Category: कलाप्रेस

  • चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त- राजेश हमालको कम्यब्याक, सरोज खनालसँग ३० वर्षपछि सँगै खेल्दै

    चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त- राजेश हमालको कम्यब्याक, सरोज खनालसँग ३० वर्षपछि सँगै खेल्दै

    काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

    एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

    शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

    निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो’, उनले भने ।

    निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफू यो फिल्मको निर्माणमा जोडीएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताए ।

    यो फिल्मका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहा संगै फिल्ममा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

    फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडीएको बताउँदै भनिन्, ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुशी लागेको छ ।’

    फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ‘मेरो बुबा उहाँको फ्यान भएको कारण मैले पनि उहाँको फिल्म बच्दैदेखि हेर्दै आएको थिएँ । अहिले उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु ।’

    आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुनेछ । उनले यो फिल्मको लागि केही समयदेखि आफ्नो लुक्स बनाइरहेका छन् । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म क्षेत्रमा नयाँ रौनक आइरहेको निर्माण पक्षले जिकिर गरेको छ ।

    त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

    क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।

     

  • कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना गरिने (भिडिओ)

    कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना गरिने (भिडिओ)

    काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कात्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउँदै समाज प्रति सोच्न बाध्य पार्ने उदेश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ ।

    मह जोडीले नेपालमा दश बर्षपछि मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक महजात्रा नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने जनाएका छन् । महजात्रा मह सञ्चा र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २९ गतेदेखि प्रज्ञा प्रतिष्ठानमा हुने र त्यसपछि देशव्यापीरुपमा मह जात्रा आयोजना हुने बताइएको छ ।

    हाँस्य व्यङग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध पक्षहरुलाई उजागर गर्ने उद्देश्यका साथ मह जात्रा आयोजना गरिएको वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले बताए ।

     

    त्यस्तै, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले निष्पक्षमा रुपमा समाजमा देखिएका बिषयहरुलाई हाँस्य व्यङ्ग्यमार्फत उजागर गर्ने बताए ।

    महजात्रा प्रहशनमा ख्यातीप्राप्त हास्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगाएतको समेत प्रस्तुति रहने महसञ्चारले जनाएको छ ।

     

  • निखिल उप्रेतीले कपाल रोपे, ६ महिनापछि नयाँ लुक्ससहित पर्दामा फर्किने

    निखिल उप्रेतीले कपाल रोपे, ६ महिनापछि नयाँ लुक्ससहित पर्दामा फर्किने

    काठमाडाैं। अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । निखिलले दरबारमार्गमा अवस्थित ‘आवरण स्कीन एण्ड हेयर क्लिनिक’मा सर्जन डा.रुपक घिमिरेबाट नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् ।

    आधुनिक प्रविधि र विशेषज्ञ डाक्टहरुको निगरानीमा उनले कपाल रोपेका हुन् ।

    चलचित्रको छायाँकनमा जादाँ लाईट, क्यामेराकाे किरणसँगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए ।

    उनी भन्छन्,’अनुभवी सर्जनहरु संगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफु हेयर ट्रान्सप्लान्ट गर्न तयार भए।’

    हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् ।

  • जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’

    जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’

    काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ।

    आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए।

    बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ।

    गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन। प्रमोदले यसै गीतबाट डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। भिडियोमा लोमश, रुविना र जुनाको काम पर्फेक्ट छ।

    लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। गीत अर्गानिक र सुमधुर छ । भिडियोमा चारै जना कलाकारको प्रेम र रोमान्स संगै रमणीय दृश्यहरु कैद गरिएको छ।

    उक्त दृश्यहरु सैलुङको हो। सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो।

    गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन । भिडियोको बजेट १० लाख रहेको लोमशको भनाइ छ।

    कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन।

  • एलिनाले गरेको तारिफमा शिव परियारको जवाफ- तपाईं हाम्रो शिरमा सजाउन लायक हुनुहुन्छ

    एलिनाले गरेको तारिफमा शिव परियारको जवाफ- तपाईं हाम्रो शिरमा सजाउन लायक हुनुहुन्छ

    काठमाडौं । कुनै बेला लामो समयसम्म चर्किएको विवाद हो, ‘धोकेवाज विवाद’। उस्तै परे अहिले पनि बेलाबेला यो विवादबारे प्रश्न उठिरहन्छ ‘धोकेवाज’ गीत कसको ?

    यो प्रश्न विवाद चर्किएको समयदेखि अहिलेसम्म उठिरहन्छ । तर, यो प्रश्नको निष्कर्षमा न त्यति बेला सर्जक र गायक-गायिका पुग्न सकेका थिए न त अहिले नै यसको कुनै निश्चित उत्तर आउँछ । त्यहीँ पनि बेलाबेला यो प्रश्न गायिका एलिना चौहान र गायक शिव परियारलाई अन्तर्वार्ताहरूमा आइरहन्छ । यसपटक पनि त्यस्तै भयो । विवाहपछि अष्ट्रेलिया गएकी गायिका चौहान केही समय अघिमात्र फर्केकी छिन् । केही दिनअघिको उनको ओसो बसाइले चर्चा पायो ।

    ओसोबाट फर्किएपछि एलिनालाई एक पडकाष्टमा एलिनालाई ‘धोकेबाज विवाद’ बारे सोधिएको थियो । उनले धोकेबाज विवाद जे जस्तो भएपनि गायक शिव परियारलाई आफूले सदैव सम्मान गर्ने र उनीसँग आफूलाई तुलनै गर्न नमिल्ने बताएकी थिइन् ।

    उनले भनेकी थिइन्,‘विवादपछि उहाँसँग मलाई तुलना गरियो । उहाँसँग मलाई तुलनै गर्न मिल्दैन । उहाँ यो क्षेत्रबारे सिकेको, जानेको र बुझेको मान्छे हो । उहाँ साधक हो । उहाँ त मेरो गुरुजस्तो मान्छे हो । उहाँलाई मसँग तुलना गर्नु भनेको म बढ्नु हैन, उहाँलाई घटाउनु हो । म त उहाँको खुट्टामा पनि सुहाउँदिन ।’

    उनको यो अभिव्यक्ति सुनेपछि गायक परियारले एलिना आफ्नो शिरमा सजाउन लायक भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्,‘बहिनीले मेरो साङ्गीतिक यात्राप्रति सदासयता र सम्मान व्यक्त गर्दै बोलेको भाव ‘म शिव दाइको खुट्टामा पनि सुहाउँदिन’ भन्ने शब्दले मलाई गाह्रो बनायो । सम्मान व्यक्त गर्दा यो शब्द नबोलेको भए पनि फरक पर्ने थिएन ।’

    ‘यद्यपि मप्रति सम्मान व्यक्त गर्न बहिनीले बोल्नु भएको समग्र भावप्रति उत्तरमा यही भन्न चाहान्छु कि ‘बहिनी तपाईँ सधैँ हाम्रो शिरमा सजाउन लायक हुनुहुन्छ। र, तपाईँलगायत तपाईँको पुस्ता नेपाली सङ्गीतमा धेरै आशा राखिएको भावी पुस्ता हो । मबाट बहिनी अनि यहाँको सफल संगीत यात्राको आत्मैदेखि शुभकामना छ । सदैव बहिनीप्रति सद्भाव अनि सम्मान छ ।’

    उनले आफ्नो स्टाट्समा धोकेबाज गीतको विवाद रहँदाको समयमा पनि आफूलाई एलिनाप्रति कुनै वैरभाव र असम्मान नरहेको र अहिले पनि नभएको बताएका छन् ।

  • ‘प्रेम गीत- ३’ सिनेमाघरमा, ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने

    ‘प्रेम गीत- ३’ सिनेमाघरमा, ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने

    काठमाडौं। वर्ष २०७९ मा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

    ‘सिनेमाघर’मा हालै रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । नेपाली र हिन्दी भाषामा रिलिज भएको यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन।

    ‘प्रेम गीत ३’ रिलिजसँगै सिनेमाघर एपले नयाँ अपडेट ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा रहेकोमा, अब चलचित्रहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ ।

    साथै, फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ।

  • सुटिङका क्रममा बाढीले चलचित्र ‘एक्लो’को सेट बगाएपछि लाखौँको घाटा, रोकियो छायांकन

    सुटिङका क्रममा बाढीले चलचित्र ‘एक्लो’को सेट बगाएपछि लाखौँको घाटा, रोकियो छायांकन

    काठमाडाैं । चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकन गरेर निर्माण टीम छायांकनको लागि मुस्ताङ पुगेको थियो ।

    साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो ।

    बाढीले सेट बगाएपछि मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको चलचित्रको छायांकन रोकिएको छ । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको बताउँदै चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले निर्माण टिमलाई ठुलो आर्थिक घाटा भएको बताए ।

    प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन् । चलचित्रमा हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एभन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।

    चलचित्र ’एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । बाबु श्रेष्ठको छायाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।

     

  • सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ

    सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ

    काठमाडौं । कुनै पनि सेलिब्रिटीले विवाह गरेपश्चात सोधिने सबैभन्दा आमप्रश्न हो- अब बच्चा कहिले जन्माउने ? राजेश हमाललाई वर्षौंदेखि यही प्रश्नले लखेटिरहेको छ, तर उनले कुनै हतारो देखाएका छैनन् ।

    ६० कटेका हमाललाई त हतारो छैन भने दुई वर्षअघि मात्र बिहे गरेकी सुनिशालाई केको हतार ? तर पनि पत्रकारले त सोध्छन् नै ।

    हालै सुनिशाको मुख्य भूमिका रहेको टेलिश्रृंखला ‘सीता’ को एक वर्ष पुगेको अवसरमा सानो कार्यक्रम गरिएको थियो । जसमा पत्रकारहरुले सुनिशालाई बच्चा कहिले पाउने भनेर सोधेनन् । बरु सीधै प्रश्न गरे– पहिलो सन्तान के होस् भन्ने चाहनुहुन्छ ?

    सुनिशाले मस्किँदै जवाफ दिइन्, ‘भन्नै मन लाग्दैन के… ! मनमा त छ । मैले छोरी भनौंला पछि छोरा जन्मियो भने ए मेरो ममाले त छोरी भनेको थ्यो भनेर चित्त दुःखाउला । छोरा भनौंला छोरी जन्मिइन् भने चित्त दुःखाउलिन् । म त केही भन्दिनँ । छ न त छ मनभित्र, तर पछि बच्चाले यो अन्तर्वार्ता हेर्दा पनि खुब छोरा चाहिएको भन्या होइन, खुब छोरी भन्नुहुन्थ्यो त भन्लान् । विचराहरुको चित्त दुःखाउँदिनँ ।’

    सुनिशाले आफूलाई जुम्ल्याहा सन्तानको रहर लागेको बताइन् । आफूलाई सानैदेखि जुम्ल्याहा मनपर्ने उनको भनाइ छ ।

    सुनिशा भन्छिन्, ‘मलाई जुम्ल्याहा चैं खुब रहर लाग्छ । सानैदेखि इच्छा लाग्ने क्या… ! ट्विन्स देख्यो भने पनि कस्तो इन्ट्रेस्टिङ लाग्ने । दुई जना सँगै जन्मेको, उस्तै देखिन्छ र उस्तै लुगा लगाउनुपर्छ भन्दा इन्ट्रेस्टिङ कुरा लाग्छ । म र भाइ जुम्ल्याहा भएर जन्मिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । अहिले पनि रहर छ । के पाउन चाहन्छेस् भन्दा जुम्ल्याहा भए पनि हुन्थ्यो भन्छु । धेरैले गाह्रो हुन्छ, दुःख हुन्छ भन्नुहुन्छ, तर पनि… ।’

    सुनिशाले तीतो सत्यका बाल कलाकार राज घिमिरेसित २०७९ असारमा बिहे गरेकी थिइन् । कलाकार तथा निर्देशक शंकर आचार्यकी उनी बुहारी हुन् ।

  • ‘हामीले फिल्ममा टेक्स्टमात्रै देखिरहेका छौं, दृश्याङ्कनमा मेहनत गर्नुपर्‍याे’

    ‘हामीले फिल्ममा टेक्स्टमात्रै देखिरहेका छौं, दृश्याङ्कनमा मेहनत गर्नुपर्‍याे’

    काठमाडौं ।
    फिल्म : बेहुली फ्रम मेघौली
    लेखक-निर्देशक : आकाश बराल र सजन काफ्ले

    उमेरले भर्खरै ३० कटेका युवाहरु आकाश बराल र सजन काफ्लेको एउटा सपना हो, ‘बेहुली फ्रम मेघौली’ । फिल्ममा स्वस्तिमा खड्का देखिए पनि फिल्मको पहिलो भ्रुण आकाश र सजनको दिमागमा तयार भएको थियो । स्वस्तिमा र निश्चल बस्नेत निर्माता भए पनि सफलताको उडान भर्नुपर्ने चुनौती आकाश र सजनमाथि छ ।

    त्यसैले चुनौतीको चाङमाथि छन् पछिल्लो छिमलका यी युवा निर्देशकहरु । फिल्म सफल भए यी निर्देशकको करियरमा केही थोक बदलिनेछ । यिनीहरुले भन्न चाहेको कथाका लागि निर्माताहरु सहजै पाउनेछन् । त्यसैले अहिले यी निर्देशकद्वयलाई भ्याइनभ्याइ छ । इडिटिङमा काम गर्नु छ, कहिले साउन्डमा काम गर्नुछ । फिल्मलाई पुनः चेकजाँच गर्नुछ । सानातिना प्राविधिक त्रुटिहरु केलाउनु छ । यावत दौडधुपपछि आउँदो घटस्थापनाबाट फिल्म हलहरुमा लाग्दैछ ।

    फिल्मको पूर्वकथा

    यो फिल्म ३० वर्ष छोएको तर, विवाह नभएकी केटीको कथा हो । उमेर बढेसँगै आउने सामाजिक, मानसिक र पारिवारिक दबाब कथाको मेरुदण्ड हो ।

    आकाश र सजनसँग कोरोनाकालअघि नै फिल्म बनाउने योजना थियो । अनेक कारणले सम्भव हुन सकिरहेको थिएन । उनीहरुसँग केही कथा त थिए, तर कुन कथामा फिल्म बनाउने ? दुवै अलमलमा थिए ।

    सजनले आकाशलाई फोन गरे, ‘अब चाहिँ साँच्चै फिल्म बनाउनुपर्‍यो ।’

    दुवैसित कथा थियो । यद्यपि पुरानै कथामा बनाउने कि नयाँ केही सोच्ने ? नयाँ कथा सोच्ने क्रममा समस्यालाई केलाउन थाले दुवैले । समस्या केको छ त ? बिहेको । समय यस्तो थियो, उमेरले पनि दुवै २९ वर्ष पुगेका थिए । दुवैले सल्लाह गरे, ‘बिहेमाथि गरौं न त !’ यो निर्णय लिने बेला रातको १०-११ बजिसकेको थियो ।

    केटामाथि आइपरेको दबाबमाथि कथा लेख्ने सल्लाह गरे । फेरि सोचे, ‘केटाले त दबाबलाई इग्नोर गर्नसक्छ, तर सामाजिक रुपमा केटीलाई गाह्रो हुन्छ ।’

    ‘बिहेको दबाब झेल्न नसकेर भागेर हिँड्न पनि केटीलाई गाह्रो नै हुन्छ । ३० वर्ष पुग्न लागेको केटीमाथि कथा बनाऔं भनेर सल्लाह गरियो’, आकाशले कथाको पूर्वकथा सुनाए ।

    कन्सेप्ट त बन्यो, तर कथा बनेको थिएन । दुवैले विभिन्न चरणमा काम गरे । बाउको दृष्टिकोणबाट कथालाई हेरे । बाउलाई एकदमै दबाब भएको कथा सोचे । यसरी केटीको लागि केटा खोज्ने विषयमात्रै त कथा हुन्न ! सजन भन्छन्, ‘त्यो हुन्न भनेपछि हामी एकैछिन कथा बन्द गरेर बस्यौं ।’

    अलि पछि मूल कथाको लाइन आयो, जुन कथामाथि ‘बेहुली फ्रम मेघौली’ बनेको छ । पाँचछ महिनामा पहिलो ड्राफ्ट बन्यो, तर थन्कियो । आकाश सुनाउँछन्, ‘यसपछि हामी सँगै बस्नुपर्छ, नत्र लेख्न सकिन्न भनेर सजनलाई भनें ।’

    आकाश काठमाडौंमा थिए, सजन बुटवलमा । आकाशले पटकथाकारको रुपमा ‘दिमाग खराब’ फिल्ममा काम गरिरहेका थिए । अर्को ‘लाखे’ भन्ने फिल्म पनि लेखिरहेका थिए ।

    सजन बुटवलबाट आए । मध्य बानेश्वरको एक होस्टेलमा सँगै बसे । होस्टेलमा तीनचार महिना बसेपछि चार वटा ड्राफ्ट तयार पारे । बल्ल फिल्मको पटकथा पूर्ण रुपमा तयार भयो ।

    अनि स्वस्तिमाले भनिन्, ‘आफैं लगानी गर्छु’

    आकाश र सजनले फिल्मको बजेट सानो बनाएका थिए । आफैंले लगानी गर्ने मनस्थिति बनाएका थिए । नयाँ कलाकारसँग काम गर्ने सोचिरहेका थिए । बजेटको आँकलन गर्दा भने अरु लगानीकर्ताको पनि लगानी नभई फिल्म नबन्ने भयो ।

    ‘एकजना साथी हुनुहुन्थ्यो, उहाँसँग लगानीकर्ताको खोजीमा निस्कियौं’, आकाश भन्छन् ।

    लगानीकर्तासम्म पुग्नलाई त कास्टिङ पनि बलियो चाहियो ! चलेका कलाकार नभएमा किन लगानी गर्ने ? केटीको भूमिका कसले गर्छ त ? टीमले आकाशलाई भन्यो, ‘स्वस्तिमालाई अप्रोच गर्दा ठीक हुन्छ ।’

    आकाशले स्वस्तिमासँग ‘चपली हाइट ३’मा पटकथाकारको रुपमा काम गरेका थिए । ‘दिमाग खराब’मा पनि काम गरिरहेका थिए । स्वस्तिमाको नाम आउनुमा यत्ति नै प्रमुख कारण थियो । आकाश भन्छन्, ‘उहाँको विश्वास जित्न सजिलो हुने भएकाले मुख्य कलाकारको रुपमा एप्रोच गरियो ।’

    आकाशले पटकथा स्वस्तिमालाई पठाए । तीनचार दिनपछि स्वस्तिमाले भनिन्, ‘हामी नै निर्माण गर्छौं यो फिल्म ।’

    स्वस्तिमा र निश्चलको ब्ल्याक हर्सले निर्माण गर्ने भएपछि निश्चललाई पनि कथा सुनाउनुपर्‍यो । ‘दिमाग खराब’ सँगै लेखिरहेका कारण आकाश-सजनले सुटुक्क कथा सुनाए । निश्चलले भने, ‘हुन्छ, मिलेर काम गरौं ।’

    ब्ल्याक हर्स र मेघौली फिल्म्सको ब्यानरमा तयार हुने भयो, ‘बेहुली फ्रम मेघौली’ ।

    सुरुमा आकाश-सजनले एक करोड २० लाखको अनुमानित बजेट बनाएका थिए । ‘हामीले सोचेको बजेटमा धेरै कुरा राखेका रहेनछौं । हलमा टिजर लगाउँदा नै छुट्टै बजेट लाग्दो रहेछ’, दुवैले भने, ‘टीममा पनि धेरै मान्छे चाहिने रहेछ । यसपछि बजेट बढ्दै गयो । अहिले पनि बढिरहेको छ, कति बढ्छ थाहा छैन ।’

    संयोगले आकाश-सजनको जुगलबन्दी

    दुवैले मिलेर लेखेको पछिल्लो फिल्म हो, ‘बिहेपास’ । यसअघि नेपालबाट ओस्करमा गएको ‘हल्कारा’मा सजन सहायक निर्देशक थिए भने आकाश चाहिँ सहलेखक । अलि अगाडि ‘गरुड पुराण’मा पनि सजन सहायक निर्देशक र आकाश सहलेखक नै थिए ।

    आकाश-सजनको भेट भने सन् २०१४ मा भएको थियो । जमलमा रहेको ब्ल्याक बक्स एकेडेमीले एनिमेसन पढाउँथ्यो । फिल्म बनाउने तिर्खा मेट्न आकाश त्यहाँ पुगेका थिए । सजन पनि त्यहाँ नै पुगेका थिए ।

    दुवैको क्लासको समय फरक-फरक थियो । दुवैको त्यही पहिलो भेट भयो । चिनजान भयो । एनिमेसनको कोर्स सकेपछि सजन थप कोर्स गर्न भारत गए । एसियन एकेडेमी अफ फिल्म एण्ड एनिमेसनमा एक वर्षे कोर्स गरेर नेपाल फिरे ।

    नेपालमा आकाश संघर्ष गरिरहेका थिए । दुईतीन वटा पटकथा पनि तयार गरेका थिए, तर कसलाई दिने ? चिनेजानेका कोही थिएनन् । ‘डाइङ क्यान्डल’का निर्देशक नरेशकुमार केसीलगायतको टीमले एउटा वर्कसप चलाएको थियो । त्यहाँ भेटिएका मान्छेलाई पटकथा दिने मनसायमा थिए आकाश । एउटा विशेष पटकथा चाहिँ निश्चल बस्नेतलाई नै बुझाउने सोचमा थिए ।

    ‘निश्चलसँग इमेलमा सम्पर्क हुन सकिरहेको थिएन । फोन नम्बर पनि पाउन सकिरहेको थिइनँ’, आकाश सुनाउँछन् ।

    संयोगवस त्यही वर्कसपमा सहभागीलाई उत्प्रेरित गराउन निश्चल बस्नेत आए । आकाशले नम्बर लिए । पटकथा बुझाए । निश्चलले भने, ‘म पढ्छु, राम्रो लाग्यो भने हेरौंला ।’

    तीनचार महिनापछि निश्चलले आकाशलाई भने, ‘म प्रोड्युस चाहिँ गर्छु, तर आफूले निर्देशन गर्दिनँ होला ।’

    निश्चलले सोचेको निर्देशकले फिल्म नबनाउने भएपछि अर्को मान्छेलाई बिक्री गरिदिए । त्यो मान्छे थिए, ‘चपली हाइट’का निर्माता अर्जुनकुमार ।

    ‘त्यो पटकथा उहाँसँग अझै पनि छ । फिल्म नै नबन्नुको कारण चाहिँ उहाँले चपली हाइट ब्राण्ड भएकाले त्यो बनाउँदा अलि बढी नाफा हुनसक्छ भन्नुभयो’, आकाश सुनाउँछन्, ‘मैले ‘चपली हाइट ३’ को लेखन सुरु गरें । लेखेको धेरैपछि फिल्म बन्यो । स्वस्तिमासँग त्यही फिल्ममा भेट भएको थियो ।’

    अहिलेका फिल्ममा टेक्स्ट छ, भिजुअल छैन

    आकाशले लेखेको ‘चपली हाइट ३’, ‘गरुड पुराण’ जस्ता फिल्म चलेनन् । आकाश-सजनले लेखेको ‘बिहेपास’ पनि औसतमात्रै रह्यो । फिल्म नचल्नुको कारण चाहिँ के रैछ ?

    आकाश खुल्छन्, ‘लेखकको दृष्टिकोणबाट हेर्दा चाहिँ निर्देशकले लेखकलाई भन्दा कलाकारलाई बढी विश्वास गरेकाले हो । लेखकसँग एउटा कुरामा निर्देशक ओके भएपछि त्यो कुरामा अडिन सक्नुपर्छ । फिल्म असफल हुनुमा म पनि जिम्मेवार हुनुपर्छ । यो बदलिनै हुन्न भनेर मैले अडान लिन सक्नुपर्थ्यो, तर मैले अडान लिन सकिनँ ।’

    – सबैले गतिलो पटकथा भएन भन्छन् । अनि गतिलो पटकथा भनेको चाहिँ के रैछ ?

    लेख्ने प्रक्रियामै इमानदार हुनासाथ गतिलो पटकथा आउँछ । लेखक र निर्देशकमध्ये एक जना इमानदार नहुनासाथ बिग्रन्छ । देखाउन चाहेको कुरा आउँदैन ।

    – अहिले बनिरहेका नेपाली फिल्महरु कस्ता लाग्छन् ?

    अहिलेका फिल्ममा टेक्स्ट आइरहेको छ, भिजुअलाइज भएको छैन । कथाहरु आइरहेका छन्, यसमा आशावादी छौं । अलिकति निराशा चाहिँ फिल्मको रुपमा फिल्म बनिरहेको छैन । हामीले स्क्रिनमा टेक्स्ट देखिरहेका छौं । भिजुअल देखिरहेका छैनौं । साँच्चिकै फिल्म बनाउने हो भने लेखिसकेपछि भिजुअलमा पनि मेहनत गर्नुपर्‍यो । पोस्ट प्रोडक्सनमा मेहनत गर्नुपर्‍यो । कथामात्रै नयाँ आएर हुँदैन, त्यो कथालाई फिल्ममा प्रस्तुत पनि त गर्नुपर्‍यो ।

    – पटकथा लेखकलाई पैसा नै छैन भन्छन् नि ?

    पटकथा लेखकलाई धेरै अन्डरस्टिमेड गरिन्छ । अहिले अलिकति पटकथा किन खोज्छन् भने कलाकारले पटकथा खोजेका छन् । अझै पनि मेकरले पटकथाको लेखनको आफ्नै चरण हुन्छन् भनेर सोच्दैनन् । कलाकारले पात्र खोज्छ भनेपछि मात्रै पटकथा लेखौं भन्नेहरु छन् । यस्तो चलन अहिले बदलिँदैछ । पूरा बजेटको एकदुई प्रतिशत रकम पटकथामा छुट्याउँछन् ।

    यसरी छुट्याउनुको कारण भनेको लेखनको प्रक्रियालाई बुझ्ने निर्माता निर्देशकको कमी छ । लेखन भनेको कलम र कापी वा ल्यापटप लिएर एक हप्तामा लेखिने चिज नै होइन । पटकथा भनेको स्टोरी टेलिङ हो । लेख्दै जाँदा चारदेखि ६ महिना लाग्छ ।

  • रियासाले ‘गाह्रो छ’ छोडेपछि भटभटे माइलालाई गाह्रो पर्‍यो, पीडा पोख्दै मिडियामा

    रियासाले ‘गाह्रो छ’ छोडेपछि भटभटे माइलालाई गाह्रो पर्‍यो, पीडा पोख्दै मिडियामा

    काठमाडौं । कुनै समय दर्शकले अत्यधिक रुचाएको हास्य टेलिसिरियल ‘गाह्रो छ हो’ केही समयदेखि अलि सुस्ताएको छ । सिरियलकी प्रमुख पात्र ‘पुतली’ उर्फ रियासा दाहाल बाहिरिएपछि दर्शकले खल्लो मानेका छन् ।

    ‘भटभटे माइला’ भनेर चिनिएका कलाकार बेगम नेपालीले ५ वर्ष अगाडि यो सिरियल सुरु गरेका थिए । केही एपिसोडपछि ‘पुतली’ का रुपमा रियासाको इन्ट्री भयो । भटभटे र रियासाको जोडीलाई दर्शकले मन पराए । सिरियलले मज्जासँग पिकअप लियो । एकसमय भ्यूजको कीर्तिमान नै राखेको थियो ।

    त्यसो त सुरुमा बेगमले रियासालाई एउटा एपिसोडमा गेस्ट रोलका लागि अफर गरेका थिए । रियासाले स्वीकारिन् । एक एपिसोडका लागि कुरा भए पनि उनले तीन एपिसोडमा काम गरिन् । रियासा यसअघि नै युट्युबमा चर्चित भइसकेकी थिइन् । उनलाई कमेडी जनराकै ‘कलेज नेपाल’ भन्ने सिरिजले चर्को लोकप्रियता दिलाएको थियो । रियासाको थुप्रै संवादहरु टिकटकमा भाइरल भएका थिए । म्युजिक भिडिओमा पनि निकै डिमान्डेड थिइन् ।

    ‘कलेज नेपाल’ मा शहरिया युवतीको भूमिका निभाएकी रियासाले ‘गाह्रो छ’ मा ग्रामीण महिलाको रुपमा देखिइन् र यसमा पनि हिट भइन् । उनी अभिनयमा मात्र नभएर स्क्रिप्ट राइटिङमा समेत पोख्त थिइन् । बेगम र रियासाले संयुक्त रुपमा स्क्रिप्ट लेख्ने गर्थे । निर्देशकमा भने मीनराज श्रेष्ठलाई राखिएको थियो ।

    हुन त रियासाले यो सिरियलमा लामो समय काम गर्ने हिसाबले आएकी थिइनन् । गेस्ट रोल सकिएपछि बेगमले उनलाई निरन्तरता दिन प्रस्ताव गरेका थिए, तर म्युजिक भिडिओमा नै व्यस्त भएको हुँदा उनले आफूले नभ्याउने भन्दै अर्को एक कलाकारलाई सिफारिस गरिदिएकी थिइन् । तर सुटिङको अघिल्लो दिन ती कलाकारले काम नगर्ने निर्णय लिएपछि रियासाले आफैं खेल्ने निधो गरिन् । जुन निर्णय उनका लागि पनि फलदायी बन्यो । उनीहरुले आम्दानी खर्चको ५०-५० हिस्सेदारी बन्ने गरी सहयात्रा गरे ।

    ‘भद्रगोल, ‘हल्का रमाइलो’, ‘मेरी बास्सै’ जस्ता चर्चित हास्य टेलिश्रृंखलाहरुलाई समेत पछि पार्दै ‘गाह्रो छ’ ले भ्यूजको पहाड खडा गर्‍यो । ‘गाह्रो छ’ का चारवटा एपिसोडले एक करोडभन्दा बढी भ्यूज पाएका छन्, जुन आफैंमा एउटा कीर्तिमान हो । ‘गाह्रो छ’को १४ औं एपिसोड, जुन २०२१ को जनवरी ३१ मा अपलोड भएको थियो, ले सर्वाधिक एक करोड ९० लाख भ्यूज पाएको छ । यो सम्भवतः कुनै पनि नेपाली कमेडी सिरियलले पाएको सर्वाधिक भ्यूज हो ।

    १०० एपिसोडसम्म बेगम र रियासा दुवैले मिलेर नै स्क्रिप्ट लेख्थे, तर रियासा अन्य काममा व्यस्त भएपछि स्क्रिप्ट लेख्न सम्भव भएन । त्यसपछि उनी सहायक निर्देशकको भूमिकामा थिइन् । यद्यपि रियासा स्क्रिप्टमा संलग्न नहुँदा भ्यूजमा प्रभाव पर्न थालेको थियो । समग्र युट्युब कन्टेन्टमा बढोत्तरी र गम्भीर विषयवस्तुका सामाजिक सिरियलहरु चल्न थालेकाले पनि ‘गाह्रो छ’ को भ्यूज रफ्तार केही कम हुँदै गयो ।

    यही बीचमा गत वर्ष वैशाख २० गते रियासाले विवाह गरिन् । उनी ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग लामो समयको प्रेमलाई साकार पार्दै विवाह बन्धनमा बाँधिइन् । विवाहपश्चात पनि रियासाले केही समय ‘गाह्रो छ’ लाई निरन्तरता दिइरहेकी थिइन्, तर करिब ६ महिना अगाडिबाट भने उनी यो सिरियलबाट अलग भएकी छन् ।

    ‘गाह्रो छ’ छोडेको विषयमा रियासाले सार्वजनिक रुपमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् । उनी अरु कुनै सिरियलमा देखिएकी पनि छैनन् । ‘गाह्रो छ’ का प्रत्येक एपिसोडमा दर्शकहरुले उनको खोजी गरिरहेका हुन्छन् । बजारमा विभिन्न हल्ला पनि चलेका छन् । परिवारले सिरियल खेल्न बन्देज गरेकोदेखि रियासा गर्भवती भएकोसम्म दाबी गरिएका छन्, तर यी कुराहरुमा कुनै पनि सत्यता नभएको निकटस्थहरु बताउँछन् ।

    अर्कोतर्फ रियासा निस्किएसँगै बेगम तनावग्रस्त बनेका छन् । सिरियलको भ्यूजमा उल्लेख्य गिरावट आएको छ । रियासाको क्षतिपूर्ति गर्नसक्ने अर्को कलाकार भेट्टाउन उनलाई मुस्किल परेको छ । बेगम अहिले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आफ्नो पीडा पोख्न थालेका छन् ।

    एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बेगमले रियासाको अभावमा आफ्नो कलाकारिता नै संकटमा परेको भन्दै भावुक टिप्पणी गरे ।

    उनले भनेका छन्, ‘अहिले त मेरो कलाकारिता नै सकिएको, करिअर नै सकिएको फिल हुन्छ । उहाँबाहेक मेरो कलाकारिता नै रहेनछ भन्ने महसुस भएको छ ।’

    बेगमको भनाइ उनकै शब्दमा

    हो, पछिल्लो अवस्थामा हाम्रो दर्शक अलिकति घट्नुभएको छ । धेरै होइन, सयमा २० प्रतिशत जति घट्नुभएको होला । ८० प्रतिशतले अहिले पनि हेर्नुहुन्छ । हाम्रो मेहनेत चाहिँ घटेको छैन । पहिलेको भन्दा झन् बढी मेहनत छ । त्यो मेहनतको परिणाम आउन बाँकी होला ।

    रियासाजीले छोड्नुभएपछि समस्या भएको छ । उहाँसित त्यस्तो झगडा केही पनि भएको थिएन । ममा समस्या होइन । उहाँले गर्दिनँ भनेपछि अर्काको छोरी, श्रीमतीलाई जबरजस्ती राख्ने कुरा भएन । उहाँले अरुको कुरा सुन्नुभयो जस्तो लाग्छ । हाम्रो टीमभित्रकै एकजनाले हामीबीच विभाजन ल्याउन खोजेका थिए । त्यसको प्रमाण मसित छ ।

    उहाँ र मेरो जोडी हिट भएपछि धेरै प्रोग्राममा अफर आउँथ्यो । पहिले पहिले म एक्लै हुँदा १०-२० हजारमा स्टेज प्रोग्राम गर्थें । पछि हामी दुवैलाई अफर आउन थाल्यो । उहाँ कम पैसामा काम नगर्ने । दुवैजनालाई लिँदा आयोजकको बजेटले नभ्याउने । म चाहिँ सकेसम्म सबैको मन राखिदिन खोज्ने, तर उहाँ रेटभन्दा तल नझर्ने ! सस्तो खालका विज्ञापनहरुमा अफर आउँदा उहाँलाई अटाउन गाह्रो हुन्थ्यो । यसले गर्दा धेरै अफर छोड्नुपर्‍यो ।

    अर्को पाटोबाट हेर्दा उहाँ छोरी मान्छे हो । घरबाट बाहिर हिँड्न पक्कै समस्या हुन्छ । त्यो समस्या पनि हामीले बुझिदिनुपर्‍यो । म त यो जोडी टिकाउनुपर्छ भनेर निरन्तर लागें । दीपकराज-दीपाको जस्तो, मह जोडीको जस्तो बन्नुपर्छ भन्ने मेरो सोच थियो, तर उहाँले अरुको कुरा सुन्नुभयो । ती व्यक्तिले हामी दुवैलाई कुरा लगाउनुभयो ।

    लास्टमा छोड्ने बेला पनि रियासाजीले मलाई भन्नुभएन । मैले कुरा गर्दा ‘दाइ मैले कसैको कुरा सुन्या छैन, मलाई अहिले कलाकारिता पनि गर्नु छैन, अब श्रीमानको बिजनेसमा सहयोग गर्छु’ भन्नुभयो । मैले लास्ट टाइममा पैसाको अलिकति हिसाबकिताब बाँकी राख्या थिएँँ । उहाँ आउनुहुन्छ कि, ल्याउन सकिन्छ कि भन्ने आशा थियो । त्यही भएर पैसा बाँकी राखेको थिएँ, तर उहाँले मलाई गर्न मन छैन, पुग्यो भन्नुभयो । अब म्युजिक भिडिओ पनि गर्दिनँ भन्नुभयो ।

    पारिवारिक प्रेसर हो जस्तो लाग्दैन । उहाँको श्रीमान बुझ्ने हुनुहुन्छ । मसित जोडिने बेलामा पनि कलाकारिता गर्दिन्नँ भन्ने अवस्थामा हुनुहुन्थ्यो । मैले नै जोडी बनौं भनेर प्रस्ताव गरेको हो, तर मैले भनिहालें, छोरी मान्छेको अनेक समस्या हुन्छ । मेरो परिवारमा त केही समस्या थिएन । मेरो बुढीलाई पनि लाग्छ होला नि बुढाले अर्कीलाई बुढी भन्दा, तर मेरो बुढीले तिमीहरुको जोडी राम्रो छ, नछुटोस् भनेर सल्लाह दिइराख्थिन् । जहाँसम्म लाग्छ उहाँलाई श्रीमानले पनि त्यसरी नै सल्लाह दिइराख्या होला । बिहे गरेपछि ३-४ महिनासम्म काम गरिरहनु भएकै हो । आफैं मन नलागेर छाड्नुभएको होला भन्ने लाग्छ । उहाँ हुँदै घाटामा थियो । भ्यूज आधी घटिसकेको थियो । त्यसले पनि छोड्नुभएको हो कि ! फेरि कुनै पनि काम गर्दिनँ पनि भन्नुभएको छ ।

    सिरियल छोड्ने बेलामा मलाई एक शब्द पनि भन्नुभएन । म बिरामी पनि थिएँ । हाम्रो बोलचाल भएको थिएन । लास्ट टाइममा निर्देशकलाई नै अब मेरो लेख्न नलगाउनु है भनेर जानुभएछ । अहिले पनि ल्याउने कोसिस गरिरहेको छु । उहाँको केही गल्ती छैन, तर अरुको कुरा सुन्नुहुँदैनथ्यो । मैले रियासाजीलाई फेरि आउँ पनि भनें । उहाँले ‘कोसिसा नगर्नु दाइ म आउँदिनँ’ भन्नुभयो । जबरजस्ती गर्ने कुरा पनि भएन ।

    उहाँ धेरै मिस हुन्छ । पहिले सबै चिज एक्लै गरेको थिएँ । बीचमा रियासाजी जोडिनुभयो । कार्यक्रममा दुवैजनालाई बोलाउने भइसक्याथ्यो । मलाई एक्लै नबोलाउने जस्तो भइसक्याथ्यो । अहिले पनि मलाई मात्रै बोलाउँदैनन्, उहाँ नै चाहिन्छ । मलाई के असर पर्‍यो भने उहाँविना म त रहेनछु । मेरो कलाकारिता नै सकिएको, करिअर नै सकिएको फिल हुन्छ । पहिले एक्लै बाँचेको थिएँ । एक्लै पैसा कमाएको थिएँ । परिवारलाई खुशी बनाएको थिएँ । अहिले त उहाँबाहेक मेरो कलाकारिता नै छैन भन्ने फिल भएको छ । के मेरो जिन्दगी छैन ? रियासाजीसँग मात्रै मेरो करिअर हो र ?

    अहिले दुनियाँको गाली मैले खाली प¥या छ । कति सुन्नु गाली । मैलेमात्रै जवाफ दिनुपर्ने ? उहाँलाई ल्याएर सोध्नुस् न यो कुरा । उहाँबाहेकको पनि मेरो होला नि कलाकारिता ! म त अब फेरि जिरो लेभलबाट उठ्नुपर्ने भएको छ ।

    मैले त सोच्या थिएँ, रियासाजीलाई बैनी बनाउँछु । उहाँलाई तिहारमा टीका लगाउनुपर्‍यो तपाईं र म भनेर धेरैचोटि भन्या पनि छु । मैले बाटो मोडें भने उहाँले सम्झाउनुहुन्थ्यो । मैले जग्गा किन्दाखेरि पनि उहाँले पैसा हाल्दिनुभएको हो । अहिलेसम्म ऋण तिरेको छैन । उहाँले ‘दाइ तपाईंलाई आवश्यक छ, मलाई ४-५ महिना पैसा नदिनू, जग्गा किन्नू’ भन्नुभएको थियो । नत्र म कसरी जग्गा किन्न सक्थें । उहाँले मलाई दाइ भनेर यति साथ दिनुहुन्थ्यो । नराम्रो बाटोमा लाग्दा सम्झाउनुहुन्थ्यो ।

    उहाँले एकपटक फोन गरेर फेरि जोडिउँ भन्नुभयो भने म त यति खुशी भएर ल्याउँछु उहाँलाई । फूलमाला लगाएर स्वागत गर्छु । तहल्का पिट्ने तरिकाले ल्याउँछु । अझै केही बिग्रेको छैन । म बोलाको बोलाइ छु । उहाँलाई स्वागत गर्न आतुर छु, तर उहाँ आइदिनुहुन्न भने मैले के गर्ने ?

    ‘गाह्रो छ’ अहिले आफ्नै तरिकाले अगाडि बढाइरहेको छु । रियासाजीको दर्शक नआउनुभएको होला । मेरा दर्शक त हुनुहुन्छ नि ! मलाई पनि माया गर्ने दर्शकका लागि मेहनत गरिराख्या छु । मलाई बुझिदिनुस् । मलाई पहिलेको जत्तिको माया दिनुस् । मेरो पनि करिअर छ । मर्ने बेलासम्म पनि भटभटेको डाइलग बोलेर मर्न पाउँ जस्तो लाग्छ ।

    पुतली क्यारेक्टरमा अर्को कलाकार ल्याउन मिल्दैन । त्यो क्यारेक्टर उहाँको सम्पत्ति हो । अरु क्यारेक्टर आउला । पुतली सदाको लागि सकिएको छैन । सास रहेसम्म आस रहन्छ । अब चाहिँ उहाँकै हातमा छ, तर उहाँको ठाउँमा कोही आउन सक्दैन ।

    अहिले म त अभिभावकविहीन छु । रियासाजी मलाई सल्लाह दिने गर्नुहुन्थ्यो । बहिनी जस्तो लाग्छ । अहिले सल्लाह दिने कोही छैन । आफ्नो कुरामा आफैंंले डिसिजन गर्दै हिँड्छु ।

    हाम्रो अहिलेसम्म झगडा पर्‍या छैन । अहिले पनि फोनमा कुरा भइराख्छ । अस्ति भर्खर डेढ घन्टा कुरा भयो । दाइ केही समय पर्खिनु, म व्यवहार मिलाउँछु भन्नुभएको छ । छोरी मान्छेको समस्या छोरा मान्छेले बुझिदिनुपर्छ । म अझै आशावादी छु ।

  • पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक

    पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक

    काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नवअभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । छायांकनअघि नै यो चलचित्रको अनाउन्समेन्ट टिजर रिलिज गरिएको हो ।

    टिजरमा अभिनेता पोखरेल एक व्यक्तिले रक्षा गर्न सङ्घर्ष गरिरहेको रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन् । निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाशलाई चलचित्रमा पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ ।

    पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर चलचित्रमा सुधनसँगै दीपक केसी र चिरायु पौडेललगायतका कलाकारलाई पनि देख्न सकिन्छ।

    चलचित्र ‘डीएनए’लाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । चलचित्रको छायाङ्कन भने आउँदो फागुननमा सुरु गर्ने निर्माण पक्षको योजना छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ । त्यस्तै बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ ।

    चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ । चलचित्रलाई सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्नेछन् । सहायक छायाँकार यज्ञलाल ज्ञवाली हुन् । चलचित्रमा मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ ।

    चलचित्रका मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली तथा चलचित्रका निर्माता कुमार भास्कर हुन् । एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता विकास भण्डारी हुन् ।

  • दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले राखे गिनिज वर्ल्ड रेकर्ड

    दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले राखे गिनिज वर्ल्ड रेकर्ड

    काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन । ४५ वर्षको अभिनय करिअरमा १५६ चलचित्रका ५३७ गीतमा डान्स गरेर उनले आफ्नो गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका हुन् ।

    चिरञ्जीवीलाई अभिनेता आमीर खानले यो अवार्डबाट सम्मान गरेका थिए । आमीरले आफू चिरञ्जीवीको ठूलो फ्यान भएको बताउँदै उनको डान्स मुभ्सको समेत तारिफ गरे ।

    आमीरले भने, ‘यदि तपाईंले उनको कुनै पनि गीत हेर्नुभयो भने उनको हृदय नृत्यमा डुबेको थाहा पाउनुहुनेछ । हामीले उनीबाट नजर हटाउँदैनौं किनभने उनले निकै राम्रो अभिनय गर्छन् ।’

    सन् १९७९ मा फिल्म ‘पुनाधिरल्लु’बाट अभिनय करिअर सुरु गरेका चिरञ्जीवीलाई सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले रातारात सुपरस्टार बनायो । त्यसबेलादेखि उनलाई मेगास्टार चिरञ्जीवीले चिन्ने गरिन्छ।

    ‘पुनाधिरल्लु’बाट अभिनय यात्रा सुरु गरे पनि बापूद्वारा निर्देशित ‘मन वुरी पाण्डाभुलु’ उनको पहिलो रिलिज फिल्म थियो ।

    अभिनयसँगै चिरञ्जीवी राजनीतिमा पनि सक्रिय थिए । सन् २००८ मा आन्ध्र प्रदेश राज्यको दल प्रजा राज्य पार्टीबाट उनले राजनीतिक करिअर थालेका हुन् । पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताएका थिए ।

    सन् २००९ को आमचुनावमा उनको पार्टीले आन्ध्र प्रदेश विधानसभामा २९४ मध्ये १८ सीट जितेको थियो । अहिले भने उनी राजनीतिमा सक्रिय छैनन् ।

  • राजु लामाले ल्याए ‘प्रेम रोग’

    राजु लामाले ल्याए ‘प्रेम रोग’

    काठमाडौं । गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत बजारमा ल्याएका हुन् ।

    राजुकै शब्द र संगीत रहेको गीतको भिडियोमा उनकै अभिनय छ । उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन् । गीतको भिडियो निर्देशन पनि सोनम पाख्रिनले नै गरेका हुन् ।

    गीतले संगीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन् । ‘यो इलेक्ट्रोनिक डान्स म्युजिक हो । गीतले युवतीसँग गहिरो प्रेममा रहेको एक युवकको कथा भन्छ’, उनले भने, ‘नयाँ स्वाद दिने प्रयत्न गरेको छु । दर्शकश्रोताले अपनत्व लिएर सुन्छन् र हेर्छन् भन्ने मेरो विश्वास छ ।’

  • हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक सार्वजनिक

    हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक सार्वजनिक

    काठमाडौं । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

    विन्दवासिनी क्रियसनद्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् । ‘नौ डाँडापारि’, ‘मंगलसूत्र’ आदि चलचित्र निर्माण गरेका निर्माता अधिकारी करिब १५ वर्षपछि फेरि चलचित्र निर्माणमा फर्किएका हुन् ।

    सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टीम ढुक्क छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

    नवीन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चार जना पात्रलाई प्राथमिकता दिइएको छ । स्कुटीमा बसिरहेकी युवतीलाई ३ युवाले तानातान गर्दै गरेको देखाइएको छ ।

    चलचित्रको फर्स्टलुकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिन प्रदर्शनमा आउनेछ । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।

    चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाईं, पिटर प्रिन्स, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउन्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

    चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

  • आमिर खानको छोरा थिइनँ भने ‘महाराज’मा अभिनय गर्न पाउँदिनँ थिएँ: जुनैद खान

    आमिर खानको छोरा थिइनँ भने ‘महाराज’मा अभिनय गर्न पाउँदिनँ थिएँ: जुनैद खान

    काठमाडौं । बलिउड अभिनेता आमिर खानको छोरा जुनैद खानले फिल्म ‘महाराज’मार्फत् बलिउडमा डेब्यु गरे । नेटफ्लिक्समा रिलिज भएको यस फिल्मबाट जुनैदले तारिफ पनि बटुले ।

    अहिले आएर भने ‘महाराज’ फिल्म पिता आमिर खानको कारण आफूलाई मिलेको खुलासा गरेका छन् । यदि आमिरको छोरा नभएको भए यस फिल्ममा काम गर्ने अवसर आफूले सायदै पाउने उनले बताएका छन् ।

    भारतीय टिभी च्यानल एनडीटिभीसँगको अन्तवार्ताका क्रममा उनले भनेका छन्, ‘म यो कुरा स्वीकार गर्छु कि यदि म आमिर खानको छोरा थिइनँ भने सायद मैले ‘महाराज’मा अभिनय गर्न पाउँदिनँ थिएँ ।’

    जुनैदको अन्तर्वार्ता सार्वजनिक भएपछि सामाजिक संजालमा उनको प्रशंसा भइरहेको छ । अन्तर्वार्ताका क्रममा उनले केही फिल्महरुमा अडिसन दिए पनि फाइनलसम्म पुग्न नसकेको बताएका छन् ।

    उनले ‘लालसिंह चड्डा’का लागि पनि अडिसन दिएका थिए । आमिर खानले जुनैदको तारिफ पनि गरेका थिए । तर, ठूलो बजेटको फिल्म भएकाले नयाँ अनुहारसँग काम गर्ने जोखिम निर्माताहरुले लिएनन् ।

  • ‘खर्च दशैंलाई’ गीत लिएर आए लोकप्रिय गायक घमेश दुलालको टिम

    ‘खर्च दशैंलाई’ गीत लिएर आए लोकप्रिय गायक घमेश दुलालको टिम

    काठमाडौं । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैंलाई’ सार्वजनिक भएको छ ।

    गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् ।

    लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशक भन्दा बढि नै गुमनाम हुन पुगेका थिए । उनका शुभचिन्तहरुको मनमा लागेको थियो कि अब घमेश दुलालका नयाँ गीत आउने छैनन् भनेर । तर पछि गायक दुलाल फेरि दमदार गीत वनमा खयर लिएर शुभचिन्तहरु माझ फर्किए ।

    उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएको छ ।

    उनै गायक दुलालले स्रोता तथा दर्शक माझ फेरि दशैंको कोशेली खर्च दशैलाई लिएर आएका छन् । जसमा स्वर गायक घमेश दुलाल र स्थायी घर लमजुङ्ग र हाल काठमाडौंमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाइरहेकी स्वरकी धनी शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ ।

    त्यसैगरी गित संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गितकार तथा निर्देशक साजन पराजुली जसले लेखेका दर्जन भन्दा बढी गित बजारमा लोकप्रिय छन् । छाति चिरी हेर सानु,दुबो झै जीवन, मोनालिसा, साथ छोड्यो छायाँले, दशैं आयो जस्ता दर्जनौ गित दर्शकले रुचाएका छन् । उनै गितकार तथा निर्देशक साजन पराजुली निकै राम्रो शब्द यस गीतमा रहेको छ ।

    गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा अब्बल संगीतकारको रुपमा छवि बनाएका संगीतकार हुन् सुफिक्स मदन । संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने सुफिक्सद्वारा संगीत गरिएका गनगन, गगन द्द, सेतो सेतो कमेरो माटो , लाग्छ माया लाग्दैन भन्दिन ,आउँछ झल्को , शखर चिनि ,धानको चामल चामलको कनिका लागायत सयौं गीत बजारमा आएका छन्। जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको छ ।

    गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युके को रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ । गितको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।

    लाउ चेलि सिन्दुर लाउ, हुँदैन सुन पित्तल गालेर जस्ता चर्चित गितमा दमदार अभिनय गरिसकेका मोडल हिराकाजी सेञ्चुरी र सञ्चार क्षेत्रमा निकै लामो समय देखि काम गरिरहेकी सञ्चारकर्मी तथा भर्खरै अभिनय तथा मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी संगिता अधिकारीको निकै राम्रो अभिनय रहेको छ । त्यस्तै गितमा भिम बगाले, मनोज केशी लगाएत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ ।

    एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रा. लि. द्वारा निमार्ण गरिएको उक्त “खर्च दशैंलाई” बोलको गीत गायक घमेश दुलालको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

  • ‘सरापे गीत’ को सफलताले बाबुल गिरी हर्षित, आलोचनाबारे के भन्छन् ?

    ‘सरापे गीत’ को सफलताले बाबुल गिरी हर्षित, आलोचनाबारे के भन्छन् ?

    काठमाडौं । अहिले सामाजिक सञ्जालमा ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप सङ’ निकै चर्चामा छ । रिलिजलगत्तै भाइरल बनेको गीतमा युवा–युवतीहरु मच्चीमच्ची टिकटक र रिल्स बनाइरहेका छन् । प्रेमी वा प्रेमिकाहरुबाट धोका पाएकाहरुका लागि त यो गीत मानौं ‘वरदान’ नै भयो । धोका पाएकाहरुले धोका दिनेमाथि झ्वाँक पोख्न यही गीतको प्रयोग गरिरहेका छन् ।

    गीतमा कतिपयले आलोचना पनि गरेका छन् । ‘यस्तो गालीगलौज पनि गीत हुन्छ ?’ भन्ने कतिपयको टिप्पणी छ, तर यस्ता टिप्पणी र विवादले पनि गीतलाई थप भाइरल हुन मद्दत मिलेको छ भन्दा फरक नपर्ला । गीतको युट्युबमा भ्यूज २५ लाख पुग्न आँटिसकेको छ ।

    यो गीतका सर्जक बाबुल गिरी यतिबेला गदगद छन् । दीपकराज गिरीको टीमसँग उनको यो दोस्रो सहकार्य हो । यसअघि ‘छक्का पञ्जा–४’ मा उनले गाएको र संगीत भरेको ‘सिरुपाते जुँगामा’ बोलको गीत हिट भएको थियो । त्यही गीतको सफलताले उनी डिमान्डेड भए । अहिले ‘छक्का पञ्जा ५’ को गीत भने उनी आफैंले लेखेका हुन् । कम्पोजिसन र आवाज पनि उनैको हो । गायकीमा दीपाश्री निरौलाले साथ दिएकी छन् ।

    गीतमा यति धेरै प्रतिक्रिया आउनु नै ठूलो कुरा भएको बताउँछन् बाबुल । उनी भन्छन्, ‘सकारात्मक, नकारात्मक जस्तो प्रतिक्रिया आए पनि राम्रो हो ।’

    गीतको रचना गर्भका विषयमा उनी हामीसँग यसरी खुले ।

    यो गीत तयार गर्दा मलाई गाली चाहिँ गर्न सक्छन् भन्ने नै थियो, तर गीतले भने जस्तै भावना त मान्छेको हुन्छ नि ! यही भावनालाई गीत बनाइदिए कस्तो होला भन्ने लागिरहेको थियो । किनभने गालीमात्रै गरेको, झगडामात्रै गरेका कुरा सञ्जालमा आइरहेका हुन्छन् । बरु यसलाई गीतै बनाइदिन पाए अरुभन्दा फरक हुन्छ कि भन्ने लागेर लेखिएको हो ।

    गीत बनाएपछि दीपकराज गिरी दाइलाई पठाइदिएँ । फिल्ममा त म्याच हुँदैन होला, यस्तै टाइपको छ भन्ठानेर पठाइदिएकोमात्रै थिएँ । अरु गीतकारका गीत पनि पठाएँ । दाजुले ‘हुन्छ, म सुन्छु’ भन्नुभएको थियो । अनि यो ‘ब्रेकअप सङ’ चाहिँ ‘रमाइलोको लागि है दाइ’ भनेर पठाएको थिएँ ।

    तीन दिनपछि दाजुले बिहानै कल गरेर भन्नुभयो, ‘भाइ मलाई त यो ‘सरापे गीत’ पो राम्रो लाग्यो त । अलि फरक पारा पनि छ । फरकपन नै खोजेको हो खासमा ।’

    त्यसपछि केही शब्द चाहिँ दाइले आफैं करेक्सन गर्नुभयो । विशेष गरेर दोस्रो अन्तराको एक–दुई शब्द मिलेर करेक्सन गर्‍यौं ।

    यसरी छाँटकाँट गरेर मीठो बनाएको हो । यो गीतमा शब्दहरु त अझै घनघोर ‘सरापे’ थिए । कडा खालका सरापलाई छाँटकाँट गरेर मिलाएर अलिअलि राख्यौं ।

    – सामाजिक सञ्जालमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । त्यसलाई कसरी लिइरहनुभएको छ ?

    अब देख्दै नदेखेको कुरालाई कसैले केही पनि भन्दैन । आकाशमा जून नलागेको दिन कसैले केही भन्दैन । जून लागेको दिन ‘आधा रछ’, ‘कति सानो भएको आज’, ‘त्यो जूनलाई बादलले छेक्यो’, ‘यो जूनमा किन बीचमा दाग देखिएको होला’ भनेर कमेन्ट गर्छन् । कतिले राम्रो देख्छन्, कतिले नराम्रो देख्छन् ।

    – कतिपय मान्छेले यो त गीतै भएन समेत भनिरहेका छन् नि ?

    ‘म तिमीविना बाँच्न सक्दिनँ’ भन्दा गीत हुने । त्यो पनि गीत हो र ? दुःखेसो पोखेको होइन ? गीतमा यस्तो दुःख पोख्ने हो ? आलापविलाप गर्ने हो ? यस्तो पनि गीत हुन्छ भनेर हुन्छ त ? हुँदैन नि त ! ‘मेरी माया तिमी कति राम्री’ भनेर तारिफ गर्दा चाहिँ गीत हुने । ‘मलाई छाडेर जाने धोकेबाज तिमी’ भन्दा गीत हुने । अनि तारिफ गरेको मान्छेले छाडेर गएपछि सराप्दा चाहिँ गीत नहुने भन्ने कुरो होइन । अहिलेसम्म यसरी सरापेर कसैले पनि गीत निकाल्नुभएको थिएन, अब झट्टै एकपल्ट सुन्दा कतिलाई अनौठो नै लाग्नसक्छ । यो गीत अनौठोलाग्दो नै छ ।

    गीतमा सरापेकै छ । अब नकारात्मक प्रतिक्रिया दिनुहुनेहरुले पनि सराप्दै, मजा लिँदै लेखिरहनुभएको होला । सबैको भावना फरक हुन्छ । कति जना तपाईंलाई मनपर्छ । कति जना मलाई मनपर्छ । तपाईंलाई मनपर्ने मलाई मन पर्दैन । मलाई मनपर्ने तपाईंलाई मनपर्दैन । तपाईंलाई राम्रो लागेको शब्द मलाई नराम्रो लाग्छ । तपाईंलाई ठीकै लागेको शब्द मलाई झनै आहा लागिरहेको हुन्छ । मेरो मनको भाव त सञ्जालमा पोख्न पाइहालें नि ! उहाँहरुले गाली गर्नुभो भन्दैमा हामी निराश हुनुपर्ने कुरा नै छैन । मैले गीतमा सरापेको देख्दा कतिलाई कति सरापेको होला जस्तो लाग्छ । कतिलाई चाहिँ मैले सरापेको देख्दा ‘म भए झनै सराप्थेँ’ जस्तो पनि लाग्न सक्छ नि !

    एउटा धोका खाएको मान्छेले उसको मनको भाव त पोखेको हो नि ! महिलालाई मात्रै टार्गेट गरेर भनिएको छ र ? त्यो त छैन । यो केटाले गाउँदाखेरि पो महिलालाई भने जस्तो हो त ! केटीले गाउँदा केटालाई भन्ला । यो मेल भर्सन भएको कारणले अलिकति केटीलाई सरापेको जस्तो लागेको हो । केटीले गाउँदा यसैलाई उल्टो पारेर पनि सोच्नुपर्‍यो नि त ! कति जना केटीहरुले नै केटाहरुलाई सपिङ गरिदिनुभएको हुन्छ । केटाहरुले छाडेर गएको हुन्छ त्यसो गर्दा पनि । अनि त्यो अर्थमा गाउँदा कुरो उही त हुन्छ नि ! यहाँ हर कुरामा लिंग विभेद गर्न पाइँदैन ।

    – यो गीत दीपाश्री निरौलाले नै गाउनुको कारण के हो ? राम्रा गायिकाहरु थिएन त ?

    उहाँलाई नै गाउन दिनुमा कारण त केही थिएन । यो गीत पहिल्यै रेकर्ड भइसकेको थियो । गीतमा पुरुषको आवाजमात्रै थियो । तर, पछि फिल्ममा कन्सेप्ट बदलिएपछि उहाँलाई गाउन दिइएको हो । यदि गीत धेरै राम्रोसँग गाउनुपर्ने भएको भए अन्य गायिकाहरु पनि थिएनन् होलान्, तर दीपाश्रीको आवाज पनि कम मीठो छैन नि ! उहाँकै आवाज मीठो छ भनेपछि किन अरुलाई गाउन लगाउने भन्ने भयो ।

    उहाँले गाीत गाएको भन्दा पनि भिडियोमा अभिनय गरेको जस्तो देखिन्छ । पात्रको अनुभूतिअनुसार अभिनय गराउँदा गीत म्याच भएको पनि छ । अनि एकपटक गाइ हेरौं भनेर कोसिस गर्दा उहाँले दमदार गाउनुभयो । अनि उहाँकै स्वरलाई फाइनल गरिएको हो ।

    – युट्युबमा गायिका दीपाश्रीको नाम त छैन नि ?

    अब नामहरु मैले राख्ने होइन । उहाँहरुले राख्ने कुरा हो ।

    – यो गीत तपाईंको जीवनसँग कतिको मेल खान्छ ?

    एउटा सत्य भनुँ, म संगीतमा लागेदेखि बिहान ९ बजेदेखि रातिसम्म स्टुडियोमा हुन्छु । मैले अहिलेसम्म रेकर्डिङमा बाहेक कुनै केटीसँग बसेर १० रुपैयाँको चिया पनि खाएको छैन । यो गीत त मैले कल्पना गरेर लेखेको हो ।

    – यो गीत यसरी भाइरल हुन्छ जस्तो तपाईंलाई लागेको थियो ?

    एक्स्ट्रा टाइपको भएपछि कि गाली खाइन्छ कि त माया खाइन्छ भन्ने हुन्छ । एउटा त भइहाल्छ नि !

  • धीरज–उपासनाकाे  ‘खुस्मा’ ले कस्ताे गर्दैछ व्यापार ?

    धीरज–उपासनाकाे ‘खुस्मा’ ले कस्ताे गर्दैछ व्यापार ?

    काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ले बक्स अफिसमा राम्रो व्यापार गरेको दावी गरिएकाे छ ।

    शुक्रबार सिनेमाको व्यापार बिहीबारको तुलनामा केही कमजोर बनेकाे थियाे । शनिबार पुनः राम्रो व्यापार गरेको निर्माण पक्षकाे भनाइ छ ।  शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो ।

    वितरक गोविन्द शाहीले सिनेमाले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा राम्राे व्यापार गरेको बताए । शाहीका अनुसार सिनेमाले मोफलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो । काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाहीले बताए । सिनेमाका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

    प्रदर्शनरत सिनेमा ‘खुस्मा’मा दर्शकहरूले आफ्नो कामलाई रुचाएको भन्दै अभिनेता धिरज मगर खुसी देखिए । ‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो सिनेमा ‘खुस्मा’ हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने ।

    अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट ‘खुस्मा’लाई सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् ।

    ‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ’, उनले खुसी हुँदै भनिन्, ‘जसरी हामीले सिनेमाको कथा भन्ने प्रयास गरेका छौं, त्यसलाई दर्शकले रुचाइदिनु भएकाले पनि धेरै खुसी लागेको छ । कतिले त सिनेमाको सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यो नै हाम्रो सिनेमाको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ ।’

  • एलओडीमा आउँदै अमेरिकी र्‍यापर लिल पम्प

    एलओडीमा आउँदै अमेरिकी र्‍यापर लिल पम्प

    काठमाडौं । अमेरिकी चर्चित र्‍यापर लिल पम्प नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा यही असोज १६ गते (अक्टोबर २) मा हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् । उनको सबैभन्दा बढी चर्चित गीत ‘गुजी ग्याङ’ रहेको छ ।

    एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा क्लबले शुःल्क लिने व्यवस्था गरेको छ । भीआईपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

    भीआईपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले खल्ती एप्सबाट टिकट खरिद गर्नसक्ने सिंहले बताए ।

    यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड, अर्मान मल्लिक, इण्डियन आइडल पवनदीप, लक्की अली, बाबा सेहगललगायतका गायकहरूले एलओडीमा प्रस्तुति दिइसकेका छन् ।

    एलओडी ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डीजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । यूकेस्थित डीजे म्यागले छनोट गर्ने सन् २०२४ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा रहेको हो ।

  • ‘खुस्मा’ : माओवादी जनयुद्धलाई फरक कोणबाट हेर्ने चस्मा

    ‘खुस्मा’ : माओवादी जनयुद्धलाई फरक कोणबाट हेर्ने चस्मा

    काठमाडौं । गएको भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेर सम्बोधन गरेपछि माओवादी केन्द्रले अपत्ति जनायो । एमाले-माओवादीबीच लामो समयसम्म ‘हिंसा’ शब्दमा आरोप-प्रत्यारोपसमेत चल्यो ।
    माओवादी सशस्त्र विद्रोहलाई ‘हिंसा’ भन्ने वा नभन्ने, बहसको छुट्टै विषय भयो, तर अहिले हलहरुमा सशस्त्र विद्रोह उत्कर्षमा हुँदाखेरिको प्रेम कथामा फिल्म ‘खुस्मा’ चलिरहेको छ । सशस्त्र विद्रोहको केन्द्रमध्ये एक रुकुमको तकसेराका एक परिवारको कथालाई फिल्ममा टिपिएको छ ।

    तकसेराको स्कुलमा पढाइरहेका एक शिक्षक र उसकी श्रीमतीका दुई छोरा छन् । दुईमध्ये जेठो छोरा जेमी (धिरज मगर)को प्रेम कथामा ‘खुस्मा’ तयार गरिएको छ । तटस्थ रुपमा आफ्नो जीवनयापन गरिरहेको परिवार न राज्य पक्षधर न त माओवादी पक्षधर हो । उनीहरु आफ्नै तरिकाले दैनिक जीवन चलाइरहेका हुन्छन् । यही परिवारलाई राज्य पक्ष र विद्रोही पक्षद्वारा कसरी हताहती बनाइन्छ, ‘खुस्मा’मा देखाएको छ ।

    सामान्य जीवन बाँचिरहेको परिवारमा राज्य र विद्रोही दुवै पक्षबाट बन्दुक तेर्स्याइन्छ । ती बन्दुकको गोली छलेर परिवारका सदस्य खोजिरहेका पात्रको कथा हो ‘खुस्मा’ । जेमी र खुस्माको प्रेममा सबैभन्दा पहिला खुस्माकै साइनो लाग्ने व्यक्ति फुपूको छोरा आइपुग्छ । मगर जातिमा फुपू-चेलाको विवाह प्रचलनमा छ । मामाको छोरीमा चेलीको छोराको हक लाग्ने प्रचलन छ । त्यही प्रचलनअनुसार खुस्मामाथि फुपूको छोराको आँखा लाग्छ, तर खुस्माको मनमा भने जेमी हुन्छ ।

    फुपूको छोरालाई जसोतसो झेलेर जेमी-खुस्माको विवाह हुन्छ । विवाहपछि माओवादी विद्रोही र राज्य पक्षका सिपाहीहरुको पेलानमा खुस्माको परिवार पर्छ । माओवादी विद्रोहीले लिएरै जाने भएपछि जेमी विदेश लाग्छ, तर विदेश हिँडेका जेमी सम्पर्कविहीन हुन्छ । विदेश जाँदा बाटोमै हराएका जेमीको खोजीमा निस्किएकी खुस्माको कथा हो यो फिल्म । यो यात्रामा खुस्माले भोगेका आरोह-अवरोहलाई फिल्ममा देखाइएको छ ।

    दश वर्षे सशस्त्र विद्रोहमाथि बनेका फिल्महरुमध्ये ‘खुस्मा’ अलिकति पृथक छ । किनभने अधिकांश फिल्महरुमा कि राज्य पक्षको ज्यादती देखाइएको छ कि त विद्रोही पक्षका । ‘खुस्मा’मा भने दुवै पक्षतिर नलागेका, साधारण जीवनयापन गरिरहेका परिवारमा गृहयुद्धले निम्त्याएको दुःख देखाइएको छ । राज्य र विद्रोही दुवै पक्षको ज्यादती देखाइएको छ । यो फिल्मको सबैभन्दा सशक्त पक्ष हो ।

    सशस्त्र द्वन्द्वको समयमा राज्य वा विद्रोही पक्षतिर नलागे पनि द्वन्द्वको चपेटामा परेकाहरु धेरै छन् । कतिपय नागरिकहरु अझै पनि बेपत्ताको सूचीमा छन् । १७ हजार बढीको ज्यान गएको १० वर्षे गृहयुद्धमा हजारौं नागरिक बेपत्ता भएका छन् । राज्य पक्ष र विद्रोही पक्ष दुवैतिरबाट बेपत्ता पारिएका निहत्था नागरिकहरुका आफन्त अझै पनि भेटिएला कि भनेर प्रतीक्षामा बसेका छन् । यिनै विषयलाई समेटेर निर्देशक अशोक थापामगरले ‘खुस्मा’ फिल्म निर्माण गरेका छन्, यो सवल पक्ष हो ।

    फिल्म गृहयुद्धको उत्कर्षको बेलाको हो । फिल्ममा कथाको समय संकेत गर्न निर्देशकले रेडियो बजाएका छन् । जहाँ जाजरकोटको पाँच कटियामा आक्रमण भनेर भनिएको छ । तकसेरामा बजेको रेडियोले ‘पाँच कटिया आक्रमण’बारे बताए पनि यहाँ तथ्य गलत छ ।

    पाँच कटियामा २०५७ साल असार १९ गते आक्रमण भएको थियो । पाँच कटियामा आक्रमण हुनुअगावै तकसेरामा आक्रमण भइसकेको थियो । २०५६ साल चैत २१ गते राति १ बजे तकसेरामा आक्रमण भएको थियो । उक्त आक्रमणमा राज्यतर्फ एक जना इन्स्पेक्टरसहित १३ जनाको मृत्यु भएको थियो । माओवादीतिर दुई जनाको मृत्यु भएको थियो । यसपछि मात्रै जाजरकोट जिल्लाको पाँच कटियामा आक्रमण भएको थियो ।

    यस हिसाबले पाँच कटियामा आक्रमण हुनुपूर्व नै तकसेरामा लडाइँ भइसकेको थियो । यहाँ निर्देशकले गलत तथ्य राखेका छन् । तकसेरा हमलामा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको थियो । फिल्ममा भने तकसेरामा कुनै क्षति देखिँदैन । झनै गाउँलेहरु २०५३/५४ सालतिर जसरी देशमा के हुन लाग्यो भनेर चिन्ता प्रकट गरिबस्छन् । सशस्त्र विद्रोहको केन्द्र रहेको रोल्पा-रुकुमका जनता युद्धबारे जानकार हुनुपर्ने हो, तर फिल्ममा अनभिज्ञ देखाइएको छ ।

    फिल्ममा एक दृश्य छ, जहाँ जनमुक्ति सेना आएर खुस्मालाई जबरजस्ती खाना पकाउन लगाउँछन् । त्यसवेला जनयुद्धको ठूलो टोली हिँड्दा उनीहरु आफंै नै खाना पकाउँथे । छापामारहरु गाउँतिर जाँदा पनि भान्सामा सहयोग गर्थे । कामहरु सघाउँथे । त्यसवेला माओवादीको नीति नै यस्तै थियो, तर फिल्ममा भने त्रास सृजना गरेर सेनाले खुस्मालाई खाना बनाउन लगाउँछन् ।

    अनेक कमजोरीहरुका बावजुद निर्देशक अशोक थापाले ‘खुस्मा’मा बेपत्ता भएको मान्छे आउला कि भनेर कुरिरहेको परिवारको कथा पस्केका छन् । युद्धको नेतृत्व गर्नेहरु पटकपटक शासन सत्तामा पुगे पनि ती परिवारका सदस्यले आफन्तको खबर पाएका छैनन् । आफ्नै नागरिकबारे राज्य बेखबर छ र यो बेखबर राज्यलाई आफन्तको खबर सोधिरहेकाहरुको प्रतिनिधि कथा अशोक थापाले पस्केका छन् ।

    निर्देशकले ‘खुस्मा’मार्फत् २०६२/६३ सालको जनआन्दोलनपछि जन्मिएका पुस्तालाई १० वर्षे सशस्त्र विद्रोह चिहाउने एउटा कोण पनि दिएका छन् । जुन पुस्ता अबको दशक राज्यको हरेक क्षेत्रमा निर्णायक हस्तक्षेप गर्न तयार छ ।

    समग्रमा ‘खुस्मा’ले मगर समुदाय र त्यसको संस्कृतिलाई सुन्दर ढंगले पस्केको छ । सम्पादनमा केही समस्याका बावजुद फिल्मले चुस्त तरिकाले कथा भन्न कोसिस गरेको छ । अनावश्यक लाउड पाश्र्व संगीतका बावजुद फिल्मले निर्दोष परिवारको आँखाबाट १० वर्षे युद्धलाई देखाउन खोजेको छ । तटस्थ रहेको नागरिक राज्य र विद्रोही पक्षबाट कसरी पेलानमा पर्छन् र उनीहरुको हत्या गरिन्छ भनेर फिल्ममा देखाइएको छ । युद्धमा राज्य र विद्रोही पक्षद्वारा बेपत्ता पारिएकाहरुलाई काजकिरिया नगरिकन अझै पनि परिवारका सदस्यले कुरेर बसेका छन् । तिनै परिवारका प्रतिनिधि कथा भन्ने कोसिस ‘खुस्मा’मा गरिएको छ ।