Category: कलाप्रेस

  • ‘लण्डन टु पेरिस’को गीत ‘खुला आकाश’ सार्वजनिक

    ‘लण्डन टु पेरिस’को गीत ‘खुला आकाश’ सार्वजनिक

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो ।

    सार्वजनिक गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने निर्माण टीमको विश्वास छ ।

    चलचित्रमा साम्राज्ञी, निश्चल, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाको यो डेब्यु चलचित्र हो । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ ।

    चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता रहेका छन् ।

    एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रका सहनिर्माता छन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेठ २५ गते रिलिज हुँदैछ ।

    चलचित्रमा अभेद परवको डीओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर र विजय बस्यालको पोस्टर डिजाइन रहेको छ ।

    मुख्य सहायक निर्देशकमा फिरोज खड्का छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछ ।

  • ‘बद्री बहादुर’ ले पानी भन्न नपाएपछि जयकिसनलाई प्रश्न- सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ?

    ‘बद्री बहादुर’ ले पानी भन्न नपाएपछि जयकिसनलाई प्रश्न- सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ?

    काठमाडौं । युट्यूबमा भाइरल अभिनेता जयकिसन बस्नेतले आफ्नो पछिल्लो फिल्म ‘बद्री बहादुर’ रिलिजपूर्व घोषणा गरे– यो फिल्म राम्रो चलेन भने म कलाकारिताबाटै सन्न्यास लिन्छु । उनको मुख्य भूमिका रहेको यो फिल्म तीन दिनमै फ्लप भएको छ ।

    शुक्रबार रिलिज भएको फिल्मले न उल्लेख्य शो पायो, न दर्शक नै तान्न सक्यो । ‘धेरै हाँस्न नसक्ने दर्शकले नहेर्नुहोला’ भन्ने फण्डा पनि काम लागेन । चार दिनमा फिल्मले कति व्यापार गर्यो भन्ने निर्माण पक्षले सार्वजनिक गरेको छैन । हलहरुमा प्रदीप भट्टराई निर्देशत ‘महाजात्रा’ को ‘महायात्रा’ जारी रहँदा बद्रीबहादुले पानी भन्न पाएन ।

    फिल्म नचलेपछि धेरै दर्शकलाई कौतुहल होला, के अब जयकिसनले कलाकारिताबाट सन्न्यास लिन्छन् ? यही प्रश्न हामीले उनलाई सोध्यौं-

    फिल्म त फ्लप भयो, सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ?

    जयकिसनले फिल्मले गतिलो व्यापार गर्न नसकेको स्वीकार गरे । तर, सन्न्यास नलिने बताए । बरु आफ्नो अघिल्लो घोषणालाई यसरी ट्वीस्ट गरे, ‘मैले फिल्म चलेन भने सन्न्यास लिन्छु भनेको थिएँ । फिल्म त चल्यो नि । ९० वटा हलहरुमा एकैपटक चल्यो । अब किन सन्न्यास लिनु ?’

    भनेपछि तपाईंले सबैलाई मुर्ख बनाउनुभएको हो ?

    त्यस्तो पनि होइन । खासमा पूरा भिडिओ कसैले पनि हेरेको छैन । सानो क्लीप काटेर भाइरल बनाइयो । पत्रकार सम्मेलनमा मलाई पत्रकारले नै तपाईंजस्तो मान्छेले फिल्म चलाउन एउटा फण्डा निकाल्नुपर्यो भनेर सुझाव दिएका थिए । एउटा कडा बाइट चाहियो भनेपछि मैले सोधेँ, ‘त्यसो भए यसो भनौं त ।’ उनीहरुले ठीक हुन्छ भनेर हौस्याए । त्यसपछि मैले पनि भनिदिएँ । ‘सन्न्यास लिन्छु’ भनेपछि हाँसेको थिएँ । तर, हाँसेको चाहिँ काटेछन् ।

    फिल्मले खासमा कति व्यापार गर्यो भन्न मिल्छ ?

    त्यो त मलाई कसरी थाहा हुन्छ । निर्मातासँग सोध्नुस् । म त कलाकार मात्र हो । खासै चलेन भन्ने सुनेको छु ।

    तपाईंको मुख्य भूमिका हुँदा पनि दर्शक किन हलसम्म तानिएनन् होला ?

    म को हो र ? अनमोल केसी हो र ? मैले मात्रै कसरी फिल्म चलाउन सक्छु ?

    तपाईंलाई सामाजिक सञ्जालको अनमोल केसी नै भन्छन् नि धेरैले ?

    युट्यूबको क्रेज आफ्नो ठाउँमा छ । तर, यो ५ वर्ष पहिले बनाएको फिल्म हो । चलेन त चलेन । मैले के गर्न सक्छु ।

    तपाईंले सन्न्यास लिन्छु भनेपछि सामाजिक सञ्जालमा त धेरैले खुशी व्यक्त गरेको देखियो । जयकिसनले सन्न्यास लिएकै राम्रो भन्ने खालका कमेन्ट धेरै आएका थिए । तपाईंप्रति किन यसरी वितृष्णा बढेको होला ?

    त्यो सबै परिचालित कमेन्टहरु हुन् । तपाईंलाई थाहा छ कि छैन १ हजार रुपैयाँमा तीन सय कमेन्ट किन्न पाईंँदो रहेछ । केही मान्छेहरुले मेरोविरुद्ध कमेन्ट लेख्नकै लागि पैसा खर्च गरिरहेको सूचना पाएको छु । तीन जना त समातिसकेँ । अफिसमा ल्याएर बाघेजापु हानेपछि आफैंले सबै ओकलिहाले नि ।

  • पाँच बलिउड सेलिब्रेटी- जो राजनीतिमा आए, अघाएर बिदा भए

    पाँच बलिउड सेलिब्रेटी- जो राजनीतिमा आए, अघाएर बिदा भए

    काठमाडौं । भारतीय चुनाव तातेसँगै भारतीय बलिउड अनुहारको चर्चा पनि एकाएक चुलिएको छ । भारतीय सत्ताको चासो बलिउडमा भए जस्तै बलिउडको चासो पनि राजनीतिमा हुन्छ, सत्तामा हुन्छ ।

    हालसालै नायिका कंगना रनावतले भारतीय जनता पार्टीमा संघीय संसदको टिकटमा दाबी गरेसँगै यो चर्चाले फेरि बजार पाएको छ । भारतीय राजनीतिमा आएका बलिउड सेलिब्रेटीहरु टन्न छन् । राजनीतिमा अघाएर फर्किएका पनि उत्तिकै छन् । यहाँ पाँच बलिउड अनुहारको चर्चा गरिएको छ, जो विभिन्न दलसँग जोडिएर राजनीतिमा आए र अघाएर फेरि आफ्नो गैरराजनीतिक जीवनमा फर्किए ।

    विनोद खन्ना

    सन् १९९० को दशकमा राजनीतिमा जोडिएका थिए विनोद खन्ना । उनले भारतीय जनता पार्टी रोजेका थिए । उनी चार पटक संसद पुग्ने एक्ला बलिउड अभिनेता थिए । उनी सबैभन्दा पहिले सन् १९९८ मा संसदमा पुगेका थिए । पछिल्लो समयमा विनाेद सन् २०१४ मा सांसद भएका थिए । उनी भारतीय जनता पार्टीको सरकारमा अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा संस्कृति तथा पर्यटनमन्त्री र परराष्ट्रराज्यमन्त्रीसमेत भएका थिए । सन् २०१७ मा उनको निधन भएको थियो ।

    अमिताभ बच्चन

    सन् १९८० को दशकमा राजनीनिमा प्रवेश गरेका थिए बलिउडका चर्चित अनुहार अमिताभ बच्चन । उनले सन् १९८४ मा भारतको केन्द्रीय संसद लोकसभामा चुनाव जितेका थिए । अल्लाहवाद (जुन अहिले प्रयागराजको नाममा चिनिन्छ)बाट उनले विशाल जीत निकालेका थिए ।

    भारतीय राष्ट्रिय कांग्रेसबाट उठेका उनले १ लाख ८७ हजार ८९५ मतान्ततरले जितेका थिए । तर, पछि एक विवाद आएर उनले राजीनामा दिएका थिए । उनको विवाद बोफोर्स काण्ड थियो । बोफोर्स काण्ड भनेको भारत र स्वीडेनबीचको हतियार खरिदको घुस काण्ड हो ।

    गोविन्दा

    भारतीय अभिनेता गोविन्दा पनि राजनीतिबाट वाक्क भएर अवकाश लिएका बलिउड अनुहार हुन् । उनी सन् २००४ मा राजनीतिमा आएका थिए । सोही वर्ष उनले ५० हजार मतान्तरले पाँच पटकका सांसद तथा पेट्रोलियम तथा खनिजमन्त्री राम नायकलाई हराएका थिए ।

    उनी उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनको दल भारतीय राष्ट्रिय कांग्रेस थियो । सन् २०१४ मा कांग्रेसको बिजोक प्रस्तुति भएपछि उनी राजनीतिबाट अलग छन् ।

    अर्शी खान

    भारतीय नायिका अर्शी खान बिग बोसको कारण पनि चर्चित छिन् । सन् २०१९ मा राजनीतिमा छिरेकी उनले राजनीतिक पार्टीको रुपमा कांग्रेस रोजिन् । तर, उनले दलमा जोडिएको आधा वर्षमै राजनीतिबाट अलग भएको औपचारिक घोषणा गरिन् ।

    विशाल डडलानी

    बलिउडका चर्चित अनुसार विशाल डडलानी पनि राजनीतिमा आएर अहिले अलग भइसकेका पात्र हुन् । डडलानी भारतको आम आदमी पार्टीसँग जोडिएका थिए । सन् २०२२ मा उनले पार्टीबाट अलग भएको घोषणा गरे ।

    धर्मनिरपेक्ष भारतमा आम आदमी पार्टीका नेताहरुले हिन्दू देवीदेवताको तस्विर भारतीय मुद्रामा राख्न माग गरेपछि उनले अलग भएको घोषणा सामाजिक सञ्जालमा गरेका थिए ।

  • डिभोर्सपछि राजेशपायल र छोराको भिडियो क्लीप सेयर गर्दै साङबुङले लेखिन्- किङ

    डिभोर्सपछि राजेशपायल र छोराको भिडियो क्लीप सेयर गर्दै साङबुङले लेखिन्- किङ

    काठमाडौं । गायक राजेशपायल राईसँग कानूनी सम्वन्धबिच्छेद पश्चात् सामाजिक सञ्जालमा निकै एक्टिभ बनेकी छिन् उनकी पूर्वपत्नी साङबुङ राई । उनी कहिले आफ्ना सुन्दर टिकटक भिडियोहरू अपलोड गरेर प्रशंसा बटुल्छिन् त कहिले विभिन्न मिमहरू सेयर आफ्नो मनोदशा झल्काउने प्रयास गर्छिन् ।

    राजेश पायल र साङबुङले डिभोर्स गरेको खबर गत बिहीबार सार्वजनिक भएको थियो । त्यसको केही दिन अगाडिदेखि साङबुङ फेसबुकमा सक्रिय देखिँदै आएकी थिइन् । यद्यपि, उनले आफ्नो व्यक्तिगत जीवनबारे भने केही पनि लेखेकी छैनन् ।

    डिभोर्सको समाचार बाहिरिए पनि उनले एउटा स्टास लेख्दै मिडियाप्रति असन्तुष्टि जनाएकी थिइन् । उनले लखेकी थिइन्- अब म तिमीहरूको अप्रेशन गर्छु– १२ भाइ ।

    साङबुङले हिजो सेयर गरेको एउटा पोस्टले भने धेरैलाई अचम्ममा पारेको छ । उनले आफ्नो पूर्वपति राजेशपायलले छोरासँग इन्जोई गरिरहेको एउटा भिडिओ सेयर गरेकी छन् ।

    राजेशपायलले छोरासँग हार्मोनियममा खेलिरहेको भिडियो एक पत्रकारले फेसबुकमा अपलोड गरेका थिए । त्यही पोस्ट सेयर गर्दै साङबुङले लेखेकी छिन्– #योयो #किङ ।

    यता राजेशपायलको कुरा गर्ने हो भने उनको पनि सामाजिक सञ्जालमा सक्रियता कम भएको छैन । उनी आफ्ना सांगीतिक गतिविधिहरूको जानकारी फेसबुकबाट दिइरहेका हुन्छन् । दुई दिन अगाडि उनले आफ्नो गुणगान गाएर बनाइएको एउटा युट्युब च्यानलको भिडियो सेयर गरेका थिए । त्यसमा उनले लेखेका छन्, ‘तपाईँहरूको साथ र आशीर्वादको अगाडि यो सम्पत्ति केही होइन । नकि पैसाले यो इज्जत किन्न सकिन्छ । तपाईँहरूको यसरी नै बल पाऊँ ।’

    राजेश पायलले ५ करोड रुपैयाँको घर दिएर श्रीमतीसँग डिभोर्स गरेको खबर अहिले टक अफ द टाउन बनिरहेको छ ।

  • सिस्नुपानी नेपालद्वारा गायिका मेनुका पौडेल सम्मानित

    सिस्नुपानी नेपालद्वारा गायिका मेनुका पौडेल सम्मानित

    काठमाडौं । सिस्नपानी नेपालले गायिका मेनुका पौडेलालाई सम्मान गरेको छ। घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई  एक लाख रुपैयाँले सम्मान गरेका हुन्।

    सिस्नुपानी नेपालको आयोजना तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा देशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा करिब ३ घण्टा भएको उक्त कार्यक्रममा विभिन्न प्रस्तुती देखाइएको थियो।

    कार्यक्रमा टिकाराम यात्रीको स्वरमा वृत्तचित्र प्रस्तुति, सात प्रदेशका प्रतिनिधि संगीत, अन्तरा समूहले सुनाएको थियो।

    ‘राष्ट्र ‘ शिर्षकको गित शिशिर योगीले गाएका थिए भने उक्त गितको शब्द भने टंक आचार्यको रहेको थियो। संगीत संयोजन अशोक राईको रहेको थियो।

    सीता सुवेदी र सरोज लामिछानेले विशेष नृत्य र चित्रकला देखाएका थिए भने लक्ष्मण गाम्नागे र अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए।
    अबको नेपालबारे प्रेन्सा रेग्मीले आफ्नो विचार प्रस्तुत गरेकी थिइन् भने मिथिला नाट्य परिषद्ले देशभक्त झल्किने मिथिला नृत्य देखाएको थियो।

    कार्यक्रममा सम्मानित चर्चित गायिका पौडेलले राष्ट्र गायन गरेकी थिइन् भने नेपाली सेनाले जय जय जय गोर्खाली शिर्षकको गीतमा राष्ट्रभक्ति नृत्य देखाएको थियो।

    मनोज गजुरेल र चक्र दवाडीले शहिदगेट शिर्षकममा प्रस्तुति दिएका थिए। कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो।

    जसममा दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए।

    कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको भन्दै भूगोल जनता सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए।

    ‘राष्ट्र भन्नु मुर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो। आज यति सुन्दर राष्ट्र छोडेर जिविकोपार्जनका लागि विदेशीने कर्मशिल नेपाली र सँधैको लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ। कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रूमलिएको पाइन्छ।

    राष्ट्र निर्माणमा अतुलनिय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्र् र राष्ट्रियताप्रतिको भकक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्नने उद्देश्यले ‘राष्ट्र’ शिर्षकमा कार्यक्रम गरिएको हो। मानवमूल्य र इतिहिप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरि साहित्य कला र विचारको कार्यक्रम गरिएको हो।’

     

  • अंश नलिई निशानसँग सम्बन्ध विच्छेद गरिन् ऋचाले

    अंश नलिई निशानसँग सम्बन्ध विच्छेद गरिन् ऋचाले

    काठमाडौं। गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ।

    चैत ७ गते काभ्रे जिल्ला अदालतमा उनीहरूले संयुक्त निवेदन दिएर सम्बन्ध विच्छेद गरेका हुन्।

    काभ्रे जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले अंश नलिई सम्बन्ध विच्छेद भएको जानकारी दिइन्।

    ‘उहाँहरूले संयुक्त निवेदन दिएकै दिन सम्बन्ध विच्छेद भएको हो’, उनले भनिन्।

    मोडल न्यौपाने काभ्रेको धुलिखेल-७ निवासी हुन्।

    दुई वर्षको प्रेमपछि निशान र ऋचाले २०७७ सालमा कोर्ट म्यारिज गरेका थिए । निशान नेपाल आइडलमा फर्स्ट रनर अप भएपछि उनीहरूको बिहे भएको थियो ।

    गत वर्ष पनि यो जोडीको सम्बन्धमा खटपटको चर्चा चलेको थियो । दुवैले एक–अर्कालाई सामाजिक सञ्जालबाट अनफलो गरेका थिए । तर, उनीहरूले आफ्नो सम्बन्धबारे केही बताएका थिएनन् ।

    निशान अहिलेका चर्चित गायकमा पर्छन् । उनको एउटा गीतमा ऋचाले मोडलिङ गरेकी छन् ।

  • थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व, अन्य कसले कुन अवार्ड पाए ?

    थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व, अन्य कसले कुन अवार्ड पाए ?

    कैलाली । नेपालमै पहिलो पटक आयोजना भएको थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व कायम गरेका छन् ।

    उनले सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष),सर्वोत्कृष्ट गायन (पुरुष), सर्वोत्कृष्ट सङ्गीतकार र सर्वोत्कृष्ट गीत गरी चार विधाको अवार्ड हात पारेका हुन् ।

    बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिको आयोजनामा धनगढीमा भएको समारोहका थारु भाषाको गीत सङ्गीतका उत्कृष्ट सर्जनहरूले अवार्ड हात पारेका हुन् ।

    सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष)को अवार्ड आर के थारुले पाउँदा सर्वोत्कृष्ट आधुनिक गायन (महिला) को अवार्ड अनु चौधरीले जितेकी छन् ।

    यसैगरी सर्वोत्कृष्ट लोक गीत गायन (पुरुष)को अवार्ड दर्पण कुशुम्या र सर्वोत्कृष्ट लोक गीत गायन (महिला)को अवार्ड सोनु कुश्मीले जितिन् ।

    सर्वोत्कृष्ट गायन (महिला)तर्फको अवार्ड समीक्षा चौधरीले जितेकी छन् भने, सर्वोत्कृष्ट गीत लेखकको अवार्ड महेश कुचिलाले जितेका छन् ।

    सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकारको अवार्ड सतिष सिन्हाले जितेका छन् भने सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हिरा चौधरीले जितेका छन् । सर्वोत्कृष्ट मोडल (पुरुष)तर्फको अवार्ड नरेश चौधरीले जित्दा महिलातर्फ मुस्कान चौधरीले जितेकी छन् ।

    सर्वोत्कृष्ट नव प्रतिभा मोडल (पुरुष) को अवार्ड आर्यन चौधरीले जित्दा महिलातर्फ नेहेल्जा चौधरीले जितेकी छन् ।सर्वोत्कृष्ट युगल मोडलको अवार्ड रोनी र दिपिका चौधरीले जितेका छन् ।

    सर्वोत्कृष्ट शृङ्गारको अवार्ड अम्रता राजवीरले जितेका छन् । सर्वोत्कृष्ट नव प्रतिभा गायनको अवार्ड विक्रम चौधरीले जितेका छन् । यसै गरी सर्वोत्कृष्ट आइटम मोडल (महिला)को अवार्ड सदिक्षा चौधरीले जितेकी छन् ।

    पब्लिक च्वाइस नवप्रतिभा मोडेल पुरुषको अवार्ड फुलराम चौधरीले पाउँदा क्रिटिक्स सर्वोत्कृष्ट निर्देशकको अवार्ड सुरज देव कुसुम्या, क्रिटिक्स सर्वोत्कृष्ट मोडेल महिला मधु चौधरीले पाइन् ।

    त्यस्तै क्रिटिक्स सर्वोत्कृष्ट छायाँकार रमेश चौधरी र क्रिटिक्स सर्वोत्कृष्ट मोडेल पुरुष तर्फ वीर चौधरीले अवार्ड पाएका थिए ।

    अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए । उनले उद्घाटन समारोहमा थारु गीत सङ्गीतलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताएका थिए ।

    नेपालमै पहिलो पटक आयोजना गरिएको थारू राष्ट्रिय म्युजिक अवार्डले थारु गीत सङ्गीत भाषा संस्कृतिको प्रचार प्रसार तथा संरक्षणमा ठुलो भूमिका खेलेको कार्यक्रम संयोजक हरेन्द्र चौधरीले बताए । उनले यस्ता कार्यक्रमहरूमा सबै तहको सरकारको साथ आवश्यक रहने समेत बताए ।

  • मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

    मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

    काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

    पूजा आफैंले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

  • `जारीमा धेरै गल्ती गरेकाे थिएँ, दर्शकले थाहै पाएनन्´

    `जारीमा धेरै गल्ती गरेकाे थिएँ, दर्शकले थाहै पाएनन्´

    काठमाडौं । उपेन्द्र सुब्बा पटकथा लेखक भएको ठ्याक्कै एक दशक पुग्यो । २०७० सालबाट ‘कबड्डी’ हुँदै पटकथा लेखनमा प्रवेश गरेका सुब्बा ‘कबड्डी ४’ सम्म पुगे । बीचमा ‘फूलबारी’मा पनि पटकथाकार बने । ‘कबड्डी’ अघि पनि सुब्बाले केही फिल्म लेखेकाे भए पनि ती फिल्मले हलको मुख देख्न पाएनन् ।

    सुब्बा निर्देशक भएको भने एक वर्ष भयो । २०८० सालको बैशाखमा प्रदर्शन भएको ‘जारी’बाट निर्देशक बनेका सुब्बाकाे दाेस्राे चलचित्र ‘मनसरा’ यही बैशाख २१ मा प्रदर्शनमा आउँदैछ । तर, निर्देशक हुनुको अनुभूति भने खासै गर्न नपाएको उनी बताउँछन् ।

    ‘खोलाको गीत’ कविता संग्रह ल्याए, कवि भए । ‘लाटो पहाड’ कथा संग्रह ल्याए, कथाकार भए । कवि भएर हिँडे । बोले । डुले । साथीभाइ पनि साहित्यिक क्षेत्रकै बनाए । अनिमात्रै फिल्मी दुनियाँमा प्रवेश गरे ।

    सुब्बा सुनाउँछन्, ‘मलाई अहिले पनि लाग्छ, म निर्देशकभन्दा पत्यारिलो लेखक/कविकै रुपमा रहेछु । अहिले छुसछुस सन्दर्भ चाहिँ निस्कँदैछ, उहाँ पनि निर्देशक हो भन्ने जस्तो ! त्यसैले गएको एक वर्षमा मैले निर्देशकको रुपमा खासै नौलो अनुभूति गरिनँ ।’

    ‘जारी’मा भएको कमजोरीको क्षतिपूर्ति ‘मनसरा’

    २०८० बैशाखमा आएको सुब्बाको ‘जारी’ले बक्स अफिसमा धुम मच्यायो । १७ करोडमाथि व्यापार गर्‍याे । दयाहाङ राई र मिरुना मगरलाई सुपर हिट जोडीको रुपमा स्थापित गर्‍याे । पटकथा लेखकबाट सुब्बा निर्देशकको अवतारमा समेत स्थापित भए । अहिले ‘मनसरा’ आउने तयारीमा छ ।

    ‘जारी’ र ‘मनसरा’ विषयगत हिसाबले लिम्बू समुदायकै कथा हो । तर, ‘मनसरा’मा भने आर्य समुदायको प्रवेश गराएको टिजरमा देख्न सकिन्छ । बाँकी कथा के कसो हो, हलमा प्रदर्शन भएपछि नै थाहा हुनेछ । यद्यपि ‘जारी’कै निर्देशक भएपछि हल सञ्चालक, निर्माता र दर्शकहरुमा अपेक्षा स्वाभाविक रुपमा बढ्ने नै भयो ।

    एउटा स्रष्टाले पहिलोपछि नयाँ कृति पस्कँदै गर्दा नयाँ सोचका साथ ल्याउने नै भयो । यदि नयाँ कृतिमा नयाँ कोसिस नै गरेन भने ऊ स्रष्टा भन्न लायक पनि नरहने कुरामा सुब्बा अडिग छन् । यसको एकै कारण हो- पहिलो सृजनाको कमीकमजोरी र गल्तीबाट सिकेर दोस्रो सृजना सर्जकले लिएर आउने हो ।

    ‘मैले जारीमा जे जति काम गर्न सकिनँ, जे जति बिगारें, त्यसको क्षतिपूर्ति हो मनसरा । जारीबाट मैले धेरै कुरा सिकें । त्यसैले जारीभन्दा राम्रोसँग भन्न सक्छु भन्ने आँटले मनसरा बनाएको हुँ’, सुब्बा बताउँछन् ।

    तर, ‘जारी’ले जस्तो निर्मातालाई अत्यधिक मुनाफा दिनैपर्छ भन्ने दबाबमा भने आफू नभएको सुब्बाको दाबी छ । सुब्बा थप्छन्, ‘जारी जसरी मनसरा सुपर हिट भएन भने डुब्छु भन्ने छैन । दुवै मेरो सृजना हो । बरु दोस्रो सृजनाले अघिल्लोभन्दा राम्रो तारिफ पाओस् । मान्छेले मेरो काम देखून् भन्ने छ । पैसा त सधैं मेरो सृजना कर्ममा दोस्रो दर्जामा रहेर आएको छ ।’

    सुब्बा ढुक्क छन्- कमजोरीसहितको ‘जारी’ मन पराइयो भने ‘मनसरा’मा खासै चिन्ता गर्नुपर्दैन ।

    ‘थोरै भए पनि नेपाली समाज बुझेको छु कि लाग्छ । किनभने म कवि हो । खै यो कुरा कविताकै दम्भले आएको हो कि किन हो थाहा छैन । तर, म ढुक्क छु । साँच्चिकै कुनै दबाब नै महसुस गरेको छैन’, सुब्बा भन्छन् ।

    विकल्प नभएर दया-मिरुनाको जोडी

    ‘जारी’ मार्फत् दया-मिरुनाको जोडी हिट भयो ।

    यो जोडीलाई लिएर लगातार फिल्महरु आए, ‘नांगो गाउँ’, ‘रंगेली’ लगायत प्रदर्शन भए । अन्य धेरै फिल्म प्रदर्शनको तयारीमा छन् । सुब्बाले पनि यही जोडीलाई ‘मनसरा’मा भित्राए ।

    ‘जारी’ हिट भएर हो कि विषयले नै दया-मिरुना मागेर हो ?

    सुब्बा भन्छन्, ‘मेरो समाजको कथामा मेरो समुदायको पात्र उठाउनुपर्‍याे भने ४०-४५ को लुक्स देखिने कास्ट भनिदिनुस् त ? जसको कामप्रति भरोसा लागोस् । ४० पुगेकाहरु त लटरम्मै होलान् । तर, भरोसा गर्न लायकको कलाकार कोही पनि छैन । मिरुनाकै ठाउँमा पनि कोही लिम्बूनी भनिदिनुस् लु !’

    यदि जनजाति समुदायको कथा भन्नुपर्‍याे भने सजिलो गरी दया-मिरुनाको जोडी बन्छ । राम्रो कलाकार राख्छु भन्दा विकल्प पनि छैन । विकल्प भए पनि जोखिम मोल्न गाह्रो छ । एकदुई करोड अर्को कुन जोडीले बोकिदेला ?

    कलाकार नै नपाएको हो कि मिरुना जस्तो सुन्दर कलाकार नपाएको हो ? कलाकार त धेरै नै देखिन्छन् ।

    सुब्बा थप्छन्, ‘भरोसा हुनुपर्‍याे नि ! मैले पहिल्यै ‘जारी’मा काम गरिसकेको, लिम्बू समाजबारे जानकारी राख्ने, लिम्बूको मनोविज्ञान र संस्कृति बुझेको, सिकाइरहन नपर्ने, कम मेहनत लाग्ने कलाकार त ऊ नै हो । यस्ता धेरै कुराले असर गर्दोरहेछ । धेरै कुराले सपोर्ट गरेर जाँदोरहेछ । मैले धेरै ठाउँमा भनेको छु, दयाहाङ नभएको भए जारी नै बन्दैन थियो । उहाँको स्टारडम नभएको भए मैले कसरी फिल्म बनाउन सक्थे‌ होला र ? दर्शकलाई हलसम्म पुर्‍याइदिने, दर्शकको ध्यानाकृष्ट गर्ने एउटा पात्र त चाहियो ! त्यो दया सर नै हो । यी यावत कारणले जारी त्यहाँसम्म पुग्नलाई सजिलो भएको हो ।’

    सुब्बाको तर्क छ, यदि जनजाति समुदायको कथा भन्नुपर्‍याे भने सजिलो गरी दया-मिरुनाको जोडी बन्छ । राम्रो कलाकार राख्छु भन्दा विकल्प पनि छैन । विकल्प भए पनि जोखिम मोल्न गाह्रो छ । एकदुई करोड अर्को कुन जोडीले बोकिदेला ?

    सुब्बाले लखेका ५ फिल्मले ८० करोड कमाउँदा

    सुब्बाले लेखेका शत प्रतिशत फिल्म सुपरहिट भए । बितेको १० वर्षमा कबड्डीका चार श्रृंखला र ‘फूलबारी’ गरी पाँच वटा फिल्म लेखे । यी फिल्मले गरेको ग्रस कलेक्सन नै ७०-८० करोड हाराहारी छ ।

    ‘मेरो त्यति ठूलो सपना पनि छैन कि म स्वयं बर्बाद हुने गरी पैसा कमाउँ । म अथाह पैसा कमाएर बर्बाद हुन पनि चाहन्नँ । मलाई पैसाको त्यति ठूलो जरुरत पनि छैन । अनि सपनाको डालो जत्रो हो, त्यतिमात्रै भरिने हो । मेरो सपनाको डालो सानै छ ।’

    यस हिसाबले हेर्दा सुब्बाको समेत आर्थिक पाटो राम्रै भयो कि भन्ने प्रश्न स्वाभाविक भएर जान्छ ।

    तर, सुब्बाको प्रष्टोक्ति छ, ‘पटकथाकार भनेको ज्यालादरी भने जस्तै हो । फिल्मको कमाइसँग पटकथाकारको आर्थिक अर्थ त्यति राख्दैन । काम पाउने, चर्चा कमाउने पाटो अर्कै होला । तर, यत्ति हो, भात चाहिँ मैले खाएँ ।’

    सुब्बाले यो १० वर्षको फिल्मी करियरमा धेरै मानिससँग काम गरेनन् । रामबाबु गुरुङलगायतको एकै टीममा रहेर काम गरे । यस हिसाबले बजारमा भनिए जस्तो पटकथा लेखकलाई निर्माता, निर्देशकले हल्का रुपमा लिने वा पटकथाकारको भविष्य छ या छैन भन्नेबारे आफूसँग त्यति राम्रो जानकारी नभएको बताउँछन् । आफूले सम्मानजनक पारिश्रमिक पाएको, मागेको रकम पाएको बताउँछन् ।

    सुब्बा भन्छन्, ‘मैले बढी पारिश्रमिक पनि मागिनँ । दिएनन् पनि (हाँसो) । डिमान्ड गर्ने लेभलमा पनि पुगिनँ । रामबाबुबाहेक अरुसँग काम पनि गरिनँ । जहाँ सहज भयो, त्यहाँ झ्याम्मिने स्वभाव छ मेरो ।’

    सफल फिल्ममा काम गरेका कारण बजारमा चर्चा भयो । तर, चर्चा भए जस्तो कायापलट नभएको सुब्बाको बयान छ ।

    ‘मेरो त्यति ठूलो सपना पनि छैन कि म स्वयं बर्बाद हुने गरी पैसा कमाउँ । म अथाह पैसा कमाएर बर्बाद हुन पनि चाहन्नँ । मलाई पैसाको त्यति ठूलो जरुरत पनि छैन’, सुब्बा भन्छन्, ‘अनि सपनाको डालोजत्रो हो, त्यतिमात्रै भरिने हो । मेरो सपनाको डालो सानै छ ।’

    ०००

    सुब्बाको मनभित्र कविता नै रहेछ । बरु फिल्ममा कविताको तिर्सना मेटाउने ठाउँहरु खोज्दा रहेछन् । अहिले सुब्बाको रुचिमा फिल्मबाहेक अर्थोक छैन, लेखन, निर्माण, निर्देशन । उनको दिमागमा फिल्मबाहेक अर्को कुरा पनि कुद्दैन रहेछ ।

    – सुब्बालाई सृजनात्मक हिसाबले काम गर्दा काइदा लाग्ने चाहिँ फिल्म हो कि कविता हो ?

    कविता लेख्नलाई कविपना बाँच्नुपर्दो रहेछ । म कवि हो भन्ने विचार र चेतले कविता लेखिँदो रहेछ । कविता फुर्दोरहेछ । तर, म फिल्म बनाउँछु भन्दा चाहिँ कविता नआउँदो रहेछ । विषय र थिमहरु नै नभेटिने रहेछ ।

    – फिल्ममा त्यस्तो के छ, जसले कवितालाई थाती राख्दै फिल्ममा सबै ऊर्जा खर्च गर्नुपर्ने अवस्था आइलाग्यो ?

    एउटा माहाेलले पनि होला । पछिल्लो समय बढी संगत फिल्ममै भयो । कवि साथीभाइ अलिकति छुटे । कविताको चर्चा कमै गरिने माहाेलमा गएँ । अनि फिल्ममा सपनाहरु जोडिँदै गए । यो कथा यसरी भन्छु भन्ने हुँदै गयो ।

    कति कुरा चिप्लिन्छ । कति कुरा गर्दागर्दै बिग्रन्छ । कति कुरा हतारमा गरिन्छ । एडिटिङमा बस्यो । दिक्दार हुन्छ । हेर्न सकिँदैन । टाउको दुख्छ । छटपटी हुन्छ । त्यसपछि संगीतलाई पठायो । संगीतकारले के बुझिदिन्छ, अर्कै खाले संगीत आइदिन्छ । एउटै गल्ती भइरहन्छ । बारबार हेर्‍याे, अनि हेर्नै मन लाग्दैन । दुईचार दिन नहेरी बसौं लाग्छ, त्यसरी धरै पाइँदैन ।

    – यही सिलसिलामा निर्देशकसमेत बन्नुभो । फिल्म रिलिजअघिको समय कस्तो दबाब महसुस हुँदो रहेछ ?

    तपाईंले अहिले एउटा प्रश्न सोध्दै हुनुहुन्छ । मेरो दिमागमा दुई वटा प्रश्न दौडिरहेको छ । दिमाग नै दुई वटा चल्न थाल्छ । यो मलाईमात्रै हुने हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नि ! तनाव यस्तो हुन्छ कि भनिनसक्नु हुन्छ । पछि सम्झँदा चाहिँ रमाइलै हुन्छ ।

    तनाव चाहिँ के हुन्छ भने कथा लेख्ने कोसिस गर्‍याे, त्यसमा कति सन्तुष्ट भइयो ? त्यसपछि सुट गर्नुपर्‍याे । कति कुरा चिप्लिन्छ । कति कुरा गर्दागर्दै बिग्रन्छ । कति कुरा हतारमा गरिन्छ । एडिटिङमा बस्यो, दिक्दार हुन्छ । हेर्न सकिँदैन, टाउको दुख्छ, छटपटी हुन्छ । त्यसपछि संगीतलाई पठायो । संगीतकारले के बुझिदिन्छ, अर्कै खाले संगीत आइदिन्छ । एउटै गल्ती भइरहन्छ । बारबार हेर्‍याे, अनि हेर्नै मन लाग्दैन । दुईचार दिन नहेरी बसौं लाग्छ, त्यसरी धरै पाइँदैन ।

    जे कुरा पहिला भन्न मन लागेको हुन्छ, पछि समय र दिमागले अर्कै कथा भनिदिन्छ । थुक्क, मैले के गरें भन्ने लाग्छ । यो गर्न पाएको भए हुन्थ्यो लाग्छ ।

    – जसोतसो फिल्म बनिसकेपछिको तनाव चाहिँ के के हुन्छन् ?

    बनिसकेपछि अर्कै लेभलको तनाव हुन्छ । मलाई त बोल्न पनि कम आउँछ । बोल्दा अल्मलिइहाल्छु । दिमाग नै अल्मलिएर कति ठाउँ गल्ती बोल्छु । आफ्नै कुरा बाझिइरहेका हुन्छन् । प्रमोसनको वेला बोलेको कुरामा चित्त नदुखाऊ है साथीहरु भन्छु । हड्बडिएर मन एक किसिमको अवस्थामा हुन्छ । ममात्रै होला, कमजोर दिमाग भएको ।

    म नकारात्मक टिप्पणी चाहिँ फिटिक्कै सहन नसक्दो रहेछु । गाली आउँदा चुपचाप बस्नुबाहेक अर्थोक गर्ने कुरा पनि भएन । म त कमेन्टहरु पनि हेर्दिनँ । पाेस्ट पनि कमै गर्छु । आफ्नो विचार त पोस्ट गर्दै गर्दिनँ । बरु घुमेको डुलेको फोटोहरु हालिदिन्छु । यसो पोस्टमा आएको कमेन्ट मुन्तिर रिप्लाइ गर्नसमेत आँट आउँदैन । राम्रै कमेन्ट छ भने पनि आँट आउँदैन । ‘धन्यवाद’ भनेर लेख्नसमेत आउँदैन ।

    – ‘जारी’ रिलिज अघिल्लो दिन चाहिँ कस्तो खालको तनाव थियो ?

    ‘जारी’मा जब बुकिङ खुल्यो, हरर राता सीटहरु भरिन थाले । त्यो देखेर म आत्तिएको छु । ला, मान्छेले टिकट त काटे, अब भोलि गाली खाएपछि के गर्ने ? गाली सहनसक्ने खालको मान्छे नै म होइन ।

    अलिअलि चर्चा, परिचर्चा भएपछि मान्छेले एकएक बोली डिक्टेट गर्न थाल्छन् । गल्ती जहाँ भेट्छन्, खेदाउन लस्करै लागिपर्छन् । त्यसपछि बोली आफैं हराउँदो रहेछ । थुप्रो पटक मेरो बोली हराएको छ । अहिले मेरो बोली हराएको धेरै समय भइसक्यो । म त गल्ती बोल्छु कि भन्दाभन्दै बोलिपठाउने रहेछ ।

    म नकारात्मक टिप्पणी चाहिँ फिटिक्कै सहन नसक्दो रहेछु । गाली आउँदा चुपचाप बस्नुबाहेक अर्थोक गर्ने कुरा पनि भएन । म त कमेन्टहरु पनि हेर्दिनँ । पाेस्ट पनि कमै गर्छु । आफ्नो विचार त पोस्ट गर्दै गर्दिनँ । बरु घुमेको डुलेको फोटोहरु हालिदिन्छु । यसो पोस्टमा आएको कमेन्ट मुन्तिर रिप्लाइ गर्नसमेत आँट आउँदैन । राम्रै कमेन्ट छ भने पनि आँट आउँदेन । ‘धन्यवाद’ भनेर लेख्नसमेत आउँदैन ।

    – अनि फिल्म रिलिज भएपछिको मनस्थिति कस्तो थियो ?

    त्यसपछि त ला, मान्छेले विश्वास गरे । फिल्म त मैले बिगारेको छु भन्ने हुने रैछ । मैले कहाँ बिगारेको छु, कहाँ संगीत बिग्रेको छ, कहाँ के भएको छ, मलाई थाहा हुन्छ नि ! तर, धेरैले थाहा नपाउँदा रहेछन् (लामो हाँसो) । अनि म ढुक्क भएँ हौ । तर, सप्रेका ठाउँहरुमा कमेन्ट गरिदिएर मलाई तनाव दिए । सवल कुरामा कमेन्ट आयो । त्यो मेरो संस्कृति नबुझेर पनि होला । बुझेका लिम्बूहरुले पनि नबुझिदिएर कमेन्ट गरिदिए ।

    – समीक्षा त राम्रै पाउनुभएको थियो । समीक्षा पढ्दाको मनस्थिति कस्तो थियो ?

    प्रशंसा त सबैलाई राम्रो लाग्छ । सर्माउँदै भए पनि पढ्न रमाइलै लाग्छ । मुसुमुसु हाँस्दै पढ्न आनन्दै लाग्यो । तर, मैले चाहिँ ‘जारी’ साउण्ड टेस्ट गर्न हलमा हेरेको, त्यसपछि फर्केर हेरेको छैन ।

    – ‘जारी’मा रामबाबु गुरुङसँगै हुनुहुन्थ्यो, ‘मनसरा’मा छुट्टिनुभयो भन्ने कुरा चाहिँ के हो ? रामबाबु बाँसुरी फिल्मसँग र तपाईं कबड्डी फिल्म्ससँग छुट्टिएको कुरा छ ।

    यी सबै हल्ला हुन् । बाँसुरी फिल्म्स् रामबाबु सरकै सल्लाहमा मैले दर्ता गरेको हो । पहिला सिनेमा आर्टको सानो हिस्सा थिएँ । तर, सञ्चालक धेरै हुँदा कम्पनीका साथीभाइसँग भेट हुनै गाह्रो । निर्णय गर्नै गाह्रो । प्रोजेक्ट अगाडि बढ्नै गाह्रो । त्यसपछि हामीले सिनेमा आर्ट रौनकविक्रम कँडेलजीलाई दिएको हो ।

    अनि बाँसुरी रामको नाममा दर्ता गरेको हो । बाँसुरी चाहिँ सिनेमा आर्टको सिस्टर कम्पनी जस्तो थियो । पछि सिनेमा आर्ट रामले चलाउने, बाँसुरी मैले चलाउने भन्ने थियो । तर, बाँसुरी राम सरलाई नै आवश्यक पर्ने भयो । रौनकजी अमेरिकामा हुनुहुन्थ्यो । यहाँ कबड्डी ३ गर्ने भनेर दर्ता गरेका थियौं बाँसुरी फिल्म्स् । पछि राम सरले यही कम्पनीमा प्रोपर्टीहरु जोड्नुभयो । अनि मैले बाँसुरी तपाईं नै राख्नुस् भनेर कबड्डी फिल्म्स मैले दर्ता गरेको हो ।

    – अहिले बाँसुरी पुरानो बानेश्वरमा, कबड्डी झम्सिखेलमा छ हैन त ?

    यसरी फरक ठाउँमा अफिस भएको झगडा परेर होइन । बाँसुरी फिल्म्सको ठाउँ साँघुरो छ । ‘डिग्री माइला’ पनि त्यही, ‘मनसरा’ पनि त्यही गर्न नसकिने भयो । अर्को स्पेस चाहिने भयो । अनि मेरो सहुलियतमा ललितपुर सारेको हो ।

  • ट्रेलरबाट तारिफ पाएको ‘द रेड सुटकेस’ क्यूएफएक्समा नचलाइने, असहिष्णु व्यवहार भएको निर्माताको गुनासो

    ट्रेलरबाट तारिफ पाएको ‘द रेड सुटकेस’ क्यूएफएक्समा नचलाइने, असहिष्णु व्यवहार भएको निर्माताको गुनासो

    काठमाडौं । फरक धारमा बनेको चलचित्र ‘द रेड सुटकेस’ नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा प्रदर्शन नहुने भएको छ । सो हलले असहिष्णु व्यवहार गरेको भन्दै चलचित्र निर्माताले यस्तो घोषणा गरेका हुन् ।

    आइसफल प्रोडक्सन प्रालीका तर्फबाट निर्माता रामकृष्ण पोखरेलले एक विज्ञप्ति जारी गर्दै क्यूएफएक्सले चलचित्रमाथि विभेद र असहिष्णुता प्रदर्शन गरेको आरोप लगाएका छन् । अन्य चलचित्रहरूको चापले गर्दा द रेड सुटकेसलाई पर्याप्त शो दिन नसकिने पत्र क्यूएफएक्सबाट आएको उनको भनाइ छ ।

    क्यूएफएक्सबाहेक सबै चलचित्रको प्रदर्शन निर्धारित मिति चैत ३० मा नै हुने उनले जानकारी दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनको संघारमा क्युएफएक्सले ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ । यो निर्णयले दर्शकमा पर्न जाने असुविधाप्रति हामी हृदयदेखि नै क्षमा चाहन्छौं । योबाहेकका सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ ।’

    ‘देशलाई चलचित्रको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ’द रेड सुटकेस’ जस्ता चलचित्रमाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ होइन । यसअघि पनि हाम्रो निर्माण रहेको ’ऐना झ्यालको पुतली’ माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ खोलिएको थिएन । कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ । चाडपर्व र बिदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    द रेड सुटकेस विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएर विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत छ । चलचित्रको ट्रेलरले पनि निकै तारिफ पाइरहेको छ ।

    https://youtu.be/BC4-OANlS4Q

  • गायक पदम राईले जिते सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड

    गायक पदम राईले जिते सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड

    काठमाडौं । नेप्को इन्टरटेनमेन्ट अवार्ड २०८० मा गायक पदम राईले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड जितेका छन् ।

    उनले ‘सरकारी अड्डा’ बोलको गीतबाट यस अवार्ड जितेका हुन् । यस गीतमा डिपी खनालको शब्द छ भने गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छन् ।

    गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट लोक विधा अन्तर्गत नेत्र भण्डारीले ‘झरी’ बोलको गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पारे । पप विधा अन्तर्गत सर्वोत्कृष्ट संगीतको अवार्ड संगीतकार कल्याण सिंहले हात पारे ।

    ‘नेपाली गीत, संगीतकर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न यस अवार्ड समारोहमा गायिका शर्मिला गुरुङलाई राष्ट्रिय गायिका सम्मान, डा. भोला रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

  • नयाँ बानेश्वरमा ६ वर्षे बालकको चित्रकला प्रदर्शन

    नयाँ बानेश्वरमा ६ वर्षे बालकको चित्रकला प्रदर्शन

    काठमाडौं । आरभ बन्धु थापा ६ वर्षका भए । पढ्छन् ‘युकेजी’मा । यही शनिवार उनको परीक्षाको नजिता आयो । उनी प्रथम भए ।

    चेल्सी वर्ल्ड स्कुलका स्कुले उनी कक्षामा पढ्ने लेख्ने कुरामा शनिवार प्रथम भए । आइतबार चित्रकला प्रदर्शनी गर्ने छात्रको रूपमा प्रथम । आज उनको एकल चित्रकला प्रदर्शन भयो ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा उनको एकल चित्रकला प्रदर्शन भएको हो । प्रदर्शनीमा उनले बनाएका २५ चित्रकला राखिएको छ ।

    चीनको कैलाश पर्वतदेखि उपत्यकाका मठ मन्दिर दरबार क्षेत्र र विभिन्न जात्राका चित्रकला उनले समेटेका छन् । भक्तपुरका उनले भक्तपुरलाई पनि ध्यानमा राखेर चित्रकला बनाएका छन् ।

    बिस्कट जात्रा, न्यातपोल मन्दिर, तलेजु मन्दिर, नवदुर्गा देशघर, भक्तपुर दरबार क्षेत्र र शिलु महादेव लगायतका सम्पदाहरू उनले भक्तपुरबाट समेटेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै दौरा सुरुवाल, भादगाउँले टोलीमा सजिएका आरभले आफूले कुनै चित्र हेरेर र कुनै कल्पना गरेर बनाएको बताए । कहिलेबाट चित्रकलामा रुचि बढेको भन्ने सवालमा उनले भने, ‘१ वर्ष हुँदाबाट ।’

  • केकीको अनौठो प्रयोगः ‘बोक्सी रुप’ मा पत्रकारलाई तर्साउँदै गरिन् फिल्मको ट्रेलर रिलिज (भिडिओ)

    केकीको अनौठो प्रयोगः ‘बोक्सी रुप’ मा पत्रकारलाई तर्साउँदै गरिन् फिल्मको ट्रेलर रिलिज (भिडिओ)

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ को ट्रेलर रिलिज निकै अनौठो तरिकाले गरेकी छन् । सिभिल मलमा आयोजना गरिएको कार्यक्रममा उनी ‘बोक्सी’ कै अवतारमा प्रस्तुत भएर आगन्तुकलाई तर्साउने प्रयास गरिन् ।

    यसअघि ‘बुझिनँ मैले बुझाइदेउ कसैले’ गीतबाट अत्यधिक प्रशंसा बटुलेका कारण यो चलचित्रको ट्रेलरप्रति पत्रकारको कौतुहल थियो । ट्रेलर रिलिज कार्यक्रम यसरी गरियो, जसको पत्रकारले अनुमानै गरेका थिएनन् ।

    पत्रकारहरु हलभित्र पस्दा पूरै अन्धकार थियो । एउटा पनि बत्ती बालिएको थिएन । केही महिला ‘बोक्सीको भेषमा’ रातो वस्त्र लगाएर पत्रकारलाई तर्साउन तैनाथ थिए । उनीहरुले मोबाइलको फ्ल्यास लाइट बालेर अनुहार देखाउँदा केही पत्रकारको सातो पनि उड्यो । त्यसमाथि पृष्ठभूमिमा कहालीलाग्दो आवाज बजाइएको थियो ।

    आगन्तुकहरु जसोतसो सीटमा बसिसकेपछि केकीको इन्ट्री भयो । एक्जिट गेटबाट ‘बोक्सी’ कै अवतारमा प्रवेश गरेकी केकीलाई अन्य महिलाहरुले घेरेर अनौठो हाउभाउ देखाए । केकीले डरलाग्दो चेहरा बनाउँदै माइक समातेर ‘बोक्सी’ कै क्यारेक्टरमा बोलिन् ।

    उनको सम्बोधन थियो, ‘स्वागतम स्वागत स्वागतम…. । यहाँहरु सम्पूर्णलाई ‘बोक्सी’ को स्वप्न नगरीमा हार्दिक स्वागत छ । आज हामी केही दृश्यांश यहाँ प्रस्तुत गर्दैछौं । (एक्कासि चिच्याएर) अनि पूरा रहस्य खुल्नेछ वैशाख १४ गते ।’

    त्यसपछि केकी आफ्नो क्यारेक्टरबाट बाहिर निस्किइन् र औपचारिक कार्यक्रम सुरु भयो । केकीले ट्रेलर रिलिजमा नयाँ प्रयोग त गरिन्, तर यो शैली ठीक हो या होइन भन्नेमा बहस हुनसक्छ । समाजमा ‘बोक्सी’ साँच्चिकै हुन्छन् र उनीहरु भूत जस्तै डरलाग्दा हुन्छन् भन्ने सन्देश ट्रेलर रिलिजमा दिन खोजेको भान भयो । यद्यपि, चलचित्रले बोक्सीको अन्धविश्वासलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्न चाहिँ रिलिज डेट नै कुर्नुपर्ला ।

  • डिग्री माइला: एमए थर्ड क्लास अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन हुने, बुद्धि तामाङ पनि जाने

    डिग्री माइला: एमए थर्ड क्लास अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन हुने, बुद्धि तामाङ पनि जाने

    काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला: एमए थर्ड क्लास’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । आगामी शुक्रवार रिलिज हुने फिल्म ११ अप्रिलबाट अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन हुने तय भएको हो ।

    सिनेमाको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ ।

    अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरूको बाक्लो बसोबास रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ ।

    अप्रिल १२ बाट भने चलचित्र अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढी सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढी शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ । अनि अप्रिल २६ बाट डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।

    सिनेमा अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई सिनेमा देखाउने टार्गेट रहेको सेभेज सिजले जनाएको छ ।

    अमेरिकाका ४० बढी थिएटरमा दैनिक बक्सअफिस र टिकटसहित चलचित्र रिलिज गरिनेछ । चलचित्रको टिकट अनलाइन www.nepal11.com मा उपलब्ध हुनेछ ।

  • थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउनुपर्छ: प्रदेश प्रमुख मियाँ

    थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउनुपर्छ: प्रदेश प्रमुख मियाँ

    कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, कला, संस्कृति र सङ्गीत संरक्षण गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

    धनगढीमा आयोजित प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले भाषा संस्कृति संरक्षण गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

    ‘यहाँको थारु भाषा, कला, संस्कृति र सङ्गीत निकै महत्त्वपूर्ण छ । अहिले धेरैले यो भुल्दै गइरहेका छन्’, उनले भने, ‘यसको संरक्षण गर्न आवश्यक छ । म मेरोतर्फबाट हुने पहल गर्छु ।’

    प्रदेश प्रमुख मियाँले थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउन आवश्यक रहेको जिकिर गरे । उनले थारु साहित्यमा मौलिकता काम हुँदै गएको भन्दै त्यस्ता विषयमा पनि सर्जकहरूले ध्यान दिनुपर्ने बताए ।

    आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले मुलुकमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेर नवीन कामको सुरुवात गरिएको बताए ।

    ‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेका छौं’, चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेरेको छ ।’

    प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । १२० छनोटमध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखेर मनोनयन सार्वजनिक गरिएको थियो ।

  • ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

    ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

    काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशन रहेको चलचित्र ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ ।

    नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो ।

    सेभेन सिजले सिनेमालाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ । ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा सम्झौता भएको हो ।

    सम्झौतापत्रमा ‘मनसरा’बाट उपेन्द्र र निर्माता शैलेन्द्रध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले हस्ताक्षर गरेका छन् ।

    सिनेमा वैशाख २१ गते प्रदर्शनमा आउनेछ । ‘मनसरा’मा दयाहाङ राई, निरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ ।

  • रवि ओडको विवाह पहेली: कसले गर्‍याे सम्वन्धमा झेली ?

    रवि ओडको विवाह पहेली: कसले गर्‍याे सम्वन्धमा झेली ?

    काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी परेको खबर सार्वजनिक भएपछि उनलाई नजिकबाट चिन्नेहरु अचम्भित भए । कारण, उनी विवाहित हुन् भन्नेबारे क्लोज सर्कलका साथीभाइलाई समेत थाहा थिएन ।

    रविको केस केही हदसम्म भेट्रान गायक राजेशपायल राईसँग मिल्दोजुल्दो छ, जसले हालै मात्र महंगो मूल्य चुकाएर आफ्नी पत्नीलाई डिभोर्स दिए । राजेशपायलले जस्तै रविले पनि ‘परिवन्द’ मा परेर विवाह गरेको र आफ्नो वैवाहिक स्थिति गोप्य राखिरहेको निकटस्थको बुझाइ छ । रवि–रविना सजातीय जोडी हुन् ।

    रविकी पत्नी रविना (काल्पनिक नाम) ले आफ्नै श्रीमानबाट जबरजस्ती करणीमा परेको भनेर जाहेरी दिएकी छिन् । यद्यपि, निकटस्थका अनुसार यो आपसी अविश्वासको परिणत हो । श्रीमानले आफूलाई ‘तिरस्कार’ मात्र नभएर ‘चिट’ पनि गरिरहेको महसुस गरेर रविना प्रहरीसम्म पुगेकी हुन् । कानूनी सहजताका लागि उनले वैवाहिक बलात्कारको अस्त्र प्रयोग गरेको देखिन्छ ।

    जाहेरीको विवरण र जाहेरीकर्ताले पेश गरेका प्रमाणको विषयमा प्रहरीले बताउन चाहेको छैन । वैवाहिक बलात्कारको मुद्दा मात्र भनिएको छ । यद्यपि, प्रहरी स्रोतका अनुसार रविले आफूलाई प्रेम विवाह गरे तापनि श्रीमतीको रुपमा व्यवहार नगरेको, समय नदिएको र जिम्मेवारी ननिभाएको आरोप जाहेरीमा लगाइएको छ ।

    रवि र रविनाको चिनजान पुरानो हो । रविले दोस्रो नेपाल आइडलमा भाग लिनु अगाडि नै आफूहरु प्रेममा रहेको रविनाको भनाइ छ । नेपाल आइडलको उपाधि जितिसकेपछि रविको व्यवहारमा परिवर्तन आएको उनले बताएकी छन् ।

    रवि र रविनाको कहिले विवाह भयो भन्ने खुल्न सकेको छैन । उनीहरुले औपचारिक रुपमा विवाह गरेको कसैलाई जानकारी पनि छैन । तर, उनीहरुको विवाह दर्ता भने भइसकेको छ । यसैले उनीहरु आधिकारिक पति–पत्नी रहेकोमा शंका छैन । मुद्दा दिनुअघिसम्म रविना पतिकै घरमा बसिरहेकी थिइन् ।

    रवि र रविनाको विवाद यसअघि पनि प्रहरीमा पुगिसकेको थियो । केही समयअघि रविले एकजना मोडलको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘समथिङ न्यू’ भनेर लेखेका थिए । उनको यो पोस्ट चाँडै रिलिज हुन लागेको म्युजिक भिडियोसँग सम्वन्धित थियो । तर, मोडलको तस्विर फेसबुकमा हालेपछि रविनाले अनावश्यकरुपमा सशंकित भइन् । यो विषयमा उनीहरुको झगडा परेको थियो । झगडाका क्रममा रविले आफूलाई हातपात गरेको भन्दै रविनाले प्रहरी गुहारेकी थिइन् । प्रहरीले दुवैलाई राखेर मिलापपत्र गराएको थियो ।

    अहिले मुद्दा दायर हुँदा भने रवि जापानमा छन् । उनी सांगीतिक कार्यक्रमका लागि यूएईबाट जापान गएका हुन् । रविले आफूमाथि लगाइएको वैवाहिक बलात्कारको आरोप अस्वीकार गरेका छन् । काठमाडौंमा रहेका साथीभाइले उनलाई जापानमा सम्पर्क गरेर यथार्थ बुझ्ने प्रयास गरेका थिए । साथीभाइसँगको कुराकानीमा रविले परिवन्दमा परेर विवाह दर्ता गरे पनि आफूहरुबीच कुनै पनि किसिमको शारीरिकसम्पर्क नभएको बताएका छन् ।

    रविका दावीहरु यस्ता छन् :

    – युवती आफूप्रति पहिल्यैबाट क्रेजी भएको तर, आफू उनीसँग प्रेममा नपरेको

    – आफ्नो असहमतिका बाबजुद युवती केही समयदेखि बलजफ्ति घरमा आएर बस्न थालेको

    – युवतीले निरन्तर दवाव र ब्ल्याकमेलिङ गरेपछि वाध्य भएर विवाह दर्ता गरेको

    – बलात्कार त परै जावस आफूले इच्छाविपरित टच पनि नगरेको, अहिलेसम्म कुनै खाले शारीरिक सम्पर्क नभएको

    रविका यी दावीहरु पूर्ण विश्वसनीय भने छैनन् । वैवाहिक बलात्कारको आरोप अतिरञ्जित हुन सक्ला, तर एक युवती जबरजस्ती पुरुषको घरमा आएर बस्नु अनि विवाह दर्ता गर्न वाध्य पार्नु व्यवहारिकरुपमा सम्भव हुँदैन । यद्यपि रविले नेपाल आएर कानून व्यवसायीहरुसँग सरसल्लाहपश्चात योभन्दा फरक बयान दिन पनि सक्छन् ।

    अब के गर्छन् रवि ?

    रविविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ र प्रहरीले उनको खोजी भइरहेको पनि बताएको छ । सकेसम्म उनी आफैं प्रहरीमा उपस्थित भएर मुद्दाको सामना गरुन् भन्ने प्रहरीले चाहेको छ ।

    जापानमा रहेका रवि त्यहाँबाट अमेरिका जाने सेड्यूल थियो । तर, नयाँ परिस्थिति विकसित भएको हुँदा नेपाल फर्किने कि पूर्वनिर्धारित कार्यक्रम अनुसार अमेरिका नै जाने भन्ने निर्णय उनले लिइसकेका छैनन् ।

    पक्राउ पुर्जी जारी भएको व्यक्तिले विदेशमा गएर स्टेजमा सांगीतक प्रस्तुति दिनु असामान्य हुनेछ । त्यसैले उनी नेपाल फर्किएर मुद्दा फेस गर्नु, अझ त्योभन्दा श्रीमतीसँग नयाँ समझदारी कायम गरेर जाहेरी फिर्ताको वातावरण बनाउनु वुद्धिमानी हुने सुझाव निकटस्थले दिएका छन् ।

  • प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड आज

    प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड आज

    कैलाली । कैलालीको धनगढीमा आज थारु राष्ट्रिय म्युजिक अवार्ड हुँदैछ । थारु भाषा र संस्कृति संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड हुन लागेको हो ।

    अपराह्न ४ बजेदेखि धनगढीस्थित सौराई पार्टी प्यालेसमा कार्यक्रम सुरु हुने जनाइएको छ ।

    दिउँसो ३ः३० बजे धनगढी चौराहाबाट विभिन्न झाँकीसहित र्‍याली सौराइ पुग्ने आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

    ‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गर्दै छौँ’ चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेर्ने छ । ’उनले भव्य समारोहकाबीच अवार्ड उद्घाटन गरिने जनाए ।

    यस अघि नै प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका मनोनयन सार्वजनिक गरिसकिएको छ ।

    १२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ ।
    सर्वोत्कृष्ट मोडल पुरुषमा सहभागी १७ मध्य शीर्ष ५ जना छनौट गरिएको थियो भने सर्वोत्कृष्ट मोडल महिलाको सहभागी १६ मध्य शीर्ष ५ छनौट मनोनयन सार्वजनिक गरिएको छ ।

    प्रत्येक विधामा बढीमा पाँच जनासम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् । थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

  • बद्री पंगेनी र चन्दा अर्यालको स्वरमा ‘पिरिम लगाम कान्छी’, भिडिओमा पल शाहको डबल रोल

    बद्री पंगेनी र चन्दा अर्यालको स्वरमा ‘पिरिम लगाम कान्छी’, भिडिओमा पल शाहको डबल रोल

    काठमाडौं । प्रख्यात लोकगायक बद्री पंगेनी र चन्दा अर्यालको आवाजमा सजिएको नयाँ गीत ‘पिरिम लाम कान्छी’ युट्युबमा रिलिज गरिएको छ ।

    गीतको भिडिओमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीका साथमा समिया कार्की फिचर्ड छन् ।

    बद्री पंगेनीको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । भिडिओमा पल शाह दुई रूपमा देखिएका छन् । उनले गाउँले भूमिकामा समिया र शहरीया भूमिकामा उषाको जोडीको रूपमा डान्स गरेका छन् । भिडिओमा गायक पंगेनी पनि देखिन्छन् ।

    गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । भिडिओको निर्देशन र कोरियोग्राफी भने काजिस श्रेष्ठले गरेका हुन् । गीतले २४ घण्टाभित्रै झण्डै एक लाख भ्यूज पाइसकेको छ ।

  • लिओ झंकारको एकल चित्रकला प्रदर्शनी

    लिओ झंकारको एकल चित्रकला प्रदर्शनी

    काठमाडौं । चित्रकार लिओ झंकारको एकल कला प्रदर्शनी गरिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मार्च १७ देखि जारी एक चित्रकला प्रदर्शनी अप्रिल ६ (भोलिसम्म) रहने छ । उनले आफ्नो कलामार्फत् ग्रामीण परिवेश, संस्कृति र परम्परागत वस्तुलाई देखाएका छन् ।

    त्यस्तै पूर्वी पहाडका सांस्कृतिक पक्षलाई उनी उनले रेखाचित्रमा उदिनेका छन् । नाङ्लो, हाँडीजस्ता परम्परागत वस्तुको चित्रलाई झंकारले प्रदर्शनीमा राखेका छन् ।

    त्यस्तै परम्परागत कृषि प्रणाली झल्काउन हलो, कुटो, कोदालो को चित्र प्रस्तुत गरिएको छ । बढ्दो शहरीकरण साथै आधुनिकताले परम्परागत वस्तु, भाषाशैली, संस्कृति ओझेलमा परेकाले त्यसको जगेर्नाका लागि आफूले सन्देश दिन खोजेको झंकारले बताए ।

    ‘म जन्मिएको, हुर्किएको र अहिलेसम्म देखे-भोगेको परिवेश, संस्कार र त्यहाँको प्रेमलाई प्रदर्शनीमार्फत् देखाएको हुँ’, उनले भने ।

    हेरौं प्रदर्शनीका केही तस्बिर-