Category: कलाप्रेस

  • सार्वजनिक भएको ९ दिनमै करोड क्लवमा विष्णु माझीको तीज गीत

    सार्वजनिक भएको ९ दिनमै करोड क्लवमा विष्णु माझीको तीज गीत

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा एक करोड १० लाखभन्दा बढी पटक हेरिएको छ ।

    श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युट्युबबाट सार्वजनिक भएको उक्त गीत एकै दिनमा १५ लाख पटक हेरिएको थियो । यद्यपि उक्त गीत यो १० दिनको अवधिमा ट्रेडिङको कुनै तहमा प्रवेश गरेन ।

    एकै दिनमा १५ लाख पटक हेरिएपछि उक्त गीत एक हप्ताभन्दा अघि नै १ करोड पटक हेरेर गायक प्रकाश सपूतको गीतलाई पछि पार्ने आँकलन गरिएको थियो । अन्ततः ९ दिनमै करोड पटक हेरिएको छ । गायक सपूतको ‘सकम्बरी’ गीत एक सातामै एक करोड पटक हेरिएको थियो ।

    यस वर्ष धेरै हेरिएका तीज गीत

    माझीको गीतपछि दोस्रो स्थानमा हेको शान्तिश्री परियारको स्वर रहेको ‘काली पसम की’ गीत ६० लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ । प्रेम सापकोटा सोनुको युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक गीतमा स्मारिका ढकाल र जोन बम ठकुरीको अभिनय तथा नृत्य रहेको छ ।

    तेस्रोमा गायक पशुपति शर्मा र प्रिया भण्डारीले गाएको तीज गीत ‘मै लुरीलाई’ धेरै पटक हेरिएको छ । गायक शर्माको युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक भएको गीत अहिलेसम्म ५७ लाख ४५ हजार पटक हेरिएको छ । गीतमा गायक शर्मा र जुना विश्वकर्माको अभिनय रहेको छ ।

    चौथोमा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘आउन राजा’ ५२ लाख २६ हजारभन्दा बढी पटक हेरिएको छ । भावना म्युजिक सोलुसन युट्युब च्यानलबाट २ महिनाअघि सार्वजनिक गीतमा आश्मा विश्वकर्मा र विमल अधिकारीको अभिनय तथा नृत्य रहेको छ ।

    पाँचौंमा एलिना चौहानको स्वरमा रहेको ‘मन परेको मान्छे’ पनि ५२ लाखभन्दा बढी पटक हेरिएको छ । गायिका चौहानकै युट्युबबाट एक महिनाअघि सार्वजनिक गीतमा अञ्जली अधिकारी फिचर्ड छिन् ।

    छैटौंमा गायिका शान्तिश्री परियारले गाएको अर्को तीज गीत ‘थोरै थोरै लाज’ ३८ लाख ७५ हजारभन्दा बढी पटक हेरिएको छ । एक महिनाअघि ऋषि खड्काको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अञ्जली अधिकारी, विमल अधिकारी र स्मारिका ढकाल फिचर्ड छन् ।

    सातौंमा प्रीति आलेको तीज गीत ‘दुनियाँलाई’ युट्युबबाट सार्वजनिक भएको ३ सातामा २७ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा गायिका आलेसँगै चर्चित मोडल सम्झना बुढाथोकी, करिश्मा ढकाल, रुविना अधिकारी र निकिसा श्रेष्ठ फिचर्ड छन् । गीतमार्फत महिलालाई होचो तथा पुड्को, मोटो, अग्लो, कालो तथा यौनिक तथा अल्पसंख्यक समुदाय (एलजीबीटीआईक्यू)को भनेर गरिने विभेद र त्यसविरुद्धको खबरदारी गरिएको छ ।

    आठौंमा गायक सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सीताका माइती’ तीज गीत अहिलेसम्म २६ लाख ६५ हजारभन्दा धेरै पटक हेरिएको छ । गायक खड्काकै युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक भएको उक्त गीतमा जुना विश्वकर्मा र विजय पुन फिचर्ड छन् ।

    नवौं स्थानमा गायक राजन कार्की, जीवन दाहाल, कमला सुनार र शान्ति बर्देवाको स्वर रहेको ‘हर हर महादेव’ तीज गीत २६ लाख ५५ हजारभन्दा बढी पटक हेरिएको छ । गायक कार्कीको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अस्मिता रनपाल र तेजेश रेग्मी फिचर्ड छन् ।

    दशौं नम्बरमा मञ्जु थापाको तीज गीत ‘ढकनी र कुराउनी, खाउली राती दरैमा’ करिब २० लाख १५ हजार पटक हेरिएको छ । म्युजिक नेपाल युट्युब च्यानमार्फत एक साताअघि सार्वजनिक गीतमा कलाकार रीमा विश्वकर्मा, जुना सुन्दास र आभा थापा फिचर्ड छन् ।

    यस्तै गायिका अस्मिता डल्लाकोटीको ‘पीर कल्लाई छैन र’ गीत करिब १८ लाख पटक हेरिएको छ । गीत डल्लाकोटीकै युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक भएको थियो । गीतमा शक्तिकुमार गोदार, सम्झना थापा र रमामाया गोदार फिचर्ड छन् । उक्त गीत युट्युबको ट्रेडिङ नम्बर २२ मा छ ।

    शान्तिश्री परियारको स्वर रहेको ‘लौ न नि भैया’ तीज गीत अहिलेसम्म करिब १६ लाख ८५ हजार पटक हेरिएको छ । उक्त गीतमा गायिका परियारसँगै चर्चित मोडल अञ्जली अधिकारी र अभिनेता पल शाहको अभिनय रहेको छ । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत अहिले ट्रेडिङ नम्बर २ मा रहेको छ ।

    गायक खुमन अधिकारीसहित २६ जनाको स्वरमा सजिएको ‘आफूलाई आफैं राम्रो’ गीत युट्युबमा अहिलेसम्म १६ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ । गुड लक नेपाल युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक गीतमा गायक अधिकारीसहित सबै गायिकाको अभिनय तथा नृत्य रहेको छ । उक्त गीतमा शर्मिला गुरुङ, जुना शिरिष, पूर्णकला बीसी, श्रीदेवी देवकोटा, माया गुरुङ, आशा बीसी, जानकी तारामी मगर, कालिका रोका, चन्दा अर्याल, मीना लामा, सुमन थापा मगर, सरिता कार्की, शान्तिश्री परियार, मञ्जु बिक, चिजा तामाङ, सुशीला गौतम, मीना बुढाथोकी, सीता श्रेष्ठ, आयुशा गौतम, पूजा देवकोटा, सलिना नेपाली, तारा थापा, शर्मिला बीसी, शर्मिला रायमाझी, उषा सुवेदी र शिला गजुरेल रहेका छन् ।

    सन्तोष केसी, समीक्षा अधिकारी र राधिका हमालको स्वर रहेको ‘शहरिया छोरी बुहारी’ तीज गीत करिब १६ लाख पटक हेरिएको छ । गायक केसीकै युट्युब च्यानलबाट दुई महिनाअघि सार्वजनिक भएको उक्त गीतमा हास्यव्यग्य कलाकार किरण केसी, अंशु महर्जन, पल्पसा डंगोल, कमल गाउँले र शारदा गिरीको अभिनय रहेको छ ।

    श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वरमा रहेको ‘मेरो बुढा मेरो भगवान’ तीज गीत युट्युबमा १५ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । आरटी इन्टरटेनमेन्टबाट एक महिनाअघि सार्वजनिक भएको गीतमा नायिका प्रियंका कार्की, पछिल्लो समय चर्चित नेपाली सिरियल ‘सीता’ का कलाकार सहिन प्रजापति, सुनिशा बजगाईं, कुशल विष्ट, बालकृष्ण वली, समिया कार्कीको नृत्य तथा अभिनय रहेको छ ।

    गायिका सुनिता दुलाल र खेम सेन्चुरीको स्वरमा रहेको तीज गीत ‘नबोल अरुसँग’ अहिलेसम्म १४ लाख ८० हजार पटक हेरिएको छ । गायिका दुलालकै युट्युब च्यानलबाट ३ साताअघि सार्वजनिक गीतमा गायिका दुलालसँगै प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भीर विष्ट र सुरेश देवलको अभिनय रहेको छ ।

    प्रीति आलेको स्वर रहेको ‘रनन रन्काउँदै, मादलु घन्काउँदै’ तीज गीत १२ लाख ३१ हजारभन्दा बढी पटक हेरिएको छ । गरिमा फिल्मस युट्युब च्यानलबाट एक महिनाअघि सार्वजनिक भएको गीतमा गायिका आलेकै अभिनय तथा नृत्य रहेको छ ।

    गायिका रेखा शाहको ‘छमछमी नाचौं न’ गीत पनि १२ लाखभन्दा बढी पटक हेरिएको छ । गायिका शाहको युट्युब च्यानलबाट ३ साताअघि सार्वजनिक भएको गीतमा गायिका शाहसँगै नायिका प्रियंका कार्की र मोडल कविता नेपालीको अभिनय तथा नृत्य रहेको छ । उक्त तीज गीत अहिले युट्युबको टेड्रिङ नम्बर २१ मा रहेको छ ।

    सन्तोष केसी, देवी घर्तीमगर र राधिका हमालको स्वर रहेको कमेडी तीज गीत ‘माइलीको भट्टी’ ११ लाख ६८ हजारभन्दा बढी पटक हेरिएको छ । गायक केसीको युट्युब च्यानलबाट तीन साताअघि सार्वजनिक भएको गीतमा हास्यव्यग्य कलाकार कमल गाउँले, अंशु महर्जन र पल्पसा डंगोलको अभिनय तथा नृत्य रहेको छ । उक्त गीत अहिले युट्युबको ट्रेडिङ नम्बर १५ मा छ ।

    यस्तै गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको ‘बिजुली चमक्क’ गीत युट्युबमा १० लाख ७३ हजारभन्दा बढी पटक हेरिएको छ । एक महिनाअघि कस्तुप पन्तको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अञ्जली अधिकारीको अभिनय तथा नृत्य रहेको छ ।

    गायक खेम सेन्चुरीको स्वर रहेको तीज गीत ‘सासू बजै’ युट्युबमा ९ लाख ८० हजार पटक हेरिएको छ । गायक सेन्चुरीकै युट्युब च्यानलबाट २ साताअघि सार्वजनिक भएको गीतमा गायक सेन्चुरीसँगै चर्चित मोडल ललना चिमोरिया र हास्यव्यग्य कलाकार लुनिभा तुलाधर फिचर्ड छन् । उक्त गीत अहिले युट्युबको ट्रेडिङ नम्बर ५ मा छ ।

    यस्तै शान्तारानी परियारको तीज गीत ‘म त ढले ढले’ युट्युबमा अहिलेसम्म ५ लाख ८८ हजार पटक हेरिएको छ । गायिका परियारकै युट्युब च्यानलबाट २ साताअघि सार्वजनिक गीतको भिडिओमा मोडल पल शाह, जुना विश्वकर्मा र श्रीयासी गुरुङ फिचर्ड छन् । उक्त गीत अहिले युट्युबको ट्रेडिङ नम्बर १३ मा रहेकाे छ ।

  • अमेरिकाको मेरिल्यान्डमा नेपथ्य संगीत यात्रा: नयाँ पुस्तालाई मातृ भाषा सिकाउन अमृत याचना

    अमेरिकाको मेरिल्यान्डमा नेपथ्य संगीत यात्रा: नयाँ पुस्तालाई मातृ भाषा सिकाउन अमृत याचना

    मेरिल्यान्ड । आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुईंतलामात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेकामाझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप ।

    ‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरें’, त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति !’

    दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो । ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहें’, कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडियोहरू देखाउँदै उनले भनिन् ।

    निर्धारित समयमा कार्यक्रम सुरु भएसँगै नीलो जिन्स लगाएका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे । ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे । यतिञ्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए-

    ‘कोशीको पानी यो जिन्दगानी
    सललल जाइजाने हौ हजुर
    आमाको कोखमा बास मात्र लिएँ नि
    कुन देशको मरन हौ हजुर’

    त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेंडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग भलाकुसारीको क्रम सुरु गरे ।

    कार्यक्रममा नयाँ-पुराना गीतको लस्कर थियो । ती सबैको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।

    सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृ भाषा सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए ।

    कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झण्डा पनि बोकेरै ल्याएका थिए । ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे । दर्शक अनेक किसिमका समूहमा आएका थिए । कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा । कोही अभिभावक र केटाकेटीसहित सपरिवार आएका उत्तिकै भेटिन्थे ।

    त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा केटाकेटीलाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात । वन्दना, सम्झना, सजना, राज र राजेशलगायतको त्यो समूह सुरुदेखि रमाइरहेको देखिन्थ्यो ।

    ‘नेपाली बालबालिकाले आफ्नो भाषा र संस्कृति सिकून् भन्ने अमृत दाइको चाहनासँग हाम्रो मिसन ठ्याक्कै मिलेको पायौं’, उनीहरूले भने, ‘हाम्रो उद्देश्य पनि आफ्नो जरालाई जोगाउने र भविष्यलाई उज्ज्वल बनाउने नै हो ।’

    नेपथ्यको कन्सर्टबाट आफूहरू उत्तिकै रमाएको उनीहरुको प्रतिक्रिया थियो ।

    ‘यसअघि थुप्रै नेपाली कन्सर्ट हेरेको भए पनि कार्यक्रमको गुणस्तर र समयको इज्जत गर्ने मामिलामा नेपथ्य सबैभन्दा माथि पायौं’, उनीहरूले थपे, ‘यसका लागि ब्यान्ड र आयोजकलाई धन्यवाद छ ।’

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    शृंखलाबद्ध अमेरिका यात्रामा अघिल्ला ६ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौं तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्ने ब्याण्ड व्यवस्थापक नेपालयका अर्पण शर्माले जानकारी दिए । उनका अनुसार ब्यान्ड यो शहर पनि पहिलो पटक पुग्ने भएको हो । ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ तारिख शनिबारका दिन नेपथ्यको कन्सर्ट हुने शर्माले बताए ।

    तस्विरहरु : दिपित राज/नेपालय

  • समीक्षाको स्टाटसपछि पूजाको टिप्पणी- फिल्म प्रदर्शनअगाडि शत्रु लागे

    समीक्षाको स्टाटसपछि पूजाको टिप्पणी- फिल्म प्रदर्शनअगाडि शत्रु लागे

    काठमाडौैं । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच आरोप प्रत्यारोप चलेको छ । समीक्षाले पूजाको एक अन्तर्वार्ताप्रति रोष प्रकट गर्दै स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् ।

    केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् ।

    समीक्षाको स्टाटस यस्तो थियो

    अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ ।

    त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?

    यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?

    सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनें, मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज । अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ।

    सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।

    यो स्टाटसमा आपत्ति जनाउँदै पूजाले आफ्नो फिल्म रिलिज हुनुपूर्व सत्रु लागेको टिप्पणी गरेकी छन् । उनले स्टाटसमा आफ्ना साथीहरुले मात्रै कमेन्ट गर्न सक्ने बनाएकी छन् ।

    पूजाले आफ्नो स्टाटासमा समीक्षाको नाम नलेखी गायिका बहिनी भनेर सम्बोधन गरेकी छन् । पूरा भिडिओ हेरेर मात्रै प्रतिक्रिया दिन उनको आग्रह छ । फिल्म आउनुभन्दा केही दिन अगाडि पहिले र अहिले पनि आफूलाई टार्गेट गरिएको र बाध्य भएर बोल्नु परेको पूजाले बताएकी छन् ।

    हेर्नुस पुजाको स्टाटसः

    ‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन् त्यसमा मेरो गम्भीर आपत्ति छ ।

    त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ।

    यो विषयमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिनँ तर यसरी मेरो मुभि आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म पनि बाध्य भएर बोलेँ ।

    भिडिओमा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला ‘त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।’

    मुभि आउनु अगाडी शत्रुहरू त लाग्छन् नै ।’

  • दिनेश डीसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

    दिनेश डीसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको उनको भनाइ थियो । उनको शुभकामनाका लागि बोर्डको हलमा आज ३ घण्टाको कार्यक्रम तय गरिएको छ । उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता जनाए ।

    गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • धनगढी गाईजात्रा : देउवा ओलीदेखि हमालसम्मलाई कटाक्ष

    धनगढी गाईजात्रा : देउवा ओलीदेखि हमालसम्मलाई कटाक्ष

    कैलाली । टाउकोमा कालो टोपी, आँखामा पावर दानी चस्मा, काँधमा रातो मख्लर भिरेर दौरा सुरवालसहित प्रधानमन्त्री केपी शर्मा ओलीकै अवतारमा अविवाद गर्दै कलाकार दीर्घ शाही स्टेज चढ्दा गाईजात्रा हेर्न पुगेकाहरूलाई प्रधानमन्त्री नै पुगेजस्तो लाग्यो ।

    ‘धनगढीमा आएर केही बोलौला भनेको प्रचण्ड जीको गन्ध गन्ध पो आउँछ तरु’ ओलीकै झैँ स्वरमा शाहीले भन्दा दर्शक दीर्घामा हाँसोको फोहोरा पु¥यो ।

    उनले आरजू राणा देउवा र प्रचण्ड एउटै विमानमा आएको विषयलाई पनि व्यङ्ग गरेका थिए ।

    ‘देउवा जी पनि आउने भन्नु भएको थियो । हामी कम्युनिस्ट अल्लि छिटो छिटो हिँड्छौँ उहाँ ढिलो गर्नुहुन्छ तालमेल नै मिल्न गारो भइहरेको छ ’ फेरि हाँसो गुन्जिन्छ ।

    कालो टोली, ओलीको भन्दा अल्लि ठुलो पावर दानी चस्मा र दौरा सुरवालसहित कांग्रेस सभापति शेरबहादुर देउवा झैँ देखिने गरी स्टेजमा आउँछन् कलाकार प्रेम पौडेल ।

    ओली झैँ देखिएका शाही र देउवा झैँ देखिएका पौडेलबिच कांग्रेस एमाले बिचको गठबन्धनका विषयमा घोचपेच सुरु हुन्छ । देउवा र ओलीबिच हुनसक्ने सुदूरपश्चिम सरकारका विषयमा पनि उनीहरूले संवादमा उल्लेख गरेका थिए ।

    ‘प्रदेशमा साथीहरूले काम गर्न सकेनन् भनेर मलाई रिपोर्टिङ गएको गयै हुन्छ । यो प्रदेशमा अहिलेसम्म बजेट पनि पास भएको छैन ’ ओलीकै आवाज सुनिने गरी कलाकार शाहीले भन्छन् ।

    ‘कमल शाहको नेतृत्वमा सरकार गठन गरेको त्यो सरकारले पनि बजेट पास गराउन सकेन , तपाइकै कारणले गर्दा हो’ जवाफ आउँछ ।

    ‘मेरो कारणले भन्दा पनि तपाइकै कारणले हो । तपाइले सिफारिस गर्नुभयो मैले सिग्नेचर हान्दिएको हो मेरो के गल्ती भयो र रु ’ ओलीको जस्तै आवाजमा शाहीले भन्छन् ।

    देउवाकै जस्तो आवाजमा कलाकारले एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको प्रसङ्ग निकाल्छन् ।

    ‘सुदूरपश्चिममा जो पनि रावलकै कुरा गर्छन् । रावल धेरै छन् सुदूरपश्चिममा । भीम रावलले मसँगै जोरी खोज्न थाल्नु भयो आफै चिप्लिनु भयो ’ फेरि दर्शकको हाँसो सुनिन्छ ।

    केन्द्रमा एमाले कांग्रेस गठबन्धन गर्दा तल्ला तहसम्म कार्यकर्ता अझै मिल्न नसकेको भन्दै व्यङ्ग चल्छ ।

    ‘माननीय ज्यूहरू पनि कांग्रेस र एमालेका फरक फरक ठाउँमा हुनुहुन्छ होला हेर्नुहोला नि ’ सबैको नजर प्रदेश सभा सदस्य बसेको स्थान तर्फ जान्छ ।

    धनगढी गाईजात्राको अन्तिम प्रस्तुति दिन आएका शाही र पौडेलले सबैको ध्यान आफू तर्फ ताने । केही बेर अघि दुवै फरक फरक शैलीमा प्रस्तुत भएको धेरैले पत्तै पाएनन् ।

    शाही योजना किनबेच गर्ने बिचौलियाको भूमिकामा आएका थिए भने पौडेल गरिब जनताको पीडा देखाउन त्यस्तै हाउभाउ र पोसाकमा आएका थिए ।

    राजनीतिले गर्दा गाउँले बा को पीडामा च्यातिएको लुगा, रुग्ण शरीर र मार्मिक शब्दले सबैलाई भावुक बनाएको थियो । कमिसनको जालोमा दीर्घ शाही र गुड्ड ओलीले प्रदेश सरकारकाबाट योजना किनबेच हुने वास्तविकतालाई व्यङ्ग गरेका थिए । गाउँमा साना नेताहरू पनि २० प्रतिशत कमिसनमा सरकारबाट योजना लैजानै र त्यसका लागि कसरी सेटिङ गर्छन् भन्ने कुरा प्रस्ट राखेका थिए ।

    प्रदेश सभा सदस्य र मन्त्रीहरूकै अगाडी कलाकारहरूले सरकार र सांसदहरू प्रति पेचिलो व्यङ्ग गरेका थिए । स्वदेशी बस्तुको मायामा गुणाकर पनेरु र पुष्पा बडेलाको पनि अब्बल प्रस्तुति रहेको थियो ।

    भीम विष्ट अछामी रेखाले पनि फरक शैलीमा तिखो व्यङ्ग गरिन् । उनको प्रस्तुतिले सबैका ध्यान तानेको थियो । गाईजात्राको अर्को अब्बल प्रस्तुति थियो ध्रुव सिंह र गुड्ड ओलीको । सिंह धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालको अवतारमा देखिएका थिए भने ओली उपप्रमुख कन्दकला रानाको अवतारमा देखिएकी थिइन् । ओली भन्दा सिंहले धेरैको ध्यान ताने ।

    हमालको जस्तो टोपी, एउटा हातमा डायरी, शरीरमा उस्तै पोसाक र बोल्ने शैलीले सिंह हमाल जस्तै देखिएका थिए ।

    ‘ल ल म व्यस्त छु । बाकी काम उपप्रमुखबाट हुन्छ’ भन्दै हमालकै शैलीमा सिंह स्टेजबाट निस्किन्छन् । त्यसपछि उपप्रमुख रानाको झल्को दिने गरी ओलीले प्रस्तुत दिन्छिन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालाई उनको जस्तै हाउभाउ,प्रस्तुति र शैलीले बेला बेलामा हँसाइरहेको हुन्थ्यो । सामाजिक सञ्जालले जन्जालमा दीक्षा गौतम र बेबो विश्वकर्माले सन्देशमूलक प्रस्तुति दिएका थिए भने सहरमा रुम मिलाउने काममा सरस्वती भट्ट र प्रदीप थापा मगरको पनि अब्बल प्रस्तुति थियो ।

    लोकतन्त्रबारे निल गगन सिंहले व्यङ्ग कविता प्रस्तुत गरेका थिए । शिखर आर्टसले पहिलो पटक धनगढीमा यो स्तरको गाईजात्राको आयोजना गरेको हो । एसटिएस सिनेमा घरमा आइतबारको गाईजात्रा हेर्न प्रदेश प्रमुख नजिर मियाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति डा. टिएन जोशी, एक दर्जन प्रदेश सभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहितका अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।

    आफ्नो जिम्मेवारीप्रति गरिएको ब्यागमा पनि उनीहरू हाँसिरहेका थिए । कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख मियाँले पहिलो पटक धनगढीमा गरिएको प्रयास निकै राम्रो भएको बताए ।

    ‘सुदूरपश्चिम प्रदेशकै कलाकारहरूले गर्नुभएको प्रयास निकै राम्रो छ आगामी वर्षहरूमा पनि निरन्तरता दिनुहोला ’ उनले सुझाव दिएका थिए ।

  • नेपथ्य अमेरिका शृंखला २०२४: न्यूयोर्कमा ऐतिहासिक प्रस्तुति

    नेपथ्य अमेरिका शृंखला २०२४: न्यूयोर्कमा ऐतिहासिक प्रस्तुति

    न्यूयोर्क । हजारौं दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे । धुन बज्दाबज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौं है !’

    प्रत्युत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए । अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौं आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यसाथ सम्पन्न भयो ।

    विश्वकै केन्द्र मानिने न्यूयोर्क नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरै पटक प्रस्तुत गरेको शहर पनि हो । यस पटक न्यूयोर्कमा नेपथ्य प्रवेश गर्दा उत्साहित नेपालीहरूको टोली परम्परागत पोशाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए । उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क शहरमा भित्र्याइएको थियो ।

    नेपथ्यका नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको कार्यक्रममा गीतहरूको बीचमा गायक गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेका थिए । उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए ।

    गायक गुरुङले कतिपय गीत आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी दिएका थिए ।

    कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गो ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भीडको उत्साहले उचालिएको थियो ।

    ‘नेपाली भाषा रहुञ्जेल हामी नेपालीहरू रहिरहनेछौं’, अमेरिका बस्दै आएका दर्शकहरूसमक्ष अमृतले आग्रह गरे, ‘संसारमा जतासुकै गएपनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है ।’

    कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता प्रस्तुतिमार्फत चरमोत्कर्षमा पु¥याएको थियो ।

    न्यूयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टर रहेका समनअर्याल यो ठाउँ आएको दुई वर्ष भयो । उनी पहिलो पटक नेपथ्यको कन्सर्ट अनुभव गरिरहेका थिए ।

    ‘सबैको समयको कदर गर्दै समयमा सुरु भएको यो कार्यक्रमको प्रत्येक क्षण विशेष रूपमा सिँगारिएको महसुस भयो’, डा. अर्यालले भने, ‘मञ्चका कलाकारसँगै दर्शक दीर्घाले एकसाथ गाइरहेको देख्दा यो त जीवनमै एक पटक लिनैपर्ने रमाइलो अनुभव जस्तो लाग्यो ।’

    यो कन्सर्ट हेर्न नेपाली साथीको साथ लागेर बंगलादेश मूलकी २२ वर्षीया विद्यार्थी माया कर्माकर पनि आएकी थिइन् ।

    ‘संगीतले भाषाको सीमारेखा नाघ्दोरहेछ भन्ने उदाहरण मेरो निम्ति नेपथ्यको आजको प्रस्तुति रह्यो’, मायाले थपिन्, ‘मञ्चबाट आइरहेको शक्तिशाली प्रभाव, तल दर्शकहरूको एकत्रित ऊर्जा, जताततै प्रशंसकहरू गाइरहेका नाचिरहेका, मुख्य गायकका बोलीदेखि हाउभाउसम्म प्रत्येक गतिविधिमा सम्मोहन, पृष्ठभूमिमा बग्दै गरेका नेपालका मनमोहक दृश्यहरूदेखि हलभित्रका चकाचौध बत्तीहरूको प्रयोगले सिंगो परिवेशै गजबको लाग्यो ।’

    लोरेन ग्राबीले साउन्ड इन्जिनियरको काम थालेको ३० वर्ष भयो । बितेको १५ वर्षयता भने उनी यसै टर्मिनल फाइभमा कार्यरत छन् । ‘मैले दुनियाँभरका धेरै प्रकारका ब्यान्डहरूको कन्सर्टमा काम गरेको छु ।नेपथ्यसँगको अनुभव भने यो रकब्यान्ड भइकन पनि यसका संगीतमा लुकेका युनिक नोटहरूले गर्दा बेग्लै स्वादको लाग्यो’, लोरेनले भने ।

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    ‘हामीले धेरै कार्यक्रम आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिँ विशेष रह्यो’, आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकहरूले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन् ।’

    आफूहरूले चाहना र मेहनत गरेबमोजिम नै यसपालाको नेपथ्य कन्सर्ट न्यूयोर्कमा हालसम्म प्रस्तुत नेपाली कार्यक्रममध्ये ऐतिहासिक बन्न पुगेको उनको प्रतिक्रिया थियो ।

    ३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैंस यस्तरी उर्लंदोर’च के !’

    यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य डीएमभी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ । यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ तारिखका दिन ब्यान्ड प्रस्तुत हुँदैछ ।

    मेरिल्यान्डको आयोजना सम्पन्न भएपछि अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ । अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

    तस्विरहरु : नेपा-लय

  • चलचत्रि ‘वर एण्ड वधु’को उत्साहित सुरुवात

    चलचत्रि ‘वर एण्ड वधु’को उत्साहित सुरुवात

    काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिबार काठमाडौंका हलमा दर्शकको चाप राम्रो देखिएको छ शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।

    हलमा दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्, ‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’

    यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाइ छ ।

    निर्देशक मिलन चाम्सले फिल्मको सिरिजि बनाउने संकेत गरे । आगामी दिनमा पनि फिल्ममा दर्शकको फ्लो राम्रो भएको खण्डमा फिल्मको सिरिज पनि बन्न सक्ने उनको भनाई थियो ।

    फिल्म हेरेका अधिकांश दर्शकले यसको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए ।

    फिल्ममा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

    एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको कथावस्तु, यसको दृश्य, कलाकारहरुको अभिनय र कमेडी पाटोलाई दर्शकले रुचाएका छन् । प्रदीप भारद्धाजले लेखेको फिल्मलाई सुदिप बरालले खिचेका हुन् ।

  • चितवनको रातमाटे डाँडामा विपीनको ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण

    चितवनको रातमाटे डाँडामा विपीनको ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण

    चितवन । कवि विपीन पाठकको कविता संग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । कविता संग्रह कवि पाठक हुर्किएको माडीको जंगल रातमाटे डाँडामा चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।

    माडीको पर्यटकीय स्थल रातमाटे डाँडामा शुक्रबार साँझ गरिएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बाबुआमा बालकृष्ण पाठक, पार्वती पाठक, कवि भूपिनलगायतले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गरेका हुन् ।

    माडी साहित्य परिवारको आयोजनामा गरिएको कार्यक्रममा कवि पाठकको व्यक्तित्व एवं कृतिबारे डा. धनेश्वर भट्टराईले चर्चा गरेका थिए । प्रेम रिमाल, रामप्रसाद न्यौपाने, प्रकाश चापागाईं, पुरुषोत्तम आचार्यलगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए ।

    आफूले कवितामार्फत समाजमा चेतना तथा परिवर्तनका केही सन्देश दिने प्रयास गरेको कवि पाठकले बताए ।
    सामाजिक तथा समाज रुपान्तरणसम्बन्धी ४० वटा कविता समेटिएको संग्रहको प्रकाशन इन्डिगो इन्क प्रालि काठमाडौंले गरेको हो ।

  • गौरी मल्लले बिर्सिन नसकेको त्यो थप्पड

    गौरी मल्लले बिर्सिन नसकेको त्यो थप्पड

    वर्षेनी तीजको बेला बजारमा नयाँनयाँ गीत आउँछन् । एक तीजको गीत अर्को तीजमा हराउँछन् या त पुराना हुन्छन् । तीजमा बज्ने एकमात्र गीत छ, जो कहिल्यै पुरानो भएन । बरु, तीजैपिच्छे रौनक बढाउँदै यो गीत बजिरहन्छ-

    गाऔं स्वर खोलेर दिदी र बहिनी

    नाचौ न मिलेर दाम्लिई सैनी

    तिजको रहर आयो बरिलै……

    २०४५ सालमा नेपाली कथानक चलचित्र ‘कन्यादान’ प्रदर्शनमा आएदेखि नै यो गीतले नेपाली समाजको अनेकौं पुस्तालाई नचाउँदै आयो ।

    चन्द्र पात्रोले भदौ शुक्ल तृतीयालाई हरितालिका तीजको मितिका रुपमा निर्धारण गरे पनि नेपाली समाजमा त्यसको एकडेढ महिना अगावैबाट रमझम शुरु हुने गरेको छ । त्यस क्रममा शालिन, सान्दर्भिक र लोकप्रिय गीतका रुपमा यसको प्रयोग हुँदै आएको छ ।

    कुनै बेला थियो, योबाहेक तीजमा बजाउन गीत पाइनै मुस्किल ! त्यसो त नेपाली ग्रामीण समाजमा परापूर्वकालदेखि नै पर्व आधारित भाकाको अभाव कहिल्यै भएन । तीजका लागि पनि ठाउँपिच्छे स्थानीय भाकाका संगीतमा महिलाहरु नाच्थे । व्यवसायिक संगीत बजारमा तीजलाई प्रतिनिधित्व गर्ने सर्वाधिक लोकप्रिय गीत चाहिँ यही नै भयो । यसले तीजलाई गीतका नाममा मात्र हैन, तीज संस्कार, यसले आत्मसात गर्दै आएको मौलिक परम्परालाई पनि बोलेको छ ।

    नौडाडा काटेर गएका चेली
    भाग्यले भेट भएछौं फेरि
    को कहाँ पुग्ने हो केही थाहा छैन
    आगुम भेट फेरि हुने हो होइन

    जतिबेला यो गीत रेकर्ड भई बजारमा आयो, त्यसबेलासम्म पनि यति चल्छ र आजसम्म यसले उत्तिकै नचाउँला भन्ने कल्पना गरेका थिएनन्, चलचित्र कन्यादानका निर्माता विनोद शेरचनले । भन्छन्, ‘मैले त प्रकाश थापाको प्रेसरमा यो फिल्मको कथा, गीतलाई ठीकै छ भनिदिएको थिएँ, यस्तरी चल्छ जस्तो लागेकै थिएन ।’

    २०४४ सालताका विनोद पोखरामा सामान्य व्यापार गर्थे । नेपालमा रंगीन चलचित्र बन्ने क्रम शुरु भइसकेको थियो । निर्देशक प्रकाश थापाले बनाएको चलचित्र सन्तानको लोकप्रियता उत्कर्षमा थियो । त्यही देखेर ३०-३१ वर्ष उमेरका विनोदमा नेपाली चलचित्र निर्माणको सोख सवार भयो । उनका नातेदार तथा कलाकार कुलदीप शेरचनले फिल्म बनाउने भए प्रकाश थापासँग भेटाइदिने वाचा गरे ।

    काठमाडौंमा निर्देशक थापासँग विनोदको भेट हुँदा दुई कथा सुनाए । एउटा ‘कन्यादान’ र अर्को थियो ‘अधिकार’ । बम्बईया चलचित्रको प्रभाव परेका विनोदले कन्यादानको कथा मन पराएनन् । किनभने त्यो बाल विवाहविरुद्ध थियो । चलचित्र भनेको हिरो-हिरोइनको रोमान्स, नाचगान र डाङ्डुङ (फाइट) भन्ने मान्यता राख्थे, तर प्रकाश थापाले आधा घण्टा लगाएर बाल विवाहविरुद्धको चलचित्र बनाउनुपर्ने कुरामा उनलाई मनाएरै छाडे ।

    ‘त्यसले चलचित्र व्यवसाय, समाज र भावी पुस्ताका निम्ति राम्रो योगदान हुने भन्नुभयो, म व्यापारीले कुरा बुझे पो’, उनी भन्छन्, ‘त्यत्तिको डाइरेक्टर सा’बले भनिसकेपछि मैले केही भन्नै सकिनँ, ल त हुन्छ नि भनिदिएँ ।’

    त्यसपछिका सम्पूर्ण प्रक्रियामा निर्देशक थापा नै निर्णायक रहे । त्यसको पटकथा, संवाद, कलाकार, संगीत, प्राविधिकसम्मको छनोटका क्रममा निर्देशक थापाले जे-जे भने, शेरचनले त्यही-त्यही मानिरहें ।

    ‘यो फिल्म बनाएर डुब्न त डुबिने भयो (घाटा), कतिमा डुब्ने भन्नेमात्रै कुरा थियो’, शेरचन भन्छन्, ‘तर काम गर्दै जाँदा डुबिँदैन कि भन्ने पनि लागेको थियो ।’

    अहिलेसम्म चल्तीमा रहेको गीत ‘तीजको लहर आयो बरिलै’ उनले शुरुमा हार्मोनियममा सुने, मुम्बईमा । त्यसबेलासम्म उनी हार्मोनियममा गीत सुन्न अभ्यस्त भइसकेका थिएनन् । त्यही रेकर्ड भयो । त्यसपछि सुन्दा गीत उनलाई पनि मनपर्‍यो ।

    शेरचनलाई संगीतकार, गीतकार, गायक, गायिकका विषयमा केही मतलब थिएन । किनभने सबै जिम्मा निर्देशक थापाकै थियो । उनैले मनोहरि सिंहलाई संगीतकारका रुपमा छनोट गरेका थिए । उक्त गीतका गीतकार चेतन कार्की शेरचनकै शहर पोखराका बासिन्दा । नचिनेको हैन, तर बोल्न डराउँथे ।

    ‘उहाँ एकदमै प्रतिष्ठित व्यक्ति भएकाले उहाँसँग सीधै बोल्न अप्ठेरो मान्थ्यौं’, शेरचनले भने, ‘उहाँले लेखेको गीत मेरै फिल्मको हो भन्ने थाहा पाएपछि राम्रो काम गर्न लाग्यौ, स्याबास भन्नुभयो ।’

    संगीतकार मनोहरि सिंह निर्देशक प्रकाश थापा जस्तै नेपालका मूलवासी, तर मुम्बईको चलचित्र नगरीमा हुर्किएका । निर्देशक थापा धनकुटा, मुगाका थिए । सानै उमेरमा मुम्बई गएर चलचित्रसम्बन्धी अध्ययन र काम गरी स्वदेश फर्किएका थिए ।

    संगीतकार सिंह चाहिँ ललितपुर थातथलो भएका व्यक्ति । ‘मट्टारे’, अर्थात् इमाडोल भेगका भुसाल परिवारका सदस्य थिए । उनका बुबा भीमसिंह भुसाल रोजगारीका सिलसिलामा कोलकाता पुगे । यही क्रममा मनोहरि त्यहाँको चिनचुवामा जन्मिए, उतै संगीत सिके । मुम्बईमा भारत वर्षका मूर्धन्य संगीतकार आरडी बर्मनको सहायकका रुपमा काम गर्ने अवसर पाए । उनी सेक्सोफोन वादकका रुपमा प्रख्यात छन् । बाँसुरी, मेन्डोलियन र सहनाई वादनमा पनि उनी निपुण थिए । उनले थुप्रै नेपाली गीतमा संगीत भरे ।

    मनोहरिले नै छानेका थिए, ‘तीजको लहर आयो बरिलै’ का गायिकाद्वय दीपा झा र पूर्णिमा श्रेष्ठ । त्यसबेला दीपालाई ‘गहतराज’ थरले चिनिन्थ्यो, पछि पति उदितनारायणको थर लेख्न थालिन्, ‘झा’ । पूर्णिमालाई त्यसबेला ‘सुषमा’ नामले चिनिन्थ्यो ।

    मनोहरिले संगीतकारका रुपमा कन्यादानभन्दा पहिला काम गरेको चलचित्र सन्तान थियो । त्यसमा ‘हिमाललाई साक्षी राखी आऊ मीठो वाचा गरौं’ सहितका सबै गीत चलेका थिए ।

    मनिषा कोइराला, प्रकाश अधिकारी अभिनित चलचित्र ‘फेरि भेटौंला’मा पनि उनकै संगीत छ । त्यसमा ‘मोहनी मायाको हो कि’, ‘सिरीसिरी बतासैले, नीलो आकाशैले’ सहितका गीत बजारमा निकै चले ।

    नेपाली चलचित्रमा मनोहरिको अर्को उल्लेख्य योगदान हो, पार्श्व संगीत (व्याग्राउण्ड म्युजिक) को शुरुवात गर्नु । उनले चलचित्र जीवनरेखामा पहिलो पटक पार्श्व संगीत शुरु गरे ।

    चलचित्रकर्मी तथा संगीत विश्लेषक प्रकाश सायमी भन्छन्, ‘त्यसअघिका नेपाली चलचित्रमा पाश्र्व संगीत हाल्ने चलन थिएन ।’

    त्यसो त मनोहरिले प्रेमध्वज प्रधानका गीतहरुको संगीत संयोजन (एरेन्जमेन्ट) पनि गरे । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआऊ है’ सहितका गीत उनको संगीत संयोजनमा तयारी भई मुम्बईमा रेकर्ड भएका थिए ।

    अनेक योगदानमध्ये संगीतकारका रुपमा मनोहरिको पहिचानलाई ‘तीजको लहर आयो बरिलै’ ले स्थापित गरेको दाबी सायमीको छ । ‘नेपालमा कुनै नाचगानको गीतले यसरी तीन दशकसम्म एकैनाश बजार पाउनु चानचुने कुरा हैन’, सायमी भन्छन्, ‘यसमा संगीत जत्तिकै बलियो शब्द छ । तीज पर्व के हो भन्ने कुरालाई गीतभित्रै बोलिएको छ । चेतन दाइ जीवनप्रति कुनै कुरामा सन्तुष्ट हुनुहुन्थ्यो भने त्यो यही गीतमा थियो ।’

    गौरीले खाएको थप्पड

    चलचित्र कन्यादानको सम्पूर्ण सुटिङ पोखरामा भएको थियो । त्यसमध्ये ९० प्रतिशत सुटिङ पुम्दीभुम्दी आसपासमै भयो ।

    ‘तीजको लहर आयो बरिलै’ गीतको छायांकन पनि त्यही भयो । ‘अरु गीतका लागि बजार-बगैंचातिर जानुपर्‍यो, त्यो गीत चाहिँ एकै ठाउँमा खिच्यौं’, निर्माता शेरचन भन्छन्, ‘मौसम चाहिँ बेस्सरी गर्मीको थियो, असार-साउनको ।’

    गीतमा गौरी मल्ल र समूहको नाच छ । विनोदलाई लागेको थियो, कलाकारमा पनि हिरोइन चाहिँ अप्ठेरा हुन्छन् । महँगा कुरा माग गर्छन् । गौरी चाहिँ सोचेभन्दा ठीक उल्टो पाए ।

    ‘त्यस्तो गर्मीमा दिनभरि नाच्दा पनि चिसो खाम्, यस्तो चाहियो, उस्तो चाहियो नभन्ने’, शेरचन सम्झिन्छन्, ‘हामीले पंखाको व्यवस्था गरेका थियौं, त्यसले पनि दिउँसो त तातो हावा फाल्थ्यो, गौरीजी आफैं कुनै चिजले मुखमा हम्किएर आनन्द लिनुहुन्थ्यो ।’

    भर्खरभर्खरको चलचित्र जीवन भएका कारण दुःखलाई पनि दुःखका रुपमा नलिएको भन्छिन्, नायिका गौरी मल्ल । त्यही गीतको सुटिङका क्रममा हो, उनले जीवनकै सबैभन्दा बढी दुख्ने थप्पड खाएको ।

    सुटिङका क्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठका मायालु शैलीका गाली र त्योभन्दा बढी सासूको भूमिकामा रहेकी शुभद्रा अधिकारीले हानेको थप्पड कहिल्यै बिर्सिन्नन् । ‘तर ती दिन एकदमै प्रिय थियो, आज पनि सम्झिँदा आनन्द लाग्छ’, उनी भन्छिन्, ‘यस्तो गर्मी थियो, तर गर्मीको महसुस नै हुन पाएन । पोखरा न हो, जति गर्मी भए पनि एकछिनमा पानी परिहाल्थ्यो ।’

    चलचित्रको कथाअनुसार गौरी बाल विवाह भएकी पात्र थिइन् । पोखराबाट स्याङ्जातर्फ जाने बाटोभित्रको गाउँ पुम्दीभुम्दीस्थित ठूलीबिडीमा सुटिङको सेट लगाइएको थियो, जहाँ गौरीका पतिको घर थियो । गीतको सुटिङ पनि त्यही भयो ।

    पतिको निधन भइसकेपछि गौरी एकल (विधवा) भइन् । सेतो सारी लगाई टोलाएर बसेकी थिइन् । तीजको रमझममा टाढाटाढाका दिदीबहिनी भेला भएको दृश्यले उनलाई कल्पनामा डुबाउँछ । यस्तो कल्पना गर्छिन् कि ती दिदीबहिनीमध्ये एक जना आफैं हुन् र उनी गीतमा नाच्छिन्, तर नाच्दानाच्दै टोलाएर बसेकी उनको ध्यान भंग हुन्छ, सासूले हानेको थप्पडबाट ।

    सासूलाई एक जना साथीले उनी टोलाएर बसेको देखाइदिन्छिन् । परम्परागत समाजको रुढी चिन्तनअनुसार विधवा महिलाले मनोरञ्जनका कुनै पनि गतिविधिमा भाग लिनुहुँदैन भन्ने मान्यता राखिन्थ्यो । तीजको रमझममा भाग लिनु त अपराधै ठहर्थ्यो, हेर्नुसम्म पनि ‘पाप’ मानिन्थ्यो । गौरी सेतो वस्त्रमा त्यही ‘पाप कार्य’ मा सरिक भएको भन्दै सासूको भूमिकामा रहेकी शुभद्राले थप्पड हानेर ‘घर जा’ भनेकी थिइन् । संवाद थियो, ‘घरको काम छाडेर कहाँ हिँडेकी ?’

    यो गीत विशुद्ध चलचित्रको कथानकसँग सम्बद्ध थियो । अर्थात्, चलचित्रको कथालाई अगाडि बढाउने दृश्यसहितको । त्यसैले बीचबीचमा संवाद र अन्य दृश्य पनि खिचिएको थियो । यसमा नृत्य निर्देशकको मात्रै काम पर्दैन, मुख्य निर्देशक पनि चाहिन्छ । त्यसैले त्यहाँ प्रकाश थापा पनि थिए । गौरीलाई थप्पड हान्ने दृश्यांकनको रोचक पक्ष थियो, पहिलो थप्पडले उनलाई नदुख्नु । गौरीलाई थप्पडले दुःखेन, त्यसैले उनको अनुहारबाट दुःखेको भाव (एक्सप्रेसन) पनि आएन । त्यसपछि प्रकाश थापा कराउन थाले, ‘कट-कट ।’ अर्थात्, टेक ओके भएन । अनि अर्को निर्देशन दिए, ‘यस्तो पनि थप्पड हुन्छ, मज्जाले हान न ।’

    त्यसपछि शुभद्राले गौरीको गाला सुम्सुम्याइन् र भनिन्, ‘आम्मै नि, यति कलिलो, मायालाग्दो गालामा कसरी थप्पड हान्नु ? नाइँ सक्दिनँ म त !’

    गौरीले भनिन्, ‘हैन दिज्यू, मज्जाले हानिस्यो, अलिअलि दुःखाइ खप्छु ।’

    त्यसपछि शुरु भयो अर्को टेक । प्रकाश थापाले ‘स्टार्ट साउन्ड’ भनेपछि क्रमैसँग क्यामेरा रोलिङ भयो र ‘एक्सन’ भन्नासाथ शुभद्राले यसरी चड्कन हानिन् कि गौरीले एकछिनसम्म आँखा पनि राम्ररी हेर्न सकिनन् ।

    ‘मेरो त गिदी नै थर्थराएर दुःख्यो नि । अहिले पनि त्यो सुटिङ सम्झिँदा गिदी नै हल्लिए जस्तो हुन्छ’, गौरी भन्छिन्, ‘शुभद्रा दिज्यूले मेरै अनुरोधमा बेस्सरी हानिसेको हो, त्यसैले गुनासो गर्नुपर्ने त कुरै छैन ।’

    २०७६ साउन ३२ गते ७२ वर्षको उमेरमा निमोनियाका कारण निधन भएकी शुभद्रालाई सम्झिँदै गौरी भन्छिन्, ‘उहाँ हाम्रो सच्चा अभिभावक नै हुनुहुन्थ्यो ।’

    यो गीत समाविष्ट चलचित्रका निर्देशक प्रकाश थापाको २०६१ जेठ १३ गते निधन भयो । सन् २०१३ मा संगीतकार मनोहरि सिंहको निधन भयो । विश्वव्यापी महामारी कोभिडका कारण २०७८ जेठ २ गते गीतकार चेतन कार्कीको निधन भयो ।

  • ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’मा उत्कृष्ट कभर भिडिओ बनाए सिनेमामा समावेश गर्ने

    ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’मा उत्कृष्ट कभर भिडिओ बनाए सिनेमामा समावेश गर्ने

    काठमाडौं । सिनेमा ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडिओ बनाउनेका लागि निर्माण पक्षले आकर्षक योजना अगाडि सारेको छ । प्राप्त हुने उत्कृष्ट एक भिडिओलाई सिनेमामा समावेश गर्ने निर्माण पक्षले जनाएको छ ।

    ‘बेहुली फ्रम मेघौली’को गीत ’छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षको इमेलमा पठाउनुपर्नेछ । कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्नेछन् ।

    लोकप्रिय हुँदै गएको यो गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य छ । सिनेमाका अन्य कलाकार पनि यो गीतको भिडियोमा देख्न सकिन्छ ।

    सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमा दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

     

  • दुर्गेश थापाको ‘बीच्च बीच्चमा ७’ रिलिज (भिडिओ)

    दुर्गेश थापाको ‘बीच्च बीच्चमा ७’ रिलिज (भिडिओ)

    काठमाडौं । तीजको अवसरमा गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् ।

    जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याएका छन् ।

    मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा फिचर्ड छन् । दुर्गेश र पेमा यसअघि ’झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए । यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।

    ‘बीच्च बीच्चमा’ सिरिज सातौं शृङ्खलासम्म आउँदा दर्शक श्रोता तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेम र स्नेहप्रति कृतज्ञ छु, दुर्गेशले भने, ‘यहाँहरूले देखाउनु भएको मर्गदर्शनलाई शिरोधार्य गर्दै आगामी दिनमा थप उत्कृष्ट र दर्शक अपेक्षित कोशेली ल्याउन प्रतिवद्ध छु ।’

    भिडियोः

    https://www.youtube.com/watch?v=uw7MkT3-f2g

  • चलचित्र बोर्डको अध्यक्ष दौडबाट करिश्मा आउट, को-को भए सिफारिस ?

    चलचित्र बोर्डको अध्यक्ष दौडबाट करिश्मा आउट, को-को भए सिफारिस ?

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार दिनेशराज दाहाल (डिसी), दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको हो ।

    सिफारिस समितिले तीन जनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पेश गरेको र तीन जना मध्ये कुनै एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । सम्भव त बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना बढी रहेको छ ।

    बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । यद्यपी उनले तीनजनाको सर्टलिस्टमा पर्न सकिनन् । आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।

     

  • ‘सतिदेवी’ हेरेर निस्केकी महिला रुँदारुँदै बेहोस भएर ढलेपछि…

    ‘सतिदेवी’ हेरेर निस्केकी महिला रुँदारुँदै बेहोस भएर ढलेपछि…

    काठमाडौं । चलचित्र हेरेर दर्शक हलबाट दर्शक रुँदै निस्केको दृश्य नौलो होइन । तर, रुँदा रुँदा दर्शक बेहोस भएको चाहिँ सायद तपाईँले देख्नु र सुन्नुभएको थिएन होला ।

    दुई दिनअघि काठमाडौंको विश्व ज्योति हलमा यस्तै अपत्यारिलो दृश्य देखियो । चलचित्र ‘सतिदेवी हेरेर रुँदै हलबाट निस्केकी दर्शक बेहोस भएर भुईँमा लडिन् । उनलाई पानी छम्किनु परेको थियो । यो दृश्य क्यामरामा कैद नभएको भए सायद पत्याउनै कठिन हुन्थ्यो ।

    चलचित्रका निर्देशक लक्ष्मण सुवेदी तथा केही कलाकारहरू पनि हल भिजिटका लागि पुगेका थिए । युट्युबका क्यामराहरू पनि थिए । सार्वजनिक भएको भिडिओमा चलचित्र सकिएपछि धेरै दर्शकहरू सुँक्क सुँक्क गरिरहेको देखिन्छ । एक महिला भने पुरै भावविह्वल बन्छिन् । ठूलो शोकमा परेको भावमा हलबाट बलिन्द्रधारा आँशु खसाल्दै बाहिरिन्छन् ।

    हलबाहिर चलचित्रका कलाकारहरू देख्छिन् । उनीहरूमध्ये बाल कलाकार हर्षिका वलीतर्फ उनको नजर पुग्छ । हर्षिकालाई गहिरो अनुहारमा बेर्छिन् र धरधरी रुन्छिन् । हर्षिका मुस्काइरहेकी हुन्छिन् । अरू कलाकारहरूको अनुहारमा पनि मुस्कान छाउँछ ।

    दर्शक रुँदा चलचित्रका मेकर्स र कलाकार मुस्कुराउनु स्वभाविक हो । आफ्नो चलचित्रले दर्शकलाई भित्रैदेखि छोएको ठानेर उनीहरू आल्हादित बन्ने नै भए । तर, जब ती महिला रुँदारुँदै भक्लक्कै भुईँमा पछारिन्छन्, सबै आत्तिन्छन् । सबैले वरिपरिबाट घेर्छन् । बोतलबाट पानी छम्केर उनलाई होसमा ल्याइन्छ ।

    महिला बेहोस बनेपछि आफूहरू किंकर्तव्यविमुढ बनेको निर्देशक सुबेदीले बताए ।

    ‘सुरुमा त दर्शक रोएको देखेर आनन्द लागिरहेको थियो । तर, अचानक उहाँ ढल्नुभएपछि सबै जना आत्तियौँ । के गर्ने कसो गर्ने भयो,’ उनले भने ।

    होस खुलेपछि ती महिलाले आफूलाई चलचित्रको कथाले विक्षिप्त बनाएको बताएकी थिइन् ।

    उनले भनिन्, ‘मलाई पुरै चलचित्र हेर्न सक्दिनजस्तो लागेको थियो । जसोतसो हेरेँ । हलबाट निस्किँदा नै भक्कानो फुटिरहेको थिएँ । रुँदारुँदै ढल्न पुगेछु ।’

    उनले आफ्नो ब्लड प्रेसर लो भएको पनि बताइन् । ती महिलाको परिचय भने खुलेको छैन ।

    टिकट काटेर मनोरञ्जनका लागि आएका दर्शकलाई रुवाउँदै हलबाट निकाल्नु ‘न्याय’ हो वा होइन भन्ने प्रश्न आफ्नो ठाउँमा छ । सर्जकको कोणबाट हेर्दा चाहिँ यो अवश्य सफलता हो । काल्पनिक कथाले मान्छेको आँखामा आँशु ल्याउन चलचित्रमा राम्रै दमखम हुनुपर्छ ।

    चलचित्र ‘सतिदेवी’ दुरदराजमा एक ‘छोरी’ ले भोग्नुपरेको पिडा र चित्कारमा उनिएको छ । चलचित्रले दर्शकको अन्तस्करणलाई हल्लाउने दाबी निर्माण पक्षको छ ।

  • ‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

    ‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

    काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टरस् टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो ।

    पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरि घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ ।

    कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमि हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमिको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन ।

    कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

    राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

    अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

    फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

    मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् ।

    यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

    यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

  • मिस युनिभर्स शेनिस काठमाडौंमा

    मिस युनिभर्स शेनिस काठमाडौंमा

    काठमाडौं । मिस युनिभर्स २०२३ शेनिस पलासियोस नेपाल आएकी छन् ।

    उनी बिहीबार काठमाडौं आएकी हुन् । होटल हायातमा आयोजित ‘मिस युनिभर्स फाइनल’ मा अतिथिको रूपमा सहभागी हुन शेनिस आएकी हुन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • ‘वर एण्ड वधु’ प्रिमियरः आँखा शित्तल बनाएको प्रतिक्रिया

    ‘वर एण्ड वधु’ प्रिमियरः आँखा शित्तल बनाएको प्रतिक्रिया

    काठमाडौं । भोली शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको छ । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो ।

    एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।

    फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे । यस्तै, वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटोको तारिफ गरे ।

    फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । उनले, आँखा शित्तल हुने फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

    निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए ।

    नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

    फिल्म हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको कामको पनि खुलेरै तारिफ गरे । विवेक नयाँ नायक जस्तो नलागेको अधिकांशको भनाई थियो ।

    भोलिबाट रिलिजमा आउन लागेको फिल्मले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यसैले, देशभरका दर्शकले यो फिल्मलाई रुचाउने विश्वास गरिएको छ ।

  • ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

    ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

    काठमाडौं । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सर्वाजनिक गरिएको हो ।

    संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको सिनेमाको सार्वजनिक गीतमा सिनेमाका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

    पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

    राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

    सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।

  • ‘तेल भिसा’को लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक

    ‘तेल भिसा’को लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक

    काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो ।

    कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । सिनेमाका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा सिनेमाका चल अचल दृश्यहरू समावेश गरिएका छन् । सिनेमाका मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गीय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।

    सिनेमामा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । सिनेमामा विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘वीरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

    वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

  • नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भव्य साथ

    नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भव्य साथ

    डालास (टेक्सास) । ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’को साइटमा यस्तो सन्देश देखे । उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए ।

    ‘अदभुत !’, आश्चर्य मान्दै ईशु पोखरेल भन्दै थिइन्, ‘अमेरिकाको एउटै स्थानमा एकै छतमुनि एकसाथ यति धेरै नेपाली देखेकै आजसम्मकै मेरो पहिलो अनुभव हो ।’

    युनिभर्सिटी अफ टेक्सासकी विद्यार्थी ईशु ६ वर्षको उमेरमा आफ्ना अभिभावकसाथ अमेरिका आएकी हुन्, जो शनिबार आमाका साथ कन्सर्ट हेर्न पुगेकी थिइन् ।

    ‘आमामात्र होइन, मामाघरका हजुरआमालाई समेत मन पर्ने ब्यान्ड हो नेपथ्य’, उनले भनिन्, ‘नेपाली कार्यक्रमहरूमध्ये आजसम्मकै सबैभन्दा उत्कृष्ट अनुभव मेरो यही बन्न पुग्यो ।’

    निर्धारित समयमै मञ्चमा बज्न थालेको नेपथ्यका लोक-रक भाकाहरू लगातार दुई घन्टासम्म निरन्तर रहेको थियो । गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे ।

    ‘कोशीको पानी यो जिन्दगानी’, ‘शीरफूल शीरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो । नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो ।

    ‘मानिसहरू हरेक कुरामा पुस्तापिच्छे आउने अन्तर (जेनरेसन ग्याप)को कुरा गर्छन्’, ईशुले थपिन्, ‘तर राम्रा कुराहरू कुनै कालखण्डमा नबाँधिएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुने गर्छ भन्ने कुराको प्रमाण यो कन्सर्ट बन्न पुगेको छ ।’

    कन्सर्ट हेर्नकै निम्ति पाँच घन्टा लामो मोटर यात्रा गरेर सान एन्टोनियोदेखि आएका रोशनलाल श्रेष्ठले आफ्नो अनुभव यसरी पोखे, ‘संगीत, हलभित्रको माहोल प्रभावकारी बनाउन दृश्यहरूको प्रस्तुति, प्रत्येक क्षणको सदुपयोग, नेपथ्यका सदाबहार गीतहरूदेखि लिएर गायकले दिने मर्मस्पर्शी सन्देशसम्म सबै थोकको गजब समायोजन अनुभव गर्न पाइयो । मेरा निम्ति सिंगो प्रस्तुति एउटा अविस्मरणीय भव्य अनुभव बन्यो ।’

    कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डीसीदेखि आएका सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए । नेपथ्यको कन्सर्ट हेर्न गरिने खर्चको एकएक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्यान्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने सुनाए ।

    ‘कति चुस्त अनि कस्तो गजबको प्रस्तुति’, हलका प्रोडक्सन म्यानेजर जिम्मी निकोलाइडिसले प्रतिक्रिया दिए, ‘दर्शकहरूको उत्साह यति प्रभावकारी थियो कि यो आयोजनाकै एउटा पाटो बन्न पाएकामा मलाई गौरव महसुस भएको छ । नेपाली कलाकारको प्रस्तुति यति भव्य र दर्शक यति सभ्य होलान् भनेर मैले अनुमान गरेको थिइनँ ।’

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    डालासको कन्सर्टमा स्थानीय आयोजकहरूले गरेको लामो समयदेखिको तयारी पनि उत्तिकै प्रभावकारी रूपमा झल्किन्थ्यो । ‘हामीले गरेको मेहनतको चिताएभन्दा राम्रो परिणाम प्राप्त भएको छ’, डालासका आयोजक अनि यो वर्ष ब्यान्डको सिंगो अमेरिका यात्राकै संयोजक विपीन थकालीको प्रतिक्रिया थियो, ‘यति भव्य कन्सर्टमार्फत दर्शक र नेपथ्यको बीचमा साँघु बन्न पाउँदा हामी स्वयंले पनि गर्व महसुस गर्न थालेका छौं ।’

    आयोजक टोलीकै निश्चल बज्राचार्यले विपीनको कुरामा सहमति जनाउँदै थपे, ‘यो कार्यक्रमले नेपाली कार्यक्रम आयोजनाका लागि नयाँ मापदण्ड खडा गरिदिएको छ ।’

    नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौं प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ । यसअघि पनि पटकपटक आफूलाई यस शहरमा भव्यतासाथ उभ्याइसकेको नेपथ्यले यसपाला म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा कन्सर्ट प्रस्तुत गर्नेछ । त्यहाँ ८ वर्षको अन्तरालपछि अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुनेछ । पहिलो पटक प्रस्तुत हुन लागेको यो हलमा तीन हजार दर्शक अटाउने क्षमता छ ।

    न्यूयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिनेछ ।
    अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

    तस्विरहरु : दिपितराज, नेपा-लय

  • विष्णु माझीबारे संगीतकार आशिष अविरल- उहाँ ‘प्राइभेसी’ चाहनुहुन्छ भने अरुलाई किन टाउको दुखाइ ?

    विष्णु माझीबारे संगीतकार आशिष अविरल- उहाँ ‘प्राइभेसी’ चाहनुहुन्छ भने अरुलाई किन टाउको दुखाइ ?

    काठमाडौं । अहिले तिजको माहौल छ । यो माहौलमा गायिका विष्णु माझीको गीत नआउने कुरै भएन । यसपटक पनि माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीतलाई २० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

    एकदमै पातलो गीत गाउने माझीको एकदमै चलेको गीत भने ‘चरी जेलैमा’ हो । अत्यधिक रुचाइएको यो गीत सार्वजनिक भएपछि माझीको निजी जिन्दगीलाई लिएर पनि निकै गसिपहरू बने । गीतको भाव र माझीको जिन्दगी उस्तै रहेको भनेर पनि हल्ला चलाइयो । यसपछि भने माझीका नीजि जिन्दगी पनि सधैं चर्चामा रहने गरेको छ । उनी के खान्छिन्, कहाँ बस्छिन्, कता जान्छिन् भनेर दर्शक/स्रोतामा निकै चासो देखिन्छ । तर, माझी भने अहिलेसम्म प्राइभेसी मेन्टेन गर्न सक्षम छिन् ।

    गायिका माझीसँग पछिल्लो समय एरेन्जरको रूपमा काम गरिरहेका गायक/संगीतकार आशिष अविरल भने हल्लाहरू व्यर्थ रहेको बताउँछन् । कुनै घटना/परिघटनाले माझीलाई सार्वजनिक हुन मन नलागेको हुनसक्ने बताउँदै अविरल भन्छन्, ‘कसैले आफू सार्वजनिक हुन नचाहेको खण्डमा यस्तोउस्तो भनेर लेख्न र टाउको दुखाउन जरुरी छैन ।’

    अविरलले ‘उखु पोले खुदो, निम्बु पोले चुक’, ‘छिपछिपे पानीमा लेऊ’, ‘तिम्रो जति माया त लालुमै’, ‘सालको पात टपरी’ ‘डाहै मेरो बलमा’ लगायत गीतमा माझीसँग सहकार्य गरेका छन् । माझी र अविरलको पछिल्लो सहकार्य भने ‘आइनँ आमा यो तीजमा’ हो । माझीसँग आधा दर्जन बढी गीतमा सहकार्य गरेका अविरल उनका श्रीमान् सुन्दरमणि अधिकारीको डेढ दशकदेखिको साथी हुन् । उनीहरुबीच तँ तँ म म नै चल्छ ।

    माझीको गीत एरेन्ज गर्दा पारिश्रमिक लेनदेन सुन्दरमणिसँगै हुने गर्छ । नजिकको साथी भएकाले आफूले यति नै पैसा दिनुपर्छ भनेर नमाग्ने अविरलले बताए ।

    माझीले मध्यराति स्टुडियोमा पर्दा लगाएर गीत गाउँछिन् भन्ने हल्लालाई उनले अस्वीकार गरे । यद्यपि माझीले प्राइभेसी भने खोज्ने उनको टिप्पणी छ ।

    ‘उहाँ सकेसम्म गीत गाउँदा स्टुडियोमा कोही नहोस् भन्ने चाहनुहुन्छ,’ अविरलले भने ।

    कतिपय अवस्थामा विष्णुका श्रीमान सुन्दरमणिले स्टुडियोमा आउनुअघि अविरललाई फोन गरेर सोध्छन्, ‘स्टुडियोमा कत्तिको भिडभाड छ ? छ भने अर्को दिन वा केही समयपछि आउँछौं । कोही छैनन् भने अहिले नै आउँछौं ।’

    अहिले सार्वजनिक भएको तीज रेकर्डिङको क्रममा अविरलले माझीलाई कतिपय ठाउँमा दोहोर्याएर गाउन लगाए । अविरलका अनुसार माझीले कहिलेकाहीँ चाँडै गीत गाइसक्छिन् भने कहिले अलि समय पनि लगाउँछिन् ।

    ‘उहाँलाई गीत गाउनुअघि सुन्नलाई कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ,’ अविरल थप्छन्, ‘गीत रेकर्डिङ गर्न एक घण्टादेखि तीन घण्टासम्म लाग्छ । यसपटकको तीज गीत उहाँले तीनदेखि चार घण्टा जति समय लगाउनुभएको थियो ।’

    माझी गीत रेकर्डिङको क्रममा दोहोर्‍याउन/तेहेर्‍याउन कुनै आनाकानी गर्दिनन् । जतिपटक गाउन अनुरोध गरे पनि सजिलै गाउने अविरलको अनुभव छ ।

    व्यक्तिगत गोपनियताको कुरामा भने माझी अलि संवेदनशील छिन् । केही वर्षअघिसम्म स्टुडियोमा निकै नै भिडभाड हुने भएकाले सिसामा पर्दा लगाएर गीत रेकर्ड गर्ने गर्थिन् । तर, अहिले भने कोरस र भोकलका लागि छुट्टाछुट्टै स्टुडियो भएकाले प्राइभेसीमा समस्या नभएको अविरल बताउँछन् ।

    ‘उहाँ सम्बन्धित गीतको विषयमा बाहेक खासै बोल्नुहुन्न । श्रीमान् आफैं संगीतकार तथा गायक भएकाले सँगै लिएर आउनुहुन्छ,’ अविरल भन्छन्, ‘हाम्रो सञ्चो विसञ्चो सोधासोध मात्रै हुन्छ । यसपटक पनि गीतको विषयमा मात्रै बोलचाल भयो ।’

    अविरल एरेन्जर मात्रै नभएर संगीतकार र आफैं गायक पनि हुन् । उनले ‘परान परान संसार यस्तै रैछ परान’, ‘काले केटाले’, ‘अरुकै सम्पत्ति हौ के रे हुन त’, महाजात्रा चलचित्रको ‘हाम्रो जोडी आहा क्या राम्रो भने साराले’ लगायतका गीत गाइसकेका छन् ।