैले अरु एकदुईजना गुरुहरुलाई पनि बोलाउन प्रयास गरेको थिए । तर उहाँहरुको समय मिलेन । कुबेर सुवेदीजीसँग हाम्रो एकदमै राम्रो सम्बन्ध छ । उहाँ मेरो विवाहमा पनि आउनु भएको थियो । उहाँलाई पनि बोलाउन खोजेको थिएँ । तर विदेशमा हुनुभएकाले उहाँ आउन भ्याउनुभएन । हामीलाई राम्रो कथावाचक चाहिएको थियो । त्यति हो ।

     

     

  • गायिका अनु चौधरीले ल्याइन् ‘वाचा’ (भिडियो)

    गायिका अनु चौधरीले ल्याइन् ‘वाचा’ (भिडियो)

    काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘वाचा’ बोलको उक्त गीतमा अनुसँगै गायक अजित घिसिङ तामाङको स्वर रहेको छ ।

    अजितकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा मोडल विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन् ।

    रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतमा विजय र अनिमाको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।

    विशाल थापाको छायांकन, नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोलाई सुनिल बुढाथोकीले निर्देशन गरेका छन् ।

  • ३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन, वर्षा र प्रवीणले दिए अन्तिम शट

    ३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन, वर्षा र प्रवीणले दिए अन्तिम शट

    काठमाडौं। ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

    दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो ।

    करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

    अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । निर्देशक शङ्कर कोइरालाले पनि चलचित्रमा निर्देशनमा डेब्यु गरेका छन् ।

    यस चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप कसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

    यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

  • मीनरत्नले कैद गरेको मनिषा कोइरालाको त्यो सर्सराउँदो तस्वीर

    मीनरत्नले कैद गरेको मनिषा कोइरालाको त्यो सर्सराउँदो तस्वीर

    काठमाडौं । २०४५ सालतिर मीनरत्न बज्राचार्यले भर्खर फोटो पत्रकारिता सुरु गर्दै थिए । एउटा विज्ञापनमा देखिएकी एक नवयौवनाको ‘फ्रेस’ चेहराले उनको ध्यान तान्यो ।

    त्यसबेला ‘रुपरंग’ नामक म्यागजिनमा काम गर्थे मीनरत्न । यी मोडेलको ‘रुपरंग’मा फोटोसेसन गराउन पाए गजब हुन्थ्यो भन्ने सोचिरहेका थिए । तर, उनी को हुन् भन्ने मेसो पाएका थिएनन् । खोजीनीति गरेपछि थाहा भयो- उनी रहिछिन् भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी मनिषा कोइराला ।

    ‘विज्ञापनमा उहाँ साह्रै क्युट र इनोसेन्ट देखिनुभएको थियो । मलाई थाहा थिएन, उहाँ बीपी कोइरालाको नातिनी भनेर । त्यो बेला मैले ठ्याक्कै मनिषाको बुवा प्रकाश कोइरालालाई भेटेको थिएँ’, मीनरत्न सम्झिन्छन् ।

    उनले प्रकाशलाई भने, ‘हाम्रो रुपरंग म्यागजिनमा तपाईंकी छोरीको फोटोसुट गर्न मन छ । कतिको सम्भव होला ?’

    प्रकाशले सहज रुपमा लिँदै जवाफ दिए, ‘भाइको नम्बर देऊ न, छोरीले मानी भने कलब्याक गर्छु ।’

    त्यसको एकदुई हप्तापछि उनलाई फोन आयो, ‘मीन भाइ, छोरीले मानिन्, खिच्न आउनुस् ।’

    त्यो समयमा जनआन्दोलनको माहोल तयार हुँदै थियो । रमण घिमिरे र मीनरत्न झोला बोकेर मनिषाको घरतिर लागे । त्यो बेला अहिले जस्तो लाइटको सुविधा कहाँ थियो र ? झ्यालमा सिन्क्रोनाइज फ्ल्यास साइड साइडमा राखेर ब्याक लाइटहरु दिएर खिचियो । यो फोटो उनलाई एन्टीलाइटमा खिच्न मन थियो ।

    फोटो खिचेपछि ‘रुपरंग’मा मनिषा, पार्वती अधिकारी, निशा शर्मा, निलम केसी, अग्नि गुरुङलगायत पाँच-सात जनाको कभर स्टोरी छापिएको थियो । उनीहरुमध्ये मनिषाको तस्वीरले नै सर्वाधिक चर्चा पायो । तस्वीरमा मनिषा औधी कोमल र सर्सराउँदी देखिएकी थिइन् ।

    त्यसबेलासम्म मनिषाले फिल्ममा डेब्यु गरेकी थिइनन् । यो फोटो स्टोरी आएपछि मनिषालाई नेपाली चलचित्र ‘फेरि भेटौंला’बाट अफर आएको मीनरत्न बताउँछन् । सो चलचित्रमा मनिषाले प्रकाश अधिकारीको जोडी भएर खेलिन् । चलचित्र औसतमात्र चल्यो । तर, मनिषाको सुन्दरताको खुबै तारिफ भयो ।

    मनिषाले नेपाली चलचित्रमा निरन्तरता दिइनन् । उनी सीधै बलिउड छिरिन् । प्रख्यात निर्देशक सुभाष घईले उनलाई ब्रेक दिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । एक दशकभन्दा बढी बलिउडमा राम्रै हैकम जमाइन् ।

    ‘रुपरंग’ म्यागजिनमा फोटो छापिएपछि मनिषाको पहिलो नेपाली फिल्म ‘फेरि भेटौंला’ को सुटिङ सुरु भएको थियो । मीनरत्नलाई पनि सुटिङ रिपोर्ट गर्न आउने प्रस्ताव आयो । उनी पोखरा गए ।

    पोखराको डाँडाकाँडामा फोटो खिचेर फर्केपछि उनी होटेल जान लागेका थिए । फिल्मको हिरो प्रकाश अधिकारीले रोकेर भने, ‘रुम शेयर गरेर बसौं । म पनि एक्लै छु । मसँगै मनिषाको रुम पनि छ । बेलुका खाना खाने बेला मौका पायो भने कुरा गर्न पाइन्छ ।’

    त्यही हिसाबले होटेलमा रुम शेयर गरेर बसे । तर, मनिषाको राजनीतिक परिवार भएकाले सुरक्षा थियो । बोलचाल हुने कुरै भएन ।

    पोखरामा खिचेको फोटो चाहिँ पछि कामना म्यागजिनमा ब्लोअपमा छापियो ।