Category: कलाप्रेस

  • दयाको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक

    दयाको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो दिन हो।

    बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ। सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ।

    गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ।

    रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ।

    सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ।
    बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

    सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

  • महानायक राजेश हमाल गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर

    महानायक राजेश हमाल गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर

    काठमाडौं । महानायक राजेश हमाल क्यानडा अध्ययनका लागि ख्याति कमाएको शैक्षिक परामर्शदाता गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन् । दुईपक्षीय सम्झौतासँगै १ वर्ष विभिन्न प्रोजेक्टमा हमालले काम गर्ने गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले बताए ।

    सोहीअन्तर्गत हमालले बुधबार बबरमहलमा घोडा चढेर ट्राफिक सचेतनामूलक टीभी विज्ञापनमा अभिनय गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत यो विज्ञापन जनचेतनाका लागि प्रभावकारी हुने निम्ति निक्कै नै प्रभाकारी हुने गोरेटोले विश्वास जनाएको छ ।

    एड्भाइजर राम खड्काले क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा विकाससँगै सामाजिक सचेतनाका काममा आफूलाई सक्रिय बनाउने बताए । काउन्सेलर प्रकाश रेग्मीले क्यानडाले भर्खरै परिमार्जन गरेको अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित नीतिले एक उत्कृष्ट शैक्षिक गन्तव्यमा सहयोग पुर्‍याउने र त्यहाँको ज्ञानलाई नेपाल फर्किएर देशका लागि प्रयोग गर्न युवाहरूलाई अनुरोध गरेका छन् ।

  • ‘खजुरे ब्रो’ को टिजर रिलिज (भिडिओ)

    ‘खजुरे ब्रो’ को टिजर रिलिज (भिडिओ)

    काठमाडौँ । कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ । निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै, माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्र वैशाख २८ गते रिलिज हुँदैछ ।

    चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ । टिजरमा चलचित्रका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धरलाई विशेष स्थान दिइएको छ ।

    धरान आसपासमा डुलि हिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ । जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ ।

    ‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ । चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ ।

    कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन् ।

    डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा मित्र डि गुरूङको सम्पादन छ । चलचित्रलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

  • चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक- फरक भूमिकामा देखिए आर्यन, प्रदीप र पल (भिडिओ)

    चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक- फरक भूमिकामा देखिए आर्यन, प्रदीप र पल (भिडिओ)

    काठमाडौं । वर्ष २०८१ मा रिलिजको तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज गरिएको टिजरमा तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् ।

    आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ । टिजरको लम्बाइ छोटो हुने भए तापनी निर्देशक राउतले सबै कलाकारलाई अटाएका छन् ।

    टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन् भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन् । एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन् ।

    दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन् । उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ । उनको भूमिकाले जातीय विभेदलाई दर्शाएको छ ।

    केही क्षणमा पल शाह देखिन्छन् । उनले भरुवा बन्दुक चलाएका छन् । उनले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन । टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।

    चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् भने निर्देशक राउतले यही शुक्रवार चलचित्र हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् ।

    चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । यो उनले निर्माण गरेको पहिलो चलचित्र हो । चलचित्रमा निर्माता भुसाल आफैले सङ्गीत भरेका छन्। चलचित्रमा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

    राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।

    हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ’पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् । राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् ।

    यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ।

  • प्रशान्त तामाङको ‘सारंग’ मा ऋचा

    प्रशान्त तामाङको ‘सारंग’ मा ऋचा

    काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको विषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो ।

    कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित, सुरज तमु,मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

    कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्ने बिश्वास ब्यक्त गर्दै अभिभावकहरुलाई भबिष्यका कर्णाधार बालबालिकाप्रति गर्नुपर्ने ब्यबहार तथा जिम्मेवारी बोध गराउन सफल हुने धारणा व्यक्त गरे ।

    निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारदेखि भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताउँदै ‘सारंग’ को आगामी आइतबार अर्थात २ वैशाखबाट छायांकन सुरु हुने जानकारी दिए ।

    अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउँदै यस प्रकारको फिल्मले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखिन् । उनले यो फिल्ममा आफूलाई दर्शकले विगतका आफ्ना फिल्महरु भन्दा फरक भूमिकामा देख्न पाउने दाबी गरिन् ।

    दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपीमा गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्म बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

     

  • ‘डिग्री माइला’ का भौतारिएका पाइला

    ‘डिग्री माइला’ का भौतारिएका पाइला

    निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई गाँसिएको फिल्म भन्नासाथ दिमागमा आउँछ– सुपरहिट । यो ‘कम्बो’ ले पछिल्लो एक दशकमा, खासगरि कबड्डी सिरिजबाट राम्रै पैसा छाप्न सफल भयो ।

    दया–रामको नयाँ भेञ्चर ‘डिग्री माइला’ आजबाट ठूलो हाइपका साथ देशभरका थियटरहरुमा फिँजिएको छ । यसले व्यापारिकरुपमा उनीहरुको पुरानो साख जोगाउँछ, भत्काउँछ वा बढाउँछ, त्यो प्रतीक्षाको विषय हो । तर, ‘कन्टेन्ट’ को हिसाबले चाहिँ दया-रामले एउटा अर्को सुललीत सिर्जना दर्शकहरुमाझ पेश गरेका छन् । उनीहरुले आफ्नो ‘कम्बो’को साख गिर्न दिएनन् भनौं ।

    पंक्तिकारलाई चलचित्र हेर्न जाँदा एउटै डर थियो- कबड्डी सिक्वेलको ह्याङबाट यो चलचित्र मुक्त छ या छैन । करिब १० वर्षअघि रिलिज भएको ‘कबड्डी’ को एउटा मास्टरपिस थियो । दोस्रो र तेस्रो सिक्वेल पनि ठिकठाक थिए । तर, चौंथो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले निराश बनायो । यद्यपि, व्यापारिक रुपमा भने यसले पनि निर्माताको खल्ती भरिदिएको थियो ।

    एउटा चलचित्रको लहरलाई दर्शकले रुचाइसकेपछि र पैसा छापिसकेपछि त्यसबाट बाहिर निस्किन मेकरहरुलाई निकै मुस्किल हुन्छ । पछिल्लो समय नेपालमा हिट भएका अधिकांश फिल्म ‘सिक्वेल’ नै छन् । तर, दया–रामले त्यो कम्फर्ट जोनबाट बाहिर निस्किएर फरक स्वादको चलचित्र’ दिने हिम्मत गरे, त्यो सह्रानीय पक्ष हो । कबड्डी सिरिजको ह्याङबाट पूर्णरुपमा मुक्त छ, ‘डिग्री माइला’, विषयवस्तुको हिसाबले पनि र कथा वाचनको हिसाबले पनि ।

    निर्देशक गुरुङले एउटा गम्भीर मुद्दालाई बहुत सरल एवं मिठासपूर्ण तरिकाले वर्णन गर्न सफल भएका छन् । नेपालका शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनिरहेको यथार्थलाई चलचित्रले मनोरञ्जनात्मक तवरबाट उठान गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टर डिग्री गरेको एउटा महत्वाकांक्षी युवक एकाध वर्षमै कसरी निराशाको दलदलमा भासिन पुग्छ भन्ने व्यहोरा नै चलचित्रको मुख्य अन्तरवस्तु हो ।

    कथा पूर्णरुपमा डिल्लीराम भुजेल उर्फ डिग्री माइलाको वरिपरी घुमेको छ । ओखलढुंगाको रुम्जाटारमा अवस्थित एउटा कलेजलाई अंग्रेजी शिक्षकको सख्त आवश्यकता पर्र्छ । निरीक्षणमा आएकी शिक्षा निरिक्षक (ऋचा शर्मा) ले दुई साताभित्र अंग्रेजी शिक्षक नल्याए कलेजको सम्बन्धन नै खारेज गरिदिने अल्टिमेटम दिएर हिँड्छिन् । ठीक त्यही बेला गाउँमा झुल्किन्छन् डिल्लीराम, जो भर्खर अंग्रेजीमा मास्टर्स सिध्याएर घमण्डसाथ गाउँ फर्किएका हुन्छन् ।

    कलेजको टीमले घरमै पुगेर डिग्री माइलालाई जागीर अफर गर्छन् । तर, अभिमान र महत्वाकांक्षाको उडानमा रहेका माइलाले अफर लत्याइदिन्छन् । गाउँलेलाई अपत्यारिला गफ दिँदै केके न गर्छु भनेर काठमाडौं फर्किन्छन् । तर, काठमाडौंमा उनले सोचेजस्तो हुँदैन । दुई वर्षसम्म पनि केही लछारपाटाे लाउन नसकेपछि ‘घुमिफिरी रुम्जाटार’ फर्किन्छन् । त्यतिबेलासम्म उनको महत्वाकांक्षा खरानी भइसकेको हुन्छ ।

    यति कथावस्तुको आंकलन सायद तपाईंले चलचित्रको ट्रेलर हेरेरै गरसक्नुभएकाे हुनुपर्छ । योभन्दा बढी बढ्ता कथा लिक गरिदिनु वाञ्छनीय नहोला ।

    कमेडी धारमा बनेको भए पनि चलचित्र एकदमै यथार्थपरक छ । कथा–पटकथामा कतै पनि अतिरञ्जना (डिग्री माइलाका गफबाहेक) छैन । करिब अढाइ घन्टा स्वस्थ मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

    एउटा रोचक पात्र अनावरण गरिएको छ, ‘डिग्री माइला’का रुपमा, जो अति महत्वाकांक्षी मात्र छैन, अहंकारी र घामड पनि छ । भर्खरै डिग्री पास गरेर ठूला–ठूला सपना देखिरहेका तर हातमा शून्य सीप भएका युवाहरुका एक प्रतिनिधि पात्र हुन् उनी । शैक्षिक प्रमाणपत्रलाई साधन होइन साध्य मान्ने विद्यार्थीहरुलाई यो चलचित्रले सोच्न बाध्य बनाउने छ । डिग्री माइलासँग डिग्री पासको शैक्षिक प्रमाणपत्र त छ, तर उ एउटा बाँसको चोया पनि ढंगले काट्न सक्दैन । काठमाडौं जाने बस भाडाका लागि पनि डोको बुनेर जीविका चलाउने बुबासँग हात थाप्नुपर्ने बाध्यता छ उसलाई । यो धेरै शैक्षिक बेरोजगारहरुले भोगिरहेको नियति पनि हो ।

    चलचित्रमा नायक र नायिका छन्, तर परम्परागत । उनीहरू ‘आदर्शवादी’ छैनन् । नायक–नायिकाको प्रेमलाई भिन्न तरिकाले देखाइएको छ । फर्मुला चलचित्रहरुमा जस्तो उनीहरु एक अर्काका लागि ज्यान दिन तयार हुँदैनन् । नायिका आफ्नो प्रेमीभन्दा बाबुलाई प्राथमिकतामा राख्छिन् । नायकले प्रेमीकाभन्दा आफ्नो सपना र महत्वाकांक्षालाई महत्व दिन्छ । उनीहरु एक–अर्कासँग लडिबुडी खेलेर, चुम्माचाटी गरेर बस्दैनन् । प्रायः नोकझोक नै चलिरहन्छ । उनीहरुको सम्वन्धमा मायाको उत्कर्षभन्दा अन्तरद्वन्द्व हावी छ ।

    भूमिकाका हिसाबले डीग्री माइलालाई पूर्णरुपले दयाहाङको फिल्म मान्दा हुन्छ । त्यसो त महिनैपिच्छे दयाहाङका नयाँ–नयाँ चलचित्र रिलिज भइरहेकाे हुँदा उनीसँग दर्शक मोनोटोनस नै हुने अवस्था आइसक्याे छ । अनगिन्ति चलचित्र खेलिरहेका मात्र नभएर सँधै उस्तै चरित्र र अभिनयका कारण पनि उनलाई कुनै बेलाका राजेश हमालसँग तुलना गर्न थालिएको छ । तर, डिग्री माइलाका दयाहाङ अलिकति पृथक छन् । उनको व्यक्तित्व र चरित्रमा मौलिकता छ । विगतमा यही कथावस्तुमा आफैंले नाटक निर्देशन गरेको भएर पनि दयाहाङलाई चरित्रमा ढल्न खासै गाह्रो भएन ।

    दयाहाङको प्रेमिकाको भूमिकामा आँचल शर्मा ठीकठाक छिन् । उनको अभिनयमा खोट लगाउने ठाउँ पनि छैन र ‘वाउ’ भन्ने खालको पनि छैन । अन्य कलाकारहरुमध्ये विजय बराल प्रभावशाली छन् ।  विजयजस्तै माओत्से गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि रामबाबुका फिल्ममा नछुट्ने कलाकार हुन् । तीनैजनाले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् । बुद्धि तामाङको थेगो चाहिँ आवश्यकताभन्दा बढी प्रयोग भएको छ ।

    चलचित्रका अर्को टेसिला पात्र हुन्, अंग्रेजी शिक्षक । मधेसी मुलका शिक्षकको चरित्रलाई निकै सतर्कतापूर्वक चित्रण गरिएको छ । उनकाे ट्युसन माेह र विद्यार्थीबाट भाेग्नुपरेकाे दुर्व्यवहारबीच सन्तुलन मिलाइएको छ । सिधै जात जाेडीएकाे छैन ।

    चलिचत्रमा अहम् भूमिका निभाएका अन्य कलाकारहरू कमलमणि नेपाल, हिउँवाला गौतम, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत सबै आ–आफ्नो लयमा छन् ।

    निर्देशकका हिसाबले रामबाबुले आ-आफ्ना चलचित्रमा खोट लगाउने ठाउँ प्राय छोड्दैनन् । यसमा पनि उनले त्रुटिरहित निर्देशन गरेका छन् । निर्देशकको सिर्जनशीलता चलचित्रभरि नै छचल्किएको छ ।

    स्क्रिप्टका तीनै पक्ष कथा, पटकथा र संवाद सशक्त नै छन् । यद्यपि, पटकथालाई अझै छाँटकाट गरेर टमक्क पार्न सकिन्थ्यो । मध्यान्तरपछि चलचित्र अलिकति खज्मजिएकाे छ । केही दृष्यहरु झिँझोलाग्दा पनि छन् ।

    चलचित्रमा सबैभन्दा बढी खट्किएकाे चाहीँ क्लाइमेक्स हो । डिग्री माइलाको क्लाइमेक्समा स्क्रिप्टराइटर र निर्देशकको होमवर्क नपुगेको प्रतीत हुन्छ । आत्मदाह प्रयासपछि चलचित्रमा एउटा अन्तिम ट्वीस्ट आवश्यक थियो, जसले कथालाई तार्किक निष्कर्षमा पुर्‍याउन सकोस् र उठाउन खोजेको मुद्दा स्थापित हुन सकोस् । त्यसको अभाव भयो ।

    कुनै पनि चलचित्रले असरल्ल समस्या फिँजाउने मात्र होइन, समाधानको बाटो पनि देखाउनुपर्छ । दर्शकलाई असमञ्जसमा छोडेर कथामा बिट मारिदिनु न्यायसंगत हुँदैन । यसमा डिग्री माइला चुकेकै हो । क्याम्पसमा नियुक्ति पाउनका लागि डिल्लीरामले रोजेको बाटो ठीक होइन भनेर चलचित्रले खुलेर भन्दैन । खासमा को सही र को गलत भन्ने छुट्याउने जिम्मा दर्शकलाई नै छोडिएको छ । शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गरिसकेपछि यसलाई विधिसम्मत समाधानतर्फ लगेको भए सायद त्यो सन्देशमुलक पनि हुन सक्थ्यो ।

    कुनै पनि चलचित्रको क्लाइमेक्सको प्रत्यक्ष प्रभाव यसको व्यापारमा पर्न जान्छ । चलचित्र औसत भए पनि क्लाइमेक्स बुलन्द छ भने दर्शक सन्तुष्ट भएर निस्किन्छन् र माउथ पब्लिसिटी राम्रो हुन्छ । चलचित्र उत्कृष्ट भएर पनि क्लाइमेक्स कमजोर भए दर्शक खिन्न बन्छन् र माउथ पब्लिसिटी खराब हुन्छ । यसर्थ क्लाइमेक्समा मेकर्सले बढी नै मिहिनेत गर्नुपर्ने हो । तर धेरै नेपाली चलचित्रहरु क्लाइमेक्समै चुकिरहेका छन् । कमजोर क्लाइमेक्सकै कारण थुप्रै राम्रा चलचित्रले व्यापारिक रुपमा मार खाएका छन् ।

    समग्रतामा ‘डिग्री माइला’ स्तरीय दर्शकका लागि  एउटा हेर्नलायक फिल्म बनेको छ । ‘नेपाली चलचित्रलाई माया गरौं’ भनेर प्रवर्द्धन गर्नुपर्ने चलचित्र होइन यो । यद्यपि कबड्डीजस्तो सबै वर्गका दर्शकले यो चलचित्र नरुचाउन पनि सक्छन् । चलचित्रको गुणवेत्ता र प्रस्तुतीकरणमा  रमाउनेहरूले भने नछुटाउनु नै राम्रो । यसमा पेट मिचीमिची हाँस्ने, ताली बजाउने र सिटी फुक्ने सिनहरु कम छन्, तर लामो समय मनमा बस्ने र सोच्न बाध्य बनाउने खुराकहरु मनग्गे छन् ।

  • विजय लामाले खोले दिदी र भान्जाको स्मृतिमा फाउण्डेसन, पारिश्रमिक सामाजिक काममा खर्चिने

    विजय लामाले खोले दिदी र भान्जाको स्मृतिमा फाउण्डेसन, पारिश्रमिक सामाजिक काममा खर्चिने

    काठमाडौं । गायक विजय लामाले दीदी र भान्जाको स्मृतिमा ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन सञ्चालनमा ल्याएका छन् । देश-विदेशको सांगीतिक कार्यक्रममा प्राप्त पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याएर सामाजिक काममा खर्चिने उनको भनाइ छ ।

    ‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’ लगायतका चर्चित गीतका गायक हुन् लामा । फाउण्डेसनको रकमबाट पाठेघरको क्यान्सर भएका ग्रामीण महिलाको उपचारमा सहयोग गर्ने उनको योजना छ । त्यस्तै देशभरका वृद्ध र बाल आश्रमसँगै अनाथ, असहाय, गरिबका लागि पनि रकम खर्चिने लामाले बताए ।

    फाउण्डेसनले लागुऔषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीलाई सामान्य जीवनमा फर्काउन भूमिकासँगै मन्दिर, गुम्बा निर्माणमा पनि सहयोग गर्ने छ । फाउण्डेसनले याङ्गजीन साङ्गगे मेमोरियल पार्क गायक लामाकै गृह जिल्ला काभ्रेमा निर्माणको तयारी गरेको छ ।

    आफूले दीदी याङ्गजीन लामालाई क्यान्सर र केही समयपछि भान्जा साङ्गगे रिन्जिन लामाको पनि हृदयघातबाट गुमाएको भन्दै दुवैजनाको आत्माको शान्तिको कामनासहित अभियानमा जुटेको गायक विजयले बताएका छन् ।

    हालसम्म ४ सय बढी गीतमा स्वर भरिसकेका लामा अमेरिकाको लामो समयको बसाइपछि नयाँ एल्बमको तयारीमा छन् ।

  • भजन शिरोमणि भक्तराजलाई सिस्नुपानीले दियो ‘राष्ट्र गायक’ को उपाधि

    भजन शिरोमणि भक्तराजलाई सिस्नुपानीले दियो ‘राष्ट्र गायक’ को उपाधि

    काठमाडौं । भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोप्रान्त ‘राष्ट्र गायक’ को उपाधि प्रदान गरिएको छ ।

    सिस्नुपानी नेपालद्वारा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधिद्वारा विभूषित गरिएको हो ।

    कार्यक्रममा भजन शिरोमणि आचार्यप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै ९१ जना संगीतकर्मीहरूले आचार्यकै कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’ प्रस्तुत गरेका थिए । आचार्यको ४३औं पुण्यपतिथीका दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति, पूर्वप्रधानसहित नेपालका अधिकांश कार्यकारी व्यक्तिहरुको उपस्थितिमा भजन शिरोमणिलाई ‘राष्ट्र गायक’ को उपाधि प्रदान गरिएको हो ।

    कार्यक्रममा आचार्यद्वारा संगीतबद्ध, बमबहादुर थापा जितालीद्वारा रचित अमर गीत ‘जहाँ छन् बुद्धका आँखा‘’ लाई प्रसिद्ध सङ्गीतज्ञ अमूल कार्की ढलीले विशिष्ट संयोजनका साथ नयाँ भर्सनमा प्रस्तुत गरेका थिए । भक्तराज आचार्यका सुपुत्रद्वय सत्य-स्वरूपका साथमा सुप्रसिद्ध गायकहरू दीप श्रेष्ठ, मीरा राणा, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मुरलीधर, कुन्ती मोक्तान, सङ्गीता प्रधान, लोचन भट्टराई, आनी छोइङ डोल्मा, देविका बन्दना, धीरेन्द्र प्रेमर्षीलगायत ९१ जनाको विशिष्ट साङ्गीतिक समूहले उक्त गीतलाई सामूहिक रूपमा प्रस्तुत गरेको थियो ।

  • भारतीय र्‍यापर बादशाह यमबुद्ध र भिटेनका फ्यान, नेपाली संगीतबारे के भने ?

    भारतीय र्‍यापर बादशाह यमबुद्ध र भिटेनका फ्यान, नेपाली संगीतबारे के भने ?

    काठमाडौं । चर्चित भारतीय र्‍यापर वादशाहले एक पोडकास्टमा नेपाली संगीत जबरदस्त भएको बताएका छन् । अनट्रिगर्ड विथ अमिनजाज नामक युट्युब च्यानलमा सार्वजनिक पोडकास्टमा नेपाली संगीत किलर रहेको बताएका हुन् ।

    भर्खरै नेपाली गायिका प्रजिनासँग एल्बम ‘एक था राजा’को ‘कृष्ण’ गीतमा सहकार्य गरेका वादशाहले प्रजिनाबारे भनेका छन्, ‘मलाई कृष्ण गीतका लागि नेपाली चाहिएको थियो । सो हामीले नेपालकी प्रजिनालाई सम्पर्क गर्यौं । उनले जबरजस्त गाइन् । उनको साथ काम गर्न मजा आयो । मलाई नेपाल मन पर्छ । नेपाल सुन्दर ठाउँ हो ।’ उनले नेपालको हिमालहरुबीचमा रहेको सहर सधैं याद आउने समेत बताए ।

    बादशाहले नेपाली दर्शक क्रेजी भएको भन्दै आफ्नो गीतहरु सार्वजनिक हुँदा नेपालमा ट्रेण्डिङमा आउने भन्दै खुसी समेत व्यक्त गरे । कुराकानीका क्रममा पोडकास्ट संचालकले सोधे, ‘फिल्म, संगीत भारतबाट निर्यात हुन्छ । तर मलाई थाहा छैन, उनीहरुको आफ्नै म्युजिक कस्तो हुन्छ । मलाई लाग्छ, उनीहरुको आफ्नै म्युजिक छ । नेपाल जाँदा क्याफे र रेस्टुरेन्टमा नेपाली म्युजिक बजेको थियो ।’

    यसपछि बादशाह भन्छन्, ‘ब्रो नेपाली संगीत किलर छ । उनीहरुको हिपहप गायन जबरदस्त छ । तिमीले यमबुद्ध सुनेको छौ ? ऊ र्‍याप गाउने गर्थ्यो । तर, बित्यो । अहिले पनि एक दुईजना छन् । एउटा भिटेन हो यासद । उनीहरु त्यही र्‍याप गाउँछन्, जहाँ उनीहरुले बाँचेको कथा हुन्छ । तर, भिटेनको गीतमा अलिकति जेलनेलको सिनहरु प्राय आइरहेका हुन्छन्, यसबारे चाहीँ मलाई थाहा छैन ।’

    बादशाहले नेपाल र बंगलादेशमा धेरै नै माया मिल्ने समेत बताए । एयरपोर्टमा ल्याण्ड हुनसाथ म माया पाउँछु । तर, भारतमा त्यस्तो हुँदैन ।

  • तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू)

    तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू)

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ आजबाट प्रदर्शनमा आउँदैछ । हिजो साँझ सो चलचित्रको बिग मुभिजमा प्रिमियर गरियो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

    भव्य रुपमा आयोजित प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेताको बाक्लो भिड लागेको थियो । बिग मुभिजका तीनवटै हल बुक गरेर चलचित्र देखाइएको हो । प्रिमियरको औपचारिक समारोह भने बाहिर रहेको फुड कोटमा गरियो ।

    दयाहाङ राई र आँचल शर्माले पहिलो पटक सँगै काम गरेको चलचित्रले एक मास्टर्स डिग्री हासिल गरेको एक शैक्षिक बेरोजगारको कथा भन्छ । कथाको केन्द्रमा दयाहाङ छन् । प्रिमियरमा पाएको प्रतिक्रियाले मेकरहरु उत्साहित बनेका छन् ।

    चलचित्र हेरेपछि दयाहाङकी हिट अनस्क्रिन जोडी मिरुना मगरले खुलेर प्रशंसा गरिन् ।

    ‘एकदमै राम्रो लाग्यो मलाई । सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरूले सामना गरिरहनुपरेको कुरा देखाइएको छ, त्यसले एकदमै मन छोयो,’ उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् ।

    ‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाहिँ गरिनँ,’ उनले थपिन् ।
    मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । उनले हँसाउन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन् ।

    ‘उहाँले राम्रो राम्रो कलाकारहरूलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ । उहाँसँग त्यो कला छ । एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ । यसका लागि मैले सम्मान गर्नै पर्छ,’ उनले भनिन् । उनले नयाँ वर्षमा हेर्न लायक चलचित्र भएको जनाउँदै यसको कथासँग दर्शकहरूले आफूलाई जोड्न सक्ने बताइन् ।

    यसै गरी ‘लुट’ अभिनेत्री सृजना सुब्बाले चलचित्रको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौँ जस्तो लागेको बताइन् ।

    ‘एकदमै मन कस्तो भारी भइराख्यो । रामबाबुको राम्रो पक्षचाहिँ एकदमै गहन कुराहरूलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउनुभएको छ । उहाँको काममा कबड्डी भन्दा बढोत्तरी भइरहेको पाएँ,’ उनले भनिन् ।

    यस्तै उनले दयाको काम र भूमिकाको तारिफ गरिन् ।

    ‘म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थेँ । उसको यस्तो पात्रहरू भइदियोस् जस्तो लाग्थ्यो । अरू सबैको काम मनपर्‍यो । मलाई एक छिन नबोलुम नबोलुम जस्तो बनायो,’ उनले थपिन् ।

    चलचित्रका प्रमुख अभिनेता दयाहाङ पनि खुशी देखिए । उनले पूरै सिनेमा आफूले पनि पहिलो पटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मन परेको बताए ।

    ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरेँ । हामीले जो मेहेनत गर्‍या छौं, त्योचाहिँ छर्लङ्गै देखिन्छ’, उनले भने । दयाले ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ‘कबड्डी’ को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए ।

    दयाले अभिनेत्री आँचलको तारिफ गरेँ ।

    ‘मचाहिँ खुशी छु, पहिलो पटक स्क्रिन साझा गरिरहँदा उसको अभिनयमा परिपक्वता छर्लङ्गै देखिन्छ,’ दयाले भने ।

    एमाले नेता एवम् संघीय सांसद रघुजी पन्तले समग्रमा चलचित्र मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मन परेको बताए ।

    ‘शैक्षिक संस्थाहरूमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपिकल रामबाबुको फिल्म हो । उनको स्टाइल हो’, उनले भने ।

    प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन् । निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई (म्याकुरी), सुन्दर खनाल, विल्सन विक्रम राई लगायत प्रिमियरमा उपस्थित थिए । उनीहरू सबैले चलचित्र मन परेको बताए ।

  • नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक उत्सव

    नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक उत्सव

    भक्तपुर । आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिवार सांगीतिक उत्सव हुने भएको छ ।

    २०८१ सालको वैशाख १ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

    हालसम्म १ लाखभन्दा धेरै दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

    नयाँ वर्षको दिन भोली मञ्जु पौडेल, सुविज्ञा पोखरेल, वैकुण्ठ महत, मदन विष्ट, कमल खत्री, रुविसा श्रेष्ठ, सागर लम्साल, प्रतिव हुमागाईँले प्रस्तुति दिनुहुनेछ, अध्यक्ष महतले भने ।

    त्यसैगर अन्य कलाकारहरूमा गणेश केसी, हर्कुलास बस्नेत, महेश काफ्ले, मानस राज, कपिल कसपाल र अनित विष्टले दर्शकहरुलाई मनोरञ्जन दिनेछन् ।

    नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

    ‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,’ थापाले भने ।

    कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

    महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ ।

    ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० र सर्वसाधारणलाई भने ७० को टिकट लाग्ने संयोजक थापाले बताए ।

    महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा वैशाख २ गतेसम्म संचालन हुनेछ ।

  • दयाहाङ र आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा

    दयाहाङ र आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा

    काठमाडौं । वर्षकै प्रतीक्षित सिनेमा ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ।

    चलचित्रलाई देशभरका हलहरूले उच्च शो दिएका छन् ।

    निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डिग्री माइलाको पखाईमा रहेको दर्शकले आजदेखि हलमा गएर हेर्न पाउनेछन् । बुधवारसम्म यो चलचित्रले देशभर १५५ शो पाएको छ । क्यूएफएक्सले मात्रै ५८ शो दिएको छ ।

    चलचित्रका वितरक गोविन्द शाहीले आज र भोलि मात्रै झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।

    यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी(४’ ले रिलिजको पहिलो शनिवार ३ करोडभन्दा बढीको व्यापार गरेको दाबी थियो ।

     

  • ‘डिग्री माइला’की डिग्री होल्डर हिरोइन

    ‘डिग्री माइला’की डिग्री होल्डर हिरोइन

    काठमाडौं । चलचित्र क्षेत्रमा कलाकारहरुको अभिनयमा दक्षता हुनसक्ला । जीवन्त अभिनय गरेर दर्शकलाई मोहित बनाउन सक्ने क्षमता हुनसक्ला । वा अभिनयमा कमजोर भएका कलाकार पनि होलान् । कतिपय कलाकार कमजोर अभिनयका कारण दर्शकबाटै आलोचित समेत हुने गरेका छन् ।

    तर, चलचित्र क्षेत्रमा पढेका कलाकारहरु भने भेटिन मुस्किल छ । पढेका मान्छे खोज्ने नै हो भने पनि औंलामा गन्दा सकिन्छन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘डिग्री माइला’को एक पत्रकार सम्मेलनमा निर्देशक रामबाबु गुरुङले डिग्री पढ्ने सपना बुनेर ‘डिग्री माइला’ बनाएको बताएका थिए ।

    उनले भनेका थिए, ‘कलेज पढ्ने भन्ने छुट्टै सपना थियो । तर डिग्री पढ्छु भन्ने सपना त्यतिबेला थिएन । किनभने पढाइमा रुचि कम थियो । बरु विद्यार्थी संगठनमा, राजनीतिमा, त्यहाँको आन्दोलनमा गइयो ।’

    दयाहाङले पनि कला साहित्यले आकर्षण गरेकाले पढाइ यतिकै छाडेको बताएका थिए । तर, ‘डिग्री माइला’को टीममा अभिनेत्री आँचल शर्मा भने अपवाद हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत के एण्ड के कलेजबाट जेण्डर स्टजिडमा मास्टर डिग्री गरेकी छन् ।

    सन् २०२२ मा मास्टर डिग्री सकाएकी आँचल पढाइलाई लिएर भन्छिन्, ‘कुनै पनि कुराको ज्ञान हुनु आफैंमा बेफाइदा कहिल्यै हुँदैन । कम्तीमा दुई प्रतिशत भए पनि केही न केही सिकिन्छ ।’ तर, समाजले सर्टिफिकेटले अनावश्यक रुपमा ठूलो बनाइदिएको र पढेर मात्रै मान्छे ज्ञानी हुन्छ भन्ने विश्वास आफूमा नरहेको उनले बताइन् ।

    ‘मैले त्यस्ता हजारौं मान्छे भेटेकी छु, जो केही कुरा बुझ्दै बुझ्दैनन् । जो सिभिलाइज्ड नै हुँदैनन् । कोहीकोही त्यस्ता मान्छे पनि भेटेकी छु, जोसँग केही नपढीकनै धेरै कुराको ज्ञान हुन्छ’, आँचल भन्छिन्, ‘पढाइ महत्वपूर्ण छ । कलेज, युनिभर्सिटी गएरै पढ्नुपर्छ भन्ने म मान्दिनँ । तर पढ्यो भने केही कुरा चाहिँ सिकिन्छ ।’

    पढाइले थोरै भए पनि विचारमा, दृष्टिकोणमा बदलाव आउने कुरामा विश्वास गर्छिन् आँचल । तर, कलाकारितामा लागेपछि धेरै मान्छेले पढाइलाई सँगै लिएर जान गाह्रो हुने भएकाले आँचलको सुझाव छ, ‘मेरो पनि सुटिङ कहिले कहाँ पर्थ्यो, कहिले कहाँ । नियमित कलेज गइरहन भ्याइनँ । तर, मलाई लाग्छ, जे काम गर्नुहुन्छ, सय प्रतिशत त्यो कामलाई दिनुस् । अभिनय गर्ने मान्छेले थिएटर जानु भनेको पढ्नु नै हो । किताबकै किरा हुनुपर्छ भन्ने म मान्दिनँ ।’

    चलचित्र क्षेत्रमा पनि मान्छेहरुसँग भेटघाट हुँदा स्क्रिप्ट कस्तो छ ? कसरी काम गर्नुहुन्छ ? लगायत सोधिने भएकाले कति पढेका छन् भनेर सर्टिफिकेटको भरमा कसैको मूल्यांकन गर्ने कुरा नआउने शर्मा बताउँछिन् ।

    नेपाल प्रेससँगको कुराकानीमा आँचलले ‘डिग्री माइला’को अनुभव पनि शेयर गरिन् । दयाहाङसँग काम गर्दाको अनुभूति बताइन् । ‘नाइ नभन्नु ल’ सिरिजबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी आँचलले थिएटरमा काम गरेका कलाकारसँगको अनुभूति बेग्लै भएको बताइन् ।

    ‘थिएटरतिर काम गर्ने कलाकारले पात्रमा बढी नै ध्यान दिएको पाएँ मैले । हामी त दुई महिना वर्कसप मात्रै गर्छौ’, आँचल भन्छिन् ।

    हामीले सोध्यौं, थिएटरमा काम गरौं, सिकौं लाग्दैन ?

    आँचल भन्छिन्, ‘अहिले आएर चाहिँ थिएटर गर्ने कुरा निकै गाह्रो लाग्छ । समय छुट्याऊ, फेरि पढ । थिएटरबाट आउनुभएका दाइहरुलाई अभिनयको प्राक्टिकल र थ्योरी पनि राम्रोसँग थाहा हुन्छ । त्यो कुरा नयाँ पात्रमा निकाल्न सक्नुहुन्छ । हामी पात्रलाई लिएर केही समय हिँडेपछि त्यसलाई बिर्सिदिन्छौं ।’

    थिएटरबाट नआएका कलाकारले चाहिँ पात्रमाथि राम्रोसँग काम गर्न नसक्ने हो र ?

    थिएटरबाट नआएका कलाकारले पनि राम्रो गर्न सक्नुहुनछ । तर, दुई महिनाको वर्कसप र दशौं वर्षको पढाइ फरक हुन्छ । थिएटरमा उहाँहरु दिनै त्यही माहौलमा बसेर भिज्नुहुन्छ । दुई महिना डान्स सिकेको मान्छे र दशौं वर्ष डान्स सिकेको मान्छेमा फरक हुन्छ । थिएटरबाट आउनुभएकाहरुलाई बेसिक थाहा हुन्छ । हामीलाई गाह्रो हुन्छ । हामी एउटा पात्रमाथि बुझ्छौं, बिर्सिदिन्छौं । उहाँहरुले भने पात्रमा आफूलाई ढाल्ने भन्दा पनि आफ्नो जीवनमा त्यो पात्रको शैली नै ढालिसक्नुभएको हुन्छ ।

    थिएटरमा जाऊँ जस्तो कहिलेकाहीँ लाग्दैन तपाईंलाई ?

    जाँदा एकदमै राम्रो कुरा हो । जानेको कुराले बेफाइदा कहिल्यै गर्दैन । समय मिल्यो भने अझैं पनि जाँदा धेरै राम्रो हो ।

    खासमा ‘डिग्री माइला’ कस्तो फिल्म हो ?

    जहिल्यै पनि हाम्रो अरुलाई दोष दिने बानी छ । अरुमाथि औंला उठाउने बानी छ । तर, हामीलाई आफ्नो कमजोरी सच्याउन आउँदैन । राजनीतिकै कुरा गर्नुस् न, फलानोले यसो गरिदिनुपर्ने, फलानोले देश बनाइदिनुपर्ने भन्छौं । तर, हाम्रो तर्फबाट खै त योगदान ?

    हामी अर्काको चिजबिज औंल्याइदिन सिपालु छौं । डिग्री माइलामा माइला किन घमण्डी भयो ? उसको अहम किन सृजना भयो ? यो समाजले उसको अहम त्यहाँ पुर्याउन कति इँटा थप्यो ? माइला त्यस्तो हुनुमा कतै न कतै हामी पनि दोषी छौं ? यो फिल्म सटायरिकल छ । अलिकति समाजलाई व्यंग्य हानेको छ । धेरैजसो हामीलाई नै व्यंग्य छ ।

    तपाईंले चाहिँ वास्तविक जीवनमा घमण्डी, सन्काहा मान्छे भेट्नुभएको छ कि छैन ?

    भेटेकी छु । घटना त नभनौं । तर, ती घटना सम्झदा के सोच्छु भने त्यो घमण्डको सृजना कहाँबाट भयो त ? त्यो मान्छेको स्कुलिङ नै त्यस्तै भयो कि ? समाजले नराम्रो घटना घटाएर पो त्यस्तो भयो कि ? यी सबैको पछाडि कारण छ नि त । हामी मान्छेलाई औंल्याउने होइन, कारण खोज्नतिर लाग्नुपर्छ ।

    मैले ठूल्ठूला गफ दिने मान्छेहरु भेटेकी छु । अगाडि बसेर ठूल्ठूला गफ दिइरहेका हुन्छन् । तर, मलाई थाहा भइसकेको हुन्छ, त्यो गफ हो भनेर । ए अँ अँ भन्दिन्छु । टाउको हल्लाइदिन्छु । त्यस्तो मान्छेसँग मुस्किलले पाँच मिनेट मात्रै बस्न सक्छु । मलाई गफ हानेको हो भनेर थाहा नहुँदासम्म सुन्न मजा आउला । तर, जब गफ हो भनेर थाहा हुन्छ, अनि सुन्नै मन लाग्दैन ।

    त्यस्ता मान्छेलाई सुझाव दिनुहुन्न ?

    हामी यस्तो संसारमा बाँचेका छौं, हामीलाई कसैले नराम्रो भन्यो भने हामी सुन्न पनि चाहँदैनौं । हामीलाई कसैले केही औंल्याइदियो भने बुझ्न पनि चाहँदैनौं । यतिका वर्ष गफ गरेर आएको मान्छेलाई मैले दुई मिनेट सम्झाउँदा परिवर्तन हुने कुरा होइन । त्यसका लागि निज व्यक्तिलाई नै सेल्फ रियलाइजेसन हुनुपर्छ ।

     

  • २०८० को साहित्य बजार : प्रशस्त किताब आए, पाठकले कुन-कुन रुचाए ?

    २०८० को साहित्य बजार : प्रशस्त किताब आए, पाठकले कुन-कुन रुचाए ?

    कस्तो रह्यो त २०८० सालको नेपाली साहित्य क्षेत्र ?

    समीक्षक राजकुमार बानियाँको सीधा उत्तर छ, ‘प्रकाशकहरू मान्छेले किताब पढ्दैनन् भन्छन्, पाठक छैन भन्छन् । लेखकहरूले लेखेको लेख्यै गरेको देख्छु । प्रकाशकले छापेको छाप्यै देख्छु । पालिकापिच्छे महोत्सव हुन्छ । त्यो हेर्दा साहित्यको बजार त गुलजार नै देख्छु म ।’

    किताबको गुणवत्ताको कुरा गर्ने हो भने चाहिँ त्यो मुस्किल मुस्किल नै रहेको बानियाँको विश्लेषण छ । बानियाँ हाकाहाकी भन्छन्, ‘लेखकहरू मिहेनत नगर्ने, किताबको संख्या मात्रै थप्ने होडबाजीमा छन् । लोकप्रिय हुने लोभ मात्रै लेखकहरूमा देखिएको छ । लेखिएका सबै कुरा साहित्य हुँदैन, तिनले अमर बनाउँदैन भन्ने हेक्का लेखकहरूमा देखिएन ।’

    कवि श्रवण मुकारुङ पनि बानियाँसँग सहमत छन् । उनको पनि विश्लेषण छ, ‘गुणात्मक भन्दा पनि यस वर्ष संख्यात्मक हिसाबले किताबहरू धेरै आए । किताब आएको आयै छन्, गतिलो चाहीँ आएका छैनन् ।’

    हामीले २०८० सालको साहित्यबारे प्रकाशक, लेखक, पाठक, वितरकहरूसँग पनि बुझ्यौं । यसक्रममा २०८० साल साहित्यका लागि औसत नै रहेको प्रतिक्रिया प्राप्त भयो । प्रकाशित सबै किताब चलेनन् । तर, केही किताबले भने राम्रै व्यापार गरेको समेत देखियो ।

    कस्ता किताबहरू बढी बिक्री भए ?

    बिक्रीका हिसाबले यस वर्ष आख्यानभन्दा गैरआख्यानको दबदबा रहेको किताब व्यापारीहरू बताउँछन् । जागरण बुक्स हाउसका संचालक गणेश चितौरेको पसलबाट पनि यस वर्ष २०७९ मा आहुतीद्वारा लिखित गैरआख्यान ‘जातवार्ता’, ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’, डिपी ढकालद्धारा लिखित ‘समाजवाद र नेपाल’, घनश्याम पौडेलद्धारा लिखित ‘धर्म, समाज र संस्कृति’ बढी बिक्री भए ।

    तर, आख्यानमा भने जागरण बुक्स हाउसबाट उस्तो संख्यामा किताबहरू गएनन् । बढीमा पाँच-सात प्रति मात्रै बिक्री भएको चितौरेको भनाइ छ । कवितासंग्रहमा भने चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ र नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ अलि राम्रो गए ।

    पोखरामा रहेको हिमालयन रिडर्स कर्नरमा भने बिक्रीको हिसाबले राम्रै भएको संचालक विजय भण्डारी बताउँछन् । हिमालयन रिडर्स कर्नरमा पनि गैरआख्यानकै दबदबा रह्यो यस वर्ष । डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, शंकर तिवारीद्वारा सम्पादित ‘बीपीको जेल डायरी’ जस्ता किताब पाठकको रोजाइमा परे ।

    संचालक भण्डारीका अनुसार आख्यानमा विष्णु सापकोटाको ‘अडिएका पाइला’, बुद्धिसागरको संस्मरण कृति ‘उसले दिएको उमेर’ बिक्रीको हिसाबले राम्रो भयो । कविता संग्रहमा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, नवीन प्राचीनको ‘प्वाँख’ राम्रो बिक्री भए । उनका अनुसार यस वर्ष पाठकले गैरआख्यान सँगसँगै सेलिब्रेटीको आत्मकथाहरू पनि निकै रुचाए ।

    सबैतिर बिक्री घटिरहेका वेला चितवनको सम्पूर्ण किताबले भने यस वर्ष राम्रै संख्यामा किताबहरू बेचेको संचालक लेखराम सापकोटा बताउँछन् । विशेष गरेर नयाँ पाठकहरूका कारण बिक्री बढेको सापकोटाको भनाइ छ । उनी भन्छन्, ‘अहिले मैले स्कुललाई टार्गेट गरिरहेको छु । स्कुलहरूले पनि पठनलाई फोकस गरिरहेका छन् । त्यस हिसाबले राम्रै भयो ।’

    विद्यार्थीहरूले जीवनी, उत्प्रेरक किताबहरू, आख्यानहरू रुचाएको सापकोटा बताउँछन् । यसका अलवा उनले केही वर्षअघि प्रकाशन भएका अमर न्यौपानेको ‘सेतो धरती’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, आनी छोइङ डोल्माको ‘फूलको आँखामा’, आङसान सुची र नेल्सन माण्डेला जीवनीहरू पनि राम्रो संख्यामा बेचे ।

    यस वर्ष छापिएका किताबहरूमा मोहन मैनालीको खेजमूलक ऐतिहासिक दस्तावेजको किताब ‘मुकाम रणमैदान’, डा. थापाको ‘राष्ट्र परराष्ट्र’ संख्यात्मक हिसाबले बढी बेचे । भैरव अर्यालको जीवनीमा आधरित प्रोल्लस सिन्धुलीयद्धारा लिखित ‘भग्न भैरव’ र रमेश सायनको उपन्यास ‘अन्तर’ राम्रो संख्यामा बेचे ।

    सम्पूर्ण किताबले बढी संख्यामा बेचेको कविता संग्रहहरू हुन्, गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, भूपिनको ‘भूपीनका कविता’, एलबी क्षत्रीको ‘को हो त्यो मान्छे ?’, गणेश श्रमणको ‘आगो लिएर गाउँगाउँमा’ । सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’ र पुराना क्लासिकल किताबहरू पनि थुप्रो बेचे ।

    त्यस्तै सुनवर्षी बुक हाउस इटहरीमा गैरआख्यानमा डा. नवराज केसीको ‘शून्यको मूल्य’, डा. थापाकै ‘राष्ट्र परराष्ट्र, भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’, मोमिलाको निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ धेरै बिक्री भएको संचालक गोविन्द गिरी बताउँछन् ।

    आख्यानमा गिरीले यस वर्ष भानु बोखिमको ‘रुमानी साँझ’, बुद्धिसागरको ‘उसले दिएको उमेर’, रमेश सायनको ‘अन्तर’, २०७९ को मदन पुरस्कार प्राप्त विवेक ओझाकृत ‘ऐठन’ राम्रै संख्यामा बेचे । कविता संग्रहमा घनश्याम अस्तित्वको ‘हिचानमाथि महल बनाइरहेको मान्छे’, नवीन प्राचीनको ‘प्वाँख’, सुदिप पाख्रिनको रिप्रिन्ट ‘दगुरिहिँड्ने चौबाटो’ निरज भट्टराईको रिप्रिन्ट ‘धुवाँको धागो’ बढी बिक्री गरे । त्यस्तै प्रदीप रोदनको गलज संग्रह ‘मफलर’ र लोकेन्द्र बन्जराको ‘पलक’ पनि राम्रो संख्यामा बिक्री भएको गिरीको दाबी छ ।

    यस वर्ष चर्चामा रहेका प्रकाशक र पुस्तकहरू

    किन घटिरहेका छन् आख्यानका पाठकहरू ?

    अघिल्ला वर्षहरूमा झैं यस वर्ष पनि किताब प्रकाशनमा कुनै कमी आएको देखिँदैन । बरु झनै धेरै किताबहरू बजारमा आइरहेका छन् । फाइनप्रिन्टले मात्रै २६ वटा किताब प्रकाशन गरेको छ । इंडिगो इंक र शिखा बुक्सको प्रकाशितक किताबको संख्या पनि फाइन प्रिन्टकै हाराहारीमा छ ।

    बुकहिलले एक दर्जन किताब बजारमा ल्यायो । बेला पब्लिकेसन्स, फिनिक्स बुक र नेपालयले आधा दर्जन बढी किताबहरू बजारमा ल्याए । अन्य पब्लिकेसनहरूले पनि फाट्टफुट्ट किताबहरू बजारमा ल्याएका छन् । यसैवर्षबाट नयाँ पब्लिकेसन पनि थपिएको छ, माया पब्लिकेसन । यस पब्लिकेसनले युवा साहित्यकार खेम बतासको कथासंग्रह ‘बूढीपोल्ली’को प्रकाशन गरेर यस क्षेत्रमा हात हालेको छ ।

    यी मध्ये गैरआख्यानहरू आख्यानको तुलनामा यस वर्ष धेरै बिक्री भए । तर, आख्यानहरू प्रकाशनमा केही कमी आएको छैन । आख्यानको संख्या बढिरहे पनि पाठकको संख्या चाहिँ किन घटिरहेको छ ? जागरण बुक्सका चितौरे अनुमान गर्छन्, ‘आर्थिक मन्दीले पनि होला । अहिले किताब पढ्ने धेरै मान्छेहरू विदेश हिँडे । पछिल्लो चार पाँच वर्षमा किताब पढ्ने पाठकमा कमी आएको छ । सामाजिक संजालले पनि असर गरेको छ ।’

    इंडिगोका प्रकाशक विष्णुकुमार पौडेल पनि आर्थिक मन्दीकै कारण बिक्री स्वाट्टै घटेको बताउँछन् । आर्थिक मन्दीकै बीच आफूले प्रकाशन गरेका किताबहरू भने राम्रै गएको शिखा बुक्सका प्रकाशक पुष्पराज बताउँछन् । उनकाअनुसार विश्व कुइँकेलकृत ‘गोपिचा’, ‘बिपीको जेल डायरी’ राम्रै बिक्री भए । तर, अघिल्ला वर्षहरूको तुलनामा भने निराशाजनक नै रहेको बताउँछन् ।

    हिमालयन रिडर्स कर्नर, पोखराका विजयका अनुसार यस वर्ष गैरआख्यानकै दबदबा रह्यो । यसको कारण खोतल्छन् विजय, ‘पाठकहरूले चाहेजस्तो आख्यान नआएर पनि होला । साथै पोखरामा फिक्सन कम पढिने भएकाले पनि होला ।’

    सुनवर्षी बुक हाउसका गोविन्दले अनुभव गरेको कुरा हो, लकडाउनको समयदेखि धेरैपाठकहरू गैह्रआख्यानतिर लम्किएका छन् । उनी भन्छन्, ‘लकडाउनका वेला घरको र्याकमा थन्किएका प्राय आख्यानका किताबहरू पाठकहरूले पढे । आख्यान लगभग सकिएपछि पाठकहरू गैरआख्यानतिर आकर्षित भएको हुनसक्छ ।’

    बेला पब्लिकेसन्सकी बन्दना ढकाल भने हरेक विधाका पाठकहरू निश्चित हुने भएकाले कुनै विधाबीचमा तुलना गर्नु खासै ठीक नभएको बताउँछिन् । उनी भन्छिन्, ‘आख्यान पनि चाहिन्छ, गैह्रआख्यान पनि चाहिन्छ । पाठक घटेको बढेको भन्दा पनि पढ्ने सामाग्रीको उपलब्धता धेरै भएको हो ।’

    आउँदो वर्ष बेलाले आख्यान र गैह्रआख्यान बराबरी नै प्रकाशन गर्ने गरी काम गर्ने ढकालले बताइन् । साथै खगेन्द्र संग्रौलाका सम्पूर्ण रचनाको ‘संग्रौला समग्र’ को निरन्तरता हुने पनि उनले बताइन् ।

    कमसल किताबका थुप्रोका कारण खुम्चँदै साहित्यको बजार

    गएको पाँच वर्षदेखि किताबको बजार एकदमै खस्किएको बुकहिलका प्रकाशक भूपेन्द्र खड्का बताउँछन् । आर्थिक मन्दीले दैन्दिन हातमुख जोर्नै गाह्रो भएको अवस्था छ । बीचमा विदेशबाट आयात गरिएका किताबमा कर लगाइएपछि कोरोना आयो, कोरोनापछि आर्थिक मन्दी आयो ।

    यी कारणले पुस्तकको व्यापारमा ठूलो असर गरेको भूपेन्द्रको विश्लेषण छ । भूपेन्द्र भन्छन्, ‘किताबको व्यापार धेरै नै घट्दैछ । व्यापार कहालीलाग्दो छ ।’

    यसमा पाठकहरूको रुचिको विषय पनि छ । संसार डिजिटलाइजेसनमा गएको छ । सबै इन्टरनेटको दुनियाँमा व्यस्त छन् । यसले पनि किताब पठनमा असर गरेको भूपेन्द्रको अनुमान छ । अर्कतिर नेपाली भाषाको किताबको व्यापार कमजोर हुनुमा विद्यालय तहमा प्रदान गरिने शिक्षालाई पनि कारक मान्छन् उनी ।

    भूपेन्द्र भन्छन्, ‘माध्यामिक तहसम्म दुईवटा विषय छ नेपाली भाषामा । एउटा अनिवार्य नेपाली अर्को चाहिँ गत वर्षबाट सामाजिक शिक्षा नेपालीमा राखिएको छ । हामीले विद्यालय र विद्यार्थीबाटै भाषा गुमाउँदै गइरहेका छौं । छोराछोरीले पनि अंग्रजी पढोस् भन्ने बाआको इच्छा हुन्छ । अर्कातिर बालबालिका लक्षित किताबहरू पनि कमै प्रकाशन भएका छन् ।’

    लेखकहरूले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको भूपेन्द्रको विश्लेषण छ । आफू प्रकाशक भएर आउँदाको समय नेपाली साहित्यका लागि ‘गोल्डेन एरा’ भएको र नयाँ लेखकको पनि किताब बिक्ने गरेको बताउँदै भन्छन्, ‘अहिले त जो पनि लेखक भए । खादामाला लगायो, लेखक भयो । बीचमा गुणात्मकतामा ध्यान नै दिएनन् । जसले पनि किताब लेखेर पाठकलाई भुल्याए । यसले राम्रा किताब लेख्ने लेखकहरू पनि मारमा परेका छन् ।’

    आफूले त झनै झूर किताबकै चर्चा गरिदिन बाध्य हुनु परेको समीक्षक राजकुमार बानियाँको दु:खेसो छ ।

    ‘विमोचन गर्न बोलाउँछन्, बोलिदिनैपर्यो । छ महिना, एक वर्षसम्म पछ्याएर समीक्षा लेखिदे भन्छन् । समीक्षा भन्दा पनि सदिक्षा लेखिदेओस् भन्ने चाहन्छन्,’ बानियाँ दुःख सुनाउँदै २०८० बारे बोल्छन् ‘यस वर्ष गर्विलो कृति एकदमै कम छ । गैह्रआख्यानमा केही आशाहरू देखिए । मुकाम रणमैदान, नेपाली संगीत दरबार लगायत केही किताब आशालाग्दो नै लाग्यो । फिक्सनमा कृष्ण गौतमको ‘अद्धैत’ उपन्यास पनि राम्रै लाग्यो ।’

    मिडियामा झूर किताबको एकदमै प्रचार हुनु ठूलो समस्या देख्छन् बानियाँ । त्यस्ता झूर किताबहरू अमेरिका पुग्यो, युरोप पुग्यो भनेर सञ्जालमा प्रचार गरिनाले पनि पाठकहरूमा किताबप्रति विकर्षण जागेको बानियाँको तर्क छ ।

    राम्रा किताबले लाइमलाइट नपाउनु, झूर किताबको चर्चा अत्यधिक हुनुले पाठकमा विरक्ती आएको बताउँछन् ।

    बानियाँ भन्छन्, ‘राम्रो लेखकले मिहेनत गरेको हुन्छ । त्यो अनुपातमा आम्दानी हुँदैन । यही कारण लेखकहरू सेलेक्टिभ विषयमा लेख्छन् । तर, यहाँ दुई तीन महिनामै किताब लेख्ने चलन छ । पुरस्कार खाइहाल्ने लोभमा लेख्ने चलन छ । यो अति भयो । हामी किनारमा बसेर हेर्नेहरूलाई एकदमै पीडा हुन्छ । साथै यहाँ आफ्नो लेखनीमा आत्मविस्वास भएका लेखकहरू एकदमै कम छन् ।’

  • मनोज गजुरेलले गरे टाउकोमा ‘रोपाईं’ : ६ हजार कपाल रोपेपछि यस्तो छ लुक्स

    मनोज गजुरेलले गरे टाउकोमा ‘रोपाईं’ : ६ हजार कपाल रोपेपछि यस्तो छ लुक्स

    काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनका पछिल्ला केही एपिसोडमा तपाईंले मनोज गजुरेललाई ‘बाल्ड लुक’ मा देखिरहनु भएको छ । तर, आज प्रशारण हुने नयाँ एपिसोडमा उनको लुक्समा बदलाव पाउनुहुनेछ ।

    निर्देशक विशाल भण्डारीसहित टिम चढेको गाडी दुर्घटना हुँदा कमेडी च्याम्पियनको पछिल्ला दुई एपिसोड रोकिएको थियो । यस रियालिटी शोका एक जज प्रख्यात कमेडीयन गजुरेलले यही बीचमा आफ्नो टाउकोमा ‘रोपाईं’ गर्न भ्याएका छन् । यसअघि ‘विग’ लगाएर हिँड्ने गरेका गजुरेल त्यो झण्झटबाट मुक्त भए ।

    गजुरेलका अनुसार ३०–३२ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । जवानीमै तालुखुइले देखिन थालेपछि एकपटक उनी डाक्टरकहाँ पनि गए । डाक्टरले एउटा औषधि लेखिदिए । गजुरेलले सोधे, ‘यसले केही साइड इफेक्ट त हुँदैन नि,’ डाक्टरले नहुने भनेर पठाए ।

    तर, त्यो औषधिले कपाल झर्न रोकिनुको साटो झनै समस्या बढ्यो । टाउकोको मध्यभागमा अझै ठूलो क्षेत्रफल खाली हुन थाल्यो । त्यसपछि उनी आत्तिएर डाक्टरकहाँ गए ।

    ‘तपाईंले साइड इफेक्ट हुँदैन भन्नुभएको थियो, तर झन् धेरै कपाल झर्न थाल्यो त,’ गजुरेलले गुनासो गरे ।

    डाक्टरले जवाफ दिए, ‘साइड इफेक्ट पो हुँदैन भनेको हो त, तपाईंको त सेन्टर इफेक्ट भएछ । साइडको कपाल त सद्दे नै छ ।’

    मनोजले सुनाएको यो गफ रियल हो कि गजुरियल हो उनै जानुन् । तर, उनले आफ्नो टाउको र कपालमाथि अरु पनि जोक्स बनाएका छन् । विग लगाएर हिँड्न थालेपछि धेरै मान्छेले सोधेर हैरान गरे, ‘तपाईंको कपाल नक्कली कि सक्कली ? रोपेको हो कि पालेको ? एक्कासी कसरी कपाल पलायो ? आदि इत्यादी । आखिर गजुरेलले यसलाई पनि जोकमा ढाले ।

    ‘यो कपाल पालेको होइन, टालेको । रोपेको होइन छोपेको । ट्रान्सप्लान्ट होइन टाँसप्लान्ट हो ।’

    यसरी आफैंले सबै एक्सपोज गरिदिएपछि मानिसहरुले सोध्न पनि छाडे ।

    तर, विगबाट पनि विस्तारै अघाए मनोज । दिनहुँ विग टाँस्ने झण्झन्टबाट मुक्ति पाउन उनलाई परिवार र साथीभाइले सल्लाह दिए कपाल रोप्ने । लौन त भनेर उनी पनि जोस्सिए । अनि पुगे एरोगिन हेल्थकेयरमा । त्यहाँका डाक्टरले हेरेपछि उनलाई दुई चरणमा कपाल प्रत्यारोपण गर्न सल्लाह दिइयो । त्यसै अनुसार पहिलो चरणको ‘रोपाईं गजुरेलले सकेका छन् । उनको अगाडिको तालु अहिले ठुटे कपाल भरिएको छ । डाक्टरका अनुसार यो कपाल बढेर धेरै झर्छ र तलबाट टुसा पलाउँछ । त्यो ठूलो भएपछि चाहीँ झर्दैन ।

    मनोजकै टाउकोको पछाडि भागको कपाल निकालेर अगाडिको भागमा प्रत्यारोपण गरिएको हो । ६ हजार भन्दा बढी कपाल रोपिएको उनले बताए । तैपनि अहिले पातलो छ । दोस्रो चरणमा फेरि थप कपाल रोपेपछि उनको टाउको हराभरा हुने छ । कपाल रोपाईं गर्न खर्च गरेको पैसा उनले खुलाउन चाहेनन् । यद्यपि, क्लु चाहीँ दिए । मनोजका अनुसार बजारमा २५ देखि ९० रुपैयाँ गोटाका कपाल पाइन्छ । यही बीचको कुनै रेट भएको उनले बताए । औसतमा ५५ रुपैयाँ गोटा मान्ने हो भने ६ हजार कपालको ३ लाख ३० हजार जति लाग्ने देखिन्छ ।

    कपाल रोप्ने प्रक्रियालाई उनले धान रोपाईंसँग तुलना गरे ।

    ‘सुरुमा डाक्टरले नापजाँच गर्ने, टाउको सम्याउने, विउ राख्ने, मुठा पार्ने आदि काम गर्दा रहेछन् । उनीहरु हलिजस्ता भए । त्यसपछि सर्जनले पछाडिको कपाल उखेल्दै अगाडि रोप्दै गर्दा रहेछन् । उनीहरु रोपाहारजस्ता,’ मनोजले भने, ‘अगाडि लोकल एनेस्थेसिया दिइसकेपछि मलाई खासै सकस भएन ।’

    त्यसो त आफूलाई प्राकृतिकरुपमा नै गर्व लाग्ने मनोज बताउँछन् ।

    ‘मलाई तालु मन नपर्ने होइन । म त आफ्नो जस्तो रुप छ त्यसमा नै गर्व गर्ने मान्छे हो । तैपनि एउटा अनुभव लिउँ न भनेर प्रत्यारोपण गराएको हुँ,’ उनले भने ।

    कपाल प्रत्यारोपण सकेर गजुरेल अहिले ओमान पुगेका छन् । उनी दुई दिनपछि फर्किने सेड्यूल छ ।

     

  • मेयर भरत थापामाथि भ्रष्टाचार मुद्दा लागेपछि दीपेन्द्र के खनाललाई नैतिक संकट, के हुन्छ उनको बायोपिक ?

    मेयर भरत थापामाथि भ्रष्टाचार मुद्दा लागेपछि दीपेन्द्र के खनाललाई नैतिक संकट, के हुन्छ उनको बायोपिक ?

    काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको बायोपिक चलचित्र ‘मेयर’ को धमाधम छायांकन भइरहेको छ । तर, जोमाथि बायोपिक बनेको हो, उही व्यक्ति भ्रष्टाचारका अभियुक्त बनेका छन् ।

    खनालले सुरुमा बायोपिक चलचित्र ‘मेयर’ को घोषणा गर्दा धेरैले काठमाडौंका मेयर बालेन्द्र शाहमाथि बन्न लागेको अड्कल काटेका थिए । तर, यो चलचित्र बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनमाथि आधारित थियो, जुन खनालले सार्वजनिक रुपमै स्वीकारिसकेका छन् ।

    मेयर थापाले आफ्नै नामबाट सञ्चालनमा ल्याएको ‘भरत ताल’ अहिले तराईकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । योबाहेक बायोपिक नै बनाउनुपर्ने गरी उनको ठोस योगदान देखिएको छैन । प्रतिष्ठित निर्देशक खनाल के कति कारणले उनीमाथि चलचित्र बनाउन तम्सिएका हुन् भन्ने पनि खुलेको छैन ।

    आज मेयर थापाविरुद्ध अकुत सम्पत्ति आर्जनमा अख्तियारले मुद्दा दायर गरेपछि यो चलचित्रका मेकरलाई ठूलै झट्का लागेको हुनुपर्छ । अख्तियारले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको हो ।

    यो मुद्दाले थापाको छवि एकाएक धुमिल बनेको छ । अब निर्देशक खनालमाथि नैतिक संकट पर्नेछ । उनले चलचित्रलाई निरन्तरता दिन्छन् कि फैसला नआउञ्जेल थाँती राख्छन् भन्ने चासोको विषय हो । यस विषयमा जिज्ञासा राख्न खनाललाई पटक पटक सम्पर्क प्रयास गर्दा उनको फोन उठेन ।

    मेयर चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेले भरत थापाको मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा वर्षा राउत, ऋचा शर्मा, हरिहर शर्मा, अनुप बराल, रवीन्द्र झा, सञ्जोग रसाइलीलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकन अहिले सर्लाहीमै भइरहेको छ ।

    मेयर थापा माओवादीबाट निर्वाचित भएका हुन् । उनी गत स्थानीय चुनावमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

  • वैशाखमा ‘जन्ती जाँदै’ दुर्गेश, यस्तो छ लुक्स

    वैशाखमा ‘जन्ती जाँदै’ दुर्गेश, यस्तो छ लुक्स

    काठमाडौं । गायक दुर्गेश थापा नयाँ वर्षमा सांगीतिक कोशेलीसहित दर्शक/श्रोतामाझ प्रस्तुत हुने भएका छन् । उनको नयाँ गीत ‘जन्ती’ को म्युजिक भिडियो वैशाखमा रिलिज हुँदैछ ।

    म्युजिक भिडियोमा नयाँ नयाँ प्रयोग गर्न खप्पिस दुर्गेशले जन्तीमा पनि कुनै कसर छोडेका छैनन् । गीतमा दुर्गेशको लुक्स निकै फरक छ र दर्शकले ठम्याउन पनि गाह्रो हुन सक्छ । यो लुक्सभित्रको रहस्य चाहिँ म्युजिक भिडियोबाटै खुल्नेछ ।

    यो गीत दुर्गेश आफैँले लेखेका हुन् । संगीत र आवाज पनि उनकै छ । म्युजिक भिडिओ पनि आफैंले निर्देशन गरेका छन् ।

    भिडियोमा लोसिना लामिछाने, सन्ध्या क्षेत्री र तिब्बतीमूलका गायक पेम्बा लामालाई पनि फिचर्ड छन् ।

    गीतको कोरियोग्राफी रोशन विश्वकर्माले र क्यामरामा नवराज उप्रेती रहेका छन् ।

  • महाजात्रापछि डिग्री माइलाले पनि पायो उच्च शो, कस्तो होला व्यापार ?

    महाजात्रापछि डिग्री माइलाले पनि पायो उच्च शो, कस्तो होला व्यापार ?

    काठमाडौं । वर्षकै प्रतीक्षित सिनेमा ‘डिग्री माइला’ शुक्रवारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रलाई देशभरका हलहरूले उच्च शो दिएका छन् ।

    निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डीग्री माइला दर्शकको पर्खाइमा छ ।

    बुधवारसम्म यो चलचित्रले देशभर १५५ शो पाएको छ । क्यूएफएक्सले मात्रै ५८ शो दिएको छ ।

    चलचित्रका वितरक गोविन्द शाहीले शुक्रवार र शनिवार मात्रै झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।

    यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ ले रिलिजको पहिलो शनिवार ३ करोडभन्दा बढीको व्यापार गरेको दाबी थियो ।

  • ‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले माग्ने बुढालाई दिए जन्मदिनको शुभकामना

    ‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले माग्ने बुढालाई दिए जन्मदिनको शुभकामना

    काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आज आफ्नो जन्मदिन मनाउँदैछन् । माग्ने बुढालाई बिहानैदेखि जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ ।

    यसैबीच अभिनेता दीपकराज गिरीले पनि माग्ने बुढालाई केही रोचक ढंगले जन्मदिनको शुभकामना दिएका छन् । आफूहरुको दोस्ती सम्झिँदै माग्ने बुढासँगका केही किस्सा दीपकले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

    ‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले लेखेका छन्,

    ‘स्कुल पढ्दै थिएँ । त्यतिबेला हिन्दी फिल्म ‘शोले’ को चर्चा खुब सुनिन्थ्यो । धर्मेन्द्रको फिल्म नेपालमा अघोषित प्रतिबन्ध जस्तै थियो । त्यसैले यो फिल्म हेर्न रक्सौल पुगें । हलबाट निस्कँदा एउटा गीत मुखमै झुन्डियो- ‘ये दोस्ती हम नहीं तोडेंगे’। त्यतिमात्रै होइन, आफूलाई बिरू सम्झेर जय जस्तै साथी भए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । तर, पाइएन । आजकलको स्वार्थी संसारमा साथीको लागि सिक्का टस गर्दै आफूलाई मृत्युको मुखमा पार्ने साथी कहाँ पउनु ? पछि उमेर बढ्दै गयो । महसुस हुन थाल्यो कि ठ्याक्कै जय जस्तै साथी पाउन त म पनि बिरू जस्तै निस्वार्थी हुन जरूरी थियो ।

    फिल्मको पर्दामा देखिए जस्तै जय र बिरू नपाए पनि काम गर्दै जाँदा करिब करिब त्यस्तै लाग्ने साथीहरू भेटिँदोरहेछ । विगत ११ वर्षदेखि माग्ने बुढा ‘केदारप्रसाद घिमिरे’ र म ‘हामी’ भएर निरन्तर काम गरिरहेका छौं । हामी एक-अर्काका धेरै कमी-कमजोरीहरू र स्वार्थहरू पनि होलान् । तर, निरन्तर सहकार्य गरिरहेका छौं, अघि बढिरहेका छौं । संयोग पनि कस्तो ? फिल्म हेरेर कल्पना गरेको जय र बिरू आखिर फिल्म निर्माणकै क्रममा भेटियो । मेरो प्रिय भाइ, प्रिय साथी केदार, जन्मदिनको हार्दिक शुभकामना । ये दोस्ती हम नही तोडेंगे ।’

  • मानव सेवा आश्रमको पूर्वाधार सहयोगार्थ बेलायतमा सांगीतिक कार्यक्रम गर्दै आनी

    मानव सेवा आश्रमको पूर्वाधार सहयोगार्थ बेलायतमा सांगीतिक कार्यक्रम गर्दै आनी

    काठमाडौं । ‘फूलको आँखामा फूलै संसार’ बोलको चर्चित गीतकी गायिका आनी छोइङ डोल्मा बेलायतमा गुञ्जिने भएकी छिन् । आउँदो मे ५ मा क्याम्बर्लि सरेस्थित लेकसाइड इन्टरनेशनल कन्ट्री पार्कको हलमा आनीको विशेष सांगीतिक प्रस्तुतिको तय भएको छ ।

    ‘इनर मेलोडि फर इनर पिस’ नाम दिइएको कार्यक्रम मानव सेवा आश्रम नेपालको भवन निर्माणको सहयोगार्थ गर्न लागिएको हो । पछिल्ला दिनमा गायनसागै सामाजिक कार्यमा व्यस्त आनीले कार्यक्रममा आफ्ना चर्चित गीत पस्किने बताइएको छ । मानवताको संरक्षण र प्रवर्द्धनमा दशकदेखि गतिविधि गर्दै आएको मानव सेवा आश्रमले २०८२ सालसम्ममा सहयोगापेक्षि सडक आश्रित मानवमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्य पूरा गर्न आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रमबाट एक करोड ६८ लाख रूपैयाँ संकलन गर्ने लक्ष्य आयोजकको छ ।

    उक्त कार्यक्रममा नेपाली दर्शकसँगै आध्यात्मिक तथा बौद्ध धर्ममा आस्था राख्ने बेलायत तथा युरोपका गरी १५ सय दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । कार्यक्रम विशुद्ध आध्यात्मिक हुने भन्दै मदिरा र मासु बर्जित गरिएको छ ।

    सांगीतिक कार्यक्रमको मुख्य अतिथिमा बेलायतका लगि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहने छन् । कार्यक्रम सफल बनाउन संस्थाका संयोजक सुनिलबाबु खड्काको संयोजकत्वमा ३१ सदस्यीय मूल समितिसहित उपसमितिहरू बनाइएको छ ।

    मानव सेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालन गरिरहेको छ । हालसम्म १० हजारभन्दा बढी मानसिक र शारिरीकरूपमा अशक्त व्यक्तिलाई आश्रय दिनुका साथै परिवारबाट विच्छेद भएका ३ हजार १ सय ८० जनाको पुनर्मिलन गराइएको छ ।