Category: कलाप्रेस

  • ड्यालसमा गजल कृति ‘धीत’ माथि परिचर्चा

    ड्यालसमा गजल कृति ‘धीत’ माथि परिचर्चा

    ड्यालस (अमेरिका) । गजलकार बिटु केसी बरालको हालै प्रकाशित नयाँ कृति ‘धीत’ माथि आइतबार अमेरिकाको ड्यालसमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

    दुई दशकको अमेरिका बसाइँलाई बिट मारेर केही समयअघि नेपाल फर्किएकी केसीको नयाँ कृति ‘धीत’ गजलहरूको सङ्ग्रह हो । ‘धीत’ले वर्तमान परिवेशमाथि चोटिलो प्रहार गरेको त्यस अवसरमा वक्ताहरूले उल्लेख गरेका थिए ।

    साहित्यकार भीम कार्कीले धीतमा अमेरिका र नेपालको समसामयिक परिवेशमाथि लेखिएको उल्लेख गर्दै गजलकार केसीबाट भविष्यमा थप उत्कृष्ट साहित्यिक कृति प्रकाशित हुने अपेक्षा व्यक्त गरे ।

    अर्का समीक्षक तथा लेखक सञ्जय घिमिरेले गजल आफैँमा चोटिलो विधा भएकोले समीक्षा भन्दा पनि सुन्दा अझै चाखपूर्ण हुने टिप्पणी गरेका थिए ।

    कार्यक्रममा लेखिका केसीले गजल कृति रचना गर्दाका अनुभव प्रस्तुत गर्दै आफूलाई अमेरिकालेनै यो विधामा कलम चलाउन प्रेरणा दिएको उल्लेख गरिन् ।

    हिमालय खबर अनलाइन र स्रष्टा साँझको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस फोर्टवर्थकी च्याप्टर अध्यक्ष निर्मला राई, साहित्यकारहरु भगवती पौडेल, शिलु घिमिरे, बासुपुष्पा अधिकारी, तारा बरालले गजल संग्रहबाट वाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरेका थिए ।

    हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले स्वागत गरेका थिए ।

    कृतिकार केसीले आफ्नो समय अब साहित्यको रचनामा खर्च गर्ने बताएकी थिइन् ।

  • ब्लकबष्टर चलचित्र दिएका विजयसँग जोडी कसेकी मिरुना- यो पटक पनि पोजेटिभ भाइब्स आइरहेको छ

    ब्लकबष्टर चलचित्र दिएका विजयसँग जोडी कसेकी मिरुना- यो पटक पनि पोजेटिभ भाइब्स आइरहेको छ

    काठमाडौं । चलचित्र क्षेत्रमा आएको छोटाे समय भएपनी तुलनात्मक रूपमा अभिनेत्री मिरुना मगरका प्राय चलचित्र सफल छन् । सोही कारण मिरुनालाई धेरैले भाग्यमानी नायिका पनि भन्ने गर्छन् ।

    अभिनेता दयाहाङ राइको जोडीको रूपमा उनलाई दर्शकले खुब रुचाए। दयाहाङसंग उनको जोडी राम्रै जम्यो। अहिले पनि प्राय दर्शक उनलाई दयाहाङकै जोडीको रुपमा हेर्न रुचाउँछन् ।

    सुरुवाती वर्षका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

    ‘रङ्गेली’, ‘मनसरा’ र ‘घरज्वाईं’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएको ‘ऊनको स्वीटर’ ले राम्रो सफलता पायो। अहिले फेरि उनको अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ। यो चलचित्रमा उनले अभिनेता विजय बरालसंग जोडी बाधेकी छिन् । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा आउन लागेको यो यस वर्षको पहिलो चलचित्र हो ।

    के विजयसंग जोडी बाधेको मिरुनाको यो चलचित्र पनि व्यवसायिक रूपमा सफल होला? यो चलचित्रलाई लिएर उनको के छ धारणा ?

    आम नेपाली समाजको कथा, इमोस्नल टच र परिचित कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट मिरुनाले पनि सफलताको अपेक्षा गरेकी छन् ।

    उनी भन्छिन् ,’जसरी यसअघि सफल भएका चलचित्रमा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो, यो चलचित्र गर्दा पनि त्यस्तै महसुस भइरहेको छ। त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

    ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यहीँ भदौ ६ गतेबाट रिलिज हुँदैछ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । राउतले ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले उनले निर्देशनतर्फ पाइला चालेका छन् ।

    उनी भन्छन्,’यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो चलचित्र सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।’

    ‘यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यहीँ भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हौं । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो चलचित्रमा देखाएका छौ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विश्वस्त छु,’उनले जोडे।

    सामाजिक यथार्थमा आधारित यो चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा भने नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

    चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

  • म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप

    म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप

    काठमाडौँ । हाँस्यकलाकार पवन खतिवडा उर्फ ‘म्याकुरी’ की पूर्वपत्नी सुम्निमा खालिङ राईले टिभी रियालिटी शो कमेडी दरवारमा लगातार आफूप्रति लक्ष्यित गर्दै हास्यव्यंग्य गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् । उनले एउटा भिडिओमा म्याकुरीको नाम नलिइकन आफ्नो असन्तुष्टि पोखेकी हुन् ।

    हाल चर्चामा रहेको रियालिटी शो कमेडी दरवारका कलाकारहरुले म्याकुरीलाई आफ्नो प्रस्तुतिमा म्याकुरीलाई बुढी पीडित भन्दै उडाउने गरेका छन् । म्याकुरी स्वयम् पनि श्रीमतीसँगको झगडा र कुटाइ खाएको प्रसंगलाई आफ्नो कमेडीमा प्रयोग गरिहेका हुन्छन् । सुम्निमाले भने यस्तो कमेडीले आफूलाई असर गर्ने बताएकी छन् ।

    एउटा भिडियोमा उनले भनेकी छिन्, ‘अहिले कमेडी एकदमै चलिरहेको छ । म सबैलाई इज्जत गर्छु । तर एकजना कमेडियन हुनुहुन्छ, म उहाँको नाम चाहिँ खुलाउदिन । उहाँले जहिले म बुढी पीडित, बुढीले मलाई कुटेर, बुढीले यसो गर्यो र उसो गर्यो भनेर हँसाउन खोज्नुहुन्छ । त्यो भन्दा बरु म क्यारेक्टरलेस हो र मैले केटी पट्याउन यतिसम्म क्यारेक्टरलेस काम गरेँ भन्दा हुन्छ । किन बुढीको नाम लिनु ? त्यो नाम जोड्नाले अर्कोलाई कति असर पर्छ ! यसबारे सोच्नुहोला ।’

    सुम्निमाले भिडियोबाटै धेरै बुढीको नाम जोडेर कमेडी नगर्न र विगतको सम्बन्धलाई सामग्री बनाउनुको सट्टा आफ्नै प्रतिभा देखाएर दर्शक हसाउन सुझाव दिएकी छिन् । अन्यथा पवनले झैँ आफु पनि बुढा पीडित भिडियो बनाउन बाध्य हुने उनको चेतावनी छ ।

    पवन र सुम्निमाले केही वर्ष प्रेम सम्बन्धमा रहेर २०७८ असोज २६ मा अन्तरजातीय विवाह गरेका थिए । विवाहअघि सुम्निमा ‘म्याकुरी’ को फ्यान थिइन् । सिक्किम निवासी सुम्निमा पनि मोडल तथा अभिनेत्री हुन् । उनले म्युजिक भिडियो तथा सर्ट मुभीहरुमा अभिनय गरेसकेकी छन् ।

    प्रेम विवाह भएपनी यी दुईको विवाह लामो समय टिक्न सकेन । सम्बन्ध विच्छेदको समय यी दुईबीच ठूलै हँगामा भएको थियो । उनीहरुबीच भएको कुटपिटको समाचारले लामो समय मिडिया ततायो । यही कुरालाई म्याकुरीले आफ्नो स्ट्यान्ड अप कमेडीमा प्रयोग गर्दै आइरहेका छन् ।

     

  • ‘५० लाख पारिश्रमिक त मैले आजसम्म कल्पनै गरेको छैन’ (भिडिओ)

    ‘५० लाख पारिश्रमिक त मैले आजसम्म कल्पनै गरेको छैन’ (भिडिओ)

    सौगात मल्ल, दयाहाङ राई र निश्चल बस्नेतको अहिलेको परिचयको पछाडि एकै संयोग छ, ‘लुट’ । १३ वर्षअघिको ‘लुट’ले यी तीन चलचित्रकर्मीलाई ठूलो सेलिब्रेटी मात्रै बनायो । सँगै नेपाली चलचित्रमा ‘ट्रेण्ड सेट‘ न गर्यो ।

    ‘लुट’पछि नै हिरो हुनलाई बलिष्ट पाखुरा नचाहिने भयो । जस्तोसुकै पात्र पनि कथाको माग अनुसार हिरो बन्न सक्ने भए । अभिनय कौशलले जित्नसक्नेहरु हिरो बन्ने भए । तिनैले कथालाई डोर्याउन सक्ने तागत राख्न थाले ।

    त्यही ‘लुट’बाट ‘हाकु काले’ बनेर उदाएका सौगातले अहिलेसम्म झण्डै ५० चलचित्र खेलिसके । यही साउन २३ गतेबाट उनी अभिनीत ‘सिटामोल’ प्रदर्शनमा आउँदैछ । तर, दर्शकको मानसपटलमा भने अहिले पनि त्यही ‘मास्तर प्लान’ बनाउने ‘हाकु काले’को दृश्य तजोताजा छ । दर्शकको जिब्रोमा अहिले पनि ‘डिमाग लगा पासा डिमाग’ झुण्डिएको छ ।

    १३ वर्षअघिको ‘लुट’ सम्झँदा भने सौगातलाई बडो रमाइलो महसुस हुन्छ । त्यसवेला केही चलचित्र खेलिसके पनि मूलधारमा स्थापित भइसकेका थिएनन् । दयाहाङको हालत उस्तै थियो । निश्चल त चलचित्र क्षेत्रमा पाइला राख्न खोज्दै थिए ।

    यी तीनजनाले ‘लुट’मा सहकार्य गरिरहँदा चलचित्रलाई दर्शकले त्यसरी मन पराउलान् भन्ने सोचेकै थिएनन् । सौगात सुनाउँछन्, ‘कम बजेटमा बनाइएको थियो । यसले काम गर्ला र भन्ने सोच्दै बनाइएको थियो ।’

    सौगातले आजसम्म सबैभन्दा बढी समय दिएको चलचित्र पनि ‘लुट’ नै हो । यसको कारण एकै थियो, उनले अर्को चलचित्र पाएका थिएनन् । पूरै खाली थिए ।

    ‘चलचित्र पनि मलाई अलि फरक लगेको थियो । निश्चलसँग कुरा हुँदा चारपाँच पेजको कथा थियो । मलाई त्यसवेला काम आउनु नै ठूलो कुरा थियो,’ सौगता सुनाउँछन्, ‘जुन चलचित्र आए पनि मैले नाइँ भनिनँ । ‘लुट’ आउँदा रोमान्चित पनि भइनँ, नयाँ केटा आएको छ, अब काम गर्ने हो भन्ने मात्रै भएको थियो ।’

    कथा सुनिरहँदा पनि सौगातलाई रमाइलो लाग्यो । सौगातले सोधेका थिए, ‘तिमी कसरी चलचित्र बनाउँछौ त ? केही आइडिया छ ? पहिले केही बनाएका छौ ?’

    निश्चलले भने, ‘छैन दाइ । बरु एउटा सर्ट मुभी छ, हेर्नु न कस्तो लाग्छ ।’

    सौगातले हेरे, एउटै कोठाको सेटिङमा खिचिएको रैछ । ठिकैको सर्ट मुभी थियो । कोसिस राम्रो गरेको थियो ।

    निश्चल यति रोकिएनन्, कथालाई थप मजबुद बनाउनतिर लाग्यो । सरसल्लाह लिन सुरु गर्यो । सौगातले सुझाए, ‘काले होइन, हाकु नाम राखौं ।’

    धेरै वर्ष अगाडि नै सौगातलाई ‘हाकु’ नाम एकदमै मन परेको थियो । निश्चल र सौगात दुवैलाई सबैले ‘काले’ भनेर बोलाउँथे ।

    निश्चलले भने, ‘काले भनेकै हाकु हो, किन व्यकारमा हाकु भन्ने ?’

    सौगातले भने, ‘मैले रियल लाइफमै हाकु काले भेटेको छु । मलाई यो नाम राम्रो लाग्यो ।’

    सौगातको प्रस्ताव निश्चलले मान्यो । चलचित्रमा प्रमुख पात्रको नाम रह्यो, ‘हाकु काले’ । ‘हाकु’ भन्नसाथ यो त नेवारी नाम हो । सौगातलाई लाग्यो, यो पात्रमा नेवारी लवज थप्नुपर्छ ।

    ‘नेवारी लवज भनेपछि मलाई मज्जा आयो । विदेशी चलचित्र हेर्दा फरक फरक भाषा, फरक फरक वर्ण हुन्थ्यो । मलाई त्यसरी नै काम गर्न मन लाग्यो,’ सौगातले सुनाए, ‘मैले अरु चलचित्रहरुमा पनि फरक फरक लवजको प्रयोग गरेको छु ।’

    सौगात थप्छन्, ‘धन्न निश्चलले मेरो कुरा मान्यो, मलाई खुसी लागेको थियो । नमानेको भए अलिकति दुःखी हुन्थेँ होला ।’

    जसोतसो ‘लुट’ बन्यो । चलचित्रले बक्स अफिसमा उधुम मच्यायो । सौगात, निश्चल र दयाहाङ स्टार बने । त्यसपछि रफ्तार समातेका यी तीनजनाको गतिमा अहिलेसम्म ब्रेक लागेको छैन । बरु झन् झन् करियरको एक्सिलेटर दबाउँदै हुइँकिरहेका छन् ।

    यो बीचमा सौगातले ‘कबड्डी’ २ र ४ जस्ता व्यवसायिक चलचित्र पनि खेले । ‘डाइङ क्याण्डल’, ‘द रेड सुटकेस’जस्ता फेस्टिभल केन्द्रित चलचित्र पनि खेले । अहिले ‘सिटामोल’ आउँदैछ । ‘सिटामोल’ वरिपरि रहेकै सौगातसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ:–

    झण्डै ५० चलचित्र खेलिसक्दाको समग्र अनुभव कस्तो रह्यो ?

    मलाई त रमाइलै लाग्यो । सानैदेखि जुन क्षेत्रमा हुन्छु सोचेको थिएँ, त्यही क्षेत्रमा छु । मान्छे कहिल्यै खुसी हुँदैन, अझ राम्रो केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।

    जे काम आउँछ, गर्दै गइरहेको छु । दुःख, सुख त भइहाल्छ । हिजोका दिनमा नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो थियो, सबैलाई छ । बजेटकै कारण चलचित्रहरु खुम्चिएर जान्थे । म के कुरामा मात्रै खुसी छु भने मैले काम पाइरहेको छु, काम गरिरहेको छु ।

    काम पाउनु नै ठूलो कुरा हो ?

    जसको सोच काम गर्छु भन्ने मात्रै हुन्छ भने उसले काम पाउनै ठूलो कुरा हो नि । ‘रणभूमि’, ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्र सुरुवातमा गरेँ । बीचमा केही समय ब्रेक लिएँ । अब चलचित्र गर्दिनँ वा सक्दिनँ भन्ने लागेको थियो । पछि फेरि थिएटर गइयो, त्यहाँ सबैले ‘तिमी चलचित्रमा जानुपर्ने मान्छे’ भन्न थाले । फेरि ‘कागबेनी’बाट सुरु गरेँ ।

    धेरै कलाकारले एकदमै पातलोगरी चलचित्र खेल्छन् । तपाईं नियमित खेलिरहनुभएको छ । धेरै चलचित्र खेल्नुका फाइदा र वेफाइदा के के हुन् ?

    फाइदाको कुरा गर्दा काम गरिरहँदा मलाई खुसी मिलिरहन्छ । अरु क्षेत्रमा दख्खल छैन । व्यापार, व्यवसाय छैन । खाली समयमा पनि यही गर्ने हो, व्यस्त समयमा पनि यही गर्ने हो । फाइदा, वेफाइदाको कुरै भएन ।

    कहिलेकाहीँ छानेर खेलौँ भन्ने लाग्दैन ?

    लाग्छ लाग्न त । तर, कस्तो हुँदो रहेछ भने ‘नाइँ’ भन्नै सक्दिनँ । साइभाइका चलचित्र हुन्छन्, गर्नैपर्यो । दु्ई महिना जति आराम गरुँ भनेर बिदामा बसेको कुरा साथीभाइलाई थाहा भइहाल्छ । एउटा चलचित्र गरिदिँदा उनीहरुको पनि केही राम्रो हुन्छ जस्तो लाग्छ । तिनीहरु एकदमै दुःखको समयमा मलाई साथ दिएका साथीभाइ हुन् ।

    पैसाको लागि कत्तिको चलचित्र खेल्नुहुन्छ ?

    त्यो पनि भइहाल्छ नि ।

    पैसाको लागि नै खेलेको तपाईंको त्यस्तो कुनै फिल्म भन्नुस् न ?

    पैसाकै लागि मात्रै भन्दा पनि चलचित्रले केही गर्ला भनेरै खेलिएको हुन्छ । ग्यारेन्टी फ्लप हुन्छ भनेर गरिएको हुँदैन । तर, चलचित्रले के गर्न सक्छ भनेर चाहिँ थाहा हुन्छ । सुटिङ सुरु गरेको तीनचार दिनमै थाहा हुन्छ । आफूलाई फिल हुन्छ । एक खालको भाइब्स आउँछ ।

    सुटिङको तीनचार दिनपछि गज्जबको काम भइरहेको छ, यो चलचित्रले चाहिँ फाँड्छ भन्ने लागेको चलचित्र कुन थियो ?

    साँच्चै भन्नुपर्दा मलाई त्यस्तो महसुस अहिलेसम्म भएको छैन । आफ्नो पात्रलाई लिएर एकदमै एक्साइटेड चाहिँ हुन्छ । चलचित्रले केही न केही गर्नसक्छ भन्ने कताकता भइराख्ने रहेछ ।

    कस्तो कस्तो चलचित्र हिट भएको देखिएको छ । यकिनका साथ यो चलचित्र चल्छ भन्नै सकिँदैन । जेजस्तो चलचित्र भए पनि एउटा आशाको धागो सधैं भइरहन्छ ।

    मानौं, सुटिङ गरेको तीनचार दिनपछि यो चलचित्र धेरै परसम्म जान सक्दैन भन्ने तपाईंलाई लाग्यो । तर, साइन गरिसकेको छ, खेल्नैपर्ने छ । त्यस्तो अवस्थामा मोटिभेसन कहाँबाट ल्याउनुहुन्छ ?

    तपाईले पानीमा हामफालेपछि पौडिन नजाने पनि पौडिनैपर्छ । नत्र ज्यान जानसक्छ । लगभग त्यस्तै हो । आफूलाई यो चलचित्रले काम गर्दैन भन्ने लागिसकेपछि पनि आफूलाई कन्भिन्स गराउनुको विकल्प हुँदैन । किनभने आफ्नो पात्रमा डुब्नुबाहेक अरू उपाय छैन । आनन्द पनि त्यसैमा हुन्छ । बिग्रएको सबैलाई सपार्दै हिँड्न पनि सकिँदैन, हैन र ?

    चलचित्रले काम गर्दैन भन्ने महसुस भइसकेपछि आफूलाई मनाउन गाह्रो हुन्छ । सुरुवाती दिनहरुमा त म झसंगै भए । ‘शिट्, मैले किन साइन गरेँ? किन यस्तो गरेँ, मैले गल्ती गरेँ? बर्बाद भयो’ भन्ने लाग्थ्यो । अहिले चाहिँ लाग्छ, ‘ल ठीक छ, चलचत्रि हिट हुन्छ र फ्लप हुन्छ भन्ने म को हो र ? कम्तीमा म मेरो काम चाहिँ राम्रोसँग गर्छु ।’

    ‘सिटामोल’चाहिँ हिट हुन्छ कि फ्लप हुन्छ त ?

    लकडाउनको बेला साइन गरेको चलचित्र हो, ४–५ वर्षै भयो । धेरै पैसा पाएर साइन गरेको पनि होइन । लेखक प्रदीप भारद्धज मेरो साथी हो । उसले यो चलचित्रको निर्माण टिमलाई साथ दिनुपर्छ भनिरहेको थियो ।

    कथा पनि राम्रो छ । जहाँसम्म लाग्छ, ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो चलचित्रले दर्शकलाई आकर्षित गरिरहेको समय छ । टिपिकल कथाहरू अझ राम्रो चलिरहेका छन् । ‘सिटामोल’मा पनि समयको कथा छ । एउटा परिवारको कथा छ । श्रीमती, श्रीमान, त्यसपछि छोराको कथा छ । समाजको कथा छ । देशको कथा छ ।

    तपाईंको छैटौं इन्द्रियले चाहिँ के भन्छ ?

    कथाले छुन्छ भन्ने लागेरै मैले साइन गरेको हो । चलचित्र चल्यो भने पैसा पाइन्छ भन्ने हिसाब पनि हो ।

    भन्नाले तपाईं सेयरमा ?

    अँ, त्यो त एक खालको भइहाल्छ ।

    म पुनः ‘लुट’तिरै फर्कन्छु् । ‘लुट’पछि तपाईंलै दर्जनौं चलचित्र गरे पनि दर्शकले तपाईंलाई ‘हाकु काले’ भनेरकै बढी प्रेम गर्छन् । त्यति धेरै चलचित्रमा गरेका पात्रहरू किन दर्शकलाई याद नभएको ?

    मलाई पनि मेरो मनपर्ने एक्टरहरूले निर्वाह गरेको सबै पात्र लगभग सबै याद हुँदैन । तिनीहरूको पनि एक दुईटा याद हुन्छ । मलाई नेपालकै पनि याद हुँदाखेरि ‘राते काँइला’ भन्ने सुनिल थापाको याद हुन्छ । अब मेरो चलचित्रमा पनि सबै पात्रलाई अविस्मरणीय बनाउनलाई सधैं कोसिस रहिरहन्छ ।

    मलाई नयाँ चलचित्रको पात्रले ‘लुट’को ‘हाकु काले’को हिचानलाई नै चेन्ज गर्दिन्छ भन्ने धेरै आए । तर, मलाई उनीहरुको गफमा कहिल्यै विश्वास लाग्थेन । कुनै मेकरलाई विश्वास लाग्न पनि सक्ला । कतिपयले चलचित्र नगर्ला, अलिकति हौसला दिउँ भनेर पनि भनिदिएका हुनसक्छन् । तर, मलाई थाहा हुन्छ, हाकु काले पात्र सजिलै मेटिँदैन ।

    अविस्मरणीय पात्र निर्माण हुनुमा कलाकारको मात्रै होइन, निर्देशक, पटकथाकार सबैको भूमिका हुन्छ । लेखाई त्यस्तै हुनुपर्‍यो । मैले आफ्नो तर्फबाटे कोसिस गर्ने हो, त्यो गरिरहेको हुन्छु । हरेक पात्रमा फरक गरौं, फरक स्वाद दिउँ भन्ने जहिल्यै लागिरहन्छ ।

    पटकथा नै कमजोर हुन्छन् है सुरुवातमै ?

    अँ, सुटिङमा जानुअघि पटकथा तयार छैन भने पनि सुटिङमा जानैपर्ने स्थिति देखेको छु । पटकथा तयार भएन, अहिले नै सुटिङमा नजाम न त भन्ने कुरा मैले आजसम्म सुनेको छैन । बरु सुटिङ गएर लेख्दै, सुटिङ गर्दै गरौंला भन्ने सुनिन्छ ।

    यस्तो किन हुन्छ भने सबैले पैसा लिइसकेका हुन्छन् । निर्माताले तिर्नुपर्ने ब्याजको कुरा पनि होला । लिएको पैसा सबैले फिर्ता गर्ने कुरा आउँदैन । अनि जसोतसो सुट गरिन्छ । यस्तो हुँदा खिन्न लाग्छ ।

    अहिले कसले बढी पारिश्रमिक लिने होडबाजी देखिन्छ । यी चिजहरू हेर्दा तपाईंलाई कस्तो लाग्छ ?

    कोही मज्जाले पैसा दिन तयार छ भनेपछि केही सोचेरै दिएको हुन्छ होला । चलचित्र चाहिँ राम्रो बन्नुपर्यो भन्ने उद्देश्य हुनुपर्यो होला ।

    तपाईं चाहिँ निर्माताले जति दियो, त्यति लिनुहुन्छ कि बार्गेनिङ गर्नुहुन्छ ?

    जति दियो, त्यति लिने भन्ने त कहाँ हुन्छ र ! सुरुवाती दिनमा कागबेनीमा सडमान्ड गरिनँ । जति दिए पनि खुसी थिएँ, किनभने मैले काम पाएको थिएँ । त्यो चलचित्रबाट मैले ३५ हजार लिएको थिएँजस्तो लाग्छ । पछि नकिम दाइले कति पाउँदैछौं भन्दा मैले जे हो त्यही भनेँ ।

    उहाँले भन्नुभयो, ‘ल तिमीलाई मैले पाँच थपेर दिएँ ।’ मैले उहाँको त्यो प्रस्ताव कल्पना समेत गरेको थिइनँ । म त एक रुपैयाँ नदिए पनि खेल्न तयार थिएँ, पैसा तिरेर चाहिँ खेल्न तयार थिइनँ । सबैले भन्थे, ‘जबसम्म तैंले पैसा तिर्दैनस्, चलचित्र खेल्न पाउँदैनस् ।’ अनि मैले त्यहीवेला प्रण गरिसकेको थिएँ, ‘यति मिहेनत गर्छु कि एक रुपैयाँ पनि तिरेर खेल्दिनँ ।’

    अहिले चाहिँ पारिश्रमिकको निर्धारण कसरी गर्नुहुन्छ ?

    यो त लगभग यतिसम्ममा चाहिँ गर्नुपर्छ भनेर दिमागमा भइहाल्छ । तर, यतिबिना म गर्छु भन्ने आफूलाई लागेकै हुन्छ । त्यहीबीचमा बसेर नेगोसियसन गरिन्छ । यति नभई गर्दै गर्दिनँ भन्ने आजसम्म भएको छैन ।

    पैसाकै लागि मात्रै भन्दा पनि चलचित्रले केही गर्ला भनेरै खेलिएको हुन्छ । ग्यारेन्टी फ्लप हुन्छ भनेर गरिएको हुँदैन । तर, चलचित्रले के गर्न सक्छ भनेर चाहिँ थाहा हुन्छ । सुटिङ सुरु गरेको तीनचार दिनमै थाहा हुन्छ । आफूलाई फिल हुन्छ । एक खालको भाइब्स आउँछ ।

    जस्तो ५० लाखबिना गर्दिनँ भन्ने चाहिँ हुँदैन ?

    त्यति धेरै पारिश्रमिक त मैले आजसम्म कल्पना पनि गरेको छुइनँ ।

    कति त ? ३० लाख ? २० लाख ?

    अब त्यस्तै हुन्छ होला । कुनैमा २० हुन्छ होला । अस्ति मात्रै १५ मा एउटा चलचित्र साइन गरेँ । त्यसअघि साढे दुई लाखमै गरेँ । त्यो चलचित्र चाहिँ फेस्टिभल केन्द्रित थियो ।

    अनि घर चाहिँ कसरी चलाउनुहुन्छ ?

    अब यत्रो फिल्म गरिरहेको छु, चलिहाल्छ नि !

    तपाईंको ‘सिटामोल’ हेर्नैपर्ने पाँचवटा कारण भन्नु पर्‍यो भने ?

    (हाँसो) अब एउटा इन्टरटेनमेन्ट भयो । दोस्रो, जस्तो चलचित्र दर्शकले मन पराइरहनुभएको छ, त्यसको आधारमा यो चलचित्र पनि मन पराउनुहुन्छ । तेस्रो, यो एउटा देशको कथा हो(हाँसो) ।

    देशको कथा चाहिँ कसरी ?

    त्यो त हो, हेरेरै पत्ता लगाउनुपर्ने हुन्छ (हाँसो) ।

    चौथो चाहिँ तपाईंको अभिनय हेर्नलाई ?

    आफ्नो अभिनय हेर्नलाई त म भन्दिनँ । सीधै भन्नुपर्दा मलाई आफ्नो अभिनय मनै पर्दैन । अरुले मेरो अभिनयलाई कसरी लिइराख्नुभएको छ, त्यो छुट्टै कुरा हो । चौथो कारण अब बेनिशा र मेरा जोडी हेर्नलाई भन्दिउँ न ।

    पाँचौ ?

    हाम्रो डिरेक्टर साहबको वन अफ द बेस्ट फिल्म हो रे यो । उहाँले यसै भन्नुभएको छ । ‘मेरो मुटुको टुक्रा जस्तो हो यो, साँचेर राखेको हो’ भन्नुभएको छ ।

    निर्देशकको कुरामा विश्वास छ ?

    मैले विश्वास गर्नुपर्‍यो नि !

    तपाईंले एक टेलिभिजन कार्यक्रममा कुनै पनि नेतालाई चिन्दिनँ भन्नुभएको थियो । साँच्चिकै नचिन्ने हो र तपाईं ?

    सबैलाई नचिन्ने नै भन्ने त हुँदैन । त्यो कार्यक्रम हेरेपछि कत्तिले भन्नुभयो, ‘तिमीले आएर पनि भनेनौं, मलाई सही लाग्यो ।’ मैले भनेँ, ‘तर, मलाई साँच्चिकै नाम आउँदैन ।’ उनीहरुले भने, ‘मजाक गर्छौ या, त्यस्तो पनि तिमीलाई थाहा हुँदैन र ?’

    मलाई साँच्चिकै थाहा थिएन । एकजनालाई थाहा नहुनु पनि ठूलो घटना हुने रहेछ । मैले त्यसरी कल्पना गरेकै थिइनँ । त्यसरी ठूलो घटना होला भनेर थाहा भएको भए बरु म सोचेर, तयारी गरेर जान्थेँ नि ।

    मलाई सानैदेखि राजनीतिमा एकदमै कम रुचि भइदियो । मेरो परिवारमा सबै राजनीतिमा हुनुहुन्थ्यो । तर, हिरोको छोरालाई पछि गएर हिरो नै बन्न मन नलाग्न सक्छ । उसले दिक्क भएर ‘म हिरो बन्दिनँ’ भन्न सक्छ ।

    मैले पनि सानोमा घरमा जस्तो वातावरण देखेँ, मलाई जस्तो प्रभाव पर्यो, त्यसले गर्दा मलाई राजनीतिमा चासो भएन । नेताहरु दिनभरि बसेका छन्, गफ गरेका छन् । मलाई राजनीति ठूलो दिमाग भएको मान्छेले गर्नै चिज लाग्यो । अनि मलाई रुचि भएन ।

    तपाईको जिल्लाको सांसद विनोद चौधरी त चिन्नुहुन्छ नि ?

    सबै नेतालाई नचिन्ने होइन के । समग्र रुपमा पो चिन्दिनँ भनेको हो ।

    भोट हाल्नुहुन्छ कि हाल्नुभएको छ कि छैन अहिलेसम्म ?

    हालेको छु, किन नहाल्नु भोट ! परासी नै गएर हालेको हो ।

    आफ्नो परिवार भएको पार्टीमा कि अलगमा ?

    अँ, खासमा चाहिँ नि परिवारले जोलाई भन्नुहुन्छ, मैले उसैलाई हालिदिएको हो । मेरो आफ्नो तर्फबाट यही उम्मेदवारलाई हाल्ने भन्ने केही थिएन ।

    ०००

  • रिलिजको दुई दिनमै ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित, हलवालासँग असन्तुष्टि !

    रिलिजको दुई दिनमै ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित, हलवालासँग असन्तुष्टि !

    काठमाडौं । यसै साता प्रदर्शनमा आएको चलचित्र ’रियाल रिङ्गेट’को प्रदर्शन स्थगित हुने भएको छ । चलचित्रका निर्माता गगनलाल प्रधानले भोलि सोमबारदेखि नेपालभरका सबै हलहरुमा ‘रियाल रिङ्गेट’ को प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।

    निर्माता प्रधानले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन रोक्ने जानकारी गराएका हुन् । रेबेल फिल्म्स प्रा.लि. द्वारा निर्माण जारी गरिएको प्रेस विज्ञप्तिमा चलचित्रलाई उचित समय नदिइकन अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण चलचित्र दर्शकसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिने अवस्था आएको जनाइएको छ ।

    दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा हुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारण आफुहरुले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भएको निर्माता प्रधानले बताएका छन् ।

    चलचित्र निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानी अनुरूप प्रदर्शन समय नपाएका कारण बाध्य भएर चलचित्र हलबाट निकाल्नु परेको विज्ञप्तिमा जनाइएको छ । रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक वर्गसामु क्षमा याचना पनि व्यक्त गरेको छ ।

    विभोर पोखरेलले निर्देशन गरेको चलचित्र ’रियाल रिङ्गेट’ले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ । चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन् ।

    चलचित्रमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ ।

     

  • अहिलेसम्मकै ठूलो इन्डोर फिल्म स्टुडियो बनाउँदै बोर्ड, ‘दोस्रो फेज’ का लागि बोलपत्र आह्वान

    अहिलेसम्मकै ठूलो इन्डोर फिल्म स्टुडियो बनाउँदै बोर्ड, ‘दोस्रो फेज’ का लागि बोलपत्र आह्वान

    काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको वनेपा नगरपालिका–१०, जनगलमा निर्माण गर्न लागिएको अत्याधुनिक इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः’ को दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ । आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो ।

    परियोजनामा सहभागी हुन चाहने कम्पनीहरूले ३६ लाख रुपैयाँको बोलपत्र सुरक्षा रकम र १० हजारको दस्तावेज शुल्क बुझाउनु पर्नेछ । यसअघि, २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो ।

    बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ । निजीस्तरमा केही स्टुडियोहरू रहेका भए पनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बन्न लागेको हो ।

    ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउनेछ । वर्षौंदेखि योजनास्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो ।

    २०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा सिनेपाः स्टुडियो निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए । उनले यसलाई नेपाली चलचित्र क्षेत्रका लागि ‘एक प्रकारको क्रान्ति’ को संज्ञा दिएका थिए ।

    ‘छ दशकअघि देखिको सपना अब साकार हुँदैछ,’ उनले भने, ‘राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन् । सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ ।’

    सिनेपाः को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

  • खेलकुदमा आधारित चलचित्रमा ‘बुकी’ को फस्टलुक पोष्टर सार्वजनिक

    खेलकुदमा आधारित चलचित्रमा ‘बुकी’ को फस्टलुक पोष्टर सार्वजनिक

    काठमाडौं । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।

    ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा बुकी फूल छ, जुन झपक्क फूलेको छ।लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन्, जो भलिबल खेलिरहेका छन् ।

    भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेको झै देखिन्छ । तर, यसबारे निर्माण पक्षले प्रष्ट पारेको छैन ।

    यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्नेछ। प्रकाश आले र राजन केसी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा छन् ।

    कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् । भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा र बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको छ । प्रदर्शन मिति तय नभएकाले यो चलचित्रलाई निर्माण पक्षले २०२६ भित्र रिलिज गर्ने तयारी गरिरहेको छ ।

  • कमला प्रधानको ‘भोजपुर हाम्रो भोजपुर’ गीत सार्वजनिक

    कमला प्रधानको ‘भोजपुर हाम्रो भोजपुर’ गीत सार्वजनिक

    भनेजपुर । भोजपुरका ९ वटै स्थानीय तहको परिचय, ऐतिहासिक, धार्मिक, साँस्कृतिक विशेषता समेटिएको ‘भोजपुर हाम्रो भोजपुर’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक ,सङ्गितकार तथा एरेन्जर मनोज साङ्सोन राईले संगीत भरेका हुन् । उक्त गीतमा मनोज साङसोन, सुरेश राई,लिला राई खगेन्द्र थामी,टीका मगर,तारा नुमिहाङ ,कला इशारा ,र रिजना राईले स्वर दिएका छन् ।

    राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् ।

    यस अघि उनको शब्द रचना रहेको तारा टुटि झरे सरी, कुसुमेरुमाल, भोजपुर घोडेटार दावा मान्द्रे गाउँ,ए साइमा,सुनै सुन फल्छ,धकढकाइ मनको धोका, कसम तिमीलाई, न पाउन सके तिम्रो साथ, पिपल छेउमा वर र किराँत राई बान्तावा बार्ताङ बङ्स सम्बन्धी किरावाची हामी बार्ताङ्छा आदि गीत सार्वजनिक भै सकेका छन् । भोजपुर नगरपालिका ४ की गीतकार प्रधान कवि पनि हुन् ।

     

     

     

     

  • छायांकन नै नसकी दयाहाङ राई अभिनित चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा

    छायांकन नै नसकी दयाहाङ राई अभिनित चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर छायांकन सेटबाटै माघ १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो।

    चलचित्रको छायांकन नै नसकी निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। ‘हामीले माघ १ गते आउने निर्णय गर्‍यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा यो मिति फाइनल भएको हो,’ निर्देशक शेर्पाले बताए ।

    यो चलचित्रको अहिले मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ। असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ । चलचित्रको अधिकांश छायांकन काभ्रेपलाञ्चोक र केही दृश्य चित्लाङमा भएको छ ।

    यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।

    दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि, यम स्वयंले लेखेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।

    चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

  • ८ हजार डलरमा बिक्यो माइकल ज्याक्सनको मोजा, कसले बेच्यो ?

    ८ हजार डलरमा बिक्यो माइकल ज्याक्सनको मोजा, कसले बेच्यो ?

    पेरिस। दिवगंत पपस्टार माइकल ज्याक्सनको मोजा ८ हजार डलर (११ लाख १९ हजार १ सय ६२ नेपाली रुपैयाँ) मा बिक्री भएको छ । चम्किलो क्रिस्टल जडित यो मोजा बुधबार फ्रान्समा बिक्री भएको हो।

    लिलामीकर्ताले ज्याक्सनको मोजालाई ३,४०० देखि ४,५०० अमेरिकी डलरसम्म बेच्ने अपेक्षा गरेका थिए। तर, ज्याक्सनको प्रशंसकले ८००० अमेरिकी डलर दिएर महंगो रकममा उनको मोजा खरिद गरेका हुन्।

    लिलामीकर्ता औरोर इलीका अनुसार माइकलले सन् १९९० को दशक (१९९७) मा फ्रान्सको निमेसमा भएको एक सांगीतिक कार्यक्रम र सन् १९९७ मा आफ्नो ’हिस्ट्री वल्र्ड टुर’को क्रममा यी मोजा लगाएका थिए । भने ज्याक्सनले ’बिली जीन’को प्रस्तुतिको क्रममा पनि यी एथलेटिक मोजा लगाएका थिए।

    ‘हिस्ट्री वल्र्ड टुर’ प्रस्तुति पछि, एक स्टेज प्राविधिकले ज्याक्सनको ड्रेसिङ रुम नजिकै मोजा फ्याँकिएको भेट्टाए । स्टेज पछाडि फेला परेपछि प्राविधिकले मोजा दशकौंसम्म सुरक्षित राखेका थिए ।

    लामो समय त्यहाँ रहेकाले मोजामा पहेँलोपन र दागहरू लागेको छ। लिलामीकर्ताले ज्याक्सनको यी मोजालाई असाधारण भएको प्रतिक्रिया समेत दिएका छन् ।

    ज्याक्सनको सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजका कारण मृत्यु भएको बताइन्छ ।

  • माग्ने बुढा अभिनित चलचित्र ‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैँमा रिलिज

    माग्ने बुढा अभिनित चलचित्र ‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैँमा रिलिज

    काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ को फस्टलुक सार्वजनिक भएको छ। निर्माणपक्षले चलचित्रको मुख्य कलाकारहरुलाई समावेश गर्दै शुक्रबार फस्टलुक सार्वजनिक गरेको हो।

    चलचित्रको फस्टलुकमा कलाकारहरुको पात्र चित्रण गर्न खोजिएको छ। पोस्टरमा उज्यालो बलिरहेको घर छ जसले माइती घरलाई चित्रण गर्न खोजेको छ। तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको यो चलचित्रलाई निर्देशक मिलन तामाङले निर्देशन गरेका हुन।

    यो चलचित्र दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ । चलचित्रमा कलाकारद्वय केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

    चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल चलचित्रका कार्यकारी निर्माता हुन् । रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद र सुरेन्द्र पौडेलको सम्पादन छ।

  • देउकी प्रथामा आधारित चलचित्र ‘मोहर’ को ‘सपना हो की विपना हो’ गीत सार्वजनिक

    देउकी प्रथामा आधारित चलचित्र ‘मोहर’ को ‘सपना हो की विपना हो’ गीत सार्वजनिक

    काठमाडौं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’ को ‘सपना हो की विपना हो, के हो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिएसंगै निर्माण टिमले शुक्रबार चलचित्रको यो गीत सार्वजनिक गरेको हो।

    थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतम स्वयंको संगीत छ । सार्वजनिक गीतले चलचित्रका पात्रहरुको वियोगान्त कथा बोलेको छ । भिडियोमा चलचित्रका मुख्य पात्र पल शाह, निती शाह र बेनिशा हमाल फिचर्ड छन् ।

    फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

    चलचित्रमा बाल–कलाकारको रुपमा सारा शर्माले अभिनय गरेकी छिन् । दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन र रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र देउकी प्रथामा आधारित छ।

  • ‘जारी २’ले तीन पोस्टरसँगै सार्वजनिक गर्‍यो रिलिज मिति

    ‘जारी २’ले तीन पोस्टरसँगै सार्वजनिक गर्‍यो रिलिज मिति

    काठमाडाैं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ।

    आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ।

    ‘जारी(२स् सङ अफ च्याब्रुङु भनिएको यस सिनेमाको अर्को पोस्टरमा दया र मिरुनालाई क्यामराका लागि हँसिलो मुद्रामा पोज दिइरहेको अवस्थामा देख्न सकिन्छ । कवि हुँदै सिनेमा लेखकको परिचय बनाउँदै सिनेमा निर्देशक भएका उपेन्द्र सुब्बा लिखित(निर्देशित सिनेमाको पहिलो पोस्टरमा दया र मिरुनाका अलावा बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । यसका साथै एउटी बालिका र मिरुनालाई अघि लगाएर आफू लठ्ठी टेक्दै, पछिल्तिर खोसेली बोकेका भरियासहित दयाहाङलाई देख्न सकिन्छ।

    सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ।

    बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा दया, मिरुना, विजय तथा बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

    ‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।

  • जितु नेपाल बाहिरिएपछि ‘परालको आगो’ मा सौगात मल्लको इन्ट्री

    जितु नेपाल बाहिरिएपछि ‘परालको आगो’ मा सौगात मल्लको इन्ट्री

    काठमाडौं । कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथामा आधारित चलचित्र ’परालको आगो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात चलचित्रमा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्।

    ‘परालको आगो’मा यसअघि जितु नेपाल अनुबन्ध भएका थिए। तर छायांकनको अन्तिम तयारीको बेला उनी चलचित्रबाट बाहिरिए। चलचित्रको कथामाथी जितु नेपालले अनावश्यक हस्तक्षेप गर्न खोजेपछि उनी बाहिरिन परेको निर्माण टिमले बताएको थियो।

    तर, नेपालले भने यस आरोपलाई नकार्दै आन्तरिक सल्लाह अनुसार साइन गर्दा लिएको रकम फिर्ता गरेको र आफुहरुबिच कुरा मिलिसकेको बताएका थिए।

    जितु नेपाल बाहिरिएलगत्तै निर्माण टिमले चलचित्रमा सौगात मल्ललाई अनुबन्ध गरेको हो। सौगात अनुबन्धसँगै चलचित्र ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ।

    निर्माता सुशील पोखरेलको लगानीमा बन्ने यस चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।

    निर्माता पोखरेलका अनुसार फिल्म सामाजिक सन्देश उद्देश्यका साथ तयारीमा भइरहेको छ र हाल टिम पूर्ण उत्साहका साथ काममा जुटेको छ। यो फिल्मको छायांकन संकल्प भुजेलले गर्दैछन्।

    मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए। सोही कारण, मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर चलचित्र निर्माण गर्न लागिएको हो। चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्ने छन् भने छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिनेछ।

  • चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक

    चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रको पहिलो झलक स्वरुप पोष्टर सार्वजनिक गरेको हो। पोस्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ।

    चर्चित हाँस्य-कलाकार हरिवशं आचार्यको जिवनीमा ‘हरिबहादुरको जुत्ता’ निर्माण भएको हो। ‘हरिबहादुर’ पात्र नेपाली दर्शकमाझ लोकप्रिय रहेको छ। सोही कारण यहीँ पात्रलाई झल्को दिने पोष्टर निर्माण पक्षले तयार पारेको हो।

    चलचित्रमा हरिवंश आचार्यका अलावा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

    दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्र यहीँ दशैँको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउंदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । चलचित्रमा नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत छ।

  • मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा

    मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा

    काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो सिनेमाको नाम राखिएको हो । सोहि कारण यो सिनेमा सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ ।

    रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनी सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् ।

    ‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल सिनेमा निर्देशन गरेका मुस्कान ढकाल यो सिनेमाका निर्देशक हुन् । नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका छन् ।

    नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । सिनेमाको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ । साउन १६ गते आज शुक्रवार निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो । अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ ।

    प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं ।’

    निर्देशक मुस्कान ढकालका अनुसार हाल सिनेमाको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ । सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन् ।

  • पत्रकार वसन्त योगीको शब्द र कोमल वली स्वर रहेको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक

    पत्रकार वसन्त योगीको शब्द र कोमल वली स्वर रहेको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक

    काठमाडौं । चर्चित गायिका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” बिहीबार सार्वजनिक भएको छ ।

    यादव प्रसाद पन्त र वसन्त योगीको शब्द रहेको गीतमा स्वर कोमल वलीको रहेको छ, भने संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन् ।

    विशेष गरी दर्जनौँ लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायिका वलीले नेपाली चलचित्रका गीत समेत गाएकी छिन् ।

    पछिल्लो समय राजनीतिमा होमिएकी गायिका वलीले यो वर्ष “सिंगापुरे सारीमा” लगायतका तीज गीतमा आफ्नो स्वर भरेकी छिन् ।

    इच्छा अधिकारी र स्वयं कोमल वलीको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफ तथा निर्देशन प्रशान्त मगरले गरेका छन्, भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् ।

    गायिका वलीको बिहे गर्ने आस अझै नमरेको र त्यसका लागि भगवान् शिव जीलाई पुकार गरेको आशय शब्दमा सुन्न पाइन्छ ।

    भिडियो पनि भगवान् शिवकै आराधना तथा पूजा गरी बिहेको लगन नजुराई दिएको र यस पालिको तीजमा केही हुने अपेक्षालाई समेटिएर भिडियो निर्माण भएको छ ।

    दंगाली गायिका भएकै र कोमल दिदीको बिहेकै बारेमा थिम तयार गरी गीत एवं भिडियो बजारमा ल्याएको रचनाकार तथा प्रोड्युसर यादव प्रसाद पन्तको भनाई छ ।

    सात समुन्द्र पारी रहेर पनि नेपाली नारीहरूको महान् पर्व तीजलाई मध्यनजर गरेर तीज गीत बजारमा ल्याएको पन्तले बताए ।

    गायिका वली दिदीले अत्यन्त राम्ररी गीत गाइदिएको र गीत र भिडियो पनि राम्रो भएकाले श्रोता दर्शकले मन पराइदिने पनि रचनाकार तथा प्रोड्युसर पन्तले बताए ।

  • ‘झिँगेदाउ २’को ‘आजलाई नाई नभन’ गीत रेकर्डिङ्ग

    ‘झिँगेदाउ २’को ‘आजलाई नाई नभन’ गीत रेकर्डिङ्ग

    काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने सिनेमा ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो ।

    गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पाश्र्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन् । यो गीतमा संगीतकार पोखरेलको नै शब्द, संगीत र एरेञ्ज रहेको छ । गायक थापा र संगीतकार अर्जुन पोखरेलले पहिलो पटक सहकार्य गरेका हुन् ।

    गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले यसअघि झिँगेदाउको गीत ‘आगो बिना बिँडी जल्दैन’मा सहकार्य गरेका थिए । यो गीत हिट भएकाले निर्देशक देउजाले लक्की चार्मको रुपमा ‘झिँगेदाउ २’मा समेत गायिका परियारसँग सहकार्य गरिएको बताउँछ । अबको १० दिनमा गीत लगायत सिनेमाको सम्पूर्ण प्रि(प्रोडक्सको काम सकिने दशैं तिहार लगत्तै छायांकमा निस्कने तयारी निर्माण टिमको छ ।

    यो सिनेमाको कथा पहिलो भाग जहाँ सकिएको थियो । त्यँहीबाट सुरुहुने भएकाले ‘झिँगेदाउ २’ पूर्ण रुपमा सिक्वेल रहेको निर्देशक देउजाले जानकारी दिए । सिनेमाको मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित पहिलो भागका अधिकाँश कलाकार दोहोरिने छन् । यो बाहेक एक अभिनेता र एक अभिनेत्री नयाँ कलाकारको प्रवेश हुनेछ ।

    कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुने सिनेमाका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।
    ग्mभकज

  • १४ वटा मौलिक तीज गीतको एकैपटक विमोचन

    १४ वटा मौलिक तीज गीतको एकैपटक विमोचन

    काठमाडौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेज बाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरियो।

    कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रमुख अतिथि सांसद सोविता गौतमको साथमा अतिथि कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पङ्गेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मञ्जु थापाले सामूहिक विमोचन गरे ।

    विमोचन हुने गीतहरूमा भगवान् भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौँ’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको ए आमा ु, यामप्रसाद निहुरेको चोली फाटेको, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारीको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिँदैन रानी हार , मदन ढकालको माइतीको दैलो , विजय अनुरागी ए मैयाँ, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन्।

    प्रमुख अतिथि सांसद गौतमले गीत सङ्गीतमा विकृति, विसङ्गति बढ्नु चिन्ता जनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत सङ्गीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्। ‘पछिल्लो समय भ्युजका लागि पनि गीतहरु केन्द्रित छन्।

    दीर्घकालीन सोचेर सर्जक आफैले ध्यान दिनु पर्ने हुन्छ।’ गौतमले भनिन्। ‘सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्धनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायी भइयो भने त्यो धेरै राम्रो हुन्छ।’ उनले विमोचन भएका १४ गीतलाई बधाई दिइन्।

    समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुऱ्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो । सम्मान ग्रहण गर्दै गायीका न्यौपानेले खुसी व्यक्त गरिन। उनले मौलिक गायनलाई आफूले सधैँ आत्मसाथ गर्ने बताइन्।

    उनी भन्छिन्,‘धेरै बाट समय परिवर्तन सँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ । हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिक पनलाई परिवर्तन गर्नुहुँदैन । ’ यस्तै अतिथि कलाकार गायक राजु परियारले कुनैपनि गीत सिर्जना गर्ने क्रममा सर्जकले लोक रसलाई भुल्न नहुने बताए। उनले लोक छ र त संस्कृति छ, लोकसंस्कति छ र त लोकगीत छ भन्दै सर्जकले नै सिर्जना गर्ने समयमा ध्यान दिन आग्रह गरे ।

    राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले गीतसङ्गीतकै कारण कलाकार साइबर ब्युरो सम्म पुग्ने स्थिति नआओस् भन्दै सबै कलाकारलाई अश्लीलतामा भन्दा मौलिकतामा जोड दिन आग्रह गरे ।

    साथै उनले मिडियाहरूले पनि कतिपय गीतहरूको बारेमा समाचार नबनाइदिने हो भने त्यस्ता गीतको चर्चा पनि नहुने र हराएर जाने भन्दै मिडिया लाई पनि महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे। समारोहमा गायक बद्री पङ्गेनी, गायिका शर्मिला गुरुङ, मञ्जु थापा लगायतले पछिल्लो समयका गीतहरू मा मौलिकता हराउँदै गएको र सर्जकहरूले ध्यान दिनुपर्ने धारणा राखे।

    सभापति संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्न का लागी गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामूहिक विमोचन गरिएको बताए। आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दै जाने जानकारी दिए।

    उनले भनेका छन्, ‘कतिपय कलाकर्मीहरूले समाजमा अपाच्य गीतहरू सार्वजनिक गरेका कारण प्रशासन लाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौ, त्यसैले गृह मन्त्रालय सम्म पुगेका हौँ। यो हाम्रो दायित्व पनि हो।’
    यस्तै संस्थापक अध्यक्ष गोविन्द गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विकृति फैलाउने गीतको बन्देजका लागि मात्र आफूहरू गृह मन्त्रालय नगएको र सङ्गीत सेन्सर बोर्डको अवधारणाका लागी पनि पहल गर्नका लागि पुगेको जानकारी दिए।

  • नाजिर हुसेन अभिनित ‘गुन्यु चोलो’को ट्रेलर: तेस्रोलिंगी महिलाले पहिचान खुलाउन गरेको संघर्षको कथा

    नाजिर हुसेन अभिनित ‘गुन्यु चोलो’को ट्रेलर: तेस्रोलिंगी महिलाले पहिचान खुलाउन गरेको संघर्षको कथा

    काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यु चोलो: द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।

    आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ। सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबबाट बाहिर निस्किन गरेको प्रयासलाई ट्रेलरमा देखाइएको छ ।

    ट्रेलरमा चलचित्रका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ । चलचित्र यहीँ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

    चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले चलचित्रमा पारालैंगिक महिला ९ट्रान्सवुमन०को भूमिका निर्वाह गरेका छन् ।

    नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको महत्वपूर्ण भूमिका छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको कामदेखि एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।

  • चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर : देशको पीडा पर्दामा झल्किँदा दर्शक भावुक

    चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर : देशको पीडा पर्दामा झल्किँदा दर्शक भावुक

    काठमाडौं । यही शुक्रवारबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंमा आयोजित प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्य, राष्ट्रिय स्तरका कलाकारहरु, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ । निर्देशक विभोर पोखरेलको निर्देशन र निर्माता गगनलाल प्रधानको निर्माणमा तयार भएको चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ ।

    प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए। ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए। चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू पस्किएको दर्शकहरूले सुनाए ।

    ‘नेपाली चलचित्रले पनि रुवाउन सक्छ भन्ने अनुभूति भयो। मरुभूमिमा सपनाको भारी बोकी पुगेका नेपालीहरू कसरी जीवन त्याग्न बाध्य हुन्छन् भन्ने कुराको भयावह चित्रण यो चलचित्रले गरेको छ’, एक दर्शकले भने ।

    प्रीमियरमा पुगेका कलाकार मदनकृष्ण श्रेष्ठ पनि चलचित्र हेरेपछि भावुक बने । उनले भने, ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ । इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन । ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन् ।’

    त्यस्तै, गायक प्रेमराजा महतले पनि चलचित्रको खुलेर प्रशंसा गरे। उनले भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन्।राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ।’

    चलचित्रमा कलाकारहरू प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि चलचित्रमा सशक्त अभिनय छ ।

    प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्रको द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायाङ्कन हरि घले र सम्पादन विपिन मल्लले गरेका छन्।

    यसैबिच चलचित्रको अग्रिम टिकट बुकिङ खुलेको छ भने देशभर चलचित्रले एक सय हाराहारीमा शो प्राप्त गरेको छ । रेबेल फिल्मसको ब्यानरमा बनेको ‘रियाल रिङ्गेट’ काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ ।

  • रिलिजपूर्व झमेलामा ‘रिमै’ : निर्मातालाई पारिश्रमिक सल्टाउन धौधौ, दयाहाङ रुष्ट

    रिलिजपूर्व झमेलामा ‘रिमै’ : निर्मातालाई पारिश्रमिक सल्टाउन धौधौ, दयाहाङ रुष्ट

    काठमाडौं । आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रिमै’ मा लामो समयदेखि आन्तरिक समस्यामा परेर गिजोलिएको छ । समस्याको प्रमुख कारण आर्थिक व्यवस्थापन हो ।

    मुख्य अभिनेता दयाहाङ राईले चलचित्रको पोस्टर र टिजर आफ्नो सामाजिक सञ्जालमा सेयर नगरेपछि विवादको विषय सतहमा आएको थियो । आफैंले अभिनय गरेको चलचित्रलाई बेवास्ता गरेको भन्दै निर्माताले चित्त दुखाएका छन् भने राईले चलचित्रका कलाकार–प्राविधिकको सबै भुक्तानी गरिसकेपछि मात्रै आफू प्रमोसनमा जुट्ने अडान लिएका छन् ।

    राईले नेपाल प्रेससँग भने, ‘मेरो पारिश्रमिकको कुरा त मिलाउँला, तर अन्य प्राविधिक र निर्देशन डिपार्टमेन्टको पेमेन्ट नभएसम्म पोस्टर र टिजर सेयर नगर्ने भन्ने हो । धेरै प्राविधिकहरुले अहिलेसम्म पैसा पाएका छैनन् ।’

    दयाहाङको अडानमा चलचित्रका लेखक उपेन्द्र सुब्बाको पनि साथ छ । सुब्बाले पनि चलचित्रको पोस्टर र टिजर सेयर गरेका छैनन् ।

    सुरुदेखि नै आर्थिक संकट

    लकडाउनकै वेला सुब्बाले लेखेका थिए ‘रिमै’ को कथा । लकडाउनपछि नै सुटमा जाने भनिए पनि विविध कारणले रोकिएको थियो । गत वर्ष मात्रै चलचित्रको सुटिङ सकिएको हो ।

    सुटिङको अन्तिम सेड्युअल गोर्खाबजारमा थियो । गीतको सुटका लागि काठमाडौंबाट ६० जना कोरस डान्सर लगिएको थियो । सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीका अनुसार आर्थिक समस्याले काम नै रोकिने स्थिति आएपछि उनी र दयाले पैसा सापटी दिएर सुट सकाएका थिए ।

    ‘सुटिङ नै रोकिने अवस्था आयो । गौमाया गुरुङ युके र रिश्मा गुरुङ अमेरिका फर्कनुपर्ने थियो । सुटिङ रोकिँदा निर्माता पनि फस्थे,’ कार्कीले भने, ‘विदेशमा रहने कलाकार छन् । सबैलाई निश्चित समयको वचन दिएर ल्याइएको छ । दया दाइ र मैले जसरी पनि चलचित्र सकाउनैपर्छ भनेर पैसा हाल्यौं । अन्तिम समयमा आएर चलचित्र रोकियो भने पूरा हुन वर्षौं लाग्छ भनेर निर्मातालाई सहयोग गरेका हौं ।’

    निर्माता घले पनि राई र कार्कीले पैसा हालेको स्वीकार्छन् । घलेका अनुसार त्यस दिन शनिबार भएकाले बैंकहरु सबै बन्द थिए । पैसाको जुगड गर्नलाई सकस परिरहेको थियो । सुटका लागि ठूलो टिम भेला भएको अवस्थामा राई र कार्कीले तत्कालको गर्जो टारिदिएको घले बताउँछन् ।

    ‘उहाँहरुले सहयोग गर्नुभयो । भोलिपल्ट आइतबार हामीले उहाँहरुको पैसा सधन्यवाद फिर्ता गर्यौं,’ घलेले भने ।

    सुरुवातमा रोहित कट्टेलको वितरण कम्पनी आरआर फिल्म्सले ‘रिमै’ लाई एक करोड ३५ लाख रुपैयाँ अग्रीम दिएको थियो । तर, ‘रिमै’ को निर्माण टिम कट्टेललाई ‘धोका’ दिएर अर्का वितरक करण श्रेष्ठ क्रेजीसित जोडिन पुगे । अहिले क्रेजीलाई पनि छोडेर वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्म्सकहाँ रिमै पुगेको छ । अब मानन्धरकै वितरण कम्पनीले चलचित्रको वितरण गर्नेछ ।

    एक करोड ३५ लिइसकेर ‘रिमै’ टिम अर्को वितरकतिर लागेपछि कट्टेलले पैसा फिर्ता माग्दै निर्माता संघमा उजुरी दिए । त्यसपछि निर्माताले उनलाई ४० लाख रुपैयाँ फिर्ता गरिदिएर टिजर सार्वजनिक गरियो । अब यही साउन २० गतेभित्र थप ४० लाख दिने कागज गरिएको छ । बाँकी पैसा सेन्सर पास अगाडि फिर्ता गरेर मात्रै प्रदर्शन गर्ने सम्झौता भएको छ ।

    यस विषयमा भने निर्माता दून बहादुर घले बोल्न मानेनन् । उनले भने, ‘हामीबीच यो विषय टुंगिसकेको छ । यसमा थप कुरा नगरौं ।’

    पारिश्रमिक क्रमिकरुपमा भुक्तानी हुँदैछः निर्माता

    धेरै ठूलो कालखण्ड पार गरेको ‘रिमै’को भदौ २० मा प्रदर्शन मिति तय भएको छ । प्रदर्शनअघि नै प्राविधिकदेखि कलाकारसम्मको बाँकी पारिश्रमिक तिरिसक्नुपर्ने कागज गरिएको छ । निर्माता संघलाई साक्षी राखेर कागज गरिएको हो ।

    आफूले प्राविधिक र कलाकारको पैसा क्रमिक रुपमा तिर्दै गएको घलेले बताए । उनले भने, ‘धेरैलाई पैसा तिरिसक्यौं । अब केही बाँकी छ । चलचित्र प्रदर्शनअघि सबै भुक्तानी गरिसक्छौं ।’

    चलचित्रका एक प्राविधिकले पनि निर्माताहरुले पैसा तिर्दै आएको बताए । ती प्राविधिकका अनुसार तिर्न बाँकी पारिश्रमिक विस्तारै कम हुँदै आएको छ ।

    ‘किचन डिपार्टमेन्टको एक लाख जति दिन बाँकी छ । आर्ट डाइरेक्टर, कोरियोग्राफर र बाँकी निर्देशन डिपार्टमेन्टको पनि पैसा बाँकी छ,’ ती प्राविधिकले भने, ‘विस्तारै कलाकारहरु पनि पैसा दिइरहेका छन् क्यार ।’

    अहिलेसम्म ९५ प्रतिशत प्राविधिकको पेमेन्ट सकिएको घलेको दाबी छ । दयाहाङको अलिकति बाँकी रहेको रकम(मौखिक सम्झौता) पनि तिर्ने उनले बताए । दयालाई ३१ लाख र सुब्बालाई सात लाख जति दिइसकेको उनले जानकारी दिए । सुब्बालाई बाँकी तीन लाख पनि चाँडै दिने बताए ।

    फुटेज रोकिएपछि निर्माता संघमा उजुरी

    पारिश्रमिक रोकिएपछि प्राविधिकरुले निर्माता घले र निर्देशक गुरुङलाई फुटेज नदिएर ‘स्ट्राइक’ गरेका थिए । फुटेज नै प्राप्त नभएपछि चलचित्रको एडिटिङको काम रोकियो । कलाकार र प्राविधिकहरुले एक सूत्रीय माग राखे, ‘पैसा क्लियर नभएसम्म फुटेज दिँदैनौं ।’

    निर्माता र निर्देशकले पटकपटक फुटेज मागेपछि एडिटिङको काम नरोकियोस् भनेर आफूहरुले केही फुटेज रिलिज गरिदिएको कार्कीले बताए । कार्कीका अनुसार तीनचार दिन जतिको मात्रै फुटेज होल्ड गरिदिएका थिए ।

    पछि फुटेज होल्ड गरिदिएको भनेर निर्माता र निर्देशकले निर्माता संघमा उजुरी दिए । फुटेज रिलिज गरिपाउँ भनेर घले र गुरुङले उजुरी हालेपछि छलफल भयो । प्राविधिकहरुले सर्त राखे, ‘सबै पैसा रिलिज गरिदिएपछि मात्रै चलचित्र प्रदर्शन गर्न पाइन्छ ।’

    उनीहरुको सर्तमा निर्माता र निर्देशक सहमत भए । उनीहरुले एउटा कागज गरेका छन् ।

    निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘उहाँहरुबीच कागज भएको छ । सेन्सर पास हुनुअघि सबै पैसा पेमेन्ट गरिदिने सर्त छ ।’

    कागज गरेपछि आफूहरु ढुक्क भएको कार्कीले बताए । अर्कातिर निर्माता घलेको भने फुटेज रोकिएकोप्रति चित्त दुखाई छ । फुटेज रोकिएकैले आफूहरु समस्यामा परेको उनले दुखेसो गरे ।

    ‘फुटेज रोकिएकाले निर्माताहरु अलग हुनुभयो । नत्र पैसाको जुगड हुन्थ्यो,’ घलेले भने ।

    आफूले १५ वर्षभन्दा बढी गुरुङ चलचित्रमा काम निर्माता र नायक भएर काम गरेको भन्दै उनले आविश्वास गर्नुपर्ने कारण नभएको बताए ।

    घले आशावादी, दयाहाङ सकारात्मक

    चलचित्रलाई लिएर निर्माता आशावादी छन् । दयाहाङ पनि सकारात्मक छन् । गुरुङ समुदायको अर्गानिक कथा भएकाले दर्शकलाई मनपर्ने उनीहरुको सोचाइ छ ।

    तर, प्राविधिक र कलाकारको पारिश्रमिक गरिसक्नुपर्ने शर्तबाट पछि हट्ने मुडामा छैनन् दयाहाङ । उनको शर्त पूरा गर्नलाई आफू द्रूत गतिमा लागिरहेको घले बताउँछन् ।

    ‘तर, उहाँहरुले पोस्टर सेयर गर्नुभएन, त्यसमा मेरो चित्त दुखाई हो । पैसा पाएपछि मात्रै गर्छु भन्नुहुन्छ भने पनि ठिकै छ । ‘रिमै’ डुब्दा हामीलाई मात्रै होइन, दयाहाङ सरलाई पनि गाह्रो हुन्छ नि ! उपेन्द्र सुब्बा दाइलाई पनि नराम्रो हुन्छ नि,’ घलेले भने, ‘अप्ठ्यारोमा पर्दा पेल्न मिलेन नि त । बेइमानी गर्ने मेरो कुनै नियत छैन । प्रमोसनमा हिँडिदिनु भयो भने राम्रो हो, तर हामीले जबरजस्ति गर्न मिलेन । हामी त सानो मान्छे, उहाँहरु हिँड्नुभएन भने हामीले के नै गर्न सक्छौं र !’

    दयाहाङ भने आफूले ‘रिमै’लाई कुनै हेलोहेचों नगरेको बताउँछन् । आफूले अभिनय गरेका सबै चलचित्र उत्तिकै प्यारो हुने उनको भनाइ छ ।

    उनले भने, ‘प्रमोसनमा नहिँड्ने भन्ने हुँदैन । रिमै मेरै चलचित्र हो । चलचित्रको प्रमोसनमा सक्दो खटिन्छु । तर, मेरो मूल माग भनेको प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक तिर्नुपर्यो भन्ने हो । मलाई विस्तारै गरे हुन्छ, तर प्राविधिकहरुलाई त चाँडोभन्दा चाँडो दिएर उनीहरुको गर्जो टारिदिनुपर्यो ।’

    चलचित्रमा दयाहाङको अलवा रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ । प्रदर्शन हुँदासम्म तीन करोड बजेट छुने निर्माता घलेको आँकलन छ ।

  • ‘पाँडे’को निर्देशनमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ शुभ मुहूर्त, बालेनले र्‍याप गाउने

    ‘पाँडे’को निर्देशनमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ शुभ मुहूर्त, बालेनले र्‍याप गाउने

    काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज शुभ मुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

    पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन ।

    चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

    चलचित्रमा कथा कुमार व्यञ्जनकार, पटकथा तथा संवाद गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको छ ।

    निर्माण पक्षको अनुसार चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्‍याप रहने छ ।

  • अनिल सिंहले दर्शकसँग माफी माग्दै ‘आत्महत्याको सोच’ सम्बन्धी भिडिओ हटाए

    अनिल सिंहले दर्शकसँग माफी माग्दै ‘आत्महत्याको सोच’ सम्बन्धी भिडिओ हटाए

    काठमाडौं । गायक अनिल सिंहले केही दिनअघि दिएको ‘आत्महत्या गर्ने’ अभिव्यक्ति मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति मात्रै रहेको बताएका छन् । एक विज्ञाप्ती जारी गर्दै उनले आफ्नो अभिव्यक्तिलाई लिएर दर्शक, स्रोता र शुभचिन्तकसँग माफी समेत मागेका छन् ।

    उनले भनेका छन्, ‘यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरेँ, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो।अब यो विषय समाधानमा पुगेको सन्दर्भमा, म मेरा सबै विवादास्पद अभिव्यक्ति र भिडियोहरू हटाउँदैछु।’

    केही दिनअघि फेसबुक रिल्समार्फत् म्युजिक डटकम र म्युजिक नेपालले आफूलाई आत्महत्याको बाटोमा पुर्याएको खुलासा गरेका थिए । साथै आफू गहिरो डिप्रेसनमा रहेको समेत बताएका थिए ।

    ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता दर्जनौ हिट गीतहरु आफ्नै इन्स्टा वा युट्युबमा राख्दा पनि कपीराइट लगाइएपछि सिंहले उक्त भिडियो बनाएका थिए । आफ्नै गीत अपलोड गरेका कारण आफ्नो इस्टा आइडी र युट्युब च्यानल उडेपछि सिंह भिडियो बनाउन बाध्य भएका थिए । यसपछि सिंहले आफ्ना गीतहरुको कपीराइट फिर्ता पाएका थिए ।

    यही सिलसिलामा उनले सबैलाई धन्यवाद दिँदै विज्ञाप्ती जारी गरेका हुन् । उनले अगाडि भनेका छन्, ‘केही समयदेखि म र म्युजिक डट कमबीच रहँदै आएको गीतसम्बन्धी विवाद अब आपसी समझदारी र पारस्परिक सम्मानका साथ पूर्ण रूपमा समाधानमा पुगेको छ। यो केवल विवादको अन्त्य मात्र होइन, एक सकारात्मक सुरुवात हो — जहाँ भावना, सम्मान र संगीतको मर्म जितेर अगाडि बढेका छौं।’

    उनले अन्तिममा भनेका छन्, ‘संगीत मेरा लागि केवल पेशा होइन — यो मेरो आत्मा हो, जुन अझ शुद्ध रूपमा तपाईंहरुसामु ल्याउने

  • अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउने

    अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउने

    काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।

    सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तिरानी परियारले प्रस्तुति दिने भएका हुन् । भदौ ६ गते अर्थात् अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

    तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क लाग्ने अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।

    विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय-समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए ।

    उनले भने,’ घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्व हुन आउँछ ।‘

  • ह्यारी पोटरकी स्टार एम्मा वाट्सनलाई गाडी चलाउन ६ महिनाको प्रतिबन्ध

    ह्यारी पोटरकी स्टार एम्मा वाट्सनलाई गाडी चलाउन ६ महिनाको प्रतिबन्ध

    काठमाडौं । विश्व प्रसिद्ध “ह्यारी पोटर“ स्टार एम्मा वाट्सनलाई ६ महिना गाडी चलाउन प्रतिबन्ध लागेको छ।

    एनले तीव्र गतिमा गाडी चलाएको पाइएपछि छ महिनाको प्रतिबन्ध लगाइएको हो ।

    ३५ वर्षीया ब्रिटिश अभिनेत्री वाट्सलाई वर्ष जुलाई ३१ को साँझ अक्सफोडमा ३० माइल प्रतिघण्टाको गतिमा रहेको क्षेत्रमा ३८ माइल प्रतिघण्टाको गतिमा आफ्नो नीलो आउडी गाडी चलाएको आरोप लगाइएको थियो।

    उनी बुधबार हाई वाइकम्ब मजिस्ट्रेटको अदालतमा संक्षिप्त सुनुवाइको लागि उपस्थित भइनन् । जहाँ उनलाई १४ सय पाउण्ड जरिवारनासहित गाडी चलाउन अयोग्य घोषित गरिएको सीएनएनले जनाएको छ । उनको लाइसेन्समा यसअघि नै ९ वटा पेनाल्टीको अंक पाइएको छ ।

    ३५ वर्षीया ब्रिटिस अभिनेत्री एम्माब्लकबस्टर र स्वतन्त्र चलचित्र दुवैमा आफ्नो भूमिकाका लागि परिचित छिन् । उनले युवा कलाकार पुरस्कार र तीनवटा MTV चलचित्र पुरस्कारहरू सहित विभिन्न प्रशंसाहरू प्राप्त गरेकी छिन्।

  • ‘परालको आगो’बाट बाहिरिएका जितुको ‘कार्की साइँला’का निर्देशकसँग पनि लफडा

    ‘परालको आगो’बाट बाहिरिएका जितुको ‘कार्की साइँला’का निर्देशकसँग पनि लफडा

    काठमाडाैं । अभिनेता जितु नेपालका लागि पछिल्लो समय त्यति राम्रोसँग चलिरहेको छैन । उनी सुटिङको अन्तिम तयारीको बेला ‘परालको आगो’बाट बाहिरिए ।

    लगत्तै अर्को चलचित्र ‘कार्की साइँला’मा पनि निर्देशक राजेन्द्र बस्नेतसँगको लफडा सार्वजनिक भएको छ । यो लफडा नेपाल र बस्नेतबीचको जुँघाको लडाइँ हो । बस्नेत र नेपालबीच चलचित्रको कथालाई लिएर विवाद उत्पन्न भएपछि यसबेलासम्म सुटिङ सकिनुपर्ने चलचित्र रोकिएर बसेको छ ।

    बस्नेत र नेपालबीचको लफडाको जड भने कथा हो । माझीको कथामाथि बन्न लागेको चलचित्रमा नेपालले कमेडी मिसाउन खोजेका थिए, तर निर्देशकले मानेनन् । नेपालप्रेससँग कुरा गर्दै नेपालले भने, ‘म चलचित्रमा समेटिएपछि अलिकति कमेडी पनि मिसिनुपर्छ भनेको थिएँ । मलाई दर्शकहरुले थोरै कमेडी भूमिकामा पनि देख्न चाहन्छन् ।’

    तर, लेखिसकेको पटकथा मोडमाड गर्न निर्देशक तयार नभएपछि ‘कार्की साइँला’मा नेपाल र बस्नेतमध्ये एकजना मात्रै रहने आँकलन गर्न थालिएको छ । तर, यो विषयमा नेपालले घुमाउरो कुरा गरे, ‘निर्देशक र ममध्ये कोही रहने वा नरहने भन्दा पनि अन्तिम फैसला निर्माताको हातमा छ । उहाँले जे निर्णय गर्नुहुन्छ, त्यो नै अन्तिम फैसला हो ।’

    बालकुमार राई निर्माता रहेको यस चलचित्रको गत बैसाख ८ गते नै कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभसाइत गरिएको थियो । तर, कलाकार र निर्देशकबीचको जुँघाको लडाइँले चलचित्र छायांकनमा जान सकेको छैन । यस चलचित्रमा वर्षा शिवाकोटी पनि मुख्य भुमिकामा छिन् ।

    अर्कातिर निकै अघि घोषणा भएको चलचित्र ‘परालको आगो’बाट पनि नेपाल बाहिरिए । सुशील पोखरेलको निर्माण रहने यस चलचित्रमा नेपालको अलवा सुहाना थापा र प्रकाश सपूत मुख्य भूमिकामा थिए । तर, यस चलचित्रको कथामाथि पनि नेपालको अनावश्यक हस्तक्षेप गर्न खोजेपछि उनी बाहिरिन परेको निर्माण पक्षको दाबी छ ।

    तर, नेपालले भने यस आरोपलाई सीधै नकारे । उनले भने, ‘चलचित्रको सुटिङ दशैंमा राखियो । यत्रो ठूलो पर्वको बेला म परिवारसँगै रहनुपर्छ । यही कारण चलचित्रबाट बाहिरिएको हुँ ।’

    बजारमा चलेका अन्य हल्लामा कुनै सत्यता नरहेको समेत बताए । आन्तरिक सल्लाह अनुसार चलचित्र साइन गर्दा लिएको रकम पनि फिर्ता गरिदिएको र आफूहरुबीच कुरा मिलिसकेको नेपालले बताए ।

  • एक राजावादीले फेसबुकमा भद्दा गालीगलौज गरेपछि भड्किइन् ऋचा, भिडिओ डिलिट गर्न चेतावनी

    एक राजावादीले फेसबुकमा भद्दा गालीगलौज गरेपछि भड्किइन् ऋचा, भिडिओ डिलिट गर्न चेतावनी

    नेपाल प्रेस । आफूलाई राजावादीको रूपमा चिनाउने एक व्यक्तिले सामाजिक सञ्जालमा अपशब्दसहित गालीगलौज गरेपछि अभिनेत्री ऋचा शर्माको पारो तातेको छ । कञ्चनपुरका फउजी शाही नामका ती व्यक्तिमाथि उनले कानूनी कारबाहीको चेतावनी दिएकी छन् ।

    उनले लेखकी छन्, ‘मेरो कामलाई लिएर जस्तोसुकै प्रतिक्रिया दिन सक्नुहुन्छ । मेरो सिनेमा बहिष्कार गर्न पनि सक्नुहुन्छ । तर, मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्न ।’

    शाहीले एउटा रिल पोस्ट गरेका थिए, जसमा ऋचाको फोटो राखेर उनको नयाँ चलचित्र ‘बलिदान’ बहिष्कारको अपिल गरिएको छ । त्यसमा ऋचामाथि घृणित अपशब्दहरू लेखिएको थियो ।

    ‘यो… ले खेलेको फिल्म सबै राष्ट्रभक्त साथीहरूले बहिष्कार गरौँ, राजाको अपमान गर्ने असुरक्षाको गुणगान गाउने यही… हो,’ उक्त भिडिओमा लेखिएको छ ।

    यो भिडिओको स्क्रिन सट राख्दै ऋचाले तत्काल डिलिट गर्न चेतावनी दिएकी छन् । अन्यथा कानूनी प्रक्रियामा जाने उनको भनाइ छ ।

    ऋचामाथि यस्तो भिडिओ बनाउने व्यक्तिले फेसबुकमा आफूलाई राजाप्रेमी र कट्टर हिन्दूका रूपमा चिनाएका छन् ।

    केही समयअघि अर्की अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्र शाहबारे गरेको टिप्पणी विवादित बनेको थियो । पन्तको टिप्पणीलाई लिएर राजावादीहरूले उनलाई लखेट्न सुरु गरेका थिए ।

    आफूमाथि भइरहेको ‘भर्चुअल अब्युज’बारे पन्तले प्रतीकात्मक कविता लेखेर विरोध जनाइन् । त्यसबेला सुरक्षालाई साथ दिँदै सामाजिक सञ्जालमा लेखेपछि ऋचामाथि पनि राजावादीहरू खनिन थालेका हुन् ।

    ऋचाले त्यतिबेला पनि त्यसबेला पनि आफूमाथि भद्दा गालीगलौज गर्नेहरूलाई सामाजिक सञ्जालमा स्क्रिनसटसहित एक्सपोज गर्न थालेकी थिइन् । उनीपछि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले पनि यही बाटो अपनाए । यद्यपि गालिगलौजको क्रम रोकिएको छैन ।

  • ‘कमेडी दरबार’ले फिल्म निर्माणकाे घोषणा, दशैंलगत्तै छायांकन सुरु

    ‘कमेडी दरबार’ले फिल्म निर्माणकाे घोषणा, दशैंलगत्तै छायांकन सुरु

    काठमाडौं । ‘कमेडी दरबार’ टीमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टीमले आज सोमबारको दिन पारी फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे घोषणा गरेको हो ।

    पोस्टरअनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ ।

    त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ ।

    घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र मेकिंङ टिमको जनरा अनुसार यो फिल्म पूर्ण कमेडी शैलिमा निर्माण हुनेछ ।

    फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन् । निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन् । फिल्मको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।

    फिल्मको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन् । हाल टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टीमको यो पहिलो फिल्मी प्रोजेक्ट हो ।

    निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ । फिल्मको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन । फिल्म घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, ‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु । ‘क का कि की’ को यस यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो ।’

  • टिकटकर आयूषसिंह ठकुरी हिरो बन्दै, ‘राम नाम सत्य’ मा दिव्यासँग स्क्रिन सेयर गर्ने

    टिकटकर आयूषसिंह ठकुरी हिरो बन्दै, ‘राम नाम सत्य’ मा दिव्यासँग स्क्रिन सेयर गर्ने

    काठमाडौं । माइकल चन्दको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरी अनुबन्ध भएका छन्। आज चलचित्र निर्माणपक्ष र आयुषबिच कागजी संझौता भएको हो। यो उनको डेब्यू चलचित्र हो ।

    चलचित्रका निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरेका हुन। फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने,मलाई फिल्मको अफर त थुप्रै आइरहेको छ । तर, ‘राम नाम सत्य’को कथा सुनेपछि मैले यहीँ फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

    निर्देशक माइकल चन्दका अनुसार चलचित्रका लागि आयुष एक्सनको तालिम लिइरहेका छन् । यसपछि, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् ।

    साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ । चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

    उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको चलचित्रमा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।

    तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका कास्टिङ डिरेक्टर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने चलचित्रलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।

  • ‘अभिमन्यु : च्याप्टर १’ को दुई पोस्टर: एकमा तनाव र हतकडी, अर्कोमा खुसी जोडी

    ‘अभिमन्यु : च्याप्टर १’ को दुई पोस्टर: एकमा तनाव र हतकडी, अर्कोमा खुसी जोडी

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको एकैचोटि दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

    खुसी र तनाव देखाइएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड छन् । एउटा पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । जहाँ किरणबाहेक सबै कलाकारलाई तनावमा देखाईएको छ। सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् ।

    अर्को पोस्टरमा चलचित्रका मुख्य दुई कलाकारहरु कामेश्वर र लक्ष्मी छन् । कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् ।

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यहीँ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्र हिन्दी भर्सनमा असोज ६ अर्थात् सेप्टेम्बर २२ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

    सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन। यो उनको डेब्यु निर्देशकीय चलचित्र हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । चलचित्रको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् । चलचित्रमा शरद महतोको डिओपी रहेको छ ।

  • आत्महत्याको चेतावनीपछि अनिल सिंहसँग म्युजिक डटकमले गर्‍यो सम्झौता

    आत्महत्याको चेतावनीपछि अनिल सिंहसँग म्युजिक डटकमले गर्‍यो सम्झौता

    काठमाडौं । गायक अनिल सिंह र म्युजिक डटकमबीच गीतको कपीराइट र रोयल्टीका विषयमा सम्झौता भएको छ । म्युजिक डटकम र म्युजिक नेपालले आफ्नो करिअर बर्बाद गरेको र आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको भन्दै सिंहले सामाजिक सञ्जालमा आर्तनाद बिलौना गरेपछि कम्पनी सम्झौतामा आएको हो ।

    सिंहका अनुसार अब उनले आफ्ना गीतहरूको अडियो आफूले चाहेको अवस्थामा प्रयोग गर्न सक्छन् ।

    ‘कतिसम्म अप्ठ्यारो थियो भने मैले मेरै गीतहरू प्रयोग गर्न पाइरहेको थिइनँ । आफ्नै गीत प्रयोग गरेका कारण कपीराइट लाग्यो, मेरो इन्स्टाग्राम आईडी ह्याक भयो । मेरो युट्यूव च्यानलमा १९ हजार सब्सक्राइबर्स थिए, त्यो पनि कपीराइट हानेर उडाइदिए,’ सिंहले भने, ‘उहाँहरूको ट्र्याकिङ सिस्टम हुँदो रहेछ । मैले कन्सर्टहरूमा गएको गीतहरू पनि मेरो साइटबाट हटाइदिन्थे । भिडिओ चल्थ्यो, तर साउन्ड आउँदैनथ्यो ।’

    आजबाट यो समस्याको समाधान भएको सिंहले बताए । अब म्युजिक डटकमसँग भिडिओको मात्रै कपीराइट हुनेछ भने सिंहले मज्जाले आफ्नो अडियो प्रयोग गर्न पाउनेछन् । अब आफ्ना पुराना गीतहरूको नयाँ भिडिओ निर्माण गरेर सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने कुराले मात्रै ठूलो खुसी मिलेको सिंहले बताए ।

    ‘डिजिटल प्ल्याटर्फममा मैले केही गर्न पाएको थिइनँ । अब पाउने भएँ,’ उनले भने, ‘म्युजिक डटकमसँग सम्झौता भएपछि म्युजिक नेपालले कपीराइट हाल्न पाउँदैन ।’

    म्युजिक डटकम र सिंहबीच म्युजिक नेपालबाट प्राप्त रोयल्टी आधा-आधा बाँड्ने सम्झौता भएको थियो । उनका अधिकांश गीतहरू म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएका छन् । अब तिनै गीतहरूको आडियो सिंहले सहजै बिनाकपीराइट प्रयोग गर्न पाउनेछन् ।

    आफूलाई म्युजिक भिडिओ र म्युजिक नेपालले मर्न बाध्य पारिरहेको आरोप सिंहले लगाएका थिए । म्युजिक नेपाल र म्युजिक डटकमका कारण आफू हाइ डिप्रेसनमा रहेको उनको भनाइ थियो ।

    सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’ जस्ता सुपरहिट गीतहरू छन् ।

  • अनिल सिंहको चिन्ताजनक अभिव्यक्ति: म हाइ डिप्रेसनमा छु, आत्महत्या गर्न सक्छु

    अनिल सिंहको चिन्ताजनक अभिव्यक्ति: म हाइ डिप्रेसनमा छु, आत्महत्या गर्न सक्छु

    काठमाडौं । चर्चित गायक अनिल सिंहले एक भिडियो सार्वजनिक गर्दै आफूलाई म्युजिक भिडियो र म्युजिक नेपालले मर्न बाध्य पारिरहेको आरोप लगाएका छन् । उनले म्युजिक नेपाल र म्युजिक डटकमका कारण आफू ठूलो डिप्रेसनमा रहेको बताएका छन् ।

    फेसबुकमा एक छोटो भिडियो (रिल्स) सार्वजनिक गर्दै उनले भनेका छन्, ‘राजेश वंशलका कारण आत्महत्या गर्दैछु के दाइ । म हाइ डिप्रेसनमा छु । कुनै पनि बेला आत्महत्या गर्न सक्नेवाला छु । अब मेरो लागि जिन्दगीमा केही बाँकी छैन । राजेश वंशलले मलाई मर्न बाध्य बनाएको छ ।’

    भिडियोमा स्पष्ट रूपमा विवादको सन्दर्भ नखुलाइएको भए पनि म्युजिक नेपाल र म्युजिक डटकमले सिंहलाई रोयल्टी नदिइएको बुझिन्छ । सिंहले ‘एग्रिमेन्ट मात्रै देखाएर भएन नि’ समेत भनेका छन् । राजेश वंशल म्युजिक भिडियो डटकमका सञ्चालक हुन् ।

    सिंहले भिडियो क्याप्सनमा म्युजिक नेपाल र म्युजिक डटकमलाई मेन्सन गर्दै लेखेका छन्, ‘तिमीहरूले मलाई किन मर्न बाध्य पार्दै छौ ? किन मेरो करियर र सांगीतिक जीवन बर्बाद पार्दै छौ ? किन…? किन… ? किन…?’

    सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता सुपरहिट गीतहरू छन् । उनका अधिकांश हिट गीतहरू म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा छन् । म्युजिक डटकमले म्युजिक नेपाललाई उनका गीतहरू दिएका बुझिएको छ ।

    अनिल सिंहले रिल्सको कमेन्ट बक्समा थप लेखेका छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकम सबै माफिया हुन् । यिनीहरूलाई विश्वास नगर्नू १ म जम्माजम्मी न्याय चाहन्छु ।’

  • दयाहाङ र उपेन्द्र सुब्बाले किन सेयर गरेनन् `रिमै´ काे टिजर र पाेस्टर ?

    दयाहाङ र उपेन्द्र सुब्बाले किन सेयर गरेनन् `रिमै´ काे टिजर र पाेस्टर ?

    काठमाडौं । आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘रिमै’को तीन साताअघि पोस्टर सार्वजनिक भयो । ६ दिनअघि टिजर सार्वजनिक भयो । टिजरलाई लिएर दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म टिजरले ६ लाख ९० हजार भ्युज बटुलिसकेको छ ।

    ‘रिमै’ले यो भ्युज आफ्नै बुतामा पाएको हो । चलचित्रका मुख्य कलाकार दयाहाङ राई र पटकथा लेखक उपेन्द्र सुब्बाले आजसम्म पनि टिजर सेयर गरेका छैनन् । टिजर मात्रै होइन, चलचित्रको पोस्टर समेत सेयर गरेका थिएनन् । चलचित्रबाट दयाहाङले माेटाे रकम लिइसकेकाे निर्माण स्राेतकाे दावी छ ।  त्यस्तै उपेन्द्रले पनि साइनिङ अमाउन्ट लिइसकेकाे स्राेतले बतायाे ।

    चलचित्रको पटकथा उपेन्द्रले लेखेका हुन् । मुख्य कलाकारमा दयाहाङको अलावा रिश्मा गुरुङ, अर्पन थापा, बुद्धि तामाङ लगायत छन् । तर, दयाहाङले थप पैसाकाे माग गरेर पोस्टर र टिजर सेयर नगरेकाे निर्माण पक्षाकाे दावी छ ।

    जनजाति समुदायकै कथा भएकाले ‘जारी २’ पछाडि ‘रिमै’लाई प्रदर्शन गर्नुपर्ने जारी टिमको सुझाव थियो । तर, ‘रिमै’लाई भदौ २० मै प्रदर्शन गर्ने तयारीमा निर्माण टिम लागेको छ । ‘रिमै’ प्रदर्शन भएको दुई सातापछि असोज ३ मा ‘जारी २’ प्रदर्शन हुँदैछ । जनजाति समुदायकै कथा भएकाले ‘रिमै’ले ‘जारी २’को व्यापार कमजोर बनाउला कि भन्ने चिन्ता जारी टिमलाई रहेको स्रोतले बतायो ।

    ‘जारी २’ लिम्बु समुदायमाथिको कथा हो भने ‘रिमै’ गुरुङ समुदायको कथा हो । ‘जारी २’ र ‘रिमै’ दुवैका लेखक उपेन्द्र नै हुन् ।

    दयाहाङको अफिसियल फेसबुक पेजमा १५ लाख बढी फलोअर्स छन् । उनले जुलाई २४ मा ‘पूजा सर’को दुईवटा समाचारको लिंक सेयर गरेका छन् भने जुलाई १९ मा ‘हाँस्न पनि सक्नुपर्दो रहेछ’ भन्दै एक तस्बिर सेयर गरेका छन् । तर, जुलाई २२ मा सार्वजनिक भएको टिजर सेयर गरेका छैनन् ।

    यस विषयमा बुझ्नलाई ‘रिमै’का निर्देशक खिल बहादुर गुरुङलाई हामीले फोन गर्‍यौँ । उनले हाँस्दै भने, ‘उहाँहरू दुवै बिजी भएर सेयर गर्न नभ्याउनु भएको होला ।’

    ‘पोस्टर र टिजर सञ्जालमा सेयर गर्नै नभ्याउने खालको व्यस्तता ?’ भन्ने प्रश्नमा फेरि निर्देशक गुरुङ हाँसे । अनि भने, ‘यस विषयमा हामी छलफलमा छौं । उहाँहरू बिजी हुनुभएकाले नै सेयर गर्न भ्याउनुभएन भन्ने हाम्रो ठम्याई हो ।’

  • विदेशिएका युवाहरूको पीडा देखाईएको ‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक

    विदेशिएका युवाहरूको पीडा देखाईएको ‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक

    काठमाडौं । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

    गीतले रोजगारीको सिलसिलामा विदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ।

    सार्वजनिक गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन्। मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा सङ्गीत स्वयं काफ्लेकै रहेको छ भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गरेका छन्। चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । साथै, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको यस चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ।