Category: कलाप्रेस

  • ‘देवी’को ट्रेलर सार्वजनिक

    ‘देवी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।

    आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

    सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक सन्जोग राईले आफू प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडिबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफूले विभिन्न उतारचढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।

    आफूले यो सामाजिक कथामा सिनेमा निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आए पनि सामाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले देवी बनाएको निर्देशक राईले बताए । आफ्नो सिनेमा रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।

    निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी सिनेमामा सह(निर्माताको रूपमा छिन् । सिनेमाको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।

    सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

    सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

    रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • कृष्ण ढुंगेलको दोस्रो कृति ‘समयको नक्साबाहिर’ सार्वजनिक

    कृष्ण ढुंगेलको दोस्रो कृति ‘समयको नक्साबाहिर’ सार्वजनिक

    काठमाडौं । लेखक तथा पत्रकार कृष्ण ढुंगेलको संस्मरणात्मक निबन्ध ‘समयको नक्साबाहिर’ विमोचन भएको छ । शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबीच ढुंगेलको दोस्रो सार्वजनिक भएको हो ।

    मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देल एवम् लेखकसहितले पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

    कार्यक्रमको सहजीकरण राजु झल्लु प्रसादले गरेका थिए । कार्यक्रममा कृतिमाथि अतिथिहरुसँग बहस एवम् अन्तरक्रिया भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासका रुपमा चित्रण गरेका थिए । उनले भने, ‘ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।’

    लम्सालले संस्मरणात्मक कृतिमा जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछि ‘समयको नक्साबाहिर’ रहेको बताए ।

    ‘समयको नक्साबाहिर’ले युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ’, लम्सालले भने, ‘भाइरल भए होस्, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछिको युवापुस्ताको गजबको संस्मरणात्मक पुस्तक यो हो ।’

    लेखक तथा समीक्षक अनिता पन्थीले पुस्तकमा बालमनोविज्ञान यथेष्ट रहेको बताइन् । ‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो’, उनले भनिन्, ‘यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।’

    राजनीतिकर्मी तथा लेकक गणेश कार्कीले विज्ञान, खेल र सिकाइलाई यो पुस्तकले मीठोसँग प्रस्तुत गरेको बताए । ‘लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिंडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ’, कार्कीले भने ।

    साहित्यपोस्टका सम्पादकसमेत रहेका लेखक ढुंगेलले आफूले आफैंलाई पोख्न पुस्तक लेखेको आशय उल्लेख गरे । उनले भने, ‘मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखें । आफैंलाई झल्न नसकिंदो रहेछ, र जे थियो त्यही लेखें । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखें ।’

    कार्यक्रमको सभापतित्व भुवनहरि सिग्देलले सबैलाई धन्यवाद दिँदै भने, ‘कृष्णजीको पुस्तक धेरै नै फरक र योग्य भएकाले नै पेजटर्नरले प्रकाशन गरेको हो ।’

     

     

  • लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत ‘काँकी है बाज’ बजारमा

    लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत ‘काँकी है बाज’ बजारमा

    काठमाडौं । नवोदित गायक लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत बजारमा आएको छ ।

    गोपाल दयालको शब्द र एरेन्ज रहेको गीतको मिक्सिङ मनोज परियारले गरेका छन् ।

    काठमाडौंको म्युजिक प्लस स्टुडियोमा गीत रिलिज भएको हो । अहिले अडियो सार्वजनिक भएको गीतको भिडिओ छिट्टै बजारमा आउने गायक धामीले बताए ।

  • यी हुन् युट्युबमा सबैभन्दा बढी हेरिने शीर्ष १० नेपाली टेलिसिरियल

    यी हुन् युट्युबमा सबैभन्दा बढी हेरिने शीर्ष १० नेपाली टेलिसिरियल

    काठमाडौं । कुनै समय थियो, परिवारका सदस्यहरु एकसाथ नेपाली सिरियल हेर्ने गर्थे । त्यो समय सबैको हातमा मोबाइल हुँदैन थियो । इन्टरनेटको पहुँच अहिले जस्तो थिएन । नेटवर्कको समस्याका कारण टीभी झ्यारझ्यार नै आए तापनि एन्टिना घुमाउँदै मेरी बाँस्सै, तीतोसत्य, मदनबहादुर-हरिबहादुर आदि सिरियलले धेरैको दिनभरिको थकान मेटाउँथ्यो ।

    तर समयसँगै माहोल बदलियो । प्रविधिको द्रुत विकास भयो । हरेकको हातमा मोबाइल फोनको पहुँच भयो । हरेकको घरमा ल्यापटप, कम्प्युटर आदि ग्याजेट्सहरु हुन्छन् नै । अचेलका विद्यार्थीले प्रोजेक्ट, असाइन्मेन्टहरु फोन, ल्यापटप, कम्प्युटर आदिबाटै अधिकतम पढाइ गर्ने गर्छन् ।

    प्रविधिको विकाससँगै ग्याजेट र इन्टरनेटको पहुँच सबैमा पुगेपछि पहिला जस्तो सिरियल हेर्ने माहोल पनि सेलाउँदै गयो । मान्छेहरु एक्लाएक्लै प्रविधिको दुनियाँमा हराए । महिलाहरु पनि घरबाट कामका लागि बाहिरिन थाले । घरमै रहने गृहिणीहरु पनि भारतीय सिरियलप्रति आकर्षित हुन थाले । यसपछि त एक हिसाबले नेपाली सिरियलहरु गयल नै हुन थाले ।

    तर बीचमा गयल भएका नेपाली सिरियलहरु अहिले धमाधम बनिरहेका छन् । प्रशारणका लागि टेलिभिजनकै भर पर्नुपर्ने अवस्था नभएकाले सिरियल बनिरहेका छन्, युट्युबमा सार्वजनिक भइरहेका छन् । सिरियललाई दर्शकले पनि उत्तिकै रुचाइरहेका छन् । अहिले युट्युबमा सीता, कान्छी, भुन्टी आदि सिरियलका भ्युज रातारात मिलियन पार हुन्छ । सिरियलबाटै कति कलाकारले आफ्नो करियर चम्काएका छन् ।

    १) भुन्टी र कान्छी

    यी दुई सिरियल अहिलेको चल्तीको र हेरिने सिरियलहरुमध्ये हुन् । हामीले यी दुई सिरियललाई एउटै लिस्टमा राखेका छौं । किनभने यी दुवै सिरियल कलाकार आशा गौतमले निर्माण गरेकी हुन् ।

    आशा यी दुई सिरियलको कलाकारमात्र होइनन्, उनी लेखक, निर्माता तथा निर्देशक पनि हुन् । कान्छीको २१५ औं भाग र भुन्टीको २२६औं भाग पुगेका छन् । सिरियलको दुनियाँमा आशाको नामै पनि चर्चित छ ।

    अन्य कलाकार पनि यस सिरियलमा भएपछि भुन्टी र कान्छी भन्नासाथ अधिकतम सुनिने नाम उनैको हो । सानै उमेरमा सिरियलको दुनियाँमा प्रवेश गरेकी उनको कामको तारिफ पनि हुने गरेको छ । यी दुई सिरियलको भ्युज पनि मिलियनमा आउने गरेको छ ।

    २) सीता

    भुन्टी र कान्छी झैं अहिलेको चल्तीको सिरियलमा गनिने अर्को नाम हो- सीता । कलाकार सुनिशा बजगाईं मुख्य भूमिकामा रहेको यो सिरियलले पनि मिलियनमा भ्युज पाउने गरेको छ ।

    सीताको भूमिकामा देखिएकी सुनिशाको अलावा सिरियलमा सहिन प्रजापति, राजु भुजू, तारा केसी, सविता गुरुङ, बालकृष्ण ओली आदि कलाकारको अभिनय देख्न सकिन्छ । सहिन प्रजापतिकै कथा, डाइलग र निर्देशन रहेको यस सिरियललाई शैलेश खत्रीले निर्माण गरेका हुन् ।

    सिरियललको कार्यकारी निर्माता भने बालकृष्ण ओली हुन् । छोटो समयमा ठूलो सफलता हात पारेको यो सिरियल सामाजिक कथामा आधारित छ । भर्खरै ४६औं भाग पुगेको यस सिरियलको पछिल्लो भागको भ्युज ३ मिलियन अर्थात ३० लाख बढी छ ।

    ३) सक्किगोनी

    अहिलेका चलेका सिरियलहरुको अर्को लिस्टमा पर्छ- सक्किगोनी । ६३औं भाग पुगेको यस सिरियलका धेरै पात्र जस्तै : पाँडे, जिग्री, खुपीका बाउ, बले, ककरोच, जयन्ते, मुन्नी चर्चित छन् ।

    हाँस्यव्यंग्यमा आधारित यस सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, सागर लम्साल, हरि निरौलालगायतको मुख्य भूमिका रहेको छ । सक्किगोनीको कथा, स्क्रिनप्ले र डाइलग अर्जुन घिमिरे र कुमार कट्टेलले मिलेर लेखेका हुन् । यस सिरियलको निर्देशन पनि यी दुईले नै गर्दै आएका छन् ।

    ४) गाह्रो छ हो

    हाँस्य टेलिश्रृंखला ‘गाह्रो छ हो’ पनि धेरै हेरिने सिरियलको लिस्टमा पर्छ । एपीवान टेलिभिजन र भटभटे माइला नामक युट्युब च्यानलबाट प्रशारण हुने यस सिरियलमा पहिला मोडल रियाशा दाहाल र बेगम नेपाली मुख्य भूमिकामा थिए ।

    भटभटे माइलाको नामले परिचित बेगम नेपाली र रियाशाको जोडी दर्शकले अत्यधिक रुचाएको जोडीमध्येको एक हो । अहिले भने यो सिरियलमा रियाशा दाहाल छैनन् । यस सिरियलको कथा बेगम नेपालीले नै लेख्छन् ।

    २१४औं एपिसोड पुगेको यो सिरियलको भ्युज युट्युबमा औसत १० लाख कट्ने गर्छ । सिरियलमा सुशील पोख्रेल, अंशु थापा, विनोद राई, राजकुमार देवकोटा, नवीना सिलवाललगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

    ५) जुठे

    ओएसआर डिजिटल र हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘जुठे’ दर्शकले रुचाएका सिरियलमध्येको एक हो । छोटो समयमै दर्शकको मन जित्न सफल यो सिरियलको पनि भ्युज मिलियनमा आउने गर्छ ।

    १६७औं एपिसोड पुगेको हाँस्यव्यंग्यसहितको सामाजिक कथामा आधारित यस सिरियललाई राजु पौडेल र मरिचमान श्रेष्ठले मिलेर लेख्ने गर्छन् । राजु पौडेल राजु मास्टरको नामले परिचित छन् भने मरिचमान श्रेष्ठ बल्छी धुर्वे नामले चिनिन्छन् । यी दुईले सिरियलको लेखन तथा निर्देशन सँगसँगै अभिनय पनि गर्दै आएका छन् ।

    ६) हल्का रमाइलो

    भर्खरै चर्चा गरिएको ‘जुठे’ सिरियलकै लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को लेखन तथा निर्देशन रहेको सिरियल हो- हल्का रमाइलो । हिमालय टेलिभिजन र ‘बल्छी धुर्वे’ नामक युट्युब च्यानलबाट प्रशारण हुने यो सिरियलको हरेक एपिसोडको भ्युज औसतमा एक मिलियन पार हुने गर्छ । २४२औं एपिसोड पुगेको यो सिरियलमा लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरु विष्ट, राजु पौडेल, मरिचमान श्रेष्ठलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

    ७) हर्के हलदार

    ६६२औं एपिसोड पुगेको ‘हर्के हलदार’ कान्तिपुर टेलिभिजन र कान्तिपुरकै आधिकारिक युट्युब च्यानलबाट प्रशारण हुन्छ । हाँस्यव्यंग्यमा आधारित यस सिरियलको हरेक एपिसोडको भ्युज औसतमा ३ देखि ५ लाख हुने गर्छ ।

    पुराना सिरियलमध्येको एक यो सिरियलको लेखक मनोज खड्का हुन् भने निर्देशक ईन्द्र दोङ लामा हुन् । सिरियलमा सुरेन्द्र केसी, श्याम राई, रोशनी सापकोटा, इन्द्र डोङ लामा, सरु दाहाल, शान्ति बस्नेत, मनोज खड्का, सस्मिता गिरी, राजेन्द्र गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

    ८) भद्रगोल

    कुनै समय नेपाली सिरियलको दुनियाँमा दर्शकले अत्यधिक रुचाएको सिरियलको लिस्टमा रहेको सिरियल हो- भद्रगोल । तर समयसँगै यो सिरियलको दर्शक भ्युज पनि घट्यो । सीता, कान्छी, भुन्टी जस्ता सिरियलले दर्शकको मन जितेपछि यो सिरियलको भ्युज पहिलाभन्दा केही घटेको हो ।

    नेपाल टेलिभिजन र युट्युबमा मिडिया हब अफिसियलबाट प्रशारण हुने यस हाँस्य टेलिश्रृंखला ४५१औं भाग पुगिसकेको छ । अहिले यो सिरियलको भ्युज हरेक एपिसोडमा औसतमा ३ देखि ५ लाख आउने गर्छ ।

    ९) मेरी बाँस्सै

    हाँस्य टेलिश्रृखंला ‘मेरी बाँस्सै’ को नाम नसुन्ने दर्शक त सायदै होलान् । सिरियलको दुनियाँमा यो एउटा पुरानो र लामो इतिहास बोकेको सिरियल हो । कुनै समय थियो, जुन बेला ‘मेरी बाँस्सै’ भनेपछि मान्छेहरु खान लागेको खाना पनि छोडेर यो सिरियल हेर्न बस्थे ।

    यो सिरियलले धुर्मुस, सुन्तली, माग्ने बुढा आदि थुप्रै चर्चित पात्र जन्माएको छ । सुरुमा यो सिरियल केदार घिमिर (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)बाट सुरु भएको थियो । त्यो समय यो सिरियलको चर्चा निकै नै राम्रो थियो । त्यो समयदेखि यो समयसम्म आइपुग्दा यो सिरियलले धेरै आरोह-अवरोह पार गरिसकेको छ । कुनै समय मिलियन-मिलियनमा भ्युज जाने यो सिरियलको भ्युज अहिले मुस्किलले मिलियन पुग्छ ।

    १०) गोलमाल रिटर्न्स

    हिमालयन टेलिभिजनबाट प्रशारण हुने यो सिरियल युट्युबमा ‘भाइब्स क्रियसन’ बाट आउने गर्छ । यो सिरियल पहिला ‘गोलमाल’ को नामबाट आउने गर्थ्यो । गत असार ३ गतेबाट नयाँ सिजनस्वरुप ‘गोलमाल रिटर्न्स’ को नामबाट आएको हो ।

    सविन शाक्यको निर्देशन रहेको ‘गोलमाल रिटन्र्स’ का लेखक पूर्ण थापा र निर्माता तथा सल्लाहकार पर्शुराम रिजाल हुन् । सिरियलमा पूर्ण थापा, बालदीप राई, रवि डंगोल, सविन शाक्य, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

  • फिल्म ‘आँखा’को प्रदर्शन मिति तोकियो

    फिल्म ‘आँखा’को प्रदर्शन मिति तोकियो

    काठमाडौं । सामाजिक विषयवस्तुमा तयार फिल्म ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अन्य कुनै पनि नेपाली फिल्मले मिति तोकेका छैनन् । यो फिल्मले असोज ११ मा सोलो रिलिजको अबसर पाउनेछ ।

    फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ । निर्देशक जौन योन्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।

    ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

    नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको फिल्मलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

    फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । निर्देशक योन्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोकेको बताए । योन्जन यो फिल्मपछि ‘रोल नम्बर १’ नामको अर्को फिल्मको तयारीमा छन् ।

  • अनमोलको शीर्ष भूमिका रहने ‘जेरी अप टप’ फ्लोरमा जान तयार

    अनमोलको शीर्ष भूमिका रहने ‘जेरी अप टप’ फ्लोरमा जान तयार

    काठमाडौं । अभिनेता अनमोल केसी शीर्ष भूमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जान तयार छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनीले आवेदन आह्वान गरेको छ ।

    कुनै पनि सुन्दर सांगीतिक धुनविना हरेक प्रकारका प्रेमकथा अपुरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्मस्‌ले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अवसर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

    इच्छुक जो कसैले पनि ‘जेरी अन टप’को प्रेमिल पृष्ठभूमिमा रहेर संगीत तयार गरी यही भदौ मसान्तसम्म अनन्या फिल्मस्‌ले आधिकारिक इमेलमा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए ।

    न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालीप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

    सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् ।

    ‘जेरी अन टप’लाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण अधिकार लिएको छ ।

  • फिल्म ‘वर एण्ड वधु’को ट्रेलर रिलिज (भिडिओ)

    फिल्म ‘वर एण्ड वधु’को ट्रेलर रिलिज (भिडिओ)

    काठमाडौं । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

    मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।

    सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

    यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।

    फिल्म ‘वर एण्ड वधु’को ट्रेलरमा विशेषगरि, आँचल र विवेकबिचको रोमान्स, लभ, धोका देखाइएको छ ।

    फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै कलाकार किरण केसीले आफूले काम गरेका एक सय बढी फिल्ममध्ये यो फिल्म एक–दुई नम्बरमा पर्ने बताए ।

    यस्तै, निर्देशक मिलन चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । नायक विवेक कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे ।

    नायिका आँचल शर्मा फिल्म ‘वर एण्ड वधु’ दर्शकका लागि विशेष खुराक हुने बताइन् ।

    फिल्मको ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेशनमा खिचिएको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

  • ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

    ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

    काठमाडौं । दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो ।

    विवाहको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा दुईदेखि सिनेमा हलमा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक सिनेमाको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

    जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालि प्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ । गीतको सार्वजनिक गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमाको गीत रिलिज कार्यक्रममा निश्चल र स्वस्तिमालाई सफलताको शुभकामना दिन निर्मात माधव वाग्ले, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, संघिय सांसद विनिता कठायत, हास्य कलाकार सुमन कार्की लगायतको उपस्थिती रहेको थियो ।

    सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

  • ‘१२ गाउँ’को टिजर सार्वजनिक

    ‘१२ गाउँ’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो ।

    अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजर हेर्दा सिनेमाले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनोमाका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ ।

    सार्वजनिक टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश गरिएको छैन् । यो उनको डेव्यु सिनेमा हो । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो सिनेमाबाट आफुलाई एक्सन हिरोको रुपमा चिनाएका छन् । नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक विराजको छ । सिनेमाको सार्वजनिक टिजरले त्यो देखाएको पनि छ ।

    यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

    विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

    एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

  • ‘बिस्तराले पोल्यो’ गाएर माफी मागेकी शान्तीश्रीको नयाँ गीत– ‘जवानीले पोल्यो’, यो पनि उस्तै हट

    ‘बिस्तराले पोल्यो’ गाएर माफी मागेकी शान्तीश्रीको नयाँ गीत– ‘जवानीले पोल्यो’, यो पनि उस्तै हट

    काठमाडौं । गायिका शान्ती श्री परियाले आफ्नो एक गीतलाई तिव्र विवाद उत्पन्न भएपछि १५ दिन अगाडि मात्रै सामाजिक सञ्जालबाट दर्शकसँग क्षमायाचना गरेकी थिइन् ।

    उनले गाएको ‘बिस्तराले पोल्यो…’ बोलको गीत र भिडिओ उछृङ्खल भएको भन्दै आलोचना भएको थियो ।

    त्यसबेला विज्ञप्ति नै जारी गरेर परियारले भनेकी थिइन्, ‘ म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्वन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरुप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु । साथै आगामी दिनमा शब्द, संगीत, छनोट गरी गाउने वाचा गर्दछु ।’

    तर, उनको यो वाचा १५ दिन पनि टिकेन । दुई दिनअघि शान्तिश्रीको नयाँ गीत रिलिज भएको छ, जसको बोल छ, जवानीले पोल्यो…गीतको शब्ददेखि भिडिओ र कोरियोग्राफी पनि अघिल्लो भन्दा खासै फरक छैन । मोडल पनि उनै बोलाखे छिन् । यसमा पनि उनको पहिरन उही छ र उत्तिकै सेक्सी नृत्य गरेकी छन् ।

    यो गीतका गीतकार र संगीतकार तथा भिडिओ निर्देशक भने फरक छन् । गीतका शब्द तुलाराम लामिछानेले लेखेका हुन् भने पवन परियारले संगीत दिएका हुन् । भिडिओको निर्देशन र कोरियोग्राफी सुरेश पाण्डेको रहेको छ । अघिल्लो गीतजस्तो ‘क्याची’ भने यो गीत छैन ।

     

     

  • गीतको आलोचना गर्नेलाई दीपकराजले दिए शब्दकोश हेर्न सुझाव

    गीतको आलोचना गर्नेलाई दीपकराजले दिए शब्दकोश हेर्न सुझाव

    काठमाडौँ । चलचित्र छक्का पञ्जा ५ को पहिलो गीत रिलिज लगत्तै चर्चा र विवादमा आएको छ ।

    गीतले तीन दिनमै २० लाख भ्यूज छुन लागेपछि खुसीले गदगद छ, निर्माण पक्ष । तर, सँगसँगै गीतको दुईवटा पङ्तिलाई लिएर आलोचना पनि सुरु भएको छ ।

    ‘बिहे भएको छैन, कुमार/कुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना गरिएको हो । आमरुपमा कुमार/कुमारी शब्दलाई यौन सम्बन्ध नराखेको अर्थमा लिइन्छ । विवाहपछि मात्रै यौनसम्बन्ध राख्नुपर्ने सामाजिक मान्यता रहेको हुँदा गीतका शब्दलाई केहीले अपाच्य मानेका हुन् ।

    गायिका ज्योति मगरले सबैभन्दा पहिले यस विषयमा टिप्पणी गरेकी थिइन् । लोक दोहोरीमा छाडापनको बचाउ गर्दै आएकी मगरले ‘संस्कारीहरूले यो गीत बुझेनन् कि क्या हो ?’ भन्दै कटाक्ष गरेकी छन् ।

    ठाडो भाषामा उनले लेखेकी छन्, ‘यो गीतले बिहे गर्‍या छैन तर सम्भोग गर्‍या छु भन्या त हो नि । संस्कारीहरू खोइ भुकेनन् त ?’

    यो गीतका शब्दहरू चलचित्रका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् । टीकाटिप्पणी हुन थालेपछि निर्माता गिरीले सामाजिक सञ्जालमा प्रतिवाद गरेका छन् । शब्दमा आपत्ति जनाउनेहरूलाई शब्दकोश हेर्न उनको सुझाव छ ।

    ‘केही साथीहरूले कुमारीको अर्थ खोजिरहनु भएको रहेछ । शब्दको हेरौं न के लेख्या रहेछ ? शब्दको सही अर्थ खोज्ने ठाउँ त त्यही नै होला होइन र ?’ उनले लेखेका छन् ।

    नेपाली शब्दकोशमा ‘कुमारी’ शब्दलाई १२ वर्षसम्मकी अविवाहित कन्या, छोरी, पुत्री, पार्वती, दुर्गा, र भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौंकी देवी भनेर परिभाषित गरिएको छ ।

  • चलचित्र विकास बोर्डका अध्यक्षमा ६ जनाको आवेदन, दिनेश डिसीको सम्भावना बलियो

    चलचित्र विकास बोर्डका अध्यक्षमा ६ जनाको आवेदन, दिनेश डिसीको सम्भावना बलियो

    काठमाडौं । चलचित्र क्षेत्रको नियामक संस्था चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । हिजो आवेदन दिने अन्तिम म्याद थियो ।

    पहिलो आवेदन एमाले निकट चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले दिएका थिए । त्यसयता थप ५ जनाको आवेदन गरेको हो । अन्य आकाङ्क्षीहरूमा करिश्मा मानन्धर, राजेश थापा, प्रकाश भट्टराई दीपा बस्नेत र अर्जुन कुमार डंगोल रहेका छन् ।

    चर्चित अभिनेत्री करिश्मा मानन्धर सत्तारुढ दल एमालेको सांस्कृतिक विभागको सदस्य छिन् । राजेश थापा सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन् ।

    उनी एक पटक बोर्ड सदस्य पनि भएका थिए । यस्तै, प्रकाश भट्टराई र अर्जुन कुमार डंगोल पनि दयाराम दाहालको पालाका बोर्ड सदस्य हुन् ।  भट्टराई पूर्व माओवादी हुन् । एमाले र माओवादी एकीकरण हुँदा उनी बादलको समूहबाट आएका थिए । उनले एउटा चलचित्र निर्देशन पनि गरेका छन् । डंगोलले द युगदेखि युगसम्म, चपली हाइट लगायत केही चलचित्रको निर्माण गरेका छन् ।

    दीपा बस्नेत पनि एमालेप्रति आस्थावान् चलचित्र निर्देशक हुन् ।

    सञ्चार मन्त्रालयले विज्ञ टोलीको सल्लाहमा औपचारिक प्रक्रिया अनुसार ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ । उनीहरूमध्ये एक जनलाई मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ । कानूनी औपचारिकता पुर्‍याउन आवेदन माग गरिएको भए पनि बोर्ड अध्यक्षको टुंगो भने बालुवाटारले नै लगाउने गरेकाे छ ।

    बालुवाटार स्रोतका अनुसार आवेदन दिएका ६ जनामध्ये कार्यदक्षता र अनुभवका आधारमा दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । लामो समयदेखि चलचित्र तथा सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी एमालेनिकट जन पक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य हुन् । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् । उनले आधा दर्जन चलचित्रको निर्देशन र ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

    डीसीले बोर्ड अध्यक्षका लागि ६९ बुँदे कार्य योजनासहित पहिलो दरखास्त हालेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीबाटै ग्रिन सिग्नल पाएपछि उनले आवेदन दिएका हुन् । उनी ओलीका एक विश्वासपात्रका रूपमा पनि चिनिन्छन् ।

    डीसी निश्चितप्राय: देखिएपछि यसअघि बलिया आकांक्षी मानिएका हल व्यवसायी नरेन्द्र महर्जन ब्याक भएका छन् । उनले आवेदन नै गरेनन् ।

  • ‘जन्ते बाख्रो’मा आशिफ शाह अनुबन्ध

    ‘जन्ते बाख्रो’मा आशिफ शाह अनुबन्ध

    काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । यसअघि नै सिनेमाको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन् । सिनेमामा आशिफको पनि मुख्य भूमिका नै रहने छ ।

    निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै सिनेमाको छायांकन तिहार पश्चात् गर्ने तयारी निर्माण कम्पनीको छ ।

    सिनेमाको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ । जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए ।

    सिनेमाको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढिले आवेदन दिएको बताइको छ ।

    सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

    बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।

    मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । सिनेमाको छायांकन हरि हुँमागाईले गर्नेछन् ।

  • ‘ज्वाई साब’को फस्टलुकमा जितु र नीतिको बिहे, असोज २४ बाट रिलिज हुने

    ‘ज्वाई साब’को फस्टलुकमा जितु र नीतिको बिहे, असोज २४ बाट रिलिज हुने

    काठमाडौं । बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो ।

    यो फिल्मलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।

    दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छन् । फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

    फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

    विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

    रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

    यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

     

  • दक्षिण भारतीय ‘फ्लेवर’ मा रावायणको शीर्षक गीत सार्वजनिक (भिडिओ)

    दक्षिण भारतीय ‘फ्लेवर’ मा रावायणको शीर्षक गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । सुदर्शन थापा निर्देशित महत्वाकांक्षी चलचित्र ‘रावायण’ को टाइटल गीत युट्यूवमा रिलिज गरिएको छ । गीतमा शब्दहरु नेपाली भए पनि संगीत, गायन र भिडिओमा दक्षिण भारतीय चलचित्रको फ्लेवर आउँछ ।

    भारतीय संगीतकार रेवन आरती सिंहले कम्पोज गरेको गीतलाई बलिउड गायक नकाश अजिजले स्वर दिएका हुन् । कृष्णहरी बरालले कोरेका शब्दहरु दमदार भए पनि संगीत र आवाजका कारण झट्ट सुन्दा गीत नेपालजस्तो लाग्दैन । अजिजले नेपाली शब्दहरु असुद्ध उच्चारण गरेका छन् । उनलाई सौरभ रोखन्डे र रेवन आरती सिंहले गायकीमा साथ दिएका छन् ।

    भव्य सेट र ठूलो कोरस टीममा गरिएको गीतको छायांकन निकै खर्चिलो देखिन्छ । तर, नेपालीपनको पूर्णरुपमा अभाव छ । विक्रम स्वारले गीतको कोरियोग्राफी गरेका हुन् । नेपालकै नृत्य निर्देशक विक्रम स्वारले गीतको कोरियोग्राफी गरेका हुन् ।

    गीतमा नायक पल शाह र नायिक पुजा शर्मा फिचर्ड छन् । पल शाहलाई दुईवटा रुपमा देखाइएको छ । पल र पूजा दुवैले नृत्यमा भरपुर मिहिनेत गरेका छन् ।

    यो चलचित्रको टिजर केही दिनअगाडि मात्र सार्वजनिक गरिएको थियो । गीत मात्र नभएर सिंगै चलचित्र दक्षिण भारतीय प्रभाव रहेको फस्र्ट लुकबाट अनुमान गरिएको छ ।

    पल शाह अघि यो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका थिए । पछि उनले बैना रकम फिर्ता गरेर चलचित्रबाट हात झिकेका हुन् ।

    भिडिओ

  • *बले..

    सम्बन्धित व्यक्तिहरूको अनुरोधमा यो समाचार हटाइएको छ । पाठकको असुविधाप्रति क्षमाप्रार्थी छौं । -सं‍

  • चलचित्र संगीतमा दुर्गेशको धमाकेदार इन्ट्री, ‘ह्रस्व-दीर्घ’ को गीत २ दिनमै हिट

    चलचित्र संगीतमा दुर्गेशको धमाकेदार इन्ट्री, ‘ह्रस्व-दीर्घ’ को गीत २ दिनमै हिट

    काठमाडौं । केही दिनअगाडि मात्रै गायक दुर्गेश थापाले आफू सुध्रिने घोषणा गरेको भनेर मिडियामा निकै चर्चा भयो । खासमा उनले अबदेखि गीतको शब्द चयनमा ध्यान दिने र राम्रो टीमसँग मात्रै काम गर्ने अर्थमा अभिव्यक्ति दिएका थिए ।

    संयोगले अहिले दुर्गेशको एउटा नयाँ गीत दर्शक/स्रोताको रोजाइमा परेको छ, जसले उनको पुरानो छविलाई बदल्न सहयोग पुग्न सक्छ । असाेज ३ मा प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘ह्रस्व दीर्घ’ का लागि आफ्नै शब्द र संगीतमा उनले यो गीत तयार पारेका हुन् ।

    दुर्गेशले आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर ‘एक्पेरिमेन्ट’ गरेका छन् । आध्यात्मिक भावमा रचिएको भए पनि गीत पूर्णरुपमा व्यवसायीक छ ।

    ‘हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो…’ बोलको गीत लाई दर्शक/स्रोताले निकै मन पराएको देखिन्छ । गीतले २४ घन्टाभित्रै १० लाख भ्यूज क्रस गरेको थियो । कमेन्ट बक्समा दुर्गेशको अत्यधिक प्रशंसा भएको छ । गायकीमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । सदिच्छाको आवाज निकै सुमधुर सुनिएको छ ।

    भव्य सेटमा छायांकन गरिएको गीतको कोरियोग्राफी पनि दमदार छ । नायिका नीता ढुंगानाको आकर्षक कोरस नृत्य हेर्न पाइन्छ । उनलाई हरिहर अधिकारीले साथ दिएका छन् । आउँदै गरेको श्रीकृष्ण जन्माष्टमीमा यो गीत निकै गुञ्जन सक्नेछ ।

    चलचित्र ह्रस्व दिर्घको निर्माण अभिनेत्री नीता ढुंगानाले गरेकी हुन् । उनले यस्तो गीतका लागि दुर्गेशलाई किन अफर गरिन् त ?

    खासमा उनी फिल्मको लागि प्रमोसनल गीतको अफर लिएर दुर्गेशकहाँ पुगेकी थिइन् । त्यस क्रममा दुर्गेशले आफूले पहिल्यै लेखेको यो गीत देखाएपछि उनी लोभिइन् ।

    यद्यपि, त्यसबेला लिरिक्समा भगवान कृष्णलाई जोडिएको थिएन । नीतासँग सल्लाह भएपछि श्रीकृष्णलाई जोडेर गीतलाई आध्यात्मिक कलेवरमा ढालिएको हो ।

    दुर्गेशले यसअघि ‘छक्का पञ्जा’ का लागि प्रमोसनल गीत गाए पनि फिल्ममै समावेश गीत तयार गरेको पहिलोपटक हो । पहिलो प्रयासमै सफलता पाएपछि उनी दंग छन् । थप चलचित्रका गीतमा काम गर्न उनलाई प्रेरणा मिलेको छ ।

    उनी भन्छन्, ‘अब चल्छ भन्दैमा जस्तो पायो त्यस्तो गीत गाउँदिन । राम्ररी सोचविचार गरेर मात्रै काम गर्छु ।’

  • एआई भिडिओ भाइरल भएपछि अभिषेकले मुख खोले, औँठी देखाउँदै भने- स्टिल म्यारिड !

    एआई भिडिओ भाइरल भएपछि अभिषेकले मुख खोले, औँठी देखाउँदै भने- स्टिल म्यारिड !

    काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले पत्नी ऐश्वर्यासँग आफ्नो सम्बन्ध नतोडिएको जिकिर गरेका छन् । लामो समयदेखि चल्दै आएको डिभोर्सको चर्चाबारे उनले पहिलो पटक मुख खोलेका हुन् ।

    हालै मात्र एउटा ‘एआई निर्मित’ अभिषेकको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले पत्नी सित डिभोर्स भएको बताएका छन् । यसलाई धेरैले आधिकारिक मानेपछि अभिषेकले प्रतिक्रिया दिन बाध्य भए ।

    बलिउड युके मिडियासँग अन्तरवार्ता दिने क्रममा आफ्नो विवाहको औँठी देखाएर अभिषेकले भने, ‘स्टिल म्यारिड’ (अझै विवाहित छु) ।

    त्यसपछि उनले थपे, ‘मलाई यस विषयमा अरू केही भन्नु छैन । तपाईँहरूले नै बढाइचढाइ गरिरहनु भएको छ । म बुझ्छु कि यस्तो किन गरिरहनु भएको छ । तपाईँहरूले केही स्टोरी फाइल गर्नुपर्ने हुन्छ । यो ठीक छ । हामी सेलिब्रिटी हौँ । यो हामीले ग्रहण गर्नुपर्छ ।’

    तर, अभिषेकको यो बयानले फ्यानहरूको चित्त बुझाउन भने सकेको छैन । उनीहरूले औपचारिक डिभोर्स गरिनसकेको भए पनि धेरै समयदेखि अलग अलग बस्दै आइरहेका छन् । यस विषयमा अभिषेकले कुनै व्याख्या गरेनन् ।

    हालै मात्र अभिषेकले एउटा इन्स्टाग्राम पोस्टमा लाइक गरेका थिए, जसमा डिभोर्स गर्नैपर्ने अवस्थाको विषयमा उल्लेख थियो । यसले गर्दा पनि उनी डिभोर्सको मनस्थितिमा रहेको आँकलन गरिएको छ ।

    हालै मात्र मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक र ऐश्वर्या बेग्लाबेग्लै उपस्थिति जनाएका थिए । अभिषेक आफ्नो परिवारसँग गएका थिए भने ऐश्वर्या छोरी लिएर पुगेकी थिइन् ।

  • अनिताले ल्याइन् नयाँ तिज गीत, म्युजिक भिडिओ छायांकन बेलायतमा (भिडिओ)

    अनिताले ल्याइन् नयाँ तिज गीत, म्युजिक भिडिओ छायांकन बेलायतमा (भिडिओ)

    काठमाडौं । गायिका अनिता चलाउनेले आफ्नो तिज गीत ‘म राम्रो कि उ राम्रो भन्देउ सबैले’ आज सार्वजनिक गरेकी छन् । यो गीतको म्युजिक भिडिओ बेलायतमा छायांकन गरिएको छ ।

    नेत्र अर्यालले लेखेका शब्दहरुलाई खेम सेञ्चुरीले संगीत भरेका हुन् । अनितालाई गायनमा पनि सेन्चुरीले साथ दिएका छन् । अनिताको युट्यूव च्यानलबाट म्युजिक भिडियो रिलिज गरिएको छ ।

    भिडिओमा राजु ढकाल र सुश्मा बस्याल बास्ताकोटीले मोडलिङ गरेका छन् । भिडिओको कोरियोग्राफी आरुसी मगरले र निर्देशन प्रशान्त खड्काले गरेका हुन् । भिडिओमा बेलायतका सुन्दर दृष्यहरु हेर्न सकिन्छ । पहिलोपटक विदेशमा आफ्नो गीतको छायांकन गर्दा चुनौतिपूर्ण रहेको र फरक अनुभव बटुलेको अनिताले बताइन् ।

    भिडिओ

  • ११ वटा ‘मौलिक तीज गीत’ एकै मञ्चमा सामूहिक विमोचन

    ११ वटा ‘मौलिक तीज गीत’ एकै मञ्चमा सामूहिक विमोचन

    काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर एघार वटा मौलिक गीत एकै पटक सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा एघार वटै गीतका सर्जकको उपस्थितीमा सामूहिक विमोचन गरिएको हो ।

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय साँस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले मौलिकपनले भरिएका गीत सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए । साथै साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव गीतमा अटाउनुपर्ने धारणा राखे । सस्तो लोकप्रियता तर्फ नलाग्न सम्पुर्ण कलाकर्मीहरूलाई आग्रह गरे ।

    ‘यो एक साँस्कृतिक पर्व हो । यसलाई नयाँ पुस्तासम्म पु¥याउँनका लागी चुनौती छ । अहिले सांस्कृतिक संस्थानले त्यो कुरालाई बिशेष ध्यान दिएको छ । त्यसका लागी संस्थानबाट बिभिन्न कार्यक्रमहरु राखिएको छ ।’ प्रमुख अतिथि पुनले भने ‘संगीत सेन्सरको कुरामा नियमन निकायको रुपमा साँस्कृतिक संस्थानले अधिकार पाएमा त्यसमा काम गर्ने छ । त्यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाईसकेका छौं ।’

    कार्यक्रममा सार्वजनिक एघार वटा मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा काली पसम की, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा सीताका माईती, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा बाबाको आँगनी, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा सारी लरक्कै, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा फेरी आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा कालो कपाल पारेर फरर, उमा श्रेष्ठको स्वरमा मैदानैमा ताल, सुनिता बुढा क्षेत्रीको स्वरमा चेलीलाई माइती, सरस्वती लामिछानेको स्वरमा सैनाले दिएको ऐना, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा म राम्रो कि उ राम्रो भन्देऊ र शान्तिश्री परियारको स्वरमा यसपालीको तीज रमाइलो रहेका छन् ।

    कार्यक्रमका सभापति राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकलाई बधाई दिए । साथै उनले गीत संगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘हामीले संस्कृति र संस्कारलाई भुलेनौं भने मौलिकता बच्नेछ ।’ अध्यक्ष गौतमले भने, ‘भोलीका दिनमा यस्ता किसिमका कार्यक्रमलाई हामीले विशेष स्थान दिनेछौं ।’

    कार्यक्रममा विशिष्ट अतिथि तथा वरिष्ठ गायक साँस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आएको बारे निकै सुनिरहेको तर बिकृती गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए ।

    यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ वर्ष अगाडि गाएको गीतलाई स्मरण गर्दै अहिले आईरहेका गीतमाथी विमर्श गरिन् । यस्तै वरिष्ठ गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभावी प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गरिन् ।

    यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरुलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सन्चारकर्मीले गरेको बताइन् । कलाकारसँगै सन्चारकर्मीले यसरी नै आफ्नो कर्म नभुल्न अनुरोध गरिन् । ‘तीजमा भड्कीलो गीत गाउनेहरुलाई मिडियाले खबरदारी गरिरहने हो भने त्यस्ता गीत गाउनेहरु विस्थापित हुनेछन् ।’

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैँ आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरुले बचाएको संस्कृतिलाई यो पुस्ताले जोगाउनु पर्ने धारणा उनले राखे । ‘अहिले तीजको नाम दिएर सार्वजनिक भएका गीत अंग्रेजी गीत जस्ता छन् । त्यस्ता गीतले कसरी मौलिकतालाई बचाउँछन् होला र ?’