Category: कलाप्रेस

  • छिन्नलता गीत पुरस्कारबाट ८ श्रष्टा सम्मानित

    छिन्नलता गीत पुरस्कारबाट ८ श्रष्टा सम्मानित

    काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले विभिन्न स्रष्टालाई छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरेको छ ।

    वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १०२औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्रष्टालाई छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरेका हुन् ।

    सो क्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे । यसैगरी २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने बताए । कला, संस्कृति, सङ्गीत, गायन, नृत्य लगायतका विधालाई निरन्तरता दिने सन्दर्भमा छिन्नलताको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ । गुठीले हरेक वर्ष नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

  • अमरदीप सुनुवारको  तीज गीत ‘गाउँदेखि शहर’, प्रियंका काकीसँगै नाँच्ने रहर

    अमरदीप सुनुवारको तीज गीत ‘गाउँदेखि शहर’, प्रियंका काकीसँगै नाँच्ने रहर

    काठमाडौं । कविता र गीती लेखनमा जम्न थालेका नेपाल सरकारका उपसचिव अमरदीप सुनुवार यसपटक तीज गीत लिएर आएका छन् ।

    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत सुनुवारले लेखेको ‘गाउँदेखि शहर’ तीज गीत मंगलवारदेखि ओएसआर युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

    गाउँघरका ढिकी जाँताको कुरादेखि मेलापात र शहरी जीवनको समेत मिश्रण गरिएको यो तीज गितमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छन् । मन्मा बी राईको स्वर र अशोक मुकारुङको संगीत रहेको यो तीज गितको निर्देशन जिबी आग्रीले गरेका छन् ।

    यो वर्षको उत्कृष्ट तीज गितका रुपमा ‘गाउँदेखि शहर’ स्थापित हुने आशा निर्माताले व्यक्त गरेका छन् । तीज नृत्यका लागि उपयोगी हुनेगरी एरेन्ज गरिएको संगीतकारले बताएका छन् । गीत रिलिज भएको १६ घण्टाभित्रै ३८ हजारले हेरिसकेका छन् ।

     

  • ‘खुस्मा’ सिनेमाको पहिलो गीत सार्वजनिक (भिडिओ)

    ‘खुस्मा’ सिनेमाको पहिलो गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । ‘खुस्मा’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो ।

    एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् ।

    सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडिओमा पूर्वी रुकुमका सुन्दर दृष्यहरु कैद गरिएको छ । यस्तै, गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् ।

    अशोक थापामगर सिनेमाका लेखक–निर्देशक हुन् । यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थापाको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् । सिनेमा असोज ३ गते रिलिज हुनेछ ।

    एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

    मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

    धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

    सिनेमामा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

    भिडिओ

  • बलेले गरे विवाह

    बलेले गरे विवाह

    काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन् ।

    उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् । उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।

    स्नेहा पेशाले नर्स हुन। स्थायी घर झापा, दमक भएपनि उनी यहीँ भक्तपुरमा बस्दै आइरहेकी थिइन् । उनको विवाह पनि आज भक्तपुरस्थित उनको मामाघरबाटै भएको हो। बले बिहान जन्ती लिएर भक्तपुर पुगेका थिए। त्यहाँको प्रक्रिया सकेर चाबहिलस्थित एक पार्टी प्यालेस पुगेका बले र स्नेहाको अहिले स्वयंवर सकिएको छ।
    बले र स्नेहाले मागी विवाह गरेका हुन। विवाहमा धेरै आफन्त र साथीभाइको उपस्थिति छैन। आफ्नो क्षेत्रको साथी कक्रोच (हरिस निरौला) र पाँडे (अर्जुन घिमिरे)  बाहेक बलेले विवाहमा खासै कसैलाई निम्तो दिएका छैनन् ।

     

  • ‘फर्की फर्की’ मा अनमोलको पारिश्रमिक ५० लाख, तिरे ७ लाख ५० हजार कर

    ‘फर्की फर्की’ मा अनमोलको पारिश्रमिक ५० लाख, तिरे ७ लाख ५० हजार कर

    काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘फर्की फर्की’ बाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत ७ लाख ५० हजार कर तिरेका छन्।

    ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिद सार्वजनिक गरेका हुन् ।

    अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।

    अहिलेसम्म कलाकारहरूले जति पारिश्रमिक लिए पनि कति कर बुझाए भन्ने खुलेको थिएन। अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन।

  • देउडा सम्राट नन्दकृष्ण जोशीसहित २० जना प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

    देउडा सम्राट नन्दकृष्ण जोशीसहित २० जना प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

    कैलाली । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले शनिबार एक समारोहकाबीच धनगढीमा स्रष्टाहरूलाई सम्मान एबम् पुरस्कृत गरेको छ।

    २११ औ‌ं आदिकवि भानुजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा देउडा सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको हाे।

    यसैगरि भाषा-साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी -अछामी बड्डो)लाई, ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशीलाई, संगीत तर्फको प्रादेशिक पुरस्कार लीलाधर बास्कोटालाई र देउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।

    सूदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए।

    यसैगरि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानबाट विभिन्न बिधाका १४ स्रष्टालाई सम्मान गरेको छ। सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी,सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी,पुरनसिंह कडायत,रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुका रहेका छन्।

    समारोहमा बोल्दै मुख्यमन्त्री सोडारीले प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारले पहल गरिरहेको बताए। उनले आदिकवि भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दे स्रष्टाहरू राष्ट्रका गहना भएको बताए। प्रदेश भित्रका कलाकार र स्रष्टाहरूलाई खोजीगरि सरकारले उनीहरूलाई सम्मानित गर्दे जाने पनि बताए।

    कार्यक्रममा संस्कृतिमन्त्री माया पन्तले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वको चर्चा गरिन् । मन्त्री पन्तले सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानले प्रदेशको भाषा साहित्य कला र संस्कृतिको उत्थानमा गरिरहेको प्रयास प्रशंसनीय भएको बताइन्।

    सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले एकेडेमीलाई सबैको साझा बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताए।
    उनले प्रतिष्ठानलाई स्वायत्त बनाउन, स्रष्टामुखी ऐन बनाउन र आवश्यक बजेट व्यबस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए।

    एकहजार भन्दा बढीको सहभागिता रहेको समारोहमा थारू लोकनृत्य संस्कृति, डेउडा, ठाडीभाका, तथा शास्त्रीय संगीत एबम् लोकनृत्य प्रस्तुत गरिएको थियो। समारोहमा देउडा गायनका हस्तीहरू नन्दकृष्ण जोशी, रेखा जोशी, गौरी भट्ट, पबित्रा भण्डारी र लालबहादुर धामी अछामी बड्डो लगाएत कलाकारले पनि प्रस्तुति दिएका थिए।

  • ‘पृथ्वीको लोकतन्त्र’को पक्षमा लेखिएको सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण

    ‘पृथ्वीको लोकतन्त्र’को पक्षमा लेखिएको सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण

    काठमाडौं । लेखक सरला गौतमको शब्दमा ‘पृथ्वीको लोकतन्त्र’को लागि लेखिएको उपन्यास ‘अम्रिकाने काशी’ आज लोकर्पण भएको छ ।

    पाटन क्षेत्रमा भावभूमि भएको उपन्यासको लोकार्पण पनि पाटनकै यलमाया केन्द्रमा भएको छ । लोकार्पण समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, लैंगिक अल्पसंख्यक अभियन्ता सुनिलबाबु पन्त तथा लेखक भूषिता वशिष्ठ थिए । पन्त, वशिष्ठ तथा लेखक गौतमले किताब लेखन, किताबको मुद्दाबारेमा छलफल गरेका थिए ।

    छलफलमा उनीहरुले अब मान्छेभन्दा पर पशुपक्षी तथा पृथ्वीको बारेमा पनि मुद्दा बन्नुपर्ने बताए ।

    सरला गौतमबीचको परिसंवादमा समकालीन नेपाली लेखनका फरक विषयमा पुस्तक लेखिनुपर्ने चर्चा भए ।

    भूषिताको चेतनशील कुकुरको कथा लेख्न केले प्रेरित गर्‍यो भन्ने प्रश्नमा लेखक सरलाले भनिन्, ‘जनावर र प्रकृतिको नैसर्गिक लोकतन्त्रमा मानिसहरूले धावा बोलिरहेकाले र कुकुरको चेतनासँग मानवीय कथालाई भन्न सकिने भएकोले यो उपन्यास लेखें । पढ्दा काल्पनिक लागे पनि हामीले देखेर पनि बेवास्ता गरिरहेको हाम्रै समाजको कथा हो यो ।’

    उपन्यास पढिसकेपछि आफूलाई किताबसँग कसरी जोड्नुभयो भन्ने भूषिताको अर्को प्रश्नमा सुनिलबाबु पन्तले भने, ‘म समलिङ्गी भएर संसदसम्म पुगें । समाजका जे-जस्ता फोरमहरूमा आफूलाई उभ्याएँ, त्यस्तै कथा उपन्यासको पात्र काशीको पाएँ । कथामा आफूलाई नै रिलेट गरें । उपन्यास अनिवार्य पठनीय छ ।’

    खस्कँदै गइरहेको मानवीय संवेदना, मासिँदै गइरहेको वातावरण र जीवजन्तुको जीवनप्रति चिन्ताका बारेमा वक्ताहरूबीच बहस भएको थियो ।

    मुस्ताङको लेतेमा जन्मिएको कुकुर काशीले आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुगेर आएको र अधिकार स्थापनाका लागि मानव समाजसँग गरेको सङ्घर्षको कथा उपन्यासमा चित्रण गरिएको छ ।

    १६४ पेजको उपन्यास गौतमको दोस्रो हो । यस अगाडि उनको ‘डुमेरो’ नामको उपन्यास प्रकाशित छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ४९९ रुपैयाँ रहेको छ ।

    किताबबारेमा बोल्दै प्रकाशक भूपेन्द्र खड्काले यो उपन्यास दुई महिना अगाडि नै तय भए पनि विलम्ब भएर प्रकाशन भएको बताए । फरकफरक खालका मुद्दामा उपन्यास प्रकाशन गर्ने क्रममा यो आएको भन्दै उनले अब चाँडै रोबोटिक मुद्दामा पनि उपन्यास आउने नेपाल प्रेसलाई बताए ।

  • दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न, सौगात र सुरक्षा बने उत्कृष्ट अभिनेता-अभिनेत्री

    दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न, सौगात र सुरक्षा बने उत्कृष्ट अभिनेता-अभिनेत्री

    काठमाडौँ। ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा संगीतको २४ विधा र चलचित्रको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको हो।

    पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका वरिस्ट उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाई नगद २५,५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरियो। कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडालाई राष्ट्रिय कलाकारिता सम्मानका साथै साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई सम्मानित गरियो।

    कार्यक्रममा पूर्व-उपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’

    त्यस्तै, कार्यक्रममा गीता अधिकारीलाई नगद ५,१०० सहित पत्रकारिता पुरस्कार र सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरियो।

    अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भिष्मराज फुलारा र मोडल उत्साह घिमिरे रहेका थिए।

    सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने हो । प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको संचालन रघुनाथ सापकोटाले गरेका थिए।

    फिल्म तर्फ ‘दोश्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’को विजेताको सुची-

    १. बेस्ट फिल्म-
    डेसान ( द एपिडेमिक)

    २. बेस्ट फिल्म निर्देशक-
    चलचित्र मन्त्रबाट खिल बहादुर गुरुङ

    ३. बेस्ट अभिनेत्री-
    चलचित्र बहावबाट सुरक्षा पन्त

    ४. बेस्ट सिनेम्याटोग्राफर
    -चलचित्र लाखेबाट सुशन प्रजापति

    ५.बेस्ट स्क्रिनप्ले- चलचित्र डेसान ( द एपिडेमिक) बाट कमल/आरुष जंग

    ६.बेस्ट एडिटर- चलचित्र मन्त्रबाट मित्र डि. गुरुङ

    ७. बेस्ट अभिनेता- चलचित्र मन्त्रबाट सौगात मल्ल

    ८.बेस्ट रास्ट्रीय फिल्म-
    गोर्खा (ब्रिनिथ द ब्रेभरी)

    १०.बेस्ट नेगेटिभ क्यारेक्टर- आर्टिस्ट
    सुगत कारजित

    ११.जुरी अवार्ड कल्चरल मुभी- चलचित्र गणेशबाट सुबाश गुरुङ

    १२.बेस्ट टेलिचलचित्र निर्देशक- दिवाकर भण्डारी (सापटे काका)

  • डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

    डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

    काठमाडौं। गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

    सुवेदीको ‘घाम जस्तो चम्किलो हुँदैन’ बोलको गीत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन भन्ने गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत-संगीतमा उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’

    प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्। उनले भनिन्,’कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रुपमा हामी लागिरहेका छौं । सर्जकका रुपमा डा शिवहरुको भूमिका छ।’

    गीतलाई लिएर गीतकार आनन्द अधिकारीले भने,’शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।’ त्यसैगरी अर्का समिक्षक राजकुमार बगरले पनि डा. सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे। त्यस्तै, समिक्षक बैकुण्ठ महतले गीतकार डा. सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए।

    कार्यक्रममा गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। सार्वजनिक गरिएको गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्।

  • करण परियारको संगीतप्रेमः बुवाले घर चलाउन विदेश पठाउन खोज्नुभयो, संगीत सिकेर यहीँ भविश्य खोजेँ

    करण परियारको संगीतप्रेमः बुवाले घर चलाउन विदेश पठाउन खोज्नुभयो, संगीत सिकेर यहीँ भविश्य खोजेँ

    रुपन्देही । संगीतमा भित्रैबाट रुची भएका बारबर्दिया नगरपालिका वडा नं ४ पदना बर्दियाका १९ वर्षीय करण परियारलाई उनका बुवाले घरखर्च चलाउन विदेश पठाउने योजना सुनाएपछि छटपटि भएको थियो ।

    गीतसंगीतमा भविश्य खोजेका उनले पाँच वर्ष संगीत सिक्न समय मागेर त्यो बीचमा केही गर्न नसके मात्रै विदेश जाने प्रतिवद्धतासहित बुवाको मन जितेर एक वर्षअघि काठमाडाैं गएका थिए ।

    उनै करण केही दिनअघि सम्पन्न नेपाल आइडलको सिजन ५ को विजयी बनेर २५ लाख नगद र ट्रफी हात पारेर चर्चामा छन् । आर्थिक स्रोत बलियो भएको र नियमित आम्दानी भएकालाई २५ लाख सामान्यजस्तै लाग्दा तर १२ कक्षाको परीक्षा दिएर सामान्य पसलमा १४ हजारको मासिक तलबमा काम गरेर बसेका करणको परिवारका लागि त्यो रकम निकै ठूलो र उनको भविश्य निर्धारण गर्ने रहेको छ ।

    बर्दियाको ग्रामीण क्षेत्रबाट पछाडि पारिएको समुदायको सामान्य परिवारमा जन्मेका करण आफ्नै क्षमताले बाजी मारेका हुन् । प्रतियोगिताको सुरुवाती चरणबाटै उनको गलाबाट निस्केको स्वरले सबैको ध्यान तानेको थियो र अन्ततः जित पनि उनकै पक्षमा भयो ।

    बोलीमा चञ्चलता र मिठास, निश्छल स्वभाव, सफा, मधुर गलाले उनका हरेक प्रस्तुतीलाई ओझिलो पारिरहेको थियो । प्रतियोगितामा बाजी मारेपछि सबै क्षेत्रबाट पाएको सहयोगले यहाँ पुगेको उनको विश्लेषण छ ।

    निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिटार उपहार दिँदै संगीतमा भविष्य बनाउन प्रोत्साहन गरेको, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भेटेर बधाई दिँदै हौसला दिएपछि करणको थप चर्चा बढेको छ ।

    करणलाई काठमाण्डौमा एकैपटक यो उपाधि पाउने कुनै सपना पनि थिएन । आफ्नो स्वरले एउटै मञ्चबाट यति धेरै माया पाउला भनेर उनले सोचेकै थिएनन् । ‘नेपाल आइडलमा उपाधि जित्छु भनेर गएकै होइन, गुरुले एकपटक गएर हेर भन्नुभएपछि पुगेको, यहाँसम्म पुगियो’ उनले सुनाए । करणले संगीत सिक्न थालेको नै धेरै भएको छैन । उनी केही समयअघि काठमाडौँमा संगीत सिकिरहेका छन् ।

    गीत गाउन पनि सिक्नुपर्छ भनेर स्कुल पढ्दा नै महशुस भएपनि उपयुक्त स्थान नभेटेको उनले सुनाए । करणले नेपाल आइडलभन्दा पहिला भारतीय गायन रियालिटी सो ‘सारेगमप’ हेरेका थिए ।

    उनले हेरेको सिजनमा नेपालका आयुष केसी र प्रीतम आचार्य सहभागी थिए । उनीहरूले गाएको करणलाई असाध्यै मन पथ्र्यो । करण पनि उनीहरूले जस्तै गाउने प्रयास गरेपनि संगीत नसिकेका कारण तत्काल त्यो संभव थिएन । विद्यालय तहका थुप्रै कार्यक्रममा गायनकला प्रस्तुत गरेका करणको स्वर सबैले मन पराउँथे ।

    करण जन्मेहुर्केको गाउँमा धेरै हिनदी गीत नै गुनगुनाउने गरिन्छ र उनी पनि हिन्दी गीत नै बढी सुन्थे । उनको गाउँ नै पुरै राना थारुको बस्ती भएकोले दैनिकजस्तो चर्को–चर्को आवाजमा माइकबाट हिन्दी गीत बजाइन्थ्यो । हिन्दी गीत सुन्दासुन्दै इन्डिन आइडलमा जाने सोच बनाएपनि तत्काल त्यहाँ पुग्न सकेका थिएनन् ।

    कक्षा १२ को परीक्षा दिएर बसेका करणका बुवाआमा बर्दियाको जयनगरमा कपडा सिलाएर जीवन चलाइरहेछन् । करण परिवारमा जेठो सन्तान हुन् । बैनी कक्षा ९ मा पढ्छिन् भने भाई बल्ल एलकेजीमा । हजुरबुवा र हजुरआमा पनि सँगै रहेको उनको परिवारको मुख्य स्रोत नै बुवाआमाको सिलाई व्यवसाय हो ।

    संगीतमै भविश्य देखेका करण अब काठमाडाैं बसेर उच्च शिक्षामा ललितकला पढ्ने योजना बनाएका छन् । ‘मैले धेरै सिक्नु छ, पढ्नु छ, बुवाआमा र परिवारको सपना पूरा गर्नुछ, पढाईसँगै संगीतमै करियर बनाउन चाहेको छु, सबैको साथले सफल हुन्छु भन्ने लागेको छ’ उनले भने–‘मेरो यो सफलतामा परिवार, साथीभाई, सबै शुभेच्छुकको साथ छ, म एक्लैले केही गर्न सक्ने होइन ।’

    उनले यो प्रगतिको प्रेरणाको स्रोत नै परिवार र साथीभाई रहेको सुनाए । उनले सबैभन्दा धेरै स्कुलमा हुने कार्यक्रममा बोलाएको सम्झन्छन् । सरले स्कुलमा र बुवाले घरमा स्वर राम्रो भएको धेरैपटक बताएपछि उनलाई अघि बढ्न प्रेरणा बढेको हो । अनि सपना पनि त्यही देखेको हुँ । उनका बुवाले गायक, डाक्टर र निर्देशक बन्ने चाहना राखेपनि एकमात्र पूरा भएको उनी बताउँछन् ।

    ‘सबैको प्रेरणा छ नि, म संगीत सिक्छु, गीत गाउँछु भन्दा बुवाले गीत गाएर मात्रै हुँदैन, सीप पनि सिक्नुपर्छ, लुगा सिलाउन सिक, गीत पनि गाउलास् भन्नुभयो’ उनले भने–‘बुवाआमासँगै कलमा बसेर धागो काट्ने, टाँक हाल्ने काममा सघाएँ । तर लुगा सिलाउन सिकेन, सिकेको भए जानेको काम गर्नुपथ्र्यो,संगीत पछि पर्नसक्थ्यो ।’

    करणको चाहनापछि बुवासँगै काठमाडौँ आएर केही समयसँगै बसेर बुवा गाउँ फर्किएका थिए । बुवा गएपछिका उनलाई साथ दिने साथी हुन् रोहित । रोहितलाई उनी आफ्नो संगीत पार्टनर सम्झन्छन् । रोहितले काम खोजिदिए र अभावमा आफ्नो घरमा लगेर राखेको उनले बताउँछन् ।

    २०८० को असारमा काम गर्दै भोकल सिक्न काठमाडौं गएका करण बुवा फर्किएपछि जोरपाटीको एक संगीत विद्यालयमा सिक्दै कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा काम गर्न थालेका थिए । मासिक १४ हजार तलबमा काम गरे पनि करणको ध्यान भने पुरै गीतसंगीतमा हुन्थ्यो । संगीत सिकेको केही महिनामै गुरुको सल्लाहअनुसार नेपाल आइडलमा सहभागिता जनाएपछि आफ्नो सांगीतिक यात्रा नै फेरिएको उनको बुझाइ छ ।

    उनी स्कुल, टोल–छिमेकका कार्यक्रममा गाउँथे । बाटातिरै कसैले गाउन आग्रह गरे पनि खुसी हुँदै गाउन थालेपछि उनी लोकप्रिय बन्दै गएका थिए ।संगीत सिक्दा सात महिना त करणले हरेक दिन बिहान चार बजे उठेर खाना बनाए काममा जाने र फर्किएर खाना खान्थे अनि पुनः सिक्न जान्थे ।

    यो आइडलको यात्रा सुरुवात मात्रै भएको र धेरै सिक्न बाँकी रहेको उनी बताउँछन् । आफूले पुरस्कार राशिबाट पाएको रकम बुवालाई ऋण तिर्न दिएको उनी बताउँछन् । अघिल्लो वर्ष एक कट्ठा जमिन किनेको ऋण आइडल भएर जितेको रकमले तिर्न पाएको उनले बताए ।

  • बक्सअफिसमा ‘घरज्वाइँ’को सुखद् सुरुवात

    बक्सअफिसमा ‘घरज्वाइँ’को सुखद् सुरुवात

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले बक्सअफिसमा सुखद् सुरुवात गरेको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए ।

    सिनेमाका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

    शुक्रबार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले सिनेमाको शोमा बढोत्तरी समेत गरेका छन् ।

    सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमलाई छ । निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए । हामीले विभिन्न हलमा अनलाई टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्थ्यो । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणीत हुन्छ ।

    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

    सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।

  • जन्मदिनमा खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार

    जन्मदिनमा खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार

    काठमाडौं । नायक खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । शुक्रबार खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः घर नम्बर २’मा निर्माणपक्षले अनुवन्धित गरेको हो ।

    दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माणपक्षले अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो ।

    फिल्ममा काम गर्ने पक्का भएपछि खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे ।

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरु एकपछि अर्को रुपमा फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ ।

    यो फिल्ममा चर्चित लेखक बुद्धिसागरको लेखन छ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।

    यस्तै, फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।

  • ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

    ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

    काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रमा कुसुमले अभिनय गर्न लागेकी हुन् ।

    मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन् । कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि यस चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

    निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन। ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

    असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

  • चलचित्र ‘मोदीबेनी’ को ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

    चलचित्र ‘मोदीबेनी’ को ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

    काठमाडौं। श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ।

    यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब सर्टमा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु

    #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र ‘मोदीबेनी’को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ।

    रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोलाप्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन्।

    रिल बनाउँदा चलचित्रको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ।

  • भ्रष्टाचार विरुद्धको गीत पुरस्कार शिशिर याेगीकाे ‘जनतालाई रुवायो’लाई प्रदान गरिने

    भ्रष्टाचार विरुद्धको गीत पुरस्कार शिशिर याेगीकाे ‘जनतालाई रुवायो’लाई प्रदान गरिने

    काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ को लागि आयोजित भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि ‘जनतालाई रुवायो’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले पत्रमार्फत जानकारी दिएका छन् ।

    अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसनले सो पुरस्कारको स्थापना गरेको हो ।

    सर्जक एवं वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं संगीतकार शिशिर योगीको संगीत तथा स्वरमा रहेको ‘जनतालाई रुवायो’ गीत छनौटको लागि वरिष्ठ संगीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा सो गीतलाई पुरस्कार प्रदान गरिने भएको हो ।

    वि. स. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत रेकर्ड यसअघि भइसकेका छन् भने मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् ।

    स्वतन्त्र सेनानी थपलियाले यसअघि प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार र भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्ड समेत पाइसकेका छन् ।

    यसैगरी, वि. स. २०२७ फागुन २६ गते दाङको देउखुरी, लमही ६ मा जन्मिनु भएका संगीतकार योगीको पहिचान, सुस्केरा, जम्काभेट, आकर्षण, मोडमोडमा लगायत गीति एल्बमसहित ५०० गीतहरु रेकर्डिङ भइसकेको छ । जसमध्ये योगीको १ दर्जनबढी भ्रष्टाचार विरुद्धका गीतहरु रहेका छन् ।

    संगीतकार योगी छिन्नलता गीत पुरस्कार, नारायण गोपाल युवा संगीत पुरस्कार, रमेश विकल सम्मान लगायतबाट सम्मानित भइसकेका छन् ।

    यसअघि पनि एक लाखको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१’को उत्कृष्ट पच्चीस घोषणा भइसकेको छ ।

    प्रतिष्ठानले दुई लाख राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने गरेको छ ।

    यस्तै, प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नवर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी, प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

    पुरस्कार निकट भविष्यमै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष लेकालीले जानकारी दिएका छन् ।

  • गुन्यो चोलो (गुलाबी) मा नाजिर हुसेनको ट्रान्सवुमन लुक्स, चलचित्र कार्तिक ९ मा रिलिज

    गुन्यो चोलो (गुलाबी) मा नाजिर हुसेनको ट्रान्सवुमन लुक्स, चलचित्र कार्तिक ९ मा रिलिज

    काठमाडौं। अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र गुन्यो चोलो – कमिङ अफ अ्याज अफ अ गर्लु उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात् अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।

    बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरको लुक्सले नै चलचित्रको कथावस्तु बोल्छ।

    सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रका लागी कडा मेहेनत गरेका छन्। नाजिरले ‘गुन्यो चोलो’ उर्फ ‘गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

    पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन्। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा कहीँ कतै चोटको निशान छ।

    उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै शृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

    यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाइ थप्नेमा भट्ट विश्वस्त छिन।

    अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्टु र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ।

    चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

    चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम जस्तै एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

    नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।

    आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना र विजय बस्यालको प्रोड्क्सन डिजाईन रहेको छ । चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा छन् भने राम भण्डारी चलचित्रका क्रिएटिभ हेड हुन ।

  • रुद्रनाथ अधिकारीको ‘यसपालिको तीज’ मा शान्तीश्रीको स्वर, अञ्जलीको अभिनय

    रुद्रनाथ अधिकारीको ‘यसपालिको तीज’ मा शान्तीश्रीको स्वर, अञ्जलीको अभिनय

    काठमाडौं । गायिका शान्तीश्री परियारको स्वर रहेको ‘यसपालिको तीज’ मा बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । हिन्दू नेपालीको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मौलिक शब्द समावेश छन् ।

    गाउँघरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान् शिवलाई यस विशेष पर्वमा खुशी पार्ने र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकारले वर्णन गरेका छन् ।

    गीतलाई रिमेशकुमार थापाले संगीत भरेका छन् । तीजको गीतमा बढ्दो विकृतिलाई रोक्न यो गीतले मौलिक विषय उठाइएको निर्माण टीमले जनाएको छ ।

    कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको तीज गीतमा अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । भिडिओ छायांकन उत्सव दाहाल तथा सम्पादन विकास ज्ञवालीले गरेका छन् । ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट गीत बजारमा आएको हो ।

  • ‘घरज्वाइँ’ प्रिमियरमा मगर संस्कृतिको चर्चा, दायाहाङ र मिरुनाको अभिनयको तारिफ

    ‘घरज्वाइँ’ प्रिमियरमा मगर संस्कृतिको चर्चा, दायाहाङ र मिरुनाको अभिनयको तारिफ

    काठमाडौं । आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो ।

    प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतका सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले यो सिनेमाले मगर सम्प्रदायको विषयबस्तु उठान गरेको बताइन् ।

    उनले भनिन्, ‘त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं ।पूर्वको मगर चाहीँ एकदमै चाँडो शिक्षित भएर सभ्य हुँदै गएको देखिन्छ । जस्तो मेरो दाई पढेको मान्छे हुनुहुन्थ्यो । जसलाई मामाको छोरी बिहे गर्न भन्दा म मामाको छोरी बिहे गर्दिन् भन्नु भएको थियो । उहाँलाई थाहा थियो कि मामाको छोरी बैनी हो । यस्ता टिपिकल कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।’

    अभिनेत्री उपासना सिंह ठकुरीले पनि सिनेमा निकै मन परेको बताइन् ।

    यो सिनेमाको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो सिनेमाले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो ।उनले  भनिन् ।

    यसले गर्दा सिनेमाले आफुलाई छोएको उपासनाले बताउँछिन् । अभिनेता कुन्साङ बम्जनले पनि सिनेमाको कथावस्तु र प्रस्तुती निकै मन परेको बताए ।

    सिनेमाका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ वर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए ।

    ‘‘घरज्वाइँ’ मगर कल्चर हो । कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । त्यसैले पनि यो सिनेमा सवैले हेरेर सहयोग गर्नु हुन्छ भन्नेमा विश्वस्त छु ।’ उनले भने ।

    अभिनेत्री मिरुना मगरले पनि ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिने क्रमममा भनिनन्,’ हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के–के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो । तर, यो सिनेमामा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइन् । त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढि रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाए । त्यसैले सम्पुर्ण नेपाली सिनेमाका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो सिनेमा हेर्न जरुरी छ ।’

    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।

    सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

  • ‘मोदीबेनी’को गीत ‘मञ्जुरी’ सार्वजनिक, रोमान्टिक देखिए वर्षा र अमर

    ‘मोदीबेनी’को गीत ‘मञ्जुरी’ सार्वजनिक, रोमान्टिक देखिए वर्षा र अमर

    काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मञ्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

    ‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरणदेखिको यात्रालाई चर्चा गरेको छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् । राम अविरल बिस्टले शब्द रचना गरेका छन् । सङ्गीत निर्माता भने रिकेश गुरुङ हुन् ।

    अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमरप्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने । सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन् । गीतलाई उत्सव दाहालले छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन्।

    कार्यक्रममा नवअभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामै सशक्त टीमसँग काम गर्न पाउँदा खुसी लागेको बताए ।

    अमरले भने, ‘पहिलो फिल्ममै किरण थापा जस्तो कोरियोग्राफर र वर्षा सिवाकोटी जस्तो अनुभवी नायिका पाउनु मेरो अहोभाग्य हो ।’

    अभिनेत्री सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन् । आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन् ।

    वर्षाले यस चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन् । चलचित्रको बारेमा बोल्दै उनले भनिन्, ‘चलचित्रले हाम्रै कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।’

    त्यस्तै अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भने जस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए ।

    शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रका निर्माता दिलीप केसी र हरि श्रेष्ठ, डीओपी उत्सव दाहाल हुन् । चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम, स्नेहा भट्टराईलगायतको पनि अभिनय रहेको छ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको यथार्थ घटना पस्किन्छ । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

  • निसासिएको समयको कथा : नाटक पूर्णविराम

    निसासिएको समयको कथा : नाटक पूर्णविराम

    काठमाडौं । ‘आखिर कसले अँठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,
    फटफटाउँदै छटपटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ?
    कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधीनमा छ, ब्रम्हाण्डको आयु ?’

    मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो बेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदीर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् ।

    ‘दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व
    भयभीत, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू
    ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि ।
    मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानिकारक छ ।’

    वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा बिरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् ।

    वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरू मरुभूमिमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरू सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको ।

    काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक सुरज पराजुली हुन् । बढ्दो सहरीकरण र वातावरण विनाशले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् ।

    उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सही शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मन पराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।’

    उनले त्यही छट्पट नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरू लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे ।

    नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफूलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आइरहेका छौँ ।

    जानेर या नजानेर भावी पीढीलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

    नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।

    नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ ।

    राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् ।

    जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्न समेत गा¥हो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनाश गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो ।

    नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिवार १ बजेपनि रहनेछ ।