Category: कलाप्रेस

  • सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘रंगी’ को स्क्रिप्ट पूजा

    सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘रंगी’ को स्क्रिप्ट पूजा

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको चलचित्र ‘रंगी’ को स्क्रिप्ट पूजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।

    सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने चलचित्रको स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ भने चलचित्रको छायांकन कार्तिक ५ गतेबाट सुरु हुनेछ ।

    निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

  • धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक

    धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक

    काठमाडौं । लेखकद्वय कृष्ण धारावासी र प्रकाश तिवारीको नवीनतम कृति सार्वजनिक गरिएको छ । धारावासीको आफ्नो जीवनीमा आधारित कृति अर्धकट्टी र तिवारीको उपन्यास ९६ गड्डी सार्वजनिक भएको हो ।

    बुधवार काठमाडौंमा साहित्यकार वैरागी काइँला ,वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्वप्रध्यान्यायधिश गोपाल पराजुलीलले दुवै कृतिको विमोचन गरेका थिए ।

    पैरवी प्रकाशनले प्रकाशन गरेको पुस्तकबारे बोल्दै लेखक धारावासीले आफ्ना जीवनका विभिन्न आयामहरूबारे यसअघिको आधा बाटो र पाण्डुलिपिमा रहेको भन्दै अर्धकट्टी त्यसैको निरन्तरता रहेको बताए ।

    उनले आफ्नो जीवनमा जोडिएका विभिन्न मान्छे घटनाकाबारे कृतिमा उल्लेख गरेको बताए। ‘पुस्तकमा करिब २ हजार व्यक्तिहरूको नाम छ। जोसँग म जीवनको यात्रामा जोडिएँ’, उनले भने ।

    त्यसैगरी तिवारीले आफ्नो पुस्तकमा नेपालमा भइरहेको कर्मचारीतन्त्रभित्र हुने भ्रष्ट्राचार विषयले उल्लेख गरेको बताए ।

    ’४६ सालदेखिबाट उपन्यासको कथा सुरू हुन्छ। एउटा व्यक्तिले कसरी धनको लालचमा आफूलाई भ्रष्ट बनाउँछ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु’, उनले भने ।

    दुवै पुस्तकबारे बोल्दै लेखक अमर न्यौपानेले यी कृतीले नेपाली साहित्यमा थप महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    विमोचन कार्यक्रममा विभिन्न तह र तप्कामा बसेर अनवरत काम गरिरहेका साहित्यकार, पत्रकार, अधिवक्ता, न्यायाधीशहरूलाई पनि दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

  • बस्नेतको उपन्यास ‘सीमसारा’ सार्वजनिक

    बस्नेतको उपन्यास ‘सीमसारा’ सार्वजनिक

    काठमाडौं । लेखक तथा पत्रकार वसन्त बस्नेतको उपन्यास ‘सीमसारा’ सार्वजनिक भएको छ । फिल्म निर्देशक मीनबहादुर भाम, संगीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले संयुक्त रूपमा लोकार्पण गरे ।

    कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा संगीतकर्मी उज्ज्वल सागरले २० मिनेट लामो पियानो प्रस्तुति दिएका थिए । सरल भाषामा सुललीत ढंगले लेखिएको उपन्यास ‘सीमसारा’ सबै पाठकलाई रुचिकर लाग्ने उज्ज्वल सागरले बताए ।

    उपन्यासमा जानकारी, ज्ञान र बौद्धिकता तीनै थोक पाएको मीन भामले बताए । उनले भने, ‘पात्रहरूको नाम चयन देखेर खुसी लाग्यो । नयाँ नाम भएको पात्रहरू मनपर्यो । उपन्यासको पात्र खुसी हुँदा खुसी भएँ । दुःखी हुँदा दुःखी भएँ । उपन्यासको समाप्तिले झनै सशक्त रूपमा छोयो ।’

    कार्यक्रममा बस्नेत र अस्मिता गौतमले संवाद समेत गरेका थिए । बस्नेतले यो उपन्यास आफूले हृदय निचोरेर लेखेको बताए । यसमा आफूले बाल्यकालमा देखेको र भोगेको कथालाई औपन्यासिकरण गरेको बस्नेतको भनाइ छ ।

    फाइन प्रिन्टले प्रकाशन गरेको बस्नेतको यो दोस्रो उपन्यास हो । यसअघि उनको ‘महाभारा’ उपन्यास प्रकाशित छ भने ‘७२ को विष्मय’ गैरआख्यान सार्वजनिक छ ।

  • जितु नेपालले सार्वजनिक गरे चलचित्र ‘ज्वाइँ साब’ बाट आफ्नो बुढ्यौली लुक्स

    जितु नेपालले सार्वजनिक गरे चलचित्र ‘ज्वाइँ साब’ बाट आफ्नो बुढ्यौली लुक्स

    काठमाडौं । कलाकार जितु नेपालको प्रमुख भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिजको तयारीमा छ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको पोस्टर, टिजर र गीत पनि रिलिज भइसकेका छन् ।

    यही मेसोमा जितुले आफ्नो बुढ्यौली गेटअपको पोस्टर आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रुपमा चित्रण गरिएको छ ।

    जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ । उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे भने निर्माण पक्षले केही खुलाएको छैन ।

    जितु यतिबेला चलचित्रको प्रोमोसनमा व्यस्त छन् । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा वसन्त निरौलाको निर्देशन छ । चलचित्रमा जितु नेपालका अलावा निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

     

  • १६ वर्षपछि पर्दामा देखिए सफल जाेडी निरुता सिंह र उत्तम प्रधान (भिडिओ)

    १६ वर्षपछि पर्दामा देखिए सफल जाेडी निरुता सिंह र उत्तम प्रधान (भिडिओ)

    काठमाडौं । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान कुनै बेलाका सुपरहिट जोडी हुन् । नेपाली चलचित्र क्षेत्रमा यी दुईको जोडीलाई दर्शकले लामो समय साथ दिए पनि । निरन्तर सक्रिय रहेर चलचित्रमा काम गरिरहेका यी दुई बीचमा गयल भए । अहिले पुनः यो जोडी ब्याक भएको छ । सफल चलचित्रहरुमा काम गरिसकेको यो जोडी १६ वर्षपछि पुनः पर्दामा सँगै देखिएका छन् ।

    यी दुईले अभिनय गरेको ‘यो जुनी यस्तै भो’ म्युजिक भिडिओ सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यी दुई अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा रचनाकार बबी लिम्बूको स्वर छ। उनले आफ्नो स्वर्गीय श्रीमानलाई समर्पित गर्दै गीतका शब्दहरु कोरेकी छन् ।

    गीतमाा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ । गीतको भिडियो भावुक बनेको छ । मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय पनि देख्न सकिन्छ ।

    ‘दर्पण छायाँ’ निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यमा ‘यो जुनी’ भिडियो सार्वजनिक गरिएको हो । निर्देशक घिमिरेले कार्यक्रममा बोल्दै भिडियो मार्मिक र मन छुने बनेको प्रतिक्रिया दिएका छन् ।

  • ‘बेहुली फ्रम मेघौली’ ले पायो ३३५ शो, अहिलेसम्मकै उच्च संख्या भएको दाबी

    ‘बेहुली फ्रम मेघौली’ ले पायो ३३५ शो, अहिलेसम्मकै उच्च संख्या भएको दाबी

    काठामडौं । भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले नेपालमा अहिलेसम्मकै उच्च शो प्राप्त गरेको दाबी गरिएको छ । वितरक अशोक शर्माले यस चलचित्रलाई काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स ता सिंगल थिएटरमा ३३५ शो मिलेको जानकारी दिए ।

    गीत र ट्रेलर हिट भएकाले यो चलचित्रलाई लिएर प्रदर्शकहरुमा पनि उत्साह छ । तर, बाढी-पहिरोको प्रकोप र अझै वर्षाको सम्भावनाका कारण चलचित्रको व्यापार प्रभावित बन्न सक्ने स्थितिलाई नकार्न सकिँदैन ।

    यो साता अर्को कुनै बलियो चलचित्र रिलिज नभएकाले बेहुली फ्रम मेघौलीलाई अत्यधिक शो मिलेको हो । यद्यपि, यस चलचित्रले पहिलो सातामै भरपुर विजनेस गर्नुपर्छ । दोस्रो सातामा एकैपटक छक्कापञ्जा ५, ज्वाईं साब र १२ गाउँ रिलिज हुँदैछन् ।

    स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको चलचित्रमा उनीहरुकै मुख्य भूमिका रहेको छ । सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।

  • ‘ज्वाईं साब’ को प्रदर्शन रोक्न माग गर्दै उजुरी, विकास बोर्ड भन्छ- चलचित्रसँग असम्वन्धित विवाद

    ‘ज्वाईं साब’ को प्रदर्शन रोक्न माग गर्दै उजुरी, विकास बोर्ड भन्छ- चलचित्रसँग असम्वन्धित विवाद

    काठमाडौं । प्रदर्शनको संघारमा रहेका दुई चलचित्र रोक्न माग गर्दै चलचित्र विकास बोर्ड र निर्माता संघमा उजुरी परेको छ । उजुरीकर्ताले आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको दावी गरेका छन् ।

    नरेन्द्रबहादुर नेम्वाङ नामका व्यक्तिले दिएको उजुरीमा रकम कहिले दिएको भन्ने उल्लेख छैन । उनले मौसम फिल्म्स प्रालीका तर्फबाट चलचित्र ‘निलकाँडा’ मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने शर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको बताएका छन् ।

    पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर उक्त चेक बाउन्स भएको उनको अर्को दावी छ । आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको उजुरीमा जनाइएको छ ।

    ‘मलाई ठगी गरी सो रकमले अर्कै चलचित्र ज्वाईंसाब र देववाणी निर्माण गरी हाल प्रदर्शनोन्मुख रहेको हुँदा मेरो माथि उल्लेखित रकमको कानुन बमोजिमको व्याज तथा चरित्र अभिनय समावेश गर्ने भनि सम्झौता गरिएकोमा सो समावेश नगरिँदा मेरो ख्यातिमा पुग्न गएको क्षतिको क्षतिपूर्ती समेत दिलाई भराई चलनसमेत चलाई पाउन उक्त चलचित्रहरुको प्रदर्शन र अन्य कार्यहरु तत्काल रोकी पाउन सादर निवेदन गर्दछु ।’

    आफूलाई मौसम फिल्म्स प्रालिकी मिनादेवी खड्काले दिएको चेक नसाटिएको भन्दै त्यसको प्रतिलिपी उनले संलग्न गरेका छन् । तर, यस विषयमा विकास बोर्डले बुझ्दा उजुरीमा उल्लेखित विवरणहरु वास्तविकताभन्दा फरक रहेको पाइएको छ ।

    नेम्वाङले आजभन्दा ८ वर्ष अगाडि निर्माण हुन लागेको चलचित्र ‘निलकाँडा’ मा अभिनय गर्नका लागि निर्देशक दिनेशराज शर्मालाई १० लाख रुपैयाँ बुझाएका थिए । उक्त चलचित्रको आधाउधि सुटिङ पनि भएको थियो । तर, चलचित्र निर्माण पूरा हुन सकेन । निर्माताको पैसा डुबाइदिएर निर्देशक शर्मा वेपत्ता भए । १० लाख तिरेर भए पनि फिल्म खेल्ने नेम्वाङको सपना अधुरो रह्यो ।

    ‘निलकाँडा’ मा लगानी गरेकी मिनादेवी खड्कालाई नाताले नेम्वाङकी दिदी पर्छिन् । उनीहरुबीच पहिलेदेखिको लेनदेन कारोवार रहेको बुझिएको छ । पुरानो व्यक्तिगत लेनदेनलाई अहिले नेम्वाङले चलचित्रसँग जोड्न खोजेको विकास बोर्ड स्रोतले बतायो ।

    बसन्त निरौला निर्देशित ज्वाईं सा’बमा मिनादेवीको पनि लगानी देखिन्छ । उनी चलचित्रका तीन निर्मातामध्ये एक हुन् । यद्यपि, मिनाका छोरा मौसम खड्काले चलचित्रबाट आफूहरुले हात झिकिसकेको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘यो चलचित्रमा हामी संलग्न छैनौं । त्यो पुरानो लेनदेनको विषय हो । ८ वर्षपछि आएर मामाले अहिले किन उजुरी दिनुभयो थाहा भएन ।’

    विकास बोर्ड स्रोतका अनुसार ‘मौसम फिल्म्स’ स्थापना हुनुभन्दा ४ वर्ष अगाडि नै उक्त लेनदेन भएको थियो । त्यसैले यो चलचित्रसँग असम्वन्धित विवाद रहेको निस्कर्ष बोर्डले निकालेको छ । ‘चलचित्रसँग सम्बन्धित नरहेको देखिएपछि थप कारवाही भएन,’ स्रोतले भन्यो ।

    ज्वाईंसाब आगामी २४ असोजमा रिलिज हुँदैछ । अर्को चलचित्र देववाणी भने मंसिर ७ मा रिलिज डेट घोषणा गरिएको छ । देववाणीमा पनि मिनादेवीको लगानी छ ।

     

  • एलिना भन्छिन्- साथीलाई विश्वास गरेर सुनाउँदा ब्रेकअपको न्यूज बाहिर आयो

    एलिना भन्छिन्- साथीलाई विश्वास गरेर सुनाउँदा ब्रेकअपको न्यूज बाहिर आयो

    काठमाडौं । कहिल्यै चर्चा र गसिपबाट बाहिर नहुने गायिकाभन्दा पनि फरक पर्दैन एलिना चौहानलाई । कहिले प्रोफेसनल त कहिले निजी जीवनका विषयहरुले उनलाई निरन्तर गसिपमा तानिरहेका हुन्छन् ।

    प्रेमी विष्णु सापकोटासँग बिहे गरेर अस्ट्रेलिया गएपछि केही समय उनको चर्चा अलिकति सेलाएको थियो । चर्चामात्र नभएर करिअर पनि सेलाउन थालेको टीकाटिप्पणी सुरु भयो, तर अहिले फेरि एलिना नेपाल फर्केकी छन् । विभिन्न मिडियाहरुमा उनको ताजा अन्तर्वार्ताहरु हेर्न पाइन्छ ।

    पछिल्लो पटक एलिनाका चर्चा ओशो तपोवनमा ध्यान गर्न गएको विषयलाई लिएर भयो । उनले दीक्षा लिएकोदेखि तपोवनभित्र डान्स गरेका भिडिओहरु सामाजिक सञ्जालमा भाइरल भए । कतिले चाहिँ बिहे गरेको एक वर्ष नपुग्दै एलिना किन यसरी अध्यात्मतिर तानिइन् भनेर कौतुहल पनि राखे । एलिनाले भने आफू ‘खुशी’ को खोजीमा यो मार्गमा लागेको बयान दिएकी छन् ।

    एलिना आफूमाथि उठेका कन्ट्रोभर्सीहरुबारे बोल्न हिच्किचाउँदिनन् । अहिले आएका विभिन्न अन्तर्वार्तामा उनले आफ्नो प्रेम र विवाहका विषयमा खुलेर बोलेकी छन् । विवाह हुनुभन्दा केही समय अगाडि आएको ‘ब्रेकअप न्यूज’ को विषयमा पनि उनको नयाँ प्रष्टीकरण आएको छ ।

    पछिल्लो एक अन्तर्वार्तामा एलिनाले मिडियामा आएको ‘ब्रेकअप न्यूज’ सत्य रहेको स्वीकारोक्ति व्यक्त गरिन् । आफूले कुनै साथीलाई ट्रस्ट गरेर सुनाउँदा उसले मिडियामा ल्याइदिएको एलिनाको गुनासो छ ।

    उनले भनिन्, ‘यस्तो न्यूजहरु कसरी आउँछ त ? साथीबाटै आएको हो, मलाई थाहा छ । किनभने मैले कसैलाई ट्रस्ट गरेर केही कुरा सेयर गरें, उसले बाहिर भन्दियो । म आफैंले मिडियालाई ल लेख्दिनुस् त भन्दिनँ होला, आफैं गाली खाने गरी । कसै न कसैले त दिएरै हो ।’

    ‘त्यहाँनेर के लेखेको थियो भने स्रोतका अनुसार… । त्यो स्रोत को हो त ? नखोजेको मैले । खोजेर के गर्ने ? थाहा भयो भने बेकारमा आफैंलाई तनाव हुन्छ । हत्तेरी भने जस्तो हुन्छ । लौ त गरिखाओस्, स्रोतको भलो होस् भनेर छाडिदिएको ।’

    भनेपछि बीचमा ब्रेकअप चैं भएकै थियो भन्ने प्रश्नमा एलिनाले अलिकति घुमाउरो जवाफ दिइन् ।

    ‘भन्दैछु त । हाम्रो भइराख्थ्यो, भइराख्छ, बुझ्नुभएन ? त्यो नेचुरल कुरा हो । जसको पनि हुन्छ । हामी चैं अलि लामो समयसम्म नबोलिकन बसेका थियाैं । त्यही आवेशमा आएर मैले कसैलाई पीडा पोखें होला । हेर न यस्तो भो भनेर । उसले भन्द्यो । उसलाई स्योर भयो होला कि यिनीहरु अब मिल्नेवाला छैनन्, यिनीहरुको फाइनल ब्रेकअप हो भन्ने भयो होला । अनि भन्दिए ।’

    एलिनाले आफ्नो गीत हिट गराउन ‘ब्रेकअप’ को फन्डा गरेको आरोप पनि कतिपयले लगाएका थिए । यो आरोपलाई उनले नकारिन् ।

    ‘यो बेकारको कुरा हो । ‘कट्टा हान्दिन्छु’ सँगै अरु १५ वटा गीत आएका थिए । सबै किन चलेनन् त ? गीतमा केही नयाँ युनिक चिज भए चल्ने हो । धोकेबाज भन्ने विष्णुलाई नभेटिकन गाएको हुँ । कसरी रिलेटेड भयो त ? कस्तो हास उठ्छ न्यूज देखेर । आफ्नै जीवनमा मेल खाने गीत गाइन् भनेर आइराथ्यो’, एलिनाले भनिन् ।

    पैसाका लागि र अस्ट्रेलिया सेटल हुन विष्णुसँग बिहे गरेको भन्ने आरोपलाई पनि उनले खण्डन गरिन् ।

    एलिनाले भनिन्, ‘पैसा म कमाउँदिनँ र ? अस्ट्रेलिया किन जानुपर्‍यो म ? यही रंगीचंगी छ । विष्णुलाई मैले निःस्वार्थ माया गरेको हो । मैले नै उसलाई फलो गरेको हो । म लक्की फिल गर्छु कि माया गरेको मान्छेलाई बिहे गर्न पाएँ । त्यो सबैको भाग्यमा हुँदैन । पैसा हेर्ने भए अरु पनि थिए होलान् । अरुलाई पनि हेर्न सकिन्थ्यो होला । ब्रेकअप भएको थियो नि त बीचमा । त्यसपछि अर्को पैसावाला हेर्थे होला । पैसासैसा म्याटर गर्दैन । मैले आफैंले कमाइसक्या छु । मैले जिन्दगीमा थाहा पाएको छु कि पैसाले खुशी किन्न सकिन्न । उसले कमाएको छ, त्यो राम्रो हो । हामी बराबर कमाउँछौं । म चाहें भने जुन देश पनि जानसक्छु । अमेरिका गएर उहीँ लुक्नसक्छु । केटा चाहिन्छ र ?’

  • मिस टिन नेपालमा २० जनाले भाग लिने

    मिस टिन नेपालमा २० जनाले भाग लिने

    काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

    आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।

    मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।

    प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

    विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् ।

  • नाटक मुक्कुमलुङ : सांस्कृतिक अतिक्रमणलाई विकास भन्ने कि विनाश ?

    नाटक मुक्कुमलुङ : सांस्कृतिक अतिक्रमणलाई विकास भन्ने कि विनाश ?

    पछिल्ला केही दिन लगातार परेको झरीका कारण देशैभरि बाढी, पहिरो गयो । सयौंको ज्यान गयो । अरबौं रुपैयाँको क्षति भयो । राजमार्गहरु अवरुद्ध भए । खोलाले बस्तीहरुलाई निमेषभरमै उजाड र खण्डहर बनाए । शहरी विकास विज्ञहरुको भनाइ छ, यसको मुख्य जड भनेको हामीले अपनाइरहेको विकासको मोडल हो ।

    हामीले विकास केलाई भन्यौं ? ठूल्ठूला भौतिक संरचना ठडिनु, पहाडहरुलाई सडक बनाउने नाममा डोजरले जथाभावी कोतर्नुलाई हामीले विकास भन्यौं । रैथाने कला, संस्कृतिलाई मास्नु, रैथाने विश्वास पद्धतिलाई कुल्चिएर ठूल्ठूला कंक्रिट बनाउनुलाई हामीले विकास भन्यौं । आदिवासीहरुको सांस्कृतिक आस्था रहेको चिहानहरु खोतल्नु, उनीहरुको विश्वास रहेको पहाड भत्काउनुलाई हामीले विकास भन्यौं ।

    अहिलेको यक्ष प्रश्न हो, यस्तो किसिमको विकासले हामीलाई कहाँ पुर्याउला ? विकासको नाममा भइरहेको सांस्कृतिक अतिक्रमणलाई विकास भन्ने कि विनाश भन्ने ? यो अतिक्रमणलाई बेलैमा रोक्न नसके आदिवासीहरुको घर त जोगिएला, उनीहरुको विश्वास पद्धति, संस्कार, संस्कृति जोगाउन सकिन्नँ । यही विषयलाई मुखरित गर्दै शिल्पी थिएटरमा, बत्तीसपुतलीमा नाटक ‘मुक्कुमलुङ’ मन्चन भइरहेको छ । पवित्र राईद्धारा निर्देशित यस नाटकले भन्छ, ‘सांस्कृतिक अतिक्रमणलाई हामीले अहिले नै रोक्न सकेनौं भने धेरै ठूलो क्षति व्यहोर्नुपर्नेछ ।’

    पूर्वको ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)मा केवलकार बनाउने परियोजनाविरुद्ध रैथाने समुदायले प्रतिरोध गरिरहेको छ । केवलकार निर्माण गर्न राज्य लागिपरेको छ । केवलकारमार्फत् पर्यटन प्रबद्र्धन हुने र आर्थिक विकास हुने राज्यपक्षको दाबी छ । तर, सांस्कृतिक अतिक्रमण गर्दै गरिएको विकास आफूहरुलाई नचाहिने भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

    यही परिवेशमाथि निर्माण भएको नाटक हो, ‘मु्क्कुमलुङ’ । लिम्बु समुदायको मुन्धुमअनुसार ‘मुक्कुमलुङ’ आस्था र विश्वासको धरोहर हो । पहिलो मानव ‘मुजिङ्ना खेयङ्ना’का छोरा ‘सावा युक्पुङ्गेम्बा’ आफ्नी आमाको सुझाव र निर्देशनअनुसार धनुकाँड, सुनको छेलो र कोचो–तङ्ना, ख्या–तङ्ना, किधि–तङ्ना तथा परा–तङ्ना नाम गरेका चार कुकुर लिएर शिकार खेल्न जंगलपतिर जान्छ । मृगको शिकार खेल्दै जाँदा पहाडको चुलीमा सुनौलो गहनाले सजिएकी एक महिला तान बुन्दै गरेको भेटिन्छिन् । त्यहीबेला उनको कुकुर र खेदाउँदै गरेको मृग हराउँछन् । सावा युक्पुङ्गेम्बाले ती महिला ‘योसुलुङ्मा मुक्कुमलुङ्मा’ भएको थाहा पाउँछन् । उनको मानमनितो गर्छन् । मुक्कुमलुङ्माले हराएको मृग र कुकुरहरु पत्ता लगाउने जुक्ति सिकाउँछिन् ।

    लिम्बु समुदायले यिनै मुन्धुमी महिलाको नाममा पहाडको नाम ‘मुक्कुमलुङ’ राखे । जहाँ निर्माण गर्न खोजिएको केवलकारको विरोध भइरहेको छ । तिनै विरोधहरुको सृजनात्मक प्रतिनिधित्व हो ‘मुक्कुमलुङ’ नाटक ।

    नाटकमा नयाँ पुस्ताले ‘मुक्कुमलुङ’मा निर्माण हुने केवलकारको चर्को विरोध गरिरहेको छ । तीन पुस्ताको कथा समेटेको नाटकले राज्यको एक पक्षीय नीतिविरुद्ध प्रतिरोध मात्रै गर्दैन, सिंगो लिम्बु समुदायको संस्कार, संस्कृति पनि पस्कन्छ । लिम्बु समुदायको रहनसहन, पारिवारिक संरचना पनि नाटकमा देख्न पाइन्छ । पालम, ख्यालीलगायत गीतहरुले नाटकमा मिठास थपेको छ । नाटकको सबैभन्दा सुन्दर पाटो भनेको नव पुस्ताहरुमा भइरहेको सांस्कृतिक पुस्तान्तरण हो ।

    आफ्नै गाइले बाली खाएको झोँकमा रेडियो फुटाउने बासी जोक्स बाहेक मुद्दाको मामलामा नाटक बलियो छ । केही दृश्यहरुमा कलाकारको ओभर एक्टिङबाहेक नाटकले गर्नुपर्ने सृजनात्मक प्रतिरोध सुन्दर ढंगले गरेको छ । एउटा अधबैंसे कविको वरिपरि घुमेर नवपुस्ताले केवलकारको विरोध गर्छ, यो अनावश्यक हो । निर्देशकले कुन मनसायले यस्तो दृश्य राखिन्, त्यो उनैलाई थाहा होला ।

    समग्रमा नाटक हेरिरहँदा आन्दोलनमै सहभागी भएजस्तो महसुस दर्शकलाई हुन्छ । डा. चित्र माबोको कथामा आधरित यस नाटकको नाट्य रुपान्तरण राजन मुकारुङले गरेका हुन् । दीपा सुहाङ, रेअर राई, नुसा लिङ्देन, इन्दिरा नेम्बाङ, रमिला मोक्तान, हिरण राई, सुनु सुनुवार, सायोक मुकारुङलगायत कलाकारको अभिनयले नाटकलाई झनै जीवन्त बनाएको छ । सेट डिजाइन मणि कुलुङ, लाइट डिजाइन/परिचालन संजीप योगी, संगीत परिकल्पना संजीत थुलुङ राईको काम प्रशंसायोग्य छ । असोज २ गतेबाट मन्चन भइरहेको यो नाटक असोज २० गतेसम्म नियमित मन्चन हुनेछ ।

    ०००

  • सेलाइसकेको ‘कन्ट्रोभर्सी’ खोतल्दै स्वस्तिमा: अनमोल र जसितालाई हेर्ने नजरिया बदलियो !

    सेलाइसकेको ‘कन्ट्रोभर्सी’ खोतल्दै स्वस्तिमा: अनमोल र जसितालाई हेर्ने नजरिया बदलियो !

    काठमाडौं । दुई चर्चित नायिका जोडिएको एउटा कन्ट्रोभर्सीले केही महिना अगाडि निकै बजार तताएको थियो । कान्तिपुर टेलिभिजनको ‘इट्स माइ शो’ नामक कार्यक्रममा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी आरएल शाह एवं प्रस्तोता ओसिन सिटौलाले नायक अनमोल केसी र नायिका जसिता गुरुङको चरित्र हत्या हुनेगरी छिचरा प्रश्नोत्तर गरेका थिए ।

    प्रेस काउन्सिलले बारम्बार चेतावनी दिएपछि अन्ततः कान्तिपुर टेलिभिजन उक्त कार्यक्रमका विवादित अंशहरुमा कैंची चलाउन बाध्य भयो । त्यसपछि सेलाएको यो प्रकरणलाई अहिले नायिका स्वस्तिमा खड्काले फेरि खोतल्दै हिँडेकी छन् । आफ्नो नयाँ चलचित्र रिलिजको संघारमा विभिन्न मिडियामा अन्तर्वार्ता दिने क्रममा उनले यो प्रकरणलाई उधिन्दै लगातार अभिव्यक्तिहरु दिएकी हुन् । स्वस्तिमाको अभिव्यक्ति सुन्दा उक्त कन्ट्रोभर्सीलाई लिएर कुनै पनि आत्मग्लानी पाइँदैन । बरु नायिका जसिता गुरुङ र अनमोल केसीप्रति उल्टै असन्तुष्टि व्यक्त गरेकी छन् ।

    ‘मलाई यस्तो कन्ट्रोभर्सी ह्यान्डल कसरी गर्ने भन्ने थाहा छ’, स्वस्तिमा भन्छिन्, ‘त्यतिबेला आएको कमेन्टहरुले मलाई केही पनि फरक परेन । म त सोसल मिडिया नै नचलाइकन ‘चील’मा थिएँ ।’

    उनी थप्छिन्, ‘मेरो लाइफमा खासै अप एन्ड डाउन्ड केही छैन । मेरो कुनै इन्ट्रेस्टिङ स्टोरी नै छैन, तर अब यो स्टोरी सुनाउँदा त रमाइलो हुन्छ नि !’

    कार्यक्रमपछि जसिताको म्यासेज आएको र आफूले ‘सरी’ भनेको स्वस्तिमाको दाबी छ, तर ‘सरी’ भनिसकेपछि पनि जसिता र अनमोलले सामाजिक सञ्जालमा लेखेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । यो घटनापछि जसिता र अनमोललाई हेर्ने नजरिया नै बदलिएको टिप्पणीसमेत गरिन् ।

    ‘उनीहरुले केही दुःखेसो भए मसित आएर भनेको भए हुन्थ्यो । म त्यो पार्ट हटाउन लगाइदिन्थें, तर सोसल मिडियामा लेखेपछि मलाई पनि मतलब लाग्न छोड्यो । त्यसपछि जे-जस्तो कमेन्ट आए पनि वास्ता गरिनँ । मलाई केही पनि ब्याड फिल भएन ।’

    उनको थप भनाइ

    त्यो एपिसोडले ८० हजार भ्यूज हुँदासम्म सबैले प्रशंसा गरिरहेका थिए । एकदम ब्यूटिफुल कमेन्टहरु आइराख्या थिए । मलाई कस्तो राम्रो बोलेको भनेर म्यासेजहरु पनि आए ।

    दुई दिनपछि जसिताले म्यासेज गरिन् । उनको म्यासेज देखेपछि मलाई ‘ओ सिट…मैले बोल्नु नहुने रहेछ’ भन्या जस्तो भयो । त्यसपछि फेरि अनमोलको म्यासेज आयो । फेरि ‘ओ सिट…’ भयो । मैले ओसिनलाई फोन गरेर त्यो पार्ट हटाउन सकिन्छ कि भनें । उनले भोलि अफिसमा कुरा गर्छु नि त भनिन् ।

    तर भोलिपल्ट जसिताले फेसबुकमा नै स्टाटस हालिन् । म आफैं सर्ट आउट गर्थें होला, तर फेसबुकमा हालिसकेपछि भने म ‘बदर’ भइनँ । अब मैले यसलाई अर्कै तरिकाले लिएँ । मतलब नै लागेन । त्यो घटनापछि मेरो अनमोल र जसितालाई हेने नजरिया पनि बदलिएको छ । बीचमा भेटघाट पनि भएको छैन । अनमोलले जन्मदिनमा म्यासेज चैं पठाएको थियो ।

    त्यो इन्टरभ्यूमा प्रदीप खड्का, आना शर्मा, धीरज मगर, आश्मा श्रेष्ठहरुको नाम पनि मैले लिएको थिएँ । उनीहरु पनि रिसाए कि भनेर डर लाग्यो, तर उनीहरुले केही गुनासो गरेनन् । प्रदीपलाई फोन गरें । ऊ पुरै चीलमा थियो । मलाई भन्यो– के भयो त ? डन्ट वरी ! तिमीहरुले रमाइलो गरेको त हो नि ! केही फरक पर्दैन, ‘लभ यू’ भन्यो । धीरजले ‘यो नर्मल हो, टेन्सन नलेउ’ भनेर म्यासेज पठायो । सो स्वीट । आनाले पनि इमोजी पठाइन् । त्यसपछि मन शान्त भयो । थ्याङ्क्स गड, दे आर कुल एबाउट इट भन्ने सोचें ।

    अस्मीको नाम लिएकोमा चाहिँ मलाई अलिकति रिग्रेट भएको थियो । ऊ मेरो एकदम मिल्ने साथी पनि हो । उसले चाहिँ तिम्रो गल्ती होइन, होस्टको गल्ती हो भनेको छ ।

    त्यो घटनाले सामाजिक सञ्जाल तताएपछि म फेसबुक, इन्स्टा सबै बन्द गरेर चीलमा बसें । मलाई केही मिल्ने मान्छेहरुले फोन गरेर सहानुभूति दिन खोजेका थिए, तर मलाई केही असर नै गरेको थिएन । म त चीलमा थिएँ ।

    यस्तो खालको कन्ट्रोभर्सीमा म पहिले पनि आएको हो । त्यो बेला पनि ठूलै रुप लिएको थियो । त्यतिबेला मलाई मानसिक रुपमा ठूलो असर गरेको थियो । यस्तोमा कसरी ह्यान्डल गर्ने भनेर मैले आफूलाई ट्रेन्ड गरिसकेको थिएँ । त्यसैले अहिले चाहिँ मलाई केही पनि फरक परेन ।

    म यस्तो फेस गर्न मानसिक रुपमा तयार नै छु । मलाई कुनै बज्रपात आइलागेको महसुस भएको थिएन । खाली आवद्ध भएका ब्रान्डहरुलाई केही असर पर्छ कि भनेर अलिकति टेन्सन भएकोमात्र थियो, तर ब्रान्डहरु पनि चीलमा थिए ।

    मेरो कसैलाई हर्ट गर्ने इन्टेन्सन थिएन, तर बुली गरेको न्यारेटिभ बन्यो । तथापि मलाई ब्याड फिल भएन । इमानदारीपूर्वक भन्दैछु । म हर्ट हुनुपर्ने केही थिएन । मैले पर्सनल्ली माफी मागिसकेपछि पनि जे जे कुराहरु आए, त्यसका लागि आई एम नट सरी ।

    मलाई एउटा प्वाइन्टमा पुगेपछि रमाइलो पनि लागिराख्या थियो । मलाई थाहा थियो कि हप्ता १० दिनमा मानिसहरुले बिर्सिन्छन् । अब दुई वर्षपछि यो कथा सुनाउँदा रमाइलो हुन्छ ।

  • बाढीका कारण प्रदर्शन रोकिएको चलचित्र ‘सानो संसार’ तिहारअघि चलाइने

    बाढीका कारण प्रदर्शन रोकिएको चलचित्र ‘सानो संसार’ तिहारअघि चलाइने

    काठमाडौं। बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन रोकिएको चलचित्र ‘सानो संसार’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

    यो चलचित्र अब कात्तिक ९ गतेदेखि पुनः प्रदर्शनमा आउने भएको छ।

    गत शुक्रवारबाट रिलिज भएको चलचित्र ‘सानो संसार’ को आइतबारदेखि प्रदर्शन स्थगित गरिएको थियो।

    बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्लेले जानकारी दिएका थिए।

    मध्यमवर्गीय परिवारको कथामा बनेको चलचित्र ‘सानो संसार’लाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन।

    चलचित्रमा चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ।

    उनको अलावा चलचित्रमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।

    अर्जुन कुमारले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन।

  • आफ्नै बन्दुकबाट गोली चलेर गोविन्दा घाइते

    आफ्नै बन्दुकबाट गोली चलेर गोविन्दा घाइते

    काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । तिघ्रामा गोली लागेपछि उनी अस्पताल भर्ना भएका छन् ।

    आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।

    गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको बन्दुक दराजमा थियो । अचानक बन्दुक भूईंमा खसेर पड्कियो । उहाँको तिघ्रामा गोली लाग्यो ।’

    डाक्टरहरुले गोली शरीरबाट निकालिसकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।

  • बाढीपहिरोको कारण ‘आँखा’ को प्रदर्शन स्थगित

    बाढीपहिरोको कारण ‘आँखा’ को प्रदर्शन स्थगित

    काठमाडौं । गत शुक्रबाट रिलिज भएको चलचित्र ‘आँखा’ को प्रदर्शन रोकिएको छ । बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेको बताउँदै निर्माण टीमले सोमबारदेखि चलचित्रको प्रदर्शन रोकेको हो ।

    निर्माता जौन योन्जनले विज्ञप्ति जारी गर्दै प्रदर्शन रोकिएको जानकारी दिएका हुन् ।

    ‘हालको बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण जनमानसलाई आवतजावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म आँखालाई केही समयका लागि प्रदर्शन स्थगित गरेका छौं । यो निर्णयबाट प्रदर्शक र दर्शकलाई परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ’, विज्ञप्तिमा उल्लेख छ ।

    उनले सहज वातावरण भएपछि चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने विज्ञप्तिमा जनाएका छन । यहीँ कारण बताउँदै आइतबारबाट चलचित्र ‘सानो संसार’ को पनि प्रदर्शन रोकिएको थियो ।

    सुकुम्बासी बस्तीको कथामा निर्माण भएको चलचित्र ‘आँखा’ मा जौन योन्जनको निर्माण एवं निर्देशन छ । चलचित्रमा स्मिता लामिछाने र आरके मेहता शीर्ष भूमिकामा छन् भने विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, अभयराज बराल र बाल कलाकार प्रसन राईँले अभिनय गरेका छन् ।

  • एसडी योगी र रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक

    एसडी योगी र रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक

    काठमाडौं । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ’पिङ्की पियारी’ सार्वजनिक भएको छ ।

    विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टाले लेखेका छन् भने सङ्गीतकार एसडी योगी स्वयं रहेका छन् ।

    भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले अभिनयसँगै शानदार नृत्य प्रस्तुत गरेका छन् ।

    भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन् ।

    भिडियोको निर्देशन शान थापाले गरेका छन्, जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

    भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् ।

    मेकअप प्रिया रोक्काले गरेकी छन् भने पहिरनको व्यवस्थापन अनुष्का डिसी र उत्पादन व्यवस्थापन विशाल कार्कीले गरेका छन् ।

    यस गीतको सङ्गीत निर्माण रिकेश गुरुङ ’किज’ले गरेका छन् । रेकर्डिङ र मिक्सिङको सुपरभाइज सागर खड्काले गरेका हुन्, जबकि मिक्स र मास्टरको जिम्मेवारी गायक तथा सङ्गीतकार एसडी योगीले नै सम्हालेका छन् ।

    यो गीत सार्वजनिक भएसँगै, श्रोता तथा दर्शकका लागि आकर्षक उपहार योजना पनि ल्याइएको छ ।

    भिडियोका निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर पोस्ट गर्ने श्रोताहरू मध्ये सर्वाधिक भ्युज प्राप्त गर्ने भाग्यशालीलाई ’युनिक मोबाइल होम एन्ड मर्मत सेन्टर, छिन्चु बजार, सुर्खेत’को तर्फबाट कार्तिक २५ मा एउटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।

     

  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’मा बोलको गीत सार्वजनिक

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’मा बोलको गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । निर्माणपक्षले शनिवार चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

    सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले चलचित्रका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रात होस या बिहान, झरीमा रुझ्दै होस या घाममा टटिँदै गीतले गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ बोलेको छ ।

    गीतमा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ। उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।

    यसअघि, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते बाट रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

    सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता छन। यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरामा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा बोल्छ ।

    चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

    https://youtu.be/vfdz1zMBmNk

  • पासकोडबिनै भारतीय फिल्म चलाउन जबरजस्ति, कानून केलाउँदै विकास बोर्ड

    पासकोडबिनै भारतीय फिल्म चलाउन जबरजस्ति, कानून केलाउँदै विकास बोर्ड

    काठमाडौं । चलचित्र विकास बोर्डको स्थापित नियम उल्लंघन गर्दै एउटा विदेशी चलचित्र नेपालमा लगाउन वितरकले जबरजस्ति गरेका छन् । बोर्डले लिनुपर्ने पासकोर्डबिना नै भारतीय फिल्म `देभरा´ भोलि नेपालमा रिलिज गर्न लागिएको हो ।

    कुनै पनि विदेशी चलचित्र रिलिजपूर्व सेन्सर पासका लागि विकास बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । विकास बोर्डले सेन्सरका लागि अनुमति दिएपश्चात सेन्सर बोर्डले हेरेर सर्टिफिकेट दिन्छ । साथै बोर्डले बक्स अफिसको पासकोड प्रदान गर्छ ।

    अहिले कार्यान्वयनमा रहेको नियमअनुसार बोर्डमा निवेदन आएको कम्तिमा चार दिनपछि मात्रै विदशी चलचित्रले पासकोड प्राप्त गर्छन् । विगतमा भारतीय फिल्म नेपालमा ल्याएलगत्तै प्रक्रिया नपुर्याइ प्रदर्शन गरिहाल्ने परिपाटी बढेपछि यो नियम बनाएर लागू गरिएको हो ।

    भुवन केसी नतृत्वको बोर्डले निर्णय गरेर विदेशी चलचित्रलाई कस्न खोजेको थियो । यद्यपि वितरकहरूले `कुरा मिलाएर´ यो प्रावधानको उल्लंघन गर्दै आएका थिए । हालका बोर्ड अध्यक्ष दिनेश डीसी भने विदेशी चलचित्रप्रति अनावश्यक सदासयता देखाउने पक्षमा छैनन् ।

    `देभरा´ को सेन्सर अनुमतिका लागि हिजो बेलुकी ५ बजे मात्रै निवेदन आइपुगेको थियो । आज बोर्डले कानूनी अध्ययनपश्चात ४ दिनपछि प्रदर्शन गर्ने शर्तमा सेन्सर अनुमति दियो । सेन्सर बोर्डले आजै चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको छ ।

    विकास बोर्डले आइतबार मात्र पासकोर्ड दिने तयारी गरेको छ । तर वितरक र प्रदर्शकले पासकोडबिनै चलचित्रलाई शो टाइममा हुलेका छन् ।

    ४ दिने मापदण्ड उलङ्घन गरेकोमा हुनसक्ने कारवाहीबारे बोर्डले कानूनी अध्ययन गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार यो मापदण्ड ऐनमा उल्लेख नभएको हुँदा कारवाही गर्न असुविधा हुने देखिएको छ ।

    ‘विगतमा बोर्डले नै निर्णय गरेर कार्यान्वयनमा ल्याएको भए पनि ऐनमा समेटिएको छैन । त्यसैले भोलि नै चलचित्र रिलिज गरिएमा के कस्तो कारवाही हुनसक्छ भनेर अध्ययन भइरहेको छ । अध्यक्षले नै यसमा गम्भीर चासो लिनुभएको छ’, स्रोतले भन्यो ।

    यो चलचित्र वितरक निरक पौडेलले नेपालमा भित्र्याएका हुन् । सकेसम्म आजै रिलिज गर्ने उनको प्रयास थियो । त्यसमा भने उनी सफल भएनन् । आज दुई नेपाली चलचित्र आँखा´ र सानो संसार´ रिलिज भएका छन् । कम बजेटका यी दुवै चलचित्रका लागि भाेलि शनिबारकाे व्यापार महत्त्वपूर्ण छ । महंगाे बजेटकाे भारतीय चलचित्र रिलिज हुँदा यी दुवै फिल्मलाई असर गर्नेछ ।

  • अनमोलको ‘जेरी अन टप’ मा माग्नेबुढाको प्रवेश, दीपकराज के भन्छन् ?

    अनमोलको ‘जेरी अन टप’ मा माग्नेबुढाको प्रवेश, दीपकराज के भन्छन् ?

    काठमाडाैं । अनमोल केसी स्टाटर चलचित्र जेरी अन टपमा एउटा ठूलो नामको प्रवेश भएको छ । उनी हुन् केदार घिमिरे उर्फ माग्ने बुढा ।

    छक्कापञ्जा सिरिजबाहेक अरु चलचित्रमा खासै नखेल्ने घिमिरेले जेरी अन टपमा साइन गरेका छन् ।

    चलचित्रमा उनको अहम् भूमिका रहने निर्माण स्रोतले बताएको छ । चलचित्रमा यसअघि नै अनमोलसहित तीन नायिकाहरु जसिता गुरुंग, आँचल शर्मा र सुरक्षा पन्त अनुवन्धित भइसकेका छन् ।

    माग्ने बुढाले छक्कापञ्जा टिमभन्दा बाहिर अभिनय गरेको यो दोस्रो चलचित्र हो । यसअघि उनले पूजा शर्माले निर्माण गरेको रामकहानीमा अभिनय गरेका थिए । सो चलचित्र फ्लप भएको थियो ।

    छक्कापञ्जाका निर्माता दीपकराज गिरीले माग्ने बुढाले जेरी अन टपमा अभिनय गर्न लागेकोमा शुभकामना दिएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘बाहिर हल्ला जे भएता पनि हाम्रो प्रिय भाइ माग्नेले हाम्रो टीमबाहिर भटाभट फिल्महरु गरिरहेका छन् । उनको यो खुशीमा मुरिमुरी शुभकामना ।’

     

  • प्रहरीका प्रवक्ता कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’, दीपाश्री, प्रियंका र सरोजको अभिनय (भिडिओ)

    प्रहरीका प्रवक्ता कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’, दीपाश्री, प्रियंका र सरोजको अभिनय (भिडिओ)

    काठमाडौं । नेपालीहरुको ठूलो चाँड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।

    गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् ।

    करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् । ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ । गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ । नाच्ने खालको गीत बनेकाले यसपटकको दसैँमा दर्शक झुमेर नाच्न पनि सक्छन् ।’

    प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागार गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो ।

    भिडिओः

     

  • चलचित्र ‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्री

    चलचित्र ‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्री

    काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भैरहेको छ । यतिबेला सिनेमाका सार्वजनिक प्रचार सामाग्री टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ राम्रो हाइप बनाएको छ ।

    सिनेमाको अमेरिका राइट्स बिक्री भइसकेको छ । त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो ।

    सिनेमा दशैंको घटस्थापनाबाट नै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।

    सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।