Category: कलाप्रेस

  • श्रीमतीको जाहेरीपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

    श्रीमतीको जाहेरीपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

    कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

    नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

    गायक वड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

  • संसार घुमेर नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

    संसार घुमेर नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

    काठमाडौं । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ ।

    कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन् र अन्तरंग कुरा गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ ।

    जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो । मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि ले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् । कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने वताएका छन् ।

    आआफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने हमालको भनाइ छ । स्वाभिमान र संभावनाको कथा उजागर हुने कार्यक्रम अनुभव र उत्प्रेरणाको दस्तावेज समेत बन्ने उनको विश्वास छ ।

    कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले नेपालीहरु हरेक क्षेत्रमा सक्षम छन्, र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने वताएका छन् । कार्यक्रमले त्यस्ता नेपालीहरुसंग भएको ज्ञान र दक्षतालाई नेपालसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ ।

    निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलब्धी नेपाली मिडिया मार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको वताएका छन् । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो नेपाली शिर उचाली कार्यक्रम मार्फत विश्वभरका नेपालीसंग जोडिने अभियानमा सहभागी हुन पाउँदा आफू पनि उत्साही भएको बताएका छन् ।

     

  • क्यूएफएक्ससँग थप दुई हल आबद्ध, देशभर पर्दा संख्या ३६ पुग्यो

    क्यूएफएक्ससँग थप दुई हल आबद्ध, देशभर पर्दा संख्या ३६ पुग्यो

    काठमाडौं । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ सँग थप दुई हल आबद्ध भएका छन् ।

    क्यूएफएक्ससँग दरबारमार्गस्थित राइजिङ मलको क्युज हल र सामाखुसीको निर्माणाधीन सिटी स्क्वायर मलको हल जोडिएका हुन। यी दुवै हलको व्यवस्थापन अब क्यूएफएक्सले गर्नेछ ।

    क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै थप दुई हल आबद्ध भएको जानकारी गराएको हो । दर्शकले नयाँ हलमा पनि मोबाइल एपबाट अनलाइन टिकेटिङ र अनलाइन फुड खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्झौतापछि अब क्युज हलको नाम ‘क्यूएफएक्स राइजिङ मल’ हुनेछ भने सामाखुसी चोकको हलको नाम ‘क्यूएफएक्स सिटी स्क्वायर’ हुनेछ । राइजिङ मलको हललाई दुई साताभित्र क्यूएफएक्सले सञ्चालन गर्नेछ भने सिटी स्क्वायरको हल वैशाखभित्र सञ्चालनमा ल्याउनेछ ।

    थप दुई हल आबद्ध भएपछि काठमाडौंमा क्यूएफएक्स हलको संख्या ७ र बाहिर ८ पुगेको छ। भने देशभर क्यूएफएक्स सिनेमाजको पर्दा संख्या ३६ र हल संख्या १५ पुगेको छ ।

     

  • उपेन्द्र सुब्बाको फेरियो बोली : जारी २ बनाउने घोषणा (भिडिओ)

    उपेन्द्र सुब्बाको फेरियो बोली : जारी २ बनाउने घोषणा (भिडिओ)

    काठमाडौं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले २०८२ सालमा ‘जारी २’ ल्याउने घोषणा गरेका छन् । नेपाल प्रेससँगको अन्तर्वार्ताका क्रममा आफूले सुरुवातमा ‘जारी’को श्रंखलामा काम नगर्ने घोषणा गरे पनि अहिले आएर ‘जारी–२’ ल्याउने निर्णयमा पुगेको बताए ।

    उनले भने, ‘दुईचार ठाउँमा त जारी २ बनाउँदिनँ भनेर हिँडेँ । तर, नबनाई धर नहोला जस्तो छ ।’

    ‘जारी’को श्रंखला ब्राण्डको कारण व्यापार गर्छ भनेर हो कि कथाले नै मागेकाले हो ? भन्ने प्रश्नमा सुब्बाले भने, ‘कथाले मागेर पनि हो । साथै देश विदेशदेखि साथीभाइले बनाउनुपर्छ भनेर साह्रै भनिरहे । यहीँका वितरक साथीहरूसँग बस्दा, कहिलेकाहीँ हलका साथीहरूसँग बस्दा पनि ‘जारी २’ कहिले आउँछ भनेर सोधिरहे । यस्तो हुँदा मोह पनि जाग्दो रहेछ पैसाकै कुराले गर्दा पनि । सबै पैसा आउँछ भन्छन्, लोभ पनि देखाउँछन् (लामो हाँसो) । म पनि छु भनेर भनिदिन्छन् ।’

    सबैले दबाब दिएपछि यसबारे दयाहाङलाई ‘फुर्सद छ त रु’ भनेर सोध्दा ‘त्यसका लागि समय मिलाउँला नि दाइ’ भनेपछि जारी २ बनाउने जाँगर पलाएको सुब्बाको स्वीकारोक्ति छ । तर, २०८२ का लागि आफू ‘जारी २’ भन्दा पनि एक बंगाली साथीको कथामा काम गर्ने मनसायमा रहेका थिए । अब भने उक्त कथालाई केही समयका लागि पछाडि धकेलेर ‘जारी २’मा अगाडि बढ्ने सुब्बाले बताए ।

    उनले भने, ‘मेरो समुदायको कथा त म राम्रोसँग सोच्न जान्दछु । कथा सोच्दासोच्दै मीठो कथा आयो, त्यसपछि टिममा साथीभाइलाई सुनाएँ । लु दाइ यो कथामा काम गर्ने भनेर हौस्याए । अब त ‘जारी २’ बनाउँछु नै ।’

    साथै आफू ५० वर्षदेखि फिल्म क्षेत्रमा निर्देशकको रूपमा प्रवेश गरेकाले अब आफूसँग धेरै समय नभएको र हरेक वर्ष एउटा फिल्म बनाउने सोचमा रहेको बताए । ६० वर्षसम्म काम गर्ने, त्यतिन्जेल आफूसँग भएका पाँच छ वटा कथालाई फिल्म बनाएर सिध्याउने र आफ्नो नीजि जीवन बाँच्ने योजनामा रहेको बताए ।

    उनले भने, ‘म फरक तरीकाले बाँच्नुपर्छ भन्नेमा पर्छु । यो सामाजिक जिन्दगीभन्दा बाहिर निस्कन्छु भन्नेमा छु । यस कारण जे जति गर्नु छ, ६० भित्रै गर्नुपर्छ, त्यो म गरिसक्छु । यस वेलासम्म एउटा कविता संग्रह ल्याउँछु । फुटकर कथाहरू छन्, त्यसलाई सिध्याउँछु । त्यसपछि आफूले चाहेको जीवन जिउँछु ।’

    ‘कबड्डी’ फिल्मबाट व्यावसायिक पटकथा लेखनमा प्रवेश गरेका उपेन्द्र सुब्बा नौ वर्षपछि ‘जारी’ मार्फत निर्देशकको अवतारमा देखा परेका थिए । २०८० सालको नयाँ वर्षमा प्रदर्शन भएको यस चलचित्रले १७ करोडमाथि व्यापार गरेको थियो भने समीक्षात्मक रूपले राम्रो समीक्षा पनि पाएको थियो ।

    यही फिल्मबाट दयाहाङ राई र मिरुना मगरको जोडी समेत हिट भयो । यो हिट जोडीलाई लिएर बनेका आधा दर्जन जति फिल्म बनिसके भने उस्तै हाराहारीमा बाँकी फिल्महरू प्रदर्शनको तयारीमा छन् । अहिले भने दया–मिरुनाकै जोडीलाई लिएर सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ ।

  • अटिजम सम्बन्धी सन्देशमुलक म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक

    अटिजम सम्बन्धी सन्देशमुलक म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक

    काठमाडौं । अटिजम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता ढंगोल र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक समारोहका बीच म्यूजिक भिडिओ सार्वजनिक गरेका हुन् ।

    अटिजम प्रभावितको अवस्थालाई समयमै स्वीकार गरी उनीहरुलाई राम्रो सामाजिक वातावरण दिनु र उनीहरुको अन्तरनिहित प्रतिभालाई चिनेर उनीहरुको विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त गीत निर्माण गरिएको हो । भिडिओ विश्व अटिजम सचेतना दिवस २०२४ को अवसर पारी साउण्ड मिल र अवानी फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा सार्वजनिक गरिएको हो ।

    समयमै आफ्नो बालबालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यवहारिक रुपमा बुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने हेतुले अटिजम सम्बन्धी सन्देशमुलक म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक गरिएको म्यूजिक भिडिओ निर्माण टिमले जनाएको छ ।

    पावका शर्माको अवधारण, नरेश प्रधानको शब्द, पुष्प प्रधानको स्वरमा रहेको म्यूजिक भिडिओ ‘स्वीकार’मा हरी लम्सालले म्युजिक भरेका छन् ।

    ‘गीतका गीतकार नरेश प्रधान आफै मस्तिष्क पक्षघात बालिकाको अभिभावक हुन् । आफ्नो सन्तानमा देखिएको समस्यालाई नजिकबाट भोगेकाले उनले यस क्षेत्रमा जनचेतना फैलाउन गीत तथा लेखरचना लेखेर विभिन्न माध्यमबाट सचेतना जगाइरहेको छन् ।

    भिडिओ

  • ‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

    ‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

    काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरू मध्येको एक भूमिकामा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन्।

    चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन्।

    शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि चलचित्रमा उनको प्रमुख भूमिका रहेको सेनले बताए। आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन्।

    समीर अभिनेता बिराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

    सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भएको थियो।

    देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्।

    यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

    आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

  • करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    काठमाडौं । गायक राजेशपायल राई आज रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटे । उनले आज खुशीमा पिएका थिए कि दु:खमा, त्यो उनैलाई थाहा होला । तर, यी चर्चित गायकको निजी जीवनमा अहिले ठूलो मोड आएको छ ।

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । गत साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो ।

    सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।

    राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् । डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् ।

    यो पनि पढ्नुहोस्- राजेशपायलको सरप्राइजः २६ वर्ष कान्छी प्रेमीकाबाट पुत्रलाभ

    आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए भने साङबुङ उमेरले नाबालिग नै थिइन् । फ्यानको रूपमा नजिकिएकी साङबुङलाई राजेशपायलले पछि प्रेमिका बनाए । त्यसपछि उनले साङबुङलाई घरमै ल्याएर राखेका थिए, तर विवाह भएको थिएन । लामो समयसम्म राजेशपायलले आफ्नो प्रेम जीवन मिडियाबाट लुकाउन सफल भएका थिए । नेपाल प्रेसले गत वर्ष जेठमा पहिलोपटक उनीहरू लिभ इनमा रहेको समाचार सार्वजनिक गरेको थियो ।

    यो पनि पढ्नुहोस् : २६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

    राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईवटा घर छन् । उनले साङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । उनको घर अभिनेता पल शाहको डेरानजिकै छ ।

    राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए । बिहे दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा उनीहरूको विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए ।  तर, उनीहरूको सम्बन्ध सुमधुर रहन सकेन । उनीहरूबीच बारम्बार झगडा भइरहन्थ्यो । श्रीमान्‌ले आफूलाई मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने गरेको साङबुङले निकटस्थसँग बताउने गरेकी थिइन् । तर, सार्वजनिकरूपमा यो जोडीले आफूहरूबीचको सम्बन्धबारे कहिल्यै मुख खोलेनन् ।

    एकपटक साङबुङले टिकटकमा राजेश पायलसँगका केही भिडिओ पोष्ट गरेकी थिइन् । तर, तुरुन्तै हटाउन बाध्य भइन् । केही समयअघि श्रीमान्‌ले छोराको टाउकोमा तातोपानी खन्याइदिएको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यो पनि पछि हटाइन् । राजेशपायलले भने आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

    राजेशपायल साङबुङसँग जीवन काट्ने मनस्थितिमा थिएनन् । उनले कतै पनि सार्वजनिक कार्यक्रममा साङबुङलाई श्रीमतीको दर्जा दिएर सँगै लिएर हिँडेको देखिएन । साङबुङ भने डिभोर्सका लागि तयार थिइनन् । बच्चाका कारण पनि उनीहरू एक-अर्कासँग अलग्गिन सहज अवस्था थिएन । तर, अहिले आएर दुवैले सम्झौता गरेका छन् ।

    रोचक के भने पतिसँग डिभोर्सपछि साङबुङले ‘अर्को जुनी पनि तिम्रै हुन पाउँ’ भनेर स्टाटस लेखेकी थिइन् ।

  • गायक राजेशपायलसहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

    गायक राजेशपायलसहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

    काठमाडौं । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।

    होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले नेपालप्रेसलाई बताए ।

    उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

    मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद  गरेकाे थियाे । स्थानीयले  प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएकाे  प्रवक्ता अधिकारीले बताए ।

  • ‘बद्री बहादुर’ नचले कलाकारिताबाट संन्यास लिने जयकिशनको घोषणा

    ‘बद्री बहादुर’ नचले कलाकारिताबाट संन्यास लिने जयकिशनको घोषणा

    काठमाडौं। चलचित्र ‘बद्री बहादुर’ नचले आफूले कलाकारिता छोड्ने कलाकार जयकिशन बस्नेतले बताएका छन्। बुधवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जयकिशनले सो घोषणा गरेका हुन। उनी चलचित्रका एक मुख्य कलाकारसमेत हुन।

    निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को बुधवार राजधानीमा पत्रकार सम्मेलन गरिएको थियो।

    पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शोभित बस्नेत र चलचित्रका कलाकारहरू जयकिशन बस्नेत र राजीवजंग बस्नेत उपस्थित थिए।

    कार्यक्रममा बोल्दै जयकिशनले भने,‘जबसम्म म घाटामा जान्न तबसम्म म चलचित्र बनाइरहन्छु भनेर मैले भनेको थिए। ‘धूम ४’ मा पहिलो पटक घाटा खाए। त्यसपछि मैले चलचित्र बनाइन। तर आज म के घोषणा गर्न चाहन्छु भने यदि बद्रीबहादुर चैत्र २३ गते चलेन भने म कलाकारिताबाट संन्यास लिन्छु।’

    ‘२३ र २४ गते चलचित्र मज्जाले चल्छ। चलेन भने २५ गते म मेरै युट्युब च्यानलबाट संन्यास लिए है भनेर भिडियो बनाउँछु। त्यसपछि मेरो कलाकारिताले विश्राम लिन्छ’, जयकिशनले थपे।

    उनले चलचित्र कमेडी र एक्सनको सम्मिश्रण भएकाले दर्शकले फरक स्वाद पाउने बताए। जयकिशनको भनाइमा समर्थन जनाउँदै निर्देशक शोभित बस्नेतले पनि ‘बद्री बहादुर’ मौलिक मसलेदार फिल्म बनेकाले दर्शकले रुचाउने दाबी गरे।

    ‘यो चलचित्र दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुन्जेल आनन्द आउँछ। मेरो २८ वर्षे फिल्मी करियरमा बद्री बहादुर अर्को राम्रो फिल्म हो’, शोभितले जोडे।

    यही शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्रको एक गीतमा नायिका पूजा शर्मा र अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन्। पूजा र सलोनलाई ब्रान्ड एम्बेस्डरको रूपमा चलचित्रमा प्रयोग गरेको शोभितले बताए।

    ‘एउटा राम्रो उत्पादनलाई बजारीकरण गर्न ब्रान्ड एम्बेस्डर चाहिए जस्तै हाम्रो चलचित्रका लागि पूजा र सलोन ब्रान्ड एम्बेस्डर हुन्। उनीहरू चलचित्रमा छैनन्। मात्र एउटा गीतमा हुन’, शोभितले भने।

    पूजा र सलोनबाट केही आस राखेर काम नगराए पनि राम्रोसँग सर्पोट नभएको गुनासोसमेत शोभितको कार्यक्रममा राखे।

    एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं, लगायतको अभिनय रहेको छ।

    चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन भने विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रको निर्माता हुन।

  • महाजात्रा हेरेर नेताले म म भन्न सक्नुपर्छ : डा. बाबुराम भट्टराई

    महाजात्रा हेरेर नेताले म म भन्न सक्नुपर्छ : डा. बाबुराम भट्टराई

    काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताएका छन् ।

    मङ्गलवार बेलुकी ठमेलको छाया सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई मन पर्ने शैलीको फिल्म बनाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिए ।

    ‘यो फिल्म मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

    उनले यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए । ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने ।

    पूर्व प्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममा मार्फत दिएको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए ।

    ‘हामीले सकिने कि सच्चिने ? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यस पटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

  • ‘डिग्री माइला’ अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० मै रिलिज हुने

    ‘डिग्री माइला’ अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० मै रिलिज हुने

    काठमाडौं । दयाहाङ राई स्टारर ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात् अप्रिल १२ देखि नै रिलिज हुने भएको छ ।

    निर्माण पक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।

    सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ ।

    निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

    अष्ट्रेलियामा buyonlineticket.com.au बाट सिनेमाको टिकट काट्न सक्नेछन् । यसै गरी यो अमेरिकाका ४० बढी शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माण पक्षले दिएको छ।

    रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरूलाई आफूतिर आकर्षित गरिरहेको छ । सिनेमामा आँचल शर्मा दयाको जोडी बनेकी छन् । सिनेमामा उनीहरूको अन्तरजातीय प्रेम हेर्न सकिनेछ ।

    उनीहरूका अलावा सिनेमामा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सिनेमालाई यस वर्ष बल्कबस्टर व्यापार गर्न सक्ने सिनेमाको सूचीमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

    यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

    बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

    सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्

  • सुदूरपश्चिम चिनाउने साढे चार मिनेटको भिडिओ

    सुदूरपश्चिम चिनाउने साढे चार मिनेटको भिडिओ

    काठमाडौं । नेपाल क्षेत्रफलमा सानो भएपनि संस्कृति, प्राकृतिक सम्पदा, भौगोलिकता तथा हावापानीको विविधतामा समृद्ध मुलुक हो । सात प्रदेशमा विभाजन भएसँगै प्रादेशिक संरचनामा रहेको नेपालमा पर्यटकीय दृष्टिकोणले अथाह सम्भावनाहरु रहेका छन् ।

    तर अवसर र सम्भावना आफैं आउँदैनन् । तिनीहरुको पनि ब्राण्डिङ गर्नुपर्छ । कहाँ कुन कुन सम्भावना प्रचुर छन् भनेर प्रत्येक नेपालीलाई थाहा दिनै पर्यो । साथसाथै विश्वव्यापी रुपमा नेपालका गन्तव्यहरुलाई चिनाउनु अपरिहार्य छ ।

    यसै क्रममा देशको पश्चिमी भागमा रहेको सुदूरपश्चिम प्रदेश करिब २० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । जम्मा नौ जिल्ला रहेको यस प्रदेशमा कैलाली र कञ्चनपुर दुई तराईमा पर्छन् भने अन्य सबै पहाडी र हिमाली जिल्ला पर्दछन् ।

    यही प्रदेशलाई प्रचार प्रसार गर्ने मात्रै नभएर नेपाललाई नै एक्प्लोर गर्ने उद्देश्यले ‘यात्रा नेपालको’ प्रोजेक्ट सुरु गरिएको छ । त्यसको पहिलो कोशेलीस्वरुप सुदूरपश्चिमको शानदार भिडिओ रिलिज गरिएको छ । भिडिओलाई दशरथ सुनारले निर्देशन गरेका छन् भने यसको परिकल्पना तथा कथा पनि उनकै रहेको छ ।

    उनले यो भिडिओ सन् २०२० मा लेट्स भिजिट फारवेस्टको अभियानका बेला बनाएका थिए । यो भिडिओ बनाउन आफूहरुको ठूलो लगानी लागेको सुनार बताउँछन् । तर देश र प्रदेशको प्रोमोशनका लागि आफूहरुले जोखिम मोलेको उनको भनाइ छ । तर त्यसबेला नेपाल सरकारको भिजिट नेपाल २०२० विश्वव्यापी कोरोना महामारीका कारण स्थगित गर्नु परेको थियो ।

    त्यो बेलाको भिडिओ हालसम्म पनि हार्ड डिस्कमै रह्यो । तर आफ्नो समय, विवेक, पसिना यसमा परेको स्मरण गर्दै सुनारले यसलाई नयाँ परियोजनामार्फत भिडिओ रिलिज गर्ने योजना बनाए । त्यसपछि ‘यात्रा नेपालको’ अभियान सुरु गरी यसै नामको युट्युब च्यानलमार्फत सो भिडिओ रिलिज गरियो ।

    भिडिओ यति गजब छ कि सुदूरपश्चिमका नौ जिल्लाका मुख्य विशेषताहरु अटाएका छन् । प्राकृतिक सुन्दरताका दृष्यहरु कैद त भएकै छन् । यस क्षेत्रका विभिन्न जातजातिका भेषभुषा, संस्कृति र पृथक नृत्यहरु पनि भिडिओमा देख्न सकिन्छ ।

    त्यतिमात्र होइन प्रदेशको प्रमुख नदीका रुपमा सेती र महाकालीका केही दृष्यहरु पनि समेटिएका छन् भने कैलालीको घोडाघोडी ताल पनि समेटिएको छ । जुन रामसारमा सूचीकृत सीमसार क्षेत्रका रुपमा समेत परिचित छ ।

    त्यस्तै, कञ्चनपुरको झिलमिला ताल, वेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताललगायत क्षेत्रलाई त्यही साढे चार मिनेटको छोटो भिडिओले समेट्न सफल भएको छ । त्यस्तै, डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बीचमा रहेको खप्तड ताल, खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दृष्यहरु पनि भिडिओमा देखिन्छन् । त्यस्तै, यस क्षेत्रका धार्मिक प्रसिद्धिका स्थानहरु पनि भिडिओमा अटेका छन् ।

    जसमध्ये डोटीको खप्तड, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोवर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडा बाबामध्ये अधिकांश क्षेत्र एवम् मठमन्दिरहरु भिडिओमा कैद भएका निर्देशक सुनार बताउँछन् ।

    महाभारतपर्वत, व्यास हिमाल, सैपाल हिमाल, अपि हिमाल, रामारोशन क्षेत्र, दोधारा–चादनी झोलुङ्गे पुल, कर्णाली पुलका क्षेत्रहरुको दृष्यले भरिएको भिडिओले सुदूरपश्चिममा अहिल्यै गइहालौं जस्तो अनुभूति दिलाएको छ ।

    उच्च प्रविधियुक्त क्यामराको प्रयोग, ड्रोन मात्र नभएर हेलिकप्टर सट लिएर खिचिएको यस भिडिओको सम्पादन जेनिश महर्जनले गरेका छन् भने म्यूजिक एरेन्ज गोपाल रसाइलीको छ ।

    यो पहिलो श्रृंखला भएको र आगामी दिनमा नेपालका अन्य प्रदेश र स्थानहरुको पनि यस किसिमको भिडिओ सामग्रील लिएर आउने निर्देशक सुनारले बताए । अब दोस्रो प्रोजेक्टको रुपमा कर्णालीको भिडिओ बनाउने उनले बताए ।

    देशको पर्यटकीय सम्भावनालाई आफ्नै प्रयासले अगाडि बढाउने अठोट उनमा रहेको देखिन्छ । सम्बन्धित निकायले पनि यसमा सहकार्य गर्ने हो भने आफूहरुलाई कार्य गर्न झन प्रेरणा मिल्ने र काम अझै गुणस्तरीय हुनसक्ने सुनार बताउँछन् ।

     

  • ‘महाजात्रा’ र राजनीतिक कार्यकर्ता

    ‘महाजात्रा’ र राजनीतिक कार्यकर्ता

    केही समय पहिला नेपाली चलचित्र ‘दिमाग खराब’ आयो । हेर्न पुगियो । ठूला राजनीतिक दलहरुको कारण देश बर्बाद भयो । अब नयाँ शक्तिहरुले मात्र यो ध्वस्त भएको नेपालको अवस्थामा परिवर्तन गर्न सक्छन् भन्ने सन्देश थियो । फेरि अहिले नयाँ ‘महाजात्रा’ चल्यो । साथीहरुको अनुरोधमा चलचित्र हेर्न जाने निर्णय गरियो । हल केही सीटबाहेक भरिएको थियो । ‘शत्रुगते’, ‘महापुरुष’, ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता सफल चलचित्र लेखी निर्देशन गरिसकेका प्रदीप भट्टराईको पछिल्लो चलचित्र ‘महाजात्रा’ पनि राम्रो छ भन्ने पक्कै पनि थियो । प्रदीप भट्टराईको लेखनमा बनेका चलचित्रमा मौलिक कथा र कलाकारको जीवन्त अभिनयले नेपालीपन पस्किन सक्छ । यही दृष्टिकोणबाट उत्साहित हुँदै थियौं ।

    फिल्म सुरु भयो । हेर्दै जाँदा म रमाउन पटक्कै सकिनँ । जसको कारण थियो- म राजनीतिमा लागेको एउटा कार्यकर्ता थिएँ । त्यो पनि ठूला राजनीतिक दल भनिएको नेकपा एमालेको । मेरो परिवारका कोही पनि सदस्य राजनीतिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । स्नातक तहको सुरुमै क्याम्पसमा भएका विभिन्न भ्रातृ संगठनमध्ये अनेरास्ववियुको काम र नेतृत्वबाट प्रभावित भएर संगठनमा आवद्ध भएको थिएँ । अलि समय बित्दै जाँदा मूल पार्टीको विचार बुझियो । कार्ल मार्क्सको विचार र लेनिनको संगठनात्मक संरचनासँगै जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसात गरेको बुझ्दा त झनै गर्व लागेको थियो । त्यस विचारले अहिलेसम्म सशक्त रुपमा राजनीतिमा सक्रिय भइरहन थप प्रेरणा पनि प्रदान गरेको छ ।

    मैले यस्तै सोच्दै थिएँ- हल हाँसोले गुञ्जायमान भयो । म झसङ्ग भएँ । हलभरिका मानिसहरु हाँसिरहेका छन्, मलाई त्यो हाँसोले घोच्यो । म किन रमाउन सकिनँ । चलचित्रमा देखाइएको छ- नेताले नीतिगत भ्रष्टाचारदेखि सुनकाण्ड, मान्छे मार्ने प्रपञ्चसम्म हरेक अनैतिक कार्य गरिरहेको छ । सुविधासम्पन्न बङ्गलामा बसेको छ, पुस्तौंपुस्तालाई पुग्ने सम्पत्ति कमाएको छ । उसका परिवारले विलासी जीवन व्यतित गरेका छन् । देशमा बेरोजगारी व्याप्त छ, निर्दोषलाई फसाइएको छ । दोषीहरु पैसा र शक्तिको आडमा खुलेआम हिँडेका छन् । चलचित्र सकियो । म त्यहाँबाट निस्कें ।

    हल हाँसोले गुञ्जायमान भयो । म झसङ्ग भएँ । हलभरिका मानिसहरु हाँसिरहेका छन्, मलाई त्यो हाँसोले घोच्यो । म किन रमाउन सकिनँ । चलचित्रमा देखाइएको छऔ नेताले नीतिगत भ्रष्टाचारदेखि सुनकाण्ड, मान्छे मार्ने प्रपञ्चसम्म हरेक अनैतिक कार्य गरिरहेको छ ।

    राति पटक्कै निद्रा परेन । के जीवनकालको ऊर्जावान समय व्यतित गरेको राजनीतिक दलले यही गरेको छ त ? सचेत बनौं । यदि साँच्चिकै यस्तो काममा कोही समाहित भएको छ भने यो देश र पार्टीको विचार, वीर शहीदहरुको बलिदान र निःशर्त समाज परिवर्तनका खातिर पार्टीमा आवद्ध निष्ठावान नेता कार्यकर्ता र सिङ्गो देशले धिकार्नेछन् । राजनीति सेवा हो र यसका माध्यमबाट समाज परिवर्तन गर्न निस्किएका लाखौं नेता कार्यकर्ता मिलेर यस्ता केही धमिराहरु पार्टीमा छन् भने तिनका विरुद्ध डटेर लागौं । कोही नेता कार्यकर्ताले गलत मानसिकता बोकेर पार्टीलाई भर्‍याङ बनाइरहेको पो छ कि ? पार्टी नेतृत्व सचेत हुन जरुरी छ । तर, चलचित्रमा देखाएको जस्तो सबै राजनीतिक दल र नेताहरूले गलत गरेका छैनन् । केही व्यक्तिका कारण समग्र पार्टीलाई त्यही आँखाले हेर्नु र दृष्टिकोण बनाउनु सर्वथा गलत हुनेछ ।

    नकारात्मकता फैलाउने र मनोभावनासँग खेलेरमात्र नेता बन्न खोज्नेहरुको हैकम चलिरहेको समयमा ‘महाजात्रा’ निर्माण टीमले नेपालमा बिक्ने विषय राजनीतिक दलप्रतिको प्रहारलाई कथावस्तु बनाएको छ । अन्य हिसाबमा हेर्दा महिलाहरुको एकताबाट आउने नतिजा सकारात्मक हुनेदेखि देशमा युवाले भोग्नुपरेको बेरोजगारी समस्यासम्मले निम्त्याएको अवस्था राम्रो तरिकाले देखाइएको छ । यति सोच्दासोच्दै भोलिबाट संगठनमा थप सशक्त भएर लाग्ने र पार्टीप्रति अझ बफादार बन्ने अठोट गर्दागर्दै कहिले आँखा लाग्यो पत्तै भएन ।

    (सापकोटा अनेरास्ववियु अनुशासन आयोगकी अध्यक्ष हुन् ।)

  • रियाशाले बैंककमा थापिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

    रियाशाले बैंककमा थापिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

    काठमाडौं । टेलिसिरियलमा चर्चित कलाकार रियाशा दाहालले इन्टरनेसनल अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन् ।

    बैंककमा गत शनिवार आयोजित समारोहमा उनलाई टेलिफिल्मकी उत्कृष्ट अभिनेत्री विधामा सो पुरस्कार दिइएको हो ।

    गैरआवासीय नेपालीहरूको आयोजनामा सो अवार्ड समारोह आयोजना भएको थियो ।

    थाइल्यान्डका अतिथिहरूसमेत डाकेर गरिएको कार्यक्रममा भाग लिन नेपालबाट थुप्रै कलाकारहरू लगिएको थियो ।

    रियाशासँगै केपी खनाल, शिवहरि वैरागीलगायतले पनि अवार्ड थापेका छन् ।

    रियाशा युट्युबबाट हिट भएकी कलाकार हुन् । कमेडी सिरियलहरूबाट आफ्नो पहिचान बनाएकी उनी म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

  • नृत्यकार जेडीको चिन्ता- डाँडामा कलाकार नचाउनु मात्रै सांस्कृतिक नृत्य होइन, यस्तै रहे म्युजियममा खोज्नुपर्छ (भिडिओ)

    नृत्यकार जेडीको चिन्ता- डाँडामा कलाकार नचाउनु मात्रै सांस्कृतिक नृत्य होइन, यस्तै रहे म्युजियममा खोज्नुपर्छ (भिडिओ)

    काठमाडौं । नृत्यकार, कोरियोग्राफर, कलाकार जेडी तमू एउटा कुरामा स्पष्ट छन्- हामीले जे चिजलाई सांस्कृतिक नृत्य भनेर म्युजिक भिडियोमार्फत् देखाइरहेका छौं, त्यो सांस्कृतिक नृत्य होइन ।

    डाँडा वा चउरमा गुन्युचोलो र शीरफूल लगाएर कलाकारलाई नचाउनु सांस्कृतिक नृत्य होइन । गुराँसको फेदमा वा कोदोबारीमा लगेर कलाकारलाई डम्फु बजाउन लगाउनु सांस्कृतिक नृत्य होइन । संगीतको बिटअनुसार कलाकारहरु भेला गराएर एकै स्टेपमा नचाउनु सांस्कृतिक नृत्य होइन ।

    जेडी भन्छन्, ‘सांस्कृतिक नृत्य त त्यो हो, जहाँ कुनै निश्चित समुदायको सिंगो सांस्कृतिक अनुहार आओस् । भाषा, लवज र पहिरन देखाएरमात्रै सांस्कृतिक नृत्य हुँदैन । उनीहरुको जीवनशैली, सोच्ने तरिका, उनीहरुको मनोविज्ञान र सभ्यताको छनक दिने गरी नृत्य प्रस्तुत गर्नु चाहिँ सांस्कृतिक नृत्य हो ।’

    जस्तो छ, त्यस्तै अवस्थामा हामीले संस्कृतिलाई राख्यौं भने त्यो कुहिएर जाने भयो । म्युजियममा राख्न बाध्य भइन्छ । तर, हामीले परिमार्जन पनि ठिक्कले वैज्ञानिक तवरले गर्नुपर्छ । कुनै जाति विशेषको भेषभुषा, लवज र हाउभाउमात्रै संस्कृति होइन । सबैलाई समाहित गरेर अगाडि बढाउने काम भएको छैन ।

    जेडी अर्को कुरामा पनि स्पष्ट छन्- ‘सांस्कृतिक नृत्य समयअनुसार परिमार्जन हुँदै जान सक्नुपर्छ । यदि परिमार्जन नगर्ने हो भने अन्ततोगत्वा हाम्रा नृत्यहरू म्युजियममा लगेर राख्नुपर्ने हुनसक्छ ।’

    अहिलेको पुस्ताले बाजे पुर्खाले बाँचेको जीवनशैली बाँच्न सक्दैन । बाजे पुर्खाले लगाएका पहिरण लगाइरहन सक्दैन । एकाध घण्टाका लागि लगाउन सक्लान् । तर, त्यही पहिरन दैनन्दिन लगाइरहन सक्दैन । किनभने यो पुस्ताको जीवनशैली, दौडधुप, कामको प्रकृति र काम गर्ने तौरतरिका बाजे पुर्खाको भन्दा फरक भइसक्यो ।

    त्यही भएर त जेडी भन्छन्, ‘हामीले सांस्कृतिक नृत्यहरुलाई पहिचान र सभ्यतासँगै जोडेर ल्याउने हो । तर, परिमार्जनसहित ल्याउनुपर्छ । परिमार्जनको नाममा समयभन्दा अगाडि गइहाल्ने पनि होइन । तर, अब आउने पुस्तासम्म पनि हामीले सांस्कृतिक नृत्यलाई अगाडि लैजाने हो भने पुस्ताअनुरुपको संशोधन आवश्यक छ ।’

    जेडीको नृत्य : सौखदेखि पेशासम्म

    जेडी केही समय पहिला ‘डान्सिङ विथ द स्टार’ नामक रियालिटी शोमा कोरियोग्राफर थिए अभिनेत्री/नृत्यंगना परमिता राज्यलक्ष्मी राणाका ।

    भलै यस रियालिटी शो त जेडीको टीमले जितेन । तर, दर्शकको मन भने जितेको थियो ।

    जेडी भारतबाट कन्टेम्पोररी नृत्यमा डिप्लोमा गर्ने पहिलो नेपाली हुन् । सम्भवतः एक्ला नेपाली । सौखले नृत्य सिक्न सुरु गरेका जेडीका लागि यो क्षेत्र कहिलेदेखि पेशाको रुपमा परिणत भयो, उनैलाई थाहा छैन । तर, थाहै नपाइ उनले यस क्षेत्रलाई पेशामा परिणत गरे ।

    इलामबाट एसएलसी पास गरेर ११-१२ कक्षा पढ्न झापा झरेका उनले त्यही नृत्य सिक्न थाले । ६-७ महिना नृत्य सिकेपछि आफैंले सिकाउन थाले । जेडी भन्छन्, ‘तर, डान्स सिकाउन थालेपछि थाहा भयो, मैले आफैं सिक्न धेरै जरुरी रहेछ ।’

    यसपछि जेडी अडिसनमा छानिएर कोलकाता गए अल डान्स इन्टरनेशनल एकेडेमीमा । उक्त एकेडेमीमा तीन वर्ष नृत्य सिके । अनि सीधै काठमाडौं हान्निए । अग्रज रंगकर्मी सुनिल पोखरेलसँग नाटक सिके ।

    डाँडा वा चउरमा गुन्युचोलो र शीरफूल लगाएर कलाकारलाई नचाउनु सांस्कृतिक नृत्य होइन । गुराँसको फेदमा वा कोदोबारीमा लगेर कलाकारलाई डम्फु बजाउन लगाउनु सांस्कृतिक नृत्य होइन । संगीतको बिटअनुसार कलाकारहरु भेला गराएर एकै स्टेपमा नचाउनु सांस्कृतिक नृत्य होइन ।

    तर, यतिले मात्रै जेडीलाई पुगेन ।

    ‘अनि म फेरि नृत्यमा डिप्लोमा गर्न मुम्बई हान्निएँ । डिप्लोमा सकाएपछि डिज्नी प्रोडक्सनको एउटा शोमा काम गरिरहेको थिएँ । बीचमा बिरामी परें, नेपाल फर्किएँ’, जेडी भन्छन्, ‘नेपाल फर्किएपछि भारत नजाने निधो गरें । भारतमा पनि काम त पाइरहेको थिएँ । सँगैका साथीहरु त्यहाँ स्थापित भएका छन् । तर, मलाई सांस्कृतिक रुपमा पनि नृत्यमाथि प्रयोगवादी काम गर्नु थियो । जो भारतमा सम्भव थिएन । त्यसैले नेपालमै अड्किएँ ।’

    नृत्य पेशामा लाग्ने कलाकारहरुको पहिलो सवाल नै जीवन निर्वाहको हुन्छ । तर, आफूले नृत्यलाई सौखको रुपमा मात्रै लिएकाले काम गरिरहन सहज भएको जेडी बताउँछन् । भन्छन्, ‘डान्स गरेर जीविकोपार्जन नै गर्छु भनेर कहिल्यै सोचिनँ । त्यसले मलाई कम महत्वाकांक्षी बनायो । कम महत्वाकांक्षा भएपछि मैले मेरो सृजनशीलता भरपुर रुपमा प्रयोग गर्न पाएँ ।’

    सौखमा सिकेको नृत्य अहिले जेडीको पेशा नै बनिसकेको छ ।

    ‘नृत्य मनोरञ्जनमात्रै होइन, अभिव्यक्ति पनि हो’

    सामान्यतया नृत्य भन्नासाथ लय मिलाएर जिउ हल्लाउनु, हात र खुट्टाका चालहरु मिलाउनु हो । नृत्यमा मग्न हुनु हो ।

    तर, नृत्य भन्नासाथ दर्शकलाई मनोरञ्जन प्रदान गर्नुमात्रै होइन, कलाकारले आफूलाई अभिव्यक्त गर्नु हो । सामाजिक मुद्दाहरुलाई सम्बोधन गर्नु हो, न्यायको वकालत गर्नु पनि हो ।

    तर, कलाकारले नृत्यमार्फत् आफ्नो विचारलाई कसरी अभिव्यक्त गरिरहेको हुन्छ ?

    ‘कोही कतै नाचिरहँदा उसले आफूलाई अभिव्यक्त पनि गरिरहेको हुन्छ । सँगै उसले मनोरञ्जन दिइरहेको हुन्छ । त्योभन्दा ज्यादा उसले जीवनका महत्वपूर्ण कुराहरुलाई प्रस्तुत पनि गरिरहेको हुन्छ । नृत्य थेरापी त हुँदै हो । आफूभित्र कुण्ठा बनेर बसेको कुरालाई बाहिर रिलिज गर्न पनि नृत्यले साथ दिइरहेको हुन्छ’, जेडी भन्छन् ।

    तर, नृत्यकारले यसरी प्रस्तुत गरिरहेको कुरा दर्शकसम्म कसरी पुगिरहेको हुन्छ ?

    यदि नृत्यकारलाई आफूले नृत्यबाट भन्न खोजेको कुरा पूर्ण रुपमा थाहा छ र इमानदार भएर भनिरहेको छ भने दर्शकसँग सहजै रुपमा समाहित हुने जेडीको मत छ । सामान्य जीवनमा आफूलाई मनमा कतै खट्किरहेको तर, भन्न नसकिरहेको कुरा कसैले नृत्यमार्फत् देखाइदियो भने दर्शकसँग राम्रो सम्बन्ध स्थापित हुने भयो ।

    अर्को चाहिँ दर्शकसँग नभएको कुरा देखाइदियो भने त्यसले पूरकको रुपमा काम गर्ने जेडी बताउँछन् ।

    अनि नृत्यकारलाई चाहिँ के कुराले स्टेजमा प्रस्तुति दिन उत्प्रेरित गरिरहेको हुन्छ त ?

    जेडी भन्छन्, ‘तपाईंले के भन्न खोजिरहनु भएको छ ? त्यो कुरा कति सत्यका साथ भन्न खोजिरहनु भएको छ ? भन्न चाहेको कुरा भनिरहनु भएको छ कि दर्शकलाई जे चाहिन्छ त्यही दिइरहनु भएको छ ? यो कुराले उत्प्रेरणाको मात्रामा असर गर्छ ।’

    ‘गलत नृत्य सिकाइले बच्चाभित्रको सम्भावनै मर्नसक्छ’

    काठमाडौंका प्रायः विद्यालयहरुमा नृत्य प्रशिक्षक राखिएका हुन्छन् । नृत्यका लागि विद्यालयले अभिभावकसँग छुट्टै शुल्क असुलेका हुन्छन् । सातामा एकदुई पटक नृत्यसमेत सिकाइन्छ । तर, कसरी सिकाइने गरेको छ ? अभिभावकले गरेको लगानीअनुसार औपचारिकताका लागि मात्रै सिकाइन्छ कि साँच्चिकै नृत्य नै सिकाइन्छ ?

    जेडी सीधै भन्छन्, ‘बच्चाबच्चीलाई सिकाउने त्यो अभिभारा मैले पनि लिएको छु । तर, स्कुलले नृत्यलाई कसरी प्रमोट गरिरहेको छ ? स्कुलको नियत गलत नहुनसक्छ । तर, जुन खालको अभ्यास गरिएको छ, त्यो गलत छ ।’

    उनका अनुसार विद्यालयहरुले नृत्यलगायत अतिरिक्त क्रियाकलापको मेनु नै बनाएका हुन्छन् । मानौं कुनै होटेलको मेनु हो । जहाँ थरीथरीका खानेकुराका फरक फरक मूल्यसूची छन् । अभिभावकले पनि त्यही मेनु हेरेर विद्यालय छनोट गर्ने गर्छन् । अप्सनहरु धेरै भएपछि एउटा न एउटा अभिभावकले छनोट गर्ने नै भयो ।

    यसो हुँदा बच्चाबच्चीको मानसिकतामै असर गर्ने जेडीको तर्क छ ।

    उनी भन्छन्, ‘सबै बच्चाबच्चीले नृत्यमार्फत् आफूभित्रको उकुसमुकुस बाहिर निकाल्छ भन्ने छैन । केही बच्चाले मात्रै नृत्यमार्फत् आफूभित्रको कुरालाई रिलिज गर्छन् । तर, स्कुलहरुमा नृत्यको नाममा बच्चाहरुलाई स्टेपमात्रै सिकाउँदा बच्चा आफैं समस्यामा जाने खतरा हुन्छ । ऊभित्र भएको सम्भावना पनि मर्नसक्छ ।’

    यो दुर्घटनाबाट बाहिर निस्कन पहिला बाल मनोविज्ञानसँग जोडिनुपर्ने जेडीको भनाइ छ । बच्चा जे चाहन्छ, सबै कुरा उपलब्ध गराउन असम्भव हुन्छ । कतिपय कुरामा बच्चाहरुलाई गाइडेन्स पनि दिनुपर्ने हुन्छ ।

    जेडी भन्छन्, ‘ठूलो समस्या चाहिँ जसले डान्स सिकाउँछन्, जसले डान्स सिक्ने प्ल्याटफर्म बनाइदिएको छ र जसले आफ्नो बच्चाले सिकोस् भनेर त्यहाँ लैजाने गरेका छन्, उनीहरुले बच्चाहरुसँग राम्रो समन्वय नगरेको पाइन्छ । यो समस्या नियन्त्रण गर्न आवश्यक छ ।’

    ‘सांस्कृतिक नृत्यलाई परिमार्जन गर्दै लानुपर्छ’

    नृत्यका धेरै विधा छन् । सँगै भूगोल र जाति विशेष लाखौं सयौंको संख्यामा सांस्कृतिक नृत्य छन् नेपालमा । जुन नृत्य कुनै निश्चित समुदायको पहिचान र सभ्यता सँगसँगै आइपुगेका हुन् ।

    पछिल्लो समय सांस्कृतिक नृत्यलाई केन्द्रमा राखेर बनाइएका हजारौं भिडियो युट्युबमा भेटिन्छन् । ती भिडियोमा सांस्कृतिक नृत्यको नाममा कलाकारहरुलाई सांस्कृतिक पहिरन लगाइदिएर डाँडाकाँडा दौडाइएको छ । दर्शक त्यही नृत्यलाई सांस्कृतिक नृत्य मानेर हेर्न बाध्य छन् ।

    के सांस्कृतिक नृत्य तिनै हुन् ?

    ‘सांस्कृतिक नृत्य भन्नासाथ कुनै जाति बसोबास गर्ने क्रममा कहाँबाट कहाँ पुग्यो, रहनसहन के थियो, कस्तो तरिकाले आफ्नो भावना अभिव्यक्त गर्थ्यो, तिनैको समरुप हो’, जेडी भन्छन्, ‘जाति एउटा भयो । त्यो जातिसँग भएको कला एउटा भयो । दुवैको समीश्रण हो सांस्कृतिक नृत्य । तर, हामीले कलालाई मात्रै बोकेर बाँकी कुरा उतैकतै छाडिदियौं । उसले जटिलता थपेको छ ।’

    सांस्कृतिक नृत्यलाई एकातिर बिगारिँदै छ । अर्कातिर परिमार्जन गर्दै लगिएको छ । यही कारण संस्कृतिहरुमा विकृति आइरहेको जेडीको विश्लेषण छ । संस्कृतिलाई आधुनिकीकरण गर्ने प्रक्रिया नबुझिकन बाह्य संस्कृतिको कपीको आधारमा प्रभावित भएर परिमार्जन गर्ने कोसिस गरिएकाले खास संस्कृति लोपोन्मुख अवस्थामा पुगेको जेडीको तर्क छ ।

    उनी भन्छन्, ‘जस्तो छ, त्यस्तै अवस्थामा हामीले संस्कृतिलाई राख्यौं भने त्यो कुहिएर जाने भयो । म्युजियममा राख्न बाध्य भइन्छ । तर, हामीले परिमार्जन पनि ठिक्कले वैज्ञानिक तवरले गर्नुपर्छ । कुनै जाति विशेषको भेषभुषा, लवज र हाउभाउमात्रै संस्कृति होइन । सबैलाई समाहित गरेर अगाडि बढाउने काम भएको छैन । अहिले जति पनि काम भएका छन्, ती अगाडिबाट हेर्दा मात्रै झकिझकाउ छन्, पछाडिबाट खोक्रा छन् ।’

    बच्चाबच्चीलाई सिकाउने त्यो अभिभारा मैले पनि लिएको छु । तर, स्कुलले नृत्यलाई कसरी प्रमोट गरिरहेको छ ? स्कुलको नियत गलत नहुनसक्छ । तर, जुन खालको अभ्यास गरिएको छ, त्यो गलत छ ।

    कस्तो छ नेपालको कोरियोग्राफी ?

    दैनिक दर्जनौं म्युजिक भिडियो सार्वजनिक भएका छन् । उक्त भिडियोको विवरणमा नियालेर हेर्ने हो भने त्यहाँ एक पदवी पनि हुन्छ– कोरियोग्राफर !

    सामान्य बुझाइ के हो भने कोरियोग्राफी भनेको कलाकारलाई ड्रेस मिलाएर लगाइदिने, कोरसमा नाच्नेहरुलाई मिलाएर नचाइदिने, स्टेपहरुको टाइमिङ मिलाइदिने । कोरियोग्रापर भएका म्युजिक भिडियोमा यिनै कुरामात्रै देखिन्छन् ।

    के यति नै हो कोरियोग्राफी ?

    जेडी उदाहरण दिन्छन्, ‘गाउँघरतिर धान रोपिन्छ । कोदो रोपिन्छ । कोदो रोप्दा कस्तो मज्जाले मिलाएर रोपिएको हुन्छ ? एउटा कोदोको विरुवा यता फर्केको, अर्को विरुवा उता फर्केको हुँदैन । तल्लो गह्रामा कति रोप्ने, माथ्लो गह्रामा कति रोप्ने मिलाएर रोपिएको हुन्छ । कति दूरीमा रोप्ने, तय गरिएको हुन्छ ।’

    डान्स गरेर जीविकोपार्जन नै गर्छु भनेर कहिल्यै सोचिनँ । त्यसले मलाई कम महत्वाकांक्षी बनायो । कम महत्वाकांक्षा भएपछि मैले मेरो सृजनशीलता भरपुर रुपमा प्रयोग गर्न पाएँ ।

    कोदो रोप्दा बाउसे र रोपाहार हुन्छन् । बाउसेहरु तीनचार जना हुन्छन् । उनीहरुको साथमा कुटो, कोदालो हुन्छ । बाउसेहरु अलि हत्ताकट्टा पनि हुन्छन् । उनीहरु बारी खन्छन् । अब कोदाली, कुटोलगायत कुरालाई प्रप्सको रुपमा लिन सकियो ।

    अर्कातिर रोपाहारको लुगा अलि फरक हुन्छ । बाउसेले मज्जाले खन्नुपर्ने भएकाले त्यहीअनुसारको सहज कपडा हुन्छ । रोपाहारको बसेर रोप्नुपर्ने भएकाले त्यहीअनुसारको । बाउसेहरु थोरै हुन्छन्, रोपाहारहरु धेरै ।

    जेडी भन्छन्, ‘हामीले कोरियोग्राफीलाई ठ्याक्कै यहाँबाट ल्याएर उदाहरण दिन सक्छौं । हाम्रा कोरियोग्राफरहरुसँग ज्ञान नभएको होइन । तर, ज्ञानलाई पनि व्यवस्थापन गर्नुपर्ला । भइरहेको कुरालाई समायोजन गरेर भिडियोमा ल्याउने कसरी हो ? यसमा चाहिँ ज्ञानको व्यवस्थापन आवश्यक पर्छ ।’

  • नेपाल आइडलबाट फ्याँकिएपछि कमेडीमा हुत्तिएका म्याकुरी

    नेपाल आइडलबाट फ्याँकिएपछि कमेडीमा हुत्तिएका म्याकुरी

    काठमाडौं । पछिल्ला केही वर्षमा देशभित्र हास्य कलाकारिता निकै फस्टाइरहेको छ । हाँस्न चाहने दर्शकले टेलिभिजनदेखि युट्युबसम्म भरपुर खुराकहरु पाइरहेका छन् ।

    कुनै बेला हास्य कार्यक्रम भनेको नेपाल टेलिभिजनमा प्रशारण हुने एकाध टेलिसिरियलमात्रै थिए । हास्य कलाकारहरु पनि औंलामा गन्न सकिने थिए । तर, अहिले युट्युबको व्यापकतासँगै हास्य कलाकारहरुको उपस्थिति निकै बाक्लिएको छ । थुप्रै हास्य कलाकारहरु छोटो समयमा दर्शकमाझ बलियो प्रभाव छोड्न सफल पनि भएका छन् । तीमध्येका छुटाउनै नमिल्ने एक नाम हुन् पवन खतिवडा उर्फ म्याकुरी ।

    छोटो समयमै सफलताको शिखर चुमेका पवनको कमेडी यात्रा भने त्यति सहज थिएन । हास्य कलाकार बन्ने उनको सपना पनि होइन । उनी खासमा गायक बन्न चाहन्थे । मध्यम वर्गीय परिवारबाट आएका उनले कमजोर आर्थिक स्थितिकै कारण आफ्नो गायक बन्ने सपना त्याग्नुपरेको थियो ।

    एक भाइ र एक बहिनीका दाजु पवन धनकुटामा जन्मिएका हुन् । उनलाई सानैदेखि गायनमा रुचि थियो । धनकुटामै विज्ञान विषयमा स्नातक तह सकेका उनी गायक बन्न भनी सन् २०१८ मा काठमाडौं आए । पहिलो चोटि काठमाडौं आउँदा उनले घरबाट सात हजार रुपैयाँ गोजीमा बोकेका थिए । उनलाई कमेडियन बन्छु भन्ने एक मनमा पनि थिएन ।

    ‘४-५ वर्ष अगाडिसम्म पनि मलाई कमेडियन भन्ने थाहै थिएन । न कमेडियन बन्छु भन्ने नै थियो । मलाई खालि गायक बन्छु भन्ने थियो’, विगत सम्झिँदै म्याकुरी भन्छन् ।

    यद्यपि, उनी कलेज पढ्दा अलिअलि कमेडी गर्थे । रेडियोमा कमेडी कार्यक्रम नै चलाउँथे । त्यही भएर कमेडीमा उनको दख्खल बढ्दै गयो ।

    काठमाडौं आएपछि उनले मास्टर्सको पढाइ र गायन कक्षा एकै चोटि ज्वाइन गरे । लुम्बिनी एकेडेमीमा मास्टर्स पढ्न भर्ना भएका थिए । काठमाडौंमा जीविकोपार्जन उनले सोचे जस्तो सजिलो थिएन । आर्थिक भार कम गर्न बेलामौका उनी दोहोरी साँझमा गाउने गर्थे ।

    विज्ञान विषयमा स्नातक सकेका पवनको परिवारको चाहना भने छोराले सरकारी जागिर खाओस् भन्ने थियो । तर, गायक बन्ने रेसमा दौडिएका उनी परिवारको सोचअनुसार ढल्न सकेनन् ।

    गायनको तृष्णा अहिले पनि उनमा छ । यसलाई मेटाउन उनी अवसर पाउनासाथ गाउने गर्छन् । हालसम्म १५ वटा गीत रेकर्ड गराइसकेका छन् । चार हप्ता अगाडि मात्र उनले ‘बदनाम बनायौ’ बोलको गीत गाएका थिए । यो गीत उनको आफ्नै जीवनमा आधारित छ ।

    पवन भन्छन्, ‘घरमा कराइरहनु हुन्थ्यो । लोकसेवा भिड, अधिकृत भिड भन्नुहुन्थ्यो । यत्रो पढेको मान्छे के दोहोरीमा गाउँदै हिँडेको भनेर पछिसम्म गाली गर्नुहुन्थ्यो । गायक बन्छु भनेको छ, न कमाएको देखिन्छ न त काम गरेको देखिन्छ भनेर गनगन गरिरहनु हुन्थ्यो ।’

    पवन पुतलीसडकस्थित एक एकेडेमीमा गायन सिक्न भर्ना भएका थिए । तर, महिनावारी फी तिर्न पनि धौधौ परेपछि तीन महिनामै उनले गायनको यात्रामा पूर्णविराम लगाउनुपर्‍यो । गायनको भोक मेटाउन उनी ‘नेपाल आइडल’ मा अडिसन दिनसमेत पुगे । यो कुरा सायद धेरैका लागि नौलो हुनसक्छ । उनले अडिसनमा चलचित्र प्रेमपिण्डको ‘के भनुँ, म कसो गरी परें, मोहिनीको माया जालैमा’ भन्ने गीत गाएका थिए । तर, तीन महिना पनि राम्ररी गायन सिक्न नपाएका उनी सेलेक्ट हुन सकेनन् र अडिसनबाटै फ्याँकिए ।

    गायनको तृष्णा अहिले पनि उनमा छ । यसलाई मेटाउन उनी अवसर पाउनासाथ गाउने गर्छन् । हालसम्म १५ वटा गीत रेकर्ड गराइसकेका छन् । चार हप्ता अगाडि मात्र उनले ‘बदनाम बनायौ’ बोलको गीत गाएका थिए । यो गीत उनको आफ्नै जीवनमा आधारित छ । आर्थिक स्थिति कमजोर नभएको भए अहिले पनि गायन क्षेत्रमै आफू सक्रिय रहने पवनको भनाइ छ ।

    गायनमा भविष्य नदेखेपछि उनी कमेडीतर्फ धकेलिएका हुन् । सुरुमा उनी सरोज घिमिरेले बनाएको ‘हालत खराब’ नामक सिरियलमा आवद्ध भए । यो उनको कमेडीमा डेव्यु थियोे । एक वर्ष लगातार सिरियलमा अभिनय गर्दा पनि केही उपलब्धि नभएपछि उनले घर फर्कने निधो गरे । विज्ञान विषय लिएर पढेको र गाउँमा पनि विज्ञान शिक्षकको खाँचो भएको भनेर घरबाट बोलाइएपछि उनले उतै जाने सोच बनाए ।

    ‘काठमाडौंमा भने जस्तो सजिलो थिएन, खान लाउनै मुस्किल पर्ने । कमेडियनको जीवन त झनै नाजुक थियो । न कमाइ हुने न त भविष्यको ग्यारेन्टी । बिजोकै थियो’, कमेडीबाट हरेस खाएर बसेको दिन सम्झिँदै उनी सुनाउँछन् ।

    भारतका भाइन्सहरुबाट प्रेरित भई उनले पिके (पवन खतिवडा) भाइन्स नाम राखेर एउटा युट्युब च्यानल पनि खोलेका थिए । तर, सब्स्क्राइबर्सको खडेरी थियो । उनले अरुको मोबाइल माग्दै आफैं सब्स्क्राइब गर्दै बल्लतल्ल आफ्नो च्यानलमा १६९ पुर्‍याएका थिए ।

    घर जाने निर्णय गरेपछि एउटा अन्तिम भिडियो खिचेर जाउँ भन्ने सोचे । मोबाइलबाटै एउटा भिडियो खिचेर अपलोड गरे । सौभाग्य भनौं या संजोग, सन् २०१९ मा अपलोड गरिएको उनको त्यो भिडियो एकाएक भाइरल भयो । उक्त भाइरल भिडियोको टाइटल थियो- ‘लेजेन्ड्स अप्रिल फुल’ ।

    त्यही एउटा भिडियोले उनलाई घर जान रोक्यो । दुई जना केटा र केटीबीच फोनमा भएको झगडा र नोकझोक देखाइएको भिडियोले लाखौं भ्यूज पायो । टिकटकमा पनि धेरैले म्याकुरीको संवादमा अभिनय गरे । उनको हौसला एकाएक बुलन्द भयो । त्यसपछि ‘चुतिया बाउ’ शीर्षकको अर्को भिडिओले पनि तहल्का पिट्यो, जसमा उनले बाबु र छोराको दोहोरो भूमिका खेलेका थिए ।

    विस्तारै उनले थप कमेडीका भिडियो हाल्न थाले । सबै भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । उनको व्यस्तता बढ्न थाल्यो । नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलहरुमा पनि काम पाए । धुर्मुस-सुन्तलीले बनाएको ‘सेन्टी भाइरस’ बाट चलचित्रमा डेव्यु गरे । यसरी उनको कमेडी दोकान दिन प्रतिदिन ठूलो हुँदै गयो । अहिले उनी कमेडी क्लव विथ च्याम्पियनमा अभिनय गरिरहेका छन् । उनको कामप्रति परिवारको पनि समर्थन र सन्तुष्टि छ ।

    यति छिटो सफल हुन्छु भन्ने पवन आफैंले पनि सोचेका थिएनन् । हचुवामा सुरु गरेको उनको च्यानलमा अहिले २० जना कार्यरत छन् ।

    उनी भन्छन्, ‘यति छिटो यत्रो ठूलो परिवार हुन्छ भन्ने मनको एक छेउमा पनि थिएन । ५ हजार सब्स्क्राइबर्स पुगे पनि धेरै खुसीको कुरा थियो । तर, सोचेभन्दा धेरै छिटो सफलता पाएँ । सबैप्रति आभारी छु ।’

    पवन हाल ‘वडा नं ४२०’ नामक सिरियलमा व्यस्त छन् । उनी आफैंले बनाएको यो सिरियल नेपाल टेलिभिजनमा हरेक सोमबार प्रशारण हुने गर्छ । सोमबार टीभीमा आउने सिरियल उनी मंगलबार आफ्नो युट्युब च्यानलमा हाल्छन् । उनी बिक्की अग्रवालको नयाँ शो ‘कमेडी दरबार’ मा पनि देखिँदैछन् ।

    लेखनमा रुचि भएकाले उनले केही समय स्क्रिप्ट लेखनको तालिम पनि लिए । सुरुका दिनहरुमा आफ्ना हरेक भिडियोको लेखन तथा निर्देशन उनी आफैं गर्थे । तर, समयसँगै व्यस्तता बढ्न थालेपछि अहिले उनले निर्देशनको पार्ट देवजंग थापा र लेखनको पार्ट सरोज भण्डारीलाई सुम्पिएका छन् ।

    आफ्नो कर्ममा निरन्तर अघि बढिरहेका म्याकुरीले २०७८ साल असोज १८ गते प्रेमिका सुम्निमासँग औपचारिक तवरबाट विवाह गरेका थिए । सुम्निमा र म्याकुरी एकै टीममा मिलेर काम गर्थे । काम गर्ने क्रममै यी दुईको प्रेम फस्टाएको थियो । दुई वर्ष प्रेम सम्बन्धमा रहेर यी दुईले विवाह पनि गरे । तर, दुर्भाग्यवश उनीहरुको वैवाहिक सम्बन्ध भने लामो समय टिक्न सकेन । अहिले उनीहरु सम्बन्धविच्छेदको प्रक्रियामा छन् ।

    पवन र सुम्निमाको कलाकारितामा सहयात्रा जारी रहन्छ वा रहँदैन ? यसबारे केही भन्न नसक्ने उनी बताउँछन् ।

    ‘सहकार्य टुटे-नटुटेको भन्नेबारे मलाई थाहा छैन । यसबारे केही कुरा भएको छैन र यसबारे के हुन्छ भन्ने मलाई थाहा पनि छैन’, पवनले भने ।

    श्रीमतीसँग डिभोर्सको चर्चाबीच ‘म्याकुरी’ केही दिनअघि पवनले एउटा खुशीको खबर शेयर गरे । उनले आफ्नो युट्युब च्यानलमा १० लाख सब्स्क्राइबर्स पुर्‍याएर गोल्डेन बटन पाएका छन् । उनले खुसी साट्दै सिल्भर र गोल्डेन बटन दुवै बोकेको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सिल्भर बटन चाहिँ उनले चार वर्षअघि नै पाएका हुन् ।

    पवन हाल ‘वडा नं ४२०’ नामक सिरियलमा व्यस्त छन् । उनी आफैंले बनाएको यो सिरियल नेपाल टेलिभिजनमा हरेक सोमबार प्रशारण हुने गर्छ । सोमबार टीभीमा आउने सिरियल उनी मंगलबार आफ्नो युट्युब च्यानलमा हाल्छन् । उनी बिक्की अग्रवालको नयाँ शो ‘कमेडी दरबार’ मा पनि देखिँदैछन् ।

  • डिग्री माइला बनेर आफ्नै गफ दिँदै भिडिओ बनाएर उपहार जित्ने अफर

    डिग्री माइला बनेर आफ्नै गफ दिँदै भिडिओ बनाएर उपहार जित्ने अफर

    काठमाडौं । चैत्र ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘डिग्री माइला’को निर्माण टिमले दर्शकका लागि अफर ल्याएका छन् ।

    निर्माण टिमले चलचित्र प्रोमोसनका लागि डिग्री माइलाको पात्र बनेर डाइलग प्रतिस्पर्धा गरे उपहार जित्न सकिने अफर ल्याएको हो । इच्छुक दर्शकले डाइलग बोलेर भिडिओ बनाइ प्रतिस्पर्धामा भाग लिएर उपहार जित्न सक्नेछ । त्यसको लागि डिग्री माइलाको पात्र बनि आफ्नै गफ दिँदै अधिकतम ३ मिनेट सम्मको भिडि‌ओ बनाउनुपर्नेछ ।

    उक्त भिडि‌ओ बनाएर दर्शकले ‘डिग्रीमाइला’को ह्यास्ट्याग राखी फिल्मको रिलिज मिति र टाइटल राखी degreemaila.movie@gmail.comमा पठाउनु पर्नेछ ।

    साथै , बाँसुरी फिल्मसलाई ट्याग पनि गर्नुपर्नेछ  र युट्युव च्यानल पनि सस्क्राइब गर्नुपर्नेछ ।  उक्त भिडियो २७ गतेसम्म पठाइसक्नु पर्नेछ भने सो भिडि‌‌ओ बनाएका विजेताले  ‌हाेनरकाे मोबाइल उपहार पाउने छ्न् ।

    साथै दोस्रो र तेस्रो बनेका दर्शकलाई पनि मोबाइल नै उपहार दिने छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ।

    बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

    चलचित्रमा दया र आँचलसहित, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। यो चलचित्र चैत्र ३० गते रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ।

  • अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

    अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

    काठमाडौं । नायक अनमोल केसीको जन्मदिनको पारेर फिल्म ‘फर्की फर्की’ को फस्टलुक रिलिज गरिएको छ ।

    आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा अनमोललाई मात्र स्थान दिइएको छ ।

    यो लभस्टोरी फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

    साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

  • अन्ततः जापानमा चल्न दिइयो ओस्कार बिजेता फिल्म ओपनहाइमर

    अन्ततः जापानमा चल्न दिइयो ओस्कार बिजेता फिल्म ओपनहाइमर

    काठमाडौं । ओस्कार विजेता विश्व विख्यात चलचित्र ओपनहाइमर अन्ततः जापानमा प्रदर्शनीमा आएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार जापानमा शुक्रबारबाट चलचित्र प्रशर्दनमा आएको हो ।

    आणविक बमले विनाश भएको देशको भावानामा चोट पुग्ने संवेदनशीलता भएकोले त्यही बम निर्माताको जीवनको चलचित्र भएकोले जापानमा विरोध भएको थियो ।

    सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिामा खसाएको आणविक बमबाट एक लाख चालिस हजार जनाको मृत्यु भएको थियो भने नागासाकीमा खसाइएको बममा ७४ हजारको ज्यान गएको थियो । यो स्मृतिले जापानीहरु आणविक बमको चलचित्रमा संवेदनशील भएका हुन् भनिएको छ ।

    यो वर्षको ओस्कारमा उत्कृष्ड चलचित्रको रुपमा यो चलचित्रले तहल्का पिटेको थियो । क्रिस्टोफर नोलानको निर्देशनमा रहेको ओपनहाइमर चलचित्र जापानमा महिनौसम्म निषेध गरिएको थियो । शुक्रबार प्रदर्शनमा आएपछि विश्वका अन्य भागमा जस्तो कुनै पोस्टरहरु नराखिएको डिडब्लूले उल्लेख गरेको छ । दश करोड डलर लगानीको चलचित्रले एक अर्बभन्दा धेरै डलर कमाइसकेको बताइएको छ ।

     

  • ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टरमा दुई जोडीको रोमान्स

    ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टरमा दुई जोडीको रोमान्स

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

    पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

    ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ । चलचित्रमा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलावा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख भूमिका रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गर्दैछन् ।

    चलचित्रमा ट्राभल लभस्टोरीको कथामा बनेको छ । कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् ।