Category: कलाप्रेस

  • ‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा जसिताको उजुरी, विवादित भिडिओ हटाउन माग

    ‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा जसिताको उजुरी, विवादित भिडिओ हटाउन माग

    काठमाडौं । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा लिखित उजुरी गरेकी छन् । आज उनले प्रतिनिधि पठाएर उजुरी दर्ता गराएको काउन्सिल स्रोतले बतायो ।

    गत असार ८ गते ओसिन सिटौलाले सञ्चालन गरेको कार्यक्रममा जसितालगायत थुप्रै कलाकारको व्यक्तिगत जीवनमा असर पुर्‍याउने गरी प्रश्नोत्तर गरिएको थियो । चौतर्फी रुपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् । जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् ।

    उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ । आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुर्‍याएकोप्रति पूर्ण क्षतिपूर्तिको मागसमेत जसिताले गरेकी छन् ।

    ‘पत्रकार आचार संहिता, २०७३ ले (पहिलो संशोधन २०७६)ले प्रष्ट रुपमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने विषय र क्रियाकलाप उल्लेख गरेको छ । त्यसको पूर्ण खिलाफमा गई कान्तिपुर टेलिभिजन, प्रस्तोता ओशिन सिटौला, अतिथिहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले मेरो व्यक्तिगत जीवनमा असर पुग्नेगरी जेजस्ता खालको हल्का टिप्पणी र आरोप लगाए, यसले मलाई मानसिक दवाव दिएको छ । मेरो मान, मर्यादा र भावनामा ठेस पुर्‍याएको छ’, जसिताले उजुरीमा भनेकी छन् ।

    अरुको जीवनमाथि धावा बोल्ने, अरुको गोपनीयता भंग गर्ने, अरुका व्यक्तिगत कुरालाई विनाप्रमाण प्रस्तुत गर्ने, अरुको भावना र जीवनमा ठेस पुर्‍याउने, हुँदै नभएको विषयमा टिकाटिप्पणी गर्ने किसिमले प्रश्नोत्तर भएको उजुरीमा जनाइएको छ । यो पूर्ण पत्रकार आचार संहिताविपरीत र संविधान विपरित कार्य भएको उजुरीमा उल्लेख छ ।

    ‘आशा छ, प्रेस काउन्सिल नेपालले नेपालको संविधान, लोकतन्त्र, विधिको शासन र पत्रकार आचार संहिताविपरीत गएर प्रशारण हुने यस्ता समाज भड्काउने, अरुको जीवनमाथि धावा बोल्ने कार्यक्रम बन्द गराउनु हुनेछ’, जसिताले भनेकी छन् ।

    स्मरणीय छ, प्रेस काउन्सिलले यस विषयमा कान्तिपुर टेलिभिजनलाई जवाफ दिन भन्दै २४ घन्टे पुर्जी थमाइसकेको छ । यदि चित्तबुझ्दो जवाफ नआएको खण्डमा टेलिभिजनलाई कानूनबमोजिम कारबाही हुने र सामग्री हटाउन लगाइने काउन्सिल स्रोतले बतायो ।

  • ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविताको प्रेम र विछोडको कथा

    ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविताको प्रेम र विछोडको कथा

    काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    भिडियोमा कविता, जोन र चक्रको प्रेम र विछोडको कथा छ । लामो समयदेखि काम गर्दै आएकी मोडल न्यौपानेले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

    त्यस्तै जोन र चक्र पनि अहिलेका चर्चित मोडल हुन् । चक्र भने गायनमा पनि सक्रिय छन् ।

    यो गीतको पाँच दिनअघि टिजर सार्वजनिक गरिएको थियो । ४० सेकेन्डको टिजर दर्शकमा कौतूहल जगाउन सफल भएको थियो । महेशकुमार औजी र बादल थापाको स्वर रहेको यो गीत आजभन्दा १० वर्ष अगाडि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएका थिए । गीतले दर्शकको अपार सफलता पाएपछि गायक औजी र थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन् । गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन् ।

    निर्माण टीमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षणभित्र खिचिएको हो । भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका हुन् । भिडियोको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

    मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डीसीको पहिरन, टौवा क्रियसनको पोस्ट डिजाइन र बुद्ध थापाको सिनेमाटोग्राफी छ ।

  • कमेडी च्याम्पियनको फाइनलमा जब भक्कानिएर रोए मनोज गजुरेल

    कमेडी च्याम्पियनको फाइनलमा जब भक्कानिएर रोए मनोज गजुरेल

    काठमाडौं । दर्शकलाई पेट मिचिमिचि हँसाउने टीभी रियालिटी शो हो कमेडी च्याम्पियन । तर, यदा कदा यो शोमा भावुक स हृदयश्पर्सी क्षणहरु पनि आइदिन्छन् ।

    कमेडी च्याम्पियनको तेस्रो सिजन भर्खरै सकिएको छ । अघिल्ला दुई सिजनको तुलनामा तेस्रो सिजन त्यति चर्चामा आएन । अस्ति प्रशारित फाइनल एपिसोडमा सुनील खड्का विजेता बनेका छन् । यहाँ उल्लेख गर्न लागिएको प्रसंग चाहीँे फाइनलको एउटा भावुक क्षणको हो ।

    ती महिना अगाडि सवारी दुर्घटनामा परेर घाइते भएका कमेडियन सुशान्त बस्यालले फाइनलमा गेस्ट पर्फमरका रुपमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिले हँसाएन मात्रै, रुवायो पनि । कार्यक्रमका जज ऋचा शर्माको आँखामा आँशु छचल्किएको थियो भने अर्का जज मनोज गजुरेल त भक्कानिए नै ।

    स्टेजमा सँधै दर्शकलाई हँसाउने विख्यात हाँस्यव्यंग्य कलाकार गजुरेलले आफ्नो मनभित्र दवाइरहेको पीडा कमेडी च्याम्पियनको मञ्चमा पोखिएको थियो । उनको ‘कमेडी भर्सन’ मात्रै देख्दै आएका दर्शकहरु यो भावुक पाटोलाई देखेर चिसिए । कार्यक्रममा सन्नाटा छायो ।

    आफू यसरी भावविव्हल बन्नुको कारण मनोज आफैंले खुलाए । उनले सुशान्तको प्रस्तुति हेर्दा आफ्नो छोरालाई सम्झिएको बताए ।

    गजुरेलले भने, ‘मेरो छोरा पनि तिम्रै उमेरको छ, जसलाई म आफूलाई भन्दा बेसी माया गर्छु । उ एउटा स्वास्थ्य समस्याबाट गुज्रिरहेको छ । तिमी यति ठूलो दुर्घटनाबाट बाँचेर आज यसरी प्रस्तुति दिइरहेको देख्दा मलाई पनि हौसला मिलेको छ कि मेरो छोरा पनि पूर्णरुपमा ठिक भएर पहिलेजस्तै अवस्थामा फर्किनेछ ।’

    उनले थपे, ‘मैले आजसम्म यो पीडालाई दवाएरै राखिरहेको थिएँ । थाहा छैन, मैले यो मञ्चमा भन्नु ठिक थियो या थिएन । तर, मैले आफूलाई रोक्न सकिनँ ।’

    मनोजले छोराको बिमारीबारे भने खुलाएनन् । निकटस्थका अनुसार मनोजका पुत्र मिरोज गजुरेल एन्जाइटीबाट पीडित छन् । पछिल्लो समय उनको अवस्थामा सुधार आइरहेको बुझिएको छ । मनोजजस्तै मिरोज पनि सिर्जनात्मक क्षमताका धनी छन् ।

     

  • मृत्युलाई जितेका सुशन बस्यालको कमेडी च्याम्पियनमा कमब्याक, मनछुने प्रस्तुतिसँगै भावुक बन्यो माहोल

    मृत्युलाई जितेका सुशन बस्यालको कमेडी च्याम्पियनमा कमब्याक, मनछुने प्रस्तुतिसँगै भावुक बन्यो माहोल

    काठमाडौं । साढे तीन महिना अगाडि गम्भीर दुर्घटनामा परेर भेन्टिलेटरमा पुगेका सुशान्त बस्याल अब ठिक भएका छन् । उनी कमेडी च्याम्पियन सिजन ३ को फाइनलमा सुखद कमब्याक गरे ।

    गत चैत ९ गते सुशान्तसहित कमेडी च्याम्पियनका ६ जना चढेको कार नगरकोट जाने क्रममा बाटोमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सुशान्त गम्भीर घाइते भएका थिए ।

    टाउकोमा चोट लागेर पूर्णरुपमा अचेत उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निकै चिन्ताजनक अवस्थाबाट उनी बाँच्न सफल भए ।

    सुशान्त अहिले पूर्णरुपमा निको भएका छन् । यसअघि कमेडी च्याम्पियनको मेन्टर तथा सहायक निर्देशक रहेका उनले फाइनलमा गेस्ट पर्फमरका रूपमा प्रस्तुति दिए । उनको प्रस्तुति रोचक र मर्मस्पर्शीसमेत थियो । उनले आफ्नै दुर्घटनालाई लिएर पनि जोक गरेका थिए ।

    सुशान्तको प्रस्तुतिपछि कार्यक्रमको माहोल निकै भावविव्हल बन्यो । ‘म भाग्यमानी हुँ, जसले दुई पटक आफ्नो आमाको काखमा जन्म लिन पाएँ’ भन्ने अभिव्यक्तिपछि सुशान्तकी आमा स्टेजमा आएर छोरालाई अंगालेकी थिइन् । उक्त दृश्यले कार्यक्रमका जजहरू पनि भावुक बने । ऋचा शर्मा र मनोज गजुरेल रोएका थिए ।

    ऋचाले सुशान्त ठिक भएर आउनुमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको पनि ठूलो हात रहेको भन्दै उनीप्रति आभार प्रकट गरिन् । तर, सुशान्तले यसलाई कमेडीमा ढाल्दै सांकेतिक अभिव्यक्ति दिए ।

    उनले भने, ‘हो मलाई अनुभव भयो कि मलाई सबैभन्दा बढी माया विशाल दाइले नै गर्नु हुँदो रहेछ । हरेक पटक मलाई भेट्न आउँदा उहाँको आँखामा आँसु हुन्थ्यो । सायद उपचारको पैसा आफूले तिर्नुपरेकाले हो कि ङ’

  • नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन’

    नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन’

    काठमाडौँ । चर्चित गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’ को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ ।

    शनिवार काठमाडौँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्म आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो ।

    सार्वजनिक म्युजिक फिल्ममा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

    ‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने ।

    पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फूली लाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले साङ्गीतिक कार्यक्रमका लागि ६५ वटा भन्दा बढी देश भ्रमण गरिसकेका छन् ।

    उनले भने,‘मलाई उक्त समयमा स्थापित गर्ने गीतले नयाँ पुस्ताको मन जित्नेमा विश्वस्त छु । यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुदैन । यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ ।’

    गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्री केकी अधिकारी यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन ।

    उनले भनिन्,‘यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थे । धेरै साथीलाई डेडीकेट पनि गरेकी छु । यो गीत मेरो सधै फेवरेट थियो । अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु ।’उनले आफू अष्ट्रेलियामा रहदा नै यस गीतको भिडियोमा काम गर्ने अफर आएका कारण भ्रमण छोट्याएर नेपाल फर्किएर काम गरेको बताइन ।

    गीतमा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ । पहिलो भिडियो भन्दा फरक र सरल प्रस्तुती नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए ।

    उनले भने,‘पुरानो लोकप्रिय गीत हुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ । त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु । यसमा पनि प्रेम प्रसङ्ग नै देखाएको छु तर शैली फरक छ । यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने विश्वास छ ।’

    निर्देशक खड्का यसअगाडि गायक यश कुमारको ‘हिजो अर्कैसँग देखे’ र ‘तिम्रो मन बदलिए छ’, गायक प्रमोद निर्वाणको ‘किन यसरी’, गायक दीपक लिम्बूको ‘सागर बरू सुकेर गईजाला’ बोलको गीतहरूको रीमेक भर्सनको भिडियो तयार गरिसकेका छन् ।

    भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।

  • ‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

    ‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

    काठमाडौँ । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन्।

    शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् ।

    विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन् ।

    प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा थिए ।
    (((

  • स्मिता दाहालको ‘ज्यानमाया’मा प्रियंका र कविता (भिडियो)

    स्मिता दाहालको ‘ज्यानमाया’मा प्रियंका र कविता (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले नयाँ गीत ‘ज्यानमाया’ बजारमा ल्याएकी छिन। गायनमा सक्रिय रहेकी स्मिताले शुक्रबार नयाँ गीत सार्वजनिक गरेकी हुन।

    उनले यसअघि ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि जस्ता गीतहरु गाईसकेकी छिन। नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् ।

    गीतको भिडियोमा नायिका प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन् । गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा देखिएका छन् । प्रियंका र सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए । प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडियो निर्माण गरेको कलाकार वलीले बताए ।

    श्यामस्वेत रसाइलीले एरेन्ज गरेको भिडियोको छायांकन र सम्पादन पवन सुस्लिङ गरेका छन् । भिडियो निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक गम्भिर विष्टले गरेका छन् ।

  • यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड लण्डनमा हुने

    यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड लण्डनमा हुने

    काठमाडौं । नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तार हेतुले लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म (इन्फा) अवार्ड हुने भएको छ ।

    यती नेपाली एसोसियसन युकेको आयोजना र सगिक्षा फिल्म इन्टरटेन प्रालिका व्यवस्थापनमा आउँदो भाद्र १५ मा लण्डनमा अवार्ड प्रदान गर्ने शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

    वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जनाएको छ ।

    इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा संयोजक र गौरी मल्ल तथा उज्ज्वल घिमिरे सदस्य रहेका छन् ।

    कार्यक्रममा चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मर्यादित र प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गरिन् ।

    अवार्डका लागि यूके कमिटीमा अध्यक्ष देवानसहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त र पाल्देन लामा रहेका छन् । नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल श्रेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुँवर कोषाध्यक्ष र मनिष कार्की संयोजक रहेका छन् ।

    अवार्ड चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

  • हिजो जहाजबाट फर्काइएका राजेशपायल अन्ततः पुगे दुबई, भोलि कन्सर्टमा प्रस्तुत हुने

    हिजो जहाजबाट फर्काइएका राजेशपायल अन्ततः पुगे दुबई, भोलि कन्सर्टमा प्रस्तुत हुने

    काठमाडौं । गायक राजेशपायल राई सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेका छन् । हिजो चढिसकेको जहाजबाट फर्काइएका उनी दोस्रो प्रयासमा दुबई उड्न सफल भएका हुन् ।

    अत्यधिक मदिरा पिएर जहाज चढेका राईलाई हिजो विमानस्थलबाट फर्काइएको थियो । उनले फ्लाइ दुबईका क्रु मेम्बरसँग झगडा गरेको प्रहरीले जनाएको छ ।

    विमानस्थलबाट फर्काइएपछि नेपाल प्रेससँग कुरा गर्दै राईले आफूलाई अपमानजनक व्यवहार गरिएको बताएका छन् । एयर होस्टेसले सेल्फी खिच्न नमान्दा भनाभन भएको उनको दाबी छ ।

    हिजो बिहान जहाजबाट फर्काइएपछि बेलुका अर्को जहाज चढेर राई दुबई पुगेका हुन् । दुबईको एयरपोर्टमा उनलाई आयोजकका मान्छेहरुले स्वागत गरेका थिए । भोलि शनिबार उनले ‘राजेशपायल राई लाइभ इन दुवई’ कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ ।

    दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा रातको १० बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । दुबईबाट उनी युके र त्यसपछि क्यानाडा जाने कार्यक्रम छ ।

  • विवादित ‘इट्स माइ शो’ बारे प्रेस काउन्सिलले कान्तिपुर टिभीलाई काट्यो २४ घन्टे पूर्जी

    विवादित ‘इट्स माइ शो’ बारे प्रेस काउन्सिलले कान्तिपुर टिभीलाई काट्यो २४ घन्टे पूर्जी

    काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो ।

    उक्त टिभीमा ओसिन सिटौलाले चलाएको स्वस्तिमा खड्कासहितको शो विवादमा तानिएको थियो । काउन्सिल स्वयमको प्रारम्भिक अनुगमनले समेत आपत्तिजनक देखाएपछि आज उक्त पूर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

    यो पुर्जीपछि काउन्सिलले अब टिभीका पदाधिकारीलाई बयानका लागि बोलाउने, माफी मगाउन लगाउने, सम्पादन गर्न लगाउने र कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सक्छ ।

    गत साता उक्त सोमा प्रस्तोताले सोधेको प्रश्न र नायिकाले दिएका जवाफ कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकुल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ ।

    काउन्सिलको पत्रमा उक्त सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लवज समेतमा प्रश्न उठाएको छ ।

    पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? भन्दै २४ घण्टाभित्र जवाफ माग गरिएको छ ।

    काउन्सिलले पछिल्लो समयमा युट्युब, अनलाइन र विभिन्न मिडियामा आचारसंहिता विपरीत देखिने सामाग्रीलाई तत्काल हटाउने र अटेर गरे कालोसूचीमा राख्ने कामलाई तीव्रता दिइरहेको छ ।

  • शिव परियारको स्वरमा र सीता अर्यालको शब्दमा ‘हेर्न मन लाग्दै रैछ’ सार्वजनिक

    शिव परियारको स्वरमा र सीता अर्यालको शब्दमा ‘हेर्न मन लाग्दै रैछ’ सार्वजनिक

    काठमाडौं । गायक शिव परियारले स्वर दिएको तथा गीतकार सीता अर्यालले शब्द दिएको गीत ‘हेर्न मन लाग्दो रैछ’ सार्वजनिक भएको छ ।

    आज ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा सुनिल मास्केले संगीत भरेका छन् भने सुमन अधिकारी तथा युनिस अर्यालले अभियन गरेका छन् ।

    सुमन अधिकारीको निर्देशन र सम्यक अधिकारीको सह–निर्देशनमा गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

    भिडियोमा सुमन अधिकारी र युनिस अर्यालले अभिनय गरेका छन् ।

    नवराज उप्रेतीले खिचेको गीतको भिडियो शौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।

  • जेरी-२ बाट हटाइएकोमा आना शर्माको असन्तुष्टि, भनिन्- मेरो मन चिरिएको छ

    जेरी-२ बाट हटाइएकोमा आना शर्माको असन्तुष्टि, भनिन्- मेरो मन चिरिएको छ

    काठमाडौं । अभिनेत्री आना शर्माले जेरी अन टपबाट आफूलाई बिना जानकारी हटाइएको भन्दै असन्तुष्टि पोखेकी छन् । आफ्नो विषयमा गलत प्रचार गरेर भ्रम फैलाइएको पनि उनको गुनासो छ ।

    आनाको भनाइअनुसार फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि उनले आफूलाई सन्चो नभएको भनेर निर्माण टीमलाई जानकारी गराएकी थिइन् । तर, त्यही दिनको उनको ठाउँमा अरू कसैलाई अनुबन्ध गरिएको जानकारी उनले पाइन् ।

    उनी लेख्छिन्, ‘फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखेँ । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।’

    ‘मैले व्यावसायिक उत्तरदायित्व ननिभाएको भए महिनौँदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौँ न’ भनिरहँदा उनीहरूले किन पटक-पटक आलटाल गरिरहे ? सम्झौता नगरीकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे ?’

    यो फिल्मलाई लिएर आफू एकदमै उत्साहित रहेको आनाले बताएकी छिन् ।

    ‘योसँग मेरो भावनात्मक मूल्य गाँसिएको थियो । मलाई लाग्छ- यसबारे तपाईँहरू धेरैलाई थाहा छ । त्यसैले फिल्म टोलीप्रति मेरो भरोसा थियो । त्यही भरोसाको आडमा म झन्डै २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ । मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन् । मैले सुनिरहेकी छु ।’ उनले लेखेकी छन् ।

    उनको थप भनाइ छ:

    ‘लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ । कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौँसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?

    यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन् । मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्व सूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो ।

    यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।

  • ‘माइली’ मा प्रियंका अनुबन्धित

    ‘माइली’ मा प्रियंका अनुबन्धित

    काठमाडौं । रुना इन्टरटेनमेन्टसको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।

    निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए ।

    ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

    असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’ को गीत र पटकथा, सम्वाद तथा राजेन्द्र बजगाईँको संगीत रहनेछ ।

  • शान्तिश्री परियार र रायन बस्यालको स्वरमा ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

    शान्तिश्री परियार र रायन बस्यालको स्वरमा ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

    (भिडियो) काठमाडौं । चर्चित लोक तथा दोहोरी गायीका शान्तिश्री परियार र गायक तथा मोडल रायन बस्यालको स्वरमा रहेको ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  सुर्यकुमार परियारको शब्द तथा रायन बस्यालकै म्यूजिक रहेको गीतको एरेञ्ज विस्वास नेपालले गरेका हुन् ।

    रियान बस्यालकै निर्देशन तथा कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा अभिनय तथा नृत्य रायन बस्याल, सञ्चिता बोलाखे र सिबु पाण्डेको रहेको छ । अर्जुन खड्का, नारायण राई र आशा केसीले समूह गायनमा स्वर दिएको म्यूजिक भिडियो रायन बस्याल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

  • दयाहाङ स्टारर चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक

    दयाहाङ स्टारर चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक

    काठमाडौं। असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    एक युवाले बिहेको लागि गर्ने संघर्षको वरिपरि चलचित्रको कथा घुमेको छ । सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमाप्रति कौतुहलता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ ।

    मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित चलचित्रलाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए ।

    ५ वर्ष लामो रिसर्च पश्चात् सिनेमा निर्माण गरेकाले पनि टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएको निर्माता घर्ती मगरको दाबी छ ।

    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

    चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

  • स्वरुपाको ‘मनमा तिम्रो’ मा वियोगान्त प्रेम कथा

    स्वरुपाको ‘मनमा तिम्रो’ मा वियोगान्त प्रेम कथा

    काठमाडौं । स्वरुपा सुवालको स्वरमा पप शैलीको ‘मनमा तिम्रो’ बोलको गीतको भिडिओ बजारमा आएको छ । प्रेममा धोका पाएकी एक प्रेमिकाको कथालाई टिपेर निर्देशक सुब्रत आचार्यले भिडिओ निर्देशन गरेका हुन् ।

    जसमा गायिका स्वरुपाकै शब्द, संगीत तथा अभिनय रहेको छ । अभिनयमा स्वरुपालाई मोडल विकास लामिछानेले साथ दिएका छन् । विकास धोकेबाज प्रेमीका रूपमा देखा परेका छन् भने स्वरुपाले उनलाई छाडेर आफ्नो बाटो लागेको वियोगान्त प्रेम कथालाई देखाइएको छ ।

    पोखरामा छायांकन गरिएको उक्त भिडिओमा मनमा सजाएको मान्छेविना पनि जीवन एक सम्भावना हो भन्ने कुरालाई देखाउन खोजिएको गायिका स्वरुपा बताउँछिन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालको छ । जसको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् ।

  • ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

    ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

    काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

    वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ। पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ ।

    त्रिकोणात्मक कथा बोकेको चलचित्रको पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।

    यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो ।

    नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ। यस पोस्टरमा चलचित्रको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ ।

    चलचित्रमा पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्। भारतको मुम्बईबाट डिजिटल पेन्टिङको शिक्षा लिई नेपाल फर्केका उनले यसअघि ‘जात्रा’, ‘चिसो मान्छे’, ‘महापुरुष’, ‘महाजात्रा’, ‘प्रकाश, ‘पुजार सार्की’ जस्ता चलचित्रहरूका लागी पोस्टर डिजाइन गरिसकेका छन्।

    पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए।

    यस चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। चलचित्रमा दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

    चलचित्रका गीतहरूमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ।

    चलचित्रमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्सन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।

    ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

  • सपना, समीप र मनिसको अभिनयमा ‘मेरो मान्छे’ सार्वजनिक

    सपना, समीप र मनिसको अभिनयमा ‘मेरो मान्छे’ सार्वजनिक

    काठमाडौं । एकोहोरो प्रेमले निम्ताएको द्वेषमा आधारित कथावस्तु रहेको ‘मेरो मान्छे’म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    गत शुक्रबार सुवास  चन्द्र ढु‌ंगेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे।

    यस म्युजिक भिडियोमा समीप निरौला, सपना जनक र मनिश प्रितमको बेजोड अभिनय देख्न सकिन्छ। बहुचर्चित गायक शिव परियारको स्वर, वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको शब्द रचना र संकेत अगस्तीको संगीतमा सजिएको उक्त गीतको संगीत संयोजन विशाल निरौला र ध्वनी मिश्रण महेश्वरमान राजभण्डारीको रहेको छ।

    दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको शृंगार, समीप निरौलाको कथा, संवाद तथा सम्पादन, टेकेन्द्र शाहको कलर, सुवास शाहको प्रमुख सहायक निर्देशन ,साक्षी-श्रेयको सहायक निर्देशन र सुनिता ढुंगेलको निर्माण रहेको ‘मेरो मान्छे’ मा  एकल प्रेमको पीडा र त्यसले निम्ताएको द्वेषलाइ देख्न सक्छौं।

  • उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, रक्सी खाएर झगडा गरेको आरोप (भिडिओ)

    उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, रक्सी खाएर झगडा गरेको आरोप (भिडिओ)

    काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएका छन् । दुबईमा सांगीतिक कार्यक्रमका लागि हिँडेका राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ । उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा जान लागेका थिए ।

    बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।

    जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

  • आस्था राउतको प्रश्न- जवाफ दिन नसके लुगा खोल्नुपर्ने कस्तो फन्डा हो ?

    आस्था राउतको प्रश्न- जवाफ दिन नसके लुगा खोल्नुपर्ने कस्तो फन्डा हो ?

    काठमाडौं । गायिका आस्था राउतले कान्तिपुर टिभीको कार्यक्रम ‘इट्स माइ शो’को फर्म्याटलाई लिएर उदेक व्यक्त गरेकी छन् । जवाफ दिन नसके कपडा खोल्नेपर्ने प्रावधानमाथि उनको प्रश्न छ ।

    राउतले फेसबुकमा कटाक्ष गर्दै लेखेकी छन्, ‘जवाफ दिन नसके कपडा खोल्नुपर्ने के फण्डा हो यो ? हा… हा… लुगा जबरजस्ती त तान्दैन होला नि ? कस्तो नयाँ फर्म्याट सिर्जना गर्या हो यो शो ले ?’

    अन्तरवार्ताहरूमा कसैको निजी जीवनसँग सम्बन्धित प्रश्न भएमा जवाफ थाहा नै भए पनि उत्तर दिनै पर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।

    ‘कन्ट्रोभर्सी नआउने किसिमले कूटनीतिक जवाफ दिन पनि सकिन्छ । सकेसम्म जवाफ दिन हतार नगरेको राम्रो । सोचेर गर्नु जे गर्नु’, आस्थाले लेखेकी छन् ।