Category: कलाप्रेस

  • सौगात मल्लपछि ‘कल्ली’मा अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित

    सौगात मल्लपछि ‘कल्ली’मा अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित

    काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’मा कलाकारद्वय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । चलचित्रमा तीन कलाकारको भूमिका कस्तो हुनछे भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

    निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ भने चलचित्रको निर्माण प्रमुख सुरज आचार्य हुन् ।

    चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिएका छन् भने तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।

  • यी ३ जनाले पाउँदैछन् भैरव अर्याल स्मृतिका ३ पुरस्कार

    यी ३ जनाले पाउँदैछन् भैरव अर्याल स्मृतिका ३ पुरस्कार

    काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम सार्वजनिक गरिएको छ ।

    भैरव पुरस्कार गुठीद्वारा सार्वजनिक गरिएको नामअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रूपैयाँ रहेको छ ।

    १ लाख १ हजार १ सय ११ रूपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।

    पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सम्मिलित समिति बनाएको थियो । भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिबार गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

  • दुर्गेश थापाको शब्द र संगीतमा चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेर्कड

    दुर्गेश थापाको शब्द र संगीतमा चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेर्कड

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ ।

    गीतमा दुर्गेश थापाको गीत, संगीत र एरेन्ज छ भने विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भइसकेकी छन् ।

    ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।

    यसअघि निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरिसकेकोे छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

    सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । छायाकारमा भने सौरभ लामा अनुबन्धित भइसकेका छन् ।

  • स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

    स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

    काठमाडाैं। असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारेमा प्रकाश पारेको छ ।

    छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ । यसले नेपाली समाजको विवाह पद्दति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ ।

    भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ ।

    चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

     

  • कमेडियन सन्दीप क्षेत्रीले ल्याए ‘फ्लप टक’

    कमेडियन सन्दीप क्षेत्रीले ल्याए ‘फ्लप टक’

    काठमाडौं। चर्चित कमेडियन सन्दीप क्षेत्रीले नयाँ कमेडी सो ‘फ्लप टक’ ल्याएका छन्। उनले आफ्नो नामको युट्युब च्यानल सन्दीप क्षेत्रीमा फ्लप टकको पहिलो एपिसोड बिहीबार राखेका छन्।

    कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै आएको ह्वाट द फ्लप बन्द भएपछि उनले त्यस्तै सामग्री समेटिने कार्यक्रम ल्याएका हुन्।

    पहिलो एपिसोडमा सहकारी ठगीमाथि व्यङ्ग्य गरिएको छ। फ्लप टकमा अर्का कमेडियन दीपेन्द्र प्रसाईँलाई पनि देख्न सकिन्छ। प्रसाईँ र सन्दीपले ह्वाट द फ्लपमा पनि सँगै काम गरेका थिए।

  • यशकुमारको ‘तिमी छौ र त’ को दोस्रो भाग ‘आँखा बन्द गरेर’ सार्वजनिक

    यशकुमारको ‘तिमी छौ र त’ को दोस्रो भाग ‘आँखा बन्द गरेर’ सार्वजनिक

    काठमाडौं । गायक एवम सर्जक यशकुमारको ‘तिमी छौ र त’ को दोस्रो भाग नयाँ गीत ‘आँखा बन्द गरेर’ सार्वजनिक भएको छ । उनकै संगीत र गायन रहेको करिव १५ मिनेटको म्यूजिक भिडियोमा प्रेम, र मिलनपछिको बिछोडको कथा समेटिएको छ ।

    निर्मल मगरको शब्द रहेको म्यूजिक भिडियोमा निकेश खड्काले भिडियोमार्फत संगीत र कथा प्रस्तुती एकदमै हेर्न लायक छ । यस अघि युट्युवमा ५३ लाख पटक हेरिएको ‘तिमी छौ र त’ गीतको दोस्रो भागको रुपमा यशकुमारले नयाँ गीत सार्वजनिक गरेका हुन् ।

    उनले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्युजिक भिडियो सार्वजनिक गरका छन् । भिडियोमा यशकुमार सहित अनु थापा, प्रेम सुब्बा र राजेश घतानीको अभिनय रहेको छ ।

    आफ्ना गीतमा सामाजिक मुद्दा उठाउने यशकुमारले पछिल्लो समय प्रेम सम्बन्धका कथा बुनेर गित तथा म्यूजिक भिडियो सार्वजनिक गरिरहेका छन् । यस अघिको ‘तिमी छौ र त’ म्यूजिक भिडियो एकदमै रुचाइएपछि यस पटकको म्यूजिक भिडियोमा पनि उनकै अभियन राखिएको छ ।

    यशकुमारले एक दिन अघि आफ्नो युट्युव च्यानलबाटै सार्वजनिक गरेको म्यूजिक भिडियो २४ घण्टा नबित्दै २५ लाख पटक हेरिसकिएको छ । य

    शकुमारका पछिल्ला गित तथा म्यूजिक भिडियोमा ‘तिमी छौ र त’ एकदमै रुचाइएको म्यूजिक भिडियो हो । अहिलेको गित तथा म्यूजिक भिडियोलाई पनि दर्शक तथा स्रोताले एकदमै मन पराउने गायक यसकुमारको अपेक्षा छ ।

  • राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

    राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

    काठमाडाैं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

    राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

    यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३० औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।

    मिस नेपालपछि दिएका विभिन्न अन्तरवार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । तर, सायद सोचेको भन्दा धेरै चाँडो उनी एउटा राष्ट्रिय पार्टीको केन्द्रीय सदस्य बन्न सफल भइन् । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन् । आज उनी प्रमाणपत्र बुझ्न पार्टी कार्यालय जाने कार्यक्रम छ ।

     

  • ‘खुस्मा’को प्रिमियर सम्पन्न

    ‘खुस्मा’को प्रिमियर सम्पन्न

    काठमाडौं । असोज ३ अर्थात् भोलि बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को प्रिमियर सम्पन्न भएको छ । मङ्गलवार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो ।

    प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । निर्देशक निश्चल बस्नेत, रेनेशा राई, घनश्याम लामिछानेलगायत कलाकारको उपस्थिति रहेको थियो ।

    प्रिमियरमा सिनेमा हेरेपछि अधिकांशले सिनेमाले दर्शकलाई होल्ड गर्ने बताए । तत्कालीन माओवादी र सरकारबीच द्वन्द्वले आम नागरिक कसरी प्रभावित हुन पुगे र निर्दोष नागरिक त्यसको शिकार भए भन्ने सिनेमाले सरल तरिकाले देखाएको सिनेमाकर्मीले प्रतिक्रिया दिएका छन् ।

    धिरज मगर र उपासना सिंह ठकुरीको कामको खुलेर प्रशंसा भएको छ । सिनेमाले सरकार(माओवादी द्वन्द्वले आम नागरिकसँगै मायालु जोडीलाई पारेको प्रभाव देखाएको छ ।

    द्वन्द्वको नाममा कसरी निर्दोष व्यक्ति पीडित भए र त्यसबीच उमेर पाकेका व्यक्तिदेखि नवविवाहित जोडी र केटाकेटी कसरी गुज्रिनु परेको थियो भन्ने सिनेमाले देखाएको छ ।

    दुई दशक अगाडिको नेपाली समाज बुझ्ने सिनेमा हो खुस्मा । दुई दशक पहिलाको द्वन्द्वको घाउ अझै पनि खाटा नबसिसकेको भन्दै सरकारलाई खोइ जिम्मेवार बनेको भन्ने प्रश्न पनि सिनेमाले गरेको छ ।

    सिनेमा भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।

    डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

    सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ ।

    सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शीर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

    सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

    एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

  • अन्तर्राष्ट्रिय अवार्ड जितेको डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’ नेपालमा प्रिमियर हुँदै

    अन्तर्राष्ट्रिय अवार्ड जितेको डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’ नेपालमा प्रिमियर हुँदै

    काठ्माडौं । प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’ को नेपालमा प्रिमियर हुने भएको छ । आगामी ६ अक्टोबर अर्थात असोज २० गते काठमाडौंको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शनी हुँदैछ ।

    वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो । टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ जहाँ उनीहरुको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको छ ।

    एक घण्टा नौ मिनेट लामो डकुमेन्ट्री वास्तविक कथाहरूबाट प्रेरित छ। जसमा राधा, माया, सुन्दरी, र सुकुनको जीवनका अद्भुत यात्रालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा प्रदर्शनको लागि टिकट विक्रीमा खुला गरिएको छ ।

    डकुमेन्ट्री हेर्न दर्शकले ७५० पैसाको टिकट काट्नुपर्नेछ। नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर सिड्नी अस्ट्रेलियाको प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ तारिखमा हुनेछ। त्यसैगरि, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको लाएमल्ले थिएटर्समा २०२५ जनवरी १० मा प्रदर्शनी हुनेछ ।

    यस डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीसहित अवार्डहरु जितिसकेको छ। यो डकुमेन्ट्री इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म अवार्ड्समा गोल्ड विजेता र इटालीको रियाले फिल्म फेस्टिवलमा अवार्डको विजेता हो।

    त्यसैगरि, लिभरपुल बेलायतको इन्डी अवार्ड्समा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवार्ड्समा फाइनलिस्ट भएको यो डकुमेन्ट्री डेनमार्कको इन्टरनेशनल विमेन्स फिल्म फेस्टिवल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिवल, टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिवल र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवार्ड्समा अफिसियल छनोट भएको थियो।

  • ‘कल्ली’ मा सौगात मल्लको इन्ट्री, किन निकालिए पल शाह ?

    ‘कल्ली’ मा सौगात मल्लको इन्ट्री, किन निकालिए पल शाह ?

    काठमाडौं । के अभिनेता पल शाहको ओरालो यात्रा सुरु भएको हो ? ‘रावयण’ फ्लप हुँदा निराशामा रहेका पललाई अर्को नमिठो झट्का लागेको छ । अनुवन्धित भइसकेको नयाँ चलचित्र ‘कल्ली’ बाट उनी निकालिएका छन् ।

    लक्ष्मण सुनारले निर्देशन गर्न लागेको ‘कल्ली’ मा पलले मुख्य भूमिका निभाउनेवाला थिए । पललाई फिचर्ड गर्दै चलचित्रको पोस्टरसमेत सार्वजनिक भइसकेको थियो । तर, अहिले उनलाई हटाएर अभिनेता सौगात मल्ललाई लिइएको छ । यद्यपि, आधिकारिकरुपमा निर्माण पक्षले केही पनि बताएको छैन ।

    चलचित्रमा पल शाह अनुबन्धित भएको जानकारी दिँदै ‘कल्ली’ को फेसबुक पेजमा साउन १५ गते चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो । सो पेजमा पल चलचित्रमा आवद्ध भएको समाचार पनि सेयर गरिएको थियो । तर अहिले चलचित्रको उक्त पेजबाट पल शाहलाई फिचर्ड गरिएको पोस्टर नै हटाइएको छ । पहिले शेयर गरिएका समाचारहरु पनि गायब छन् ।

    पलले ‘कल्ली’ गुमाउनुको मुख्य कारण ‘रावायण’ को असफलता नै हुन सक्ने धेरैले अनुमान गरेका छन् । यो चलचित्र व्यापारिकरुपमा असफल हुनुका साथै पल शाह आफ्नो दारी रुपलाई लिएर व्यापक रुपमा ट्रोल भइरहेका छन् । चलचित्र रिलिजको संघारमा पूजा र सिमिक्षा अधिकारीबीचको विवाद पनि सतहमा आएको थियो, जसमा पल स्वतः मुछिन पुगे ।

    चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुनार भने पल ‘कल्ली’ बाट बाहिरिनुमा ‘रावायण’ को हात नभएको दाबी गर्छन् ।

    उनले भने, ‘एउटा चलचित्रका कारण कुनै पनि कलाकार अर्को चलचित्रबाट बाहिरनु पर्ने स्थिति कमै आउँछ । यसमा रावायणको केही भूमिका छैन । हाम्रो आफ्नै बाध्यताका कारण उहाँलाई रिप्लेस गर्नुपरेको हो । यसमा न उहाँको कुनै गल्ति छ न हाम्रो नै ।’

    सुनारले थपे, ‘हामीलाई उहाँका अन्य विषयवस्तुसँग केही समस्या थिएन । त्यही भएर सुरुबाटै पलजी भएको पोष्टर र समाचार सेयर गर्दै आएका थियौं । म त झन्ँ उहाँको शुभचिन्तक हुँ । तर कहिलेकाहीँ समय र परिस्थितिले सोचेजस्तो नहुँदो रहेछ । समाजमा बसेपछि समाजसँगै ढल्नुपर्ने रहेछ’, उनले थपे, ‘आफ्नो इच्छाले मात्र नहुँदो रहेछ । मैले कि उहाँलाई लिँदा अरुलाई छाड्नु पर्ने भयो । अब उहाँलाई मात्र लिएर त मैले चलचित्र बनाउन सक्दिनँ । चलचित्र नै ड्रप गर्नुपर्ने अवस्था सिर्जना भएपछि हामीले यो कदम चालेका हौँ ।’

    चलचित्रबाट हटाइएको विषयमा निर्माण पक्षले पलसँग प्रत्यक्ष कुराकानी गरेको रहेनछ । सुनारले आफूहरुले बताउनुभन्दा अगाडि नै समाचार आएको गुनासो गरे ।

    ‘खासमा हामी उहाँसँगै बसेर कुरा छिनोफानो गर्नेसोचमा थियौं । तर त्योभन्दा अघि नै समाचार आइदियो । समाचार आएपछि हाम्रो उहाँसँग प्रत्यक्ष कुराकानी भएको छैन । तर यसबारे हामीले उहाँको सम्बन्धित मान्छेलाई भने जानकारी गराएका थियौं । सायद उहाँले थाहा पाइसक्नु भएको थियो होला’, सुनारले जोडे ।

    पल रिसाउलान् कि भन्ने चिन्ताले गर्दा सिधै भन्न नसकेको उनी बताउँछन् ।

    ‘सायद उहाँ पनि रिसाउनु भयो होला । मलाई यस्तो कुरा गर्न अफ्ठ्यारो लाग्छ, त्यही भएर कारणसहित उहाँको मान्छेलाई खवर पुर्याइदिन भनेको थिएँ । सायद भन्दिनु भयो होला । कारण सुनेपछि उहाँले नै म चलचित्र गर्दिन भन्नुहुन्छ कि भन्ने प्रतिक्षमा पनि थिएँ । तर के गर्ने प्रोजेक्ट हो अगाडी बढाउनै पर्यो । म केही बाध्यतामा परेँ, त्यत्ति हो,’ उनले सुनाए ।

    निर्माण टिमले पललाई चलचित्रमा अनुबन्ध गराउने समय ‘साइनिङ अमाउन्ट’ रुपरुप एड्भान्स पनि दिइसकेको थियो । उक्त रकम आफुहरुले फिर्ता नलिने सुनारको भनाइ छ ।

    उनी भन्छन्, ‘हामीले साइन गर्दा केही रकम एडभान्स दिएका थियांै । त्यो हामी फिर्ता लिदैनौं । हाम्रो सम्झौता पनि त्यही हिसावको थियो । अर्को हाम्रो नैतिकताले पनि दिँदैन । यस्तो परिस्थिति आउँछ भन्ने सोचेका पनि थिएनौं ।’

    सुनारले बताउन नचाहे पनि यो चलचित्रमा पललाई खेलाउने विषयमा टिमका धेरै जनाबाट सुरुबाटै ‘अब्जेक्सन’ रहेको बुझिएको छ । पलको छवि र कन्ट्रोभर्सीलाई देखाउँदै उनीहरुले पललाई खेलाएमा आफूले छोड्ने चेतावनीसमेत दिएका थिए ।

    रेड बर्ड र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखकसमेत सुनार आफैं हुन् । चलचित्रलाई किरण नेपालीले निर्माण गर्दैछन् । चलचित्रको छायाङ्कन यहीँ तिहारपछि हुने जनाइएको छ भने प्रदर्शन मिति चैत अन्तिमलाई तोकिएको छ ।

  • ६ वर्षपछि पुनः प्रदर्शित ‘तुम्बाड’ आफ्नै रेकर्ड तोड्दै, तीन दिनमा ७ करोडमाथि कमाइ

    ६ वर्षपछि पुनः प्रदर्शित ‘तुम्बाड’ आफ्नै रेकर्ड तोड्दै, तीन दिनमा ७ करोडमाथि कमाइ

    काठमाडौं । ६ वर्षपछि पुनः प्रदर्शन गरिएको फिल्म ‘तुम्बाड’ले तीन दिनमा सवा सात करोड भारु कमाइ गरेको छ । बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने स्याकनिल्कका अनुसार पहिलो दिन एक करोड ६० लाख भारुको ओपनिङ गरेको यस फिल्मले दोस्रो दिन दुई करोड ६० लाखको व्यापार गरेको थियो । तेस्रो दिन तीन करोडको व्यापार गरेको छ ।

    सन् २०१८ मा प्रदर्शन भएको ‘तुम्बाड’ले त्यसवेला पहिलो दिन ५० लाख भारुको मात्रै कमाइ गरेको थियो । त्यसवेला यस फिल्मले सवा १२ करोड नेट कलेक्सन गरेको थियो । जबकि फिल्मको बजेट १५ करोड थियो । यसपटक पुनः प्रदर्शन हुँदा बक्स अफिसमा राम्रो गर्नुमा वर्ड अफ माउथ राम्रो भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    राही अनिल बार्भे निर्देशित यस फिल्ममा सोहम शाह, ज्योति मल्से, धुन्दिराज प्रभाकरलगायत कलाकारको अभिनय छ । पुनः प्रदर्शन राम्रो भएपछि यस फिल्मको सिक्वेलको पनि घोषणा गरिएको छ ।

  • अवार्ड कार्यक्रममै अनमोलले पिता भुवन केसीको खुट्टा ढोगे, ‘संस्कारी’ भन्दै सामाजिक सञ्जालमा तारिफ

    अवार्ड कार्यक्रममै अनमोलले पिता भुवन केसीको खुट्टा ढोगे, ‘संस्कारी’ भन्दै सामाजिक सञ्जालमा तारिफ

    काठमाडौं । नायक अनमोल केसीलाई फ्यानहरुले मन पराउने र माया गर्ने एउटा कारण हो, उनको शीलस्वभाव । धेरैले उनलाई विनम्र, संस्कारी र शालिन भनेर तारिफ गर्ने गर्छन् ।

    अहिले अनमोलको एउटा भिडिओ खुब भाइरल भइरहेको छ टिकटकमा । एउटा अवार्ड कार्यक्रममा उनले पिता भुवन केसीको खुट्टा ढोगेका थिए । यो भिडिओ शेयर गर्दै धेरैले अनमोललाई ‘संस्कारी हिरो’ देखि ‘ज्ञानी छोरा’ सम्मको ट्याग दिइरहेका छन् ।

    गत शनिबार साँझ लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको थियो । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच अवार्ड वितरण गरियो । नेपालमा हुने अवार्ड समरोहमा विरलै देखिने अनमोल यो कार्यक्रममा भने पितासहित पुगेका थिए । उनले आफ्नो पछिल्लो हिट चलचित्र ‘फर्की-फर्की’ बाट सर्वोत्कृष्ट नायकको अवार्ड जिते ।

    सर्वोत्कृष्ट चलचित्रको अवार्ड भने जारीले हात पारेको थियो । सोही चलचित्रबाट निर्देशक उपेन्द्र सुब्बा सर्वोत्कृष्ट निर्देशक घोषित भए ।

    भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्‍याएवापत लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । भुवनलाई आयोजकले सम्मान गरेपश्चात अनमोलले पनि बुवालाई खादा लगाए । त्यसपछि उनले भुवनको खुट्टामा ढोगेका थिए । भुवनले उठाएर अंकमाल गरे ।

    बाबुछोराबीचको यो दृश्यले कार्यक्रमस्थलमा ताली गुञ्जिएको थियो ।

  • अनमोल केसी ‘हाम्फालेर’ जोगिए, ‘रावायण’ डुब्दा पल शाह घायल !

    अनमोल केसी ‘हाम्फालेर’ जोगिए, ‘रावायण’ डुब्दा पल शाह घायल !

    काठमाडौं । पल शाह र पुजा शर्मा अभिनित चलचित्र ‘रावायण’ फ्लप भएको छ । पहिलो सातामै कमजोर व्यापार गरेपछि चलचित्रले लगानी उठाउन नसक्ने निश्चित देखिएको हो ।

    अघिल्लो शुक्रबार रिलिज भएको चलचित्रलाई दोस्रो सातामा उक्लिन नै धौधौ पर्यो । अहिले पनि केही हलहरुमा रावायण चलिरहेको छ, तर दर्शक आउन छोडेका छन् । हलमा दर्शक नभएर शो रद्द गर्नुपरेका खबरसमेत सार्वजनिक भएका छन् । उच्च लगानी भएको फिल्मका लागि यो निराशजनक स्थिति हो ।

    यो चलचित्रबाट सबैभन्दा ठूलो चोट त पूजा शर्मालाई नै लागेको छ । उनको स्टारडम मात्रै उदांगो भएन, करोडौं लगानीसमेत डुब्यो । फेरि यस प्रकारको दक्षिण भारतीय फिल्मको अन्धनक्कल गर्नुभन्दा अगाडि उनले १० पटक सोच्नेछिन् ।

    रावायणको व्यापारिक असफलताले अभिनेता पल शाहलाई पनि ठूलो झट्का लागेको छ । पल जेलबाट निस्किएपश्चात उनको स्टारडम के भयो भन्ने वास्तविक परीक्षा थियो रावायण । उनले यसअघि ‘पुजार सार्की’ मा पनि अभिनय गरेका थिए, जुन हिट भयो । तर, उक्त चलचित्र सफल हुनुमा पलले ठूलो श्रेय पाउन सक्दैनन् किनकी चलचित्रमा उनको भूमिका अहम् थिएन । अभिनेता प्रदीप खड्काको भूमिका र अभिनयले पुजार सार्कीलाई धानेको छ ।

    रावायणमा भने पल सोलो हिरो हुन् । अझ उनले यसमा हिरो र भिलेनको दोहोरो भूमिका निर्वाह गरेका छन् । यदि चलचित्र चलेको भए यसको सबैभन्दा ठूलो जस पल शाहलाई नै जान्थ्यो । जेलबाट निस्किएपछि उनको स्टारडममा थप चार चाँद लागेको स्वीकार्नै पर्थ्यो । ठीकठाक व्यापार गरेको भए पनि पललाई धेरै धक्का पर्ने थिएन । तर, लगानीको तुलनामा फिल्मको व्यापार निकै कमजोर रह्यो, जबकि रिलिज अगाडि राम्रै हाइप बनाएका थिए, पल र पूजाले ।

    रावायणको असफलतापछि पलका फ्यानहरु निराश छन् । कतिपयले उनलाई म्युजिक भिडिओमै सिमित हुन पनि सुझाव दिएका छन् । म्युजिक भिडिओबाट पललाई आर्थिक हिसाबले पनि राम्रै फलिफाप भइरहेको छ । तर, ठूलो पर्दा र सानो पर्दाको फरक उनले अवश्य बुझेका छन् । पललाई चलचित्रमै सफल भएर देखाउनु छ ।

    स्मरणीय छ कि रावयाणमा पल शाह पहिलो छनोटको हिरो थिएनन् । यो चलचित्रका लागि पूजाले सुरुमा महंगा नायक अनमोल केसीलाई अफर गरेकी थिइन् । अनमोलको जोडी भएर अभिनय गर्ने रहर पनि थियो पूजाको । सुरुमा अनमोलले स्वीकृति पनि जनाए । तर, पछि पूजासित आफ्नो केमस्ट्री नमिल्ने ठानेर पन्छिदिए । अनमोलको यो व्यवहारबाट पूजालाई निकै चोट परेको थियो । अन्ततः उनले यो चलचित्र नै नबनाउने निधो गरिन् ।

    पछि यही स्क्रिप्टमा निर्देशक सुदर्शन थापाले चलचित्र बनाउने सुरु गरे । उनले पनि अनमोल केसीलाई नै लिए । आफूले तयारी गरेको चलचित्र सुदर्शनले बनाउन लाग्दा पूजा रिसाएकी थिइन् । तर, अनमोल फेरि पनि ‘ब्याक’ भए । उनले एडभान्स लिइसकेको रकम फिर्ता गरे । यही इस्यूमा सुदर्शनले अनमोल केसीविरुद्ध प्रहरीसमेत गुहारेका थिए । प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो ।

    अनमोलले छोडेको रोलमा पनि सुदर्शनले पल शाहलाई अफर गरे । त्यसपछि पूजा पनि प्रोजेक्टमा जोडिएकी हुन् । पल जेलबाट छुटेपछि चिसिएको पूजासँगको सम्बन्धमा यो सहकार्यले फेरि बहार आयो । चलचित्रमा दुवैले खुब मिहिनेत गरेर पूजाले दिल खोलेर खर्च समेत गरिन् । प्रदर्शनअघि पब्लिसिटीमा पनि निकै जोडबल लगाएका थिए उनीहरुले । तर, पहिलो दिनबाट दर्शकको आकर्षण देखिएन ।

    जबसम्म कन्टेन्ट बलियो र सुद्ध हुँदैन, मेकिङमा जति खर्च र मिहिनेत गरे पनि दर्शक तान्न सकिँदैन भन्ने दृष्टान्त पनि बनेको छ रावायण । केही दक्षिण भारतीय चलचित्रले नेपालबाट पैसा सोहोरेको देखेर त्यस्तै खालको भद्दा कन्टेन्टमा लोभिएका थिए पूजा सुदर्शन । तर, चलचित्रले दर्शकलाई कुनै अपिल गर्न सकेन ।

    बरु नायक अनमोल केसीले लिएको निर्णय सही सावित भएको छ । तत्कालीनरुपमा केही विवाद उनले खेप्नुपर्यो । हिरासतमा समेत पुग्नुपर्यो । तर कालान्तरमा एउटा कमजोर चलचित्रबाट उनी जोगिएका छन् ।

     

  • अमेजन प्राइममा रिलिज हुँदै नेपाली फिल्म ‘अनौठो तिर्सना’

    अमेजन प्राइममा रिलिज हुँदै नेपाली फिल्म ‘अनौठो तिर्सना’

    काठमाडौं । नेपाली फिचर फिल्म ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । निराजन प्रधान निर्देशित यस फिल्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेकाे हो ।

    डेढ वर्षअघि सुटिङ भएको यस फिल्ममा फरक फरक परिवारको कथा भनिएको छ । फिल्मका एक कलाकार विजय बरालका अनुसार फरक फरक परिवारको कथा भनिएको भए पनि सबै कथाहरु अन्तिममा एकै ठाउँ जोडिन्छ ।

    फिल्ममा बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ । स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका बाबुराम निरौलले लेखेका हुन् । सुरुवाती चरणमा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीभित्र रिलिज गरिने यस फिल्म नेपालको हलमा समेत रिलिज गरिने कलाकार नवीन न्यौपानेले बताए ।

    अमेजन प्राइममा फिल्म आउँदो अक्टोबर ८ तारिखमा रिलिज हुँदैछ ।

  • शिल्पीमा असोज २ बाट ‘मुक्कुमलुङ’

    शिल्पीमा असोज २ बाट ‘मुक्कुमलुङ’

    काठमाडौं । डा.चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गतेदेखि २० गतेसम्म मञ्चन हुने भएको छ ।

    रंगकर्मी पवित्रा राईको निर्देशन रहेको यस नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङ्देन, प्रमिला राई, प्रयास वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय वेघा लिम्बु, स्मृति कुलमर, सुजु सुनुवार, रमिला मोक्तान, हिरन राई लगायत कलाकारको अभिनय रहेको छ । नाटकको परिकल्पना तथा नाट्य रुपान्तरण लेखक राजन मुकारुङले गरेका हुन् ।

    ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा। माबोको कथासंग्रह ‘डोलीभर्ना’ केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो ।पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहाँ बसोबास गर्ने लिम्बु समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ कथाहरु ‘डोलीभर्ना’मा संग्रहित छन् ।

    मुक्कुमलुङलाई लिम्बु जातिले आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

  • धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति पुन

    धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति पुन

    काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् ।

    शनिवार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।

    यो कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो सिनेमा हेर्न निम्तो दिए । यस्तै, आफ्नो अघिल्लो सिनेमा ‘बाबरी’ रिलिजको क्रममा सिनेमा हेरेर सहयोग गरेको स्मरण गर्दै यो सिनेमालाई त्यो बेलाको जस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।

    उक्त कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर सांस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई सिनेमाबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए ।

    एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

    सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शीर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

    सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

    मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क ९कोरियन०को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

  • हिमालय रोडिजको छैठौं सिजन असोज १४ गतेबाट प्रसारण हुँदै

    हिमालय रोडिजको छैठौं सिजन असोज १४ गतेबाट प्रसारण हुँदै

    काठमाडौं । नेपालको एकमात्र साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को छैठौं सिजन आगामी असोज १४ गतेदेखि हरेक सोमबार राति ९ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ ।

    ‘वेलकम टु द जंगल’को थिममा निर्माण भएको यसपटकको रोडिजमा कुल चार जना ग्याङ लिडर हुनेछन् जसले आफ्नो टीमलाई जिताउन आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् । कार्यक्रममा होस्टका रुपमा रेमनदास श्रेष्ठ फर्किएका छन् । रेमन सिजन एकदेखि चारसम्म होस्टका रुपमा थिए ।

    पहिलो सिजनदेखि नै ग्याङ लिडरका रुपमा रहेका आशिष राना लाहुरे र दिया मास्के एवं सिजन ३ देखि निरन्तर रहेका अनुपविक्रम शाही र गत सिजनदेखि अनुबन्धित प्रियंका कार्की यो सिजनमा ग्याङ लिडरका रुपमा देखिनेछन् । योपटक चार जना ग्याङ लिडरको टीमवीच रोचक प्रतिस्पर्धा गराइएको कार्यक्रमका निर्देशक शिमोस सुनुवार बताउँछन् ।

    जंगल थिममा कार्यक्रम निर्माण भएको हुँदा जर्नी राउण्डका सवैजसो एपिसोड जंगल सर्भाइभलमा आधारित रहेको र अघिल्ला सिजनभन्दा निकै रोमाञ्चक बनेको निर्देशक सुनुवारले बताए । पाँच हजारभन्दा धेरै आबेदकबाट छानिएका उत्कृष्ट प्रतिभाहरुलाई छानेर अडिसनमा सहभागी बनाइएको छ । एमटीभी इन्डियाको फम्र्याटमा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण सुरु भएको हिमालय रोडिज सिजन ६ सम्मको यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी शो हो ।

    ‘युवापुस्तावीच अत्यन्तै लोकप्रिय टीभी कार्यक्रमका रुपमा रोडिजले आफुलाई स्थापित गरिसकेको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने– हामीले हरेक सिजनलाई थप गुणस्तरीय र रोचक बनाउन कोसिस गरिरहेका छौं ।’

    हिमालय रोडिजलाई विगत पाँच सिजनदेखि टाइटल स्पोन्सरका रुपमा यामाहा मोटरसाइकलले साथ दिँदै आएको छ, जसका कारण यामाहा र रोडिज पर्यायवाचीजस्तै भएका छन् । यसैगरी पावर बाई रेडबुल र स्पोन्सर बाई डार्क फेन्टासी, कोस्पन्सरमा शाओमी मोबाइल र इमामी फेयर एण्ड हेन्डसम, एसोसिएट स्पोन्सरका रुपमा केएफसी, यति कार्पेट, अर्विट एमबीबीएस, रोहोतो सेलसन, र मेडिकल पार्टनर स्टार हस्पिटल रहेका छन् ।

    कार्यक्रमको बजार ब्यबस्थापन पार्टनर मिडिया सेन्स रहेको छ ।शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा टाइटल स्पोन्सरसहितका प्रायोजकसँग सम्झौता गरिएको छ भने कार्यक्रममा अनुवन्धित ग्याङ लिडर र होस्टलाई समेत सार्वजनिक गरिएको छ ।

     

  • ६२ लाखमा इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा !

    ६२ लाखमा इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा !

    काठमाडौं । नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

    बेनिशाले ६२ लाख रुपैयाँमा यो कार खरिद गरेकी हुन् । उनले चढेको यो दोस्रो चारपाङ्ग्रे सवारी हो । पहिले पेट्रोलबाट चढ्ने गाडी थियो । पछिल्ला दिनमा चलचित्र र म्युजिक भिडिओमा डिमान्डेड भएसँगै उनको करिअरले गति लिइरहेको छ ।

    बेनिशाले गाडीको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘माइ न्यू बेबी केम होम (मेरो नयाँ बच्चा घर आयो) ।’

    उनले अरुलाई पनि इलेक्ट्रिक कार चढ्न सुझाव दिएकी छन् ।

  • ‘काश्मिरे पछ्यौरी’ युट्यूवको ग्लोबल ट्रेन्डिङमा, बाबुकृष्ण भन्छन्- खोइ पत्यारै लागेको छैन

    ‘काश्मिरे पछ्यौरी’ युट्यूवको ग्लोबल ट्रेन्डिङमा, बाबुकृष्ण भन्छन्- खोइ पत्यारै लागेको छैन

    काठमाडौं,

    निधारैमा टिकी टलक्कै
    सुन्तली नानीको मुहार झलक्कै
    काश्मिरे पछ्यौरी दार्जिलिङको रेल
    लाउँ साइँली पिरती दुई दिन बाँचुञ्जेल

    बाबुकृष्ण परियार र दीपिका बयम्बुले गाएको ‘काश्मिरे पछ्यौरी’ बोलको गीत अहिले युट्यूवको ग्लोबल ट्रेण्डिङ नम्बर ९९ मा छ । बाबुकृष्णको युट्युब च्यानलको प्राविधिक पाटो हेरिरहेका आईटी इन्जिनियर राजेन्द्र अर्यालका अनुसार युट्युबको ग्लोबल ट्रेण्डिङमा प्रवेश गर्ने सम्भवतः यो पहिलो नेपाली गीत हो ।

    संसारभरका दर्शकले हेरेका गीतहरूलाई युट्यूवले ग्लोबल ट्रेण्डिङमा राख्ने गरेको छ । यही सिलसिलामा बाबुकृष्णको गीत पनि ट्रेण्डिङमा परेको हो । तर, गायक बाबुकृष्ण भने सबैले ग्लोबल ट्रेण्डिङमा गएको बताइरहे पनि आफूलाई भने पत्यार नलागेको बताउँछन् ।

    ‘गीत यसरी ट्रेण्डिङमा जानु गर्वको कुरा हो भनेर धेरैले भन्नुभएको छ । विश्वबजारमा गीत गयो भनेर पनि भन्नुभएको छ,’ बाबुकृष्णले नेपाल प्रेसलाई भने, ‘मेरा गीतहरू नेपालमा त ट्रेण्डिङमा गएका थिएनन् । अहिले सबैले विश्वबजारमा गयो भन्दा पत्यारै लागेको छैन ।’

    बागलुङ, बलेवाका बाबुकृष्ण सानैदेखि गायनमा रुचि राख्थे । उनी गीत संगीतमा लागेको पनि १३/१४ वर्ष नै भइसक्यो । बाबुकृष्णका गीत संगीतप्रतिको लगावले नै यति लामो समयसम्म संघर्ष गरिरहेका छन् । बाबुकृष्ण भन्छन्, ‘सानो मान्छेले ठूलो सपना देख्दैन । हामीलाई त खाना पाए, लाउन पाए पुग्छ । मेरो गीत त्यसरी जाला भनेर मैले सोचेकै थिएन ।’

    गीतलाई दर्शक स्रोताले यसरी मन पराइदिनुमा सम्पूर्ण टीमको मिहेनत कारक रहेको बाबुकृष्ण बताउँछन् । यो गीतमा आफूले काम गर्न पाउनु नै गर्वको कुरा रहेको भन्दै संगीतकार तथा गीतकार निश्चल दवाडीलाई गीतको श्रेय दिन्छन् बाबुकृष्ण ।

    ‘निश्चल जी र म गीत बनाउने बेलासँगै बस्छौं । गीतहरू धेरै प्राक्टिस गर्‍यौं, गाउँछौं । एकअर्कालाई सपोर्ट गर्छौं,’ बाबुकृष्ण गीत निर्माण वेलाको समय सम्झन्छन्, ‘मेलो लागि बनेको गीत चाहिँ अर्कै थियो । तर, मैले यो गीत गाउँछु भनेर उहाँले दिनुभयो, गाएँ ।’

    अहिले बाबुकृष्णलाई ‘काश्मिरे पछ्यौरी’ गीतका कारण धेरैले चिने । सात महिना अगाडि सार्वजनिक भएको गीतले अहिलेसम्म १९ मिलियन भ्युज पाइसकेको छ । आफ्नो गीतलाई माया गरिदिएकोमा दर्शकप्रति उनी कृतज्ञ पनि छन् ।

    यो बीचमा गीत नचलेपछि बाबुकृष्णले धेरैपटक अब कामै नगरौं होला भन्ने पनि सोचे । तर, कामै रोकेर पनि बसेनन् । बाबुकृष्ण भन्छन्, ‘कहिलेकाहीँ काम नगरौं, जति गरे पनि गीत चल्दैन भन्ने लाग्थ्यो । हाम्रो गीत संगीतको बजार पनि सानो छ । यहाँ जसले पनि भाइरलहरुलाई मात्रै हेर्ने/खोज्ने गर्छन् । राम्रो सृजना गर्ने सधैँ पछाडि पर्ने । तर, एक दिन राम्रो सृजनालाई दर्शकले मन पराउनुहुन्छ भन्ने चाहिँ मलाई सधैँ लाग्थ्यो ।’

    अहिले युट्यूवको ग्लोबल ट्रेण्डिङको शीर्ष स्थानमा ‘स्त्री २’ फिल्मको ‘आज की रात’, दोस्रोमा ‘स्त्री २’कै ‘आयी नाइ’, तेस्रोमा कोक स्टुडियोको ‘कारोल जी’, चौथोमा लेडी गागा र ब्रुनो मार्सको ‘आइ डाइ विथ अ स्माइल’, पाँचौंमा ‘ब्याड न्युज’ फिल्मको ‘तोबा तोबा’ रहेका छन् ।

    युट्यूवले यस साताका सबैभन्दा लोकप्रिय म्युजिक भिडि‌ओको ‘शीर्ष सय म्युजिक भिडिओ ग्लोबल’ भनेर सार्वजनिक गरेको ‘ग्लोबल चार्ट’मा बाबुकृष्णको ‘काश्मिरे पछ्यौरी’ पनि परेको हो ।

  • नेदरल्याण्डका प्रधानमन्त्री सहभागी कन्सर्टमा नेपाली विद्यार्थी परिधीको काव्य प्रस्तुति (भिडिओ)

    नेदरल्याण्डका प्रधानमन्त्री सहभागी कन्सर्टमा नेपाली विद्यार्थी परिधीको काव्य प्रस्तुति (भिडिओ)

    काठमाडौं । दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्मानमा आयोजना हुने नेदरल्याण्डको एक प्रतिष्ठित काव्य कन्सर्टमा नेपाली कविले प्रस्तुति दिएकी छिन् ।

    सेप्टेम्बर १२ मा भएको लिबरेसन कन्सर्ट नामक कार्यक्रममा नेपाली कवि परिधि भण्डारीले प्रस्तुति दिएकी छिन् । ४ हजार हाराहारी प्रतिष्ठित अनुहारहरू उपस्थित हुने मार्ग्रातेन क्षेत्रमा हुने कार्यक्रममा डच प्रधानमन्त्री पनि सहभागी थिए ।

    कार्यक्रमलाई अमेरिकी टिभीमा लाइभ प्रस्तुति पनि भएको थियो । परिधीलाई उनले अध्ययन गर्ने शैक्षिक संस्था यूनाइटेड वल्र्ड कलेज (यूडब्लूसी)को तर्फबाट स्थान दिइएको आयोजकले सार्वजनिक गरेको जानकारीमा बताइएको छ ।

    उनले आफ्नो कविता ‘विस्पर्स फ्रम मार्ग्रातेन’ अर्थात् ‘ मार्ग्रातेनबाट साउती’ शीर्षक कविता वाचन गरिन् । उनको अंग्रेजी भाषामा लेखिएको कविताको डच अनुवाद आयोजकले कार्यक्रमको ब्रोसरमा राखेका छन् ।

    यूडब्लूसीका एक हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट छानिएर परिधीले कविता वाचन गर्न पाउने भएकी छिन् । परिधीको परिचय दिँदै आयोजकले लेखेको छ, ‘परिधी एक मेधावी विद्यार्थीहरूमा एक हुन् ।’

    झापा गौरादहकी परिधी भण्डारी जेभियर इन्टरनेशनल स्कूलबाट उच्च माध्यमिक तहसम्म अध्ययन गरेपछि युडब्लुसीको विद्यार्थीका रुपमा नेदरल्याण्डमा अध्ययनरत छिन् । यस्तो समारोहमा प्रस्तुति दिने उनी पहिलो नेपाली विद्यार्थी हुन् ।

    ८० वर्ष अगाडी ज्यान गुमाएका अमेरिकी सैनिकहरूको स्मृतिमा कन्सर्ट आयोजना हुने गरेको छ ।

    यो स्थानमा १० हजार अमेरिकी सैनिकहरूको चिहान रहेको छ । यो अमेरिकाको नेदरल्याण्डमा भएको एक्लो कपुरथान हो ।