काठमाडौं । केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहेको प्रदर्शोन्मुख चलचित्र ‘माग्ने राजा’ अहिले चर्चामा छ । चर्चाको एउटा कारण हो- यस चलचित्रमा माग्नेबुढाले लिएको पारिश्रमिक सम्वन्धी कन्ट्रोभर्सी ।
चलचित्रको एउटा प्रेस मिटमा निर्माण पक्षले माग्ने बुढालाई ६१ लाख रूपैयाँ पारिश्रमिक दिइएको दाबी गरेको थियो । माग्ने बुढाले यसमा ‘मौन सहमति’ दर्शाएका थिए । तर, यसले चलचित्रको सकारात्मक चर्चा भन्दा पनि चर्को पारिश्रमिक लिएको भनेर माग्ने बुढाको आलोचना बढी भयो । फलस्वरूप अहिले सबैले बोली फेरिरहेका छन् ।
केही दिनअघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘माग्नेराजा’ को पोष्टर सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रका निर्माता मुनाल घिमिरेले कला मन्दिरको कसमै खाएर माग्नेबुढालाई ‘५१ लाख दिइसकेको र १० लाख उधारो रहेको’ बताएका थिए । तर, अहिले भने उनलाई आफ्नो भनाइको बचाउ गर्न सकस परिरहेको छ । माग्ने बुढाले नै सार्वजनिकरूपमा चलचित्रका निर्माता र निर्देशकले पारिश्रमिकबारे झूटो बोलेको टिप्पणी गरेपछि उनी अप्ठेरोमा परेका छन् ।
त्यसो त मुनाल घिमिरे र केदार घिमिरेको सम्बन्ध अहिलेको होइन । माग्ने बुढालाई कलाकारिताको सुरुवाति दिनमा ‘टिपनटापन’ नामक टेलिभिजन कार्यक्रममा उनैले काम गराएका थिए । त्यो समय माग्ने बुढा सुटिङका लागि आवश्यक लुगा, टोपीदेखि ब्यान्डेजसम्म घरबाट आफै्र बोकेर जान्थे भने स्क्रिप्ट पनि आफैं लेख्थे । पारिश्रमिकको रूपमा भने उनले एक प्लेट मःमः पाउँथे । अहिले आएर उनै माग्ने बुढालाई ५० लाख पारिश्रमिक माग्ने हैसियतमा पुगेका छन् ।
मुनाल घिमिरेको कुरा गर्ने हो भने उनी नेपाली चलचित्र क्षेत्रका लागि परिचित व्यक्ति नै हुन् । २०५१ सालदेखि उनी यो क्षेत्रमा छ । प्रतिभा कला मन्दिरदेखि सुरू भएको उनको यात्रा नाटक, टेलिसिरियल हुँदै चलचित्रसम्म आइपुगेको हो । यातना, पर्खाल, सिन्दूर, तीतोसत्य जस्ता चर्चित टेलिसिरियलपछि उनले ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘इच्छा’, ‘सिरिमान सिरिमती’, जस्ता हिट टेलिश्रृंखलाहरू दर्शकलाई दिए ।
कलाकारितामा सक्रिय रहँदा रहँदै उनी बीचमा एकाएक हराए । आठ वर्षदेखि यो क्षेत्रबाट टाढा भएर उनी राजनीतिमा लागेका छन् । घिमिरे अहिले दाङको एउटा वडामा वडाध्यक्ष छन् । विगतमा दुईवटा चलचित्र निर्देशन गरेका घिमिरे यसपाली भने निर्माताका रुपमा चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका हुन् ।
मुनालको कलाकारिता यात्रा र माग्ने राजाको कन्ट्रोभर्सीबारे उनीसँग गरिएको कुराकानीः
– कलाकारिता सक्रिय छँदाछँदै राजनीतिमा किन होमिनुभयो ?
मेरो पारिवारिक कारणले गर्दा हो । मेरो बुवा बित्नु भएपछि म आमाको लागि दाङ फर्किनुपर्ने भयो । त्यहाँ आमासँगै बस्ने सौभाग्य पाएँ । आमा अल्जाईमरको बिरामी भएका कारण उहाँलाई छोड्न नमिल्ने अवस्था थियो । उहाँलाई यहाँ ल्याउन पनि सम्भव भएन ।
बुवा जहाँ बित्नुभयो, त्यो ठाउँ छाडेर नजाने र त्यही घरमा प्राण त्याग्छु भन्ने आमाको इच्छा भएकाले कर गर्न मन लागेन । मलाई पहिल्यैदेखि समाजसेवा गर्न मन थियो । त्यसैले घरमा भइञ्जेल समाजसेवा गर्छु भन्ने लाग्यो । मलाई राजनीति गर्न आउँदैन, त्यसैले म राजनीतिमा लागेको हो भनेर भन्दिनँ । समाजसेजा गर्न म वडाध्यक्ष भएको हो ।
– वडाध्यक्ष हुँदाहुँदै फेरि किन फेरि चलचित्रमा हात हाल्नुभयो ?
म समाजसेवा गर्छु भनेर वडाध्यक्ष भएको थिएँ तर समाजसेवा आफ्नो इच्छाले मात्र हुँदो रहेनछ । नेतृत्वहरूको निर्देशनमा चल्नुपर्ने भएकाले मलाई त्यति चित्त बुझेन । समाजसेवामा मेरो आफ्नै एउटा भिजन थियो । तर, नगरप्रमुखको इशारामाबाहेक आफ्नो केही कुराहरु कार्यान्वयन गर्न नमिल्ने माहोल देखेपछि मेरो मन मरेर आयो ।
जनताले पाँच वर्षको लागी अनुमोदन गरेकाले म पाँच वर्ष इमानदारीका साथ काम गर्छु भनेर बसेको हो । पछि त म यही क्षेत्रमै फर्किने सोचमा थिएँ । जे भएपनि कलाकारिता क्षेत्रमा मैले ३० वर्ष समय बिताएको छु । आफ्नो उर्वर समय मैले यहीँ खर्चेकाले यो क्षेत्र छाड्ने म सोच्न पनि सक्दिनँ ।
– पहिले चलचित्र आफैंले निर्देशन गर्नुभएको थियो, यसपाली चाहिँ किन अर्कै निर्देशकको खोजी गर्नुभएको ?
मैले पहिला दुईवटा चलचित्र ऋषि लामिछानेसँग गरेको थिए । ती दुईवटै चलचत्र सफल भए । त्यो पछाडि एउटा चलचित्र मैले आफैं निर्देशन गरेर बनाएँ । तर, त्यो असफल भयो । त्यहाँबाट मैले के महसुस गरेँ भने एउटै चलचित्रमा निर्देशक र निर्माता भएर काम गर्दा धेरै कुराहरु मिलाउन गाह्रो हुँदो रहेछ । फेरि त्यस्तै नहोस् भनेर मैले अहिले मेरो आफ्नै निर्देशक ऋषि लामिछाने लिएको हो ।
-यो चलचित्रमा माग्ने बुढा नै लिनुपर्ने के थियो ?
माग्नेबुढासँगको मेरो सहकार्य लामो छ । उहाँको ‘छक्का पञ्जा’ को सबै सिरिज पनि मैले हेरेको छु । ‘छक्का पञ्जा ५’ हेर्दासम्म मलाई उनको क्रेज निकै राम्रो लाग्यो । चलचित्रमा उनको पात्र आउँदा दर्शक हलमा चिच्याउने गर्थे । त्यो देखेर मलाई उनलाई नै पर्दामा मुख्य भुमिकामा उतार्न मन थियो । त्यसपछि उनलाई नै टार्गेट गरेर एउटा स्क्रिप्ट लेखेँ । यो चलचित्र माग्नेबुढाका लागि लागि बनाएको हैन, तर यो चलचित्र उनको हो । यदि उनले काम नगरेको भए, यो चलचित्र नै ड्रप गर्नुपर्थ्यो ।
– माग्नेबुढासँग अगाडि नै सल्लाह गर्नुभएको थियो होला नि ?
सल्लाहभन्दा पनि उहाँलाई खबर गरेका थियौं । हामी यस्तो कथा लेख्दैछौं भनेर सुनाएका थियौं । उहाँले लेख्नुस्, स्क्रिप्ट मन पर्यो भने खेल्छु भनेपछि हामीले निरन्तरता दिएका हौं ।
-चलचित्रमा ‘हिरो’ चाहिँदैन ?
हिरो भनेको के हो ? कसलाई भन्ने ? चट्ट परेको डम्म जिउ भएकोलाई हिरो भन्ने कि कथा वा पात्रलाई हिरो भन्ने ? मेरो कथामा माग्ने नै सबथोक हो । हाम्रो चलचित्रको क्यारेक्टर नै हिरो हो । चलचित्रमा अरु पनि हिरो हुनुहुन्छ तर माग्ने नै चलचित्रको मेरुदण्ड हो ।
-माग्ने बुढाले एक्लै दर्शक तान्न सक्छन् भन्ने आशा हो ?
एकदम हो । माग्नेबुढाले दर्शक तानिहाल्छन् नि ! चलचित्रले तान्छ । कथाले तान्छ । सुरूमा दर्शक हलमा तान्न माग्नेलगायत अरु कलाकाहरू छन् चलचित्रमा, त्यसपछि हाम्रो कथाले दर्शक तान्छ ।
– माग्ने बुढालाई ६१ लाख पारिश्रमिक दिएको भनेर सार्वजनिकरूपमा नै भन्नुभएको थियो । कसम नै खानुभएको थियो । तर, माग्ने बुढाले त खण्डन गर्दै हिँडिरहेका छन् नि !
मैले माग्नेबुढाको पारिश्रमिक खुलाएको हैन । पत्रकारले त्यही प्रश्न सोधेर उत्तेजित पारेपछि मैले त्यस्तो भनेको हो । चलचित्रको टिजरमा एकजनाले ६१ लाख रूपैयाँ चाहियो भनेको एउटा संवाद छ । कसको लागि चाहियो भन्दा माग्नेको लागि चाहियो भन्ने छ । त्यो सिनमा मैले माग्नेलाई ६१ लाख ओरिजिनल क्यास लगेर दिएको हो । ६१ लाखले उनलाई छोपेको हो । कुरा त्यति हो ।
नत्र कलाकारको पारिश्रमिक त्यसरी कहाँ खुलाउन मिल्छ र ? कलाकारको पारिश्रमिकदेखि हरेक कुराको कागज हामीले विकास बोर्डमा बुझाएका छौं । त्यसरी जहाँ पनि कहाँ खुलाउन मिल्छ र ?
– त्यसो भए ६१ लाख भनेर सबैलाई किन झुक्याउनुभयो त ?
हैन, किन झुक्याउनु ? पत्रकारले पटकपटक सोधेरे उत्तेजित पारेपछि मैले त्यो भनेको हो । मैले ‘पारिश्रमिक’ भनेको छैन, चलचित्रमा माग्नेलाई ६१ लाख दिएको भनेको छु ।
-निर्माताले यति पारिश्रमिक दिएको भन्ने अनि कलाकारले खण्डन गर्दै हिँड्दा त टीमभित्रै खटपटको अवस्था देखियो नि !
त्यस्तो छैन । त्यो उहाँको व्यक्तिगत कुरा हो । उहाँले जे हो, त्यो भन्नुभयो । किन खटपट हुन्छ र ? आफ्नो कुरा राख्ने अधिकार सबैलाई हुन्छ । त्यही पनि यो पारिश्रमिकको कुराले यत्रो हंगामा हुनुपर्ने कारण नै छैन । एउटा चप्पलमात्र लगाएर आएको केटोले आज यत्रो प्रगति गरेको छ । एक प्लेट मममा ‘टिपनटापन’ गराएको हो मैले माग्नेबुढालाई । यत्रो संघर्ष गरेर यहाँसम्म आएको कलाकारको पारिश्रमिकलाई लिएर यत्रो उछाल गर्नुपर्ने आवश्यक नै छैन । मैले मेरो चलचित्रमा माग्नेबुढाले जति पारिश्रमिक मागेको हो, त्यति दिएको छु । उनले भने अनुसारको पारिश्रमिक नदिएको भए, सायद यो चलचित्र गर्दैन थिए होलान् ।
एक त संघर्षको समयमा मद्दत गरेका नाताले माग्नेबुढाले यो चलचित्रमा मेरा लागि धेरै कम्प्रमाइज गरेका छन् । बाँकी कति, के खुलाउन जरुरी छैन ।
– भनेपछि बजारमा आएका हिरोले ५० देखि ६० लाख पारिश्रमिक लिए भन्ने हल्ला प्राय झूट नै हुन्छन् कि क्या हो ?
मेकरले कसरी भनिरहेका छन् र प्रमाण देखाउन सक्छन् वा सक्दैनन् भन्ने कुरामा भर पर्छ । अब अनमोल केसी, समिर भट्ट, प्रदीप खड्कालगायतका कलाकारले राम्रै पारिश्रमिक लिनुहुन्छ रे भन्ने सुनेको हो तर देखेको छैन । न त पत्रपत्रिकामा नै आएको छ ।
खासमा यो पारिश्रमिकलाई लिएर यत्रो इस्यू किन हुन्छ ? बजारमा एउटा पाइन्ट किन्दा हजार रूपैयाँ पर्छ भने, त्यही पाइन्ट ब्राण्डेड किन्दा दश हजार पर्छ । कुरा यस्तै हो । चलचित्र बनाउनुको एउटा उद्देश्य व्यवसाय गर्न पनि हो । हामीले हाम्रो चिज बिकाउने हो । म अहिले माग्नेबुढालाई बेचिरहेको छु । विदेशमा बेचिरहेको छु, डिजिटल राइट्सबाट बेचिरहेको छु । मैले पहिला बिक्ने चिज चिन्ने हो, अनि बेच्ने हो । नाफा खाएर बेच्ने हो ।
-राइट्सहरू बेचेर कति प्रतिशत लगानी सुरक्षित गर्नुभयो ?
६१ लाख पारिश्रमिकको कुरा चलिरहँदा धेरैले माग्नेबुढाले त्यत्रो लगानी उठाउन सक्छन् र ? भनेर आलोचना पनि गरे । उठाउन सक्छन् कि सक्दैनन् भन्ने त मलाई थाहा छ नि । अहिले नै मैले राइट्सहरु बेचेर ७५ प्रतिशत लगानी सुरक्षित गरिसकेँ । यो सबै माग्नेबुढाकै त देन हो । उसले ६१ लाख नकमाउने भए, उसलाई यत्रो पैसा दिएर म किन ल्याउँछु र ?
भनाइको मतलब, तपाईँको चलचित्रको बिक्ने पात्र माग्नेबुढा मात्र हुन् भन्न खोज्नुभएको हो ?
होइन, सबै टीमकै देन छ । श्रषि लामिछानेले गरेका चलचित्रहरू प्राय सबै हिट छन् । चलचित्रमा उहाँको आफ्नै देन छ । मुनाल घिमिरेले चलचित्र बनायो भने राम्रो बनाउँछ र जसरी पनि सफल बनाउँछ भनेर कलाकारले खेल्नुभएको हो । अनि किन्नेले किन्नुभएको हो । माग्नेबुढा भएपछि चलचित्र झनै राम्रो भयो । त्यसमा पनि वर्षा सिवाकोटी, शिशिर वाङ्देल, विल्सनविक्रम राई जस्ता कलाकार भएपछि चलचित्रमा सुनमा सुगन्ध थपियो ।