Category: कलाप्रेस

  • दीपकराजले आफ्नै हलमा ‘१२ गाउँ’ लाई दिए ‘छक्का पञ्जा ५’ बराबर शो, व्यापार कि सन्देश ?

    दीपकराजले आफ्नै हलमा ‘१२ गाउँ’ लाई दिए ‘छक्का पञ्जा ५’ बराबर शो, व्यापार कि सन्देश ?

    काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी सिनेमा हल सञ्चालक समेत हुन् । उनले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज सञ्चालन गरिरहेका छन् ।

    यतिबेला दीपकराजले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ५’ ले देशभर बम्पर व्यापार गरिरहेको छ । सँगसँगै हाउसफुल चलिरहेको छ, विराज भट्ट निर्देशित ‘१२ गाउँ’ । अब दीपकराजको आफ्नै हलमा चाहीँ यी दुवै चलचित्रको सो बाँडफाँड कस्तो होला त ?

    सुरूमा अन्य हलहरूमा जस्तै दीपकराजको हलमा पनि ‘१२ गाउँ’ ले न्यून शो पाएको थियो । दीपकले ५ शो आफ्नो चलचित्रलाई र २ शो मात्र ‘१२ गाउँ’ लाई छुट्याएका थिए । तर, अहिले आएर उनले ‘१२ गाउँ’ को शो संख्या ह्वात्तै बढाइदिएका छन् ।

    कुनै पनि हल सञ्चालकले जुन चलचित्रमा दर्शकको चाप हुन्छ, त्यसलाई बढी शो दिनु स्वाभाविक हो । तर, दीपकराजका लागि यो मामिला अलि फरक छ । रिलिजभन्दा धेरै दिन अगाडिदेखि ‘१२ गाउँ’ का फ्यानहरूले सामाजिक सञ्जालमा उनलाई लखेटिरहेका थिए । अहिले पनि त्यो क्रम रोकिएको छैन ।

    जुन तरिकाले ‘१२ गाउँ’ का फ्यानहरू ‘छक्कापञ्जा ५’ विरुद्ध उत्रिएका थिए, त्यो हेर्दा प्रश्न उब्जेको थियो कि दीपकराजले आफ्नो हलमा ‘१२ गाउँ’ लाई स्थान देलान् ? ‘आफ्नै हात जगन्नाथ’ गर्दै छक्कापञ्जामात्रै चलाउने अप्सन पनि उनीसँग थियो । यद्यपि, उनले त्यो मुर्खता गरेनन् ।

    सुरुवाततिर चरणमा देशभरिका हलले ‘छक्का पञ्जा’ ब्राण्डलाई विश्वास गरेर उच्च शो दिएका थिए भने १२ गाउँलाई केही कम थियो । दीपकराजले पनि आफ्नो हलमा ५ शो छक्कापञ्जालाई र २ शो मात्र ‘१२ गाउँ’ लाई दिएका थिए । बिस्तारै ‘१२ गाउँ’ ले पनि देशभरका हलमा छक्कापञ्जाको हाराहारी शो पाउन थालेको छ । र, दीपकराजले पनि आफ्नो हलमा ‘१२ गाउँ’ को शो बढाएर छक्कापञ्जा बराबर पुर्‍याएका छन् । आजबाट दुवै चलचित्र ५-५ शो चल्नेछन् । अन्य चलचित्रका ३ शो कटौति गरेर दीपकराजले १२ गाउँलाई थपिदिएका हुन् ।

    उनलाई सोधियो, ‘१२ गाउँ हेर्ने दर्शकको चाप बढेर शो थप्न बाध्य हुनुभएको हो ?’

    दीपकराज भन्छन्, ‘अहिले मेरो हलमा छक्का पञ्जा र १२ गाउँ दुवै हाउसफुल छन् । मैले आफ्ना दर्शक किन फर्काउनु भनेर छक्कापञ्जालाई नै शो थप्न पनि सक्थेँ । तर, हल सञ्चालकको रूपमा मैले आफ्नो र अर्काको भनेर भेदभाव गर्नु हुँदैन भन्ने दृष्टिकोण राखेँ । कुनै पनि नेपाली चलचित्रले व्यापार गर्दा म खुशी हुन्छु ।’

    तपाईंलाई १२ गाउँका समर्थकले निकै खेदिरहेको बेला यो फिल्मलाई स्थान नदिउँ भन्ने दिमागमा आएन ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएः

    ‘त्यस्तो सोचाइ बिल्कुल आएन । म एकदमै धेरै आध्यात्मवादी छु । बैगुनीलाई गुनले जित्नुपर्छ भन्ने मेरो मान्यता छ । मेरो चलचित्रलाई पनि दर्शकले माया गर्नुभएको छ । १२ गाउँलाई पनि माया गर्नुभएको छ । सामाजिक सञ्जालमा जसले जेजे लेख्नुभए पनि म कसैप्रति पूर्वाग्रह राख्दिनँ । मैले आफ्नो चलचित्र मात्र चलाउनलाई हल बनाएको पनि होइन । सबै चलचित्रले दर्शकको मागअनुसार पर्याप्त शो पाउनुपर्छ र मेरो हलमा पनि पाउँछन् ।’

    केही चलचित्रकर्मीले दीपकराजको यो निर्णयको प्रशंसा गरेका छन् । निर्माता रोहित अधिकारीले फेसबुकमा स्टाटस लेख्दै दीपकराजले इमान्दारिता प्रस्तुत भएको बताएका छन् ।

    उनी लेख्छन्, ‘दीपकराज गिरी कति इमान्दार मान्छे हुन् भन्ने कुरा १२ गाउँ ले उनकै हलमा पाएको शोले प्रमाणित गर्छ । हामीले देखेकै हो, पहिला केही हलवालाहरूले आफूले बनाएको फिल्मको शो दर्शक नआएर क्यान्सिल हुँदासमेत आफ्नो हलमा शो कसरी कब्जा गर्थे । तर, दीपक दाइले छक्का पञ्जाको यस्तो मारामार व्यापार हुँदा पनि आफ्नो फिल्म जत्तिकै शोज दिनुभएछ ।’

    निर्देशक दीपेन्द्र के खनालले आफ्नै हलमा सँगै आएको चलचित्रलाई बराबरको शो उपलब्ध गराउनु नै नेपाली चलचित्र जसको भए पनि मर्न हुन्न भन्ने प्रमाण भएको बताएका छन् ।

    ‘नेपाली चलचित्र चलेका छन्, विदेशी पाखा लागेका छन् । यो समग्र चलचित्रकर्मीको जित हो । त्यसैले मन ठूलो गरेर एक अर्काको सफलतामा उत्सव मनाऔं,’ उनले लेखेका छन् ।

    स्मरणीय छ कि नेपालमा पहिलोपटक फिल्मको आम्दानीबाट ५० प्रतिशत शेयर निरन्तर चलचित्र निर्माताले पाउने परिपाटी पहिलोपटक दीपकराजले आफ्नो हलबाट सुरू गरेका थिए ।

  • नेपाली चलचित्रको व्यापारमा बहार, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए ?

    नेपाली चलचित्रको व्यापारमा बहार, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए ?

    काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नेपाली चलचित्रका लागि पनि उत्सवमय बनेको छ । दसैंमा लागेका नयाँ नेपाली चलचित्र हेर्न दर्शकहरु हलमा ओइरिएका छन् ।

    दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका थिए । तीमध्ये दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले विस्फोटक व्यापार गरिरहेका छन् । तुलनात्मक रुपमा कम शो पाएको ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

    विदेशी खासगरी भारतीय र दक्षिण भारतीय चलचित्र रिलिज हुँदा देखिने गरेको क्रेज अहिले नेपाली चलचित्रप्रति देखिएको छ । योभन्दा अगाडि नेपाली चलचित्रको ‘प्रि-बुकिङ’ खासै हुँदैनथ्यो । तर, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ रिलिज हुनुभन्दा अगाडि नै दुवै चलचित्र हाउसफुल भइसकेका थिए । आजको दिनसम्म पनि यी चलचित्रमा दर्शक खचाखच छन् ।

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको थियो । स्थापित ब्रान्ड र निरन्तर सफलताको रेकर्डका कारण यो चलचित्रप्रति प्रदर्शक र वितरकले विश्वास देखाएका हुन् । नभन्दै चलचित्रले पहिलो दिनबाटै बम्पर व्यापार गर्‍यो । ट्रेलरले आलोचना खेप्नु परे पनि चलचित्र हेरेका दर्शकले यसको यथार्थपरक कथावस्तु मन पराएका छन् । चलचित्रमा हास्यरस कम भएको कतिपय दर्शकको गुनासो पनि सुनिएको छ । समग्रमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले ‘छक्का पञ्जा ५’ ले धेरै दिनसम्म दर्शक तान्नसक्ने अनुमान गर्न सकिन्छ ।

    निर्माता दीपकराज गिरी ‘छक्कापञ्जा ५’ ले हिजोसम्म अनुमानित ८ करोड रुपैयाँ ग्रस आम्दानी गरेको बताउँछन् । बुधबारसम्म १० करोड रुपैयाँ पुग्नसक्ने उनले प्रक्षेपण गरे ।

    ‘आजसम्म दर्शकको चाप हेर्दा हामी पहिलो सातामै १० करोड छुनसक्ने अवस्थामा छौं’, गिरीले भने ।

    हलबाट हुने कुल आम्दानीको ५० प्रतिशत सेयर निर्माताले पाउँछन् । जसअनुसार छक्कापञ्जा ५ ले निर्माताको गोजीमा ४ करोड रुपैयाँ मुनाफा निश्चित गरिसकेको छ । छक्कापञ्जा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रिलिज हुनु अगाडि नै ओभरसिज राइट्सबाट दीपकराजले लगानी उठाइसकेका थिए । त्यसैले हलबाट भएको आम्दानी उनको टीमको चोखो मुनाफा हो ।

    ‘छक्कापञ्जा ५’ दीपकराजको टीमले निर्माण गरेको सातौं चलचित्र हो । अहिलेसम्म निर्माण गरेका सबै चलचित्रमा शत प्रतिशत सफलताको रेकर्ड राख्न यो टीम सफल भएको छ ।

    दशैंमा दर्शक उराल्ने अर्को चलचित्र बन्यो ‘१२ गाउँ’ । कुनै समयका एक्सन स्टार विराज भट्टले निर्माण र निर्देशन गरेको यो चलचित्र पनि निरन्तर हाउसफुल छ । दक्षिण भारतीय शैलीको एक्सन चलचित्र मन पराउने दर्शकहरु ‘१२ गाउँ’मा आकर्षित भएका छन् । विराज भट्टका छोरा समीर भट्ट यो चलचित्रका मुख्य आकर्षण हुन् ।

    ‘१२ गाउँ’को व्यापारिक आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छैन । वितरक गोविन्द शाहीले एकै पटक एक साताको रिपोर्ट सार्वजनिक गरिने बताए ।

    ‘हामीले सबैतिरको रिपोर्ट पाइसकेका छैनौं, तर दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ’, उनले भने, ‘आज पनि सबै शोहरु हाउसफुल छन् ।

    हिजोसम्म चलचित्रले ६ करोड रुपैयाँभन्दा बढी कमाइसकेको शाहीले दाबी गरे ।

    उनले भने, ‘ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन, तर ६ करोडभन्दा माथि गइसक्यो । पछिल्लो तीन दिनमा डेढदेखि पौने दुई करोड रुपैयाँको बिजनेस भइरहेको छ ।’

    सुरुमा ‘छक्कापञ्जा ५’ भन्दा कम शो पाए पनि अहिले हाराहारी पुगिसकेको शाहीले दाबी गरे ।

    ‘उहाँहरुको स्थापित ब्रान्ड भएकाले बढी शो पाउनु स्वाभाविकै थियो । अहिले चाहिँ हाम्रोमा पनि शो थपिइरहेको छ । हलहरुप्रति कुनै गुनासो छैन’, शाहीले भने ।

    योभन्दा अघिल्लो साता रिलज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले पनि राम्रो व्यापार गरेको थियो । सो चलचित्रको भीड नघट्दै नयाँ तीन चलचित्र रिलिज भए । जसले गर्दा दोस्रो सातामा ‘बेहुली फ्रम मेघौली’ सीमित शोमा खुम्चिन पुगेको छ । ती शोहरु अहिले पनि हाउसफुल छन् ।

    आफ्नो चलचित्रमा दर्शक हुँदाहुँदै पर्याप्त शो पाउन नसकेपछि निर्माता/निर्देशक निश्चल बस्नेत असन्तुष्ट बनेका छन् । उनले हिजो फेसबुकमा स्टाटस लेख्दै अब हलको विकल्प खोज्ने बताएका थिए ।

    नेपाली चलचित्रप्रति दर्शकको अभूतपूर्व क्रेजका बीच पनि वितरक र प्रदर्शकको विदेशी चलचित्रमोह भने कम भएको छैन । उनीहरुले यो साता पनि भारतीय चलचित्र ‘जिग्रा’ भित्र्याएका छन् । आफ्नो बचेखुचेको शो पनि कटौती गरेर ‘जिग्रा’लाई दिइएकोमा निर्देशक बस्नेत आक्रोशित बनेका हुन् ।

  • किरण पुञ्जको ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक

    किरण पुञ्जको ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । किरण पुञ्जको गायन रहेको ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

    गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन र किरण पुन्जको स्वर रहेको छ । दशैँको अवसर पारेर भिडिओमा सविना राउत र गायक पुन्जको मुख्य अभिनय देख्न सकिन्छ । सञ्चारकर्मीसमेत रहेकी सविनाले बाइक राइडरको दमदार प्रस्तुति दिएकी छन् ।

    रवि श्रेष्ठ, रिया नापित, अर्जुन कार्की र इशिका सहकर्मीले पनि अभिनयमा सघाएका छन् । कमल प्रजापति निर्देशित भिडिओमा नितेश लामाले सिनेमाटोग्राफी गरेका छन् । सविना-किरणको अव्यक्त प्रेमसँगै महिला स्वतन्त्रतालाई म्युजिक भिडिओमा देखाइएको छ ।

    म्युजिक भिडिओ गायक पुञ्जकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

  • दशैँ भिडन्त : `ज्वाइँ साब´ले पनि पिकअप लियो, हलहरूमा अकुपेन्सी बढ्दो

    दशैँ भिडन्त : `ज्वाइँ साब´ले पनि पिकअप लियो, हलहरूमा अकुपेन्सी बढ्दो

    काठमाडौं । यस वर्षको दशैँमा भिडेका तीन चलचित्रमध्ये `छक्का पञ्जा ५´ र `१२ गाउँ टक अफ द टाउन बनिरहेका छन् । तेस्रो चलचित्र `ज्वाइँ साब´ केही ओेझेलमा परे पनि माउथ पब्लिसिटीको बलमा पिकअप लिन सफल भएको छ ।

    फूलपातीको दिनबाट रिलिज भएको ‘ज्वाइँ साब’ ले दुई चलचित्रको तुलनामा कम शो पाएको थियो । व्यापारिकरूपमा कमजोर ओपनिङ गरे पनि अहिले चलचित्रले राम्रै भिड बटुल्न सफल भएको हो । बलियो वर्ड अफ माउथले चलचित्रलाई साथ दिएको निर्देशक वसन्त निरौलाको दाबी छ ।

    उनले भने, ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी थियो तर तेस्रो दिनसम्म ८० प्रतिशत पुग्यो । धेरै हलले शो पनि थपिरहनुभएको छ,’ उनले भने ।

    चलचित्र हेर्ने अधिकांश दर्शकले कथावस्तुको तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाइ निर्माण पक्षको छ ।

    राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

  • भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन सुरू (भिडिओ)

    भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन सुरू (भिडिओ)

    भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ ।

    दुई दिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व साँस्कृतिक ब्वज्या सम्मेलनमा राजनितिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञ उपस्थित छन् ।

    सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरे । सम्मेलन हरेक वर्ष दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिए ।

    सम्मेलनमा कथा, कविता लगायतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उनले बताए ।

    स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ ।

  • हलको विकल्प खोज्ने निश्चलको चेतावनी- हिन्दी फिल्मलाई प्राथमिकता दिएको आरोप

    हलको विकल्प खोज्ने निश्चलको चेतावनी- हिन्दी फिल्मलाई प्राथमिकता दिएको आरोप

    काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले हलहरूले नेपाली चलचित्रहरूलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

    नेपाली चलचित्रले दर्शकको राम्रो साथ, राम्रो प्रतिक्रिया र राम्रो अकुपेन्सी हुँदा पनि हलले हिन्दी चलचित्रहरूलाई शोमा प्रथमिकता दिइराखेको आरोप लगाएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो occupancy हुँदा पनि तपाईँहरु चैँ त्यै हिन्दी फिल्मलाई नै Shows दिईराख्नु है, occupancy आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ ।’

    निश्वचल र स्वस्तिमाको लगानी एवं मुख्य भूमिकाको ‘बेहुली फ्रम मेघौली’ अहिले प्रदर्शनमा छ ।

    यसअघि पनि निश्चल निर्देशित ‘दिमाग खराब’ प्रदर्शनको क्रममा हलहरूले निर्मातालाई ५० प्रतिशत शेयर नदिए फिल्म उतार्ने चेतावनी दिएका थिए । त्यसपछि हलवालाहरू सहमतिमा आउन बाध्य भएका थिए ।

  • आलोचकलाई साइबर सेना भनेकोप्रति माग्नेबुढाले गरे क्षमायाचना

    आलोचकलाई साइबर सेना भनेकोप्रति माग्नेबुढाले गरे क्षमायाचना

    काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भएको अभिव्यक्तिका कारण आलोचित भएपछि उनले माफी मागेका हुन् ।

    ‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अबस्था फरक महसुस गरको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उक्त शब्दलाई लिएर अभिनेता विराज भट्टले आपत्ति जनाएका थिए ।

    विराजको चलचित्र ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । माग्ने बूढा अभिनित फिल्म ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । सामाजिक सञ्जालमा छक्पा पञ्जालाई लिएर भइरहेका प्रहारलाई लक्षित गर्दै माग्ने बुढाले उक्त अभिव्यक्ति दिएका थिए ।

  • समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’

    समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’

    एउटा गाउँ छ, जसको नाम हो ‘१२ गाउँ’ । यो गजेन्द्रको बुवाले बसाएको गाउँ हो । ‘१२ गाउँ’ मा अहिले गजेन्द्र (मुरलीधर)ले हुकुमी शासन चलाइरहेका छन् । गाउँमा गैरकानुनी रूपमा हुने गाँजा र अफिम खेतीमा उनको एकलौटी नियन्त्रण छ ।

    गाउँलेहरू नजरबन्दको अवस्थामा छन् । उनीहरूलाई गाउँको सिमाना नाघेर बाहिर जान वर्जित गरिएको छ । यदि कोही गाउँले बाहिर जान कोसिस मात्रै गरेमा गजेन्द्रको हातबाट मारिनुपर्छ । वा कोही नयाँ मान्छे बाहिरबाट गाउँभित्र छिरेमा जिउँदो फर्कन असम्भव छ ।

    यही गाउँमा कर्णेले गजेन्द्रविरुद्ध विद्रोह गर्छ । उ गाउँ छाडेर जाने निर्णय गर्छ । फलतः गजेन्द्रले कर्णेलाई मारिदिन्छ । कर्णेकी गर्भवती श्रीमतीको बच्चा जन्मनासाथ मारिदिने धम्की दिन्छ । त्यो बच्चा गजेन्द्रको हातबाट कसैगरी बच्छ । ठूलो भएपछि गजेन्द्रको क्रूरताविरुद्ध लड्छ । अहिले हलमा चलिरहेको ‘१२ गाउँ’ को मुल कथासार यही नै हो ।

    यो चलचित्र शंकर (विराज भट्ट) र अजय (समीर भट्ट)को वरिपरि घुमेको छ । कुनै जमाना नेपाली चलचित्रका एक्सन स्टार बिराज भट्ट, जो पछि भोजपुरी चलचित्रतिर लागे, ले आफ्नो छोरा समीरलाई आफ्नो पदचिन्हमा हिँडाउने ध्येयले ‘१२ गाउँ’ को निर्माण र निर्देशन गरेका हुन् । चलचित्रमा आउनका लागि समीर आफैँले लामो तयारी गरेका थिए, जुन चलचित्रमा उनको काममा पोखिएको छ ।

    ‘१२ गाउँ’ बाट समीरले राम्रो सम्भावना देखाएका छन् । उनको एक्सन र डान्स उम्दा छ । अभिनयमा पनि मिहिनेत गरेका छन् । समग्रमा एउटा ‘हिरो प्याकेज’ का रूपमा उनी उदाएका छन् । तर निर्देशक बुवा बिराज भट्टले छोरामा भएको क्षमता र सम्भावनालाई न्याय गर्न सकेनन् । दक्षिण भारतीय चलचित्रको अन्धनक्कल गर्दै उनले एउटा ‘सी ग्रेड’को चलचित्र दिएका छन्, जसमा समीरलाई बिर्सिने हो भने अरू सम्झिन लायक खासै केही पनि छैन ।

    गजेन्द्रको क्रूरताबाट सुरु भएको फिल्मले गज्जबले कथा भन्ला कि जस्तो लाग्छ दर्शकलाई । तर, कथा बिस्तारै गोलमटोल र हास्यास्पद बन्दै जान्छ । क्लाइमेक्समा पुग्दासम्म दर्शक दिक्क भइसक्छन् ।

    सबैभन्दा पहिलो कुरा त, ‘१२ गाउँ’ को परिवेश नै अपत्यारिलो छ । चलचित्रको कथावस्तुमा अहिलेकै समसामयिक विषयहरू छन् । तर आजको समयमा नेपालको कुन गाउँ होला, जहाँ एउटा व्यक्तिको एकाधिकार चल्छ ? ‘१२ गाउँ’ भित्र संविधान–कानूनको अस्तित्व किन भएन, प्रहरी जानसमेत डराउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको उत्तर चलचित्रमा भटिँदैन ।

    दुई दशकअघि आफैँले खेलेका फिल्महरूका कथा वाचन शैलीलाई बिराजले ‘१२ गाउँ’ मा थोपरेका छन् । चलचित्रमा गाउँको मुखिया भिलेन हुन्छ, जसको वरिपरि गुण्डाहरु हुन्छन् । भिलेनको विरुद्ध उभिन्छ एउटा सुगठित ज्यानको हिरो । अनि दुईबीच संघर्ष हुन्छ । अन्त्यमा हिरोको जित । भारतीय फिल्मबाट आयातित यो फर्मुला नेपाली चलचित्रले त्यागेको धेरै भइसक्यो । दर्शकको स्वाद पनि फेरिइसकेको छ । तर, बिराज पुरानै धङधङीमा छन् ।

    हिरोइन समस्यामा पर्दा हिरोको इन्ट्री हुन्छ । हिरोले गुण्डाहरुलाई पिटेको देखेर हिरोइन प्रभावित बन्छिन् । हिरोइनले हिरोलाई आफ्नो घर लिएर जान्छिन । बुवासँग परिचय गराउँछिन् । चिया पकाएर ल्याउँछिन् । चिया पिएर उठेर हिँड्ने बेला हिरोले चिया मीठो भएको बताउँछ । हिरोइन हिरोसित एकतर्फी मायामा पर्छिन् । रातभर निदाउन सक्दिनन् । अनेक कल्पनामा तैरिन्छिन् । त्यही कल्पनामा रोमान्टिक गीत आउँछ । ओछ्यानमा सुतिरहेकी हिरोइनको मुखमा लिपिस्टिक र आँखामा गाजल हुनुलाई नौलो मान्ने हो भने बेग्लै कुरो, होइन भने यस्तो पटकथा उहिल्यै डेट एक्सपायर भइसकेको होइन र ? कुन जमानामा छन् बिराज ?

    गीताले जन्माएको बच्चा गजेन्द्रको हातमा पुग्दा अचानक ६ महिना जतिको देखिन्छ ! २२ वर्षपछि एकैपटक अजयलाई हिरोको रूपमा देखाइएको छ । यो पनि पुरानै शैली ।

    अजय हतियार किन्न एक गोदाममा जान्छ । हतियारका लागि बिक्रेतालाई हिरा दिन्छ । बिक्रेताले हिरा लिन्छ तर हतियार दिन मान्दैन । लफडा हुन्छ । अजयले आफ्नो सर्ट आफैं च्यात्छ । सिक्स प्याक देखाउँछ । भुटुटु… बन्दुक चलाउँछ । कुनै दक्षिण भारतीय फिल्मको दृष्य याद आयो ?

    स–साना कमजोरीहरु त अनगिन्ति नै छन् । शंकर एकजना साथी र पत्रकारकी छोरीलाई लिएर पत्रकार खोज्न ‘१२ गाउँ’ जान्छ । उनीहरु जंगलमा बास बस्छन् । रातको समय आगो बाल्छन् । दृश्य रातिको, खिचाइ चाहीँ दिनको । आगोसँगै देखिएको जंगलको दृश्यमा आकाश उज्यालो देखिन्छ ।

    २२ वर्षअघिको गाउँ र २२ वर्षपछिको गाउँमा कुनै भिन्नता छैन । गजेन्द्रका केटाहरु उस्तै छन् । न त गजेन्द्रको लुक्समा नै खासै परिवर्तन आएको छ । मेकअप आर्टिस्टले टाइमलाइन ख्याल गरिदिएको भए पनि यस्तो त्रुटि हुन्नथ्यो ।

    चलचित्रले मध्यान्तरमा पुग्दा नै मुलबाटो हराउँछ । मूल कथा गजेन्द्रको क्रुरताको अन्त्य हो । तर, चेलिबेटी बेचविखनदेखि भूमाफियासम्मका प्रसंग घुसाएर झिँजोलाग्दो बनाइएको छ । मध्यन्तरपछि फिल्मले केही गति लिएको छ । अजय र शंकरको साइनो के हो, गजेन्द्र र अजयबीचको कनेक्सन के हो भनेर खुल्दै जान्छ । तर, भिलेनसँग हिरोको जुन किसिमको सघन संघर्ष हुनुपर्ने थियो, त्यो छैन । हिरोहरु एकैपटक भिलेनलाई मार्नका लागि मात्रै टप्किएझैं लाग्छ ।

    कतिपय दृश्यमा ब्याकग्राउण्ड म्युजिकलाई अति नै लाउड बनाउँदा दृश्यसँग संगति मिलेको छैन । परम्परागत शैलीमा हिरोको इन्ट्रीलार्ई धमाकेदार बनाउन खोजिएको छ, तर त्यसले खासै तरंग पैदा गदैन । चलचित्रमा पात्रहरुलाई थुप्रै ठाउँमा हिन्दी संवाद बोल्न लगाइएको छ । नेपाली चलचित्रमा हिन्दी डाइलग घुसाउनुको कुनै औचित्य सावित गरिएको छैन ।

    साउथ इण्डियन फिल्मको द्वन्द्व निर्देशक ल्याएको भनेर प्रचार गरिएकाले एक्सनमा अपेक्षा बढी हुनु स्वभाविक थियो । अपेक्षा पूरा नभए पनि केही एक्सन सीनहरु गतिलै छन् । ‘१२ गाउँ’ को सिनेमाटोग्राफी आम नेपाली चलचित्रको भन्दा राम्रो छ । यो बाहेक चलचित्रमा सवल पक्षहरु नगण्य छन् ।

    सारमा भन्नुपदा ‘१२ गाउँ’ बाट निर्देशक विराज भट्टले निराश बनाए । फिल्म भित्र कलात्मकता र मौलिकता खोजि गर्ने दर्शकले ‘१२ गाउँ’ छुटाउँदा पनि पछुताउनु पर्ने छैन । समिर भट्टलाई हेर्न आतुर टिनएजर्स बाहेक आमदर्शकलाई यो फिल्मले अपिल गर्न सक्दैन । रिलिजपूर्वको माहोलले गर्दा चलचित्रले बम्बर ओपनिङ त गर्यो, तर यो कति टिकाउ होला भन्ने मुल प्रश्न हो ।

  • छक्का पन्जा–५ : गम्भीर विषयमा ‘दीपक–दीपा’ शैलीको सुन्दर कथावाचन

    छक्का पन्जा–५ : गम्भीर विषयमा ‘दीपक–दीपा’ शैलीको सुन्दर कथावाचन

    काठमाडौं । ट्रेलरलाई लिएर ‘छक्का पन्जा–५’ले राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मका गीतहरू पनि विवादित बनाइए । रिलिजअघि नै सामाजिक सञ्जालमा चर्को आक्रमण सहनुपरेको यो फिल्मले अहिले हलहरूमा भने व्यापक संख्यामा दर्शकलाई आकर्षित गरिरहेको छ ।

    पहिलो दिन हलहरूमा दर्शकको घुइँचो लाग्नुको मुख्य कारण थियो, ‘छक्का पन्जा’ ब्रान्ड । सामाजिक सञ्जालमा जति खेदिनु परे पनि दर्शकले यो ब्रान्डप्रति भरोसा देखाएका छन् । यस फिल्मको विषयवस्तु र कथा वाचन शैलीले दर्शककाे भराेसामा आँच आउन दिएकाे छैन । दीपक–दीपाले नेपाल र नेपालीको साझा कथालाई चलचित्रको माध्यमबाट अभिव्यक्त गर्ने कोसिस गरेका छन् ।

    इमानदार बन्न खोज्दा एक सरकारी अधिकृतले पाउने सास्तीको कथा नै फिल्मको केन्द्रीय विषय हो । पृथ्वीनारायण शाहको दरसन्तान भएकोमा गर्व गर्ने बुवाको छोरा राजा (दीपकराज गिरि) सरकारी अधिकृत छन् । घुस लिनु र दिनुलाई अपराध मान्ने प्रेरित राजाले आफ्नै यो बुझाइका कारण दुःख पाउँछ ।

    यो देश र समाजमा जसले इमानको कमाइ मात्रै खान खोज्छ, उसलाई छरछिमेकले हेप्न सुरु गर्छ । इमानदारिताको कमाइ मात्रै खानेलाई परिवारले पनि पत्याउँदैन । किनभने समाज यस्तो बनिसकेको छ कि यहाँ इज्जत, मान प्रतिष्ठा र सम्मान.भनेकै पैसा हो । परिवारले पहिले पैसालाई माया गर्छ अनि मात्रै पैसा कमाउने व्यक्तिलाई । जोसित पैसा छैन, उसले प्रेम पाउने कुरा धेरै परको भइगयो ।
    बल्लतल्ल विवाह गरेको राजाकी श्रीमतीले राजालाई माया त गर्छे, तर सम्बन्ध अगाडि बढाउन माया मात्रै काफी हुँदैन, पैसा पनि चाहिन्छ । जसका लागि राजा भ«भ्रष्ट्राचार गर्न तयार छैन । अनि श्रीमतीले डिभोर्स दिन्छे ।
    भ्रष्ट र दलाल हुन नसक्दा एक सामान्य नागरिकको जीवनमा आइपर्ने उल्झनहरूको कथा हो ‘छक्का पन्जा– ५’ । त्यो उल्झनमा राजाका बुवा आइपुग्छन् । श्रीमती आइपुग्छे । समाज आइपुग्छ । भ्रष्ट मान्छेहरू आइपुग्छन् । जसले राजालाई चैनले बस्न दिँदैन । यी सबै प्रतिकूलतासँग राजाले कसरी संघर्ष गर्छ त ?

    फिल्मको मूलकथा नै यही हो । यो कथालाई दीपक–दीपाले आफ्नै शैलीमा पस्किएका छन् । मसलाको रुपमा कमेडी मिसाइएको छ । अर्को कोणबाट माग्ने बूढा (केदार घिमिरे)ले फिल्मलाई थप रोचक बनाएका छन् । राजाराम पौडेलले पनि फिल्ममा रोमान्चकता थपेका छन् ।

    ‘श्रीमतीको मात्रै कुरा सुन्छु’ भनेर कागजी सम्झौता गराउँदै गरेको लगायत केही फाल्तु दृश्यहरु बाहेक फिल्म सुन्दर छ । फिल्मले दर्शकलाई बाँधेर राख्न सक्षम छ । अदालतको बहस र दृश्यहरु भने गतिला छैनन् । मुख्य कुरा त डिभोर्सको मुद्दामा अदालतमा न न्यायाधीशले बोलेको सुहाएको छ, न त वकिलहरुले नै ! अदालतमा हुने बहसलाई कमेडी बनाउने नाममा अविश्वसनीय बनाइएको छ ।

    स–साना समस्याहरू बाहेक फिल्म जुन नियतका साथ बनाइएको हो, त्यसमा दीपक–दीपा सफल छन् । किनभने व्यावसायिक फिल्मको मूल उद्देश्य नै व्यवसाय हो । जसरी हुन्छ, धेरैभन्दा धेरै दर्शकलाई मनोरनञ्जन दिने गरी कथा भन्नु व्यावसायिक फिल्मको मूल मर्म हो । यसमा ‘छक्का पन्जा– ५’ सफल भएको छ ।

    फिल्मको सिनेम्याटोग्राफी औसत छ । सम्पादन र पाश्र्व संगीत ‘वाउ’ भन्ने लेभलको छैन । तर, खराब पनि छैन । फिल्मको सबैभन्दा सुन्दर पक्ष भनेको बावु–छोराको भावनात्मक सम्बन्धकाे चित्रण हो । सानैमा आमा गुमाएको राजालाई भरिया भएर बुवाले हुर्काएको, पढाएको हुन्छ । बुवाको संघर्षसँग भावनात्मक रुपमा जोडिएका छोरा र बाबुबीचको सम्बन्ध फिल्मको भावनात्मक मेरुदण्ड हो । बुवाको भूमिकामा प्रकाश घिमिरेले प्रशंसायोग्य काम गरेका छन् ।

    बाबु–छोराको सम्बन्धमा राजाकी श्रीमतीको हस्ताक्षेपपछि फिल्मले पनि गति लिन्छ । सँगै मूल विषयवस्तुमा पनि फिल्मले गति लिइरहेको हुन्छ । फिल्मले दिने सन्देश हाे- एउटा व्यक्तिको कोसिसले मात्रै यो सिस्टम सुधारिँदैन । यो सिस्टम सुधार्नु छ भने सबैजनाले उत्तिकै ऊर्जा खर्च गर्नुपर्छ ।
    पछिल्लो समय अधिकांश व्यावसायिक फिल्मले एउटा व्यक्तिलाई सिंगो सिस्टम बदल्न सक्ने अलौकित तागत भएको नायक बनाइरहेको देखिन्छ । उसले एक्लै सिस्टम सुधार्छ । जुन कुरा वास्तविकतामा सम्भव नै छैन । मान्छेहरुको भिड पनि नायक नै खोजेर हिँडिरहेको हुन्छ, जसले छुमन्तर गरेर कायापलट ल्याओस् । जोसँग यस्तो जादुको छडी होस्, जसले एकै निमेषमा अभाव र दुःखलाई दूर गरिदेओस् ! ‘छक्का पन्जा –५’ले यो बाटो पक्रिएको छैन ।

    ट्रेलर, गीतले जस्तो प्रतिक्रिया पाए पनि फिल्म भने दशैंका बिदा मनाउन लायकको छ । फिल्ममा नभएको कुरा ट्रेलर र टिजरमा राखेर दर्शक झुक्याउन खोज्ने फिल्महरुको भिडमा ‘छक्का पन्जा’ अलग्गै छ ।
    ०००

  • भिषण मुकारुङको ‘डल्ले खोर्सानी ३ बाडुल्की’ सार्वजनिक

    भिषण मुकारुङको ‘डल्ले खोर्सानी ३ बाडुल्की’ सार्वजनिक

    काठमाडौं । गायक भीषण मुकारुङले दशैंको छेकोमा ‘डल्ले खोर्सानी ३ बाडुल्की’ गीत बजारमा ल्याएका छन् । यो गीत ‘डल्ले खोर्सानी सिरिज अन्तर्गत तेसो गीत हो ।

    पूर्वेली लोकभाकामा निर्मित यस गीतको भिडियोमा डल्ले खुर्सानीको व्यापार गर्ने एक लजालु युवक र स्कुल पढुने छात्राबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ । गाउँले परिवेश समेटेर निर्माण गरिएको यस गीतको छयंकन भक्तपुरको गुण्डुमा गरिएको हो ।

    गीतबारे बोल्दै गायक मुकारुङले पछिल्लो समय लोकगीत समय अनुरुप परिमार्जित हुँदै गएको बताए । तर, जति परिमार्जित हुँदै गए पनि लोकगीतले देश, काल, परिस्थिति र स्थानीय माटोको सुगन्ध छुटाउनु नहुने उनको भनाइ छ । ‘सँगै अग्रजहरुले छाडेर गएको गीतहरुलाई हामीले पुस्तान्तरण गर्दै लैजानु हाम्रो दायित्व हो,’ उनले भने ।

    ‘खुर्सानी डल्लेको पहिलो भिडियोले मात्रै युट्युबमा ६८ लाख बढी भ्युज प्राप्त गरेको छ । गीतमा मुकारुङको आफ्नै स्वर, शब्द र संगीत रहेको छ । मुकारुङकै युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा एलिश राई र एलिशा राईले मोडलिङ गरेका छन् ।

    मुकारुङले हालसम्म पाँच सयभन्दा बढी गीतमा स्वर दिएका छन् भने पाँच दर्जनभन्दा बढी गीतमा संगीत भरेका छन् ।

  • ‘यस्तो शोमा इन्टर्भ्यु दिन्न’ भन्दै प्रकाश सुवेदीमाथि विराज भट्टको कडा प्रहार

    ‘यस्तो शोमा इन्टर्भ्यु दिन्न’ भन्दै प्रकाश सुवेदीमाथि विराज भट्टको कडा प्रहार

    काठमाडौं । आफ्नो चलचित्र ‘१२ गाउँ’ ले हलहरूमा आक्रामक ओपनिङ गरेपछि बिराज भट्ट निकै हौसिएका छन् । हिजो हल भिजिट गर्ने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदा उनको बोलीमा बेग्लै रवाफ थियो ।

    छोरा समीर भट्टलाई साथ लिएर हल भिजिटमा हिँडेका थिए विराज । रिलिजअघि खासै आरोप-प्रत्यारोपमा नउत्रिएका उनले हलहरूमा दर्शकको चाप देखेपछि भने कडा लवजमा प्रतिक्रिया दिएका हुन् ।

    साइबर सेना प्रयोग गरेको आरोप लगाउनेलाई दर्शकले नै जवाफ दिएको विराजले बताए । उनले भने, ‘जसले साइबर सेना भनिरहेका थिए उनीहरूले हलमा आएर हेर्दा हुन्छ ।’

    सञ्चारकर्मी प्रकाश सुबेदीमाथि पनि खनिए बिराज । केही दिनअघि सुवेदीको कार्यक्रममा केही चलचित्रकर्मीले दशैंमा रिलिज हुने तीन चलचित्रमध्ये १२ गाउँ तेस्रो हुने भविष्यवाणी गरेका थिए । विराजले राम्रो चलचित्र बनाउन नसकेका र मार्केटमा कुनै इमेज नभएकाहरूले ईर्ष्या र जलन भएर मिडियामा ‘१२ गाउँ’ माथि नकारात्मक टिप्पणी गरेको भनेर आरोप लगाए ।

    ‘१२ गाउँको विषयमा नकारात्मक समीक्षा गर्ने तिनीहरूको हैसियत छैन,’ विराजले भने, ‘म चुप लागेर बस्दा मान्छेहरूले चाहिने-नचाहिने चिजहरू गरे । तर यिनीहरूले बोलेर केही हुँदैन भन्ने मलाई थाहा थियो । दुई-चार जनाले प्लान गरेर चाहिने-नचाहिने बोलेर केही हुँदैन ।’

    सञ्चारकर्मी सुबेदीलाई लक्षित गर्दै उनले कडा टिप्पणी गरे ।

    ‘यस्तालाई म मिडिया नै मान्दिनँ र मैले कहिल्यै भ्यालु पनि दिएको छैन । मेरो आफ्नै व्यक्तित्व छ । कलाकारलाई कन्ट्रोभर्सीमा ल्याउने र नेगेटिभिटी फैलाउने मिडियालाई अन्तर्वार्ता दिन पनि जान्न । यो मन पर्छ कि त्यो मन पर्छ भनेर जवाफ दिनका लागि म कलाकार भएको हो ? यस्ता मिडियालाई मैले जिन्दगीभर अभोइड गरेको छु । मेरोलागि चलचित्र उद्योग मेरो परिवार हो । आफ्नै परिवारभित्र विभाजन ल्याउन खोज्ने मिडियाहरूलाई सबैले अभोइड गर्नुपर्छ । यो मन पर्छ कि त्यो भनेर जवाफ दिनको लागि मैले कलाकारिता गरेको होइन । मेरो लागि सबै जना समान हुन् ।’

    विराजमाथि लागेको अर्को आरोप हो, भोजपुरी चलचित्र खेल्न थालेपछि आफूलाई ‘भारतीय’ जस्तो बनाउन ‘भट्ट’ थरलाई ‘भट्’ बनाएको । यो विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । आफू झिनामसिना कुराको जवाफ नदिने बताए ।

    उनले भने, ‘झिनामसिना कुरामा जवाफ दिइरहने मेरो औकात र हैसियत होइन । मेरो फुर्सद पनि छैन । कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ। कुकुर भुक्नेवित्तिकै हात्तीले ओहो कुकुर आयो भनेर फर्केर हेर्दैन । मलाई यत्तिकै बाघ भनेर भनिएको होइन क्या ?’

  • रङ्गमञ्चले बदलिदिएको पवित्राको गोरेटो

    रङ्गमञ्चले बदलिदिएको पवित्राको गोरेटो

    ‘सात हजार तलबको लोभमा रङ्गमञ्च छिरेको पनि कति चाँडो दश वर्ष भइसकेछ !’

    रङ्गकर्मी पवित्रा खड्का बितेका वर्षहरू सम्झिन्छिन् । एक क्षण आँखा चिम्म गर्नु, केही सम्झिनु र आँखा खोल्नुबीचमै सकिन्छ उनको दश वर्ष !

    होलसेलमा दश वर्षलाई सम्झँदाखेरि पो पवित्रालाई यस्तो लाग्ने हो । बितेका एक-एक वर्ष, एक-एक महिना, एक-एक दिन, एक-एक घण्टाको हिसाब गर्दै जाने हो भने संघर्षको छुट्टै बही तयार हुन्छ । आरोह-अवरोहलाई सुक्ष्म तवरले हेर्ने हो भने दश वर्ष सय वर्षजस्तो लाग्छ पवित्रालाई । घरिघरि उनलाई लाग्छ, ‘मेरो जीवनको ठूलो हिस्सा लगानी भएको छ यो दश वर्षमा ।’

    सात हजार तलबले आकर्षित गरेपछि पुनः रङ्गमञ्च छिरेकी पवित्राको बुझाइलाई नाटकले नै फराकिलो बनाइदियो । कवि, लेखक र रङ्गमञ्चका मान्छेहरूसँग बाक्लो भेटहरू भए । नाटक गरेर सिकाइ मात्रै भएन, टिकाइ पनि भयो ।

    फेरि यसो गम खान्छिन् । सोच्छिन्, ‘अहो, कति छिटो समय बितेछ । यही क्षेत्रमै भविष्य खोज्छु, जीवन खोज्छु नभनीकनै दश वर्ष कटेछ क्यार… !’

    उनी फेरि रोमान्चित हुन्छिन्, ‘समग्रमा यो यात्रा रमाइलो नै छ ।’

    यो दश वर्षमा २० भन्दा बढी बन्द नाटक खेलिसकिन् । बाँकी नाटकहरूका सेट डिजाइन गरिन् । लाइट डिपार्टमेन्ट हेरिन् । कचहरी नाटक लिएर देशैभर पुगिन् । ‘क्राइम पेट्रोल’ सिरिज, ‘प्रकाश’ लगायत फिल्ममा काम गरिन् ।

    ०००

    किन नाटक खेल्दैछु ? रंगमन्चमा भविष्य बनाउन सक्छु कि सक्दिनँ ? रंगमन्चमा लागेरै जीवन चलाउन सक्छु कि सक्दिनँ ? दश वर्षअघि यी सारा सवालहरूसँग बेखबर थिइन् पवित्रा ।

    योजनाबद्ध थिएन उनको रङ्गमञ्च यात्रा । रामेछापमा स्कुल पढ्दाताका नाच्ने, गाउने त हुन्थ्यो, तर अभिनयमै लाग्नेबारे कल्पेकै थिइनन् । निश्चित पेसाबाहेक अरु कामलाई पेसा मान्न तयार नै थिएन समाज (अहिले पनि छैन)। कसो कसो कल्पना समेत नगरेको क्षेत्रमा हाम फालिन् ।

    अहिले आएर पवित्रालाई लाग्छ, ‘अब चाहिँ मेरो बाटो नै यही हो ।’

    ‘घरिघरि मलाई अर्कै पेसा लिनुपर्छ होला, यहाँ बाँच्न सकिँदैन भन्ने लाग्थ्यो । गत वर्ष तीन-चार महिना डेनमार्कमा थिएटर गरेर आएँ । त्यहाँको कलाकार सडकमा केही गरेर पनि जीवन चलाइरहेका छन् । मेरो देशमा त कति धेरै सम्भावना छ भन्ने लाग्यो,’ पवित्रा रङ्गमञ्च भन्छिन्, ‘अहिले त म थिएटरमा ट्रेनरको रूपमा काम गर्न सक्छु । नाटक निर्देशन गर्न सक्छु । कस्ट्युम डिजाइन गर्न सक्छु । साउन्डको काम गर्न सक्छु । सेट डिजाइन गर्न सक्छु । लाइट डिपार्टमेन्ट हेर्न सक्छु । अहिले त म मजाले बाँच्न सक्छु जस्तो लाग्छ ।’

    पवित्रा नाटक भनेर मात्रै बस्दिनन् । फिल्म पनि खेल्छिन् । भरत नाट्यम र नेपाली शास्त्रीय नृत्य सिकेकी छन् । नृत्य पनि सिकाउन सक्छिन् । बितेको दश वर्षमा हर तरहले जीवन निर्वाहका लागि आफूलाई बहु आयामिक बनाएकी छन् ।

    ०००

    पवित्राको नाट्य क्षेत्रमा प्रवेश पनि नाटकीय छ ।

    उनी जन्मनुभन्दा दुई महिना अगावै बुवाको मृत्यु भयो । रामेछापमा आमासित हुर्किइन् । माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । विद्यालयहरू धमाधम बन्द हुन थालेका थिए । हुँदा हुँदा पवित्राको पनि स्कुल पनि बन्द भयो । पवित्राजस्ता थोरै हुर्केका विद्यार्थीलाई जबरजस्ती माओवादीहरूले लिएर जान्थे ।

    काठमाडौंमा सानिमा थिइन् । पवित्रा सानिमाको शरणमा आइपुगिन् । काठमाडौंबाटै एसएलसी दिइन्, २०६४ सालमा । त्यो समय एसएलसी दिएकाहरूले तीन महिने कम्प्युटर सिक्थे ।

    आउँदा दिनमा के गर्ने ? पवित्रासित कुनै योजना थिएन । न त भविष्यबारे नै सोचेकी थिइन् । कुन रङ मन पर्छ । कुन खाना मन पर्छ भन्ने नै थिएन । उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने समाजमा हुर्किइन् ।

    यहीबीचमा सानिमालाई झुट बोलिन्, ‘कम्प्युटर सिक्छु ।’ अनि एक साथीको पछि लागेर डिल्लीबजारमा नृत्य सिक्न गइन्, राजश्री डान्स सेन्टरमा । त्यहीँ पुगेपछि थाहा पाइन्, कति साथीहरू त अभिनय पनि सिक्दा रैछन् !

    पवित्रालाई पनि लाग्यो, ‘अभिनय सिकेर के हुँदो रहेछ, सिकौं न त ।’

    दुई-चारजना साथीहरूको पछि लागेर पवित्रा पुरानो बानेश्वरस्थित एमआर्ट थिएटर पुगिन् । त्यहाँ वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालले अभिनय सिकाए । साथै वीरेन्द्रले फिल्म पनि बनाए, ‘सारङ्ग’ । यस फिल्ममा प्रहरीको भूमिका पनि पाइन् पवित्राले । यद्यपि यो फिल्म अहिलेसम्म प्रदर्शन भएको छैन ।

    पवित्राले नाटक सिक्छ भनेर घरमा थाहा भएको थियो । एमआर्ट थिएटरमै रङ्गकर्मी रामबाबु रेग्मीसित पवित्राको भेट भयो । रामबाबुले भने, ‘शिल्पी थिएटरमा कलाकार खोजिरहेको छ, नाटक खेल्ने भए जानू ।’

    पवित्रा लगायत तीन-चारजनाले हात उठाए । जानेवाला चाहिँ पवित्रा एक्लै परिन् । शिल्पी थिएटर अहिलेजस्तो ठूलो थिएन । सानो हल थियो । त्यहाँ यात्रा नाटक ‘काँचो माटो’का लागि कलाकार खोजेका रैछन् ।
    दुर्भाग्य ! पवित्रा आउनुभन्दा पहिला नै एकजना केटी पुगिसकेकी रैछन् । उनैलाई नाटक टिमले लिइसकेछ ।

    घिमिरे युवराज काठमाडौं बाहिर थिए । शिल्पीमा लुनिभा तुलाधार, जीवन बराल थिए । उनीहरूले पवित्रालाई भने, ‘यो नाटकमा नभएर केही हुँदैन । अर्को नाटकमा बोलाउँछौँ ।’

    अलि पछि ‘के लग्यो हल्का(छाल)ले’ नाटकका लागि पवित्रालाई बोलाइयो । त्यो कचहरी नाटक गरिन् ।

    घरका मान्छेले ‘नाटक नगर’ भनेर दबाब दिइरहेको थियो । पवित्रासित पनि भविष्यबारे कुनै योजना थिएन । अनि तीन-चार महिना जागिर छाडिन् । यो बीचमा भाटभटेनी सुपरमार्केट, कलंकीमा सेल्स गर्लको जागिर सुरु गरिन् । दैनिक १२ घण्टा काम गर्थिन् ।

    तलब थियो, सात हजार ।

    एक दिन घिमिरे युवराजले फोन गरेर भने, ‘तिमीलाई भाटभटेनीले दिएको स्यालरी शिल्पीले नै दिन्छ आऊ !

    पवित्रा सुनाउँछिन्, ‘मलाई पैसाले म्याटर गर्‍यो । रङ्गमञ्च, साहित्य बुझ्ने भन्दा पनि शिल्पीले नाटक गरेर पैसा दिन्छ भन्ने कुराले शिल्पीको होस्टेल बस्न थालेँ ।’

    ०००

    पवित्रालाई अहिलेसम्म आमाले सोधेकी छैनन्, ‘नाटक भनेको के हो ?’

    पवित्रा खेलेको नाटक आमाले हेरेकी छन् । अरुले ‘कस्तो लाग्यो’ भनेर सोध्दा आमाको जवाफ हुन्छ, ‘राम्रो लाग्यो ।’

    ‘तपाईँ छोरीको कामले खुसी हुनुहुन्छ ?’

    आमाको जवाफ हुन्छ, ‘अँ ।’

    जे होस्, पवित्राले तय गरेको बाटोमा आमा खुसी छन् । पवित्रा त खुसी हुने भइहालिन् । उनी शिल्पीको पहिलो ब्याच हुन् । उनका ब्याचमेटहरु रेनुका कार्की, आरके मेहता, सरिता शाह, प्रियंका झा, किरण चाम्लिङहरू सबैले आ-आफ्नै बाटो पक्रिएर हिँडे । उनी चाहिँ शिल्पीमै निरन्तर काम गरिरहेकी छन् ।

    पवित्रालाई सहयोग गर्ने राजु शाह, वीरेन्द्र, रामबाबु, लुनिभा, जीवनहरू पनि आ-आफ्नै बाटोमा छन् । जीवनले पूर्वतिर थिएटर खोलेका छन् अहिले । पवित्राको यात्रामा उनीहरू कहीँ कतै छुटे । वा उनीहरूको यात्रामा पवित्रा कहीँ कतै छुटिन् । अहिले पवित्रालाई लाग्छ, ‘एक मान्छेले अर्को मान्छेका लागि पुलको काम गरिदिँदो रहेछ ।’

    ०००

    यो यात्राको बीच पवित्राले सम्झिइरहने कचहरी नाटक हो, ‘कल्पना उर्मिला’ ।

    सात/आठ वर्षअघि यो नाटक लिएर पवित्राहरू ३५ दिन सुदूरपश्चिम र कर्णालीको यात्रामा निस्किए । उनले कर्णालीको समाज देखेकी थिइनन् । भाषा बुझ्दिन थिइन् । यही नाटक लिएर जाँदा पवित्रा त्यो समाजसँग यसरी नजिक भइन् कि उनको बुझाइको दृष्टिकोण नै बदल्यो ।

    ‘त्यो समाजमा पुग्नु अगाडि मलाई लाग्थ्यो, मेरो जत्तिको पीडा अरु कसैको छैन । किनभने म त बिचरा जस्ती थिएँ । सबैले टुहुरी भन्थे । यस्तो बिचरा भएर हुर्किएको भन्थे । तर, कर्णाली र सुदूरपश्चिम पुगेपछि लाग्यो, मेरो दुःख त केही होइन,’ पवित्रा सुनाउँछिन् ।

    घरिघरि मलाई अर्कै पेसा लिनुपर्छ होला, यहाँ बाँच्न सकिँदैन भन्ने लाग्थ्यो । गत वर्ष तीन-चार महिना डेनमार्कमा थिएटर गरेर आएँ । त्यहाँको कलाकार सडकमा केही गरेर पनि जीवन चलाइरहेका छन् । मेरो देशमा त कति धेरै सम्भावना छ भन्ने लाग्यो

    सात हजार तलबले आकर्षित गरेपछि पुनः रङ्गमञ्च छिरेकी पवित्राको बुझाइलाई नाटकले नै फराकिलो बनाइदियो । कवि, लेखक र रङ्गमञ्चका मान्छेहरूसँग बाक्लो भेटहरू भए । नाटक गरेर सिकाइ मात्रै भएन, टिकाइ पनि भयो ।

    पवित्रा सुनाउँछिन्, ‘झनै कल्पना उर्मिला त मेरो थिएटर यात्राको टर्नसङ प्वाइन्ट नै भयो । मैले चाहेको जीवन यतै छ भनेर मलाई यही नाटकले टर्न गरिदियो ।’

    यो बीचमा उनले घिमिरे युवराजले लेखेको, प्रवीण खतिवडाले निर्देशन गरेको ‘विमोक्ष गरिन् । उनलाई याद भइरहने नाटकहरू ‘नो एक्जिट’, ‘हिउँको पृथ्वी यात्रा’, फ्रेन्च नाटक ‘झलेन्द्र प्रसादको लीला’ लगायत हुन् ।

    ०००

    बन्द नाटक गर्नुको मजा छँदै छ । सँगै खुल्ला नाटक गर्दा पवित्रालाई बेग्लै आनन्द मिल्छ । खुल्ला नाटक थिएटरमा सेट डिजाइन गरेर बनाइएको बन्द नाटकजस्तो हुँदैन । यसको पहिलो चुनौती त दर्शक जम्मा गर्नु हो ।

    गाउँलेहरू खेतबारीमा व्यस्त हुन्छन् । उनीहरूलाई कामबाट निकालेर नाटक हेर्न कन्भिन्स गर्नु अर्को चुनौती हो । उनीहरूले नाटक हेरेकै हुँदैनन् । त्यस्ता दर्शकलाई नाटक देखाएर अनेक मुद्दाहरूमाथि बहस गर्नु आफैँमा चुनौती हो । यी चुनौतीहरूलाई जितेर नाटक देखाउन पाउँदा पवित्रालाई आनन्द लाग्छ ।

    कचहरी नाटक सडक नाटकमा जस्तो संवादै संवाद पनि हुँदैन । संवाद बढी भएमा कचहरी नाटक प्रभावकारी पनि हुँदैन । बन्द नाटकमा जस्तो स्टेज, लाइभ म्युजिक, लाइट लगायत केही हुँदैन ।

    ‘हामी गाउँमै भएका वस्तुहरू राखेर कसरी आकर्षण ल्याउने भनेर योजना बनाउँछौँ । गाउँको दैनिक जीवनमा जनावरको भूमिका हुन्छ । बाख्रा, कुखुराहरूसँग नजिक हुन्छन् गाउँलेहरू । कुर्सी टेबलहरूलाई कसरी संवादमय बनाउने भनेर काम गर्छौँ,‘ पवित्रा सुनाउँछिन्, ‘यदि समुदायको मान्छेलाई नाटकमा बाँध्ने हो भने उनीहरूको अट्याचमेन्ट भएको कुरालाई जोडेर नाटक बनाउनुपर्छ ।’

    त्यसैले रंगमन्चमा प्रवेश गर्न खोजिरहेको नयाँ भाइबहिनीलाई पवित्राको सुझाव छ, ‘थिएटरमा काम गर्न तयार साथीहरू जो जो हुनुहुन्छ, आउनुस् । तर, तीन महिना अभिनय सिकेर सिनेमामा जान्छु, अन्त भविष्य खोज्छु भनेर आउनुभयो भने चाहिँ काम छैन । सिनेमामा जाने कुरा स्वतन्त्रताको कुरा भयो । तर, यही क्षेत्रमा भविष्य खोज्न चाहनुहुन्छ भने धैर्यता र लगनशीलता चाहिन्छ । म त यति भन्छु कि रंगमन्चमा भविष्य छ ।’

    ०००

  • अभिनेता प्रदिप खड्का र दिब्या रायमाझी फिचर्ड चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत सार्वजनिक

    अभिनेता प्रदिप खड्का र दिब्या रायमाझी फिचर्ड चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत सार्वजनिक

    काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज,राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ।

    शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी छन्। यसै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्यालाई भिडियाेमा ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

    चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको चलचित्रलाई अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। चलचित्रका निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।

    नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। चलचित्रमा हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले सङ्गीत दिएका छन भने शिशिर खाती र किरण थापाले कोरियोग्राफी गरेका छन्।

  • ‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेको २० मिनेटमै चलचित्रमा काम गर्न सहमत भएँ- निती शाह

    ‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेको २० मिनेटमै चलचित्रमा काम गर्न सहमत भएँ- निती शाह

    काठमाडौं । फूलपातीको अवसर पारेर आजबाट चलचित्र ‘ज्वाइँ साब’ देशव्यापीरूपमा रिलिज भएको छ । आफ्नो चलचित्र रिलिजसँगै नायिका निती शाहले सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेकी छन् । उनले सबैलाई चलचित्र हेर्न उनको आग्रह छ ।

    पूर्वमिस नेपालसमेत रहेकी नितीले यो चलचित्रमा जितु नेपालसँग जोडी बाँधेकी छिन् । नितीका अनुसार ‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी चलचित्रमा काम गर्न सहमत भएकी थिइन् ।

    उनको भनाइ छ, ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनेँ । स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भनिदिएँ । चलचित्रको स्क्रिनप्ले र मेरो क्यारेक्टर राम्रो लागेकाले काम गर्न सहमत भएँ । फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुहुन्छ भन्ने थाहा पाएँ ।’

    नितीका अनुसार चलचित्रको कथा उनकै वरपर घुमेको छ ।

    ‘मलाई स्टोरीलाइन मन परेको थियो । फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी बताउँछिन् ।

    केही समयअघि चलचित्रको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । उक्त फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । निती टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन् ।

    ‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ ? भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाईमा जे हुन्छ राम्रैका लागि हुन्छ’, नितीले भनिन् ।

    ‘ज्वाइँ साब’ का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेकी रहिछन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी खुलिन् । उनले आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । उनले भनिन्, ‘जितु दाइ म भन्दा धेरै सिनियर । तर, सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । फिल्मको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि झनै इन्स्पायरिङ भयो ।’

    वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’ मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

  • ‘पहिलोपटक प्रि-बुकिङको अनुभव लिँदैछौं, दर्शकको गाली पनि माया नै रहेछ क्यारे’

    ‘पहिलोपटक प्रि-बुकिङको अनुभव लिँदैछौं, दर्शकको गाली पनि माया नै रहेछ क्यारे’

    काठमाडौं । आफ्नो चलचित्र ‘छक्का पञ्जा-५’ रिलिजको मुखमा डेंगु लागेर थला परिन् चलचित्रकी निर्देशक दीपाश्री निरौला । उनी ओछ्यानमा लडिरहँदा सामाजिक सञ्जालमा ‘छक्कापञ्जा ५’ विरुद्ध ठूलै कोलाहल चलिरहेको थियो ।

    अलि तंग्रिएपछि दीपाश्री हिजोबाट फेरि फिल्मको दौडधुपमा लागेकी छन् । फिल्मले सेन्सरबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएपछि उनले सन्तोषको सास फेरिन् । तर, योभन्दा ठूलो सन्तोष चाहीँ उनलाई चलचित्रको प्रि-बुकिङले दिएको छ । रिलिजको दुई दिन अगाडिबाटै देखिएको प्रि-बुकिङ लहरले ‘छक्का पञ्जा ५’ का तनावग्रस्त अनुहारहरूमा मुस्कान फर्किएको छ ।

    नेपाली चलचित्र हेर्ने दर्शकले ‘प्रि बुकिङ’ गर्ने ट्रेन्ड सम्भवत: पहिलोपटक देखिएको हो । फेसबुकमा ‘छक्कापञ्जा-५’ विरुद्ध जेहाद छेडिएको देख्दा यसपालि दीपकराज एन्ड कम्पनीलाई ठूलै धक्का लाग्छ कि भन्ने आँकलन गरिएको थियो । दीपकराज स्वयम् पनि प्रतिरक्षात्मक बनेर भन्दै थिए, ‘पहिले १२ गाउँ र ज्वाइँसाब हेर्नुस्, त्यसपछि छक्कापञ्जा हेर्दा हुन्छ ।’

    तर, सामाजिक सञ्जालको जनमत एउटा भ्रम हो भन्ने साबित भयो, जब ‘छक्का पञ्जा’ को बुकिङ खुल्नासाथ हलका सिटहरूमा रातो टीका देखिन थाले । कम्तीमा यो तय भएको छ कि चलचित्रले बम्पर ओपनिङ गर्नेछ । दोस्रो सातादेखिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर हुन्छ । स्मरण रहोस् कि चलचित्रले डिजिटल राइट र देश-विदेशको वितरण अधिकारबाट आफ्नो लगानी रिलिज पहिल्यै उठाइसकेको थियो । हलबाट हुने आम्दानी सबै मुनाफा हो ।

    चलचित्रको प्रि-बुकिङ देखेर निकै हौसिएकी छिन् दीपाश्री । उनले प्रि-बुकिङको स्वाद पहिलोपटक चाखिरहेको बताइन् ।

    ‘यो भन्दा अगाडि हाम्रो कुनै पनि चलचित्रको यस्तो प्रि-बुकिङ हुन्थेन । दर्शकले हलमै गएर टिकट काट्थे । यसपालि सुखद आश्चर्यमा परियो,’ उनले भनिन् ।

    ‘छक्का पञ्जा ५’ कै सेरोफेरोमा दीपाश्रीसँग गरिएको कुराकानीः

    – फिल्म रिलिजको संघारमा बिरामी पर्नुभयो, अहिले कस्तो छ ?

    फिल्मको दौडधुपबीच १६ गतेबाट असहज महसुस भएको थियो । १७ गतेबाट ओछ्यान नै परेँ । डेंगुले अरुलाई जस्तै मलाई पनि गाह्रो नै पार्‍यो । उठ्न खुट्टै टेकिँदैनथ्यो । तैपनि मेरो प्लेटलेट्स १ लाख ६० हजार भएकाले पुरै थला परेको चाहीँ थिइनँ ।

    अहिले अलि आराम भएको छ । हिजोबाट बाहिर निस्किएँ । माग्नुले सुत्नै दिएन नि (हाँस्दै) ।

    – तपाईं बिरामी हुँदा फेसबुकमा छक्कापञ्जाविरुद्ध भइरहेको हल्लाखल्लाबारे अपडेट हुनुहुन्थ्यो ?

    फेसबुक धेरै चलाउन सक्ने अवस्था त थिएन । आँखै खोल्न गाह्रो हुन्थ्यो । तर पनि अपडेट त भइरहेकै थिएँ ।

    – सामाजिक सञ्जालमा आइरहेको गालीगलौजले तपाईँलाई कत्तिको मानसिक तनाव भयो ?

    पीर त लागि नै हाल्छ । यतिका वर्षदेखि फिल्म बनाइरहेको, ब्याक टु ब्याक हिट फिल्म दिइरहेको मान्छेलाई हतोत्साही गरेर विस्थापित गर्न किन खोजिएको होला भन्ने लाग्थ्यो । आखिर हामीले गल्ती के नै गरेको थियौं र यस्तो गाली खानलाई । मैले त भगवानको नाम लिँदै बसेँ । हामीले सत्कर्म गरेका छौं भने परिणाम पक्कै राम्रो आउँछ भन्ने आत्मविश्वास चाहीँ थियो । हामी ‘स्ट्रङ’ हुनुपर्छ भन्ने भनेर एक-अर्कालाई हौसला दिइरहेका थियौं ।

    अहिले पनि मेरो चिन्ता भनेको यस्तो प्रवृत्तिले नेपाली चलचित्रलाई कहाँ पुर्याउँछ भन्ने हो । हामीले त झेल्यौं, सबैले झेल्न सक्छन् भन्ने छैन ।

    – तपाईंहरूमाथि यति तीव्र आक्रमण किन भयो होला जस्तो लाग्छ ?

    त्यो त म पनि बुझ्न सकिरहेको छैन । हुन त वर्ल्डवाइड नै यस्तै हो । जो सफल छ, उसैको खुट्टा तान्ने प्रयास हुन्छ । जो पावरफुल छ, उसलाई कमजोर बनाउन खोजिन्छ । भारतमा पनि शाहरूख खान, सलमान खानहरूको कति धेरै आलोचना भइरहेको हुन्छ । आलोचना गर्नेहरू थोरै भए पनि आवाज चर्को सुनिन्छ । हाम्रो हकमा पनि त्यही भएको हो ।

    – सामाजिक सञ्जालको माहोल हेर्दा यसपालि चैँ फिल्म चिप्लिने भो भन्ने डर लागेन ?

    छक्कापञ्जालाई गाली आएको अहिलेमात्र होइन । हामीले ६ एकान ६ देखि नै गाली खान थालेका हौं । तर, कहिले पनि विचलित भएनौं । चलचित्र हलमा लागेपछि सधैँ दर्शकले अथाहा माया दिनुभएको छ । त्यसैले यसपालि पनि आशा मारेका थिएनौं । हामीलाई आफ्नो प्रोडक्टमा विश्वास छ ।

    – फिल्म राम्रो छ भन्ने विश्वास हुँदाहुँदै प्रिमियर गर्न चाहीँ किन डराउनुभएको ?

    डराएको होइन । हामीले अहिलेसम्म कुनै पनि चलचित्रको प्रिमियर गरेका छैनौं । चलचित्र भनेको दर्शकका लागि हो । त्यसैले सीधै दर्शकलाई देखाएर उनीहरूको प्रतिक्रिया लिन्छौं । दर्शक सन्तुष्ट भएमा हामीलाई अरु कुराले फरक पर्दैन ।

    चलचित्रको ट्रेलरले त राम्रो प्रतिक्रिया पाएन नि । किन कमजोर ट्रेलर फ्याँक्नुभएको ?

    कमजोर छ भन्ने मान्दिनँ । ट्रेलर पहिलेजस्तो छैन भनिरहेका छन् । तर, पहिले पनि हाम्रो कुनै पनि चलचित्रका ट्रेलरले प्रशंसा पाएका छैनन् । तर, चलचित्र दर्शकले मन पराए । ट्रेलर हिट भएर चलचित्र फ्लप हुनु भन्दा यही ठीक छ । भोलि चलचित्र हेरिसकेर दर्शकले राम्रो प्रतिक्रिया दिएनन् भने चाहीँ त्यो हाम्रोलागि सोचनीय विषय हुन्छ ।

    – यसपालि पब्लिसिटीमा धेरै दौडधुप गर्नुभएको देखिएन । पब्लिसिटीविना पनि चल्छ भन्ने भएर हो ?

    त्योभन्दा पनि नभ्याएर हो । हामीलाई जहिले पनि फिल्म रिलिजको बेला भ्याइनभ्याइ नै हुन्छ । डबिङ भन्यो, मिक्सिङ भन्यो, कलरिङ भन्यो, साउन्ड भन्यो, के के हो के के । बल्ल सेन्सर पास भयो । अब चाहिँ काम सकिएको छ ।

    – अहिलेसम्म तपाईंहरूको टीमले बनाएका ८ वटै चलचित्र हिट भएका छन् । छक्कापञ्जा ४ ले त १६ हलमा ५१ दिन समेत मनायो । छक्कापञ्जा ५ प्रति तपाईंको अपेक्षा चाहीँ के छ ?

    हामीले आफ्नो १०० प्रतिशत दिएका छौं । अहिले जुन प्रि-बुकिङको लहर देखिएको छ, त्यसले त हामीलाई उत्साहितमात्रै होइन कि आश्चर्यमै पारेको छ । फर्स्ट टाइम हो, हाम्रो चलचित्रमा दर्शकले यति धेरै रातो टीका लगाइदिनुभएको । प्रि-बुकिङको अनुभव नै थिएन । जति धेरै गाली, त्यति धेरै माया भन्याजस्तो भयो ।

    पहिलेका चलचित्रमा त हलमै गएर टिकट काट्नुहुन्थ्यो । हिन्दी फिल्मको मात्रै प्रि-बुकिङको कुरा सुनिन्थ्यो । अहिले सबैतिरबाट आक्रामक प्रि-बुकिङको रिपोर्टहरू आइरहेको छ । यो देखेर मलाई त दर्शकको गाली पनि माया नै रहेछ भन्ने लाग्न थाल्यो । हाम्रो लागि मात्र नभएर समस्त नेपाली चलचित्र क्षेत्रकै लागि खुशीको समाचार हो यो ।

    – छक्कापञ्जासँगै रिलिज हुन लागेका १२ गाउँ र ज्वाइँसाबको विषयमा के भन्नुहुन्छ ?

    दुवै फिल्म चल्नुपर्छ । स्वस्थ प्रतिस्पर्धा सबै ठाउँमा जरुरी छ । उहाँहरूको पनि चलोस्, हाम्रो पनि चलोस् । बाध्यताले भिड्नुपरेको हो । अरुको नचल्दा खुशी हुने मान्छे होइनौं ।

  • आफ्नै गीतमा ‘कपीराइट’ लागेपछि राजेशपायलले दिए यस्तो चेतावनी

    आफ्नै गीतमा ‘कपीराइट’ लागेपछि राजेशपायलले दिए यस्तो चेतावनी

    काठमाडौं । आफ्नै गीतमा ‘कपीराइट क्लेम’ लागेपछि गायक राजेशपायल राईले कानूनी उपचार गर्ने चेतावनी दिएका छन् । उनले चेतावनीसहित आफ्नो गीत तुरुन्त हटाउन समेत सुझाव दिएका छन।

    सामाजिक संजालमा स्टाट्स लेख्दै गायक राईले यसबारे जानकारी गराएका हुन् । आफैले संग्रह गरेको अडियो प्लाटफर्मबाट गीत डाउनलोड गर्न खोज्दा उल्टै आफूलाई कपीराइट लागेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनको भनाइ छ, ‘यो एक सूचना हो । मेरो राइट्समा रहेको अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्लाटफर्ममार्फत संग्रहित डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको हुनाले यो सूचित गरिन्छ कि तपाईँले राख्नु भएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला अन्यथा म कानूनको उपचारमा लाग्नेछु ।’

  • मनोरञ्जन चाहनेको लागि ‘ज्वाईं साब’ मा इन्जोय गर्ने ठाउँ प्रशस्त छ: बुद्धि तामाङ

    मनोरञ्जन चाहनेको लागि ‘ज्वाईं साब’ मा इन्जोय गर्ने ठाउँ प्रशस्त छ: बुद्धि तामाङ

    काठमाडौं । अधिकांश चलचित्रहरुमा प्रमुख पात्रको साथीका रुपमा देखिने पात्र हुन, कलाकार बुद्धि तामाङ।

    साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा, बुद्धिको सक्रियता चलचित्रहरुमा बाक्लै देखिने गर्दछ । यहीँ असोज २४ गते फूलपातीको दिनबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा पनि बुद्धि ‘भगवान तामाङ’ नामको चरित्रमा देखिँदैछन् ।

    बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई चलचित्रका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । बुद्धि भन्छन्,‘म चलचित्रमा जितु नेपाल दाईलाई बुस्ट गर्ने र सपोर्ट गर्ने क्यारेक्टरमा छु । उहाँलाई उकास्दै(उकास्दै माथि लैजाने चरित्र छ मेरो।ु

    बुद्धिको बुझाईमा चलचित्र भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिने माध्यम हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मज्जा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भन्नेको लागि यस चलचित्रमा इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक मनछुने र हँसाउने कथा छ’, बुद्धि सुनाउछन् ।

    चलचित्रको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । ‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के-के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’

    बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला चलचित्रभन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि खुल्छन। निर्देशक वसन्त निरौलासँग बुद्धिको चलचित्र ‘होलिडे’ पछिको यो दोस्रो सहकार्य हो । जितुसँग भने उनले पहिला ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘कार्साङ’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरिसकेका छन् ।

    वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

    रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • रहेनन् गीतकार विश्व वल्लभ

    रहेनन् गीतकार विश्व वल्लभ

    काठमाडौं । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो ।

    मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो । थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो । घरमा एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएपछि अस्पताल लगिएको थियो ।

    केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

    लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।

    उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

  • युट्युवमा ‘जारी’ : १५ घण्टामै मिलियन भ्यूज, ट्रेन्डिङमा उकालो चढ्दै

    युट्युवमा ‘जारी’ : १५ घण्टामै मिलियन भ्यूज, ट्रेन्डिङमा उकालो चढ्दै

    काठमाडौं । उपेन्द्र सुब्बा निर्देशिक ब्लकबस्टर फिल्म ‘जारी’ हलमा रिलिज भएको डेढ वर्षपछि युट्युवमा राखिएको छ । निर्माणपक्षले दशैँको उपहार भन्दै नि:शुल्क प्लेटफर्ममा अपलोड गरिदिएपछि दर्शकहरू फिल्म हेर्न उर्लिएका छन् ।

    गत वर्ष वैशाख १ गते यो चलचित्र रिलिज भएको थियो । चलचित्र विकास बोर्डको रेकर्डअनुसार चलचित्रले १७ करोड १७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । २०८० सालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको थियो जारी ।

    यो चलचित्रपछि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको बाटो अलग भयो । रामबाबुले ‘डिग्री माइला’ बनाए भने उपेन्द्रले मनसरा । दुवै चलचित्रले उल्लेख्य व्यापारिक सफलता पाउन सकेनन् ।

    ‘जारी’ को सफलताले सबैभन्दा ठूलो फाइदा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई भयो । यो जोडी अहिले नेपाली चलचित्रको सर्वाधिक हिट जोडी मानिएको छ । यद्यपि, उनीहरुले सँगै अभिनय गरेका अन्य चलचित्रले जारीको सफलता दोहोर्‍याउन भने सकेका छैनन् ।

    ‘जारी’ अहिले बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट हिजो साँझ ५ बजे युट्युवमा अपलोड गरिएको हो । यो समाचार लेख्दासम्म चलचित्रले १० लाख ६२ हजार भ्यूज प्राप्त गरिसकेको छ । करिब ४ हजारले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रियाहरुमा मौलिक चलचित्र भन्दै तारिफ गरिएको छ । धेरैले नेपाली चलचित्र यस्तै हुनुपर्ने धारणा दिएका छन् ।

    जारी युट्यूवको नेपाल ट्रेन्डिङमा पनि चढिसकेको छ । अहिले ७ नम्बरमा रहेको चलचित्र चाँडै एक नम्बरसम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।

  • काभ्रेमा खानेपानी समस्यामा परेकाहरूलाई दुर्गेश थापाको ५० हजार सहयोग

    काभ्रेमा खानेपानी समस्यामा परेकाहरूलाई दुर्गेश थापाको ५० हजार सहयोग

    काठमाडौं । गत हप्ता आएको बाढी-पहिरोको ठूलो विपत्तिले अत्यधिक प्रभावित बनेको जिल्ला काभ्रेपलाञ्चोकको पिपलचौरमा खानेपानीको समस्यामा परेका स्थानीयलाई गायक तथा मोडल दुर्गेश थापाले सहयोग गरेका छन् । सामाजिक कार्यमा सक्रिय `हाम्रो टिम नेपाल´को समन्वयमा नयाँ पाइप जडान गरेर खानेपानीको सहज आपूर्तिको लागि दुर्गेशले नगद ५० हजार सहयोग गरेका हुन् ।

    सामाजिक सञ्जालमा जानकारी पोस्ट गर्दै दुर्गेशले ‘बाढीपहिरोले काभ्रे पिपलचाैरमा पाईप बगाएर खानेपानीबाट बञ्चित बनेका स्थानीयहरूलाई खानेपानीको सहजताको लागि व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गरेको’ उल्लेख गरेका छन् ।

    ‘अफ्ट्यारोमा परेकाहरूको दु:खमा मल्हम लगाउनु हामी सबैको कर्तव्य हो, म सहितको सहयोग मद्दतमा नयाँ पाईप जडान गरेर अहिले उक्त स्थानमा खानेपानीको सहजता पुगेको छ,’ उनले लेखेका छन् ।

    यसअघि पनि धेरै व्यक्ति र क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आइरहेको उनले बताए ।

    `दु:खमा लगाउने मल्हमलाई प्रचारको हतियार बनाउन मन लाग्दैन दुर्गेश भन्छन्, ‘आज अरूलाई परेको अफ्ट्यारो भोलि जसलाई पनि पर्नसक्छ, समस्यामा परेकाहरूसँग हातेमालो गर्दै अघि बढ्नु नै मानवता हो।’

    दुर्गेश यतिबेला दशैंको अबसरमा विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा व्यस्त रहेका छन् । भैरहवा, लमजुङ, तनहुँ र चितवनको कार्यक्रम सकेर आज नवलपुरको कार्यक्रममा पुगेक उनले जानकारी दिए ।

    दशैं योजना सुनाउँदै चितवनबाट दुर्गेशले भने, ‘नवलपुरपछि गोरखाको कार्यक्रम सकेर पोखरा हुँदै बाग्लुङ रहनेछु ।’