Category: कलाप्रेस

  • ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म, मलिका महत सर्वोत्कृष्ट अभिनेत्री

    ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म, मलिका महत सर्वोत्कृष्ट अभिनेत्री

    काठमाडौं । रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । यही फिल्मबाट अभिनेत्री मलिका महतले उत्कृष्ट अभिनेत्रीको जुरी मेन्सन अवार्ड हात पारिन् ।

    महतले अवार्ड लिएपछि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक्टिङ करियरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला, प्रेरणा र ऊर्जा थपेको महसुस गरेकी छु ।’

    यस्तै निर्देशनमा ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए । ‘दिमाग खराब’बाटै अभिनेत्री स्वस्तिमा खड्का सर्वोत्कृष्ट अभिनेत्री हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता घोषित भए । यस्तै ‘सतीदेवी’ले उत्कृष्ट पटकथाको अवार्ड पनि जित्यो ।

    सत्यराज चौलागाईँ निर्देशित तथा मुकुन भुसाल अभिनीत ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै अन्य विभिन्न विधाहरूमा समेत अवार्ड वितरण गरिएको थियो ।

  • ‘बोक्सीको घर’को भव्य प्रिमियर, कलाकारहरुले गरे केकीको तारिफ (भिडिओ)

    ‘बोक्सीको घर’को भव्य प्रिमियर, कलाकारहरुले गरे केकीको तारिफ (भिडिओ)

    काठमाडौं । वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को बिहीबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ ।

    सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा एउटी महिलाले कथित बोक्सीको आरोपमा भोग्नु परेको लाञ्छना, आरोप, यातना, हिंसा र बलात्कारको घटनालाई मुख्य विषय बनाइएको छ ।

    ५० को दशकबाट सुरु भएको कथामा सिंगो समाज एउटी निहत्था महिलामाथि कसरी संगठित रूप जाइलाग्छ भनेर देखाइएको छ ।

    महिलामाथि हुने जघन्य अपराधको कथालाई प्रस्तुत गरिएको ‘बोक्सीको घर’को प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । अभिनेत्री केकी अधिकारीले निर्माण समेत रहेको ‘बोक्सीको घर’ हेरेपछि अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको खुलेरै तारिफ गरिन् ।

    उनले भनिन्, ‘महिला वा पुरुषको रूपमा विभाजित गर्ने भन्दा पनि समाजको चेतनास्तर कस्तो छ भन्ने कुरालाई फिल्मले प्रकाश परेको छ ।’ साथै खड्काले अधिकारीको अभिनयको समेत खुलेर प्रशंसा गरिन् ।

    त्यस्तै निर्देशक तथा निर्माता अशोक शर्माले पनि यस्तो सिनेमालाई दर्शकको साथको आवश्यकता रहेको बताए । अभिनेत्री बेनिशा हमालले समाजमा घट्ने विभिन्न घटनामध्येको एउटा तितो यथार्थलाई टपक्क टिपेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री अधिकारीलाई धन्यवाद दिइन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पूर्ण दर्शकलाई सिनेमा हेरेर साथ दिन आग्रह गरिन् ।

    गायक तथा अभिनेता प्रकाश सपुतले पनि फिल्मको मर्मअनुसार ‘बुझिनँ मैले’ बोलको गीत बनाउने अवसर दिएकोमा अधिकारीलाई धन्यवाद दिए । उनले भने, ‘गीतलाई जुन हिसाबमा दर्शकबाट साथ सहयोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो फिल्मलाई पनि छ । यो फिल्म हेरेर साथ दिन सम्पूर्ण दर्शकलाई आग्रह गर्छु ।’

    फिल्मकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले आफूले निर्देशक सुलक्षण भारतीसँग मिलेर समाजको कथा उठान गरेकाले सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

    केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी निर्माण टिमको छ । निर्माताका रूपमा केकीका पिता बद्री अधिकारी समेत रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    ‘बोक्सीको घर’मा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । बुधवारदेखि नै हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

  • ‘घरज्वाइँ’ को फर्स्टलुक पोस्टरमा दयाहाङ र मिरुनाको गाउँले रुप

    ‘घरज्वाइँ’ को फर्स्टलुक पोस्टरमा दयाहाङ र मिरुनाको गाउँले रुप

    काठमाडौं । मगर संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

    अनिल बुढामगरको निर्देशनमा जनक घर्तीमगरले निर्माण गरेको चलचित्रका दुई डिजाइनका पोस्टरमध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देख्न सकिन्छ । अर्को डिजाइनमा दयाहाङ, मिरुनालगायत चलचित्रका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

    चलचित्रको केही साताअघि क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । बुधबार अफिसियल फर्स्टलुक दर्शकमाझ ल्याइएको हो ।

    पूर्वी रुकुम आसपासमा करिब एक महिना छायाँकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिलले लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुवास कोइरालाले साथ दिएका छन् ।

    जीएम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् । चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द र संगीत रहेको छ ।

    कृष्ण भण्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । चलचित्रलाई नेपाल वितरण आरआर फिल्मस्ले गर्दैछ ।

    असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, वीना थापामगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न् ।

  • एलिनालाई श्रीमानले २ मिनेटसम्म खुट्टा ढोगाएको भिडियोले सामाजिक सञ्जालमा छेडियो बहस

    एलिनालाई श्रीमानले २ मिनेटसम्म खुट्टा ढोगाएको भिडियोले सामाजिक सञ्जालमा छेडियो बहस

    काठमाडौं । गायिका एलिना चौहानले हालै आफ्नो प्रेमी विष्णु सापकोटासँग धूमधामले विवाह गरिन् । उनको विवाहसँग सम्बन्धित भिडिओहरूले टिकटक र युट्युब राम्रैसँग रंगिएको छ । आफूले रोजेको जीवनसाथी पाउँदा दुवै जना निकै हर्षित देखिन्छन् ।

    विवाहपछिको एउटा भिडिओ भने अहिले सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनिरहेको छ । भिडिओमा एलिनाले आफ्नो श्रीमानको खुट्टा ढोगेकी छन् तर, यो सामान्य ढोगाइ छैन । करिब २ मिनेटसम्म एलिना श्रीमानको खुट्टामा घोप्टो परिरहेको भिडियोमा देख्न सकिन्छ ।

    विवाहमा र विवाहपश्चात् श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने परम्परागत रिवाज नै हो । यसरी ढोग्दा श्रीमान् प्रसन्न भएर श्रीमतीलाई पैसा दिने पुरानो प्रचलन समेत छ । थुप्रै विवाहित जोडीले यो प्रचलन अहिले पनि अनुसरण गर्छन् । मागे जति पैसा नपाउन्जेल दुलहीले ढोगिरहने दृश्य पनि नौलो होइन । यो पैसाका लागि भन्दा पनि रमाइलोका लागि हो ।

    यद्यपि, महिलावादी कोणबाट भने श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने प्रथामाथि नै आलोचना हुँदै आइरहेको छ । महिलावादीहरू यसलाई पितृसत्तावादी चिन्तनको उपज मान्ने गर्छन् । त्यसमाथि एलिनाजस्तो सेलिब्रिटीले श्रीमानको खुट्टामा पसारिएर पैसाका लागि हात थापिरहेको दृश्य धेरैले पचाउन सकिरहेका छैनन् । कतिले यसलाई नौटङ्कीको संज्ञा दिएका छन् त कतिले कलाहीन पुरुषत्व प्रदर्शनको । केहीले चाहिँ श्रीमान् र श्रीमतीको निजी चाहनामा गरिएको कुरालाई इस्यू बनाइरहनु नपर्ने भन्दै बचाउ पनि गरेका छन् ।

    महिलावादी अभियन्ता आरती चटौतले फेसबुकमा लेखेको टिप्पणीले धेरैको समर्थन पाएको छ । उनले यसलाई ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको नमूना दृश्य’ को संज्ञा दिएकी छन् ।

    उनको टिप्पणी जस्ताको तस्तै :

    समाजवाद उन्मुख समावेशी लोकतन्त्रको

    यो ‘नमूना दृश्य’ !!

    हालैको एक भिडियोमा एलिना चौहानले विष्णुको खुट्टा समातेर निरन्तर ढोगिरहेको र त्यसबापत हात थापेर ‘मागेको’ र विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रूपैयाँबाट शुरू गरी, दश, बीस गर्दै दिएको‘ उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यस्लाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जोकोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ !! (हामीले सो भिडियो पुन: प्रयोग गर्न उचित ठानेनौ )

    नव विवाहित यो जोडीमा हामी नेपालकी चर्चित गायिका एलिना चौहानलाई चिन्छौ, अनि उनकै कारणले विष्णु सापकोटालाई पनि चिन्यौ !!

    चर्चामा रहेको यिनको विवाह पछिको एक भिडियोले हाम्रो समाजलाई ठुलो चुनौती दिएको छ !! यहाँ यो प्रसंगलाई ‘रमिता’का रूपमा हाँसो मजाकका साथ गरिँदै छ ! तर यो रमाइलो पटक्कै होइन। यो दृश्य पितृ सत्ताले महिलालाई दास नै मान्छ र आजको समाजवाद उन्मुख समावेशी लोकतन्त्रमा समेत यो कुसंस्कार, शिक्षित भनिएकामा समेत उस्तै गरी छ भन्ने दरिलो उदाहरण हो ।अनि हरेक पक्षबाट महिलाको हैसियत नै सशक्त भए पनि पुरुष मात्र पुरुष भएको कारणले ‘भगवान्’ नै हुन्छ भन्ने परम्परागत गलत सोच कहीँ कसैका लागी थप सिकाई नबनोस्, यो हाम्रो सरोकारको विषय बन्नुपर्छ !!

    सह जीवनको सुरुवात सहअस्तित्वको स्वीकारोक्तिबाट हुनुपर्छ, असमान व्यवहारबाट हैन ! जीवनसाथीमा कोही मालिक र कोही दासीको रूपमा हुनुहुँदैन !

    कुनै पनि सम्बन्ध तब सही र दिगो हुन्छ जब एक अर्काप्रतिको प्रेमसँगै परस्पर सम्मान र विश्वास हुन्छ, सहअस्तित्वको कसीमा !

    स्मरण रहोस् यो व्यक्तिगत सवाल हैन, हामी बिच अझै बाचेको कुसंस्कार हो जस विरुद्ध हामी सबै बोल्नु र सचेत हुन आवश्यक छ !! मानिस—मानिस बिच जात, वर्ग, लिङ्ग, वर्ण वा अन्य कुनै पनि कारणले विभेद रहे सम्म कुनै पनि समाज र राष्ट्र सभ्य र समृद्धि हुनै सक्दैन !

    हाम्रो संविधान र कानूनले यस्ता हरेक असमानतालाई बन्देज गरिसकेको छ ! अब व्यवहारमा ल्याउने जिम्मा हाम्रो हो ! यो रूपान्तरणमा समाजमा स्थापित व्यक्तित्वहरूको उत्तरदायित्व अझ बढी हुन्छ भन्ने पनि हामी एक पटक सम्झिन र सम्झाउन चाहन्छौ !

    यो कुप्रथा कै समर्थनमा पनि बिचार आउनेछन् भन्ने हामीलाई हेक्का छ ! यो पनि समाजमा शिक्षासँगै कति चेतना बढेछ भन्ने मापनको कडी हुनेछ र परिवर्तनका लागी अझै लाग्न प्रेरित गर्नेछ ।

  • चार देशमा ‘फर्की फर्की’ को वितरण अधिकार विक्री

    चार देशमा ‘फर्की फर्की’ को वितरण अधिकार विक्री

    काठमाडौं । ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको माग उच्च माग भएको हो ।

    यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले लिएको छ ।

    नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मसले विक्री गर्नेछ ।

    यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

    सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।

  • पूर्वकर्मचारी हरिवंशलाई निम्त्याएर रत्नराज्य स्कुलले मनायो ६३ औं वार्षिकोत्सव

    पूर्वकर्मचारी हरिवंशलाई निम्त्याएर रत्नराज्य स्कुलले मनायो ६३ औं वार्षिकोत्सव

    काठमाडौं । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयले आज आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।

    उक्त अवसरमा आचार्यले वार्षिकोत्सवमा भाग लिन पाएकोमा खुशी व्यक्त गरे । आफू विद्यालयको भूतपूर्व कर्मचारी रहेको पनि उनले स्मरण गरे ।

    आचार्यले भने, ‘मैले आज यो स्कुलमामा मुख्य अतिथि भएर आउन पाउँछु भन्ने कल्पना गरेकै थिएनँ । म यो स्कुलको एउटा एकदमै साधारण कर्मचारी थिएँ २०३२ सालमा । मेरो पद थियो मुखिया । मेरो हाकिम होमबहादुर केसी खरदार हुनुहुन्थ्यो । हामी यहाँ फिस बुझ्ने काम गर्थ्यौं । त्यही मान्छे आज यो गरिमामय समारोहमा प्रमुख अतिथि भएर उपस्थित हुन पाउँदा मेरो मन कति गदगद भएको होला ?’

    वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा शिक्षकशिक्षिकाहरुलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।

  • ओलीको फिल्म सुटिङ, पहिलो सट दुई टेकमा ओके (भिडिओ)

    ओलीको फिल्म सुटिङ, पहिलो सट दुई टेकमा ओके (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो केहीबेरका लागि ‘बहालबाला प्रधानमन्त्री’ भए । तर, वास्तविकतामा नभएर फिल्म सुटिङमा ।

    रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा ओलीले प्रधानमन्त्रीको भूमिका निभाएका छन् । सो चलचित्रको सुटिङ आज एमालेको पार्टी कार्यालय च्यासलमा भएको थियो ।

    चलचित्रको सुटिङका लागि ओलीले ११ बजे समय दिएका थिए । तर, उनी २ बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार छिरे । प्रधानमन्त्रीसँग भेटघाट सकेर साढे ३ बजेतिर बल्ल ओलीको च्यासलमा इन्ट्री भयो ।

    ओलीले सुटिङ गर्नुअघि क्यामरामा धुपबत्ती गरे । निर्देशक ढुंगानाले ओलीलाई उनको भूमिका र अहिले खिचिने सटबारेमा थोरै व्रिफिङ गरे । त्यसपछि सुटिङ सुरु भएको थियो ।

    निर्माणपक्षले सुटिङको रिपोर्टिङका लागि सञ्चारकर्मीलाई पनि निम्त्याएका थिए । तर, उनीहरूलाई सुटिङको दृष्य कैद गर्न भने दिइएन । आफैंले बोलाएर खिच्न नदिएपछि सञ्चारकर्मीहरू रुष्ट बनेका थिए ।

    पहिलो सटमा ओलीले आफ्नो कार्यकक्षबाट हिँडेर मिटिङ हलमा प्रवेश गरेको दृष्य खिचियो । यो दृष्य दुई टेकमा ओके भएको थियो । मिटिङ हलमा प्रधानमन्त्रीलाई भेट्न एसिडपीडितहरू पर्खिरहेका थिए । उनीहरूसँग ओलीले गरेको संवादको सुटिङ गरिएको छ ।

    यो चलचित्रमा ओलीसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । नेपालको सुटिङ केही दिनअघि भएको थियो ।

    -तस्बिरहरू : उमेश कार्की । 

  • भरत थापामाथि भ्रष्टाचार मुद्दाले ‘मेयर’ नरोकिने, निर्देशक खनाल भन्छन्- मेरो लागि विशेष फिल्म हो

    भरत थापामाथि भ्रष्टाचार मुद्दाले ‘मेयर’ नरोकिने, निर्देशक खनाल भन्छन्- मेरो लागि विशेष फिल्म हो

    काठमाडौं । बाग्मती नगरपालिकाका मेयर भरत थापामाथि बनिरहेको बायोपिक फिल्म ‘मेयर’ को छायांकन सकिएको छ । सर्लाही र सिन्धुलीमा ५१ दिनमा छायांकन गरेर निर्माण टिम शुक्रवार काठमाडौं फर्कियो ।

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘मेयर’को छायांकन काठमाडौंको मल्ल होटेलबाट सुरु भएको थियो । अधिकांश दृश्य सर्लाहीमा खिचिएका छन् भने केही सिन सिन्धुली र काठमाडौंका छन् ।

    यो चलचित्रको छायांकन जारी रहँदा बाग्मतीका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ बिगो दाबीसहित मुद्दा हालेको थियो । जोमाथि बायोपिक बनाउन लागिएको हो, उनै व्यक्ति भ्रष्टाचारमा मुछिएपछि मेयर चलचित्र के हुन्छ भन्ने संशय बढेको थियो । तर, चलचित्रको निर्माण रोकिएन ।

    निर्देशक खनालले ‘मेयर’ आफ्ना लागि विशेष रहेको बताएका छन् । सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रको छायांकन भएको उनको भनाइ छ ।

    चलचित्रको एउटै सिनमा ११ हजारभन्दा धेरैको भिड जम्मा गरेर छायांकन भएको उनले दावी गरे । खनालले भने, ‘मेरो जीवनकै सबैभन्दा ठूलो क्राउडमा यो फिल्ममा खिचेको छु । मेरो मात्रै होइन सम्भवतः यो नेपाली चलचित्रकै इतिहासमा ठूलो क्राउडमा खिचिएको फिल्म हुनुपर्छ ।’

    पर्दामा ‘मेयर’ कति भव्य देखिन्छ त्यसले अहिले आफूले भनेको कुरा प्रमाणित गर्ने उनले बताए । खनाल थप्छन्, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन । यो चलचित्र राजनीतिक सिनेमाको इतिहासमा नेपालमै ट्रनिङ पोइन्ट हुनेछ ।’

    चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । जसलाई चलचित्रमा दर्शकले मेयर भरत थापाको भूमिकामा देख्न पाउनेछन् ।

    खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

  • दिलीप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त

    दिलीप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त

    काठमाडौं । चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीको पहिलो चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ ।

    सञ्चारकर्मी प्रकाश सुवेदीको नेतृत्वमा मङ्गलवार बिहान भैसेपाटीमा अवस्थित कार्य विनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ सहित फिल्मको शुभ साइत गरिएको हो ।

    चलचित्रमा दिव्यालाई अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायतले साथ दिँदैछन। चलचित्रलाई निर्माता थमन कुमार भण्डारीले निर्माण गर्ने भएका छन्।

    उनी मकै घर रेस्टुरेन्टका सञ्चालक समेत हुन। दुई हप्तापछि छायांकन सुरु गरिने चलचित्रको निर्देशनको जिम्मा भने राजन भुसालले लिएका छन्।

  • ‘बलिदान’मा दिव्य देव अनुबन्धित

    ‘बलिदान’मा दिव्य देव अनुबन्धित

    काठमाडौं। आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो।

    चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। ‘अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ ।

    बलिदानको एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ’ निर्देशक सेनले भने, ‘यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ। चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।’

    नाट्यकर्म र चलचित्र अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने उनको चलचित्र ‘रुदाने’ भने रिलिज भएको छैन। उनले हालै मात्र ‘मेयर’ चलचित्रमा पनि अभिनय गरेका छन्।

    उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत चर्चित छन्। उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरिसकेका छन्।

    दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए। गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको सुनाए।

    ‘टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ’, उनले भने, ‘केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।’

    ‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भइसकेका छन्।

    सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भइसकेको छ। यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। चलचित्रको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुँदैछ।

    देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए। आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

  • ‘फर्की फर्की’ को ट्रेलर हिट, दुई दिनमै २० लाख भ्यूज कटाएपछि अनमोल दंग

    ‘फर्की फर्की’ को ट्रेलर हिट, दुई दिनमै २० लाख भ्यूज कटाएपछि अनमोल दंग

    काठमाडौं । सुपरस्टार अनमोल केसीको नयाँ चलचित्र ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट शानदार प्रतिक्रिया पाएको छ । दुई दिनमै २० लाख भ्यूज पाएपछि मेकरहरु उत्साहित बनेका छन् ।

    २४ घन्टामै १० लाखभन्दा बढी भ्यूज पाएर ‘फर्की फर्की’को ट्रेलरले रेकर्ड राखेको थियो । हलसम्म युट्यूवमा साढे २२ लाखभन्दा बढीपटक हेरिसकिएको छ । ट्रेलरल ४७ हजारभन्दा बढी लाइक बटुल्दा ६ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांस प्रतिक्रया सकारात्मक छन् ।

    प्रतिक्रिया हेर्दा यस चलचित्रको प्रतिक्षामा देखिन्छन् दर्शक । ट्रेलरले कथा र प्रस्तुतिमा नयाँपनको आभास पनि गराएको छ ।

    अनमोलका लागि निकै महत्वपूर्ण चलचित्र हो फर्की फर्की । यसअघिको फिल्म छड्के २ सुपर फ्लप भएकाले उनको स्टारडममा धक्का लागेको थियो । फर्कीफर्कीबाट उनी फेरि एकपटक आफ्नो कम्फर्ट जोनमा फर्केर लभर व्वाइको रुपमा देखिँदैछन् । जसिता गुरुङसँग पहिलोपटक अनस्क्रिन रोमान्स गर्दैछन् अनमोल । अनमोल–जसिताको टङकिस टर््ेलरमै समेटिएको छ ।

    फर्की फर्कीको ट्रेलर सार्वजनिक लगत्तै चलचित्र क्षेत्रका थुप्रैले सामाजिक सञ्जालमा सेयर गरेका थिए । सबैले ट्रेलरको प्रशंसा गरेका छन् । ट्रेलर हिट हुँदा अनमोल पनि उत्सहित बनेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दर्शकप्रति आभार व्यक्त गरेका थिए । उनी अब प्रमोसनको दौडमा लाग्ने तयारीमा छन् । फर्की फर्कीसँगै मल्टिस्टार फिल्म पुजार सार्की रिलिज हुने भएकाले अनमोललाई चुनौती छ ।

    फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले वैदेशिक प्रदर्शनमा पनि बल मिलेको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका एक दर्जनभन्दा बढी देशहरूबाट फिल्मको माग आइसकेको बताए । केही देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको उनले जानकारी दिए । रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीको दाबी छ ।

    सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको यो डेब्यू फिल्म हो ।

  • ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

    ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

    काठमाडौं। गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन्। प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।

    वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए। ‘हप्तैपिच्छे नयाँ गीत बजारमा ल्याउन पनि सकिन्छ होला तर, त्यसले मैले श्रोता दर्शकलाई दिन खोजेको गुणस्तरको गीत तयार गर्न भने सक्दिन। मैले यो गीत पनि सङ्ख्या बढाउने मात्र नभई गुणस्तरलाई ख्याल गरी अघिल्लो गीत देखि ६ महिना यता मात्र सार्वजनिक गरेको हुँ,’ बिकले बताए।

    उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए।

    गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन्। क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुतकर्ता बिकले बताए।

    ‘निरमाया’ को भिडियोलाई जिबि आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन्। सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।

  • पुजार सार्कीको ‘दर्शन गरेँ’ गीतमाथि ‘कपि-पेस्ट’ को आरोप (भिडिओ)

    पुजार सार्कीको ‘दर्शन गरेँ’ गीतमाथि ‘कपि-पेस्ट’ को आरोप (भिडिओ)

    काठमाडौं । आउँदो जेठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ’ कपिराइट विवादमा तानिएको छ ।

    एक वर्षअघि युट्युबमा सार्वजनिक भएको कौरा गीत ‘सोल्टिनीको सिरैमा चन्द्रमा’ बोलको गीतको भाकासँग हुबहु मिलेपछि विवाद उब्जिएको हो ।

    ‘सोल्टिनीको शिरैमा चन्द्रमा’ का संगीतकार करणराज कार्कीले ‘दर्शन गरेँ’ गीतका संगीतकार सुवास भुसाललाई आफ्नो संगीत ‘कपी पेस्ट’ गरेको आरोप लगाएका छन् ।

    उनले नेपाल प्रेससँग भने, ‘मेरो गीत अलि राम्रो भ्यूज गएकाले सायद उहाँ प्रभावित पनि हुनुभएको हनसक्ला । तर, ९०/९५ प्रतिशत मेरो गीत उहाँले कपी–पेस्ट गर्नुभयो ।’

    तर, संगीतकार भुसाल भने लोकगीत आफूहरू जन्मनुभन्दा अगाडिदेखि नै समाजमा रहेकाले कपीपेस्ट भन्ने सवालै नहुने तर्क गर्छन् ।

    उनले भने, ‘लोक गीत न मैले बनाएको हो, न उहाँले बनाएको हो । कौरा भनेको गुरुङ, मगर समुदायको गीत हो । त्यो समुदायले कुनै कुरा उठाउनुभएको छैन । मैले त झनै मौलिक गीतलाई मूलधारको फिल्ममा राख्ने आँट गरेको हो । बरु उहाँहरू यसबाट खुसी हुनुपर्ने हो ।’

    भुसालले भनेजस्तै लोक भाकाका गीतहरूमा सामान्यतया कपि राइट लाग्दैन । तर, कुनै चलनचल्तीको भाकामा नयाँ शब्द खिपेर गीत बनाइएको अवस्थामा आफूलाई ‘संगीतकार’ दाबी गर्न पनि नमिल्ने हो । पुजार सार्कीको गीतमा भने संगीतकार भनेर बकाइदा भुसालको नाम उल्लेख गरिएको छ ।

    यस विषयमा गल्ती स्वीकार्दै उनले भने, ‘सबैले लोकगीतमा संगीतकार भनेर लेख्ने ट्रेण्ड आएकाले मैले पनि लेखेँ । संगीतकार भनेर लेख्नु मेरो गल्ती हो । लोक गीतको त संकलन हुन्छ । मैले पनि लय संयोजन भनेर राख्नुपर्ने हो । यदि उहाँले पनि संयोजन भनेर लेख्नुहुन्छ भने म पनि संगीतकारबाट नाम हटाउँछु ।’

    कार्की भने गीत मौलिक भए पनि ‘ट्युन’ संगीतकारको हुने भएकाले जसको कन्टेन्ट हो, उसैले क्रेडिट पाउनुपर्ने बताउँछन् । परापूर्वकालदेखिको भाका भए पनि त्यही फ्रेममा बसेर नयाँ सृजना गरिने भएकाले यसमा कपी राइटको हक आकर्षित हुने उनको भनाइ छ ।

    संगीतकारबाट नाम हटाउनुपर्ने भुसालको प्रस्तावमा कार्कीले भने, ‘लोकगीतमा ठूल्ठूला संगीतज्ञ जोडिनुभएको छ । लोकगीत भन्नसाथ सबै संकलन हो भनेर भन्न कहाँ मिल्छ ? लोकगीत भन्दै आफ्नो नाम राख्दै जाने हो भने त खेमराज गुरुङको ‘वारी जमुना पारी जमुना’को ट्युनमा अर्कै गीत ल्याए भइहाल्यो नि । तर, त्यसो गर्न मिल्दैन ।’

    अहिले आफ्नो गीत ९० प्रतिशतभन्दा बढी कपी भएकाले यस विषयमा भुसालसँग बसेरै समझदारीमा विवाद सल्टाउने मनस्थितिमा आफू रहेको कार्कीले बताए । यदि त्यहाँबाट पनि समाधान निस्किएन भने संघ संस्थाहरू गुहार्ने उनले बताए ।

    कार्कीले भने, ‘२५ वर्ष भयो संगीतमा लागेको । हामीले नामै मात्र त हो कमाउने । त्यही नाममा असर परेको छ ।’

  • चलचित्र मनसरा: मिश्रित समाजको कथा, बैशाख २१ गते रिलिज हुने

    चलचित्र मनसरा: मिश्रित समाजको कथा, बैशाख २१ गते रिलिज हुने

    पोखरा । ‘मनसरा’ मिश्रित समाजको कथा भएको निर्माण पक्षले बताएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले चलचित्र मिश्रित समाजको कथालाई समेटिएको बताएको हो । चलचित्र बैशाख २१ गते देशैभर रिलिज हुँदैछ । चलचित्रको प्रचारप्रसारका लागि निर्माण पक्ष देश दौडाहमा छ ।

    चलचित्र निर्देशक एवम् लेखक उपेन्द्र सुब्बाले समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको बताए ।

    ‘मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउनेछन्’, उनले भने ।

    सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि सिनेमामार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजिएको उनले सुनाए ।

    निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पूर्वतिर पाइने धान जसको डाँठ अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाए तापनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसँग जोड्ने प्रयास सिनेमामा गरेको उनले बताए ।

    अभिनेता प्रवीण खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए ।

    सामाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारमा बसेर हेर्न मिल्ने उनको भनाइ छ । उनी सिनेमामा साधारण कृषकको भूमिकामा देखिएका छन् ।

    नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन् । जारीमा दर्शकबाट पाएको मायास्वरुप मनसराको आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन् ।

    कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिकाअनुसार नै आफूलाई चलचित्रमा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भूमिकालाई आफूले सक्दो निभाउने प्रयास गरेको उनले बताइन् ।

    अभिनेत्री मेनुका प्रधान चलचित्रमा आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा ढुक्क छिन् । सामाजिक कथा भएकाले चलचित्र हेर्न हलसम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।

    कार्यकारी निर्माता सिजन दाहालले चलचित्र छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए ।

    कमर्सियल चलचिलमा जत्तिकै लगानी मनसरामा लागेको उनको भनाइ छ ।

  • महाजात्राले महाव्यापार गर्दा ‘डिग्री माइला’ को ग्रस कलेक्सन कति ?

    महाजात्राले महाव्यापार गर्दा ‘डिग्री माइला’ को ग्रस कलेक्सन कति ?

    काठमाडौँ। आज राजधानीमा चलचित्र ‘डिग्री माइला’ को पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो। चलचित्र निर्माण टिमले सबैलाई धन्यवाद दिन कार्यक्रमको आयोजना गरेका थिए।

    आयोजित कार्यक्रममा चलचित्रको ग्रस कलेक्सनको चर्चा चलेको थियो। चलचित्र निर्माताका अनुसार ‘डिग्री माइला’ले पहिलो साता घरेलु बक्स अफिसमा ५ करोड ५ लाख ग्रस कमाइ गरेको छ। चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ५० लाख ग्रस र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो।

    निर्देशक रामबाबु गुरुङ चलचित्र क्षेत्रका स्थापित निर्देशक हुन। उनले बनाएका चलचित्रहरूले सिने नगरीमा राम्रा रेकर्डहरू राखेका छन्। त्यसैले पनि, उनले बनाएका चलचित्रहरूले राम्रो कमाइ गर्नेमा धेरै विश्वस्त रहन्छन्। तर ‘डिग्री माइला’ भने निर्माण टिमले सोचेजस्तो रहेन।

    कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो कमाइ आफूहरूले अपेक्षा गरेको भन्दा कम रहेको बताए ।

    ‘ओपनिङ सोचेजस्तो भएन। हामीले कबड्डी र जारीकै लेभलमा कमाइ होला कि भन्ने सोचेका थियौँ । हाम्रो अपेक्षा धेरै माथि रह्यो,’ पोखरेलले भने ।

    भिन्न तरिकाले कथा भन्ने आफूहरूको प्रयासको गरेको बताउँदै पहिलो साताको कमाइ अपेक्षित नै रहेको चलचित्रका प्रमुख पात्र दयाहाङ राईले सुनाए।

    चैत्र ३० गतेबाट रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

  • ‘पूर्ण बहादुरको–सारङ्गी’को मोसन पोष्टर टिजर रिलिज, बुवाको भूमिकामा विजय बराल ?

    ‘पूर्ण बहादुरको–सारङ्गी’को मोसन पोष्टर टिजर रिलिज, बुवाको भूमिकामा विजय बराल ?

    काठमाडौं। सेभेन सिज इन्टरटेनमेन्टको निर्माणमा नयाँ नेपाली चलचित्र ‘पूर्ण बहादुरको–सारङ्गी’बन्ने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रको शुक्रवार मोसन टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो ।

    सार्वजनिक मोसन टिजर पोस्टरमा सारङ्गीको मिठो धुन, रुख र पहाडको बाटो देखाइएको छ। त्यहीँ बाटो हुँदै एक व्यक्ति हिँडिरहेको देखाइएको छ जसले काँधमा बच्चा बोकेका छन् र पछाडि सारङ्गी झुन्ड्याएका छन् । त्यतिकैमा बच्चाले सोध्छ,‘बा, तिमीले मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ ?’

    हाँस्दै बाउले जवाफ दिन्छन्, ‘किनभने म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर ।’ यतिभन्दा ऊ भक्कानिइसकेको हुन्छ । थप बोल्न सक्दैन ।

    टिजर हेर्दा ऊ गाउँघरमा सारङ्गी रेट्दै हिँडेर आफ्नो घरपरिवार चलाइरहेको र उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ ।

    संवादपछि सन्तानको खुसीका लागि आफूले सके जति घाम र हुरी छेकिदिने र शरीरमा एक मुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने भाव प्रकट गरिएको छ। सार्वजनिक टिजरमा बाउ र छोराको भूमिकामा को छन् भन्ने प्रस्ट्याइएको छैन।

    सार्वजनिक मोसन टिजर पोष्टरमा देखाइएका बुवा विजय बराल हुन। टिजरमा बुवाको आवाजमा विजय बरालको आवाज सुन्न सकिन्छ। सुरुमा झट्ट सुन्दा कसको आवाज भनेर ठ्याक्कै ठम्याउन गाह्रो पर्छ। तर उक्त आवाज विजय बरालको हो। थुप्रै चलचित्रबाट चौतर्फी तारिफ बटुल्न सफल बरालको यो चलचित्र कस्तो हुनेछ, त्यो हेर्न भने २०८२ कुर्नुपर्नेछ।

    विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो चलचित्रलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत छ ।

  • साढे ३ करोड लगानीको ‘महाजात्रा’ ले देश-विदेशबाट उठायो २६ करोड

    साढे ३ करोड लगानीको ‘महाजात्रा’ ले देश-विदेशबाट उठायो २६ करोड

    काठमाडौँ । गत चैत्र ९ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले नेपाल र बाहिर गरी २६ करोड ६५ लाख कुल कसेक्सन गरेको छ।

    चलचित्रले एक महिनामा २६ करोड माथिको कलेक्सन गर्दै पाँचौँ सातामा प्रवेश गरेको हो।

    साढे तीन करोड लागतमा निर्मित चलचित्रले घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको छ भने नेपाल बाहेक वर्ल्ड वाइड १० करोड ७५ बराबरको व्यापार गरेको छ ।

    षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्रको रेकर्ड तोडेको ‘महाजात्रा’ ले २६ करोड माथि ग्रस कलेक्सन गर्दा कसको भागमा कति पर्यो त < यसबारे भने निर्देशक प्रदीप भट्टराई बोल्न चाहेनन्।

    चलचित्र सबैको शेयरमा निर्माण भएको र यो नितान्त भित्री कुरा भएकाले यसबारे बोल्न उचित नरहेको उनले सुनाए।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

  • ‘फर्की-फर्की’को आकर्षक ट्रेलर- अनमोल फर्किए आफ्नै लयमा (भिडिओ)

    ‘फर्की-फर्की’को आकर्षक ट्रेलर- अनमोल फर्किए आफ्नै लयमा (भिडिओ)

    काठमाडाैं । सुपरस्टार अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएको छ । विषयवस्तु र मेकिङको हिसाबले ट्रेलर लोभलाग्दो देखिन्छ ।

    यसअघि ‘छड्के २’ मा ठूलो धक्का खाएका अनमोलको करिअरमा ‘फर्की फर्की’ निकै महत्वपूर्ण चलचित्र हो । मल्टिस्टारर फिल्म पुजार सार्कीसँग भिड्न लागेकाले पनि अनमोलका लागि यो चलचित्र अघि छड्के ३ मा असुहाउँदो भूमिका खेल्दा असफलता व्यहोरेका अनमोल ‘फर्की फर्की’ मा आफ्नो कम्फर्ट जोनमा फर्केका छन् । यद्यपि, ट्रेलरले पक्कै केही न केही फरक स्वादको आशा जगाएको छ । मेकिङमा निकै मिहिनेत र खर्च पनि झल्किन्छ ।

    ट्रेलर अनमोल केसीमाथि नै पूर्णरुपमा केन्द्रित छ । उनलाई रोमान्टिकदेखि आक्रामक अवतारमा समेत देखाइएको छ । अनमोलको भूमिका र अभिनयमा उनको पुरानो हिट चलचित्र ‘ड्रिम्स’ को झल्को आउन सक्छ ।

    लभस्टोरी जनराको फिल्ममा अनमोलको जोडीका रुपमा जसिता गुरुङले अभिनय गरेकी छन् । ट्रेलरमा अनमोल जसिताको लिपलकसमेत देखाएर दर्शक लोभ्याउन खोजिएको छ । फर्की–फर्की हिट भएमा यो जोडी नेपाली चलचित्रमा नयाँ हिट कपलका रुपमा उदाउन सक्छ ।

    (भिडिओ)

    चलचित्रको लेखन तथा निर्देशन सुयोग गुरुङले गरेका हुन् । चलचत्रिमा सलोन बस्नेत विशेष भूमिकामा देखिनेछन् । अन्य कलाकारहरुमा समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, स्वप्निल घिमिरे लगायत छन् ।

     

     

  • भिडियो पसल एपमा ‘एक भगवत् र एक गीता’

    भिडियो पसल एपमा ‘एक भगवत् र एक गीता’

    काठमाडौं । अभिनेता विपिन कार्कीको फरक अवतार रहेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियो पसल एपमा रिलिज गरिएको छ ।

    नयाँ वर्षको छेको पारेर रिलिज गरिएको उक्त चलचित्र नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ ।

    लैङ्गिक अल्पसङ्ख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको चलचित्र ‘एक भगवत् र एक गीता’ ले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ ।

    झरना थापाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर सँगै कबिर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय रहेको छ । सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रको कथा निर्देशक झरना थापाको रहेको छ ।

    सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । २०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा ‘छक्का पन्जा ६’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका चलचित्रहरू हेर्न सकिन्छ । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

  • शिल्पा शेट्टीका पति राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत

    शिल्पा शेट्टीका पति राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत

    काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

    बीबीसीका अनुसार लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत प्रवर्तन निदेशालय (ईडी) ले कुन्द्राको उक्त रकम बराबरको चल/अचल सम्पत्ति जफत गरेको हो।

    जफत गरिएको सम्पत्तिमा राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट, इक्विटी शेयर, कुन्द्राकी पत्नी शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याटसमेत समावेश छ।

    जुलाई २०२१ मा अश्लील फिल्म बनाएर एपमार्फत उपलब्ध गराएको आरोपमा व्यवसायी राज कुन्द्रा पक्राउ परेका थिए। पछि उनले जमानत पाए।