काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गरिएको ‘फाइरिङ’ प्रकरणमा पक्राउ परेका अभियुक्त अनुज थपनको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका प्रहरी हिरासतमै आत्महत्या प्रयास गरेका अनुजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
रिपोर्टका अनुसार अनुजले हिरासतको शौचालयमा ‘बेडसिट’ ले पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए ।
घटना बारे थाह पाउँदा बित्तिकै अस्पताल पुर्याएका अनुजलाई उपचारको क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
को हुन् अनुज थपन ?
अनुज सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा भएको ‘फाइरिङ’ प्रकरणमा पक्राउ परेका एक अभियुक्त हुन् । अनुज र सोनु सुभाष चन्दर भनेर चिनिने अर्का अभियुक्तलाई मुम्बई प्रहरीले पन्जाबबाट पक्राउ गरेको थियो ।
उनीहरूमाथि सलमानको घर अगाडि गोली चलाउने शुटर विक्की गुप्ता र सागर पाललाई बन्दुक उपलब्ध गराएको आरोप थियो ।
काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले आफूलाई जीवनसाथीको आवश्यकता महसुस भएको बताएकी छन् । तर, जीवनसाथीको प्रतिक्षामा समय खेर नफाल्ने उनको भनाइ छ ।
एक भारतीय च्यानललाई दिएको अन्तरवार्तामा मनिषा आफ्नो निजी जीवनबारे खुलेकी छन् । एउटा प्रश्नमा उनलाई जीवनसाथीको आवश्यकता भएको छ ? भनेर सोधिएको थियो ।
मनिषाले यस्तो जवाफ दिइन्ः
इमान्दारिपूर्वक भन्नुपर्दा, हो, भएको छ । यदि मैले छैन भनेँ भने त्यो झूट हुन्छ । भएको छ । एउटा पुरुष व्यक्ति वा जीवनसाथी मसित भएको भए अवश्य पनि राम्रो हुन्थ्यो । तर, फेरि पनि म त्यसका लागि प्रतीक्षा गरेर आफ्नो समय खेर फाल्न सक्दिनँ । यदि मेरो भाग्यमा छ भने मैले पाउने छु । पाइनँ भने पनि मलाई ठीकै छ । म राम्रो जीवन बाँचिरहेको छु ।
मसित शान्तिपूर्ण र मायालु परिवार छ । परिवारले सपोर्ट गरिरहेको छ । माया गर्ने साथीहरु छन् । काम पनि गरिरहेको छु । भगवानको कृपाले समस्या छैन । म सबै हिसाबले आफूलाई पूर्ण पाउँछु । यस्तो केही छैन कि म अपूर्ण छु । तर पनि यदि राम्रो साथी भएको भए म निश्चय पनि इन्जोइ गर्थेँ ।
अभिनेत्री कोइराला डिभोर्सी हुन् । सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी उनले वैवाहिक सम्बन्धलाई लामो समय निरन्तरता दिन सकिनन् । विहेको दुई वर्षपछि नै मनिषा र सम्राटको डिभोर्स भएको थियो । त्यसयता उनी आफ्नो माइती परिवारसँग छिन् ।
मनिषा क्यान्सर सर्भाइभरसमेत हुन् । अन्तरवार्तामा उनले क्यान्सर भएका वखत बाँच्ने आशा नै क्षीण भएको बताएकी छन् ।
काठमाडौं । गायक राजेश पायल रायल पछिल्लो समय आफ्नो कलाकारिताभन्दा बाहिर राजनीतिक विषयहरूमा पनि खुलेर बोल्न थालेका छन् । खासगरी जातीयताका मुद्दाहरूमा उनको गहिरो अभिरुचि र पक्षधरता प्रकट भइरहेको छ ।
हालै इलाम २ मा भएको उपचुनावमा राजेश पायलले ‘पहिचानवादी’ उम्मेदवार डकेन्द्र थेगिमलाई जिताउन लागिपरेका थिए । तर, उनको प्रयास सार्थक भएन । एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा मुढा चुनाव चिन्ह भएका थेगिम तेस्रो स्थानमा सीमित भए ।
पहिचानवादी उम्मेदवारको हारले राजेश पायल दुखी देखिन्छन् । उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै जनताले अझै पहिचानको मुद्दा राम्ररी नबुझेको गुनासो गरे ।
आफूले कुनै पार्टी विशेषको नभएको भन्दै उनले एउटा स्वतन्त्र र साझा पहिचानवादी उम्मेदवारका रूपमा थेगिमलाई समर्थन गरेको उनले स्पष्ट गरे ।
‘म कुनै पार्टीको मान्छे होइन । कसैको विरोधका लागि, कसैलाई हराउन आएको पनि होइन । म पहिचानको पक्षधर हुँ । पहिचान भनेको राष्ट्रको सम्पत्ति हो । अझै पनि जनतामा पहिचानबारे सही बुझाइ छैन । म त्यही बुझाउन आएको हुँ,’ राईले भने ।
राजेश पायलले चुलाचुलीमा आयोजित थेगिमको चुनावी सभामा पुगेर गीत गाउँदै भोट मागेका थिए । चुलाचुलीबाट सोचेअनुसार नै भोट आएको उनले बताएका छन् ।
‘चुलाचुलीका जनतालाई म स्यालुट गर्छु । त्यहाँ जस्तो माहौल थियो, त्यही अनुसार भोट झर्यो,’ उनले खुशी व्यक्त गरे ।
राईले चुनावी प्रक्रियामा हारजित सामान्य भएको बताए । चुनावी पराजय भोगेपछि पहिचानको मुद्दा झन् बलियो भएको उनको विश्लेषण छ ।
‘११ हजार मत भनेको थोरै होइन । अर्को टाइममा बुझाउन सकियो भने जित निश्चित छ । सायद त्यस बेला मैले भोट माग्न जानुरहनु पनि पर्दैन,’ उनले भने ।
आफूलाई फेसबुकमा दुई चार जनाले जातिवादी भनेर गाली गर्दैमा फरक नपर्ने पनि राईले बताए ।
काठमाडौं। आगामी जेठ १० गते बाट विश्वव्यापी रूपमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेको छ।
सार्वजनिक गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम र दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतको शब्द, सुवास भुसालको सङ्गीत र देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।
यसअघि पहिलो कोसेली स्वरुप चलचित्रमा समावेश ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो।
चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्कालाई दमाहा बजाउँदै गरेको देखाइएको छ तर उनको पूर्ण परिचय भने खुलाइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।
चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन। निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। चलचित्रलाई विकास सुवेदीले लेखेका हुन। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए। चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।
निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसमा गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।
काठमाडौं । चर्चित गीत ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन बजारमा आएको छ । अग्रज लोकगायक स्वर्गीय पदम विष्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको उक्त गीत सार्वजनिक भएसँगै चर्चा पाएको हो ।
गायिका लोचन भट्टराई र युवा पुस्ताका गायक हेमन्त कान्छा रसाइलीको आवाजको उक्त गीत गायक रसाइलीले शनिबार आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । संकलक समेत रहेका स्वर्गीय विष्टको सम्झनामा नयाँ भर्सन निर्माण गरिएको हो ।
गीतमा शब्द स्वर्गीय विष्ट तथा सपना रसाइलीको र संगीत पनि विष्टकै रहेको छ । गीतको म्युजिक भिडिओको निर्देशन सुनील विक र कोरियोग्राफर रोशन विकले गरेका छन् । भिडियो करन चैसिरले खिचेका हुन् । उक्त गीतको म्युजिक भिडिओमा अहिलेका प्रकाश सपूत, अञ्जली अधिकारी, सुनील विक र दीपा शाहीको अभिनय छ ।
काठमाडौं। आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसनको आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका हुन।
प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए। सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए। त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए।
अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ। पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ। आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ।
अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र ह्वाट्सएप मेसेन्जर नम्बर ९८११८४००८२ मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ। ‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस चलचित्रमा यसअघि नै अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भइसकेका छन्। सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भईसकेको छ।
यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो। चलचित्रको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिन्छ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्मातामा प्रेम पुरी रहेका छन्।
काठमाडौँ। आफ्ना हरेक भिडियोमा मनछुने कथावस्तु र मीठो सन्देश दिँदै आएका निर्देशक संकेत अगस्तीले दर्शकमाँझ पुन एकपटक नयाँ कोसली पस्केका छन। उनले संगीत भरेको नयाँ गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ। श्रम शोषण र नेपाली युवाको वास्तविकता देखाउन खोजिएको गीतको भिडियो साइराम पिक्चर्सबाट सार्वजनिक गरिएको हो।
सुनिता ढुंगेल र अगस्ती क्रियेसनको निर्माणमा बनेको यो म्युजिक भिडियोले सहरमा कमाउने गन्तव्य खोज्दै हिँडेको पात्रलाई प्रस्तुत गरेको छ जो दुख गर्दा गर्दै अन्तिममा ज्यान गुमाएर आफ्नो परिवारलाई रुवाएर गएका छन्। त्यस्तै, कति युवाहरु विदेशमा कमाउन जाँदा कोहि बाकसमा फर्किएका त कतिले दुख पाएका छन् । त्यसैले भिडियोले यस्ता घटना फेरि नदोहिरियोस् भन्ने सन्देश दिन खोजेको टीमको भनाइ छ।
घरको विषम परिस्थिति र ऋणको पिरले सहरमा पैसा कमाउन गएका युवा र विदेश जाने रहर बोकेर आफ्नो इहलिला सहरमै समाप्त गरेको दुखद् कथावस्तुमा म्युजिक भिडियो छायांकन गरिएको छ। कमल सिंह, मिशेल घिमिरे र झलकमान अधिकारीसँगै सहायक पात्र विनय ढुंगेल, रामकुमार ढुंगेल, बलबहादुर नेपाली र सुरेश राइको अभिनयले यो म्युजिक भिडियोको कथालाइ थप पूर्णता दिएको छ।
गायनमा भने गायक श्रेय अगस्तीलाई बाबुल गिरीले पनि साथ दिएका छन् । गीतमा साक्षी श्रेयको शब्द रचना, बाबुल गिरीको संगीत संयोजन, रन्जन राइको रेकर्डिङ र विशाल निरौलाको मिक्सिङ मास्टरिङ रहेको छ। गीतको कथावस्तु साक्षी श्रेयकै छ भने शृङ्गारमा शर्मिला सुनुवार, छायांकनमा करण चैसिर, क्रियेटिभ निर्देशनमा खेमनाथ खनाल र सम्पादनमा टेकेन्द्र शाह रहेका छन्।
काठमाडौं । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
गीत र टिजर सार्वजनिक गरेपछि निर्माण टिमले प्रचारलाई तीव्र बनाउँदै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरूलाई केन्द्रमा राखिएको छ । कमेडी शैलीमा निर्माण पारिएको चलचित्रको ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ ।
कार्यक्रममा बोल्दै चलचित्र दुई तीन वटा थिमबाट निर्माण भएको निर्देशक सुरज सुनुवारले बताए । ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् ।
त्यसैले एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने ।
फिल्ममा फ्रेन्ससीप, रोमान्स र सामाजिक विषय समेत रहेको निर्देशन सुनुवारले खुलाए । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ । दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे ।
चलचित्रमा खजुरे ब्रोको भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो भूमिकाले दर्शकलाई राम्रोसँग हँसाउने बताए । चलचित्रमा ‘खजुरे’ को चरित्रबाट धेरै कुरो सिक्न र जान्न मिलेको उनको धारणा थियो ।
त्यस्तै, अभिनेता महेश त्रिपाठीले चलचित्रको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे ।
चलचित्र कमर्सियल रूपमा पनि सफल हुने आफू विश्वस्त रहेको सुनाए । अभिनेत्री नीतिले चलचित्रमा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिइन् । उनले ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि चलचित्रमा राम्रो उपस्थिति रहेको बताइन् ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको निर्माता नवीन मानन्धर तथा सुरज सुनुवार हुन् भने सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् ।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ। अनमोल गुरुङको संगीत रहेको चलचित्रलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।
चलचित्रमा नीति शाह, रेआर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
काठमाडौं । गायक सिडी विजय अधिकारीको मर्म स्पर्शी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ ।
त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन् ।
गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आँफुलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडिओमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् ।
प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडिओमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् । सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन् । भिडिओ डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।
रुपन्देही । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘सेतीवेणी’ यही वैशाख २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
बाबुराम घिमिरेको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा विश्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै ठूलो शिला शालिग्रामको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वलाई समेटिएको छ ।
चलचित्र बैशाख २९ गते बिहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा पहिलो प्रदर्शन गर्ने तयारी गरिएको छ । मोफसलमा बसेर कलाकारिताका क्षेत्रमा काम गरिरहँदा समाजमा केही नयाँ काम गरौं भन्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक घिमिरेले बताए ।
धार्मिक आस्थाको केन्द्र, पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षण, प्रचारप्रसार र विकास गर्न यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गर्दै निर्देशक घिमिरेले चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतीवेणी क्षेत्रको महत्वलाई यो चलचित्रले प्राथमिकता दिएर प्रस्तुत गरेको सहनिर्देशक कमलबहादुर गुरुङले बताए ।
‘नेपाल कला धर्म र संस्कृतमा धनी देश हो । विष्णुका रुपमा मानिने शालिग्रामको छुट्टै महत्व छ । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म, संस्कृति नै धरापमा पर्छन्’, उनले भने ।
चलचित्र स्याङ्जा, पर्वत, गुल्मी र पाल्पाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । चलचित्रमा युनिक पोखरेल निर्माता तथा लक्ष्मी क्षेत्री सहनिर्माता छन् । चलचित्रमा कृष्णप्रसाद खनाल र सम्झना सुवेदीको मुख्य अभिनय रहेको छ । मनप्रसाद सुवेदी, शान्तराम गिरी, हरिहर श्रेष्ठ, मणिरत्न भण्डारी, जोखबहादुर खत्रीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
काठमाडौं । युद्ध साहित्यकार गणेश राईको नवौं कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ ।
ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाश प्राप्त साहित्यकार राईको उक्त कृति कवि श्रवण मुकारुङ, कवि शशि लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर)लगायतले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए ।
शशि लुमुम्बूले नेपाली साहित्यमा युद्ध साहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्ध साहित्यकारका रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृति जस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए ।
उनले भने, ‘यसलाई युद्ध अनुभव, युद्ध अनुभूति वा युद्ध स्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।’
टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैं पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्ध साहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।
कृतिकार राईले आफू जस्तै सैन्य तथा गैरसैन्य लेखक/साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका पूर्वअध्यक्ष राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कविता संग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मूच्र्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्ध अनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।
काठमाडौं । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । फिल्मको यो गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।
फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकको माया पाइरहेको छ । यसैले, जेठको १० गते बक्स अफिसमा यो फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । वैशाख १४ गतेबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बाखाम्मा : मुन्दुममा मान्छे’ को मञ्चन सुरू भएको छ । किरात राई जातिमा प्रचलित मुन्दुमी पात्र ‘बाखाम्मा’ मा आधरित यस नाटकका लेखक राजन मुकारुङ हुन् भने निर्देशक किरण चाम्लिङ हुन् ।
मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रामुहाङ (पारुहाङ) ले खरानी र माटोले शीत जमेर बनेको पानीमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन् । किरात राई जातिको जन्मदेखि मृत्युसम्मका जुनसुकै कर्म गर्दा पनि मुन्दुमी कथा-कैरनहरू भन्नै पर्ने हुन्छ । विशेष गरेर ‘हेत्छाकुप्पा, तायामा र खियामा’ का कथाहरू, अझ बढी ‘सुम्निमा-पारुहाङ’का अनेकौं कथाहरू भनिने गरिन्छ । फरकफरक स्थान र सन्दर्भहरूमा फरकफरक नाम, पारा र बिम्बहरूमा भनिने गरिए पनि राईहरूका लागि सुम्निमा-पारुहाङ नै सृष्टिकर्ता हुन् भन्ने कुरामा लगभग साझा मत छ ।
तसर्थ, किरात राईहरूको एकता, साझा आस्थाका प्रतीकका रूपमा ‘सुम्निमा-पारुहाङ’लाई लिने गरिन्छ । उनै सुम्निमा-पारुहाङले मानव-सृष्टि गर्ने सन्दर्भमा शुद्ध र पवित्र स्थानका रूपमा छानेको स्थान ‘साल्पा-सिलिचुङ’लाई किरात राईहरूले उत्तिकै आस्था र विश्वास गर्दछन् । अर्थात् सुम्निमा-पारुहाङकै प्रतीकका रूपमा मान्ने गर्दछन् । यही मुन्दुमी जगमा टेकेर निर्माण गरिएको नाटक हो ‘बाखाम्मा : मुन्दुममा मान्छे’ ।
नाटकको विषयमा लेखक र निर्देशकले भनेका छन्, ‘हामीले नाटकमा किरात राई समुदायले विवाहकर्म गर्दा आजसम्म विश्वासका साथ बचाइआएको संस्कार, सभ्यता विकासको क्रममा निर्माण गरेको रैथाने संस्कृति, अनुभव, ज्ञान अथवा सांस्कृतिक सौन्दर्य, यीनै कुरालाई मौलिक दृष्टिबाट हेर्ने, बोध गर्ने खास उद्देश्य राखेका छौं । मुन्दुमअनुसार पहिलो मान्छेको कथा अर्थात् किरात राईहरूको आफ्ना अनेकौं उत्पत्तिकथाहरूमध्ये एउटा रहस्यात्मक कथा भन्ने कोसिस यहाँ गरिएको छ । यो कोसिसले पनि जराको खोजी गर्ने सांस्कृतिक पहिचानको आन्दोलनलाई बल दिन्छ भन्ने विश्वास गरिएको छ । नाटकमा हामी भन्छौं- हाम्रो रैथाने सौन्दर्य र मौलिकतामा विश्वास गरौं, काम गरौं । बहस गर्ने कुरा त जति पनि रहिहाल्छ ।’
नाटकको कथासार भने यस्तो छ,
साल्पा-सिलिचुङको सांस्कृतिक यात्रामा निस्केका सिखुम र सायाबीच भैरुङपाती टिप्न जाने सन्दर्भमा प्रेम सम्बन्ध स्थापित हुन्छ । उनीहरू भागेर जान्छन् । उनीहरूको भागी विवाहलाई सामाजिक-सांस्कृतिक वैधानिकता दिन कलिया (लमी) ‘चोरको सोर’ रित बुझाउन सायाको माइतीघरमा आउँछन् । गाउँसमाज बीच कलियाले आफ्नो रित थाल्छन् । सायाको बाउ पहिले साल्पा-सिलिचुङ जाँदा नै हराएको कुरा र छोरीले पनि त्यही ठाउँबाट भागेर गएकोमा सायाको आमाले दुःख व्यक्त गर्छिन् । आफूहरूले पनि साल्पा-सिलिचुङ जाँदा नै भागी विवाह गरेको कुरा उक्काउँछिन् ।
साल्पा-सिलिचुङप्रति केही सन्देह व्यक्त गर्छिन् । तब कलियाले साल्पा-सिलिचुङ त सुम्निमा-पारुहाङले मायाप्रेम गरको पवित्र ठाउँ हो भनेर मुन्दुमी कथा थाल्छन् । मिथकीय कथाहरूबाट नाटक अघि बढ्छ । साल्पा-सिलिचुङ क्षेत्रमा नै सृष्टिमा पहिलो मानिस बनेको कुरा मुन्दुमको कथाबाट भनिन्छ । सुम्निमा-पारुहाङ प्रेमकथालाई देखाइन्छ । उनीहरूकै प्रेमबाट मानव-सृष्टि सुरू भएको कुरा जिकिर गरिन्छ । अनि मात्रै सायाको आमाले रित स्वीकार गर्छिन् । सिखुम र सायाको प्रेमविवाहलाई सामाजिक-सांस्कृतिक रूपमा वैधानिकता दिइन्छ ।
नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, शुभम चाम्लिङलगायत कलाकारको अभिनय रहेको छ । यस नाटकलाई केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको हो ।
काठमाडौं । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पहिलाे दिन दर्शकको राम्राे साथ पाएकाे छ । दर्शककाे चाप देखिएपछि प्रदर्शकहरूले शाे संख्या बढाएका छन् ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएको ‘बोक्सीको घर’ आज धेरै हलमा हाउसफूल भयो । ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भए । अन्य हलमा पनि उच्च अकुपेन्सी थियो ।
बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ५, एफक्यूबले ७, वान सिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूले पनि उच्च शो प्रदान गरेका थिए ।
अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएको ‘बोक्सीको घर’ले शनिबार ३८ शो पाएको छ । यसमध्ये ललितपुरको लाबिम मलले मात्रै ९ वटा शो प्रदान गरेको छ ।
सिभिल मलमा ८ शो पाएको छ । लाबिमका भोलि शनिबारका अधिकांश शो आजै फाष्ट फिलिङमा गएका छन् । केही शो हाउसफूल हुने क्रममा छन् । सिभिलमा पनि राम्रो अकुपेन्सी देखिएको छ ।
यो चलचित्रले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ । जबकि टिकट बुकिङ खुल्दा शुक्रबारलाई ३२ शो दिएको थियो ।
भोलि क्यूएफएक्समा आउटलेटमा यो सिनेमा ८० शोज पाउनेछ । जबकी आज ५६ शो पाएको थियो । आजभन्दा २४ शो धेरै भोलिलाई पाएको छ । अझै शो थपिने क्रम जारी छ ।
अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले शनिबार आक्रामक कलेक्सन गर्ने आंकलन गरिएको छ ।
आजको बक्सअफिस रिपोर्ट आइनसके पनि शो र अकुपेन्सी उच्च भएकाले राम्रो कमाइ गरेको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् । केकी यो चलचित्रकी निर्मात्री पनि हुन् ।
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।निर्माण ब्यानर ‘लामा सिनेमा प्राली’ले शुक्रवार चलचित्रको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक र प्रदर्शन मिति पनि तोकेको हो। चलचित्र आगामी असार १४ बाट सार्वजनिक रूपमा प्रदर्शनमा आउनेछ ।
जौन योन्जनको निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा सबैजसो प्रमुख कलाकारलाई स्थान दिइएको छ ।
‘आँखा’भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बीचमा सूर्यमुखी फूललाई समेत जोडिएको छ। अर्को थीम पोस्टरमा भने फोहोरको थुप्रोमाथि सूर्यमुखी अंकित गरिएको छ।
पोष्टर रिलिज गर्दै निर्देशक योन्जनले भनेका छन्, ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा हो ‘आँखा’।’
चलचित्रको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन् । वितरण कम्पनीसँगको सल्लाहमा चलचित्रको प्रदर्शन गर्न असार दोस्रो साता रोजेको उनले बताए ।
आरआर फिल्मस्ले यस चलचित्रको प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योन्जनकै कथा तथा पटकथा रहेको चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।
स्मिता लामिछाने निर्माता रहेको चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योन्जनले चलचित्रको सम्पादकीय जिम्मा सम्हालेका छन्।
आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा संगीत दीपक आरजेको छ भने द्वन्द्व निर्देशकमा रेवन्तविक्रम थापा छन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र तयार भएको हो ।
काठमाडौं । अभिनेत्री केकी अधिकारीद्वारा निर्मित तथा अभिनित चलचित्र ‘बोक्सीको घर’ को हिजो राजधानीमा भव्य प्रिमियर गरियो । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र हेरेर निस्किएका चलचित्रकर्मीले केकीको खुलेर तारिफ गरे । उनको कामको चौतर्फी भयो । ३ वर्षअगाडि निर्मात्रीको रूपमा ‘बोक्सीको घर’ बनाउने अठोट लिएकी केकी प्रिमियरमा पाएको तारिफले हर्षित थिइन् ।
केही समयदेखि प्रचारप्रसारको दौडधुपमा व्यस्त थिइन् केकी । आजबाट चलचित्र देशव्यापीरूपमा प्रदर्शन भयो ।
अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘बोक्सीको घर’ एक सत्य घटनामा आधारित चलचित्र हो । केही समय अघि चलचित्रमा समावेश ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको गीत सार्वजनिक भएको थियो । गायक प्रकाश सपुतको शब्द-संगीत र गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीत अत्यधिक रुचाइएको छ । गीतले दर्शकप्रति चलचित्र कस्तो होला भन्ने एक किसिमको कौतुहल जगाएको थियो । गीत राम्रो हुनुको श्रेय केकी समीक्षा र अझै बढी प्रकाशलाई दिन्छिन् ।
गायक सपुतले गीतको शब्द-शब्दमा ज्यान भरेकाले गीतलाई दर्शकले रुचाएको उनको मान्यता छ । निर्माताको रूपमा चलचित्र बनाउने भनेर स्क्रिप्ट हातमा पर्नासाथ सुरुमै केकीले सम्झिएकी पात्र हुन गायक प्रकाश सपुत । यो चलचित्रमा प्रकाश र आफू कुनै न कुनै पाटोबाट जोडिन्छौ भन्नेमा केकी पक्का थिइन् । ३ वर्ष अगाडि फर्किदै केकी सम्झिन्छिन, ‘स्क्रिप्टमा जे छ त्यो उहाँले मनन गर्न सक्नुहुन्थ्यो । त्यसैले स्क्रिप्ट नै उहाँलाई देखाए । उहाँले पनि स्क्रिप्ट मन पराउनुभयो । उहाँले स्क्रिप्ट नै पढनु भएकाले गीत यस्तो बनाउनुपर्छ भनेर समेत बुझाउनु परेन ।’
सुरूमा गीत सार्वजनिक गर्दा दर्शकले यति धेरै माया बर्साउनेमा केकी आफैं अनविज्ञ थिइन् ।
उनी भन्छिन,‘यति धेरै माया गर्दिनुहुन्छ जस्तो लागेको थिएन गीत, शब्द, संगीत र आवाज राम्रो छ भन्नेमा म सय प्रतिशत विश्वस्त थिए । यसमा कुनै शंकै थिएन । तर फिल्म फरक जनराको भएकाले र गीतमार्फत चलचित्रको कथासार बुजाउनुपर्ने भएकाले अरु नर्मल भिडियोमा जस्तो काम गर्न मिलिरहेको थिएन ।’
‘विद्रोहको गीत बनाउनु पर्ने थियो । र, विद्रोहको गीत जहिल्यै सबैसँग कनेक्ट नहुन सक्छ । यो एकदमै गाह्रो कुरा थियो । सबै कुरा सही समयमा भएर होला गीत एकदमै राम्रो भयो,’ उनले सुनाइन् ।
६ महिना वर्कशप र ३० दिनको छायांकनपछि यो चलचित्र तयार भएको हो । चलचित्रको छांयाकन काभ्रेको पिपलटार, सिन्धुपाल्चोक र धादिङमा गरिएको छ । बीचमा फिल्म फेस्टिभलमा पठाउने विषयले चलचित्र रिलिजमा एक वर्ष ढिलाइ भएको थियो । कोभिडको टाइममा निर्माण भएको यसै चलचित्रको लागी केकीले कपाल मुण्डन गरेकी थिइन् । सार्वजनिक पोष्टर, ट्रेलर र टिजर हेर्दा चलचित्र हरर जनराको जस्तो लाग्छ । तर, चलचित्र हरर जनराको नभएको केकी बताउँछिन् ।
‘हाम्रो पहिलो टिजर सर्वजनिक भएदेखि नै सबैले यसलाई हरर मुभी भन्ने ठानिरहनु भएको छ । तर, यसलाई सामाजिक साईकोलोजिकल थ्रिलर भनिन्छ । यो हरर मुभी होइन, यहाँ कुनै भुत आउँदैन । न त यो कुनै आत्माको कथा हो,’ उनी भन्छिन,‘यो जीवित मान्छेको कथा हो । बोक्सी भनिएकाले गर्दा केही थ्रिल देखाउन खोजिएको हो । हामीले सामाजिक विषयमा कथा बनाएका हौं । यो सत्य घटनामा आधारित र कुनै व्यक्तिको कथा हो । यसलाई यसरी नै बुझौँ ।’
‘बोक्सीको घर’ बारे केकीसँगको कुराकानी नेपाल टकमा
– हाम्रो समाजमा अझै पनि यस्ता घटना भइरहेका छन् ?
दुई, तीन हप्ताअघि बाहेकका पत्रपत्रिका हेर्ने हो भने फ्रन्ट पेजमै यस्तो घटनाको समाचार छ । त्यो फेरि यहीँ वरपर काठमाडौं नजिक घटेको घटना हो ।
– गीतमा कालो बिरालोलाई बोक्सीकै रूप हो भने जसरी प्रस्तुत गर्नुभएको थियो । कालो बिरालो बोक्सी नै हुन्छन् भनेर देखाउन खोज्नुभएको हो ?
हाम्रो सोच के हो भने, हामीले अरुलाई हानी नहुने बाहेकका सबै प्रकारको अन्धविश्वासहरूमा प्रहार गर्नुपर्छ भन्ने हो । अरुलाई हानी नहुने कुरा त खासै महत्वको विषय पनि भएन । यो कालो बिरालोलाई लिएर हामीमा जुन भ्रम छ, त्यो देखेर मलाई नै नरमाइलो लागेर आउँछ । हामी कालो बिरालो देख्नेबित्तिकै बोक्सीको अवतार हो जस्तो गछौँ । कालो बिरालोले बाटो काट्यो भने भरसक त्यो बाटै हिँड्न रुचाउँदैनौ । हामीमा बोक्सीले त्यहाँ आफ्नो आत्मा छोडेको हुन्छ रे भन्ने मान्यता छ । हुन त यो हामी नेपालीमा मात्र होइन, बााहिर पनि यस्तै मान्यता छ । बोक्सीविद्या भन्ने चिजसमेत संसारभर केही न केही नाम दिएर, कुनै न कुनै रूपमा व्याप्त छ । ऊ त एउटा बिरालो हो जो कालो छ । विचराको त्यसमा के गल्ती छ ? तर, हामीले उसलाई लिएर यस्ता-यस्ता कथाहरू जोडिदिएका छौं कि उसको जिन्दगी नै बर्बाद गर्दिएका छौ । त्यही भएर यो कालो बिरालोको केसमा सबै नेपालीहरू कनेक्ट गर्न सक्नुहुन्छ भनेर देखाउन खोजेका हौं ।
– तपाईँ चाहिँ कतिको विश्वास गर्नुहुन्छ भुत-प्रेत र बेक्सीको कुराहरू ?
विश्वासभन्दा पनि हाम्रो हुर्काइ नै यस्तै कुराहरू सुनेर भएको छ । अब त ठूलो भयौँ, यो अन्धविश्वास मात्र हो त्यसैले अब यस्ता कुराहरू पालना गर्नु हुदैन भन्ने सोच्न खोज्दासमेत कहीँ न कहीँ हामी अड्किन्छौं । आज पनि हामी अडकिनु भनेको हामीले सिक्दै र सुन्दै आएका कुराहरू बाट हामी पूर्णरूपमा पन्छिन नसक्नु हो । म त काठमाडौंमै जन्मिएर हुर्किएँ त्यसैले बोक्सीका कुराहरू नजिकबाट नियाल्न पाइन । तर, पनि केही कथाहरू सुनेकी छु। म हुर्किँदै गर्दा एउटी आमालाई गरेको व्यवहारहरू म अहिले पनि सम्झिन्छु । म त्यति बेला होस्टेलमा बस्थेँ । छेउमा एउटी आमा हुनुहुन्थ्यो जसले दिएको खानेकुरा कसैले खाँदैन थिए । छेउछाउमा कोही बिरामी भए भने अस्पताल लानुअघि उनले दिएको खानेकुरा खाएको पो थियो कि भनेर सोधिन्थ्यो । यस्ता कुराहरू सुन्दासुन्दा हामीलाई पनि हो कि भन्ने लाग्दो रहेछ । जसले विकराल रूप लिन्छ । सहर भएकाले यो यतिमा मात्र सीमित भयो होला तर गाउँ घरमा यस्ता कुराहरुले चरम सिमा नाघ्छन । विकट गाउँहरूमा अहिले पनि कपाल मुण्डन गर्दिने, गाउँ समाजको अगाडी बेइज्जत गर्दिने, नील डाम बसाउने, गाउँ निकाला गर्ने, मलमुत्र ख्वाइदिने जस्ता कार्यहरू हुन्छन् । जुन सोच्दा पनि आङ जिरिङ्ग जिरिङ्ग हुन्छ । झन् भोग्नेलाई कस्तो हुन्छ होला ?
– चलचित्र बनाउन यही विधा किन रोज्नुभयो ?
मलाई अधिकतमले सोध्ने प्रश्न हो यो । धेरैले यही विषयमा किन चलचित्र किन बनाउनु भयो ? भित्री गाउँको कथा देखाएर चलचित्र बिक्छ र ! वा मान्छेमा जे बिक्छ त्यो पो गर्ने हो त भन्नुहुन्छ । कलाले त त्योमात्र गर्ने होइन नि ! संसारमा एकजना मात्र मान्छेलाई घटेको घटनालाई पनि प्रतिनिधित्व गर्न सक्नुपर्यो र त्यो हुनु हुँदैन भन्न सक्नुपर्यो । २०१५ मा नाटक हेर्दाहेर्दै मेरो मन छोएको कथा हो यो । त्यसैले यो बनाउँछु भन्ने लाग्यो । यो त्यो बेलाको चर्चित नाटक हो जुन हेर्नको लागी एउटा सीटसम्म खाली थिएन । म पनि सुरूमा हल्ला सुनेरै हेर्न गएकी थिएँ । सुरुमा सुन्दा त मलाई पनि किन यस्तो नाम राखेको होला भन्ने लागेको थियो । सीधै महिलालाई प्रहार गरे जस्तो । किनकी बोक्सी भन्ने शब्द कसैलाई चोट पुर्याउन प्रयोगसमेत गर्न मिल्दैन । कानूनी रूपमा यो दण्डनीय छ । तर, दर्शक भएर नाटक हेरेपछि मलाई महसुस भयो कि जुन नाम राखिएको छ त्यो नाम कथाको लागि ५०० प्रतिशत सही नाम हो । हामी सामान्यतया आफूलाई नपरेको कुरा बेवास्ता गर्छौं । हामीलाई परेको छैन के मतलब राख्नु भन्ने सोच्छौं । त्यस्तो प्रवृतिमा प्रहार र प्रश्न हो यो चलचित्र ।
– यो कति लगानीमा बनेको चलचित्र हो ?
हिसाबकिताब गर्ने हो भने त धेरै नै पर्न आउँछ । मानसिकदेखि शारीरिक कति घाटा भएको हुन्छ । मैले यसै चलचित्रको लागी कपाल मुण्डन गरे । जसका कारण मैले एक वर्ष केहीमा काम गर्न पाइन । आफूले हालेको मात्र कुरा गर्ने हो भने त थोरै देखिएला । तर, भित्री रूपमा धेरै लगानी लागेको छ । अंकमा ठ्याक्कै भन्नु पर्दा १ करोडको लगानी लागेको छ । खर्च अझै बढ्दो छ । खर्चको हिसाबकिताब आउन अझ बाँकी नै छ ।
– लामो समयको लागि यो चलचित्र ठीक होला तर व्यापारिक हिसाबमा भने सोचेजस्तो नहुन सक्छ । किन त्यत्रो खर्च गरेर यो जनरामा जोखिम मोल्नुभयो ?
यसमा कोभिडको ठूलो हात छ । आजजस्तो नर्मल समय हुन्थ्यो भने म सायद यो जोखिम लिदिनँ थिएँ होला । त्यति बेला मसँग अलिअलि सेभिङ थियो । कोभिड लामो लम्बिएपछि के गर्ने त भन्ने कुरामा घोटिँदा घोटिँदै मलाई ‘बोक्सीको घर’ को याद आयो । घरमा भने यस्तो परिस्थिति फेरि आउन सक्छ, त्यसैले भएको पैसा जग्गामा लगानी गर वा त्यस्तो ठाउँमा लगानी गर जहाँबाट डबल आओस् भन्ने कुरा गर्नुहुन्थ्यो । तर, मलाई भने त्यो कुरा मनमै कहिल्यै आएन । मलाई म त्यस्तो कथा भन्छु जुन मलाई भन्न मन छ भन्ने थियो ।
मैले यो पैसा यहीँ बाट कमाएकी हुँ । मैले चलचित्रमा काम गरेर, दर्शकले माया गरेर र फिल्म मेकरले विश्वास गरेर दिएको कामले आर्जेको पैसा हो । त्यसैले गए पनि यही चिजमा जान्छ तर भन्न मन लागेको कुरा भन्छु भन्ने लाग्यो । त्यो समय टन्न धन-सम्पत्ति हुनेहरूले समेत कोभिडका कारण ज्यान गुमाउने समय थियो । त्यसैले जिन्दगीमा धनले मात्र ठूलो भूमिका खेल्दैन भन्ने मनसायले यो चलचित्र बनाउने सोच आयो । अहिले फेरि यो समयमा चलचित्र बनाउनु हुन्छ ? भन्ने सोधेको भए चाहिँ म बनाउदिन थिएँ होला ।
– कलाकार हुँदा र निर्माता हुँदामा कतिको गाह्रो-सजिलो हुँदो रहेछ ?
कलाकार हुँदा एउटा मात्र जिम्मेवारी हुन्छ-आफ्नो पात्रलाई न्याय दिने । सबै कुरा तयार हुन्छ । हाम्रो काम भनेको जाने र अनुशासनमा बसेर दिइएको काम सही तरिकाले गर्ने र प्रचारप्रसारको समयमा गएर प्रचार गर्नेमात्र हो । तर, निर्माता हुँदा सबै कुरा ध्यान दिनुपर्छ । प्रि-प्रोडक्सनदेखि लिएर टीम सेलेक्सन र टीम मोटिभेसनसम्मको काम निर्माताको हुन्छ । सबैभन्दा मुख्य भनेको टीम मोटिभेसन रहेछ जसमा हाम्रो ध्यानसमेत गएको हुँदैन । हरेक दिन के सिधिन्छ, कसरी मिलाउने, कसलाई के समस्या परिरहेको सम्मको कुरा एउटा निर्माताको थाप्लोमा हुन्छ ।
स्पोन्सर व्यवस्थापन, छायांकनका हरेक सानासाना कुरादेखि लिएर पछि चलचित्र स्क्रिनमा आउँदासम्मको हरेर कामहरू निर्माताले मिलाउनु पर्ने हुन्छ । त्यतिमा पनि निर्माताको काम नसकिँदो रहेछ । यहाँको काम सकिएपछि अब बाहिर कसरी पुर्याउने भन्ने चिन्ता । यो फिल्मले अन्तराष्ट्रिय मूल्य राख्छ भने फिल्म फेस्टिभलमा पठाउनुपर्यो । यो हेर्दाखेरि ३ वर्षको काम भएपनि मेरो लागि ५,६ वर्षको काम हुन जान्छ जस्तो लागी रहेको छ ।
– ३० दिनसम्म बोक्सीको भूमिका निर्वाह गर्दा छायांकन सकिएपछि त्यसकै झल्को आउने वा त्यही पात्र मनमा बसेर आफुलाई गाह्रो हुने जस्तो परिस्थिति आयो कि आएन ?
मैले पहिला यस्तो खालको अभिनय नगरेको र प्रशिक्षण नलिएकाले केही समय पात्र मनमै बस्यो। बोक्सी सम्बन्धी केही घटना वा समाचार सुने भने यो त मलाई घटेको थियो भन्ने लाग्छ । सुरुसुरुमा रुखमा चढ्ने दृष्यहरू गर्नुपर्दा यस्तो पनि हुन्छ र भन्ने लाग्थ्यो। पहिला त आफूलाई साइकोलोजिकल हिसाबले कन्भिन्स्ड गर्ने समय लाग्यो । कन्भिन्स्ड भएपछि त्यसबाट निस्किन पनि केही समय लाग्दो रहेछ ।
– चलचित्र बनाउँदा वा बनाउनुपूर्व कहीँकतै गएर यस विषयबारे रिसर्च गर्नुभयो ?
यो चलचित्र नाटकमा आधारित हो । र, त्यो नाटक रिसर्चमा आधारित हो । यो घटना जसमा घटेको हो सोही व्यक्तिसँगको कुराकानी र रिसर्चपछि यो नाटक बनेको हो । त्यसैले बाँकी केही गर्न परेन । एक त मलाई व्यक्तिगतरूपमा त्यहीँ गएर बुझ्न वा हेर्न गाह्रो हुन्छ । क्षणिकरूपमा त्यो पात्र निभाउँदा त मलाई कति गाह्रो भयो, झन प्रत्यक्षरूपमा त्यस्तो भोगेको वा सहेको व्यक्तिसँग भेट्न मलाई गाह्रो हुन्थ्यो । उहाँहरूले मेरो अगाडि निको भएजस्तो देखाउनु होला तर फेरि गएर उहाँहरुको निको हुन लागेको घाउ कोट्याउन मलाई आँट आएन ।
– चलचित्रलाई गाउँगाउँमा लगेर देखाउनेबारे केही सोच्नु भएको छ ?
सोचेका छौं । पहिला यहाँका दर्शकहरूले हलमा हेर्नुहोस् । त्यसपछि के गर्ने भन्ने सल्लाह हुन्छ । समाजमा यो कथा पुगेन भने चलचित्र बनेको औचित्य हुँदैन । यहीँमात्र देखाउने हो भने यसको ठाउँमा अरु नै जनराको चलचित्र बनाएको भए भइहाल्थ्यो नि !
काठमाडौं । कर्णालीका कथा व्यथा समेटेर ल्याएका म्यूजिक भिडियो ‘रेलको बाटो’को अपार सफलता प्राप्त गरेको तीन वर्षपछि गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका छन् ।
बजेट र अर्थनीति सँग सम्बधित एउटा सरकारी किताबलाई इंगित गर्दै पण्डितले दोस्रो पटक कर्णालीको कथा व्यथा समेटिएको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरिक्स करेक्सर रमेश दाहालले गरेको गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेल, मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने असिस्टेन्ट मिक्सिङको काम किरण सुनारले गरका छन् ।
रेकडिस्ट कमल मगर र गोविन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्तकान्छा रसाईली रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीको उत्पादन तयार पारिएको म्यूजिक भिडियो निर्देशन लक्ष्मण सुनारले गरेका हुन भने अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र बसन्त उदासको रहेको छ ।
‘रातो किताब’बारे गायक एवम सर्जक पण्डितले भने, ‘यसलाई अलि फराकिलो परिभाषामा भन्दा यो जनताको किताब हो । जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ । तर, बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँमान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो । अब यस्तो नहोस भनेर यस परिस्थितिलाई खबरदारी गर्नका लागि रातोकिताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो । आशा छ यो साँगितिक प्रस्तुती सबैजनाले मनपराइदिनुहुने छ र सम्बन्धित जिम्मेवार निकायसम्म पनि यो आवाज पुग्ने छ । उठाउन खोजिएका कुरालाई मनन गर्नुहुनेछ ।’
काठमाडौं । पत्रकार ऋषि धमलाले अभिनयमा कमब्याक गर्ने पक्कापक्की भएको छ । सन् २०१६ मा ‘हाउ फन्नी’ फिल्ममा अभिनय गरेका धमलाले बिहीबार निर्मातासँग कागजी सम्झौता गरेका छन् । ‘भाइरल गोर्खे’मा पत्रकारकै भूमिकामा धमलाले अभिनय गने निर्देशक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार फिल्ममा धमलाको भूमिका पत्रकारकै रुपमा रहनेछ । एउटा कलाकारमा हुनुपर्ने गुण धमलामा भएकाले त्यसलाई सुरुचिपूर्ण तरीकाले फिल्ममा देखाउन सकिन्छ भनेर अनुबन्ध गरेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले नेपालप्रेससँग कुरा गर्दै भने, ‘उहाँले अभिनय गर्न सक्ने कुरामा एकदमै विस्वास छ । अर्को चाहिँ उहाँको डाइलग डेलिभरी नै रुचिपूर्ण छ । सँगै प्रेजेन्टेसन पनि राम्रो छ । यी दुई कुराले गर्दा नै हामीले उहाँलाई अनुबन्ध गरेका छौं ।’
कथालाई अगाडि बढाउने पात्रको रुपमा फिल्ममा धमलाको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठले बताए । धमला फिल्मको छायंकनका लागि वैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जानेछन् ।
फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ । केही दिनदेखि भुजुङ गाउँमा फिल्मको सुटिङ भइरहेको छ । यसपछि गोरखा र चितवनमा बाँकी छयंकन हुनेछ । फिल्मले संजालमा भाइरल हुन जुनसुकै हर्कत गर्ने पात्रको कथा भन्ने छ । द जीएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण गरेको फिल्मको छायाकार अमर महर्जन रहेका छन् ।