काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा खुस्माको दोस्रो गीत रुकुम मैकोट सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।
एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।
काठमाडौं । वर्षले गन्ती गर्ने हो भने अभिनेता राज कटवालले नेपाली सिनेनगरीसँग नाता गाँसेको डेढ दशक भइसकेको छ । यो डेढ दशकमा नेपाली सिनेमामा उनको सक्रियता र निरन्तरता भने पढाइकाबीच आउने लन्चब्रेक जस्तो मात्र भएको छ ।
१५ वर्ष अगाडि एउटा सिनेमा गरे। सिनेमा गरे लगत्तै व्यवसायी बन्ने र पैसा कमाउने धुनमा ४–५ वर्ष हराए । अनि फेरि एक–दुई सिनेमा काम गरे र फेरि ४–५ वर्ष फेरि व्यवसायमै रमाए । यसो फुर्सदका वखतमा एकाध म्यूजिक भिडियोमा नाचेर यो १५ वर्ष पु¥याए ।
यसबीच उनले नेपाली सिनेमाको सर्वोच्च निकाय चलचित्र विकास बोर्डमा बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरे ।
सिनेमामा राजले अरुले जस्तो हाडछाला घोटेर संघर्ष गरेका छैनन् । प्लस टु पछि उनी आफ्ना पिताको नेपाली सेनाको सेवापथलाई पछ्याउने चाहन्थे ।
छोराको यो सोचमा बाबु दंग थिए । हेटौंडा, सामरीपुलका राजको चाहना थियो नेपाली सेनाको सेकेण्ड लेफ्टिनेट बन्ने । यसका लागि उनको तयारी जोडतोडको नै थियो ।
उनलाई चिनजानकी तारा सिटौला जसलाई उनले दिदी भन्छन्, ‘सम्बन्ध’ नामक सिनेमा निर्माण गर्दै थिइन् । उनले राजलाई सिनेमा खेल्ने प्रस्ताव गरिन् । ठूलो पर्दाको हिरो हुने झिलमिली प्रस्ताव उनलाई मनपर्यो । उनले सिनेमा खेले । सो सिनेमामा उनले दीलिप रायमाझी तथा पूजना प्रधानसँग ‘स्क्रिन’ साझा गरे ।
सिनेमा खेल्ने भएपछि उनले सिनेमाका लागि चाहिने आवश्यक नाच, फाइट, अभिनय आदिको प्रशिक्षण समेत लिए । नेपाली सिनेमामा उनी छिर्दा राजेश हमाल, विराज भट्टहरुको बोलबाला थियो ।
‘सम्बन्ध’ सिनेमा गरेपछि उनलाई ‘खै ? खै ?’ जस्तो भयो । सिनेमासँग झ्याउ लाग्यो । जसका कारण सिनेमामा थप हाडछाला नघोट्ने निर्णयमा पुगे ।
उनलाई पैसा कमाउनुपर्छ भन्ने धुन सवार भयो र व्यवसायतीर हाम फाले ।
‘राजेश दाइ, विराज दाइहरुको जमाना थियो । नेपाली सिनेमामा बेस्करी पैसा कमाउन सम्भव थिएन । मलाई पनि पैसा कमाउनुपर्छ भन्ने धुन सवार भयो । त्यसका लागि त व्यवसाय गर्नुपर्थ्यो । म व्यवसायतीर लागें ।’ उनी भन्छन् ।
उनले साथीसँग मिलेर नयाँ बानेश्वर र दरबारमार्गमा एकसाथ रेष्टुरेन्ट खोले । रेष्टुरेन्ट व्यवसायले उनको पैसा कमाउने इच्छा पूरा गरिदियो । यसबीच उनले फुर्सद हुँदा केही म्यूजिक भिडियोमा काम गरेका थिए ।
निर्माता भानुप्रताप ढकालले ‘लाल्टिन’ नामक सिनेमा बनाउँदै रहेछन् ।
उनैले राजलाई सिनेमा खेल्न प्रस्ताव गरे ।
एक समय झ्याउ मानेर अभिनय छाडेका राज ‘इन्स्पेक्टर बम’ बनेर पर्दामा फिर्ता भए ।
दयाहाङ राई, प्रियंका कार्की जस्ता कलाकारको अभिनय रहेको फिल्मले उनलाई मेकरहरुको नोटिसमा पा¥यो । केही महिनापछि उनी ‘लिला’ सिनेमामा सोलो हिरो नै बने । तर यी दुबै सिनेमाले भनेजस्तो चर्चा र सफलता प्राप्त गर्न सकेनन् ।
यसबीच ‘बागमती’ सिनेमामा पनि उनी प्रहरीको छोटो भूमिकामा देखा परे ।
राज पुनः व्यवसायमै फर्किए ।
यसपटक उनले रेष्टुरेन्टसँगै सेयर व्यवसायमा पनि हात हाले । यो व्यवसाय पनि उनलाई फाप्यो । यसैबीच धेरैलाई आश्चर्यमा पार्दै विकास वोर्डको वोर्ड सदस्यमा मनोनित हुन पुगे ।
नेपाली सिनेनगरीको सर्वोच्च निकायमा महत्वपूर्ण जिम्मेवारीमा पुगेसँगै उनको नेपाली सिनेकर्मीसँगको संगत पुनः बढ्न थाल्यो ।
बोर्ड पुग्ने नेपाली निर्माता निर्देशकको राजसँगको भेटपछि एउटै प्रतिक्रिया हुन्थ्यो ।
‘तपाईंले सिनेमा खेल्नुपर्छ, नछोड्नुस् ।’
राजसँग सिनेमाको पर्दामा हिरो हुन चाहिने आकर्षक लुक्स र शरिर छ । यसका अलावा उनले मिक्स मार्सल आर्ट र नृत्यसमेत सिकेका छन् । यी विशेषताले राम्रो स्क्रिप्टका लागि राम्रो प्याकेजको हिरो वा अभिनेता हुने सम्भावनाले भरिएका छन् राज । मेकरहरुले यसै कारणले पनि सिनेमामा आउनपर्छ भनेर हौसाएका हुन् उनलाई ।
अभिनयका पछिल्ला अनुभव र नेपाली दर्शकको बदलिदो रुचि बुझेका राजलाई लरतरो सिनेमा गर्न मन थिएन । बिचमा प्रस्तावहरु नआएका होइनन् तर उनले सिनेमा गर्ने हतारो भन्दा पनि उचित सिनेमा पर्खनुमै बुद्धिमानी ठाने ।
‘यसबीचमा एउटा सिनेमा निर्माण गर्ने भन्ने घोषणा पनि भयो तर त्यसले बाटो लिन सकेन’, राजले भने, ‘राम्रो मेकरको सिनेमा भएकाले म उत्साहित पनि थिएँ, तर समय नआएकाले होला सिनेमा अगाडि बढ्न सकेन ।’
एक्सन सिनेमा भएकाले उनले सो सिनेमाका लागि आफूलाई फिट बनाउन उनी कठोर खानपान र व्यायामको अनुशासनमा राखेका थिए ।
सो सिनेमा नबने पनि उनको मेहेनत खेर गएन ।
निर्देशक दीवाकर भट्टराईले एकदिन राजलाई फोन गरे र सिनेमा खेल्ने प्रस्ताव गरे ।
दीवाकरले राजलाई ‘नरसिंहा अवतार’ खेल्ने प्रस्ताव गरेका हुन् । राजले स्क्रिप्ट पढेर सिनेमा गर्ने स्विकृति जनाए ।
यो सिनेमा राजको नजरमा आफूले खोजेजस्तो काम देखाउन पाउने सिनेमा हो ।
‘धेरै सिनेमाले तपाईंलाई बनिबनाउ चरित्रमा पेस गर्ने गर्छन् । यो सिनेमामा त्यो शैलीबाट फरक छ । दीवाकरजी सिनेमाका लागि हरसम्भवः मेहेनत गर्ने निर्देशक हुनुहुन्छ’, राजले भने, ‘उहाँको मेरो पात्रप्रतिको सोच र मेरो चरित्रको चित्रको बयानले म यो सिनेमा गर्न धेरै रोमाञ्चित भइरहेको छु ।’
यो सिनेमामा उनले पहिलो सिनेमा गर्दाका गर्हौं नाम राजेश हमालसँग स्क्रिन सेयर गर्दैछन् । सिनेमामा हमालका अलावा राजले सरोज खनालसहित नीति शाह, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाहीसँग स्क्रिन सेमयर गर्दैछन् ।
सिनेमाको यो लाइनअपलाई बलियो लाइनअप मानिएको छ । यसै कारणले गर्दा नेपाली सिनेनगरीमा यो सिनेमा ‘पैसा कमाउन सक्ने’ सिनेमाको सुचीमा चढिसकेको छ ।
राज सिनेमाप्रति आशावादी छन् ।
उनलाई लाग्छ यो सिनेमाले अभिनेताको एउटा पहिचान स्थापित हुनेछ ।
‘सुरुसुरुका सिनेमाहरु एउटा रहरको लहर जस्तोमा खेलियो । यसपटकचाहीँ मैले यसलाई पास गर्नैपर्ने परीक्षाजस्तो ठानेको छु’, राजले भने ।
झण्डै ३ करोडको ठूलो बजेटमा बन्न लागेको यो सिनेमा यही महिनाको अन्तिमबाट फ्लोरमा जाँदैछ ।
काठमाडौं । म्युजिक भिडिओका सुपरहिट जोडी पल शाह र मल्लिका महत फेरि सहकार्यमा जोडिएका छन् । लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो ‘राधा पियारी’ उनीहरुको पेयरिङ भएको हो । गीत शुक्रबार ओएसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको थियो ।
गीतमा कृष्ण विकेको रचना र संगीत रहेको छ भने गायनमा शान्तीश्री परियारलाई कृष्णले साथ दिएका छन् । अडियोमा शान्तीश्रीको तुलनामा कृष्णको आवाज अलि कच्चा लाग्छ । गीतको मेलोडी भने राम्रो छ ।
गीतको भिडिओ निकै चित्ताकर्षक छ । पल र मलिकालाई ठूलो कोरस टिमले साथ दिएका छन् । भिडिओको उत्तरार्द्धमा ट्वीस्ट ल्याउँदै अहिलेको जल्दोबल्दो सहकारी ठगीको विषय पनि घुसाइएको छ । अन्तिममा पल र मलिकालाई प्रहरीको भूमिकामा देखाइन्छ । उनीहरुले मिलेर सहकारी ठगलाई फन्दामा पारेका छन् ।
पल र मलिका कुनै समय दर्शकले अत्यधिक रुचाएका जोडी हुन् । ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’, ‘तिम्रो मनमा ए कान्छा’ जस्ता गीतको भिडिओमा उनीहरुको केमेस्ट्री निकै जमेको थियो । पल शाह बलात्कारको मुद्दामा एक वर्ष जेल बसेर निस्केयता यो जोडी दोस्रोपटक सँगै देखिएका हुन् । यसअघि अनिता चलाउने र खेम सेञ्चुरीले गाएको ‘यो उमेर यस्तै हो…’ बोलको गीतबाट उनीहरुको कमब्याक भएको थियो ।
‘राधा पियारी’ को भिडियोमा जीबी अग्रको निर्देशन रहेको छ । नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन् । भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ ।
काठमाडौं । हरेक वर्ष जब तीज नजिकिन्छ, नेपाली सांगीतक दुनियाँमा पर्खाइ हुन्छ गायिका विष्णु माझीको । वर्षभरि गुमनाम रहने उनी तीजमा एकाएक चर्चामा आउँछिन् र सामाजिक सञ्जालमा छाउँछिन् ।
यो बर्ष पनि पृथक रहेन । बरु यसपाली उनको गीतको बढी नै व्यग्र प्रतिक्षा किन थियो भने ‘तीज गीत’ का नाममा उछृंखलताको व्यापारले दर्शक/श्रोता हैरान थिए । शान्तीश्री परियारजस्ती शालिन छविकी गायिकामाथि समेत उच्छृंखल गीत गाएको आरोप लाग्यो । त्यसैले ठेट तीज गीतका लागि धेरै संगीतपारखीहरूले विष्णुको प्रतीक्षा गरिरहेका थिए ।
विष्णु माझीको गीत कहिले आउँछ भन्ने कसैलाई पनि थाहा हुँदैन । अरुले जस्तो उनी गीत आउँदैछ भनेर एक महिनदेखि सामाजिक सञ्जालमा डंका पिट्दिनन् । तामझामको कार्यक्रम गरेर गीत रिलिज पनि गरिँदैन । सिधै युट्यूवमा अपलोड हुन्छ । अपलोड भएपछि मात्रै हल्ला हुने हो । गीतलाई डलर तिरेर बुस्ट पनि गरिँदैन ।
यसपाली तीज आउनुभन्दा १३ दिन अगाडि मात्रै विष्णु माझीको आवाजमा ‘आइन आमा यो तीजमा…’ बोलको तीजगीत रिलिज भएको छ । रिलिज भएको २४ घन्टाभित्रै गीतले १५ लाख भ्यूजसहित विष्फोटक ओपनिङ गर्यो । छोटो अवधिमा सर्वाधिक भ्यूज पाउने नेपाली गीतको कीर्तिमानसमेत विष्णुले बनाएकी छन् । यो समाचार लेख्दासम्म गीतमा करिब १८ लाख भ्यूज र १५ हजारभन्दा बढी कमेन्ट छन् । १ लाख ३३ हजारले लाइक बटन थिचेका छन् ।
यो गीतलाई विष्णुका पति सुन्दरमणि अधिकारीले रचना र संगीत गरेका हुन् । विष्णुले प्रायः आफ्नै श्रीमानका गीतहरू नै गाउने गर्छिन् । सुन्दरमणिले नै सञ्चालन गरेको सपना म्युजिक इन्डष्ट्रीज प्रालिले विष्णुका गीतहरु उत्पादन गर्छ । सपना म्युजिकको च्यानलबाटै गीत अपलोड हुन्छ ।
यसपालिको तीज गीत ‘आइन आमा…’ कस्तो छ त ?
पक्कै पनि यो एउटा ‘टिपिकल’ तीज गीत हो, जसका शब्दहरूले तीजको मर्मलाई बोकेको छ । श्रीमानले सौता हालेर रनाहमा परेकी एक चेलीको कथालाई गीत र भिडिओमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । तर, भन्नैपर्ने हुन्छ कि सुन्दरमणि र विष्णुको जोडीले ‘पुरानो बोतलमा नयाँ मदिरा’ बेचेका छन् ।
गीतका शब्दहरू एकदमै परम्परागत छन्, जुन अहिलेको समय परिस्थितिसँग मेल नखान सक्छन् । अहिलेका महिलाहरू गीतमा देखाइएजस्ता असहाय र निरीह हुँदैनन् । गीतको मेलोडीमा पनि नयाँपन छैन । विष्णु माझीको आवाजले केही हदसम्म धानेको छ गीतलाई ।
भिडिओ र कोरियोग्राफी पनि पुरानै ढर्रामा छ । कोरियोग्राफी त वाक्कलाग्दो नै छ । सुरूदेखि अन्त्यसम्म एउटै सेट, एउटै कोरसमा उस्तै डान्स स्टेपहरू छन् । नवीनताको कुनै पनि प्रयास भएको छैन । गीतको हुकलाइन ‘आइन आमा ओइ यो तीजैमा…’ अनगिन्तिपटक दोहोरिएर भिडिओ अनावश्यकरुपमा लामो भएको छ ।
२०७८ सालको तीजमा विष्णुको ‘चरी जेलैमा..’ गीत उत्पात लोकप्रिय भएको थियो । अहिलेसम्म यो गीतको भ्यूज युट्यूवमा ५ करोड नाघिसकेको छ । तर, त्यसपछिका दुई वर्ष विष्णुका तीज गीतले ‘चरी जेलैमा’ को उचाई छुन सकेनन् । २०८० सालमा उनले ‘चरी जेलैमा २’ गाइन् । यो गीतलाई औसत सफलता मिल्यो । गीतले जेनतेन करोड भ्यूज पार गरेको छ ।
गत वर्ष विष्णुले गाएको तीज गीत थियो- बलमा । यो गीतले त्यति धेरै चर्चा पाउन सकेन । अहिलेसम्म एक वर्षमा गीतको भ्यूज ८१ लाख देखिन्छ । अरुका लागि त यो राम्रै अंक हो । तर, ‘विष्णु माझीको तीज गीत’ का लागि उति सन्तोषजक होइन ।
यसपालिको तीज गीतमा भने विष्णुले भ्यूजको आँधी नै सिर्जना गरिन् । २४ घन्टाभित्र १५ लाख भ्यून संसारकै धेरै जनसंख्या भएको देश भारतमा पनि राम्रो मानिन्छ । तर, यो रफ्तार कायम रहनेमा शंका छ । यो समाचार लेख्दासम्म गीत युट्यूवको ट्रेन्डिङमा आएको छैन । नआउनुको एउटा कारण भनेको गीतको भिडिओमा दर्शक धेरैबेर नअडिनु पनि हुन सक्छ । एउटा अडियन्सले गीतमा क्लीक गर्नासाथ भ्यूजमा काउन्ट हुन्छ । तर, केही सेकेन्डमै बाहिरियो भने गीतको माइलेज बलियो हुँदैन । यसको प्रभाव ट्रेन्डिङदेखि मोनिटाइजेसनसम्म पर्छ ।
खासमा सुन्दरमणिलाई ‘चरी जेलैमा..’ को धङधङीले अहिलेसम्म छोडेको छैन । ‘चरी जेलै’ मा पछि उनले ल्याएका तीनवटै गीतहरू त्यही ढर्रामा छन् । गीतमा नाच्ने मोडल पनि एउटै (ललिता पौडेल) हुँदा दर्शकलाई मोनोटोनस हुने अवस्था आएको छ । अहिलेको गीतको भिडिओमा चर्चित मोडल ललना चिमोरिया पनि छिन्, तर, उनलाई केवल एक झलक देखाइएको छ । डान्स र भिडिओमा उनलाई बढी प्रयोग गरेको भए भिडिओ थप समृद्ध बन्न सक्थ्यो ।
काठमाडौं । एकासीको गाइजात्राको अन्तिम दिनको दोस्रो अन्तिम प्रस्तुतीमा प्रस्तोता रिमा विश्वकर्माले बोलाउँछिन् कलाकार प्रकृति गिरी र मेयर बालेन्द्र शाह बालेन अवतारमा प्रस्तुत भएका आशिष खनाल ‘माड्साब’ ।
पृष्ठभूमिमा रातो अक्षरमा ‘चेयरमा मेयर’ लेखिएको छ, त्यसको अघिल्तिर दुई वटा चेयर छन्, अगाडि टेबल र टेबलमाथि केही सादा पेपर छन् । ति भने प्रस्तुतिका क्रममा प्रयोग गरिने केही मानिसहरुको फोटा रहेछन् ।
पत्रकारको स्वरुपमा प्रस्तुत प्रकृतिले केही भूमिका बाँधेर बालेन शाहको चरित्र निभाइरहेका खनाललाई बोलाउँछिन् । उनले डोजरको प्रसंग पनि ल्याउँछिन् । यत्तिकैमा स्टेजको बाँयातर्फबाट आउँछन् गाइजात्राका बालेन ।
चिटिक्क परेको दुरुस्तै दाह्री, अगाडि चट्ट जोर खुकुरी सजाइएको कालो भादगाउँले टोपी, कालो बालेन चस्मा, कालै कोट, कालै पाइन्ट झट्ट हेर्दा जोकोहीले पनि पक्कै बालेन नै हुन् भन्ने अड्कल गर्न सक्ने । अझ गजब कुरा हातको हाउभाउ, हिँडाइ, मुहारको अभिव्यक्ति सबैले उनलाई क्यारेक्टरमा निकै गजब तवरले न्याय गरेको ।
बालेन अवतारको पात्रको इन्ट्री भएपछि प्रज्ञा प्रतिष्ठानको हलमा भरिभराउ दर्शकको शानदार तालीको गडगडाहटले स्वागत गर्यो । डोजरको आकृति पनि पछि पछि देखेपछि दर्शक झनै उत्साहित बने । यो हेर्दा पात्रले हरसम्भव जीवन्तता प्रदान गर्न कोसिस गरेका छन् ।
यसैमा बालेनले अक्सर बोल्ने थेगो ‘य्य’, अनि हातका चोर औंला र कान्छी औंला ठाडो राखी बीचका दुई औंला खुम्च्यिाएर बुढी औंलाले थिचेर देखाइने आकृति जसले ‘रक’को अर्थ प्रदान गर्छ जुन मेयर बालेनले र्याप हान्दा प्रयोग गर्छन् ।
‘जसरी नन्दीबिना महादेव हुँदैन । त्यसरी नै डोजरबिना बालेन हुँदैन’, डाइलग बोलेर बालेन स्टाइलको हात हल्लाएपछि दर्शकको हुटिङ आयो । त्यसपछि गिरीले गाइजात्रे बालेनलाई अन्तरवार्ता लिन्छिन् । जसको एउटा सेग्मेन्ट रोचक थियो । टेबलमा राखिएका फोटा नेताहरुको रहेछन् । जसलाई उठाएर विकल्प दिने र उनले चिन्नुपर्ने सेग्मेन्ट रहेछ । जसमा गिरी भन्छिन्, ‘यहाँ नेताहरुको फोटा छन् । म केही विकल्प दिन्छु तपाईंले कुन नेता भनेर चिन्नुपर्छ ।’ जवाफमा बालेनले भन्छन्, ‘मैले फोहोर उठाउन छोडिसकेँ ।’ त्यसपछि बजोड ताली आउँछ ।
उनीहरुको समग्र संवाद व्यंग्यात्मक र रोचक थियो । जसमा नेताहरुलाई यथार्थमा गाली गरेको विषय पनि समेटिएको थियो भने सडकका बिजुलीका खम्बामा सडक विभागले ‘स.बि.’लेखेका प्रसंग प्रस्तुतिमा अटेका थिए । छिनमै आएर छिनमै गएको जस्तो अनुभव बनाएको थियो । यसको अर्थ त्यहाँ रहेकाहरु पनि रमाएका थिए ।
गाइजात्रामा बालेन भेषमा आशिष खनाल ‘माड्साब’ र कलाकार प्रकृति गिरी
उद्घोषक रिमाले भनेकी थिइन् कि मिठो परिकारमा चट्ट चटनी भएझैं अन्तिम अन्तिममा त्यस्तै खुराक छन् है छोडेर नजानु होला । करिब १० मिनेटको गाइजात्रे बालेनसँगको अन्तरवार्ताले निकै रोचक र चटनीको काम गर्यो । बालेनको भूमिकामा सम्भवत यो पहिलो प्रस्तुति थियो ।
गाइजात्रालाई हाँस्य व्यंग्यको शिलशिलामा जोड्न थालेको पनि दशकौं भइसकेको छ । हरेक नयाँ नयाँ स्वाद पस्किन प्रयास गर्ने गाइजात्राको यसपालिको भर्सनमा बालेन अवतारले चर्चा बटुल्यो । उसैपनि जनमानसमा आइकनिक लिडरको रुपमा आफूलाई उभ्याएका बालेनको भूमिका निर्वाह गर्ने कुरा चुनौतीपूर्ण थियो । उक्त चुनौतीलाई खनालले सहज तवरले निभाएको देख्न सकिन्थ्यो ।
निखारिएको कलाकारले दिएको जस्तो भूमिका प्रस्तुति पस्कन खनाल सफल भएको देखिन्छ । शुक्रबारै पनि रिमाले र केहीदिन अघि मनोज गजुरेलले गाइजात्राबारेको पत्रकार सम्मेलनमा कलाकारहरुको परिचय गराउँदा भनेका थिए कि ‘माड्साब’ कलाकार नभएर टिचर र कार्टुनिष्ट हो भनेर । तर गाइजात्राको उनको प्रस्तुति हेरिसकेपछि खनाल कलाकार होइनन् भन्ने कुरा पत्याउन गाह्रो हुन्छ ।
‘माड्साब’को बालेन यात्रा
उसो त आशिषको लागि कलाकारिता नौलो विषय होइन । किनकी उनी कलाकार एवम् शिक्षा गंगा खनालका छोरा हुन् । इलाममा करिब तीन दशक बढी समयदेखि अध्यापन गरिरहेका उनलाई ‘गंगा सर’ भनेर इलामेलीले चिन्छन् ।
उनैले पढाएका विद्यार्थीहरु आज देश विदेशमा आआफ्नो क्षेत्रमा सफलता हासिल गरिरेहका छन् । उता कलाकारितामा पनि अब्बल गंगा सरले दर्जनौं नाटकलगायतका प्रस्तुति गरेका छन् । इलाममा कार्यक्रममा सायदै गंगा सर छुट्छन् । यसरी आशिषमा पनि गंगा सरको प्रभाव नपर्ने कुरै भएन ।
यसर्थमा उनीभित्र पनि कलाकारिताप्रतिको सम्मान र प्यास पक्कै थियो । इलामको मंगलबारेमा बाबुछोरा भएर लकडाउनको समयमा पनि विभिन्न रोचक भिडिओ बनाएका थिए । कोटेश्वरको लालीगुँरास एकेडेमीमा विज्ञान विषय पढाउने आशिष चर्चित कार्टुनिष्ट समेत हुन् । समसामयिक विषयमा चोटिलो व्यंग्य चित्रण गर्ने उनका कार्टुनहरु निकै चर्चित छन् ।
उनले आफ्नो पहिलो कर्म शिक्षणलाई ब्राण्डिङ गरेका छन् । कतिपयले शिक्षणलाई नकारात्मक तवरले लिइरहँदा उनले ‘माड्साब’कै नाम गरेर कार्टुनिष्टको पहिचान स्थापित गर्न सफल भए । आफैँसँग भएकोबाटै उठ्नुपर्छ भन्ने उनको स्वभावले पनि एकपछि अर्को सफलता हात लागेको देखिन्छ ।
गाइजात्रामा प्रस्तुत भएका कलाकारहरु
इलामको मंगलबारेमा जन्मिएका उनले करिब दशकदेखि नै दाह्री पाल्दै आइरहेका छन् । राजनीतिमा बालेनको उदयसँगै साथीभाइमाझ उनको लुक्सको चर्चा हुने गरेको उनी सुनाउँछन् । उसो त कलाकारिता सामान्य विषय होइन । अझ लाइभ प्रस्तुति झनै चुनौतीपूर्ण हो । उनको जीवनको सम्भवत यो पहिलो राष्ट्रियस्तरको प्लेटफर्म थियो ।
यति ठूलो स्टेजमा तपाईंको प्रस्तुतिको अनुभव कस्तो रह्यो भन्ने प्रश्नमा खनाल भन्छन्, ‘पहिलोपटक यति ठूलो प्लेटफर्ममा उभिँदा नर्भस भएको थिएँ ।’ उनलाई के होला कसो होला भन्ने मनमा परेको सुनाउँछन् । यद्यपी प्रस्तुति दिँदै जाँदा डर कम हुँदै गएको अनुभूति माड्साब बताउँछन् ।
‘म सुरुमा नरभस थिएँ । के होला कसो होला भन्ने मनमा अवश्य थियो । काम गर्ने सहकर्मी कलाकार पनि सबै राष्ट्रियस्तरमा स्थापित हुनुहुन्थ्यो’, उनले भने, ‘तर गर्दै जाँदा डर कम हुँदै गयो । सबैको हौसलाले अन्ततः मेरो लागि चाहिँ म सफल भएको जस्तो लाग्यो ।’
आफूले पाएको पात्रको चरित्रलाई न्याय दिन सके नसकेको बारे विश्लेषण गर्न चाहिँ दर्शकलाई छोडेका छन् । ‘मैले निभाएको चरित्रलाई न्याय दिन सकेँ कि सकिनँ भन्ने चाहिँ दर्शकहरुको जिम्मा’, उनी बताउँछन् ।
उनले आफूले तीन महिना अगाडि नै स्क्रिप्ट लेखिसकेको खनाल बताउँछन् । सबै टीमले नै गाइजात्राको लागि राम्रै तयारी गरेकाले पनि समग्रमा प्रस्तुति राम्रो बन्न सकेको उनलाई लागेको छ । रिहर्सलका लागि पनि करिब एक महिना दिनको २ घण्टा निरन्तर लागेको उनले बताए । १० मिनेटको प्रस्तुतिका लागि ६० घण्टाको तयारी ।
‘स्क्रिप्ट त मैले करिब ३ महिना अगाडि नै लेखिसकेको थिएँ । रिहर्सल चाहिँ करिब १ महिना दिनको २ घण्टाको दरले गरियो’, उनले सुनाए ।
त्यस्तै, आफूले बालेनको रोल गर्ने भन्ने सुरुमा नसोचेको खनाल बताउँछन् । गाइजात्राकै विषयमा कलाकार चक्र दवाडी, मनोज गजुरेल, गाइजात्रा आयोजक ब्राण्ड वर्थका कार्यकारी प्रमुख मोहन गजुरेल र खनालबीच अनौपचारिक छलफल भयो । त्यसक्रममा मोहनले आशिषलाई भने ‘यसपालि आशिषले बालेनको गर्नुपर्छ है, लुक्स पनि मिल्छ ’ त्यसपछि बालेनको भूमिकामा आशिष देखिन पुगे ।
सम्भव भएसम्म कलाकारितालाई निरन्तरता दिने पक्षमा छन् आशिष । ‘सकेसम्म निरन्तरता दिने कोसिस गर्नेछु । हेरौ अब समय परिस्थिति र अवसर कतिको अनुकुल हुने हो’, उनले भने ।
एकासीको गाइजात्रा
प्रज्ञा भवनमा भएको सात दिने गाइजात्राले यसपालि पनि राम्रै चर्चा र दर्शक बटुल्यो । नेतागणदेखि सर्वसाधारणको बाक्लो उपस्थितिका बीच सम्पन्न गाइजात्राले विशेषगरी राजनीतिक वृत्तमा देखिएको, भइरहेका विकृतिलाई टपक्कै टिपेको छ ।
यसवर्षका चर्चित काण्डहरु, सुन प्रकरण, सहकारी काण्ड, गिरीबन्धु, टिस्टेट काण्ड, सरकार परिवर्तनजस्ता विषयमा तीखो व्यंग्य प्रस्तुत भए । त्यस्तै, प्रस्तुतिमा जनतालाई पनि छोडिएको छैन । चाहे ट्राफिक नियम पालनाका विषय हुन् वा भोट खसाल्ने प्रसंग किन नहुन् । करिब सबै समेट्ने चेष्टा यसपालिको गाइजात्राले पनि निकै शानदार ढंगले प्रयास गरेको आभास भयो ।
एकासीकाे गाइजात्रामा राजा वीरेन्द्रकाे भूमिका निभाउने मनाेज गजुरेल (दायाँ) र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे भेषमा चक्र दवाडी (बायाँ)
अन्तिम दिनको अन्तिम तर विशेष प्रस्तुती हाँस्यकलाकार मनोज गजुरेल राजा वीरेन्द्र र चक्र दवाडी गिरीजाप्रसाद कोइराला बनेर दिएको प्रस्तुतिले गाइजात्राको सम्पूर्ण सार समेटेको छ । देश बन्न व्यवस्थाभन्दा पनि व्यवस्थापन र व्यवस्थापकको रुपान्तरण हुन आवश्यक रहेको सन्देशसहित एकासीको गाइजात्रा समापन भएको छ ।
नेतालाई नै अगाडि राखेर गरिएका यस्ता व्यंग्य वर्षेनि निरन्तर हुने गर्छन् । सम्बन्धित व्यक्ति र क्षेत्रलाई थोरै मात्र सचेत हुने भए गाइजात्रामा पनि समृद्धि आउँथे होलान् ।
काठमाडौं । अभिनेत्री पुजा शर्मा एक सार्वजनिक कार्यक्रममा लगाएको पहिरनका कारण समाजिक सञ्जालमा ट्रोल भएकी छन् । हालै चलचित्र `सतिदेवी´को प्रीमियरमा उनी भान्सामा प्रयोग गर्ने एप्रोनजस्तो लुगा लगाएर पुगेकी थिइन् ।
सरकारले टिकटक खुला गरेलगत्तै पुजाले ट्रोलरहरुलाइ मसला मिलेको छ । हुन पनि पुजाको यो गेटअप निकै फन्नी देखिन्छ । इनर वेयरको अभावमा उनको वक्षस्थलका दुबै साइड रिभिल भएका छन् । झट्ट हेर्दा एप्रोन नै लगाएको जस्तो देखिन्छ । कार्यक्रममा उपस्थितहरुले पनि पुजाको लुगा देखेर असहज मानेका थिए ।
टिकटकमा एक प्रयोगकर्ताले भनेका छन्, `मेरो मासु काट्ने एप्रोन कता हरायो भनेको पुजाले लगाएर हिडेकी रैछन ।´
पुजा अहिले आफ्नो होम प्रोडक्सन फिल्म रावायनमा व्यस्त छिन् ।
काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । सिनेमा हलमा गत हप्ता नै रिलिज भएको सिनेमाको टिजर युट्युबमा आज शनिबार सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक टिजरले नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई कथामा उनेको छ । सिनेमामा अभिनेता निश्चल बस्नेतलाई अष्ट्रेलिया रिटर्न युवाको रुपमा प्रस्तुत गरिएको छ । यता अभिनेत्री स्वस्तिमा खड्कालाई विवाहको लागि दुलाह खोजीरहेकी ३० वर्षिय युवतीको रुपमा टिजरमा देख्न सकिन्छ ।
सामाजिक कथामा कमेडी मिश्रित सिनेमाको टिजरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ । सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमा दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।
काठमाडौं । तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको सिनेमाको शीर्ष गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।
रोहित शाक्य संगीत निर्माता तथा शब्द रचना, कम्पोज र स्वर स्वप्निल शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा वशिष्ठ घिमिरेको छायांकन, उज्ज्वल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ ।
सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सन्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।
एक्जिबीट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।
रेमन गुरुङ र सन्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।
जोएल फ्रोमको डिओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित पहिलो चलचित्र ‘नमेटिने घाउ’ भोलिबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेता देवेन्द्र पौडेल र राप्रपा नेता ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् ।
चलचित्रको निर्देशन रमित ढुंगानाले गरेका हुन् । यस चलचित्रले एसिड पिडितहरुको कथालाई उठाएको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् ।
प्रधानमन्त्री बन्नु अगाडि उनले चलचित्रको सुटिङ गरेका थिए भने प्रधानमन्त्री बनिसकेपछि डबिङ गरेका थिए । एसिड पिडित मुस्कान खातुनले पनि चलचित्रमा अभिनय गरेकी छन् ।
भोलि नै सामाजिक विषयवस्तुमा आधारित अर्को चलचित्र ‘सतिदेवी’ पनि रिलिज हुँदैछ । यो चलचित्रका निर्देशन लक्ष्मण सुबेदीले गरेका हुन् । चलचित्रमा मलिका महतको मुख्य भूमिका रहेको छ । पोस्टर सार्वजनिक भएदेखि नै ‘सतिदेवी’ ले चर्चा पाइरहेको थियो ।
काठमाडौं । पल शाह र पूजा शर्माले अभिनय गरेको चलचित्र ‘रावायण’ अहिले चर्चामा छ । हिजो ट्रेलर रिलिजपछि चलचित्रलाई लिएर विभिन्न किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।
चलचित्रको ट्रेलर हेर्दा मेकिङमा निकै खर्च गरिएको देखिन्छ । तर, चलचित्रको मौलिकतामाथि धेरैले प्रश्न उठाएका छन् । साउथ इन्डियन फिल्महरूको भद्दा कपि गर्न खोजिएको आरोप पनि लागेको छ । सबैलाई बिझाएको चिज चाहिँ पल शाहले लगाएको नक्कली कपाल र दाह्री हो । पलको अनुहारसँग दारी म्याच नगर्दा स्कुलको सांस्कृतिक कार्यक्रममा विद्यार्थीले टाँसेको जस्तो देखिएको छ । खैर, चलचित्र हेर्दा दर्शकले कसरी लिनेछन्, त्यो पछि नै थाहा हुन्छ ।
रावायण टीमले हिजो ट्रेलर रिलिजपूर्व सामाखुसीमा एक प्रेस मिटको आयोजना गरेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले पत्रकारहरूसँग साक्षात्कार गरेका थिए ।
यस क्रममा उनीहरूले केही कडा प्रश्नहरूको सामना गर्नुपर्यो । खासगरी पल शाहलाई एक महिला पत्रकारले पल शाहलाई प्रश्न गरिन् । शान्त रूपमा बोलिरहेका पल उनको प्रश्नबाट तनावमा खाए । के प्रश्न थियो त्यो ?
निशा बजगाईँ नाम गरेकी युट्यूबरले सामाजिक सञ्जालमा आएको प्रतिक्रियाको हवाला दिँदै सोधेकी थिइन्, ‘रामायणमा स्त्रीको कारणले असल व्यक्ति पनि खराब हुन पुगे भन्ने चर्चा छ । तपाईँलाई धेरै दर्शकले वास्तविक जीवनको रावण भनेर कमेन्ट गरिरहेका छन् । तपाईँ आफूलाई रावण मान्नु हुन्छ कि मान्नुहुन्न ?’
प्रश्न सुनेर पलको अनुहारमा ग्रहण लाग्यो । यद्यपि, उनले आवेशमा नआईकन चतुरतापूर्वक प्रश्नको प्रतिवाद गरे ।
पलले आक्रोश लुकाउँदै प्रश्नकर्तालाई भने, ‘कसले त्यस्तो कमेन्ट लेखेको छ पहिला मलाई देखाउनुस्, अनि कुरा गर्छु । आउनुस् अहिले नै देखाउनुस् । पढौँ न पहिला । यत्तिकै त तपाईँले दश वटा कुरा पनि गर्न सक्नुहुन्छ । तपाईँको मनको कुरा हो कि अरूको कुरा हो, त्यो हेरौँ न पहिला ।’
महिला पत्रकारले कमेन्ट देखाउन सकिनन् । बरु विषयान्तर गर्दै अर्को प्रश्न फ्याँकिन् ।
प्रेस मिटमा पल शाहले लगाएको दारीको गुणस्तरमाथि पनि प्रश्न उठ्यो । यसको प्रतिवाद निर्देशक थापाले गरे ।
उनले भने, ‘मैले पनि कमेन्टहरूमा देखिरहेको थिएँ । हामीले पल शाहलाई यस्तो दारी र कपालमा देखेका छैनौँ । हामीलाई थाहा छ कि पल शाहको त्यस्तो दारी छैन । मान्छेको दिमागमा सेट भएकाले यस्तो कुरा आएको हो । दारीको लुक्स बनाउन धेरै मिहिनेत गरेका छौँ । तर कसैले रत्नपार्कबाट ल्याएर हालेको भनेका छन् । यदि ‘भोला’ भन्ने फिल्ममा अजय देवगणले रत्नपार्कको हालेको हो भने पल शाहले पनि रत्नपार्ककै हालेको हो ।’
काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ का पछिल्ला एपिसोडहरूमा रक्षा श्रेष्ठको काकुको भूमिका रहेका दीपक आचार्य देखिएका छैनन् । उनी सक्किगोनी टीमबाटै अलग भएको हल्लासमेत चल्न थालेको छ ।
आचार्य ‘सक्किगोनी’ का कलाकार मात्र नभएर शृङ्खला निर्देशक समेत हुन् । हिजो प्रसारित ६६ औँ एपिसोडसम्म पनि कलाकार, क्रियटिभ टिम र शृङ्खला निर्देशक गरी तीन ठाउँमा उनको नाम छ । यद्यपि, उनी केही समयदेखि सक्किगोनीको सुटिङमा गएका छैनन् ।
सक्किगोनी टीमले नै अहिले ‘लाजशरणम’ नाम चलचित्र निर्माण पनि गरिरहेको छ । यो चलचित्रको तयारी र स्क्रिप्ट राइटिङमा आचार्य सुरुदेखि संलग्न थिए । तर, उनले यो चलचित्रमा पनि अभिनय नगर्ने बुझिएको छ । के साँच्चै सक्किगोनी टीमबाटसँग आचार्यको खटपट परेको हो ?
यस विषयमा सो टेलिश्रृंखलाका निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसँग जिज्ञासा राख्दा दुवैले इन्कार गरे ।
घिमिरेले आचार्य केही समय विदेशमा रहेकाले सक्किगोनीमा नदेखिएको बताए ।
उनले भने, ‘छोडेको भन्ने मलाई जानकारी छैन । उहाँ विदेश (कम्बोडिया) जानुभएको थियो । केही दिनअगाडि फर्किनुभएको सुनेको छु । भेट चाहिँ भएको छैन । हामी अहिले सुटिङका लागि काभ्रेमा छौँ ।’
सक्किगोनीको डिपोजिट एपिसोडका लागि अहिले सुटिङ भइरहेको छ । लाजशरणमको सुटिङ सुरु भएपछि यसमा लाग्न नभ्याइने भएकाले केही एपिसोडहरू खिचेर राख्न लागिएको घिमिरेले बताए । यी एपिसोडहरूमा पनि काकुको भूमिका हुने छैन ।
अर्का निर्देशक कट्टेलले पनि काकु सक्किगोनीबाट अलग नभएको दाबी गरे ।
उनले भने, ‘केही एपिसोडमा म पनि छैन । लाजशरणमको काममा व्यस्त भएकाले त्यसमा अभिनय गर्न नपाएको हो । उहाँको पनि केही एपिसोडमा रोल नभएकाले नदेखिनुभएको हो ।’
लाज शरणमका निर्देशक समेत रहेका जिग्रीले चलचित्रमा कथाको माग अनुसार कलाकारहरू छनोट भएको र ‘सक्किगोनी’ का सबैजना नपर्न सक्ने बताए ।
उनले भने, ‘सक्किगोनीमा भएका सबै कलाकारले लाजशरणमा खेल्नुहुन्न । कथामा को फिट हुनुहुन्छ उहाँहरुलाई लिने हो । उहाँ त्यसमा पर्नुभएको छैन ।’
त्यसो त आचार्य आफैँले पनि चलचित्र निर्माण र निर्देशनको तयारी गरेका छन् । लाजशरणम भन्दा पहिले नै उनले ‘परान’ नाम चलचित्र बनाउने बताएका थिए । तर, पछि लाजशरणमको तयारीमा उनी सक्किगोनी टीमसँग जुटे । सो चलचित्रको घोषणा समारोहमा आचार्य देखिएका थिए ।
सक्किगोनीमा काम गर्ने कसैलाई पनि बाहिर आआफ्नो काम गर्न स्वतन्त्रता दिइँदै आएको जिग्री बताउँछन् ।
उनले भने ,‘हामी कसैलाई पनि रोकटोक गरेका छैनौँ । बले र कक्रोचले पहिल्यैदेखि म्युजिक भिडिओ खेलिरहेका छन् । काकुले पनि म्युजिक भिडिओ डाइरेक्सन गरिरहनु भएको छ । उहाँले फिल्म बनाउने कुरा पहिल्यैदेखि थियो । सायद त्यसमै लाग्नुभएको पनि हुन सक्छ ।’
यो विषयमा बुझ्न काकुसँग बारम्बार सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन् ।
काठमाडौं । यसैसाता पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई सार्वजनिक प्रदर्शन मिति तोकेको फिल्म ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ ।
पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को ’आँखा’ टिजरले दिन्छ ।
लेखक तथा निर्देशक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्धा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ ।
फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । यो फिल्ममा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।
निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह–निर्मातामा रेनुका कार्की ढोली छिन् ।
फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।
काठमाडौं । पुरूषहरूको सौन्दर्य तथा बौद्धिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी ’यू क्यान फ्लाई फेशन प्राली’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।
नेपालको सवैभन्दा ठूलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ ।
नेपालका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ । सहभागी हुन चाहनेहरूको लागि इसेवा एपमार्फत आवेदन खुला गरिएको छ ।
यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । यस्तै मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ ।
यो प्रतियोगीताको व्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने एभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनिहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी प्रवन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन् ।
अडिसनबाट अन्तिम छनोटमा परेकाहरूबीच यो प्रतियोगिताको फाइनल नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ । ’म्यान अफ दि इयर २०२४’का विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ’म्यान अफ दि वर्ल्ड २०२४’को लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए । प्रतियोगिताको इभेन्ट कोर्डिनेसनमा मञ्जिल श्रेष्ठ छन् ।
काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो ।
एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।
कार्यक्रममा फिल्मका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको खुलाए । ‘यो धार्मिक रावायणसँग सम्बन्धित छैन । रामायाणमा रामलाई प्राथमिकता दिइएको थियो । हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका छौं । टिजर, गीत, फस्टलुकले हाम्रो जुन हाइप बनाएको छ, त्यो हाइप ट्रेलरले बनाउनेमा ढुक्का छौं ।’
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।
फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।
काठमाडौं । शान्तिश्री परियार र बिन्तीकुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ ।
गायक स्वयमकै शब्द, संगीत तथा लयमा तयार उक्त गीतको भिडिओ अमेरिकामा नै रोधीं घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै छायांकन गरिएको छ । गीतमा चुनु गुरुङ र गायक बिन्तीकुमारसँगै अलावा तमु धीँ भर्जिनियाका गुरुङ दाजुभाइ तथा दिदी बहिनीको मौलिक भेषभुषामा सजिएको अभिनय देख्न सकिन्छ ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडिओको छायांकन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडिओको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका छन् ।
काठमाडौं । चर्चित भारतीय कमेडियन राजपाल यादव आर्थिक रुपमा हरितन्नम भएका छन् । उनले बैंकको ऋण समयमा चुक्ता गर्न नसकेपछि घर लिलाम भएको छ ।
राजपाल यादवले सेन्ट्रल बैंक अफ इन्डियाबाट लोन लिएर फिल्म बनाएका थिए । उनले आफ्नो बुबा नवरंग यादवको नामबाट ऋण लिएका हुन् । ऋणका लागि नवरंगको घर तथा सम्पत्ति बंैकले धितो राखेको थियो । राजपालले लोन तिर्न नसकेपछि उनका पिताको सम्पत्तिलाई बैंकले जफत गरेको छ ।
राजपालले बैंकबाट लिएको ऋण रकम तीन करोड मात्र हो । तर, समयमा किस्ता तिर्न नसकेपछि ब्याज बढ्दै गएर ११ करोड पुगेको छ । बैंकले पटक पटक ताकेता गर्दा पनि राजपालले लोन तिर्न सकेनन् ।
अन्ततः गत ८ अगष्टमा सेन्ट्रल बैंक अफ इन्डिया बान्द्रा कुर्ला कम्प्लेक्स ब्रान्चको टीम उत्तर प्रदेशस्थित शारजहापुरमा पुगेको थियो । अधिकारीहरुले यादवको प्रपर्टी सिल गरिदिएर पोस्टर टाँसेर हिँडे । उक्त पोस्टरमा लेखिएको छ– यो प्रपर्टी अब सेन्ट्र बैंकअफ इन्डियाको हो, यसलाई खरिदबिक्री गर्न सकिँदैन ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार अधिकारीहरुले घर सिल गर्न यति हतार गरेका थिए कि घरभित्र रहेका कतिपय विद्युतीय सामानहरु बन्द गर्न समेत मौका दिइएन । प्रहरीको सहायता बिनै बैंकका अधिकारीहरुले निजी सम्पत्तिमा हस्तक्षेप गरेका थिए ।
कुनै बेला निकै चल्तिका कमेडियन राजपालको फिल्मी करिअर यतिबेला चौपट अवस्थामा छ । आफ्नो होम प्रोडक्सन फिल्म सुपर फ्लप भएपछि उनी आर्थिक संकटमा परेका हुन् । उनले सन् २०१२ मा रिलिज भएको फिल्म ‘अता पता लापत्ता’ मा अभिनय गरेका थिए । यो फिल्मलाई उनकै पत्नी राधा यादवले निर्देशन गरेकी थिइन् । यहीे फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डियाबाट लोन लिएका हुन् ।
सोही फिल्ममा ५ करोड लगानी गरेका फिल्म रिलिज अगाडि विजनेसम्यान एमजी अग्रवालले राजपालमाथि धोकाधडीको आरोप लगाए । उनले दिल्ली उच्च अदालतमा मुद्दा हालेपछि अदालतले फिल्मको रिलिजमै रोक लगाइदियो । यादवविरुद्ध चेक बाउन्सको मुद्दा पनि पर्यो । अदालतले जेल सजाय सुनाएपछि उनी पक्राउ परे । तिहाड जेलमा ३ महिना सजाय भुक्तानी गरेर निस्किए ।
बल्लतल्ल फिल्म रिलिज भयो तर दर्शक आएनन् । करोडौंमा बनेको यो फिल्मले केवल ३८ लाख रुपैयाँको व्यापार गर्यो । फिल्मले पैसा नकमाएपछि राजपालले बैंकको ऋण तिर्न सकेनन् ।
एकताका राजपाललाई फिल्ममा काम गर्न भ्याइनभ्याइ थियो । तर, अहिले उनीसँग खासै काम छैन । कमाइ पनि छैन ।
काठमाडौं । हरेक वर्षको गाईजात्रामा चर्चामा आउने एक पात्र हुन् व्यंग्य कवि शैलेन्द्र सिम्खडा । वर्षभरि कता के गर्दै हुन्छन्, गाईजात्रामा दर्शकसामू नयाँ कविताहरु लिएर अवश्य झुल्किन्छन् ।
चार दशकदेखि गाईजात्रामा प्रस्तुति दिँदै आएका छन् कवि सिम्खडा । उनका कविताले मुलतः सामाजिक विकृति विसंगतिमाथि चोटिला प्रहार गर्छन् । जोकसैले सहजै बुझ्ने सरल शब्दचयन र मिठासपूर्ण काव्यिक रचना एवं प्रस्तुतिले उनलाई हरेक वर्गका दर्शकमा लोकप्रिय बनाएको छ । अझ पौराणिक पात्रहरुलाई वर्तमानका सन्दर्भहरुसँग जोडेर चौतर्फी व्यंग्य गर्ने उनको क्षमता विशिष्ट छ ।
यस गाईजात्रामा पनि सिम्खडाले आफ्नो विशेषतालाई निरन्तरता दिएका छन् । राष्ट्रिय नाचघरमा हिजोबाट सुरु भएको साटो ‘एकासीको गाईजात्रा’ का एक आकर्षण हुन् उनी । यसपाली उनले आफ्ना कविताका पारखीहरुलाई कस्तो सिर्जना पस्किँदैछन् त ? एक झलक हामी यहाँ प्रस्तुत गर्दैछौं, जुन गत वर्षको सर्वाधिक चर्चित प्रकरणसँग सम्बन्धित छ-
त्रेतायुगमा सीताजी अपहरित हुँदा नाम गोप्य राख्नु परेन द्वापर युगमा द्रौपदीको चीरहरण हुँदा कसैले नामको वास्ता गरेन
कलिमा नमिता सुनीता र निर्मला पन्तहरु बलात्कृत भएर मर्नुपर्यो, नाम गोप्य राखिएन, तस्विरसमेत प्रचार गरियो महराजी र रोसनीजीको राससिला पनि सम्पूर्ण पत्रिका भरियो
अहिले आएर कहीँ नभएको जात्रा हाँडिगाउँमा भो त्यो गौशाला २६ भन्ने प्राणी को हो ?
पहिले गाउँमा मुखिया बाले फैसला गर्थे
बाटोमुनि घटना भएको भए केटा दोषी, तानेर लग्यो
बाटोमाथि घटना भएको भए केटी दोषी होटलमा गएको भए दुवैको राजीखुशी
मुखिया फैसला गरेर हिँन्थे गाउँलेले समातेर बिहे गराइदिन्थे
अहिले त हेर्नुस, काम र दाम भन्नुहुने, नाम भन्न नहुने त्यहीमाथि केटाको भन्नु हुने, केटीको भन्नु नहुने
कस्तो विभेदकारी कानून बनेको ? केटीलाई गौशाला २६ भन्न भन्ने भए केटालाई रंगशाला २५ किन नभनेको ?
एउटी केटीले कलाकारविरुद्ध उजुरी गरिन्, नायक गए जेलमा अर्की केटीले खेलाडीविरुद्ध उजुरी गरिन्, खेलाडी पुग्न पाएनन् खेलमा
तेस्री केटीले नेताविरुद्ध गरिन्, उजुरी दर्ता भएन, मिडियामा कराइन् ठूलो स्वरमा हाम्रो देशमा नेतासँग कानून पनि डराउँदो रहेछ अहिले त उजुरकर्ता नै थुनिइछन् खोरमा
म किसानको छोरो हजुर, मलाई पनि अर्काको श्रीमतीलाई हातपात गरेको अभियोगमा थुनाउने रे मैले गाई दुहेको तस्विर लगेर अदालतमा साँढेलाई उजुरी दिन लाउने रे
तपाईंहरु भन्नुहोला, साँढे यस्तो काममा अघि सर्छ ? सर्छ हजुर, यहाँ गोरुको बुद्धी हुनेहरुले गोरुलाई नै प्रयोग गर्छ
काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग आज लगनगाँठो कसेकी हुन् ।
बत्तीसपुतलीको राम मन्दिरमा सानो वैवाहिक समारोह आयोजना गरिएको थियो । उनको विवाहबारे थोरै व्यक्तिमात्र जानकार थिए ।
अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।
अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् ।
सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।
कोलम्बस (ओहायो) । राणाशासनविरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दु खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो- नेपालीत्वको ।
यो शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भीडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे । ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन’, उनी बताइरहेका थिए, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज आँसु थाम्न सकिनँ ।’
झापाको खुदुनाबारीमा हुर्केका नन्दु नेपथ्यका गीत आफ्ना निम्ति धार्मिक मानिसलाई भजन भने जस्तै प्रिय रहेको बताउँछन् । ‘दुई घन्टासम्म मलाई ध्यानमा बसे जस्तै भइरह्यो’, पत्नीसहित आएका उनले थपे, ‘आजको साँझ मैले जीवनकै एउटा महत्वपूर्ण क्षण अनुभव गरें ।’
कन्सर्ट अवधिभर नन्दुजस्तै रमाएका दर्शकहरूले भरिएको सिङ्गै ‘केम्बा लाइभ’ हल ध्वनि, प्रकाश र खचाखच भीडको उत्साहले उचालिएको थियो ।
अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुइटा कन्सर्ट सम्पन्न गरेर मध्य पश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ ।
१५औं शताब्दीका प्रसिद्ध अन्वेषक क्रिस्टोफर कोलम्बसको सम्झनामा यो शहरको नामकरण गरिएको हो । २०० वर्ष पुरानो यस शहरमा साढे दुई दशकयताको तथ्यांकअनुसार अन्य जातिको तुलनामा एसियाली तथा दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूको जनसंख्या उल्लेख्य वृद्धि भइरहेको छ ।
पुनर्वास कार्यक्रमअन्तर्गत नेपाली भाषी भुटानी शरणार्थीहरूको सबैभन्दा ठूलो संख्यालाई अमेरिका ल्याइएको थियो, जसमध्ये झण्डै एक तिहाइको बसोबास यसै राज्यमा देखिन्छ । त्यसबाहेक पनि नेपालीहरूको यहाँ उल्लेख्य उपस्थिति छ । यसरी आप्रवासीहरूको संख्या बढेसँगै त्यसै अनुपातमा आफ्नो पहिचान र संस्कृतिको खोजी पनि बढ्न थालेको स्थानीयहरू बताउँछन् ।
‘हाम्रै कतिपय नेपालीले अमेरिकामा आफ्ना केटाकेटीलाई नेपाली नसिकाएको पनि भेटें’, कन्सर्टको मध्यतिर अमृतले भावुक हुँदै भनेका थिए, ‘बालबालिकालाई उनीहरूको जरासँग जोड्न र अरु केही नभए पनि उनीहरूका हजुरबा–हजुरआमासँग संवाद गर्नकै लागि पनि नेपाली बोल्न लगाउनुस् है ।’
निर्धारित समयअनुसारै कन्सर्ट बेलुकी ठीक ८ बजे सुरु भएको थियो । ‘कोशीको पानी यो जिन्दगानी’बाट सुरु भएको प्रस्तुति नेपथ्यका सार्वकालिक हिट गीतहरू हुँदै ‘शीरफूल शीरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरू हुँदै अघि बढेको थियो । अन्तिम लहरमा प्रस्तुत गीतहरू ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’सँगै कार्यक्रम चरमोत्कर्षमा पुगेको थियो ।
‘कहिल्यै बिर्सन नसकिने गरी अविस्मरणीय साँझ बन्न पुग्यो’, मनोज सिवाकोटीले नेपाली झण्डा बोकेको सामूहिक तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘कस्तो जोडदार प्रस्तुति ।’
यो कन्सर्ट हेर्न नै मिसौरीको सेन्ट लुइसबाट ७ घन्टा गाडी हाँकेर अमेरिकी श्रीमतीका साथ प्रकाश जोशी कोलम्बस आइपुगेका थिए । ‘केही वर्षअघि पाटन दरबार स्क्वायरमा नेपथ्य कन्सर्ट हेर्न खोज्दा अत्यधिक भीडले बीचैमा फर्किनुपरेको थियो’, नेपालमा महेन्द्रनगर घर भएका सफ्टवेयर इन्जिनियर जोशी भन्दै थिए, ‘त्यतिबेलै नेपथ्यको कन्सर्ट जसरी पनि हेर्ने अठोट बोकेको मैले आज चिताएभन्दा राम्रोसँग जीवनकै गजब क्षण अनुभव गर्न पाएँ ।’
हलमा दर्शकहरूको प्रतिक्रिया हेरेरै आफूले नेपथ्य ब्यान्डको लोकप्रियता अनुमान गरेको बताउँदै केम्बा हलका प्रोडक्सन म्यानेजर जोय पास्तरनाकको प्रतिक्रिया थियो, ‘मञ्चबाट गाएका सबै गीत तल सबैले गाएर सुनाइरहेको अनि हरेक गीतमा हात उचालेर तालसँगै हल्लिरहेका दर्शकको ऊर्जावान दृश्यले मलाई पनि यो कन्सर्ट रमाइलो लाग्यो ।’
कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
‘कन्सर्टका बेला दर्शकहरूले हल्लाइरहेका राष्ट्रिय झण्डाको लहरै देखिँदा मेरो शरीरमा काँडा उम्रिरहेका थिए’, आयोजक टोलीका लाल चौहानको प्रतिक्रिया थियो, ‘नेपथ्यलाई सफलतासाथ प्रस्तुत गर्न पाउनु र नेपाली भाषीहरूबीच यो बृहत, सभ्य र भव्य संगीत प्रवाहको माध्यम हुन पाएकामा हामी आयोजक गौरवान्वित छौं । एउटा सपना पूरा भए जस्तो लागिरहेको छ, जसका निम्ति म ब्यान्डप्रति आभारी छु ।’
अमेरिका यात्राको अघिल्ला तीन कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब चौथो प्रस्तुतिका लागि नेपथ्य टेक्सास प्रस्थान गर्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको शहर डालासमा ६ वर्षपछि अगस्त २४ तारिखका दिन नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो ।
डालासपछि न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा कन्सर्ट गरेपछि यस वर्षको शृंखलाबद्ध अमेरिकी यात्राले विश्राम लिनेछ । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।
काठमाडौं । जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो ।
अभिनेत्री नीता ढुंगानाको निर्माण भएको सिनेमा कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ । हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।