काठमाडौं । बुद्ध जयन्तीको दिन रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले दर्शकको अपार साथ पाइरहेको छ । चलचित्रको कथावस्तुदेखि लिएर कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।
दर्शकबाट सकारात्मक रेस्पोन्स पाइरहेको चलचित्र ‘पुजार सार्की’ जापानस्थित नेपाली डायस्पोरामा पनि प्रदर्शन गरिएको छ । नाकानो जेरो हलमा आयोजित उक्त शो हेर्न १ हजार ५०० दर्शक उपस्थित भएको निर्माण पक्षले जनाएको छ । एकै शोमा दर्शकको भीडको फोटो र भिडियोले यतिबेला सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ ।
उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी टोकियो पुगेका थिए । अभिनेता शाह पुगेपछि त्यहाँको माहोल एकाएक गर्माएको थियो । उनलाई भीड छिचोलेर सिनेमा हलभित्र छिर्न र निस्किन मुस्किल परेको सार्वजनिक भिडियोहरुमा देख्न सकिन्छ । पलसँग तस्विर खिच्नेको भीड बाक्लो थियो ।
शोमा पुगेका लेखक सुवेदीले दर्शकको माया पाएर आफू निकै खुसी भएको बताए । उनले भने, ‘मलाई जापान भन्नेबित्तिकै डर लागेको विषय थियो– हामी मेकरदेखि कलाकार यहाँ आउने तर यदि दर्शक नै आएनन् भने के गर्ने ? किनकि जापानमा चलचित्र लगाएर दर्शक नआएका कारण त्यतिकै फर्किनु परेको रिपोर्टहरु मैले हेरेको थिएँ ।’
उनले थपे, ‘कोही दर्शक आउनुभएन भने बर्बाद हुन्छ भन्ने थियो, तर चलचित्र प्रदर्शन हुनु एक घण्टा अघिदेखि नै यस्तो भीड देखेपछि भने म एकदमै सन्तुष्ट छु । दर्शकको माया देख्दा म भावुक छु ।’
नेपाली चलचित्र लाग्दा जापानमा हाल प्राय दर्शक भरिँदैन । तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज भएयता जापानका हलमा नेपाली चलचित्र हेर्न खासै दर्शक आएका थिएनन् ।
चलचित्रले नेपालमा रिलिजको आज पाँचौँ दिन पुग्दासम्म पनि दर्शकको राम्रो साथ पाइरहेको छ । मंगलबार सार्वजनिक बिदा भएकाले चलचित्रले भोलि पनि राम्रो व्यापार गर्ने निर्माण पक्षको प्रक्षेपण छ ।
काठमाडौं । आफ्नो करिअरको नवौं फिल्म ‘छड्के २’ बाट लज्जाजनक असफलता र आलोचना खेप्नुपरेपछि नायक अनमोल केसीले सामाजिक सञ्जालमा एउटा संवेदनशील स्टाटस लेखेका थिए । उनको स्टाटसको सार थियो- आज म जिरोमा झरेको छु, अब १०औं फिल्मबाट मेरो दोस्रो सत्रको सुरुवात हुनेछ ।
कुनै पनि फिल्मकर्मी आफ्नो फिल्म फ्लप भएको भनेर सार्वजनिक रुपमा स्वीकार्न हिच्किचाउँछन् । हलमा फिल्मले पानी भन्न नपाए पनि केक काटेर ‘सक्सेस सेलिब्रेसन’ गर्नेहरुको कमी छैन, तर अनमोलले आफू ‘छड्के २’ मा चुकेको स्पष्ट शब्दमा स्वीकार गरेका थिए । र, अब आफूलाई नयाँ शिराबाट उतार्ने अठोट पनि व्यक्त गरेका थिए ।
अनमोल साँच्चिकै आफ्नो अठोटमा खरो उत्रिएका छन् । उनको १०औं फिल्म ‘फर्की फर्की’ बक्स अफिसमा हिट भएकोमात्र छैन, चौतर्फी प्रशंसा पनि पाइरहेको छ । यसअघि फिल्महरु हिट हुँदा पनि अनमोलको अभिनयमाथि प्रश्न उठ्ने गर्थ्यो । सामाजिक सञ्जालमा ट्रोल बन्ने गर्थे, तर ट्रोलरलाई कहिल्यै मुखले जवाफ नदिएका अनमोलले मेहनत र कामबाट जवाफ दिए । बायस्ड समिक्षकलाई छोडेर धेरैले ‘फर्की फर्की’ लाई उनको करिअरको ‘बेस्ट फिल्म’ मानेका छन् ।
पहिलो फिल्म ‘होस्टेल’ बाटै सफलताको स्वाद चाखेपछि अनमोलले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको थिएन । होस्टेलपछि उनले लगातार हिट फिल्म दिएर आफूलाई छोटो समयमै सुपरस्टारको श्रेणीमा पुर्याए । ‘जेरी’, ‘गाजलु’ र ‘ड्रिम्स’ व्यापारिक रुपमा सफल हुँदा उनको मार्केट भ्यालु ह्वात्तै बढ्यो । उनलाई खेलाउन निर्माता-निर्देशकहरुको लाइन लागे, तर अनमोलले त्यो गल्ती गरेनन्, जुन विगतमा अभिनेता राजेश हमालले गरे र अहिले दयाहाङ रार्ईले गरिरहेका छन् । उनले वर्षमा मुस्किलले एउटामात्रै चलचित्र साइन गरे । त्यसैमा पूरा समय र परिश्रम लगाए । पारिश्रमिकमा पनि सम्झौता गरेनन् । जसले गर्दा नेपाली फिल्म इन्डस्ट्रीकै महँगा नायक दरिन पुगे ।
‘ड्रिम्स’ पछि अनमोलका दुई चलचित्रले औसत व्यापारमात्रै गर्दा उनको क्रेज अलिकति सेलाएको भान भएको थियो । एक्सन जनराको ‘कृ’ र स्पोट्र्स जनराको ‘क्याप्टेन’ ले जेनतेन लगानी उठाउनमात्रै सके । तर, त्यसपछि झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ ले अनमोललाई फेरि उठायो । ‘ए मेरो हजुर ४’ त मेघा बजेटको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ सित भिड्नु परेको थियो । र, पनि चलचित्रले नाफाको व्यापार गर्न सफल भयो ।
यसरी आठौं फिल्मसम्म असफलता चाख्नु नपरेका अनमोललाई ‘छड्के २’ ले भने ठूलो सेटब्याक दियो । चलचित्रको ट्रेलरबाटै उनी ट्रोल हुन थालिसकेका थिए । उनको ग्याङस्टर लुकलाई दर्शकले रुचाएनन् । न चलचित्रको विषयवस्तुले नै दर्शकलाई अपिल गर्यो । फिल्मी भाषामा भन्दा ‘छड्के २’ ले पानी भन्न पाएन । अनमोलको स्टारडममा ठूलो प्रश्नचिन्ह लाग्यो । उनी स्वयम् नराम्ररी रन्थनिएका थिए ।
‘छड्के २’ पछि अनमोलले फिल्मको छनोटमा निकै सतर्कता अपनाए । उनले यसअघि नै साइन गरिसकेको पूजा शर्माको फिल्म ‘रावायण’बाट हात झिके । त्यसपछि उत्पन्न विवादले अनमोललाई प्रहरी हिरासतमै पुर्याएको थियो । अनमोलले फिल्म छाड्दा आफूलाई करोडौं क्षति भएको भन्दै सुदर्शन थापाले उजुरी दिएका थिए ।
निकै सोचीसम्झी अनमोलले ‘फर्की फर्की २’ साइन गरेका हुन् । निर्माता रोहित अधिकारीले अनमोललाई ‘फर्की फर्की’ मा अनुवन्धित गरेपछि धेरैलाई आशंका थियो कि अनमोलले यो फिल्म पनि छोड्न सक्छन् । निर्माता अधिकारीलाई पनि यही प्रश्नले घेरेको थियो । त्यसपछि उनले फेसबुकमै प्रष्टीकरण दिएका थिए, ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यसमा हामी इन भएका हौं । त्यसैले अनमोलले फिल्म छोड्ने प्रश्नै उठ्दैन । हामी तोकिएको डेटमा नै जान्छौं ।’
‘छड्के २’ फ्लप भएपछि अनमोलले आफ्नो अभिनयको सीमा र दर्शकको रुचि बुझेका थिए । त्यसैले यसबीचमा आएका दर्जनौं अफर उनले पन्छाए र ‘फर्की फर्की’ रोजे । यसअघि उनले खेल्ने फिल्मको निर्धारण बाबु भुवन केसीले गर्ने गर्थे । भुवनलाई पैसाको खाँचो पर्यो भने पनि अनमोललाई एउटा फिल्म साइन गराएर एड्भान्स रकम लिइहाल्थे । ‘आज्ञाकारी’ अनमोलले थुप्रै फिल्मको कथै राम्रोसित नसुनिकन एड्भान्स लिएका छन् र पछि फिर्ता गरेका छन् । यसले गर्दा उनको क्रेडिबिलिटीमा नै समस्या उत्पन्न भएको थियो ।
‘छड्के २’ पछि भने अनमोलले आफ्नो फिल्मको विषयमा आफैंले निर्णय लिने गरे । यही निर्णयले उनलाई हचुवामा फिल्म साइन गर्न रोकेको छ । सायद भुवन केसी पनि आफ्नोभन्दा छोराको छनोट सही भएकोमा विश्वस्त भए होलान् ।
हुन त भुवन पनि नेपाली फिल्म इन्डस्ट्रीका लिजेन्ड हुन् । नायकका रुपमा मात्र नभएर निर्माताका रुपमा पनि उनले फिल्म उद्योगमा ठूलो योगदान पुर्याइरहेका छन्, तर बुवा र छोराको तौरतरिका र स्वभावमा आकाश-जमिनको फरक छ । भुवनका हेटर्सहरु जति छन्, त्यसको तुलनामा अनमोलका नगण्य छन् । अनमोलको आलोचना गर्ने विषयवस्तु नपाएकाहरुले भुवनसँगै नाम जोडेर उनलाई विवादित बनाउन खोज्छन्, तर अहिलेसम्म अनमोल आफूलाई कुनै पनि ठूलो कन्ट्रोभर्सीबाट बाहिर राख्न सफल भइरहेका छन् ।
नेपालका आमफिल्मी सेलिब्रिटीभन्दा अनमोलको काम गर्ने शैलि र जीवनशैली भिन्न छ । उनी आफ्नो स्टारडम मेन्टेन गर्न सक्ने नेपालका एकमात्र कलाकार हुन् भन्दा पनि हुन्छ । अरु कलाकार जस्तो यत्रतत्र देखिँदैनन् । आफ्नो फिल्म रिलिजको बेलामा बाहेक मिडियामा देखा नै पर्दैनन् । सार्वजनिक कार्यक्रममा पनि निकै कम उपस्थित हुन्छन् । काम नभएकाे बेला बरु घरमै कुकुर खेलाएर, विरुवामा पानी हालेर बस्छन् । आलोचकहरुलाई जवाफ दिएर नबस्नु अनमोलको अर्को सत्गुण हो । न उनी अरुलाई नराम्रो भन्छन् न त नराम्रो भन्नेलाई जवाफ दिन्छन् ।
कलाकारकाे हिसाबले भने अनमोलको क्षमता सिमित छ । उनी अभिनयमा पाेख्त छैनन् । नेचुरल एक्टर होइनन् । उनकाे अभिनय निर्देशकमा धेरै निर्भर हुन्छ । सबैखाले भूमिकामा फिट हुन सक्दैनन् । संवाद सम्प्रेषण स्वस्फुर्त छैन । यद्यपि, उनी मेहनती हुन् र मेहनतले नै आफूलाई निखार्दै लगेका छन् । जस्तो कि सुरुका चलचित्रहरुमा उनी डान्समा निकै कमजोर थिए । अहिले राम्रै डान्स गर्न सक्छन् ।
‘फर्की फर्की’ रिलिजअघि निकै दबाबमा थिए अनमोल । यदि यो चलचित्र नचलेको भए उनको स्टारडममा निकै क्षति पुग्नेवाला थियो । ‘मेघा स्टार’ को उपमा जोक बन्न सक्थ्यो । आगामी यात्रा कठिन हुने पक्का थियो । तर ‘फर्की फर्की’ बाट अनमोलले दर्शकको माया पाए । मल्टिस्टारर ‘पुजार सार्की’ कै हाराहारीमा ‘फर्की फर्की’ ले व्यापार गरिरहेको छ । ‘फर्की फर्की’ लाई युवायुवतीले बढी रुचाएका छन् भने ‘पुजार सार्की’ ले सिरियस अडियन्सलाई अपिल गरेको छ ।
‘पुजार सार्की’ मा अनमोलका प्रतिस्पर्धी मानिने प्रदीप खड्कासहित आर्यन सिग्देल र पल शाहले एकसाथ अभिनय गरेका छन् । फर्स्ट लुक आएदेखि नै यो चलचित्रमाथि दर्शकको कौतुहल बढेको थियो र प्रतीक्षित बनेको थियो, तर जब ‘फर्की फर्की’ को रिलिज डेटसँग जुधाएर ‘पुजार सार्की’ को रिलिज डेट घोषणा भयो, धेरैले ‘फर्की फर्की’ ले रिलिज सार्ने अनुमान गरेका थिए, तर अनमोल टसमस भएनन् । निर्माताले पनि उनीमाथि विश्वास देखाए ।
‘फर्की फर्की’को ट्रेलर आएपछि यो चलचित्रप्रति दर्शकको उत्सुकता ह्वात्तै बढेको थियो । उत्कृष्ट मेकिङको छनक ट्रेलरबाटै मिल्थ्यो । यता ‘पुजार सार्की’को ट्रेलर पनि कम दमदार थिएन । एकसाथ दुई उत्कृष्ट चलचित्र भिड्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी चलचित्र पण्डितहरुले गरिरहेका थिए, तर दर्शकले दुवै चलचित्रलाई साथ दिएका छन् । एकैपटक रिलिज हुँदा पनि दुइवटा चलचित्र पालिन सक्ने बजार नेपालमा क्रियट भइसकेको छ भन्ने दृष्टान्त पनि हो यो ।
सबैभन्दा सुखद पक्ष चाहिँ नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्नु नै हो । हरेक वर्ष विदेशी, खासगरी भारतीय र दक्षिण भारतीय फिल्महरुले नेपालबाट करोडौं रकम सोहोर्दा नेपाली निर्माताहरुले पोस्टर खर्चसमेत उठाउन नसक्ने अवस्था छ । वर्षमा सय हाराहारी चलचित्र बन्दा मुस्किलले १ दर्जनले मात्रै लगानी उठाउन सक्छन्, तर यो वर्षको सुरुवात निकै भिन्न रुपमा भएको छ । एकपछि अर्को चलचित्रले बम्पर व्यापार गरिरहेका छन् । भर्खरैमात्र केकी अधिकारीको ‘बोक्सीको घर’मा दर्शक उर्लिएका थिए । दर्शकहरु विस्तारै मौलिक विषयवस्तुमा रमाउन थालेको सुखद संकेत पनि हो यो ।
काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ ।
मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ ।
मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’
हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’
महजोडीको अभिव्यक्ति विवाददित भएपछि उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् । यसबाट दबाबमा परेपछि महजोडीले मुख खोलेका हुन् ।
काठमाडौं । घनश्याम लामिछाने निर्देशित सिनेमा लण्डन टु पेरिसको ट्रेलर सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो ।
सिनेमाको सार्वजनिक ट्रेलरले डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।
निश्चलको साथीको रुपमा देखिएका कविरलाई पनि ट्रेलरको अन्तिममा डेव्यु अभिनेत्री गरिमाको प्रेममा परेको देख्न सकिन्छ । जसले दर्शकलाई सिनेमाप्रति कौतुहल्ता जगाउन सफल हुने देखिन्छ ।
सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।
भिडिओ:
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।
भक्तपुर । भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्बर्ट बज्राचार्य सर्वसम्मत भएका छन् ।
समाजको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले बज्राचार्य अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो, जसअनुसार उपाध्यक्षमा इन्दिरा लाछिमस्यू र शशि कायष्ठ कसपाल, सचिवमा मानसराज बोहरा र कोषाध्यक्षमा श्रीहरि दाहाल रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरिसुन्दर लाखे श्रेष्ठ, रामहरि ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित भएका छन् ।
साधारणसभा उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि छुट्टै संगीतकर्मीहरु क्रियाशील भई निरन्तर सांगीतिक कार्यक्रम गर्दैमा आभार व्यक्त गरिन् ।
समाजकाे तर्फबाट कुलपति शर्माले भक्तपुरका युवा गायक कुम्ह सागरलाई यस वर्षको र बाँसुरीवादक यजु आचार्यलाई गत वर्षके न्हुँछेलक्ष्मी मुनंकर्मी युवा पुरस्कारबाट सम्मान गरेकी थिइन् ।
भक्तपुरबाट सांगीतिक क्षेत्रमा उदाउँदै गरेका युवा कलाकारलाई हौसला दिन र प्राेत्साहन दिन सम्मान गरिएको समाजले जनाएकाे छ ।
काठमाडौं । नायक अनमोल केसी र प्रदीप खड्का आज हल भिजिटका क्रममा जम्काभेट भए, तर उनीहरूबीच बोलचाल भएन ।
अनमोल अभिनित ‘फर्की फर्की’ र प्रदीप अभिनित ‘पुजार सार्की’ एकै दिन रिलिज भएर हलहरूमा सफलतापूर्वक चलिरहेका छन् । दुवै नायक आआफ्नो चलचित्रको प्रवर्द्धनका लागि हल भिजिटमा हिँडेका हुन् ।
यसै क्रममा आज भक्तपुरको क्यूएफएक्समा उनीहरू एकै पटक पुगेका थिए । सुरूमा प्रदीप पुगेर मिडियासँग अन्तरक्रिया गरिरहेका बेला अनमोल नायिका जसितासहित इन्ट्री भए । प्रदीपलाई वास्तै नगरी उनीहरू अगाडि बढे । प्रदीपले पनि नदेखे झैं गरे ।
यसअघि प्रदीपले सञ्चारकर्मीहरूसँग अनमोलसित भेट्न इच्छुक रहेको बताएका थिए ।
काठ्माडौं। र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको हो।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाइटस्याप नम्बर 9707259961 र nephopkoshreepech@gmail.com मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले बाजी मारेका थिए भने सह-विजेताका रूपमा जेनिश क्षेत्री थिए। दुबैले दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् ।
काठमान्डौका मेयर समेत रहेका बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताएका छन । त्यस्तै, कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाउने छिन् भने कार्यक्रम असारको अन्तिम साताबाट प्रसारणमा आउनेछ।
ललितपुर। फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा शुक्रवार साँझ डिजाइनर रनवे आयोजना गरिएको थियो। वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलहरुले विभिन्न डिजाइनरद्वारा तयार पारिका पहिरनहरु प्रदर्शन गरेका थिए।
फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका थिए ।
शुक्रवारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो ।
फेसन शोको पहिलो सिक्वेन्स ‘परी ‘ मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनहरुलाई मोडेलहरु प्रकृति, सुरूचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गरेका थिए ।
त्यस्तै, दोस्रो सिक्वेन्स ‘ज्वाला’ मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए ।
तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनहरुलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।
त्यस्तै, चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनहरूलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गरेका थिए ।
नमूना कलेजका फेसन डिजाइनरका विद्यार्थीहरूको पहिलो समुहले तयार पारेका पहिरनहरु मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गरेका थिए ।
लोगोका पहिरनहरु मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गरेका थिए भने जुजुका पहिरनहरु कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गरेका थिए ।
फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरनहरु सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।
नेपाल फेसन फेस्टिभलमा शनिवार र आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ । आज साँझ ६ बजेदेखि प्रारम्भ हुने फेसन शोमा ए. रेजभोल, जेबीजी बेसपोक, ईन्टा अटायर, हेमजा, लोगों फेसन तथा नमूना कलेज अफ टेक्नोलोजीका डिजाइनहरु प्रदर्शन गरिँदैछ ।
काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले प्रदर्शनको पहिलो दिन ‘ग्रान्ड ओपनिङ’ गर्यो। दोस्रो दिन सार्वजनिक बिदा नभएता पनि शुक्रबार भएकाले दर्शक हलसम्म आए। चलचित्रले सुखद व्यापार कायम राख्यो। प्रदर्शनको तेस्रो दिन शनिवार पनि अधिकांश हलहरुमा चलचित्र हाउसफुल नै देखिएको छ।
मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि यता चलचित्रका निर्देशक दिनेश राउत पनि मख्ख छन। ‘चलचित्रलाई दर्शकले यति धेरै माया गर्दिनुहुन्छ भन्ने सोचेको पनि थिइन। यो लेभलको रेस्पोन्स आउँछ भन्ने आश थिएन,’खुसी हुँदै उनी भन्छन,’म त यति खुसी छु कि व्यक्त गर्न पनि सक्दिन।’
आज पनि ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहान भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।
मध्यान्हमा कमलपोखरीस्थित बिग सिनेमा र बालाजुस्थित अष्टनारायण हलमा पनि चलचित्रको टिम पुगेको थियो। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतको भनाइ छ।
विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्र जातीय विभेदमा आधारित छ।
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा आक्रमक व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ ।
काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ ।
दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल-हल पुगेका छन् ।
निर्देशक गुरुङले दर्शकले फिल्मको कथालाई अधिक मनपराएको बताए । ‘अनमोलको कामबाट दर्शकहरु झन बढी खुशी हुनुहुन्छ । फिल्मको मेकिङसँग क्यानभासलाई पनि उत्तिकै मनपराउनुभएको छ’, उनले भने ।
निर्माता रोहित अधिकारीले पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए । ‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ । आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ । हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’, उनले भने ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
काठमाडौं । टिकटकबाट उदाएकी चर्चित म्युजिक भिडियो मोडल तथा नायिका गरिमा शर्मा अब चारपाङ्ग्रे सवारीको धनी बनेकी छन् । हालै उनले करिव ४० लाख रूपैयाँ हालेर नयाँ कार खरिद गरिन् ।
गरिमाले सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्दै बिवाइडी कम्पनीको विद्युतीय कार किनेको जानकारी गराएकी छन् । कलाकारितामा लागेको साढे तीन वर्षमै उनी कार चढ्न सफल भएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘जुन सपना देखेर म्युजिक इन्डस्ट्रीमा प्रवेश गरेँ, यहाँका अग्रजले मलाई पत्याएर विश्वास गर्दिनु भो, सबैप्रति आभारि छु । दर्शकले दिनुभएको मायाप्रति नतमस्तक छु । हजुरको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयात्रीको रुपमा एउटा सदस्य थप्न सफल भएकी छु । मेरो जीवनका हरेक आरोह अवरोह हजुरसँग शेयर नगरी बस्न सक्दिनँ । अझै धेरै माया र आशिर्वादको अपेक्षा गर्दछु । मलाइ गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाध माया पनि ।’
गरिमाले बिवाइडी नै किन किन्ने भनेर पाँचवटा कारण पनि उल्लेख गरेकी छन् । नेपालको सडक संरचनासँग मिल्दोजुल्दो आकार, आधुनिक प्रविधि, सरल तथा आरामदायी यात्राको सुबिधा, नेपाली अर्थतन्त्र र मध्यम परिवारलाई पनि समेट्ने मुल्य, ब्याट्रीको वारेन्टी तथा टिकाउपना र सबै वातावरणप्रति संवेदनशील नागरिकको एक मात्र रोजाइ रहेको उनको दावी छ ।
गरिमा कोभिड १९ को संक्रमणको लकडाउनपछि म्यूजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी टिकटक स्टारका रूपमा परिचित थिइन् । उनी अहिलेको व्यस्त मोडलमा पर्छिन् । साढे तीन वर्षको अवधिमा उनले १७० वटा म्यूजिक भिडियोमा अभिनय तथा नृत्य गरिसकेकी छन् । उनको आम्दानीको मुख्य स्रोत म्युजिक भिडिओ नै हो ।
गरिमा चलचित्रमा पनि डेब्यू गर्दैछिन् । यसै महिनाको २५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ञलण्डन टु पेरिसझमा उनको अभिनय छ । यस्तै आगामी असोज ११ गते प्रदर्शनको मिति तोकिएको हस्व दिर्घमा पनि गरिमाको अभिनय रहेको छ ।
काठमाडौं । नेपाली मूलकी भारतीय गायिका अभया सुब्बा वाइजे (पछि स्वीस नागरिकसँग विहे गरेकी) ले हिजो आफ्नो फेसबुकमा एउटा पोस्ट गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई समर्थन गर्नेहरुले आफूलाई फ्रेन्ड लिस्टबाट हटाउन ‘ध्वाँस’ दिइन् । तर, उनको ध्वाँस २४ घन्टा पनि टिक्न सकेन ।
आफ्नो पोस्टमा अत्यधिक नकारात्मक टिप्पणीहरु आएपछि अभयाले पोस्ट नै डिलिट गरिदिएकी छन् । उनले कुनै क्षमायाचना भने गरेकी छैनन् ।
अभयाले आफ्नो स्टाटसमा लेखेकी थिइन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला । म मेरो वरिपरि नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भन्ने चाहन्छु ।’
बलात्कारको मुद्दा खेपिरहेका सन्दीपलाई हालै उच्च अदालत पाटनले निर्दोष ठहर गरेको थियो । सफाइ पाइसकेको खेलाडीमाथि अभयाको टिप्पणीले सन्दीपका समर्थकलाई आक्रोशित बनाएको थियो । कतिले अभयाविरुद्ध गालीगलौजको वर्षा गरेका थिए ।
त्यसो त सांगीतिक क्षेत्रमा चर्चा पाउन नसकिरहेकी अभयाले ‘पब्लिक एटेन्सन’ को खोजीमा यो स्टाटस लेखेको आरोप लागेको छ । केही दिनअघि उनले लेखेको स्टाटसले पनि यो आरोपलाई बल पुग्छ । उनले ‘आफ्नो फेसबुक रिच सेलाउँदै गएकाले आफूले अब केही अन्टसन्ट पोस्ट गर्न सक्ने’ भनेर लेखेकी थिइन् । यो पोस्ट पनि उनले अहिले हटाएकी छन् ।
को हुन् अभया ?
अभया दार्जिलिङमा जन्मेकी हुन् । मुम्बइमा बसेर पढेकी उनले नेपाल आएर एफएममा आरजेको काम सुरु गरेकी थिइन् । उनले सांगीतिक करिअर भारतमै सुरु गरे पनि खासै सफलता पाइनन् । दुई दशकदेखि उनी संगीतमा सक्रिय छिन् ।
उनको अभया एन्ड स्टिम इन्जिन्स नामको ब्यान्ड छ । तर नेपालमा धेरैले उनलाई भ्वाइस अफ नेपालको जज बनेपछि चिनेका हुन् । उनले नेपालमै जन्मेका स्वीस मुलका आर्किटेक्ट केइ वीजेसँग बिहे गरेकी छन् । अभया अतिवादी फेमिनिस्टका रुपमा परिचित छिन् ।
काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीतको भिडिओ सार्वजनिक गरिएको छ ।
किरण भुजेल र ममता गुरुङको युगल स्वर रहेको सार्वजनिक गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्रको संगीत छ । राहुल प्रधानले एरेन्ज गरेका छन् । सफल प्रेमको कथा देखाइएको भिडिओ क्लासिक फ्लेभरमा तयार पारिएको र फरक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउँछन् ।
म्युजिक भिडिओमा जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन् ।
विशाल थापाको छायांकन साथै दिनसन शाहको सम्पादन रहेको भिडिओ संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
काठमाडौं । आजबाट देशव्यापी रुपमा लागेको चलचित्र ‘पुजार सार्की’ को आजै बिहान प्रिमियर शो भयो । आयोजित प्रिमियर शोमा चलचित्रको सम्पूर्ण टीम उपस्थित थिए । पल भने फ्लाइट डिले भएका कारण उपस्थित हुन सकेनन् ।
प्रिमियरबाट चलचित्रले राम्रो प्रतिक्रिया बटुल्यो । प्रिमियरबाट निस्केका चलचित्रका कलाकारसँग फोटो खिच्न बाहिर दर्शकको बाक्लो उपस्थिति थियो ।
चलचित्र हेर्न आएका दर्शकले केहीबेर कलाकारसँग तस्बिर खिचाएका थिए । तस्बिर सँगसँगै बाहिर निस्किएपछि चलचित्रका कलाकारहरुले पत्रकारहरूसँग आफ्नो खुसी पनि साटे ।
कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरूले राम्रो रहेको बताएकोमा खुशी लागेको बताए । ‘म खासै हल भिजिटमा हिँड्ने मान्छे होइन तर दर्शकको प्रतिक्रिया सुनेर भने साँच्चै खुसी लाग्यो’, उनले भने ।
त्यस्तै, अभिनेता प्रदीप खड्काले पनि चलचित्रले पाएको प्रतिक्रियाबाट आफु हर्षित रहेको बताए । ‘चलचित्रमा डेटिङ र रोमान्स कम भयो नि?’, भन्ने प्रश्नमा उनले अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हो की भन्दै हाँसी मजाक गरे ।
प्रदिपलाई त्यहीँ बेला विवाहको बारे पनि प्रश्न गरिएको थियो। सम्बन्धबारेको प्रश्नमा उनले वास्तविक जीवनमा अब छिट्टै विवाह गर्ने बताए । दर्शकको भिड धेरै भएकाले उनले यस विषयमा धेरै बोलेनन।
अभिनेत्री अञ्जना बराइली र परिक्षा लिम्बुले चलचित्रमा अभिनय गर्ने पात्रहरू सबैले न्याय दिएको र दर्शकहरूको राम्रो प्रतिक्रियाले खुशी लागेको बताए । त्यस्तै, यता चलचित्र ‘पुजार सार्की’का निर्देशक दिनेश राउतले पनिे यति धेरै राम्रो प्रतिक्रिया आउला भन्ने आफुले नसोचेको बताए ।
सुवास भुसालले निर्माण गरेको चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ । चलचित्रको सम्पूर्ण टिम आज हल भिजिटको दौडधुपमा छन् ।
काठमाडौं । राज शेर्माको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक भएको छ । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।
पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको ‘कालो प्रकाश’ मा कलाकार बिराज बास्कोटाले आफ्नो बजोड अभिनय प्रस्तुत गरेका छन् ।
थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो ।
बास्कोटाले यसमा आफ्नो अभिनयको बेस्ट दिन कोसिस गरेको बताए ।
त्यस्तै, कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनयले ‘कालो प्रकाश’लाई जीवन्द बनाएको छ । भिडिओको छायांकन योगेश दाहालले गरेका छन् भने श्रृङ्गार बिक्रम गौतमको रहेको छ ।
कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोजेका छन् । यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ ।
अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ । पोइट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर आजदेखि रिलिज भएको चलचित्र ‘पुजार सार्की’ को आजै राजधानीमा प्रिमियर गरियो।
सामान्यतया, चलचित्रको प्रिमियर रिलिज हुनु पूर्व गर्ने गरिन्छ। तर ‘पुजार सार्की’ को भने रिलिजकै दिन गरियो।
दर्शकले हेर्ने पहिलो शोसँगै गरिएको प्रिमियरमा निर्देशक दिनेश राउतसहित चलचित्रका कलाकारहरू उपस्थित थिए। प्रिमियरमा नायकद्वय आर्यन सिग्देल र प्रदीप खड्का तथा नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु उपस्थित थिए। तर यो भिडमा नायक पल शाह कहीँ कतै देखिएनन्। चलचित्रमा पल शाह शीर्ष भूमिका मध्येको एकमा छन्।
चलचित्रको शीर्ष भूमिकामा भएका कलाकारहरू प्रमोसनदेखि हल भिजिटसम्म कुद्ने गर्दछन्। तर शाह चलचित्रको प्रमोसनमा पनि कमै देखिए। यहाँसम्म की उनी चलचित्रको प्रिमियरमा समेत देखा परेनन्। आखिर किन ? आफ्नै चलचित्रको प्रिमियरमा पनि उनी किन सामेल भएनन् त ?
नायक शाह यति बेला अक्रो चलचित्र ‘रावायण’ को छायांकनमा व्यस्त छन्। ‘रावायण’ को छायांकनका कारण आफू व्यस्त रहेको भन्दै उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमा छोटो प्रष्टीकरणसमेत दिएका थिए। उनी आज भने फ्लाइट डिले भएका कारण प्रिमियरमा अनुपस्थित भएका थिए। पलले प्रिमियरमा सामेल हुन सर्लाहीबाट बिहानको टिकट काटेका थिए। रावायणको सुटबाट बिहानै हिँडेका पलको एयरपोर्टमा फ्लाइट डिले भयो।
फ्लाइट डिले भएकै कारण उनी बिहानको प्रिमियरमा सामेल हुन पाएनन्। तर बिहानको प्रिमियरमा पललाई नदेखेका दर्शकले, उनलाई साँझको हल भिजिटमा भने पक्कै देख्न पाउनेछन्। उनी अहिले काठमाडौँ आइसकेका छन्। अहिले साढे ४ बजेको अष्टनारायण हल भिजिटमा उनलाई दर्शकले प्रत्यक्ष रूपमा भेट्न पाउनेछन्।
रावायणकै कारण उनी ‘पुजार सार्की’ को प्रचारप्रसारमा पनि त्यति देखिएनन्। उनी केही मिडियालाई हतार हतारमा अन्तर्वार्ता दिएर पुजार सार्कीको टिमसँग बिदा भएका थिए। छायांकनमा व्यस्त भएपछि उनी बिचमा पनि आउन पाएनन्। चलचित्रको ट्रेलर रिलिजदेखि प्रमोसनल अन्तरवार्ताहरूमा समेत पल अनुपस्थित भएपछि यसलाई लिएर विभिन्न अड्कलबाजी सुरु भयो। जसको छोटो प्रष्टीकरण उनले केही दिन अघि सामाजिक सञ्जालमा आफ्नो पृथक् लुक्स सार्वजनिक गर्दै दिएका थिए। उनले आफ्नो स्टाट्समा व्यस्तताका कारण प्रत्यक्ष अगाडी उपस्थित हुन नसकेको बताउँदै यो चलचित्र आफ्नो करिअरमा महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका थिए।
काठमाडौं । अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन।
ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यति बेला सङ्कटमा पर्छ, जति बेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरूले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।
चलचित्रको कथा छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ राई) वरपर घुम्छ । ट्रेलर पनि यी नै बाबुछोराको मायाबाट सुरु भएको छ। लाहुरेले ल्याउने उपहार र त्यसले गरिब परिवारमा आउने उतारचढावको कथा ट्रेलरमा देखाईएको छ।
गाउँमा बाटो र मोटर आएपछि भोजपुरको राई परिवारमा निम्तिएको संकट चलचित्रको मूल सार हो। लाहुरेले ल्याउने उपहार र सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, चाउचाउ, त्रिपाललगायतले मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथालाई पर्दामा उतारिएको छ ।
चलचित्रमा पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् । आमोद राईले निर्माण गरेको चलचित्र रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको हो। चलचित्र यहीँ जेठ २५ गतेबाट विश्वभर रिलिजको तयारीमा छ ।
काठमाडौं । बिहीबारदेखि देशव्यापी रुपमा लागेको चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । बुद्धजयन्तीको अवसर पारेर आजदेखि रिलिज भएका यी दुवै चलचित्रहरुको काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि अकुपेन्सी सुखद् छ ।
प्रदर्शन अगावै देखि दर्शकमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने कौतुहल थियो । आज पहिलो दिनको अकुपेन्सीबाट दुवै चलचित्रका मेकरहरु आनन्दित बनेका छन् । ‘फर्की फर्की’ फेन्टासी र ‘पुजार सार्की’ सोसल–ड्रामामा आधारित चलचित्र भएकाले एक चलचित्रले अकोै चलचित्रको व्यापार धेरै प्रभावित तुल्याउने सम्भावना देखिँदैन । दर्शकले आफ्नो रुचिअनुसार चलचित्र छनोट गर्न वा दुवै चलचित्र पालैपालो हेर्न सक्छन् ।
आज सार्वजनिक विदा भएकाले पनि अकुपन्सी उच्च हुनु स्वभाविक थियो । अब दर्शकबाट आएको प्रतिक्रियाले चलचित्रको व्यवसायीक भविष्य निर्धारण गर्नेछ । दुवै चलचित्रका कलाकारहरु आज हल भिजिटको दौडधुपमा व्यस्त छन् ।
सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पुजार सार्की’ले काठमाडौंका मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलमा समेत राम्रो अकुपेन्सी प्राप्त गरेको देखिएको छ । चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा २५ शो पाएको छ । त्यस्तै, बिग मुभिजमा २ शो, इनी सिनेमाजमा ६ शो, एफ–क्युबमा २ शो, वान सिनेमाजमा ६ शो र थप अरु हलमा पनि सन्तोषजनक शो पाएको छ । अनलाइन बुकिंङ हेर्ने हो भने मध्यान्हदेखि चलचित्रले राम्रो पिकअप लिएको देखिन्छ ।
चलचित्रको आज रिलिजकै दिन पहिलो शोमा प्रिमियर गरिएको थियो । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया बटुलेको छ। २०४६ सालको जनआन्दोलनको सेटिङमा तयार भएको यो चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । १३८ मिनेट रनटाइम रहेको चलचित्रमा आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, परीक्षा लिम्बू र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।
अनमोल केसी स्टारर ‘फर्की फर्की’ ले पनि काठमाडौंका मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलहरुमा राम्रो अकुपेन्सी पाएको छ। चलचित्रको बेलुकासम्मकै अकुपेन्सी सुखद छ । चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा २७ शो, बिग मुभिजमा ५ शो, इनी सिनेमाजमा ६ शो , एफ–क्युबमा ३ शो, वान सिनेमाजमा ५ शो, रन्जना सिनेप्लेक्समा ३ शो र थप अरु हलमा पनि राम्रो शो पाएको छ ।
चलचित्रको हिजो राजधानीमा भव्य प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रको कथावस्तु र अनमोलको अभिनयको चौतर्फी तारिफ भएको थियो । १४६ मिनेट रनटाइम रहेको चलचित्रमा अनमोल केसी र जसिता गुरुङ शीर्ष भूमिकामा छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरलाई चलचित्रको प्रिमियरमा निम्ता त प्रशस्तै आउँछन्, तर उनी कमै मात्र उपस्थित हुन्छन् । हिजो उनी अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को प्रिमियर हेर्न बिग मुभिज पुगे ।
आफ्ना केही साथीभाइसँग बसेर फिल्म हेरेका बालेनले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियाले निर्माण पक्षलाई उत्साहित बनाउन सक्छ । बालेनले फर्की फर्कीलाई उत्कृष्ट चलचित्र भनेर टिप्पणी गरेका छन् ।
‘फ्रेस एन्ड ब्यूटीफूल । साँच्चै राम्रो चलचित्र,’ बालेनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
बालेनले यो चलचित्रलाई अंग्रेजी सबटाइटलसहित नेटफ्लीक्सलगायत ओटीटी प्लेटफर्ममा रिलिज गर्न निर्माण पक्षलाई सुझाव दिएका थिए ।
हिजो प्रिमियरमा चलचित्रले अरू अतिथिहरूको पनि प्रशंसा पाएको छ । धेरैले चलचित्रको मेकिङ र अनमोलको अभिनयको सराहना गरेका छन् ।
काठमाडौं । आज बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरिएको छ ।
राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।
अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महशुस भएको बताए । ‘फिल्म प्राविधिक रुपमा अत्यन्तै राम्रो छ । निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ । फिल्मले युवा भाईबहिनीलाई झन राम्रो लाग्नेछ । उहाँहरुलाई मनपर्यो भने आफ्नो बुवाआमालाई पनि बोलाएर ल्याई हाल्नुहुन्छ’, उनले भने ।
अभिनेता तथा निर्माता हरिहर अधिकारीले फिल्मले आफ्नो मन छोएको बताए । ‘फिल्म पूर्ण व्यावसायिक र साइन्स फिक्सन भएकाले पनि केही नयाँ छ,’ उनले भने ।
निर्मात्री तथा अभिनेत्री निता ढुंगानाले फिल्म नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताइन् । ‘निर्माताले पनि धेरै ठूलो रिस्क लिएर यो फिल्म बनाउनुभएको छ । सामान्यतया व्यावसायिक फिल्महरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन् । तर यो किसिमको फिल्मलाई बनाउन धेरै गाह्रो हुन्छ । त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ’, उनले भनिन् ।
अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका फिल्म दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए । ‘फिल्ममा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो । प्रेमकथा मनपराउने दर्शकका लागि त्यो एउटा स्वादिलो फिल्म बन्नेछ’, उनले भने, ‘फिल्ममा देखाइएको समयको कुराले जोकोहीलाई छुन्छ । दर्शकका लागि फिल्मले एउटा मिठो सन्देश पनि दिएको छ ।’
अभिनेत्री सुरक्षा पन्तले फिल्म आफूलाई मनपरेको बताइन् । ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ । क्लाइमेक्सको टाइमिङ मनपर्यो । कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उनले भनिन् ।
निर्देशक वसन्त निरौलाले युवापुस्ताका लागि समय सापेक्षको फिल्म बनेको बताए । ‘फिल्मको मेकिङ, कलाकारको अभिनय, पाश्र्व संगीत, कथा, लोकेसन हरेक हिसाबले फिल्म उत्कृष्ट बनेको छ’, उनले भने ।
निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताए । ‘निर्माताले दिल खोलेर फिल्म बनाउनुभएको छ । निर्देशकले पनि राम्रो काम गर्नुभएको छ । छायांकन राम्रो छ । अनमोलको अभिनय ‘वाह’ नै छ । अन्य कलाकारको काम पनि अब्बल छ’, उनले भने ।
निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुशी व्यक्त गरिन् । ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महशुस गरें । सबै पक्षले फिल्म अब्बल छ’, उनले भनिन् ।
फिल्ममा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले फिल्मले दर्शकलाई फ्रेसनेस दिने बताए । ‘नेपाली फिल्मको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा फिल्म बनिरहेको छ । दर्शकले इन्जोय गर्नुहुनेछ’, उनले भने ।
अभिनेता सलिनमान बनियाँले फिल्म आफ्ना लागि ‘अमेजिङ’ रहेको बताए । ‘फिल्ममा टाइम लुपको कन्सेप्ट छ । सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो । मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै फिल्म हलमा नै हेरेको छु । फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ’, उनले भने ।
फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए । ‘सबैजनाले राम्रो भन्नुभयो । मेयर बालेन दाई(बालेन शाह)ले पुरै फिल्म हेरेर जानु भयो । त्यो हाम्रो ठूलो उपलब्धी हो’, उनले भने ।
अभिनेत्री जसिता गुरुङले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएको बताइन् । ‘फिल्ममा भएको टाइम लुपको कन्सेप्टमा जुन रेस्पोन्स आएको छ, त्यो एकदमै राम्रो छ’, उने भनिन् ।
फिल्म हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।