Category: कलाप्रेस

  • फिल्म खेल्न अमेरिकाबाट आए राजवल्लभ कोइराला

    फिल्म खेल्न अमेरिकाबाट आए राजवल्लभ कोइराला

    काठमाडौं । अभिनेता राजबल्लभ कोइराला चलचित्र ‘एक्टर’का लागि अमेरिकाबाट नेपाल आइपुगेका छन् । नौ वर्षपछि सिने क्षेत्रमा कमब्याक गर्न लागेका कोइराला आइतबार बिहान काठ्माडाैं आइपुगेका हुन् ।

    राजवल्लभको पछिल्लो चलचित्र ‘हे युवा’ हो जुन वर्ष २०१५ मा रिलिज भएको थियो । उक्त चलचित्र रिलिज भएपछि राजवल्लभले सिने क्षेत्रबाट विश्राम लिएका थिए । नौ वर्षपछि उनी पुन चलचित्र ‘एक्टर’बाट कमब्याक गर्दैछन् ।

    राजबल्लभलाई प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीले स्वागत गरेका थिए । केही समय अगाडि शुभ मुहूर्त गरिएको चलचित्रको अहिले वर्कसप चलिरहेको छ ।

     

  • ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज

    ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज

    काठमाडौं । निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

    सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले सिनेमाको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।

    बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई)र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा सिनेमाले भनेको छ ।

    जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

    मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।

    यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

  • ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर

    ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर

    काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को घोषित मितिभन्दा एक हप्ता पहिले नै प्रदर्शन हुने भएको छ । निर्माण टीमले फिल्म सुरुमा आगामी असोज ११ गते प्रदर्शन गर्ने मिति घोषणा गरेको थियो । साे मिति हेरफेर गरेर फिल्मलाई एक हप्ता पहिले संविधान दिवसको अवसर पारेर असोज ३ गते प्रदर्शन गर्ने निर्माण टीमले जनाएको हो ।

    निर्मात्री नीता ढुंगानाले वितरण कम्पनी र निर्माण टीमको सल्लाहमा फिल्मको रिलिज डेट अगाडि ल्याइएको बताइन् ।

    ‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो’, उनले भनिन् ।

    फिल्मको यतिबेला डबिङको काम चलिरहेको छ । अभिनेत्री विपना थापा फिल्मको डबिङ गर्न यतिबेला नेपालमा छिन् ।

    चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायत नाम चलेका दर्जन बढी कलाकारको अभिनय छ ।

    सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यस फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ ।

    फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनञ्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । नीता फिल्मसको ब्यानरमा फिल्म बनेको हो ।

  • गायक तथा संगितकार अवस्थीले ल्याए ‘आयाँ दर्शन गरि’ (भिडिओ)

    गायक तथा संगितकार अवस्थीले ल्याए ‘आयाँ दर्शन गरि’ (भिडिओ)

    कैलाली । सुदूरपश्चिमका चर्चित गायक तथा संगितकार राम प्रसाद अवस्थीले आफ्नो पछिल्लो साङ्गीतिक कोसेली बजारमा ल्याएका छन् ।

    आफ्नो र पूर्णकला विसीको स्वरमा रहेको आयाँ दर्शन गरि बोलको देउडा गीत बजारमा ल्याएका हुन् । गीत सार्वजनिक भए लगत्तै यसले चर्चा पाइरहेको छ ।

    सुदूरपश्चिमको बैतडीका अबस्थी डेढ दशकदेखि काठमाडौँमा रहेर देउवा गीत सङ्गीतमा लागिरहेका छन् । अवस्थीका दर्जनौँ गीत बजारमा आइसकेका छन् । पछिल्लो गीत सुदूरपश्चिमका अर्का चर्चित गायक नरेन्द्र राज रेग्मीको शब्द सङ्कलनमा तयार गरिएको हो ।

    केशव बडूको एरेन्ज रहेको उक्त गीतको सङ्गीतकार गायक अवस्थी आफै हुन्। अहिले गीतको भिडिओ पनि बजारमा आइसकेको छ ।

    भीम थापाले निर्देशन गरेको गीतको छायाङ्कन वीरेन्द्र भट्ट हुन् भने गीतमा कलाकार लोकेन्द्र साउद , संन्जिता शाही रहेका छन् ।

  • चलचित्र ‘पुजार सार्की’ हेर्न दलित आयोगको आह्वान

    चलचित्र ‘पुजार सार्की’ हेर्न दलित आयोगको आह्वान

    काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान गरेको छ । आयोगले चलचित्रका निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै ‘पुजार सार्की’ हेर्न सबैलाई आह्वान गर्ने बताएको हो ।

    आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा ‘पुजार सार्की’ सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने जनाईएको छ । विज्ञप्तिमा यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ ।

    ‘अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो । मानव मानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ,’ पत्रमा भनिएको छ ।

    ‘चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो, ‘पत्रमा लेखिएको छ, ‘चलचित्रले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ । चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको व्यहोरा अनुरोध छ ।’

    पत्रबारे चलचित्रका लेखक विकास सुवेदी भन्छन्, ‘चलचित्रले राज्यले बोल्नुपर्ने विषय बोलेको छ । चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले ‘पुजार सार्की’ हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ ।’

    चलचित्रका निर्देशक दिनेश राउत पनि ‘पुजार सार्की’ दलित मुक्तिको आन्दोलनको एक हिस्सा भएको बताएका छन् ।

    यसैबिच, बुधवार भएको विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधि सभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्व खेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्व राजदूत पदम सुन्दास, दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथा चलचित्रकर्मी महेश गोदार, दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा, संविधानसभा सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल लगायतले चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए ।

    गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ । चलचित्रमा आर्यन सिग्देल प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।

     

  • ‘लन्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

    ‘लन्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ ।

    शुक्रवार रिलिज गरिएको यो रोमान्टिक गीतमा वियोण्डको संगीत तथा शब्द अनि वियोण्ड र प्रविसा अधिकारीको स्वर छ ।

    यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् ।

    सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतले सिनेमामा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ ।

    सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

    एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् ।

    सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदै छ ।

    सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।

  • ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ जेठ १९ गते प्रदान गरिने

    ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ जेठ १९ गते प्रदान गरिने

    काठमाडौँ । ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ यही जेठ १९ गते प्रदान गरिने भएको छ ।

    ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलीलाई उत्थान’ भन्ने मूल मन्त्रसहित सुरु भएको यस चलचित्र पुरस्कारमा रहेका विधाहरू चलचित्रका पुराना स्रष्टाहरूमा समर्पित छन् ।

    ‘गोपीकृष्ण कामाख्या मिडिया कम्पनी प्रा.ली’ले व्यवस्थापन गरेको अवार्ड कार्यक्रममा यस पटक ‘नारायण सर्वोत्कृष्ट निर्माण नियन्त्रक’ र ‘उद्धव साधना सम्मान’ पनि थप गरिएको छ ।

    समारोहमा गत वर्ष २०८० मा प्रदर्शन भएर अवार्डमा सहभागी चलचित्र मध्येबाट छनोटमा परेका २३ प्रतिस्पर्धात्मक विधाको विजेतासँगै ‘दीर्घ साधना सम्मान’ र ‘चलचित्र पत्रकारिता पुरस्कार’ सहित २५ विधामा सम्मान गरिने छ ।

    गोपीकृष्ण मुभिजद्वारा आयोजित कार्यक्रममा कुल २५ विधामा २१ वटा विधाको मनोनयन सार्वजनिक गरिएको छ जसमध्ये आयोजक संस्थाले उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ।

    मनोनयन यस प्रकारका छन्-

  • दोस्रो सातामा ‘पुजार सार्की’ र ‘फर्की फर्की’, बक्स अफिस कलेक्सन खै ?

    दोस्रो सातामा ‘पुजार सार्की’ र ‘फर्की फर्की’, बक्स अफिस कलेक्सन खै ?

    काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गतेदेखि एकसाथ प्रदर्शनमा आएका दुई चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गरेका छन्।

    प्रदर्शनमा आएदेखि नै बक्स अफिस कलेक्सन सार्वजनिक नगरेको यी दुवै चलचित्र यति बेला बक्स अफिसकै कारण चर्चामा छन्।

    एक साताको बक्स अफिस कलेक्सन एकै पटक सार्वजनिक गर्ने हल्लाबिच चलचित्र भने बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको छ।

    चलचित्रले पहिलो साता सुखद व्यवसाय गरेको थियो। दोस्रो साताबाट भने चलचित्रको व्यापार केही सेलाएको छ। बक्स अफिस कलेक्सनकै कुरा गर्ने हो भने पनि जति दुई चलचित्र र कलाकारहरूको चर्चा भएको थियो, त्यहीँ अनुरूपको व्यापार भने भएको छैन। बुझिए अनुसार चलचित्रले लगानी उठाउनु भन्दा बढी फाइदा भने गरेको छैन।

    दुवै चलचित्रका वितरकहरूले चलचित्रले राम्रो व्यवसाय गरेको बताए पनि कति गर्‍यो भनेर अहिलेसम्म खोलेका छैनन्। यता, दर्शकहरू भने चलचित्रको बक्स अफिस कलेक्सन कहिले सार्वजनिक हुन्छ भन्ने पर्खाइमा छन्।

    जे भए पनि चलचित्र भने दोस्रो सातामा प्रवेश गरेको छ। दुवै चलचित्रले दोस्रो साता पनि राम्रो शो पाएका छन्।

    सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको छ।

    रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेको ‘फर्की फर्की’ ‘टाइम लुप’ कथामा बनेको लभस्टोरी चलचित्र हो।

    सोही मितिबाट लागेको अक्रो चलचित्र हो,‘पूजार सार्की’। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन।

    चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । सुवास भुसालले निर्माण गरेको चलचित्रले जातीय विभेदविरुद्ध आवाज उठाएको छ।

  • चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु

    चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु

    काठमाडौं । वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । यो फिल्मको आज बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन प्रारम्भ गरिएको हो ।

    एक महिनासम्म यो फिल्मलाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मलाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा र इलाममा पनि फिल्म खिच्ने तयारी गरिएको छ ।

    फिल्मका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पुजा गरे । फिल्ममा जीतु नेपाल शिर्ष भूमिकामा देखिदैछन् । जीतु र नीतिका अलवा फिल्ममा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

    यो फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

    फिल्म ‘ज्वाइँ साब’लाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । सामाजिक कथालाई कमेडी शैलीमा फिल्ममा भन्न लागिएको उनले जानकारी दिए । यो फिल्मलाई यो बर्षको तिहारमा रिलिज गर्ने तयारी समेत गरिएको छ ।

  • दोहोरी गीतमा अश्लीलता नियन्त्रण गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    दोहोरी गीतमा अश्लीलता नियन्त्रण गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण हुँदै नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीत–संगीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औल्याए ।

    मन्त्री लामिछानेले भने, ‘ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ। स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरुले निजको भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ। समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।’

    मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उनले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिए । लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने/गराउने प्रतिवद्धता व्यक्त गरे ।

    ज्ञापन पत्र बुझाउन पुगेका रिता थापा, बद्री पंगेनी, पशुपति शर्मालगायतका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्याउने खालको हुँदै गएको, दोहोरी र्याप र ब्याटलको नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छोडिएको, मेला–महोत्सवमा समेत उच्श्रृंखल र अमर्यादित गीत–संगीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

     

     

  • ‘दान्भी’को ट्रेलर सार्वजनिक

    ‘दान्भी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो।

    ट्रेलरमा नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । चलचित्र यहीँ असनर ७ गतेबाट रिलिज हुँदैछ।

    नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको चलचित्र पूजा र कुन्साङबाहेक विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । श्री श्रेष्ठ द्वन्द्व निर्देशक रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

    चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

  • ‘पुजार सार्की’ मा कलाकारहरुले कल्पनादेखि बाहिरको काम गरेका छन् : सुदर्शन थापा

    ‘पुजार सार्की’ मा कलाकारहरुले कल्पनादेखि बाहिरको काम गरेका छन् : सुदर्शन थापा

    काठमाडौं। प्रदर्शनको सातौ दिन बुधवार चलचित्र ‘पुजार सार्की’को ठमेलस्थित क्यूएफएक्स सिनेमामा विशेष शो गरिएको थियो। ‘विशेष शो तथा सेलिब्रेटी शो’ नाम दिईएको उक्त शोमा मा चलचित्र क्षेत्रका अन्य कलाकारहरु सहित राजनीतिक व्यक्तिहरु तथा दलित आन्दोलनका विभिन्न संघसंस्थाका पदाधिकारीहरु उपस्थित भएका थिए। चलचित्र हेरेर निस्केका सबैले सकारात्मक प्रतिक्रिया दिए।

    चलचित्र हेर्न पुगेका निर्देशक सुदर्शन थापाले ‘पुजार सार्की’ हेर्दा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ तीनवटै चलचित्र याद आएको बताए। आफुलाई चलचित्र पहिल्यै हेर्न मन लागे तापनि व्यस्तताका कारण नभ्याएको थापाले सुनाए। उनले भने,‘म यो चलचित्र हेर्न एकदमै उत्साहित थिए। म मेरो चलचित्रको छांयाकन नै केही समय रोकेर भएपनि हेर्छु भन्ने थियो। सँगसँगै पललाई पनि केही समय छुट्टी दिनु थियो। आज हेर्ने मौका पाए।’

    ‘चलचित्र एकदमै उत्तम लाग्यो। यो किसिमको कथा र कलाकारको अभिनय भनेको कल्पनादेखि अलि बाहिरको कुरा हो। मैले आर्यनसँग ‘मेरो एउटा साथी छु’, प्रदिपसँग ‘प्रेमगीत’ र पलसँग ‘म यस्तो गीत गाउँछु’ गरे। ती तीनैवटा रोमान्टिक चलचित्र थियो,’उनले जोडे,‘तीनवटै रोमान्टिक हिरोलाई लगेर के गरिरहेको छ दिनेशले भन्ने लागेको थियो। तर अहिले हेरेपछि भने आनन्द आयो। मैते, मेघे र पुजार बनेर चलचित्रमा जे गरेका छन, एकदमै राम्रो गरेका छन। अभिनेत्रीको काम पनि उस्तै राम्रो छ। यो विषयवस्तुलाई जसरी भन्नुपर्ने थियो, त्यो भन्दा राम्रो तरिकाले भनिएको छ।’ त्यसै गरी उनले चलचित्र सपरिवारसहित गएर एकचोटी हेर्न पनि आग्रह गरे।

    त्यस्तै, कलाकार सरोज खनालले पनि ‘पुजार सार्की’ हेरेपछि आफुलाई ५१ सालको याद आएको बताए। ५१ सालमा खनालले ‘रगत’ बोलको चलचित्रमा काम गरेका थिए जसको कथावस्तु झण्डै‘पुजार सार्की’ को जस्तै छ। ‘५१ देखि ८१ सालसम्म आइपुग्दा ३० वर्ष भयो तर अहिलेसम्म पनि यहीँ मुद्धामा काम गर्नुपरेको छ। कलाकारहरुले कस्तो राम्रो काम गर्नु भएको छ कि के भनौँरु चकलेटी हिरोहरुलाई यो रुपमा देख्दा म एकदमै चकित छु,’उनले सुनाए।

    नायिका मलिका महतले पनि चलचित्र केही विशेष रहेको बताईन। उनले भनिन,‘चलचित्रले एकजनाको लागी मात्र नभएर, एउटा सिंगै समुदायको लागि बोलेको छ। यो त एउटा सिंगो प्याकेज हो।’

    चलचित्र हेर्न सलोन बस्नेत र शोभित बस्नेत दुवै जना पुगेका थिए। चलचित्र हेरेपछि सलोनले सबैजनालाई आफुले छुट्टा–छुट्टै हिसावले चिने पनि चलचित्रमा हेरेपछि भने फरक लागेको बताए। त्यस्तै, सलोनका पिता शोभितलाई भने सुरुमा पलले यो चलचित्र किन गरेको होला भन्ने लागेको सुनाए। उनले भने,‘सुरुमा सुन्दा त पलले यो चलचित्र किन खेलेको होला भन्ने लागेको थियो। तर चलचित्रको क्लाईमेक्स हेरेपछि भने ए यो कारणले चलचित्र खेलेको रहेछ भन्ने छर्लगं भयो।’

    चलचित्र हेरेपछि नायक प्रदिप खडकाले सोचेभन्दा धेरै राम्रो काम गरेको शोभितले बताए।

  • ‘आउट लः २१९’ को फस्लटुक सार्वजनिक, असोज ३ बाट रिलिज हुने

    ‘आउट लः २१९’ को फस्लटुक सार्वजनिक, असोज ३ बाट रिलिज हुने

    काठमाडौं । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दभा २१९’को फस्टलुक रिलिज भएको छ ।

    सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एंग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।

    अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।

    फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।

    विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ ।

    चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ ।

    यो फिल्मको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो । फस्टलुकसँगै फिल्मप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ । नायक सुशिल श्रेष्ठका लागि यो फिल्म बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मीवृत्तमा चलिरहेको छ । यो फिल्मलाई देशभर डीसीएनले वितरण गर्नेछ ।

     

  • केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ बजारमा

    केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ बजारमा

    काठमाडौं । केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ । ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ ।

    दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् ।

    उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन् ।

    उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

  • ५ वर्षपछि अनु शाहको चलचित्र ‘ईश्वर’ आउँदै, पोस्टर सार्वजनिक

    ५ वर्षपछि अनु शाहको चलचित्र ‘ईश्वर’ आउँदै, पोस्टर सार्वजनिक

    काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजु गिरीको निर्देशन छ। हरिबहादुर थापाको निर्माणमा बनेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको छ ।

    निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो । उनले भने, ‘फिल्म हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए। उनीहरु फिल्मका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ’।’

    लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि चलचित्रबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्। उनको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘पसिना’ हो ।

    चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत र कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ । चलचित्र यहीँ साउन ११ मा रिलिज हुँदैछ ।

  • ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

    ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । चलचित्रमा यस अघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भइसकेका छन्।

    प्रकाश र मुकुनपछि चलचित्रमा कलाकारहरु विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो । चलचित्रमा उनीहरुको भूमिकाको बारे भने अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन।

    यही जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहने छ।

    चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

    चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

  • ट्रोल भएपछि सजनको प्रष्टीकरण- फ्री स्पोन्सर पाएपछि कपाल रोपेको हुँ, श्रीकेशले कपाल पलाउँछ भनेको छुइनँ

    ट्रोल भएपछि सजनको प्रष्टीकरण- फ्री स्पोन्सर पाएपछि कपाल रोपेको हुँ, श्रीकेशले कपाल पलाउँछ भनेको छुइनँ

    काठमाडौं । ‘श्रीकेश तेल’ को चर्चा तपाईँहरूले पछिल्ला दिनमा निकै सुन्नुभएको होला । यो नेपाली उत्पादन यति बेला सामाजिक सञ्जालमा ट्रोलको विषय बनिरहेको छ ।

    टाउकोमा कपाल उमार्ने र झर्न रोक्ने भनेर प्रचारित गरिएको तेलको विज्ञापन गरिएको थियो । थुप्रै चर्चित सेलिब्रिटीदेखि युट्यूवरसम्मले यो तेलको विज्ञापन गरेका छन् । अहिले उनीहरूमाथि पनि ट्रोल भइरहेको छ ।

    श्रीकेश तेलको विज्ञापन गर्नेमध्येका एक हुने कमेडियन सजन श्रेष्ठ । उनले युट्युबमा चलाउने आफ्नो कार्यक्रममा यो तेललाई मुख्य स्पोन्सर राखेका छन् । कपाल झर्न रोक्ने तेल भन्दै प्रचार गरिरहेका सजन आफैँ कपाल प्रत्यारोपण गर्न धाइरहेको खुलासा भएपछि ट्रोलको पात्र बनेका हुन् ।

    सजनले आफ्नो अफिसियल युट्युब च्यानलमा ‘द लास्ट क्वेसन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । आफ्नो शोमा उनी सेलिब्रिटीहरु बोलाएर लामो कुराकानी गर्छन् । केही दिन अघिबाट मात्रै श्री केशले सजनको कार्यक्रममा स्पोन्सर सुरु गरेको थियो ।

    सजन आफैले दुई हप्ता अगाडी अनएयर भएको कार्यक्रममा श्रीकेश तेलले आफूलाई स्पोन्सर गरेको बताएका थिए । हुन त अरू थुप्रै कार्यक्रमका होस्टले श्रीकेशको विज्ञापन लिएर प्रचार गरिरहेका छन् । तर विज्ञापन गर्ने व्यक्ति आफैँ कपाल रोप्न जानुले उनी खिसिट्यूरीका पात्र बने । श्री केशको ‘झुटो विज्ञापन’ गरेको भन्दै धेरैले उनको आलोचना गरिरहेका छन् ।

    सजन यसबारे मिडियामा बोल्न खासै उत्साहित छैनन् । तथापि उनले आफूले कपाल प्रत्यारोपण गराएको स्वीकार गरे । सजनका अनुसार श्रीकेशको विज्ञापन आउनुअघि नै उनले हेयर ट्रान्सप्लान्ट गराएका हुन् ।

    ‘खै, के बोल्नु र ? श्री केशको विज्ञापन मेरोमा २, ३ हप्ता अगाडी आएको हो । जबकि मैले हेयर ट्रान्सप्लान्ट त्यो भन्दा अगाडी नै गरेको हुँ,’ उनी भन्छन्, ‘अझ ट्रान्सप्लान्ट त १, २ महिना अगाडि नै गर्ने कुरा थियो तर मेरो मुभीको काम भएकाले गर्न सम्भव भएन । ट्रान्सप्लान्ट गर्नुअघि अरू प्रक्रिया पनि गर्नुपर्ने रहेछ । त्यसैले काम सकेरै गरौँ भनेर हो ।’

    श्रीकेशले कपाल उमार्ने भनेर सुने पनि ७, ८ महिना लाग्ने भएकाले आफूले नपर्खेको उनले बताए ।

    उनी भन्छन्, ‘त्यत्रो पर्खिने धैर्यता भएन । श्रीकेशको स्पोन्सर आउनुअघि ‘हेल्दी च्वाइस’ बाट स्पोन्सर आएको थियो । त्यसैले मैले गएर कपाल रोपेँ । त्यसमा मेरो के गल्ती भयो र रु’ उनले थपे ।

    सजनसँग गरिएको थप प्रश्नोत्तर:

    तपाईँको टाउकोमा कहिल्यै कपाल नआउने भएर हो कि श्रीकेशको नतिजा पर्खन नसक्ने भएर ट्रान्सप्लान्ट गर्नुभएको हो त ?

    खासमा मेरो टाउकोको अगाडीको भागमा कपाल छैन । यो मेरो वंशाणुगत हो । तेलको रियाक्सन ढिलो आउने भन्ने थियो । मलाई यता ‘हेल्दी च्वाइस’ बाट व्यक्तिगत स्पोन्सर आयो, त्यसैले गएर कपाल रोपेँ । ‘हेल्दी च्वाइस’ सँग स्पोन्सर लिँदा गरेको कागज नै छ मसँग । त्यहाँ हेर्दा पनि थाहा भइहाल्छ मैले कहिले कपाल रोपेको हो भनेर । भिडियो ढिलो हालेकोले पछि गरेजस्तो देखियो ।

    श्रीकेश तेलले कपाल उमार्छ भन्नेमा तपाई चाहिँ कत्तिको विश्वास गर्नुहुन्छ ?

    हेर्नुस्, यसबारे म केही भन्न सक्दिनँ । मेरो श्रीमतीले पनि श्री केश प्रयोग गरिरहेको छ । यो तेल प्रयोग गरेपछि कपाल झर्न केही कम भयो भन्ने उनको भनाइ छ । कपाल झर्न कम हुन्छ भन्ने चाहिँ अरूको मुखबाट पनि सुनेको छु तर कपाल पुरै आउँछ भन्नेबारे मैले सुनेको छैन र थाहा पनि भएन । स्पोन्सर आउने कुरा भयो । म पनि ओके भए । पैसा आउने स्पोन्सर भएपछि कसले लिँदैन र ?

    भनेपछि पैसा आउने भयो भने नपाई त्यो प्रोडक्ट्सबारे केही जानकारी राख्नुहुन्न ?

    त्यस्तो हैन । श्री केश तेलको त्यसै पनि चौतर्फी चर्चा थियो । विवादकै कुरा गर्नुहुन्छ भने पनि मैले स्पोन्सर लिनुअघिदेखि नै केही यस्ता विवादित कुराहरू चलिरहेका थिए । मैले त अस्ति भर्खर त स्पोन्सर लिएको हो । मेरो श्रीमती र वरिपरिको साथी सर्कलबाट पनि कपाल झर्न चाहिँ रोक्दो रहेछ है भन्ने खालको प्रतिक्रिया सुनेकाले राम्रै रहेछ भनेर स्पोन्सर ओके भएको हो ।

    आफूले त कपाल रोपेर आउनु भयो । अब आउने कार्यक्रमहरूमा श्रीकेशले कपाल उमार्छ भन्नुहुन्छ कि हुँदैन त ?

    मैले अहिलेसम्म मेरो कुनै पनि कार्यक्रममा यसले कपाल उमार्छ, यो लगाउनुहोस् भनेर भनेको छैन । त्यो मेरो प्याटर्न नै होइन । म मेरो कार्यक्रमको स्पोन्सर यो हो भनेपछि आफ्नै कुरातर्फ लाग्छु । अरूहरूले पहिलेदेखि विज्ञापन गरिरहनु भएको छ । यो लगाउँदा कपाल आउँछ भनिराख्नु भएको छ । त्यसैले यो प्रश्न बरु मलाई भन्दा उहाँहरूलाई एकचोटि सोध्नुहोस् न ।

    आफू बेलाबेला कन्ट्रोभर्सीमा पर्नुको कारण के जस्तो लाग्छ ?

    यसपालि मैले कपाल रोपेँ, त्यहीँ कारण पर्याप्त भयो मलाई पोइन्ट गर्नलाई । जबकि यो मैले श्रीकेशको स्पोन्सर आउनु अघि नै गरेको हो । अगाडि पुरै चिल्लो भएकाले कपाल रोपेको थिएँ, अन्तिममा कपाल रोप्नु ठूलै गल्ती गरेजस्तो भयो । मलाई त घरीघरी स्पोन्सर नआएका कारण वा रिस निकाल्न कसैले श्रीकेशलाई बारम्बार गलत देखाउन पछि परेजस्तो लाग्छ । होइन भने, यत्रो मिडियाबाजी किन गर्नुपर्‍यो ? अफिस त्यहीँ नजिकै छ, मान्छे जतिखेरै त्यहीँ हुन्छन्, साच्चि कै फ्रड भए पुलिस कम्प्लेन गरेर समात्न गए भई गयो त ।

    कन्ट्रोभर्सी आएपछि श्रीकेश तेल उद्योगीसँग कुरा भयो कि भएन ?

    हिजो भएको थियो । उहाँले के भएको यस्तो भन्दै हुनुहुन्थ्यो । मैले यस्तो हल्ला चलिरहन्छ, बोल्नु भन्दा नबोल्नु बेस भनेँ ।

  • अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि सुरु

    अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि सुरु

    मुम्बई । भारतका सबैभन्दा धनी व्यक्ती मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि सुरु हुँदैछ । चार दिनसम्म चल्ने यो कार्यक्रम भव्य हुँदैछ। यो उत्सवको कूल बजेट ४०० देखि ५०० करोड भारतीय रुपैयाँ छ।

    मुकेश अम्बानीले आफ्नो छोराको दोस्रो प्रि-वेडिङ समारोह इटली र फ्रान्सबिचको समुद्रमा, ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा गर्दैछन । यो क्रुज मे २९ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गर्नेछ र ४३८० किलोमिटरको यात्रा तय गरी दक्षिणी फ्रान्स पुग्नेछ ।

    खासमा, अम्बानी परिवारले मियामीबाट अर्कै क्रुज मगाएका थिए तर फ्रान्समा त्यो क्रुज पार्क गर्न समस्या हुने भएपछि माल्टाबाट सेलिब्रेटी एसेन्ट मगाइएको हो ।

    प्रि(वेडिङ समारोह इटालीको पार्लेमो सहरमा दिवा भोजबाट सुरु हुनेछ । दिवा भोजपछि सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमै स्टाररी नाइट मनाइनेछ।

    समारोहको दोस्रो दिनलाई ‘रोमन हलिडे’ भनिएको छ जहाँ पाहुनाहरूले पर्यटकको रूपमा लुगा लगाउनु पर्नेछ। त्यहाँ एक ग्रीको(रोमन(थीम टोगा पार्टी हुनेछ।

    पार्टीमा पाहुनाहरूले पुरातन रोमन शैलीको लुगा र चप्पल लगाउनु पर्नेछ।

    समारोहको तेस्रो दिनको कार्यक्रमलाई ‘भी टर्न वन अन्डर द सन’ भनिएको छ। उक्त साँझ मास्करेड र त्यसपछि ‘पर्डन माई फ्रेन्च’ नाम दिइएको पार्टी हुनेछ।

    चार दिने प्रि-वेडिङ ब्यासको अन्तिम दिनको कार्यक्रमलाई ‘ला डोल्से भिटा’ नाम दिइएको छ जसको अंग्रेज़ी अर्थ ‘स्विट द गुड लाईफु हो।

    समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटली पुगिसकेका छन। यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।

    समारोहमा सहभागी हुने ८ सय जना अतिथिहरूलाई १२ वटा विमान चढाएर इटली पुर्‍याइएको थियो। समारोहमा ३ सय जना भीभीआईपी हुने बताइएको छ । यी अतिथिको आतिथ्यका लागि क्रुजमा ६ सय जना कर्मचारी हुनेछन् ।

    अनन्त-राधिकाको विवाह जुलाईमा हुँदैछ। तीनवटा समारोह (पहिलो, दोस्रो प्रि-वेडिङ र बिहे) गरी सम्पन्न हुने विवाह समारोहको खर्च झण्डै १५ सय करोड भारतीय रुपैयाँ बजेट आउनेछ ।

    यसअघि मुकेश अम्बानीकी छोरी इशाको विवाहमा ४०० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । इशाले विवाहमा ९० करोडको लेहेंगा लगाएकी थिइन् ।

    अनन्त-राधिकाको पहिलो प्रि–वेडिङमा पप आइकन रिहानालाई बोलाइएको थियो । रिहानाको पर्फमेन्सका लागि अम्बानीले ७४ करोड भारु दिएको बताइएको थियो ।

    यसपालि हुन गइरहेको दोस्रो पि–वेडिङ समारोहमा भने अमेरिकी र्यापर तथा गायक पिटबुललाई बोलाइएको बताइएको छ । तर उनलाई कति पैसा दिएर ल्याउन लागिएको भन्ने बारे भने खुलाइएको छैन । पिटबुलले पन्जाबी गायक गुरु रन्धावासँग मिलेर पर्फरमेन्स दिने बताइएको छ ।

  • ‘जन्ते बाख्रो’मा अभिनेता सौगात मल्ल अनुबन्धित

    ‘जन्ते बाख्रो’मा अभिनेता सौगात मल्ल अनुबन्धित

    काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन। मंगलबार निर्माण टिमले चलचित्रमा सौगात मल्ल अनुबन्धित भएको जानकारी गराएका हुन्।

    सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको केही समय अघि निर्माण घोषणा गरिएको थियो । ‘जन्ते बाख्रो’ निर्माण घोषणा गर्दा चलचित्रमा कोको कलाकार रहने भन्ने बारे निर्माण टिमले जानकारी गराएका थिएनन।

    यो चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा एकसाथ काम गरेका थिए । दुवै जना यो चलचित्रलाई लिएर उत्साहित छन।

    आगामी भदौबाट छायांकन गरिने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ ।

    चलचित्रमा अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ । अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केही दिनमा पात्र सुहाउँदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

  • दोलखामा फिल्म सिटी बनाउन ७ अर्ब ३५ करोड विनियोजन (भिडिओ)

    दोलखामा फिल्म सिटी बनाउन ७ अर्ब ३५ करोड विनियोजन (भिडिओ)

    काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गर्ने भएको छ ।

    संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने बताए ।

    अन्य कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

    बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको छ ।