Category: कलाप्रेस

  • पल र बेनिशाको ‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

    पल र बेनिशाको ‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

    काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । यसैले, उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

    यो फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ ।

    सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।

    नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

    सार्वजनिक तीन पोस्टरबाट पल र बेनिशाले यसअघि काम नगरेको भूमिकामा काम गर्दैछन् भन्ने प्रष्ट हुन्छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

    यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

  • युरोप यात्रामा विष्णु खत्री, स्पेनमा प्रवासीहरूलाई नचाए

    युरोप यात्रामा विष्णु खत्री, स्पेनमा प्रवासीहरूलाई नचाए

    स्पेन । लोक गायक विष्णु खत्री अहिले युरोप यात्रामा छन् । स्पेनको कोष्टाव्लाङ्का निवासी नेपालीहरूले खाबियाको विन्दिया रेष्टुरेन्टमा आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले लोक गीतमा प्रवासीहरूलाई नचाएका हुन् ।

    गायक खत्रीले मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई, दुना टपरी, घर त बागलुङ गलकोट तिर हो, सालैजो भाका लगायतका दर्जनौँ गीत गाएका थिए ।

    नेपाली जन प्रगतिशील मञ्च युरोपका सदस्य केशर बहादुर थापाले गायक खत्रीका गीतहरूमा देश(परदेशका दुख सुख समेटेर जीवन्त बनेको बताए ।

    ‘उहाँका गीतहरू कहिल्यै पुराना हुँदैनन्, सधैँ नयाँ जस्तै लाग्छन्’, उनले भने, ‘लोक संस्कृति जगेर्ना गर्न जीवन्त गीतहरूलाई प्राथमिकता दिएर कलाकारलाई प्रोत्साहन गर्नुपर्छ ।’

    नेपाली जन प्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलले स्पेनका नेपालीहरूले नेपाल सम्झाउने गतिविधि गर्दै आइरहेको बताए ।

    ‘पर्यटन प्रवर्द्धन, कलाकारको प्रोत्साहन गर्न एकजुट हुँदै आएका छौँ’, उनले भने, ‘गायक विष्णु खत्रीका गीत प्रत्यक्ष सुनेर रमाएका छौँ ।’

    नेपाली जन प्रगतिशील मञ्च कोष्टाव्लाङ्काका अध्यक्ष बालकुमार बुढाले परदेशमा रहेका नेपालीले नेपाली लोक, संस्कृति जोगाउन बेलाबखत सांगीतिक कार्यक्रम गर्दै आइरहेको बताए ।

    ‘परदेशमा रहे पनि नेपाली भाकाहरू भुलेका छैनौँ’, उनले भने, ‘अग्रज गायक खत्रीको सांगीतिक कार्यक्रमले नेपालीहरूलाई ऊर्जा थपेको छ ।’

    गायक खत्रीलाई कोष्टाव्लाङ्कामा रहेका विभिन्न नेपाली संगठनहरुले सम्मान गरेका थिए । खत्रीले यही अगष्ट १ (साउन १७)मा बार्सिलोनामा सांगीतिक प्रस्तुति दिँदैछन् ।

    अगष्ट ३ मा पोर्चुगलको जम्बुजिरा, अगष्ट ५ मा बेल्जियम लुवेनमा पुग्नेछन् । पोर्चुगल, माल्टा, फिनल्यान्डका केही सांगीतिक कार्यक्रम गरिसकेका छन् ।

  • कोटिहोममा पुगेर कृष्ण कँडेलसँग नाचे पल शाह, एक लाख दान गरेर हिँडे

    कोटिहोममा पुगेर कृष्ण कँडेलसँग नाचे पल शाह, एक लाख दान गरेर हिँडे

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ । सोमबार अभिनेता पल शाह आफ्नी आमा लिएर कोटिहोममा पुगे ।

    कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन् । उनले मञ्चबाट सम्बोधन गर्नुका साथै नाचगान गर्दै रमाइलो गरे । शाहलाई इन्द्रेणीका कृष्ण कँडेलले नाच्न साथ दिएका थिए ।

    पल शाहले कोटिहोममा भारी रकम दान पनि गरेका छन् । उद्घोषकले बताएअनुसार उनले १ लाख एक हजार १११ रुपैयाँ बुझाएका हुन् । उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइयो । उक्त दानपश्चात उद्घोषकले पनि पल शाहको गुणगान गाउन कुनै कसर बाँकी राखेनन् ।

    कार्यक्रममा इन्द्रेणीका सञ्चालक कँडेलले पनि लामै स्पिच दिए । उनले इन्द्रेणी हेर्नेहरुले हात उठाउनुस् भन्दै आफ्नो कार्यक्रमको प्रचार गर्न पनि भ्याए ।

    देवी प्रतिभाको बचाउमा पनि उत्रिए कँडेल । नेपालकी छोरी प्रतिभाले ठूलो रकम लगेको भनेर दुष्प्रचार गरिएको उनले बताए ।

    ‘मैले हिजोअस्ति कहाँ कहाँ सुनेँ, देवी प्रतिभाले यति पैसा लैजाने, यसो गर्ने, उसो गर्ने भनेर । यही नेपालको काभ्रेमा जन्मेकी छोरी, सबैभन्दा बढी पहिरो जाने सिन्धुपाल्चोकको छिमेकी जिल्ला, सबैभन्दा विपन्न ठाउँको मान्छेले यत्रो पैसा लैजानुहोला त ?’ उनले भनिन् ।

    आजै कोटिहोममा अभिनेता निखिल उप्रेतीको पनि उपस्थिति रह्यो । उनले छोटो प्रवचनसमेत दिएका थिए ।

     

  • गण्डकीमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने तमु धिंको चेतावनी, हलहरूलाई पठायो पत्र

    गण्डकीमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने तमु धिंको चेतावनी, हलहरूलाई पठायो पत्र

    काठमाडौं । पोखरास्थित गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले चलचित्र ‘घर ज्वाइँ’मा समावेश रोधिं/रोदि दृश्य नहटाएसम्म अनिश्चितकालका लागि हल बन्द गर्न गण्डकीका हलहरूलाई चेतावनीसहितको पत्र लेखेको छ ।

    संस्थाका अध्यक्ष हुम गुरुङले हलहरूलाई पत्र लेख्दै चलचित्रमा समावेश रोधिं/रोदि शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन।

    पत्रमा लेखिएको छ, ‘चलचित्र घर ज्वाइँले गुरुङ समुदायको रोधिं/रोदि संस्कृति माथि दृश्यांकन गरेको दृश्य विधि र विधानको विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष हो। बारम्बार जानकारी गराउँदा पनि रोधिं संस्कृति माथि न्यायिक निर्णय नगरेको हुनाले सो चलचित्रमा उल्लेखित शब्द संशोधन गरी सम्बन्धित भूगोलकै शब्द नराखेसम्म गण्डकीमा कुनै पनि चलचित्र प्रदर्शन हुन नदिने निर्णय गरेको जानकारी गराउँदछौ।’

    पत्रमा विवादित दृश्य हटाउन निर्मातालाई पटक-पटक सम्पर्क गरे पनि र चलचित्र जाँच पास समितिलाई समेत पत्राचार गर्दा पनि बेवास्ता गरिएको कुरा पनि उल्लेख गरिएको छ ।

    ‘हाम्रो रोदि संस्कृति, हाम्रो लागि महान् छ। यो हाम्रो पहिचान हो। तर चलचित्रमा हाम्रो संस्कृतिलाई छाडा तरिकाले प्रस्तुत गरिएको छ। त्यसैले उक्त दृश्यलाई संशोधन गरी सम्बन्धित भूगोलकै दृश्य राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ बताउँछन्।

  • खगेन्द्र र निश्चलपछि ‘घर नम्बर २’मा आर्यनको प्रवेश

    खगेन्द्र र निश्चलपछि ‘घर नम्बर २’मा आर्यनको प्रवेश

    काठमाडौं । फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । फिल्मको निर्माण पक्ष र आर्यनबीच लिखित सम्झौता भए पनि उनको भूमिकाको बारेमा केही खुलाइएको छैन ।

    दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । फिल्ममा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । निर्माण पक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

    फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ ।सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । फिल्मलाई यही वर्ष रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

  • मिस माल्टा २०२४ सहितको टोली नेपाल भ्रमणमा

    मिस माल्टा २०२४ सहितको टोली नेपाल भ्रमणमा

    काठमाडौं । मिस माल्टा २०२४ सहितको टोली नेपाल भ्रमणमा आएको छ । मिस माल्टा चेरिज स्पिटेरीसहित अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आएका हुन् ।

    नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरू मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ ।

    यस्तै मिस माल्टाको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री लगायतसँग भेटवार्ता गर्ने तय भएको छ ।

    नेपाली कामदारहरूको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको टोलीले गर्न लागेको भ्रमणले माल्टामा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ ।

  • कोभिड महामारीपछि पहिलो पटक अमेरिकाका सात शहरमा गुँजिदै नेपथ्य

    कोभिड महामारीपछि पहिलो पटक अमेरिकाका सात शहरमा गुँजिदै नेपथ्य

    काठमाडौं । नेपालको अग्रणी सांगीतिक समूह नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्य छैटौं पटक आफ्ना गीत सुनाउन अमेरिका जाने भएको हो।

    ब्याण्डले आफ्नो यात्राका क्रममा अमेरिकाको पूर्वदेखि पश्चिम किनारासम्म सात वटा फरक फरक शहरका सांगीतिक प्रस्तुति दिने नेपथ्यको व्यवस्थापक नेपालयका अर्पण शर्माले जानकारी दिए ।

    उनका अनुसार अमेरिकामा रहेका नेपाली भाषीहरुलाई लक्षित सङ्गीत यात्राअन्तर्गत नेपथ्य आगामी साता अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । नेपथ्यको यसपालाको अमेरिका यात्राको संयोजन ‘डीजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।

    नेपालयका अनुसार नेपथ्यले अगस्त ३ तारिखका दिन उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास रहेको कोलोराडोको राजधानी डेनभरमा पहिलो सांगीतिक कार्यक्रम गर्नेछ । डेनभरको ‘बोल्डर थिएटर’मा नेपथ्यले यस वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ । यहाँ नेपथ्यले पहिलो पटक सांगीतिक पाइला टेक्न लागेको शर्माले बताए ।

    दोस्रो प्रस्तुति सान फ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । यसै हलमा ८ वर्षअघि नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ ।

    ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा नेपथ्यले अगस्त १७ तारिखका दिन तेस्रो सांगीतिक प्रस्तुति दिनेछ । यहाँ पनि नेपथ्यले पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुति दिन लागेको हो ।

    चौथो कन्सर्ट टेक्सास राज्यमा रहेको छ। ‘नेपथ्यले ६ वर्षपछि प्रस्तुति दिएको डालासको ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा अगस्त २४ तारिखमा आफुलाई उभ्याउनेछ’, नेपालयका शर्माले भने, ‘त्यसपछि ब्याण्ड अमेरिकामा सबैभन्दा बढी प्रस्तुति दिएको शहर न्युयोर्कमा पुग्नेछ । अघिल्लो पटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यस वर्ष ‘टर्मिनल फाइभ’मा आफ्ना लोकरक धुनहरु पस्कनेछ । त्यहाँ अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुनेछ ।’

    उनका अनुसार न्यूयोर्कपछि नेपथ्य सेप्टेम्बर १ मा मेरिल्याण्ड राज्य पुग्नेछ । ब्याण्डले त्यहाँ लाइभ क्यासिनो होटल मेरिल्याण्डस्थित द हल एट लाइभ मा सांगीतिक प्रस्तुति दिनेछ ।

    नेपथ्यको अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसबर्ग शहर हुने शर्माले बताए । यो शहरमा पनि नेपथ्यले पहिलो पटक सांगीतिक प्रस्तुति दिन लागेको छ । यस शहरको ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ का दिन कन्र्सट आयोजना हुनेछ । करिब १०० वर्षअघि सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यले यो हल तयार पारिएको थियो ।

    नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा पहिलो पटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

    गत वर्षमात्रै क्यानाडामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गरेको नेपथ्यले अमेरिकामा कोभिड महामारीपछि पहिलो यात्रा गर्न लागेको हो ।

    अमेरिकाका सबै कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको नेपथ्यको व्यवस्थापक नेपालयका शर्माले बताए । उनका अनुसार नेपथ्यको अधिकारिक वेबसाइटमार्फत टिकट सुरक्षित गर्न सकिनेछ ।

  • साहित्य साधनाका लागि नेपाल उर्बर भूमि हो : प्रधानमन्त्री ओली

    साहित्य साधनाका लागि नेपाल उर्बर भूमि हो : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला-संस्कृतिका लागि उर्बर भूमि भएको बताएका छन् ।

    लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको शनिबार लोकार्पण गर्दै उनले भने, ‘हाम्रो मुलुक साहित्य साधनाको उर्बर भूमि र ज्ञानको उद्भव स्थल हो । मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’

    प्रधानमन्त्री ओलीले नेपालका घाँस, पात र पतिङ्गर, पँधेरामा पनि आँसु कविता प्रकट हुने वातावरण भएको औंल्याए ।

    उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको बताए ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गरेका थिए ।

    कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए । -रासस

  • सुशिललाई ‘एक्सन स्टार’को ट्याग दिँदै ‘आउटलः दफा २१९’को टिजर रिलिज (भिडिओ)

    सुशिललाई ‘एक्सन स्टार’को ट्याग दिँदै ‘आउटलः दफा २१९’को टिजर रिलिज (भिडिओ)

    काठमाडौं । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको एङ्ग्री एक्सन अवतार देखिएकाे छ ।

    विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

    फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।

    यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

    सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् । टिजरमा सुशिलको इन्ट्री गज्जब छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ ।

    फिल्मको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ । फिल्मको फस्टलुक रिलिज भएसँगै यसको चर्चा पनि चुलिएको छ ।

     

  • ‘सतीदेवी’ को ठुङ मार्ने फोटो प्रतियोगीता, विजेतालाई नगद पुरस्कार

    ‘सतीदेवी’ को ठुङ मार्ने फोटो प्रतियोगीता, विजेतालाई नगद पुरस्कार

    काठमाडौं । प्रदर्शोन्मुख फिल्म ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ ।

    निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आव्हान गरेको हो ।

    फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत,सृजना अधिकारी,सुजीता शिवाकोटी र तीन बालिका कलाकार–हर्षिका वली,मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।

    प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ ।

    त्यसैगरी, @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्याग/मेन्सन गर्नुपर्ने छ ।

    प्राप्त फोटोहरु मध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई रु २०,००० दोश्रोलाई १०,००० र तेश्रो हुनेलाई रु ५,००० नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा कृएसनले जनाएको छ ।

    फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने फोटो प्रतियोगीताको निर्णय ०३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ ।

    फिल्म नारी प्रधान कथामा भएको तथा नारीहरुको महान् पर्व तीज नजिकीरहेकाले उहाँहरुको सम्मानमा यो प्रतियोगीता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बताएका छन् ।

    ‘‘सतीदेवी’ पूर्णरुपले छोरी,नारी प्रधान कथामा छ । त्यसकारण उहाँहरुको सम्मान तथा अधिक सहभागीताका लागि यो प्रतियोगीता गरेका हौ,’ निर्देशक सुवेदीको भनाइ छ ।

    प्रदर्शन पूर्व नै बिभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ ।

    मलिकाका साथमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी,सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजीता शिवाकोटी, मनिषा सापकोटा, बालिका कलाकार हर्षिका वली, मञ्जिला बाँनीयालगायतको अभिनय रहेको फिल्मले सेन्सर तथा बिशेष शोहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

     

  • ‘के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेतको इन्ट्री

    ‘के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेतको इन्ट्री

    काठमाडौं । साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ ।

    फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ ।

    निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।

    फिल्ममा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

    फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।

  • मिस युनिभर्स साओ पाउलो २०२४ को निर्णायक मण्डलमा मिस युनिभर्स नेपालको टिम

    मिस युनिभर्स साओ पाउलो २०२४ को निर्णायक मण्डलमा मिस युनिभर्स नेपालको टिम

    काठमाडौं । मिस युनिभर्स साओ पाउलोको निर्णायक मण्डलमा मिस युनिभर्स नेपालको टिम सहभागि हुने भएको छ । मिस युनिभर्स नेपाल २०२४ को नेसनल डिरेक्टर संगीता पुरी र ग्लोबल ग्ल्यामर भेन्चरको सिइओ एवम प्रेसिडेन्ट सबी पुरी मिस युनिभर्स साओ पाउलो २०२४को फिनालेमा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गर्ने जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको छ । मिस युनिभर्स साओ पाउलो २०२४को प्रिलिमनरी २२ जुलाईमा छ भने ग्रान्ड फिनाले २४जुलाईमा ब्राजिलको साओ पाउलोमा हुँदैछ ।

    मिस युनिभर्स साओ पाउलो एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

    मिस युनिभर्स नेपालको टिमको यस प्रतिनिधित्वले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरू बीच एकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका रहनेछ ।

    यसबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भनिन्, ‘मिस युनिभर्स साओ पाउलो २०२४मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवान्वित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो। मैले यो कार्यक्रमबाट धेरै कुरा सिक्ने छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबै कुरा लागु गर्न उत्साहित छु ।’

    ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ ।

    अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ । प्रारम्भिक चरणको आवेदन छनोट प्रकृयामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

  • चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ रिलिज (भिडिओ)

    चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ रिलिज (भिडिओ)

    काठमाडौं । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ ।

    यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतको भिडियोमा आँचल र विवेक रोमान्टिक बनेका छन् । गीतले दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

    यो फिल्ममा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।

    मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन छ ।

    फिल्म ‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्म भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

    भिडिओ

  • गायक अरुण थापाको २५औं स्मृति दिवसमा वरिष्ठ गायक विष्ट सम्मानित

    गायक अरुण थापाको २५औं स्मृति दिवसमा वरिष्ठ गायक विष्ट सम्मानित

    भक्तपुर । गायक अरुण थापाको २५औं स्मृति दिवसको अवसरमा वरिष्ठ गायक ओमविक्रम विष्ट सम्मानित भएका छन् । भक्तपुर सांगीतिक समाजले गायक अरुण थापाको २५ औं स्मृति दिवस सांगीतिक कार्यक्रमसहित विष्टलाई सम्मान गरेको हो ।

    गायक विष्टले नेपाली पप संगीतमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै अरुण थापा स्मृति सम्मान २०८१ प्रदान गरिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए ।

    मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले वरिष्ठ गायक विष्टलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको कार्यक्रममा गायकगायिकाहरुले स्व. थापाको स्वरमा स्वरांकन गरिएको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन प्रस्तुत गरेका थिए ।

    त्यस्तै कार्यक्रममा कुमारी लिम्बूले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमी हाँसिदिनु’, विजय कायस्थले ‘चोट के हो, व्यथा के हो’, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरिसुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरि दाहालले ‘दोष कसलाइई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमी’ बोलको गीत प्रस्तुत गरेका थिए ।

    मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगै’, रुचि घिमिरेले ‘दुई दिनको’, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’, प्रनिल पलिखेलले ‘भुलेका कथा तीतामीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत प्रस्तुत गर्दै स्वर्गीय गायक थापाप्रति श्रद्वाञ्जली दिएका थिए ।

    त्यस्तै कार्यक्रममा पप गायक ओमविक्रम विष्ष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जसले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, विनोदराज ढुङ्गेलले ‘तारा मारङ बजारकी कान्छी’ र प्रवीण शाहीले ‘आवाज देउ मलाई’ बोलको गीत प्रस्तुत गरेका थिए ।

    समाजले कार्यक्रममा बाल गायक अर्पण विश्वकर्मालाई ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ प्रदान गरेको थियो । गायक विश्वकर्माले ‘नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुति दिएकाले प्रोत्साहनस्वरुप नगद ५ हजारसहित उक्त पुरस्कार वरिष्ठ रचनाकार भूषण खरेलले प्रदान गरेका थिए ।

    त्यस्तै समाजका संस्थापक अध्यक्ष प्रवीण शाहीलाई कदरपत्र प्रदान गरिएको थियो ।

  • गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक (भिडियो)

    गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । गायिका पराजुलीकै आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

    मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा गायिका पराजुलीले नै अभिनय गरेकी छन् ।

    गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् । गायीका पराजुलीका यस अघिको गित ‘चुम्मा चपक्कै’ले २०८०–८१ मा ३ वटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भएको थियो ।

  • नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

    नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । यहीँ श्रावण १८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

    निर्माण टिमले काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक दीपा श्री निरौलाले ‘मोदीबेनी’को सफलताको शुभकामना दिइन्। उनले चलचित्रको टिममा निकै ऊर्जा रहेकोले सफल हुनेमा विश्वास व्यक्त गरिन् ।

    त्यसै गरी, निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री तथा कार्यक्रममा उपस्थित अरू अतिथिहरूले पनि टिमले चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको प्रतिक्रिया दिए ।

    एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटिएको ट्रेलरमा नायिका वर्षा सिवाकोटी र नव–नायक अमर प्रताप श्रेष्ठको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ ।

    ट्रेलरमा वर्षाको प्रेम सँगसँगै रौद्र रूप पनि देखाइएको छ । ट्रेलरमा नायिका रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखिएकी छिन भने अभिनेता सरोज खनाल सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन्। ट्रेलरमा डेब्यु नायक अमर प्रताप श्रेष्ठको एक्सन पनि छ ।

    शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।

    चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ ।

    चलचित्रमा दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

    ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

  • ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज

    ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज

    काठमाडौं । बेहुली फ्रम मेघौली’ सिनेमाको नयाँ गीत रिलिज भएको छ। सिनेमाले ‘उडायो मन’ बोलको गीत रिलिज गरेको हो।

    असोज १७ गते घटस्थापनामा रिलिज हुने सिनेमाको यो गीत जयन जे वाइबाले तयार पारेका हुन् ।

    गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै हो। गीतमा इन्द्रकला राईको स्वर रहेको छ।

    यस्तै गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

    गीतको भिडियोमा सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् ।

    उनका अलावा सिम्रिक खड्का तथा निश्चल बस्नेत फिचर भएका छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।

    सिनेमामा निश्चल र स्वस्तिमाका अलवा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमामा केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यु निर्देशकीय सिनेमा हो ।

    अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

  • ‘सक्किगोनी’ को टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने

    ‘सक्किगोनी’ को टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने

    काठमाडौं। ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको निर्माण घोषणा गरिएको हो ।

    चलचित्रको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हाँस्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । चलचित्रको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा एडी रिलिजसँग कार्यक्रममै सम्झौता गरिएको हो ।

    कुमार कट्टेलको लेखन तथा निर्देशन रहने चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहनेछन। सुदीप बरालको छायांकन रहने चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यसै चलचित्रबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । चलचित्रमा सक्किगोनि टिमबाट को-को कलाकार रहने तथा अन्य कलाकारहरु को-को हुने भन्ने जानकारी विस्तारै सार्वजनिक गरिने निर्माण टिमको भनाई छ।

    यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ । आयोजित कार्यक्रममा चलचित्रको घोषणासंगै कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो ।

  • युट्यूबर उत्सव रसाइलीको आमा बन्ने चाहना, रिमा र इन्दिरासँग गरे यस्तो याचना

    युट्यूबर उत्सव रसाइलीको आमा बन्ने चाहना, रिमा र इन्दिरासँग गरे यस्तो याचना

    काठमाडौं । चर्चित युट्यूबर उत्सव रसाइली आमा बन्न चाहन्छन् । हो तपाईंले ठीक सुन्नु भयो ।

    आफूले चलाउने ‘रमाइलो विथ उत्सव’ नामक कार्यक्रममा नै उनले यस्तो चाहना अभिव्यक्त गरेका हुन् । कार्यक्रमको पछिल्लो एपिसोडमा रियालिटी शो होस्ट रिमा विश्वकर्मा र गायिका इन्दिरा जोशी गेस्ट थिए । उनीहरुसँग कुराकानीका क्रममा रसाइलीले आफू गर्भवती बन्न चाहे पनि शारीरिक कारणले सम्भव नभएको बताए ।

    दुवै गेस्टलाई रसाइलीले ‘आफ्नो शरीरको कुनै अंग सर्जरी गर्नुभएको छ ? भनेर सोधेका थिए । दुवैले नगरेको जवाफ दिए । त्यसपछि अनायाश रिमाले भनिन्, ‘तिमीले त गर्नुपर्ने थियो होला होइन ?’ यति भनेर उनले हाँस्दै मुख छोपिन् । तर, रसाइली गम्भीर भए ।

    उनले भने, ‘म आफ्नो शरीरमा जे जे छ, त्यसमा एकदमै सन्तुष्ट छु र गौरवान्वित छु । म आफ्नो शरीरको कुनै अंग फेर्न चाहन्नँ ।’

    त्यसपछि उनले थपे, ‘मलाई गर्भवती हुन मन छ, तर म हुन्नँ । मलाई आमा बन्न मन त छ तर मेरो पाठेघर छैन नि त । बरु मेरो लागि पाइदिनुस् न तपाईंहरु दुईजना । भाडाको आमा भन्छन् नि, त्यस्तो ।’

    रसाइलीको यस्तो आग्रहबाट रिमा र इन्दिरा दुवै स्तब्ध देखिए । कारण, उनले मजाकमा यस्तो भनिरहेका थिएनन् ।

    इन्दिराले गम्भीर मुद्रामा भनिन्, ‘त्यो इमोसन चैं होला, तर पछि पाएर यसो अनुहार हेर्दा आफैंलाई राख्न मन लाग्छ क्या ।’

    रसाइली भन्छन्, ‘तपाईंहरु दुइजनाले पाइदिए कस्तो राम्रो हुन्थ्यो होला ।’

    इन्दिराले सुझाव दिइन्, ‘तपाईंले गर्न सक्नुहुन्छ नि । तपाईं र तपाईंको पार्टनरले सरोगेसी गराएर यु क्यान ह्याभ चाइल्ड ।’

    रसाइलीले गुनासो गरे, ‘मेरो पार्टनर हुनुपर्यो नि त ।’

    रिमाले सुझाइन्, ‘त्यो पनि डोनर भेटिन्छ आजभोलि ।’

    रसाइली भन्छन्, ‘चालिस कटेपछि गरम्ला ।’

    यो संवाद हँसीमजाक लाग्न सक्छ धेरैलाई । तर खासमा गम्भीर नै हो । किनकी युट्यूबर रसाइली एक तेस्रोलिंगी पुरुष (गे) हुन् । उनले सार्वजनिकरुपमा नै आफू गे भएको स्वीकारोक्ति गरिसकेका छन् ।

    त्यसो त धेरैजसो कलाकारलाई पहिलेदेखि नै थाहा थियो उनी गे हुन् भन्ने । रसाइली पुरुषभन्दा महिला कलाकारहरुसँग धेरै हिमचिम गरिरहेका हुन्छन् । महिला कलाकारले पनि उनलाई केटीकै व्यवहार गर्छन् ।

     

  • यश कुमारको नयाँ गीत ‘हिरो’ रिलिज (भिडिओ)

    यश कुमारको नयाँ गीत ‘हिरो’ रिलिज (भिडिओ)

    काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडिओ सार्वजनिक गरिएको हो ।

    सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् ।

    यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनलको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

    ‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढि रहेकाले पनि आफुलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।

    यो गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानाे गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।