Category: कलाप्रेस

  • प्रधानमन्त्री ओलीलाई नीति शाहले सोधिन्- हजुरको अर्को फिल्म कहिले ?

    प्रधानमन्त्री ओलीलाई नीति शाहले सोधिन्- हजुरको अर्को फिल्म कहिले ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माणका विषयमा छलफल गर्न भन्दै आफ्नो निवास बालुवाटारमा आज बिहान एउटा जमघट राखे । क्रिकेटका सरोकारवालाहरु सहभागी हुनुपर्ने यो जमघटमा अप्रासंगिक रुपले कलाकारहरुको बाहुल्यता थियो ।

    नेपाली क्रिकेटको विषयमा चासो राख्ने सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन दिने कलाकारहरु प्रधानमन्त्रीको पाहुना बन्न पाए । यो सूचीमा थिए- प्रकाश सपूत, केकी अधिकारी, बद्री पंगेनी, रचना रिमाल, नीति शाह, मेरिना मगर, राजाराजेन्द्र पोखरेल आदि ।

    औपचारिक बैठकका साथै प्रधानमन्त्री ओलीले बालुवाटारको प्राङ्गणमा आफ्ना पाहुनाहरुसँग अनौपचारिक गफगाफ पनि गरेका थिए । त्यसक्रममा हाँसोठट्टा पनि चल्यो ।

    नायिका नीति शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिस्काउँदै सोधिन्, ‘हजुरको नेक्स्ट फिल्म अब कहिले आउँछ ?’

    सबै जना गलल हाँसे । प्रधानमन्त्री ओलीले हिजोमात्रै आफू अभिनित फिल्म ‘नमेटिने घाउ’ को डबिङ गरेका थिए । एसिड पीडितहरुको कथामा बनेको यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । यसैलाई लिएर नीतिले जिस्काएकी हुन् ।

    ओलीले जवाफ दिए, ‘रिटायर्ड भएपछि खेलौं कि क्या हो अब हजुरबाको रोलमा ।’

    नीतिले भनिन्, ‘हजुरबा होइन, हिरोकै रोलमा होला । सुपरस्टार ।’ फेरि हाँसो गुञ्जियो ।

    अनौपचारिक कुराकानीका क्रममा ओलीले कीर्तिपुर मैदानमा फ्लडलाइट राख्न कति समय लाग्छ भनेर क्यानका सचिव पारस खड्कालाई सोधेका थिए । खड्काले कम्तीमा १२० दिन लाग्ने बताए ।

    ओलीले भने, ‘१२० दिन लाग्छ है ?’

    खड्काले सरकारले निर्णय गरेअनुसार ३०० दिनभित्र रंगशाला निर्माण पूरा हुन कठिन रहेको संकेत गरे ।

    उनले भने, ‘औपचारिक प्रक्रियाबाट जाँदा त गाह्रो छ । प्रधानमन्त्रीज्यूले निर्देशन दिएर सचिवालय र मन्त्रालयमार्फत समन्वय हुने हो भने ३०० दिनमा ८०-९० प्रतिशत काम हुनसक्छ ।’

  • अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो पाण्डेको ‘को-हजबेन्ड’

    अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो पाण्डेको ‘को-हजबेन्ड’

    काठमाडौं । नेपालको बहुपति प्रथाबारे गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ अमेरिका र क्यानडाका चर्चित क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामाग्रीका रुपमा समावेश गराइने भएको छ ।

    ५६ वर्षअघि (सन् १९६८ मा) अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामाग्रीका रूपमा पठनपाठनमा समावेश गराउन लागेको खबरले खुसी लागेको निर्देशक पाण्डेले बताए ।

    ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा ‘को-हजबेण्ड’ रहनेछ’, उनले भने, ‘नेपालमा बनेको सामाग्री विश्वका चर्चित विश्वविद्यालयका लागि एजुकेशनल रिसोर्सेस हुनु देशका लागि पनि गर्वको कुरा हो ।’

    यसबाहेक को-हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जितिसकेको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को-हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो।

    बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका थिए ।

    निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गरेको सुनाए । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेकै हो । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका छन् । संगीत संयोजन संगीतकार जुगल डंगोलको छ ।

    यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

  • कस्ती छिन् यसपालिकी मिस नेपाल ? हेर्नुहोस् पुराना तस्बिर

    कस्ती छिन् यसपालिकी मिस नेपाल ? हेर्नुहोस् पुराना तस्बिर

    काठमाडौं । यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि काठमाडौँकी आस्माकुमारी केसीले हात पारेकी छन् ।

    शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्राण्ड फिनालेमा २६ जना प्रतियोगीलाई पछि पार्दै आस्मा ‘मिस नेपाल वर्ल्ड २०२४’ को विजेता हुन सफल भएकी हुन। फिनालेमा उनलाई ‘मिस नेपाल वर्ल्ड २०२३’ की विजेता श्रृच्छा प्रधानले ताज पहिराइदिएकी हुन।

    आस्माले मिस नेपाल वर्ल्डको ताज पहिरिँदै गर्दा यता मिस नेपाल अर्थको ताज सुमन केसीले र मिस नेपाल इन्टरनेसनलको ताज भने करुणा रावतले पहिरिएका छन्। तीन जना विजेता प्राप्त गरेसँगै देशले २०२४ को मिस नेपालहरू पाएको छ।

    ५ फिट ५ इन्च अग्ली ‘मिस नेपाल वर्ल्ड २०२४’ आस्मा कुमारी केसी काठमाडौं निवासी हुन् । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट सोसल वर्कमा स्नातक गरेकी आस्मा २६ वर्षकी भइन्। उनले मिस नेपालको टाइटल सँगसँगै ‘बर्जर मिस सिल्क २०२४’ को सब टाइटल पनि हात पारेकी छन्। आस्मा उद्यमी हुन। उनको अनलाइन स्टोर छ।

    हेर्नुहोस् उनको इन्स्टाग्राम पेजबाट हामीले लिएका केही पुराना तस्बिर

  • गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

    गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

    जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

    सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । आर्थिक अभावमा मिर्गौला सम्बन्धी उपचार गराउन नसक्दा काठमाडौंबाट फर्केका उनको निवासमै निधन भएको थियो ।

    गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी गराएका थिए । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएको छ ।

    शास्त्रीय संगीतको क्षेत्रमा गायक कामत देश र विदेशमा चर्चित थिए । राष्ट्रका गहना उनको उपचार अभावमा निधन भएपछि संघ र प्रदेश सरकारको आलोचना भइरहेको छ ।

  • ‘देवी’को टिजर सार्वजनिक

    ‘देवी’को टिजर सार्वजनिक

    काठमाडौं । भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’को टिजर सार्वजनिक गरिएको छ ।

    सिनेमाको सार्वजनिक १ मिनेट ३० सेकेन्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानूनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

    सिनेमाको सार्वजनिक टिजरमा समावेश एक संवादले सिनेमा केही वर्ष अघि सुदूरपश्चिममा घटेको नाबालिग १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ ।

    सिनेमाका प्राय सबै मुख्य कलाकारलाई स्थान दिइएको छ ।

    क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

    ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

    सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

    रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

    जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • आश्मा बनिन् मिस नेपाल २०२४

    आश्मा बनिन् मिस नेपाल २०२४

    काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

    आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

    यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

    तस्विरहरु : उमेश कार्की

  • ‘माग्ने बुढा’का छोरा आशिषले ‘होस्टेल ३’ डेब्यु गर्दै

    ‘माग्ने बुढा’का छोरा आशिषले ‘होस्टेल ३’ डेब्यु गर्दै

    काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए।

    यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे।

    आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्। आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए।

    “यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ। होस्टेलमा बसेर अध्ययन गर्नेहरू मध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ,” निर्देशक कँडेलले बताए।

    यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्। हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्। चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन्।

    इन्टरनेट दुनियाँका चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित छन्। रिहान गिरी गायन रियालिटी शो ुभ्वाइस अफ नेपालुको चौथो संस्करणको टप १० फाइनलिस्ट हुन्। पदम तामाङ भारतको सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्।

    सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। यि कलाकार बाहेक अन्य कलाकारहरू पनि चलचित्रमा अनुबन्ध भइसकेको र उनीहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताए।

    ‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स ’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

    उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। वि।सं। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको‘होस्टेल रिटर्न्स’घरेलु बक्स अफिसमा सफल भएका थिए।

    होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

  • गोविन्द अनेक र शान्तिश्री परियारको नयाँ तीज गीत ‘बरिलै बरिलै’ सार्वजनिक

    गोविन्द अनेक र शान्तिश्री परियारको नयाँ तीज गीत ‘बरिलै बरिलै’ सार्वजनिक

    काठमाडौं । तिजलाई लक्षित गर्दै गीतकार गोविन्द अनेकको नयाँ तीज गीत ‘बरिलै बरिलै’ सार्वजनिक भएको छ । हिजो आज भड्किलो र विकृत तीज गीतहरू धेरै निर्माण भएको समय अनेकले मौलिक खालको गीत सार्वजनिक गरेका हुन ।

    गायिका शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी बोमकुमारी बिकको स्वर रहेको गीतमा नेपाली समाजका नारीले नारीले भोगिरहेको पिर, व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेद समेटेर मार्मिक बनाइएको छ ।

    रोशनी कार्की, सरिता ढुंगाना(जुनकीरी) र जुना गुरुङ अभिनय रहेको गीतमा थुप्रै कोरस समेत प्रयोग गरिएको छ । सुनिल बिकको निर्देशन रहेको भिडियामा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका हुन् । भिडियोमा बासु न्यौपानेको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ ।

    गीतमा वर्ष दिनको तीजमा पनि माइती भेट्न नपाएकी चेलीका वेदना बिलौनाका कथा बुन्ने प्रयत्न गरेको गीतकार अनेकले बताए । अनेक गीतले दर्शक तथा श्रोताको मनजित्नेमा आफु आसावादी रहेका छन ।

  • अग्रज कै गीत सुनेर गायक भए ध्वज

    अग्रज कै गीत सुनेर गायक भए ध्वज

    कैलाली । रेडियो नेपालमा डिक्रादेवि गाइने, नन्दकृष्ण जोशी नरेन्द्रराज रेग्मी लगायतले गाएको देउवा गीत सुन्दा कुनै दिन म पनि यसरी नै गीत आउँछु होला भन्ने कल्पना हुने गरेको थियो ध्वज महरालाई ।

    डोटी पूर्व चौकी गाउँपालिका ३ का महराले आफ्नो सपना पुरा गर्न धेरै वर्ष पर्खनु परेन । हुने बिरुवाको चिल्लो पात भने झै बाल्यकालदेखि कै रुचिले होला बिस्तारै उनी गीत सङ्गीत तर्फ केन्द्रित हुन थाले ।

    २०५४ सालमा उनले पहिलो पटक गीत रेकर्ड गरे ।

    ‘अग्रज कलाकारहरूको गीत सुन्दा सुन्दै मलाई पनि गायक बन्ने रुचि बढ्यो । ललित केसी दाइसँग २०५४ सालामा नारायण रायमाझी दाइको स्टुडियोमा पहिलो पटक मैले औपचारिक रुपमा गीत रेकर्ड गराए’ विगत सम्झँदै उनले सुनाए ।

     

    २०५४ सालमा लाल पछौरी बोलको गीत ल्याएका महराले अर्काे गीत सार्वजनिक गर्न झन्डै ६ वर्ष पर्खिएका थिए । पहिले एल्बमका केही गीतमा आफूले शब्द र आवाज दिएका उनले त्यसपछिका ६ वर्ष आफूलाई साङ्गीतिक क्षेत्रमा अझै निखार दिन तर्फ लगाए ।

    ‘पहिलो एल्बम आएपछि मेरो एउटा रहर पुरा भएको थियो अब सङ्गीत सिकेर अझै राम्रो र अझै धेरै गीत गाउने रहर पलायो ’ उनले भने ‘त्यसपछि म सङ्गीत सिक्न तर्फ लागे । ’

    २०५६ सालमा भारतको मुम्बईमा पुगेका उनी उतै केही समय सङ्गीत सिके । २०५७ सालमा नेपाल फर्किएपछि पनि उनलाई गाउन भन्दा सिक्न धेरै रुचि बढ्यो । २०५९ सालदेखि २०६१ सालसम्म साधना कला केन्द्रमा विष्णु अधिकारीसँग थप सिके । आफूमा केही निखारिएको आभास भएपछि उनी २०६१ सालमा काठमाडौँबाट धनगढी फर्किए ।

    राष्ट्रिय स्तरमा देउडा गीतलाई एउटा उचाइमा पुर्‍याउने भूमिका खेलेका वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले त्यो बेला धनगढीमा सङ्गीत सौगात स्टुडियो चलाएका थिए । महरा धनगढी पुगेपछि केही समय त्यहाँ रहे । त्यसपछि २०६१ सालमा उनले धनगढीबाटै ‘फर्की आइजा घर’ बोलको गीत ल्याए । भारत जाने नेपालीहरूका पीडा झल्काउने गीत त्यो बेला निकै चर्चामा थियो ।

    २०६१ सालदेखि निरन्तर गीत गाइरहेका महराले अहिलेसम्म करिब ४ सय गीत गाइसकेको बताउँछन् । उनलाई आफ्नो गीतले चर्चा पाएको खुसी भन्दा बढि अहिलेका गीतहरूमा मौलिकता हराइरहेकोमा चिन्ता लाग्छ ।

    मौलिक गीत भन्दा बढि मौलिकता नभएका गीतहरूले चर्चा पाइरहेको भन्दै अहिले त्यहि कारणले मौलिक गीत गाउने गायकहरू ओझेलमा परिरहेको उनी बताउँछन् ।

    ‘२ /४ जनाले त राम्रो गरेका छन् । अझै पनि धेरै गायकहरूलाई निकै समस्या ’ उनी भन्छन् ‘हामी मौलिक गीत सङ्गीत जोगिनुपर्छ भनिरहेका छौँ अहिले यहाँ मौलिकता झल्काउने गायकहरू नै जोगिन समस्या भइरहेको छ । ’

    पछिल्लो पुस्तामा चक्र बम, टङ्क तिमिल्सेना, रेखा जोशी ,गौरी भट्ट लगायतले धेरै राम्रो गरे पनि अझै धेरै कलाकारहरूलाई निकै समस्या रहेको उनी बताउँछन् ।

    उनलाई आफ्नो सृजना मध्ये १० वर्ष पहिलेको ‘चर्न बखरी गई’ अझै पनि उत्कृष्ट लाग्छ । राजेन्द्र शाहले लेखेको आफैले लय दिएको , आफ्नो र टिका पुनको स्वर रहेको उक्त गीत अहिले पनि उनी सुनिरहन्छन् । गैजा डोटी गैजा पनि उनलाई उत्तिकै प्रिय लाग्छ । राजेन्द्र शाहको शब्द रहेको यस गीतमा पनि उनको र देवी घर्तीको स्वर रहेको छ ।

    मेला महोत्सवहरूमा मौलिक गीतको राम्रो माग भएपनि आयोजकहरूले त्यस्ता गीत आउने कालाकारहरूलाई ध्यान नदिने गरेको उनी बताउँछन् ।

    ‘मेरो छोराछोरीहरूले पनि हाम्रा गीतहरू मन पाउँदैनन्। उनीहरु पनि चक्र बमहरूका गीतहरू सुन्न चाहन्छन् ’ उनी भन्छन्, ‘छोराछोरीले पनि कहिले काहीँ अरूले जस्तै गाउन भन्छन् तर, मलाई मौलिक गीत नै प्यारो लाग्छ । ’

    सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा उनी प्राय नछुट्ने कलाकारमा पर्छन् । भारतका बिभिन्न ठाउँहरूमा पनि उनी पुगेकै छन् । उनलाई अब मौलिक देउडा गीतलाई देशव्यापी बनाउन रहर जागेको छ ।

    पुराना मौलिक गीत गाउनेहरूले महोत्सवमा प्रस्तुति दिँदा अन्तिम तिर बसेकाहरूले मज्जाले सुनेर रमाउने गरे पनि आयोजकहरूले भने तताउने र नचाउने कलाकारहरूलाई नै प्राथमिकमा राख्ने गरेको उनलाई चित्त बुझ्दैन ।

    बदलियो साङ्गीतिक माहौलका कारण टङ्क तिमिल्सेना र चक्र बम लगायतका गायकहरूको माग दिनप्रतिदिन बढ्दै गइरहेको तर, भुवन दाहाल राजाराम भाट र आफू निकै सम्भावना हुँदा पनि पछि परेको आभास हुन्छ उनलाई ।

    ‘अहिले मेला महोत्सवबाट कलाकारहरूको लोकप्रियता देखिने गरेको छ । आयोजकहरूले हामी जस्ता मौलिक गीत गाउनेहरूलाई चासो दिनुहुन्छ हामी यसरी नै पछि पर्दै जान्छौ कि जस्तो लाग्छ ’ उनले भने ‘हामी मात्रै पछि परे त केही हुने थिएन मौलिक सङ्गीत नै पछि पर्छ कि भन्ने चिन्ता छ मलाई। ’

    पहिलो १५/ २० हजारमा क्यासेट निकाल्ने गरेको स्मरण गर्दै उनी अहिले सङ्गीत बजार पनि निकै महँगो भएको बताउँछन् । महँगीका कारण आर्थिक अभाव झेलिरहेका कालाकारहरू थप समस्यामा परेको उनको बुझाइ छ ।

    ‘हामीले राम्रो कलाकार खेलाउनुपर्छ त्यति बजेट हुँदैन । ४/५ लाख लगानी गरे गीत चलेन भन हामी डुब्छौं ’ उनले भने ‘यहि कारणले पनि पुराना कलाकारहरू पछि परेको जस्तो लाग्छ ।’

    धनगढी उपमहानगरपालिका ७ मनेहरामा बसोबास गरिरहेका उनी अहिले पनि गीत सङ्गीतकै केन्द्रित छन् । प्राय अरू कै शब्दमा सङ्गीत र स्वर दिने गरेका महरा अहिले मौलिक देउडालाई पहिचान बुझाउनु पर्नेमा लागेका छन् ।

    पछिल्लो समय प्रविधिमा भएको विकासले कलाकारहरूलाई सहज भएको महराको विश्वास छ । ‘अहिले हामीले गीत गाउनकै लागि काठमाडौँ जानु पर्ने बाध्यता हटेको छ ’ उनले भने ‘अत्तरियामा पनि राम्रा स्टुडियो सञ्चालनमा आएका छन् हामीलाई धेरै फाइदा भएका छन् । ’

  • बिष्णु माझीको झल्को दिने सिमा नेपालीको स्वरमा मौलिक तिजगीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा (भिडियो)

    बिष्णु माझीको झल्को दिने सिमा नेपालीको स्वरमा मौलिक तिजगीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा (भिडियो)

    काठमाडौं । चर्चित गायिका बिष्णु माझीको झल्को दिनेगरी गायिका सिमा नेपालीको एकल आवाज रहेको मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा आएको छ । पछिल्लो समय केही गीतले तिज गीतका नाममा विकृति फैलाउदैँ गएको भन्दै आलोचना भइरहेका बेला सुवास रेग्मीले निमार्ण गरेको यो गीतले चर्चा कमाइरहेको हो । गीतकाे एरेन्ज बिस्वास नेपालले गरेका हुन् ।

    बिहेपछि पराई घर गएकी छोरीको मर्म र भावनालाई कलात्मक रूपमा समेटिएको यस गीतको शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने संगीतमा आफूलाई अब्बल साबित गरिसकेका स्तरीय संगीतकार खेम पुनको लय सिर्जनाले गीतमा सुनमा सुगन्ध थपेको छ ।

    स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेको गीतको भिडियोमा पछिल्लो समय एकदमै चर्चामा रहेकी मोडल निहारिका थापाको मुख्य नृत्य तथा अभियनसँगै करिब ४० जना कलाकारको नृत्य रहेको छ । नेपाली गीत संगीतको ईतिहासमा यति धेरै कलाकारले नृत्य गरेको सम्भव त यो पहिलो म्युजिक भिडियो रहेको निर्माण पक्षको दाबी छ ।

    मोडल निहारीका थापाको अभिनयले शब्द, संगीत र भिडियो तीनै विधालाई न्याय गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करन चैसिरको छाँयाङकन रहेको छ ।

    उच्छृङ्खल भन्दा मौलिक, सरल तथा चेलीको वास्तविक कथा वस्तुलाई आधार बनाएर गीत निकाले पनि गीतले चर्चा कमाउँछ भन्ने गतिलो उदाहरण यो गीत बन्न सक्ने निर्माण पक्षको दाबी छ । यो गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालीको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिले तीजका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको लोक गायक तथा लोकगीतका जानकारले बताउने गरेका छन् । विशेष गरी हिन्दू नारीले आफ्ना पतिको दीर्घायुको कामना गरेर ब्रत बसी पूजा आजा गरी तीज पर्व मनाउने गर्छन् । यस पर्वमा विवाह भएका छोरी चेलीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन सबै बसेर मीठा (मीठा परिकार) ‘दर’ खाने र भोलिपल्ट निराहार बसी ब्रत गर्ने परम्परा रहदैँ आएको छ ।

    नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाज तीज गीतमा घन्किने गर्छन । आफ्नो घरका पीडा र व्यथा माइतीमा गएर साथीसंगी जम्मा भई थपडी बजाएर गाउने र कम्मर मर्काउँदै घुमी–घुमी नाच्ने यस पर्वले नारीलाई ठूलो स्वतन्त्रता प्रदान गरेको महसुस हुने गर्दछ ।

    पछिल्लो सयम तीज गीतका नाममा केही छाडापनका गित सार्वजानिक भईरहेको बेला मौलिक तिजगित ‘मै छोरीलाई गाह्रो भो’ यति बेला आम दर्शकले वास्तविक तिज गीतको संज्ञा दिइरहेका छन् । गीतमा बिहेपछी पराइ घर गएकी छोरीको मर्म र भावनालाई कलात्मक रूपमा समेटिएको छ ।

  • ‘वर एण्ड बधु’को नयाँ गीत ‘इतिहासमा चर्चा चल्छ यही बिहेको नामले’ रिलिज (भिडिओ)

    ‘वर एण्ड बधु’को नयाँ गीत ‘इतिहासमा चर्चा चल्छ यही बिहेको नामले’ रिलिज (भिडिओ)

    काठमाडौं । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ ।

    बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ ।

    सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।

    गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् ।

    मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमृत रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

    फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ले दर्शकको साथ पाइरहेको छ । सार्वजनिक दोस्रो गीतले पनि दर्शकको माया पाउने विश्वास गर्न सकिन्छ ।

    यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । भदौको १४ गतेबाट यो फिल्म विश्व बजारमा एकसाथ रिलिज हुँदैछ ।

    भिडिओ

  • गुरुदेव कामतको निधनमा मधेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने

    गुरुदेव कामतको निधनमा मधेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने

    जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शोक वक्तव्य जारी गर्दै गायक कामतको निधन भएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी दिए ।

    सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । मृगौला फेल भएकाले फेर्न चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि उनी काठमाडौंबाट घर फर्किएका थिए ।

    लोकप्रिय गायक कामतको निधनबाट स्तब्ध र मर्माहत भएको भन्दै मुख्यमन्त्री सिंहले शोक वक्तव्यमा भनेका छन्, ‘मनोरञ्जन र जीविकोपार्जनको माध्यमबाट नभएर शिक्षा, चेतना र संस्कार उन्नयनको लागि संगीत विधालाई आजीवन अघि बढाउनुभएका स्व. गुरुदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकारले मिति २०८१÷०४÷२० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।’

    कामतको सांगीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आएको आयो, तर जीवनको कठोरतम क्षणसँग लड्दै भिड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सिर्जनात्मक र उत्कर्षोन्मुख बनाउन उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

    उनले गायक कामतको सांगीतिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकालसम्म गौरव–गरिमाबाट विभूषित गरिरहने विश्वास व्यक्त गरेका छन् ।

  • सामाखुसीमा खुल्यो सुविधा सम्पन्न हल : कलाकारहरुद्धारा उद्घाटन

    सामाखुसीमा खुल्यो सुविधा सम्पन्न हल : कलाकारहरुद्धारा उद्घाटन

    काठमाण्डौँ । काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ ।

    बिहीबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरेका हुन ।

    तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्छन् । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याईएको छ भने हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत फिल्म हेर्ने सिटहरु जडान गरिएको छ ।

    विशेषत यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले दावी गरेका छन् ।

    कार्यक्रममा हल उद्घाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए । करिब १८ करोडको लागतमा निर्माणमा ल्याईएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यू एफ एक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ ।

    सामाखुसी लाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा फिल्म हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चौकका दर्शकलाई पायक पर्ने क्यू एफ एक्सले दावी पनि गरेको छ ।

     

  • अब रोएर फिल्म चलाउँदिन, मसँग पल छ– पूजा शर्मा

    अब रोएर फिल्म चलाउँदिन, मसँग पल छ– पूजा शर्मा

    काठमाडौं । यहीँ भदौ २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

    टिजरमा चलचित्रका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ भने अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । अन्य चलचित्रमा भन्दा फरक गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई नै टिजरमा प्राथमिकतामा राखिएको हो। पलका अलावा १ मिनेट २० सेकेन्ड लामो टिजरमा प्रमोद अग्रहरी र नायिकाद्वय पुजा शर्मा, प्रियंका कार्की र निकिता चण्डक फिचर्ड छन् ।

    टिजर सार्वजनिक कार्यक्रममा पुगेकी नायिका तथा चलचित्रकी निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचलाउने बताइन। ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममै रोएपछि उनलाई रोएर फिल्म चलाएको आरोप लागेको थियो। अहिले पनि उनलाई बेलामौकामा यहीँ ट्याग लाग्ने गर्दछ। कार्यक्रमहरुमा उनलाई यसबारे अझै पनि प्रश्न सोधिने गरिन्छ।

    यसपाली पनि सायद यहीँ प्रश्न आउँछ भनेर होला उनले सुरुमै अब रोएर फिल्म नचलाउने प्रतिक्रिया दिइन्। कार्यक्रममा बोल्दै उनले भनिन,‘अब रोएर फिल्म चलाइन्न। पल शाह छ मसँग। सुदर्शन थापा अनि हाम्रो टिम फेरि आइसकेको छौँ। त्यहीँ माथि यसपाली हाम्रो टिम झनै बढेको छ।’

    पुजाले पलसँगको सम्बन्ध अहिले झनै गहिरो भएको पनि बताइन। पल शाहसँगको आफ्नो बिग्रेको सम्बन्धबारे बोल्दै उनले सुनाइन,‘यस्तो कुराहरु भइरहन्छ। आफ्नो मान्छेसँग नै हो यस्तो हुने। जोसँग नजिक हुइन्छ, जोसँग खुट्टा लाग्छ, उसँग नै हो यस्तो हुने। यो त्यस्तो ठूलो ईस्यु होइन।’

    नायक पल शाहले पनि यस चलचित्रले आफ्नो छविमा नयाँ स्वाद थप्ने बताए । उनले चलचित्रमा आफ्नो दोहोरो भूमिका रहेको समेत खुलाए । ‘मेरो लागि यो चरित्र नयाँ हो । चलचित्रमा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ । चलचित्रमा मेरा लागि नेगेटिभ पार्ट चुनौतिपूर्ण थियो जुन ट्रेलरमा देखिएको छ,’उनले सुनाए।

    निर्देशक सुदर्शन थापाले ‘रावायण’ निर्देशन गरेका हुन। कार्यक्रममा बोल्दै उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताए । ‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’

    सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रमा नायक पल शाह, नायिका पूजा शमा, प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चाण्डक, भिलेन चरित्रमा प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाल, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, आदि लगायतको अभिनय रहेको छ। चलचित्रकी निर्माता पुजा शर्मा हुन् भने सुशन पाठक चलचित्रको कार्यकारी निर्माता छन् ।

    चलचित्रमा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ ।
    क्ए

  • आर्थिक अभावमा अस्ताएका गुरुदेव कामत : शास्त्रीय गीतसंगीतको विश्वविद्यालय

    आर्थिक अभावमा अस्ताएका गुरुदेव कामत : शास्त्रीय गीतसंगीतको विश्वविद्यालय

    काठमाडौं । नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताएका छन् । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि डायलासिस गरिरहेका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।

    काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उनी सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए । केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उनले खानपिन निकै कम गरेका थिए । नेपाली सङ्गीतका क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनमा सङ्गीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

    नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको सङ्गीतकार राजु सिंहले बताए । उनीसँग विसं २०५५ देखि नै सम्पर्कमा रहनुभएका सङ्गीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गरेका थिए ।

    ‘म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन । किनकी उहाँलाई मिर्गाैलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय सङ्गीतलाई ठूलो क्षति पुगेको छ’, सङ्गीतकार सिंहले भने, ‘उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसङ्गीतको चम्किला तारा बन्नुभएको छ । उहाँको गीत सुनेर साधना पनि गर्दा पनि राम्रो सङ्गीत सिकिन्छ ।’

    जीवनलाई सङ्गीतमा समर्पण गरेर नेपालमा शास्त्रीय सङ्गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उनले बताए ।

    ‘गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । नत्र नयाँपुस्ताले के सोचेर सङ्गीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैले सहयोग हुनुपर्थ्यो’, उनले भने ।

    गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहेका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताए । ‘शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन । हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । उहाँले जीवन सङ्गीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गाैला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन’, उनले भने ।

    गुरुदेवसँग नजिक रहनुभएका कलाकार राधेश्याम विश्वकर्माले उहाँको महत्त्व बुझ्न नसकेको गुनासो गरे । ‘शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ । धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ । जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो’, उनले भने ।

    शास्त्रीय गीतसङ्गीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गरे । उनी गुरुदेव कहाँ शास्त्रीय गीतसङ्गीतकै क्रममा पुगेका रहेछन् ।

    ‘शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गथ्र्याे । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ’, गायक चौलागाईंले भने ।

    उनले गुरुदेवलाई शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय नै मान्छन् । ‘शास्त्रीय गीतसङ्गीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ’, उनले भने । स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती छन् । -रासस

     

  • गायिका सुनितामी परियारको नयाँ तीज गीत ‘सात भाइकी चेली’ सार्वजनिक (भिडियो)

    गायिका सुनितामी परियारको नयाँ तीज गीत ‘सात भाइकी चेली’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका सुनितामी परियारको नयाँ तीज गीत ‘सात भाइकी चेली’ सार्वजनिक भएको छ । सुनितामी परियार युट्युब च्यानलबाट सार्वजनिक भएको सुनितामी परियारको यो वर्षको तीज गीतमा चर्चिच लोक तथा दोहोरी गायक राजु परियार, बद्री पंगेनी, पशुपति शर्मा, सूर्य खड्का, विशाल रायमाझी, अर्जुन सापकोटा र मोहन परियारले आवाज रहेको छ भने स्वयम गायिका सुनितामीको स्वर पनि रहेको छ । गायक मोहन परियार सुनितामीको सहोदर भाई हुन् ।

    यो गीतको संगीत गायिका सुनितामी आफैले गरेकी छ्न भने शब्द शिव हमाल र एरेन्ज विश्वास नेपालको रहेको छ । गीतको निर्देशक जेरी भण्डारीले गरेका हुन् । भिडियोमा गायक राजु परियार, बद्री पंगेनी, पशुपति शर्मा, सुर्य खड्का, बिशाल रायमाझी, अर्जुन सापकोटा, मोहन परियार, भेष केसी, संगम शर्मा र गायिका सुनितामी परियार र संगिता परियारको अभिनय रहेको छ ।

    लुम्बिनी प्रदेशका जिल्लामा परापूर्वकालदेखि तीज मनाईने परिवेशलाई समेटेर बनाईएको म्युजिक भिडियोमा बजारमा निस्किएका अन्य गीत भन्दा अलि फरक किसिमले हाम्रो नेपाली मौलिकतालाई समेटिएको गायिका सुनिताले बताईन । अर्घाखाँची स्थायी घर भएकी उनले अहिले काठमाडौंमा गीत संगीतमा लागेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफूलाई परिचित बनाइसकेकी छन् ।

    गायिका सुनितामीको गत वर्ष २०८० सालमा चर्चामा आएको तीज गीत ‘सिक्री घाँटीमा’ गीतले चर्चा पाएको थियो । सात भाइकी चेली गीतलाई पनि यस वर्ष धेरै दर्शक स्रोताले मन पराउनेमा आफू पूर्ण विस्वस्त रहेको गायिका सुनितामीको अपेक्षा छ ।

  • ६९ बुँदे कार्ययोजनासहित बोर्ड अध्यक्षमा दिनेश डिसीको पहिलो आवेदन, अरु कोको छन् दौडमा ?

    ६९ बुँदे कार्ययोजनासहित बोर्ड अध्यक्षमा दिनेश डिसीको पहिलो आवेदन, अरु कोको छन् दौडमा ?

    काठमाडौं । चलचित्र विकास बोर्डको भावि अध्यक्षका लागि आकांक्षीहरुको दौडधुप तीव्र भएको छ । सबैभन्दा पहिलो औपचारिक दावेदारी भने दिनेश डिसीले प्रस्तुत गरेका हुन् ।

    डीसीले आज विकास बोर्ड अध्यक्षका लागि आवेदन दिएको स्रोतले बतायो । हिजो मात्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गरिएकोमा डीसीको पहिलो आवेदन परेको हो । उनको नाम पहिल्यैदेखि चर्चामा रहेको थियो । बोर्ड स्रोतका अनुसार डीसीले आफ्नो आवेदनसँगै ६९ बुँदे कार्ययोजना समेत प्रस्तुत गरेका छन् ।

    अनुभवि सञ्चारकर्मी तथा चलचित्र निर्देशक डिसी सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग पहिल्यैबाट निकट छन् । उनी एमालेप्रति झुकाव राख्ने चलचित्रकर्मीहरुको संगठन जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका उनी एक विश्वासपात्र हुन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालदेखि स्वकीय सचिव राजेश बज्राचार्यसँग उनको प्रगाढ सम्वन्ध छ ।

    यो सरकार आउनुभन्दा अगाडि बोर्डमा डीसी लगभग निश्चित देखिएका थिए । उनलाई बोर्ड अध्यक्ष बनाउन एमाले र माओवादीबीच अनौपचारिक समझदारीसमेत बनेको थियो । सरकार परिवर्तनसँगै एमालेका पृथ्वीसब्बा गुरुङ नयाँ सञ्चारमन्त्री बनेका छन् । उनीकहाँ अन्य आकांक्षीहरुले पनि दौडधुप गरिरहेको बुझिएको छ ।

    विकास बोर्डका अन्य आकांक्षीहरुमा अभिनेत्री करिश्मा मानन्धर, हल व्यवसायी नरेन्द्र महर्जन तथा राष्ट्रिय नाचघरका भुतपूर्व अध्यक्ष राजेश थापा पनि छन् । स्रोतका अनुसार अभिनेत्री मानन्धर हिजो मात्रै डेलिगेसनसहित सञ्चारमन्त्री गुरुङलाई भेट्न पुगेकी थिइन् । उनीसँग एमाले नेता रघुजी पन्त र नेतृ कोमल ओली पनि थिए । करिश्माले प्रधानमन्त्री ओलीलाई पनि भेटिसकेकी छन् ।

    अर्का आकांक्षी नरेन्द्र महर्जन पनि सञ्चारमन्त्रीकहाँ पुगेका छन् । उनी एमालेका प्रमुख सचेतक महेश बर्तौला र बाग्मती सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौड्याललाई लिएर लविङ गर्न गएका हुन् ।

    डीसी भने एक्लै दौडधुप गरिरहेका छन् । उनले प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैलाई भेटेर आफ्नो कार्ययोजना प्रस्तुत गरेको स्रोतको दावी छ । प्रधानमन्त्रीसँग उनले यसअघिको सरकारका पालामा भएको समझदारीबाट पछि नहट्न आग्रह गरेका थिए । उनलाई प्रधानमन्त्रीले ‘ग्रीन सिग्नल’ दिँदै ‘गो अ हेड’ भनेका छन् ।

    प्रधानमन्त्री डीसीप्रति सकारात्मक देखिनुको कारण उनको एमालेसँगको पुरानो लिगेसी पनि हो । करिश्मा नवआगन्तुक एमाले हुन् भने डीसी पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा छन् । ओली यसअघि प्रधानमन्त्री बन्दा डीसीले उनको निकटमा रहेर काम गरेका थिए ।

    सञ्चार क्षेत्रमा उनले ३ दशकभन्दा बढी समय बिताएका छन् । नेपाल टेलिभिजनमा प्रशारण हुने ‘ट्वाक्क टुक्क’ बाट चिनिएका उनले लामो समय कान्तिपुर एफएम र कान्तिपुर टिभीमा काम गरे । पछिल्लो समय उनी कान्तिपुर टिभीका स्टेसन हेड थिए ।

    करिब डेढ वर्षअघि कान्तिपुर टिभीबाट बाहिरिएका उनी अहिले खाली छन् । डीसीले राजनतिशास्त्र र साइन्समा स्नातकको अध्ययन पूरा गरेका छन् । ५९ वर्षको उमेरमा अहिले स्नातकोत्तर फोर्थ सेमेस्टेर अध्ययनरत रहेको समेत बुझिएको छ ।

    चलचित्रतर्फ पनि डीसीको लामै अनुभव छ । उनले आधा दर्जन चलचित्रको निर्देशन र ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

    चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको नियमन गर्ने प्रमुख निकाय हो । बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको मात्र हुने प्रावधान रहेको छ । हालै भुवन केसी आफ्नो कार्यकाल पूरा गरेर विदा भएका छन् । डीसीले भने आफू अध्यक्ष बन्न पाए कार्यकाल ४ वर्ष पुर्याउने तयारीसमेत गरेको बुझिएको छ ।

  • शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

    शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

    काठमाडौँ ।  नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

    दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए। गुरुदेव निकट मानिनुहुने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए

    उनले भने,‘गुरुदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।”

    साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए ।

    दिवङ्गत भएका कामतको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।

     

  • ‘बिस्ताराले पोल्यो’ गीत विवादमा, गायिका शान्तिश्रीले मागिन माफी

    ‘बिस्ताराले पोल्यो’ गीत विवादमा, गायिका शान्तिश्रीले मागिन माफी

    काठमाडौं । ५ दिन अघि मात्रै सार्वजनिक भएको ‘बिस्ताराले पोल्यो’ गीत विवादमा परेको छ । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक हरि गिरी विमर्शीको स्वरमा रहेको उक्त गित विवादमा परेको हो ।

    गीत विवादमा परेपछि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी सदस्य समेत रहेकी उक्त गीतकी गायिका शान्तिश्री परियारले बुधबार एक विज्ञप्ती जारी गर्दै माफी मागेकी छन् ।

    उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यो गीत तीज विशेष, लोक तथा दाहोरी कुनै पनि विधा अन्तरतगको नभएता पनि उक्त गीतको भिडियोमा केहि दृश्यको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र त्यसै कारण सामाजिक सञ्जालमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दाहोरी गीत प्रतिठान नेपालको केन्द्रीय सदस्यको नताले म सँग सम्बन्धित गतीले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तक प्रति आँच पुग्न गएको आभाव भएको हुदाँ क्षमाप्राथी छु । साथै आगामी दिनमा शब्द संगीत छनौट गरी गाउने वाचा गर्दछु । यस विचमा हजुरले म प्रति देखाउनुभएको सदासयता, माया तथा शुभन्तिा प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।’

    उक्त गीतमा गायक गिरीकै लिरिक्स र म्यूजिक रहेको छ भने म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल सञ्चिता बोलाखे र रमेश विश्वकर्माको अभियन रहेको छ । हरि गिरी बिमर्शीको आफ्नै यूट्युवबाट ५ दिन अघि सार्वजनिक भएको गीतलाई अहिलेसम्म साढे ४ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । उक्त गीतका साना–साना क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले त केहि दिन अघि नै एक विज्ञप्ती नै जारी गरेर ‘बिस्ताराले पोल्यो’ लगायतका ५ गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पु¥याउने देखिएको भन्दै प्रतिबन्ध नै लगाइसकेको छ । उसले आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाएको हो ।

  • हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

    हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

    काठमाडौ‌ । हिरामण्डीको बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च कार्यक्रममा सहभागी हुन उनी नेपाल आउने भएकी छन् ।

    ट्रुडर्मा ब्राण्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए ।

    शेख आफैंले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम छ ।

    नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुनेछिन् । ट्रु स्किन ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।

    त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने मुरारकाको भनाइ छ ।

    ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पूरा गर्ने विश्वास छ’, उनले भने ।