Category: कलाप्रेस

  • ‘सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाउँदै, निर्माण टीम उत्साहित

    ‘सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाउँदै, निर्माण टीम उत्साहित

    काठमाडौं । साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।

    यसैबीच, सिनेमामा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ सिनेमाको राम्रो हाइप बनाउन सफल देखिएका छन् । सिनेमामा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले सिनेमा हेर्न व्यग्र रहेको प्रतिक्रिया समेत दिएका छन् ।

    विशेषगरी दर्शकले सिनेमाको टिजरलाई औधी रुचाएको पाइन्छ । टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया दिएका छन् । ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ । सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिन्छ ।

    सिनेमाका निर्देशक राज बहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामाग्री गीत र ट्रेलर उत्कृष्ट दिनु पर्ने चुनौती थपिएको बताउँछन् । सिनेमाका दुवै प्रचार सामाग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माताद्धय भुगोल कार्की र विकासराज जोशीको छ ।

    ’सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

    सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

    तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

     

  • ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक

    ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक

    काठमाडौं । साउन २३ गते रिलिज हुने चलचित्र ‘मोहर’को ‘झुम झुम झुम्किका’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग ‘इजुकेशन टाइ अप’ गर्दै चलचित्रको गीत रिलिज गरिएको हो ।

    जोसेफ स्कुलबाट एसईई पास भएका विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा ५०० बढी विद्यार्थी र अभिभावकको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाल फिचर्ड छन् ।

    फिल्म मेकर्स प्रालिको व्यारनमा निर्माण भएको चलचित्रका निर्माता चुम्बनजंग शाही हुन् । चलचित्रमा अर्जुनजंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ । कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको चलचित्र देउकी प्रथाको कथामा तयार भएको छ ।

  • ‘निष्पक्ष बस्न’ मतदाता नामावलीमा नाम नै नलेखाएका माग्ने बुढा (भिडिओ)

    ‘निष्पक्ष बस्न’ मतदाता नामावलीमा नाम नै नलेखाएका माग्ने बुढा (भिडिओ)

    काठमाडौं । कलाकारिताको सुरुको समयमा केदार घिमिरे माग्ने बुढा एउटा टेलिभिजन कार्यक्रममा काम गर्थे, जसको नाम थियो ‘टिपनटापन’ । कार्यक्रमका निर्देशक थिए मुनाल घिमिरे ।

    नखिपोटतिर सुटिङ हुन्थ्यो । माग्ने बुढाले सुटिङका लागि आवश्यक लुगा, टोपीदेखि ब्यान्डेजसम्म घरबाट बोकेर जान्थे । स्क्रिप्ट आफैं पनि लेख्थे । पारिश्रमिकको रूपमा भने एक प्लेट मःमः पाउँथे ।

    घिमिरे बन्धुको त्यसबेलाको सहकार्य अहिले आएर नयाँ रूपमा व्युँतिएको छ । मुनालले निर्माण गरेको चलचित्र ‘माग्ने राजा’ मा प्रमुख कलाकारका रूपमा अभिनय गर्दैछन् केदार । पारिश्रमिक चाहिँ एक प्लेट मःमःबाट ६१ लाख (वास्तविक रकम ३५ लाख) पुगेको छ ।

    एकातिर निर्माण पक्षले केदारलाई ६१ लाख पारिश्रमिक दिएको भनेर चर्को हल्ला गरिरहेको थियो । अर्कातिर ‘माग्ने राजा’का लेखक सामिप्यराज तिमल्सिनाले एक लेख नै लेखे, धेरै पारिश्रमिक लिने/दिने कुरा सिंगो चलचित्र क्षेत्रका लागि हानिकारक छ भनेर ।

    ‘माग्ने राजाको लागि तपाईं नभई हुन्न, तपाईंकै कथामा चलचित्र बनाउने हो भन्ने उहाँ नै हो । अस्ति बढी पारिश्रमिक दिने निर्माता हानिकारक छ भनेर लेख लेख्ने पनि उहाँ नै हो’, माग्ने बुढा भन्छन्, ‘निर्माता, निर्देशक र लेखक मिलेर के गर्न खोज्या हो, मैले अहिलेसम्म बुझ्या छैन ।’

    उनले फेरि स्पष्टीकरण दिए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै होइन । हाम्रो आपसी समझदारीमा मैले पारिश्रमिक लिएको छु ।’

    पारिश्रमिकभन्दा पनि आफूले ‘माग्ने राजा’ मा अत्यन्त मेहनत गरेको केदारले बताए ।

    उनले भने, ‘यो बीचमा धेरै स्क्रिप्ट आएका थिए । त्यसमध्ये छानेर चलचित्र छनोट गरेँ । मैले काम गरिनँ भनेर कतिपय साथीहरू रिसाउनुभएको पनि होला । म उहाँहरूलाई नरिसाउनु होला भन्न चाहन्छु । मलाई हतारहतारमा पाए जति सबै चलचित्र खेल्न मन थिएन ।’

    बीचमा एकदमै धेरै चलचित्रका अफर आए पनि आफूले इन्कार गरेको उनले बताए । भर्खरै ‘जहाजैमा’ मा अनुबन्ध भएका केदारले भने, ‘यो चलचित्रमा अनुबन्ध हुनुअघि मैले ८ वटा चलचित्र इन्कार गरेको थिएँ । म पैसाकै लागि मात्रै चलचित्र खेल्ने पक्षमा छुइनँ ।’

    राज्यलाई इमानदारिताका साथ कर बुझाइरहेको छु

    नेपाल सरकारको कर नीतिअनुसार यदि तपाईंको आम्दानी १० लाखसम्म छ भने तपाईंले १० प्रतिशत आयकर राज्यलाई बुझाउनुपर्छ । ११ देखि २० लाखसम्म छ भने २० प्रतिशत बुझाउनुपर्छ । २० देखि ५० लाखसम्म छ भने ३६ प्रतिशत र ५० लाखभन्दा माथिको आम्दानीमा ३९ प्रतिशत आयकर बुझाउनुपर्छ ।

    माग्ने बुढाले चाहिँ ‘माग्ने राजा’बाट कति बुझाए त ? राज्यलाई तिरेको कर चाहिँ हेर्नै बाँकी रहेको बताउँछन् । किस्ता-किस्तामा पारिश्रमिक आउने भएकाले हिसाब निकालिनसकेको बताए, तर इमानदारीका साथ राज्यलाई जति तिर्नुपर्ने हो, त्यति तिर्न तयार रहेको उनले बताए ।

    चलचित्र, विज्ञापन र स्टेज कार्यक्रमहरूबाट उनले लाखौं आम्दानी गरिरहेका हुन्छन् । यस्तो आम्दानी कत्तिको पारदर्शी हुन्छ त ?

    माग्ने बुढाका अनुसार यस्ता कारोबारमा पारिश्रमिक दिने ठाउँहरूमा स्थायी लेखा नम्बर बुझाएका हुन्छन् । ती कम्पनीहरूले नै उक्त लेखा नम्बरमा कर बुझाइदिएका हुन्छन् ।

    तर केही समयअघि गायिका रचना रिमालले एक टेलिभिजन अन्तर्वार्तामा गीत गाउँदा पाएको पारिश्रमिक पनि बुझाउनुपर्छ भनेर अनभिज्ञता प्रकट गरेकी थिइन् । रिमालको सन्दर्भमा माग्ने बुढा भन्छन्, ‘उहाँ भर्खर यो क्षेत्रमा आउनुभएकाले त्यसो भन्नुभएको होला । स्टेज शो हुँदा उहाँलाई पैसाको मुठो दिइन्छ, तर कम्पनीले उतैबाट कर तिरिसकेको हुन्छ । सायद उहाँले यो कुरा थाहा नपाएर त्यसो भन्नुभएको होला ।’

    आफू भने कलाकारिताको प्रारम्भिककालदेखि नै राज्यलाई दिनुपर्ने कर तिर्दै आएको उनको भनाइ छ ।

    माग्ने बुढाको मतदाता नामावलीमा नामै छैन

    देशमा अनेकखाले आन्दोलन भइरहन्छन् । कहिले राजावादीहरूले गर्छन्, कहिले गणतन्त्रवादीहरूले गर्छन् । प्रायःजसो आन्दोलनहरू भइरहन्छन्, तर माग्ने बुढाको भने यस्ता आन्दोलनप्रति कुनै पनि किसिमको धारणा छैन । कुनै पनि किसिमको दृष्टिकोणसमेत छैन ।

    उनले सीधै भनिदिए, ‘राजनीतिक रूपमा कुनै पनि किसिमको धारणा राख्न चाहँदिनँ । मलाई सबै किसिमको दर्शक चाहिन्छ । म कलाकार हो, कलाकारकै रूपमा कलाकारिता गरिरहन चाहन्छु । एक सीटमात्रै जितेको दलको कार्यकर्ता पनि हामीलाई चाहिन्छ ।’

    कतिसम्म भने कसैको पनि मन दुखाउन नचाहने माग्ने बुढाको मतदाता नामावलीमा समेत नाम छैन । निष्पक्ष नै बसूँ भनेर मतदाता नामावलीमा समेत नाम नराखेको उनले बताए ।

    भोट हाल्नु त आफ्नो अधिकार हो, पाँच वर्षसम्म आफ्नो प्रतिनिधि चुन्नु हो नि भन्ने प्रश्नमा माग्ने बुढाको सीधा जवाफ छ, ‘चुनावमा केसम्म देखेको छु भने मतदानस्थलमा जानासाथ एक जनाले अंगालो हालेर लौ साथी यता भन्छ । अर्कोले आफ्नो समूहमा लागेर यता है भन्छ । त्यहाँ यसै थाहा भइहाल्छ, कताको मान्छे भनेर । त्यसो नहोस् भनेर मैले मतदाता नामावलीमा समेत नाम दर्ता नगराएको हुँ ।’

    तर अमेरिका वा युरोपतिर ठूल्ठूला कलाकारहरू आफ्नो मनप्रिय उम्मेदवारको पक्षमा खुलेर लागिरहेका हुन्छन् । अमेरिकामा भएको पछिल्लो राष्ट्रपतीय निर्वाचनमा धेरै हलिउड कलाकारहरू खुलेर उम्मेदवार कमला ह्यारिसको पक्षमा लागेका थिए । यद्यपि निर्वाचन भने डोनाल्ड ट्रम्पले जिते । ट्रम्पले जिते पनि ह्यारिसको पक्षमा खुलेर लागेका टेलर स्वीफ्टहरूको करियरमा केही असर गरेन, तर माग्ने बुढाले भने मतदाता नामावलीमा आफ्नो नाम नै दर्ता नगराउने कस्तो खालको डर हो ?

    ‘मतदानस्थलमा गइएला, एउटा पार्टीको कार्यकर्ताले फोटो खिचेर हाल्ला । अर्को पार्टीको कार्यकर्ताले पनि हाल्ला । यसपछि यस्तो-उस्तो भनेर विरोध सुरु होला । हामी त मनोरञ्जन दिने कलाकार हौं’, माग्ने बुढा भन्छन्, ‘अब चाहिँ मतदाता नामावलीमा नाम दर्ता गराउँछु कि !’

    आजका दिनसम्म पनि आफूले कुनै निर्वाचनमा भोट नहालेको उनले सुनाए ।

    जहिल्यै माग्ने बुढा नामक पात्रमात्रै किन ?

    आजका दिनसम्म केदार घिमिरेले ‘मेरी बास्सै’का माग्ने बुढाको चरित्रलाई छाड्न सकेका छैनन् । कतिपय चलचित्रमा ड्रेसअप बदले । लुगा लगाईको तरिका बदले । पात्रहरूको नाम पनि बदले, तर बोलीको लवज भने बदलेनन् । हरेक चलचित्रमा त्यही पुरानो ‘मेरी बास्सै’को माग्ने बुढाको लवज बोकिरहे । सँगै सिग्नेचर संवाद ‘हल्का रमाइलो’ भनिरहे ।

    अहिले ‘माग्ने राजा’मा त त्यही माग्ने बुढाकै सिंगो कथा बनाइएको छ । माग्ने बुढाको भनाइअनुसार यो चलचित्र त्यही माग्ने बुढा पात्रको चलचित्र अवतरण हो । यहाँ पूर्ण रूपमा माग्ने बुढालाई देख्न पाइन्छ । माग्ने बुढा नामक पात्रलाई छाड्नुको साटो सिंगो चलचित्र नै बनाउँदै अलग पात्रहरूमा देखिने जोखिम नलिनुको कारण के हो ?

    ‘यसलाई मेरो कमजोरी भनौं या के भनौं, मलाई अरु चरित्रलाई लिएर अफर नै आउँदैन । मलाई केही ढाँट्नु छँदैछैन । कहाँबाट, कसरी आएँ भनेर मेरो संघर्ष दर्शकहरूलाई थाहै छ’, उनी खुल्दै जान्छन्, ‘म धेरै जान्ने कलाकार हुँदा पनि होइन । यो ‘माग्ने राजा’ माग्ने बुढालाई फुलफेजमा हेर्न चाहने दर्शकहरूका लागि बनेको हो ।’

    आफूले मात्रै नभएर आफूलाई खेलाउन चाहनेहरूले पनि माग्ने बुढाकै अवतारमा खेलाउन चाहेकाले फरक चरित्रमा नदेखिएको उनको भनाइ छ । सबैले यही पात्र चाहिन्छ भनेपछि आफ्नो केही नलागेको उनी बताउँछन् ।

    ‘विज्ञापनमा समेत केही फरक गरौं भन्दा हामीले तपाईंलाई यही पात्रका लागि पैसा दिएको भन्नुहुन्छ । चलचित्रमा पनि यस्तै हुन्छ’, माग्ने बुढा भन्छन्, ‘मेरो भेषभुषा बदलिँदै गएको छ, तर लवज बदलिन सकेन । अथवा मैले फरक चरित्रमा काम गर्ने अवसर पाएको छैन । सायद भोलिका दिनमा पाउँछु कि ! अहिलेसम्म त माग्ने बुढाको बोली मीठो छ भन्दाभन्दै म यसमै फसेँ ।’

    चुनौती लिएको भए पनि त हुन्थ्यो नि भन्ने प्रश्नमा उनले भने, ‘मैले जानेकै यति हुनसक्छ । मलाई त्यति धेरै आउँदैन पनि खासमा, तर मलाई फरक चरित्रमा काम गर्ने धेरै रहर छ । यो जोखिम कसले लिने त ? कोही मान्छे आउनुभयो भने पक्कै म कोसिस गर्छु ।’

    श्रीमती धमाधम चलचित्र खेल्दै, छोरा एक्सन चरित्रका लागि जिम धाउँदै

    चलचित्र विकास बोर्डको तथ्यांकअनुसार नेपालमा १६६ हल छन् । यी हलहरूबाट एक दिनमा अधिकतम चार करोड वरिपरि ग्रस कलेक्सन भएका छन् । डिजिटल राइटस् र डायस्पोराको बजारलाई छाडेर घरेलु बजारमा यत्रो मार्केटमा कलाकारहरूले कति जति पारिश्रमिक लिनुपर्ने हो त ?

    यस सवालमा भने माग्ने बुढा घुमाउरो जवाफ दिन्छन्, ‘यो चाहिँ डिमान्ड र सप्लाइमा आधारित हुने कुरा भयो । कसैले नयाँ कलाकारलाई प्रोत्साहन गरौं भनेर पनि चलचित्र बनाइरहनु भएको छ । कसैले चलेकै कलाकार लिएर पनि बनाइरहनु भएको छ । तपाईंले लगानी कम गर्नुभयो भने जोखिम पनि कम भयो, तर नयाँ कलाकारमात्रै राखेर चलचित्र बेच्न पनि गाह्रो होला फेरि ।’

    उनी आफ्नै श्रीमती सीतादेवी तिमल्सिनाको उदाहरण दिन्छन्, ‘मेरो जहान सीताले खेलेको ‘सानो संसार’ कम बजेटमा बनेको राम्रो चलचित्र थियो । चलचित्र हेरेकाले प्रशंसा पनि गर्नुभएको थियो, तर चलचित्र बेच्न गाह्रो भयो ।’

    निर्माताले बजार हेरेर लगानी गर्नुपर्ने माग्ने बुढाको मत छ । अहिले हेर्दा ७० करोड हाराहारीको बजार देखिएपछि १५ देखि २० करोडको ग्रसलाई हिटको संज्ञा दिइरहेको अवस्था भएकाले यही ग्रस कलेक्सनलाई आधार मान्दा उत्तम हुने उनको बुझाइ छ । यसो हुँदा तीन करोडसम्म लगानी गर्न सकिने उनको विश्लेषण छ ।

    माग्ने बुढाले आँकलन गरेको नेपाली चलचित्रको यो बजारमा उनकी श्रीमतीमात्रै होइन, छोरा आशिष घिमिरेले पनि ‘होस्टेल ३’बाट चलचित्रमा डेव्यु गरिसकेका छन् । उनका श्रीमती र छोरा दुवैले अभिनयबाट प्रशंसा पनि पाए । ‘होस्टेल ३’ त हिट सावित भयो ।

    सीतादेवी बल्छी ध्रुबेको चलचित्र ‘गोबर गणेश’ अनुबन्ध हुने पक्कापक्की भइसकेको छ । उनका छोरा अहिले जिम जाने, ज्यान बनाउने काम गरिरहेका छन् । सँगै मार्सल आर्ट पनि सिकिरहेका छन् । एक्सन प्रधान चलचित्रमा काम गर्ने तयारीमा छोरा रहेको माग्ने बुढा बताउँछन् ।

    छोराको कलाकारिताबारे भन्छन्, ‘उसले धुन्धुकारी बनेर सानैमा मेरी बास्सैमा खेलेको थियो । त्यो त बाउ निर्देशक भएर पाएको चिज हो । अहिले होस्टेल ३ मा चाहिँ निर्माता, निर्देशकबाटै उसलाई अफर आएको हो । बीचमा सुनिल पोखरेल दाइकहाँ गएर गुरुकुलमा पनि अभिनय सिक्यो । सडक नाटकहरू पनि गर्‍यो । उसले आफूलाई बनाउँदै लगेको छ, तर मेरो धेरै अपेक्षा चाहिँ छैन । जे जसो गरेर भए पनि सरल तरिकाले जिन्दगी चलाओस् ।’

  • सारुकलाई सम्झिँदै उषा रजकको बिलौना- म आफैंलाई मरुँमरुँ लागिरहेको छ

    सारुकलाई सम्झिँदै उषा रजकको बिलौना- म आफैंलाई मरुँमरुँ लागिरहेको छ

    काठमाडौं । अभिनेत्री उषा रजकले ८ मिनेट लामो धरधरी रोएको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । दुई वर्षअघि आत्महत्या गरेर बितेका अभिनेता सारुक ताम्राकारलाई सम्झँदै रजक धरधरी रोएकी हुन् ।

    आज सारुकको ‘दोस्रो डेथ एनिभर्सरी’ रहेको बताउँदै आफू दुई-तीन हप्तादेखि डिप्रेस्डसमेत रहेको बताएकी छन् ।

    उनले भिडिओमा भनेकी छन्, ‘म आफैँलाई मरुँमरुँ लागिरहेको छ । आज सारुकको डेथ एनिभर्सरी रहेछ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला । तर पनि…. ।’

    उनले सारुकको मृत्युप्रति पनि शंका प्रकट गरेकी छन् । रिलेसनमा रहेको पार्टनरले धेरै नै कन्ट्रोल गरेकाले, साथीभाइ र घरपरिवारबाट टाढा लगेकाले सारुकले आत्महत्या गरेको उषाको भनाइ छ । आफ्नो पार्टनरलाई आफू अनुकूल मेनुपुलेट गर्न खोज्दा उसलाई धेरै नै पीडा हुने उनले बताएकी छन् । त्यस्तो प्रवृत्तिलाई ‘स्वार्थीपना’ करार समेत गरिदिएकी छन् ।

    भावविह्वल हुँदै उषाले थप भनेकी छन्, ‘ऊ साथीमात्रै हुँदा यत्तिको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुवा पनि बितेर जानुभयो । मैले कही हेल्प गर्न सकेन, गिल्टी फिल हुन्छ ।’

    उनले आफूले विपसेना ध्यान गर्ने गरेको, वेद, पुरान सबै बुझेजस्तो लागेको भन्दै सारुकको मृत्युमाथि शंका प्रकट गरेकी छन्, ‘कतै यो अन्याय त होइन ?’

    आफूलाई भने मर्ने छुट नभएको, १५ वर्षको बच्चा भएको पनि बताएकी छन् । उनले सारुकलाई लिएर थप भनेकी छन्, ‘मैले ध्यान गर्दा कस्तो राम्रो इनर्जी आउँछ । ऊ स्वर्गमा, शान्त ठाउँमा छ जस्तो लाग्छ ।’

    उनले थप भनेकी छन्, ‘हरेक दिन यसरी धेरै रुन पनि पाउँदिनँ । घरको काम गर्नपर्छ । खाना बनाउनपर्छ । बच्चा स्कुलबाट आउँछ । हरेक दिन यसरी डिप्रेस्ड भएर बसेको बच्चाको लागि राम्रो पनि होइन ।’

    अभिनेता सारुक ताम्राकार दुई वर्षअघि घरमै मृत फेला परेका थिए । पछि उसले आत्महत्या गरेको पुष्टि भएको थियो । उसको मृत्युलाई लिएर अनेक तरहका कुरा उठेका थिए । मृत्युपछि एक अभिनेत्रीसँग समेत सारुकको नाम जोडिएको थियो । यद्यपि, त्यो कुरा अहिले सेलाइसकेको छ ।

    चलचित्र ‘रानी’बाट अभिनय करियर सुरु गरेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लन्डन’मा अभिनय गरेका थिए ।

    अर्कातिर ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ जस्ता चलचित्रमा अभिनय गरेकी उषाले रसियन नागरिकसँग विवाह गरेर कीर्गिस्तान पुगेकी थिइन् । त्यहाँ ७ वर्ष बसेर नेपाल फिरेकी थिइन् । नेपाल फिरेर ‘कठपुतली’ नामक चलचत्रिबाट अभिनयमा कमब्याक गरेकी थिइन् । अहिले पनि चलचित्र क्षेत्रमा सक्रिय उषा श्रीमानसँग अलग भइसकेको खबर छ ।

  • दुर्गेश र सिसनसँग गुराँस नानीको मोडलिङ, पारिश्रमिक ५० हजार !

    दुर्गेश र सिसनसँग गुराँस नानीको मोडलिङ, पारिश्रमिक ५० हजार !

    काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँले सहकार्य गरेको गीत ‘जाने भए जाम माया’को भिडियोमा टिकटकमा भाइरल गुराँस नानीले मोडलिङ गरेकी छन् । उनी आफ्नो घर सोलुखुम्बुबाट काठमाडौं आएर म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् ।

    मान्छेले हाँसोको पात्रको रूपमा लिइरहेको गुराँस नानीलाई आफूले म्युजिक भिडियोमा खेलाएर अवसर दिएको गायक थापाले बताए । थापाले भने, ‘गुराँस नानी गाउँमा थिई । हामीले बोलाएर राम्रै पारिश्रमिक दिएर भिडियोमा खेलाएको हो । उसलाई मान्छेले खिल्ली उडाइरहेका थिए, तर ऊसँग पनि ट्यालेन्ट छ भन्ने हामीलाई लाग्यो । अरू सेलिब्रेटीलाई दिने लेभलको पारिश्रमिक दिएरै म्युजिक भिडियोमा खेलायौँ ।’

    कति पारिश्रमिक दिएको हो त ? भन्ने प्रश्नमा थापाले भने, ‘पचास हजार दिएको हो । अरू सेलिब्रेटीलाई दिने पारिश्रमिक पनि यही तहकै हुन्छ ।’

    जे जस्तो भए पनि गुराँस नानीलाई हल्का रूपमा लिन नहुने थापाको तर्क छ । भगवानले कसैलाई रुवाउने त कसैलाई कसाउने भएकाले सबै मान्छेलाई समान व्यवहार गर्नुपर्ने उनले बताए ।

    केही समयअघि गुराँस नानी भ्लगर बानियाँसँगको डोयट टिकटक भिडियोका कारण चर्चामा आएकी थिइन् । त्यसअघि पनि उनी अनेक खाले अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन् । उनलाई मान्छेहरूले रमाइलोको रूपमा हेर्ने गर्थे ।

    सात वर्षको हुँदा नै आमा गुमाएकी गुराँस नानी सोलुखुम्बुमा भाइ र बुवासँग बस्दै आएकी छन् । काठमाडौंमा म्युजिक भिडियोको काम सकाएर आज बिहान मात्रै गाडीमा सोलुखुम्बु गइसकेको थापाले बताए । थापाले भने, ‘सबै मान्छेले आ–आफ्नै दुःख र संघर्ष छ । गुराँस नानीले पनि दुःख झेलेरै आएकी छन् । उनको खिल्ली उडाउनुको कुनै अर्थ देख्दिनँ म ।’

    पर्सिको दिन थापाको गीत युट्युबमा सार्वजनिक हुँदै छ । मोडलिङमा मात्रै नभएर बानियाँले गायनमा पनि थापालाई साथ दिएका छन् । यसअघि थापाको ‘दुश्मन हेरेको हेर्यै’ गीतले सय मिलियन भ्युजको आँकडा पार गरेको थियो ।

  • एलिना भन्छिन् : अब विदेश बस्ने केटासँग सायद बिहे गर्दिनँ

    एलिना भन्छिन् : अब विदेश बस्ने केटासँग सायद बिहे गर्दिनँ

    काठमाडौं । अहिले सामाजिक संजाल एलिना–समिक्षामय भएको छ । आफूविरुद्ध अभद्र कमेन्ट र म्यासेज गर्नेहरुको तस्विर भटाभट सार्वजनिक गर्न थालेपछि उनीहरु चर्चित भएका हुन् ।

    अझै एक कदम अगाडि बढेर एलिनाले गालीगलौज गर्नेहरुविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत गरिन् । त्यही उजुरीका आधारमा एकजना पक्राउ परिसकेका छन् । यसका साथसाथै, एलिना अहिले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिन व्यस्त छिन् । हालै आएका दुईवटा अन्तरवार्तामा उनले बिहेपछि श्रीमानबाट पाएको शारीरिक र मानसिक यातनाको वर्णन गरिन् ।

    ऋषि धमलालाई दिएको एउटा अन्तरवार्तामा एलिनाले भनेकी छन्, ‘मलाई जिउनै गाह्रो भयो । मैले मर्नुभन्दा बहुलाउनु निको भनेर डिभोर्स गरेको हो । पछि दुर्घटना हुनुभन्दा अहिले नै छुटेको राम्रो हो भनेर छुट्टियौं ।’ अन्तरवार्तामा उनले बिष्णु सापकोटासँग विवाह गर्ने निर्णय नै गलत भएको स्वीकारोक्ति गरेकी छन् ।

    ‘मैले साँचो माया गरेको थिएँ, त्यसैले विवाहका लागि तयार भएँ,’ उनले भनिन्, ‘परिवारको सहमति नभए पनि मैले नै रोएर, ब्ल्याकमेलिङ गरेर उहाँहरुलाई कन्भिन्स गराएँ । उहाँलाई पाइनँ भने बाँच्नै सक्दिनँ भनेर बुवाआमालाई विवाहका लागि तयार गराएँ । मैले गल्ति गरेँ ।’

    डिभोर्सको कारणबारे उनी भन्छिन्, ‘अरुलाई के दोष दिनु, मैले नै उहाँको विश्वास जित्न नसकेर छुट्टिनुपर्ने अवस्था आयो ।’ धमलाले एलिनालाई अर्को विवाह गर्ने सम्भावनाबारे कोट्याइ–कोट्याइ सोध्छन् । एलिना पनि केही हदसम्म खुलिन् ।

    उनलाई सोधिएको थियो, ‘अब प्रेम नगर्ने ?’ एलिनाले भनिन्, ‘त्यो थाहा छैन, भविष्यको बारेमा अहिलेसम्म सोचेको छैन । अहिलेसम्म भएको छैन। ’ धमलाको अर्को प्रश्न– सम्बन्धविच्छेदपछि अरु कोहीसँग फेरि प्रेममा पर्नुभएको छैन ?

    एलिनाले भनिन्, ‘अहिलेसम्म छैन ।’ प्रेम भन्ने कुरा कति बेला, कोसँग हुन्छ थाहा नहुने भएकाले भविष्यमा जे पनि हुन सक्ने उनले तर्क गरिन् । तर अब प्रेम गरे पनि आफुले पहिला झैँ मरिहत्ते नगर्ने उनको भनाइ छ ।

    ‘पब्लिक फिगर भएपछि सबै कुरा थाहा भइ नै हाल्छ । अहिले विवाह गर्दिनँ भनौंला, पछि फेरि होला । पक्कै विवाह नगरी बस्दिनँ पनि होला । प्रेम वा विवाह जे भएपनि सबैलाई थाहा भइ नै हाल्छ’, उनले जोडिन् ।

    अब आफुलाई इज्जत गर्ने र आफ्नो कामलाई बुझ्नेसँग मात्र विवाह गर्ने एलिनाले योजना सुनाइन् । अब विवाह गर्ने केटामा हुनुपर्ने गुणबारे सोध्दा उनले भनिन्, ‘यस्तो–उस्तो केटा भन्ने छैन । भविष्यको कुरा सोचेकै छैन । विवाहै नगरी त बस्दिनँ होला । अलिकति इज्जत दिने र मेरो काम बुझ्ने हुनुपर्यो । सायद अब विदेशमा बस्ने केटासँग म विवाह गर्दिनँ होला ।’

    एलिनाले गत वर्ष वैशाख ५ गते अष्ट्रेलिया निवासी प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया उडेकी एलिना दुई महिनामै नेपाल फर्किइन् । त्यसपछि अष्ट्रेलिया गइनन् । केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमै विवाहमा परिणत गरेका यी दुईको वैवाहिक जीवन एक वर्ष पनि टिक्न सकेन ।

     

  • पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)

    पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)

    काठमाडौ‌ । अभिनेता तथा हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ ले नयाँ चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको चर्चाले सिने नगरी खुबै गर्मायो । उनले नेपालकै महंगा कलाकारको ट्यागसमेत पाए ।

    चलचित्रका निर्देशक ऋषि लामिछानेले एक सार्वजनिक कार्यक्रमम माग्ने बुढालाई ६१ लाख दिएको दावी गरेका थिए । ५१ लाख हातमै हालिसकेको र बाँकी १० लाख फिल्म चलेपछि दिइने उनको भनाइ थियो । लामिछानेले त यतिसम्म भने कि माग्ने बूढालाई दिएको पारिश्रमिक कम हो र उनी एक करोड डिजर्भ गर्छन् ।

    तर, यो सबै ‘स्टन्ट’ सावित भएको छ । माग्ने बुढा स्वयम्ले अहिले आएर आफूलाई ६१ लाख रुपैयाँ दिएको हल्ला असत्य भएको बताएका छन् ।

    नेपाल प्रेससँगको अन्तर्वार्तामा उनले भने, ‘त्यति धेरै पारिश्रमिक लिनु ठिक होइन, त्यो पारिश्रमिकलाई लिएर चर्चा गर्नु पनि ठिक होइन । यी दुवै कुरा खारेजयोग्य छन् ।’ उनले पटक–पटक दोहोर्याए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै छैन ।’

    ‘माग्ने राजा’ का निर्माता मुनाल घिमिरे दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष हुन् । यसअघि उनले दुईवटा चलचित्र निर्देशन गरेका थिए तर खासै चल्न सकेनन् । पछिल्लो समय फिल्मबाट टाढा रहेर राजनीतिमा लागेका थिए । उनी गत स्थानीय चुनावमा एमालेबाट विजयी भएका हुन् । ‘माग्ने राजा’ को निर्देशन अभिभारा भने उनले ऋषी लामिछानेलाई सुम्पिएका छन् । घिमिरे र लामिछानेको सल्लाहमा नै धेरै पारिश्रमिकको हल्ला पिटिएको हो ।

    माग्नेबुढा भन्छन्, ‘जेजसो गरेर भए पनि चलचित्रले हाइप लिनुपर्यो भाइ भनेर निर्माताले भन्नुभयो । मान्छेलाई भदौ ६ गते चलचित्र आउँछ भनेर थाहा हुनुपर्यो भन्ने थियो ।’

    तर, पारिश्रमिकको समाचार आएपछि माग्ने बुढालाई ‘ब्याकफायर’ भयो । सानो बजार भएको चलचित्र क्षेत्रमा निर्मातालाई डुबाउने गरी चर्को पारिश्रमिक लिएको भनेर सामाजिक सञ्जालमा आलोचना गरियो । त्यही भएर माग्नेबुढा अहिले यो हल्ला चिर्न लागिपरेका छन् ।

    उनले पुनः स्पष्टिकरण दिए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै होइन । हाम्रो आपसी समझदारीमा मैले पारिश्रमिक लिएको छु ।’

    आपसी समझदारीको रकम चाहिँ उनले खुलाउन चाहेनन् । तर, निर्माण स्रोतले गोप्य रुपमा नेपाल प्रेसलाई दिएको जानकारी अनुसार माग्ने बुढाले ३५ लाख रुपैयाँमा यो चलचित्र खेलेका हुन् । यदि चलचित्रले उच्च मुनाफा कमाएको खण्डमा निश्चित प्रतिशत ‘इन्सेन्टिभ’ दिन पनि निर्माण पक्ष सहमत रहेको बुझिएको छ ।

    ‘माग्ने राजा’ मा माग्नेबुढाको पारिश्रमिकबारे गत वर्ष पनि चर्चा चलेको थियो, जतिबेला उनले फिल्म साइन गरेका थिए । त्यसबखत उनले ५० लाखभन्दा बढी रकममा साइन गरेको बताइएको थियो र माग्ने बुढाले पनि घुमाउरो स्वीकारोक्ति गरेका थिए ।

    ५० लाखभन्दा धेरै पारिश्रमिक लिन थाल्नुभएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा गत वर्ष मंसिरमा उनले जवाफ दिएका थिए, ‘मैले कहिल्यै यतिउति भनेर मागिनँ । राम्रो कथा आए बाहिरको ब्रान्डमा काम गर्छु भन्ने थियो । स्क्रिप्टहरु सुन्दा मनप¥यो । काम गर्छु भन्ने कुरा भएपछि निर्माताहरु आफैंले माया गरेर यति दिन्छु भन्नुभयो । मैले पनि हुन्छ भनें । त्यति हो ।’

    माग्ने राजा भन्दा अगाडि ‘कँगारु’ नाम चलचित्रमा पनि माग्ने बुढाले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलाइएको थियो । माग्नेबुढा र स्वस्तिमा खड्कालाई लिएर बनाउने भनिएको चलचित्र भने घोषणामै सिमित रह्यो । माग्नेबुढा अहिले ‘माग्ने राजा’ बाहेक थप दुई चलचित्र ‘माइतीघर’ र ‘जेरी अन टप’ मा काम गरिरहेका छन् । माइतीघरका निर्माता रोहित अधिकारीले माग्नेबुढालाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको दावी गरेका थिए । तर, अहिले आएर उनको त्यो दावीमा पनि आशंका उत्पन्न भएको छ ।

    ‘छक्का पन्जा’ टिमभन्दा बाहिर माग्ने बूढाले अभिनय गरेका चलचित्रमध्ये दोस्रो चलचित्रको रुपमा ‘माग्ने राजा’ प्रदर्शन हुँदैछ । यसअघि उनले पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रामकहानी’ मा अभिनय गरेका थिए । सो चलचित्र फ्लप भएको थियो ।

    आफूले ‘माग्ने राजा’ मा अत्यन्त मिहेनत गरेको माग्ने बुढाले बताए । दर्शकहरु निराश नहुनुपर्ने उनको भनाइ छ ।

    घिमिरेले भने, ‘यो बीचमा धेरै स्क्रिप्टहरु आएका थिए । त्यसमध्ये छानेर चलचित्र छनोट गरेँ । मैले काम गरेन भनेर कतिपय साथीहरु रिसाउनुभएको पनि होला । म उहाँहरुलाई नरिसाउनु होला भन्न चाहन्छु । मलाई हतारहतारमा पाए जति सबै चलचित्र खेल्न मन थिएन ।’

    माग्ने राजाको टिजर केही दिनअघि युट्यूवमा सार्वजनिक भएको थियो । टिजरले सुखद प्रतिक्रिया पाइरहेको छ ।

  • टुक्का सङ्ग्रह ‘काव्य कलश’ लोकार्पित

    टुक्का सङ्ग्रह ‘काव्य कलश’ लोकार्पित

    काठमाडौं । कविताको लघुत्तम रूपमध्ये मानिने टुक्काको अलग्गै संग्रह ‘काव्य कलश’ को लोकार्पण भएको छ । अमृता रसाइली ‘रामदाम’ रचित ‘काव्य कलश’ को लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले गरेका हुन् ।

    २०७७ साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो। लोकार्पणपछि सदस्य सचिव सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुने चर्चा गरे ।

    प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको उत्थानमा योगदान गर्नुपर्ने समय आएको उनले बताए । दुई हरफभित्र पूर्ण सन्देश दिनसक्ने लघुत्तम काव्यिक संरचना टुक्का कविता आजको नेपाली साहित्यमा लोकप्रिय विधाको रूपमा स्थापित हुँदै गएको उनले बताए ।

    कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषामा प्रचलित साहित्यिक विधामा टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको चर्चा गरे ।

    कार्यक्रममा महाकाव्यकार कलानिधि दाहालले टुक्का कविता छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम भएको बताए । साहित्यकार राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रयोग भएका विधामध्ये उत्कृष्ट र लोकप्रिय विधा मान्दै नेपाल प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाले यस्ता विधाको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राखे ।

    मुक्तक अभियन्ता सुनिल अधिकारीले काव्य कलशका सर्जक रामदामको चर्चा गर्दै टुक्का कविता मुक्तकजस्तै शैलीमा लेखिने, तर विधागत नियम फरक भएको टुक्का कविताले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको चर्चा गरे ।

    कार्यक्रममा कवि जनार्दन अधिकारी ‘धड्कन’ तथा समीक्षक अरुणबहादुर खत्री नदीलगायतका अतिथिको उपस्थित थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष होमप्रसाद नेउपाने स्वागत मन्तव्य व्यक्त गरे । सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र टुक्का साहित्य समाजको गतिविधिबारे जानकारी दिइन् ।

    ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गड्तौला, रचना मोक्तान ‘‘यात्री’, पवनकुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरेलगायतका सर्जकले आ–आफ्ना टुक्का कविता वाचन गरे ।

  • कवि मेघराज मञ्जुललाई रिमाल पुरस्कार

    कवि मेघराज मञ्जुललाई रिमाल पुरस्कार

    काठमाडौं । गोपालप्रसाद रिमालको १०८ औँ जन्म जयन्तीका अवसरमा कवि, गायक एवं निबन्धकार मेघराज शर्मा मञ्जुललाई रिमाल पुरस्कार प्रदान गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रजुघी पन्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तोषकुमार चालिसे, वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती सहभागितामा ३० हजार नगदसहित सम्मान गरिएको अध्यक्ष डा. हेमनाथ पौडेलले बताए ।

    कार्यक्रममा पुरस्कृत व्यक्तित्व मञ्जुलकी श्रीमती सुस्मिता नेपाललाई पूर्वमन्त्री शान्ता मानवीले फूलमाला लगाएर सम्मान गरिन् ।

    मन्त्री पन्तले मेघराज मन्जुलसँग आफूले लामो समय सहकार्य गरेको र उनले नेपाली गीतसङ्गीत र साहित्यका माध्यमबाट नेपाली समाजमा जागरण ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको बताए ।

    मञ्जुल जस्तो प्रतिभा छनोट गरेर रिमालका नामको पुरस्कार प्रदान गरेकोमा साहित्य सदन नेपाललाई धन्यवाद दिदै पुरस्कृत व्यक्तित्व मञ्जुललाई बधाई दिए ।

    सांसद चालिसेले साहित्यकार, कलाकार राज्यका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको बताए ।

    साहित्य सदन नेपालका संस्थापक सदस्य पूर्व कुलपति गङ्गाप्राद उप्रेतीले पुरस्कृत व्यक्तित्व मञ्जुलको वैचारिक योगदानका बारेमा प्रकाश पार्दै साहित्य सदनको वर्तमान नेतृत्वले गरिरहेका गतिविधिप्रति प्रसन्नता व्यक्त गरे ।

  • समाजमा विद्यमान जब्बर असन्तुलित शक्ति सम्बन्धले मेरो मन करप्प पार्छ: कुमारी लामा

    समाजमा विद्यमान जब्बर असन्तुलित शक्ति सम्बन्धले मेरो मन करप्प पार्छ: कुमारी लामा

    काठमाडौं । कुमारी लामाको परिचय एउटामात्रै छैन, उनी विश्वविद्यालयको अध्यापक, निबन्धकार र समालोचक हुन् । साथै महिलावादी अभियन्ता पनि उनको अर्को सामाजिक परिचय हो । समीक्षक तथा पत्रकार राजकुमार बानियाँकै शब्द सापटी लिने हो भने उनको अरू परिचय पनि छ, उनी भुईं पात्रका दुःख, सुस्केरा, विभेद र उत्पीडनप्रति औधी संवेदनशील महिलासमेत हुन् । बानियाँको भनाइको पुष्टि लामाका विचारोत्तेजक निबन्धहरुले गरिदिन्छन् ।

    कुमारीका पहिलो निबन्ध संग्रह हो, ‘उज्यालो अन्धकार’ (२०७१) । उनको दोस्रो निबन्ध संग्रह १० वर्षपछि आयो, ‘दज्र्यु संलाप’ (२०८१) । पहिलो निबन्ध संग्रह आत्मपरक बढी थियो भने दोस्रो संग्रहमा उनले महिला, दलित र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेकी छन् । उनै लामालाई बानियाँले पाँच प्रश्न सोधेका छन्ः

    – हालसालै पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची आएको छ । १५ पुस्तकको लामो सूचीमा दुई तिहाइ अर्थात् १० पुस्तक आख्यान, उपन्यास र कथासङ्ग्रह भनेर आइरहँदा निबन्धको नाकमुखै देखिएन । वर्ष २०८१ मा निबन्ध नै नलेखिएका हु्न् कि उत्कृष्ट पुस्तक नभएका हुन् ?

    लेखन र पुरस्कार फरक क्षेत्र भएकाले यसलाई छुट्ट्याएर हेर्नु उचित होला । कुनै पनि पुरस्कारको सूचीमा निबन्ध या अन्य विधा पर्नु या नपर्नु आश्चर्यपूर्ण परिघटना होइन । सामान्यतया कुनै पनि पुरस्कार छनोट समितिको आ–आफ्ना मापदण्ड र प्रक्रियाहरू हुन्छन् । त्यसलाई हामी टिप्पणीको विषय नबनाऔं ।

    तुलनात्मक रूपमा निबन्ध अलि कम प्रकाशनमा आएको देखिए तापनि २०८१ मा पनि निबन्ध कृतिहरू नआएका चाहिँ होइनन् (नियात्राबाहेक) । त्यसैले नलेखिएकै भन्न त मिलेन । ‘उत्कृष्ट लेखन’ भन्ने कुरा मलाई अलि झमेलापूर्ण लाग्छ । उत्कृष्टताको जाँच, परख गर्ने यन्त्र के हो ? त्यसमा पनि सृजनात्मक क्षेत्र व्यक्तिको अत्यन्त निजात्मक वैचारिकीभित्र पर्छ । चाहे राजनीतिक विषयमा नै किन नलेखिऊन्, उसले लेख्ने त फेरि पनि आफ्नै धारणा हो । त्यसैले पुरस्कार आदि इत्यादिको मापदण्डले छोयो, छोएन भन्ने झम्मारतिर दिमाग खियाउनुभन्दा लेखनमै पो बल गर्नु उत्तम होला हौ !

    – वर्ष २०८१ मा तपाईंको निबन्ध कृति ‘दज्र्यु संलाप’ पनि प्रकाशनमा आएको थियो । तपाईंको पुस्तक पढ्न पाठक दीर्घा कतिको उत्साही पाउनुभयो, कत्तिको स्वागत पाउनुभो ?

    हजुर, मेरो पहिलो निबन्ध सङ्ग्रह ‘उज्यालो अन्धकार’ प्रकाशन भएको एक दशकपछि मात्र मैले यस सङ्ग्रह ल्याउन सकेँ । लामै अन्तराल भएका कारण हुनसक्छ, पाठकमा एक प्रकारको पर्खाइ या उत्साह पाइरहेकी छु । तथापि पुस्तक आएको नौ महिनाभित्रै यस पुस्तकप्रति पाठकको चासो, खोज, पठन र गहन प्रतिक्रियाहरू आउने अपेक्षा गरिहाल्नु अलि हतार हुन्छ जस्तो लाग्छ । म तुरुन्त आउने/दिइने प्रतिक्रियाभन्दा आस्ते आस्ते आउने गम्भीर पाठकीय विचारको प्रतीक्षामा छु । यति भनिरहँदा मैले पाठकहरूको उत्साहपूर्ण स्वागत नपाएको भने होइन ।

    खासमा पुस्तक प्रकाशन भएको केही समयमा नै नेपालका विभिन्न ठाउँलगायत भारत, हङकङ, कोरिया, युरोप, अमेरिकामा रहनुहुने पाठक तथा लेखकहरूले पुस्तक पढिरहेको सन्देश सामाजिक सञ्जालमा प्रवाह गर्नुभएको थियो । त्यसमध्ये पनि केही भने निकै स्मरणीय छन् । पोर्चुगलको विश्वविद्यालयमा अध्ययनरत एक छात्राले नेपालमा भएको आफ्नो साथीका लागि अनलाइनबाट किनेर उपहार पठाएको छोटो भिडियो क्लिप्स पाउँदा निकै खुसी लागेको थियो ।

    आजका युवाहरूले नेपाली पुस्तक या साहित्य पढ्दैनन् भन्ने सुन्नमा आउँछ, तर सचेत र साहित्यप्रति झुकाव राख्ने युवाहरूले विदेशमा नै भए पनि नेपाली पुस्तक मगाएर पढ्ने गर्दा रहेछन् । त्यसैगरी पाल्पाको एक दुर्गम ठाउँको विद्यालयमा पढाउनुहुने एक शिक्षिकाले पनि अनलाइनबाट पुस्तक मगाएर पढ्नुभएको कुरा फेसबुक सन्देशमार्फत जानकारी गराउनुभएको थियो । संयोग होला, दुवै पाठक महिला । रमाइलो कुरा पनि । यस्ता केही दुर्लभ क्षणहरू ‘दर्ज्यु संलाप’ प्रकाशनपश्चात प्राप्त गरेकी छु ।

    – यसअघिको निबन्ध कृति ‘उज्यालो अन्धकार’मा तपाईं आत्मपरक निबन्धमा रमाउनुभएको थियो । यस पटक अलि बहिर्मुखी देखिनुभएको छ । लेखकका रूपमा समाज विमर्शतिर ढल्कनुको रहस्य केही छ ?

    समाज विमर्श या मानिसले भोगिरहेका विविध विषयहरूमाथिको विमर्शमा छु भनौँ । हामी वरपरका सामाजिक, सांस्कृतिक र प्राकृतिक पर्यावरणसँगको संवाद ‘दज्र्यु संलाप’मा स्पष्ट रूपमा देखिएको हुनसक्छ । तथापि ‘उज्यालो अन्धकार’मा मेरो व्यक्तिगत जस्ता लाग्ने विषय पक्कै मेरो निजीमात्र थिएनन् । हामीले आफ्नोबारेमा लेख्दा पनि सराबरी समाजका कुरा लेखिरहेका हुन्छौँ ।

    हिजोआज मलाई समाजका विविध आयामहरूले तान्ने गर्छ । विशेषगरी समाजमा जब्बरताका साथ विद्यमान असन्तुलित शक्ति सम्बन्धका कुराले मेरो मन करप्प पार्छ । समाजका हर क्षेत्रमा ठालुपन उस्तै देखिन्छ । हेप्ने र हेपाइमा पर्ने, मिच्ने र मिचाइमा पर्नेहरू धेरै छन् ।

    हामीले कागजी रूपमा प्राप्त गरेको हक अधिकार नियाल्दा हाम्रो समाजले प्रगतिशील मार्ग पक्रेको देख्छौँ, तर नेपालको सड्घीय राजधानी काठमाडौंबाट १२-१४ किलोमिटरको दूरीमा रहेको अमुक गाउँमा आज पनि दलित समुदायका सुना काकीहरू पैसा तिरेर पिएको चियाको गिलास पखाल्न बाध्य पारिन्छन् । त्यही वरपरका तामाङ बस्तीहरूमा बल्ल पहिलो पुस्ताले शिक्षाको उज्यालो प्राप्त गर्दैछन् ।

    सेती र कान्छी तामाङहरूले जीवनभर पसिना चुहाउँदा पनि किन एक सामान्य जीवन बाँच्न पनि जुरेन होला ? त्यसमा दोष कसको छ ? हिजोआज मेरो मस्तिष्कमा समाजका किनारामा धकेलिएका त्यस्ता पात्र र विषयहरू घुमिरहन्छन् । लेखनमा पनि यस्ता विषयले प्राथमिकता पाएको कारण यहाँले औँल्याउनुभएको कुरा ठीकै हो । हो, म समाजसँगको संवादमा छु । तथापि मेरा निबन्धहरूलाई विभिन्न लेन्सबाट हेर्न सकिएला भन्ने लाग्छ ।

    – ‘दर्ज्यु संलाप’ मा आदिवासी ज्ञान र सौन्दर्य (परम्परा, संस्कृति, कला, जीवनशैली, प्रकृतिसँगको सान्निध्य आदि) अझ उज्यालिएर आएको छ । तपाईंलाई यस विषयमा लेख्ने उत्प्रेरणा कसरी प्राप्त भयो ? यस विषयलाई न्याय गर्न के कस्तो अध्ययन र अनुसन्धान गर्नुभयो ? यसको रचना गर्भ थाहा पाऔं न !

    मेरा निबन्धहरूमा आएको आदिवासी विषयमाथि यहाँको नजर परेछ, खुसी लाग्यो । मैले थोरबहुत उजागर गर्ने प्रयास गरेकी छु । हिजोआज आदिवासी ज्ञान र सौन्दर्यको विषयले केही चर्चा पाइरहेको छ । म आफैँ आदिवासी तामाङ समुदायको भएकाले पछिल्लो समय आफ्नो थातथलो, भूगोल, परिवेशसँग नजिक भई आफ्नो संस्कृति बुझ्ने चाह बढेको छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो जस्तो लाग्छ । कम्तीमा एक लेखकको निम्ति । स्वचिन्तन गर्नु लेखकको विशिष्टता पनि हो । साथमा आफ्नो धरातल, परिवेश, समाज बुझ्ने कोसिस पनि गरिँदो रहेछ । मलाई पनि मेरो समाज, संस्कृति र तामाङहरूको इतिहासतिर झुकाव बढ्न थालेकाले मेरा केही निबन्धहरू यही विषय केन्द्रित पनि भए ।

    आदिवासी ज्ञान र सौन्दर्यबोधका लागि सबभन्दा पहिले नेपालका विभिन्न आदिवासी समुदायले आआफ्नो सौन्दर्य र ज्ञानलाई कसरी महसुस गर्छन्, कुन माध्यमबाट उजागर गरिरहेका छन् भन्ने बुझ्नु जरुरी छ भन्ने लाग्छ । त्यसैले मैले पछिल्लो समय यसै विषयमा केन्द्रित रही अध्ययन, मनन र मन्थन थालेकी छु । सांस्कृतिक र संस्कारजन्य अनुष्ठानसम्बन्धी कृतिको अध्ययनदेखि गाउँका पाकाहरूसँगको कुराकानी र उनीहरूको जीवनकथाबाट पनि धेरै कुरा प्राप्त भएको छ । यस क्रममा निकै चाखलाग्दा कुराहरू थाहा पाएँ । आदिवासीको सौन्दर्य र ज्ञान त उनीहरूको दैनन्दिन जीवनका क्रियाकलापहरूबाटै थाहा पाइने रहेछ । मैले यसअघि कहिल्यै त्यसरी सोचेकी थिइनँ ।

    हामी सहरवासी भएपछि गाउँमा बस्ने बाजे-बजुले अपनाउने जीवन पद्धतिलाई अलि अनदेखा गर्दा रहेछौँ, तर खास ज्ञान त उहाँहरूसँग रहेछ । माटो, प्रकृति र पर्यावरणसँग साह्रै मीठो सम्बन्ध उहाँहरूले कायम गर्नुभएकोले अलि अघिसम्म हाम्रो गाउँ हराभरा थियो, तर हिजोआज गाउँ बेहद बेग्लै हुने क्रममा छ । घरछेउको ढुङ्गेधारामा सदाकाल पानी झर्नुको रहस्य, त्यस वरपर सधैँ सफा राख्नुपर्ने नियम, रुखपात मास्न नपाइने पुर्खाको चलन पछाडिको पर्यावरण संरक्षण र त्यसको महत्वको विशाल ज्ञान त ग्राम्य जीवनको दैनिकी रहेछ ।

    यस ब्रह्माण्डमा भएका मानिस पशुपक्षीदेखि पहाड पर्वत, खोलानाला, जङ्गल, भूतप्रेत सबैको अस्तित्व स्वीकार्नु र ससम्मान आआफ्नो स्थानमा राख्नु तामाङ विश्वदृष्टि भएको थाहा पाएँ । दैनिक जीवनसँग जोडिएको खाद्य संस्कृतिदेखि संस्कारजन्य अनुष्ठानहरू नै हामीलाई आफ्नो पहिचान दिलाउने क्षेत्र हुन् । त्यसैको गहिराइतिर लाग्नु भनेको आफ्नो मूल जरो पहिल्याउनु हो । यति कुरा बुझ्न पनि मलाई निकै समय पो लाग्यो भन्या ।

    – फेरि निबन्धतिरै फर्कौं । हामीकहाँ निबन्ध कृति निकै कम प्रकाशित हुन्छन् । निबन्ध लेखक पनि थोरैमात्र छन् । निबन्ध कृति लेखन/प्रकाशनमा सुस्तता लेखकीय जाँगरको कमीले हो कि बदलिँदो जमाना वा परिस्थितिको प्रतिविम्ब ?

    यहाँले निबन्ध कृतिको कम प्रकाशनको कुरा उप्काउनुभयो, त्यसमा म केही हदसम्म सहमत छु, तर निबन्धभित्रकै अन्य उपविधाहरूको प्रकाशन भने प्रशस्त भइरहेका देखिन्छन् । जस्तो कि नियात्रा या संस्मरणात्मक निबन्ध कृतिहरू । केही वर्षयता नियात्रा प्रकाशनको उत्साहमय अवस्था छ । तथापि एक सचेत पाठक जसले विचार र हृदयको उचित सम्मिलन भएका निबन्धहरू खोज्छन्, त्यस किसिमका निबन्ध कृतिको भने पक्कै कमी छ ।

    निबन्ध कृतिको लेखन र प्रकाशनको कमीको अन्तर्यमा भने धेरै कारण हुन सक्छन् । नेपालको सन्दर्भमा एउटा लेखक, जसले अन्य केही कर्ममा नलागी केवल लेखक हुने सुविधा कति पाउँछ ? अध्ययन र लेखनका लागि उचित वातावरण, समय, प्रोत्साहन के कति प्राप्त गर्छ भन्ने प्रश्नहरू मेरो मनमा उठिरहेका छन् ।

    कहिलकाहीँ म आफैँलाई हेर्दा पनि लेखकभन्दा अरू नै ज्यादा पाउँछु । भात-पानीको गर्जो टार्न गर्नुपर्ने दैनिक सङ्घर्ष र भागदौडमा आमनेपालीको जस्तै मेरो ज्यादातर समय व्यतीत भइरहेको छ । लेख्नु भनेको त कामको चापाचापमाझ पाइने छोटो टी ब्रेक, सिगरेट ब्रेक या टेलिभिजन कार्यक्रमको बीचको विज्ञापन ब्रेक जस्तो पो हुन जान्छ । यस्तो अवस्थामा वैचारिक, गहन, दिल दिमाग झनन पार्ने निबन्ध लेखन दुर्लभप्रायः हुन्छ ।

    अब प्रकाशनको सम्बन्ध पनि बजार, माग, फाइदा आदिसँग जोडिन्छ । फास्टफुड र भाइरल आइटमका पछाडि दौडने जमानामा गम्भीर खुराकको परख गर्ने जमात कति होला कुन्नि ! त्यसैले निबन्ध या गम्भीर प्रकृतिको लेखनको गाथमा बिसन्चै पो देख्छु ।

  • एलिना-समीक्षाको साहसिक प्रतिरोध : पत्थरको जवाफ पत्थरले !

    एलिना-समीक्षाको साहसिक प्रतिरोध : पत्थरको जवाफ पत्थरले !

    एउटा आहानै छ, पत्थरको जवाफ फूलले दिनुपर्छ । अर्को भनाइ पनि छ, बैगुनीलाई गुनले मार्नुपर्छ । झ्वाट्ट सुन्दा यी आदर्श भनाइहरुले मनमा बेग्लै तरंग ल्याउँछ । लाग्छ, हो त नि ! बैगुनीलाई गुनले नै मार्नुपर्छ ।

    एकैछिन कल्पना गरौं, यदि गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले बैगुनीलाई गुनले ठिक लगाउन खोजेको भए के हुन्थ्यो होला ? सम्भवतः केही हुन्नथ्यो । बैगुनीहरुले उनीहरुको गुनको सुगन्ध थाहा पाउने ल्याकत राख्दैनथे ।

    उनीहरुले गरेको गुनलाई बैगुनीहरुले समीक्षा-एलिनाको कमजोरी ठान्थे । सायद झनै उत्तेजित भएर दुर्गुनहरु देखाउन सुरु गर्थे । उत्तेजित र उछृंखल भिडले उनीहरुले देखाएको कोमलतालाई कुल्चिदिन्थे, किचिमिची पारिदिन्थे ।

    हौसिएर डंका पिटेर उग्र तवरले गालीगलौज गर्न तम्सन्थे ।

    पत्थरको जवाफ फूलले दिने ध्याउन्नमा एलिना-समीक्षाको भागमा जम्माजम्मी मानसिक तनावको फेहरिस्त मात्रै हुन्थ्यो । व्यक्तिगत र सामाजिक जीवनमा गरिने निरन्तरको प्रहारले मानसिक स्वास्थ्य क्षतविक्षत् मात्रै हुन्थ्यो । न राम्रोसँग गाउन सक्थे, न त राम्रोसँग स्टेजमा प्रस्तुति दिन सक्थे । अराजक भिडको असंवेदनशील प्रतिक्रियाको बाढीमा सोहरिएका उनीहरु न खुलेर आफ्नो कुरा राख्न सक्थे, न त खुलेर आफ्नो कुरा भन्न सक्थे ।

    भनिन्छ, मान्छेलाई छुराले भन्दा ज्यादा शब्दको प्रहारले दुखाउँछ ।

    छुराको प्रहार त औषधोपचारपछि ठिक भएर जाला, शब्दको प्रहारले लामो समयसम्म घाइते बनाउँछ । झनै त्यसरी प्रहार गरिने शब्दले असंवेदनशिलताको सीमा नाघेको छ भने जीवनभर आघात् पुग्छ । जीवनभर आघात् बोकेर हिँड्ने कि प्रतिकार गर्ने ? एलिना–समीक्षाले दोस्रो विकल्प छनोट गरे ।

    जीवनभर तनाव बोकेर हिँड्नुभन्दा प्रतिकारमा उत्रिएर हिसाब राफसाफ गर्ने बाटो रोजे ।

    चर्चित गायिका भएकाले सबैलाई थाहा छ, एलिना-समीक्षाको विगत । ती अँध्यारा विगतसँग जोडिएको उनीहरुको ट्रमा अरु महसुस गर्न सक्दैनन् । कस्तोखाले मानसिक तनावका चरणहरु पार गरेर अहिलेको अवस्थामा आइपुगेका छन्, धेरैलाई थाहा छैन । देख्नेहरुले त उनीहरु फेरि मुस्कुराएर पेशागत जीवनमा फर्किएको मात्रै देख्छन् । त्यो मुस्कानको पछाडि लुकेको दुःखको पहाड धेरैले देख्दैनन्, महसुस गर्न सक्दैनन् ।

    उनीहरु चहराउने विगतलाई त्यतैकतै थन्काएर अगाडि बढ्न चाहन्छन् । भिडले भने त्यही खाटो बसेको घाउ चहराउने गरी कोट्याइरहन्छ । कोट्याउने मात्रै होइन, अनेक लान्छना लगाएर घाउमा नुनचुक समेत छर्कन्छन् ।

    उनीहरु सेलिब्रेटी हुन् । तर, सेलिब्रेटीभन्दा पहिले आममानिस हुन् । आममान्छे भावनात्मक रुपमा टुक्रिँदा जुन किसिमको दुखाइ महसुस गर्छन्, उनीहरुले पनि त्यही दुखाइ महसुस गर्ने हुन् । सेलिब्रेटी भएकैले सम्पूर्ण प्रहारहरु सहनुपर्छ भनेर कहाँ लेखेको छ र ! अपाच्य शब्दहरुको झिरमा डामिनुपर्छ भनेर कहाँ लेखेको छ र !

    सबैभन्दा ठूलो कुरा मानसिक स्वास्थ्य हो । त्यही स्वास्थ्यमा भाइरसले जसरी थला नै पार्ने गरी गरिएको निरन्तर प्रहार कसले सहिरहन सक्छ ?

    अन्ततः ती निर्दयी पीडकहरुको प्रहार अत्यधिक भएपछि एलिना-समीक्षाले संजालमै भिड्ने निधो गरे । धेरैले ‘त्यस्तालाई इग्नोर गर्नू’ भन्ने सल्लाह दिए पनि ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निचोडमा पुगे । र भकाभक अपाच्य शब्द प्रयोग गरेर ‘मुख छाड्ने’हरुको कमेन्टसहित उनीहरुको प्रोफाइलको लिंक समेत सार्वजनिक गर्न थाले ।

    यसपछि कत्तिले माफी माग्न सुरु गरे । कतिले पोस्ट वा कमेन्टहरु डिलिट गरे । कत्तिले भने टेरेनन् । तर, एलिना-समीक्षाको पक्षमा फरक खाले माहौलको निर्माण भयो । गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले साथ दिए । कलाकारहरुले पनि उनीहरुको अभियानप्रति ऐक्यबद्धता जनाए ।

    धेरैलाई लागेको थियो, दुईचारवटा स्क्रिनसट पोस्ट गरेर तर्साउनलाई यसो गरेकी होलिन् । तर, तर्साउनलाई मात्रै उनले यो अभियान सुरु गरेकी थिइनन् । विभिन्न स्टेज कार्यक्रम रोकेर, दश दिनको ब्रेक लिएरै एलिना यो अभियानमा लागेकी थिइन् ।

    उनीहरुको यही अभियानले नेपाली समाजको डरलाग्दो अनि असली चरित्र समेत देखायो । पितृसत्तात्मक समाजको असली अनुहारको खुलेआम प्रदर्शनी गायिकाद्धयले गरिदिए । उनीहरुले सार्वजनिक गरेका स्क्रिनसटहरुमा शतप्रतिशत पुरुष अनुहार थिए । उनीहरुको पोस्टमा हाहा रियाक्ट गर्ने र कमेन्ट गरेर उठ्याउनेहरु पनि पुरुषहरु नै थिए ।

    ती आइडीमा छोरीचेली, घरपरिवार र समाजप्रति हदैसम्म असंवेदनशील रहेका पुरुषहरुका क्रुर अनुहारहरु प्रोफाइल पिक्चर थिए । पितृसत्तात्मक समाजले महिलालाई हेर्ने नजरीयाको प्रतिनिधि अनुहार थिए । र, उनीहरुले सार्वनिक गरेको स्क्रिनसटहरु संवेदनहीन मानिसहरुको कठोरताको पराकाष्टाको दृष्टान्त थिए ।

    ती क्रुर मानिसहरुसँग भिडेर एलिना-समीक्षाले बेग्लै तागत देखाएका छन् । कलिलै उमेरमा अनेक आरोह-अवरोहको सामना गरेका उनीहरुले यो लडाइँमार्फत् आँट र हिम्मतको प्रदर्शनी समेत गरेका छन् । सानातिना प्रहारबाट भाग्ने होइन, घुँडा धसेर प्रतिकारमा उत्रने उनीहरुको साहस देखाएका छन् ।

    एलिनाले लेखेकी पनि छन्, ‘बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, तिमीहरुलाई दुईचारवटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? मलाई सखाप पार्न फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ ।’

    एलिनाको प्रतिकार अभियानले अब कानुनी बाटो पनि समातिसकेको छ । उनले दिएको जाहेरीका आधारमा चितवनका कवि गुन्जन राई पक्राउ परिसकेका छन् । राई लगायतलाई अब दुईवटा मुद्दा आकर्षित हुने देखिन्छ, एउटा चाहिँ साइबर कानून, अर्को गालीबैज्जती ऐन ।

    साइबर कानुन अन्तर्गत कसूर प्रमाणित भएमा पचास हजारदेखि पाँच लाखसम्म जरीवाना र छ महिनादेखि पाँच वर्षसम्मको जेल सजायको व्यवस्था छ । गाली बैज्जती ऐन अन्तर्गत दुई वर्षसम्म कैद वा २० हजार जरीबाना वा दुवै सजाय हुनसक्छ । तर, विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बैज्जती गरेमा वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार जरीबाना हुनेछ ।

    राई लगायत कसुरदारलाई के कस्तो सजाय होला, अदालतले फैसला गर्ने नै छ । सँगै एलिना-समीक्षाले सेलिब्रेटी हुनुको अभिभाराभित्र थिचिएके काउसोजस्तो चिलाइरहने मनको भँडास पनि राम्रैसँग पोखेका छन् । नपोखेका भए उनीहरुलाई जीवनभर लागिरहने थियो, दुष्ट विचार बोकेर हिँड्नेहरुलाई समयमै एक्सपोज गरिदिएको भए हुन्थ्यो । आज इँटको जवाफ इँटले नै दिएर त्यो तुष पनि सदाको लागि मेटाएका छन् ।

    सम्पूर्ण भँडासा पोखिसकेपछिको एलिना-समीक्षाको सांगितिक अवतार हेर्न शुभचिन्तक-दर्शक आतुर छन् । गाउँ गाउँमा, सहर सहरमा उनीहरुको जोडदार र धमकेदार प्रस्तुतिका लागि दर्शकहरु व्यग्र छन् ।

    ०००

  • रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न कलाकर्मीको ताँती (तस्बिरहरू)

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न कलाकर्मीको ताँती (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरूले पनि बलियो साथ दिएका छन् । आज एकसाथ एक दर्जनभन्दा बढी कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरे ।

    आज हस्ताक्षर गर्नेहरूमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायत छन् ।

    यसअघि अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए । आज भने नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको थियो । पार्टी स्रोतका अनुसार आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफैँ सक्रिय थिइन् । उनी चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत हुन् ।

    हस्ताक्षरपछि बोल्दै कलाकारहरूले रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको बताए ।

  • के सँधैका लागि बन्द भएको हो ‘सक्किगोनी’ ?

    के सँधैका लागि बन्द भएको हो ‘सक्किगोनी’ ?

    काठमाडाैं। लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन समाप्त भएपछि दर्शकहरु चौंथो सिजनको पर्खाइमा छन् । तर, ‘सक्किगोनी’ फेरि टेलिभिजनमा कहिले फर्किन्छ भन्ने अनिश्चित देखिएको छ ।

    तेस्रो सिजनमा ९३ श्रृंखला उत्पादन र प्रशारणपछि निर्माण टीमले केही समय विश्राम लिने घोषणा गरेको थियो । त्यसबेला जारी गरिएको सूचनामा छिट्टै चौंथो सिजनमा भेट्ने वाचा गरिएको थियो । तर चार महिना बितिसक्दा पनि अर्को सिजनको कुनै तयारी र सुरसार छैन ।

    निर्माण स्रोतका अनुसार प्रोडक्सन खर्च उच्च भएको भन्दै पहिलेको विज्ञापन एजेन्सीले अर्को सिजन ल्याउन आँट गरेको छैन । एउटा एपिसोडमै ३ लाखभन्दा बढी खर्च हुने गरेको निर्माण स्रोतको भनाइ छ ।

    ‘यसै पनि कलाकार टिम ठूलो थियो, त्यसमाथि सबैले हाइ डिमान्ड गर्न थालेपछि धान्नै नसकिने अवस्था भएको थियो,’ स्रोतले भन्यो ।
    बुझिएअनुसार सक्किगोनीले एक कलाकारलाई प्रत्येक एपिसोडको १० देखि १५ हजार रुपैयाँ दिने गरेको थियो । साथै, सुटिङ स्थल (काभ्रे) टाढा हुनुले पनि उत्पादन लागत उच्च भएको हो ।

    ‘सक्किगोनी’ टीमले यसबीचमा ‘लाजशरणम’ नामक चलचित्र निर्माण गरेर प्रदर्शनमा ल्याएको छ । यो चलचित्रले औसत व्यापार गर्यो । चलचित्रले ६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । लाजशरणमको सफलतापछि अर्को चलचित्र निर्माणको चर्चा भए पनि अहिलेसम्म घोषणा गरिएको छैन ।

    ‘सक्किगोनी’ का निर्देशक अर्जुन घिमिरे पाँडेले अर्को सिजनका विषयमा यसै भन्न नसक्ने बताए ।‘भोलि राम्रो व्यवसायीक वातावरण बन्यो भने आउन पनि सक्ला । तर अहिलेको अवस्थामा चाहिँ कुनै पनि गृहकार्य भएको छैन,’ उनले नेपाल प्रेससँग भने ।

    लामो समय नेपाली दर्शकलाई हँसाएको सक्किगोनी (यसअघि भद्रगोल) ले थुप्रै हास्यकलाकारहरु पनि जन्माएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले श्रृंखला निर्देशन गर्दै आएका थिए ।

    यसमा दीपक आचार्य काकु, सागर लम्साल बले, हरिश निरौला कक्रोच, कमलमणी नेपाल (खुपीका बाउ), सुबोध गौतम, गोविन्द कोइराला (जयन्ते), रक्षा श्रेष्ठ, सुरक्षा इटनी, प्रियना आचार्य लगायत कलाकारले अभिनय गर्ने गरेका थिए ।

  • मुकुन्द थापाकी छोरी संजिता : ‘गुण्डाको छोरी’ भन्दा गर्व महसुस हुन्छ

    मुकुन्द थापाकी छोरी संजिता : ‘गुण्डाको छोरी’ भन्दा गर्व महसुस हुन्छ

    काठमाडौं । ६० को दशकका नेपाली चलचित्रका चर्चित खलनायक हुन् मुकुन्द थापा । ‘मैदान’, ‘तकदीर’, ‘जीवनदाता’ जस्ता त्यसवेलाको सुपरहिट चलचित्रमा खलनायकको चरित्र निर्वाह गरेका मुकुन्द दर्शकमाझ चीरपरिचित छन् । उनको ठूलो ज्यान, लामो कपाल र कमान्डिङ आवाजले दर्शकहरुमाझ थ्रिल पैदा गर्थ्यो ।

    उनै मुकुन्दको छोरी संजिता थापाले आफ्नो पिता गुण्डा हुँदाको अनुभूति सेयर गरेकी छन् । कमेडी नाइटस् विथ च्याम्पियनमा मुकुन्द अतिथि बनेर पुगेका थिए भने संजिता दर्शक बनेर पुगेकी थिइन् । कार्यक्रमको यस एपिसोडमा मुकुन्दको अलवा मुकुन्द श्रेष्ठ, हेमन्त बुढाथोकी र सुशील पोखरेल पनि अतिथिको रुपमा थिए ।

    दर्शकसँग प्रश्नोत्तर कार्यक्रममा कार्यक्रम संचालक विशाल भण्डारीले संजितालाई सोध्छन्, ‘हजुरको बुबाले चलचित्रहरुमा महिलालाई दुर्व्यवहार गर्ने, कहिले हिरोको परिवार नै सिध्याइदिने गर्नुहुन्थ्यो । सानोमा बुबाको कामलाई लिएर तपाईंलाई कस्तो रियाक्सन आउँथ्योे ?’

    सानोमा स्कुलमा पनि आफूलाई साथीहरुले ‘ओई हेर् न यो त गुण्डाको छोरी हो नि’ भन्ने गरेको संजिताले बताइन् । बेस्टफ्रेण्डको घरमा जाँदा पनि आफूलाई ‘गुण्डाको छोरी’ भनेर चिनाएको भन्दै भनिन्, ‘त्यसबेला के लाग्थ्यो भने मलाई गुण्डाको छोरी नै भन्न पर्छ र ? मुकुन्द थापाको छोरी भन्दिएको भए भइहाल्थ्यो नि भन्ने लाग्थ्यो ।’

    अहिले भने समयसँगै आफ्नो चेतनामा बदलाव आएको उनले बताइन् । अहिले ‘गुण्डाको छोरी’ भन्दा गर्व लाग्ने बताइन् । उनले भनिन्, ‘मेरो बुबाले चलचित्र क्षेत्रमा गर्नुभएको काम उल्लेखनीय रहेछ । बुबालाई नचिन्ने कोही पनि छैनन् । बुबाको काम देखेर गर्व लाग्छ ।’

    संजिता स्वयं पनि अभिनय, नृत्यको क्षेत्रमा करियर बनाउन लागिपरेकी छन् ।

  • माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

    माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

    काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

    दोस्रो सहकार्यलाई अझै परिष्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् ।

    कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भए पनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।

    माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए ।

    सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुजन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।

    निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो ।

    चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् ।

    उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

  • ‘दान्भी’ र ‘रावायण’ मा धक्का खाएपछि सुस्ताएकी पुजा, एक वर्षदेखि हात खाली

    ‘दान्भी’ र ‘रावायण’ मा धक्का खाएपछि सुस्ताएकी पुजा, एक वर्षदेखि हात खाली

    काठमाडाैं । कुनै समय अत्यधिक व्यस्त रहने अभिनेत्री पूजा शर्मा बितेको एक वर्षदेखि भने सुस्ताएकी छिन् । गत वर्ष असार ७ मा रिलिज भएको ‘दान्भी’ र भदौ २१ मा रिलिज भएको ‘रावायण’ फ्लप भएदेखि चलचित्र नगरीमा उनको चर्चा पनि सेलाएको छ ।

    यस वर्ष पूजाको कुनै चलचित्र प्रदर्शन हुने सुरसार छैन । पुजाको सामाजिक सञ्जाल स्क्रोल गर्ने हो भने एउटा नयाँ चलचित्र ‘हली’ को प्रमोसनल गीत सेयर गरेको देखिन्छ । यो गीतमा पूजा पनि फिचर्ड छिन् । तर चलचित्रमा उनको अभिनय छैन । केवल प्रमोसनल गीतमा मात्रै स्थान पाएकी हुन् ।

    यसबाहेक उनको सामाजिक सञ्जाल खातामा नयाँ चलचित्रका कुनै पनि गतिविधि देखिँदैनन् । अरुका चलचित्रको ट्रेलर, गीतहरुको लिंक सेयर गर्दै बधाइ दिने गरेकी छन् ।

    ‘दान्भी’मा पूजा एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । तर, दर्शकबाट साथ पाइनन् । चलचित्रले बक्स अफिसमा निराशाजनक नतिजा दियो । लगत्तै उनी स्वयं निर्मात्री बनेको चलचित्र ‘रावायण’ पनि रिलिज भयो, जसबाट उनले निकै आशा राखेकी थिइन् । तर, यो चलचित्रले पनि उनलाई राहत मिलेन । बरु चलचित्रमाथि अनेक ट्रोल बने । आर्थिकरुपमा पूजालाई रावायणबाट ठूलै धक्का लागेको बताइन्छ ।

    अभिनेत्री रेखा थापाले निर्माण गर्ने भनेको नयाँ चलचित्र ‘छत्तिस आँकडा’ मा पूजा अनुवन्धित भएकी थिइन् । तर, यो चलचित्रको निर्माण अहिले रेखाले स्थगन गरेकी छन् । ‘छत्तिस आँकडा’ लाई रोकेर उनले केही समयअघि मात्रै ‘काली’ चलचित्रको सिक्वेल घोषणा गरिन् । असार ७ गतेसम्म नाटक ‘मीरा’ मा अभिनय गरेपछि उनले नयाँ प्रोजेक्टको रुपमा ‘काली’ चलचित्रको सिक्वेलको घोषणा गरेकी हुन् ।

    रेखाले ‘छत्तिस आँकडा’लाई पछाडि धकेलेपछि पूजालाई चलचित्रमा कमब्याक गर्न धेरै समय लाग्ने देखिएको छ । हुन त उनले आफू नयाँ चलचित्र निर्माणको तयारीमा जुटेको निकटस्थहरुलाई बताउने गरेकी छन् । तर, नयाँ चलचित्रको नाम पनि घोषणा गर्न सकेकी छैनन् ।

    चलचित्रबाहेक पूजा व्यवसायमा पनि संलग्न छिन् । उनले झम्सिखेलमा प्रेमी युद्ध बानियाँसँग मिलेर ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छन् । निकै तडकभडकसहित खोलिएको यो रेस्टुरेन्टको आजकाल उति चर्चा सुनिँदैन ।

    अब कहिले आउला त पूजाको नयाँ चलचित्र ? ‘प्रेमगीत’बाट दर्शकको मन जितेकी पूजाका फ्यानहरु पर्खाइमा छन् । तर, २०८२ सालमा उनको नयाँ चलचित्र आउने छाँटकाँट देखिएको छैन ।

  • फिल्म निर्माणबारे बल्छी धुर्बे- यो चलचित्रमात्र होइन, मेरो जीवनको एउटा अध्याय हो

    फिल्म निर्माणबारे बल्छी धुर्बे- यो चलचित्रमात्र होइन, मेरो जीवनको एउटा अध्याय हो

    काठमाडौं । बल्छी धुर्बे उपनामले परिचित कलाकार मरिचमान श्रेष्ठले चलचित्र ‘गोबर गणेश’ बनाउने भएका छन् । सिरियलबाट चर्चा बटुलेका श्रेष्ठको यो डेव्यु चलचित्र हो । चलचित्र बनाउने भएपछि उनले सामाजिक सञ्जालमा माग्नेबुढा (केदारप्रसाद घिमिरे) र धुर्मुस (सीताराम कट्टेल)लाई सम्झिँदै लामो स्टाट्स लेखेका छन् ।

    उनले लेखेका छन्, ‘आजभन्दा १८ वर्ष अगाडि काठमाडौं छिर्दा मनमा कलाकार बन्ने सपना, भरोसा अनि दुई छाक टार्ने चिन्ता थियो । कसैले चिनेका थिएनन्, कसैले चिनाउन खोजेका पनि थिएनन्, तर मेरा गुरुहरु माग्ने बुढा र धुर्मुसको सहयोगले ‘मेरी बास्सै’ बाट सुरु भएको मेरो कला यात्रा ‘हल्का रमाइलो’ हुँदै ‘जुठे’ सम्मको यात्रामा, हरेक फ्रेममा आफ्ना सपना उनेर अगाडि बढिरहेको छु ।’

    दर्शकको अपार प्रेम नै आफ्नो लागि प्रेरणा बनेको श्रेष्ठको भनाइ छ। ‘गोबर गणेश’ को बारेमा उनी भन्छन्, ‘सानो पर्दाबाट ठूला पर्दाको यात्रातर्फको यो मेरो पहिलो पाइला हो । म हर्ष, आँसु र कृतज्ञताको भारी बोकेर हजुरहरुको पाउ पर्दैछु । यो चलचित्रमात्र होइन, मेरो जीवनको एउटा अध्याय हो ।’

    श्रेष्ठले सानो पर्दामा जस्तै ठूलो पर्दाको यात्रामा पनि आफूलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

    बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ । चलचित्रलाई बल्छी धुर्बे आफैंले निर्देशन गर्नेछन् । चलचित्रमा उनको अभिनय रहनेछ या छैन भन्नेबारे उनले केही खुलाएका छैनन् । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको मुख्य अभिनेत्रीमा भने वर्षा सिवाकोटी रहनेछिन् ।

    ‘मेरी बास्सै’ बाट चर्चामा आएका बल्छी धुर्बे अहिले दुई टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ का कारण लोकप्रिय छन् ।

  • गृहमन्त्रीलाई भेटेपछि रेखा : आमाको नामबाट नागरिकता नपाउने परिस्थितिको अन्त्य भएको छ

    गृहमन्त्रीलाई भेटेपछि रेखा : आमाको नामबाट नागरिकता नपाउने परिस्थितिको अन्त्य भएको छ

    काठमाडौं । अभिनेत्री रेखा थापाले नागरिकता विधेयक २०८२ संसदबाट बहुमतले पारित भएकोमा गृहमन्त्रीलाई भेटेर बधाइ दिएकी छन् ।

    गृहमन्त्रीलाई भेटेपछि थापाले सामाजिक संजालमा लेखेकी छन्, ‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जाँदाखेरी बाबुको खोजी हुन्छ । तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ ।’

    साथै उनले गृहमन्त्रीलाई यस कार्यका निम्ति बधाइ समेत दिएकी छन् । साथै नागरिकताविहीन नेपाली नागरिकहरुलाई समेत बधाइ दिएकी छन् । गृहमन्त्री लेखकले पनि एक पोस्ट गर्दै आमाको नागरिकता प्रतिनिधिसभाबाट पारित भएको विषयमा थापाले ‘धन्यवाद’ दिएको बताएका छन् ।

    गृहमन्त्री लेखकले गत शनिबार नागरिकता विधेयक २०८२ संसदमा पेश गरेका थिए ।

  • हलमा ‘ऊनको स्वीटर’ मात्रै, असार र साउनमा किन चलचित्र चलाउन चाहँदैनन् निर्माताहरु ?

    हलमा ‘ऊनको स्वीटर’ मात्रै, असार र साउनमा किन चलचित्र चलाउन चाहँदैनन् निर्माताहरु ?

    काठमाडौं । यो असार महिनाभरि जम्मा एउटामात्रै नेपाली चलचित्र प्रदर्शन हुँदैछ, ‘यो मन त मेरो नेपाली हो’ । असार २७ बाट प्रदर्शनमा आउने यो महिनाभरिकै एक्लो नेपाली चलचित्र हो ।

    अहिले हलमा १० वटा चलचित्र प्रदर्शनरत छ । १० मध्ये नौ वटा विदेशी हुन् भने ‘ऊनको स्वीटर’ मात्रै नेपाली चलचित्र हो । पछिल्लो बैशाखयता प्रदर्शन भएका दर्जन नेपाली चलचित्रमध्ये हलमा दर्शक तान्न सफल एक्लो पनि ‘ऊनको स्वीटर’ मात्रै हो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यस चलचित्रले १० करोड ६२ लाखको व्यापार गरिसकेको छ ।

    गत जेठ ३० मा प्रदर्शनमा आएको ‘महाभोज’पछि असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ छ भने यसपछि एकै पटक साउन १६ मा ‘रियल रिंगिट’, साउन २३ मा ‘सिटामोल’ र ‘मोहर’ छन् ।

    यसपछि नेपाली चलचित्रहरुको बाक्लो चाप छ । झनै दशैंको छेकोमा ठूल्ठूला चलचित्र भिड्ने पक्का भइसकेको छ, तर असार र साउनमामा निर्माताहरुले चलचित्र प्रदर्शन गर्न नचाहनुको पछाडि भने निरन्तरको झरी र बाढी पहिरोलगायत रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् ।

    उनका अनुसार मौसमको प्रतिकूलताका कारण निर्माताहरु यी दुई महिनालाई चलचित्र प्रदर्शनको उपयुक्त महिना ठान्दैनन् । त्यसैले हलहरुमा नेपाली चलचित्र शून्य जस्तै हुने गरेको छ ।

  • एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’मा नेहा कक्करको लिप-सिंक भिडियो

    एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’मा नेहा कक्करको लिप-सिंक भिडियो

    काठमाडौं । गायक एकदेव लिम्बूको चर्चित गीत ‘झिमझिमाउने आँखा’को हिन्दी भर्सन ‘झिमझिम’मा भारतीय गायिका नेहा कक्करले लिप सिंक भिडियो बनाएकी छन् । इन्स्टाग्राममा भिडियो पोस्ट गरेकी उनले नेपाली भाषाप्रति प्रेमसमेत दर्शाएकी छन् ।

    दुई घण्टा अगाडि अपलोड गरिएको भिडियोमा अहिलेसम्म ११ लाख भ्युज गइसकेको छ भने ६७ हजारमाथिले लभ रियाक्ट गरेका छन् । गीत केही दिनअघि सार्वजनिक भएको थियो ।

    एकदेव र नेहाले पहिलो पटक सहकार्य गरेको यस गीतमा नेहाले नेपाली भाषामा समेत गीतको हुकलाइन गाएकी छन् । हिन्दी गीतको कम्पोज रजत नागपालले गरेका छन् ।

    गीतको म्युजिक भिडियो प्लेडिएमएफ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर गीत तयार गरिएको छ । जहाँ एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा गाएकी छन् ।

    नेहाले ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपालीमा गाएकी छन् ।

    ६ महिनाअघि युट्युबमा रिलिज भएको एकदेवको ‘झिमझिमाउने आँखा’लाई अहिलेसम्म तीन करोड २० लाख पटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।

  • गृहमन्त्रीले एलिना र समीक्षालाई सिंहदरबारमा बोलाएर भेटे, न्याय दिलाउने वाचा

    गृहमन्त्रीले एलिना र समीक्षालाई सिंहदरबारमा बोलाएर भेटे, न्याय दिलाउने वाचा

    काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि जथाभावी लेख्नेलाई कारबाही फास्ट ट्रयाकमा लगिदिन आग्रह गरेका छन् । साथै जाहेरी दिएका व्यक्तिहरूलाई हदसम्मको सजाय दिलाइदिन आग्रह गरेको एलिनाले नेपाल प्रेसलाई बताइन् ।

    उनले भनिन्, ‘हामीलाई नै गृहमन्त्रीले बोलाउनु भयो । तिमीहरूलाई मैले के के गरिदिन सक्छु, आएर मसँग सल्लाह गर भन्नुभएपछि हामी उहाँलाई भेट्न मन्त्रालयमा पुगेका थियौं ।’

    गृहमन्त्रीलाई आफूहरूले जाहेरी दिएका व्यक्तिहरू कुनै पनि सोर्स लगाएर, कानून छलेर उन्मुक्ति नपाउन् भनेर आग्रह गरेको एलिनाले बताइन् । उनले थपिन्, ‘विदेशबाट समेत मान्छे झिकाएर सजाय दिलाइदिनु पर्‍यो । जे पायो त्यही कमेन्ट गरेर, म्यासेज गरेर हामीलाई साह्रै दुःख दिए । संसारको जुनसुकै कुनामा भए पनि तीनिहरूलाई झिकाएर सजाय दिइदिनुपर्‍यो, सबक सिकाउनुपर्‍यो भनेर अनुरोध गर्‍यौं ।’

    साइबर क्राइमहरूलाई ठूलो र गम्भीर अपराधको रूपमा हेरिदिन पनि अनुरोध गरेको उनको भनाइ छ ।

    गृहमन्त्रीले के भन्नुभयो ? भन्ने प्रश्नमा एलिनाले भनिन्, ‘उहाँले एक्सिडेन्ट, सुसाइड केस, ड्रग्स र सामाजिक सञ्जाललाई एकदमै महत्व दिएर हेरिरहेको बताउनुभयो । हामी तपाईंको साथमा छौं भन्नुभयो । हामी तपाईँहरूले खोजेको अपराधीलाई जसरी हुन्छ पक्रिन्छौं । कानूनले जे सजाय तोकेको छ, त्यही सजाय दिलाउँछौं भन्नुभयो ।’

    साथै कसरी छिटो न्याय दिलाउने भन्नेबारे आफू गम्भीर रहेको समेत गृहमन्त्रीले बताएको एलिनाको भनाइ छ । गृहमन्त्रीको भनाइ उद्दृद गर्दै थपिन्, ‘ढुक्क भएर जानू, कसैगरी पनि म छिटोभन्दा छिटो न्याय दिलाउँछु ।’

    करिब एक सातादेखि एलिना-समीक्षाले आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । एलिनाले हिजो साइबर ब्युरोमा गएर उजुरीसमेत दिएकी छन् ।

    आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै संजालमा अभियान चलाएको एलिनाले बताएकी छन् ।

    अब कानूनी प्रक्रिया र संजालको अभियान सँगसँगै अगाडि बढाउने मुडमा रहेकी एलिना आज समीक्षासँग गृहमन्त्रीलाई भेट्न समेत पुगेकी छन् ।

    उनले अभियान सुरु गरेपछि अन्य कलाकार, राजनीतिज्ञहरूले पनि उनलाई साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ‘साहसी छोरीहरू’ भन्दै प्रशंसा गरेका गरेका थिए ।

  • सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरुले जानुन्, कमजोर छैन कानून !

    सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरुले जानुन्, कमजोर छैन कानून !

    काठमाडौं । सामाजिक संजालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरुविरुद्ध अभियानमा उत्रिएकी गायिका एलिना चौहान अन्ततः प्रहरीको साइबर ब्युरोमा पुगेकी छन् । उनले चार जनाविरुद्ध आज ब्यूरोमा उजुरी दिइन् ।

    एलिना र अर्की गायिका समीक्षा अधिकारीले घृणाजन्य कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने अभियान चलाइरहेका थिए । केही व्यक्तिहरुले उनीहरुसँग माफी मागे पनि गाली आउने क्रम रोकिएको छैन । त्यसैले एलिना कानूनी प्रक्रियामा जान बाध्य भएकी हुन् ।

    सामाजिक सञ्जालमा अभद्र र छुद्र कमेन्ट, म्यासेजहरु लेख्नेहरुविरुद्ध साइबर कानुन आकर्षित हुन्छ । साइबर क्राइमलाई विश्वमै गम्भीर प्रकृतिको फौजदारी र सामाजिक अपराध मानिन्छ । नेपालमा साइबर क्राइमको ग्राफ दिनदिनै बढ्दो छ भने यसबाट महिला, बालबालिका र विद्यार्थीहरु बढीजसो पीडित बन्दै गइरहेका छन् । यही साइबर क्राइमको पछिल्लो सेलिब्रेटी पीडित हुन् एलिना र समीक्षा ।

    २०६३ सालबाट सरकारले विद्युतीय कारोबारसम्बन्धी विशेष ऐन ल्याएको थथियो, जसलाई हाल साइबर कानून भनेर चिनिन्छ । यो ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसूरहरुको उल्लेख गरिएको छ । सो कसूर प्रमाणित भएमा ५० हजारदेखि पाँच लाखसम्म जरीबाना र ६ महिनादेखि पाँच वर्षसम्मको जेल सजायको व्यवस्था छ । अपराधको गम्भीरता अनुसार अदालतले सजाय तोक्नसक्छ ।

    गाली-बेइज्जती ऐनअन्तर्गत ५० हजारसम्म जरीबाना, ३ वर्षसम्म कैद

    सामाजिक संजालमा तुच्छ र अपाच्य गाली गर्नेहरुमाथि गाली बेइज्यति ऐनसमेत आकर्षित हुन सक्छ । गाली बेइज्जती ऐन २०१६ मा सर्वसाधारणको इज्जत र मान मर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि र बेइज्यतीको कसुरको निमित्त सजायको व्यवस्था गरिएको छ ।

    सो ऐनको दफा ३०७ को उपदफा १ मा लेखिएको छ, ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेछ । तर विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

    यस्तै, उपदफा २ मा व्यइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यसलाई समेत विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्ने उल्लेख छ ।

    यो मुद्दा व्यक्तिगतरूपमा सम्बन्धित जिल्ला अदालतमा दुनियावादी फौजदारी मुद्दाको रूपमा पनि दायर गर्न सकिन्छ । नेपाल सरकार वादी भएर पनि गाली बेइज्जती मुद्दा दायर हुन सक्छ । यसमा ३ महिनाको हदम्याद राखिएको छ ।

    नेपाल सरकार वादी भई दायर गरिने मुद्दामा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राख्न सक्ने व्यवस्था छ । सरकारवादी मुद्दा दायर भइसकेपछि आफ्नो वकिल नराख्दा पनि हुन्छ । सरकारी वकिलले नै बहस गरिदिन्छ । यस्तो अवस्थामा जाहेरवालाले नीजि वकिललाई तिर्नुपर्ने अतिरिक्त शुल्क लाख्दैन । सरकारले सित्तैमा मुद्दा लडिदिन्छ ।

    एलिना–समिक्षाको केसमा मूल रुपमा साइबर कानुन नै आकर्षित हुने अधिवक्ता प्रतीक कार्कीले बताए । उनले भने, ‘यस्ता केसमा मुख्य रुपमा साइबर कानुन नै आकर्षित हुन्छ । साथै यो मुद्दा सरकारवादी मुद्दा पनि हुन्छ । सीधै जाहेरी लिएर अदालत जाने हो । सँगै गाली बैज्जती मुद्दा समेत आकर्षित हुन्छ ।’

    साइबर क्राइमको अनुसन्धान सहज भने हुँदैन । गालीगलौज गर्नेहरु अधिकांस विदेशमा बस्ने हुन्छन् । उनीहरुको पहिचान गर्नु र पक्राउ गरेर नेपालसम्म ल्याउने काम प्रहरीका लागि चुनौतिपूर्ण हुने गरेको छ ।

    एलिना समिक्षालाई किन आइरहेको छ गाली ?

    चर्चित सेलिब्रिटीहरुलाई सामाजिक सञ्जालमा फाट्टफुट्टरुपमा नकारात्मक र घृणाजन्य प्रतिक्रियाहरु आउनु सामान्य नै हो । तर, सीमा नै उल्लंघन गरेर व्यक्तिगत स्तरमा आक्रमण गर्दा जोकोहीलाई सैह्य हुँदैन । एलिना र समिक्षाको हकमा यस्तै भइरहेको छ ।

    अभिनेता पल शाहविरुद्ध मुद्दा हालेपश्चात समिक्षा पलका फ्यानहरुको निशानामा परेकी थिइन् । एक समयमा त समिक्षामाथि यति धेरै घृणा वर्षा भयो कि उनी डिप्रेसनकै अवस्थामा पुगिन् । पल शाह रिहा भएपश्चात त्यो क्रममा ब्रेक लागे पनि पूर्णरुपमा समाप्त भएको छैन । अहिले पनि समिक्षालाई सोही मुद्दासँग जोडेर ‘१० लाख’ भन्दै कमेन्ट आइरहेका हुन्छन् ।

    जिल्ला अदालत नवलपुरले पललाई बालयौन दुरुपयोगमा दोषि ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र पिडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश दिएको थियो । समिक्षाले भने सो रकम रकम लिन अस्वीकार गरेकी थिइन् । तर पनि उनलाई ‘१० लाख’ भन्दै होच्याउने काम पलका फ्यानहरुले अझैसम्म गर्दै आएका छन् ।

    एलिनालाई भने श्रीमानसँग छोटो समयमा डिभोर्स गरेपछि सामाजिक सञ्जालमा तुच्छ कमेन्टहरु आउन थालेका हुन् । पैसाका लागि मात्र विहे गरेको आरोप उनलाई कतिपयले लगाउने गरेका छन् । यद्यपि, एलिनाले श्रीमानसँग कुनै पनि अंश नलिइकन डिभोर्स गरेकी थिइन् ।

     

  • ‘छालबाटो’ले पुरस्कार पाएपछि लेखकको घोषणा: आधा रकम विपन्न र आमाबाबुविहीन बालिकाको पढाइलाई

    ‘छालबाटो’ले पुरस्कार पाएपछि लेखकको घोषणा: आधा रकम विपन्न र आमाबाबुविहीन बालिकाको पढाइलाई

    काठमाडाैं। गैरआख्यान कृति ‘छालबाटो’का सर्जक रमेश भुसालले आफूले पाउने सम्पूर्ण पुरस्कारको आधार रकम विपन्न र अभिभावकविहीन बालिकाकाे पढाइमा खर्च गर्ने घोषणा गरेका छन् । हिजो मात्रै ५० हजार राशीको साहित्यपोस्ट गैरआख्यान पुरस्कार पाएपछि यस्तो घोषणा गरेका हुन् ।

    भुसालले नेपालप्रेससँग कुरा गर्दै भने, ‘म आफैं पनि गर्भमै टुहुरो भएको थिएँ । त्यसैले मैले पाएको पुरस्कारको आधा रकम २५ हजार विपन्न र अभिभावकविहीन बालिकाको पढाइमा खर्च गर्ने घोषणा गरेको हुँ ।’

    पुरस्कार कसलाई दिने भनेर यकिन चाहिँ भइनसकेको भुसालले बताए ।भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा गराएका छन् ।

    वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । छालबाटो उनको पहिलो पुस्तक हो ।

  • कबड्डी-२ को पुरस्कार बाँसुरी फिल्म्सलाई दिइएपछि रौनकविक्रमको असन्तुष्टि

    कबड्डी-२ को पुरस्कार बाँसुरी फिल्म्सलाई दिइएपछि रौनकविक्रमको असन्तुष्टि

    काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो नेपाली चलचित्रको ६० वर्षे इतिहासमा सबैभन्दा बढी आम्दानी गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गर्यो । उक्त सूचीको १३ औं नम्बरमा रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ पनि पर्यो । विकास बोर्डको रिपोर्ट अनुसार यस चलचित्रले १० करोड ३५ लाख कमाइ गरेको छ ।

    तर, बोर्डले आज औपचारिक कार्यक्रम गर्दै प्रमाणपत्र वितरण गर्दा निर्माताको रुपमा आफ्नो नाम नलिएपछि रौनक विक्रम कँडेलले सामाजिक संजालमा दुखेसो पोखेका छन् । उनले लेखेका छन्, ‘कबड्डी कबड्डी सिनेमा आर्ट प्राइभेट लिमिटेडले निर्माण गरेको हो । तर, त्यसको निर्माता चाहिँ म रहेनछु, आज थाहा पाएँ । कार्यक्रममा निर्माण कम्पनी र निर्मातामा अरुकै नाम उच्चारण गरियो ।’

    यो चलचित्रमा रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार निर्माताको रुपमा थिए । तर, कार्यक्रम संचालिकाले ‘कबड्डी कबड्डी’को नाम लिँदै निर्माण कम्पनीमा बाँसुरी फ्लिम्स र निर्माताको नाम रामबाबु गुरुङ भएको बताउँछिन् । जब कि रामबाबु गुरुङ यस चलचित्रको निर्देशक मात्रै हुन् ।

    उनले आफू चलचित्र ‘दिमाग खराब’को निर्माताको रुपमा सम्मानित भए पनि ‘कबड्डी कबड्डी’को निर्माताको नाम अरुकै उच्चारण गरिएपटि दुखेसो पोखेका हुन् । उनले विकास बोर्डलाई ह्यासट्याग गर्दै लेखेका छन्, ‘तपाईंहरुको पारदर्शिता, इमानदारिता र सृजनात्मकता साँच्चै नयाँ उचाइमा पुगेको छ । कार्यक्रमको पर्दा पछाडि भएको अद्भूत जादुको जय होस् ।’

    केही वर्षअघि आन्तरिक मदभेदका कारण रामबाबु गुरुङ र निर्माता रौनकविक्रम छुट्टिएका थिए । रौनकविक्रमले सिनेमा आर्ट लिएर गएका थिए भने रामबाबुले नयाँ कम्पनी बाँसुरी फिल्म्समार्फत् चलचित्र निर्माणको काममा सक्रिय भएका थिए ।

    यसपछि रौनकविक्रमले ‘दिमाग खराब’ चलचित्र निर्माण गरेका थियो । यो चलचित्रले ८ करोड ९८ लाखको व्यापार गर्दै शीर्ष २५ को सूचिमा १६ नम्बरमा समावेश भएको छ ।

  • हालसम्मै सर्वाधिक कमाउने २५ नेपाली चलचित्रको सूची सार्वजनिक, कुन-कुन अटाए ?

    हालसम्मै सर्वाधिक कमाउने २५ नेपाली चलचित्रको सूची सार्वजनिक, कुन-कुन अटाए ?

    काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गरेको छ । नेपाली चलचित्रको छ दशकको इतिहासमा प्रदर्शन भएका चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने २५ चलचित्रको सूचि बोर्डले सार्वजनिक गरेको हो ।

    चलचित्र ‘आमा’बाट सुरु भएको नेपाली चलचित्रको इतिहासमा हजारौं चलचित्रहरु प्रदर्शन भए । ती चलचित्रले समय अनुसार लाखौं कमाए । ‘माइतीघर’ होस् या ‘दर्पन छाया’, ‘कुसुमे रुमाल’ होस् या ‘चिनो’, ‘देउता’ होस् या ‘आगो’ अथवा ‘मुगलान’ ! यी चलचित्रले आफ्नो समयमा ब्लकबस्टर कमाइ गरेका थिए । सयौं दिनसम्म हलहरुमा चलेको इतिहास छ । त्यसवेलाको बजार मूल्य अनुसार यी चलचित्रले लाखौं आम्दानी गरेका थिए । यी चलचित्र शीर्ष २५ भित्र परेका छैनन् ।

    यी चलचित्र प्रदर्शन हुँदा बोर्डले बक्स अफिसको हिसाब पनि राख्ने गर्दैनथ्यो । सूचिमा नपरे पनि नेपाली चलचित्रको इतिहासमा यी चलचित्रहरुको विशेष स्थान छ । यसका साथै ‘नुमाफुङ’ वा ‘शाम्बाला’जस्ता कलात्मक चलचित्रको आफ्नै विशिष्ट स्थान छ ।

    चलचित्र विकास बोर्डले बक्स अफिसको तथ्यांकको आधारमा सार्वजनिक गरेको सूचिको शीर्ष स्थानमा चलचित्र ‘पूर्णबहादुरको सारंगी’ छ । यो चलचित्रले १७ लाखभन्दा बढी टिकट बेचेर ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । दोस्रो स्थानमा रहेको ‘कबड्डी ४’ले २१ करोड ४० लाख, तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’ले १९ करोड ९२ लाख, चौथो स्थानमा रहेको ‘छक्कापन्जा ४’ले १७ करोड ५३ लाख र पाँचौं स्थानमा रहेको ‘जारी’ले १७ करोड ४७ लाख कमाएको छ ।

    त्यस्तै छैटौं स्थानमा रहेको ‘छक्का पन्जा १’ले १६ करोड १० लाख, सातौं नम्बरमा रहेको ‘महाजात्रा’ले १५ करोड ६७ लाख, आठौं नम्बरमा रहेको ‘छक्का पन्जा ५’ले १५ करोड २० लाख, नवौं स्थानमा रहेको ‘कोहीनुर’ले १४ करोड ७५ लाख र दशौं नम्बरमा रहेको ‘छक्कापन्जा २’ले १४ करोड ५१ लाख कमाइ गरेको छ ।

    हेर्नुहोस् शीर्ष २५ को सूची:

    अल टाइम ब्लकबस्टर १० नेपाली चलचित्र

    पूर्णबहादुरको सारङ्गी – ४६ करोड ८७ लाख ४१ हजार
    कबड्डी–४ – २१ करोड ४० लाख
    १२ गाउँ – १९ करोड ९२ लाख
    छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
    जारी – १७ करोड ४७
    पञ्जा १ – १६ करोड १० लाख
    महाजात्रा – १५ करोड ६७ लाख
    छक्का पञ्जा ५ – १५ करोड २०
    कोहिनुर – १४ करोड ७५
    छक्का पञ्जा २ – १४ करोड ५१ लाख
    शत्रुगते – १२ करोड ६५ लाख
    ऊनको स्वीटर – १० करोड ६२ लाख
    कबड्डी २ – १० करोड ३५ लाख
    बोक्सीको घर – १० करोड १० लाख
    छ माया छपक्कै – ९ करोड ९२ लाख
    दिमाग खराब – ८ करोड ९८ लाख
    अन्जिला – ८ करोड ८३ लाख
    परदेशी २ – ६ करोड ९२ लाख
    छक्का पन्जा ३ – ७ करोड ८३ लाख
    प्रेमगीत ३ – ७ करोड ६३ लाख
    कबड्डी ३ – ७ करोड ५९ लाख
    पुजार सार्की – ७ करोड ३८ लाख
    महापुरुष – ७ करोड ३५ लाख
    कबड्डी – ७ करोड ३४ लाख
    पशुपतिप्रसाद २: भष्मे डन – ७ करोड ३२ लाख

     

  • केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक

    केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक

    काठमाडौं । हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरेकाे मुख्य भूमिका रहेकाे ‘माग्ने राजा’को टिजर सोमबार सार्वजनिक गरिएकाे छ। केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।

    केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।

    केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

    आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

    सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।

  • गालीगलौज गर्नेहरुविरुद्ध एलिनाले गुहारिन् साइबर ब्यूरो, १० दिनको ब्रेक लिएर अभियानमा

    गालीगलौज गर्नेहरुविरुद्ध एलिनाले गुहारिन् साइबर ब्यूरो, १० दिनको ब्रेक लिएर अभियानमा

    काठमाडौं । गायिका एलिना चौहान आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरु विरुद्ध साइबर व्युरो पुगेकी छन् । अर्की गायिका समीक्षा अधिकारीसँग मिलेर केही दिनदेखि सामाजिक संजालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेकी उनी साइबर व्युरोमा पुगेकी हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘चारजना विरुद्ध जाहेरी दिन लागेकी छु । अभद्र कमेन्ट गर्ने बाँकी व्यक्तिहरुलाई पनि क्रमैसँगले जाहेरी दिँदै जान्छु ।’

    कानुनी प्रक्रियामा गए पनि सामाजिक संजालमा प्रोफाइल पर्दाफास गर्ने अभियान नरोकिने चौहानले बताइन् । उनका अनुसार सामाजिक संजालमा पर्दाफास अभियान पनि चलिरहने छ भने सँगसँगै कानुनी प्रक्रिया पनि अगाडि बढिरहनेछ ।

    ‘खराब व्यवहार गर्ने, चेतावनी दिँदा पनि नसुध्रने, उल्टै उच्किएर जे पायो त्यही लेख्दै जाने चारजना विरुद्ध जाहेरी दिएकी हुँ । बाँकी अन्य पनि कानुनी दायरामा आनेछन्,’ एलिनाले भनिन्, ‘माफी माग्नेहरुलाई मैले माफी पनि दिएकी छु । माफी माग्नेहरुलाई माफी दिएर पोस्ट डिलिट पनि गरिदिएकी छु । अब सुध्रन नचाहनेहरुलाई कानुनले सुधार्छ ।’

    अनि कानुनी प्रक्रियामा नगईकन किन संजालमै पोस्ट गर्ने अभियान चलाउनुभयो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘सामाजिक संजालमा पोस्ट गरेपछि मात्रै कानुनी प्रक्रियामा जाने योजना थियो । अभियानमा धेरैले मलाई साथ दिनुभएको छ । अब प्रधानमन्त्रीले नै लेख्नुभएपछि कानुनी रुपमा पनि चाँडोभन्दा चाँडो उनीहरुलाई सजाय होला भन्ने सोचेकी छु ।’

    आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै संजालमा अभियान चलाएको एलिनाले बताइन् ।

    ‘यो अभियानका लागि मैले १० दिनको ब्रेक लिएकी छु । यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड गरेकी छु,’ एलिनाले भनिन्, ‘कार्यक्रमहरु नै रोकेर अभियान चलाउनुपर्ने अवस्थामा मलाई पुर्याइदिए । मलाई धेरै नै तनाव दिएपछि मैले ब्रेक लिएरै यस्तो अभियान चलाउनुपर्यो मैले ।’

    अब कानुनी प्रक्रिया र संजालको अभियान सँगसँगै अगाडि बढ्ने पनि एलिनाले बताइन् ।

    उनले अभियान सुरु गरेपछि अन्य कलाकार, राजनीतिज्ञहरुले पनिउनलाई साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एलिना–समीक्षाको तरिफ गरेका थिए । प्रधानमन्त्रीले ‘साहसी छोरीहरु‘ भन्दै गायिकाद्धयले चलाएको अभियानको प्रशंसा गरेका हुन् ।

    एलिना र समीक्षाले झैँ यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिन सट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी(प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आईडी सेयर गरेका थिए ।

    जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै एलिनाले आक्रमक तवरले संजालबाटै प्रतिक्रिया दिइरहेकी छन् ।

  • राणाकालमा प्रजातान्त्रिक योद्धालाई नेल ठोक्नेले पनि दुःख मान्थे, भगवान् पुकार्थे

    राणाकालमा प्रजातान्त्रिक योद्धालाई नेल ठोक्नेले पनि दुःख मान्थे, भगवान् पुकार्थे

    काठमाडौं । विक्रम संवत् १९९७ मा नेपालको पहिलो दल नेपाल प्रजा परिषद्का नेता कार्यकर्ताहरुलाई राणा सरकार खासगरी जुद्ध शमशेरले थुने । हतकडी र नेल लगाए । चार जनाको त क्रूर हत्या गरे ।

    अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनका चार सहिदहरू जुद्धकै सत्ताले फाँसी दिएका र गोली हानेका प्रजातान्त्रिक अनुहारहरू थिए ।

    धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकिएको थियो । तीनै चार सहिदहरूकै लटमा पक्राउ परेका एक अनुहार थिए कवि सिद्धिचरण श्रेष्ठ ।

    राजा त्रिभुवनसँग राम्रो हिमचिम भएता पनि श्रेष्ठको लेखन र प्रजातान्त्रिक मुद्दाको लगनको कारणले उनी पक्राउ परे । पक्राउ परेको मिति थियो १९९७ कार्तिक २ गते । उक्त दिनको पक्राउ त सामान्य नै हो । तर पक्राउ गरिएकाहरूलाई नेल लगाउने राणाका कर्मचारीहरूले आफूले गरेको काम ठिक हो भन्नै चैँ मान्दैनथे ।

    नमानेरै उनीहरूले भगवानसँग पुकारा गर्थे जुन कुरा हालसालै बजारमा बुक हिलबाट सरुभक्तको सम्पादनमा आएको ‘सिद्धिचरणको जेल संस्मरण’ नामक पुस्तकमा रोचक तरिकाले उल्लेख गरिएको छ ।

    पाँच वर्ष जेल बसेका श्रेष्ठले जेल ठोक्ने राणाको कारिन्दाको मनोदशा देखाउँदै भनेका छन्, ‘मलाई नेल ठोक्दा नेल ठोक्नेले आफ्नो हातमा लिएको घनलाई ढोग दिए । त्यसरी ढोग दिनुको कारण केहि थाहा छैन । मैले पेटको निम्ति जागिर खाएको हो । मैले मालिकहरूको आदेश मान्नुपर्छ । मलाई केहि पाप नलागोस् भनेका होलान् भन्ने मैले सोचेँ ।’

  • ‘सिटामोल’को टिजर सार्वजनिक

    ‘सिटामोल’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।

    ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’, हरफबाट सुरु हुने सिनेमाको मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन् । टिजरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार चढावले दर्शकमाझ उत्सुक्ता पैदा गर्न सफल देखिन्छ ।

    सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

    तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

     

  • रिना दत्तासँगको डिभोर्सपछि आफू गहिरो डिप्रेसनमा पुगेको आमिर खानको खुलासा

    रिना दत्तासँगको डिभोर्सपछि आफू गहिरो डिप्रेसनमा पुगेको आमिर खानको खुलासा

    काठमाडाैं । ‘मिस्टर पर्फेक्सनिस्ट’ भनेर चिनिने बलिउड अभिनेता आमिर खानले आफ्नो नीजि जीवनको अँध्यारो पाटोबारे खुलासा गरेका छन् । उनी रिना दत्तासँगको डिभोर्सपछि आफू गहिरो डिप्रेसनमा र आत्महत्याको सोचसम्मा पुगेको खुलासा गरेका हुन् ।

    भारतीय मिडिया लल्लनटपसँगको अन्तवार्तामा उनले भनेका छन्, ‘डिभोर्सपछि म हरेक दिन रक्सी पिउँथेँ । मैले आफूलाई मार्न कोसिस गरिरहेको थिएँ । मेरो जीवनको कुनै अर्थ छ जस्तो लागेको थिएन ।’

    आमिर र रिनाको सन् २००२ मा डिभोर्स भएको थियो । १५ वर्षको वैवाहिक सम्बन्ध टुटेपछि आफू गहिरो मानसिक समस्यामा गएको उनले बताएका छन् । साथै आफू छोराछोरीका कारण आत्महत्या गर्नबाट रोकिएको समेत बताएका छन् ।

    आमिरको अभिव्यक्तिले बलिउडमा मानसिक स्वास्थयको मुद्दाबारे बहस समेत सुरु गरेको छ । फ्यान र बलिउड कलाकारहरुले उनको आँट र साहसको खुलेर प्रशंसा समेत गरिरहेका छन् ।

    अहिले आमिर खानको चलचित्र ‘सितारे जमिन पर’ प्रदर्शन भइरहेको छ । चलचित्र सय करोडको आँकडा पार गरिरहेको छ भने दर्शक, समीक्षकबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ ।

    आमिरले रिनासँग डिभोर्स भएको तीन वर्षपछि किरण रावसँग विवाह गरेका थिए । किरणसँग पनि सन् २०२१ मा अलग भइसकेका छन् । आमिर अहिले गौरी स्प्राट नामक महिलासँग प्रेम सम्बन्धमा छन् ।

    आमिर र रीनाको छोरा जुनैद खानले बलिउडमा डेब्यु गरिसकेका छन् ।

  • पूर्णबहादुरको सारंगीले १७ लाख टिकट बिक्री गर्यो, यी १० चलचित्रले हजार पनि कटाउन सकेनन्

    पूर्णबहादुरको सारंगीले १७ लाख टिकट बिक्री गर्यो, यी १० चलचित्रले हजार पनि कटाउन सकेनन्

    काठमाडौं । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार चालू आवमा घरेलु बक्स अफिसमा प्रदर्शन भएका ६१ नेपाली चलचित्रले एक अर्ब ५१ करोड ३२ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भए । यही आवमा ७८ विदेशी चलचित्रले ८६ करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भए ।

    नेपाली चलचित्रको डेढ अर्ब माथिको ग्रस कलेक्सनमा ‘पूर्ण बहादुरको सारंगी’ (४६ करोेड ८७ लाख), ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘छक्का पन्जा’ (१५ करोड २० लाख’, ‘ऊनको स्वेटर’ (११ करोढ ७९ लाख, प्रदर्शनरत), ‘अन्जिला’ (८ करोड ८६ लाख) लगायत चलचित्रको उल्लेख्य मात्रामा योगदान देखिन्छ । शीर्ष १० चलचित्रकै कमाइ जोड्ने हो भने एक अर्ब २४ करोड ४२ लाख हुन आउँछ । बाँकी ५१ चलचित्रले २६ करोड नौ लाख मात्रै ग्रस कलेक्सन गरेको देखिन्छ ।

    त्यस्तै ‘पुष्पा २’, ‘हाउसफुल ५’(प्रदर्शनरत), ‘स्त्री २’, ‘भुलभुलैया ३’, ‘क्याप्टेन अमेरिका ः व्रेभ द न्यु वल्र्ड’ लगाउत विदेशी चलचित्रलाई उल्लेख्य मात्रामा नेपाली दर्शकले रुचाएको देखिन्छ ।

    यद्यपि सबैभन्दा कम कमाउने स्वदेशी तथा विदेशी चलचित्रको संख्या समेत उच्च छ । कतिसम्म भने ‘शीरफूल’ नामक नेपाली चलचित्रले जम्मा ८९ वटा मात्रै टिकट बेचेर १८ हजार पाँच सय रुपैयाँ मात्रै ग्रस कलेक्सन गर्न सक्यो ।

    त्यस्तै ‘गाले वाना’ नामक नेपाली चलचित्रले ७३ टिकट बेचेर २१ हजार छ सय ग्रस गर्यो भने ‘ख्वा वाला’ चलचित्रले ९२ टिकट बेचेर २७ हजार छ सय ग्रस गर्यो । ‘हेल्लो काशीराम’ले एक सय १० वटा टिकट बेचेर २६ हजार नौ सय, ‘एक्टर’ले एक सय २० टिकट बेचेर ३२ हजार आठ सय र ‘आँखा’ले दुई सय ६४ वटा टिकट बेचेर ९२ हजार पाँच सयको ग्रस कलेक्सन गर्यो ।

    विदेशी चलचित्रमा मोहनलाल स्टार दक्षिण भारतीय चलचित्र ‘एल २ ः इम्पुरान’ले जम्मा एउटा टिकट बेचेर चार सय पचास ग्रस गर्यो । जब कि यो चलचित्रले विश्वव्यापी रुपमा दुई सय ६८ करोडको व्यापार गरेको थियो ।

    भोजपुरी सुपरस्टार खेसरीलाल यादव स्टारर ‘राजाराम’ले २२ टिकट बेचेर २१ सय ६० रुपैयाँको व्यापार गर्यो । भारतमा ‘तुमबाड’ जस्ता चलचित्रले पुनः प्रदर्शन भएर आकर्षक पैसा कमाएपछि पुनः प्रदर्शन भएको ‘वेलकम’ले नेपालमा जम्मा २४ टिकेट बेचेर २३ सय २० रुपैयाँ कमायो । जब कि शाहरुख खान स्टारर ‘वीर जारा’ले नेपालमा ४० लाख माथिको ग्रस कलेक्सन गर्यो ।

    भोजपुरी चलचित्र ‘अग्नीसाक्षी’ले ७४ टिकट बेचेर ६५ सय, ‘ओभरलोड ः द सेक्रेठ किङडम’ एनिमेसन चलचित्रले ९२ टिकट बेचेर साढे ३७ हजार, ‘डन्स’ नामक भोजपुरी चलचित्रले एक सय दुई टिकट बेचेर साढे दश हजार, जापानिज एनिमेसन चलचित्र ‘डिटेक्टिभ कोननः द मिलियन डलर पेन्टाग्राम’ले ९० किकट बेचेर ३५ हजार ग्रस कलेक्सन गर्यो । त्यस्तै ‘ठग लाइफ’, ‘कराते किडः लिजेन्डस्’, विश्वबजारमा नौ सय मिलियन डलर कमाइसकेको ‘लिलो एण्ड स्टिच’, ‘ग्लाडियटर २’, ‘रेड २’ जस्ता अपेक्षित विदेशी चलचित्रले पनि नेपालमा राम्रो व्यापार गर्न सकेन । महँगो बजेटमा प्रदर्शन अधिकार खरीद गरेर ल्याइएका कतिपय चलचित्रले नेपाली वितरकलाई करोडौं घाटा समेत खुवाए ।

    सबैभन्दा कम कमाउने १० नेपाली र विदेशी चलचित्रको सूचि (टिकट बिक्रीका आधारमा) हेर्नुहोस्:

    चलचित्र     –        टिकट – ग्रस कलेक्सन
    गाले वाना –            ७२ – २१६००
    शीरफूल –              ८९ – १८५००
    ख्या वाला –            ९२ – २७६००
    हेल्लो काशीराम  –११० – २६९००
    एक्टर –                 १२० – ३२८३५
    आँखा –                 २६४ – ९२५२५
    ब्ल्याक छाया –      २९४ – ६८८३५
    अग्नीदहन –           ६३३ – २१६९९८
    ताण्डवम् –            ७६३ – २७७०००
    ईश्वर –                   ७९९ – २०१०००

  • जुलाई ११ बाट भारत ‘एक्टरः टेक वान’, अदालतमा क्षतिपूर्ति दाबीसहित १५ लाखको चेक बदर माग

    जुलाई ११ बाट भारत ‘एक्टरः टेक वान’, अदालतमा क्षतिपूर्ति दाबीसहित १५ लाखको चेक बदर माग

    काठमाडौं । गत माघमा प्रदर्शन भएको चलचित्र ‘एक्टर : टेक वान’ भारतीय हलहरूमा प्रदर्शन हुने भएको छ । भारतमा रहेका नेपाली भाषी दर्शकहरूलाई लक्षित गर्दै नेपाली भाषामा चलचित्र प्रदर्शन हुन लागेको हो ।

    भारतीय वितरक शान्ति ड्रिस्टिब्युटर्सले मुम्बाइ, चेन्नाइदेखि दार्जिलिङ, सिक्किमसम्ममा ‘एक्टरः टेक वान’ प्रदर्शन हुन लागेको निर्माता थमन कुमार भण्डारीले बताए । भण्डारीले भने, ‘नेपालमा प्रदर्शन भएको समयमै भारतमा पनि प्रदर्शन गर्ने तयारी थियो । तर, उता सेन्सर पास गर्न ढिलाइ भएपछि नेपालमा प्रदर्शन भएको छ महिनापछि प्रदर्शन हुन लागेको हो ।’

    नेपालमै पनि ‘एक्टरः टेक वान’ले प्रदर्शनअघि अदालती प्रक्रियाको सामना गर्नु परेको थियो । गत माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रविरुद्ध अर्को चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले नाम चोरीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । पछि भण्डारी र थापाबीच आपसी सहमति भयो, भण्डारीले १५ लाखको चेक दिएपछि १८ गतेबाट चलचित्र प्रदर्शन भएको थियो ।

    निर्माता भण्डारीका अनुसार तीन दिन प्रदर्शन रोकिँदा एइड्भान्स बुकिङ अन्तर्गत ४० लाख त नगद मात्रै घाटा भएको थियो ।

    दुवै पक्ष सहमतिमा आएपछि १८ गतेबाट प्रदर्शन भएको चलचित्रले अपेक्षित व्यापार गर्न सकेन । चलचित्र विकास बोर्डको तथ्यंक अनुसार चलचित्रले एक करोड दुई लाख मात्रै ग्रस कलेक्सन गर्न सकेको छ । यो भनेको निर्माताको हातमा करिबकरिब ३५-४० लाख रुपैयाँ मात्रै हात पर्नु हो । जब कि आफूले साढे तीन करोड रुपैयाँ लगानी गरेको भण्डारीको दाबी छ । लगानीको आधारमा चलचित्र घरेलु बक्स अफिसमा पूर्ण रूपमा असफल भएको देखिन्छ ।

    निर्माता भण्डारी यो सम्पूर्ण असफलताको दोष मुद्दा दा«यर गर्ने ‘एक्टर’का निर्माता थापालाई दिएका छन् । यही कारण उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् । उक्त मुद्दाबारे भण्डारीले भने, ‘उहाँ (सम्राट थापा)ले त्यसवेला हामीलाई ट्र्यापमा पारेर हामीबाट अनुचित रूपमा लाभ लिनुभयो । १५ लाखको चेक माग्नुभयो । हामी अप्ठ्यारोमा परेका कारण उक्त चेक दिन बाध्य भयौँ । अहिले त्यही चेक अदालतले बदर गरिदिनुपर्‍यो भनेर मुद्दा हालेका छौँ । त्यसका साथै चलचित्रको क्षतिपूर्तिको सन्दर्भमा पनि मुद्दा हालेका छौँ ।’

    क्षतिपूर्ति कसले दिनुपर्ने ? भन्ने प्रश्नमा भण्डारीले भने, ‘त्यो त अदालतले फैसला देला । चलचित्र विकास बोर्डले दिन्छ कि कसले दिन्छ ? हामीलाई ट्रयापमा पारियो, तीन दिन प्रदर्शन रोकियो । यही कारण हामी डुब्यौं ।’

    क्षतिपूर्ति रकम भने वितरकहरूले हिसाब गरेर निकाल्ने भण्डारीले बताए । भारतमा प्रदर्शन गरेपछि अन्य देशहरूमा पनि प्रदर्शन गर्ने र भदौ वा असोजतिर नेपालमा पनि पुनः प्रदर्शन गर्ने योजना रहेको उनले बताए ।

    चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला लगायत कलाकारको अभिनय छ ।

  • एलिना-समीक्षाको ‘भण्डाफोर अभियान’काे तारिफ गर्दै प्रधानमन्त्रीले भने-साहसी छोरीहरु

    एलिना-समीक्षाको ‘भण्डाफोर अभियान’काे तारिफ गर्दै प्रधानमन्त्रीले भने-साहसी छोरीहरु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानको प्रशंसा गरेका छन् ।

    प्रधानमन्त्री ओलीले गायिकाद्वय चौहान र अधिकारीकाे तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै साहसी छोरीहरु भन्दै प्रशंसा गरेका छन् ।

    समीक्षा र एलिनाले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो सञ्जालमा सार्वजनिक गर्ने तरिका सही लागेका ओलीले बताए ।

    साथै उनले समाजमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। आफू राम्रो देखिन अरूको दोष देखाएर गाली गर्ने, सधैं विरोध र सराप गर्ने परपीडक मानसिकता समाजका लागि खतरनाक भएको ओलीको भनाइ छ।

    ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ।’ उनले लेखेका छन्,‘ समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

    उनले पछिल्लो समय सामाजिक सञ्जालमा आलोचकहरूलाई प्रतिवाद गर्ने गायिका समिक्षा र एलिनाको भण्डाफोर अभियानलाई समर्थन जनाएका छन्।

    साथै उनले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।

  • ‘काँटा लगा’ फेम अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन

    ‘काँटा लगा’ फेम अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन

    मुम्बई । चर्चित म्यूजिक भिडियो ‘काँटा लगा’ मार्फत रातारात स्टार बनेकी अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार राति हृदयघात (कार्डियक अरेस्ट) का कारण उनको आकस्मिक निधन भएको हो ।

    पति पराग त्यागीले तुरुन्तै मुम्बईको अंधेरीस्थित बेलेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

    शेफालीले सन् २००२ मा रिलिज भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकहरूको मन जितेकी थिइन्। यो गीतले उनलाई ‘काँटा लगा गर्ल’ को उपनाम दिलाएको थियो र भारतीय पप संस्कृतिमा नयाँ युगको सुरुवात गरेको थियो। उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्।

    साथै, उनले ‘नच बलिए ५’ र ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनको जीवन्त व्यक्तित्व र मायालु व्यवहारले दर्शकहरूको मन जितेको थियो।

    शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्। उनले सन् २००४ मा मिट ब्रदर्सका संगीतकार हरमित सिंहसँग विवाह गरेकी थिइन्, तर सन् २००९ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो। पछि, सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।

    शेफालीले एक अन्तर्वार्तामा आफूलाई १५ वर्षको उमेरमा मिर्गीको समस्या भएको खुलासा गरेकी थिइन्, जसका कारण उनले तनाव र चिन्ताको सामना गर्नुपरेको थियो।

  • रामकृष्ण ढकाल पनि फिल्म निर्माणमा, ‘मालती मंगले’ मा विजय र वर्षा फाइनल

    रामकृष्ण ढकाल पनि फिल्म निर्माणमा, ‘मालती मंगले’ मा विजय र वर्षा फाइनल

    काठमाडौं । गायक रामकृष्ण ढकाल गायनसंगसंगै चलचित्र निर्माणतर्फ लागेका छन् । पहिलो पटक उनले चलचित्र निर्माण गर्न लागेका हुन। उनले केही समय अघि चलचित्र ‘मालती मंगले’ बनाउने घोषणा गरेका थिए । तर चलचित्रमा को कलाकार हुने भन्ने पक्का थिएन।

    आज कागजी सम्झौता गरेसंगै चलचित्रको मुख्य कलाकारहरु फाइनल भएका छन् । चलचित्रमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत हुने पक्का भएको छ। शुक्रवार निर्माण टिमले कागजी सम्झौता गरी बराल र राउतलाई चलचित्रमा अनुबन्ध गराएको हो ।

    पारिवारिक प्रेमकथामा आधारित यो चलचित्रमा विजय र वर्षाको भूमिका के रहनेछ भन्ने बारे भने खुलाईएको छैन । निर्माण टिमको अनुसार यो चलचित्रको लागी विजय र वर्षाले करिब ३ महिना अन्य चलचित्रमा काम नगर्ने भएका छन् । यो समय उनीहरूले आफ्नो चरित्र निर्माणको लागि ‘मालती मंगले’ लाई दिनेछन् ।

    भदौको पहिलो हप्तादेखि छायांकन सुरु हुने ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमको भनाई छ ।

    रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन् ।

    झण्डै ४ हजारभन्दा बढी नेपाली गीतहरुमा स्वर दिईसकेका गायक रामकृष्ण ढकालको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए ।

    उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी पहिलो पटक निर्माताको भूमिकामा आएका हुन् ।