Category: कलाप्रेस

  • मृत भेटिएका गायक तिमल्सिनाको शव पोस्टमार्टम, यस्ताे देखियाे कारण

    मृत भेटिएका गायक तिमल्सिनाको शव पोस्टमार्टम, यस्ताे देखियाे कारण

    काठमाडौं । ललितपुरमा शनिबार आफैं बस्दै आएको ठाउँमा मृत भेटिएका गायक प्रकाश तिमल्सिनाको शवको पोस्टमार्टम भएको छ । पाटन अस्पतालमा पोस्ट मार्टम गरिएको हो । चिकित्सकले मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् ।

    ‘चिकित्सकले खासगरी मुटु र कलेजोमा समस्या देखिएकाले मृत्यु भएको बताएका छन् । विस्तृत आउन बाँकी छ’, ललितपुर प्रहरी स्रोतले भन्यो ।

    ३५ वर्षीय तिमल्सिना श्रीमतीसहित ललितपुर बस्दै आएका थिए । तर घटना हुँदा पत्नी भने विराटनगरमा थिइन् । उनी काठमाडौं आइपुगेपछि प्रहरीले आवश्यक प्रकृया अगाडि बढाएको थियो ।

    प्रहरीका अनुसार तिमल्सिना खाटमा लडिरहेको अवस्थामा भेटिएका थिए । उनको मुखबाट केही रगत निस्किएको पाइएको थियो । १० वर्षअघि विवाह गरेका तिमल्सिनाका बच्चाबच्ची भने थिएनन् ।

     

  • जिज्ञानकुमार थापाको पुस्तक ‘जापान: सपना, संघर्ष र सफलता’ लोकार्पण

    जिज्ञानकुमार थापाको पुस्तक ‘जापान: सपना, संघर्ष र सफलता’ लोकार्पण

    काठमाडौं । जापानी भाषाका अनुवादक जिज्ञानकुमार थापाको गैरआख्यानात्मक पुस्तक ‘जापानः सपना, संघर्ष र सफलता’ शनिबार लोकार्पण गरिएको छ ।

    नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञानकुमार थापाले किताब संयुक्त रुपमा विमोचन गरेका हुन् ।

    किताब समय सान्दर्भिक भएको राजदूत युताकाले बताए ।

    ‘किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल-जापानबीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ’, उनले भने, ‘पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन् भन्ने लाग्छ । जापानमा युवा जनशक्तिको खाँचो छ । त्यो संख्या उपलब्ध गराएकोमा हामी नेपालप्रति आभारी छौं ।’

    जापानका लागि पूर्वनेपाली राजदूत मदनकुमार भट्टराईले जापानको सभ्यता, प्राकृतिक सौन्दर्य र जापानीहरुको मृदुभाषी बानीले लोभ्याउने गरेको र त्यो कुरा किताबमा आएको बताए ।

    ‘राजदूतको रुपमा पहिलो पटक उता पुग्दा जापानको सभ्यता, प्राकृतिक वातावरण र जापानका मृदुभाषी जनताले मलाई खुबै लोभ्यायो’, उनले भने, ‘जापानको सपना संघर्ष र सफलताले यसलाई समेटेको छ ।’

    लेखक थापाले जापानमा बसेर लामो समय दोभाषेको काम गरेको अनुभव सुनाए । उनले भने, ‘यो किताब जापान जान चाहनेलाई समर्पित छ । मैले हासिल गरेको ज्ञान, अनुभव पस्किएको छु किताबमा । जापान जान चाहनेका लागि यो पुस्तकले त्यहाँको समाज र संघर्षलाई कसरी आत्मसात गर्न सकिन्छ र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सघाउनेछ ।’

    लेखक शैलेन्द्र अधिकारीले किताबमाथि टिप्पणी गर्दै भने, ‘भर्खरै जापान पुगेका, जापान जान लागेका, जापान जान सपना देखेका र जापानबारेमा जान्न चाहने सबैका लागि यो एक बहुउपयोगी पुस्तक हो । पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरुले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई मिहिन ढंगले व्याख्या र विश्लेषण गरिएको छ ।’

    ‘जापानः सपना, संघर्ष र सफलता’लाई चक डस्टर प्रकाशन गृहले बजारमा ल्याएको हो । किताबको मूल्य ५०० रुपैयाँ रहेको छ ।

  • सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत

    सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत

    काठमाडौं । दिवङ्गत शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ ।

    जमलस्थित नाँचघरमा आज गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्‍याएको योगदानको चर्चा गरिएको हो ।

    कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलो पटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताए ।

    उनले भने, ‘उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो । आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे । उहाँका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ ।’

    कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिए । उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए ।

    गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए ।

    ‘मैले र गायक कामतले सँगै धेरै काम गरेका छौं । नाटकदेखि गायनसम्म हामीले सहकार्य ग¥यौं’, उनले भने, ‘उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो, तर ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ । उहाँको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ ।’

    उनले गायक कामतको सम्झना दुई गीत सुनाएका थिए ।

    सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुशासित साधक रहेको बताए । ‘गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ । उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो । हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । यसका लागि हामीले धेरै कार्य गर्नुछ’, उनले भने ।

    उनले सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गरे ।

    गायक कामतकी शिष्य गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिम पटक कुराकानी गरेको स्मरण गरिन् ।

    उनले भनिन्, ‘उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो । मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ । त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो । उहाँले शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो, तर विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ ।’

    कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौं छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए ।

    ‘बिरामीहरु काठमाडौं उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो । यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो । हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौं, तर उहाँले छिट्टै छाडेर जानुभयो’, अध्यक्ष प्रधानले भने ।

    त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाएका थिए। उनका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले…।’ गीतमार्फत श्रद्धाञ्जली दिएको थियो ।

    यही साउन १७ गते दिवङ्गत भएका गायक कामतको १०औं दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।

  • ‘खुस्मा’को टिजर सार्वजनिक

    ‘खुस्मा’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।

    एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

    सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

    सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

    मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

  • गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक

    गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायक सुगम पोख्रेल र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ युट्युव च्यानलबाट यो सुमधुर गीत सार्वजनिक गरिएको हो।

    गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌ओमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ । माया र इन्द्रको अभिनयले भिडिओमा थप सुन्दरता थपेको छ। भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्।

    भिडिओमा जोडीको रुपमा देखिएका माया र इन्द्र डेनमार्कमा बस्छन् । डेनमार्क बसेर व्यवसाय गर्दै आए तापनि दुवैलाई नेपाल आएर कलाकारिता क्षेत्रमा केही गर्ने धङधङी पहिलैबाट थियो। सोही सपना पूरा गर्न र नेपाली कला क्षेत्रमा केही योगदान दिन यी दुईले नेपाल आई ‘आई.एम ईन्टरटेन्मेन्ट’ नामक नयाँ युट्युव च्यानल खोली पहिलो कोसेली स्वरुप यो भिडिओ हालेका हुन् । यो आई.एम ईन्टरटेन्मेन्टमा अपलोड भएको पहिलो भिडिओ हो। आगामी दिनमा थप नयाँ सृजनाहरु यश च्यानलबाट पस्किने माया र ईन्द्रको अठोट छ।

    सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। गीतमा उदय राज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी छ।

    गीतको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । त्यसै गरी, पोस्टर आर्टमा तौवा क्रिएसन, बि.टि.एसमा मेघ महर्जन, प्रोडक्सन म्यानेजरमा विशाल कार्की, पहिरनमा एश्री क्रिएसन(अनुस्का डि.सी) र रेकर्डिस्टमा राजेश श्रेष्ठ रहेका छन् ।

     

  • चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

    चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

    काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।

    भोलिबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो ।

    शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।

    सामाजिक बिषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा वुद्दिसागरको लेखन छ ।

    फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिदैछ । फिल्मको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । फिल्मलाई यसै बर्ष रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

     

     

  • गायिका शान्ति श्रीस मगरको नयाँ गीत ‘बिहे भन्दा पहिले’ सार्वजनिक (भिडियो)

    गायिका शान्ति श्रीस मगरको नयाँ गीत ‘बिहे भन्दा पहिले’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका शान्ति श्रीस मगरको नयाँ गीत ‘बिहे भन्दा पहिले’ सार्वजनिक भएको छ । सुरेश राना मगरको शब्द र संगीत रहेको गीतमा उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

    गायनमा शान्तिलाई विन्दु केसी र सुनिता लोहनीले सघाएका छन् । श्यामश्वेत रसाइलीको एरेन्ज तथा रेकर्डिस्ट कमल थापामगर र गोविन्द अनेक रहेका छन् ।

    गीतको भिडियो पनि सुन्दर बनेको गायिका मगरको दाबी छ । भिडियोमा पछिल्लो समय ‘बिस्ताराले पोल्यो’ गीतबाट एकदमै चर्चामा रहेकी मोडल सञ्चिता बोलाखे, लोसिना लामिछाने, दिनेश थापाको अभिनय रहेको छ ।

    जेरी भण्डारी कोरियोग्राफर तथा निर्देशक रहेको म्यूजिक भिडियोमा असिस्टेन्ट कोरियोग्राफर अमर रावल कोसिस र सिनेमाटोग्राफर राजेश घिमिरेको टिम रहेको छ ।

  • ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक (भिडिओ)

    ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।

    सिनेमाको यो गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेब्यु सिनेमा हो । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ सिनेमाको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।

    नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।

    अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

     

  • पल र पूजा अभिनित चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक

    पल र पूजा अभिनित चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड छन् ।

    पोस्टरमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ भने नायिका पूजालाई रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा चलचित्र एसिड आक्रमणविरुद्धको हुन सक्ने भन्ने बुझ्न सकिन्छ ।

    यसअघि पलको सोलो तस्बिरसहित चलचित्रको फर्स्टलुक सार्वजनिक गरिएको थियो। चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन्। सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् ।

    सुशन पाठक कार्यकारी निर्माता रहेको चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । चलचित्रको एक्सनपूर्ण टिजर पनि केही समय अघि सार्वजनिक भइसकेको छ ।

    चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन र नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

    चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

  • ‘कमेडी किरो राष्ट्रको हिरो’ को लोगो र प्रोमो सार्वजनिक, आजबाट डिजिटल अडिसन सुरु

    ‘कमेडी किरो राष्ट्रको हिरो’ को लोगो र प्रोमो सार्वजनिक, आजबाट डिजिटल अडिसन सुरु

    काठमाडौं। हाँस्य व्यंगमा आधारित नयाँ टेलिभिजन कार्यक्रम ‘कमेडी किरो, राष्ट्रको हिरो’ को अफिसियल लोगो र प्रोमो सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो।

    ‘कमेडी फर करियर’ भन्ने नारा सहित जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारण हुने यो कार्यक्रम कुनै कम्पिटिसन होइन। देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीको भनाई छ। मासिक तलवमा काम गर्ने वा रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको अधिकारी बताउँछन्।

    चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उनले बताए। आजैबाट डिजिटल अडिसन सुरु भएको छ।

    कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा.विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए।

    कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा र सरोज भण्डारीले प्रशिक्षण दिनेछन् भने कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।

  • गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

    गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

    काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ ।

    सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।

    गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

    नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउँछिन् । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन् ।

    आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनी बताउँछिन् । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

    गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवं निर्देशन गरेको निर्देशक प्रदीपले बताए । तीज गीतमा छाडा प्रवृत्ति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताए । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

  • ‘नमेटिने घाउ’ को ट्रेलरमा ओली र नेपालको एक-एक सिन, थप दुई नेता अटाए

    ‘नमेटिने घाउ’ को ट्रेलरमा ओली र नेपालको एक-एक सिन, थप दुई नेता अटाए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनय रहेको फिल्म नमेटिने घाउको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एसिड पिडितहरुको कथा र उनीहरुलाई न्याय दिलाउन गरिएको संघर्षको झलक देखिन्छ ।

    चलचित्रमा ओलीसँगै अर्का शीर्ष नेता माधवकुमार नेपालले पनि अभिनय गरेका छन् । ट्रेलरमा दुवै नेताहरुलाई स्थान दिइएको छ । ओली प्रधानमन्त्रीकै भूमिकामा छन् भने नेपाल शीर्ष नेताको भूमिकामा ।

    ट्रेलरमा दुवै नेताको एक–एक संवाद समावेश गरिएको छ । नेपालले आफ्नै शैलीमा भन्छन्– अपराध गर्नेले दण्ड भोग्नैपर्छ । उनी दौरा–सुरुवाल कोट र टोपीमा आफ्ना कार्यकर्तासहित देखिन्छन् ।

    ट्रेलरको सबैभन्दा अन्तयमा ओलीको डाइलग छ । राष्ट्रिय झण्डा छेउमा राखेर सोफामा बसेका ओली चोर औंला उठाउँदै भन्छन्, ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय ।’ उनको पछाडि बडिगार्डहरु पनि देखाइएको छ ।

    यो चलचित्रमा ओली र नेपालबाहेक थप दुई नेताले अभिनय गरेका छन् । उनीहरु हुन् माओवादी केन्द्रका देवेन्द्र पौडेल र राप्रपाका ज्ञानेन्द्र शाही । देवेन्द्र नेताको भूमिकामा र शाही अभियन्ताको भूमिकामा छन् । ट्रेलरमा उनीहरुलाई पनि स्थान दिइएको छ ।

  • सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

    सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

    काठमाडौँ । सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने भएको छ ।

    सिजन मिडियाले आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौ‌ं संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो ।

    सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको कामको उपलब्धी र योगदानको उच्च मुल्याङ्कन गर्दै अझै हौसला प्रदान गर्ने उद्देश्य राखेर यस पटक पनि विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको सिजन मिडियाले जनाएको छ ।

    लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको कार्यक्षमता र उपलव्धीलाई थप उर्जा प्रदान गर्दै आएको छ ।

    सन् २०१९ मा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो संस्करण दुवईमा सम्पन्न भएको थियो । गत वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायिक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गरिएको थियो भने यस वर्ष पनि नेपालमा नै गर्ने लक्ष्य राखिएको छ ।

    सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा एक दशक भन्दा बढी लामो समय निरन्तर काम गरि सफलता आर्जन गरेका र हाल विभिन्न काममा क्रियाशील रहिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।

    “सबै व्यवसायिक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले खग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उनले भने । साथै देश तथा एसियन मुलुकमा सफल व्यवसायिक व्यक्तिवहरुले सिजन मिडियाको आधिकारीक वेभसाइटमा गएर फारम भर्न सक्नेछन्

     

  • बोर्ड अध्यक्षकी आकांक्षी करिश्मा भन्छिन्- म योग्य पात्र हुँ, कार्ययोजना मुखैमा छ

    बोर्ड अध्यक्षकी आकांक्षी करिश्मा भन्छिन्- म योग्य पात्र हुँ, कार्ययोजना मुखैमा छ

    काठमाडौं । चलचित्र क्षेत्रको नियमनकारी निकाय चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदकी एक आकांक्षी हुन् अभिनेत्री करिश्मा मानन्धर । बोर्ड अध्यक्षका लागि औपचारिक दाबेदारी गर्ने अन्तिम तयारीमा छिन् उनी ।

    सूचना तथा सञ्चार मन्त्रालयले गत साउन १६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । चलचित्र क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव प्राप्त गरेकोले १५ दिनभित्र आफ्नो कार्ययोजनासहित आवेदन दिन सक्नेछन् । नायिका मानन्धरले आफ्नो कागजी तयारी लगभग पूरा भएको बताइन् ।

    ‘पेपरहरू लगभग रेडी भइसकेको छ, एक-दुई दिनभित्र म निवेदन दिन्छु,’ उनले भनिन् ।

    चलचित्र क्षेत्रमा आफ्नो लामो योगदान रहेको तथा महिला पनि भएको कारणले गर्दा बोर्ड अध्यक्षमा आफू उपयुक्त पात्र भएको उनको जिकिर छ । विगतमा एक पटक सदस्यको भूमिका निभाइसकेकाले अनुभवको पनि कमी नरहेको उनले बताइन् ।

    करिश्मा अहिलेको प्रमुख सत्तारुढ दल नेकपा एमालेमा आवद्ध छिन् । उनलाई एमालेले सांस्कृतिक विभागमा समेटेको छ । उनी २०७२ सालमा बाबुराम भट्टराईको नयाँ शक्तिबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । २०७८ साल चैत ८ गते उनलाई केपी ओलीले टीका लगाएर पार्टीमा भित्र्याएका थिए । एमालेमा दुई वर्षभन्दा बढी समय व्यतित गर्दा उनले खासै क्षमता देखाउन भने सकिनन् । न त गतिलो भूमिका नै पाइन् । बरु यो बीचमा उनले प्लस २ पास गरेर हाल स्नातक तह अध्ययनरत छिन् ।

    अहिले चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडधुपमा लागेकी छिन् करिश्मा । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर आफ्नो इच्छा जाहेर गरिसकेकी छन् । यद्यपि, उनीहरूबाट ठोस आश्वासन प्राप्त भएको छैन ।

    बोर्ड अध्यक्षमा करिश्माको आकांक्षा किन त ? उनीसँग गरिएको संक्षिप्त संवादः

    – तपाईंले चलचित्र विकास बोर्डको अध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको चर्चा छ, कति सत्य हो ?

    हो । मैले निवेदन दिने तयार गरिरहेको छु । पेपरहरु अलमस्ट रेडी छ । एक-दुई दिनमा दिन्छु ।

    – पार्टी नेतृत्वबाट तपाईंलाई कुनै ‘ग्रीन सिग्नल’ प्राप्त भएको छ कि छैन ?

    यो एउटा पोलिटिकल नियुक्ति हो । सरकारी संस्था भएको हुनाले पोलिटिकल नियुक्ति नै हुन्छ होला मेरो विचारमा । नेताहरूले त्यस्तो प्रकारले ‘म गर्छु’ भनेर डाइरेक्ट आश्वासन दिनुहुन्छ जस्तो मलाई लाग्दैन । आफूसँग भएको अनुभव, प्रमाणपत्र, पेपरहरू सबै रेडी गरेर म ‘सबमिट’ गर्छु ।

    – किन यो पदका लागि इच्छुक बन्नुभयो त ?

    मैले यो क्षेत्रमा नै जीवन बिताएँ । अहिलेसम्म पनि यही क्षेत्रमा समर्पित छु । यसैमा लगाव छ । पार्टीमा आवद्ध हुँदा पनि म कलाकारकै हैसियतमा गएको हो । उहाँहरूले मलाई सांस्कृतिक विभागमा राख्नुभएको छ । बोर्ड नै एउटा संस्था हो जसले नेपाली चलचित्र क्षेत्रको नीतिगतरूपमा कुराहरूमा काम गर्छ । त्यही भएर मैले इच्छा गरेको हुँ । आफ्नो क्षेत्रको थप सेवा गर्न सकुँ भन्ने ध्येय हो ।

    – विकास बोर्डमा गएर के काम गर्न सक्छु जस्तो लाग्छ ?

    विकास बोर्डलाई हामीले लामो समयदेखि हेरेर आयौं नि त । म २००२ मा नीर दाइ अध्यक्ष हुँदा सदस्य थिएँ । त्यो बेला बोर्ड भर्खर गठन भएको थियो । त्यसअघि एकजना मात्रै अध्यक्ष हुनुभएको थियो । प्लस हामी भाडाको घरमा बस्थ्यौं । बोर्डले अहिले धेरै प्रगति गरेको छ । आफ्नो भवन पनि निर्माण भयो । त्यो बेला अलिकति केटाकेटी थिएँ होला आफू पनि । अहिले आएर चाहीँ परिपक्वता आइसकेको छ । दिदी भन्नुहुन्छ सबैले । सो ह्वाइ नट । चलचित्र क्षेत्रलाई अभिभावकत्व दिन सक्छु होला जस्तो लाग्छ ।

    – तर, तपाईं नै हुनुपर्ने थप केही कारण ?

    सबै क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व कमै छ । नेतृत्व तहमा त छँदैछैन । चलचित्र सम्बन्धित संघ-संस्था ८-१० वटा छन् । सबैमा प्रायः पुरुष पात्र नै हुनुहुन्छ । मेरो विचारमा महिलाहरु सिन्सियर हुन्छन् हरेक काममा जस्तो लाग्छ ।

    चलचित्र क्षेत्रको अहिलेसम्मको उच्च निकाय बोर्ड नै हो । यसमा महिलाले किन पहल नगर्ने त ? हुनु नहुनु सेकेन्डरी कुरा भयो । तर, म यदि त्यसको लायक छु र गर्न सक्छु भने मैले आफ्नो दाबेदारी प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो ।

    – कत्तिको आशावादी हुनुहुन्छ त ?

    म आशावादी छु । म अप्टिमिस्टिक नै मान्छे हुँ । हत्पत्ति निराश हुन्न । म जे कुरा पनि कुर्छु । सँधै सत्यको जित हुन्छ भन्ने विश्वास गर्छु । समाजमा केही गर्छु भनेर निस्क्या मान्छेलाई कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ । मलाई पनि भएको छ । जसरी म सिधा हिसाबले सोच्छु, तर सबै चिजहरु सिधा हुँदैन । त्यही भएर मलाई विगतमा अलिकति अप्ठेरोजस्तो पर्यो । किनकी म अलिकति नैतिकतामा विश्वास गर्ने मान्छे पनि हो । यदि मेरो आधारहरु छन् भने त डेफिनेटली मैले पाउँछु नि । त्यो विश्वास छ ।

    – सञ्चारमन्त्रीज्यूँसग भेट्नुभएको हो ?

    म उहाँलाई शुभकामना दिन भनेर त गएँ । तर, बोर्डकै कुरा चाहीँ मैले गरेको छैन । अहिले त हल्ला भइसक्यो । नेतृत्व तहलाई जानकारी भइसक्यो होला । कसैले पनि सिधै यसरी कुरा गर्नुहुन्छ होला जस्तो मलाई लाग्दैन । मेरो दक्षता र अनुभव नै पर्याप्त छ ।

    मैले सिनेमाको हरेक पक्ष बुझेको छु । म कलाकारमात्र होइन, प्रोड्यूसर पनि हुँ । चारवटा फिल्म पनि बनाएँ । लास्ट इयर ‘बगान’ बनाएँ । फिल्म चलाउँदाखेरिको परिश्रम, प्रतिस्पर्धा सबै थाहा छ । सिनेमाको नीतिहरु कस्तो भए हुन्थ्यो भन्ने पनि केही केही थाहा छ । म निर्माता संघमा पनि सदस्य थिएँ । नभ्याएर छोडिदिएँ । समस्या त सबैलाई थाहा हुन्छ । तर, एउटा महिलाको पहल हुँदा राम्रो सन्देश पनि जान्छ । हामी सबै महिलाहरुले आफू सक्षम भए प्रतिस्पर्धामा जानुपर्छ भन्ने सन्देश पनि हो मेरो ।

    – आफ्नो कार्ययोजना पनि तयार गरिसक्नुभयो ?

    कार्ययोजना मोटामोटी बनाइसकेको छु । अरुले सोचेको भन्दा फरक हुन सक्छ । प्रायः त मुखैमा छ । पेपरमा पनि बनाएको छु । एक/दुई दिनमा । राम्रोसँग फिनिसिङ गरेर दिन्छु । दिन गनिरहेको छु । आज ७ दिन भयो क्यारे ।

  • ‘घर नम्बर २’मा केकी र उपासना फाइनल

    ‘घर नम्बर २’मा केकी र उपासना फाइनल

    काठमाडौं । साउन २५ देखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ ।

    यो फिल्मको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । अब, फिल्मका लागि मुख्य दुई नायिका पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ ।

    यो फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।

    केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । यस्तै, उपासनाले फिल्म ‘खुस्मा’को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् । योसँगै फिल्ममा मुख्य कलाकारहरुको लाइनअप बलियो बनेको छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको कथा वुद्दिसागरले लेखेका हुन् । फिल्मको छायांकन काठमाडौंमा हुने निर्माण पक्षले बताएको छ ।

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
    फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माण पक्षको भनाई छ ।

    यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । फिल्मलाई यही बर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।

  • समिक्षा अधिकारी र राजेश बर्देवाको स्वरमा तीज गीत ‘नाच छम्म छम्म’ सार्वजनिक (भिडियो)

    समिक्षा अधिकारी र राजेश बर्देवाको स्वरमा तीज गीत ‘नाच छम्म छम्म’ सार्वजनिक (भिडियो)

    काठमाडौं । राजेश बर्देवाको ‘नाच छम्म छम्म’ बोलको तीज गीत सार्वजनिक भएको छ । मंगलबार राजधानी काठमाडौंमा आयोजित एक समारोहका विच गीत सार्वजनिक गरिएको हो ।

    गायक बर्देवाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा चर्चित गायिका समीक्षा अधिकारी र बर्देवाकै स्वर रहेको छ । ओबी रायमाझी र जाहन्वी बस्नेतको अभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

    कृष्ण कंडेल र प्रिया कुमारको शब्द सिर्जनामा सजिएको गीतले तीजको परम्परागत मौलिकतालाई समेटेको छ । बजारमा सार्वजनिक भएका तीज गीत परिवारसँगै बसेर हेर्न नसकिने भएकाले तीज गीतमा विकृति बढेको भन्दै आलोचना भइरहेको बेला बर्देवाले सार्वजनिक गरेको मौलिक भाकामा आधारित ू‘च छम्म छम्म’ लोकप्रिय हुने विश्वास लिइएको छ ।

  • रियालिटी शोका नाममा सीमाहीन अश्लीलता, ‘ब्लाइन्ड डेट’ माथि रोक लगाउन दर्शकको माग

    रियालिटी शोका नाममा सीमाहीन अश्लीलता, ‘ब्लाइन्ड डेट’ माथि रोक लगाउन दर्शकको माग

    काठमाडौं । एउटा कथित रियालिटी शो ‘ब्लाइन्ड डेट’ को नाम धेरैले सुन्नुभएको होला । रियालिटी शो भनिए पनि यो शोमा रियालिटी केही पनि छैन । छ त केबल भरमार अश्लीलता ।

    ‘ब्लाइन्ड डेट’ को अर्थ हो आपसमा अपरिचित दुई युवा र युवती एकैपटक डेटिङ स्पटमा भेट्ने र एक अर्कालाई बुझ्ने । यो अवधारणामा विश्वका थुप्रै राष्ट्रमा राम्रा रियालिटी शोहरू छन् । त्यसकै कपी नेपालमा पनि गर्न थालिएको हो । तर, अक्कलविनाको भद्दा नक्कल झैँ भएको छ नेपालमा । अहिले चलिरहेको ब्लाइन्ड डेटको तेस्रो सिजन यति अपाच्य र घिनलाग्दो छ कि दर्शकले यसमाथि प्रतिवन्धकै माग गर्न थालेका छन् ।

    सुरुमा दुई कथितरूपमा अन्जान व्यक्तिहरू आउँछन् । परिचय गर्छन् । त्यसपछि सिधै सुरु हुन्छ द्वीअर्थि संवाद । उनीहरू घुमाएर फिराएर यौनजन्य भन्दा बाहेकका अरु कुरै गर्दैनन् । जोडीहरूको गफ सुन्दा कहीँ कतै पनि लाग्दैन कि त्यो ‘ब्लाइन्ड डेट’ अर्थात पहिलो अन्जान भेट हो । न त उनीहरूबीच हुने कुराकानीहरू स्वस्फुर्त हुन् । उनीहरूले बोलेका ९० प्रतिशत संवादहरू स्क्रिप्टेड हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

    ब्लाइन्ड डेटको पहिलो सिजन २०७७ सालमा प्रशारण भएको थियो । स्क्रिप्टेड नै भए पनि पहिलो सिजन केही हदसम्म मनोरञ्जक थियो र धेरै किशोर-किशोरीहरू यसमा झुम्मिएका थिए । यो शोको लोकप्रियतालाई हेरेर हिमालय टेलिभिजनले खरिद गरेर प्रसारण थाल्यो । तर, विस्तारै अश्लील हुन थालेपछि यसलाई बन्द गर्न टिभी बाध्य भयो । अहिले यो शो युट्यूवमा मात्र आउँछ । तर, आफ्ना छोराछोरीले हेर्लान् कि भनेर बाबुआमा त्राहटीमाम बन्नुपर्ने अवस्था आएको छ । यो शो अहिले एउटा पोर्न सिरियल भन्दा कम छैन ।

    अहिले यो शोमा द्विअर्थी कुरामात्र हुँदैन, खुलेरै यौनजन्य संवाद र अश्लील क्रियाकलापहरू समेत हुन थालेका छन् । केटा र केटी अर्धनग्न भएर एउटै ओछ्यानमा सुतेका हुन्छन् । केटाले ओछ्यानमा ‘स्टामिना’ देखाउन नसेकको भनेर केटीले गुनासो गर्छिन् । एउटै केटी कहिले यो केटासँग, कहिले त्यो केटासँग शारीरिक सम्बन्ध राख्छिन् । एउटा केटीकै सामुन्ने दुई केटा र केटी फिजिकल हुन्छन् । एउटा भुस्तिघ्रे कार्यक्रमभरि अन्डरवेयरमा मात्रै देखिन्छ ।

    माया-प्रेम भन्ने कुरा दूरदूरसम्म कार्यक्रमको फर्म्याटमा छैन । छ त केवल अश्लीलता अनि छाडापन । निर्गतिलाे पृष्ठभूमिका केही युवक र युवतीलाई विभिन्न भूमिका दिएर कथित रियालिटी शो निर्माण गरिएको छ । उनीहरूको वास्तविक जीवन र कार्यक्रममा निभाएको भूमिकामा कुनै पनि तादाम्यता छैन । यो कार्यक्रममा भाग लिइसकेपछि उनीहरू समाजमा शिर ठाडो गरेर हिँड्न सक्लान् त भन्ने प्रश्न उठ्छ । यस्तो लाग्छ कि कार्यक्रममा भाग लिनका लागि पहिलो शर्त नै ‘चारित्रिक पतन’ हो । समाजमा अलिकति पनि इज्जत भएका युवायुवतीले यस्तो कार्यक्रममा भाग लिन सय चोटि सोच्नुपर्छ ।

    कार्यक्रमको डाइरेक्टरलाई देख्यो भने त उदेक नै लाग्छ । टीआरपीका लागि उनी जे पनि गर्न तयार छन् । जति तल पनि गिर्न तत्पर छन् । उनको लवाइ र अन्दाज एउटा उदेकलाग्दो छ । डाइरेक्टर आफैं प्रतियोगी भन्दा छाडा भएर प्रस्तुत हुन धक मान्दैनन् । उनको दिमागमा भ्यूज र टिआरपीभन्दा सायद अरु केही पनि छैन । कमेन्ट बक्समा हेर्ने हो भने दर्शककाे गालीगलौज मात्र हुन्छ । कार्यक्रममाथि रोक लगाउन दर्शकले माग गरिरहेका हुन्छन् । तर, निर्माता निर्देशकलाई परवाह छैन । उनीहरू भ्यूजमै रमाइरहेका छन् ।

    नेपालको कानूनअनुसार सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गर्न पाईँदैन । युट्यूव भनेको पनि सार्वजनिक प्लेटफर्म हो । अहिले सबैको हातमा मोबाइल र इन्टरनेट छन् । नेपालमा बच्चादेखि बुढासम्मले युट्यूव हेर्छन् । यस्ता सामग्रीहरू बालबच्चाको पहुँचमा पुग्नु भनेको असाध्यै ठूलो चिन्ताको विषय हो । डिस्क्लेमर लेखेको भरमा १८ वर्ष मुनिका बालबालिकाहरू यो कार्यक्रम हेर्न पक्कै रोकिँदैनन् । त्यसमाथि ‘ठगलाइफ नेपाल’ जस्तो ११ लाख फलोअर्स भएको पेजले यो अश्लील कार्यक्रमलाई प्रवद्र्धन गर्दै आएको छ ।

    मेकर्सले त भ्यूज बलुटिरहेका छन्, डलर कमाइरहेका छन् । तर, यसले समाजलाई कता लैजान्छ ? युवाहरूलाई कस्तो सन्देश दिन्छ ? नेपालमा सामाजिक सञ्जाललाई कडासँग नियमन गर्ने एउटा बलियो कानून र सरकारी संयन्त्रको आवश्यता टड्कारोरूपमा खट्किरहेको छ । कुनै पनि निकायमा दर्ता नभइकन एउटा युट्यूव अकाउन्ट खोलेका भरमा जस्ता पनि सामग्री प्रसारण गर्ने छुट कहिलेसम्म दिने ?

    एउटालाई आँखा चिम्लिने हो भने भोलि भ्यूज र टीआरपीका लागि यस्ता खालका कार्यक्रमको भेल उर्लने निश्चित छ । ब्लाइन्ड डेटजस्तो आपत्तिजनक कार्यक्रमलाई तत्काल बन्द गराउनेतर्फ नियामक निकायहरूको ध्यान जावस । कुनै सशुल्क एपमा राख्नु बेग्लै कुरा हो, तर युट्यूवजस्तो सबैको पहुँचमा रहेको प्लेटफर्ममा यसलाई अनुमति दिनु हुँदैन ।

  • प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक (भिडिओ)

    प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक (भिडिओ)

    काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँ स्थित हिलटन होटलमा भव्य कार्यक्रमको आयोजना गरि उक्त गीत सार्वजनिक गरिएको हो ।

    एकता र सामूहिक प्रयासको महत्वमा केन्द्रित उक्त गीतले नेपाली जनताहरू मिलेर काम गरे भने नेपालको समृद्धि सम्भव छ भने सन्देश दिइएको छ ।

    नेपालमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसका कारण मानिसहरूले भोगेको दुखलाई उजागर गरेको उक्त भिडिओमा सामूहिक रूपमा काम गरेर नेपालीहरूले यी चुनौतीहरूलाई पार गर्न सक्छन् भन्दै समृद्धिको नयाँ युग सुरुवात गर्न आह्वान गरेको छ ।

    चर्चित कलाकारहरू नाजिर हुसेन र केकी अधिकारी लगायतको अभिनय रहेको यस गीतको भिडिओले युवाहरूलाई सम्बोधन गर्दै उनीहरूलाई विदेशमा अवसरहरूको खोजी सराहनीय छ, तर आफ्नो देशको विकासमा योगदान गर्नका लागि फर्किनु महत्त्वपूर्ण छ भनेर देखाइएको छ ।

    गीतले नेपाली युवाहरूलाई आफ्नो सीप र शान फिर्ता ल्याएर समृद्ध राष्ट्र निर्माण गर्न प्रोत्साहित गरेको छ । सगोत्री आचार्यको शब्द र सत्यराज स्वरूपराज आचार्यको आवाजमा सजिएको यस गीतको भिडियो फिलिप डिसी र सिआर बस्नेतले निर्माण गरेका हुन् भने निकेश खड्‌काले निर्देशन गरेका हुन् ।

    उक्त कार्यक्रममा हामी नेपालीहरूले हालैका प्राकृतिक विपद्बाट पुनः उत्थान भइरहेको र विपत्ति रहित सुन्दर भविष्यको खोजी गर्ने समय आएको बताइएको छ । गीतले सबै नेपालीलाई आफ्नो पृष्ठभूमि जेसुकै भए पनि साझा लक्ष्यतर्फ काम गर्न र बलियो लचिलो राष्ट्र निर्माण गर्न सँगै आउन प्रेरित गरेको छ ।

    गीत विमोचनको साथै राइटपाथ करियर काउन्सिलिङले पूर्व मिस नेपाल अस्मी श्रेष्ठ सँगको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) सम्झौता आगामी एक वर्षको लागि नवीकरण गरेको छ ।

    यस साझेदारीको हिस्साको रूपमा दुई वटा आधिकारिक टेलिभिजन विज्ञापनहरू (TVCs)  पनि समारोहमा अनावरण गरिएको छ ।

    राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसिले यस परियोजनालाई जीवन्त बनाउन पाउँदा रोमाञ्चित भएको बताएका छन् । उनले भने ‘हाम्रो उद्देश्य नेपालीहरूलाई उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न प्रेरित गर्नु र घर फर्केर देशको समृद्धिमा योगदान गर्ने महत्त्वलाई बुझाउनु हो ।’

    हेर्नूहोस् भिडिओ :

  • प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक, माधव नेपाल र ज्ञानेन्द्र शाही अटाएनन्

    प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक, माधव नेपाल र ज्ञानेन्द्र शाही अटाएनन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको पहिलो फिल्म ‘नमेटिने घाउ’ यही भदौ ७ मा रिलिज हुने भएको छ । उक्त फिल्मको पोस्टरसँगै निर्माण पक्षले रिलिज डेट सार्वजनिक गरेको हो ।

    आज सार्वजनिक गरिएको पोस्टरमा प्रधानमन्त्री ओली फिचर्ड छन् । उनलाई सबैभन्दा केन्द्रमा राखेर अन्य कलाकारहरुलाई वरिपरि राखिएको छ । पोस्टरमा अधिकांश एसिड पीडित अनुहारहरु छन् । चलचित्रमा अभिनय गरेका अन्य दुई राजनीतिज्ञ माधवकुमार नेपाल र ज्ञानेन्द्र शाहीलाई पोस्टरमा स्थान दिइएको छैन ।

    प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्रै सो चलचित्रको डबिङ सिध्याएका थिए । माधव नेपालले पनि आफ्नो डबिङ गरिसकेका छन् । ओलीले ७२ वर्षको उमेरमा फिल्ममा डेब्यू गरेका हुन् ।

    चलचित्रमा ओली र नेपालले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् भने ज्ञानेन्द्र शाहीले अभियन्ताको भूमिका निर्वाह गरेका छन् । बहालवाला प्रधानमन्त्रीले चलचित्रमा अभिनय गरेको नेपालमा पहिलो घटना हो ।

  • नेपथ्यको अमेरिका श्रृंखला २०२४ : कोलोराडोबाट भव्य सांगीतिक यात्रा सुरु

    नेपथ्यको अमेरिका श्रृंखला २०२४ : कोलोराडोबाट भव्य सांगीतिक यात्रा सुरु

    डेनभर (अमेरिका) । दुई घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो- ‘गजब ! कलाकार र स्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव ।’

    कोलोराडो राज्यकै ऐतिहासिक धरोहरमध्येमा पर्ने झण्डै सवा एक सय वर्ष पुरानो ‘बोल्डर थिएटर’मा तीन दशकदेखि सेवारत रोब भन्दै थिए, ‘मञ्चबाट आएको कलाकारको आवाजभन्दा दर्शकहरुको सामूहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन गर्न चुनैतीपूर्ण हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।’

    सात वटा अमेरिकी शहरमा श्रृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने सांगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य सम्पन्न भएको छ।

    स्थानीय समयअनुसार बेलुकी ७ बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेंडाको ऊन जस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दियो ।

    ‘दर्शक र कलाकार दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुदेखि नै मञ्च र दर्शक दीर्घाका बीच एक किसिमको सिनर्जी विकास हुँदै गएको देखिन्थ्यो’, बोल्डर थिएटरका अपरेशनल म्यानेजर ड्यानियल मर्फी भन्दै थिए ।

    व्यवथापन, प्राविधिक संयोजन, दर्शकको ऊर्जा र कलाकारको प्रस्तुति सबैको जादुयी समीश्रणले यो कार्यक्रम उत्कृष्ट र अविस्मरणीय बन्न पुगेको स्टेज म्यानेजर डेल फ्यान्टनले सुनाए ।

    नेपथ्य ४० दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको थियो । यात्राको पहिलो कार्यक्रम आत्मीय रहेको ब्याण्डका अमृत गुरुङले प्रतिक्रिया दिए ।

    ‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौंलाई भगिनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ’, अमृतले भने, ‘दुवै शहरका नगर प्रमुखबीच यहाँ एक नेपाली सांस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’

    ब्याण्ड पहिलो पटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपालीहरुको अपार उपस्थिति देख्न पाउँदा खुशी लागेको उनले बताए ।

    कन्सर्टमा आएका दर्शकहरुमध्ये केही चिरपरिचित अनुहारहरु थिए , तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रीमा गुरुङ होडा ।

    ‘कोलोराडो वरिपरिबाट आएका नेपालीहरुको भीडले बोल्डर शहरलाई नेपालमय बनाएको अनुभव भैरहेको छ’ कन्सर्ट सकिएपछि रीमाको प्रतिक्रिया थियो, ‘नेपथ्य कन्सर्ट अनुभव गर्ने कोलोराडोवासी नेपालीहरुको लामो समयदेखिको सपना बल्ल पूरा भएको छ ।’

    स्थानीयको भनाइ उल्लेख गर्दै रीमाले कुनै पनि नेपाली कार्यक्रम तोकिएकै समयमा ठ्याक्कै सुरु भएर भनिएकै समयमा अन्त्य भएको यो पहिलो अनुभव बन्न पुगेको बताइन् ।

    नेपथ्यका सर्वकालीक हिट गीतहरु समेटिएको कन्सर्टमा ब्याण्डको स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म अटाएको थियो ।

    कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरु संकलन गर्ने अवसर पाएको सुनौउँदै नेपाल आउँदा देश घुम्न पनि सुझाए । अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत ‘शीरफूल’ सुनाए र, पृष्ठभूमिको पर्दामा देखियो यात्राका दौरान अमृतले खिचेका रुकुम यात्राका तस्विरहरु ।

    ‘नेपाल सम्झिएँ, यहाँका नेपालीहरुको सामीप्य अनुभूत गरें, अमृत भाइ र नेपथ्य टोलीले यहाँ चमत्कार नै गरे’, लहरा पहरा गीतका सर्जक लेकाली गायक हिरण्य भोजपुरेले आफ्नो अनुभव सुनाए । भोजपुरेका श्रीमती, पूर्वसचिव र लेकाली गायिका उर्मिला श्रेष्ठका साथै दुई छोरा, छोरी ज्वाइँ र नातिनीसहित कार्यक्रम हेर्न आएका थिए ।

    ‘यो उमेरमा पनि एक्लै दुई घण्टा प्रस्तुति दिनसक्ने अमृत भाइको स्टामिना देख्दा र उनीसँगै सबै रमाएको देख्दा एकदम रमाइलो लाग्यो’, उर्मिलाले थपिन् ।

    भोजपुरेकी छोरी सितुले थपिन्, ‘उचित व्यवस्थापन पायो भने नेपाली कार्यक्रम पनि अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत हुनसक्छ भनेर यो कार्यक्रमले देखाएको अनुभव भयो ।’

    कन्सर्टको अन्तिमतिर पुग्नैलाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरुको संख्या बढ्न पुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरुमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भव्य रुपमा ‘सोल्ड आउट’सहित सभ्य रुपमा भएको प्रतिक्रिया दिएको छ ।

    अबको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय समृद्ध शहर सान फ्रान्सिस्कोमा हुने नेपालयका अर्पण शर्माले जानकारी दिए । उनका अनुसार त्यहाँस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।

    त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुने शर्माले जानकारी दिए ।