Category: कलाप्रेस

  • रिलिजपूर्व ‘छक्का पञ्जा ५’ लाई गुड न्यूज : ब्रेकअप गीतले कटायो करोड भ्यूज

    रिलिजपूर्व ‘छक्का पञ्जा ५’ लाई गुड न्यूज : ब्रेकअप गीतले कटायो करोड भ्यूज

    काठमाडाैं । सामाजिक सञ्जालको लखेटाइमा परिरहेको चलचित्र ‘छक्का पञ्जा ५’ ले रिलिजपूर्व एउटा ‘गुड न्यूज’ पाएको छ ।

    चलचित्रको चर्चित ‘ब्रेकअप गीत’ लाई १९ दिनमै एक करोडपटक हेरिएको छ ।

    गत सेप्टेम्बर १८ मा रिलिज भएलगत्तै यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    गीतका प्रत्येक अंशहरुमा लाखौं टिकटक भिडिओहरु बनाइएका छन् । यो क्रम अहिले पनि जारी छ । बच्चादेखि बुढासम्मले ब्रेकअप गीतमा टिकटक बनाउँदै रमाइलो गरिरहेका छन् ।

    प्रेममा धोका पाएकाहरुका लागि त यो गीत मानौं ‘वरदान’ नै भएको छ । प्रेमी/प्रेमिकाप्रति रिस र कुण्ठा पोख्न उनीहरुले यो गीतको सहारा लिएका छन् ।

    बाबुल गिरीले सिर्जना गरेको गीतमा बाबुल र दिपाश्री निरौलाले आवाज दिएका छन् । गीतका केही शब्दहरुमाथि विवाद पनि सिर्जना भएको थियो ।

    तर, बहुसंख्यक दर्शक/स्रोतले गीत मन पराए । युट्यूवमा झण्डै ६ हजार कमेन्टहरु आइसकेका छन् । अधिकांस सकारात्मक प्रतिक्रियाहरु नै छन् ।

    ‘छक्का पञ्जा ५’ को अर्को ‘गीत बिहे भाको छैन’ पनि राम्रै चलिरहेको छ । यो गीतलाई अहिलेसम्म ७२ लाखपटक हेरिएको छ । चलचित्रको ट्रेलरले भने उत्साहजनक प्रतिक्रिया पाउन सकेन ।

    सामान्यतया गीतको सफलताले फिल्मको व्यापारलाई बलियो टेवा पुर्याउने गर्छन् । गीतकै बलमा फिल्म हिट भएका उदाहरण पनि छन् । त्यसमाथि छक्कापञ्जा आफैंमा बलियो र सफल ब्रान्ड हो ।

    असोज २४ गते छक्कापञ्जा ५ रिलिज हुँदैछ । यही मितिमा थप दुई फिल्म ज्वाईंसाब र १२ गाउँ पनि रिलिज हुनेवाला छन् । रिलिजपूर्व सामाजिक सञ्जालमा १२ गाउँको क्रेज व्यापक देखिन्छ । तर, हलमा पुग्दा कुन चलचित्रले बाजी मार्ला यसै भन्न सकिन्न ।

  • ‘बेहुली फ्रम मेघौली’को क्लीप सामाजिक सञ्जालमा लिक भएपछि निश्चल बस्नेतले दिए साइबर ब्यूरोमा उजुरी

    ‘बेहुली फ्रम मेघौली’को क्लीप सामाजिक सञ्जालमा लिक भएपछि निश्चल बस्नेतले दिए साइबर ब्यूरोमा उजुरी

    काठमाडौं । आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्यहरु सामाजिक संजालमा छ्याप्छ्याप्ती भएपछि चलचित्र निर्माता तथा अभिनेता निश्चल बस्नेत साइबर ब्यूरो पुगेका छन् ।

    उनले सोमवार चलचित्रको महत्वपूर्ण दृष्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कारबाही गर्न भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

    साइबर ब्युरोमा उजुरी दिएपछि उनले आफ्नो सामाजिक संजालमा पनि स्टाट्स हालेका छन् । स्टाट्समा उनले लेखेका छन्, ‘यदि हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा हाल्नुभएको छ भने तपाईको एकाउन्ट बन्द हुनेछ । बौद्धिक सम्पत्ति चोरी नगर्न सबैमा अनुरोध छ । कानूनी प्रक्रिया अगाडि बढिसकेको सबैलाइ जानकारी दिन चाहन्छु ।’

    ’पाईरेसी अपराध भएको बताउँदै उनले साईबर ब्युरोलाई धन्यवादसमेत दिएका छन् ।

    घटस्थापनाको अवसर पारेर असोज १७ गतेबाट रिलिज भएको यो चलचित्रले यतिबेला बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । चलचित्रले गीत दिनमा २ करोड २५ लाखको ग्रस कलेक्सन गरेको छ । भने चलचित्र अहिले पनि हलहरुमा सुखद अकुपेन्सीका साथ प्रर्दशन भइरहेको छ ।

     

  • ‘दशैं आयो गुञ्जिरहँदा मेरै संगीत हो जस्तो लाग्दैन’ (भिडियो)

    ‘दशैं आयो गुञ्जिरहँदा मेरै संगीत हो जस्तो लाग्दैन’ (भिडियो)

    काठमाडौं ।
    चरिररि चरिररि रै..
    वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
    नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
    हो… दशैं आयो, हो… दशैं आयो
    कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा
    कति राम्री देखिन्छ्यौ बरि लै जमरा र रातो टीकैमा

    दशैं गीत भन्नासाथ धेरैको जिब्रोमा यी शब्दहरु झुण्डिन्छन् । दशैं आगमनको जनाउ घण्टी जस्तो यो गीत हरेकको घरघरमा बजेकै हुन्छ । यो गीत सुनेर दशैंको सम्झनामा रमाउने परदेशीहरु भेटिन्छन् । यही गीत बजाउँदै उल्लासका साथ घर फिरिरहेकाहरु पनि भेटिन्छन् ।

    जनजिब्रोमा झुण्डिएको यो गीतको पूर्वकथा थाहा पाउन २०६० सालमा पुग्नुपर्ने हुन्छ ।

    आजभन्दा २१ वर्ष अगाडि नेपाली फिल्म ‘मुगलान’ निर्माण हुँदै थियो । फिल्मको निर्माता थिए शेखर कोइराला र किशोर खनाल । निर्देशक थिए दिवंगत शिव रेग्मी । अफिस थियो बिजुलीबजारमा । एक दिन रेग्मीले बोलाएर संगीतकार सुरेश अधिकारीलाई भने, ‘यो फिल्ममा तिमीले संगीत गर ।’

    अधिकारी संगीत गर्न तयार भए । फिल्ममा गीतहरुको विविधता थियो । दोहोरी गीत थियो, ‘गाईलाई चराउँदै’ । एकल नृत्य गीत थियो, ‘आज बाह्रहाते पटुकी’ । वियोगान्त गीत थियो, ‘पिठ्युमा स्याउलाको भारी बोकी’ । युगल गीत थियो, ‘मखमली पछ्यौरीले सानु’ र पर्व गीत थियो, ‘दशैं आयो’ ।

    रेग्मीसँग अधिकारीले ‘हामी तीन भाइ’ फिल्ममा काम गरेका थिए । ‘हामी तीन भाइ’मा शम्भुजीत बाँसकोटाको संगीत थियो । सुटिङ पनि सकिएको थियो । तैपनि एक दिन रेग्मीले अधिकारीलाई भने, ‘तिम्रो केही न केही राख्नुपर्‍यो ।’

    अधिकारीले पनि कुनै गीतको ब्याकग्राउन्ड बनाउने वचन दिए र एउटा टुक्रा बनाइदिए, ‘म धरतीको धूलो, तिमी ठूलो मान्छे बन्नु है ।’

    ‘तर संगीतकारमा मेरो नाम नराख्नुहोला, शम्भुजीत दाइले गरिसक्नु भएको छ । बरु गीतमा पाश्र्वको रुपमा म आफैं गाइदिन्छु । मलाई पारिश्रमिक पनि पर्दैन भनें’, अधिकारी सुनाउँछन्, ‘मैले पारिश्रमिक पनि लिएन । मलाई यसै पनि शिव रेग्मी दाइ एकदमै मनपर्ने निर्देशक ।’

    रेग्मीले अधिकारीलाई भन्थे, ‘हेर सुरेश, हरेक कुराको सीमा छ, तर हामी स्रष्टा यति भाग्यमानी हौं कि सृजनाको कुनै पनि सीमा छैन । कस्तो सृजना गर्न सक्छौ, गर । यति भएपछि रामो भयो भने पनि त्योभन्दा अझै धेरै गर्नसक्छौ ।’

    ‘मुगलान’ रेग्मी-अधिकारीको पहिलो सहकार्य थियो । फिल्म सुपरहिट भयो २०६१ सालमा । फिल्ममा गीतहरु जति थिए, सबै हिट भए । अधिकारी सुनाउँछन्, ‘यो दशैंका गीत चाहिँ फेस्टिभ होला कि नहोला भन्ने अर्को चुनौती थियो ।’

    यो गीतको म्युजिक ट्र्याकको निर्माण अधिकारीले नेपालमै गरे । गीतमा स्वर चाहिँ फेस्टिभ चाहियो । कसको स्वर फेस्टिभ छ त ? अधिकारीलाई उदितनारायण झाको जतिको फेस्टिभ स्वर अरुको लागेन । ‘अनि म उदित दाइकै स्वर चाहिन्छ भन्ने लागेपछि बम्बै गएँ । उहाँको स्वरमा रेकर्ड गरें ।’

    गीतमा झाको अलावा जुना प्रसाईं, दीपानारायण झा र नारायण लामाको समेत स्वर छ । धेरै कलाकारको स्वर हुनुको मूल कारण नै फेस्टिभ गीत हो । फेस्टिभ गीत एकजनाले गाएको भन्दा समूहले गाएकै राम्रो सुनिने अधिकारी बताउँछन् । यो गीतको एरेन्ज अमूल कार्कीले गरेका थिए ।

    अहिले पनि कतै यो गीत बजिरहँदा अधिकारीलाई आफूले कम्पोज गरेको गीत जस्तो लाग्दैन । भन्छन्, ‘यो गीत सुनिरहँदा मेरो कम्पोज हो जस्तो लाग्दैन । कतिपय गीत यस्ता हुन्छन्, जुन कहाँ हो कहाँ सुनेको जस्तो लाग्छ । सुनिसकेपछि ए साँच्ची, यो त मैले कम्पोज गरेको भन्ने हुन्छ ।’

    यो गीत निर्माणमा तीन लाख लगानी लागेको अधिकारीको भनाइ छ । अनि यो गीतको शब्द चाहिँ अधिकारीकहाँ कसरी आइपुग्यो त ? गीतकारको नाममा लोकनाथ सापकोटा छ । अधिकारी भने यो गीत रेग्मी आफैंले लेखेर दिएको बताउँछन् । उनका अनुसार यो गीतका केही शब्द अधिकारी र रेग्मीले करेक्सनसमेत गरेका थिए ।

    ‘पछि के थाहा पाएँ भने फिल्म प्रदर्शन हुनु अगाडि प्रतिलिपि अधिकारको कार्यालयमा शिव रेग्मीले गीत चोरी गरेको भनेर उजुरी परेछ । यदि गीतकारमा आफ्नो नाम नराखे लफडा गर्ने धम्की आएपछि उहाँले आफ्नो नाम हटाएर लोकनाथको नाम राख्नुभएको कुरा धेरै पछि थाहा पाएँ’, अधिकारी सम्झिँदै भन्छन्, ‘शिव रेग्मी दाइले कसैको गीत चोरी गर्नुभएको थिएन । पोखरातिरको हलमा एकजना भाइले यस्तो दशैं गीत लेखेको छु भनेर शब्द दिएका थिएछन्, तर शब्द राम्रो नभएकाले दाइले कतै थन्काउनुभएछ । पछि शिव दाइले आफैंले लेखेर गीत बनाएपछि उहाँलाई ब्ल्याकमेलिङ गरियो भन्ने सुनेको थिएँ । फिल्मको प्रदर्शन नै रोकिदिन्छु भनेपछि शिव दाइले उहाँकै नाम होस् भनेर छाडिदिनुभएको रे ! अहिले पो मान्छेहरु जानाजान कन्ट्रोभर्सीमा पर्छन् । त्यसवेला कन्ट्रोभर्सीदेखि सबैजना डराउँथे ।’

    अधिकारी रेग्मीलाई सम्झँदै भन्छन्, ‘उहाँलाई नामको खाँचो थिएन । सृजनामा तलमाथि गर्ने मान्छे पनि होइन । उहाँ आज हुनुहुन्न । जसले पनि बलेको आगो ताप्छन्, तर उहाँ जस्तो निर्देशक फेरि जन्मिऊन् भन्ने चाहन्छु ।’

    रेग्मी-अधिकारीको सहकार्यमा यस्तो अवस्था आयो कि ‘पिठ्युँमा स्याउलाको भारी बोकी’ गीत कस्तो हुनुपर्छ भनेर दुवैबीच मतभेद भए । रेग्मीले भने, ‘यसो गरौं सुरेश, म पनि गीत लेखेर ल्याउँछु । तिमी पनि लेखेर ल्याऊ । अनि कुरा गरौं ।’

    तीनचार दिनपछि अधिकारीले गीत लेखेर बिजुलीबजारको अफिस गए । उनले गीत पनि सुनाए ।

    ‘मैले गीतको शब्द सुनाएपछि शिव दाइले आफूले ल्याएको गीत टुक्राटुक्रा पार्नुभयो । अनि कागजको डल्लो बनाएर मेरो गीत लेऊ भनेर टुक्राहरु दिनुभयो’, अधिकारी भन्छन्, ‘उहाँ सृजनाको सम्मान गर्ने मान्छे हो । अरुको सृजना मारौं भन्ने खालको मान्छे होइन । सच्चा सृजनाकारले अरुको सृजनालाई आफ्नो सृजना कहिल्यै भन्दैन ।’

  • नाजिर र सृष्टिको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

    नाजिर र सृष्टिको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रको पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ ।

    पृष्ठभूमिमा चलचित्रका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन् । सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ ।

    चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।

    चलचित्रमा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

    म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

  • छक्का पञ्जा ५ को ट्रेलर शेयर गर्दै पूजा शर्माले भनिन्- एक/दुई जनाको रिसले धेरैको सपनामा लात्ती नहानौं

    छक्का पञ्जा ५ को ट्रेलर शेयर गर्दै पूजा शर्माले भनिन्- एक/दुई जनाको रिसले धेरैको सपनामा लात्ती नहानौं

    काठ्माडौं । नायिका पूजा शर्माले चलचित्र ‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै सबैलाई मनमा बत्ति बाल्न सुझाव दिएकी छन् । उनले सोमवार आफ्नो सामाजिक संजालमा सानो स्टाटस लेख्दै ‘छक्का पञ्जा ५’को ट्रेलर शेयर गरेकी हुन् ।

    उनले लेखेकी छन्, ‘मन्दिरमा होइन हजुर, मनमा बत्ति बाल्नुहोस । नकारात्मक सोचले हुने केही होइन । सबैको राम्रो सोचम । १,२ जनाको रिसले धेरै जनाको सपनालाइ लात्ती हान्ने काम नगरम ।’

    यही असोज २४ अर्थात् फूलपातीको दिनबाट दीपकराज गिरी एन्ड कम्पनीको ‘छक्का पञ्जा ५’, जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ र विराज भट्टका बाबुछोराको ‘१२ गाउँ’ एकै दिन रिलिज हुन लागेका छन् । यी तीनवटै चलचित्रको चर्चा सामाजिक सञ्जालमा गुमाइरहेको छ । यसमध्ये पनि ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ बीच एकप्रकारको ‘साइबर वार’ नै चलिरहेको देख्न सकिन्छ ।

    ‘१२ गाउँ’ को ट्रेलर आएपछि त झन दर्शकहरुले ‘छक्कापञ्जा ५’ ले यसपटक पानी सम्म भन्न नपाउने विश्लेषण गरिरहेका छन् । सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा ‘१२ गाउँ’ ले ‘छक्का पञ्जा’ लाई कडै टक्कर दिने देखिन्छ । दर्शकहरु १२ गाउँको समर्थनमा लागेपछि छक्कापञ्जालाई निरुत्साहित गर्ने क्रम चलिरहेको छ ।

    यही माहोललाई खण्डन गर्दै नायिका पूजा शर्माले आफ्नो सामाजिक संजालमा उक्त स्टाट्स हालेकी हुन् । केही समय अघिमात्र रिलिज भएको उनी अभिनित तथा निर्मित चलचित्र ‘रावायण’ले रिलिजपूर्व सामाजिक संजालमा राम्रो हाइप बनाए तापनि रिलिजपछि भने बक्स अफिसमा चिप्लिएको थियो ।

  • तीन दिनभित्र एउटै गीतमा एलिनाले बनाइन् २० वटा टिकटक, अभिनय पनि उत्पात !

    तीन दिनभित्र एउटै गीतमा एलिनाले बनाइन् २० वटा टिकटक, अभिनय पनि उत्पात !

    काठमाडौं । फुर्सद धेरै भएर हो कि के हो, गायिका एलिना चौहानले टिकटकमा आफ्नो सक्रियता ह्वात्तै बढाएकी छन् । पछिल्ला दुई दिनमा मात्रै उनले २० वटा टिकटक भिडिओ पोस्ट गरिन्, त्यो पनि एउटै गीतमा ।

    गत शनिबार एलिनाको नयाँ गीत ‘चल्दैन मनमर्जी…’ युट्युबमा रिलिज भएको थियो । ६ लाख ५५ हजार फलोअर्स रहेको उनको आफ्नै च्यानलबाट यो गीत अपलोड भएको हो । प्रेममा घात पाएकी प्रेमिकाको आक्रोश एवं बदलाभाव पोखिएको गीत निकै हृदयस्पर्शी छ र धेरैले मन पराइरहेका छन् ।

    लेखु सहयात्रीकाे रचना र संगीत रहेकाे गीतका केही शब्द यस्ता छन्ः

    म पत्थर फोडेर उम्रेको पिपल
    चुँडाउन सोचे झैं सजिलो छैन ।
    झुक्न त धेरै झुकिसकें म
    तर याद गर म भाँचिएको होइन
    सिन्दूरले सिउँदोमात्र रंगिने रैछ
    जिन्दगानी रंगाउन माया चाहिँदो रहेछ
    तिमी नबने मदन ममात्रै भन किन मुना बनूँ ?
    मलाई पाउको धूलो सोच्नेभा तिम्लाई किन देउता भनूँ ?
    चल्दैन मन मर्जी, अब हुन्न मर्जी
    छोरी मान्छे खेलौना त होइन होइन सर जी !

    गीतको भिडिओ पनि दमदार छ, जसमा पुष्प खड्का र स्मारिका ढकालले अभिनय गरेका छन् । निकेश खड्का निर्देशित भिडिओमा श्रीमानले श्रीमतीमाथि गरेको घरेलु हिंसा र त्यसका विरुद्ध श्रीमतीले लिएको एक्सन देखाइएको छ । यो म्युजिक भिडिओको भ्यूज सुरुमा सुस्त भए पनि अहिले नेपालमा युट्युबको म्युजिक ट्रेन्डिङमा उक्लिएको छ ।

    अब कुरा गरौं एलिनाको टिकटकको । हुन त उनी आफूले गाएको प्रायः गीतहरुमा टिकटक बनाएर हाल्ने गर्छिन्, तर आफैंले लगानी गरेको भएर हो कि यो ‘चल्दैन मनमर्जी…’ गीतमा उनले अति धेरै लगाव देखाएकी छन् । गीतका अंश-अंशमा अभिनय बनाएर घन्टाघन्टामा पोस्ट गरिरहेकी छन् ।

    एलिनाले बनाएका टिकटकहरु पनि हिट भइरहेका छन् । टिकटक भिडिओमा उनको भंगीमा र अभिनय कुनै सिद्धहस्त कलाकारको भन्दा कम देखिँदैन । यी भिडिओहरुलाई धेरैले तारिफ नै गरेका छन् । कतिपयले चाहिँ उनको वास्तविक जीवनसँग पो मेल खान्छ कि भनेर आशंकासमेत गरेका छन् ।

    ‘सिन्दूरले सिउँदोमात्र रंगिने रैछ, जिन्दगानी रंगाउन माया चाहिँदो रैछ…’ बोलको लाइनमा अनुहारमा चोटपटकको मेकअपसहित रुँदै बनाएको भिडिओले एलिनाका कतिपय फ्यानलाई साँच्चिकै चिन्तित बनाएको छ ।

    भिडिओमा एकजनाले लेखेकी छन्, ‘सुन्दर वैवाहिक जीवन बनाउन महिलाको ठूलो भूमिका हुन्छ । आगो र पानी हुनु । यस्ता सामग्री पोस्ट गर्नु हुँदैन ।’

    अर्को कमेन्ट छ, ‘विवाहपछि यो सिस्टर खुशी देखिँदैन के गर्नु । माइतीमा बसेर रमाएको जस्तो कहाँ हुन्छ र अरुको घर अनि अरुको श्रीमती भएपछि ।’

    केहीले चाहिँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । एलिनाको समर्थनमा पनि कमेन्टहरु आएका छन् ।

    एकजनाको कमेन्ट छ, ‘मान्छेहरु कति चियोचर्चाे गर्छन् है । एउटा कलाकार भएपछि जस्तो पनि एक्ट गर्नुपर्छ । रोयो भने के भो ? खुशी भयो भने अब कहिले रुनुपर्छ । उफ कस्तो खालको दुनियाँ हो ।’

    त्यसो त एलिनाको निजी जीवनप्रति दर्शक र मिडियाले पहिल्यैदेखि अत्यधिक चासो राख्ने गरेका छन् । विष्णु सापकोटासँग प्रेम, विछोड र विवाहका प्रसंगले उनी निरन्तर गसिपमा छाइरहिन् । साढे ५ महिना अगाडि विवाहबन्धनमा बाँधिएको यो जोडीबीच खटपट पो आएको हो कि भन्ने चासो र चिन्ता उनका फ्यानहरुमा देखिन्छ । एलिनाका टिकटक भिडिओहरुमा विष्णुले कुनै पनि रियाक्सन नदिनु र विष्णुकै टिकटक भिडिओहरुले पनि फ्यानहरुलाई थप व्यग्र बनाएको छ ।

    विष्णुले आजै ‘छक्कापञ्जा ५’ को चर्चित गीतको यो अंशमा टिकटक भिडिओ बनाएका छन्:

    ‘सोझी थिइ घुसघुसे स्यालै रैछे नि
    मलाई फकाउँथी फकाउँदै चम्पक भइछे नि
    तँलाई सम्पत्तिको स नभाको भिखारीले पाओस्
    मलाई जुत्ती हान्ने खुट्टी तेरा मर्किएर जाओस्
    तँलाई पिठ्यु देखाइ हिँड्ने तेरा ढाडै सड्की जाओस्
    तेरा कहीँ नभाको रुपको खेती धमिराले खाओस्
    मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्

    यो भिडिओको क्याप्सनमा उनले ‘चोरको मनमा चस्को नपरोस् है’ लेख्दै हाँसेको इमोजी राखेका छन् ।

    चार दिनअघि एउटा टिकटक भिडिओ राख्दै विष्णुले लेखेका थिए, ‘मिल्ने भए पुराना दिनमा फर्केर ती गलत निर्णयहरु सच्याउन मन छ ।’

    एलिना र विष्णुले अरुलाई गुमराहमा पार्न सल्लाहमै यस्ता पोस्टहरु गरिरहेको भए बेग्लै कुरा, नत्र यो राम्रो संकेत पक्कै होइन ।

    विवाहलगत्तै श्रीमानसँगै अस्ट्रेलिया भासिएकी एलिना एक महिना अगाडि नेपाल फर्किएकी हुन् । चार महिना अस्ट्रेलियामा बस्दा उनले त्यहीबाट केही गीतहरु रेकर्ड गराएकी थिइन् । तीमध्ये ‘मन परेको मान्छे पाइयो नि’ बोलको गीत राम्रै चल्यो, अरु खासै चलेनन् ।

    दर्शकको भीड अगाडि गाउने एलिनाको तलतल पनि अस्ट्रेलियामा मेटिन सकेन । त्यसैले उनी अहिले नेपालमै बसेर आफ्नो गायन यात्रालाई निरन्तरता दिइरहेकी छन् । योबीचमा थुप्रै युट्युब च्यानलहरुलाई अन्तर्वार्तासमेत दिइन् । उनी केही दिन अगाडि मात्रै ओशो तपोवनमा ध्यान गर्न पुगेकी थिइन् । अब अस्ट्रेलिया कहिले फर्किने भनेर एलिनाले केही बताएकी छैनन् ।

  • ‘ज्वाइँ साब’ ले पायो ‘यू’ सर्टिफिकेट, फिल्म सबै उमेर समूहका दर्शकले हेर्न योग्य

    ‘ज्वाइँ साब’ ले पायो ‘यू’ सर्टिफिकेट, फिल्म सबै उमेर समूहका दर्शकले हेर्न योग्य

    काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनदेखि रिलिज हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘यू’(युनिभर्सल) सर्टिफिकेट पाएको छ । बोर्डले आइतबार साँझ चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो ।

    चलचित्रका निर्देशक वसन्त निरौलाले सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्र हेरेपछि खुशी व्यक्त गरेको बताए ।

    ‘उहाँहरूले फिल्म उत्कृष्ट बनेको छ भनेर हामीलाई बधाई दिनुभयो । उहाँहरूबाट प्राप्त प्रतिक्रियाबाट हामी खुशी छौं’, निर्देशक निरौलाले भने ।

    राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायतका कलाकारको अभिनय छ ।

    रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

    चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • सल्यानका ‘शैक्षिक नायक’ बारे पुस्तक सार्वजनिक

    सल्यानका ‘शैक्षिक नायक’ बारे पुस्तक सार्वजनिक

    काठमाडौं । सल्यानका शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ ।

    ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन् । विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर दसौँ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो ।

    पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संग्रहित छन् । आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे । २०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन् । उनको कोटा राजनीतिक पहुँचदारले पाएका थिए ।

    आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए । सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए । २०४९ मा सल्यानमा पहिलो पटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटविनै गणित र अर्थशास्त्र पढाए । गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे । आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्यहरू हिरो मानेर श्रद्धाले शिर निहुराउँछन् ।

    पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रूपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोविताले व्यहोरेका थिए । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।

  • पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन

    पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन

    बेल्जियम । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन गरिएको छ ।

    आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको सामूहिक विमोचन गरेका हुन् ।

    प्रवासमा रहेर विभिन्न पेशा, व्यवसाय र सामाजिक काम गर्दै आफ्नो जीवन चलाउँदै आएकाहरूको अनुभवलाई पत्रकार गौतमले आफ्नो पुस्तकमा उतारेका छन् ।

    पुस्तक विमोचन गर्दै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा रहेको थियो ।

    पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

    राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद दिए ।

    पुस्तकको बारेमा बोल्दै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा पुस्तकमा समावेश गरिएको बताए । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति उहाँले आभार व्यक्त गरे ।

    पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति ,पारिवारिक अवस्था, वैदेशिक संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको छ ।

    कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका सत्य कथाहरू पुस्तकमा समावेश भएको बताए ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गर्नु उत्कृष्ट काम भएको भन्दै यो पुस्तक अभिलेखका रूपमा रहने बताए ।

  • ३० कट्दा पनि बिहे भएन ? बेहुली फ्रम मेघौली हेरेर शान्त हुनुस् !

    ३० कट्दा पनि बिहे भएन ? बेहुली फ्रम मेघौली हेरेर शान्त हुनुस् !

    काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ले भन्छ- समाजले तोकेको उमेरमै विवाह हुनुपर्छ भन्ने छैन ।

    विवाह नगरेर पनि सुन्दर जीवन बाँचेका मान्छेहरु समाजमा प्रशस्तै भेटिन्छन् । जसले समाजमा निर्णायक भूमिका खेलिरहेका पनि हुन्छन् । त्यसैले व्यक्तिको विवाह उसको नितान्त निजी निर्णय हो, तर परम्परागत नेपाली समाजमा यस्तो तर्क पेस गरेर छुट पाइन्न ।

    नेपाली समाजको चरित्र यस्तो छ, जहाँ परिवार र छरछिमेकसमेत कुनै व्यक्तिको विवाहको निर्णयमा सहभागी भइदिन्छन् । बेहुला कस्तो छ, बेहुली कस्ती छे ? बेहुलाको घरपरिवार कस्तो छ ? बेहुलीको शील स्वभाव कस्तो छ ? केटा र केटी मिलेर घर गरिखान्छन् कि खाँदैनन् ? अन्त्यमा केटा र केटीले एक-अर्कालाई मन पराए कि पराएनन् ? कतिपय सन्दर्भमा त केटाकेटीले एक-अर्कालाई मन पराउने पक्षलाई नै नजरअन्दाज गरिन्छ ।

    विवाहको उपयुक्त उमेर कति हो ? उमेरको निर्धारण पनि नेपाली समाजले गरिदिएको छ । केटीहरुले २५ कटेपछि पारिवारिक र सामाजिक दबाब झेल्न सुरु गर्छन् । अपवादबाहेक त्यो दबाबलाई पन्छाउन सक्ने आँट सबैसित हुँदैन । झनै ३० छोएमा ? दबाब चरमोत्कर्षमा पुग्छ ।

    केटीलाई पारिवारिक र सामाजिक दबाबमात्रै हुँदैन । मानसिक रुपमा पनि उत्तिकै दबाब झेल्नुपरेको हुन्छ । अनि मानसिक दबाबको उपचार के त ? यसका लागि नेपाली समाज तयार भइसकेको छैन सायद । ३० वर्षीया छोरीको विवाह नहुँदा घरपरिवारलाई कस्तो दबाब पर्छ ? छरछिमेकले के भन्छन् ? यिनै विषयलाई समेटेर ३० छुनै लाग्दा विवाहको दबाब झेलिरहेकी केटीको कथामाथि निर्मित ‘बेहुली फ्रम मेघौली’ अहिले हलहरुमा चलिरहेको छ ।

    सात वर्षदेखि अस्ट्रेलियामा भएको प्रेमी निरज (निश्चल बस्नेत)लाई कुरिरहेकी मीना (स्वस्तिमा खड्का)को कथा हो ‘बेहुली फ्रम मेघौली’ । २२ वर्षको हुँदादेखि प्रेम परेकी मीना २९ वर्षकी भइसकेकी छे । विवाह गरेर घरजम गर्ने, अस्ट्रेलियामै सेटल्ड हुने सपना पालेकी मीनाले पढाइ पनि बीचमै छाडेकी छे । जागिर गरेकी छैनन् । जागिर गर्न पनि शैक्षिक योग्यता र अनुभव चाहियो, विवाहको सपना पालेर बसेकी मीनासित हुने कुरै भएन ।

    यसरी सबै ठीकठाकै चलिरहँदा २९ वर्षको उमेरमा आएर निरजले मीनालाई विवाह गर्न मानेन भने के हुन्छ ? एक-अर्काको परिवारले स्वीकार गरिसकेको, निरजको घरमा पनि ओहाेरदोहाेर गरिरहेकी मीनालाई निरजले विवाह गर्न नसक्ने बताउँदा उनले के गर्छिन् ? यिनै प्रश्नहरुको घेरोभित्र निर्माण भएको छ ‘बेहुली फ्रम मेघौली’ ।

    फिल्ममा एक दृश्य छ- जहाँ निरज र मीना संवादका लागि कतै खोला किनारको रेस्टुरेन्टमा बसेका छन् । त्यहाँ जबजब मीनाको दृश्य आउँछ, तबतब पछिल्तिर ब्लरमा भर्खरै विवाह गरेका नवजोडीले फोटोसुट गरिरहेका हुन्छन् । निरजले विवाह तोडे पनि मीनाको दिमागबाट विवाहबाहेक अर्थोक केही छैन भनेर देखाउन यो दृश्य प्रयोग गरिएको छ । यसपछि जब निरजले ‘कुरा नबुझ्ने’ भनेर मीनालाई गाली गर्छ, तब क्यामेरा फनन घुमाइएको छ । फिल्मको यो अर्को सुन्दर दृश्य हो । यो दृश्यले मीनाको मनस्थितिलाई सुन्दर ढंगले देखाएको छ ।

    बाको भूमिका निभाएका लोकेन्द्र लेखकलाई जसरी पनि मीनाको विवाह गरिदिनु छ । उसलाई समाजले यसरी दबाब दिन्छ कि सिर्फ सासमात्रै फेरिरहेको मान्छे भेटे मीनाको विवाह गरिदिने निचोडमा पुग्छन् । मीनाको बावुको चाहना यतिमात्रै हुन्छ कि जसरी हुन्छ मीनाको विवाह गरिदिऊँ ! केटाको बानी व्यवहार कस्तो छ, केटा कतिको जिम्मेवार छ, यसमा बुवालाई मतलब छैन । जम्माजम्मी केटाले विवाह नगरेको हुनुपर्‍यो । किन यस्तो भयो त ऊ ? किनभने समाजले के भन्छ भन्नेतिर मात्रै मीनाको बुवाले ध्यान दियो ।

    फिल्ममा मीनाको सात वर्ष यतिकै बित्छ । न पढ्छिन् न त जागिर गर्छिन् । जम्मा निरजलाई पर्खेर बस्छिन् । हातमा स्मार्ट फोन बोक्ने, थोरै भए पनि दुनियाँमा के भइरहेछ भन्ने जानकारी राख्ने केटी सात-सात वर्षसम्म विवाह होस् भनेर तपजप गरेरमात्रै बस्छिन् त ? पक्कै बस्दिनन् । किनभने जब निरज अर्की केटी इशिता (रक्षा थापा)सित लागेको मीनाले थाहा पाउँछे, निरजको जासुसी सुरु गर्छे ।

    निरज-इशिता गएको रेस्टुरेन्टमा रेकी गर्नेदेखि पण्डितलाई भनेर गलत चिना बनाउनेसम्म गर्छिन् । इशिताको घरमा गएर कुरा लगाउनेदेखि निरजको घरमा समेत अनेक कुरा लगाउने गर्छिन् । त्यति स्मार्ट केटी विवाहको सवालमा किन त्यति निरीह बनिन् ? वा मीनालाई किन निरीह बनाइयो ? दर्शकलाई मीनाको निरीहपना त्यति सुहाउँदो लाग्दैन ।

    मीना, उनकी आमा र हजुरआमालाई ढोकामा थुनेर राखिँदा झ्याल फोडेर मीना भाग्छिन् । हजुरआमाले मीनाकी आमाको मुख थुनिदिन्छिन् । यो अर्को असुहाउँदो दृश्य हो । नवोदित निर्देशकद्वय आकाश बराल र सजन काफ्लेले कतिपय ठाउँमा अनावश्यक सिनेम्याटिक लिबर्टी लिएका छन् ।

    यद्यपि अन्त्यमा समाजले दिने दबाबलाई मीनाले त्यागिदिन्छिन् । मीनाको बुवाले पनि समाजले के भन्छ भनेर सुन्न छाड्छन्, आफ्नै मनको कुरा सुन्छन् र भन्छन्, ‘मेरी छोरीको विवाह गर्ने बेलै भएको छैन ।’

    स्वस्तिमा खड्काले अभिनयमा आफू अब्बल रहेको प्रमाणित गरेकी छन् । लोकेन्द्र लेखकले आफ्नो अभिनय क्षमताको भरपूर प्रयोग गरेका छन् । समग्रमा ‘बेहुली फ्रम मेघौली’मा नवोदित निर्देशकद्वय आकाश बराल र सजन काफ्लेकोे काम प्रशंसायोग्य छ ।

  • ‘दशैं छाेप्न’ आउँदै तीन चलचित्र: कसको ट्रेलर कति दमदार ?

    ‘दशैं छाेप्न’ आउँदै तीन चलचित्र: कसको ट्रेलर कति दमदार ?

    काठमाडौं । दशैं नजिकिएसँगै नेपाली चलचित्रको बजार गुल्जार बन्न थालेको छ । गत बिहीबार रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले दर्शकबाट राम्रो रेस्पोन्स पाइराख्दा असोज २४ अर्थात् फूलपातीमा थप तीन वटा चलचित्र प्रतिस्पर्धामा उत्रिँदैछन् ।

    दीपकराज गिरी एन्ड कम्पनीको ‘छक्कापञ्जा ५’, जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ र विराज भट्टका बाबुछोराको ‘१२ गाउँ’ एकै दिन रिलिज हुन लागेका हुन् । यी तीनवटै चलचित्रको चर्चा सामाजिक सञ्जालमा गर्माइरहेको छ । खासगरी ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ बीच एकप्रकारको ‘साइबर वार’ नै चलिरहेको देख्न सकिन्छ ।

    तीनवटै चलचित्रले गीत र ट्रेलरबाट दर्शकको माया पाइरहेका छन् । ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनराका चलचित्र हुन् भने ‘१२ गाउँ’ एक्सन जनराको हो । दशैंको लामो बिदाको फाइदा उठाउन एउटै डेटमा तीनवटा आशालाग्दा चलचित्र भिडेपछि दर्शक बाँडिने पक्का छ ।

    सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा ‘१२ गाउँ’ ले ‘छक्कापञ्जा’ लाई कडै टक्कर दिने देखिन्छ, तर विश्लेषकहरुको भनाइमा सामाजिक सञ्जालका दर्शक र हल आउने दर्शक फरक हुन्छन् । सामाजिक सञ्जालमा सक्रिय दर्शकहरु नेपाली चलचित्रलाई युट्युबमा पर्खिने र हलमा गएर हेर्ने दर्शकहरुले सामाजिक सञ्जालमा नलेख्ने यथार्थलाई नकार्न सकिन्न ।

    चलचित्रले दर्शकलाई हलसम्म तान्ने एउटा आधार भनेको ट्रेलर पनि हो । ट्रेलर राम्रो लाग्यो भनेमात्र फिल्म हेर्न जाने दर्शकहरु थुप्रै हुन्छन्, तर ट्रेलरले देखाएको आशा हलसम्म पुग्दा निराशामा बदलिने गरेका थुप्रै उदाहरण भेटिन्छ ।

    ‘छक्कापञ्जा ५’ ले रिलिजको ४ दिन अगाडि हिजोमात्रै ट्रेलर सार्वजनिक गर्‍यो । उक्त ट्रेलरले १६ घन्टामा करिब ५ लाख भ्युज पाइसकेको छ । २ हजार ६०० भन्दा बढी प्रतिक्रिया आएका छन् । प्रतिक्रियाहरु हेर्दा चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीभन्दा माग्नेबुढाको बढी क्रेज देखिन्छ ।

    तीन दिन अगाडि रिलिज भएको ‘ज्वाइँ सा’बको ट्रेलरले ६ लाख भ्यूज कटाएको छ । यो चलचित्रले ‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ जस्तो हाइप नपाए तापनि ट्रेलरले सुखद प्रतिक्रिया पाइरहेको छ ।

    यी तीनवटै चलचित्रका ट्रेलर कति अब्बल छन् त ? आउनुस् संक्षिप्त चर्चा गरौं ।

    १२ गाउँ

    नेपालमा मात्र नभएर छिमेकी भारतको भोजपुरी चलचित्रमा पनि ‘एक्सन हिरो’ को छवि बनाएका अभिनेता विराज भट्टले निर्माण/निर्देशन र अभिनय गरेको चलचित्र हो ‘१२ गाउँ’ । यही चलचित्रबाट उनले आफ्नो छोरा समीर भट्टलाई अभिनयमा डेव्यु गराएका छन् ।

    ट्रेलर हेर्दा यो चलचित्रको कथावस्तु यिनै बाबु-छोरामाथि केन्द्रित रहेको देखिन्छ । छोरा समीर भट्टलाई विराजले आफू जस्तै ‘एक्सन स्टार’ को रुपमा प्रोजेक्ट गर्न खोजेका छन् । ट्रेलर हेर्दा यो चलचित्र पूर्ण रुपमा दक्षिण भारतीय चलचित्रबाट प्रभावित देखिन्छ । चलचित्रको विषयवस्तु र कथावाचन शैली दुरुस्तै दक्षिण भारतीय छ ।

    ट्रेलरले चलचित्रको मेकिङ उच्चस्तरको रहेको संकेत गर्छ । विराजले मेकिङमा कुनै पनि कञ्जुस्याइँ गरेका छैनन् । एक्सन सिनमा बाबुछोरा दुवै जमेका छन् । विराजले बोलेको डाइलग ‘चट्ट होइन, चट चट चट…’ ले ट्रेलरलाई उत्कर्षमा पुर्‍याएको छ ।

    विराज पुत्र समीरले एक्सनमा राम्रो सम्भावना देखाएका छन् । त्यसो त यस चलचित्रका लागि उनले सबैखाले तयारी गरेका थिए, जसको परिणाम ट्रेलरमा देखिन्छ । फाइटसँगै डान्समा पनि उनी अब्बल छन् । ट्रेलरको अन्तिममा उनले ‘सिक्स प्याक’ पनि देखाएका छन् ।

    यो चलचित्रमा खट्किएको पक्ष भनेको नेपालीपनको अभाव हो । चलचित्रमा भाषामात्रै नेपाली छ भन्दा अतिशयोक्ति नहोला । कलाकारहरुको संवाद सम्प्रेषणसमेत भारतीय लवजमा छ । कुनै दक्षिण भारतीय चलचित्रलाई नेपालीमा डब गरिएको जस्तो महसुस हुन्छ ।

    पछिल्लो समय नेपालमा ‘एक्सन’ विधा ओझेलमा परिरहेको थियो । सामाजिक तथा हास्यप्रधान चलचित्रले नै बजार पिटिरहेका छन्, तर केही निर्माता/निर्देशकले दक्षिण भारतीय चलचित्रको अन्ध नक्कल गर्ने क्रम पनि सुरु गरेका छन् । यसअघि यही अन्ध नक्कल गर्दा पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रावायण’ बक्स अफिसमा चिप्लियो । जबकि रिलिजपूर्व उक्त चलचित्रले पनि राम्रै हाइप बनाएको थियो । त्यसैले ‘१२ गाउँ’को ट्रेलर हिट हुँदैमा चलचित्र पनि चल्छ भनेर ठोकुवा गर्न सकिन्न । अर्गानिक कन्टेन्टहरुमा रमाइरहेका नेपाली दर्शकलाई यस्तो दक्षिण भारतीय स्वादले अपिल नगर्न पनि सक्छ ।

    ज्वाइँ साब

    नेपालका एक चर्चित कमेडियन जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ अपेक्षित रुपमा कमेडी धारमै बनेको चलचित्र हो । ट्रेलर हेर्दा चलचित्रको विषयवस्तुमा रोचकता र फरकपनको महसुस गर्न सकिन्छ । यद्यपि, कमीकमजोरीहरु पनि छन् ।

    वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा जितुसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायतले अभिनय गरेका छन् । ट्रेलरबाटै कथाको ठूलो हिस्सा एक्सपोज गरिएको छ । नीति शाहले विवाहका लागि युवाहरुबीच खुला प्रतिस्पर्धा गराएको र त्यसमा जितु छनोट भएको देखाइन्छ । सोपश्चात जितुलाई अन्माएर उनले लैजान्छिन् र घरज्वाइँ बनाएर राख्छिन् । ट्रेलरमा नीतिलाई जितुले स्वयम्बर गरेको र अन्माउने बेला दुलाहा रोएको देखाइएको छ । यस्ता दृश्य ट्रेलरमा हेर्दा अस्वाभाविक लागे पनि सिंगो चलचित्र हेर्दा दर्शकले सहज रुपमा लिन पनि सक्छन् ।

    छक्कापञ्जा ५

    दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको ‘छक्कापञ्जा ५’ ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । व्यापारिक रुपमा चलचित्र सुरक्षित भए पनि आफ्नो ब्रान्डको साख गिर्न नदिने चुनौती दीपक-दीपासामु छ ।

    यो समूहको निर्माण ‘छ एकान छ’ बाट हुँदै ‘छक्कापञ्जा ५’ सम्म आइपुगेको हो । सात वटा चलचित्र यो समूहबाट निर्माण भएकोमा सातवटै सुपरहिट भएका छन्, तर यो समूहको एकता भने निरन्तर भत्किइरहेको छ । पहिलो चलचित्रमा दीपकराजसँगै सीताराम कट्टेल धुर्मुस, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, शिवहरि पौडेल, सन्दीप क्षेत्री जस्ता कमेडियनहरु अटाएका थिए, तर अहिले खिइँदै गएर दीपक-दीपासँग ‘माग्ने बुढा’ मात्रै बाँकी छन् । माग्ने बुढाले नै ‘छक्कापञ्जा’ सिरिजको साख धानिरहेको टिप्पणी हुने गरेको छ । यद्यपि सिरिजका मुख्य डिजाइनर दीपकराज नै हुन् ।

    ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरीको जोडीका रुपमा वर्षा शिवाकोटी देखिएकी छन् । ट्रेलरमा लुकाइएको भए अर्कै कुरा, नत्र दीपक, वर्षा र माग्नेबुढाबाहेक यस चलचित्रमा अन्य ठूला नामहरु जोडिएको देखिँदैन । पछिल्लो समय ‘छक्कापञ्जा’ सिरिजका महत्वपूर्ण सदस्यको रुपमा रहेका बुद्धि तामाङ पनि सायद छुटेका छन् ।

    ‘छक्कापञ्जा ५’ को ट्रेलर रिलिजपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया त्यति उत्साहजनक छैनन् । धेरैले ट्रेलरमा खासै नयाँपन नभएको र कौतुहल जगाउन नसकेको टिप्पणी गरेका छन् । माग्नेबुढाको नयाँ गेटअपले अलिकति आकर्षण गरेको भए पनि उनको डाइलग डेलिभरी पुरानै छ ।

    त्यसो त ‘छक्कापञ्जा’ सिरिजले दर्शक तान्न ट्रेलर दमदार भइराख्नु पनि पर्दैन । ठूलो ओपनिङका लागि ब्रान्ड नै काफी छ । कति कमाउँछ भन्ने मात्रै प्रश्न हो । ट्रेलर रिलिजपछिको माहोल हेर्दा यसपालि ‘छक्कापञ्जा’ले धक्का खायो भने पनि आश्चर्य हुनेछैन ।

  • सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक

    सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक

    काठमाडौं । कवि सुरज रानाको कविता संग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक कार्यक्रमका बीचका उपसभामुख इन्दिरा रानामगर, कवि श्रवण मुकारुङ, प्रा.डा.विन्दु शर्मा, लेखक तथा समीक्षक गणेश खनिया र कवि रानाले संयुक्त रुपमा पुस्तको लोकार्पण गरे ।

    लोकार्पण कार्यक्रममा बोल्दै रानाका कविताहरुले आफूलाई असाध्यै छोएको मुकारुङले बताए । उनले भने, ‘सुरजले कवितामार्फत् भन्ने कुराहरुमा व्यंग्य चेत असाध्यै शक्तिशाली छ । सँगै लिम्बुवानको कुरा पनि आएको छ, यो असाध्यै राम्रो कुरा हो ।’

    उनले एउटा राम्रो कवि हुनलाई सबै मान्छेका कथा व्यथा लेख्नुपर्ने बताए । यसमा सुरज सफल भएको मुकारुङको भनाइ थियो । त्यस्तै प्रा।डा। शर्माले रानाको कवितामा मौकिलता भएको उल्लेख गरिन् । उनले भनिन्, ‘उहाँका कवितामा मिथक छ, संस्कृति छ, समाज छ । उहाँका कविताहरुले तर्कहरुको श्रंखला प्रस्तुत गरेर पाठकलाई घत पार्ने गर्छन् ।’

    खनियाँले रानाका कवितामा पहिचानको मुद्दा शशक्त भएर आएको बताए । उनले भने, ‘यो कविता संग्रहमा लिम्बु किराँत मिथहरु छन् । दार्शनिक रुपबाट पनि कविताहरुको उठान भएको छ । लैंगिक चेत पनि छ ।’

    एक दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय रहेका रानाको यो पहिलो कविता संग्रह हो । यस संग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकीमा सोल्टा’, ‘लेस्बियन छाया’, ‘म ब्रह्माण्ड’, ‘जब कविता निस्कन्छ जुलुसमा’ गरी पाँच खण्डमा ४४ कविताहरुलाई विभाजन गरिएको छ । यो कवितासंग्रह सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको हो ।

  • रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक

    रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक

    काठमाडौं । साहित्यकार रमेश क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल एकेडेमीको डबलीमा पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरे ।

    कार्यक्रममा कथा संग्रहबारे बोल्दै लेखक कुमार नगरकोटीले यो पुस्तक नेपाली आख्यानको अनुपम उपलब्धि भएको बताए । नगरकोटीले भने, ‘यस किताबमा पढ्दै आएका कथाहरूभन्दा बेग्लै शिल्प र शैली छ ।’

    किताबमा सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियाँसम्मका १७ वटा फरक कथा रहेको नगरकोटीले बताए ।

    लेखक क्षितिजले ४० वर्ष कविता लेखिरहँदा कथा लेखनमा आफूले जोखिम उठाएको उनले बताए ।

    ‘म सधैँ भीडबाट अलग रहन मन पराउने मान्छे, कथा पनि अलग लेख्ने कोसिस गरेको छु । प्रकाशक भूपेन्द्र खड्काले एक दशकदेखि नघचघचाएको भए यति चाँडै मैले यी कथा लेख्न सक्दिनथें’, उनले भने ।

    समारोहमा गायक विश्व नेपाली र उनको संगीतिक समूहले रमेश क्षितिजका ‘नमाग मसँग’, ‘आफूलाई भुलिरहें’, ‘आँखाभरि हिउँचुली’, ‘अचानोलाई थाहा होला’, ‘बटुवा’, ‘दसैं सम्झें’ र किताबको शीर्ष गीत ‘एउटा मायी नगरमा’ गीतहरू प्रस्तुत गरेको थियो ।

    बुकहिलले प्रकाशन गरेको १७ वटा फरक कथाहरूको यस सङ्ग्रहको मुद्रण पनि कलर थिमअनुसार आकर्षक गरिएको छ । २७२ पृष्ठको हार्ड कभर पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।

  • यी ५ गीत, जो दशैंमा अत्यधिक गुञ्जिन्छन्

    यी ५ गीत, जो दशैंमा अत्यधिक गुञ्जिन्छन्

    काठमाडौं । हिन्दूहरुको महान चाड दशैं सुरु भइसक्यो । दशैं पर्वमात्रै नभएर पुनर्मिलनको पर्व पनि हो । देश-विदेशमा रहेका आफन्तहरु वर्षदिनपछि छुट्टी मिलाएर घर फर्कने पर्व हो दशैं । घरपरिवार, आफन्त, छरछिमेक, इष्टमित्रहरुसित भेला भएर खुसी बाँडिन्छ । अग्रजहरुबाट आशीर्वाद लिइन्छ ।

    दशैंसँग जोडिएको चर्चित धार्मिक कथा भने भगवान रामचन्द्रसँग जोडिन्छ । रावणले सीतालाई हरण गरेर लगेपछि रामचन्द्रले नौ दिनसम्म दुर्गा भगवतीको पूजा गरेर दशौं दिन टीका लगाएर रावणसँग लड्न गए । रावणविरुद्धको युद्ध जिते पनि । यही खुसीयालीमा दशैं मनाउन थालियो ।

    धार्मिक, सांस्कृतिक विश्वास जे भए पनि दशैं सबै नेपालीलाई एक ठाउँमा जोड्ने पर्व हो । यो पर्वलाई लिएर थुप्रो गीतहरु बनेका छन् । योगेश्वर अमात्यदेखि विष्णु माझीसम्मले दशैं गीत गएका छन् । उदित नारायण झादेखि सुगम पोखरेलसम्मले दशैं गीत गाएका छन् । यही सिलसिलामा दर्शक/स्रोताले अत्यधिक मन पराएका पाँच दशैं गीतः

    नमुछे आमा दहीमा टीका

    नमुछे आमा दहीमा टीका नछरे जमरा
    दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर

    लक्ष्मण रायमाझीले लेखेको यो गीत २०४६ सालमा रेकर्डिङ भएको थियो । गीत रेकर्ड भएको दुई वर्षमै लक्ष्मण नशासम्बन्धी रोगले बिते । लक्ष्मणका भाइ नारायण रायमाझीले यो गीतको संगीत तयार पारेका थिए । यो गीतमा स्वर भरेका थिए कृष्णभक्त राईले । गीतमा लगानी भने नारायण रायमाझी स्वयंको थियो ।

    यो गीतले दुई दशकअघिको नेपाली समाजको कथा भन्छ । दशैंमा घर आउन नपाएको भारतीय सिपाहीको वेदनामा बनेको यो गीतले विशेष गरेर परदेशमा रहेकाहरुलाई छुन्छ । अहिले पनि लाखौं युवा रोजगारीको सिलसिलामा विदेशमा छन् । उनीहरुको बाध्यता यो गीतले भने जस्तै नै छ । त्यसैले यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ । तीन वर्ष अगाडि नारायण रायमाझीको च्यानलमा हालिएको यो गीतलाई अहिलेसम्म ५२ लाखले हेरिसकेका छन् ।

    दशैं आयो

    चरिररि चरिररि रै..
    वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
    नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
    हो… दशैं आयो, हो… दशैं आयो
    कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा
    कति राम्री देखिन्छ्यौ बरि लै जमरा र रातो टीकैमा

    अहिले सबैको जिब्रोमा झुण्डिएको गीत हो ‘दशैं आयो’ । गाउँघरतिर यही गीत बजिरहेको हुन्छ । यही गीतमा गाउँलेहरु झुमिरहेका हुन्छन् । दशैंलाई हर्षोल्लासका साथ मनाउनेहरु सबैले यो गीत गाएकै हुन्छन्, यो गीतमा नाचेकै हुन्छन् ।

    शिव रेग्मी निर्देशित ‘मुगलान’ फिल्मको यो गीतको संगीतकार हुन् सुरेश अधिकारी । गीतको शब्द लोकनाथ सापकोटाको छ । गीतमा उदितनारायण झा, दीपा झा, जुना प्रसाईं र नारायण लामाको स्वर छ । २०६१ सालमा सार्वजनिक भएको यो गीत अहिले पनि उत्तिकै रमाइलो र मनोरञ्जनात्मक छ । अहिलेसम्म यो गीतलाई दुई करोड ४० लाख पटक हेरिएको छ ।

    दशैंतिहार

    वर्षमा दिनमा लै लै
    हर्षका दिन लै लै
    दशैंतिहार चाड र वाड
    खुसीले सारा भर्‍यो नि संसार

    दशैंतिहारको बेला बजिरहने अर्काे गीत को ‘दशैंतिहार’ । यो गीतले पनि परदेशमा रोकिनु परेकाहरुको कथा भन्छ । दशैंतिहारको सम्झना आएको, आफू अर्काको देशमा श्रम गरिरहेको दुःखेसो पोखिएको छ गीतमा । घरपरिवारबाट बिछोडिएर वियोगमा बाँच्न विवशहरुकोे कथालाई लयात्मक तरिकाले गीतमा उनिएको छ ।

    रवि श्रेष्ठको शब्द रहेको यो गीतको संगीत सुगम पोखरेलको छ । स्वर पनि पोखरेलकै रहेको छ । यो गीतलाई अहिलेसम्म तीन करोड ४० लाख पटक हेरिएको छ ।

    दशैं नै हो कि यो मेरो दशा

     

    दशैं नै हो कि यो मेरो दशा फर्की आएको
    वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
    दशैं आएको

    मध्यम वर्गीय परिवारमा दशैं जस्तो ठूलो पर्वले ल्याउने आर्थिक बोझको पीडामाथि यो गीत तयार गरिएको छ । दशैं सबैका लागि उल्लासमय हुँदैन । आर्थिक अवस्था कमजोर हुनेहरुका लागि दशैं दशा हो, यसले ‘गरिबको टाउको खान्छ’ भन्ने भाव यो गीतमा समेटिएको छ ।

    २०६१/६२ सालतिर रेकर्ड गरिएको यो लोक रक गीतको गायक योगेश्वर अमात्य हुन् । संगीत न्ह्यु बज्राचार्यको रहेको छ भने शब्द प्रेम बस्नेतको हो । गीतकार बस्नेत २०३३ सालको पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का निर्देशक पनि हुन् ।

    दशैंतिहार आइसक्यो

    हिउँदो गयो, बर्खा गयो बितिजाला बैस
    चाहिँदैन भो सुनचाँदी चाहिँदैन भो पैसो
    आऊ है गाँवैमा
    ए परदेशी आऊ है गाँवैमा
    दशैंतिहार आइसक्यो झल्को लाइसक्यो

    यो गीतले विदेशमा गएका परदेशीलाई पैसा, धनदौलत चाहिँदैन, बरु देश नै फिर भनेर आह्वान गर्छ । गाउँमा दशैंतिहार आइसकेको, तर आफ्नो मान्छे परदेशमै रहेकाले घर आउन अनुरोध गरेको छ गीतले ।

    यो गीतमा विष्णु माझीले स्वर दिएकी छन् भने शब्द संगीत सुन्दरमणि अधिकारीको रहेको छ । अहिलेसम्म यो गीतलाई एक करोड ४१ लाखभन्दा बढी पटक हेरिएको छ ।

    यी गीतहरुका साथै अरु पनि थुप्रै दशैं गीतलाई दर्शकस्रोताले मन पराएका छन् । दुई साता अगाडि सार्वजनिक हेमन्त शर्माको ‘दशैं आउँथ्यो’ अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । त्यस्तै सुनिल गिरीको ‘दशैंतिहार आयो’, राजेशपायल राई र मेलिना राईको ‘दशैं रमाइलो’ लगायत गीतलाई पनि दर्शकस्रोताले रुचाएका छन् ।

  • वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

    वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

    काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर्ना गरिएको छ ।

    गीतकार राजेन्द्र थापाका अनुसार मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन । थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो । घरमा एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएपछि अस्पताल लगिएको थियो ।

    केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार अहिले वल्लभको आईसीयुमा उपचार भइरहेको छ । वसन्तले भने, घउहाँको अवस्था एकदमै गम्भीर छ ।’

    लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।

    अहिले उनको उपचारका लागि गीतकार संघले सहयोग रकम उठाइरहेको छ । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।

    तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

  • रवि ओडको ‘मसक मसक’ गीतमा एलिशा शर्माको नृत्य (भिडियो)

    रवि ओडको ‘मसक मसक’ गीतमा एलिशा शर्माको नृत्य (भिडियो)

    काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडको नयाँ गीत ‘मसक मसक’ सार्वजनिक भएको छ । माधव तिम्सिनाको लिरिक्स रहेको गीतमा गायक ओडको स्वर रहेको उक्त गीतमा म्यूजिक पनि उनकै रहेको छ ।

    पछिल्लो समय एकदमै चर्चामा रहेको नेपाली सिरियल ‘सिता’का कलाकार शिशिर अर्यालको निर्देशन रहेको ‘मसक मसक’ म्यूजिक भिडियोमा गायक ओडसँगै कृष्ण थापा, एलिशा शर्मा, तलिशा गुरुङ र आरके खड्काको नृत्य तथा अभिनय रहेको छ ।

    म्यूजिक भिडियोको कोरियोग्राफर सिओन श्रेष्ठ तथा कन्सेप्ट तलिशा गुरुङको रहेको म्यूजिक भिडियो गायक रवि ओडकै युट्व च्यानलबाट सार्वजनिक भएको हो ।

     

  • एउटा नयाँ अध्ययनको प्रारम्भ: ‘मिथिला मिथक’

    एउटा नयाँ अध्ययनको प्रारम्भ: ‘मिथिला मिथक’

    काठमाडौं । पत्रकारितामा धर्मेन्द्र झाका नामले चिनिने धर्मेन्द्र साहित्य र अनुसन्धानका क्षेत्रमा पनि जमेका नाम हुन् । मूलतः मैथिली र नेपालीमा कलम चलाउने साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । साहित्यमा यी दुबै भाषामा दर्जन बढी पुस्तकाकार कृति प्रकाशित छन् ।

    पत्रकारका रूपमा धर्मेन्द्रले विभिन्न सञ्चारमाध्यममा आवद्ध भै सम्पादकीय नेतृत्व समालिसकेका छन् । नेपाल पत्रकार महासङ्घ (२०६५-६८) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाहको अनुभव संगालिसकेका छन् । पत्रकारिताका प्रशिक्षकसमेत रहेका झाका पत्रकारितासम्बन्धी अनेकौं पुस्तक प्रकाशित छन् ।

    आज विह्वलका बारेमा थोरै कुरा । पत्रकार झा जत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन् साहित्यकार विह्वल । तैपनि नेपाली साहित्य क्षेत्रले उनका बारेमा धेरै जाने जस्तो गर्दैन । सायद विह्वलले धेरैजसो साहित्य रचना मैथिलीमा गर्ने भएर पनि यसो भएको होला ।

    केही महिनाअघि ‘शहरक भीडमे एसगर हम’ नामक प्रयोगवादी मैथिली कविता सङ्ग्रह पाठकमाझ पस्केका विह्वलको मैथिली भाषामा हालै एक अनुसन्धानात्मक कृति मिथिला मिथक प्रकाशित भएको छ । साहित्यको सबैजसो विधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन् ।

    तर यस पटक भने विह्वल फरक रूप र शैलीमा प्रस्तुत भएका छन् । उनको यो पछिल्लो कृति मिथिला मिथक अनुसन्धानमा आधारित छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाई अपवाद माने हो भने नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो हुनसक्छ ।

    मुख्यतया नेपालको मैथिली भाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू, संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएका छन् ।

    मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देवदेवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् ।

    लेखकका अनुसार यो अध्ययन प्रारम्भमात्र हो, अन्त्य होइन । उनी भन्छन्- मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन्, जसको खोजी र अध्ययन हुनु जरूरी छ । पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा. रमानन्द झा रमणका अनुसार यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउँछ ।

    विद्वान रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

    अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंमा इतिहास मानिँदैन, तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले यसमा संकलित सबै सामग्री मिथक नै हुन् भन्ने दाबी गरेका छैनन् ।

    उनलाई मिथक भन्ने जस्तो जे लागेको छ ती सामग्री प्रस्तुत गरेका छन । विह्वल भन्छन्- तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।

    कुल ११२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् । कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी यो पुस्तक मूल्यका दृष्टिले ४०० रूपैयाँ केही बढी रहेको बोध गरिए पनि महत्वका दृष्टिले भने कृति उपयोगी र संग्रहणीय रहेको कुरामा बिमति हुन सक्दैन ।

  • युवराज सिंहको बयानले हंगामा, अष्ट्रेलियामा दीपिकाको चप्पल लगाएर पुगेका थिए एयरपोर्ट

    युवराज सिंहको बयानले हंगामा, अष्ट्रेलियामा दीपिकाको चप्पल लगाएर पुगेका थिए एयरपोर्ट

    काठमाडौं । भारतीय क्रिकेटर युवराज सिंह विवाहअघि थुप्रै युवतीहरुसँग अफेयरमा बसेका थिए, जसमध्ये एक थिइन् अभिनेत्री दिपिका पादुकोण । युवराज र दिपिकाको अफेयर गसिपको विषय बन्दै आएको भए पनि ठोस सबुत भने केही पनि थिएन ।

    हालै युवराज सिंहले एक अन्तरवार्तामा रोचक बयान दिएका छन्, जुन निकै विवादित पनि बनिरहेको छ । उनले दिपिकाको नाम नलिइकन सन् २००७ को एउटा घटना विवरण सुनाएका छन् । यदि उनले भनेको सत्य थियो भने दीपिका युवराजप्रति निकै आशक्त थिइन् भन्ने बुझ्न सकिन्छ ।

    युवराजको जीवनमाथि एउटा डकुमेन्ट्री फिल्मसमेत बन्दैछ । यही सन्दर्भमा उनले अन्तरवार्तामा आफ्नो युवा कालको घटना सम्झिएका हुन् । सन् २००७/०८ मा उनी आफ्नो टिमसँगै अष्ट्रेलिया भ्रमणमा थिए । त्यसबेला दीपिका पनि फिल्म सुटिङका क्रममा अष्ट्रेलियामै थिइन् । त्यही क्रममा युवराजले सुनाएको घटना यस्तो छः

    हामी एडिलेडमा अष्ट्रेलियासँग टेस्ट सिरिज खेल्दै थियौ । मैले दुई टेस्टमा राम्रो प्रदर्शन गर्न सकेको थिइनँ । ती अभिनेत्री पनि फिल्म सुटिङका लागि एडिलेड नै आएकी थिइन् । उनी मसित भेट्न र टाइम स्पेन्ड गर्न चाहन्थिन् । एक रात हामी होटलमा सँगै बस्यौं । मैले उनलाई भनेँ कि म आफ्नो खेलमा फोकस्ड हुनुपर्छ, तिमी पनि करिअरमा फोकस्ड गर ।

    भोलिपल्ट बिहान हाम्रो टीम क्यानबरा जाँदै थियो । ती अभिनेत्रीले मेरो ब्याग प्याक गरिदिइन् । होटलबाट निस्किनुअघि मैले आफ्नो जुत्ता भेटिनँ । अभिनेत्रीलाई सोध्दा उनले भनिन्- जुत्ता त मैले प्याक गरिदिएँ । अब के गर्ने त ? भन्दा मेरो चप्पल लगाएर जाउ भनिन् । मसित दुईवटा विकल्प थिए । कि खाली खुट्टा एयरपोर्ट जाने, कि अभिनेत्रीको पिंक कलरको चप्पल लगाएर जाने । मैले बाध्य भएर दोस्रो विकल्प रोजेँ ।

    आफ्नो ट्रलीले चप्पललाई छेक्नै प्रयास गर्दै म एयरपोर्टसम्म पुगेँ । त्यहाँ पुग्नासाथ साथीहरुले देखिएहाले । उनीहरुले ताली बजाउँदै मेरो मजाक उडाए । मैले आफ्नो परिवन्द सुनाएँ । अर्को चप्पल नकिन्दासम्म म त्यही चप्पल लगाएर एयरपोर्ट घुमिरहेको थिएँ ।

    युवराज सिंंहले कतै नि दीपिकाको नाम लिएका छैनन् । तर, उनी दिपिका नै हुन् भन्ने सहजै ठहर गर्न सकिन्छ, किनकी सन् २००७ मा आफ्नो फिल्म ‘बचना ए हँसिनो’ सुटिङ गर्न दीपिका अष्ट्रेलिया गएकी थिइन् । त्यही ताका दीपिका र युवराजको अफेयरको चर्चा चलेको थियो । उनीहरुको छोटो समयमै ब्रेकअप भयो ।

    दीपिका र युवराज दुवै अहिले विवाहित हुन् । युवराजले बेलायतकी युवती हेजल किचसँग विवाह गरे । उनीहरुका दुई सन्तान छन् । दिपिकाको विवाह भारतीय अभिनेता रणवीर सिंहसित भयो । उनीहरुलाई हालै पुत्रीलाभ भएको छ ।

    विवाहअघि युवराज र दीपिका दुवैका थुप्रै अफेयरहरु थिए । दीपिकाभन्दा अघि युवराजको प्रेम किम शर्मासित थियो । उनले नेहा धुपिया र रिया सेन सँग पनि चक्कर चलाएका थिए । यसैगरि दीपिका सिद्धार्थ माल्या, महेन्द्रसिंह धोनी रणवीर कपुर लगायतसँग रिलेसनसीपमा बसेकी थिइन् ।

    अहिले दुवैजना आआफ्नो पारिवारिक जीवन व्यतित गरिरहँदा युवराजले दिएको यो बयानलाई धेरैले आलोचना गरेका छन् । यसले दुवैको परिवारलाई अप्ठेरो पर्ने तर्क गरिएको छ ।

     

  • डिमेन्सियासम्बन्धी चेतनामूलक गीत ‘कान्छा बा’ को म्युजिक भिडिओ बजारमा

    डिमेन्सियासम्बन्धी चेतनामूलक गीत ‘कान्छा बा’ को म्युजिक भिडिओ बजारमा

    काठमाडौं । डिमेन्सिया रोगसम्बन्धी जनचेतनामूलक म्युजिक भिडिओ ‘कान्छा बा’ सार्वजनिक गरिएको छ ।

    वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको शब्द रचना, संकेत अगस्तीको संगीत, पुस्पन प्रधानको स्वरमा सजिएको उक्त गीतको संगीत संयोजन सन्जीव बराइली र मिक्स मास्टरिङ नरेश बीबीसीले गरेका छन् । अभिनेता सरोज खनाल भिडिओको मुख्य भूमिकामा छन् भने उनलाई कमल सिंह र मिशेल घिमिरेले साथ दिएका छन् ।

    सहायक पात्रहरुमा श्रेय अगस्ती, प्रीति तामाङ, मनकुमार राई र रमेश पराजुली छन् । दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको शृंगार, विकास धमलालाद्वारा सम्पादित म्युजिक भिडिओको कथा साक्षी श्रेयको रहेको छ । रत्नशोभा ढुंगेलको निर्माणमा बनेको ‘कान्छा बा’ निकेश खड्काले निर्देशन गरेका छन् ।

    बिर्सिने रोग (डिमेन्सिया) बाट पीडित कान्छा बाले आफ्नो दिनचर्यामा भोग्नुपरेको पीडाले चिन्तित छोराबुहारीको अभिव्यक्तिपश्चात चित्त दुखाएर घरबाट आफ्नै यात्रामा निस्किएको कथावस्तुलाई म्युजिक भिडि‌ओमा समेटिएको छ ।

    बुढा आमाबालाई माया र साथ दिन सके डिमेन्सियाजस्तो रोगलाई निवारण गर्न सकिने म्युजिक भिडिओमा सन्देश दिन खोजिएको छ ।

  • बेहुली फ्रम मेघौलीको प्रिमियर: जब ट्याक्टर चलाएर आइन् स्वस्तिमा (भिडिओ)

    बेहुली फ्रम मेघौलीको प्रिमियर: जब ट्याक्टर चलाएर आइन् स्वस्तिमा (भिडिओ)

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले निर्माण गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ।

    असोज १७ अर्थात दशैंको घटस्थापनाको अवसर पारेर आजबाट रिलिज गरिएको चलचित्रको हिजो भक्तपुरस्थित क्युएफएक्स हलमा भव्य प्रिमियर गरिएको थियो। प्रिमियरमा नायिका स्वस्तिमा खड्काको फरक अन्दाजले सबैको ध्यान खिचेको थियो। चलचित्रमा स्वस्तिमाले ट्याक्टर चलाएको दृश्य छ।

    चलचित्रको सो रिल दृश्यलाई रियल लाइफमा परिवर्तन गर्दै उनी आफ्नो चलचित्रको प्रिमियरमा ट्याक्टर लिएर पुगेकी थिइन्, त्यहीँ पनि आफै चलाएर। उनको सो फरक अन्दाज हेर्न हल बाहिर दर्शकको ठुलो घुँइचो लागेको थियो।

    प्रिमियरमा चलचित्रकर्मीहरुको राम्रै उपस्थिति थियो। चलचित्र हेर्न निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत र कलाकारहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, प्रियंका कार्की, आना शर्मा, निरुता सिंह, हरिवंश आचार्य, लगायतको उपस्थिति रहेको थियो ।

    चलचित्र हेरेर निस्किएका चलचित्रकर्मीले स्वस्तिमाको अभिनयको तारिफ गरेका थिए । चलचित्रको कथावस्तु पनि रोमान्चक भएको उनीहरुको भनाइ थियो। प्रिमियरमा राम्रो प्रतिक्रिया पाउनु कुनै नौलौ कुरा होइन। हरेक चलचित्रले प्रिमियरमा राम्रै प्रतिक्रिया पाउने गर्दछन। चलचित्र कस्तो छ र कस्तो व्यापार गर्छ भन्ने कुराको सही मुल्यांकन भने रिलिजपछि हुने गर्दछ।

    अकुपेन्सीको कुरा गर्ने हो भने, आजको चलचित्रको अकुपेन्सी सुखदै छ । चलचित्रको टिम यतिबेला हल भिजिटमा व्यस्त छ। स्वस्तिमा दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न हल–हल कुदिरहेकी छिन्। आज घटस्थापनाको बिदा भएकाले पनि चलचित्र हेर्न दर्शक हलसम्म आइरहेका छन्।

    भोलि शुक्रबार र पर्सि पनि बिदा भएकाले चलचित्रलाई रिलिजको तीन दिन केही राहत मिल्ने देखिन्छ। प्रिमियरमा चलचित्रकर्मीहरुले दिएको प्रतिक्रियालाई पत्याउने हो भने र वर्ड अफ माउथ बलियो भए चलचित्र राम्रै चल्ने अनुमान लगाउन सकिन्छ। यस चलचित्रले पहिलो सातामै भरपुर विजनेस गर्नुपर्छ । दोस्रो सातामा एकैपटक तीन ठुला चलचित्रहरु छक्कापञ्जा ५, ज्वाईं साब र १२ गाउँ रिलिज हुने भएकाले चलचित्रलाई केही गाह्रो पर्न सक्ने देखिन्छ।

    साजन काफ्ले र आकास बराल लिखित तथा निर्देशित चलचित्रले नेपाली सिनेमाको इतिहासकै सर्वाधिक धेरै शो पाएको छ । ३४० शो पाएको यो चलचित्रले विवाहको कथा भन्छ । ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई चलचित्रले हाँस्य शैलीमा देखाएको छ ।

    चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।