Category: कलाप्रेस

  • बिहेमा रमाएकी एलिना बिदाइमा भावविव्हल (तस्बिरहरू)

    बिहेमा रमाएकी एलिना बिदाइमा भावविव्हल (तस्बिरहरू)

    काठमाडौं । लाखौँ युवाहरूले मनमा सजाएकी गायिका एलिना चौहान हिजोबाट स्थायी रूपमा कसैकी भएकी छन् ।बागलुङ निवासी विष्णु सापकोटासँग लगनगाँठो कस्दै उनी ‘विवाहित क्लब’मा प्रवेश गरिन् ।

    बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा एलिना र विष्णुको धूमधामले विवाह भयो । उनीहरूले सबै परम्परागत विधिहरू पूरा गरेर लगनगाँठो कसे । बेहुली पहिरनमा एलिना निकै खुलेकी थिइन् । यद्यपि, बिर्तामोडको गर्मीले उनलाई सकस भने परेको थियो ।

    एलिनालाई सिन्दूर हाल्न विष्णुले बागलुङबाटै जन्ती लिएर गएका थिए । बिहेको अघिल्लो राति अचानक दुलाहा घरमै टुपुल्किएपछि एलिना दंग परेकी थिइन् । मेहेन्दी समारोह निकै रौनकमय भएको थियो ।

    भोलिपल्ट विवाह पनि रमाइलो भयो । वैवाहिक समारोहमा एलिनाका परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ थिए । कलाकारहरू धेरै थिएनन् । गायिकाहरू रचना रिमाल, एन्जिला रेग्मी, मेलिना मैनाली लगायतले एलिनाको विवाहमा गएर उनलाई साथ दिए ।

    दिनभरि नै विवाहको रमाइलो माहोल थियो । गायक विजय पुनले बेहुला–बेहुलीलाई दिएको गिफ्ट चर्चाको विषय बन्यो । उनले बेहुलालाई कुचो र बेहुलीलाई बेल्ना–चौका उपहार दिएका थिए । विवाहमा सालीहरूले जुत्ता चोरेपछि विष्णुले मोटो रकम (नगद २५ हजार रुपैयाँ) तिर्नुपरेको थियो ।

    बिदाइको क्षण भने भावुक बन्यो । जतिसुकै माया गरेको मान्छेसँग बिहे गरे पनि आफ्नो जन्मे हुर्केको परिवारबाट बिदा हुँदा मन त कहाँ मान्छ र । एलिना पनि परिवारजनसँग छुट्टिँदा निकै भावविव्हल बनिन् । उनी रोएपछि अरूले पनि आँशु थाम्न सकेनन् । गायिका रचना रिमालको आँखामा पनि आँशु छचल्किएको थियो ।

    एलिना बुबाआमाकी जेठी छोरी हुन् । उनका एक भाइ, दुई बहिनी छन् । पहिलोपटक छोरी बिदा गर्दा बुबाआमा पनि भावुक बनेका थिए ।

    एलिनालाई विष्णुले टाँगामा राखेर लिएर हिँडे । उनलाई बाग्लुङमै लगेर विधिपूर्वक भित्र्याइँदै छ । विष्णु अष्ट्रेलियामा बस्छन् ।

  • ‘मनसरा’को ट्रेलर सार्वजनिक

    ‘मनसरा’को ट्रेलर सार्वजनिक

    काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

    फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ ।

    अन्तरजातीय विवाह गरेका पुरुष र उसको छिमेकीको रूपमा आएकी लिम्बुनी, उनीहरूबीचको सम्बन्ध, उतारचढाव, आकर्षण र श्रीमतीको खोजीमा हिँडेका पात्रलाई ट्रेलरमा समेटिएको छ ।

    साथै फिल्ममा कवि विप्लव प्रतीक समेत देखिएका छन् । शान्ति गिरी, हेमन्त बुढाथोकी, निनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायत कलाकारको पनि अभिनय रहेको छ ।

    फिल्म आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सुब्बाको डेब्यु फिल्म ‘जारी’ सुपरहिट भएको थियो ।

  • बिहेको अघिल्लो रात विष्णु टुप्लुक्क एलिनाको घरमा पुगेपछि…

    बिहेको अघिल्लो रात विष्णु टुप्लुक्क एलिनाको घरमा पुगेपछि…

    काठमाडौं । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छन् । बागलुङका विष्णु सापकोटासँग उनले झापास्थित आफ्नै घरमा लगनगाँठो कसेकी हुन् ।

    एलिनालाई सिन्दूर हाल्न विष्णु हिजै बागलुङबाट जन्ती लिएर हिँडेका थिए । विष्णु आफ्नो बुवा र एक जना साथीसहित प्लेन चढेर काठमाडौंतिर आए । जन्ती चाहिँ गाडीमै झापा लाग्यो ।

    काठमाडौंको विमानस्थलमा आएर विष्णुले झापाको टिकट काटे । भद्रपुर जाने प्लेनको टिकट पाउन निकै धौधौ परेको थियो । माथिको सोर्स लगाएर बल्लतल्ल तीन वटा टिकट मिलाइएको विष्णुले बताएका छन् ।

    विष्णु प्लेनमा जानुको उद्देश्य थियो, एलिनालाई सरप्राइज दिने । एलिनाले विष्णु जन्ती लिएर घरबाट हिँडेको त थाहा पाएकी थिइन्, तर उनीहरू भोलिपल्ट बिहान मात्र आइपुग्ने भनिएको थियो । विष्णु भने अघिल्लो दिनै पुगेर एलिनालाई ट्वाँ पार्न चाहन्थे ।

    काठमाडौंबाट उडेर भद्रपुर विमानस्थलमा पुग्दा झमक्कै साँझ पर्‍यो । सामाजिक सञ्जालमा विष्णु बिहेको अघिल्लो दिनै झापा पुगेको खबर भाइरल भइसकेको थियो । भद्रपुर विमानस्थलमा ओर्लिएपछि विष्णुलाई लिन बेहुलीपट्टिबाट एउटा कार पठाइएको थियो, जसको खबर एलिनालाई थिएन ।

    घरबाट दुलाहाको पहिरनमा हिँडेका विष्णुले कारभित्रै ड्रेस चेञ्ज गरे । माला फुकालेर थन्क्याए । अनुहारमा मास्क लगाएर उनी बेहुलीको घरमा प्रवेश गरेका थिए ।

    एलिनाको घरभित्र मेहन्दीको सुरसार भइरहेको थियो । राति ९ बजेतिर अनपेक्षितरुपमा विष्णुलाई घरभित्र देखेपछि एलिनाको खुशीको सीमा रहेन । विष्णुले फूलगुच्छा दिएर एलिनालाई थप मक्ख पारे । एक छिन हाँसी मजाक र दोहोरी पनि चल्यो । राति अबेरसम्म मेहन्दी समारोह चलेको थियो ।

    त्यसपछि विष्णु आफ्नो बुवा र साथीलाई लिएर नजिकै बुक गरिएको होटलमा सुत्न गए । बागलुङबाट गएको जन्ती भने बिहान मात्रै पुगेको थियो ।

  • स्टेजमै युवतीहरूको ‘किस’ पाएका गायक दूतराज आल्हादित हुँदै भन्छन्- यो उहाँहरूको माया हो

    स्टेजमै युवतीहरूको ‘किस’ पाएका गायक दूतराज आल्हादित हुँदै भन्छन्- यो उहाँहरूको माया हो

    काठमाडौँ । गायक प्रकाश दूतराज अस्ति पोखराको एउटा महोत्सवमा केही युवतीहरूको ‘सिरियल किसिङ’ मा परे । गीत गाइरहँदा ४–५ जना युवती पालैपालो स्टेजमा उक्लेर उनलाई किस गर्दै भागेका थिए ।

    यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा रमाइला प्रतिक्रियाहरू आइरहेका छन् । धेरैको टिप्पणी छ, ‘यदि कुनै महिला कलाकारलाई पुरुष फ्यानले यस्तो गरेको भए ह्यारेसमेन्टको केसमा मुद्दा चल्थ्यो । महिलालाई जे पनि छुट छ ।’

    हेम्जा आलु महोत्सवमा गीत गाउँदा गाउँदै युवतीले किस गरेपछि दूतराज स्तब्ध बनेका थिए । उनको अनुहार लाजले रातोपिरो भएको थियो । उनको प्रस्तुति भने बिथोलिएन, तर उनको गायकीमा अलिकति प्रभाव भने पर्‍यो नै ।

    फ्यानहरूको त्यो दिवानापनलाई गायक दूतराजले नकारात्मक रूपमा लिएका छैनन् । बरु आल्हादित छन् उनी । यसलाई दर्शकको मायाका रूपमा उनले अर्थ्याए । यद्यपि, आफूलाई त्यो क्षण लाज भने लागेको दूतराजको स्वीकारोक्ति छ ।

    स्टेजमै उक्लेर युवतीहरूले किस खाँदा कस्तो अनुभूति भयो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले लजाउँदै जवाफ दिए, ‘माया गर्नुभयो भनुम् न किस भन्दा पनि । अलिअलि लाज पनि लाग्यो । स्टेजमा चार–पाँच जना आएर त्यसरी माया गर्नुभयो ।’

    स्टेज कार्यक्रममा जाँदा फ्यानहरूको घेराउमा त दूतराज परि नै रहन्थे । तर, यो स्तरको ‘क्रेज’ भने पहिलो पटक फेस गरेका हुन् ।

    ‘कार्यक्रमपछि भेट्न र फोटो खिचाउन चाहनेहरू त धेरै हुनुहुन्छ । तर, यसरी किसै खानुभएको चाहिँ थिएन । मैले यसलाई जीवनकै एउटा अविस्मरणीय सम्झनाको रूपमा संगालेको छु,’ उनले भने ।

    दूतराज थप्छन्, ‘म त सरप्राइज नै भएँ । गाउन घरीघरी रोकिएँ । भावुक पनि भएँ । हेम्जाको यो कार्यक्रममा उहाँहरूले दिएको माया र सद्भावलाई सधैँ सम्झिने छु । नकारात्मक हिसाबले पटक्कै लिएको छैन । मलाई एउटा परिवार सोचेर र मनमा राखेर उहाँहरूले त्यस्तो गर्नुभएको हो । उहाँहरूले जति माया गर्नुहुन्छ, त्यति नै हामीमा सकारात्मक इनर्जी थपिन्छ ।’

    स्टेजमा किस खाने युवतीहरूसँग दूतराजको कार्यक्रमपछि भेट भएन । फ्लाइट छुट्ने भएकाले कार्यक्रम सकिनासाथ उनी त्यहाँबाट निस्किएका थिए ।

    स्टेजमै आएर किस गर्ने फ्यानहरूलाई भेट्न चाहनुहुन्छ रु भन्ने प्रश्नमा भने दूतराजले हाँस्दै जवाफ दिए, ‘चाहने भन्दा पनि भेट्ने अवसर मिल्यो भने म उहाँहरूलाई धन्यवाद दिने छु । सदैव यसरी नै मेरो साथमा रहिदिनु भन्छु ।’

    दूतराज अविवाहित गायक हुन् । उनले आफू अहिले सिंगल रहेको बताए ।

  • एलिनाले बिष्णुसँग कसिन् लगनगाँठो

    एलिनाले बिष्णुसँग कसिन् लगनगाँठो

    काठमाडौं । चर्चित गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन्।

    चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन्। घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् ।

    विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्।

    बाग्लुङबाट जन्ति लिएर हिजै दुलाहाकै पहिरनमा सजिएर झापा पुगेका बिष्णु साँझ एलिनाको मेहेन्दीमा पुगेका थिए। दिउँसो हल्दी सकेपछि साँझ एलिनाको मेहेन्दी समारोहको थियो।

    एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गरेका हुन् ।

    तस्बिर: गाेपीकृष्ण चापागाई‌ं

  • चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने, भित्रिए नयाँ निर्देशक

    चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने, भित्रिए नयाँ निर्देशक

    काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ।

    चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्ने भएका छन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। चलचित्रको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।

    यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन। उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन्।

    यसअघि २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए। विविध कारणले उनले चलचित्र बनाएनन्।

    सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ भने निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शङ्कर कोइराला, सह निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।

    २०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए। यी दुवै चलचित्र ‘टीनएज ड्रामा’मा आधारित थिए। घरेलु बक्स अफिसमा दुवै चलचित्र सफल भएका थियो।

    ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए। उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे।

    ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

    पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशक देखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन्। उनका चर्चित भिडियोहरूमा पुस्पन प्रधानको चर्चित गीत ‘बाबुको जुङो’, राजेश राइको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुखी बनेर’ आदि रहेका छन्। उनले स्वर दिएको गीत ‘एक दिन त जाने हो संसार छोडेर’ निकै चर्चित छ।

    ‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्सको प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन्। चलचित्रका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए। यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखिएको निर्देशकले बताए।

  • आज विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान

    आज विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान

    काठमाडौं । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदैछिन् । बाग्लुङका विष्णु सापकोटासँग उनको लगनगाँठो कसिन लागेको हो । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह हुँदैछ।

    बिष्णु सापकोटा हिजै बाग्लुङबाट जन्ति लिएर झापा पुगिसकेका छन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो  ।

    विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गर्न लागेका हुन् ।

  • एलिनाको विहेमा अस्मिता र समीक्षा छुट्ने, हल्दी-मेहेन्दीमै पुगे एञ्जिला र मेलिना (तस्बिरहरु)

    एलिनाको विहेमा अस्मिता र समीक्षा छुट्ने, हल्दी-मेहेन्दीमै पुगे एञ्जिला र मेलिना (तस्बिरहरु)

    काठमाडौं । गायिका एलिना चौहानको झापा बिर्तामोडस्थित घरमा विवाहको रौनक छ । एलिनालाई भोलि सिन्दुर हाल्न बागलुङबाट बिष्णु सापकोटा झापा आइसकेका छन् ।

    हिजो मात्रै साइप्रसबाट फर्केकी एलिनाले आज हतारमा हल्दी र मेहन्दी समारोह आयोजना गरिन् । कार्यक्रममा एलिनाका परिवार, आफन्त र साथीभाइहरुको उपस्थिति थियो ।

    सांगीतिक क्षेत्रमा एलिनका निकट साथीहरुमध्ये एन्जिला रेग्मी र मेलिना मैनाली एलिनालाई साथ दिन उनको घरमा पुगेका छन् । उनीहरु हल्दी र मेहेन्दीको रौनकमा सहभागी भए ।

    भोलि विवाहमा काठमाडौंबाट थुप्रै गायक-गायिकाहरु जाँदैछन् । एलिनाका समकालीन गायिकाहरुमध्ये समिक्षा अधिकारी र अस्मिता अधिकारी भने विवाहमा छुट्ने भएका छन् ।

    उनीहहरु दुवै विदेश भ्रमणमा रहेकाले एलिनाको बिहे हेर्न नपाउने भएका हुन् । अस्मिता गत १४ अप्रिलमा आयोजना भएको एनआरएनए म्युजिक फेस्टिभलका लागी थाइल्यान्डको फुकेट पुगेकी छिन् । समिक्षा भने हिजो मात्रै जापान उडेकी छन् ।

    अर्की गायिका रचना रिमाले भने विवाहमा जाने छिन् । उनी अहिले झापामा नै छिन् । आज सञ्चो नभएको र बेलुका कार्यक्रम पनि भएकाले हल्दी–मेहेन्दीमा भने जान नपाएको रचनाले बताइन् ।

    एलिनाले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कस्न लागेकी हुन् । बिष्णु दुलाहाकै पहिरनमा सजिएर आज बाग्लुङबाट जन्ती लिएर झापा पुगेका छन् । विवाह भोलि एलिनाकै घरमा परम्परागत रितिरिवाजअनुसार हुनेछ ।

  • हेम्जा आलु महोत्सव: स्टेजमा गाइरहेका प्रकाश दूतराजलाई किस खाएर भागे ३ युवती (भिडिओ)

    हेम्जा आलु महोत्सव: स्टेजमा गाइरहेका प्रकाश दूतराजलाई किस खाएर भागे ३ युवती (भिडिओ)

    कास्की । संगीतप्रेमीहरुमा गायक प्रकाश दूतराजको क्रेज अहिले कति छ भनेर त बयान गरिरहनु नपर्ला । मेलोडियस गीतका पारखीहरुमाझ उनको लोकप्रियता दिन प्रतिदिन चुलिँदो छ । बढी त उनका फिमेल फ्यानहरु छन् ।

    युवतीहरुमाझ दूतराजको क्रेजको एक झल्को देखियो हिजो पोखरामा । १२ औं हेम्जा आलु महोत्सवको अन्तिम दिन उनी प्रस्तुति दिन पुगेका थिए । उनलाई हेर्न र सुन्न आउनेहरुमध्ये अधिकांस टिनएजर्स युवती थिए ।

    दूतराजले ‘रिमै…..’ गीत सुरु गरेपछि युवतीहरु नशा लागेझैं लठ्ठिए । उनीहरुले सँगसँगै गाएर दूतराजलाई साथ दिँदा माहोल गुलजार बन्यो । यत्तिकैमा एउटा अप्रत्याशित दृश्य देखियो, जसको गायक स्वयंले सायदै पूर्वानुमान गरेका थिए । एक युवती पछाडिबाट स्टेज उक्लिइन् र माइक समातेर गाइरहेका दूतराजलाई ग्वाम्म अंगालो हालिन् । अनि, गालामा किस गरेर भागिन् ।

    दूतराज स्तब्ध देखिए । उनको अनुहार लाजले रातोपीरो भयो । उनले युवतीलाई धन्यवाद दिँदै भने, ‘म त लाजले मरें है ।’ त्यसपछि आफ्नो गायकीलाई निरन्तरता दिए ।

    आयोजकका अनुसार दूतराजलाई थप दुई युवतीले पनि स्टेजमा उक्लेर किस खाएका थिए । यद्यपि, त्यसले कार्यक्रममा कुनै असर परेन ।

    महोत्सव आयोजक सुविन श्रेष्ठले स्वयंसेवकको घेरा तोडेर केही युवतीहरुले त्यस्तो कार्य गरेको बताइन् ।

    ‘प्रकाश दूतराजले गीत गाइरहेको बेला स्वयंसेवकको घेरा तोडेर पालैपालो ३-४ जना युवती स्टेजमाथि आउनुभएको हो । त्यसले उहाँको प्रस्तुतिमा कुनै असर गरेन । उहाँले अन्यथा लिनुभएको पनि छैन’, उनले भनिन् ।

    हेम्जा आलु महोत्सव भोलिसम्म चल्नेछ ।

    हेर्नुस् भिडिओ

    @royal_king_saaho #rimai #parkash #dutraj #foryou #chitawan_muser #foryoupage #royal_king_saaho #2081 #kathmandu #happynewyear ♬ Rimai – Prakash Dutraj & Melina Rai

  • एलिनालाई सिन्दुर हाल्न अघिल्लै दिन जन्ति लिएर झापा पुगे विष्णु सापकोटा

    एलिनालाई सिन्दुर हाल्न अघिल्लै दिन जन्ति लिएर झापा पुगे विष्णु सापकोटा

    काठमाडौं । चर्चित गायिका एलिना चौहान भोलि विवाह बन्धनमा बाँधिदैछिन् । बाग्लुङका विष्णु सापकोटासँग उनको लगनगाँठो कसिन लागेको हो ।

    बिहे भोलि भए पनि बिष्णु सापकोटा आजै बाग्लुङबाट जन्ति लिएर झापा पुगिसकेका छन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् । अहिले उनीहरुको हल्दी र मेहन्दी समारोह भइरहेको बुझिएको छ । भोलि एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह हुने छ ।

    सांगीतिक कार्यक्रमका लागि साइप्रस पुगेकी एलिना हिजो मात्रै फर्केकी हुन् । साइप्रस जानुअघि नै उनले विवाहका लागि लत्ता कपडा र गरगहनाको किनमेल गरिसकेकी थिइन् । विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् ।

    एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गर्न लागेका हुन् ।

  • रहेनन् प्रख्यात गजलकार प्रकट पङ्गेनी

    रहेनन् प्रख्यात गजलकार प्रकट पङ्गेनी

    पोखरा । साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको हो ।

    निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।

    पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।

  • दुईसय करोड लगानी गरी छोरी सुहानालाई डेब्यु गराउँदै शाहरुख

    दुईसय करोड लगानी गरी छोरी सुहानालाई डेब्यु गराउँदै शाहरुख

    मुम्बई । आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत फिल्म बनाइरहेका बलिउड अभिनेता शाहरुख खानले छोरी सुहाना खानलाई ठुलो पर्दामा ‘डेब्यू’ गराउने भएका छन् । यतिबेला शाहरुख सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् भने सोही चलचित्रबाट सुहाना डेब्यु गर्ने तयारीमा छिन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको चलचित्रमा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् ।

    यसै वर्षको मेमाबाट फिल्म ‘किंग’को सुटिङ सुरु हुँदैछ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठुलो स्केलमा बनाउनका लागि एक वर्षयता गृहकार्य गरिरहेका छन ।

    फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् । निर्माताहरू यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा फिल्मलाई दर्शकमाझ ल्याउने योजनामा छन् ।

    फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारी भएकाले सिद्धार्थ र शाहरुख अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरू भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।

    सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।

     

  • बर्दघाट महोत्सवमा दुर्गेशले छाडा शब्द बाेलेकाे भन्दै सरोकारवालाको विरोध

    बर्दघाट महोत्सवमा दुर्गेशले छाडा शब्द बाेलेकाे भन्दै सरोकारवालाको विरोध

    रूपन्देही । नवलपरासीको बर्दघाटमा आयोजित सातौं कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक मेलामा दिएको प्रस्तुतिलाई लिएर गायक दुर्गेश थापा विवादमा तानिएका छन् । कार्यक्रममा उनले ‘छाडा’ शब्दहरु प्रयोग गरेर र्‍याप गाएको भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।

    मेलाको सोमबार गरिएको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले संगीतका नाममा भित्रिएको विकृतिप्रति चिन्ता व्यक्त गरे । दुर्गेशको प्रस्तुतिलाई लक्ष्यित गर्दै उनीहरुले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

    बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन आइतबार साँझ दुर्गेश थापाको प्रस्तुती थियो । उनले गीतहरुसँगै र्‍याप पनि सुनाएका थिए । र्‍यापमा प्रयोग भएका शब्दहरुलाई लिएर असन्तुष्टि देखिएको हो । सबै उमेर समूहका दर्शकहरु आएको महोत्सवमा यस्ता शब्दहरु प्रयोग गर्नु वाञ्छनीय नभएको टिप्पणी गरिएको छ ।

    दुर्गेशको र्यापको एउटा अंश यस्तो थियोः
    न त मिल्छ सुर मेरो न त मिल्छ ताल
    हाम्रो लाइफ हाम्रो मर्जि तँलाई के को बाल
    हिरो बन्ने होइन मुला आउला फेरि काल
    आज छिरेँ चौकी भोलि निस्किहाल्छु बाल
    गर्नेवाला छैन कोही मलाई यहाँ सवाल
    सवाल खोज्न आए भने गरिदिन्छु बबाल
    दुर्गेशले र्‍यापमा एकाधपटक मा… मु… पनि भनेका थिए । उनले यस्ता शब्द बोल्दा स्टेजमा नै रहेका महिला अतिथिहरुको मुख रातोपिरो भएको थियो ।

    त्यस्तो त दुर्गेशको प्रस्तुतिमा दर्शक खुबै रमाएका पनि थिए । उनले पनि दर्शकलाई मनोरञ्जन गराउन कुनै कसर छोडेनन् । सँधैजस्तो उनी बिन्दास र उन्मुक्त हाउभाउमा देखिएका थिए ।

    समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मनोरञ्जनको नाममा विकृति भित्रिन नहुने बताए । मेला–महोत्सवले कला–संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सक्नु पर्नेमा उनले जोड दिए ।

    बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा।घनश्याम न्यौपाने ‘परिश्रमी’ ले गीत–संगीतका नाममा देशैभर विकृति मौलाउन थालेको बताए ।
    दुर्गेश थापाको प्रस्तुतीलाई ईंगित गर्दै कुलपति न्यौपानेले भने, ‘माथिबाट आयात गरिएका केही कलाकारले अश्लीलताका माध्यमबाट आफ्नो प्रचार र बिज्ञापन गरेर जान्छन् । एकछिनका लागि ताली बज्ला, वाहवाही त होला, केहीले रुचाउलान् पनि, तर यस्ता प्रस्तुतिले संस्कृतिको जगेर्ना हुँदैन ।’

    मेला–महोत्सवमा स्थानीय पहिचान र कला सस्कृती झल्किन सक्नुपर्ने डा.न्यौपानेको जोड रहेको थियो । समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङ, उद्योग बाणिज्य संघका सल्लाहकार दामोदर जिसी, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका सल्लाहकार एकदेव पाण्डेले संस्कृतिका नाममा अभद्र प्रस्तुति हुने गरेको र यसले बाल मनोबिज्ञानमा नकारात्मक असर परेको बताए । मेला महोत्सवमा पुराना कलाकारहरु समेटिन नसक्नु दुखद रहेको सल्लाहकार पाण्डेको भनाई थियो ।

    मेला हेर्न आएका एक दर्शकले भने, ‘गीत गाउने भन्दैमा मुखमा आएको फोहोरो बोलेको छ । आमा, दिदी–बहिनी र छोराछोरीसँग बसेर त हेर्नै नमिल्ने खालको रहेछ । कलाकार भन्दैमा खुलमखुला यस्तो बोलेर पनि सस्कृतिको जगेर्ना हुन्छ ?’

    मेलामा समाचार संकलनका लागि पुगेका स्थानीय पत्रकार नारायण भण्डारीले दुर्गेश थापाको प्रस्तुती भइरहँदा आफूसँगै आएको छोराले समेत मेलामा यस्तो बोल्न पाइन्छ र भनेर प्रश्न गरेको सुनाए ।

    बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापासँग आपत्ति जनाइएको बताएका छन् ।

    ‘मेले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नुभयो भने तपाईलाई महोत्सवमा बोलाइदैन भनेर मैले आपत्ति जनाएको छु,’ अध्यक्ष न्यौपानेले भने ।
    अश्लिलता र अभद्र प्रस्तुतीकै कारण केही कलाकारलाई यो बर्ष नबोलाइएको न्यौपानेले स्पष्ट पारे ।

  • मोफसलका दर्शक भेटघाटमा निस्के ‘डिग्री माइला’का कलाकारहरु

    मोफसलका दर्शक भेटघाटमा निस्के ‘डिग्री माइला’का कलाकारहरु

    काठमाडौँ। गत चैत ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’का कलाकारहरु मोफसलका दर्शक भेटघाटमा निस्केका छन्। दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हल–हलमा पुगिरहेका चलचित्रका प्रमुख कलाकारहरु आजबाट मोफसलका लागि निस्केका हुन्।

    दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो । कोशी प्रदेशको राजधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।

    पोखरेलका अनुसार टिम मगंलबार बिहान १० बजे विराटनगरस्थित क्यूएफएक्स सिनेमा हलमा पुगी ११–३० को शो हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछन्। यसैक्रममा उनीहरु विराटनगरका विभिन्न सिनेमा हलहरुमा पनि पुग्नेछन् ।

    विराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछन भने साँझको ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछन। त्यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

    निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्रले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको चलचित्रको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

    बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।

    क्रिश लामा कार्यकारी निर्माता रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

  • ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिको जोडी, यस्तो छ पहिलो पोस्टर

    ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिको जोडी, यस्तो छ पहिलो पोस्टर

    काठमाडौं । भाइरल हुन उटपटाङ गर्ने प्रवृत्तिलाई लिएर निर्माण हुन लागेको सिनेमा ‘भाइरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्र का प्रमुख कलाकार सौगात मल्ल दुईवटा भैँसीमाथि उभिएका छन् ।

    पोस्टरले कमेडी जानरामा चलचित्र बन्न लागेको संकेत गर्छ । निगम श्रेष्ठ निर्देशित चलचित्रमा सौगातका अलावा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।

    ‘सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक श्रेष्ठले भने, ‘यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ । भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

    द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण हुने चलचित्रलाई अमर महर्जनले खिच्ने छन् । चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ ।

    भाइरल गोर्खे यही वैशाख ६ गतेबाट छायाङ्कनमा जाँदैछ । चलचित्रको छायाङ्कन लम्जुङ र गोरखामा हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।

  • रमित ढुंगानाको फिल्ममा केपी ओली र ज्ञानेन्द्र शाहीपछि माधव नेपाल पनि अनुबन्धित

    रमित ढुंगानाको फिल्ममा केपी ओली र ज्ञानेन्द्र शाहीपछि माधव नेपाल पनि अनुबन्धित

    काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अनुबन्धित भएका छन् । यसअघि उक्त चलचित्रमा एमालेअध्यक्ष केपी शर्मा ओली र   राप्रपा सांसद ज्ञानेन्द्र शाही अनुबन्धित भइसकेका छन् ।

    उक्त फिल्ममा नेपाल पूर्वप्रधानमन्त्रीको भूमिकामा देखिँदैछन् भने ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने जनाइएको छ ।

    नेपाल फिल्ममा जाेडिएकाे निर्देशक रंमित ढुंगानाले बताए । आज चलचित्रको छायांकन  भइरहेकाे छ । माधव नेपाल अहिले  अभिनयका लागि सुटिङस्थल काेटेश्वर क्याम्पसमा छन् । एसिड आक्रमणविरूद्धकाे प्रदर्शनमा माधव नेपाल र ज्ञानेन्द्र शाही सहभागी भएकाे देखाइनेछ ।

    तेजाव पीडितहरूको कथामा आधारित यो चलचित्रमा रमित ढुंगानाकाे लगानी रहेकाे छ । पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित भएर याे चलचित्र निर्माण भएकाे हाे।

    रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण हुने फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसवाहालगायत कलाकारको अभिनय रहनेछ।

     

  • शुभमुहुर्तसँगै सुरु भयो ऋचाको `सारंग´

    शुभमुहुर्तसँगै सुरु भयो ऋचाको `सारंग´

    काठमाडौं। बाल मनोविज्ञानमा आधारित चलचित्र `सारंग´को शुभमुहुर्तसँगै आइतबारबाट सुटिङ सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं आसपासमै समापन गरिनेछ ।

    प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिब एक महिना रहेको छ ।

    निर्देशक तामाङकै लेखन रहेको चलचित्रमा बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषय प्रस्तुत गरिदैँछ। यसअघि पनि बालमनोविज्ञानको विषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउँछन् ।

    दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको चलचित्रमा ऋचाका साथमा उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भुमिकामा छन्। सारंग बालदिवसको छेकोमा रिलिज गरिने बताएको छ ।

  • ग्याङस्टरको निरन्तर निशानामा सलमान खान, घर बाहिर कसले चलायो गोली ?

    ग्याङस्टरको निरन्तर निशानामा सलमान खान, घर बाहिर कसले चलायो गोली ?

    काठमाडौं । भारतीय अभिनेता सलमान खानको बान्द्रास्थित निवास बाहिर आइतबार बिहानै गोली चल्यो । गोली चल्दा उनी घरभित्रै थिए र सुरक्षित रहे । तर, यो घटनाले सलमानमाथिको सेक्युरिटी थ्रेटलाई अझै गाढा बनाएको छ ।

    मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बिहान करिब ५ बजेतिर सलमानको गेट बाहिर ५ राउन्ड गोली चलाएका थिए । यो घटनालाई लिएर मुम्बई प्रहरीमा एफआईआर दर्ता भएको छ र प्रहरीले अनुसन्धान सुरु गरेको छ । खानको घरको पर्खालमा गोलीका डोबहरु भेटिएका छन् । घटनाको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ, जसमा हेलमेट लगाएका व्यक्तिहरुले हवाई फायर गरेको देखिन्छ ।

    ग्याङस्टर लरेन्स बिस्नोइका भाइ अनमोल बिस्नोइले यो गोली प्रहारको जिम्मेवारी लिएका छन् । यसअघि पञ्जाबी गायक सिद्धु मुसवालाको हत्यामा ‘वान्टेड’ रहेका विस्नोइले आजको फायरिङ सलमानमाथिको पहिलो र अन्तिम चेतावनी भएको बताएका छन् ।

    ‘अब आइन्दा गोली खाली घर र पर्खालमा लाग्दैन’, उनले अभिनेतालाई धम्क्याउँदै फेसबुकमा लेखेका छन् । प्रहरीको फरार सूचीमा रहेका अनमोल अहिले क्यानडामा लुकिरहेको अनुमान छ । मुम्बई प्रहरीले उनको फेसबुक पोस्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

    यो घटनापछि सलमान र उनको परिवार त्रासमा छ । सरकार र प्रहरीले आफूहरुलाई सुरक्षा दिन्छ भनेर उनीहरु आश्वस्त छैनन् । बरु प्रहरीले नै आक्रमणकारीलाई संरक्षण दिइरहेको आशंका खान परिवारमा छ । भारतको मोदी सरकार बलिउडका खान हिरोहरुप्रति सकारात्मक छैन ।

    यसअघि सन् २०२३ को मार्चमा सलमानका म्यानेजरलाई धम्कीयुक्त इमेल आएको थियो । उक्त इमेलपछि जेलमा रहेका ग्याङस्टर बिस्नोइ, क्यानडा बस्ने बिस्नोइका सहयोगी गोल्डी ब्रार तथा मोहित गार्ग नामका व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको थियो । उक्त इमेलमा तिहार जेलमा रहेका बिस्नाइले सलमानलाई ज्यान मार्ने धम्की दिएको एउटा अन्तर्वार्तालाई उद्धृत गरिएको थियो ।

    मोहितको आईडीबाट आएको इमलमा ब्रारले सलमानसँग कुरा गर्न चाहेको उल्लेख थियो । रवि बिस्नोइको धम्कीपूर्ण अन्तर्वार्तालाई उल्लेख गर्दै इमेलमा यदि अभिनेताले यो विषयलाई बन्द गर्न चाहेको खण्डमा ब्रारलाई फेस टु फेस भेट्न सुझाव दिइएको थियो । यतिमात्रै होइन, यो इमेल यदि प्रहरीलाई दिएको खण्डमा अर्को चोटि परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको थियो ।

    सन् २०२२ जूनमा सलमानका बाबु सलिम खानले मर्निङ वाक गर्ने बान्द्रा ब्यान्डस्ट्यान्डको एक स्थानमा एउटा धम्कीले भरिएको पत्र भेटियो । उक्त पत्रमा सलमानले हत्या गरिएका गायक सिद्धु मुसेवालाकै जस्तो नियति भोग्नुपर्ने उल्लेख थियो । बिस्नोइका ग्याङस्टरले सन् २०२२ मेमा मुसेवालाको हत्या गरेको थियो । उक्त पत्रलाई लिएर पनि सलमानको तर्फबाट एफआईआर दर्ता गरिएको थियो ।

    यसका अतिरिक्त पञ्जाब प्रहरीको सोधपुछका क्रममा बिस्नोइ गिरोहका एक सदस्यले सलमानको जासुसी गर्न दुई व्यक्तिहरु खटाइएको बताएका थिए ।

    सलमान र बिस्नोइ ग्याङको दुश्मनी

    सलमान खान र बिस्नोइ ग्याङको पुरानो दुश्मनी छ । सन् १९९८ मा सलमानमाथि ‘हम साथ साथ है’ फिल्मको सुटिङका क्रममा राजस्थानमा कालो हरिणको अवैध शिकार गरेको आरोप लाग्यो । कालो हरिणलाई बिस्नोइ समुदायले पवित्र मानेर पूजा गर्छ । त्यही घटनाले गर्दा बिस्नोइ समुदाय सलमानसँग क्रुद्ध बनेको बताइएको छ । तर, कतिपयले चाहिँ हाइ प्रोफाइल व्यक्तिहरुलाई टार्गेट बनाएर समाचारमा छाइरहने बिस्नोइ ग्याङको रणनीति रहेको बताउँछ ।

    ३१ वर्षीय लरेन्स बिस्नोइ पञ्जाबका ग्याङस्टर हुन् । उनीमाथि थुप्रै हत्या र असुलीको आरोप छ । मुसेवालाको हत्यापछि उनको नाम चर्चामा आएको हो । उक्त हत्याको जिम्मेवार ब्रारले लिएका थिए । आफूले बिस्नोइसँग मिलेर हत्याको योजना बनाएको उनले बयान दिएका थिए ।

    सलमानले प्रहरीबाट पाएको सुरक्षा

    सलमानमाथि धम्की बढेपछि मुम्बई प्रहरीले सन् २०२२ को अगष्टमा उनलाई आत्मरक्षाका लागि बन्दुकको लाइसेन्स दिएको छ । सोही वर्षको नोभेम्बरमा महाराष्ट्र सरकारले उनको सुरक्षास्तर एक्सबाट वाई प्लस क्याटेगोरीमा स्तरोन्नति गरेको थियो ।

    एक्स क्याटेगोरीमा एक जना बन्दुकधारी बडिगार्ड दिइएको हुन्छ भने वाईमा दुई जना हुन्छन् । वाई प्लसमा दुई प्रहरी मोबाइल सेक्युरिटीका लागि तथा थप एक जना निवासको सुरक्षामा खटाइन्छ । तर, यति कडा सुरक्षाले पनि सलमानमाथि थ्रेट कम भएको छैन ।

    आजको गोलीकाण्डपछि सलमान आफ्नो परिवारसँगै छन् । सलमानको निवास बाहिर सुरक्षा कडा बनाइएको छ । उनका पिता सलिम भने आफ्नो नियमित रुटिनअनुसार वाकका लागि घर बाहिर निस्किएका थिए ।

    गोली चलेको विषयमा सलमानको कुनै प्रतिक्रिया आएको छैन । तर, सलिमले चाहिँ हल्का टिप्पणी गरेका छन् ।

    उनले पत्रकारलाई भने, ‘उनीहरुले पब्लिसिटीका लागिमात्रै यो सब गरिरहेका छन् । हामीले चिन्ता लिनुपर्ने कुनै कारण छैन ।’

  • भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २५ सार्वजनिक

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २५ सार्वजनिक

    काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता उत्कृष्ट २५ सार्वजनिक गरिएको छ ।

    समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका) ले स्थापना गरेको सो पुरस्कारमा एक लाख राशिसहित सम्मान पत्र रहेको छ ।

    प्रतियोगिताका लागि प्राप्त कविताहरूमध्ये पहिलो चरणमा उत्कृष्ट २५ कविताहरू सार्वजनिक गरिएको हो । उत्कृष्ट २५ कविताहरूको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइनेछ ।

    प्रतियोगिताको लागि साहित्यकारहरू प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो ।

    समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट २५ कविताहरू निम्न छन् ।

    भ्रष्ट भरिया (महेश चौलागाईं), बढ्न थाल्यो भ्रष्टाचार (विजय थापा), आस्थाको पहाडबाट झरिरहेको अस्तित्व (विवेक दुलाल क्षेत्री), भ्रष्टाचार निवारण चूर्ण (गम्भीर दुवाडी), पुनः एकपल्ट जमिनले बोलाउने छ (मन्दिप बाँस्कोटा), ऊ फेरि सिद्धिने छ (नवचन्द्र ओली), सावधान (रूपा थापा), भ्रष्ट–आचारी (रुद्र अधिकारी), मेरो देशको अनुहार (शङ्कर शर्मा), देशका शत्रु (मदन घिमिरे), उम्रिऊन् बोधिवृक्ष विवेकका (विन्दा पराजुली बराल), भ्रष्टचारीको अन्तिम इच्छा (तोया भट्ट), एक याचना (विश्व कुइकेल), धुर्तलाई समात (संयोग बस्याल), भ्रष्टाचार विरुद्ध (इन्द्रनारायण सुवेदी), कत्ति छुट छैन (प्रज्वल अधिकार), प्रतिक्षा (मणिकुमार श्रेष्ठ सिजन), भ्रष्टाचार विरुद्ध युवाको अपिल (शरद्शोभा), निष्ठाको कर्मयुद्द (मधुर भट्टराई (गिरिराज भट्टराई), आह्वान (सुन्दर शिरीष), धर्ती सेतो रहोस् (दीपिन सिजापति), झुपडीका मुठीहरू (निशान निष्कर्ष), बतासको बह (विकल त्यागी), भ्रष्टाचार प्रताडित मातृभूमि (सुमन भट्टराई) र दुस्स्वप्न (वासु पन्थी ‘देवस्म’) रहेको छ ।

    उत्कृष्ट २५ कविताहरुको वाचन कार्यक्रम कै दिन पुरस्कृत कविको नाम घोषणा गरिनेछ । त्यसपछि काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ ।

  • फर्केर हेर्दा २०८० : यी हुन् १२ महिनाका २४ ‘इन्टरटेनमेन्ट गसिप’

    फर्केर हेर्दा २०८० : यी हुन् १२ महिनाका २४ ‘इन्टरटेनमेन्ट गसिप’

    २०८० साल हामीबाट बिदा भएको छ । नेपाली चलचित्र सहित समग्र मनोरञ्जन क्षेत्रमा यो वर्ष पनि समाचार र गसिपहरुको कमी भएन । चलचित्र हिट फ्लप जे भए पनि कलाकारहरु भने विभिन्न कारणले समाचारमा छाइ नै रहे ।

    गायक–गायिकाहरु पनि चर्चामा आइ नै रहे । केही कलाकारहरु आफ्नो निजी जीवनका घटनाहरुले गर्दा गसिपको पात्र भने । सेलिब्रिटी लभ, ब्रेकअप, विवाह, डिभोर्सजस्ता सन्दर्भहरुमा पाठकको रुचि हुन्छ नै । यस वर्ष पनि बढी गसिपहरु यस्तै विषयमा लेखिए ।

    प्रस्तुत छ, २०८० सालका १२ महिनामा नेपाल प्रेसमा प्रकाशित २४ वटा गसिप समाचारहरुको एक झलकः

    १) सकम्बरीले विवादमा प्रकाश सपुत

    २०७९ चैत ३० गते रिलिज भएको गायक तथा सर्जक प्रकाश सपुतको ‘सकम्बरी’ ले कलाकारिता क्षेत्रमा राम्रै बहस छेड्यो । यो वर्ष २०८० लागेसँगैको पहिलो गसिप हो ।

    रिलिज भएको २४ घन्टामै १० लाख भ्युज बटुलेको गीत धेरैलाई सह्य भएन । सपुतले भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट शहर आएकी युवतीलाई पाइला-पाइलामा यस क्षेत्रका पुरुष पात्रहरुले गरेको दुरुपयोगलाई देखाएका थिए ।

    गीतको शब्दहरुमा समेत उनले सकम्बरीले लगाएका लुगादेखि हरेक चिज आफैंले किन्न नसक्ने भाव व्यक्त गरेपछि कलाकार बन्न होमिएकी एउटी महिलाले पुरुषको सहायताबिना केही गर्न नसक्ने र आफ्नो ज्यान बेच्दै हिँडेमात्र सफलता पाइने भान दिएको भन्दै धेरैले गीतको चर्काे आलोचना गरे ।

    भिडियोको अन्त्यमा सकम्बरीलाई राजनीतिमा समेत अफर आएको देखाईएपछि कलाकारिताबाट राजनीतिमा हाम्फालेका महिलाहरुले पनि उनको गीतप्रति असन्तुष्टि जनाएका थिए ।

    २) पूजा शर्माको महंगो रेस्टुरेन्ट

    नायिकाबाट ‘रेस्टुरेन्ट साहुनी’ बनेकी पूजा शर्माको महंगो रेस्ट्रेन्टबारे सायदै सबै विज्ञ होलान् । झम्सिखेलमा उनले स्थापना गरेको ‘ट्याग स्पोर्ट्स लाउञ्ज एन्ड बार’ मा एक कप मिल्क टीकै १५० रूपैयाँ पर्ने समाचारले राम्रो चर्चा पाएको थियो । पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी थिईन अभिनेत्री गौरी मल्ल ।

    मल्लले आफ्नो सामाजिक सञ्जालमा पूजाको रेस्टुरेन्टबारे वर्णन गर्दै आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको बताउँदै बिलसहित फोटो हालेकी थिइन् ।

    जसमा एउटा चियाको मुल्य नै १५० थियो । चिया नै १५० रुपैँयाको देखेपछि दर्शक छक्क परे । मल्लले सुरूमा बिलको फोटो हालेपनि मानिसहरू मूल्यसूची हेरेर झस्किन थालेपछि हटाइन् ।

    पढ्नुस् सम्बन्धित समाचार : पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

    ३) आयूष र एलिजाको टिकटक लभ

    ‘टिकटकबाट ‘टक अफ दि टाउन’ बनेका जोडी आयुष सिंह ठकुरी र अलिजेह जमालीको प्रेमले सबैलाई चकित तुल्यायो। टिकटक लाइभबाट दुबईमा बस्दै आएकी पाकिस्तानी जमाली  र नेपालका आयुषको भेट भएको थियो ।

    टिकटक लाइभमा एक-अर्कासँग फ्लर्ट गर्दागर्दै यी दुईको लभ परेको थियो । सुरुमा सबैले यी दुईको प्रेम मजाक भएको ठान्थे तर आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएपछि भने सबै पक्का भए ।

    सुरुवाती दिनबाटै चर्चाको पात्र बनेका यी दुईले दुबईमा ईन्गेजमेन्ट समेत गरे। टिकटक बन्द भएपनि यी दुईको अहिलेपनि सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ ।

    सम्बन्धित समाचार : टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

    ४) निशा र शरदको अंशबण्डा 

    बाहिर सुमधुर तर भित्र गम्भीर समस्या चलिरहेको नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरको दाम्पत्य सम्बन्ध २०८० को गसिपमध्येको एक हो ।

    पाँच वर्ष लामो प्रेम सम्बन्धपछि २०७४ सालमा विवाह गरेकी निशाले २०७९ साल भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा अंश र मानाचामलको मुद्दा दायर गरेकी थिइन् ।

    सो मुद्दाको २०८० मंसिर २८ गते अदालतले फैसला सुनायो जस अनुरुप शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाईन भने अंश प्राप्त नहुञ्जेलसम्म निशालेृशरदबाट मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्चसमेत पाउने भईन। शरद र निशाबीच अदालतले अंशबन्डा गरिदिए पनि उनीहरूको सम्बन्धबिच्छेद भने भएको छैन ।

    सम्बन्धित समाचार : डिभोर्सबिनै शरद र निशाबीच अंशबन्डा, यस्तो छ जिल्ला अदालतको फैसला

    ५) बादल वर्षा बिजुलीको चमक

    १८ वर्ष पुरानो गीत भाइरल भएर सामाजिक सञ्जाल गर्माएको गीत हो,‘बादल वर्षा बिजुली’। २०६२ सालमा निर्माण भएको चलचित्र ‘कर्तव्य’ मा समावेश यो गीतले लामो समय टिकटक हल्लायो।

    गीत भाइरल भएपछि गायिका देखि संगीतकारसम्मको खोजी भयो। त्यसबेला सामान्य चलेको यो गीत अहिले डान्सिङ स्टेपका कारण टिकटकमा भाइरल भएको थियो ।

    प्राश्ना शाक्यले गाएको गीतमा टिकटक स्टार प्रिज्मा र प्रिन्सी खतिवडाले उत्कृष्ट नृत्यसहित भिडियो बनाएपछि धेरैले उनीहरुको स्टेप कपी गरेका थिए ।

    पूरा समाचार: बादल वर्षा बिजुली : अठार वर्षअघिको गीत एक्कासि बौरिएर टिकटकमा भाइरल

    ६) बालेनले आदिपुरुष रोकेपछि

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकेपछि लामो समय यो विवाद चलिरह्यो । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनेपछि यो विषय एकाएक चुलिएको थियो ।

    बालेनले चलचित्रमा भनिएको उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। तर, तीन दिनसम्म पनि विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार काठ्माडौँका सम्पूर्ण हलहरुमा शो संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न रोक लगाएका थिए ।

    उनले काठ्माडौँका हलहरुमाा नगरप्रहरी नै पठाएर प्रदर्शन रोक्न आदेश दिएका थिए । उनको यो निर्णयप्रति कतिले सहमति जनाए भने कतिले असन्तुष्टि । उनको निर्णयप्रति भक्तपुर र ललितपुरका मेयरले समेत आपत्ति जनाए ।

    सबै हिन्दी चलचित्र रोक्न नहुने भन्दै चलचित्र संघले उच्च अदालतमा बालेनविरुद्ध रिटसमेत दर्ता गराएका थिए। जे होस्, यो विषयले लामो समय सामाजिक सञ्जाल हल्लायो ।

    पूरा समाचार : बालेनको जवाफ- अदालत र सरकार भारतको गुलाम भए, कुनै कानून र अदालतलाई मान्दिनँ

    ७) प्रियंकाकी सासुको बिहेमा देखिएको तामझाम

    अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाह र बिहेमा देखिएको तामझामले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दियो । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिए भने कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याए ।

    रविनाको विवाहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भए भने रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटताले सामाकि सञ्जाल तात्यो ।

    रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् । त्यस्तै सासूको विवाहमा प्रियंकाले श्रीमानकी पूर्वप्रेमिकाको परमितासँग रमाउँदै डान्स गरेको भिडिओले पनि राम्रै स्थान पायो ।

    पूरा समाचार : सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

    ८) रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार

    दर्शकका प्रिय गायकलाई कसैले हमला गर्दा समाचार नबन्नु र चर्चाको विषय नहनु भन्ने सायदै होला । यस्तै भयो गायक प्रकाश सपुतमाथि भएको बोतल प्रहार घटना । आफ्नो सांगीतिक प्रस्तुती दिन रोमानिया पुगेका गायक सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भयो ।

    असार १० गते नेपाली समय अनुसार रातको १२ बजे सपुतले ‘बोल माया’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो जसलाई सपुतले छल्न भ्याएनन् ।

    दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएपछि माहोल केही सेलाएको थियो ।

    पूरा समाचार : रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

    ९) पल शाहको अन्तरवार्ता लिँदा सन्दीपको शो बन्द

    नायक पल शाहको अन्तवार्ता लिएकै कारण कमेडियन सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भयो । एउटा कलाकारका कारण शो नै बन्द गर्नुपर्ने भएपछि केही समय यो गसिपको विषय बन्यो ।

    सन्दीपले असार २३ गते आफ्नो कार्यक्रमको आठौँ एपिसोडमा शाहलाई पाहुनाको रुपमा निम्त्याएका थिए । उक्त अन्तरवार्तामा पलले कुनै रोमाञ्चकारी कथा सुनाए जसरी आफ्नो जेल यात्राको ‘ग्लोरिफाइ’ गरेका थिए भने बलात्कारजस्तो संगीन मुद्दासँग जोडिएको विषयमा सन्दीपले अत्यन्तै भद्दा रियाक्सन दिएका थिए ।

    अन्तरवार्ता प्रसारण भएपछि सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो । चाैतर्फी आलोचनापछि महिलाको स्वाभिमान र समाजको चेतनालाई ठेस पुगेको भन्दै कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोक्यो ।

    पूरा समाचार : पल शाहको अन्तरवार्ता विवाद : सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ बन्द

    १०) भागवत गीताको नाममाथि बबण्डर

    अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित र निर्माता सुनिल कुमार थापा निर्मित चलचित्र ‘भगवत गीता’ कोे नामलाई लिएर पनि ठूलै बबण्डर खडा भयो । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको बताउँदै केही आध्यात्मिक संस्थाहरुले प्रर्दशोन्मुख चलचित्रको नामप्रति आपत्ति जनाए ।

    आपत्तिपछि बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा चलचित्रकी निर्देशक, निर्माता, अभिनेत्री, वितरक, बोर्डका सदस्य र आपत्ति जनाएका आध्यात्मिक संस्थाका प्रतिनिधिबिच चलचित्र विकास बोर्डमा छलफल भयो ।

    छलफलको प्रारम्भमा निर्माता थापाले  ‘भगवत’ लाई भागवत बनाउने जस्ता थप केही प्रस्तावहरु राखेका थिए जसलाई धार्मिक प्रतिनिधिहरुले अस्वीकार गरे । थुप्रै नामको छलफल पश्चात अन्तत दुवै पक्ष ‘एक भागवत र एक गीता’ नाम राख्न सहमत भए ।

    पूरा समाचार : विकास बोर्डमा सहमति जुट्यो- ‘एक भागवत र एक गीता’ नाम फाइनल (भिडिओ)

    ११) अनमोल केसी र सुदर्शन थापाको लफडा

    अभिनेता अनमोल केसीले सुदर्शन थापाले निर्माण गर्ने चलचित्र ‘रावायण’ नखेल्ने भएपछि सुदर्शन र अनमोलबिच ठूलै लफडा पर्यो । काम गर्ने भनेर पछि धोका दिएको भन्दै सुदर्शनकी पत्नी सुप्रिया कटुवालले प्रहरीमा अनमोल विरुद्ध ‘आपराधिक विश्वासघात’को उजुरी दिएकी थिइन् ।

    फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिइसकेपछि चलचित्र सुटिङमा जानुभन्दा तीन दिन अगाडि अनमोलले धोका दिएको उनको आरोप थियो । उजुरीपछि अनमोल पक्राउ परेका थिए । अनमोलले पैसा फिर्ता गरेपनि प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

    पूरा समाचार :  अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग (कुराकानी)

    १२) श्रृंखलाको प्रेम र विवाह

    पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रेम चर्चा सगरमाथाभन्दा कम चुलिएन । कुनै समय भ्लगर सिसन बाँनियासँग प्रेममा रहेकी श्रृंखलाको अमेरिका गएपछि ब्रेकअपको खवर आयो ।

    सिसनसँग अलग्गिएपछि श्रृंखलाको सम्भव सिरोहियासँग प्रेम सम्बन्ध सुरु भयो । श्रृंखलाले सम्भवसँगको प्रेमसम्बन्धलाई आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत साहित्यिक रुपमा आफै सार्वजनिक गरेकी थिइन् । सम्भवसँगको प्रेमसम्बन्ध बाहिरिएपछि सिसनसमेत ट्रोलको सिकार भए । अन्तत केही वर्ष डेट गरेर श्रृंखला र सम्भवले मंसिर २८ मा विवाह गरे ।

    पूरा समाचार : श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

    १३) अष्ट्रेलियामा दर्शकलाई सुगम पोखरेलको लात्ती र मुक्का

    गायक सुगम पोखरेलले अष्ट्रेलियामा रक्सीले मातेर स्टेजमा गरेको हर्कतले पनि मिडियामै राम्रै चर्चा पायो । अष्ट्रेलियाको एडिलेडमा रक्सीले फिटान भएर गाउन गएका सुगमले अघिल्लो लहरमा रहेका एक पुरुष दर्शकलाई ताकेर लात्ती उज्याएका थिए ।

    उनले झोक्किँदै स्टेजबाट ओर्लिएर आफूले टार्गेट गरेका पुरुष दर्शकलाई माइकसहितको मुक्काले प्रहार गरेका थिए । यतिमा मात्र सीमित नरहेका सुगमले कन्सर्टकै क्रममा दर्शकलाई मौनधारण गर्न भने । दर्शकले होहल्ला गरेपछि उनले माइक र पानीको बोतलले दर्शकलाई प्रहार गरेका थिए । कार्यक्रमपछि उनको चौतर्फी आलोचना हुन थालेपछि उनले दर्शकसँग माफी मागे ।

    पूरा समाचार : अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार

    १४)मिस युनिभर्समा नेपालकी प्लस साइज सुन्दरी

    ‘मोटो शरीर’ भएका युवतीलाई सुरुमै खारेज गर्ने सौन्दर्य प्रतियोगिताको दुनिँयामा २३ वर्षीया जेन दीपिका ग्यारेटले नयाँ सिस्टम बसाईदिईन। ८० केजी तौल भएकी दीपिकाले भदौमा मिस नेपाल युनिभर्सको ताज हात पारेसँगै मिस युनिभर्सको ७२ औं संस्करणमा आफ्नो स्थान बनाइन् ।

    उनको भद्दा शरीरलाई लिएर सामाजिक सञ्जालमा अनेकन टिप्पणीहरु भए । तर ‘मिस युनभर्स २०२३’ मा सहभागी भएसँगै अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा सुरु भयो ।

    उनको सहभागीताले सबैलाई चकित बनायो किनकि कुनै पनि ग्लोबल ब्यूटी प्याजेन्टमा प्लस साइजको सुन्दरीलाई अहिलेसम्म प्रतिस्पर्धामा देकिएको थिएन ।

    कतिपयले उनलाई सम्भावित फाइनलिस्टको रुपमा समेत हेरेका थिए तर जेन टप २० बाट बाहिरिइन् । यद्यपि, मिस युनिभर्समा भाग लिने विश्वकै पहिलो प्लस साइज मोडलको इतिहास भने उनले बनाइन् ।

    पूरा समाचार : पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

    १५) पूजा र पलको पुनर्मिलन

    वर्ष २०८० को बुझेर बुझि नसक्नुको गसिप बन्यो पुजा शर्मा र पल शाहको पुनर्मिलन । पल बलात्कार आरोपमा पक्राउ परेपछि फिल्म रिलिजमै पललाई सम्झिएर धरधरी रोएकी थिइन् पूजा । तर पल जेलबाट छुटेपछि भने पूजा उनलाई भेट्न गइनन् । न त पलले नै पूजालाई भाउ दिए ।

    पल जेल रहिन्जेल उनको पक्षमा खुलेर बोलेकी पुजालाई पलले आफ्नो बहिनीको विवाहमा समेत बोलाएनन् । अवार्ड समारोहमा अर्वाड थाप्दासमेत उनीहरु एकअर्कासँग नबोली अर्वाड थापेर फर्किएका थिए । बीचमा एक्कासी यी दुईको सम्बन्धमा बहार छायो । अहिले भने यी दुईको मित्रताको प्याचअप भएको छ ।

    पूरा समाचार : पलले ‘भाउ नदिएपछि’ चिढिएकी पूजा : जेलबाट छुटेपछि भेट्न गइनन्, स्टाटस पनि हटाइन् (भिडिओ)

    १६) कट्टा हान्दिन्छु माथि कपिराइट विवाद

    ‘कट्टा हान्दिन्छु’ बोलको गीत जति हिट भयो त्यति नै विवादित पनि । यो गीतमा चोरीको उजुरी दिनकै चोरी समातियो । गायिका एलिना चौहानले गाएको ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको केही दिनमै गायक विश्वराम कार्कीले आफ्नो सिर्जना चोरी गरिएको आरोप लगाउँदै प्रतिलिपि अधिकार कार्यालयमा उजुरी गरेका थिए ।

    कारण, कार्कीले एलिनाको गीत आउनु ५ दिन अघि ‘कट्टा हान्दिन्छु’ बोलकै गीत युट्युबमा रिलिज गरेका थिए जसमा शब्द र संगीतको क्रेडिट काक्रीलाई नै दिइएको थियो ।

    कार्कीले चोरीको आरोप लगाएपछि एलिनाले आफ्नो सामाजिक सञ्जालबाट ५ वर्ष पुरानो एउटा गीत सार्वजनिक गरिन् जसको केही शब्द विश्वरामको गीतसित हुबहु मिल्थ्यो । मोहन साउदले गाएको सो गीतको बोल पनि ‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु’ नै थियो ।

    पूरा समाचार : ‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो

    १७) ज्योती मगर स्टेजमा पछारिएपछि 

    पुस १९ गते इलामको बिहीबारेमा आयोजित १३ कुने सीमसार महोत्सवमा गीत गाउन राति करिब ११ बजे स्टेज उक्लिएकी ज्योती मगर गाउँदै उफ्रिने क्रममा स्टेजमा जाकिइन् । उनी स्टेजमा पछारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

    धेरैले उनलाई ट्रोल गरे भने केहीले आयोजकमाथि प्रश्न उठाए । ज्योति गीत गाउने क्रममा आफ्नै शैलीमा बुरुक बुरुक उफ्रिरहेकी थिइन् ।

    गाउँदै उफ्रिने क्रममा स्टेजमा भ्वाङ पर्यो । भ्वाङमा ज्योतिको देब्रे खुट्टो घुँडासम्म छिर्यो, उनी पछारिइन् । उनलाई सुरक्षाकर्मीले आएर उद्धार गरेका थिए । चोटका कारण खुट्टाले साथ नदिए पनि करिब आफ्नो प्रस्तुती भने छाडिनन् ।

    पूरा सामाचार : १३ कुने महोत्सव : मध्यरातमा ज्योति मगर नाच्दानाच्दै स्टेजमा भ्वाङ, नराम्ररी पछारिइन्

    १८) म्याकुरीको पारिवारिक झमेला

    म्याकुरी नामले परिचित कमेडियन पवन खतिवडा र पत्नी सुम्निमा खालिङबिचकाे पारिवारिक कलह पनि कुनै चलचित्रको भन्दा कम भएन । दुई वर्ष प्रेमसम्बन्धमा रहेपछि २०७८ साल असोज १८ गते यी दुइले औपचारिक तवरबाट विवाह गरेका थिए ।

    तर विवाह गरेको दुई वर्षमै यी दुईबिच मनमुटाव सुरु भयो । घरभित्रै सल्टाउन सकिने यी दुईको कलहले केही समय मिडिया हल्लायो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास समेत गरेका थिए ।

    पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । लामो समयको आपसी कलहपछि अन्तत यी दुई पनि डिभोर्सका लागि तयार भए ।

    पूरा समाचार : म्याकुरी र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’, आइतबार मुद्दा दर्ताको तयारी

    १९) एलिना चौहान र साउन्ड टेक्निसियनको विवाद

    फागुन २ गते भएको पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा राति प्रस्तुतिका क्रममा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । भनाभन र साउन्डमा सुधार नभएपछि उनी अन्तिम गीत नगाई स्टेजबाट बाहिरिएकी थिइन् ।

    एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीहरुमाथि हातपातसमेत भएको थियो । पछि साउण्ड सिस्टम व्यवसायीले गायिका एलिनाले माफी नमागेसम्म उनको कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिए । र अन्तत एलिनाले माफी मागिन् ।

    पूरा समाचार : महोत्सवमा गाउने क्रममा साउन्ड टेक्निसियनसँग एलिना चौहानको भनाभन (भिडिओ)

    २०) समीक्षाको असफल कन्सर्ट

    गायिका समिक्षा अधिकारीले गत चैत १० गते पल शाहको गृहजिल्ला, दाङमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । कार्यक्रमका लागि उनी तुलसीपुरको एउटा होटलमा बसेकी थिइन् । तर, उनको प्रस्तुति हेर्न दर्शक कार्यक्रमस्थलमा आएनन् ।

    दर्शकको भिड बढेपछि स्टेज उक्लने आशामा उनी होटलमै दिनभरि प्रतिक्षारत रहिन् । तर, आयोजकको फोन आएन । समीक्षालाई सुन्न जम्मा २३ जना दर्शकले मात्रै टिकट काटेका थिए ।

    प्रस्तुति दिन नपाएपछि समीक्षा आफ्नो पारिश्रमिक लिएर फर्किन बाध्य भइन् । पलको गृहजिल्लामा समीक्षा ह्यूमिलेट भएको खबरले पनि मिडियामा राम्रै स्थान पायो ।

    पूरा समाचार : पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

    २१) एलिनाको ब्रेकअछि विवाह

    ‘धोकेबाज गायिका’ एलिना चौहानको ब्रेकअपको खवर बाहिरिएपछि, यो खवरले लामो समय सामाजिक सञ्जालमा तात्यो । अष्ट्रेलियानिवासी प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको उनी स्वयंमले स्विकारेकी थिइन् ।

    ब्रेकअप भएको दुई महिनामै उनको विवाहको खबर बाहिरियो । उनको विवाहको खवरले दर्शक झनै चकित परे । कारण, उनका भावी श्रीमान् अरू कोही नभई उहीँ ब्रेकअप भएका विष्णु सापकोटा निस्किए ।

    हाल उनीहरू फेरि अफेयरमा छन् । यो जोडी यहीँ वैशाख ५ गते लगनगाँठो कस्ने तयारीमा छ । एलिनाले विवाहको लागी लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ ।

    पूरा समाचार : विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे

    २२) पूजा शर्मा र समीक्षाको लभ हेट रिलेशन

    कुनै समय पललाई च्यापेर समिक्षाको विपक्षमा बोल्ने पूजा पलसँग टाढिएपछि भने तीनै गायिका समीक्षा अधिकारीसँग नजिक भइन् । उनले समिक्षासँग यति सामिप्यता बढाईन की समिक्षाको गीतमा सँगै टिकटक भिडियो बनाएरसमेत हाल्न थालिन् ।

    एकसाथ टिकटक बनाएको देखेपछि पुजालाई धेरैले नाटक गरेको, स्वार्थी, अवसरवादी, आदि लगायतका कमेन्ट्सहरु पनि गरे। तर पूजा समीक्षाको नजिक भएजस्तो गरिरहिन् ।

    पछि फेरि पल र पूजाको मिलन भयो। पलसँग नजिकिएपछि पूजा पलको बखान गर्दै हिँड्न थालिन् । दोहोरो चरित्र देखेपछि समिक्षाले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञा दिदै तीव्र कटाक्ष गरेकी थिइन् ।

    पूरा समाचार : पल शाहसँग टाढिएकी पूजा शर्मा समीक्षासँग नजिकिँदै, टिकटकमा देखिए एकसाथ

    थप : ‘बहुरुपी औरत’ भन्दै पूजालाई समीक्षा अधिकारीको कटाक्ष

    २३)राजेशपायलको महंगो डिभोर्स

    आफूभन्दा २६ वर्ष कान्छी प्रेमिकासँग विवाह गरेका गायक राजेशपायल राईको डिभोर्स कलाकारिता क्षेत्रको एक महंगो डिभोर्स मध्येको एक हो । फ्यानबाट प्रेमिका भई केही समय लिभईनमा बस्दैगर्दा पुत्रलाभ भएपछि राजेशपायलले साङबुङ राईसँग विवाह गरेका थिए ।

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राईले पछि आफै सम्बन्धविच्छेदको मुद्दा हाले । सम्बन्ध तोड्न साङबुङले पनि उच्च डिमान्ड राखिन् जुन राजेशपायलले पूरा गरिदिए ।

    जसअनुसार काठमाडौंभित्रै रहेको एउटा घडेरी, नक्सालमा रहेको करिब ५ करोडको राजेशपायलको घर र नगद ५० लाख रूपैयाँ साङबुङले पाइन् ।

    साथै, राजेशपायलले भविष्यमा थप १ करोड रूपैयाँ दिने लिखित प्रतिवद्धतासहित छोराको पढाइको सम्पूर्ण खर्च र छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ पनि पत्नीलाई दिन राजी भए ।

    पूरा समाचार : करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    २४) रवि ओडमाथि वैवाहिक बलात्कार मुद्दा

    नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडको वैवाहिक बलात्कार मुद्दा यो वर्षकै अन्तिम गसिप हो जसले धेरैलाई अचम्मित पार्यो । कारण, उनी विवाहित हुन् भन्नेबारे उनका क्लोज सर्कलका साथीभाइलाई समेत थाहा थिएन ।

    आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनकी श्रीमतीले चैत्र २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

    जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेपनि कार्यक्रमका लागी जापानमा भएकाले गायक वड अहिलेसम्म प्रकाउ परेका छैेनन् । रविले आफूलाई ‘तिरस्कार’ मात्र नभएर ‘चिट’ पनि गरिरहेको महसुस गरेपछि उनकी श्रीमती प्रहरीसम्म पुगेकी हुन् ।

    पूरा समाचार : श्रीमतीको जाहेरीपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी