Category: कलाप्रेस

  • कलाकार संघले भन्यो- ‘इट्स माइ शो’ को प्रस्तुति र स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण

    कलाकार संघले भन्यो- ‘इट्स माइ शो’ को प्रस्तुति र स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण

    काठमाडौं । कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई लिएर नेपाल कलाकार संघले आपत्ति प्रकट गरेको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ ।

    संघका अध्यक्ष मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै संघले विवादित कार्यक्रमप्रति ध्यानाकर्षण व्यक्त गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’

    ‘यसभन्दाअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासनविपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भई सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौँ,’ संघले भनेको छ ।

  • ‘इट्स माइ शो’ बारे सुरजसिंह ठकुरीले भने- मेरो ब्रान्ड ध्वस्त भयो, मलाई खेद छ

    ‘इट्स माइ शो’ बारे सुरजसिंह ठकुरीले भने- मेरो ब्रान्ड ध्वस्त भयो, मलाई खेद छ

    काठमाडौं । टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले ‘ईट्स माई शो’ को विवादित एपिसोडबारे मुख खोलेका छन । आफूले ब्रान्ड बनाएको शोलाई अर्को होस्ट आएर पहिलो एपिसोडबाटै विवादित बनाइदिएपछि सुरजले आफूलाई नराम्रो लागेको बताएका छन् । आफ्नो वर्षौंको मेहेनत एकैपटकमा नष्ट भएको उनको गुनासो छ ।

    सुरजले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै लेखेका छन,‘म यतिमात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ । टिभी फेसको रूपमा, म एकदमै दु:खी छु र म यो सामग्रीको हिस्सा बन्न चाहन्न ।’

    उनले आफू अहिले उक्त शोमा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

    ‘तपाईंहरू सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । तपाईंहरूको प्रोत्साहन नै मेरो करियरमा एक प्रमुख शक्ति हो,’उनी जोड्छन्,‘कार्यक्रमप्रति सबैको चासो देखेँ । यो भएकोमा मलाई खेद छ । योसँगै म यो प्रष्ट पार्न चाहन्छु कि म अब त्यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै भूमिका पनि छैन । म अब ‘ईट्स माई शो’ सँग कुनै रूपमा आवद्ध छैन, न त होस्टको रूपमा न त प्रमुख कार्यकारी निर्माताकै रूपमा ।’

    उनले आफ्नो स्पष्टीकरणसँगै आउने दिनहरूमा आफूलाई दर्शकको साथ रहिरहने विश्वास जनाएका छन् ।

  • कान्तिपुर टिभीको कार्यक्रममा आपत्ति जनाउँदै अश्मीले भनिन्- भ्यूजका लागि लिमिट क्रस गरियो

    कान्तिपुर टिभीको कार्यक्रममा आपत्ति जनाउँदै अश्मीले भनिन्- भ्यूजका लागि लिमिट क्रस गरियो

    काठमाडौं । नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले ‘ईट्स माई शो’ मा बोलेको कुराले अहिले उग्र रूप लिएको छ।

    स्वस्तिमा र साम्राज्ञीले उक्त शोमा कलाकारहरूको व्यक्तिगत जीवनलाई छताछुल्ल पारिदिएको थिए। होस्टले सोधेको प्रेमी–प्रेमिकाको प्रश्नको स्वस्तिमा र साम्राज्ञीले एक पटक पनि नसोची फ्याट–फ्याट नाम लिएका थिए।

    उनीहरूले नायिकाले अनमोलसँग डेट गरेको महिलाको नामहरूमा आना शर्मा, अश्मी श्रेष्ठ र जसिता गुरुङ को नाम लिएका थिए भने जसिताले डेट गरेको प्रेमीको नाममा धिरज मगर, प्रदीप खड्का र अनमोल केसीको नाम लिएका थिए।

    आफ्नो व्यक्तिगत जीवनलाई राष्ट्रिय टेलिभिजनबाट छताछुल्ल पारिदिएपछि जसिताले आपत्ति जनाएकी थिइन्। जसिताले आपत्ति जनाए लगत्तै यो विषय झनै विवादित बन्यो। चौतर्फी आलोचना र विरोध हुन थालेपछि साम्राज्ञी र स्वस्तिमा दुवैले इन्स्टाग्रामबाट माफी मागे।

    अहिले स्वस्तिमा र साम्राज्ञीको उक्त विवादित अभिव्यक्तिलाई लिएर पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि आपत्ति जनाएकी छिन। उनले ‘ईट्स नट यर शो’ भन्दै टक शोमा आफूबारे लक्षित टिप्पणीलाई अस्वीकार गरेकी छन् । स्वस्तिमाले अश्मी श्रेष्ठको नाम अनमोल केसीको गर्लफ्रेन्डको रूपमा लिएकी थिइन्।

    अश्मीले ईन्स्टाग्राममा लेखेकी छिन, ‘म सधैँ मेरो आफ्नो काममै सीमित रहे र कहिल्यै बाहिरी होहल्लाबाट विचलित भइन। तर भर्खरैको घटना, जसरी एक टक शोमा अप्रिय रूपमा प्रकट भएको छ, जहाँ मेरो नाम अनियमित रूपमा अनावश्यक विवादमा फ्याँकिएको छ, त्यो कुनै पनि सत्य होइन, म यहीँ भन्न चाहन्छु।

    अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु। त्यो प्रश्नलाई बरु होस्टले सिधै सरोकारवालाहरूलाई नै सोधेको भए ठिक हुन्थ्यो। सरोकार नभएका व्यक्तिहरूलाई सरोकार नभएका प्रश्नहरूको जवाफ दिन बाध्य तुल्याउनु उचित होइन।

    म आफै पनि एक होस्ट भएकाले मलाई थाहा छ कि एउटा कार्यक्रमको सम्पूर्ण फ्रेमिङमा होस्टले कति ठूलो भूमिका खेल्छ भनेर र मलाई यो पनि थाहा छ कि यदि उसले चाहेको भए यो सजिलै नियन्त्रण गर्न सकिन्थ्यो।

    निराधार तथ्यहरू प्रस्तुत गर्नु र आएका पाहुनाहरूलाई बोल्नको लागि दबाब सिर्जना गर्नु पूर्णतया नैतिकता विपरीत हो, जुन देख्नु एकदमै दुखद हो। हुन त त्यो कार्यक्रममा धेरै चीजहरू छन् जुन म भन्न चाहँदिन किनकि म यसलाई लम्ब्याउन चाहँदिन।

    म मात्र यस कारण बोल्दै छु किनकि मलाई लाग्छ कि यसलाई उचित रूपमा ह्यान्डल गरिएको छैन र दर्शकको भ्यूज र ध्यान तान्नलाई हामी सीमा पार गर्दैछौं। फेरि पनि एक पटक यो संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्दछु।’

  • कस्तो शो ? कस्ता सेलिब्रिटी ?

    कस्तो शो ? कस्ता सेलिब्रिटी ?

    युट्यूवरहरूलाई ‘डोमिनेट’ गर्नुपर्दा मूलधारका सञ्चारकर्मीहरू भन्ने गर्छन्- हामी जिम्मेवार पत्रकारिता गर्छौं, उनीहरू भ्यूजका लागि जे पनि गर्छन् । एक हदसम्म यो भनाइ ठीक पनि हो, किनकी औपचारिक सञ्चारमाध्यमहरू देशको नियम-कानून एवं आचारसंहिताको परिधिभित्र बाँधिएका हुन्छन्, तर युट्यूवहरू आजका दिनसम्म कुनै पनि प्रकारको नियमनबाहिर छन् । भ्यूजको होडमा युट्यूवमा अति नै अपाच्य (ब्लाइन्ड डेट हेर्ने गर्नुभएको छ ?) सामग्रीहरू पनि बेरोकटोक प्रशारण भइरहेका हुन्छन् ।

    जे भए तापनि पछिल्लो समयमा युट्यूवको फैलावट नेपालमा निकै विस्तारित भइसकेको छ । युट्युवमा गुणस्तरहीन सामग्रीमात्र पनि छैनन् । पछिल्ला दिनहरूमा धेरै राम्रा-राम्रा टक शो र मनोरञ्जनात्मक कार्यक्रमहरू युट्यूवमा हेर्न पाइन्छ । सेलिब्रिटीसँग जोडिएका विषयवस्तुहरूमा टेलिभिजनभन्दा युट्यूवर धेरै अगाडि छन् । राष्ट्रिय टेलिभिजनले उपेक्षा गरेका, मान्छे नगनेका मान्छेहरूलाई युट्यूवले स्पेस दिन थालेपछि उनीहरूको लोकप्रियता बढ्न थालेको हो । यसरी युट्यूवले ‘ओभरल्याप’ गर्दै जाँदा धर्मराएका टेलिभिजनहरू अहिले कसरी दर्शक फर्काउने भन्ने रनाहामा छन् । पेशागत असुरक्षामा रहेका सञ्चारकर्मीलाई पनि भ्यूज बटुल्न केही ‘एस्क्ट्रा’ सोच्नुपर्ने चुनौती छ ।

    युट्यूवका कारण सबैभन्दा ठूलो क्षति कसैलाई भएको छ भने त्यो टेलिभिजन च्यानलहरूलाई भएको हुनुपर्छ । ‘फेसबुक-युट्यूव युग’ सुरू नहुँदासम्म घरपरिवारका मानिसहरू बेलुका एकै ठाउँमा बसेर टेलिभिजन हेर्ने संस्कृति थियो । तर, अहिले सबैका हात-हातमा मोबाइल छ । मोबाइलमा चाहेजस्ता भिडिओ खोजेर आफ्नै तालमा हेर्न पाइन्छ । समाचार छिनछिनमा फेसबुकमा अपडेट भइरहेकै हुन्छन् । टेलिभिजन कसले, किन हेर्ने ? अस्तित्व संकटको स्थितिमा छन् टेलिभिजनहरू ।

    यो सबैकी सूत्रधार ओसिन सिटौलाले त गल्ती महसुससम्म गरेकी छैनन् । उनको प्रतिक्रिया हेर्दा लाग्छ कि उनले यसलाई साह्रै हल्कारूपमा लिएकी छन् । अथवा टिभी शोको यत्रो चर्चा भएकोमै रमाएकी छिन् ।

    यति भूमिका बाँध्नुको कारण सायद पाठकले बुझिसक्नुभयो होला । अहिले कान्तिपुर टेलिभिजनको एउटा टीभी कार्यक्रम ‘इट्स माइ शो’ चर्चामा छ । चर्चित प्रस्तोता सुरजसिंह ठकुरी सो टेलिभिजनबाट लखेटिएपछि उनलाई प्रतिस्थापन गर्न आइन् ओसिन सिटौला । उनी पनि अनुभवी सञ्चारकर्मी हुन्, जसले थुप्रै वर्ष टेलिभिजन उद्योगमा बिताएकी छन् । तर, अनुभव र सज्ञान फरक कुरा रहेछन् । ओसिनले चलाएको पहिलो एपिसोड हेरेर एउटा सञ्चारकर्मीका रूपमा मलाई ताजुब लागेको छ ।

    दुई नाम चलेका सेलिब्रिटीहरू कार्यक्रममा उपस्थित थिए । स्वस्तिमा खड्का अहिलेकी नम्बर वान हिरोइन मानिन्छिन् । उनको सार्वजनिक छवि पनि राम्रै छ । साम्राज्ञी आरएल शाहको छवि जेजस्तो भए पनि चर्चित हिरोइनमै पर्छिन् । तर, यी दुई हिरोइनहरूसँग ओसिनले जेजस्ता प्रश्नोत्तर गरिन्, त्यो एउटा राष्ट्रिय टेलिभिजनमा प्रशारण हुन लायक थिएन । ओसिनले एउटा कार्यक्रम प्रस्तोताका सबै सीमाहरू नाघेर एकैपटक धेरै कलाकारहरूको आत्मसम्मानमा प्रहार गरिन् ।

    के कति कारणले हो कार्यक्रममा अधिकांश संवाद अंग्रेजीमा भएको छ । कार्यक्रम हेरिरहँदा यस्तो महसुस हुन्छ कि तीनैजना युवतीहरू भर्खर-भर्खर पश्चिमा देशबाट आएका टुरिस्ट हुन् । उनीहरूको भेषभुषा पनि उस्तै छ । साम्राज्ञी त लगभग अर्धनग्न नै भएर आएकी छिन् । उनको टोन पनि भर्खर नेपाली सिक्दै गरेको विदेशीको जस्तो सुनिन्छ । यद्यपि, होस्टले अंग्रेजी फलाक्न थालेपछि नायिकाहरूले अंग्रेजीमै उत्तर दिनु अस्वाभाविक होइन ।

    कार्यक्रमकी होस्ट ओसिनले सायद फरर अंग्रेजीमा बोल्न सक्नुलाई नै आफ्नो श्रेष्ठता सम्झेकी हुन सक्छिन् । यो उनको भ्रम हो । अहिलेको जमानामा अंग्रेजी बोल्न जान्नुलाई कुनै विशेष योग्यता मान्न सकिन्न । यो त आधारभूत आवश्यकताजस्तो बनिसकेको छ । अंग्रेजी बोल्दैमा ‘स्मार्ट’ पनि भइँदैन । अंग्रेजी त आजकाल बोर्डिङ स्कुलका बच्चाहरूले पनि खरर बोल्न सक्छन् ।

    खैर, प्रधान विषय यो होइन । प्रधान विषय त, महिलाको कलाकारको अस्मिता र असम्बन्धित व्यक्तिहरूको निजी जीवनमाथि गरिएको छेडछाड हो ।

    कार्यक्रम प्रस्तोताले आफ्ना महिला गेस्टहरूलाई भन्छिन्- मेरो प्रश्नको जवाफ दिन सक्नुभएन भने तपाईंले आफ्नो लुगा फुकाल्दै जानुपर्छ । यो कस्तो शर्त हो ? महिला कलाकारमाथि गरिएको ह्यारेसमेन्ट हो कि होइन । ओसिनको ठाउँमा यदि सुरजसिंह ठकुरीले यस्तो शर्त राखेको भए नायिकाहरूले स्वीकार्ने थिए ? आत्मसम्मान भएका कुनै पनि कलाकारले यस्तो शर्त स्वीकारेर अन्तरवार्तामा बस्न सक्दैन । तर, स्वस्तिमा र साम्राज्ञी दुवै नायिका महिलामाथि हुने ह्यारेमेन्टका घटनामा मुखर भएर प्रतिक्रिया दिइरहेका हुन्छन् । तर, टेलिभिजन कार्यक्रममा ‘स्ट्रीप हुने’ शर्त राखिँदा कुनै प्रतिवाद गरेनन् । उनीहरूका लागि ‘ह्यारेसमेन्ट’ हुन पुरुष संलग्न भएकै हुनुपर्ने रहेछ सायद ।

    हुन त हाम्रा अधिकांश कलाकारहरूले आफ्नो आत्मसम्मान र प्रतिष्ठाको ख्याल नराख्नु कुनै नौलो विषय होइन । नायिकाहरूले विभिन्न युट्यूवरलाई आफ्नो ह्यान्ड ब्याग खोतलखातल गर्न दिनेदेखि नितान्त निजी विषयमा प्रश्नोत्तर गरेको पाइन्छ । एउटा युट्यूव कार्यक्रममा कलाकारहरूलाई बोलाएर अन्टसन्ट प्रश्न सोध्ने अनि जवाफ दिन नसकेमा रक्सी घुट्क्याउन लगाउने गरेको पनि देखिएकै हो । हालै एक नवविवाहित गायिकाको जोडीलाई ल्याएर सोधियो- बाथरुममा सँगै नुहाउनु भएको छ ?’ जोडीले निर्धक्क भएर जवाफ दिए । यस्ता निजी कुराहरू मिडियामा बोल्नु उचित हुँदैन भन्नेसम्मको ज्ञान छैन कलाकारहरूलाई । सञ्चारकर्मीले जे सोधेपनि जवाफ दिन तयार रहने कमजोर मनोविज्ञानबाट उनीहरू ग्रस्त छन् ।

    ‘इट्स माइ शो’ मा अरुको निजी जीवनलाई असर पुर्‍याउने गरी थुप्रै अनर्गल प्रश्नोत्तर भएको छ । सोधिएका केही प्रश्न छन्- फलानो कलाकारको बेडरुममा कसलाई भेट्ने अपेक्षा गर्नु हुन्छ ? नायिकाहरू पनि ‘फलानो’ भनेर नामै लिन्छन् । फलानो हिरोको कतिजना गर्लफ्रेन्डको नाम भन्न सक्नुहुन्छ ? भनेर सोधिन्छ । स्वस्तिमा फ्याट फ्याट नाम भन्छिन्, मानौं उनलाई नै सोधेर लभ गरेका थिए ।

    अर्को प्रश्न थियो, पहिले फलानोसित, अहिले ढिस्कानोसित डेट गरिरहेकी नायिका को हुन् ? यो प्रश्न त यसरी सोधियो, जसरी लोकसेवा आयोगको परीक्षामा सोधिन्छ- पृथ्वीनारायण शाहभन्दा अगाडि र पछाडि नेपालका राजा को थिए ? जवाफ पनि स्वस्तिमाले सहजै दिइन्, मानौं पहिल्यै तयारी गरेर आएकी थिइन् । फ्याट्टै एक हिरोइनको नाम लिइन् । जबकि ती हिरोइनले अहिलेसम्म म फलानोसँग डेटमा थिए वा छु भनेर कतै भनेको सुनिएको छैन । ती हिरोइनलाई एकजना होइन, तीन जनासँग पुरुषसँग नाम जोड्ने काम गरियो । अब प्रश्न उठ्छ कि, भोलि अर्को कुनै कलाकारले यसैगरी टेलिभिजनमा आएर स्वस्तिमा वा साम्राज्ञीका व्वाइफ्रेन्डहरूको सूची पछारे भने उनीहरूले पचाउन सक्लान् ?

    नायिका जसिता गुरुङले आफ्नो बदनामी गर्न खोजिएको भन्दै स्टाटस लेखेपछि दुवै नायिकाले कमेन्ट बक्समा आएर माफी मागे । तर, यतिले नै मात्र उनीहरूको यो हर्कतको सोधभर्ना हुने छैन । नायिकाद्वयले यो अन्तरवार्ताका बारेमा दर्शकलाई सार्वजनिक बयान दिएर क्षमायाचना गर्नुपर्छ । अरुको निजी जीवनलाई असर गर्ने अन्तरवार्ता हटाइदिनका लागि टेलिभिजनलाई आग्रह गर्नु पनि उनीहरूको दायित्व हो ।

    यो सबैकी सूत्रधार ओसिन सिटौलाले त गल्ती महसुससम्म गरेकी छैनन् । उनको प्रतिक्रिया हेर्दा लाग्छ कि उनले यसलाई साह्रै हल्कारूपमा लिएकी छन् । अथवा टिभी शोको यत्रो चर्चा भएकोमै रमाएकी छिन् । इन्स्टामा उनले लेखेकी छन्, ‘मैले जसितासँग यो विषयमा कुरा गरिसकेको छु, रचनात्मक प्रतिक्रियाका लागि सबैलाई धन्यवाद ।’

    हुन त हाम्रा अधिकांश कलाकारहरूले आफ्नो आत्मसम्मान र प्रतिष्ठाको ख्याल नराख्नु कुनै नौलो विषय होइन । नायिकाहरूले विभिन्न युट्यूवरलाई आफ्नो ह्यान्ड ब्याग खोतलखातल गर्न दिनेदेखि नितान्त निजी विषयमा प्रश्नोत्तर गरेको पाइन्छ ।

    यति शब्द लेखेर उनले धर पाउने स्थिति छैन । कान्तिपुर व्यवस्थापनले उनलाई कारबाही गर्छ कि संरक्षण गर्छ हेर्न बाँकी छ । यदि कारबाही पनि गरेन र सामग्री पनि यथावत् राख्यो भने टेलिभिजनकै नियतमाथि गम्भीर प्रश्न खडा हुन्छ । के यो सामग्रीले कान्तिपुर टेलिभिजनको सम्पादकीय नीतिसँग तादाम्यता राख्छ ? के कान्तिपुर टेलिभिजनमा महिलाहरूले पँधेरामा गफ चुटेजसरी जोकसैको बारेमा टिकाटिप्पणी र चरित्रहत्या हुने गरी संवाद गर्न पाइन्छ ? यसको जवाफ जिम्मेवार व्यक्तिबाट आउनैपर्छ ।

    नेपाली समाजमा अझै पनि कलाकारितालाई राम्रो दृष्टिकोणले हेरिँदैन । यद्यपि, पछिल्लो समयमा पढेलेखेका कलाकारहरूको आगमनले केही हदसम्म पुरातन सोचमा परिवर्तन आइरहेको छ । अहिले मास्टर्स पढेका धेरै नायिकाहरू नेपाली चलचित्रमा सक्रिय छन् । तर, एकाध बिग्रेको आलुले सिंगो बोराको आलुलाई बिगार्छ भनेजस्तो केही खराब प्रवृत्तिका व्यक्तिहरूले अझै पनि चलचित्र क्षेत्रलाई सङ्लिन दिइरहेका छैनन् । स्वस्तिमा र साम्राज्ञीको यो अन्तरवार्ताले थुप्रै बाबुआमाहरू आफ्ना सन्तानलाई चलचित्र क्षेत्रमा पठाउन निरुत्साहित बन्ने छन् । चलचित्र क्षेत्र भनेको लभ गर्ने अखडा रहेछ, भन्ने सन्देश कार्यक्रमले दर्शकसमक्ष प्रवाह गरेको छ ।

  • म चाहन्छु सबै कलाकारको फिल्म चलोस्,रुँदै हिँड्न नपरोस् : समीक्षा अधिकारी

    म चाहन्छु सबै कलाकारको फिल्म चलोस्,रुँदै हिँड्न नपरोस् : समीक्षा अधिकारी

    काठमाडौँ । गायिका समीक्षा अधिकारीले सबैको चलचित्र चलोस् र रुँदै हिँड्न नपरोस् भन्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन । गायिका अधिकारी बेलाबेला आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना मनका धारणाहरू व्यक्त गरिरहन्छिन् ।

    अधिकतम समय उनले आफूले लेखेको स्टाटस कसका लागी लेखेकी हुन भन्ने छनक मिल्छ । तर यो पटकको स्टाटस भने उनले कसलाई लेखेकी हुन भन्ने बुझ्न गाह्रो छ। न त उनी स्वयंले स्टाटसमा कसैको नाम नै खुलाएकी छिन ।

    उनले सबैलाई एक दिन मर्नु नै छ भन्दै लेखेकी छिन,‘बाँचुन्जेली रिस-राग र डाह मनमा पालेर के नै हुन्छ र ? असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस् । उहाँहरूको गीत चलोस् । फिल्म चलोस् । रुँदै हिँड्न नपरोस् ।’

    उनले सबैलाई शुभकामनासहित आफ्नो उदाहरण पनि पेश गरेकी छिन ।

    उनले लेखेकी छिन,‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’

    समीक्षा अहिलेकी व्यस्त गायिकाको लिस्टमा पर्छिन्। केही समय धरमराएको उनको करियरले अहिले फेरि पिकअप लिएको छ।

    उनी अहिले दैनिक रूपमा कम्तीमा पनि २ देखि ३ वटा गीतहरू रेकर्ड गराइरहेकी हुन्छिन्। उनले पछिल्लो समय गाएको चलचित्र ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुजिन मैले’ हिट छ।

  • राजेशपायल राईको ‘मनको सारङ्गी’ सार्वजनिक (भिडियो)

    राजेशपायल राईको ‘मनको सारङ्गी’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन् ।

    यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका छन।

  • स्वस्तिमा र साम्राज्ञीले जसितासँग माफी मागे, विवादित अन्तरवार्ता भने कान्तिपुर टेलिभिजनमा यथावत्

    स्वस्तिमा र साम्राज्ञीले जसितासँग माफी मागे, विवादित अन्तरवार्ता भने कान्तिपुर टेलिभिजनमा यथावत्

    काठमाडौं । नेपाली चलचित्रमा अलिकति बौद्धिकता भएकी नायिकाको रूपमा चिनिन्थिन् स्वस्तिमा खड्का । तर, हालै कान्तिपुर टेलिभिजनमा दिएको एउटा अन्तरवार्ताले उनको बौद्धिकतामाथि मात्र होइन, ‘कमन सेन्स’ माथि नै प्रश्न उठेको छ ।

    ओसिन सिटौलाले चलाएको शोको पहिलो एपिसोडमा स्वस्तिमा र साम्राज्ञी राज्यलक्ष्मी शाह गेस्ट बनेर गएका थिए । कार्यक्रममा होस्टले सोधेको प्रश्नको जवाफ दिन नसकेमा ‘लुगा फुकाल्नुपर्ने’ जस्तो अपाच्य गेम खेलाइएको थियो । उक्त गेममा ओसिनले विभिन्न सेलिब्रिटीको नाम लिँदै फलानाको बेडमा कसलाई भेट्न सकिएला ? जस्ता अनर्गल प्रश्नहरू सोधेकी थिइन् ।

    अर्को राउन्डमा भएको प्रश्न-उत्तर झनै उदेकलाग्दो थियो । ओसिनले प्रश्न सोध्ने र जसले छिटो बजर दबाउँछ उसले जवाफ दिनुपर्ने थियो ।

    ओसितले प्रश्न सोधिन्, ‘पल शाहका कतिजना गर्लफ्रेन्डको नाम भन्न सक्नुहुन्छ ?’

    स्वस्तिमाले हतारिँदै बजर दबाइन् । साम्राज्ञी भने आफूलाई थाहा नभएको भन्दै टक्टकिइन् ।

    स्वस्तिमाले बजर दबाए पनि फ्याट्ट नाम लिन सकिनन् ।

    उनले भनिन्, ‘म केटीहरू त थाहा छ, तर नाम थाहा भएन ।’

    नाम भन्न नसकेपछि उनले प्वाइन्ट गुमाइन् ।

    अर्को प्रश्न सोधियो, ‘अनमोल केसीको कतिजना गर्लफ्रेन्डहरूको नाम भन्न सक्नुहुन्छ ?’

    यो पनि पढ्नुहोस् : कान्तिपुर टिभीमा ओसिन सिटौलाको ‘गेम’ : प्रश्नको जवाफ दिन नसके नायिकाले नांगिनुपर्ने !

    स्मरणीय छ कि अहिलेसम्म नायक अनमोल केसीले आफ्नो कसैसँग प्रेम रहेको सार्वजनिकरूपमा स्वीकारेका छैनन् । कुनै मिडियाले ठोकुवा गरेर समाचार पनि लेखेका छैनन् । साम्राज्ञीले फेरि पनि आफूलाई थाहा नभएको भनेर पन्छिइन् । तर, स्वस्तिमाले फ्याट्टै बजर दबाइन् र भनिन्, ‘टु’ दुईजना ।

    साम्राज्ञीले सोधिन्, ‘तिमीलाई साँच्चै थाहा छ ?’

    स्वस्तिमाले आत्मविश्वासपूर्वक भनिन्- एस ।

    ओसिनले नाम भन्न आग्रह गरिन् । केही सोचविचार नै नगरी स्वस्तिमाले जवाफ दिइन्, ‘आना शर्मा र अश्मी श्रेष्ठ’ ।

    आना शर्मा भन्दा साम्राज्ञीको रेस्पोन्स थियो- ए… या.. या..।

    अश्मीको नाम लिँदा भने साम्राज्ञी पनि आश्चर्यमा परेकी थिइन् ।

    उनले सोधिन्, ‘उसको अश्मी दीदीसँग पनि थियो र ?’

    त्यसपछि स्वस्तिमाले भनिन्, ‘आइ थिंक सो । आइ डन्ट नो । मैले यत्तिकै भनिदिएको हुँ ।’

    यसैबाट पुष्टि हुन्छ कि उनले कति हचुवामा महिला कलाकारहरूलाई कसैसँग जोडेर नाम लिइरहेकी थिइन् ।

    ओसिनले अर्को प्रश्न सोधिन्- कसले पहिले धिरज मगरलाई र अहिले अनमोल केसीलाई डेट गरिरहेको छ ?

    स्वस्तिमा र साम्राज्ञी दुवैले उत्साहित हुँदै बजर दबाए । भन्ने पालो स्वस्तिमाले नै पाइन् ।

    उनले यसमा पनि बेहिच्किचाहट रूपमा भनिदिइन्ः आइ थिंक इट्स जसिता गुरुङ ।

    प्रश्न सच्याउँदै साम्राज्ञीले थपिन्ः प्रदीप, धिरज एन्ड अनमोल ।

    यसरी जसितालाई एकसाथ तीनजना पुरुष कलाकारसँग नाम जोड्ने काम राष्ट्रिय टेलिभिजनको स्क्रिनबाट तीन महिलाहरूले गरे । जथाभावीरूपमा यसरी नाम जोड्दा सम्वन्धित कलाकारको निजी जीवनमा पर्ने असरबाट उनीहरूले पूरै नजरअन्दाज गरेका थिए । तेस्रो व्यक्तिको निजी जीवन र गोपनीयताको धज्जी उडाइरहेका थिए ।

    यो कार्यक्रमलाई लिएर जसिताले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो बदनाम गर्न खोजिएको टिप्पणी गरेपछि स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् ।

    स्वस्तिमाले लेखेकी छन्, ‘म तिम्रो भावनामा चोट पुगेकोमा एकदमै दु:खी छु । यो एउटा रमाइलो शो थियो र यो एकदमै आवेगमा भयो । तिमी सँगै मेरो राम्रो साथी हौ र फेरि पनि म सबै कुराका लागि माफी चाहन्छु ।’

    यो शोपछि साम्राज्ञीले उल्टै आफूलाई फेसबुकमा ब्लक गरेको जसिताले बताएकी छन् । इन्स्टामा भने साम्राज्ञीले पनि माफी मागेकी छन् ।

    उनी लेख्छिन्, ‘हामीलाई एउटा र्‍यापिड राउन्डमा राखिएको थियो र हामीले यसको परिणामलाई विचार गरेनौं । तिमीलाई उपहास गर्ने हाम्रो उद्देश्य थिएन । म तिम्रो भावनामा चोट पुगेकोमा माफी चाहन्छु ।’

    नायक अनमोल केसीले पनि जसिताको स्टाटसमा प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, सम्मानित तीनैजना महिलाहरुलाई म आग्रह गर्न चाहन्छु कि रिल क्यारेक्टरमा भन्दा रियल क्यारेक्टरमा फोकस गर्नुहोला ।

    यो पनि पढ्नुहोस् : कान्तिपुर टेलिभिजनमा आफ्नो ‘चरित्रहत्या’ गरिएकोप्रति जसिताको आपत्ति, स्वस्तिमा-साम्राज्ञी र ओेसिनमाथि गम्भीर प्रश्न

    यो सबैको सूत्रधार ओसिन सिटौलाले भने अहिलेसम्म माफी मागेकी छैनन् । न त टेलिभिजनले नै यो शो हटाएको छ । अहिले पनि जसिता लगायत कलाकारहरूको मानमर्दन गरिएका संवादहरू यथावत् हेर्न सकिन्छ । जसिताले शोमा आफ्नो प्रसंग हटाउनका लागि टेलिभिजन निर्माण पक्षलाई आग्रह गरिरहेको बुझिएको छ ।

    यो शो पहिले सुरजसिंह ठकुरीले चलाउँथे । अहिले ओसिन आएकी हुन् । पहिलो एपिसोडबाटै उनले शोको प्रतिष्ठा धुलिसात बनाइदिएकी छन् । अंग्रेजी फलाकेपछि ठूलाे भइने र जसलाई जे-जे भन्दा पनि हुने हिनग्रन्थि उनमा देखियाे । ओसिनको यस्ताे वौद्धिक दरिद्रताले कार्यक्रमको भविष्यमाथि नै प्रश्न उठेको छ ।

  • कान्तिपुर टेलिभिजनमा आफ्नो ‘चरित्रहत्या’ गरिएकोप्रति जसिताको आपत्ति, स्वस्तिमा-साम्राज्ञी र ओेसिनमाथि गम्भीर प्रश्न

    कान्तिपुर टेलिभिजनमा आफ्नो ‘चरित्रहत्या’ गरिएकोप्रति जसिताको आपत्ति, स्वस्तिमा-साम्राज्ञी र ओेसिनमाथि गम्भीर प्रश्न

    काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘इट्स माइ शो’ को पछिल्लो एपिसोड विवादमा परेको छ । नायिका जसिता गुरूङले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले नायिकाद्वय स्वस्तिमा खड्का, साम्राज्ञी आरएल शाह र कार्यक्रम प्रस्तोता ओसिन सिटौलामाथि गम्भीर प्रश्नहरू तेर्स्याएकी छन् ।

    यस कार्यक्रमको तीन दिनअगाडि प्रशारित एपिसोडमा स्वस्तिमा र साम्राज्ञी गेस्टको रूपमा आएका थिए । कार्यक्रम प्रस्तोता ओेसिनले उनीहरूलाई केही आपत्तिजनक प्रश्न सोधेकी थिइन् । कार्यक्रममा अन्य कलाकारहरूको नितान्त व्यक्तिगत विषयहरूमा टिकाटिप्पणी भएका थिए ।

    ओेसिनले साम्राज्ञीलाई नायक अनमोल केसीका दुई एक्स गर्लफ्रेन्डको नाम लिन भनेकी छिन् । जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने ओेसिनको शर्त हुन्छ । स्वस्तिमाले सोचविचारबिनै दुई महिलाको नाम लिइदिन्छन् ।

    स्मरणीय छ कि अहिलेसम्म अनमोलले कसैसित पनि आफ्नो प्रेम रहेको सार्वजनिक स्वीकारोक्ति गरेका छैनन् ।

    स्वस्तिमालाई नै अर्को प्रश्न सोधिन्छ- पहिले धिरज मगरसँग डेट गरेकी र अहिले अनमोल केसीसँग डेट गरिरहेकी नायिका को हुन् ?

    यसमा पनि स्वस्तिमाले निर्धक्कसँग भन्छिन् जसिता गुरूङ । त्यसपछि साम्राज्ञीले खित्खिताउँदै थप्छिन्- बीचमा प्रदीप खड्कासँग पनि हो ।

    यसरी खुलेआम रूपमा उनीहरूले कार्यक्रममा उपस्थित नै नरहेका तेस्रो व्यक्तिहरूमाथि उनीहरूको निजी जीवनमा असर पर्नेगरी टिप्पणी गरेका थिए । यसमा पहिलो प्रतिक्रिया जसिताबाट आएको हो । अब कार्यक्रममा नाम लिइएका अरूले पनि मुख खोल्ने सम्भावना छ ।

    जसिताले अंग्रेजीमा लेखेको स्टाटसको भावानुवाद:

    मैले यस विषयमा बोल्नैपर्ने भयो । म यो कहिले बुझ्दिन कि किन मान्छेहरू राष्ट्रिय टेलिभिजनमा गएर कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्छन् जब कि उनीहरूले त्यो व्यक्तिलाई राम्ररी चिनेका पनि छैनन् । यो अन्तर्वार्ता हेरिसकेपछि म साच्चिकै तिनै जनासँग दुःखी छु। के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौं रु व्यक्तिगत रुपमा मेरो तीमध्ये कसैसँग कुनै इस्यू छैन। सुरुदेखि नै, मैले उहाँहरूलाई राम्रो अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गरेको छु। के तपाइँहरुलाई थाहा छ कि तपाईहरु के बोल्दै हुनुहुन्छ र तपाईहरुको त्यो बोलीले कति जनाको जिन्दगीमा असर पर्छ ?

    के तपाईंलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु ? के तपाईहरुलाई लाग्दैन कि तपाइँहरुले दिनुभएको अन्तर्वार्ता र समाचारहरु मेरो परिवारहरुले पनि हेर्नुहुन्छ भनेर? समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ तपाईहरु ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम र चर्चा गर्ने कारण के हो? ओसिन सिटौला, स्वस्तिमा खड्का, कान्तिपुर टिभी, र पक्कै पनि साम्राज्ञी (त्यसपछि उनले मलाई ब्लक गरिन्)।

    याे पनि पढ्नुहाेस्

    कान्तिपुर टिभीमा ओसिन सिटौलाको ‘गेम’ : प्रश्नको जवाफ दिन नसके नायिकाले नांगिनुपर्ने !

  • काठमाडौंमा चलचित्र ‘एक्टर’ को छायांकन सुरु, प्रदीप खड्कालाई भ्यानिटी भ्यान

    काठमाडौंमा चलचित्र ‘एक्टर’ को छायांकन सुरु, प्रदीप खड्कालाई भ्यानिटी भ्यान

    काठमाडौं। दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीको डेब्य चलचित्र ‘एक्टर’को छायांकन धमाधम सुरु भएको छ । चलचित्रमा दिव्यासँगै नायक प्रदीप खड्का र नायिकाद्वय आना शर्मा मुख्य भूमिकामा छन् ।

    यतिबेला ‘एक्टर’को टिम काठमाडौंको सेड्युलमा व्यस्त छ। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो चलचित्रको टिमले नायक प्रदीप खड्कालाई छायांकन सेटमा ‘भ्यानिटी भ्यान’ उपलब्ध गराएको छ ।

    विशेषतः भ्यानिटी भ्यान सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि प्रयोग गरिन्छ ।

    बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानिटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानिटी भ्यानको प्रचलन खासै छैन ।

    तर चलचित्रका निर्माता थमन कुमार भण्डारीले भने खड्काका लागि ‘भ्यानिटी रुम’ उपलब्ध गराएका हुन् । चलचित्रको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले त्यही भ्यानमा तयारी गरिरहेका छन् ।

    आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने चलचित्रमा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता चलचित्रको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए ।

    करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी चलचित्रको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।

    अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको ‘एक्टर’मा थमन कुमार भण्डारीको लगानी छ । निर्देशक राजन भुसालले निर्देशन गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहेको छ।

  • कान्तिपुर टिभीमा ओसिन सिटौलाको ‘गेम’ : प्रश्नको जवाफ दिन नसके नायिकाले नांगिनुपर्ने !

    कान्तिपुर टिभीमा ओसिन सिटौलाको ‘गेम’ : प्रश्नको जवाफ दिन नसके नायिकाले नांगिनुपर्ने !

    काठमाडाैं । मिडियाको बढोत्तरीसँगै आजकाल राष्ट्रिय टेलिभिजनदेखि युट्यूबसम्म थरिथरिका अन्तरवार्ताहरु आइरहेका हुन्छन् । नेतादेखि सेलिब्रिटीलाई बोलाएर विभिन्न गेमहरु खेलाउने र भ्यूज बटुल्ने होडबाजी नै छ । यो मेसोमा केहीले सञ्चारमाध्यमको सीमा बिर्सिएर अमर्यादित शैलीहरु अपनाइरहेको पनि पाइन्छ ।

    कान्तिपुर टिभीमा प्रशारण हुने एउटा चर्चित कार्यक्रम हो, इट्स माइ शो । यो कार्यक्रम लामो समय सुरजसिंह ठकुरीले चलाएका थिए । तर, अहिले उनलाई ओसिन सिटौलाले रिप्लेस गरेकी छन् । ओसिनले चलाएको पहिलो शो हिजो मात्रै अन एयर भएको थियो, जसमा गेस्टको रुपमा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह छन् । सुरजले ठिकठाकरुपमा चलाइरहेको एउटा ए ग्रेडको शोलाई ओसिनले छोटो समयमै सी ग्रेडमा झार्न सक्ने अनुमान उनको पहिलो एपिसोडबाट गर्न सकिन्छ ।

    करिब एक घण्टा लामो अन्तरवार्ता हेरिरहँदा तपाईंलाई यस्तो महसुस हुन्छ कि मानौं यो नेपालको होइन, हलिउडको कार्यक्रम हो । कार्यक्रममा ९० प्रतिशत जति संवाद अंग्रेजीमा गरिएको छ । होस्टले अंग्रेजी फलाकेपछि नायिकाहरु पछि पर्ने कुरा आएन । अझ, साम्राज्ञी बोलेको सुन्दा त लाग्छ, उनलाई राम्रोसँग नेपाली बोल्नै आउँदैन ।

    खैर, यहाँ चर्चा गर्न लागिएको प्रसंग चाहिँ अर्को हो । कार्यक्रममा ओसिनले गेस्टहरुलाई एउटा यस्तो गेम खेलाएकी छन्, जुन एकदमै अपाच्य छ, खासगरि महिला कलाकारका हकमा । एकजना युट्यूबरले कलाकारहरुलाई बोलाएर अन्टसन्ट प्रश्न सोध्ने र जवाफ नदिएको खण्डमा रक्सी घुट्क्याउन लगाउने गरेको देख्नुभएको होला । ओसिनले त त्योभन्दा पनि निकै अगाडि बढेर नायिकाहरुलाई सोझै नांगिन भन्छिन् ।

    ‘यो र्यापिड फायर सेग्मेन्ट हो । तपाईंले कि प्रश्नको जवाफ दिनुपर्छ, कि यु हेभ टु स्ट्रिप (तपाईं नांगिनु पर्छ ।)’ ओसिनको यो शर्तले स्वस्तिमा नर्भस हुन्छिन् । आफूले धेरै लुगा नलगाएको हुँदा फुकाल्न कठिन हुने उनले बताइन् ।

    त्यसपछि ओसिनले सुझाव दिइन्, ‘तपाईंले लुगाको कुनै पार्ट खोल्न सक्नु हुन्छ । नत्र तुना खोल्दा पनि हुन्छ ।’ तुना खोल्ने कुराले साम्राज्ञी जोडजोडले हाँस्न थाल्छिन् ।

    ओसिन फेरि थप्छिन्, ‘मैले ‘त्यो’ तुनाको कुरा गरेको होइन, लुगाको तुना भनेको । (हाँस्दै) त्यो तुनाको विषयमा मैले नसोचेको धेरै भयो । इट हेभ विन लङ टाइम ।’

    त्यसपछि आफ्नो गेमलाई अझै प्रष्ट्याउँदै उनी भन्छिन्, ‘तपाईंले आन्सर गर्न सक्नु भएन भने चाहिँ आफ्नो जिउमा भएको कुनै वस्त्र…’ आसिनलाई रोक्दै स्वस्तिमा (लुगा देखाएर) : ‘कुनै…? एउटै त लगाको छु ।’

    साम्राज्ञीः ‘हो त, मेरो पनि एउटै छ ।’

    (दुवै नायिकाले खासै लुगा लगाएर आएका पनि थिएनन् । साम्राज्ञीले छाति ह्वाङ्गै खुलेको वान पिस गाउन लगाएकी थिइन् । उनको पहिरन हेर्दा लाग्थ्यो राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिन आएकी होइन्, प्रेमीसँग रोमान्टिक डेट हिँडेकी हुन् । स्वस्तिमाको पनि वान पिस थियो, तर साम्राज्ञीको जति ओपन थिएन ।)

    आसिन उनीहरुलाई लोभ्याउन खोज्छिन्, ‘यो एउटा कम्पिटिसन हो । हामीसँग गिफ्ट ह्याम्पर पनि छ । गिफ्ट ह्याम्पर चाहिँ म सेट पछाडि दिन्छु । अगाडि दिन मिल्दैन ।’ त्यसपछि दुवै नायिका गेमका लागि तयार हुन्छन् ।

    ओसिनले स्वस्तिमाबाट सुरु गर्छिन् ।

    ‘यो र्‍यापिड फायर भएकाले प्लीज मेक इट फास्ट । स्वस्तिमा प्लिज ‘विवाहित’ जस्तो नबन । आर यू रेडी ?’

    ओसिनको पहिलो प्रश्नः सेक्स कि खाना ?

    एकछिन अल्मलिएपछि स्वस्तिमाले सोचेभन्दा कडा जवाफ दिइन् : खाना खाइरहेको बेला सेक्स ।

    साम्राज्ञी थप्छिन्ः ओ आइ लभ द्याट (मलाई त्यो एकदम मन पर्छ)

    ओसिन (हाँस्दै)– ह्वाट ? ह्वाट आर यु टकिङ अबाउट ? (के ? तिमी के भन्दैछौ ?)

    साम्राज्ञी : यु क्यान (सकिन्छ)

    पहिलो प्रश्नमा स्वस्तिमा लुगा फुकाल्नबाट जोगिन्छिन् ।

    ओसिनको अर्को प्रश्नः अविवाहित भएको भए कोसित रोमान्टिक डेट जान चाहन्छौ ?

    स्वस्तिमा भन्छिन्ः अर्पण दाइ । रोमान्टिक चाहिँ हुँदैन होला ।

    ओसिनः एउटा निर्देशकको नाम भन जसको अनुहारमा झापड लगाउन मन छ ।

    यो प्रश्न स्वस्तिमा हडबडाउँछिन् । उत्तर दिन नसक्ने बताउँछिन् ।

    ओसिन ठाडै भन्छिन्ः त्यसो भए लुगा फुकाल ।

    बाध्य भएर स्वस्तिमा निर्देशक हेमराज बिसीको नाम लिन्छिन् ।

    ‘नेपाल छोडेर अमेरिका जानुभएको छ, त्यसैले..’ स्वस्तिमाले जोगिनलाई भन्छिन् ।

    ओसिन सोध्छिन्- एकजना अभिनेता जो एकदमै गन्हाउँछ ?

    प्रश्नको जवाफ दिन नसकेर स्वस्तिमाले लुगाको साटो आफ्नो औंलाको औंठी फुकाल्छिन् ।

    अर्को प्रश्न सोधिन्छः तपाईं यी मानिसहरुको बेडरुममा कसलाई भेट्नुहोला ? पहिलो– साम्राज्ञीको बेडरुममा ।

    स्वस्तिमाको जवाफः उनको आमा

    अनमोल केसी ?

    स्वस्तिमा हाँस्दै भन्छिन्ः एकजना दिमागमा आयो तर नाम लिन सक्दिनँ ।

    त्यसपछि अनमोलको कुकुर कोको भनेर फुत्किन सफल हुन्छिन् ।

    दयाहाङ राई ?

    उहाँको पत्नी । रेनुका भाउजु ।

    पुजा शर्मा ?

    उहाँको व्वाइफ्रेन्ड अहिलेको । नाम चाहिँ बिर्सिएँ ।

    तीनैजना एकछिन छिल्लिएको हाँसो हाँस्छन् । यस्तो लाग्छ कि यो कुनै राष्ट्रिय टेलिभिजनको कार्यक्रम नभएर कामुक महिलाहरुको रत्यौली हो ।

    सबैभन्दा आपत्तिजनक चाहिँ अर्को सेग्मेन्टमा छ, जहाँ उक्त शोमा सहभागी नै नभएकी एक नायिकाको चरित्रहत्या हुने गरी निजी जीवनबारे टिप्पणी गरिएको छ ।

    दुई हिरोको नाम लिएर स्वस्तिमालाई सोधिन्छः पहिला योसँग र अहिले योसँग अफेयरमा भएको हिरोइन को हो ?

    स्वस्तिमाले पनि बिना सोचविचार एक नायिकाको नाम लिन्छिन् । तीनैजना फेरि छिल्लिएर हाँस्छन् । साम्राज्ञी अर्को हिरोको नाम लिएर भन्छिन्– बीचमा यो पनि थियो थियो ।

  • प्रियंका कार्की अभिनित वेब सिरिजमा अश्लीलता, कसले दियो न्यूड सीन ?

    प्रियंका कार्की अभिनित वेब सिरिजमा अश्लीलता, कसले दियो न्यूड सीन ?

    काठमाडौं । अचेल चलचित्रमा नायिकाले टु पिस वा ब्याकलेस पहिरन लगाउनु सामान्य भइसक्यो । सेन्सर पास भएको खण्डमा चलचित्रमा किस सीन र बेड सीन पनि देख्न पाइन्छ । तर, न्यूड सीन ?

    केही समयअगाडि बलिउड चलचित्र ‘एनिमल’ मा नायिका तृप्ती डिम्रीले दिएको न्यूड सीनले भारतमा मात्र नभएर नेपालमा पनि तहल्का मच्चिएको थियो ।

    ‘एनिमल’ को लागि तृप्तीले दिएको न्यूड सीनमा संवेदनशील अंग ढाकिएको थियो र पनि निकै कन्ट्रोभर्सी भयो । यसले पक्कै पनि चलचित्रको व्यापारलाई फाइदा पुग्यो नै होला ।

    अश्लीलता आफैमा एक विवादित विषय हो । अश्लील दृश्यहरू राख्दा कन्ट्रोभर्सी हुने र त्यसले चलचित्रको व्यापारमा मद्दत पुग्ने धारणा केही मेकर्समा पाइन्छ । तर, अहिलेसम्म कुनै पनि मेकरले नेपाली चलचित्रमा ‘फुल न्यूड सिन’ देखाउने दुस्साहस गरेका थिएनन् ।

    सुजोय योङ निर्देशित वेभ सिरिज ‘साहु बा’ ले सम्भवतः पहिलोपटक यस्तो दुस्साहस गरेको छ । दुई दिनअघि सार्वजनिक भएको ‘साहु बा’ को ट्रेलरका दुईवटा सिनमा दर्शकले जिब्रो टोक्न बाध्य हुन्छन् । एउटा सीनमा महिला कलाकार र अर्कोमा पुरुष कलाकारलाई पछाडिबाट नांगो देखाइएको छ । दुवैको शरीरमा एउटा कपडाको धरो पनि छैन । यी दुई दृश्य पोर्न फिल्मको झल्को दिने खालका छन् ।

    यो कुनै सी ग्रेडको चलचित्र भने होइन । प्रियंका कार्कीजस्तो चलेकै स्टारले अभिनय गरेकी छन् । चर्चित डान्सर कविता नेपाली, बिजु पार्की, चुल्ठिम गुरुङ, नम्रता श्रेष्ठ, अमित गिरी, अमितेष शाहको आदि लगायतको अभिनय रहेको यो सिरिजको ट्रेलर खासै गतिलो छैन । दुई न्यूड सीनका बलमा कारण भ्यूज बटुल्न खोजिएको छ ।

    न्यूड सीन दिन तयार कलाकारहरू को हुन् भन्ने अहिलेसम्म खुलाइएको छैन । महिला कलाकार आफ्नो नांगो शरीरसहित पुरुष पात्रसँग यौनजन्य पोजसनमा बसेकी छन् । लगत्तैको दृश्यमा पुरुष कलाकारको पछाडि भाग नांगो देखाइएको छ । दुवै कलाकारहरू एक्सपोज भएपछि कन्ट्रोभर्सीको सामना गर्नुपर्ने देखिन्छ ।

    कतिपयले उक्त न्यूड सीन नायिका प्रियंका कार्कीको भएको अनुमान लगाइरहेका छन् । दर्जनौँ फिल्ममा काम गरिसकेकी कुनै बेलाकी नम्बर एक कलाकार प्रियंका एउटा वेब सिरिजमा न्यूड हुन तयार बनिन् होला भनेर विश्वास गर्न गाह्रो हुन्छ ।

    हालै चलचित्रले गरेको पत्रकार सम्मेलनमा प्रियंका आफैँले अघि सरेर न्यूड सीनका बारेमा बोलेकी थिइन् । उनले चलचित्रमा यो सिनको महत्व भएको बताइन् । निर्देशक सुयोग योङले यो सिनलाई सस्पेन्स राख्न चाहेको बताए ।

    उनले भने, ‘यो हाम्रो सस्पेन्स भाग हो । त्यसैले अहिले नखुलाएको हो । सिरिज हेरेपछि थाहा पाइहाल्नु हुन्छ न्यूड सीन कसको हो भनेर ।’

    ‘साहु बा’ यहीँ अगस्टबाट रिलिज हुँदैछ । २४ एपिसोडको यो सिरिज राष्ट्रिय टेलिभिजनमा पनि आउने बताइएको छ । टिभीमा आउँदा भने यो दृश्यमा कैंची लाग्ने प्रबल सम्भावना छ ।

  • झण्डै साढे ५ हजार फिटमाथि ‘काला पत्थर’ मा नाचेर सुरेन्द्र-सुसनले रचे विश्व कीर्तिमान

    झण्डै साढे ५ हजार फिटमाथि ‘काला पत्थर’ मा नाचेर सुरेन्द्र-सुसनले रचे विश्व कीर्तिमान

    काठ्माडौं । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।

    सुसन र सुरेन्द्रले १९ मे, २०२४ जेठ ६ मा सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् । यति ठूलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन् ।

    सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो, ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरू पनि उनीहरूसँगै काला पत्थर पुगेका थिए । उनीहरूलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।

    उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गरेको छ । भने रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो ।

    रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै सुरेन्द्र र सुसनले भने, ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ ।’

    खराब मौसमको बाबजुद पनि यो जोडीले आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो । यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए । सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।

    सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।

  • मिस पवीसहितका कलाकारको साथमा सुरज खनालले सुरु गरे हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’

    मिस पवीसहितका कलाकारको साथमा सुरज खनालले सुरु गरे हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’

    काठमाडौँ । नेपाल टेलिभिजनमा हाँस्य टेलिश्रृंखला अति भो लाई २०१ अंक चलाएका निर्देशक सुरज खनालले त्यसलाई बिट मारेर नयाँ ‘ख्याल ठट्टा’ नामक टेलिश्रृंखला सुरु गरेका छन् ।

    नयाँ टिमका साथमा शनिबारदेखि प्रसारणमा आएको श्रृंखलालाई खनाल आफैले लेखन तथा निर्देशन गरेका हुन् ।

    उनका अनुसार यसअघि ‘अत्ति भो’ टेलिश्रृंखलाको टीमलाई नयाँ टीममा समेटिएको छ । काठमाण्डौंमा शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले यसको शुभारम्भ गरेका थिए ।

    निर्देशक खनाल आफू गुल्मीको भएकाले पनि विष्टलाई प्रमुख अतिथि रोजेको बताएका छन् । शनिबार आयोजित कार्यक्रममा ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो । खनालले यसअघि आफूमा ‘अत्ति भो’ सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रतिबद्धता जनाउँदै समयअनुसारका सामाजिक विषयहरुमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए ।

    यो सिरियलमा पबित्रा शांकी ९मिस पबि०को मुख्य भूमिका रहेको र कलाकार निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय रहेकाले सफलता पाउने उनको अपेक्षा रहेको छ ।
    शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युव च्यानलबाट यसको सुरुवात भएको कलाकार शोभाखर खनालले जानकारी दिए । उनले टीमवर्कमा काम गर्ने समूह भएकाले पहिलेजस्तैगरी मन जित्न सकिने बताए ।

    कार्यक्रममा प्रमुख अतिथि विष्टले कलाकारले कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताउँदै जीवन्त विषयहरुलाई समेट्नुपर्ने सुझाव दिएका थिए । यस्ता टेलिश्रृंखलाले मनोरञ्जनसँगै समाजका बिभिन्न विषयमा सकारात्मक सन्देश फैलाउन सक्नुपर्ने उनको आग्रह थियो ।

    यो श्रृखलामा साथ दिएका कलाकार सुरविर पण्डित (दाह्री बा) ले सिरियलको भीडमा फरक बनेर जानुपर्ने बताए भने कलाकार निर्मल शर्माले राम्रो टीमसँग काम गर्न पाउँदा खुसी लागेको र आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको बताएका थिए ।
    कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाएका थिए ।

  • ‘नेपाल आइडल सिजन ५’ को विजेता बर्दियाका करण परियार

    ‘नेपाल आइडल सिजन ५’ को विजेता बर्दियाका करण परियार

    काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले हात पारेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बन्न सफल भएका हुन् ।

    उपाधी हात पारेसँगै परियारले २५ लाख  रुपैयाँ नगद पुरस्कार हात पारेका छन् ।  ‘नेपाल आइडल सिजन ५’को फस्ट रनरअप पोखराकी सलोमी गुरूङ बनेकी छन् भने सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएकी छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुरस्कार हात पारेकी छन् ।

    त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल बन्दै स्कुटर हात पारेका छन् ।

    यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापामगरले नेपाल आइडलको उपाधि हात पारेका थिए । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायतले प्रस्तुति देखाएका थिए ।

    ग्राण्ड फिनालेमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक भूमिकामा थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले सञ्चालन गरेका थिए । सिजन ५ को अडिसन गत पुस २१ देखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन ५का लागि देशभरिबाट १५२ जना छनौट भएका थिए ।

  • ‘यो मनको कुरा’मा गरिमा शर्मा र धुव्र जिसिको रोमान्स (भिडिओ)

    ‘यो मनको कुरा’मा गरिमा शर्मा र धुव्र जिसिको रोमान्स (भिडिओ)

    काठमाडौं । नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड नयाँ म्युजिक भिडिओ ‘यो मनको कुरा’ सार्वजनिक भएको छ । निर्देशक सोनम पार्खिन निर्देशित भिडियोमा गरिमाको र धुव्रको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा देखाइएको सुन्दर लोकेसन र दृष्यहरुले भिडियोलाई झनै आकर्षक बनाएको छ ।

    झण्डै ५ मिनेट लामो गीतमा गरिमा र धुव्रले गीतलाई न्याय दिने काम गरेका छन् । नेपाली कलाकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय रही काम गरिरहेकी गरिमाले म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा समेत आफ्नो कामको जादु छरिसकेकी छन् । यता धुव्रको भने यो डेब्यु म्युजिक भिडियो हो । बिजनेस क्षेत्रबाट कलाकारिता क्षेत्रमा आएका उनले पनि भिडियोमा उत्कृष्ट काम गरेका छन् ।

    शुक्रबार सार्वजनिक भएको यस गीतमा सुरेश लामा र अनु चौधरीको स्वर छ । सार्वजनिक प्रेमिल भावको गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ । गीतमा देबेश राईको एरेन्ज, रत्न बिकको बाँसुरी र नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ छ ।

    यता भिडियोमा भने प्रकाश तामाङको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको गीतको भिडियोलाई विकास ढकालले सम्पादन गरेका छन। त्यसै गरी, पब्लिसिटि डिजाईनरमा विजय बस्याल रहेका छन भने प्रोडक्सन म्यानेजरमा नवराज पौडेल छन् ।

    भिडिओ

     

  • लोक दोहोरीमा विकृति रोक्न प्रतिष्ठान सक्रिय बनेपछि ज्योती मगर आक्रोशित, फेसबुकमा निरन्तर भँडास पोख्दै

    लोक दोहोरीमा विकृति रोक्न प्रतिष्ठान सक्रिय बनेपछि ज्योती मगर आक्रोशित, फेसबुकमा निरन्तर भँडास पोख्दै

    काठमाडौं । गायिका ज्योती मगर केही दिनदेखि ब्याक टु ब्याक फेसबुकमा लोक दोहोरी प्रतिष्ठालाई गालीगलौज र कटाक्ष गरिरहेकी छन् । लोक दोहोरीमा भित्रिएको छाडापान नियन्त्रण गर्न प्रतिष्ठान सक्रिय भएपछि उनको पारो तातेको हो ।

    प्रतिष्ठानको अभियानविरुद्ध ज्योतीले चारवटा लामा–लामा स्टाटस लेखिसकेकी छन् । यो प्रसंग चाहीँ गत जेठ २८ गतेबाट सुरु भएको हो । दोहोरी गीतलाई असभ्य बनाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले केही कलाकारहरुलाई स्पष्टीकरण सोधेको थियो ।

    यसअघि हास्य कलाकार रहेकी र पछिल्लो समय आफ्नै युट्यूबमा दोहोरी सञ्चालन गरिरहेकी नविना सिलवाल ‘खुईली’ सहित रिया खड्का, नवराज काप्री ‘धादिङ भाले’, सलिना नेपाली, शर्मिला रायमाझी, सीताराम परियार, तारा थापा, शंकर सुनार, सागर बिसी र सुशीला लामाको दोहोरीमा व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले एकसाथ प्रष्टीकरण सोधेको हो ।

    लोकदोहोरी गीतको नाममा प्रकाशित श्रव्यदृश्यले समाज, संस्कृति र समग्र लोकसंगीत क्षेत्रलाई पारेको नकारात्मक प्रभावप्रति सचेत गराउँदै उक्त श्रव्यदृश्य युट्यूवलगायत सामाजिक सञ्जालबाट हटाई आगामी दिनमा त्यस प्रकारका गतिविधि नगर्न नगराउन प्रतिष्ठानले सचेत गराएको थियो । गायिका रिया खड्काले फेसबुकबाट खुला पत्रमार्फत सार्वजनिक स्पष्टीकरण दिएकी थिइन् ।

    त्यही दिन ज्योती मगरले पनि फेसबुकमा लामो स्टाटस लेख्दै प्रतिष्ठानविरुद्ध आक्रोश पोखिन् । उनको स्टाटस मुख्य अंश यस्तो थियो:

    लोक संस्कृति बचाउनु हाम्रो जिम्मेवारी हो । संस्कृति बिगार्नेलाई कारबाही गर्छांै भन्ने ‘लाटो देशको गाँडो तन्नेरीले यी प्रश्न को जवाफ दिनु होला । लोक दोहोरी गीत तिम्रा बाउका बिर्ता हुन् र तिम्ले जसरी गर भन्छौ त्यसरी गर्नलाई ? तिम्रो संस्थाले अरु कलाकारको चुलो बाल्देको छ र हक जताउनलाई ? तिम्रो संस्थालाई कुन संविधानले अधिकार देको छ स्वतन्त्र कलाकारको सिर्जना माथि औला उठाउन र कार्बाही गर्न ? व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार कोले दियो ? अहिले आएका लाइभ दोहोरीहरु मेरो परिवारसँगै बसेर मैले त सुन्न सकेँ, तिम्रा परिवारले सुन्न सकेनन् त त्यो तिम्रो समस्या हो । आफ्नो समस्या अरु माथी थोप्न पाइन्छ ?

    यसको तीन दिनपछि ज्योतीले दोस्रो स्टाटस लेखिन्, जुन यस्तो थियोः

    एक हुल केटीहरु बाटोमा हिँडिरहेका बेला केटाहरुले यसो जिस्काउदा (कता हो सोल्टिनी चिटिक्क परेर टाइपको), त्यो गु्रपका रुपौली, गुणी, ज्ञानी र लक्षिणी केटीहरु त्यो जिस्काइलाई वास्ता नगरेर आफ्नो बाटो आफ्नो गन्तव्यमा लाग्छन् । भने त्यो गु्रपको सबैभन्दा नराम्री, अबगुनी, अज्ञानी केटी चैं फरक्क फर्केर थुक्क तेरो घरमा दिदी–बहिनी छैनन् ? भन्दै गालीगलौज बहकिन्छन् । हो त्यस्तै अहिले दोहोरीको क्षेत्रमा पनि कलाले भरिपुर्ण कलाकारहरु डिजिटल मार्केटदेखि मेला महोत्सव, देश–बिदेशतिर ब्यस्त छन् । कलाकार जस्तो–जस्तोहरु चैं फुर्सदिला छन् र लोकदोहोरीको ठेकेदार हामी हौं, हामी कसैलाई छोड्दैनौ भन्दै छन् ।

    ज्योतीले त्यसपछि दुई दिन पर्खाएर तेस्रो स्टाटस लेखिन् ।

    ‘विकृती न्युनीकरणको नाममा स्पष्टीकरण माग्छौ, कार्बाही गर्छौ, प्रशासनसम्म पुग्छौ, कानुनी कार्बाहीको माग गर्छौं भन्दै नया जेनेरेसनलाई दियको इन्डिरेक्ट धम्की र तिमीले गरेको यो लफडा आफुलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डा बाहेक केही होइन । केही लछारपाटो लाग्दैन किनकी ग्लोबलाइजेसनको यो युगमा गुगल र युट्युबको ट्रम्स एण्ड कन्डिसनले क्लियर रुपमा तय गरिदिएको छ नेपाली समाजमा केलाई अश्लिल मान्ने र केलाई श्लिल माने भन्ने कुरा । युट्युबको नेपाल जोन अन्तर्गत “अश्लिल सामाग्री” अपलोड गर्नै मिल्दैन: एडल्ट क्याटेगोरीमा अलिअली मिल्छ तर अहिले विवाद भएका गीतहरू (लाइभ दोहोरी, रेकर्डेड दोहोरी) त्यो एडल्ट समुहमा पनि पर्दैनन् । गुगलले अनुमती दिएको कसैको सामाग्रीलाई हटाउने आदेश दिने तिमी को ?

    नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरु तयार पारेर युट्युबमा बेचेर घरखर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर उनीहरुको पेटमा लात हान्ने तिमी को ? किन अरुको स्वतन्त्रतामाथि यत्रो जलन ? उनीहरुको चर्चासँग जलन कि उनीहरुले कमाएको केही रकमसँग जलन कि उनीहरुको खुसीले बाँचेकै देख्न नसहेर जलेको तिमी ?

    यसपछि ज्योती केही दिन यो विषयमा मौन बसिन् । फेरि टिप्पणी गर्ने मसला भेट्टाइन् । यो मसला चाहिँ उनलाई युट्यूवमा हालै सार्वजनिक भएको एउटा गीतले दिएको हो, जसमा दोहोरी गायक बद्री पंगेनीले समेत स्वर दिएका छन् । विद्यालयमा छायांकन गरिएको यो गीतलाई लिएर ज्योतीले यस्तो टिप्पणी लेखेकी छन्:

    ‘अरुले गाएको लाइभ–दोहोरीले समाजलाई भड्किलो बनायो, नियन्त्रण गर्छौं भन्दै गृह मन्त्रालय धाउने, साथसाथै स्वतन्त्र कलाकारहरु जो सोझा छन्, उनीहरुलाई सजिलै होच्याउन र तर्साउन सकिन्छ भन्ने हेतुले उनीहरुलाई धम्क्याउँदै स्पष्टीकरण माग्ने, आदरणीय कलाकारज्युहरुले बिद्यालयजस्तो शिक्षा आर्जन गर्ने पवित्र मन्दिरलाई गीतमार्फत विद्यार्थी र शिक्षकहरुको रैला गर्ने ठाउँ बनाएछन् । अनि शिक्षक सङ्गठनहरुले फेरि आपत्ति जनाउँदै त्यस्तो समाज भड्किलो बनाउने गीत हटाउन माग गरेछन् । (नोट– तुम करो तो चमत्कार, और करे तो बलात्कार वाला सोच को अन्य गरौं ।’

  • ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’

    ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’

    काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’को नयाँ गीत रिलिज भएको छ। शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो।

    गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। भिडिओमा दया र मिरुनाको प्रेमरसायन ताजगीपुर्ण लाग्छ।

    गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो। अनिल बुढामगर सिनेमाका निर्देशक हुन्। सिनेमा असार २८ गते रिलिज हुँदैछ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् ।

    उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सिनेमा सुसन प्रजापतिले खिचेका हुन । ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

    सिनेमामा एसडी योगी तथा राम अविरल विष्टका अलावा हर्क साउद गीत र मनोज थापाको समेत संगीत रहेको छ । कृष्ण भन्डारीको सम्पादन रहेको सिनेमामा डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ । यस्तै एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ भने नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

  • शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’ले कति पायो शो ?

    शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’ले कति पायो शो ?

    काठमाडौं । शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले थोरै शो पाएको छ। मल्टिप्लेक्स हलहरूले बुधवारदेखि नै फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ।

    चलचित्रलाई क्युएफएक्सनले पहिलो दिन काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ।

    चलचित्रले आईएनआईमा १२, वान सिनेमाजमा ७, एफक्युबमा ३ गरी बिएसआर, बिग मुभीज, रन्जनालगायतका मल्टिप्लेक्स हलहरूमा पनि शो पाएको छ।

    चलचित्र उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा रिलिज हुँदैछ ।

    रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा नायिका पूजा शर्मा र कुन्साङ बम्जन मुख्य भूमिकामा फिचर्ड छन्।

    पूजा र कुन्साङका अलावा चलचित्रमा किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायतका कलाकारको अभिनय छ।

    पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

    चलचित्रमा संजोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन र कविराज गहतराज कोरियोग्राफी छ ।

    चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

  • छोराको जन्मदिनमा राजेशपायलप्रति पूर्वपत्नीले देखाइन् सद्भाव

    छोराको जन्मदिनमा राजेशपायलप्रति पूर्वपत्नीले देखाइन् सद्भाव

    काठमाडौं । गायक राजेशपायल राईको वैवाहिक जीवन छोटो समयमै दुर्घटित भयो । पूर्वपत्नीलाई डिभोर्स दिने क्रममा राजेशपायलले महंगो सम्झौता गरेका थिए ।

    राजेशपायल र उनकी पूर्वपत्नी साङबुङ राईबाट एक सन्तानका रूपमा छारा सायारेम छन्, जो आज दुई वर्ष पूरा भए । बुबाआमाको डिभोर्सपछि सायराम आमासँग बस्छन् । उनको आर्थिक दायित्व भने राजेपायलको काँधमा छ ।

    छोरालाई जन्मदिनमा बुबा र आमा दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिएका छन् । साङवुङको शुभकामना पोस्ट भने अलि विशेष छ । डिभोर्सपछि पनि राजेशपायलप्रति उनको सद्भाव यथावत रहेको पोस्टबाट झल्किन्छ ।

    उनले राजेशपायलसँगको तस्विर हाल्दै भिडिओ बनाएर छोरालाई शुभकामना दिएकी हुन् ।

    सो पोस्टमा साङबुङले लेखेकी छन्ः ‘बुबाआमा भइसकेपछि हामीले महसुस गर्याैं कि हाम्रो लागि हाम्रो बच्चाले मात्रै मतलब राख्छ । हामी आफ्नो बच्चाको लागि जे पनि गर्न तयार छौं ।’

    उनले राई इज किङ ह्यासट्याग पनि प्रयोग गरेकी छन् । राजेपायलले गाएको ‘सागरसरी चोखो माया…’ बोलको गीतमा उनले यो भिडियो बनाएकी हुन् ।

    यता, राजेशपायलले भने छोराका लागिनयाँ गीत नै रेकर्ड गरेका छन् । राजेशपायलकै रचना, संगीत र स्वर रहेको गीत आज उनले रिलिज गरेका हुन् ।

    गीतमा छोराका तस्बिर र भिडिओ उनले प्रयोग गरेका छन् । म्युजिक भिडिओेमा परिवारका अरू सदस्यसँगै साङबुङ पनि देखिएकी छन्* । उनले यो गीत शेयर पनि गरेकी छन् ।

     

  • प्रसाद-२ का निर्माताले दाबी गरे निर्देशक थापा, एडिटर श्रेष्ठ र ओएसआरका अग्रवालसँग डेढ करोड क्षतिपूर्ति

    प्रसाद-२ का निर्माताले दाबी गरे निर्देशक थापा, एडिटर श्रेष्ठ र ओएसआरका अग्रवालसँग डेढ करोड क्षतिपूर्ति

    काठमाडौं । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले एक करोड ५० लाख रुपैयाँ बिगो भराउनुपर्ने माग गर्दै निर्देशक सुदर्शन थापा, एडिटर मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

    थापा र श्रेष्ठले आफ्नो अनुमतीबिना प्रसाद–२ लाई ओएसआर डिजिटलमा अपलोड गरेको र विदेशमा प्रदर्शन गरेको दाबी निर्माता बस्नेतले गरेका थिए ।

    उक्त फिल्म युट्युबमा प्रशारण गरी ६० लाख रुपैयाँ आम्दानी भएको र विदेशमा प्रदर्शनबापत ९० लाख रुपैयाँ कमाइएको दाबीसहित निर्माता बस्नेतले एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेका हुन् ।

    थापा, श्रेष्ठ र अग्रवालविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय माग गरिएको छ । प्रहरीले थापा र अग्रवाललाई बयान लिएर हाजिरी जमानीमा छाडेको थियो भने श्रेष्ठ फरार रहेको अभियोग पत्रमा उल्लेख छ ।